शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१६५ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री मीरा खडका

फैसला मिति : २०७४।८।१२

०७०-CR-०६७७

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / वादी : ........... को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, रत्‍ननगर न.पा.वडा नं.८ बस्ने मुन्द्रेसर भन्ने अशोक श्रेष्ठ

 

कुनै पुरूषले आफ्नो यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरीबेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनिमा प्रवेश गराई वा अन्य तरिकाले यौन सन्तुष्टि लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसुर हुनका लागि जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरीको अभाव रहेको अवस्थामा जबरजस्ती करणीको कसुर गरेको मान्नु पर्ने ।

अत्यन्त कलिलो उमेर अवस्था भएको बालिकाको हकमा जबरजस्ती करणी गर्दा वयस्क महिलासँगको सम्बन्धमा जस्तो लिङ्ग सजिलैसँग प्रवेश नहुने भएकाले त्यस्तो कलिलो उमेरका बालिकाको योनिबाहिर लिङ्ग दली / रगडी वीर्य स्खलन गरेकोलाई करणी नभई उद्योग मान्न नसकिने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डे

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर : 

ने.का.प.२०६६, अंक ५, नि.नं.८१४२ 

ने.का.प.२०७३, अंक १, नि.नं.९५१९

सम्बद्ध कानून : 

 

सुरू फैसला गर्नेः 

मा. जिल्ला न्या. श्री भोलानाथ चौलागाईं

चितवन जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. मीरा खडका : पुनरावेदन अदालत हेटौंडाको मिति २०६९/८/१९ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

मिति २०६७/१०/२६ गते दिनको ४ बजेको समयमा मेरो घर परिवार घरमा कोही नभएको अवस्थामा मेरो कान्छी छोरी हाल नाम परिवर्तन गरिएकी वर्ष ४ की रत्‍नमाया तामाङ स्कुल बिदा भएपछि घरमा आई घर आँगनमा लेखिरहेकी अवस्थामा अन्यायी अशोक श्रेष्ठले जबरजस्ती उठाई बोकी घर कोठामा लगी जबरजस्ती करणी गर्नको लागि आफ्नो लिङ्‍ग छोरी रत्‍नमाया तामाङको योनिमा दलिरहेको अवस्थामा जेठी छोरी अनिता तामाङले देखी हारगुहार गर्दा निज घटनास्थलबाट भागी गएको हो । निज अन्यायीले छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको हुँदा निजलाई पक्राउ गरी हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............... को जाहेरी दरखास्त ।

जिल्ला चितवन, रत्‍ननगर नगरपालका वडा नं.७ स्थित पूर्व सिसैतर्फ जाने सडक, पश्चिममा जीवन घिमिरेको घर, उत्तरमा राजमार्ग सडक, दक्षिणमा मुक्तिनाथ घिमिरेको घर यति ४ किल्लाभित्र रहेको जीवन घिमिरेको जग्गामा खरको छानो खडाईको बार भएको ............... को भाडामा बस्ने घर रहेको, सो घरभित्र २ वटा कोठा रहेको सो २ कोठामध्ये दक्षिणतर्फको कोठामा बिस्तारासहितको २ वटा खाट रहेको, सो खाटहरूमध्ये पूर्वतर्फ साइडमा रहेको खाटमा अशोक श्रेष्ठले जाहेरवालाको ४ वर्षकी नाबालिका छोरी हाल नाम परिवर्तित रत्‍नमाया तामाङलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

नाम परिवर्तित रत्‍नमाया तामाङको स्वास्थ्य अवस्था सामान्य छ । कन्याजाली च्यातिएको छैन । शरीरमा घाउ चोटपटक देखिँदैन । योनि र वरिपरिको वीर्य परीक्षणको लागि पठाइएको छ भन्ने बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

अशोक श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । मादक पदार्थ सेवन गरेको छ । लिङ्‍ग वरिपरिको भागबाट वीर्य परीक्षणको लागि पठाइएको छ भन्नेसमेत बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०६७/१०/२६ गते थकाई लागेको कारण काममा नगई घरमा नै बसिरहेको थिएँ । घरनजिक रहेको जाहेरवाला ............... र निजको श्रीमती काममा गई निजका छोराछोरीहरू स्कुल गएका थिए । छोरा काजी बेलैमा स्कुलबाट आएको र मेरो घरमा टि.भी. नभएको कारण निजको घरमा टि.भी. हेर्न गई काजीसँगै बसी टि.भी. हेरे । टि.भी. हेर्दै गर्दा लाइन गएकोले म विस्तारामा पल्टिएर बसेकै ठाउँमा निदाई रहेको अवस्थामा जाहेरवालाकी कान्छी छोरी यस मुद्दामा नाम परिवर्तन गरिएकी रत्‍नमाया तामाङ स्कुलबाट आएर म निदाएको ठाउँमा आई ढाडमा कोट्याउँदा म बिउँझिँए । बिउँझिँदा मेरो लिङ्‍ग उत्तेजित भएको रहेछ । निजलाई मैले नग्न अवस्थामा देखेँ र सो बेला सो स्थानमा कोही नभएकोले मलाई करणी गर्न इच्छा भयो र निज रत्‍नमाया तामाङलाई बोलाई ललाई फकाई करणी गर्न भनी मेरो उत्तेजित लिङ्‍ग निजको योनिमा छिराउने प्रयास गरेँ । योनिमा नछिरेपछि बाहिर दल्दादल्दै वीर्य निस्केकोले मैले करणी गर्न खोलेको कपडा लगाउँदै गर्दा निजको दिदी अनिता तामाङ आई देखेको कारण हल्ला गरेकोले छिमेकीहरूसमेत जम्मा भई मलाई कुटपिट गर्न लागेपछि म भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी अशोक श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।

मिति २०६७/१०/२६ गते सधैँजसो मेरो आमाबुबा काममा जानु भएको, भाइ काजी तामाङ स्कुल नगई म र बहिनी मात्र स्कुल गयौं । बहिनीको पढाई चाँडो सकिने भएकोले निज ३ बजे र म ४:३० बजे कोठामा आई पुग्यौं । सो दिन म अन्दाजी ४:३० बजेको समयमा घर कोठामा आउँदा भाइलाई 

देखिन । भित्र कोठामा पस्दा नाम परिवर्तन गरिएकी बहिनी रत्‍नमाया तामाङलाई अशोक श्रेष्ठले खाटमा नाङ्‍गै सुताई जबरजस्ती करणी गरिरहेको रहेछ । मैले कराउँदा निजले सो कार्य गर्न छोडी मलाई पैसा दिन्छु, हल्ला नगर भनेको थियो । सो बेला बहिनी आत्तिएर रोएको देखी मैले रिस उठी निजलाई कुचोले हानी हारगुहार गरेपछि अन्य मानिससमेत भेला जम्मा भई निज अशोक श्रेष्ठ सो स्थान छाडी भागी गएका 

हुन् । बुबा आमा आएपछि घटना सम्बन्धमा मैले आमा बुबालाई भनेकी हुँ भन्ने बेहोराको प्रत्यक्षदर्शी ............... ले गरेको घटना विवरण कागज ।

मिति २०६७/१०/२६ गते अन्दाजी ४:३० बजेको समयमा जाहेरवाला ............... को डेरा कोठामा अन्यायी अशोक श्रेष्ठले जाहेरवालाको कान्छी छोरी हाल नाम परिवर्तन गरिएकी रत्‍नमाया तामाङलाई जबरजस्ती करणी गरेको भन्ने हल्ला सुनी मसमेत सो स्थानमा पुग्दा निज अशोक श्रेष्ठ  ............... को डेरा कोठाबाट भाग्दै गरेकोमा तत्काल सो स्थानमा प्रहरीसमेत पुगेकोले हामीहरूको सहयोगमा निजलाई प्रहरीले प्रक्राउ गरेको हो । सो समयमा रत्‍नमाया तामाङ आत्तिएर रोई रहेकोले निजको योनि हेर्दा योनि वरिपरि वीर्य लागेको र योनि रातो भई सुन्निएको थियो । निजले गरेको उक्त कार्य करणी उद्योग नभई जबरजस्ती करणी नै हो भन्नेसमेत बेहोराको बुझिएका मानिसहरू महादेवी शर्मा, उर्मिला पासवान, प्रेमराज घिमिरेसमेतले गरेको घटना विवरण कागज ।

प्रतिवादी अशोक श्रेष्ठले पीडित ४ वर्षकी रत्‍नमाया तामाङलाई आफ्नो डेरा कोठामा स्कुलबाट आई कपडा फेर्न लागेको अवस्थामा सोही ठाउँमा रहेको खाटमा सुताई जबरजस्ती करणी गरिरहेको अवस्थामा दिदी  ............... ले देखी हारगुहार गरेपछि निज प्रतिवादी उक्त स्थानबाट भागेकोमा प्रहरीले पक्राउ गरेको पुष्टि हुन आएकोले निज अशोक श्रेष्ठलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(१) नं. को कसुरमा सोही महलको ३(१) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६७/११/२३ को अभियोग पत्र । 

मिति २०६७/१०/२६ गते म जाहेरवालाको घरबाहिर आँगनमा सुतिरहेको थिएँ । करिब दिनको ४ बजेको समयमा जाहेरवालाको छोरी हाल नाम परिवर्तित रत्‍नमाया तामाङले मलाई यसो कोट्‍याई दिइन्, म झसङ्ग भएर उठेँ । अरू पनि बालबालिकाहरू त्यहाँ जम्मा भई खेलेका थिए । म पनि तिनीहरूसँगै एकैछिन खेली आफ्नो घरतर्फ जान लाग्दा गाउँलेहरूले मलाई जबरजस्ती करणीको आरोप लगाएका हुन् । त्यसपछि प्रहरी बोलाई प्रहरीको जिम्मा लगाई दिएका हुन् । मैले जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरेको तथा करणीको प्रयास गरेकोसमेत होइन भन्नेसमेत बेहोराको प्रतिवादी अशोक श्रेष्ठले सुरू चितवन जिल्ला अदालतमा गरेको बयान ।

मिसिल संलग्न प्रमाणबाट प्रतिवादी निर्दोष नदेखिई कसुरदार हुन् भन्ने मनासिब आधारहरू देखिइरहेको हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठलाई अ.बं.११८ नं. को देहाय २ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्‍नु भन्ने मिति २०६७/११/३० को थुनछेक आदेश ।

मेरो पिसाब गर्ने ठाउँमा अशोक श्रेष्ठले तुरी निकाली दलेको हो । मलाई दुख्यो, म रोएँ । मैले त्यो कुरा पहिला दिदी  ............... लाई भनेको हुँ भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित रत्‍नमाया तामाङले सुरू चितवन जिल्ला अदालतमा उपस्थित भई गरेको बकपत्र ।

उक्त दिन बेलुका ४:३० बजेदेखि ५ बजेको समयभित्र मैले रूने कराउने गरेको आवाज सुनेपछि घटनास्थलमा जाँदा पीडित रत्‍नमाया बेहोस अवस्थामा रहेकी र पीडितको दिदी रूँदै गरेको तथा प्रतिवादी अशोक श्रेष्ठ नाङ्‍गै अवस्थामा देखेर मैले पीडितसँगै अशोकलाई पनि कानमा समातेर बाहिर ल्याएँ । पीडित र प्रतिवादीको नाङ्‍गो अवस्था देख्दा यो जबरजस्ती करणी नै हो । मैले प्रत्यक्ष देखेर पीडितलाई बाहिर ल्याएर प्रहरीलाई फोन गरेको हो भन्ने बेहोराको बुझिएका मानिस महादेवी शर्माले सुरू अदालतमा गरेको बकपत्र ।

त्यहाँ त एकजना बच्चालाई कसले हो समातेको छ रे ! भनेपछि म घटनास्थलमा पुग्दा पीडित रातो पिरो भई बेहोस अवस्थामा नाङ्‍गो थिइन् । प्रतिवादी पनि नाङ्गै थियो । यसपछि महादेवी शर्माले पीडितलाई अस्पताल लैजानु भयो । तिनीहरूको नाङ्‍गो अवस्था देख्दा मलाई जबरजस्ती करणी भएको जस्तो लाग्छ भन्ने बेहोराको बुझिएका मानिस उर्मिला पासवानले अदालतमा गरेको बकपत्र । 

प्रतिवादीले जबरजस्ती करणी गरेको होइन जस्तो लाग्छ । निज प्रतिवादी राम्रो आचरण भएको व्यक्ति हो । प्रतिवादीलाई सजाय हुनुपर्ने होइन । मिति २०६७/१०/२६ गते म बजारमा थिएँ । यी प्रतिवादी लेवर काम गर्ने हुनाले गाडीमा थिए । गाडी कुन ठाउँमा थियो, मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी निलकण्ठ श्रेष्ठले सुरू चितवन जिल्ला अदालतमा गरेको बकपत्र ।

म घर पुगेपछि बहिनी (पीडित) लाई के भयो भनी सोध्दा छोरीले अशोक श्रेष्ठले हाम्रो बहिनीलाई जबरजस्ती करणी गर्‍यो भनी भनेकी हुन् । त्यतिबेला मेरो छोरी पीडित रोई राखेकी थिई भन्नेसमेत बेहोराको जाहेरवाला  ............... ले सुरू चितवन जिल्ला अदालतमा गरेको बकपत्र । 

मेरो घरमा बुबाआमा काममा गएको अवस्थामा बहिनी रत्‍नमाया एक्लै भएको हुँदा अशोक श्रेष्ठले रू.५।- दिन्छु भनी फकाएर हामी सुत्‍ने गरेको खाटमा सुताएर बहिनीलाई जबरजस्ती करणी गरेको अवस्थामा म पुगी यो के गरेको हो भनी भन्दा उल्टै मलाई समेत अशोक श्रेष्ठले हिर्कायो । होहल्ला गरेपछि गाउँलेसमेत जम्मा भएर निज अशोक श्रेष्ठलाई समातिएको हो । मेरो बहिनी रत्‍नमायालाई र अशोक श्रेष्ठलाई नाङ्‍गै अवस्थामा करणी गरेको आँखाले देखेको हुँ । मेरो बहिनी आत्तिएकी डराएकी थिइन । मेरो बुबा ममीले बहिनीलाई अस्पताल ल्याएको हो भन्नेसमेत बेहोराको वस्तुस्थितिका मानिस  ............... ले सुरू चितवन जिल्ला अदालतमा उपस्थित भई गरेको बकपत्र ।

पीडितलाई जाँच गर्दा तत्काल देखिएको कुराहरू प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन बेहोरा साँचो छ भन्नेसमेत बेहोराको डा. विनोद पाठकले सुरू चितवन जिल्ला अदालतमा उपस्थित भई गरेको बकपत्र ।

पीडितको योनिमा प्रतिवादीले आंशिकरूपमा भए पनि आफ्नो लिङ्‍ग प्रवेश गराएको मिसिलबाट देखिएको अवस्था नहुँदा प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको उद्योगसम्म गरेको देखिन आएबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) ले हुने सजायमा ऐ. ७ नं. अनुसार आधा अर्थात् कैद वर्ष ५ हुने ठहर्छ भन्ने सुरू चितवन जिल्ला अदालतबाट मिति २०६८/१०/१२ मा भएको फैसला ।

पीडित ४ वर्षकी रत्‍नमाया तामाङले अदालतमा गरेको बकपत्रमा प्रतिवादी अशोक श्रेष्ठले आफ्नो तुरी निकाली निजको पिसाब गर्ने ठाउँमा दलेको भन्ने उल्लेख गरेको र सो तथ्यसँग अदालतसमेत सहमत रहेको देखिन्छ । लिङ्‍ग योनिमा राखी पसाउन खोजेको कार्य आफैँमा जबरजस्ती करणी हुन्छ । करणी गर्ने उद्देश्यले योनिमा लिङ्‍ग प्रवेश गर्न खोज्ने कार्य जबरजस्ती करणीको उद्योग मात्र मान्‍न मिल्ने देखिँदैन । सुरू जिल्ला अदालतबाट प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय नगरी जबरजस्ती करणीको उद्योगसम्म ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरी मनासिब क्षतिपूर्तिसमेत पीडितलाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत हेटौंडामा दायर गरेको पुनरावेदनपत्र । 

जबरजस्ती करणीको १ नं. मा स्पष्टीकरण (ग) को व्याख्याको सन्दर्भमा प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर कायम गरी जबरजस्ती करणीको ३(१) ले हुने सजायमा ऐ. ७ नं. अनुसार आधा सजाय गर्ने गरी सुरू चितवन जिल्ला अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।

मिसिल संलग्न प्रमाणबाट अभियोग दाबीबमोजिम जबरजस्ती करणी भएकै हो भन्ने कुरा स्थापित हुन सक्ने अवस्था नदेखिँदा र जबरजस्ती करणी ठहर भएको अवस्थामा मात्र क्षतिपूर्ति भराउन सकिने भन्ने जबरजस्ती करणीको महलको १० नं.ले व्यवस्था गरेको हुँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठले पीडितको योनिमा आंशिक रूपमा भए पनि आफ्नो लिङ्‍ग प्रवेश गराएको भन्ने मिसिलबाट देखिएको अवस्था नहुँदा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको उद्योगसम्म गरेको देखिन आएबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. ले हुने सजायमा ऐ. को ५ नं. अनुसार आधा अर्थात् कैद वर्ष ५ सजाय हुने ठहर्‍याई चितवन जिल्ला अदालतबाट मिति २०६८/१०/१२ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९/८/१९ मा भएको फैसला ।

पीडित नाबालिकाको योनिमा आफ्नो लिङ्ग दल्दादल्दै वीर्य बाहिर स्खलन भएको भनी जबरजस्ती करणी गरेकोमा प्रतिवादी साबित भएका छन् । चस्मदिद गवाह  ............... ले मौकामा र अदालतमा समेत उपस्थित भई पीडितलाई जबरजस्ती करणी गरेको भनी खुलाई दिएको देखिन्छ । पीडित बालिकाले अनुसन्धानमा र अदालतमा बकपत्र गर्दासमेत आफूलाई जबरजस्ती करणी गरेको भनी लेखाइदिएकी छिन् । जबरजस्ती करणी हुन पीडितको योनिमा घा-चोट हुनु पर्ने, कन्याजाली च्यातिएको हुनु पर्ने अनिवार्यता हुँदैन । मिसिल संलग्न तथ्य प्रमाणबाट प्रतिवादीले जबरजस्ती करणी गर्दा वीर्य स्खलन भएको र पीडितको योनि दुखेको र सुन्निएको छ भने करणी गर्दाकै अवस्थामा पीडितको दिदीले देखेको भन्ने प्रतिवादीको बयानबाट प्रस्ट भएको छ । जबरजस्ती करणीको सम्पूर्ण कार्य भएको र पीडित कम उमेरकी भएका कारण योनिभित्र लिङ्ग प्रवेश हुन नसकेको भन्ने देखिएको अवस्थामा जबरजस्ती करणीको उद्योगसम्म गरेको भनी प्रतिवादीलाई कसुरबाट उन्मुक्ति दिने गरी भएको सुरू तथा पुनरावेदन अदालत हेटौंडाको फैसला यस अदालतबाट ने.का.प. २०६६, अंक ५, नि.नं. ८१४२ मा प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत भई कानूनी त्रुटिपूर्ण भएकाले उक्त फैसला उक्त हदसम्म बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन ।

यसमा प्रतिवादीले ४ वर्षकी पीडित बच्चीको योनिमा आफ्नो लिङ्ग छिराउने प्रयास गर्दा नछिरेपछि योनिको बाहिरी भागमा लिङ्ग दली घर्षणसमेत गरी वीर्य पतन गराएको कुरा निज प्रतिवादीको बयानसमेतबाट देखिएको छ । यस्तो अवस्थामा “जबरजस्ती करणीको कसुर ठहर हुनका लागि लिङ्ग र योनिबीच सामान्य घर्षण मात्र पनि पर्याप्त हुने” (ने.का.प.२०६३, अंक ४, नि.नं. ७६८२ पृष्ठ ४६२) “प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश र वीर्य योनिमा स्खलन नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसङ्गत नदेखिने” (ने.का.प. २०६५, अंक १, नि.नं. ७९२३, पृष्ठ ११०) भनी सिद्धान्त प्रतिपादन भइसकेको परिप्रेक्ष्यमा समेत प्रस्तुत वारदातलाई जबरजस्ती करणीको उद्योग ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा जबरजस्ती करणीको महलको १ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७०/५/१३ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादी नेपाल सरकारको तर्फबाट विद्वान्‌ उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डेले प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा जबरजस्ती करणी गरेकोमा साबित छन् । पीडित कम उमेरकी भएका कारण योनिमा लिङ्ग प्रवेश हुन नसकेकोसम्म हो । योनिको बाहिर वीर्य स्खलन भएको भन्नेमा प्रतिवादी साबित छन् । प्रत्यक्षदर्शीले प्रतिवादीलाई नाङ्गै भेटाएको भनी बकपत्रसमेत गरेको अवस्था छ । मिसिल संलग्न तथ्य एवं प्रमाणबाट जबरजस्ती करणी भएको पुष्टि भएको अवस्थामा उद्योगसम्म ठहर गर्ने गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनु पर्ने हो भनी गर्नुभएको बहस सुनियो ।

उपरोक्तानुसारको बहस सुनी प्रस्तुत मुद्दाको मिसिलसमेत अध्ययन गरी हेर्दा जबरजस्ती करणीको उद्योग गरेको ठहर गरी जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदक / वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।   

यसमा प्रतिवादी अशोक श्रेष्ठले पीडित ४ वर्षकी रत्‍नमाया तामाङलाई आफ्नो डेरा कोठामा कपडा फेर्न लागेको अवस्थामा सोही ठाउँमा रहेको खाटमा सुताई जबरजस्ती करणी गरिरहेको अवस्थामा दिदी ............... ले देखी हार गुहार गरेपछि निज प्रतिवादी उक्त स्थानबाट भागेकोमा प्रहरीले पक्राउ गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(१) नं. को कसुरमा सोही महलको ३(१) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने वादीको अभियोग दाबी रहेको देखियो । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा निज बालिकालाई जबरजस्ती करणी गर्न निजको योनिबाहिर आफ्नो लिङ्ग दल्दादल्दै वीर्य स्खलन भएको हो भनी बयान गरेको र अदालतमा बयान गर्दा जाहेरवालाको छोरी हाल नाम परिवर्तित रत्‍नमाया तामाङलगायत अन्य बालबालिकासँग एकछिन खेली आफ्नो घरतर्फ जान लाग्दा गाउँलेहरूले मलाई जबरजस्ती करणीको आरोप लगाएका हुन् । मैले जबरजस्ती करणी गरेको तथा करणीको प्रयास गरेकोसमेत होइन भनी बयान गरेकोमा सुरू चितवन जिल्ला अदालतले जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने र जबरजस्ती करणीको उद्योगसम्म ठहर्‍याई गरेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी निवेदन दायर भएकोमा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पेस हुन आएको देखियो ।  

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठले अनुसन्धानको क्रममा बयान गर्दा आफूले वारदातका दिन जाहेरवालाकी वर्ष ४ की परिवर्तित नाम रत्‍नमायालाई नग्न अवस्थामा देखी आफूलाई करणी गर्न इच्छा लागेकोले निजलाई बोलाई ललाई फकाई आफ्नो लिङ्‍ग निजको योनिमा छिराउने प्रयास गर्दा नछिरेकोले बाहिर दल्दादल्दै वीर्य स्खलन भएको हो । सोपश्चात् आफूले कपडा लगाउँदै गर्दा निज पीडितकी दिदी आई हल्ला गरेकोले छिमेकीहरूले कुटपिट गरेको र भाग्न लाग्दा प्रहरीले पक्राउ गरेको हो भनी करणी गरेकोमा साबित भई बयान गरेको र अदालतमा बयान गर्दा निज बालिकालाई आफूले कुनै अनैतिक काम नगरेको भनी कसुर गरेकोमा इन्कार भई जाहेरवालाको घरमा गएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिन्छ । 

३. पीडित बालिकाले मौकामा कागज गर्दा र अदालतमा आई बकपत्र गर्दासमेत मेरो पिसाब फेर्ने ठाउँमा प्रतिवादीले आफ्नो तुरी निकाली दलेको हो भनी उल्लेख गरेको देखिन्छ । निजको सो भनाइलाई पुष्टि गर्दै घटनाकी प्रत्यक्षदर्शी एवं पीडितकी दिदी ............... ले आफू विद्यालयबाट घरमा आउँदा प्रतिवादीले बहिनीलाई जबरजस्ती करणी गरेको देखी यो के गरेको भनी कराई हारगुहार गर्दा अन्य मानिसहरू आएकाले निज प्रतिवादी भागेका हुन् भनी अनुसन्धानमा कागज गर्नुका साथै सो भनाइलाई पुष्टि गरी अदालतमा बकपत्र गरेको तथा जाहेरवालाले प्रतिवादीले बालिकालाई घरमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको बेहोरालाई पुष्टि गर्दै अदालतमा बकपत्र गरेको र मौकामा कागज गर्ने अन्य व्यक्तिहरूले समेत अनुसन्धानको क्रममा कागज गरेको बेहोरा अदालतमा बकपत्र गरी पुष्टि गरेको देखिँदा प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानलाई प्रमाणित गरिदिएको देखिएकाले प्रतिवादी अशोक श्रेष्ठले पीडित बालिकालाई निजको घरमा एक्लै भएको मौका छोपी निजलाई करणी गर्ने उद्देश्यले आफ्नो लिङ्ग निज बालिकाको योनिबाहिर दली वीर्य स्खलन गरेको भन्ने देखिन आयो । 

४. अब, पीडितको कन्याजाली नच्यातिएको भन्ने निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा देखिएको र योनिमा लिङ्ग प्रवेश नभई योनिबाहिर वीर्य स्खलन गरेको कार्य जबरजस्ती करणी गरेको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने व्यवस्था रहेको र सोही नम्बरको स्पष्टीकरण (ग) मा योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ भन्ने उल्लेख भएको देखिन्छ । उक्त कानूनी व्यवस्था हेर्दा जबरजस्ती करणी हुनको लागि केही मात्रामा भएपनि लिङ्ग योनिमा प्रवेश गरेको हुनु पर्ने भन्ने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानमा बालिकाको योनिमा आफ्नो लिङ्‍ग छिराउने प्रयास गर्दागर्दै नछिरेपछि बाहिर दल्दादल्दै योनिबाहिर वीर्य स्खलन भएको भनी उल्लेख गरेको र पीडित बालिका ४ वर्षकी मात्र भएका कारण निजको योनिमा लिङ्ग प्रवेश हुन नसकेको अवस्था देखिन्छ । कस्तो अवस्थालाई जबरजस्ती करणीको अपराध मानिने र कस्तोमा जबरजस्ती करणीको उद्योग मानिने भन्ने सम्बन्धमा हेर्दा कुनै पुरूषले आफ्नो यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरीबेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनिमा प्रवेश गराई वा अन्य तरिकाले यौन सन्तुष्टि लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसुर हुनका लागि जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरीको अभाव रहेको अवस्थामा जबरजस्ती करणीको कसुर गरेको मान्नु पर्ने हुन्छ । जबरजस्ती करणीको पूर्ण अपराध हुनका लागि पुरूषको लिङ्ग महिलाको योनिमा पूर्णरूपमा प्रवेश गरेको हुनुपर्ने, वीर्य स्खलन हुनुपर्ने, पीडित महिलाले प्रतिकार गरेको हुनुपर्ने जस्ता परम्परागत मान्यतामा परिवर्तन आई पुरूषको लिङ्ग महिलाको योनिमा केही मात्रामा प्रवेश गरेको भए वा घर्षणसम्म भएको अवस्थामा पनि जबरजस्ती करणीको अपराध मानिने मान्यताको विकास भएको  पाइन्छ । अत्यन्त कलिलो उमेर अवस्था भएको बालिकाको हकमा जबरजस्ती करणी गर्दा वयस्क महिलासँगको सम्बन्धमा जस्तो लिङ्ग सजिलैसँग प्रवेश नहुने भएकाले त्यस्तो कलिलो उमेरका बालिकाको योनिबाहिर लिङ्ग दली / रगडी वीर्य स्खलन गरेकोलाई करणी नभई उद्योगसम्म गरेको मान्न सकिने देखिएन । 

५. करणी हुनलाई कस्तो अवस्था हुनु पर्ने वा कस्तो कार्यलाई करणी गरेको मान्ने भन्ने सम्बन्धमा यस अदालतबाट विभिन्न नजिर सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यस्तै विषयवस्तु समावेश भएको मुद्दामा यस अदालतबाट “करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the crime का रूपमा लिनु पर्ने । जबरजस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको त्यसमा कहीँकतैबाट हस्तक्षेपसमेत नभएको तर बालिकाको उमेर अत्यन्त कम भएकै कारणले मात्र योनिभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन 

नमिल्ने । बालिकाको उमेर अत्यन्त कम भएकै कारणले गर्दा बालिकाको योनिभित्र निजको लिङ्ग प्रवेश नगरेकै अवस्थामा निजको क्रियालाई जबरजस्ती करणीको उद्योगको रूपमा मात्र सीमित गराउन नमिल्ने” भनी (ने.का.प. २०६६, अंक ५, नि.नं. ८१४२) मा र “करणी गर्दा वा गर्न खोज्दा लिङ्गको पूर्ण प्रवेश हुन पायो वा पाएन भन्ने कुरा वस्तुस्थितिमा भर पर्ने कुरा  हो । सो पूर्ण प्रवेश हुन पाएको वा नपाएको हुन 

सक्छ । पूर्ण प्रवेश भएमा एउटा र आंशिक प्रवेश वा योनिमा घर्षण भए अर्को कुरा मानी कसुरको छुट्टै वर्गीकरण गर्न सकिने अवस्था रहँदैन । करणी गर्ने उद्देश्यले कार्य हुन्छ भने योनिमा लिङ्गको पूर्ण वा आंशिक प्रवेश भए पनि करणी गरेको मान्नुपर्ने । योनिमा लिङ्ग रगड्ने कार्य निर्दोष र प्रवेश मात्रै दोषयुक्त भन्ने अवस्था होइन । एकाको गुप्ताङ्ग जबरजस्ती खोली योनिमा लिङ्गको घर्षण गराउने कार्य गरिन्छ भने त्यो आपराधिक कार्य नै हो र त्यो जबरजस्ती करणीको उद्योग मात्रै नभई उद्योगको कार्यान्वयन गरी जबरजस्ती करणीकै एउटा अवस्था मान्नु पर्ने” भनी (ने.का.प. २०७३, अंक १, नि.नं. ९५१९) मा सिद्धान्त प्रतिपादन भएको देखिँदा सो आधारमा समेत प्रतिवादीले जबरजस्ती करणी गर्ने मनसायले पीडित बच्चीको घरका अन्य सदस्य नभएको मौकामा पीडित बालिकालाई नाङ्‍गै बनाई निजको योनिबाहिर लिङ्ग रगडेको भन्ने प्रमाणित भएको र पीडित बालिका अत्यन्तै कम उमेरकी भएको कारण प्रतिवादीको लिङ्ग निज पीडितको योनिमा प्रवेश हुन नसकेको भन्ने आधारमा उक्त कार्यलाई जबरजस्ती करणीको उद्योग मात्र मानी प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. बमोजिम ५ वर्ष कैद गरेको सुरू चितवन जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको देखिन आएन ।

६. अतः उल्लिखित आधार कारण र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारमा प्रतिवादीले ४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(१) नं. ले हुने सजायमा सोही महलको को ५ नं. अनुसार आधा अर्थात् वर्ष ५ कैद सजाय हुने ठहर्‍याई चितवन जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९/८/१९ मा भएको फैसला केही उल्टी भई निज प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ को देहाय (१) नं. अनुसार वर्ष १० (दश) कैद सजाय हुने र ऐ. महलको १० नं. अनुसार निज प्रतिवादीबाट पीडित बालिकाले रू. १०,०००।– (दश हजार) क्षतिपूर्ति भरी पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी भई प्रतिवादी मुन्द्रेसर भन्ने अशोक श्रेष्ठलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३ नं. को देहाय (१) बमोजिम १० वर्ष कैद हुने ठहरी फैसला भएकाले सुरू चितवन जिल्ला अदालतको फैसलाअनुसार निज प्रतिवादीका नाममा रहेको ५ वर्षको कैदको लगत संशोधन गरी १० (दश) वर्ष कैदको लगत कायम गरी लगत राखी नियमानुसार असुल गर्नु भनी सुरू चितवन जिल्ला अदालत तहसिल शाखामा फैसलाको प्रतिलिपीसहित लेखी पठाई दिनू ..........१ 

माथि ठहर खण्डमा प्रतिवादी अशोक श्रेष्ठबाट पीडित बालिकाले रू.१०,०००।– क्षतिपूर्ति भरी पाउने ठहरी फैसला भएकाले प्रतिवादीको यसै सरहदको जेथा देखाई उक्त क्षतिपूर्ति रकम भराई पाउँ भनी ऐनका म्यादभित्र दरखास्त दिए कुनै दस्तुर नलिई नियमानुसार उक्त रकम पीडितलाई भराई दिनु भनी सुरू चितवन जिल्ला अदालत तहसिल शाखामा लेखी पठाई दिनू ....................................................२ 

सरोकारवालाले प्रस्तुत फैसलाको नक्कल माग गरे नियमानुसार नक्‍कल दिनू .................................३ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ..........४  

 

उक्त रायमा सहमत छु ।

प्र.न्या.गोपाल पराजुली

 

इजलास अधिकृतः दुर्गाप्रसाद खनाल

इति संवत् २०७४ साल मंसिर १२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु