शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७१ - अबन्डा जग्गा बन्डा गरिपाऊँ

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की 

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ 

फैसला मिति : २०७५।३।३१

०७४-CI-००१५

 

मुद्दा : अबन्डा जग्गा बन्डा गरिपाऊँ

 

पुनरावेदक / वादी : जितबहादुर घर्तीमगरको बुहारी रामबहादुर घर्तीमगरको श्रीमती भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ बस्ने साहिली घर्तीमगरको वारेस इलाम जिल्ला शान्तिडाँडा गा.वि.स. वडा नं. १ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं.५ बस्ने विष्णुप्रसाद दाहाल

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जितबहादुर घर्तीमगरको बुहारी रामबहादुर घर्तीमगरको श्रीमती भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ को हाल चाँगुनारायण नगरपालिका वडा नं.२ बस्ने श्यामबहादुर घर्तीमगर परलोक भई निजको हकमा मुद्दा सकार गरी लिने छोरा ऐ.ऐ. बस्ने रविराज मगर

 

कानूनबमोजिम आफ्नो हक लाग्ने सम्पत्ति परित्याग गरेको स्पष्ट आधार देखिनु      पर्छ । त्यस्तो आधार अनुमानको विषय हुन नसक्ने । 

पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भनी व्याख्या गर्न कानूनसङ्गत हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बन्डा भएको छैन भने त्यसलाई अंशियारहरूबीच अबन्डा रहेको सम्पत्तिकै रूपमा लिनु पर्छ र त्यस्तो अबन्डाको सम्पत्ति सबै अंशियारहरूलाई बन्डा लाग्ने ।

(प्रकरण नं.६)   

 

पुनरावेदक / वादी : विद्वान्‌ अधिवक्ता श्री देवीप्रसाद दाहाल

प्रत्यर्थी / प्रतिवादी : विद्वान्‌ अधिवक्ता श्री दिनेश सुवाल

अवलम्बित नजिर :

ने.का.प.२०५६, नि.नं.६६८२, पृ.१८५

ने.का.प.२०६६, नि.नं.८२६०, पृ.१८०७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती

भक्तपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

ससुरा जीतबहादुर घर्ती मगर र सासु गंगा घर्ती मगरका तर्फबाट जायजन्म भएका ३ छोराहरू- जेठो प्रेमबहादुर, माहिलो विपक्षी श्यामबहादुर र कान्छो म वादीका पति रामबहादुर भएकोमा सासु ससुरा तथा जेठाजु प्रेमबहादुरको अविवाहित अवस्थामै परलोक भई सक्नु भएको छ । मेरा पति रामबहादुरको २०६१ सालमा मृत्यु भएकोमा म र निज पतिका तर्फबाट एक छोरीको जन्म भएको र छोरीको हाल विवाह भइसकेको अवस्था हुँदा मेरा पतिको हक खाने एक मात्र श्रीमती नाताकी म साहिली घर्ती मगर हुँ । मेरा पति जीवित छँदै विपक्षी प्रतिवादीउपर यसै अदालतमा अंश चलन मुद्दा दायर गरेकोमा भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ४ कि.नं. ४३, ३१, ३६, ३७, १८, ३२, २३, ४६ र ४७ का जग्गाहरू सो मुद्दाका वादी प्रतिवादीले मोहीको हैसियतले आधा आधा खाने गरी अन्य पुर्ख्यौली जग्गाको हकमा केही नबोली अबन्डाकै रूपमा यथावत् राखी मिलापत्र भएको रहेछ । सोबारेमा मैले थाहा नपाई प्रतिवादीउपर यसै अदालतमा अंश चलन मुद्दा दायर गरेकोमा मिति २०६८।७।२३ मा दाबी पुग्न नसक्ने ठहर फैसला भएको छ । भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ४ कि.नं. ५४९ को क्षेत्रफल ०-३-३-० घर जग्गा साबिकदेखि नै विपक्षी प्रतिवादी र म वादीले आधा आधा गरी हक भोगचलन गरी आएकोमा आ-आफ्नो हक भोगचलनको उक्त पुर्ख्यौली अबन्डाको घर जग्गा बन्डा गरी छुट्‍याई छुट्टाछुट्टै कित्ताकाट गरौं भन्दा विपक्षीले ठाडो रूपमा इन्कार गरेकोले अंश मुद्दाबाट बन्डा बाँकी रहेको विपक्षीका नाउँमा जोतपोत दर्ता कायम रहेको भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ४ कि.नं. ५४९ को क्षेत्रफल ०-३-३-० घर जग्गामध्ये मेरो भोगचलनको उत्तरतर्फको आधा क्षे.फ.०-१-३-२ अबन्डा घर जग्गा बन्डा गरिपाउँ भन्नेसमेत बेहोराको मुख्य फिराद दाबी ।

विपक्षीले फिरादमा उल्लेख गरेजस्तो पुर्ख्यौली रैकर जग्गाको हकमा केही नबोली अबन्डाकै रूपमा यथावतै कायम राखी मिलापत्र भएको भन्ने कुरा झुट्टा हो । हामीहरूको पुर्ख्यौली रैकर जग्गा कुनै पनि 

छैन । जो भएको सम्पत्ति सम्पूर्ण मोहियानी जग्गा मात्र हो । मिलापत्र गर्दा सोही मोहियानी जग्गाको भोगसम्म आधा आधा खाने गरी मिलापत्र भई मोहियानी हक यथावत् म प्रतिवादीकै नाउँमा कायम भएको हो । विवादित कि.नं. ५४९ को घर जग्गामा विपक्षीको आधा भाग अंश हक लाग्ने अबन्डाको समेत होइन । तत्कालीन अवस्थामा मिलापत्र भई सम्पूर्ण विवाद आपसी मिलेमतोबमोजिम समाधान भइसकेको अवस्थामा मिलापत्रभन्दा बाहिर गई फिराद दायर गरेकोले हकदैयाविहीन फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर पत्र ।

कि.नं. ५४९ को क्षेत्रफल ०-३-३-० जग्गा पैतृक सम्पत्ति नै भएकोले भोगचलनअनुसार दुवैको अंश हक लाग्ने जग्गा हो भन्नेसमेत बेहोराको वादीका साक्षी श्री कुमार रञ्जितले सुरू अदालतमा गरेको बकपत्र ।

यी वादी प्रतिवादीबीच पहिले नै अंश मुद्दा परी मिलापत्र हुँदा वादी दाबी सम्पूर्ण छोड्नेछु भनी मिलापत्र गरेकोले यो विवादित घर जग्गा बन्डा गर्नु पर्ने सम्पत्ति होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सुदन भुजेलले सुरू अदालतमा गरेको बकपत्र ।

दाबीको कि.नं. ५४९ को घरजग्गासमेत मिलापत्र भएको अंश मुद्दामा देखाइएको अवस्थामा त्यस घरजग्गालाई बाहेक गरी वादीको पतिको अंश हक हुने र अरू कुरामा दाबी छाड्ने गरी मिलापत्र भएको देखिएको, उक्त मिलापत्र यी वादीलाई समेत बन्धनकारी हुने भएबाट कि.नं. ५४९ लाई अबन्डा भन्न सकिने अवस्था देखिएन । तसर्थ अबन्डा घरजग्गालाई बन्डा लगाई पाउँ भन्ने प्रस्तुत फिराद दाबी पुग्न सक्दैन भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७०।१०।५ को फैसला ।

भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ कित्ता नं. ५४९ को क्षेत्रफल ०-३-३-० जग्गा पूर्व अंश मुद्दाको मिलापत्रमा उल्लेख हुन छुट भई अबन्डाकै रूपमा रहेको र साबिकदेखि नै हक भोगचलन गरेको हक हिस्साको जग्गा मेरो पतिले कानूनबमोजिम आफ्नो हक परित्याग नगरेको अवस्थामा पतिबाट भएको मिलापत्रलाई आधार मानी वादी दाबी पुग्न नसक्ने ठहर गरेको सुरू भक्तपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने साहिली घर्तीमगरको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

सुरू भक्तपुर जिल्ला अदालतको फैसला सदर ठहर्‍याई मिति २०७१।०७।३० मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।

सुरू तथा पुनरावेदन अदालत पाटनको फैसलामा वादीले कुन कानूनको आधारमा दाबी लिएको छ, उल्लिखित कानूनको प्रावधान के हो, त्यसको विधायिकी उद्देश्य, मनसाय र भावना के हो, सो सम्बन्धमा हालसम्म सम्मानित सर्वोच्च अदालतले प्रतिपादित गरेको नजिर सिद्धान्तहरू के कस्ता प्रकृतिका छन् ? वादीका पतिले विवादित घरजग्गामा आफ्नो अंशहक परित्याग गरेको भन्ने पुष्टि हुने वस्तुनिष्ठ र सुस्पष्ट आधार प्रमाण के हो, विवादित पुर्ख्यौली पैतृक सम्पत्ति अंशियारबीच अंश भागबन्डा गरी दिन नमिल्ने न्यायोचित आधार र कारण के 

हो ? भन्ने जस्ता मूलभूत कानूनी प्रश्नतर्फ दृष्टिगत नगरी पैतृक सम्पत्तिबाटै वञ्चित गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला न्यायका मान्य सिद्धान्तहरूको आधारमा त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्ने वादी साहिली घर्तीमगरको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन पत्र ।

यसमा निवेदिका वादीका पति रामबहादुर र विपक्षीका पिता श्यामबहादुरका बीच चलेको अंश मुद्दामा यी वादीसमेतको कि.नं. ५४९ को घर जग्गा बसोबास भएको भन्ने अंश मुद्दाका प्रतिवादीले पेस गरेको तायदाती फाटँवारीबाट देखिएको, सो अंश मुद्दा मिलापत्र हुँदा प्रतिवादी श्यामबहादुरको नाउँमा जोत जनिएको जग्गा वादीले भोगसम्म गर्न पाउने भन्ने उल्लेख भएको वादीसमेतको बसोबास रहेको घरका सम्बन्धमा स्पष्ट रूपमा दाबी छाडेको भन्ने उल्लेख नभई गोश्वारा रूपमा सम्पूर्ण दाबी छोडेको भन्ने उल्लेख भएबाट बसोबास रहेको घरको समेत दाबी छाडेको अर्थ गरी वादी दाबी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा ने.का.प.२०६६, नि.नं.८२६०, पृष्ठ१८०७, ने.का.प.२०५६, नि.नं.६६८२, पृष्ठ १८५ तथा संवत् २०५३ सालको दे.पु.नं.३०१३ फैसला मिति २०५७।०२।०४ मा प्रतिपादित सिद्धान्तको पालना भएको नदेखिएको तथा मुलुकी ऐन, अंशबन्डाको ३५ नं. को व्याख्यात्मक त्रुटि देखिँदा साबिक न्याय प्रशासन ऐन, २०४८ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । विपक्षी झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७४।०३।१६ मा भएको आदेश । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णायार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री देवीप्रसाद दाहालले अंशजस्तो नैसर्गिक अधिकार मार्ने गरी मिलापत्रमा उल्लेख नभएको अबन्डा जग्गालाई वादीका पतिले मिलापत्र गर्दा दाबी छाडिदिएको भनी प्रस्तुत मुद्दामा फिराद दाबी नपुग्ने गरी सुरू अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ र प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री दिनेश सुवालले वादीका पति स्वयम्‌ले दाबीको कि.नं.५४९ को घरजग्गालाई बाहेक गरी अंश हक हुने र अरू कुरामा दाबी छाड्ने गरी मिलापत्र गरेको अवस्थालाई आधार मानी भएको फैसला कानूनसम्मत हुँदा सदर कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीउपरको अंश चलन मुद्दामा केही पुर्ख्यौली जग्गा म फिरादी र प्रतिवादीले मोहीको हैसियतले आधा आधा खाने गरी बन्डा भइसकेको तथा अन्य पुर्ख्यौली जग्गाको हकमा केही नबोली अबन्डाकै रूपमा यथावत् राखी मिलापत्र भएकोमा उक्त भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ कि.नं. ५४९ को ०-३-३-० घरजग्गामध्ये मेरो भोगचलनको उत्तरतर्फको आधा क्षेत्रफल ०-१-३-२ अबन्डा घर जग्गा बन्डा गरिपाउँ भन्ने मुख्य फिराद दाबी रहेकोमा फिराद दाबी नपुग्ने ठहर्‍याई सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसलाउपर परेको पुनरावेदनमा सुरू अदालतको फैसला सदर कायम गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त नबुझाई वादीको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मूल पुरूष जितबहादुर घर्तीमगरका ३ छोराहरू जेठा प्रेमबहादुर, माहिलो श्यामबहादुर र कान्छो रामबहादुर भएको र निज रामबहादुरको मिति २०६२।०१।२१ मा मृत्यु भई निजको अंशहक खाने एक मात्र हकदार श्रीमती पुनरावेदक वादी साहिली घर्तीमगर भएकोमा विवाद देखिँदैन । वादीका पति जीवित छँदै आफ्ना दाजु श्यामबहादुर घर्तीमगरउपर सुरू भक्तपुर जिल्ला अदालतमा मिति २०४५।११।२७ मा चलेको अंशचलन मुद्दामा वादी दाबीको भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४, कि.नं. ५४९ को क्षे.फ. ०-३-३-० जग्गामा बनेको पुर्ख्यौली पैतृक घरजग्गामध्ये उत्तरतर्फको आधा प्रतिवादी श्यामबहादुरले र दक्षिणतर्फको आधा वादी रामबहादुरले भोगी आएको भन्ने बेहोराको मिति २०५६।१०।२४ मा प्रतिवादी श्याम बहादुरको र मिति २०५६।१०।२१ मा वादी रामबहादुरको तायदाती फाँटवारी पेस भएकोमा उक्त मुद्दामा मिति २०५७।०३।०७ मा मिलापत्र हुँदा तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादी श्यामबहादुरका नाउँमा जोत जनिएका पुर्ख्यौली पैतृक सम्पत्तिको रूपमा रहेको भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ कि.नं. ४३, ३१, ३६, ३७, १८, ३२, २३, ४६ र ४७ का जग्गाहरूको हकमा सम्म किटानी गरी सो मुद्दाका वादी प्रतिवादीले मोहीको हैसियतले आधा आधा हक भोगचलन गरी खाने गरी र अन्य पुर्ख्यौली पैतृक रैकर घरजग्गाको हकमा केही नबोली मिलापत्र भएको देखिन्छ । उक्त मिलापत्रमा कि.नं.५४९ को जग्गामा प्रतिवादी श्यामबहादुरको जोत जनिएको यी वादीले भोग गर्नसम्म पाउने उल्लेख भएको देखिनुका साथै सोही जग्गामा वादीको घर बसोबास देखिएको अवस्था छ ।

३. यसरी विवादित कि.नं. ५४९ को घरजग्गा वादी प्रतिवादी दुवैको अंशहक लाग्ने एकाघर सगोलको पुर्ख्यौली पैतृक सम्पत्ति भएको नै देखियो । उक्त कि.नं. ४५९ क्षे.फ.०-३-३-० को घरजग्गामध्ये उत्तरतर्फको आधा क्षे.फ. ०-१-३-२ घरजग्गा प्रतिवादीले र दक्षिणतर्फको आधा क्षे.फ.०-१-३-२ घरजग्गा वादीले साबिकदेखि हालसम्म निर्विवादित रूपमा हक भोगचलन गरी बसोबास गरी आएको अवस्थासमेत मिसिल संलग्न तायदाती फाटवारीबाट देखिन्छ । पूर्व अंश मुद्दा र प्रस्तुत मुद्दामा सो तथ्यलाई वादी प्रतिवादी दुवैले स्वीकार गरी रहेको अवस्था देखिन्छ ।

४. मुलुकी ऐन अंशबन्डाको ३५ नं.ले “अंशबन्डा नै नभएको वा बन्डा हुँदा अबन्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकै पनि र लिखत र भोग नभएकोमा अघि बन्डा भई बाँकी रहेको वा दबाए छपाएको पाउँ भन्न आएमा भिन्न भिन्न जिउसम्म मात्र नालिस लाग्छ । अबन्डा गोश्वाराको लिखत भएकोमा आ-आफ्नो अंश हक लाग्ने जति अबन्डा आ-आफ्नो खुस हुन्छ” भन्ने व्यवस्था रहेको पाइन्छ । यसै अदालतबाट अंशबन्डाको ३५ नं. को व्याख्या गर्ने क्रममा ने.का.प. २०५६, नि.नं. ६६८२, पृ. १८५ मा “विवादित सम्पत्ति यी  वादी प्रतिवादीबीच अंशबन्डा हुँदा बन्डा लिखतमा उल्लेख भएको पाइँदैन । विवादित सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरूको भनाइ प्रमाणित हुने कुनै प्रमाण कागजात निजहरूले पेस गर्न सकेको पनि छैन । निजी आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणित भएको देखिन आएन । विवादित सम्पत्ति अंशबन्डा नै नभएको र बन्डा लाग्ने सम्पत्ति देखिँदा अंशबन्डाको ३५ नं. मा भएको व्यवस्थाअनुसार त्यस्तो सम्पत्तिमाथि दाबी गर्न हदम्याद लाग्ने अवस्था देखिन नआउने” भनी तथा ने.का.प.२०६६, नि.नं.८२६०, पृ. १८०७ मा “अंशबन्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाब शान्ति दुवै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बन्डा भई बाँकी रहेको सम्पत्ति पाउँ भनी नालिस गर्न सक्ने । बन्डापत्रमा अबन्डा भनी उल्लेख नहुँदैमा बन्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुनै एक पक्षको मात्र हक लाग्छ भन्ने अर्थ गर्दा अंश हकको संकुचित व्याख्या हुन जाने ।” भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।

५. विवादित कि.नं. ५४९ को पुर्ख्यौली पैतृक, घरजग्गामा वादीले आफ्नो हक कानूनबमोजिम परित्याग गरी आफ्नो दाबी छाडेको भए सो अंश मुद्दाको मिलापत्रमा उक्त कित्ता घरजग्गाको बारेमा स्पष्ट उल्लेख हुनु पर्ने थियो । कानूनबमोजिम आफ्नो हक लाग्ने सम्पत्ति परित्याग गरेको स्पष्ट आधार देखिनु पर्छ । त्यस्तो आधार अनुमानको विषय हुन सक्तैन । विवादित कि.नं. ५४९ वादीका पति रामबहादुर घर्तीमगरले छोडेको भन्ने न त मिलापत्रको लिखतबाट देखिन्छ न त अन्य लिखत वा प्रमाणबाट नै देखिन्छ । सो सम्पत्ति पुर्ख्यौली भएको भन्नेमा विवाद छैन । पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भनी व्याख्या गर्न कानूनसङ्गत हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बन्डा भएको छैन भने त्यसलाई अंशियारहरूबीच अबन्डा रहेको सम्पत्तिकै रूपमा लिनु पर्छ र त्यस्तो अबन्डाको सम्पत्ति सबै अंशियारहरूलाई बन्डा लाग्ने नै हुन्छ । मुलुकी ऐन, अंशबन्डाको १ नं. र २ नं. समेतबाट कुनै पुर्ख्यौली पैतृक सम्पत्तिमा सबै अंशियारको जीयजीयैको र बराबर अंशहक लाग्ने भन्ने देखिन्छ । 

६. तसर्थ, वादीका पति रामबहादुर र विपक्षीका पिताबीचको मुद्दामा तायदाती फाँटवारीमा कि.नं.५४९ जग्गा उल्लेख भई दुवै पक्षको आधा आधा हकको भन्नेसमेत उल्लेख भएको देखिन्छ । मिलापत्रमा श्यामबहादुरको जोत जनिएको, वादीले भोग गर्नसम्म पाउने उल्लेख भएको तथा सोही जग्गामा वादीको घर बसोबास देखिएको हुँदा पुनरावेदन अदालत पाटनबाट सुरू जिल्ला अदालतबाट दाबीको कि.नं. ५४९ को घर जग्गा मिलापत्र भएको अंश मुद्दामा देखाइएको अवस्थामा त्यस घर जग्गालाई बाहेक गरी यी वादीको पतिको अंश हक हुने र अरू कुरामा दाबी छाड्ने गरी मिलापत्र भएको देखिएको, उक्त मिलापत्र यी वादीलाई समेत बन्धनकारी हुने भएबाट कि.नं. ५४९ लाई अबन्डा भन्न सकिने अवस्था नदेखिँदा अबन्डा घर जग्गालाई बन्डा लगाई पाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति ०७१।०७।३० मा भएको फैसला उल्टी भई वादी दाबीको भक्तपुर जिल्ला छालिङ गा.वि.स. वडा नं.४, कि.नं. ५४९ को घरजग्गामध्ये नरम गरम मिलाई आधा जग्गा वादीले बन्डा पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

१. माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भई दाबीको कि.नं. ५४९ को जग्गा वादी प्रतिवादीबीच नरम गरम मिलाई बन्डा हुने ठहर्‍याई फैसला भएकोले उक्त कि.नं. ५४९ को जग्गा बन्डा गरिपाउँ भनी वादीले ऐनका म्यादभित्र दर्खास्त दिए लाग्ने दस्तुर लिई बन्डा छुट्टाई दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ।

२. वादीले फिराद दायर गर्दा राखेको कोर्ट फी रू.६,५४२/- भरी पाउने हुँदा सो रकम भराई पाउँ भनी वादीले प्रतिवादीको यसै सरहदको जेथा देखाई ऐनका म्यादभित्र दर्खास्त दिए केही दस्तुर नलिई भराई दिनू ।

३. प्रस्तुत मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत :- हिरा डंगोल

इति संवत् २०७५ साल असार ३१ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु