शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००९९ - जग्गा खिचोला

भाग: ६० साल: २०७५ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७५।३।१

०७१-CI-११७६

 

मुद्दा : जग्गा खिचोला 

 

पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ टंकिसिनवारी गा.वि.स. वडा नं.२ बस्ने कुश मगर

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ. ऐ. वडा नं. १ बस्ने अशोककुमार ठाकुर

 

स्वामित्वको प्रश्न र भोगाधिकारको प्रश्न एकै नभई अलग-अलग विषय हुन् । कुनै पनि वस्तुमाथिको भोग वस्तुको वास्तविक स्वामीबाहेक अन्य व्यक्तिको विरूद्धमा लागू हुन्छ । अर्थात् स्वामित्व भएको व्यक्तिबाहेक अरूले भोगाधिकारलाई चुनौती दिन नसक्ने ।

(प्रकरण नं.३)

कसैको भोगाधिकार भएको सम्पत्तिमा अरू कसैले अवरोध सिर्जना गर्न खोजेको अवस्थामा भोगाधिकारमाथि खिचोला गरेको भन्नु पर्ने ।

आफ्नो कुनै पनि प्रकारको हक र भोग नरहेको जग्गामा भोगाधिकार रहेको भनेर जिकिर गर्नुको  अर्थ खिचोला गरेको तथ्यलाई स्वीकारेको मानिने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री राजकुमार वन

पुनरावेदन अदालत विराटनगर

सुरू फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती

मोरङ जिल्ला अदालत

 

फैसला

न्या. तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :-

म फिरादीले विपक्षीको हजुरआमा शोभामाया मगर्नीबाट मिति २०३१/३/४ गते  मालपोत कार्यालय, मोरङको रजिस्ट्रेसन नम्बर ४४९६ बाट थैली रू.३,१९०।- राखी पिण्डेश्वरी गुठीअन्तर्गतको मोरङ जिल्ला टंकिसिनवारी गा.वि.स. वडा न. ९(ख) कि.नं. ३ को ससिम ज.वि. ०-२-१०, ऐ. वडा नं.२(क) कि.नं. १३ को ससिम ज.वि. ०-४-० र ऐ.  कि.नं ११ को ससिम ज.वि. ०-२-० समेत जम्मा ज.वि. ०-८-१० राजीनामा बेहोराले २०३१ सालको बालीदेखि खाने गरी विपक्षीका बाबु टंकप्रसादसमेतलाई साक्षी राखी लिएको र सो सालदेखि मिति २०६९/२/१९ गतेसम्म म फिरादीले अविछिन्न रूपमा जोतभोग गरी बाली लगाई खाई आएकोमा मिति २०६९/२/२० गतेदेखि विपक्षीहरूले सो र.नं. ४४९६ मा उल्लिखित जग्गामध्येको कि.नं. ११ को ०-२-० जग्गामा जोतभोग गर्न नदिई खिचोला गरेकोले उक्त कि.नं.११ को ०-२-० जग्गा खिचोला मेटाई चलनसमेत चलाई पाउँ भन्ने बेहोराको मिति २०६९/०४/२६ को फिराद पत्र ।

विपक्षी वादी अशोककुमार ठाकुरले दाबी गरेको जिल्ला मोरङ टंकिसिनवारी गा.वि.स. वडा नं. २(क) कि.नं. ११ को ज.वि. ०-२-० जग्गा मूल्यवान् घडेरी जग्गा रहेको र भोगाधिकारको आधारमा हामीले सुकुम्बासीको हैसियतले हामीले दर्ता गराउन लागेको अवस्थामा लोभ लागी फिराद दर्ता गरेको हो । निजको फिराद दिने हकदैया रहेको छैन । गा.वि.स.को सिफारिस सर्जमिनमा समेत हाम्रो भोगचलन निरन्तर भएको देखिएको अवस्थामा मुलुकी ऐन, जग्गा मिच्नेको महलको १८ नं. को कृत्रिम हदम्याद कायम गरी आएका साथै हाम्रा स्व. बुबा टंकप्रसादको नाउँको दर्ता स्रेस्तामा ऐलानी भनी उल्लेख भइरहेको र विपक्षी वादीसँग जग्गाधनी प्रमाण पुर्जा नै नरहेको अवस्थामा विवादित जग्गा विपक्षीको नभएको हुँदा उक्त वादी दाबी खारेज गरी हाम्रो भोगाधिकार स्थापित गराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६६/०६/०४ को प्रतिउत्तर पत्र ।

उक्त कि.नं. ११ को जग्गा २०३१/०२/०४ गतेदेखि नै अशोककुमार ठाकुरले जोतभोग गरिआएको हो । सो जग्गा ऐलानी हो भन्नेसमेत बेहोराको वादी अशोककुमार ठाकुरका साक्षी खड्गनारायण थापाले अदालतमा गरिदिएको बकपत्र । 

विवादित जग्गा मोहियानी जोतभोगको ऐलानी जग्गा हो । सुरूदेखि नै टंकप्रसादले भोग गर्दै आएका थिए । राजीनामा पास गरिलिनुदिनु गरेकोमा मलाई केही थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी कुशे मगरसमेतका साक्षी युगेश्वर सिंह राणाले गरिदिएको बकपत्र ।

वादीको स्वामित्व नै स्थापित नभएको ऐलानी भनी उल्लेख भएको र जग्गाधनी प्रमाण पुर्जा नै नबनेको अवस्थामा ऐलानी दर्ता स्रेस्ता जग्गालाई उल्लेख गरी राजीनामा पास गरेको आधारमा र व्यक्तिको नाममा दर्ता नै नभएको स्पष्ट हक सिर्जना नभएको अवस्थामा वादीलाई उक्त जग्गा आफ्नो भनी दाबी गर्ने प्रमाणको अभावमा समेत वादीको फिराद दाबी पुग्न सक्दैन भन्ने बेहोराको मोरङ जिल्ला अदालतको मिति २०६९/०२/०७ को फैसला ।

दाबीका जग्गा शोभा मगर्नीबाट टंकप्रसादलाई रोहवरमा राखी रजिस्ट्रेसन पास गरी लिएको जग्गा 

हो । मालपोत ऐन, २०३४ बमोजिम राजीनामा बेहोराबाट जग्गाको प्रचलित थैली राखी सरकारले दस्तुर लिई रजिस्ट्रेसन पास गरेको जग्गा कच्चा भयो भन्ने अर्थ गरी वादीको सो जग्गामा अस्तित्व छैन भनी वादी दाबी नपुग्ने भन्ने फैसला गरेको न्यायोचित छैन । वादी प्रतिवादीका साक्षी र गा.वि.स.  टंकिसिनवारीले समेत पटक पटक गरी दिई आएको सरजमिनसमेतले दाबीको जग्गा पुनरावेदकले जोतभोग गरी आएको भन्ने पुष्टि भएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ बमोजिम स्थलगत सरजमिन र नापनक्सा नगरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीका बाबु टंकप्रसादले वादीउपर मोही बेदखली गरे भनी कि.नं. ११ समेतमा दाबी गरेकोमा वादी दाबी छाडी मिलापत्र भएकोमा हाल आएर तिनै टंकप्रसादका छोरा प्रतिवादीहरूले खिचोला गरेको अवस्थामा स्थलगत बुझी निर्णय गर्नुपर्नेमा सोतर्फ नगई वादी दाबी पुग्न नसक्ने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरी फिराद दाबीबमोजिम न्याय पाउँ भन्ने बेहोराको वादीका तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

मिति २०३१/३/४ गते पुनरावेदकले विपक्षीका हजुरआमाबाट मोरङ गुठी 

संस्थानअन्तर्गतको रै.नं. १७९ को ३ कित्ता जग्गामध्ये विवादित कि.नं. ११ को जग्गा समेत राजीनामा पास गरी लिएको देखिन आएकोमा विवादको कि.नं.११ को जग्गा ऐलानी जग्गा भनी वादी दाबी नपुग्ने ठहर्‍याई सुरूले गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई र मिति २०३२/०९/१७ गते मिलापत्र भएको मोही बेदखली मुद्दाको मिसिलसमेत झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०७०/८/१९ को आदेश ।

प्रतिवादीहरूकी हजुरआमा शोभामाया मगर्नीबाट प्रतिवादीहरूका बाबु टंकप्रसादलाई समेत साक्षी राखी कि.नं. ११ समेतको जग्गा पुनरावेदकले र.नं. ४४९६ बाट मिति २०३१/०३/०४ मा राजीनामा गरी लिएको सो राजीनामा कहीँकतै चुनौती दिएको नपाइएको, भोगमा विवाद पर्दा टंकप्रसादले भूमिसुधार कार्यालय, मोरङमा यी प्रतिवादी अशोककुमारले मोही बेदखली मुद्दा दिएकोमा “मोही बेदखली गरे भन्ने वादी दाबी छाडी” मिति २०३२/९/१ मा मिलापत्र गरेको पाइएबाट र भोगमा खिचोला गरेको होइन भन्ने प्रतिउत्तर जिकिर नहुँदा भोगमा वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९/०२/०७ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई प्रतिवादीले भोगमा गरेको खिचोलासम्म मेटाई जग्गा चलनसमेत पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०७१/०५/३१ को फैसला ।

प्रस्तुत कि.नं. ११ को जग्गा साबिकदेखि नै मेरा बाबु टंकप्रसादको भोगचलनमा रही बाबुको मृत्युपछि हकदार छोराहरूको तर्फबाट भोगचलन गरिआएको हो । यो जग्गा पिण्डेश्वर गुठीअन्तर्गतको ऐलानी जग्गा भएको हुँदा सोको भोगचलन मेरो बाबु टंकप्रसादमा रहेको छ भनी २०२५ सालमा नापी स्रेस्तामा कायम भएको देखिएको छ । सोबाट र गा.वि.स. कार्यालयबाट मिति २०६८/११/०२ गतेमा च.नं. १४९७ को सिफारिससमेतबाट प्रतिवादीहरूकै भोगचलनमा रहेको पुष्टि भएकोले वादीको भोगचलन रहेको भनी भन्न मिल्दैन । त्यसैले सुरू फैसला उल्टी गरी पुनरावेदन अदालतबाट भएको फैसलालाई उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्तहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा नै विचार गरी निर्णयमा पुग्नु पर्ने देखिन आयो ।

यसमा मैले विपक्षीको हजुरआमा शोभामाया मगर्नीबाट मिति २०३१/३/४ गते रू.३,१९०।- मा पिण्डेश्वरी गुठीअन्तर्गतको मोरङ जिल्ला टंकिसिनवारी गा.वि.स. वडा नं. २(क) कि.नं. ११ को ज.वि. ०-२-० समेतका जम्मा ज.वि. ०-८-१० जग्गा राजीनामा बेहोराले सोही सालको बालीदेखि खाने गरी विपक्षीका बाबु टंकप्रसादसमेतलाई साक्षी राखी लिई सो सालदेखि अविछिन्न भोग गर्दै आएकोमा मिति २०६९/२/२० गतेदेखि विपक्षीहरूले उक्त जग्गाहरू मध्येको सो कि.नं. ११ को जग्गामा जोतभोग गर्न नदिई खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दाबी रहेको पाइन्छ । वादी दाबीको जग्गाको वादीसँग जग्गाधनी प्रमाण पुर्जा नभई हाम्रा बुवा टंकप्रसादका नाउँको दर्ता स्रेस्तामा ऐलानी भनी उल्लेख भएको र गा.वि.स.को सिफारिस सर्जमिनमा समेत हाम्रो भोगचलन निरन्तर भएको देखिएको अवस्थामा वादीको फिराद दिने हकदैया नै छैन । उक्त जग्गा मूल्यवान् घडेरी रहेको र भोगाधिकारको आधारमा सुकुम्बासीको हैसियतले हामीले दर्ता गराउन लागेको अवस्थामा लोभ लागी फिराद दर्ता गरेको हो । विवादित जग्गा विपक्षीको नभएको हुँदा वादी दाबी खारेज गरी हाम्रो भोगाधिकार स्थापित गराई पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाइयो । सुरू जिल्ला अदालतबाट जग्गाधनी प्रमाणपुर्जा बनी वादीको स्वामित्व नै स्थापित नभएको ऐलानी भनी उल्लेख भएको ऐलानी दर्ता स्रेस्ता जग्गालाई उल्लेख गरी राजीनामा पास गरेको आधारमा दर्ता भई हक सिर्जना हुन नसक्ने हुँदा उक्त जग्गामा वादीको फिराद दाबी पुग्न सक्दैन भनी फैसला भएको पाइयो । सो फैसलाउपर वादीको पुनरावेदन परी पुनरावेदन अदालतबाट प्रतिवादीहरूकी हजुरआमा शोभामाया मगर्नीबाट निजहरूका बाबु टंकप्रसादलाई समेत साक्षी राखी सोसमेतको जग्गा वादीले राजीनामा गरी लिएकोमा सो राजीनामा कहीँकतै चुनौती दिएको नपाइएको, भोगमा विवाद पर्दा टंकप्रसादले भूमि सुधार कार्यालय, मोरङमा मोही बेदखली मुद्दा दिएकोमा वादी दाबी छाडी मिति २०३२/०९/०१ मा मिलापत्र गरेको पाइएबाट र भोगमा खिचोला गरेको होइन भन्ने प्रतिउत्तर जिकिर नहुँदा भोगमा वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई प्रतिवादीले भोगमा गरेको खिचोलासम्म मेटाई जग्गा चलनसमेत पाउने ठहर्छ भनी फैसला भएको पाइयो सो फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ ।

२. निर्णयार्थ विचार गर्दा यसमा विवादित कि.नं. ११ को जग्गा वादी वा प्रतिवादीको नाममा दर्ता भएको भन्ने नदेखिई पिण्डेश्वरी गुठीको नाममा ऐलानी दर्ता रहेको जग्गा हो भन्ने फिराद लेख, प्रतिउत्तर जिकिर, फिल्डबुक उतार र मालपोत कार्यालय, विराटनगरले खुलाई पठाएको पत्रबाट देखिन आएको छ । उक्त कि.नं.११ समेतका जग्गा प्रत्यर्थी / वादीले प्रतिवादीहरूकी हजुरआमा शोभामायाबाट प्रतिवादीहरूका बुबा टंकप्रसादलाई साक्षी राखी मिति २०३१/०३/०४ मा रजिस्ट्रेसन पारित गरी लिएको भन्ने फिराद लेख र राजीनामा लिखतको प्रतिलिपिबाट देखिन आउँछ । उक्त राजीनामाको लिखतलाई यी पुनरावेदक प्रतिवादीले होइन भनी भन्न सकेको देखिन आउँदैन । अधिकारप्राप्त निकायबाट पारित लिखतलाई अन्यथा प्रमाणित नभएसम्म होइन भन्न पनि 

सकिँदैन । सो लिखतमा उल्लिखित अन्य कित्ताहरूको बारेमा विवाद रहेकोसमेत नदेखिएबाट उक्त लिखत झुठा रहेछ भनी भन्न मिल्दैन । यसै मुद्दाको प्रमाणमा आएको मिसिलबाट दाबीको कि.नं. ११ को जग्गाको सम्बन्धमा पुनरावेदक प्रतिवादीका बाबु टंकप्रसादले यी प्रत्यर्थी वादी अशोककुमार उपर मोही बेदखली गरे भन्ने दाबी लिई दिएको मोही बेदखली मुद्दामा निजले वादी दाबी छाडी सो जग्गामा प्रतिवादी तथा यस मुद्दाका प्रत्यर्थी / वादी कुस मगरले भोगचलन गर्न पाउने गरी मिति २०३२/०९/०१ मा मिलापत्र गरेकोसमेत देखिन आएको छ । दाबीको जग्गा वादी प्रतिवादी कसैको नाममा दर्ता नभई कसैको स्वामित्वमा नरहेको तथ्यलाई दुवै पक्षले स्वीकार गरेको देखिन्छ । यसबाट यी पुनरावेदक / प्रतिवादीले उक्त जग्गामा आफ्नो भोगाधिकार रहेको भनी जिकिर गरे पनि उल्लिखित राजीनामाको कागज, पुनरावेदकका बुवा र यी प्रत्यर्थीका बीचमा भएको मिलापत्रको बेहोरालगायतका प्रमाणहरू हेर्दा विवादित जग्गामा यी पुनरावेदकको पुर्खाहरूबाट भोगाधिकार यी प्रत्यर्थी / वादीमा सरी हाल प्रत्यर्थी / वादीको नै भोगाधिकार रहेको स्पष्ट हुन जान्छ ।

३. पुनरावेदकले प्रस्तुत जग्गामा साबिकदेखि नै आफ्नो बाबुको भोगाधिकार रहेको भनेपनि साबिकमा रहेको भोगाधिकार अविछिन्न रहन सक्छ भनी भन्न सकिँदैन । कानूनअनुसार भोगाधिकार पनि हस्तान्तरण हुने हुन्छ । विवादित जग्गालाई यी पुनरावेदकको हजुरआमाले पुनरावेदकको पितालाई समेत साक्षी राखी रकम लिनुदिनु गरी राजीनामाको लिखत रजिष्ट्रेसन गरी भोगाधिकार प्रत्यर्थी / वादीलाई हस्तान्तरण गरिदिएको देखिएको अवस्थामा अब भोगाधिकार यी पुनरावेदक वादीमा नै निहित रहेको भनी भन्न सकिँदैन । यी प्रत्यर्थी / वादीले आफ्नो भोगाधिकार रहेको जग्गामा पुनरावेदक / प्रतिवादीले खिचोला गरेको भन्नेसम्म मात्र दाबी लिई स्वामित्वको प्रश्न उठाएको नै देखिँदैन र आफूमा स्वामित्व रहेको भनी यी पुनरावेदकले समेत कहीँकतै भन्न सकेको छैन । स्वामित्वको प्रश्न र भोगाधिकारको प्रश्न एकै नभई अलग-अलग विषय हुन् । कुनै पनि वस्तुमाथिको भोग वस्तुको वास्तविक स्वामीबाहेक अन्य व्यक्तिको विरूद्धमा लागू हुन्छ । अर्थात् स्वामित्व भएको व्यक्तिबाहेक अरूले भोगाधिकारलाई चुनौती दिन सक्दैनन् । विवादित जग्गामा पुनरावेदकको पनि स्वामित्वमा रहेको नदेखिएको अवस्थामा प्रत्यर्थी वादीको स्वामित्वमा नरहेकै आधारमा उक्त जग्गामा यी पुनरावेदकको भोगाधिकार रहेको भनी भन्न मिल्दैन र निज पुनरावेदकले प्रत्यर्थीको भोगाधिकारलाई चुनौती दिन पनि सक्ने देखिँदैन । पिण्डेश्वरी गुठीको नाममा ऐलानी दर्ता रहेको जग्गाको स्वामित्व कसमा निहित रहने भन्ने विषयमा प्रश्न उठेका बखत प्रमाण कागज र प्रचलित कानूनका आधारमा निर्णय हुने नै हुन्छ । हाल स्वामित्वको सम्बन्धमा कुनै दाबी नरहेकोले स्वामित्वका सम्बन्धमा निर्णय लिनु र सोको आधारमा भोगाधिकार यसको हो भनी निर्णय लिनु पर्ने नै देखिँदैन । यी पुनरावेदकको भोगमा रहेभएको पनि कागज प्रमाणबाट नदेखिएको र निजले आफ्नो स्वामित्वमा रहेको भनी भन्न पनि नसकेको अवस्थामा केबल प्रत्यर्थी वादीको स्वामित्वमा रहेको जग्गा होइन भन्ने आधारमा मात्र यी प्रत्यर्थीको भोगलाई इन्कार गरी उक्त जग्गा यी पुनरावेदकको भोगमा रहेभएको भन्न नसकिने हुँदा राजीनामा गरी लिएको र यसै जग्गाको विषयमा परेको मुद्दामा प्रतिवादीहरूका बाबुले दाबी छाडी मिलापत्र गरी यी प्रत्यर्थी / वादीको नै उक्त जग्गामा भोगाधिकार कायम हुन आएको देखिएको अवस्थामा हाल आएर सो जग्गाको भोगमा पुनरावेदक / प्रतिवादीले प्रत्यर्थी / वादीलाई अवरोध गर्न कानूनत: मिल्ने देखिँदैन ।

४. कसैको भोगाधिकार भएको सम्पत्तिमा अरू कसैले अवरोध सिर्जना गर्न खोजेको अवस्थामा भोगाधिकारमाथि खिचोला गरेको भन्नु पर्ने नै हुन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि यी प्रत्यर्थी / वादीको आफ्नो भोगाधिकार रहेको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको भन्ने दाबी जिकिर रहेको छ । पुनरावेदक प्रतिवादीले पनि खिचोला गरेको कुरालाई अन्यथा भन्न नसकी केबल प्रस्तुत जग्गा आफ्नो भोगाधिकारभित्र रहेको भनेर मात्र जिकिर लिएको देखिन्छ । आफ्नो कुनै पनि प्रकारको हक र भोग नरहेको जग्गामा भोगाधिकार रहेको भनेर जिकिर गर्नुको अर्थ खिचोला गरेको तथ्यलाई स्वीकारेको मानिन जान्छ । भोगाधिकारमा खिचोला गरेको भन्ने मात्र दाबी रहेको उक्त जग्गासमेतका जग्गाहरू यी प्रत्यर्थी वादीले प्रतिवादीहरूको हजुरआमा सोभामाया मगर्नीबाट प्रतिवादीहरूका बाबु टंकप्रसादलाई समेत साक्षी राखी र.नं. ४४९६ बाट मिति २०३१/३/४ मा गरिलिएको राजीनामालाई अन्यथा भन्न नसकिएको साथै भोगमा विवाद पर्दा टंकप्रसादले भूमि सुधार कार्यालय, मोरङमा मोही बेदखली मुद्दा दिएकोमा “मोही बेदखली गरे भन्ने वादी दाबी छाडी” मिति २०३२/०९/०१ मा मिलापत्र भएको र भोगमा खिचोला गरेको होइन भन्ने पुनरावेदकको जिकिरसमेत रहेको नहुँदा विवादित जग्गामा प्रतिवादीले खिचोला गरेको देखिएकोले खिचोला मेटाई पाउने ठहर्‍याई पुनरावेदन अदालतबाट भएको फैसलालाई अन्यथा भन्न सकिँदैन ।

५. अतः माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट विवादित जग्गामा प्रत्यर्थी / वादीको भोगाधिकार रहेको र उक्त जग्गामा पुनरावेदक / प्रतिवादीले खिचोला गरेको देखिएकोले विवादित जग्गामा वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्‍याई मोरङ जिल्ला अदालतबाट मिति २०६९/२/७ मा भएको फैसला केही उल्टी भई प्रतिवादीले भोगमा गरेको खिचोलासम्म मेटाई वादीले जग्गा चलन चलाई पाउने ठहर्‍याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०७१/५/३१ मा भएको फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिकृष्ण कार्की 

 

इजलास अधिकृतः यदुराज शर्मा

इति संवत् २०७५ साल असार १ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु