शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७३ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री मीरा खड्‍का

फैसला मिति : २०७५।९।१

०७४-CR-१०७४

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नाम भैरहवा ३९R को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही, सक्रौनपकडी गाउँ विकास समिति वडा नं. ४ हाल जिल्ला कारागार कार्यालय, रूपन्देहीमा थुनामा रहेको अब्दुल कलाम मुसलमानसमेत

 

दुवै प्रतिवादीले एकै समयमा करणी गरेको स्थापित नभएसम्म सामुहिक करणी गरेको भनी ठहर गर्ने अवस्था नहुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्‍ठ

रूपन्देही जिल्ला अदालत

पुनरावेदत तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री हेमराज पन्त

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

जिल्ला रूपन्देही सक्रौनपकडी गाउँ विकास समिति वडा नं.५मा बस्ने जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) लाई घरभित्रै कुटपिट गरी घरदेखि बाहिर निस्कनै नदिई मिति २०७३।३।२० गतेका दिन ससुरा सौकतअली मुसलमानले र मिति २०७३।३।२३ गतेका दिन देवर अब्दुल कलाम मुसलमानले जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भनी जानकारी गराएको हुँदा निज प्रतिवादीहरूलाई खोजतलास गर्दा अब्दुल कलाम मुसलमान मिति २०७३।३।२५ गते घर गाउँमा फेला परेको हुँदा आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मेरो श्रीमान् रोजगारको लागि विदेश भारतको मुम्बईमा गएपश्‍चात् ससुरा सौकात अली मुसलमान र देवर अब्दुल कलाम मुसलमानले मलाई मेरै कोठामा घरभित्रै थुनी कुटपिट गरी घरदेखि बाहिर निस्कनै नदिई यातना दिँदै आएकोमा मिति २०७३।३।२० मा सौकत अलीले र ऐ.२३ गतेका दिन अब्दुल कलामले जबरजस्ती करणी गरेकोमा ऐ.२३ गते मेरा माइतीका मानिस भेटघाटको लागि आएकोमा भेट्नसमेत नदिँदा स्थानीय मानिस तथा प्रहरीको उपस्थितिमा म माइतीमा गएकी हुँ । निजहरूले मलाई जबरजस्ती करणीसमेत गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम भैरहवा ३९(R) को जाहेरी दरखास्त ।

जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) मेरी भाउजू नाता पर्ने भएको हुँदा हामी देवर भाउजू भए तापनि एक आपसमा माया ममता गर्ने गर्दथ्यौं । भाउजूले घरमा बुबा आमाले भनेको नमान्ने हुनाले बुबा सौकतले गाली गलौज गर्नुका साथै कुटपिटसमेत गर्नुभएको हो । मैले पनि यसरी झै-झगडा गर्नु हुँदैन भनी एकपटक कुचोले हानेको हुँ । हामी दुवैको राजीखुसीले एकपटक मात्र करणी गरेको हुँ । भाउजूको कोठामा जाँदा मलाई केही नगर्ने र माया गर्ने हुनाले उहाँकै कोठामा करणी गरेको हुँ । बुबाले उहाँलाई करणी गर्नु भयो भएन सोबारे थाहा भएन । जाहेरवालीको शरीरमा लागेको चोटपटक बुबाले कुटपिट गर्दा लागेको चोट पटक हो भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल कलाम मुसलमानले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

बुहारी केही दिन अगाडिदेखि घरमा नबसी बाहिर बाहिर हिँड्ने केही काम अराउँदा उल्टै मुखमुखै लाग्ने तथा झै-झगडा हुन थालेपछि मैले कुटपिट गरेको हुँ । मिति २०७३।०३।२० गतेका दिन अं. १५.०० बजेको समयमा मेरो श्रीमती र छोरीसमेत घरमा नै रहेको अवस्थामा निज बुहारी आफ्नो कोठामा बसिरहेको बखत सम्झाई बुझाई गर्दा निजले नमानी झगडा गर्न थालेपछि मैले निजलाई कुटपिट गरेको हुँ । निज कराउन थालेपछि मैले बेइजत हुन्छ भनी मुखसमेत थुनिदिएको हुँ । त्यसपछि निजको संवेदनशील अंगमा समेत समाती जबरजस्ती ओछ्यानमा पल्टाई जबरजस्ती करणी गरिदिन्छु भनी करणी गर्न खोजेको बखत निजले नमानेपछि एक्लैले करणी गर्न पाएको थिइन । निजले के कुन कारणले करणी गरेको भनी लेखाइन् थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी सौकात अली मुसलमानले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

पीडित परिवर्तित नाम भैरहवा ३९(R) को स्वास्थ्य परीक्षण रिपोर्टमा अनुहारमा घाउचोट, बायाँ छातीमा कोतारिएको दागसमेत रहेको भन्ने बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०७३।०३।२० गतेका दिन सौकात अली मुसलमान र मिति २०७३।०३।२३ गतेका दिन अब्दुल कलाम मुसलमानले परिवर्तित नाम भैरहवा ३९(R)  लाई आफ्नै घर कोठामा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

प्रतिवादीहरू अब्दुल कलाम र सौकत अली मुसलमानको स्वास्थ्य परीक्षण रिपोर्टमा कुनै घाउचोटसमेत नरहेको भन्ने बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

जिल्ला रूपन्देही सक्रौनपकडी गाउँ विकास समिति वडा नं.५ मा बस्ने जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) लाई आफ्नै घरभित्रै कुटपिट गरी घरदेखि बाहिर निस्कनै नदिई मिति २०७३।०३।२० गतेका दिन ससुरा सौकात अली मुसलमान र मिति २०७३।०३।२३ गतेका दिन देवर अब्दुल कलाम मुसलमानले जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।

जाहेरवालीको दाजुले मेरो बहिनीलाई घरमा कुटपिट गरेका छन्, हालै ईदुल फितर पर्व आउँदै गरेको छ । म उक्त घरमा एक्लै जाँदा झगडा हुन्छ हिँड जाऔं भनेपछि म र निजको दाजु भई उक्त घरमा जाँदा हामीहरूलाई सौकत अलीले भेटघाट गर्नसमेत नदिई हामीहरूलाई नै गाली गलौज गरेका हुन् । पछि हामीले स्थानीय मानिसहरूको सहयोगमा जबरजस्ती घरभित्र पसी बहिनी जाहेरवालीलाई भेट्दा निजको शरीरमा समेत घाउचोट रहेको र अनेकौं यातना दिएको भनी बताएकी हुन् । मिति २०७३।०३।२० गते ससुरा सौकात अली मुसलमानले र ऐ. २३ गते देवर अब्दुल कलामले जबरजस्ती करणी गरेकोसमेत बताएकी हुन् । यसरी आफ्नै घरकी बुहारी तथा भाउजूलाई जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको अब्दुल हकिम मुसलमानको घटना विवरण कागज । 

जाहेरवालीको श्रीमान्‌ कामको सिलसिलामा भारतमा गएपछि घरमा ससुरा सौकत अली र देवर अब्दुल कलामले कुटपिट गर्ने, यातना दिने, माइती तथा अन्य आफन्तकोमा जान नदिने भनी जाहेरवालीले भनेकी हुँदा ईद पर्वको बेलामा जाहेरवाली बहिनीलाई लिन भनी मिति २०७३।०३।२३ गते निजको घरमा गएकोमा सौकत अलिले कसैलाई पनि घरभित्र पस्न नदिएको र बहिनीलाई भेट्नसमेत नदिएको हुँदा स्थानीयसमेतको सहयोगमा घरमा पसी हेर्दा बहिनीको शरीरमा घाउ चोट रहेको र के भएको हो भनी सोध्दा ससुरा तथा देवरले कुटपिट गर्नुका साथै ससुरा सौकत अली मुसलमानले मिति २०७३।०३।२० गतेका दिन र देवर अब्दुल कलाम मुसलमानले ऐ. २३ गतेका दिन जबरजस्ती करणीसमेत गरेको भनी भनेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनवर कमाल मुसलमानको घटना विवरण कागज ।

प्रतिवादी सिफारिस अली भन्ने सौकत अली मुसलमानले आफ्नी बुहारी नाताकी पीडितलाई आफ्नै घरभित्र नियन्त्रणमा राखी जबरजस्ती करणी गरेको तथ्य स-प्रमाण पुष्टि भएको हुँदा निज प्रतिवादीहरू सिफारिस अलि भन्ने सौकत अली मुसलमान र अब्दुल कलाम मुसलमान (खान) ले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ द्वारा परिभाषित कसुर गरेकोमा ऐ.को ३(५) नं. बमोजिम सजाय गरी हाडनाता करणीतर्फ ऐ.को २ नं. को आधारमा ऐ. ऐनको हाडनाता करणीको महलको २ नं. बमोजिमको कसुरमा ऐ.२ नं. बमोजिम सजाय हुन तथा एउटै घटनास्थलमा दुवैजना प्रतिवादीहरूले एउटी पीडितलाई जबरजस्ती करणी गरेको हुँदा उक्त कसुरजन्य कार्य सामूहिक रूपमा गरिएको जबरजस्ती करणीको परिभाषा भित्रसमेत पर्ने हुँदा दुवैजना प्रतिवादीहरूलाई ऐ.जबरजस्ती करणीको महलको ३ नं. बमोजिम थप सजायसमेत गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउन माग दाबी लिई रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोगपत्र । 

जाहेरीमा लेखिएको बेहोरा गलत हो । जाहेरीमा लेखिएअनुसारको कुनै कार्य मैले गरेको छैन । मुस्लिम धर्मअनुसार हाम्रो रोजा चलिरहेको अवस्थामा एकदिन गते याद भएन म स्वयम् बजार गएको थिएँ । बजारबाट फर्की आउँदा मेरो घरमा गाउँले मानिसहरू जम्मा भेला भएका थिए । किन गाउँका मानिसहरू मेरो घरमा जम्मा भएका हुन् भनी घरका मानिससँग सोध्दा बुहारी छिमेकी मैमुद्दिनको घरमा गएको 

हो । हामीले लिएर आएका हौं भनी बताएपछि म निज बुहारीसँग तिमी किन अर्काको घरमा गएको भनी सोध्दा बुहारीले मेरो यस घरमा बस्न मन लाग्दैन । म यस परिवारसँग बस्दैन । माइतीमा गई बस्छु भनेको हुँदा मैले निजलाई सम्झाउँदा बुझाउँदा निजले नमानेकीले बुहारीलाई कुटपिट गरेको थिएँ । सोभन्दा पहिला पनि निज बुहारीले निजका माइती पक्षका आमाबुबा तथा भाइलेसमेत मेरो जेठो छोरालाई तिमी घरमा नबस मेरो छोरीलाई लिएर अन्तै घरमा बसेमा राम्रो हुनेछ । त्यो घरमा बस्दै नबस भनी उक्साउने कार्य गर्दै आएका थिए । सो कुरा मेरो छोराले नमानेपछि छोरालाई विभिन्न किसिमको जादु टोनासमेतको कार्य गर्दै ताबिजसमेत लगाउन दिएका हुन् । यी कार्यबाट मेरो छोराले आफ्नो घर छोड्न नमानेपछि प्रस्तुत मुद्दाको बहानामा मलाई मेरै बुहारी र निजका माइती घरका मानिसहरू मिली फसाउन खोजेको हो । मैले बुहारीलाई कुनै किसिमाबाट जबरजस्ती करणी गरेको छैन । मलाई दाबीअनुसार सजाय हुनु पर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमानले अदालतमा गरेको बयान ।

जाहेरीमा लेखिएको बेहोरा गलत हो । जाहेरीमा लेखिएअनुसारको कुनै कार्य मैले गरेको छैन । उक्त दिन म घरमा थिइन, आफ्नो फुपूको घरमा गएको थिएँ । मैले भाउजूलाई आमासरह सम्मान गर्ने गरेको थिएँ । भाउजू मेरो घरमा आएदेखि नै निजले घरमा परिवार कलह उत्पन्न गर्दै आउनु भएको थियो । मैले भाउजूसँग कुरा पनि गर्ने गरेको थिइन । भाउजूले घरमा मनपरी गर्न थालेको हुँदा निजलाई मेरो बुबाले सम्झाउँदा निज नमानेपछि बुबाले पिटेका हुन् । सोही रिसइवीका कारण भाउजू र निजका आमाबुबा तथा दाजु भाइले मलाईसमेत तथा मेरो बुबालाई पनि फसाउने कार्य गरी मुद्दा दिएका हुन् । मैले कुनै अनैतिक कार्य भाउजूसँग गरेको छैन । मलाई दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी अब्दुल कलाम मुसलमानले अदालतमा गरेको बयान ।

सौकत अलि र अब्दुल कलामले मेरो आफ्नै कोठामा बन्द गरी डर धम्की त्रास दिई जबरजस्ती करणी गरेका हुन् । सौकत अलि मेरा ससुरा हुन् र अब्दुल कलाम मेरो देवर हुन् भन्‍ने बेहोराको परिवर्तित नाम भैरहवा ३९(R) ले अदालतमा गरेको बकपत्र ।

जाहेरवालीले आफ्नो जिम्मेवारी बहन नगर्ने, घरमा नबस्ने, अरूको घरमा गई गफ गर्ने हुनाले निजको ससुरासँग झगडा विवाद भइरहने भएकोले जाहेरी दिएकी हुन् । प्रतिवादीहरूले करणी गरेका होइनन् । प्रतिवादीहरूलाई दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍ने बेहोराको प्रतिवादीहरूको साक्षी अलगु मुसलमानले अदालतमा गरेको बकपत्र ।

सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमान र अब्दुल कलाम मुसलमानले जाहेरवालीलाई आफ्नै घरमा कोठाभित्र बन्‍द गरी जबरजस्ती करणी गरेका   हुन् । मौकामा मैले गरेको कागजको बेहोरा र सोमा परेको दस्तखत सहिछाप मेरै हो भन्‍ने बेहोराको वस्तुस्थिति मुचुल्काको मानिस हसन मोहम्मद मुसलमानले अदालतमा गरेको बकपत्र ।

जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) लाई निजको ससुरा प्रतिवादी सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमान र देवर प्रतिवादी अब्दुल कलाम मुसलमानले जबरजस्ती करणी गरेको भन्‍ने देखिन आई निज प्रतिवादीहरूलाई जबरजस्ती करणीको ३(५) बमोजिम सजाय हुनु पर्ने तथा जबरजस्ती करणीको २ नं. बमोजिम हाडनातामा करणी गर्ने महलमा लेखिएको सजायसमेत थपी सजाय हुनु पर्ने देखिएको र जबरजस्ती करणीको ३क नं. बमोजिम थप सजाय हुनु पर्ने नदेखिएकोले प्रतिवादीहरू सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमान र अब्दुल कलाम मुसलमानलाई जबरजस्ती करणीको ३(५) बमोजिम जनही पाँच वर्ष कैद, हाडनातामा करणीको २ नं. बमोजिम जनही थप चार वर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R)  ले प्रतिवादी सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमानबाट रू.१०,०००।- र प्रतिवादी अब्दुल कलाम मुसलमानबाट रू.१०,०००।- क्षतिपूर्ति भरिपाउने ठहर्छ भन्नेसमेत रूपन्देही जिल्ला अदालतको मिति २०७३।५।२६ को फैसला ।

किटानी जाहेरी भएपनि जाहेरवालीले बकपत्र गर्दा तिथि मिति उल्लेख गरेको पाइँदैन । कुटपिट भएको भनी जाहेरीमा उल्लेख गरेपनि बकपत्रमा सो कुरा उल्लेख नगरेको । जाहेरीमा उल्लेख गरेको मितिमा इदउल फित्रको समय सो धार्मिक समय र ७ जनाको परिवार घरमै भएको अवस्थामा करणी गरेको भन्नु विश्वास लाग्ने होइन । २० गतेदेखि २३ गतेसम्म निज घरबाहिर गई कुनै कसैलाई सो कुरा व्यक्त गरेको कहीँकतै पाइँदैन । घटनास्थल मुचुल्कामा ढोकाको भित्रबाट चुक्कुल कुन्डी रहेको तर चुक्कल कुन्डी बिग्रिएर ढोका नलाग्ने अवस्था रहेको भन्ने घटनास्थल मुचुल्कामा उल्लेख भएको । सर्जमिनका मानिस अन्यत्रका राखी मुचुल्का तयार भएको छ । अधिकारप्राप्त अधिकारी र अदालतमा बयान गर्दासमेत इन्कारी बयान भएकोमा सोतर्फ केही मूल्याङ्कन नगरी जाहेरी दरखास्तलाई मात्र आधार लिएर सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादी सौकत अलि मुसलमानले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा गरेको पुनरावेदन पत्र ।

किटानी जाहेरी भएपनि जाहेरवालीले बकपत्र गर्दा तिथि मिति उल्लेख गरेको पाइँदैन । कुटपिट भएको भनी जाहेरीमा उल्लेख गरेपनि बकपत्रमा सो कुरा उल्लेख नगरेको । जाहेरीमा उल्लेख गरेको मितिमा इदउल फित्रको समय सो धार्मिक समय र ७ जनाको परिवार घरमै भएको अवस्थामा करणी गरेको भन्नु विश्वास लाग्ने होइन । २० गतेदेखि २३ गतेसम्म निज घरबाहिर गई कुनै कसैलाई सो कुरा व्यक्त गरेको कहीँकतै पाइँदैन । घटनास्थल मुचुल्कामा ढोकाको भित्रबाट चुक्कुल कुन्डी रहेको तर चुक्कल कुन्डी बिग्रिएर ढोका नलाग्ने अवस्था रहेको भन्ने घटनास्थल मुचुल्कामा उल्लेख भएको । सर्जमिनका मानिस अन्यत्रका राखी मुचुल्का तयार भएको 

छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मेरो इच्छाअनुसार भएको नभई मेरो इच्छा विरूद्धको हो । मैले कहिल्यै पनि जाहेरवालीलाई करणी गरेको छैन । अदालतमा बयान गर्दा इन्कारी बयान भएकोमा सोतर्फ केही मूल्याङ्कन नगरी जाहेरी दरखास्तलाई मात्र आधार लिएर सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादी अब्दुल कलाम मुसलमानले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा गरेको पुनरावेदन पत्र ।

प्रतिवादी सौकत अली मुसलमानको बुहारी र प्रतिवादी अब्दुल कलाम मुसलमानकी भाउजू नाताकी भई एकाघर सगोलमा रहेकी मुस्लिम समुदायकी महिला पीडितलाई घरभित्र नियन्त्रणमा राखी एउटै वारदातस्थलमा कहिले बाबुले कहिले छोराले जबरजस्ती करणी गरेको तथ्य स्थापित भइसकेपछि अभियोग दाबीअनुसार सामुहिक जबरजस्ती करणीमा समेत कसुर कायम गर्नु पर्नेमा सोतर्फ दाबी ठहर नगरेको सुरू फैसला उक्त कानूनी व्यवस्थाको व्याख्या प्रयोग र पालनासमेतको दृष्टिकोणले त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा गरेको पुनरावेदन पत्र ।

यसमा पुनरावेदक प्रतिवादीमध्ये अब्दुल कलाम मुसलमानले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला परिवर्तित नाम भैरहवालाई राजीखुसीले एकपटक करणी गरेको हुँ भनी बेहोरा लेखाई दुवैजना प्रतिवादीहरू आरोपित कसुरका सम्बन्धमा अदालतसमक्ष उपस्थित भई बयान गर्दा पूर्णरूपमा इन्कार रही बयान गरेका र सामुहिक जबरजस्ती करणीतर्फ थप सजाय नगरेको सुरू फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको समेत पुनरावेदन रही वादी प्रतिवादी दुवै पक्षबाट पुनरावेदन परी दोहोरो पुनरावेदनको अवस्थासमेत रहेको हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं.को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदनपत्रको जानकारी एक अर्कालाई गराई नियमानुसार पेस गर्नु होला भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३।१२।२२ को आदेश ।

प्रतिवादी अब्दुल कलाम मुसलमान स्वयंले समेत मौकामा बयान गर्दा भाउजू नाताकी जाहेरवालीलाई करणी गरेकोमा साबित रहेको देखिएको स्थितिमा निज प्रतिवादी अब्दुल कलाम मुसलमानलाई जबरजस्ती करणीको ३(५) बमोजिम पाँच वर्ष कैद, हाडनातामा करणीको २ नं. बमोजिम थप चार वर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) ले प्रतिवादी अब्दुल कलाम मुसलमानबाट रू.१०,०००।- क्षतिपूर्ति भरिपाउने ठहर गरेको फैसला अन्यथा नभई मिलेकै देखियो । प्रतिवादी सौकत अलि मुसलमानले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्यका साथ पीडितको संवेदनशील अंग समाउनेसमेतको कार्य गरी जबरजस्ती करणीको ५ नं.ले परिभाषित जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको देखिँदा निजलाई सपठित ऐनको ५ नं. बमोजिम २ १/२ (दुई वर्ष छ महिना) कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला ।

औचित्यपूर्ण कारण विना एकाघरकी वयस्क बुहारीलाई कुटपिट गर्नुपर्ने वा यातना दिनुपर्ने आधार र अवस्था रहँदैन । यी प्रतिवादीले अदालतमा बयान गर्दा जाहेरवाली बुहारीलाई कुटपिट गरी यातना दिएको स्वीकारी रहेको र मौकामा बयान गर्दा वारदातको सन्दर्भमा स्पष्ट स्वीकारी बयान गरेको अवस्थामा जबरजस्ती करणी मुद्दामा केवल इन्कारी बयान मात्र सफाइको आधार बन्न सक्दैन । सुरू जिल्ला अदालतको फैसला उल्टी गर्दा औचित्यपूर्ण आधार प्रमाण बिना मनोगत आधारमा गरिएको उक्त फैसला त्रुटिपूर्ण छ । प्रस्तुत सन्दर्भमा "प्रतिवादीको अदालतको इन्कारी बयानको विरूद्धमा प्रमाण यथेष्ट मौजुद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषता साबित हुने एकमात्र आधार हुन नसक्ने" (ने.का.प २०६९, अंक ८, नि.नं.८८७८) भनी सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी भएको उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी छ । 

पीडितको जाहेरी दरखास्त समर्थित हुने गरी अदालतमा समेत गढाउ बकपत्र भएको अवस्थामा जबरजस्ती करणीको उद्योगतर्फ परिणत गर्ने गरी भएको प्रस्तुत फैसला त्रुटिपूर्ण छ । "जबरजस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयं पीडित हो र यी पीडितलाई प्रत्यक्ष र जीवित प्रमाण मान्नु पर्ने

हुन्छ ।" (ने.का.प.२०६९, अंक ८, नि.न. ८८७८ नेपाल सरकार विरूद्ध चन्द्रबहादुर तिवारी) भनी सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी भएको उक्त फैसला बदरभागी छ ।

प्रतिवादी सौकत अली मुसलमानको बुहारी र प्रतिवादी अब्दुल कलाम मुसलमानको भाउजू नाताकी भई एकाघर सगोलमा रहेको मुस्लिम समुदायकी महिला पीडितलाई घरभित्र नियन्त्रणमा राखी एउटै वारदात स्थलमा कहिले ससुराले कहिले देवरले जबरजस्ती करणी गरेको तथ्य स्थापति भइसकेपछि अभियोग दाबीबमोजिम सामुहिक जबरजस्ती करणीमा समेत कसुर कायम गर्नुपर्नेमा सोतर्फ दाबी ठहर नगरी भएको उक्त फैसलामा जबरजस्ती करणीको महलको ३.क.नं. को कानूनी त्रुटि भएको हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।

ठहर खण्ड

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले प्रतिवादीहरूको बुहारी तथा भाउजू नाताकी मुस्लिम महिलालाई कहिले बाबुले त कहिले छोराले जबरजस्ती करणी गरेको तथ्य स्थापित भएको अवस्थामा अभियोग दाबीबमोजिम सामुहिक जबरजस्ती करणीको कसुर कायम गरी सजाय गर्नु पर्नेमा सोबमोजिम नगरी प्रतिवादी सौकत अलि मुसलमानले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्यका साथ पीडितको संवेदनशील अंग समाउनेसम्मको कार्य गरी जबरजस्ती करणीको ५ नं.ले परिभाषित जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको ठहर्‍याई सपठित ऐनको ५ नं. बमोजिम २।६।० (दुई वर्ष छ महिना) कैद हुने ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला नमिलेको हुँदा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरू सिफारिस अलि भन्ने सौकत अली मुसलमान र अब्दुल कलाम मुसलमान (खान) ले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ द्वारा परिभाषित कसुर गरेकोमा ऐ.को ३(५) नं. बमोजिम सजाय गरी हाडनाता करणीतर्फ ऐ.को २ नं.को आधारमा ऐ.ऐनको हाडनाता करणीको महलको २ नं.बमोजिमको कसुरमा ऐ.२ नं. बमोजिम सजाय हुन तथा एउटै घटनास्थलमा दुवैजना प्रतिवादीहरूले एउटी पीडितलाई जबरजस्ती करणी गरेको हुँदा उक्त कसुरजन्य कार्य सामूहिक रूपमा गरिएको जबरजस्ती करणीको परिभाषाभित्र समेत पर्ने हुँदा दुवैजना प्रतिवादीहरूलाई ऐ.जबरजस्ती करणीको महलको ३ नं. बमोजिम थप सजायसमेत गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने अभियोग मागदाबी रहेकोमा प्रतिवादीहरू सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमान र अब्दुल कलाम मुसलमानलाई जबरजस्ती करणीको ३(५) बमोजिम जनही पाँच वर्ष कैद, हाडनातामा करणीको २ नं. बमोजिम जनही थप चारवर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) ले प्रतिवादी सिफारिस अलि भन्‍ने सौकत अलि मुसलमानबाट रू.१०,०००।- र प्रतिवादी अब्दुल कलाम मुसलमानबाट रू.१०,०००।- क्षतिपूर्ति भरिपाउने ठहरी सुरू अदालतबाट भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझाई सुरू अदालतले जाहेरी बेहोरालाई मात्र आधार बनाई कसुरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी प्रतिवादीको तर्फबाट र सामुहिक जबरजस्ती करणीतर्फ समेत अभियोग दाबीबमोजिम सजाय गर्नु पर्नेमा सुरू अदालतबाट सोतर्फ सजाय नगरेकोले सो हदसम्मको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी  वादी नेपाल सरकारको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेकोमा प्रतिवादी अब्दुल कलाम मुसलमान स्वयंले समेत मौकामा बयान गर्दा भाउजू नाताकी जाहेरवालीलाई करणी गरेकोमा साबित रहेको देखिएको स्थितिमा निज प्रतिवादी अब्दुल कलाम मुसलमानलाई जबरजस्ती करणीको ३(५) बमोजिम पाँच वर्ष कैद, हाडनातामा करणीको २ नं. बमोजिम थप चार वर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) ले प्रतिवादी अब्दुल कलाम मुसलमानबाट रू.१०,०००।- क्षतिपूर्ति भरिपाउने गरी जिल्ला अदालतबाट भएको फैसला सदर  गरी र प्रतिवादी सौकत अलि मुसलमानले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्यका साथ पीडितको संवेदनशील अंग समाउनेसमेतको कार्य गरी जबरजस्ती करणीको ५ नं.ले परिभाषित जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको देखिँदा निजलाई सपठित ऐनको ५ नं. बमोजिम २।६।० (दुई वर्ष छ महिना) कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाउपर अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । 

अब उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सौकत अली मुसलमानले मौकामा बयान गर्दा जाहेरवालीलाई कुटपिट गरेको र जबरजस्ती करणी गर्ने प्रयास गरेको भनी उल्लेख गरेको देखिन्छ भने प्रतिवादी अब्दुल कलाम मुसलमानले मौकामा बयान गर्दा जाहेरवालीलाई निजको राजीखुसीले करणी गरेको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरू दुवैजनाले अदालतमा बयान गर्दा वारदात मिति समयमा मुस्लिम चाड परेको, जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेको 

देखिन्छ । जाहेरी दरखास्तमा दुवैजनाउपर किटानी जाहेरी रहेको देखिन्छ । जाहेरवालीको प्रतिवादी सौकत अली मुसलमान ससुरा र प्रतिवादी अब्दुल कलाम मुसलमान देवर भएको भन्ने कुरामा विवाद रहेको देखिँदैन ।

३. जाहेरवालीको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा अनुहारमा घाउचोट, बायाँ छातीमा कोतारिएको दागसमेत रहेको भन्ने बेहोराको उल्लेख भएको पाइन्छ । जाहेरवालीले अदालतमा बकपत्र गर्दा आफ्नो जाहेरी बेहोरालाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । त्यसैगरी वस्तुस्थिति मुचुल्काका मानिस हसन मोहम्मद मुसलमानले प्रतिवादीहरूले जाहेरवालीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेका हुन् भनी लेखाएको देखिन्छ । प्रतिवादीहरूका साक्षी अलगु मुसलमानले बकपत्र गर्दा घरमा झगडा भई रहने कारणले जाहेरवालीले झुट्टा जाहेरी दिएकी हुन प्रतिवादीहरूले करणी गरेका होइनन् भनी लेखाएको देखिन्छ । 

४. प्रतिवादी अब्दुल कलाम मुसलमानले मौकामा बयान गर्दा जाहेरवाली भाउजू नाताको भएको, निजले मलाई माया गर्ने भएको र निजको कोठामा जाँदा केही नभन्ने गरेकोले राजी खुसीले एकपटक करणी गरेको हो । निजलाई लागेको चोट बुबाले कुटपिट गर्दा लागेको हो भनी बयान गरेको देखिन्छ । निज प्रतिवादी अब्दुल कलाम मुसलमानउपर पीडिताले किटानी जाहेरी गरेको देखिएको र उक्त जाहेरीलाई समर्थन हुने गरी जाहेरवालीले अदालतमा बकपत्र गरेको 

देखिन्छ । जाहेरवाली पीडितले आफ्ना देवर नाताका यी पुनरावेदक प्रतिवादीलाई नभएको नगरेको वारदात भए गरेको भनी आफ्नो अस्मितामै आँच आउने गरी झुट्टा आरोप लगाउनु पर्ने कुनै कारण रहेको भनी स्वयं प्रतिवादीले नै कुनै जिकिर लिन सकेकोसमेत देखिन आएन । त्यसैगरी मन्जुरी सहमतिका साथ करणी गरेको भन्ने प्रतिवादीको कथन मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेकोसमेत देखिन आएन ।

५. तसर्थ प्रतिवादी स्वयंले समेत मौकामा बयान गर्दा भाउजू नाताकी जाहेरवालीलाई करणी गरेकोमा साबित रहेको देखिएको र निजको उक्त साबितीलाई पीडितको बकपत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतले पुष्टि गरेको देखिँदा निज प्रतिवादी अब्दुल कलाम मुसलमानलाई जबरजस्ती करणीको ३(५) बमोजिम पाँच वर्ष कैद, हाडनातामा करणीको २ नं. बमोजिम थप चार वर्ष कैद हुने र जबरजस्ती करणीको १० नं. बमोजिम जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) ले प्रतिवादी अब्दुल कलाम मुसलमानबाट रू.१०,०००।- क्षतिपूर्ति भरिपाउने ठहर गरी भएको उच्च अदालतको फैसला अन्यथा नभई मिलेकै देखियो ।

६. प्रतिवादी सौकात अलि मुसलमानको तर्फ विचार गर्दा, निजले समेत मिति २०७३।३।२० गते पीडितलाई जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको भएपनि निज सौकत अलिले अदालतमा बयान गर्दा इन्कारी बयान गरेको देखिन्छ । निजले मौकामा बयान कागज गर्दा पीडितलाई कुटपिट गरेको, पीडितका संवेदनशील अंगसमेत समाती जबरजस्ती करणी गर्न खोजेको हो तर एक्लैले करणी गर्न नसकेकोले करणी गर्न नपाएको हो भनी उल्लेख गरेको देखिन्छ । सौकत अलिले समेत पीडितलाई दाबी अनुरूप जबरजस्ती करणी नै गरेको हो भन्ने तथ्य पुष्टि हुने वस्तुनिष्ठ प्रमाण रहे भएको नदेखिएको अवस्थामा प्रतिवादी सौकत अलि मुसलमानलाई समेत दाबी अनुरूप जबरजस्ती करणीको ३(५) नं. र हाडनाता करणीको २ नं. बमोजिम सजाय गर्ने गरेको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७३।५।२६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही बदर गरी निज प्रतिवादी सौकत अलि मुसलमानले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्यका साथ पीडितको संवेदनशील अंग समाउनेसमेतको कार्य गरी जबरजस्ती करणीको ५ नं.ले परिभाषित जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको ठहर्‍याई निज प्रतिवादी सौकत अलि मुसलमानलाई जबरजस्ती करणी ऐनको ५ नं. बमोजिम २।६।० (दुई वर्ष छ महिना) कैद हुने ठहर्‍याई भएको उच्च अदालतको फैसला अन्यथा देखिएन । 

७. वादी नेपाल सरकारको सामुहिक जबरजस्ती करणीतर्फ कसुर कायम गरिपाउँ भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा, जाहेरवालीलाई प्रतिवादीहरूले एकै समयमा एकै स्थानमा मिलीजुली जबरजस्ती करणी गरेको भन्ने देखिएको छैन भने अर्कोतर्फ प्रतिवादीमध्येका सौकतअलि मुसलमानले पीडितलाई जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहरेकोले   अभियोग दाबीबमोजिम सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने देखिन आएन । दुवै प्रतिवादीले एकै समयमा करणी गरेको स्थापित नभएसम्म सामुहिक करणी गरेको भनी ठहर गर्ने अवस्था हुँदैन । तसर्थ सामुहिक जबरजस्ती करणीतर्फ कसुर कायम गरी प्रतिवादीहरूलाई दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. अतः उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको मिति २०७४।२।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. केदारप्रसाद चालिसे

 

इजलास अधिकृत:- जयराम श्रेष्‍ठ

इति संवत् २०७५ साल पुस १ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु