शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१४३ - कर्तव्य ज्यान

भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७४।९।१७

०७०-CR-००३५

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : राजेश कोइरालासमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिन्धुली ठोकर्पा गाउँ विकास समिति वडा नं. २ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ७ सिफल बस्‍ने गोपी कृष्ण न्यौपानेको छोरा तारानाथ न्यौपानेसमेत

 

मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा, एउटा मात्र चोट भई Sharp margins and tailing भनी घाउको प्रकृतिमा उल्लेख गरेको       छ । यस प्रकृतिको घटनामा Dead body tells the tale अर्थात् मृत शरीर आफैँले कथा भन्छ भन्नेसमेत अवधारणा रहेको छ । सबै प्रकृतिको Cut injury हत्याको अकाट्य प्रमाण होइन । आत्महत्या गर्दाको मानसिक अवस्था फरक फरक हुने हुँदा त्यसमा एकरूपता खोज्न न्यायोचित हुँदैन । हत्यामा Foresightedness of consequence तथा Desire of consequence हुनु पनि आवश्यक हुने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी र विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री लभ मैनाली र श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान्‌ अधिवक्ता श्री शेरबहादुर कार्की र श्री भीम ढकाल 

अवलम्बित नजिर :

ने.का.प.२०६७, अंक २, नि.नं.८३११, पृ.२००

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू फैसला गर्ने :

माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला

जिल्ला अदालत काठमाडौं

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र

माननीय न्यायाधीश श्री सत्यराज गुरूङ

पुनरावेदन अदालत, पाटन

 

फैसला

न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-

का.जि.का.म.न.पा.वडा नं.७ कुटुबहाल सिफल स्थित पूर्वमा दुर्गा मिश्रको पक्‍की घर, पश्‍चिममा चाबहिल सिफलतर्फ आउने जाने पक्‍की सडक, उत्तरमा नाम खुल्न नसकेको व्यक्तिको पक्‍की घर, दक्षिणमा प्यारजंग थापाको पक्‍की घर यति चारकिल्लाभित्र रमेशकुमार भट्टराईको ३ तल्ले पक्‍की घर रहेको, सो घरको भुइँ तल्लामा दक्षिणतर्फबाट भित्र प्रवेश गर्ने मूलढोका खुल्लै रहेको, भुइँ तल्लामा ४ वटा कोठाहरू रहेको, सोमध्ये उत्तरतर्फको दक्षिण मोहडाको शौचालय रहेको पूर्व मोहडाको कोठामा रमेश भन्‍ने एकदेव न्यौपानेसमेतका मानिसहरू बस्ने गरेको अन्य कोठाहरू खाली रहेको, उक्त कोठाभित्र प्रवेश गर्ने मूलढोकानजिक प्यासेजमा वर्ष ४० को हरी भन्‍ने कुलप्रसाद न्यौपाने दक्षिण टाउको उत्तर खुट्टा भई उत्तानो मृत अवस्थामा रहेको उक्त प्यासेजको पूरा चौडाइ ३ फिट १० इन्च रहेको, मूलढोकादेखि मृतकसम्मको दुरी १ फिट ७ इन्च रहेको, पश्‍चिमतर्फको भित्तादेखि मृतकको बायाँ हातसम्मको दुरी १० इन्च रहेको, पूर्वतर्फको भित्तादेखि मृतक रहेको स्थानसम्मको दुरी १ फिट ३ इन्च रहेको, दाहिने हातले भित्तामा छोएको भित्तामा, भुइँमा रगत लत्पतिएको मृतकको टाउको रगतको आहालमा रहेको, मृतकको शरीरमा लगाएको टिर्सट भिजेको बायाँ हातनजिक भुइँमा प्लाष्टिकको बिँड भएको १० इन्च लम्बाइ २ इन्च चौडाइको स्टिलको चक्‍कु थान १ रहेको, मृतकको घाँटीमा २ इन्च चौडाइ ३ इन्च लम्बाइको काटेको घाउ चोटपटक रहेको मृतकको टाउकोनजिक रहेको रगतको आहालबाट काटेको चोटबाट निस्केको रगत र उक्त चक्‍कु थान १ र मृतकले लगाएको पाइन्टको दाँहिने गोजीमा मृत्यु बोध लेखेको पाना–१ को कागज प्रहरीले उठाई लगेको मृतकको छाती पेटसमेतमा रगत लत्पतिएको देखिएको भन्‍नेसमेत बेहोराको घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।

मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेले लगाएको पाइन्टको दाँहिनेतर्फको गोजीबाट फेला परेको मृत्यु बोध लेखेको पाना–१ को कागज मिसिल संलग्न रहेको ।

मिति २०६८।१।२३ गतेका बेलुका का.जि.का.म.न.पा.वडा न. ७ सिफल स्थित रमेशकुमार भट्टराईको घरको भुइँ तल्लामा रहेको रमेश भन्‍ने एकदेव न्यौपाने र राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेको कोठामा मेरो छोरा वर्ष ४० को हरी भन्‍ने कुलप्रसाद न्यौपाने बस्न गई खाना खाएर सुतेकोमा मिति २०६८।१।२४ गतेका बिहानका राति अं.२‍.०० बजेको समयमा कोठाभन्दा बाहिरपट्टि मूलढोका नजिक प्यासेजमा घाँटीमा चोट भई मृत अवस्थामा फेला परेकाले मेरो छोरालाई को कसले कर्तव्य गरी मारेको हो या कसरी घाउचोटसित मेरो छोरा मरेको छ, अनुसन्धान गरी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको खोपनाथ न्यौपानेको जाहेरी दरखास्त ।

घटनास्थलबाट उठाइएको रगतजस्तो पदार्थ लागेको चक्‍कु थान १, रगतको आहालबाट उठाइएको रगत मृतकको घाँटीको चोटबाट निस्केको रगत तथा मृतकको शरीरबाट निकालिएको रगत परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको भन्‍नेसमेत बेहोराको पत्र ।

मिति २०६८।१।२३ गतेका बेलुका रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने बस्ने गरेको कोठामा मृतकसमेत गई खाना खाएर सुतेकोमा राति अन्धकार सुनसान भएको अवस्थामा प्रतिवादीहरू रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेले मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई मार्नको लागि कोठाबाहिर प्यासेजमा लगी धारिलो हतियार चक्‍कुले घाँटीको किलकिलेमा हानी घोची कर्तव्य गरी मारेको खुल्न आएकाले शंकामा परेका शंकर सापकोटासमेत प्रतिवादीहरू रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेलाई खोजतलास पक्राउ गरी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको थिरनारायण न्यौपाने र राजेश कोइरालाको जाहेरी दरखास्त । 

मृतक दाजु कुलप्रसाद न्यौपानेको घाँटीमा काटेको चोट थियो । भुइँमा तरकारी काट्ने चक्‍कु 

थियो । उक्त चोट कसरी लागेको हो थाहा भएन । मसमेतले निजलाई कर्तव्य गरी मारे मराएको होइन 

छैन । किन मसमेतले कर्तव्य गरी मारेको भनी किटानी जाहेरी दिएका हुन् थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेको अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

मसमेतले मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई कर्तव्य गरी मारे मराएको होइन, 

छैन । किन मसमेतले कर्तव्य गरी मारेको भनी किटानी जाहेरी दिएका हुन् थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवादी रमेश भन्‍ने एकदेव न्यौपानेको अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको भनी यकिनका साथ भन्‍न सक्दिन भन्‍नेसमेत बेहोराको घरधनी रमेशकुमार भट्टराईको कागज ।

प्रतिवादीहरू रमेश भन्‍ने एकदेव न्यौपाने र राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेसमेतले नै मेरो श्रीमान्‌को घाँटीमा काटी प्रहार गरी कर्तव्य गरी मारेका हुन् । निजहरूउपर कडा कारबाही होस् भन्‍नेसमेत बेहोराको मृतकको श्रीमती उर्मिला भन्‍ने मेनुका कोइराला न्यौपानेले गरेको कागज ।

प्रतिवादीहरू शंकर सापकोटासमेतको मिलेमतोमा रमेश भन्‍ने एकदेव न्यौपाने र राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेले हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई धारिलो हतियारले घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको हुनुपर्छ । निज प्रतिवादीहरूउपर नै कारबाही होस् भन्‍नेसमेत बेहोराको बुझिएका चिरञ्‍जिवी न्यौपानेले गरेको कागज ।

प्रतिवादीहरू शंकर सापकोटासमेतको योजनामा तथा मिलेमतोमा रमेश भन्‍ने एकदेव न्यौपाने र राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेले हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई धारिलो हतियारले घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेकोमा विश्‍वास लाग्छ । निज प्रतिवादीहरू उपर कडा कारबाही होस् भन्‍नेसमेत बेहोराको बुझिएका भरत भन्‍ने यज्ञराज न्यौपाने, नारायण भन्‍ने नीलप्रसाद न्यौपानेको कागज । 

“penetrating injury to the neck” भन्‍नेसमेत बेहोराको मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेको पोष्टमार्टम रिपोर्ट ।

प्रतिवादीहरू एकदेव न्यौपाने र तारानाथ न्यौपानेले नै कुलप्रसाद न्यौपानेलाई कर्तब्य गरी मारे मारेनन् भन्‍ने सम्बन्धमा यकिन भन्‍न सक्दिन । प्रतिवादी शंकर सापकोटाले विगतमा मृतकलाई ज्यान मार्छु भनेको भनेपछि थाहा पाएको हो, निजहरूको संलग्नतामा र मिलेमतो गरी मारेको भन्‍न सक्दिन भन्‍नेसमेत बेहोराको बुझिएका रामकुमार न्यौपानेले गरेको कागज ।

मैले निज रमेश भन्‍ने एकदेव न्यौपानेको कोठा देखेकोसम्म छैन । मृतकलाई ज्यान मार्छु भनी धम्की दिने गरेको होइन । मसमेतको संलग्नतामा मिलेमतोमा निजलाई कर्तव्य गरी मारेको होइन, छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान । 

प्रतिवादीहरू रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र मृतक मात्र कोठामा बसेकोमा १ जना मात्र घाँटी काटिएर मृत अवस्थामा फेला परेकाले निजलाई को कसले कर्तव्य गरी मारे वा आत्महत्या गरेका हुन् थाहा भएन । शंकर सापकोटा भन्‍ने व्यक्तिले मृतकलाई धम्की दिएको सम्बन्धमा थाहा छैन । अघिल्लो दिन बेलुका हो-हल्ला भएको सम्बन्धमा थाहा भएन । निज शंकर सापकोटा रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेउपर अनुसन्धान गरी कारबाही होस् भन्‍नेसमेत बेहोराको प्राय एकै मिलानको बुझिएका किशोरराज चालिसे र लक्ष्मणराज बरालले दफा दफामा गरेको कागज ।

शंकर सापकोटाले विगतमा मृतकलाई ज्यान मार्ने धम्की दिएको थाहा भएको थियो । निज शंकर सापकोटा, रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेसमेतको मिलेमतोमा रिसइवी राखी हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई कर्तव्य गरी मारेकोमा विश्‍वास लाग्छ । निजहरूउपर कारबाही होस् भन्‍नेसमेत बेहोराको बुझिएका बिमलराज पराजुलीले गरेको कागज ।

शंकर सापकोटाले विगतमा मृतकलाई ज्यान मार्छु भनी धम्की दिएको भन्‍ने थाहा  भएन । रमेश भन्‍ने एकदेव न्यौपाने र राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेलाई चिन्दिन । निजहरू बस्ने कोठाअगाडि नै मृतक अवस्थामा फेला परेको हुँदा निजहरूले नै कर्तव्य गरी मारे वा आफैँ मरे भन्‍ने मलाई थाहा भएन । अनुसन्धान गरी कारबाही होस् भन्‍नेसमेत बेहोराको पवनकुमार अग्रवालले गरेको कागज ।

शंकर सापकोटा, रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेसमेतको मिलेमतोमा हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई  कर्तव्य गरी मारेकोमा विश्‍वास लाग्छ । निजहरूउपर कारबाही होस् भन्‍नेसमेत बेहोराको बुझिएका दीपकराज पराजुलीले गरेको कागज ।

यी प्रतिवादीहरूले नै कर्तव्य गरी मारे भनी यकिनका साथ भन्‍न सक्दिन । गाउँका शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले मृतकलाई ज्यान मार्छु भनेको घटनापश्‍चात् सुनेको हो । घटना सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कडा कारबाही होस् भन्‍नेसमेत बेहोराको बुझिएका हरिकृष्ण पौडेलले गरेको कागज ।

प्रतिवादीहरूको उक्त कसुरजन्य कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादीहरू रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने, शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाउपर सोही ऐनको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी ।

मैले कर्तव्य गरी मृत्यु गराएको होइन । मेरो १३ दिनभित्रका दाजुभाइ र म स्वयंलाई जागिर लगाई दिने शुभचिन्तकको हत्या मसमेतबाट हुने भन्‍ने कुरै आउँदैन । अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेले सुरू अदालतमा गरेको बयान । 

मृतकलाई कसैले मारेजस्तो लाग्दैन, वहाँले आफैँ छुरी रोपी आत्महत्या गरेजस्तो लाग्छ । मैले मृतकलाई मारेको नहुँदा अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी रमेश भन्‍ने एकदेव न्यौपानेले सुरू अदालतमा गरेको बयान । 

मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपाने कसरी मरे मलाई थाहा छैन । मैले अभियोग दाबीअनुसारको कसुर अपराध नगरेको हुँदा अभियोग दाबीअनुसार सजाय पाउनु पर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले सुरू अदालतमा बयान । 

प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको कारबाही गर्नु भन्‍नेसमेत बेहोराको सुरू अदालतको मिति २०६८।२।२३ को आदेश पर्चा ।

काठमाडौं जिल्ला अदालतको आदेश बदर गरिपाउँ भनी प्रतिवादीहरूले पुनरावेदन अदालत पाटनमा दिएको निवेदनमा “प्रतिवादीहरू राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेलाई थुनामा राख्‍ने गरी त्यस अदालतबाट मिति २०६८।२।२३ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरी रहनु परेन, कानूनबमोजिम गर्नू । प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटालाई पछि ठहरेबमोजिम गर्ने गरी हाल अ.बं. ४७ नं.बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु” भन्‍ने प्र.नं.०८४०, ०८४१ र नि.नं.८६० को निवेदनमा पुनरावेदन अदालत पाटनको मिति २०६८।४।२० को आदेश । 

कर्तव्य ज्यान मुद्दामा प्रतिवादी भन्‍ने गृष्मप्रसाद सापकोटाको संलग्नता छैन भन्‍ने प्रतिवादी गृष्मप्रसाद सापकोटाको साक्षी सोमनाथ प्याकुरेल, माधवप्रसाद न्यौपानेले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६८।२।१५ को कागजमा भएको सहिछाप बेहोरा मेरो नै हो । के कसरी मरे भन्‍नेबारेमा मलाई थाहा छैन भन्‍ने बुझिएका किशोरराज चालिसे, लक्ष्मणराज सत्यालले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६८।२।६ मा भएको घटना विवरण कागजमा भएको सहिछाप बेहोरा मेरो हो । मृतकको हातमा चक्‍कु थियो, के कसरी को को मिली हत्या गरेको हो मलाई थाहा छैन भन्‍ने बुझिएका रमेशकुमार भट्टराईले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६८।२।१० गरेको कागजमा भएको सहिछाप बेहोरा मेरो हो । मैले घटना देखेको होइन भन्‍नेसमेत बेहोराको बुझिएका नारायण भन्‍ने नीलप्रसाद न्यौपानेले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६८।१।२४ मा दिएको जाहेरी दरखास्तमा भएको सहिछाप र बेहोरासमेत मेरो नै हो । गृष्म भन्‍ने शंकर सापकोटा, रमेश भन्‍ने एकदेव न्यौपाने, तारानाथ न्यौपाने मिली कर्तव्य गरी मारेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवाला वादीको साक्षी खोपनाथ न्यौपानेले सुरू अदालतमा गरेको बकपत्र । 

कसले के गरी मृतकलाई मार्‍यो थाहा भएन, कुलप्रसाद न्यौपाने घटना हेर्दा आत्महत्या हो जस्तो लाग्छ । अभियोग दाबी झुट्ठा हो, तारानाथसमेतले हत्या गरेको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेको साक्षी चुडामणी भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी एकदेव न्यौपाने निर्दोष हुन्, अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी एकदेव न्यौपानेको साक्षी विष्णुप्रसाद पाण्डे, ध्रुव पौडेलले सुरू अदालतमा गरेको बकपत्र । 

एकदेव न्यौपाने, तारानाथ न्यौपानेसमेतले कर्तव्य गरी ज्यान मारेकोमा शंका लाग्छ भन्‍नेसमेत बेहोराको बुझिएका दीपकराज पराजुलीले सुरू अदालतमा गरेको बकपत्र ।

मेरो श्रीमान्‌ कुलप्रसाद न्यौपानेलाई रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र शंकर भन्‍ने गृष्म सापकोटा भएर मिलोमतो गरी हत्या गरेका हुन् भन्‍नेसमेत घटना विवरण कागजको मानिस मेनुका न्यौपाने, जाहेरवाला राजेश कोइराला, थिरनारायण न्यौपानेसमेतको सुरू अदालतमा बकपत्र भई मिसिल संलग्न रहेको । 

मृत्युको कारण कुनै चिजले (धारिलोले) घाँटीमा घोचिएको कारणले हो भन्‍ने मृतकको पोष्टमार्टम गर्ने डा. गोपालकुमार चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू तारानाथ न्यौपाने र एकदेव न्यौपानेले कसुर अपराधमा इन्कार रहेको भएपनि मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपाने र प्रतिवादीहरूसँगै खाना खाई एउटै कोठामा सँगसाथ सुतेको भन्‍ने बयान गरेको देखिन्छ । जाहेरवालाहरू र मृतककी पत्‍नीसमेतले किटानीसाथ यिनै प्रतिवादीहरूले कर्तव्य गरी मृतकको हत्या गरेको भनी उल्लेख गरेको देखियो । मृतकलाई लागेको घाउ चोटको प्रकृतिअनुसार दाहिने हात चलाएको भए देब्रे हात नेर चक्‍कु रहनु पर्ने कुनै कारण नरहेको घाँटीमा देखिएको चोट एउटै देखिए तापनि यी मृतक आफैँले चोट लगाएको हुन् भन्‍न सकिने अवस्था नरहेको मौकाको घटनास्थल प्रकृति मुचुल्कामा उक्त कुरा पुष्टि हुन नसकेको, प्रतिवादीहरूसँगै एउटै कोठामा मृतकसमेत सुतेको अन्य व्यक्तिहरू उपस्थित नभएको मृतकले आत्महत्या गर्नेसम्मको अवस्था र कारण नदेखिएको मृतकको मृत्यु आत्महत्या नभई सँगै सुतेका प्रतिवादीहरूको कर्तव्यबाट भएको भनी स्पष्ट पुष्टि हुन आयो । बरामद भएको चक्‍कु यी प्रतिवादीहरूको घर कोठामा पहिलेदेखि रहेको देखिँदैन । यी प्रतिवादीहरूले नै बरामद भएको चक्‍कु ल्याई राखेको देखिन्छ । प्रतिवादी एकदेव र तारानाथ मात्र उक्त कोठामा रातमा रहेको भन्‍ने परिस्थिति जन्य प्रमाणले नै जाहेरवालाले मौकाको जाहेरी बेहोरा पुष्टि हुने गरी र मौकामा बुझिएका किशोर चालिसेसमेतले यी प्रतिवादीहरूले ज्यान मारेकोमा शंका लाग्छ भनी मौकाको कागज बेहोरालाई पुष्टि हुने गरी गरेको बकपत्रसमेतबाट यी प्रतिवादीहरू राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेले मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई कर्तव्य गरी मारेको भन्‍ने पुष्टि भएको, प्रतिवादीहरूमध्ये कसले प्रहार गरेको चोटले मृतकको मृत्यु भएको भन्‍ने स्पष्ट नभई दुवै प्रतिवादीहरूले मिलेमतो गरी घाँटीमा चक्‍कु प्रहार गरी हत्या गरेको भन्‍ने पुष्टि भएकोले ज्यानसम्बन्धी महलको १३(३) नं.अनुसार यी प्रतिवादीहरू राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेलाई ऐ.१३(३) नं.अनुसार जन्म कैद हुने ठहर्छ । अर्का प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाको हकमा यी प्रतिवादी आरोपित कसुरमा इन्कार रहँदै आफूले प्रतिवादीहरू रहेको घरकोठा नदेखेको भनी उल्लेख गरेको इन्कारी बयानलाई निजका साक्षीहरूले समर्थन हुने गरी बकी लेखाई दिएको । अन्य प्रतिवादी सह-अभियुक्तहरूको डेराकोठासम्म पनि नदेखेको भनी यी प्रतिवादीले लिएको जिकिर मिसिल संलग्न तथ्य, प्रमाणबाट खण्डित नभएकोसमेतबाट यी प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले अभियोग दाबीबमोजिम कसुर गरेको नदेखिएकोले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍ने काठमाडौं जिल्ला अदालतको मिति २०६८।८।१ को फैसला ।  

मृतकको पिता जाहेरवाला खोपनाथ न्यौपानेले मिति २०६८।१।२४ गते दिएको जाहेरीमा कुनै शंकासम्म गरेको अवस्था छैन । मृतककी श्रीमती उर्मिला भन्‍ने मेनुका न्यौपानेसमेत प्रतिवादीसँग कुनै झगडा भएको छैन भनी अदालतमा बकपत्र गर्नुभएको छ । स्वयम् मेनुकाले दिएको जाहेरीमा पनि निजले शंकाको कारण गृष्मप्रसाद सापकोटाको रिसइवीलाई लिएकी छिन् । जबकि काठमाडौं जिल्ला अदालतले गृष्‍मप्रसाद सापकोटालाई सफाइ दिएको अवस्था छ । अतः मार्नु पर्ने कारण, इवी, अदावत नदेखिएको अवस्थामा र मृतकको आफ्नोबाहेक कसैको कर्तव्यबाट मरेको हो भन्‍ने कुरासमेत कतैबाट नदेखिँदा नदेखिँदै पनि हामीलाई कसुरदार ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको स्पष्ट छ । मृतकको शरीरमा घाँटीमा काटिएको एउटा चोटबाहेक अन्य कुनै चोट छैन संघर्षको कुनै चिह्न छैन । लास फेला परेको स्थानमा निजको मृत्यु भएको कुरा रगत जमेकोबाट पुष्टि भएको पोष्टमार्टम रिपोर्ट र घटनास्थल प्रकृति मुचुल्काबाट प्रमाणित छ । परिपक्व उमेरको मानिसलाई कोठाबाट निकाली प्यासेजमा लगी मारेको भए त्यहाँ संघर्षको चिह्न नहुने भन्‍ने अवस्था हुँदैन । घटना भएको थाहा पाउने बित्तिकै हामीले घरधनी रमेशकुमार भट्टराईलाई खबर गरेका छौं । प्रहरीलाई खबर गरी प्रहरी राति २.०० बजे नै आई घटनास्थल मुचुल्का तयार भएको छ । उक्त अपराधमा संलग्न भएको भए भाग्ने प्रयास गर्दथ्यौं होला । ज्यानजस्तो अपराधमा मृत्युको कारक हतियारमा कसको हातको छापहरू रहेको छ, परीक्षणसम्म गरिएको देखिँदैन । मृतकको पाइन्टको दाहिने गोजीमा मृत्युबोध लेखेको पर्चा बरामद भएको छ । सो पर्चाले आत्महत्याको लागि उक्साएको कुरा सहज अनुमान गर्न सकिने विषय 

हो । सो पत्रबाट निज आफैँले आत्महत्या गरेको भन्‍ने प्रस्ट हुँदाहुँदै निर्दोष मानिसलाई सजाय गर्न यहाँभन्दा अन्याय के हुन सक्छ । एउटा चोट दुवैको प्रहारबाट हुन सम्भव हुँदैन । हचुवाको भरमा फौजदारी अभियोगमा सजाय गर्न मिल्ने होइन । प्रत्यक्ष देख्‍ने कोही छैन । घटनाको तत्कालै देख्‍ने घरधनी रमेश भट्टराईले समेत आत्महत्याको शंका व्यक्त गरेका छन् । मौकामा बुझिएका मानिसहरू घटनाको तत्कालपछि देख्‍ने व्यक्ति होइन, छैनन् । निजहरूले प्रतिवादीउपर किटानी भन्‍न सकेका छैनन् । शंकाको भरमा हामीहरूलाई दोषी घोषित गरी अन्यायपूर्ण फैसला भएकोले उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्‍नेसमेत प्रतिवादी एकदेव न्यौपाने र तारानाथ न्यौपानेको संयुक्त पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेसमेत भई मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई धारिलो हतियार चक्‍कु प्रहारगरी कर्तव्य गरी मारेको भन्‍ने जाहेरी दरखास्त, घटनास्थल तथा लासजाँच मुचुल्कासमेतबाट प्रस्ट भएको छ भने सो बेहोरालाई पुष्टि गरी जाहेरवाला खोपनाथ न्यौपानेसमेतले गरेको बकपत्र एवम् बुझिएका मानिसहरूले गरेको बकपत्रसमेतबाट यी प्रतिवादीहरूले धार भएको जोखिम हतियारले हानि घोची मृतकको कर्तव्य गरी मारेको पुष्टि भएको र यी प्रतिवादीहरूले कसुर गरेको कुरालाई स्वयम् अदालतले स्वीकार गरी सकेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुनु पर्नेमा प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेलाई जन्म कैद र प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई मार्ने धम्की दिई रहेको निजसमेतको मिलोमतोमा बुझिएका मेनुका न्यौपानेसमेतले अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्थामा प्रतिवादीले कसुरमा इन्कारी बयान गर्दैमा कसुरदार होइन भन्‍न सकिँदैन । प्रतिवादीले गरेको इन्कारी बयान नै सफाइको आधार बन्‍न नसक्ने हुँदा प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटासमेत भई योजना बनाई मृतकलाई धारिलो हतियार चक्‍कुले घोची कर्तव्य गरी मारेको प्रस्ट भएको देखिँदादेखिँदै प्रतिवादीले गरेको इन्कारी बयानलाई मात्र आधार लिई प्रतिवादी गृष्मप्रसाद सापकोटालाई सफाइ दिने गरी भएको फैसला प्रमाणको रोहमा त्रुटिपूर्ण हुँदा बदर गरी सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत वादी नेपाल सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

मिसिल संलग्न शव परीक्षण प्रतिवेदन, लास प्रकृति मुचुल्कासमेतबाट मृतकको मृत्यु धारिलो हतियार प्रयोग भई भएको भन्‍ने देखिन आएको स्थितिमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको सुरूको फैसला कानूनको व्याख्याको प्रश्‍नमा फरक पर्न सक्ने देखिएको र प्रस्तुत मुद्दामा दुवै पक्षको पुनरावेदन परेकोसमेत देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ एक पक्षको पुनरावेदन अर्को पक्षलाई उपलब्ध गराई अनुपस्थित पक्षलाई छलफलमा झिकाई नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६९।६।१६ को आदेश ।

मृतकको मृत्यु कर्तव्यबाट भएको र उक्त कर्तव्य गर्नेमा यिनै विरूद्ध खण्डमा लेखिएका प्रतिवादीहरू नै रहेको भन्‍ने उल्लिखित घटनाक्रम तथा परिस्थितिजन्य प्रमाणबाट देखिएको छ । प्रत्यक्ष प्रमाण नहुँदा नै परिस्थितिजन्य प्रमाण हेरिनु पर्ने हुन्छ । यस्तै प्रकृतिको मुद्दामा “यस्तै प्रत्यक्ष प्रमाणको अभाव छ भने यसको लाभ अभियुक्तलाई मात्र दिने हो भने परिस्थितिजन्य प्रमाणको धारण मृत प्राय: हुने स्थिति सृजना हुन जाने” (ने.का.प ०४५ अंक ११ पृ.११९६ नेपाल सरकार वि. ठूली कान्छी माया तामाङ मुद्दा कर्तव्य ज्यान) भनी त्यस्तै “परिस्जितिजन्य प्रमाणको शृङ्खलाहरूबाट अभियोग दाबीलाई समर्थन भएको स्थितिमा प्रत्यक्ष प्रमाणकै विद्यमानता हुनुपर्ने भन्‍ने मिल्दैन । फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणहरूबाट अभियोग दाबीलाई समर्थन गरेको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्‍ने तर्क ग्राह्य नहुने” । (स.अ.बु ०६७, वर्ष १९, पूर्णाङ्क ४४५, मुद्दा कर्तव्य ज्यान, बुधन लिम्बु विरूद्ध नेपाल सरकार) त्यस्तै अर्को “कुनै अभियोग लागेको अभियुक्तले कसुरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत तथ्य परक एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउनु पर्ने” (ने.क.प ०६७, अंक ५ पृ. ८१४ नि.नं. ८३७४ चार्ल्स शोभराज अंक ५ पृ. ८१४ नि.नं. ८३७४ चार्ल्स शोभराज गुरूमुख वि. नेपाल सरकार मुद्दा ज्यान) भनी त्यसै गरी अर्को “घटनाको अवस्था तथा तत्काल विद्यमान परिस्थितिलाई पुनर्मूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न उचित हुन आउँदैन । तसर्थ परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्‍लेषण र विवेचना गर्नुपर्ने त्यतिकै सान्दर्भिक देखिने” (ने.का.प. ०६८ अंक २ पृ. २०५ नि.नं. ८५५३, फूलबेन्च मुद्दा कर्तव्य ज्यान) भनी सम्मानित सर्वोच्‍च अदालतबाट नयाँ विधिशास्त्रीय अवधारणा प्रतिपादित भएको देखिन्छ भने उक्त मुद्दाहरूको तथ्यसँग प्रस्तुत मुद्दाको तथ्यपूर्ण रूपले समीपता ग्रहण गरी रहेको अवस्थामा उक्त प्रतिपादित नजिर सिद्धान्तसमेतको अवज्ञा गरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदरभागी रहेको छ । 

अतः उल्लिखित आधार कारणहरूबाट विरूद्ध खण्डमा लेखिएका प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम कर्तव्यमा कसुर कायम गरी सजाय गर्नु पर्नेमा सुरूको फैसला केही उल्टी गरी कसुर ठहर भएका प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिई भएको पुनरावेदन अदालत पाटनको उक्त फैसलामा सम्बद्ध कानूनको प्रयोग व्याख्या, पालनामा  र प्रतिपादित सिद्धान्तको पालनामा गम्भीर त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग मागबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

मृतक आफैँले आत्महत्या गरेको कुरा वैज्ञानिक परीक्षणबाट प्रमाणित हुन नसकेको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसलामा परिस्थितिजन्य प्रमाणको उचित मूल्याङ्कन हुन नसकेको कारणबाट उक्त फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।५।२ को यस अदालतको आदेश । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी  नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी र विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले मृतकको मृत्यु धारिलो हतियार चक्‍कुले घाँटीमा काटिएको कारणबाट भएको, प्रतिवादीहरू र मृतक एकै कोठामा बसेको र घटनास्थलमा प्रतिवादीहरूबाहेक अन्य नभएको स्थिति विद्यमान भएको प्रतिवादीहरूलाई फसाउनु पर्ने कुनै कारण नभएको र मृतककी श्रीमती जाहेरवाला मेनुका न्यौपाने जाहेरी दरखास्तमा र अदालतमा बकपत्र गर्दासमेत शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले पहिले पनि कुटपिट गरेको र गुण्डा लगाएर मार्छु भनी धम्की दिएको भनी बकपत्र गरेसमेतबाट प्रतिवादीहरूले मृतकलाई धारिलो हतियार चक्‍कुले घोची कर्तव्य गरी मारेको प्रस्ट भएको हुँदा अभियोग मागदाबीअनुसार प्रतिवादीहरूलाई सजाय हुनपर्नेमा प्रतिवादीमध्ये तारानाथ न्यौपाने एकदेव न्यौपाने, गृष्मप्रसाद सापकोटालाई सफाइ दिने गरी भएको सुरू पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी  अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेतको बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक प्रतिवादीहरूको तारानाथ न्यौपाने र एकदेवको तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा र श्री लभ मैनाली तथा विद्वान्‌ अधिवक्ता श्री शेरबहादुर कार्कीले मृतक र प्रतिवादीहरू छिमेकी भएको ज्यादै मिल्ने व्यक्तिहरू हुन् । मृतकको पिताले जाहेरीमा मृतक र प्रतिवादीहरू ज्यादै प्रेमपूर्वकसँग बसेको कुरा उल्लेख गरेको र शंकासम्म गरेको अवस्था 

छैन । घरधनी रमेशकुमार भट्टराई, बुझिएका छिमेकीहरू, काम गर्ने ठाउँको साहु पवनकुमार अग्रवालसमेतले प्रतिवादीहरूले कर्तव्य गरी मारेको जस्तो लाग्दैन भनी कागज गरी दिएको छ । घटना भएको थाहा पाएपछि प्रतिवादीहरूले घरवाला र प्रहरीमा समेत खबर गरिदिएका छन् । अपराध गरिसकेपछि भाग्न उम्कन खोज्ने, सो व्यवहार प्रतिवादीहरूबाट भएको छैन । घटनास्थल प्रकृति र लास प्रकृति मुचुल्काले आत्महत्या गरेको देखिन्छ । घटनास्थलभरि रगत छ । प्रतिवादीहरूले टेकेको छैन । फिङ्गर प्रिन्ट छैन । संघर्षको चिह्न छैन । दुवै प्रतिवादीको प्रहरी र अदालतमा भएको बयानमा कुनै भिन्‍नता छैन, एउटै छ । दुविधाजनक छैन । घाउको प्रकृतिबाट आफैँले काटेको देखिन आउँछ । डा.गोपाल चौधरीले बकपत्रमा कर्तव्यबाट घाउचोट लागेको भन्‍न सकेको छैन । मार्नुपर्ने कुनै कारण, इवी नभएको मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने कुरा कतैबाट नदेखिएको र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ । प्रत्यक्षदर्शी, वस्तुनिष्ठ प्रमाणको अभाव छ । पुनरावेदन अदालत पाटनबाट प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिनुभएको फैसला कानून एवम न्यायसङ्गत हुँदा उक्त फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाको तर्फबाट रहनुभएका विद्वान्  वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री भीम ढकालले गृष्मप्रसाद सापकोटालाई जाहेरी दरखास्तमा पनि शंकासम्म देखाएको छैन । घटनास्थलमा नै पुगेको छैन । अन्य प्रतिवादीहरूले पनि गृष्मप्रसाद सापकोटाले कोठा देखेको छैन भनी भनेका छन् । मृतककी श्रीमतीले पहिलेदेखि नै मार्ने धम्की दिएको भनी जाहेरी दिएपनि सो सम्बन्धमा मौकामा उजुरी दिएको छैन । मृतकले आफ्नो जीवनकालमा कतैपनि प्रतिवादीहरूसँग इवी थियो वा मार्ने धम्की दिएको भने देखिएको छैन । मृतक र प्रतिवादीले काम गरेको साहु पवनकुमार अग्रवालले यी दुवैको सम्बन्ध राम्रो थियो भनेको छ । एउटै पसलमा काम गरेको भन्दै शंका लाग्छ भनी जाहेरवालाले बकपत्र गरेको, प्रतिवादी गृष्मप्रसाद सापकोटा घटनास्थल भएको घरकोठा नदेखेको अन्य प्रतिवादीहरू सँगसाथमा रहेको भन्‍ने कतै नखुलेको अन्य वस्तुनिष्ठ स्वतन्त्र प्रमाणको अभावमा कसुरदार ठहर्‍याउन नमिल्ने हुँदा सोही आधार कारणबाट सुरू काठमाडौं जिल्ला अदालत एवम् पुनरावेदन अदालत पाटनबाट समेत प्रतिवादी गृष्मप्रसाद सापकोटालाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रस्तुत मुद्दामा प्रतिवादीहरू शंकर भन्‍ने गृष्मप्रसाद सापकोटा, रमेश भन्‍ने एकदेव न्यौपाने, राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेसमेतले नै ज्यान मार्ने योजना बनाई मिलोमतोमा राति अं.२.०० बजेको समयमा रमेशकुमार भट्टराईको घरको भुइँतल्लामा मूलढोका नजिक प्यासेजमा लगी राखी कोठाबाहिर प्यासेजमा निकाली प्रतिवादीहरूको कोठाभित्रको धारिलो हतियार चक्‍कुले हरी भन्‍ने कुलप्रसाद न्यौपानेको घाँटीमा हानी प्रहार गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेले मिलोमतो गरी मृतक हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई घाँटीमा चक्‍कु प्रहार गरी हत्या गरी कर्तव्य गरी मारेको पुष्टि भएकोले ज्यानसम्बन्धी महलको १३(३) नं.अनुसार जन्म कैद हुने ठहर्‍याई अर्का प्रतिवादी शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले रातको समयमा साथमा रहेको नदेखिएको, अन्य प्रतिवादीको डेराकोठासम्म पनि नदेखेको, यी प्रतिवादीले लिएको जिकिर प्रमाणबाट खण्डित नभएकोसमेतबाट आरोपित कसुरबाट सफाइ पाउने ठहराई सुरू काठमाडौं जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपाने र रमेश भन्‍ने एकदेव न्यौपानेको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी सुरू जिल्ला अदालतको फैसला उल्टी गरी तीनैजना प्रतिवादीहरूलाई सफाइ दिएकोमा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । 

अब पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. जाहेरवालाको जाहेरी हेर्दा मिति २०६८।१।२३ गते अं.२१.४५ बजेतिर तीन दाजुभाइ खानाखाई एकदेव र कुलप्रसाद एउटा खाटमा सुतेको र तारानाथ छुट्टै खाटमा सुतेको, मिति २०६८।१।२४ गते बिहानको राति अं.२.०० बजे एकदेवले आफूसित सुतेका दाजुलाई छाम्दा नभेटेपछि उठेर दाजु खोई भनी बत्ती बालेर हेर्दा, कोठाको ढोका खुल्ला रहेको कोठाबाहिर प्यासेजमा रगतको आहालमाथि किलकिले घाँटीमा धारिलो हतियार चक्‍कु रोपेको चोट र चक्‍कुसमेत भएको र छोरा कुलप्रसाद मृत अवस्थामा देखेको, वरपर हो-हल्ला गरी मानिसहरू प्रहरी भेला भएको, छोरालाई को-कस्ले कर्तव्य गरी मारेको हो, अनुसन्धान गरिपाउँ कसैले कर्तव्य गरी मारे मराएको खुल्न आएमा पुनः किटानी जाहेरी दिनेछु भनी मृतकको पिता खोपनाथ न्यौपानेले मिति २०६८।१।२४ मा जाहेरी दिएको देखिन्छ । 

३. तत्पश्चात, रमेश भन्‍ने एकदेव न्यौपाने, तारानाथ न्यौपानेले धारिलो चक्‍कु कुलप्रसादको घाटी किलकिलेमा रोपी घोची कर्तव्य गरी मारेको भन्‍ने यकिन खुल्न आएको र शंकामा परेका शंकर भन्‍ने गृष्मप्रसाद सापकोटासमेतलाई पक्राउ गरी कारबाही गरिपाउँ भनी मिति २०६८।१।२६ मा थीरनारायण न्यौपाने र राजेश कोइरालाको जाहेरी दरखास्त दिएको देखिन्छ । 

४. मृतक दाइ हरी भन्‍ने कुलप्रसाद न्यौपानेलाई मैले काट्ने मार्ने जस्ता कार्य गरेको 

छैन । के कसरी घटना घटेको हो, थाहा भएन भन्‍नेसमेत अधिकारप्राप्‍त अधिकारीसमक्ष र मृतकलाई कसैले मारे जस्तो मलाई लाग्दैन, वहाँले आफैँ छुरी रोपी आत्महत्या गरे जस्तो लाग्छ, मृतकको मृत्यु गराउनमा हामीहरूको कुनै हात छैन । म निर्दोष छु, सफाइ पाउँ भनी अदालतसमक्ष प्रतिवादी रमेश भन्‍ने एकदेव न्यौपानेले इन्कारी बयान गरेको देखिन्छ । 

५. विगतका दिनहरूमा पनि कुराकानी हुँदा पैसा कमाउन सकिएन भनी मनोबल गिराउने कुरा गरेकोले निजले अवश्य पनि आफैँले आत्महत्या गरेको हुनुपर्छ । मैले कर्तव्य गरी मारेको छैन । के कसरी घटना घटेको थाहा भएन भनी अधिकारप्राप्‍त अधिकारीसमक्ष र हामीहरूले मृतकको कर्तव्य गरी मारेका 

होइनौं । साथै गृष्मप्रसाद सापकोटा हामीहरूको कोठामा नदेखेको हुँदा सो कार्यमा संलग्न भए जस्तो लाग्दैन । डिप्रेसन भई आफैँले आत्महत्या गर्नु भएको जस्तो लाग्दछ । मैले अभियोग मागदाबीअनुसारको कसुर अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन । सफाइ पाउनु पर्छ भनी अदालतसमक्ष प्रतिवादी राजेन्द्र भन्‍ने तारानाथ न्यौपानेले बयान गरेको पाइन्छ । 

६. मृतकलाई मसमेतले कर्तव्य गरी मारेको हैन, छैन । म घटनास्थलमा पुगेको छैन । को-कस्ले कर्तव्यगरी मारी मारेका हुन् वा आफैँ आत्महत्या गरेका हुन्, मलाई थाहा छैन भन्‍नेसमेत अधिकारप्राप्‍त अधिकारीसमक्ष र मृतकको मृत्यु गराउने कार्यमा मेरो कुनै संलग्नता छैन । मेरो र मृतकका बीचमा कुनै रिसइवी केही नभएको हुँदा मैले मार्नुपर्ने कुनै कारण छैन । मैले कसुर नगरेको हुँदा अभियोग मागदाबीअनुसार सजाय हुने होइन सफाइ पाउँ भन्‍ने शंकर भन्‍ने गृष्मप्रसाद सापकोटाले अदालतमा बयान गरेको पाइन्छ । 

७. शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारण (Penetrating injury to the neck) भन्‍ने उल्लेख भएको र एकपटकमात्र घाँटीमा काटिएको अवस्था छ । शरीरमा प्रतिकारको कुनै निसान प्रमाण भएको भन्ने उक्त प्रतिवेदनमा उल्लेख छैन । मिसिल संलग्न प्रमाणहरूमा र मूलतः घटना मुचुल्कामा मृतक फेला परेको स्थानको वरिपरि वा अन्य कुनै कोठा वा क्षेत्रमा कुनै प्रकारको दशी प्रमाण 

देखिँदैन । घरको माथिल्लो तलामा घरपट्टी आफैँ बसेको र निजले पनि तल्लो तलामा कुनै आवाज सुनेको वा घटना प्रकृतिअनुसारको क्रिया भएको खुलाएको छैन । यी प्रतिवादीहरूसँग मृतकको कुनै प्रकारको झैं झगडा वा विवाद भएको भन्ने कुनै प्रमाण देखिएको छैन । घटनाको दिन मृतकका पिताको जाहेरीमा कुनै नाम किटान नभएकोमा पुनः२०६८।१।२४ मा थिर नारायण न्यौपाने र राजेश कोइरालाको जाहेरी दर्खास्त पर्दा यी प्रतिवादीहरूले मारेको यकिन खुल्न आएको भन्ने उल्लेख गरे पनि यी दुई जाहेरीबीच के कस्तो तथ्ययुक्त विश्वासिलो र अकाट्य प्रमाण फेला परी यकिन खुल्न आएको हो सो मिसिलबाट नदेखिएको अवस्थामा जाहेरीकै भरमा मात्र कसुरदार ठहर गर्नु न्यायोचित हुँदैन ।

८. प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कुनै कारण अनुसन्धानबाट देखिँदैन । मार्ने कुनै योजना बनाएको देखिँदैन वा मार्ने मनसाय भएको भन्नेसमेतको प्रमाण पेस गर्न सकेको पाइँदैन । प्रत्यक्ष प्रमाणको अभाव भएमा मालाकार कडियुक्त तथ्यबाट परिस्थितिजन्य प्रमाण जुटाउनु अभियोजन पक्षको कर्तव्य हो । अदालतले अभियोजनपक्षबाट प्रस्तुत प्रमाणको मूल्याङ्कन गर्ने हो, आफैँले प्रमाण सङ्कलन गर्ने वा शङ्कासम्म गरी ठहर गर्ने अवस्था हुँदैन । विश्‍वासिलो अकाट्‍य भरपर्दो प्रमाणको अभावमा अनुमान आशंका र सम्भावना जस्तो मनोगत प्रमाणलाई एकमात्र आधार नभई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन भन्‍ने सर्वोच्च अदालतबाट (ने.का.प.२०६७ अङ्क २ नि.नं.८३११ पृष्ठ २००) सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।

९. माथि उल्लिखित विवेचना आधार कारण प्रमाणसमेतबाट प्रतिवादीहरू अदालत र अनुसन्धान अधिकृतसमक्ष समेत आरोपित कसुरमा पूर्ण इन्कारी रहेको देखिन्छ । यसरी उक्त इन्कारी बयानहरूमा एकरूपतासमेत भएको देखिन्छ । तथ्यमा मेल खाएको देखिन्छ । घटनास्थल प्रकृति मुचुल्कामा घाँटीको रूद्रघण्टी मुनी २ इन्च चौडाइ ३ इन्च लम्बाइ काटेको एउटा मात्र चोट रहेको देखिन्छ । मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा, एउटा मात्र चोट भई Sharp margins and tailing भनी घाउको प्रकृतिमा उल्लेख गरेको छ । यस प्रकृतिको घटनामा Dead body tells the tale अर्थात मृत शरीर आफैँले कथा भन्छ भन्नेसमेत अवधारणा रहेकोछ । सबै प्रकृतिको Cut injury हत्याको अकाट्य प्रमाण होइन । आत्महत्या गर्दाको मानसिक अवस्था फरक फरक हुने हुँदा त्यसमा एकरूपता खोज्न न्यायोचित हुँदैन । हत्यामा Foresightedness of consequence तथा Desire of consequence हुनु पनि आवश्यक 

हुन्छ । प्रस्तुत घटनामा त्यस्तो अवस्था देखिँदैन । प्रस्तुत घटनाको वस्तुस्थिति, लास तथा घाउको प्रकृति एवं घटनास्थलको अवस्था हेर्दा आत्महत्या होइन भनी किटानी रूपमा भन्न सक्ने अवस्था देखिँदैन । सुरू जाहेरीमा यी प्रतिवादीहरूउपर किटानी जाहेरी नपरेको र पछि परेको जाहेरीमा मात्र किटानी गरी जाहेरी परेको भएपनि कुनै अकाट्य प्रमाण भए उक्त जाहेरी मै पनि उल्लेख हुन सक्नेमा सो अवस्था देखिँदैन । वारदात प्रत्यक्ष देख्‍ने अरू कोही नभएको एकै कोठामा सुतेकै भरमा जाहेरवालाले उल्लेख गरेअनुसारको अवस्था नदेखिएको र मार्नुपर्ने उद्देश्य कारण र कस्ले किन मारेको भन्‍ने प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार प्रमाणित गराउन सकेको देखिँदैन ।

१०. प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार कसुर प्रमाणिति गर्ने भार फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी उल्लेख भएअनुसार तथ्य प्रमाणद्वारा अभियोग दाबी पुष्टि गर्न नसकेको, परिस्थितिजन्य प्रमाणमा तथ्यहरूको एकआपसमा सम्बन्ध रही रहेको समेत नदेखिएको, प्रतिवादीहरूले मृतकलाई चक्‍कुले घाँटीमा काटी कर्तव्य गरी मारेको भन्ने प्रत्यक्ष चश्मदिद साक्षी प्रमाण, परिस्थितिजन्य प्रमाणको साथै वस्तुनिष्ठ प्रमाणको अभावमा तथा माथि उल्लिखित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प.२०६७ अङ्क २ नि.नं.८३११ पृष्ठ २००) अनुरूप विश्‍वासिलो अकाट्‍य प्रमाणको अभावमा अनुमान, आशंका र सम्भावना जस्तो मनोगत प्रमाणलाई एकमात्र आधार बनाई कर्तव्यबाट मृतकको मृत्यु भएको भनी भन्‍न न्यायोचित नहुने हुँदा प्रतिवादीहरू तारानाथ न्यौपाने, एकदेव न्यौपाने र शंकर भन्‍ने गृष्मप्रसाद सापकोटालाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत पाटनको फैसलालाई अन्यथा भन्न मिलेन ।

११. अतः पुनरावेदन अदालत पाटनको मिति २०६९।१०।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. डम्बरबहादुर शाही

 

इजलास अधिकृत: जयराम श्रेष्ठ

इति संवत् २०७४ साल पुस १७ रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु