शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३४२ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक:

निर्णय नं. ४३४२    ने.का.प. २०४८      अङ्क ८

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको रिट नं. ८२४

आदेश भएको मिति: २०४८।८।२।२ मा

निवेदक      : घरेलु तथा ग्रामीण उद्योग विकास शाखा बाजुराका ख.शेरबहादुर विष्ट

विरुद्ध

विपक्षी : अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय सेती अञ्चलसमेत

विषय : उत्प्रेषण

(१)                पुनरावेदन तहको निर्णय बदर भएको अवस्थामा शुरु तहको निर्णय स्वतः कायम एवं क्रियाशील रहने हुँदा निवेदकको हकमा बढुवा सिफारिश गर्ने गरेको बढुवा समितिको निर्णय कायम रहन आएकोले सोही अनुसार बढुवा स्वतः पाउने हुँदा परमादेशको आदेश जारी गरिरहन नपर्ने ।

(प्रकरण नं. १२)

प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री शिवराज       अधिकारी

आदेश

न्या.रुद्रबहादुर सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :

२.    यस क्षेत्रीय कार्यालय अन्तर्गत घरेलु तथा ग्रामीण उद्योग विकास शाखा अछाममा रिक्त रहन आएको ना.सु.पद १ बढुवाद्वारा पूर्ति गर्नु पर्ने हुँदा सम्भाव्य उम्मेदवारहरुले २०४४ साल आषाढ मसान्तसम्म ३ वर्षको का.स.मु.फाराम तथा नि.से.नि. अनुसार (साविक पेज नं. ४२०) आवश्यक पर्ने अन्य कागजात समेत भएको रीतपूर्वकको फाइल सूचना प्रकाशित भएको ३५ दिनभित्र यस कार्यालयमा पेश गर्नु भन्ने मिति २०४४।१०।९ मा सुदूरपश्चिमाञ्चल क्षेत्रीय घरेलु तथा ग्रामीण उद्योग विकास कार्यालयबाट प्रकाशित सूचना तथा उक्त सूचनामा २०४४ साल आषाढ मसान्तभन्ने उल्लेख भएकोमा संशोधन गरी २०४४ साल पौष मसान्तसम्म ३ वर्ष पुगेका सम्भाव्य उम्मेदवारभन्ने संशोधित सोही कार्यालयबाट मिति २०४४।१०।११ मा प्रकाशित सूचना निवेदक बहाल रहेको शाखा कार्यालय बाजुरामा मिति २०४४।१२।२ द.नं. १६४(क) मा दाखिल दर्ता भई प्रकाश हुन आएपछि सो बढुवाको सूचना प्रकाश कानुनतः निवेदकलाई जानकारी भयो । त्यसपछि निवेदकले च.नं. ११० मिति २०४४।१२।३ मा नै बढुवा सम्बन्धी फारामहरु र अन्य कागजात समेत फायल आफू बहाल रहेको शाखा कार्यालयबाट क्षेत्रीय कार्यालय डोटीमा पठाएकोमा त्यस कार्यालयको च.नं. ११० मिति २०४४।१२।३ मा पठाएकोे बढुवा सम्बन्धी फायल यस कार्यालयबाट मिति २०४४।१०।९ मा प्रकाशित बढुवा सूचना अनुसार पेश हुन नआई म्याद समाप्त भएपछि मिति २०४४।१२।१० गते प्राप्त भई दर्ता भएको हुँदा उक्त फाइल बढुवा सम्बन्धमा पेश गर्न नसकिने हुँदा जानकारीको लागि अनुरोध गरिन्छ भन्ने च.नं. ७७५ मिति २०४४।१२।११ को पत्र निवेदक बहाल रहेको कार्यालयमा वापस भई आयो । त्यसरी वापस गरिए तापनि अञ्चल न्यायाधीश, सेती अञ्चल अदालतको अध्यक्षतामा बसेको बढुवा समितिको मिति २०४५।३।२० को बैठकले म निवेदक (प्राप्ताड्ढ (१९८.२७) लाई ना.सु.पदमा बढुवा सिफारिश गर्ने निर्णय गरेको थियो । सो निर्णय उपर म्यादभित्र विपक्षी सोमराज ओझाको सेती अञ्चलाधीश समक्ष उजूर पर्दा निवेदकको फाइलमा प्रस्तुत प्रमाण कागजहरुमा रीत नपुगेको भन्ने आधारमा सो रीत पुर्‍याई पुनः बढुवा समिति बसाल्ने भन्ने निर्णय भई आयो । त्यसपछि अञ्चल न्यायाधीश, सेती अञ्चलको अध्यक्षतामा पुनः मिति २०४६।२।२४ मा बसेको बढुवा समितिले फेरि पनि निवेदकलाई नै बढुवा गर्ने सिफारिश गर्ने निर्णय गरेपछि सो निर्णय उपर म्याद भित्रै विपक्षी सोमराज ओझाले सेती अञ्चलाधीश समक्ष उजूर गर्नु भएछ । त्यस उजूरीमा निर्णय गर्दा निवेदकलाई बढुवाको हकबाट बञ्चित गरी कम अंक पाउने विपक्षी सोमराज ओझालाई ना.सु.पदमा बढुवा दिने गरी २०४६।५।२७ मा निर्णय भई सोही निर्णय बमोजिम क्षेत्रीय कार्यालय डोटीबाट मिति २०४६।६।२० मा विपक्षी सोमराजलाई बढुवा गरिएछ । सो सम्बन्धमा के भएको रहेछ भनी बुझ्न जाँदा केही कुरा बुझ्न र नक्कल समेत लिन पाइन । सुनेसम्म मेरो दर्खास्त फारामहरु म्याद नाघी परेको भनी म्याद नाघी परेको दर्खास्त फारामलाई समावेश गर्न नहुने भन्ने विपक्ष लोकसेवा आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल डोटीको राय समेत लिई सो दर्खास्त फाराम स्वीकार गरिएन । साथै निवेदकले परीक्षा दिएको एस.एल.सी.टेष्टको प्रमाणपत्रलाई समेत अन्यथा गर्ने किसिमले निर्णय गरिएको छ भन्ने जानकारी भएको छ ।

३.    सेती अञ्चल अन्तर्गत उल्लेखित ना.सु.पद १ मा बढुवा सम्बन्धी सूचना प्रकाशित गर्दा सम्पूर्ण जिल्लाका सबै सम्भाव्य उम्मेदवारहरुले यथा समयमा जानकारी पाउने र फारामहरु प्रमाण सहित आफ्नु फायल प्रस्तुत गर्न समेत भ्याउने यथोचित समय उपलब्ध हुने गरी सूचना पुग्ने तौरबाट गरिनु पर्ने स्पष्ट छ । डोटीमा प्रकाशित सूचना त्यहाँबाट ४० कोश दूरीमा रहेको बाजुरामा समयमै थाहा पाई ३५ दिन भित्रै फायल पेश गर्नु पर्ने कुरालाई न्यायोचित मान्न सकिने स्थिति छैन । निवेदकले सूचना पाएको मितिले समयमै बढुवा सम्बन्धी फायल क्षेत्रीय कार्यालयमा पठाएको छ । यस बाहेक एक पटक बढुवा सम्बन्धी निर्णयमा उजूरी सुन्ने निकाय सेती अञ्चलाधीशले निवेदकको दर्खास्त फारामलाई मान्यता दिई केवल प्रमाणको कागजहरु रीत नपुगेको कारणले पुनः बढुवा समितिमा पठाउने निर्णय गरेकोमा (साविक पेज नं. ४२१) पछिल्लो पटक आफैं निवेदकको दर्खास्त म्यादभित्र नपरेको भन्न मिल्ने होइन । यस्तै निवेदकको टेष्ट परीक्षाको प्रमाणपत्रलाई अन्यथा गर्न सक्ने अधिकार विपक्षी अञ्चलाधीशलाई छैन । तसर्थ विपक्षी अञ्चलाधीशले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अञ्चल न्यायाधीश सेती अञ्चल अदालतको अध्यक्षतामा बसेको २०४६।२।२४ गतेको बढुवा समितिको निर्णयले सो ना.सु.पदमा निवेदकलाई बढुवा गर्ने गरेको सिफारिश बहाल कायम राखी सो ना.सु.पदमा निवेदकलाई नै बढुवा गरी दिनु भन्ने परमादेश समेतको आदेश जारी गरी पाउँ भन्ने समेत निवेदनपत्र ।

४.    यसमा विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४६।७।२७।१ को आदेश ।

५.    निवदनमा उल्लेख भएको घरेलु तथा ग्रामीण उद्योग विकास शाखा अछाममा रिक्त ना.सु.पद १ मा बढुवाको लागि दर्खास्त पेश गर्न २०४४।१०।७ मा क्षेत्रीय घरेलु तथा ग्रामीण उद्योग विकास कार्यालय दिपायल डोटीबाट सूचना प्रकाशित भएकोमा शेरबहादुर विष्ट , नवराज पन्त , काशीराज जोशी , सोमराज ओझा १ समेत जम्मा चारजनाले सम्भाव्य उम्मेदवारको हैसियतले दर्खास्त पेश गरेको रहेछ । पहिलो पटक प्रकाशित बढुवाको सूचनामा चित्त नबुझेर विभिन्न दावी साथ उजूर गर्ने सोमराजको उजूरीतर्फ केलाएर हेरी बढुवा समितिले गरेको निर्णय नियम अनुसार संशोधन गर्नु पर्ने भए सोही कुरा र संशोधन गर्न नपर्ने भए बढुवा समितिको निर्णय सदर गरी पठाउनु पर्ने थियो तर त्यसो नभई पुनः बढुवा समिति बसाल्ने गरी सदर भन्ने २०४५।६।२१ मा साविक अञ्चलाधीशबाट निर्णय भई फाइल फिर्ता पठाएको रहेछ । त्यसपछि पुनः २०४६।२।२४ मा बढुवा समितिको बैठक बसाली साविक निर्णयलाई नै समर्थन गरी पहिले बढुवा भएका शेरबहादुर विष्टलाई नै बढुवा गर्ने गरी २०४६।२।२६ गते अर्को सूचना प्रकाशित भएकोमा सो निर्णयमा चित्त नबुझी पुनः सोमराज ओझाको उजूरी सुन्ने अधिकारी अञ्चलाधीश समक्ष उजूर निवेदन परेको थियो ।

६.    लोकसेवा आयोग दिपायल डोटीको च.नं. ८८२ मिति २०४६।५।८ को पत्रमा उल्लेखित कानुनी व्यवस्थालाई निवेदक समेतका बढुवाको सम्बन्धमा दिएको उजूरीको प्रयोजनका लागि भिडाउँदा संभाव्य उम्मेदवार शेरबहादुर विष्ट र काशीराम जोशीका कागजातहरु सूचना प्रकाशित मितिले तोकेको म्याद ३५ दिन भित्र प्राप्त नभएकोले निजहरुको कागजातलाई मान्यता दिएर मूल्यांकन गर्न नमिल्ने भयो । अर्का संभाव्य उम्मेदवार नवराज पन्त प्रतिशत निर्धारण भइसकेपछि रमाना लिई हाजिर भएको व्यक्ति बढुवाको लागि उम्मेदवार हुन नपाउने भन्ने लोकसेवा आयोग नीति नियम परामर्श शाखा काठमाडौंको २०४५।३।१६ को आ.बा. अनुसार बढुवाको संभाव्य उम्मेदवार हुन सक्ने देखिएन । यसरी चार जनाले दर्खास्त पेश गरेकोमा दुई जनाको दर्खास्त म्यादभित्र नभएको र एकजना संभाव्य उम्मेदवार हुन पाउने नदेखिएकोेले निजहरुलाई हटाई बाँकी रहन आउने १ जना सोमराज ओझा मात्र हुँदा निजलाई बढुवा गर्ने गरी नामावलीमा संशोधन गरी सूचना प्रकाशित गर्न सम्बन्धित बढुवा समितिको कार्यालयमा लेखी पठाएको हो । विपक्षी निवेदक शेरबहादुर विष्टले बिना सबूद प्रमाण यस कार्यालयलाई विपक्षी बनाई दिएको रिटनिवेदन कानुन बमोजिम खारेज गरी पाउन अनुरोध गर्दछु भन्ने समेत अञ्चलाधीश सेती अञ्चलको लिखितजवाफ ।

७.    निवेदक समेतको बढुवा सिफारिशको विषयलाई लिएर सेती अञ्चलाधीशको कार्यालयबाट राय माग भई आएकोमा तीन बुँदा उल्लेख गरी राय पठाएको हो । निवेदकको दर्खास्त म्याद नाघी परेको वा नपरेको समावेश गर्न हुने वा नहुने, एस.एल.सी.टेष्टको प्रमाण (साविक पेज नं. ४२२) पत्रलाई अन्यथा गरेको वा नगरेको राय सम्बन्धित पत्रमा उल्लेख नभएकोले निजले यस निर्देशनालयलाई लगाएको आरोप झुठ्ठा हो भन्ने समेत लोकसेवा आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल डोटीको लिखितजवाफ ।

८.    यस कार्यालयबाट घरेलु तथा ग्रामीण उद्योग विकास शाखा अछामको रिक्त ना.सु.पद बढुवाद्वारा पूर्ति गर्ने बारे मिति २०४४।१०।७ र ०४४।१०।११ मा सूचना प्रकाशित गरिएको थियो । सो सूचना अनुसार पर्न आएका दर्खास्तमा छानविन गरी बढुवा समितिले गरेको निर्णय उपर उजूरी पर्दा भएको सेती अञ्चलाधीशको निर्णय अनुसार उक्त रिक्त पदमा सोमराज ओझालाई बढुवा नियुक्ति गरिएको हो । यस कार्यालयले बढुवा सम्बन्धी सम्पूर्ण कार्यहरु कानुन बमोजिम गरेको र सेती अञ्चलाधीशको कार्यालयबाट भएको पुनरावेदन तहको निर्णय कार्यान्वयन गरिएको हो । कानुन बमोजिमको निर्णय हुँदा निवेदकको निवेदन जिकिर खारेज गरी पाउन अनुरोध छ भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय घरेलु तथा ग्रामीण उद्योग विकास कार्यालयको लिखितजवाफ ।

९.    विपक्षी निवेदकले निवेदनमा उल्लेख गरे अनुसार विपक्ष निवेदकले बढुवा पाउने गरी सिफारिश गरिएको बढुवा समितिको मिति २०४६।२।२४ को निर्णय बदर गरी मलाई बढुवा दिने गरी सेती अञ्चलाधीशको कार्यालयबाट भएको मिति २०४६।५।२७ को निर्णय कानुन बमोजिम भएको र त्यसबाट विपक्षीको कुनै पनि हकमा आघात नपरेकोले विपक्षीको माग बमोजिम उत्प्रेषण लगायत कुनै पनि आदेश जारी हुनु पर्ने होइन रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत सोमराज ओझाको लिखितजवाफ ।

१०.    नियम बमोजिम पेश भएको प्रस्तुत रिटनिवेदनमा निवेदकको वारेश रामचन्द्र खड्काले मेरो पक्षका सम्बन्धमा पहिलो पटक भएको बढुवा समितिको सिफारिश निर्णय उपर विपक्षी सोमराजको उजूरी गर्दा सेती अञ्चाधीशले निवेदक समेतको उम्मेदवारी दर्खास्तलाई अन्यथा भन्नु भएको छैन । तर दोश्रो पटक निवेदक नै सिफारिश भएपछि उजूर पर्दा निवेदकको दर्खास्त म्याद भित्र नपरेको भनी पहिले गरेको निर्णय विपरीत निर्णय गर्नु भएको छ । निवेदकले आफू बहाल रहेको जिल्लामा सूचना प्रकाशित हुन आएपछि म्यादभित्र दर्खास्त पेश गरेको छ । दिपायलमा सूचना निकालेको थाहा पाएको कानुनसम्मत स्वीकार्य आधारको अभावमा दिपायलमा पहिलो पटक सूचना निस्केको मितिबाट म्यादभित्र दर्खास्त नपरेको भनी अत्तो थाप्न कानुनले मिल्दैन । उत्प्रेषणको आदेश जारी गरी विपक्षी सेती अञ्चलाधीश कार्यालयबाट भएको निर्णय बदर गरी बढुवा समितिको मिति २०४६।२।२४ को निर्णय अनुसार ना.सु. पदमा निवेदकलाई बढुवा गर्ने गरेको सिफारिश बहाल राख्ने परमादेश समेत जारी गरी पाउँ भनी प्रस्तुत गर्नु भएको बहस नोट अध्ययन गरी प्रत्यर्थी कार्यालयतर्फबाट खटिई आउनु भएका विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले निवेदकको निवेदन म्याद भित्र प्राप्त भएको छैन । म्यादभित्र प्राप्त नभएको निवेदनलाई कारवाही गर्न नमिल्ने गरी गरिएको निर्णय कानुन विपरीत नहुँदा रिटजारी गर्नु पर्ने अवस्था छैन भनी गर्नु भएको बहस एवं विपक्षी सोमराजका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले निवेदकको दर्खास्त एवं सम्पूर्ण कागजात म्यादभित्र परेको छैन । म्याद कायम गर्दा सूचना प्रकाशित भएको मितिलाई आधार मानिनु पर्दछ अन्यथा म्याद कायम गर्ने प्रकृयामा एकरुपता हुन सक्दैन, सूचना प्रकाशित भएको मितिले म्यादभित्र नपरेको दर्खास्तलाई बढुवाको प्रयोजनका लागि कारवाही गर्न कानुनतः मिल्ने होइन । निवेदकले पेश गरेको प्रमाणपत्र गैरकानुनी छ । त्यस्तो प्रमाणपत्रलाई प्रमाणमा लगाई बढुवाको प्रयोजनका लागि अंक दिन मिल्ने होइन । निवेदकले रिटनिवेदनमा आफूले बढुवा पाउने स्पष्ट आधार देखाउन सक्नु भएको छैन । यस स्थितिमा रिट जारी हुन सक्ने होइन । रिट खारेज गरी पाउँ भनी गर्नु भएको (साविक पेज नं. ४२३) बहस समेत सुनियो ।

११.    प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो वा होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१२.   घरेलु तथा ग्रामीण उद्योग विकास शाखा अछाममा रिक्त रहन आएको ना.सु. १ पद बढुवाद्वारा पूर्ति गर्ने सम्बन्धमा बढुवा समितिले सिफारिश गरेको निवेदकलाई विपक्षी सोमराजको उजूरी पर्दा निवेदकको दर्खास्त म्याद भित्र नपरेको भन्दै बढुवा नदिई आफैले गरेको पहिलो निर्णयलाई काट्ने गरी दोश्रो निर्णय गरी विपक्षी सोमराजलाई बढुवा गर्ने गरेको सेती अञ्चलाधीशको निर्णय बदर गरी बढुवा समितिको निर्णय अनुसार निवेदकको बढुवा सिफारिश कायम गरी पाउँ भन्ने रिटनिवेदन जिकिर रहेको देखिन्छ । निवेदक शिवबहादुरले बढुवा सम्बन्धी सूचनाको जानकारी २०४४।१२।३ मा पाई म्याद भित्रै बढुवाको प्रयोजनका लागि दर्खास्त पेश गरेको भन्ने कुरा फाइलबाट देखिएको छ । रिक्त रहन आएको उक्त ना.सु.पद सेती अञ्चल अन्तर्गतका जिल्लाहरुमा स्थित घरेलु तथा ग्रामीण उद्योग विकास शाखामा कार्यरत सम्भाव्य उम्मेदवारहरुले दर्खास्त प्रस्तुत गर्न पाउने पद देखिएको छ त्यस्तो पदमा दर्खास्त दिनको लागि सबै सम्भाव्य उम्मेदवारले सूचना पाई दर्खास्त दिनका लागि यथोचित समय पाउने गरी सूचना प्रसारित गरिनु पर्ने हुन्छ । निवेदकले बढुवा सम्बन्धी सूचनाको जानकारी पाएको मितिले म्यादभित्रै दर्खास्त पेश गरेको छु भनेकोमा हदम्याद नाघी निवेदन आएको थियो भन्ने कुराको पुष्ट्याई सरकारी पक्षबाट दिन सकेको पाइएन । यसबाट निवेदकको दर्खास्त म्याद भित्रकै मान्नु पर्ने देखिएको छ । यस बाहेक सेती अञ्चल अदालतका न्यायाधीशको अध्यक्षतामा बसेको बढुवा समितिले मिति ०४५।३।२० मा निवेदकलाई बढुवा सिफारिश गरे उपर सोमराजको उजूरी पर्दा उजूरी सुन्ने निकाय सेती अञ्चलाधीशले पुनः बढुवा समिति बसाल्ने निर्णय गरी फायल पठाएको भन्ने कुरा विपक्षी अञ्चलाधीशले आफ्नो लिखितजवाफमा उल्लेख गरेको छ यसबाट त्यसबेला निवेदकको निवेदनलाई म्याद भित्रकै मानेर पठाएको मान्न पर्‍यो । दोश्रो पटक पनि उक्त बढुवा समितिले मिति ०४६।२।२४ मा निवेदकलाई नै बढुवा सिफारिश गरे उपर सेती अञ्चलाधीश समक्ष पुनः सोमराजकै उजूरी पर्दा निवेदकको निवेदन म्याद नाघी परेको भनियो । पहिलो पटकको उजूरीमा यो निवेदकको बढुवाको प्रयोजनका लागि दिएको निवेदनमा पुनः बढुवा समिति बसाल्ने भनी गरेको सेती अञ्चलाधीशको निर्णय कायमै रहेको स्थितिमा दोश्रो पटकको उजूरीमा निवेदकको निवेदन म्याद नाघी आएको भनी गरेको निर्णय मिल्ने देखिएन । निवेदकले पाएको सम्पूर्ण अंकलाई विचार गर्दा विवादमा ल्याइएको प्रमाणपत्र बापत पाउने अंकले निजको बढुवामा असर पर्ने नदेखिँदा उक्त प्रमाणपत्रतर्फ विचार गर्न परेन । सेती अञ्चल अदालतको न्यायाधीशको अध्यक्षतामा बसेको बढुवा समितिको मिति ०४६।२।२४ को निवेदकलाई बढुवामा सिफारिश गर्ने निर्णय उपर परेको सोमराजको उजूरीमा गरेको सेती अञ्चलाधीशको मिति ०४६।५।२७ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएकोछ । पुनरावेदन तहको निर्णय बदर भएको अवस्थामा शुरु तहको निर्णय स्वतः कायम एवं क्रियाशील रहने हुँदा निवेदकको हकमा बढुवा सिफारिश गर्ने गरेको बढुवा समितिको ०४६।२।२४ को निर्णय कायम रहन आएकोले सोही अनुसार बढुवा स्वतः पाउने हुँदा परमादेशको आदेश जारी गरिरहन परेन । आदेशको जानकारी प्रत्यर्थी कार्यालयहरुलाई दिन आदेशको प्रतिलिपि श्री महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल

इतिसम्वत् २०४८ साल मार्ग २ गते रोज २ शुभम् ।

(साविक पेज नं. ४२४)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु