शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००८८ - कर्तव्य ज्यान

भाग: ६० साल: २०७५ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७४।९।३

०६९-CR-०२४९ 

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : रामदेव कुर्मीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कपिलवस्तु जिल्ला, हरिहरपुर गा.वि.स., वडा नं. २ बस्ने शिवपुजन यादव अहिरसमेत

 

फौजदारी मुद्दामा अभियुक्तउपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कर्तव्य ज्यान जस्तो कसुर अपराधमा कसैलाई दोषी ठहराउन मिल्दैन । अनुसन्धान तहकिकातबाट यही व्यक्ति अपराधी हो भनी पहिचान भई निज विरूद्ध संकलित सबुद प्रमाणहरूलाई अदालतसमक्ष प्रस्तुत गरी अदालतबाट त्यस्ता प्रमाणहरू परीक्षण भएपश्‍चात् शंकारहित तवरले कसुर पुष्टि हुने अवस्थामा मात्र त्यस्तो व्यक्तिलाई कसुरदार घोषित गरी सजाय गर्न मिल्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री रामकुमार थापा

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जि.न्या.श्री इन्द्रबहादुर कार्की

कपिलवस्तु जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री जागेश्‍वर सुवेदी

माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः

मेरो वर्ष १७ को छोरा राजकुमार कुर्मी मिति २०६०।११।१३ मा घरबाट गएकोमा फर्की नआएकोले खोज्दै जाँदा हरिहरपुर गा.वि.स.वडा नं.२ अमहवाको सोहिया नालामा मृत अवस्थामा फेला परेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेतको जाहेरी 

दरखास्त । 

हरिहरपुर गा.वि.स.वडा नं.२ अमहवास्थित पूर्व रामदेव कुर्मीको खेत, उत्तर दक्षिण सडक, पश्‍चिम श्यामलाल अहिरको खेत यति चार किल्लाभित्र टाउको सोहिया नालामा पश्‍चिम मोहडा भई हिलोमा गाडिएको, शरीरको भाग १४ फिट पूर्व टाढा रहेको, उक्त स्थानमा २ फिट गोलाईमा रगत जमेको, घाँटीबाट काटी ढाड र टाउको छुट्टाछुट्टै अवस्थामा रहेको भन्‍नेसमेतको घटनास्थल तथा लास जाँच मुचुल्का ।

अभियुक्तलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी सुर्जमति कुर्मीले दिएको दरखास्त । 

शिवपुजन यादव अहिर, सन्तराम यादव अहिर तथा निजहरूको श्रीमतीहरूको संलग्नतामा छोरा राजकुमार कुर्मीलाई कर्तव्य गरी मारेकोले अभियुक्तहरूलाई खोजतलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी रामदेव कुर्मीले दिएको किटानी जाहेरी दरखास्त । 

जिल्ला कपिलवस्तु हरिहरपुर गा.वि.स.वडा नं.२ स्थित पूर्व प्रतिवादी रामवरण यादव अहिरको खेत, पश्‍चिम इमिलिया अमहवा जाने सडक, उत्तर पुजारी अहिरको गोठ, दक्षिण झगरू अहिरको खेत यति चार किल्लाभित्र रहेको प्रतिवादीको घरकोठामा हाँडीमा लुकाई राखेको रगत लागेको सेतो कछाड, सेतो धोती थान २ बरामद गरिएको खानतलासी बरामदी मुचुल्का । 

प्रतिवादी शिव पुजन यादव र रामवरण यादव अहिरलाई पक्राउ गरी दाखिला गरेको भन्‍ने प्र.ह.डुकराज भुषालको प्रतिवेदन । 

मिति २०६०।११।१३ का दिन राजकुमार कुर्मी हाम्रो घरमा आई मेरो श्रीमतीसँग एकछिन भान्सामा बसी १०।१५ मिनेटपछि फर्की गएका हुन् ऐ. १४ गते निजको हत्या भएको भन्‍ने खबर सुनेको र दुई टुक्रा पारेको अवस्थामा लाससमेत देखेको हो तर सो वारदात मैले गराएको होइन भन्‍नेसमेतको प्रतिवादी शिव पुजन यादव अहिरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६०।११।१३ का दिन मृतक हाम्रो घरमा आई मेरो श्रीमतीसँग एकछिन भान्सामा बसी १०।१५ मिनेटपछि फर्की गएका हुन ऐजन १४ गते निजको हत्या भएको भन्‍ने खबर सुनेको र दुई टुक्रा पारेको अवस्थामा लाससमेत देखेको हो तर सो वारदात मैले गराएको होइन भन्‍नेसमेतको प्रतिवादी रामवरण यादव अहिरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, पक्राउ परेका प्रतिवादीहरूले गरिदिएको कागज बेहोरासमेतका आधार प्रमाणबाट मिति २०६०।११।१३ को राति प्रतिवादीहरूको घरमा आएका मृतक राजकुमार कुर्मीलाई प्रतिवादीहरू मिली आफ्नै घरमा कर्तव्य गरी मारी सोइया नालामा लगी घाँटी काटी फालेको देखिन आएकोले निज प्रतिवादीहरू रामवरण यादव अहिर, शिव पुजन यादव अहिर, सन्तराम यादव अहिर, शान्ती यादव अहिर र मन्जु यादव अहिरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं.को कसुरमा सोही महलको १३(१) बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेतको अभियोग मागदाबी ।

म तथा हाम्रो परिवारले राजकुमार कुर्मीको हत्या गरेको होइन, माओवादी समस्याले हामी भारत पसेका हौं, घटनास्थल तथा लास जाँच मुचुल्काबारे मलाई केही थाहा छैन, मेरो घरबाट रगत लागेका कपडाहरू बरामद भएको भन्‍ने सम्बन्धमा मलाई थाहा भएन, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा र सहिछाप मेरै हो भन्‍नेसमेतको प्रतिवादी रामवरण यादवले सुरू अदालतमा गरेको बयान ।

म तथा हाम्रो परिवारले राजकुमार कुर्मीको हत्या गरेको होइन, माओवादी समस्याले हामी भारत पसेका हौं, घटनास्थल तथा लास जाँच मुचुल्काबारे मलाई केही थाहा छैन, मेरो घरबाट रगत लागेका कपडाहरू बरामद भएको भन्‍ने सम्बन्धमा मलाई थाहा भएन, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा र सहिछाप मेरै हो भन्‍नेसमेतको प्रतिवादी शिवपुजन यादवले सुरू अदालतमा गरेको बयान ।

जाहेरवाला रामदेव कुर्मी र प्रतिवादीको साक्षी रामलखन यादवको बकपत्र भई मिसिल संलग्न रहेको । 

यी प्रतिवादीहरू मिली राजकुमार कुर्मीलाई मारी काटी फालेको अवस्थामा लास पाइएकोबाट यी प्रतिवादीहरू कर्तव्यवाला देखिएकोले आरोपित कसुर अपराध गरेको पुष्टि हुँदा निज प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरलाई ज्यानसम्बन्धी महलको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद सजाय हुने ठहर्छ । घटना, परिस्थिति समयसमेतलाई मध्यनजर गर्दा निज प्रतिवादीहरूलाई उक्त सजाय गर्दा चर्को पर्ने देखेकाले अ.बं.१८८ नं.बमोजिम कैद वर्ष ८ मात्र सजाय हुन राय व्यक्त गरिएको छ । साथै फरार प्रतिवादीहरू सन्तराम यादव अहिर, मन्जु यादव अहिर र शान्ती यादव अहिरको हकमा अ.बं.१९० नं.बमोजिम मुल्तबी राखी दिने ठहर्छ भन्‍ने कपिलवस्तु जिल्ला अदालतको मिति २०६७।११।३० को फैसला । 

मलाई हराई भएको सुरू फैसलामा चित्त 

बुझेन । राजकुमार कुर्मीको मृत्यु भएको वारदात घटनामा मेरो कुनै संलग्नता छैन भनी मैले अनुसन्धान अधिकारी र अदालतको बयानमा समेत खुलाई लेखाई दिएको 

छु । मेरो साक्षीको बकपत्रसमेतबाट उक्त कुरा पुष्टि भएको छ । जाहेरवालाले अदालतमा आई जाहेरीलाई पुष्टि गर्न सकेका छैनन् । बरामद भएको मानिसको कपडा देखाइएको छैन र सो कपडामा लागेको रगत कसको हो भन्‍नेसमेत प्रमाणित भएको छैन । वादी पक्षबाट मउपरको अभियोग दाबी पुष्टि गर्न नसकेको अवस्थामा मलाई कसुरदार ठहर्‍याई भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्‍ने प्रतिवादी शिवपुजन यादव अहिरको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र । 

मलाई हराई भएको सुरू फैसलामा चित्त 

बुझेन । मैले अनुसन्धान अधिकारी र अदालतको बयानमा समेत उक्त घटनामा मेरो संलग्नता भएको कुरा खुलाई लेखाई दिएको छु । मेरो साक्षीको बकपत्रसमेतबाट सो कुरा पुष्टि भएको छ । मेरो घरबाट जुन रगत लागेको कपडा बरामद भएको छ । सो कपडा मलाई नदेखाई र सो कपडामा लागेको रगत कसको हो भन्‍नेसमेत यकिन नगरी विना आधार प्रमाण मलाई कसुरदार ठहर्‍याई कैद सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी रामवरण यादव अहिरको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

यसमा कपिलवस्तु जिल्ला अदालतको फैसलामा प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद सजाय गरी सोही महलको १८८ नं. बमोजिम सजाय घटाई आठ वर्ष कैदको सजाय प्रस्ताव गरी राय व्यक्त गरेको देखियो । उक्त १८८ नं.बमोजिम सजाय घटी हुनुपर्ने कारण र आधार केही उल्लेख नगरी सजाय घटाएको देखिँदा सो १८८ नं. को प्रयोग उक्त व्यवस्थाको भावना र मर्मअनुरूप भएको देखिएन । 

प्रतिवादीहरू कसुरमा इन्कार रही बयान गरेको, निजहरूले नै कसुर गरेको भन्‍ने कुरा कुनै तथ्ययुक्त प्रमाणबाट पुष्टि हुन नसकेको, निजहरूको घरबाट बरामद भएको रगत लागेको भनिएका कछाड र धोतीको परीक्षण हुन नसकेको अवस्थामा शंकाको भरमा प्रतिवादीहरूलाई  कसुरदार ठहर्‍याएको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय बुटवललाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत बुटवलको मिति २०६८।९।१८ को आदेश ।

प्रतिवादीहरू अनुसन्धान अधिकारी तथा अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको, निजहरूले नै कसुर गरेको भन्‍ने कुराको प्रत्यक्षदर्शी गवाह तथा तथ्ययुक्त प्रमाण नभएको, प्रतिवादीहरूको घरबाट बरामद भएको कछाड र धोतीको वैज्ञानिक परीक्षण हुन नसकेको र जाहेरवालाको बकपत्रसमेतबाट प्रतिवादीहरूसँग राजकुमार कुर्मीलाई मार्नेसम्मको रिसइवी थियो भनी नखुलेको अवस्थामा शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याएको कपिलवस्तु जिल्ला अदालतको मिति २०६७।११।३० को फैसला नमिलेकोले उल्टी भई प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६८।११।१४ को   फैसला ।

प्रतिवादी रामवरणको घरबाट हाँडीमा लुकाई राखेको अवस्थामा कछाड तथा धोती बरामद भएको र सोमा रगत लागेको देखिन्छ । सो रगत प्रतिवादीहरूले छोरालाई कर्तव्य गर्दा लागेको हो भन्दै जाहेरवाला सुर्जमती कुर्मीले बकपत्र गर्दा खुलाएकी र उक्त बकपत्रमा गाउँलेको सामुन्‍ने शिवपुजनले मारेको स्वीकार गरेका हुन् भनी खुलाएको देखाएबाट समेत प्रतिवादीहरू उपरको कसुर पुष्टि भएको छ । तत्कालको द्वन्द्वकालको अवस्थाले ती बरामद सामान जाँच गर्न नसकिएको भनी प्रहरीद्वारा खुलाएको देखिँदा काबुबाहिरको स्थितिमा परीक्षण हुन नसकेको अन्य प्रमाणले समर्थन गर्दा गर्दै बरामद कछाड तथा धोती परीक्षण हुन नसकेको विषयलाई आधार बनाई प्रतिवादीहरूलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । बरामद धोती प्रतिवादीको बाबुले लगाउने भनी जाहेरवालाले बकपत्रमा खुलाएको पाइन्छ भने बरामदी तथ्यलाई प्रतिवादीले खण्डन गरेको पनि छैन । जाहेरवाला सुर्जमती कुर्मीले अदालतमा बकपत्र गर्दा राजकुमार कुर्मीलाई प्रतिवादी शिवपुजन यादव अहिर र उनका घर परिवारका मानिससमेत मिली मारेका हुन् भनी बेहोरा लेखाएको देखिन्छ । घटना वारदातपछि प्रतिवादीहरू घरका गाईवस्तुसमेत छाडी भागी गएका र प्रतिवादी शिवपुजन यादवको श्रीमतीसँग निज राजकुमार कुर्मी मृतकको सम्बन्ध भएको खुल्न आएकोले सोही रिसइवीबाट हत्या गरेको हुनसक्ने तत्कालको प्रहरी सञ्चारमा खुलाइएको एवं प्रतिवादी शिवपुजन यादव अहिरले मौकामा बयान गर्दा उक्त दिन राजकुमार कुर्मी मेरो घरमा आई मेरी श्रीमतीसँग बसेका हुन् भनी खुलाएकोसमेतबाट प्रतिवादीहरू इन्कार भएपछि अन्य सम्बद्ध बयान तथा परिस्थितिजन्य प्रमाणहरूले प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पर्न आएको पुनरावेदनपत्र । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री रामकुमार थापाले प्रतिवादीहरूको घरबाट हाँडीमा राखेको अवस्थामा रगत लागेको धोती बरामद भएको, वारदातपश्‍चात् प्रतिवादीहरू फरार रहेकोसमेतका प्रमाणहरूबाट प्रस्तुत वारदात प्रतिवादीहरूले गराएको भन्‍ने कुरा पुष्टि भइरहेको हुँदा सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी बहस प्रस्तुत गर्नुभयो । 

मिसिल संलग्न कागजात प्रमाण एवं नेपाल सरकारको पुनरावेदन जिकिरसमेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्‍ने प्रश्नमा सीमित रही निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू रामवरण यादव अहिर, शिवपुजन यादव अहिर, शान्तराम यादव अहिर, शान्ती यादव अहिर र मन्जु यादव अहिरले राजकुमार कुर्मीको कर्तव्य गरी हत्या गरेको हुँदा निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) अनुसार सजायको मागदाबी रहेको प्रस्तुत मुद्दामा फरार प्रतिवादीहरू सन्तराम अहिर, शान्ती यादव अहिर र मन्जु यादव अहिरका हकका मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १९० नं. अनुसार मुल्तबीमा रहने र रामवरण यादव अहिर तथा शिवपुजन यादव अहिरलाई अभियोग दाबीअनुसार सजाय गरी सोही महलको १८८ नं.बमोजिम ८ वर्ष कैद सजाय हुने राय प्रस्तुत गर्ने ठहर्‍याएको कपिलवस्तु जिल्ला अदालतको फैसला पुनरावेदन अदालत बुटवलबाट उल्टी भई प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावदेन पर्न आएको देखियो । 

३. पुनरावेदन जिकिर हेर्दा, जाहेरवालाको अदालतसमक्षको बकपत्र, प्रतिवादीहरूको घरबाट रगत लागेको धोती तथा कछाड बरामद भएको तथ्य, प्रतिवादी शिवपुजन यादवको श्रीमतीसँग मर्ने राजकुमारको सम्बन्ध रहेको भन्‍ने प्रतिवादी शिवपुजन यादवको मौकाको भनाइ एवं घटना वारदातपश्‍चात् प्रतिवादीहरू भागी फरार भएको भन्‍ने तथ्य प्रमाणहरूबाट प्रस्तुत कर्तव्य ज्यानको कसुरमा यी नै प्रतिवादीहरूको संलग्नता रहेको तथ्य पुष्टि हुने भनी मुख्य रूपमा जिकिर लिएको पाइन्छ । 

४. प्रतिवादीहरू शिवपुजन यादव र रामवरण यादवले मौकामा तथा अदालतसमक्ष बयान गर्दा आफूहरू फरार भएको नभई माओवादी समस्याका कारण भारत गएको र अभियोग दाबीको कसुर आफूहरूले नगरेको भनी बेहोरा लेखाएको पाइन्छ । जाहेरवाला रामदेव कुर्मीले अदालतसमक्ष बकपत्र गर्दा मेरो छोरा राजकुमारलाई प्रतिवादीहरूले नै मारेको हुनुपर्छ भनी शंका लागेको र प्रतिवादीहरू र आफ्नोबीच जग्गासम्बन्धी विषयमा मनमुटाव रहेको भनी बेहोरा लेखाएको पाइन्छ । प्रतिवादी रामवरणको घरबाट धोती र कछाडको कपडामा रगत लागेको अवस्थामा बरामद भएको भन्‍ने बरामदी मुचुल्कामा उल्लेख भएको देखिन्छ । उक्त बरामदी भएका कपडाहरूमा लागेको रगत मानव रगत हो वा होइन तथा मानव रगत भए मर्ने निज राजकुमार कै रगत हो होइन भन्‍ने सम्बन्धमा परीक्षण भई यकिन भएको देखिँदैन । फौजदारी मुद्दामा अभियुक्तउपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कर्तव्य ज्यान जस्तो कसुर अपराधमा कसैलाई दोषी ठहराउन 

मिल्दैन । अनुसन्धान तहकिकातबाट यही व्यक्ति अपराधी हो भनी पहिचान भई निज विरूद्ध संकलित सबुद प्रमाणहरूलाई अदालतसमक्ष प्रस्तुत गरी अदालतबाट त्यस्ता प्रमाणहरू परीक्षण भएपश्‍चात् शंकारहित तवरले कसुर पुष्टि हुने अवस्थामा मात्र त्यस्तो व्यक्तिलाई कसुरदार घोषित गरी सजाय गर्न मिल्ने हुन्छ । प्रस्तुत मुद्दामा बरामद भएको उक्त धोती र कछाडमा लागेको रगत कसको हो भनी परीक्षण भएको एकातिर देखिँदैन भने अर्कोतर्फ सो बरामद भएका सामानहरू प्रतिवादीहरूबाट सनाखत गराएको अवस्थासमेत देखिँदैन । फौजदारी मुद्दामा कुनैपनि व्यक्तिलाई कसुरदार घोषित गर्न निजउपर लगाइएको अभियोग प्रमाणहरूबाट पुष्टि हुनुपर्छ भन्‍ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत रहेको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको भन्‍ने कुरा पुष्टि हुन सकेको नदेखिँदा प्रमाणको विवेचना गरी अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको पुनरावदेन अदालतको फैसला मिलेको देखियो । 

५. तसर्थ, माथि विवेचित आधार र कारणहरूबाट शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याएको कपिलवस्तु जिल्ला अदालतको मिति २०६७।११।३० को फैसला उल्टी भई प्रतिवादीहरू शिवपुजन यादव अहिर र रामवरण यादव अहिरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको मिति २०६८।११।१४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : आत्मदेव जोशी

इति संवत् २०७४ साल पुष ३ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु