निर्णय नं. १०१४८ - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७४।५।४
०७२-CR-०३७८
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, फस्कु गा.वि.स. वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ मा बसी हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको सन्दीप नेपाली
विरूद्ध
प्रत्यर्थी / वादी : नारायण नेपालीको जाहेरीले नेपाल सरकार
डर, धाक, धम्कीको प्रयोग गरी भएको जबरजस्ती करणीको वारदातमा पीडितले आफ्नो इच्छाविपरीत आफूलाई समर्पित गरेको हुनाले यस्तो अवस्थामा पीडित र पीडकबीच संघर्ष नै नहुने हुँदा निजहरूको शरीरमा संघर्षको चिह्न नदेखिनु स्वाभाविक नै हुन्छ । तर यसरी डर, धाक, धम्कीको प्रयोग गरी गराएको सम्पर्कलाई सहमतिमा शारीरिक सम्पर्क गरेको मान्न नमिल्ने ।
प्रतिवादीले डर, धाक, त्रास देखाई करणी गरेकोले सोलाई सहमतिमा भएको भनी निजलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री देवी रेग्मी
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्या. श्री महम्मद जुनैद आजाद
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण
पुनरावेदन अदालत, पाटन
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१५ चमतीमा सन्दीप नेपालीसमेतले सञ्चालन गरेको झोला कारखानामा बस्दै आएकोमा मिति २०६८।१०।२० का दिन म लडी चोट लागी घाइते भएकाले सन्दीप नेपालीले मलाई उपचार गराउन वीर अस्पताल लगेकोमा पैसा नभएकोले पैसा लिएर आउँछु भनी मलाई अस्पताल छाडी निज मेरो डेरा कोठामा गई मेरो श्रीमती परिवर्तित नाम “बालाजु च” लाई तिम्रो श्रीमान्लाई अस्पतालमा कुर्नुपर्छ भनी मोटरसाइकलमा राखी वीर अस्पताल पुर्याई दिन्छु भनी का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीमा मोटरसाइकल रोकी निजले मेरो श्रीमतीलाई जबरजस्ती तानी अँध्यारो ठाउँमा लगी डर, त्रास, धाक, धम्की दिई बोल्न कराउन नदिई मुख थुनी जबरजस्ती करणी गरेको भनी श्रीमतीले बताएकी हुँदा निजउपर कानूनी कारबाही गरी सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पीडितका श्रीमान्ले दिएको जाहेरी दरखास्त ।
का.जि.का.म.न.पा. वडा नं.१५ चमतीस्थित नर्कटको झाडीमा रहेको घाँस मडारिएको, माटो खोस्रिएको स्थानमा मिति २०६८।१०।२० को राति १ बजेको समयमा प्रतिवादी सन्दीप नेपालीले परिवर्तित नाम “बालाजु च” लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६८।१०।१९ को राति मेरो श्रीमान्को हातमा चोट लागी सन्दीप नेपालीले आफ्नै मोटरसाइकलमा राखी वीर अस्पतालमा पुर्याई मलाई लिन भनी पुनः कोठामा आई वीर अस्पतालमा हिँड भनी मोटरसाइकलमा राखी का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीनजिक पुर्याई मलाई मोटरसाइकलबाट ओराली अँध्यारो स्थानमा लगी डर, त्रास, धाक, धम्कीसमेत दिई बोल्न कराउन नदिई मेरो मुख थुनी जबरजस्ती करणी गरी वीर्य स्खलन भएपछि मलाई निजको मोटरसाइकलमा राखी वीर अस्पतालमा लाँदै गर्दा करणी गरेको कुरा कसैलाई नभन्नु भनी अस्पतालमा पुर्याई उपचार गर्नु भनी रू.५००।- दिई गएकाले निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित “बालाजु च” ले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
मिति २०६८।१०।१९ को राति मेरो श्रीमान्को हातमा चोट लागेकोले सन्दीप नेपालीले आफ्नै मोटरसाइकलमा राखी वीर अस्पतालमा पुर्याई मलाई लिन भनी पुनः कोठामा आई वीर अस्पतालमा हिँड भनी मोटरसाइकलमा राखी का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीनजिक पुर्याई मलाई मोटरसाइकलबाट ओराली अँध्यारो स्थानमा लगी जबरजस्ती करणी गर्ने सन्दीप नेपाली हुन् भनी पीडित “बालाजु च” ले अनुसन्धानको क्रममा गरेको सनाखत कागज ।
का.जि.का.म.न.पा. वडा नं.१५ चमतीमा रहेको नर्कटको झाडीको एकान्त स्थानमा लगी पीडितलाई यौन सम्पर्क राख्न प्रस्ताव राख्दा निजले इन्कार गरेकीले मैले तानेर केहीपर अँध्यारोमा लगी भुइँमा लडाई बोल्न कराउन नदिई जबरजस्ती करणी
गरी निजलाई मेरो मोटरसाइकलमा राखी वीर अस्पतालमा पुर्याई दिएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सन्दीप नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी सन्दीप नेपालीले पीडितलाई निजको मन्जुरीविना जबरजस्ती करणी गरेकोले प्रतिवादीको सो कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा वर्णीत ऐजनको ३(४) र ३क नं. बमोजिमको अपराध भएकोले प्रतिवादी सन्दीप नेपालीलाई सोही ऐनको दफा ३ को देहाय ४ र ३क बमोजिम हदैसम्मको सजाय गरी ऐ. ऐनको दफा १० बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरवाला मेरो झोला कारखानामा काम गर्ने भएकोले मिति २०६८।१०।२० का दिन जाहेरवाला ट्वाइलेटमा लडी निजको हातमा चोट लागेकोले निजलाई मैले वीर अस्पताल लगी रू.५००।- दिई म घरमा गएको थिएँ । परिवर्तित नाम “बालाजु च” लाई वीर अस्पताल लान्छु भनी जबरजस्ती करणी गरेको होइन । जाहेरवालाले रू.५,००,०००।- मागेकोमा मैले दिन सक्दिन भनेकोले सोही कारणले जाहेरी दिएको हो भन्नेसमेत प्रतिवादी सन्दीप नेपालीले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
म र मेरो श्रीमान् कारखानामा काम
गर्दथ्यौं । मेरो श्रीमान्को हातको औंला भाँचिएकोले सन्दीप नेपालीले रातको १२ बजे अस्पताल पुर्याएपछि तिम्रो श्रीमान्लाई इमर्जेन्सीमा राखेको छ, राति कुर्न जानुपर्छ भनी मलाई लिएर जानु भएको र चमतीमा पुगेपछि प्रतिवादीले मलाई जबरजस्ती करणी गरी अस्पतालमै लिएर गएपछि मैले सबै बेहोरा श्रीमान्लाई भनी पुलिस केस गरी प्रतिवादी सन्दीप नेपालीलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको पीडितले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरीमा लेखिएको बेहोरा र दस्तखत मेरै हो । माघ १९ गते बेलुका ७:३० बजेको समयमा प्रतिवादीको फ्याक्ट्रीमा काम गर्दा मेरो हातको औंला फ्याक्चर भएको र हामीसँग पैसा नभएकोले साधारण उपचार गरी हामी सुती सकेको अवस्थामा प्रतिवादी १२:३० बजे मेरो घरमा आई अस्पताल जाउँ भनी वीर अस्पताल लिएर गएको र पैसा रहेनछ लिएर आउँछु भनी गएकोमा मेरी श्रीमतीलाई तिम्रो श्रीमान् भर्ना गरेको छ, राति कुर्नुपर्छ हिँड भनी श्रीमतीलाई ल्याई जबरजस्ती करणी गरेछन्, सो कुरा श्रीमतीले मलाई भनेपछि थाहा पाएको हुँ भन्नेसमेत बेहोराको जाहेरवालाले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडित भनिएकी “बालाजु च” को श्रीमान् ट्वाइलेटतिर लडेर हातमा घाउ भएकोले प्रतिवादी सन्दीप नेपालीले अस्पतालमा गई रू.५००।- दिई राति १०:०० बजे हामी भएको ठाउँमा आएका हुन् । पीडित र जाहेरवाला सँगै छन् । रिसइवीको कारणले आरोप लगाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी साक्षी विमला वि.क.ले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडितको कथन जाहेरवालाको जाहेरी बेहोरा र परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागजबाट यी प्रतिवादीले पीडितलाई निजको सहमतिबेगर जबरजस्ती करणी गरेको पुष्टि हुन आएकाले यी प्रतिवादी सन्दीप नेपालीलाई अभियोग दाबीबमोजिम तथा मुलुकी ऐन, जबरजस्ती करणी महलको ३ को देहाय ४ नं. बमोजिम कैद वर्ष पाँच हुने ठहर्छ । पीडितले गर्भवती भएको भनी बयान कागज गरेको भएपनि निजको भनाइलाई पुष्टि हुने प्रमाण कागज मिसिल संलग्न नरहेबाट निज गर्भवती एवं अशक्त रहेको प्रमाणित नभएकोले ऐनको ३क नं. बमोजिम थप सजाय गर्न न्यायोचित हुन आएन । प्रतिवादीले जबरजस्ती करणी गरेको ठहर भएबाट ऐनको दफा १०(ग) बमोजिम तथा १० नं. बमोजिम क्षतिपूर्तिबापत पन्ध्र हजार रूपैयाँ पीडितले भराई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट भएको फैसला ।
अनुसन्धानको क्रममा भएको बयान मेरो स्वेच्छाले नभई प्रहरीले आफैँले तयार पारेको बयानमा मलाई कुटपिट गरी जबरजस्ती सहीछाप गराएकोले सो बयानलाई मेरो विरूद्ध प्रमाणमा लिन मिल्दैन । जाहेरवालाले मसँग रू. ५,००,०००।– मागेकोमा मैले दिन नसक्ने भनी जवाफ दिएकोले सोही रिसइबीले प्रस्तुत जाहेरी दिएका हुन् । प्रमाणको कुनै मूल्याङ्कन नै नगरी म निर्दोष प्रतिवादीले कसुर अपराध गरेको भनी मलाई जबरजस्ती करणीको महलको ३ को देहाय ४ नं. बमोजिमको कैद वर्ष ५ पाँच र ऐ. ऐनको दफा १०(ग) बमोजिम क्षतिपूर्तिबापत रू.१५,०००।- पीडितलाई भराई दिनु भनी सजाय ठहर गरेकोमा न्यायको प्रतिकूल हुनको साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएको हुँदा सो फैसला बदर गरी मेरो पुनरावेदन जिकिरअनुसार इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सन्दीप नेपालीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
पीडित गर्भवती रहेको तथ्य निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट प्रमाणित भएको छ । पीडकले रातको समयमा एकान्तस्थलमा बर्बरतापूर्वक जबरजस्ती करणी गरेको सो तथ्यमा सुरू अदालत सहमत भई सजायसमेत भएको स्थितिमा पीडितको भनाइ अदालतबाट परीक्षणसमेत भएको अवस्थामा न्यायिक निरूपणको विन्दुमा यी सबै घटना, तथ्य, कानून र परिस्थितिसमेतको हलुका आँकलन गरी भएको सुरू अदालतको फैसलामा गम्भीर कानूनी त्रूटि देखिँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम हदैसम्म सजाय गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा दुवै पक्षको पुनरावेदन परेको देखिँदा अ.बं.२०२ नं. प्रयोजनको लागि प्रस्तुत पुनरावेदन एक अर्कालाई जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट आदेश ।
पीडित गर्भवती भएको कुरा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट स्थापित भएको र गर्भवती महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्ने बाध्यात्मक व्यवस्था ऐनमा नै भएको अवस्थामा उक्त कानूनी व्यवस्थालाई बेवास्ता गर्न मिल्दैन । पीडित बालाजु च गर्भवती भएको भन्ने कुरा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिई रहेकोमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजाय नगरेको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सन्दीप नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ४ बमोजिम ५ वर्ष र सोही महलको ३(क) नं. बमोजिम थप ५ वर्ष गरी जम्मा १० वर्ष कैद हुने ठहर्छ । पीडितलाई क्षतिपूर्ति भराउने ठहर्याएको हदसम्म उक्त फैसला मिलेकै देखिन्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, पाटनबाट भएको फैसला ।
पीडित भनिएकी महिला पनि उमेर पुगेकी छन् म पनि उमेर पुगेको व्यक्ति हुँ । मैले जबरजस्ती निजको इच्छाविपरीत करणी गरेको भए एकआपसमा संघर्ष गर्दा संघर्षका चिह्नहरू घाउचोट, निलडाम इत्यादि पीडितको शरीरमा र मेरो शरीरमा देखिनु पर्नेमा विशेषज्ञबाट परीक्षण हुँदा केही उल्लेख भएको पाइँदैन । प्रहरीमा भएको बयान मैले भनेर लेखाएको होइन, प्रहरीको दबाबले नपढी नसुनी सही गरेको हो । प्रहरीमा भएको साबिती बयानलाई अन्य प्रमाणहरूबाट पुष्ट्याईं हुनुपर्दछ । जाहेरी र प्रहरीमा भएको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्नु न्याय कानूनसमेतबाट मिल्दैन । मैले अदालतमा बयान गर्दा पीडितको श्रीमान्ले मसँग रू.५,००,०००।- मागेको थियो र नदिएको कारणले रिसइवी राखी झुठ्ठा जाहेरी दिई मलाई फसाएको हो । तसर्थ म निर्दोष व्यक्तिलाई दोषी ठहर गरेको जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला बदर गरी सर्वोच्च अदालतको नजिरको मूल्याङ्कन गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सन्दीप नेपालीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा उमेर पुगेकी पीडिता र प्रतिवादी एउटै मोटरसाइकलमा रातिको समयमा यात्रा गरेका र बीच बाटोमा करणी भएकोमा पीडिताले प्रतिकार गरेको देखिँदैन । केबल अस्पताल पुर्याई फर्केपछि मात्र करणी भएको भनी परेको जाहेरीबाट मुद्दा उठान भएको र करणी गर्दा पीडिता गर्भवती थिइन् भन्ने प्रतिवादीलाई थाहा जानकारी रहेको भन्ने वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको नदेखिँदा सोतर्फ विवेचना नगरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागज अध्ययन गरियो । पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री देवी रेग्मीले पीडित र प्रतिवादी दुवै वयस्क रहेको अवस्थामा पीडित भनिएको महिलासँग निजको इच्छाविपरीत करणी भएको हो भन्ने पीडित र पीडकको शरीरमा संघर्षको चिह्न देखिनु पर्नेमा शारीरिक परीक्षणबाट त्यस्तो केही देखिएको छैन । अनुसन्धानको क्रममा भएको बयान प्रतिवादीको इच्छाविपरीत भएकोले त्यस्तो बयान निज विरूद्ध प्रमाणमा लिन नमिल्ने हुँदा सोको आधारमा मात्र निजलाई दोषी मान्न नमिल्ने हुँदा प्रतिवादीलाई आरोपित कसुरमा सजाय गर्ने गरी भएको फैसला उल्टी गरी निजले सफाइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मीले प्रतिवादीले पीडितलाई अनुचित दबाब दिई करणी गरेको हुनाले शारीरिक संघर्षको चिह्न नदेखिनु स्वाभाविक हो । पीडितको कपडामा मानव वीर्य भेटेकोले निजसँग करणी भएको तथ्य पुष्टि भएको छ । यी प्रतिवादीले सहमतिमा करणी गरेको हो भन्ने कुराको जिकिर लिएको अवस्था छैन । पीडितको भनाइ अन्य प्रमाणबाट समर्थित भएको छ भने त्यसलाई इन्कार गर्न सकिने अवस्था हुँदैन । प्रतिवादीले अदालतसमक्ष गरेको इन्कारी बयान विश्वसनीय साक्षी प्रमाणबाट पुष्टि नभएकोले आरोपित कसुरमा सजाय गर्ने गरी भएको फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सन्दिप नेपालीले ११ हप्ताकी गर्भवती पीडितलाई निजको सहमतिबेगर जबरजस्ती करणी गरेकोले निजको सो कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा वर्णित ऐजनको ३ नं.को देहाय ४ र ३क नं.बमोजिमको अपराध भएकोले सोही महलको ३ नं.को देहाय ४ सजाय गरी ऐजन ३क नं. बमोजिम थप सजायको मागदाबी लिई अभियोग दायर भएकोमा यी प्रतिवादीले अदालतमा आरोपित कसुर इन्कार गरी बयान गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम पाँच वर्ष कैद र ऐजनको १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.१५ हजार पीडितलाई भराई दिने ठहर्याई भएको फैसलाउपर पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजाय नगरेको हदसम्म सुरूको फैसला उल्टी गरी प्रतिवादीलाई थप ५ वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले सोउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३. घटनास्थल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१५ चमतीस्थित नर्कटको झाडीमा रहेको घाँस मडारिएको माटो खोस्रिएको भनी घटनास्थल मुचुल्काबाट देखिन्छ । पीडितको शारीरिक परीक्षण गर्दा कुनै चोटपटक नदेखिए पनि निजले लगाएको सुरूवालबाट मानव वीर्य फेला परेको भनी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट देखिन्छ । मिति २०६८।१०।२० को वारदातमा सोही दिन पीडितका पतिले निजकी श्रीमतीसँग जबरजस्ती करणी गरेको भनी जाहेरी दर्खास्त दिएको पाइन्छ । उक्त घटनास्थल मुचुल्काबाट देखिएको घटनास्थल, पीडितको शरीरबाट मानव वीर्य फेला पर्नुसमेतका आधार प्रमाणबाट पीडितसँग जबरजस्ती करणी भएको तथ्य स्थापित हुन आएको छ ।
४. जाहेरवालाले प्रतिवादी सन्दिप नेपालीले निजको श्रीमतीसँग जबरजस्ती करणी गरेको हो भनी किटानी जाहेरी वारदात भएकै दिन दिएको देखिन्छ । उक्त जाहेरी दर्खास्तमा पीडितलाई अस्पताल पुर्याई दिन्छु भनी मोटरसाइकलमा बसाई काठमाडौं-१५ चमती भन्ने स्थानमा रहेको नर्कटको झाडी एकान्त स्थानमा लगी धाकधम्की दिई डर त्रासमा जबरजस्ती करणी गरेको भनी उल्लेख भएको छ । पीडितले अनुसन्धानको क्रममा घटना विवरण कागज गर्दा पनि जाहेरी बेहोरालाई समर्थन गर्दै निजको श्रीमान्लाई मिति २०६८।१०।१९ का दिन हातमा चोट लागेपछि प्रतिवादीले पीडितको श्रीमान्लाई अस्पताल पुर्याई फर्केर आए । यी पीडितलाई पनि अस्पताल पुर्याउने क्रममा चमती भन्ने स्थानमा रहेको नर्कटको झाडीभित्र लगी डर धाक देखाई जबरजस्ती करणी गरेका हुन् भनी लेखाई दिएको देखिन्छ । जाहेरवाला र पीडितले अदालतमा उपस्थित भई बकपत्र गर्दा जाहेरी बेहोरा र अनुसन्धानको क्रममा गरेको कागज बेहोरालाई समर्थन गरेको देखिन्छ । प्रतिवादी सन्दिप नेपालीले आरोपित कसुरलाई स्वीकार गर्दै पीडितको श्रीमान्लाई अस्पताल पुर्याएपछि पैसा लिन घर आएको बेला निजलाई पनि अस्पताल लिएर जाने क्रममा वारदातस्थलमा पुग्दा निजसँग करणी गर्न मन लागी निजको इच्छाविपरीत जबरजस्ती करणी गरेको हो भनी अनुसन्धानको क्रममा बयान गरेका छन् । तर अदालतमा उपस्थित भई बयान गर्दा आरोपित कसुरमा इन्कार रही जाहेरवालाले रू.५,००,०००।- मागेको र निजले नदिएको हुँदा प्रस्तुत जाहेरी दिएको भनी लेखाएका छन् ।
५. जबरजस्ती करणीको वारदात प्रायः एकान्त ठाउँमा हुने गरेकोले यसको प्रत्यक्षदर्शी कमै हुन्छन् । यस्तो अवस्थामा आफूसँग घटेको घटनाको विस्तृत जानकारी गराउने आधिकारिक व्यक्ति पीडित स्वयं नै हो । पीडितले भनेको कुरा मिसिल संलग्न अन्य सबुद प्रमाणबाट पुष्टि भइरहेको छ भने त्यसलाई प्रमाणमा लिनु नपर्ने कुनै कारण हुन
सक्दैन । पीडितले प्रतिवादी सन्दीप नेपालीले नै जबरजस्ती करणी गरेको हो भनी अनुसन्धानको क्रममा गरेको कागज र अदालतमा गरेको बकपत्र जाहेरी बेहोरा, जाहेरवालाको बकपत्र, निज प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानसमेतबाट पुष्टि भइरहेको अवस्था छ । निज प्रतिवादीले रकम नदिएको कारणले जाहेरी दिएको हो भनी अदालतमा बयान गरेपनि सोलाई कुनै विश्वसनीय प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । अर्कोतर्फ यी प्रतिवादीले आरोपित कसुर नगरेको भए निजको विरूद्ध वारदात भएकै दिन पीडितको तर्फबाट पीडितको श्रीमान्ले जाहेरी दिनु पर्ने कुनै तथ्ययुक्त कारण मिसिल संलग्न कागज प्रमाणबाट देखिँदैन ।
६. पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट निजको शरीरमा संघर्षको चिह्न नदेखिएको भनी प्रतिवादीले पुनरावेदन जिकिर लिएको देखिए पनि पीडितको अनुसन्धानको क्रममा भएको कागज, अदालतसमक्ष भएको बकपत्र, अनुसन्धानको क्रममा यी प्रतिवादीले गरेको बयानसमेतबाट निज प्रतिवादीले एकान्तस्थलमा लगी डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको देखिएबाट यस्तो डर, धाक, धम्कीको प्रयोग गरी भएको जबरजस्ती करणीको वारदातमा पीडितले आफ्नो इच्छाविपरीत आफूलाई समर्पित गरेको हुनाले यस्तो अवस्थामा पीडित र पीडकबीच संघर्ष नै नहुने हुँदा निजहरूको शरीरमा संघर्षको चिह्न नदेखिनु स्वाभाविक नै हुन्छ । तर यसरी डर, धाक, धम्कीको प्रयोग गरी गराएको सम्पर्कलाई सहमतिमा शारीरिक सम्पर्क गरेको मान्न मिल्दैन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १(क) नं. मा "डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।" भनी उल्लेख भएको रहेछ । उक्त कानूनी व्यवस्थासमेतको परिप्रेक्ष्यमा हेर्दा प्रतिवादीले डर, धाक, त्रास देखाई करणी गरेकोले सोलाई सहमतिमा भएको भनी निजलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन मिल्दैन । यसका अतिरिक्त निज प्रतिवादीले पीडितसँग सहमतिमा करणी गरेको भनी निजको पुनरावेदन जिकिरसमेत रहेको देखिँदैन । यसबाट यी प्रतिवादी सन्दीप नेपालीले पीडितसँग जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट पुष्टि हुनआयो ।
७. अब प्रतिवादीलाई हुने सजायको सम्बन्धमा हेर्दा, पीडित ‘बालाजु च’ को उमेर मिसिल संलग्न निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट १८ वर्षको देखिएको छ । सोही प्रतिवेदनबाट निज ११ हप्ताको गर्भवती रहेको देखिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ को देहाय ४ ले "सोह्र वर्ष वा सोभन्दा बढी बीस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्षसम्म" सजाय हुने व्यवस्था गरेको रहेछ । प्रतिवादीको पहिलो कसुर भएको सन्दर्भमा हदैसम्म सजाय गर्न न्यायोचित नभएकोले जबरजस्ती करणी गरेबापत ५ वर्ष कैद सजाय र पीडित गर्भवती रहेको देखिएकोले ऐजन महलको ३क को कानूनी व्यवस्थाबमोजिम ५ वर्ष थप कैद सजाय गर्ने गरी भएको सुरू र पुनरावेदन अदालत, पाटनको फैसला कानून र न्यायसम्मत नै देखियो ।
८. तसर्थ माथि विवेचित आधार र कारणबाट प्रतिवादी सन्दीप नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ४ बमोजिम पाँच वर्ष कैद सजाय गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी पीडित ११ हप्ताको गर्भवती रहेको देखिएकोले ऐजन महलको ३क नं. बमोजिम थप ५ वर्ष गरी जम्मा कैद वर्ष १० हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।११।२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
९. प्रस्तुत मुद्दामा पीडितले लगाएको सुरूवालबाट मानव वीर्य फेला परेको भनी मिति २०६९।४।१५ को केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनबाट देखिएको छ । तर सो वीर्य यी प्रतिवादीको हो वा होइन भन्ने कुरा यकिन गर्नको लागि थप परीक्षण गरिएको छैन । प्रस्तुत मुद्दामा मिसिल संलग्न अन्य प्रमाणबाट प्रतिवादीको अपराध पुष्टि भएको देखिए पनि पीडितको कपडामा फेला परेको वीर्य यी प्रतिवादीकै हो भन्ने कुराको यकिन गर्न प्रयोगशालाबाट परीक्षण गरिएको भए अनुसन्धान कार्य अझ प्रभावकारी हुन गई प्रतिवादीउपरको कसुर प्रमाणित गर्ने बलियो र वैज्ञानिक प्रमाण प्राप्त भई न्याय सम्पादनको कार्यमा सहजता पुग्न जाने थियो । तसर्थ अबदेखि जबरजस्ती करणीको वारदातमा मानव वीर्य फेला परेको रहेछ भने सो वीर्य आरोपित व्यक्तिको हो वा होइन सो कुराको अनिवार्य रूपमा परीक्षण गरी यकिन गर्नु गराउनु भनी अनुसन्धान कार्यमा संलग्न हुने नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयको नाममा यो निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।
१०. उक्त निर्देशनात्मक आदेशको कार्यान्वयनको प्रयोजनको लागि प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीलाई दिई प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृतः रामु शर्मा
इति संवत् २०७४ साल भाद्र ४ गते रोज १ शुभम् ।