शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१४९ - डाँका

भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ 

फैसला मिति : २०७५।६।२३

०७३-CR-०९५०

 

मुद्दाः डाँका

 

पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, धनुषाधाम गा.वि.स. वडा नं.५ बस्ने अशेसर यादवको छोरा विमलकुमार यादव

विरूद्ध

प्रत्यर्थी / वादी : विनोद यादवको जाहेरीले नेपाल सरकार

 

प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कुरा वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सकेको नदेखिँदा सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै आधारमा कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने । 

अन्य व्यक्तिको साथबाट डाँका भएका सामानहरू बरामद गरेको भनी शंकास्पद बरामदी मुचुल्कालाई प्रतिवादीका विरूद्ध प्रमाणमा लिन नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीले पाउने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल तथा अधिवक्ताहरू श्री विनोद श्रेष्ठ र श्री सिताशरण मण्डल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री बलभद्र बास्तोला

धनुषा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल

पुनरावेदन अदालत, जनकपुर

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: साबिक न्याय प्रशासन ऐन, २०४८ हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यस अदालतमा पर्न आएको निवेदनमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा म जाहेरवाला ज.३.प.४८०९ नं. को मोटरसाइकल चलाई उमेश महतोको घरमा गई निजसँग रू.७०,०००।– र जितेन्द्र मण्डलसँग रू.८०,०००।– लिई आफ्नो घरतर्फ आइरहेको अवस्थामा जिल्ला धनुषा, कजरा रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा चिनेका रमेश यादव, विमल यादव, दिपेन्द्र साह र नचिनेका २ जनासमेत मिली मेरो कञ्चटमा पेस्तोल भिडाई मेरो साथमा रहेको नगद रू.१,५०,०००।– ज.३.प.४८०९ नं. को मोटरसाइकल, हेल्मेटसमेत लुटी भाग्दै जाँदा निजहरूमध्ये दिपेन्द्र साह ज.३.प.४८०९ नं.को मोटरसाइकल, पेस्तोल र मोबाइलसहित पक्राउ परेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।

जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा विनोद यादव ज.३.प.४८०९ नं. को मोटरसाइकल चलाई आइरहेको अवस्थामा दिपेन्द्र साहलगायतका ५ जना मानिसहरूले जाहेरवालाको नगद, मोटरसाइकल, मोबाइल हेल्मेटसमेत लुटी लगेको हो भन्‍ने बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।

जिल्ला धनुषा, मिथिलेश्‍वर निकास गा.वि.स. वडा नं.८ स्थित सडकमा ज.३.प.४८०९ नं. को मोटरसाइकल आइरहेको दिपेन्द्र साहको शरीर खान तलासी गर्दा निजको साथबाट पेस्तोल गोली, मोबाइल, मोबाइलको सिम, हेल्मेट, ज.३.प.४८०९ नं.को मोटरसाइकलसमेत बरामद गरेको हो भन्‍ने बेहोराको बरामदी मुचुल्का ।

मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित मानिसहरूले विनोद यादवबाट नगद, मोटरसाइकल, मोबाइल, हेल्मेटसमेत लुटी लगेको हो भन्‍ने खबर प्राप्‍त हुनासाथ प्रहरी टोली पिछा गर्दै जाँदा दिपेन्द्र साह फेला परेको र अन्य डाँकाहरू भागी गएकोले निज दिपेन्द्र साहलाई बरामदी समानसहित दाखिल गरेको छु कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा विनोद यादव ज.३.प.४८०९ नं. को मोटरसाइकल लिई आफ्नो घरतर्फ आइरहेको अवस्थामा जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा विमल यादव, रमेश यादव, दिपेन्द्र साह र नचिनेका २ जनासमेत मिली विनोद यादवको कञ्चटमा पेस्तोल भिडाई निजको साथमा रहेको नगद रू.१,५०,०००।– र मोटरसाइकल, मोबाइल, हेल्मेटसमेत लुटी भागी जाँदा मसमेत निजहरूलाई पिछा गर्दै जाँदा निजहरूमध्ये दिपेन्द्र साह ज.३.प.४८०९ नं. को मोटरसाइकल, पेस्तोल, मोबाइलसहित पक्राउ परेको हो भन्नेसमेत बेहोराको उतिमलाल यादव, वल्लु यादवसमेतको घटना विवरण कागज ।

मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा विनोद यादव ज.३.प.४८०९ नं. को मोटरसाइकल लिई आफ्नो घरतर्फ आइरहेको अवस्थामा जिल्ला धनुषा, कजार रमौल गा.वि.स. वडा नं.९ स्थित सडकमा रमेश यादव, विमल यादव, विपतीया पासवान र लालवावु मण्डलसमेत भई विनोद यादवको कञ्चटमा पेस्तोल भिडाई निजको साथमा रहेको नगद, मोटरसाइकल, हेल्मेटसमेत लुटी भागी जाँदा हामीहरूमध्ये अन्य भागी गए । म मोटरसाइकल, पेस्तोल, गोली, मोबाइल, हेल्मेटसहित पक्राउ परेको हुँ भन्नेसमेत बेहोराको पक्राउ प्रतिवादी दिपेन्द्र साहको अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

पक्राउ प्रतिवादी दिपेन्द्र साहसमेत भई मिति २०६७।२।१७ गते राति ११:३० बजेको समयमा मेरो जिल्ला धनुषा, कजरा रमौल गा.वि.स.वडा नं.९ स्थित सडकमा दिपेन्द्र साहसमेतले मेरो कञ्चटमा पेस्तोल भिडाई मेरो साथमा रहेको ज.३.प.४८०९ नं.को मोटरसाइकल मोबाइल हेल्मेटसमेत लुटी भागी गएकोमा बरामदी समानहरू र दिपेन्द्र साहलाई चिने यी समानहरू मेरो हुन् भन्नेसमेत बेहोराको सनाखत कागज ।

मिति २०६७।२।१७ गते ११:३० बजेको समयमा विनोद यादव ज.३.प.४८०९ नं. को मोटरसाइकल चलाई लिई आफ्नो घरतर्फ आइरहेको अवस्थामा दिपेन्द्र साह, रमेश यादव, विमल यादव अन्य नचिनेका २ जनासमेत भई विनोद यादवको कञ्चटमा पेस्तोल भिडाई निजको साथमा रहेको नगद रू.१,५०,०००।–, ज.३.प.४८०९ नं.को मोटरसाइकल, मोबाइल, हेल्मेटसमेत लुटी भागी जाँदा हामीहरूले पिछा गर्दै जाँदा बरामदी सामानहरूसहित दिपेन्द्र साह पक्राउ परेको हुन् अन्य डाँकाहरू भागी गएका हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।

मैले जाहेरवाला विनोद यादवलाई रू.७०,०००।– दिएको हुँ । सो रकम लिई घर जाने क्रममा बाटामा डाँकाहरूले डाँका गरी भागेकोमा डाँकाहरूमध्ये दिपेन्द्र साह पक्राउ परेको हो भन्नेसमेत बेहोराको उमेश महतोको कागज ।

विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू दिपेन्द्र साह, रमेश यादव, विनोद यादव, विपतीया पासवान, लालबाबु मण्डलको उल्लिखित डाँका गर्ने कार्य मुलुकी ऐन चोरीको महलको १ नं. विपरीत ६ नं. अनुसारको कसुर अपराध भएको देखिँदा निज प्रतिवादीहरूलाई सोही महलको १४(४) नं.अनुसार कारबाही तथा सजाय हुन जाहेरवालाको डाँका गरी लगेको बरामद हुन नसकेको नगद रू.१,५०,०००।– समेत सोही महलको १० र २१ नं.अनुसार जाहेरवालालाई दिलाई भराई दिनु हुनसमेत मागदाबी गरिन्छ । साथै अनुसन्धान क्रममा फरार रहेका प्रतिवादीहरूउपर कानूनबमोजिम म्याद जारी हुन र फरार रहेका प्रतिवादीहरूमध्ये रमेश यादवको बाबुको नाम र वतन हालसम्म नखुलेको कारण पछि खुली आएका बखत तथा भारतीय नागरिक विपतीया पासवान र लालबाबु मण्डल नेपाल सरहदभित्र हाल फेला नपरेको हुँदा फेला परेपछि वा पक्राउ भई दाखिला हुन आएमा छुट्टै अ.बं.८८ नं.बमोजिम पूरक अभियोगपत्र पेस गरिने हुँदा हाल सम्बन्धित मिसिल कागजातहरू र पक्राउ प्रतिवादी दिपेन्द्र साहलाई यसै अभियोगपत्र साथ प्रस्तुत गरिएको भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

विनोद यादवले फसाएका हुन् । चोर चोर भनी हल्ला गरे, म मामाघर राधापुर जाँदै थिएँ । प्रहरी र गाउँले मिली मलाई पक्राउ गरी विनोद र प्रहरीले पिटी डाँका गरे भनी कबोल गर भनेकोले पिटाइको डरले मैले कबोल गरेको हुँ । मैले डाँका गरेको छैन झुठ्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपेन्द्र साहले सुरू अदालतमा गरेको बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं.११८ नं.को देहाय २ बमोजिम कानूनबमोजिम सिधा खान पाउने गरी पुर्पक्षको निमित्त प्रतिवादी दिपेन्द्र साहलाई थुनामा राख्‍न श्री कारागार कार्यालयमा महोत्तरीमा पठाइ दिनु भन्‍ने मिति २०६७।३।१३ को आदेश ।

जाहेरी दरखास्तमा उल्लिखित मितिमा प्रतिवादी दिपेन्द्र साह र म विद्यालयको कोठामा सँगै थियौँ । जाहेरवालाको नगद र मोटरसाइकल निजले लुटेको छैन । अभियोग दाबी झुठ्ठा हो भन्‍ने दिपेन्द्र साहका साक्षी नरेन्द्रकुमार भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरी बेहोरामा उल्लिखित मिति र समयमा म आफ्नो विद्यालयको धनुषाधाम आवासीय विद्यालयमा कक्षा १० को कोठामा अध्ययनरत छु । बरामदी मुचुल्कामा उल्लिखित बेहोरा मलाई थाहा  छैन । अभियोग दाबीअनुसारको कसुर गरेको नहुँदा झुठ्ठा अभियोगबाट सफाइ पाउँ भन्‍ने निवेदन साथ उपस्थित भएका प्रतिवादी विमलकुमार यादवले सुरू अदालतमा गरेको बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादीलाई अ.बं.११८ को देहाय ५ र १० नं.बमोजिम रू.५०,०००।– नगद वा सो बराबरको जेथा जमानी दिए तारेखमा राख्‍नु र दिन नसके थुनामा राख्‍न थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा पठाइ दिनु भन्‍ने मिति २०६८।५।३० मा सुरू अदालतबाट भएको आदेश ।

अभियोग दाबी झुठ्ठा हो । प्रतिवादी विमलकुमार यादव जाहेरीमा उल्लिखित मितिमा आफ्नो स्कुलको कक्षा कोठामा नै थिए । निजले अभियोग पत्रमा उल्लिखित अपराध गरेको छैनन् भन्‍ने प्रतिवादी विमलकुमार यादवका साक्षीहरू हरेरामप्रसाद न्यौपाने, संजयकुमार श्रेष्ठ र प्रकाशकुमार यादवले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू दिपेन्द्र साह र विमल यादवसमेतले मेरो कञ्चटमा पेस्तोल भिडाई मसँग भएको नगद रू.१,५०,०००।-, मोबाइल, मोटरसाइकल तथा हेल्मेट डाँका गरी लगेका हुन् भन्‍ने जाहेरवाला विनोद यादवले सुरू अदालतमा गरेको बकपत्र ।

बरामदी मुचुल्कामा उल्लिखित सामानहरू प्रतिवादी दिपेन्द्र साहबाट बरामद भएको हो, बरामद भएको मोटरसाइकलमा नाम थाहा नभएका मानिस र दिपेन्द्र साह थिए । मुचुल्काको बेहोरा ठिक हो भनी अ.बं.११५ नं. बुझिएका प्र.स.नि.विगन राय यादव र प्र.ह.तेजीलाल साहले सुरू अदालतमा गरेको बकपत्र ।

मैले कुनै पनि सामानहरू कोही कसैबाट बरामद भएको देखेको छैन । प्रहरीले मलाई कागजमा सहिछाप गर भनी भनेकाले सही गरेको हो भन्‍ने बुझिएका रामपृत मण्डल र दशरथ मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

प्रस्तुत मुद्दामा डाँकाको तत्त्व विद्यमान भएको देखिएन । प्रतिवादी दिपेन्द्र साहसमेत भई जाहेरवालाको मोटरसाइकल, हेल्मेट र मोबाइल बाटो ढुकी जबरजस्ती चोरी गरेको देखिँदा रू.१,५०,०००।– नगद डाँका गरेकोले अभियोग दाबी वादी पक्षले पुष्ट्याँई गर्न नसक्दा सो हदसम्म अभियोग दाबी पुग्न सक्ने देखिएन । प्रतिवादी दिपेन्द्र साहबाट बरामद भएको मोटरसाइकल, हेल्मेट, मोबाइल गरी रू.१,७०,५००।– प्रतिवादीहरूले बाटोबाट खोसी लुटी लिई हिँडिरहेको अवस्थामा प्रतिवादी दिपेन्द्र साह तत्कालै मौकामा पक्राउ परेको र अर्का प्रतिवादी विमल यादव फरार भएको भन्‍ने तथ्य स्थापित हुँदा दुवै प्रतिवादीउपरको चोरीको १४(४) नं.अनुसारको कसुर नठहरी ऐ.को १४(३) नं.अनुसार रहजनी चोरी गरेको ठहरी सो १४(३) नं.अनुसार १२ नं.बमोजिम हुने सजायको दोब्‍बर सजाय हुने हुँदा प्रतिवादीहरू दिपेन्द्र साह र विमल यादवलाई जनही २ महिना कैद र बिगो रू.१,७०,०००।– को दोब्बर रू.३,४१,५००।– जरिवाना हुन्छ । प्रस्तुत मुद्दा वारदात रहजनीमा    परिणत भएकोले प्रतिवादीहरूलाई जरिवानाबापत समेत कैद हुने ठहर्छ भन्नेसमेत धनुषा जिल्ला अदालतबाट मिति २०६९।१।१२ मा भएको फैसला ।

म पुनरावेदक घटनास्थलमा नै घटना भएको समयमा स्कुलमै थिएँ । म कक्षाको प्रथम छात्र भएको र जाहेरवालासँगै गाउँघरमा जग्गासम्बन्धी विवाद 

थियो । जाहेरीमा मुख छोपेकाले चिन्‍न नसकेको भन्‍ने

छ । स्वयम् गाउँको चिनजान भएको व्यक्तिलाई दिपेन्द्रबाट थाहा पाए भन्‍नु  जाहेरी झुठ्ठा हो । मेरो घरबाट कुनै समान बरामद नभएको । प्रतिवादी दिपेन्द्रको साथबाट बरामद भएको सामानको आधारमा मलाई दोषी बनाउन मिल्दैन । तसर्थ म पुनरावेदक निर्दोष रहेको तथ्य स्थापित रहेकोले सुरू धनुषा जिल्ला अदालतको मिति २०६९।१।१२ को फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत प्रतिवादी विमलकुमार यादवको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदनपत्र ।

अनुसन्धान अधिकारीमा भएको साबितीलाई आधार बनाई दोषी ठहर गर्नलाई स्वतन्त्र र डाँकारहित प्रमाण हुनुपर्दछ । प्रहरीले कुटपिट गरी साबिती बयान गराएको हो । अभियोग पूर्णरूपले वादी पक्षले प्रमाणित गर्नुपर्दछ । शंकाको भरमा कसुर कायम गर्न 

मिल्दैन । जाहेरी बेहोरा झुठ्ठा हो बरामदी मुचुल्कामा ललिया गाउँस्थित सडकमा मुचुल्का खडा गरेको भन्‍ने छ । बकपत्र गर्दा चौकीमा मुचुल्का खडा गरेको भन्‍ने यी जाहेरी र बकपत्रमा बाझिएको छ । म दिपेन्द्र साहलाई दोषी ठहर्‍याएको सुरूको फैसला तथ्य कानून एवं नजिरसमेतको विपरीत हुँदा सुरू धनुषा जिल्ला अदालतको मिति २०६९।१।१२ को फैसला उल्टी गरी सफाइ पाउँ भन्‍नेसमेत प्रतिवादी दिपेन्द्र साहको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदनपत्र ।

मौकामा बयान गर्ने दिपेन्द्र साहले आफूलगायत ५ जना पेस्तोल ताकी डाँका गरेको भन्‍ने उल्लेख गर्दा गर्दै डाँका चोरीको संख्या नपुगेको भनी र चोरीको बिगो रू.१,५०,०००।– का हकमा दाबी नपुग्ने ठहर भएको हदसम्मको सुरू फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी दाबीबमोजिम बिगो जाहेरवालालाई दिलाई भराई पाउँ भन्‍नेसमेत नेपाल सरकारको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदनपत्र ।

प्रतिवादीहरूउपरको चोरीको १ र ६ नं. विपरीतको कसुर अपराधमा ऐ.महलको १४(४) नं. अनुसार सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी भए पनि ऐ.महलको १ र ५ नं. विपरीतको कसुरमा ऐ. १४(३) नं.विपरीतको रहजनी चोरीको कसुरमा कैद र जरिवाना गरी जरिवानाबापत समेत कैद हुने ठहर्‍याई धनुषा जिल्ला अदालतबाट मिति २०६९।१।१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादीहरू दिपेन्द्र साह र विमलकुमार यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने बेहोराको पुनरावेदन अदालत, जनकपुरबाट मिति २०७०।२।१ मा भएको फैसला ।

सर्वप्रथम सम्मानित पुनरावेदन अदालत, जनकपुरले धनुषा जिल्ला अदालतको फैसलाउपर सदर गर्नका लागि ग्रहण गरेको पहिलो आधारमा नै कानूनको तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको गम्भीर त्रूटि हुन गएको छ । कारण वादी नेपाल सरकारले लिएको दाबी मुलुकी ऐन चोरीको महलको १, ६ नं. को कसुरमा १४(४) नं.अनुसारको सजायको मागदाबी गरी दायर गरेको अभियोग दाबी पुष्टि हुने प्रमाणसमेत नरहेको तथा डाँका वारदातको कानूनी सर्तसमेत विद्यमान नरहेको आधारमा चोरीको ५ नं. अनुसार कसुर ठहर गरी सजाय गर्नु कानूनको गम्भीर त्रूटि हुन गएको प्रस्ट छ । म निवेदकउपर कसुर पुष्टि हुने कुनै प्रमाण नहुँदा नहुँदै उल्लिखित कसुर गरेको भनी फैसला गर्नु न्यायसङ्गत छैन । धनुषा जिल्ला अदालतले फैसला गर्दा तथा सो फैसलालाई पुनरावेदन अदालत, जनकपुरले सदर गर्दासमेत जाहेरवालाको बकपत्रको स.ज.१५ मा ४ जना मुख छोपेको मानिस थिए मैले कसैलाई चिन्‍न सकेन भनी भनिएको छ । सो मुख छोपेको मानिसहरू म थिएँ भनी प्रमाणित हुने प्रमाण मिसिलमा के छ त? चिन्‍न नसकेका व्यक्तिभित्र म पर्न सक्छु त? म त गाउँकै एकै ठाउँमा रहेको व्यक्ति छु । चोरीको ५ नं.को कसुर ठहर हुनको लागि बाटो घाटोमा ढुकी बसेको देखिनु पर्ने आवश्यक सर्त रहेको छ । म निवेदक मिति २०६७।२।१७ का दिन आफू अध्ययनरत रहेको कक्षा कोठामा रहेको भन्‍ने कुराको प्रमाण मिसिल सामेल रहेको, धनुषा आवासीय विद्यालयको हाजिरी रजिस्टर, विद्यालयको सिफारिस तथा विद्यालयका शिक्षक संजयकुमार श्रेष्ठ र प्रकाशकुमार यादवसमेतले गरेको बकपत्रबाट पुष्टि भइरहेको अवस्था छ भने स्वयं जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्रको स.ज.२५ मा “उक्त मितिमा प्रतिवादी विमल यादव कक्षा कोठामा थिएँ” भनी गरेको बकपत्रबाट म निवेदक आफ्नो अध्ययनरत विद्यालयको कक्षा कोठामा अध्ययनरत रहेको प्रमाणद्वारा पुष्टि भइरहेको अवस्थामा हुँदै नभएको ठाउँमा मैले बाटो ढुकी बसी चोरी गरेँ भनी कसुर ठहर गर्नु आफैँमा गम्भीर त्रूटि रहेको छ । वारदातमा संलग्नता रहेको प्रमाण नै मिसिलमा मौजुद नरहेको अवस्थामा उपर्युक्त आधार ग्रहण गरी चोरीको ५ नं. को कसुर ठहर गरी फैसला गर्नु सम्मानित सर्वोच्च अदालतबाट ने.का.प.२०४१, अंक ६, नि.नं.२०१९, पृष्ठ ५१४, मुद्दा डाँका, राजेश्‍वर दुबे बाहुन विरू गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार भएको मुद्दामा प्रतिपादित सिद्धान्त “वारदातमा संलग्न थियो भन्‍ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारबाट आउन सकेको देखिँदैन । तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहराएको इन्साफ गल्ती हुनाले सफाइ पाउने” समेतको विपरीत रहेको छ । तसर्थ मुलुकी ऐन चोरीको ५ नं. अनुसारको कसुर अपराध ठहर गरी म निवेदकलाई सजाय गर्ने गरी गरेको धनुषा जिल्ला अदालतको मिति २०६९।१।१२ को फैसला र सो फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, जनकपुरबाट भएको मिति २०७०।२।१ का दिन सदर गर्ने गरी गरेको फैसलामा कानूनको गम्भीर त्रूटि तथा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तको उल्लङ्घन भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क), (ख) र (घ) को त्रूटि भएको हुँदा सम्मानित अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी धनुषा जिल्ला अदालतको मिति २०६९।१।१२ को त्रूटिपूर्ण फैसला तथा सो फैसलालाई सदर गर्ने गरी गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।२।१ को फैसला उल्टी गरी म निवेदक नाबालकलाई सफाइ प्रदान गरी अभियोग दाबीबाट कानूनी उन्मुक्ति प्रदान गरिपाउँ भन्नेसमेत बेहोराको निवेदनपत्र ।

यसमा प्रतिवादी दिपेन्द्र साहले अदालतमा बयान गर्दाका अवस्थामा यी प्रतिवादी विमलकुमारलाई पोल नगरेको र यी प्रतिवादी अदालतमा इन्कार रही बयानसमेत गरेको देखिन्छ । चोरी भएका भनिएका वस्तु दशीहरूसमेत यी प्रतिवादीसँग बरामद नदेखिनुका साथै जाहेरवाला अदालतमा उपस्थित भई बकपत्र गर्दा स.ज.४ मा मौकामा देखिएका अभियुक्तहरू मुख छोपेको हुँदा आफूले नचिनेको भनी उल्लेख गरेको देखिँदा प्रमाण मूल्याङ्कनको रोहमा सुरू तथा पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, मुलुकी ऐन अ.बं. १८४क र १८५ नं. अनुसार फरक पर्न पर्न सक्ने देखिँदा साबिक न्याय प्रशासन ऐन तथा हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम निस्सा प्रदान गरिएको छ । नियमानुसार पेस गर्नू भन्‍ने यस अदालतको मिति २०७३।९।२० को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल तथा अधिवक्ताहरू श्री विनोद श्रेष्ठ र श्री सिताशरण मण्डलले प्रतिवादी विमलकुमार यादव वारदातको दिन विद्यालयमा हाजिर रहेको र निज १० कक्षामा अध्ययनरत रहेको भन्‍ने रेकर्डबाट देखिन्छ । सो विद्यालयका प्रधानाध्यापक हरेरामप्रसाद श्रेष्ठले बकपत्र गरी खुलाएको 

देखिन्छ । सहअभियुक्त दिपेन्द्र साहले मौकाको बयानमा पोल गरेपनि अदालतमा बयान गर्दा पोल गरेका 

छैनन् । जाहेरवालाले गरेको बकपत्रमा यी प्रतिवादीलाई मौकामा देखे चिनेको हुँ भनी खुलाउन सकेका 

छैनन् । निजको साथबाट दसीको माल बरामद भएको छैन तसर्थ निजले सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले निजले अदालतमा इन्कारी बयान गरे तापनि मौकाको बयानमा साबित भई बयान गरेका छन् । मौकाको बयानलाई प्रमाणमा लिन मिल्छ । स्वइच्छाविपरीतको बयान गराएको भए मौकामा नै उजुरी गर्नु पर्थ्यो सो गरेको देखिँदैन । सह प्रतिवादी दिपेन्द्र साहले गरेको पोल बयान प्रमाणमा लिनुपर्ने हुँदा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

पुनरावेदनसहितको मिसिल अध्ययन गरी विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहससमेत सुनी प्रतिवादीलाई मुलुकी ऐन, चोरीको महलको १ र ५ नं. विपरीतको कसुरमा सोही ऐनको १४(३) नं. बमोजिम सजाय हुने ठहराएको धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहराई पुनरावेदन अदालत, जनकपुरबाट मिति २०७०।२।१ मा भएको फैसला मिलेको छ, छैन? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू विमलकुमार यादव र दिपेन्द्र साहलाई मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. विपरीतको कसुरमा सोही ऐनको १४(४) नं. बमोजिम सजाय गरी सोही महलको १० र २१ नं. बमोजिम बरामद हुन नसकेको नगद जाहेरवालालाई भराई पाउँ भन्‍ने अभियोग दाबी भएकोमा सुरू अदालतबाट अभियोग दाबीबमोजिम नठहराई निजहरूलाई सोही महलको १ र ५ नं. को कसुरमा १४(३) नं. बमोजिम जनही २ महिना कैद र रू.३,४१,५००।– जरिवाना गरी जरिवानाबापत कैद हुने ठहराई भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसलाउपर प्रतिवादी विमलकुमार यादवको मुद्दा दोहोराई हेरिपाउँ भन्‍ने निवेदन परी मुद्दा दोहोराई हेर्ने निस्सा प्रदान भई पेस भएको पाइयो ।

३. सो सन्दर्भमा हेर्दा, मिति २०६७।२।१७ गते ११.३० बजेको समयमा बाटो ढुकी बसी जाहेरवालाको मोटरसाइकल रोकी कञ्चटमा पेस्तोल ताकी निजको साथमा रहेको रू. १,५०,०००।- र मोटरसाइकलसमेत लुटी लगेकोले प्रतिवादीहरू विमलकुमार यादव, दिपेन्द्र साह र रमेश यादव र नचिनेका २ जना मानिस साथमा रहेकोले निजहरूलाई पक्री कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दा उठान भएको देखिन्छ । प्रतिवादीमध्येका रमेश यादवको हकमा पछि वतन खुलेका बखत पूरक अभियोग लगाउने गरी पक्राउ परेका प्रतिवादीहरू विमलकुमार यादव र दिपेन्द्र साहलाई मुलुकी ऐन,  चोरीको महलको १ र ६ नं. विपरीतको कसुरमा सोही महलको १४(४) नं. बमोजिम सजाय गरी सोही महलको १० र २१ नं. बमोजिम जाहेरवालाको लुटी लगेको नगद दिलाई भराई पाउँ भन्‍ने अभियोग दाबी देखिन्छ ।

४. प्रतिवादी विमलकुमार यादवले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको र निज उक्त वारदातको दिन श्री धनुषा आवासीय विद्यालयमा अध्ययन गरिरहेको थिएँ भनी बयान गरेको र निजको उक्त बयानलाई उक्त विद्यालयका प्रधानाध्यापक हरेरामप्रसाद न्यौपानेले विद्यालयमा हाजिर रहेको भनी निजको बयान बेहोरा समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । उक्त विद्यालयबाट प्राप्‍त हाजिर पुस्तिकामा उक्त वारदातको दिनमा निज विद्यालयमै उपस्थित  रहेको देखिन्छ । यी प्रतिवादी विमलकुमार यादवको साथबाट तथा निजको घरकोठाबाट चोरी भएको भनिएको नगद तथा मोटरसाइकल बरामद भएको देखिँदैन । घटनास्थलबाट प्रहरीले मोटरसाइकल, हेल्मेट, मोबाइल, कटुवा पेस्तोल र सोको २ राउण्ड गोलीसमेत प्रतिवादीमध्येका दिपेन्द्र साहबाट बरामद भएको भनी बरामदी मुचुल्काबाट देखिन्छ । उक्त मुचुल्कामा यी प्रतिवादी विमलकुमार यादवलाई देखे चिनेको भनी बरामदी मुचुल्काका मानिसहरूले लेखाउन सकेको देखिँदैन । घटनास्थल प्रकृति मुचुल्काका मानिसहरूले विनोद यादवबाट दिपेन्द्र साहसमेतका व्यक्तिहरूले कटुवा पेस्तोल देखाई डाँका गरी धनमाल लुटी लगेको भन्‍ने लेखाइदिँदा यी प्रतिवादी विमलकुमार यादवको नाम उल्लेख गर्न सकेको देखिँदैन ।

५. प्रतिवादीमध्येका दिपेन्द्र साहले अनुसन्धान अधिकारीसमक्षको बयानमा यी प्रतिवादी विमलकुमार यादवसमेतले डाँका गरेका हौं भनी निज विमलकुमार यादवलाई पोल गरी बयान गरे तापनि अदालतमा बयान गर्दा निजलाई पोल गरेको 

देखिँदैन । सहअभियुक्तको पोलको आधारमा मात्र आधार बनाई कसैलाई डाँका चोरी जस्ता कसुरमा दोषी ठहर गर्न मिल्ने देखिँदैन । जाहेरवाला विनोद यादवले अदालतमा बकपत्र गर्दा ४ जना मुख छोपेका मानिस थिए । मैले कसैलाई चिन्‍न सकिन भनी बकपत्र गरेको देखिँदा निजले जाहेरीमा किटानी साथ उल्लेख गरेका यी प्रतिवादी विमलकुमार यादवलाई अनुमानको भरमा दिएको जाहेरी दरखास्तलाई निजका विरूद्ध प्रमाणमा लिन मिल्ने देखिँदैन ।

६. प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कुरा वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सकेको नदेखिँदा सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै आधारमा कसुरदार ठहर्‍याउनु न्यायोचित हुँदैन । अन्य व्यक्तिको साथबाट डाँका भएका सामानहरूलाई बरामद गरेको भनी शंकास्पद बरामदी मुचुल्कालाई निजका विरूद्ध प्रमाणमा लिन नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीले पाउने हुन्छ । 

७. तसर्थ, माथि विवेचित आधार कारणबाट प्रतिवादी विमलकुमार यादवलाई मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. विपरीतको कसुरमा सोही महलको १४(४) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी भएकोमा सुरू धनुषा जिल्ला अदालतबाट निजलाई सोही महलको १ र ५ नं. विपरीतको कसुरमा सोही महलको १४(३) नं. बमोजिम रहजनी चोरीको कसुरमा २ महिना कैद र रू.३,४१,५००।– जरिवाना र जरिवानाबापत कैद सजाय हुने ठहरी भएको फैसला सदर हुने ठहराई पुनरावेदन अदालत, जनकपुरबाट मिति २०७०।२।१ मा भएको फैसला नमिलेकोले केही उल्टी भई प्रतिवादी विमलकुमार यादवले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी विमलकुमार यादव अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले निजको नाउँमा रहेको कैद र जरिवानाको लगत कसी असुल गर्नु भनी उल्लेख भएको धनुषा जिल्ला अदालतको तपसिल खण्ड १ को प्रतिवादी विमलकुमार यादवको नाउँको लगत कट्टा गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू --------१

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी विमलकुमार यादव अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले निजले मुद्दा पुर्पक्षको क्रममा सुरू जिल्ला अदालतबाट मिति २०६८।५।३० मा माग भएको धरौटी रू.५०,०००।– बापत जेथा जमानत दिएकोले कानूनका म्यादभित्र जग्गा फुकुवा गरिपाउँ भनी दरखास्त दिए जग्गा फुकुवा गरिदिनु भनी सुरू अदालतमा लेखी पठाउनू ----------------------------२

दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाइदिनू --------------------------------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत: शोभा पाठक 

इति संवत् २०७५ साल असोज २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु