शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१६४ - निर्णय दर्ता बदर

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

फैसला मिति : २०७४।९।३

 

मुद्दा:- निर्णय दर्ता बदर

 

०६७-CI-१५४९

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने कान्छी तामाङसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. २३ बस्ने नातीभाइ गुभाजु भन्ने नाति शाक्यकी श्रीमती रत्नमाया शाक्य

०६७-CI-१५४८

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने सन्तबहादुर लामा तामाङसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. २३ बस्ने रत्नमाया शाक्य

 

विबन्धनको सिद्धान्त हक खानेको हकमा पनि समान रूपमा आकर्षित हुने हुँदा बाबुले स्वीकार गरेको तथ्यलार्इ इन्कार गर्न विबन्धनको सिद्धान्तले यी प्रतिवादीहरूलार्इ समेत रोक्ने ।

(प्रकरण नं.२)

कुनै मुद्दाको रोहमा प्रमाण बुझ्ने प्रसङ्गमा जारी भएको म्याद पक्षले प्राप्त गर्दैमा सो मुद्दामा पछि हुने निर्णयसमेत निजलाई जानकारी थियो भन्न नमिल्ने ।

दूषित दर्ता बदर गर्न यो यस्तो कार्यविधि अवलम्बन गर्नु पर्छ भन्ने छुट्टै व्यवस्था कानूनमा निर्धारण भएको नदेखिँदा न्यायिक निरूपणको क्रममा दर्ता दूषित रहेको देखिनु नै त्यस्तो दर्ता बदर वा निष्क्रिय गर्नका लागि पर्याप्त हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान्‌ अधिवक्ता श्री अर्जुन खनाल

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६०, नि.नं.७१६६

ने.का.प.२०७४, अंक २, नि.नं.९७५९

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः- 

मा. जिल्ला न्यायाधीश श्री सत्यराज गुरूङ

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

पुनरावेदन अदालत पाटन

 

फैसला

प्र.न्या.श्री गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः

म फिरादीको पति नाति शाक्य भिक्षुको नाममा साबिक मौजा हा.नं. ३६९ रोपनी २ll ll३ मध्येको सर्भे नापी हुँदा जिल्ला काठमाडौं कपन गा.पं. वडा नं. ३(च) कि.नं. १२७ क्षेत्रफल १-४-० को जग्गा सर्भे नापीअनुसार जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिनुअघि मिति २०२८ मा पतिको परलोक हुँदा मुलुकी ऐन, अपुतालीको २ नं. जग्गा पजनीको २ नं. (क) नं. बमोजिम मेरो नाममा नामसारी दर्ता गर्न नै बाँकी रहेको र उक्त जग्गाका दर्तावाला मोही विपक्षीहरूका पतिपिता पुन्टे तामाङले जोतकमोद गरी २०५० सालसम्मको कुतबाली दर्तावाला मोही जीवित रहेकोले पुन्टे तामाङबाट र वहाँको २०५० सालमा परलोक भएपछि विपक्षीहरूबाट कुतबालीबापत नगदै बुझी आएकोमा विपक्षीहरूले २०६० सालको कुतबाली नबुझाएकोले कारण सोध्दा उक्त जग्गा निजहरूले दर्ता गरी बिक्रीसमेत भइसकेको जवाफ पाई मालपोत कार्यालय चाबहिल गई दर्ता स्रेस्ता हेर्दा उक्त जग्गा विपक्षीहरूबाट पुतली लमिनीका नाममा दर्ताको मौजा टुपेक रै.नं.३५६।६० को लगत देखाई सर्भे नापीमा नापनक्सा हुँदा फिल्डबुकमा उल्लेख भएको जग्गा जग्गाधनीलाई भूलबाट लेखिन गएको बेहोरा पारी मिति २०५२।६।३० मा मालपोत कार्यालयमा निवेदन गरी मालपोत कार्यालयबाट मिति २०५३।१।२७ मा विपक्षीहरूको नाममा नामसारी दर्ता गर्ने गरी जग्गा दर्ता समितिको सिफारिस भई मिति २०५३।१।३१ को निर्णयले विपक्षीहरूका नाममा दर्ता भएको हुँदा उक्त मेरो हकको जग्गालाई दर्ता गर्ने गरेको मालपोत कार्यालय चाबहिलको मिति २०५३।१।२७ मा जग्गा दर्ता समितिबाट भएको सिफारिस र सिफारिसका आधारमा भएको मिति २०५३।१।३१ को निर्णय बदर गरी उक्त दूषित निर्णयको आधारमा भएको दर्तासमेत बदर गरी मेरो नाममा उक्त जग्गा नामसारी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।

उपर्युक्त उल्लिखित जग्गा हामीहरूको सासु तथा हजुरआमा नाताका व्यक्ति पुतली लमीनीको नाउँमा मौजा टुपेक रै.प.नं.३५६।६० बाट भिडी दर्ता हुने जग्गा हो । नापीको बखत जग्गाधनीको महलमा नाम लेखाउनु पर्नेमा भुलले पतिपिता पुन्टे तामाङ भन्ने पुन्टी तामाङको नाम मोही महलमा लेखिन गएकोसम्म मात्र हो । उक्त जग्गा हामी प्रतिवादीहरूकै हकभोगचलनको जग्गा हो । उक्त जग्गा दर्ता गर्न बाँकी रहेकोमा दर्ता गर्ने सिलसिलामा नापीका बखत भूलले जग्गाधनी महलमा नाति शाक्यको नाम जनिन गएको हो । उक्त जग्गा मौजा टुपेक रै.नं. ३५६।६० बाट भिडी दर्ता हुने जग्गा भएकोले सोही लगतबाट भिडाई हामीहरूका नाममा दर्ता गरेको हो । उक्त जग्गा दर्ताको क्रममा गोरखापत्रमा समेत सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त जग्गा दर्ता भएको पनि ८ वर्ष व्यतित भइसकेको छ । उक्त जग्गा विपक्षी फिरादीको दाबी साबिक कपन मौजा टुपेक रै.नं. ३५६/६० बाट भिडी दर्ता हुने जग्गा 

होइन । हामीले निजलाई जग्गाधनी मानी बाली बुझाएका पनि छैनौं । विपक्षीले उल्लिखित जग्गामध्ये कति भागमध्ये कति पाउने हो भन्ने स्पष्ट मागदाबीसमेत गर्न सकेको छैन । विपक्षी फिरादीले हामीहरूको जग्गा लिन खान पाइएला कि भनी दुःख दिने बदनियतले मात्र फिराद दर्ता गरेका हुँदा यस्तो निराधार हदम्यादविहीन फिराद खारेज भागी हुँदा खारेज गरी अलग फुर्सद गरी न्याय पाउँ भन्नेसमेत बेहोराको संयुक्त प्रतिउत्तर जिकिर ।

मिति २०५३।१।३१ को निर्णय बदर गराउन वादीले जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्यादभित्र प्रस्तुत मुद्दा दायर गर्न नसकी ७ वर्षपछि प्रस्तुत मुद्दा दायर गरेको देखिएको हुँदा प्रस्तुत फिराद हदम्यादभित्रको नदेखिई खारेज हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१३ को फैसला ।

मालपोत कार्यालयबाट भएको निर्णय जानकारीमा नआउँदै हदम्याद सुरू भएको भन्ने गरी भएको फैसला प्रचलित ऐन, कानूनको बर्खिलाप हुन गएको छ । पुनरावेदकको हकका जग्गालाई विपक्षी मोहीका हकवालाबाट आफ्नै जग्गा भन्ने झुठ्ठा कागजात खडा गरी गराई जग्गा दर्ता गरी लिएकोलाई काठमाडौं जिल्ला अदालतकै संवत् २०६० सालको दु.दे.नं. ३५१।५१२१ को मुद्दामा भएका फैसलाले पुष्टि गरेको छ । यसरी दूषित तरिकाबाट भएको दर्तालाई हदम्याद बाधक नहुने भन्ने सर्वोच्च अदालतबाट ने.का.प. २०६०, अंक १/२ पृष्ठ ५८ नि.नं. ७१६६ समेतमा मुद्दामा प्रतिपादित नजिर सिद्धान्तको बेवास्ता गरी फैसला भएकोले काठमाडौं जिल्ला अदालतबाट खारेज हुने ठहरी भएको फैसला उल्टी गरी फिराद दाबीबमोजिम विपक्षीका नाउँमा दर्ता गर्ने गरेको मालपोत कार्यालय चाबहिल काठमाडौंको मिति २०५३।१।३१ को निर्णय बदर गरी म पुनरावेदकका नाउँमा दर्ता गरिपाउँ भन्ने रत्नमाया शाक्यको पुनरावेदन पत्र ।

यसमा यिनै विवादित कि.नं.२१२७ को जग्गा प्रतिवादीहरूको नाउँमा दर्ता गर्ने गरेको मालपोत कार्यालयको २०५३।१।३१ को निर्णयमध्ये आधा बदर गरी मेरो हक कायम गरी दर्ता गरिपाउँ भनी यिनै पुनरावेदिकाको बुहारी मोतिशोभा शाक्यले दिएको लगाउको दे.पु.नं. ३५१/५१२१ को मुद्दामा वादी दाबी पुग्ने ठहरी फैसला भएको अवस्थामा यी पुनरावेदिकाले सोही जग्गाको विषयमा दिएको निर्णय बदर हक कायम मुद्दा खारेज हुने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला इन्साफको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं २०२ नं. तथा पुनरावेदन अदालत नियमावलीबमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६५।१२।५ को आदेश ।

मोतीशोभाले दायर गरेको प्रमाणमा आएको २०६० सालको दु.दे.नं. ३५१।५१२१ को निर्णय दर्ता बदर मुद्दामा नाति शाक्यको साबिक लगत भिडाई आधा दर्ता हक कायम हुने मालपोत कार्यालयको मिति २०५३।१।३१ को निर्णय बदर हुने ठहरी काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६४।३।३१ को फैसलामा पुनरावेदन नपरी अन्तिम भइरहेको 

देखिन्छ । प्रस्तुत मुद्दामा यी वादीका छोरा केदारमानले हकदाबी गरी मिति २०५२।११।२२ मा मालपोत कार्यालयले २१ दिनभित्र हक दाबीको प्रमाण लिई आउनु भनी म्याद दिएकोलाई जग्गा दर्ता भएको सोही मितिमा थाहा पाएको भनी सुरूले आधार लिई हदम्याद कायम गरेको पाइएको हुँदा कुनै मुद्दाको रोहमा प्रमाण बुझ्ने प्रसङ्गमा जारी भएको म्याद पक्षले प्राप्त गर्दैमा सो मुद्दामा पछि हुने निर्णयसमेत निजलाई जानकारी थियो भन्न मिल्दैन । मिति २०५३।१।३१ को निर्णयमा वादीले सुनी पाएको तथा सो निर्णयको जानकारी वादीलाई दिएको प्रमाण मिसिलबाट देखिँदैन । प्रमाण गुजार्न नसकी तारेख गुज्रँदैमा सो निर्णयको जानकारी निजलाई थियो भनी सम्झन नमिल्ने, प्रतिवादीले साबिक दर्ता तिरोको जग्गा गलत प्रमाण लगाई दूषित दर्ता गरेमा ने.का.प. २०६०, नि.नं. ७१६६ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा दूषित दर्तामा हदम्याद बाधक नहुने हुँदा हदम्यादको अभावमा खारेज गरेको सुरूको फैसला मिलेको देखिएन । काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१२ को फैसला उल्टी भई कि.नं. १२७ को १-४-० जग्गा मिति २०५३।१।३१ को मालपोत कार्यालयको निर्णयले प्रतिवादीहरूका नाउँमा दर्ता गर्ने गरेको निर्णय बदर भई विवादित जग्गामा आधा जग्गाको हकमा वादीको हक कायम हुने र सोबमोजिम नगरेको काठमाडौं जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६६।५।७ को फैसला ।

सम्बन्धित व्यक्तिले आफ्नो जग्गा दर्ता गरी लगी सकेको भन्ने मालपोत कार्यालयको दर्ता स्रेस्तासमेतबाट देखिएको र सो लगतमा जग्गा बाँकीसमेत नरहेको अवस्था र अर्कोतर्फ यी वादीले समयमा नै जानकारी पाउँदापाउँदै कानूनबमोजिम आफूसँग भएको कुनै प्रमाण पेस गरी प्रतिवादसमेत नगरी चुप लागी बस्नुको साथै हाल आएर मुद्दा दिँदासमेत तहतह बिक्री भएको कुरा थाहा पाउँदापाउँदै चुप लागी बसी रहेकोमा त्यसतर्फ कुनै विवेचना नै नगरी वादी दाबीबमोजिम नामसारी दर्ता गरिपाउँ भन्ने फिराद दाबीको आधारमा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी वादीको दाबी पुग्ने ठहर गरी भएको फैसला उल्टी गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला कायम गरिपाउँ भन्ने कान्छी तामाङसमेतको यस अदालतमा लिएको पुनरावेदन जिकिर ।

वादीले आफ्नो दाबीसाथ पेस गरेको मौजा कपन हा.नं. ३६९ नं. को साबिक लगत भिडाई मिति २०५५।७।१६ मा नै जग्गा दर्ता गरी सकेको कुरा सम्मानित काठमाडौं जिल्ला अदालतले माग गरेको साबिक लगतको उतारबाट देखिन्छ । यसरी २०५५।७।१६ मा नै उक्त लगतले भिड्ने जग्गा सम्बन्धित व्यक्तिले भिडाई जग्गा दर्ता गरी सकेको अवस्थामा त्यही लगतले विवादित कपन ३(च) कि.नं. १२७ को जग्गासमेत भिड्न सक्ने अवस्था नै छैन । यस अतिरिक्त पेस भएको यी वादीकै लगत हो भनी प्रमाणित हुन आएमा पनि उक्त लगत भिडी जग्गा दर्ता भइसकेको अवस्थामा सोही लगत नातिभाई गुभाजुको सो लगतले कहाँको कति जग्गा दर्ता भइसकेको भन्नेसमेत निर्क्यौल गरेर मात्र निर्णयमा पुग्नु पर्नेमा त्यसो नगरी भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला कायम गरिपाउँ भन्ने सन्तबहादुर तामाङसमेतको पुनरावेदन जिकिर ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरियो ।

पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान्‌ अधिवक्ता श्री अर्जुन खनालले प्रतिवादीका पिता पुन्टे तामाङले नापीको बखत भूलबाट सो जग्गा नातिभाइ शाक्यको भनी लेखाएको हो । दाबीको जग्गा पुतली लमिनीको नाउँको टुपेक रै.नं. ३५६।६० बाट भिडी दर्ता भएको र दर्ता हुनुअघि जारी भएको म्याद मिति २०५२।११।२२ केदारमानले बुझी थाहा पार्इ सकेकोमा २०६० सालमा नक्कल सारी थाहा पाएको भन्न मिल्ने होइन । वादीले दाबी गरेको नाति शाक्यको साबिक मौजा कपन हा.नं.३६९ बाट भिड्ने जग्गा होइन । सो मौजा कपन हा.नं.३६९ बाट भिडार्इ अन्य जग्गा दर्ता गरेकोले दर्ता बाँकीसमेत नभएकोले हदम्यादको आधारमा खारेज हुने ठहराएको सुरू जिल्ला अदालतको फैसला सदर हुनुपर्नेमा उल्टी हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी गर्नुभएको बहस सुनियो ।

वादीले पति नाति शाक्य भिक्षुका नाउँमा साबिक मौजा कपन द.नं. ३६९ रोपनी २ll ll३ मध्येको सर्भे नापी हुँदा जिल्ला काठमाडौं कपन गा.वि.स. वडा नं. ३(च) कि.नं. १२७ क्षेत्रफल १-४-० भएको र सो जग्गा पतिको परलोक भएपछि मेरो नाउँमा नामसारी दर्ता बाँकी हुँदै विपक्षीहरूले मालपोत कार्यालय चाबहिलको मिति २०५३।१।३१ को निर्णयले दर्ता गराएकोले उक्त दूषित दर्ता बदर गरी आधा जग्गा फिरादीको नाउँमा दर्ता कायम गरिपाउन मागदाबी लिई फिराद दर्ता गराएकोमा सुरू जिल्ला अदालतले हदम्यादको आधारमा फिराद दाबी खारेज गरेको पुनरावेदन अदालतले वादी दाबीबमोजिम दर्ता बदर हुने ठहरार्इ आधा वादीको नाउँमा कायम हुने ठहराएउपर प्रतिवादीको तर्फबाट प्रस्तुत पुनरावेदन परेको 

देखियो । अब पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. वादीले पति नाति शाक्य भिक्षुका नाउँमा साबिक मौजा कपन द.नं. ३६९ रोपनी २ll ll३ मध्येको सर्भे नापी हुँदा जिल्ला काठमाडौं कपन गा.वि.स. वडा नं. ३(च) कि.नं. १२७ क्षेत्रफल १-४-० भएको दर्ता बाँकी जग्गा प्रतिवादीले २०५३ सालमा दूषित दर्ता गरेको भनी दाबी लिएको पाइन्छ । वादीले दाबी लिएको साबिक लगतको जग्गा बाँकी नरहेको भनी प्रतिवादीले वस्तुनिष्ठ तवरले खण्डन गरेको 

देखिँदैन । फिल्डबुक हेर्दा वादीले दाबी गरेको कि.नं. १२७ को जग्गा सर्भे नापीमा पुन्टे तामाङ मोही जनिएको पाइन्छ । साथै प्रतिवादीका पिता पुन्टे तामाङले नातिभाइ महर्जन जग्गाधनी लेखाई कुतबाली बुझाई आएको भनी बेहोरा लेखाएको पाइन्छ । तर यी प्रतिवादीले यस अदालतसमेतमा लिएको जिकिरमा दाबीको जग्गा वादीलार्इ जग्गाधनी मानी पिता तथा आफूले मोहीको हैसियतले नकमाएको बेहोरा लेखाएको पाइन्छ । “विबन्धनको सिद्धान्तअनुसार कसैलार्इ पनि परस्पर विरोधी कुरा गर्ने अधिकार हुँदैन । सदनियतलार्इ प्रवर्द्धन गरी न्यायको संरक्षण गर्नु यस सिद्धान्तको उद्देश्य हो । आफूले एक पटक बोलेको कुराप्रति वचनबद्ध हुनु पर्छ । आफूलार्इ फाइदा हुँदा एउटा कुरा र बेफाइदा हुँदा अर्को कुरा गर्ने छुट कसैलार्इ हुदैँन । जसले परस्पर विरोधी कुरा गर्दछ उसको कुरा नसुनिन पनि सक्छ भन्ने मान्यता विबन्धनको सिद्धान्तको हो” भनी यसै अदालतबाट सिद्धान्त (निवेदक गणेशदत्त पौडेलसमेत विरूद्ध सहकारी संस्था लिमिटेड जमुनी बर्दियासमेत ने.का.प. २०७४ अंक २ नि.नं. ९७५९) प्रतिपादन भएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम परस्पर विरोधी कुरा गर्न विबन्धनको सिद्धान्त आकर्षित हुने र विबन्धनको सिद्धान्त हक खानेको हकमा पनि समान रूपमा आकर्षित हुने हुँदा बाबुले स्वीकार गरेको तथ्यलार्इ इन्कार गर्न विबन्धनको सिद्धान्तले यी प्रतिवादीहरूलार्इ समेत रोक्ने देखियो ।

३. मालपोत कार्यालयको मिति २०५३।१।३१ को निर्णयले प्रतिवादीको नाउँमा दाबीको जग्गा दर्ता गर्दा १९९६।५।९ को पुतली लमिनीको साबिक लगत दर्ताको आधार लिएकोमा सो दर्ताको जग्गा मिति २००४।८।५ मा सन्तबहादुर र मिति २०१३।१२।२६ मा गंगाकुमारीका नाउँमा सरी गएको देखिन आएकोले प्रतिवादी जिकिरको सो साबिक लगतले प्रतिवादी पक्षको जिकिरलार्इ समर्थन गर्ने नदेखिएकोले साबिक देखिको स्वामित्व कायम हुन सक्ने देखिएन । त्यसैगरी वादीले दाबी गरेको मौजा कपन दर्ता नं. ३६९ को लगत नातिभाइ गुभाजुको भई सोही व्यक्ति नाति शाक्य भई निज परलोक भएपछि निजको बुहारी मोतीशोभाको १ भाग र निजकै पत्नी रत्नमायाको १ भाग भएमा कुनै द्विविधा पनि 

देखिँदैन । मोतीशोभाले दायर गरेको प्रमाणमा आएको २०६० सालको दु.दे.नं. ३५१।५१२१ को निर्णय दर्ता बदर मुद्दामा नाति शाक्यको साबिक लगत भिडाई आधा दर्ता हक कायम हुने भनी मालपोत कार्यालयको मिति २०५३।१।३१ को निर्णय बदर हुने ठहरी काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६४।३।३१ को फैसलामा पुनरावेदन नपरी अन्तिम भइरहेको    देखिन्छ ।

४. अब फिराद हदम्याद नपरेको भनी प्रतिवादीले जिकिर लिएकोले हदम्यादभित्र फिराद परे नपरेतर्फ हेर्दा “झुठ्ठा बेहोरा लेखाई दूषित तरिकाबाट विपक्षी वादीको हकभोगमा रहेको विवादित जग्गा आफ्नो नाममा दर्ता गराएकोले त्यस्तो दूषित दर्तालाई मान्यता दिन कानूनत: नमिल्ने भई दूषित दर्ता बदर गराउन हक भोगचलनसमेत भएका व्यक्तिका विरूद्ध हदम्याद बाधक नहुने” भनी यसै अदालतबाट (पुनरावेदक प्रतिवादी इश्वरी भोमी विरूद्ध गणेशलाल खडगी मुद्दा दर्ता बदर ने.का.प.२०६० नि.नं.७१६६) सिद्धान्त प्रतिपादन भएकोले दूषित दर्ता बदर गर्न हदम्याद बाधक नहुने देखिएको र प्रस्तुत मुद्दामा समेत मोही हकसम्म रहेको प्रतिवादीका पतिपिताले स्वीकार गरेकोमा सो तथ्यलार्इ लोप गरी विबन्धनको सिद्धान्तविपरीत जग्गाधनी (वादी पक्ष) र वास्तविक साबिक दर्ता नै लोप गरी प्रतिवादीको हक नै नभएको पुतली लमिनीको साबिक दर्ताको आधार भनी दाबीको जग्गा दूषित तवरले एकलौटी रूपमा आफ्नो नाममा दर्ता गरेको देखिँदा त्यस्तो अवस्थामा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्षभित्र फिराद दायर नभएको वा हदम्यादको आधारले दाबी खारेज गर्न मिल्ने देखिएन । अर्कोतर्फ प्रस्तुत मुद्दामा यी वादीका छोरा केदारमानले हकदाबी सम्बन्धमा मिति २०५२।११।२२ मा मालपोत कार्यालयले २१ दिनभित्र हकदाबीको प्रमाण लिई आउनु भनी म्याद दिएकोलाई जग्गा दर्ता भएको सोही मितिमा थाहा पाएको भनी सुरूले आधार लिई हदम्याद कायम गरेको पाइएको हुँदा कुनै मुद्दाको रोहमा प्रमाण बुझ्ने प्रसङ्गमा जारी भएको म्याद पक्षले प्राप्त गर्दैमा सो मुद्दामा पछि हुने निर्णयसमेत निजलाई जानकारी थियो भन्न मिल्दैन । मिति २०५३।१।३१ को निर्णयमा वादीले सुनी पाएको तथा सो निर्णयको जानकारी वादीलाई दिएको प्रमाण मिसिलबाट नदेखिएकोले सोही मितिमा प्रतिवादीले दर्ता गरेको थाहा पाएको मान्न मिल्ने नदेखिएको तथा प्रतिवादीले साबिक दर्ता तिरोको जग्गा गलत प्रमाण लगाई दूषित दर्ता गरेमा ने.का.प. २०६०, नि.नं. ७१६६ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा दूषित दर्तामा हदम्याद बाधक नहुने हुँदा हदम्यादको अभावमा खारेज गर्न मिल्ने नदेखिँदा हदम्यादभित्र फिराद नपरेको भन्ने प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन । दूषित दर्ता बदर गर्न यो यस्तो कार्यविधि अवलम्बन गर्नु पर्छ भन्ने छुट्टै व्यवस्था कानूनमा निर्धारण भएको नदेखिँदा न्यायिक निरूपणको क्रममा दर्ता दूषित रहेको देखिनु नै त्यस्तो दर्ता बदर वा निष्क्रिय गर्नका लागि पर्याप्त हुने हुँदा जग्गा दर्ता समितिको सिफारिसबमोजिम मालपोत कार्यालयको मिति २०५३।१।३१ को निर्णयले पुन्टे तामाङका हकदार प्रतिवादीहरूको नाउँमा भएको दर्ता बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो । 

५. तसर्थ उपर्युक्त आधार प्रमाणबाट काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१२ को फैसला उल्टी भई कि.नं.१२७ को १-४-० जग्गा मिति २०५३।१।३१ को मालपोत कार्यालयको निर्णयले प्रतिवादीहरूका नाउँमा दर्ता गर्ने गरेको निर्णय बदर भई विवादित जग्गामा आधा जग्गाको हकमा वादीको हक कायम हुने र सोबमोजिम नगरेको काठमाडौं जिल्ला अदालतको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६६।५।७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिलको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. केदारप्रसाद चालिसे

 

इजलास अधिकृत : हर्कबहादुर क्षेत्री

इति संवत् २०७४ साल पौष ३गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु