शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७७ - अंश चलन

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७५।२।२०

०७२-CI-०५२८

 

मुद्दाः अंश चलन

 

पुनरावेदक / प्रतिवादी : दिलबहादुर खड्काको नाति छत्रबहादुर खड्काको छोरा दोलखा जिल्ला क्षेत्रपा  गा.वि.स. वडा नं.५ घर भई हाल ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ५८ को प्रेमकुमार खड्का

विरूद्ध

प्रत्यर्थी / वादी : प्रेमकुमार खड्काको पत्‍नी दोलखा जिल्ला क्षेत्रपा गा.वि.स. वडा नं. ५ बस्ने अं.वर्ष ५८ को पम्फा खड्कासमेत

 

मूल अंशियारबीचमा बन्डा नभएपनि तल्लो पुस्ताका अंशियारहरूले आफ्नो पति पिताबाट प्राप्‍त गर्ने अंशहक बन्डा गरी दिनुपर्ने हुन्छ । अन्यथा तल्लो पुस्ताका अंशियारहरूको जीवनयापनमा नै समस्या आउने सक्ने हुन्छ । मूल अंशियारको बीचमा बन्डा नभएपनि पछिल्लो पुस्ताका छोरा छोरीहरूले मूल अंशियारबीचको हकहिस्सा छुट्याई आफ्नो आफ्नो पिता पतिको हिस्साबाट अंश पाउने ।

(प्रकरण नं.१३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री नविन खनाल एवं श्री विनोद थापा

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०७१, अंक ११, नि.नं.९२७९

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रभा बस्नेत

दोलखा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल

माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०७०।१०।०९ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार रहेको छः- 

तथ्य खण्ड

विपक्षीमध्येका प्रेमकुमार भन्‍ने प्रेमकुमार खड्‌का हामी फिरादीहरूको पति तथा पिता हुनुहुन्छ । विपक्षीमध्येका भगवती खड्‌का, दुर्गा खड्‌का र कमला खड्‌का, सौता तथा सौतेनी आमा हुन् । विपक्षीमध्येका ताराकुमार, कुशल, राजन सौतेनी छोरा तथा दाजुभाइ हुन् । यसैगरी ललिता, सीता, पवित्रा, सुशिला, संगीता र बबिता सौतेनी छोरी तथा दिदीबहिनी नाताको व्यक्ति हुनुहुन्छ । विपक्षीहरू १३ जना र हामी २ जनासहित १५ जना एकासगोलमा बसी आएका छौँ । एकासगोलमा बस्दा कठिनाई भई हाम्रो अंश छुटाई दिनुहोस् भनी अनुरोध गर्दा विपक्षीहरूले अंशबन्डा गरी दिदैनौं, भएको घर जग्गा सबै हाम्रो नाउँमा छ । घरमा पनि बस्न दिदैनौं, जहाँ गएर जे गर्नुपर्छ गर भनी हामीलाई घरबाट निकाला गर्नु भएकोले न्याय माग्‍न फिराद लिई सम्मानित अदालतसमक्ष उपस्थित भएका छौं । जम्मा अंशियार १५ जना भएकोमा हामी अंशियारको बीचमा कानूनबमोजिम बन्डा लाग्‍ने सम्पूर्ण चल अचल श्रीसम्पत्तिहरू विपक्षीहरूको जिम्मा रहे भएको हुँदा हामीहरू अंशियारको बीचमा बन्डा गर्नुपर्ने सम्पत्तिको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मितिसम्म विपक्षीहरूको जिम्मामा भएको सम्पत्तिको तायदाती फाँटवारी मागी सम्पूर्ण सम्पत्तिको १५ भाग लगाई १५ भागमध्ये २ भाग अंश हामी फिरादीहरूलाई दिलाई चलनसमेत चलाई पाउँ भन्‍ने वादीहरूको दाबी ।

म तथा हाम्रो पति, पिता प्रेमकुमार खड्‌काको ४ वटी श्रीमती र बालबच्‍चाको संख्या धेरै भएको कारण हामीबीचमा सौतेनी मामला भई एकासगोलमा बसी घर व्यवहार चलाउन कठिनाई भएको कारण मिति २०४६ सालबाट हामी अंशियारहरू घरसारमा मानो छुटिँदा हामीले पाउने अंशसमेत रीतपूर्वक लिएका 

छैनौँ । घरसल्लाहअनुसार पैतृक सम्पत्तिहरू सबै जनाले नरमगरम मिलाई घरसारमा छुटाई भोगी बसी आएका छौँ । हामीसमेतले पति तथा पिताबाट अंश पाउनु पर्ने हो । विपक्षीहरूलाई अंशबन्डा गरी दिनुपर्ने सम्पत्ति हाम्रो जिम्‍मामा राखी हामीले एकलौटी भोग गरेको छैनौँ । मानो छुटिनु अगाडिको बन्डा गर्नुपर्ने सम्पत्ति सबै अंशियारको नाउँमा भोगचलनमा रहेको भएको छ । तसर्थ, मिति २०४६ सालभन्दा अगाडि सम्पूर्ण चल, अचल, धनहरू बन्डा गरी हामीसमेतले खान पाउनु पर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादीमध्येका प्रेमकुमार खड्‌का, कमलादेवी, लोकेन्द्र, गीता, संगीता, कवितासमेत ६ जनाको संयुक्त प्रतिउत्तर जिकिर ।

हाम्रो पति तथा पिता प्रेमकुमार खड्‌का ४ वटी श्रीमती र बालबच्चाको संख्या धेरै भएको कारण हाम्रोबीचमा सौतेनी मामला भई हरेक व्यवहारमा मनमुटाव हुने भएको कारण सबै परिवार एकासगोलमा बसी घर व्यवहार चलाउन कठिन हुने भएकोले मिति २०४६ सालबाट हामी अंशियारहरू घरसारमा मानोसम्म छुट्टी आआफ्नो ऋण धन आआफूले नै चलाउने गरी मिति २०४६ सालबाट मानोसम्म छुटी हामीहरू अलग बसेका हौँ । रीतपूर्वक पाउनु पर्ने अंश हामीले लिएका छैनौँ, घर सल्लाहअनुसार पैतृक सम्पत्तिहरू सबैजनाले नरमगरम मिलाई घरसारमा छुटाई भोगी बसी आएका छौँ । हामीसमेतले पति तथा पिताबाट पाउनु पर्ने अंश पाएका छैनौँ । तसर्थ, पैतृक सम्पत्ति हाम्रो जिम्‍मामा राखी हामीले एकलौटी ढंगमा भोगेको छैनौँ । मानो छुटिनुभन्दा अगाडिका बन्डा गर्नुपर्ने सम्पत्ति सबै अंशियारको नाममा भोगचलनमा रहे भएको हुँदा सम्पूर्ण चल, अचल, ऋण धनहरू बन्डा गरी हामीसमेतले खान पाउनु पर्ने हुँदा हामीले वादीहरूलाई अंश दिनुपर्ने होइन, वादी र हामी अंशियार भएकोमा कुनै विवाद छैन । हामी प्रतिवादीसमेतका नाउँमा रहेको चल अचल सम्पत्ति वादी दाबीबमोजिम १५ भाग लगाई खान हाम्रो मन्जुर छ भन्नेसमेत बेहोराको प्रतिवादीमध्ये सीता, पवित्रा, ललिता, दुर्गा, कुशल, भगवती समेत ६ जनाको संयुक्त प्रतिउत्तर जिकिर ।

प्रतिवादीमध्ये ताराकुमार खड्‌काले सुरू अदालतबाट मिति २०६७।०२।२४ मा जारी भएको म्याद मिति २०६७।०३।०१ मा बुझी म्यादभित्र प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको ।

वादी प्रतिवादीहरू अंशियारहरू हुन्, यिनीहरूबीच अंशबन्डा हुनुपर्छ । वादीहरूले अंश पाउनुपर्ने हो । प्रतिवादीमध्येको प्रेमकुमार खड्का र म चन्दबहादुर खड्का दाजुभाइ हौँ, हामीहरूकै बीचमा अंशबन्डा भएको छैन । पहिला हामीबीचमा नै अंशबन्डा हुनुपर्ने हो । त्यसपछि मात्र वादी प्रतिवादीहरूबीच अंशबन्डा हुनुपर्ने हो । वादी प्रतिवादीहरूबीच २०४६ सालदेखि मानो छुट्टी भिन्‍न बसेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरू सीता, पवित्रासमेत ६ जनाको साक्षी चन्द्रबहादुर खड्‌काले सुरू अदालतमा गरेको बकपत्र ।

बाबु बाजेको पालादेखिको चल अचल श्रीसम्पत्ति यी १५ अंशियारले २०४६ सालमा नै बन्डा गरी लिएका छन् । आआफ्नो अंश भागमा परेको घर जग्गामा बस्दै खाई आएका छन् । २०४६ सालदेखि यताको अन्य आर्जन आआफ्नो होस् भनी प्रतिवादीमध्ये प्रेमकुमार खड्‌कासमेतको साक्षी जगनाथ पाण्डेले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादीहरू १६ अंशियार हुन् । वादी प्रतिवादीहरू आजभन्दा १५।२० वर्ष अघिदेखि मानो छुटी खाई आएका छन् भनी वादीको साक्षी गणेशबहादुर खड्‌काले सुरू अदालतमा गरेको बकपत्र ।

सुरू दोलखा जिल्ला अदालतको आदेशानुसार प्रेमकुमार खड्कासमेत ६ जना, प्रतिवादी सीता खड्कासमेत ६ जना र वादी पम्फा खड्काको तर्फबाट तायदाती फाँटवारी पेस भई सुरू मिसिल सामेल रहेको ।

प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूबाट पेस भएको वादी प्रतिवादीहरूको नाममा दर्ता रहेको सम्पूर्ण श्रीसम्पत्ति तथा जग्गा जमिनहरूबाट १५ भागको दुई भाग अंश वादीहरूले पाउने र सोमा चलनसमेत चलाई पाउने ठहर्छ भन्‍ने मिति २०६९।०२।१६ को सुरू दोलखा जिल्ला अदालतको फैसला ।

सुरूको इन्साफमा चित्त बुझेन । हामीहरूबीच रीतपूर्वकका अंशबन्डा नभए तापनि हामीहरू ठूलो परिवार भएको हुँदा २०४६ सालदेखि नै मानो छुट्टिएर बस्दै आएका छौँ । मानो छुट्टिई बसेकै कारण दोलखा जिल्लामा जग्गा नापी हुँदा हामीहरूले आ-आफ्नो भोगबमोजिमका जग्गा आ-आफ्नो नाममा नपाई भोग गर्दै आएको छौँ । यसरी हामी वादी प्रतिवादीहरू रीतपूर्वक मानो छुटिई भिन्‍न भइसकेको अवस्थामा २०४६ सालपश्चात् हामीले आफ्नो नाममा आफ्नो व्यक्तिगत प्रयासबाट, बकसपत्रबाट, निजी आयबाट खरिद गरेको तथा माइती मावलीबाट दान पेवा स्वरूप प्राप्‍त गरेको जग्गाहरूसमेतलाई सुरू अदालतले एकासगोलमै रहेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्दै सम्पूर्ण सम्पत्ति, जग्गा जमिनहरूबाट १५ भागको २ भाग अंश वादीहरूले पाउने र सोमा चलनसमेत चलाई पाउने ठहर्‍याई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी हामीले आफ्नो प्रयास, निजी आर्जनबाट तथा माइती मावलीबाट प्राप्‍त जग्गाहरूबाट वादीहरूको अंश भाग नलाग्‍ने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू प्रेमकुमार खड्का, कमलादेवी खड्का र गीता खड्काको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।

प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार एकासगोलको अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्‍ने कानूनी प्रावधानले निजी आर्जनको ठोस सबुत प्रमाण नभएसम्म वा ठोस सबुत प्रमाण गुजार्न नसके सगोलको अंशियारमध्ये जुनसुकै अंशियारको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म सबै अंशियारको हक लाग्‍छ भन्‍ने कानूनी व्यवस्था रहेको छ । वादी प्रतिवादीहरूबाट पेस भएको तायदातीमा अंशियारहरूको नाउँमा दर्ता रहेको सम्पूर्ण श्रीसम्पत्ति जग्गा जमिनहरूबाट १५ भागको २ भाग अंश वादीहरूले पाउने र सोमा चलनसमेत चलाई पाउने ठहराएको सुरू दोलाखा जिल्ला अदालतको फैसला अन्यथा नभई कानूनसङ्गत नै रहेको देखियो । सुरू दोलखा जिल्ला अदालतबाट मिति २०६९।०२।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनबाट मिति २०७०।१०।०९ मा भएको फैसला ।

अंशियारहरूमध्ये कुशल खड्का, पबित्रा, ललिता, संगीता र गीता खड्कासमेतको विवाह गर्न बाँकी रहेको छ । अंशबन्डाको १७ नं. ले विवाह नभएका छोरा छोरीको विवाह खर्च पर सार्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था गरेको छ । वादीले फिराद गर्दा विवाह गर्न बाँकी अंशियार छोराछोरीको विवाहखर्च सम्बन्धमा केही उल्लेख नगरेको भए तापनि तत्सम्बन्धमा आवश्यक परे अ.बं.१३३ नं. बमोजिम कागज गराई, खुलाई बुझ्नुपर्ने प्रमाण बुझी विवाह खर्चसम्बन्धी कानूनी प्रश्‍नको निराकरण गर्नुपर्नेमा सो नगरी फैसला भएको छ । परिवार संख्या ठूलो भएकाले एकै ठाउँमा बसी खती उपति गर्न नमिलेकाले २०४६ सालमा मानो छुट्टिई आ-आफ्नो ऋण धन आ-आफूले चलाई आएको तथ्य निर्विवाद रहेको छ । सो तथ्य साक्षी बकपत्र, घर बसोबास, जग्गा नापी, दर्ता एवं भोग व्यवहारसमेतले पुष्टि गरेको छ । 

राधादेवी, सुधा खड्का अंशियार 

होइनन् । बन्डा लाग्ने ठहर भएका दोलखा जिल्ला क्षेत्रपा गा.वि.स. वडा नं.४ को  कि.नं.८०३, ऐ. वडा नं.५ को कि.नं.४८५,  १६०, १७९, १५९, १८४, १५८, ऐ. वडा नं.१ को कि.नं.११८, ८९४, ८९५ का जग्गाहरूमध्ये कि.नं. ४८५ को जग्गा कमला र सुधा खड्काको नाममा कि.नं.१६०, १७९ सुधा र भगवती खड्काको नाममा कि.नं.१५९, १८४, ११८, १५८, ८९४, ८९५ राधादेवी र भगवती खड्काको नाममा संयुक्त दर्ता रहेको छ । प्रमाण ऐन, २०३१ को दफा ६ समेतले संयुक्त दर्ता रहेको जग्गा दुवैको बराबर हकको भनी अनुमान गर्नुपर्ने कानूनी व्यवस्था रहेको र स्रेस्ता प्रमाणबाटै राधादेवी र सुधा खड्कासमेतको हकको जग्गा हो भन्ने पुष्टि भएको छ । बन्डा लाग्ने सम्पत्तिसम्म अंशबन्डाको १, २ नं. ले जियजियै र बराबर बन्डा लाग्ने हो अर्काको हकको बन्डा नलाग्ने उल्लिखित जग्गामध्येबाट पर व्यक्तिको हक नछुट्ट्याई सम्पूर्ण जग्गा बन्डा लाग्ने ठहरी सुरू जिल्ला र पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा अंशबन्डाको महलको १ र २ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४, अ.बं. १८४(क), सर्वोच्च अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तको रोहमा त्रुटिपूर्ण रहेकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) समेतका आधारमा मुद्दा दोहोर्‍याई हेरी सो फैसला बदर गरी इन्साफ पाउँ भन्‍ने बेहोराको प्रतिवादी प्रेमकुमार खड्काको तर्फबाट यस अदालतमा परेको पाउँ निवेदन ।

यसमा अंशियार भनी नदेखाइएको र प्रतिवादीसमेत नबनाइएको सुधादेवी खड्का र राधादेवी खड्कासमेतको नाउँमा रहेको जग्गाहरूमा वादीले अंश पाउने ठहर्‍याई पुनरावेदन अदालत पाटनको मिति २०७०।१०।०९ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ बमोजिमको प्रमाणको मूल्याङ्कनसम्बन्धी गम्भीर त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्‍ने यस अदालतको मिति २०७२।०५।१७ को आदेश । 

अंशियार भनी नदेखाइएका र प्रतिवादीसमेत नबनाइएको सुधादेवी खड्का र राधादेवी खड्कासमेतको नाउँमा रहेको जग्गाहरूमा वादीले अंश पाउने ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेको भन्‍ने आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने भनी यस अदालतबाट मिति २०७२।०५।१७ मा अनुमति प्रदान भएको देखियो । अतः अंशियारभन्दा बाहिरका सुधादेवी खड्का र राधादेवी खड्काको वतन पुनरावेदक प्रतिवादी प्रेमकुमार खड्काबाट खुलाउन लगाई निजहरूलाई मुलुकी ऐन अ.बं.१३९ नं. अनुसार बुझ्नू । साथै वादी चन्द्रबहादुर खड्का र प्रतिवादी प्रेमकुमार खड्का भएको मिति २०६७।०५।२४ मा दायर भएको दे.नं.१६७ को अंश मुद्दाको सक्कल मिसिल सम्बन्धित अदालतबाट झिकाई पेस गर्नु भन्ने बेहोराको यस अदालतको मिति २०७४।०७।१७ को आदेश ।

यसमा मुलुकी ऐन अ.बं.१३९ नं. बमोजिम बुझिएकी राधादेवी खड्काले २०४० सालमा घरसारमा छुट्टी भिन्‍न भएकोले प्रेमकुमारलाई अंश दिनुपर्ने होइन भनी बयान गरेको देखिँदा निजलाई तारेखमा राख्‍न परेन भन्‍ने बेहोराको यस अदालतको मिति २०७४।१०।२२ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी 

हेरियो । पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री नविन खनाल एवं श्री विनोद थापाले अंशियारमध्ये कुशल खड्का, पबित्रा, ललिता, संगीता र गीता खड्कासमेतको विवाह गर्न बाँकी रहेको छ । अंशबन्डाको १७ नं. ले विवाह नभएका छोराछोरीको विवाह खर्च पर सार्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था गरेको छ । परिवार संख्या ठूलो भएकाले एकै ठाउँमा बसोबास गर्न नमिलेकाले २०४६ सालमा मानो छुट्टिई आ-आफ्नो ऋण, धन आ-आफूले चलाई आएको तथ्य निर्विवाद रहेको छ । सो तथ्य साक्षीका बकपत्र, घर बसोबास जग्गा नापी, दर्ता एवं भोग व्यवहारसमेतले पुष्टि गरेको छ । स्रेस्ता प्रमाणबाटै राधादेवी र सुधा खड्कासमेतको हकको जग्गा हो भन्ने पुष्टि भएको 

छ । अर्काको हकको बन्डा नलाग्ने जग्गाबाट पर व्यक्तिको हक नछुट्याई सम्पूर्ण जग्गा बन्डा लाग्ने ठहर गरी सुरू जिल्ला र पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर गरी इन्साफ पाउँ भनी बहस गर्नुभयो ।

उपर्युक्त बहस सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा 

छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, हामी वादी प्रतिवादीबीच कानूनबमोजिम अंशबन्डा नभएकोमा प्रतिवादीहरूसँग हाम्रो अंश माग गर्दा घरबाट निकाला गरी अंश नदिएकाले विपक्षीहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई १५ भाग लगाई सोको २ भाग हामी वादीलाई अंश दिलाई चलनसमेत चलाई पाउँ भन्‍ने फिराद दाबी रहेको देखिन्छ । २०४६ सालमा नै घरसारमा नरमगरम मिलाई छुट्टिई भिन्‍न भई आआफ्नो भागको जग्गा भोग गरी अलग अलग व्यवहारसमेत गरिआएकोले २०४६ सालपूर्वको सगोलको सम्पत्तिमा मात्र वादीले अंश पाउनुपर्ने हो भन्‍ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको देखियो । सुरू दोलखा जिल्ला अदालतले तायदाती फाँटवारीमा उल्लेख भएको भिडेको सम्पूर्ण सम्पत्ति जग्गालाई १५ भाग लगाई सोको २ भाग अंश वादीहरूले पाउने भई चलनसमेत चलाई पाउने ठहर गरेको फैसला पुनरावेदन अदालत पाटनबाट सदर हुने ठहर्‍याएको फैसलाउपर प्रतिवादी प्रेमकुमार खड्काले चित्त नबुझाई यस अदालतमा मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्‍ने निवेदन दिई मुद्दा दोहोर्‍याई हेरी पाउने अनुमति प्रदान भई पुनरावेदनको रोहमा निर्णयार्थ यस इजलासमा पेस भएको पाइयो ।  

३. प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा, अंशियारबाहेकको व्यक्ति र अंशियारको नाउँमा संयुक्त जग्गा दर्ता रहेकोमा सो जग्गाबाट अंशियार नरहेको व्यक्तिको हिस्सा पर सार्नुपर्ने र अविवाहिता अंशियारको विवाह खर्च पर सार्नुपर्ने भन्‍ने मुख्य जिकिर लिएको पाइन्छ । 

४. यस सम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात हेर्दा, हामी पक्ष विपक्षीको परिवार संख्या ठूलो भई घर व्यवहार चलाउन कठिन भएकाले हाम्रो अंश छुट्याई दिनु भनी विपक्षीलाई भन्दा अंश नदिई घरबाट निकाला गरेकाले सगोलको सम्पूर्ण सम्पत्ति विपक्षीहरूको जिम्मामा रहेकोले निजहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई १५ भाग लगाई सोको २ भाग हामी वादीको अंश छुट्याई चलनसमेत चलाई पाउँ भन्‍ने फिरादको मुख्यदाबी देखिन्छ । आफूहरू वादी प्रतिवादी अंशियार रहेको, आफूहरूको घर परिवार संख्या ठूलो भएको कारण २०४६ सालमा नै घरसल्लाहअनुसार नरमगरम जग्गा छुट्याई मानो छुट्टिएको हुँदा रीतपूर्वकको अंशबन्डा आफूहरूमा नभएकोले सो मिति २०४६ सालपूर्वको सम्पत्तिमा मात्र अंशबन्डा भई हामीसमेतले अंश पाउनुपर्ने भन्‍ने एकै मिलानको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । वादी प्रतिवादीहरू १५ जना अंशियार रहेको देखिन आएकाले निजहरूको वंशवृक्षसमेत सिंहावलोकन गर्नुपर्ने हुन आयो । वादी प्रतिवादीहरूको पुस्तावली देहायबमोजिम रहेको छः-

 

 

प्राविधिक कारणले यसमा भएको पुस्तावली उपलब्ध नहुने भएकाले पुस्तावलीको लागि नेपाल कानून पत्रिका २०७६ वैशाख अंकको पृष्ठ नं. १२७ मा जानुहुन अनुरोध गरिन्छ ।

 

 

 

५. उपरोक्तानुसारको पुस्तावलीमा उल्लेख भएको नाता सम्बन्ध र अंशियार रहेको तथ्यमा कुनै विवाद देखिएन । अंशियारहरूबीच रीतपूर्वकको अंशबन्डा नभएको कुरामा समेत विवाद छैन । प्रतिवादीहरूले आफूहरू ठूलो परिवारको कारण २०४६ सालमा नै घर सल्लाहबमोजिम सगोलको जग्गाहरू नरमगरम मिलाई मानो छुट्टिएकोले उक्त मिति २०४६ सालअघिको सगोलको सम्पत्तिमा मात्र बन्डा हुनुपर्ने भनी प्रतिउत्तर तथा पुनरावेदन जिकिर लिएको पाइन्छ । मिति २०४६ सालमा नै मानो छुट्टिएको भनी प्रतिवादीहरूले जिकिर लिए तापनि मानो छुट्टिएको लिखतको प्रमाणसमेत निजहरूबाट पेस हुन आएको देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम कुनै खास कुराको प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्‍वास दिलाउन चाहने व्यक्तिमाथि नै हुने भन्‍ने कानूनी व्यवस्था रहेको 

पाइन्छ । यस कानूनी व्यवस्थाबमोजिम प्रतिवादीले आफूहरूले २०४६ सालमै घरसल्लाहअनुसार मानो छुट्टिएको भनी जिकिर लिई सो जिकिरलाई पुष्टि गराउनु पर्ने देखिन्छ । सोबमोजिम प्रतिवादीहरूबाट मानो छुट्टिएको कुनै लिखतसमेत पेस हुन सकेको पाइँदैन । 

६. अर्कोतर्फ मुलुकी ऐन रजिस्ट्रेसनको महलको १ नं. बमोजिम अचल सम्पत्ति भएको मानो छुट्टिएको वा मानु जोरिएको लिखत गर्दा रजिस्ट्रेसन गराउनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको पाइन्छ । वादी प्रतिवादीबीच मानो छुट्टिएको भनी जिकिर भएपनि मानो छुट्टिएको लिखत पेस भएको देखिँदैन । प्रतिवादीहरूको जिकिरलाई मात्र आधार मानी वादी प्रतिवादीबीच २०४६ सालमा नै मानो छुट्टिएको हो भनी विश्‍वास गर्न मनासिब देखिँदैन । वादी प्रतिवादीबीच रीतपूर्वकको अंशबन्डा नभएको र मानो छुट्टिएकोसमेत देखिन नआएकाले २०४६ सालमा नै मानो छुट्टिसकेको भन्‍ने जिकिर मनासिब देखिएन । 

७. अंशबन्डा गर्दा वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारीमा उल्लेख भएका अंशियारको नाउँमा रहेको सम्पत्तिहरूमध्ये कुन सगोलको भई बन्डा लाग्ने र कुनकुन सम्पत्ति अंशियारको नाउँमा दर्ता रहेपनि निजी हो भनी यकिन गरी सगोलको सम्पत्ति वा ऋणको हकमा मात्र बन्डा गर्नुपर्ने हुन्छ । प्रतिवादीहरूले २०४६ सालपछि प्राप्‍त भएका जग्गाहरू निजी हुन् र सो जग्गाहरूमा बन्डा लाग्नु पर्ने होइन भनी जिकिर लिएपनि यो जग्गा यस कारण निजी आर्जन, पेवा तथा बकसबाट आएको भनी कुनै पनि प्रमाण गुजार्न सकेको देखिँदैन । केवल प्रतिवादीहरूको प्रतिउत्तर जिकिरलाई मात्र विश्‍वास गर्न मिल्ने पनि देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदातलले अनुमान गर्नेछ भन्‍ने कानूनी व्यवस्था रहेबाट वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारीमा उल्लिखित अंशियारको नाउँमा भिडेको हकसम्मको सम्पूर्ण जग्गाहरू सगोलको देखिन आई बन्डायोग्य नै देखिन आयो ।

८. उक्त तायदाती फाँटवारीमा उल्लिखित जग्गाहरू वादी प्रतिवादी अंशियारभन्दा बाहिरका व्यक्तिसमेतको नाउँमा एकल तथा संयुक्त दर्ता भएको पाइन्छ । प्रेमकुमार खड्का र चन्द्रबहादुर खड्काको नाउँमा कि.नं.१८९, २५७, २५८, २६८, १५६, १८८, २०६, ७३१, १०४, ५६३, ६७२, ६८०, ४, ७, ५०७, ३१३, ३१४, ४, ५५१, ९१, १८५ समेतका २१ कित्ता जग्गाहरू रहेको पाइन्छ । यसैगरी सुधादेवी र भगवतीको नाउँमा कि.नं.१६०, १७९, ६, १३, २०५, १९१ का जग्गाहरू संयुक्त दर्तामा रहेको देखिन्छ । राधादेवी र भगवतीको नाउँमा संयुक्त दर्ताको कि.नं.१५९, १८४, ११७, ११८, १५८, ८९४, ८९५ को जग्गाहरू रहेको पाइन्छ भने सुधादेवी र दुर्गाको नाउँमा कि.नं.२३० को जग्गा रहेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी तथा वादी नरहेका व्यक्तिहरू चन्द्रबहादुर, सुधादेवी, राधादेवीलगायतका अन्य व्यक्तिहरूसमेतको नाउँमा संयक्त दर्ताको जग्गाहरू रहेको पाइन्छ । चन्द्रबहादुर र प्रेमकुमार मूल अंशियार रहेको देखिन्छ । यसरी मूल अंशियारबीच नै संयुक्त दर्ताको जग्गाहरू रहेको देखिँदा निजहरू एकासगोलको वा अंशबन्डा भई छुट्टिई भिन्‍न भएको हो भन्‍ने सम्बन्धमा समेत विवेचना गर्नुपर्ने देखिन आयो ।

९. सो सम्बन्धमा प्रमाणको रूपमा पेस भएको मिसिल हेर्दा, वादी प्रेमकुमार खड्का र प्रतिवादी चन्द्रबहादुर खड्का भएको २४३२।३७८६ को अंश चलनको मुद्दा काठमाडौं जिल्ला अदालतमा मिति २०५०।०६।०६ मा दायर भएको देखिन्छ । सो मुद्दाको फिराद पत्रमा वादीले आफूले चन्द्रबहादुर खड्का विरूद्ध मिति २०४५।०९।२३ मा मुद्दा दायर गरेकोमा वादी प्रतिवादी दुवैले तारेख गुजार्दा खारेजी फैसला भएको भन्‍ने बेहोरा उल्लेख गरेको पाइन्छ । यस मुद्दामा समेत वादी प्रेमकुमार खड्काले मुद्दा दायर गरेपछि प्रतिवादीले प्रतिउत्तर फिराउन नपाउँदै निज वादीले म्याद गुजारेको भनी फिराद खारेज भएको पाइन्छ । 

१०. यसैगरी वादी चन्द्रबहादुर खड्का र प्रतिवादी प्रेमकुमार खड्का भएको ३३।१६७ को अंश चलन मुद्दा मिति २०६७।५।२४ मा दोलखा जिल्ला अदालतमा दायर भएको देखिन्छ । यस अंश चलन मुद्दा पम्फा खड्कासमेत विरूद्ध प्रेमकुमार खड्कासमेत भएको १९।२६८ को अंश चलन मुद्दाभन्दा पछि दायर भएको देखिन्छ । प्रतिवादी प्रेमकुमार खड्काले प्रतिउत्तर फिराएको, दुवै पक्षको साक्षी परीक्षणसमेत भएको तर अदालतबाट वादी प्रतिवादीबाट तायदाती फाँटवारी माग गरेको अवस्थामा दुवै पक्षले तारेख गुजारेको पाइन्छ । वादी प्रतिवादी दुवै पक्षले तारेख गुजारेकाले सो मुद्दा तामेलीमा राखिएको पाइन्छ । 

११. मूल अंशियार चन्द्रबहादुर खड्काले यसै मुद्दाको प्रतिवादीहरू सीता, पवित्रा खड्कासमेतको साक्षी रही सुरू अदालतमा बकपत्र गरेको पाइन्छ । निजले प्रेमकुमार खड्का र आफू चन्दबहादुर खड्का दाजुभाइ रहेको, आफूहरूकै बीचमा अंशबन्डा नभएको हुँदा पहिला आफूहरूबीचमा नै अंशबन्डा हुनुपर्ने हो । त्यसपछि मात्र वादी प्रतिवादीहरूबीच अंशबन्डा हुनुपर्ने हो । वादी प्रतिवादीहरू २०४६ सालदेखि मानो छुट्टी भिन्‍न बसेको नहुँदा वादी प्रतिवादीबीच अंशबन्डा हुनुपर्ने हो भनी बकपत्र गरेको पाइन्छ ।

१२. यसैगरी यस अदालतबाट मुलुकी ऐन, अ.बं.१३९ नं. बमोजिम प्रस्तुत मुद्दामा प्रतिवादी नरहेका चन्द्रबहादुरको पत्‍नीहरू राधादेवी र सुधादेवी खड्कालाई बुझिएको पाइन्छ । सुधादेवीको वारेस भई आफ्नो हकमा समेत राधादेवीले आफ्नो पति चन्द्रबहादुर खड्का र देवर प्रेमकुमार खड्का २०४० सालमा नै घरसारमा छुट्टिई भिन्‍न भएकोले प्रेमकुमार आफूहरूको सगोलको अंशियार होइनन् भनी बकपत्र गरेको पाइन्छ ।

१३. वस्तुतः निज मूल अंशियारहरूको नाउँमा यद्यपि संयुक्त दर्ताको जग्गाहरू रहेको र  निजहरूबीच अघि चलेको अंश मुद्दाबाट बन्डा छुट्टिई नसकी सगोलमै रहेको देखिन आयो । मूल अंशियारहरूले अंश नछुट्याई सगोलमा बसेपनि प्रेमकुमार खड्काको चार श्रीमती भई धेरै अंशियारको जायजन्म भइरहेको देखियो । यस अवस्थामा मूल अंशियारबीचमा बन्डा नभएपनि तल्लो पुस्ताका अंशियारहरूले आफ्नो पति पिताबाट प्राप्‍त गर्ने अंशहक बन्डा गरी दिनुपर्ने हुन्छ । अन्यथा तल्लो पुस्ताका अंशियारहरूको जीवनयापनमा नै समस्या आउने सक्ने हुन्छ । मूल अंशियारको बीचमा बन्डा नभएपनि पछिल्लो पुस्ताका छोरा छोरीहरूले मूल अंशियारबीचको हकहिस्सा छुट्याई आफ्नो आफ्नो पिता पतिको हिस्साबाट अंश पाउने नै हुन्छ ।

१४. यस सम्बन्धमा मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ४ नं. हेर्दा, “सासू ससुरासमेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा कुटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरू स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे । त्यस्ती स्वास्नीमानिस मरेमा वा निजले अर्को विवाह गरेमा उसले खाई लाई बाँकी रहेजति हकवालाको हुन्छ । सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमदअनुसार खान लाउन दिनुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्था हेर्दा, प्रतिवादी प्रेमकुमारको भगवती, पम्फा, दुर्गा र कमला चारवटी पत्‍नी भएको देखिन्छ । यी चारवटी पत्‍नीमध्ये वादी पम्फाको नाउँ कुनै जग्गा रहेको देखिँदैन । तर अन्य तीनवटी पत्‍नीहरूको नाउँमा एकल तथा संयुक्त दर्ताको जग्गाहरू रहेको देखिन्छ । वादी पम्फाको छोरा लालकाजीको नाउँमा भने अंशियार नदेखिएको दिपेससँगको संयुक्त दर्ताको कि.न.१६३३ को एक मात्र जग्गा रहेको देखिन्छ । यस्तो स्थितिमा उपर्युक्त प्रस्तुत ४ नं. को कानूनी व्यवस्थाले समेत अंश पाउन सक्ने कुराको प्रत्याभूत गरेकाले समेत वादीहरूले आफ्नो पति / पिताको अंशबाट आफूहरूले अंश छुट्याई लिन पाउने नै देखिन आयो ।

१५. यसै सन्दर्भमा ने.का.प. २०७१, अंक ११, नि.नं.९२७९ मा प्रकाशित विक्कीरत्‍न शाक्यसमेत वि. कुलरत्न शाक्यसमेत भएको अंश चलन मुद्दामा यस अदालतको पूर्ण इजलासबाट सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन नमिल्ने भनी न्यायिक सिद्धान्त प्रतिपादन भएको छ । उपर्युक्त न्यायिक सिद्धान्तलाई प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा, वादी प्रतिवादीका मूल अंशियारले प्राप्‍त गरेको अंशहक नै आआफ्नो हाँगातर्फका अंशियारमार्फत वादी प्रतिवादीहरूले प्राप्‍त गर्ने हो । यस अर्थमा मूल अंशियारबीच अंशबन्डा नभएपनि अविभाजित सगोलको सम्पत्तिमा मूल अंशियारका सन्तानहरूको समेत हक र हित निहित रहेको देखिन्छ । मूल अंशियारको सन्तानहरूको हक हित निहित रहेको सगोलको सम्पत्तिमा मूल अंशियारहरूमध्ये कुनै अंशियारले कहिले काठमाडौं जिल्ला अदालतमा अंश चलन मुद्दा दायर गर्ने, कहिले दोलखा जिल्ला अदालतमा सोही विषयमा एकआपसमा मुद्दा दायर गर्ने, मुद्दा दायर भएपश्‍चात् अदालतबाट तोकिएको तारेख गुजारी मुद्दा तामेलीमा गई अंशबन्डासम्बन्धी प्रक्रिया अघि बढ्न नसकी यथावस्थामा रहेको तत् तत् मुद्दाको मिसिलबाट देखिन आएको छ । वादी प्रतिवादीका अघिल्ला पुस्ताबाट भएको उक्त क्रियाकलापबाट वादी प्रतिवादीसमेतका अंशहक निहित रहेको, सम्पत्ति यथास्थितिमा रही सो सम्पत्तिउपर वादीहरूको हक स्थापना हुन नसकेको अवस्था देखिन आएको छ । अघिल्लो पुस्ताको उक्त व्यवहारबाट पछिल्ला पुस्ताका अंशियारको हक हितमा असर पुर्‍याउन मिल्ने हुँदैन ।

१६. वस्तुतः व्यक्तिको अंशसम्बन्धी हकलाई हाम्रो संविधान तथा देवानी न्याय प्रणालीले व्यक्तिको अन्तर्निहित नैसर्गिक अधिकारको रूपमा आत्मसात् गरेको छ । अंशियार भएको हैसियतले सगोलको सम्पत्तिबाट अंश पाउनु अंशियारको नैसर्गिक साम्पत्तिक अधिकार हो । त्यसका अतिरिक्त नेपालको संविधानले सम्पत्तिको अधिकारलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको छ । अंशहकको नैसर्गिक अधिकारलाई लामो अवधिदेखि मूल अंशियारबीचको अंशसम्बन्धी विवादको उचित निकास नभई यथास्थितिमा रहेको कारणबाट मात्र पछिल्लो पुस्ताका अंशियारहरूले कानूनबमोजिम अंश पाउने हकबाट वञ्‍चित हुनपर्ने अवस्था प्रचलित कानूनले पनि कल्पना गरेको छैन । अघिल्लो पुस्ताबीचको अंश विवादको निकास नभएको कारण अंशहकबाट ढिलासुस्ती गरी पछिल्लो पुस्ताको सिङ्गो जीवनयापन तथा वृत्तिविकासलगायतको कार्यमा अवरोध आउने तथा वञ्‍चित गराउने कार्य युक्तिसङ्गत एवं न्यायसङ्गत हुन सक्दैन । 

१७. प्रस्तुत विवादको सन्दर्भमा हेर्दा, मूल अंशियारहरू चन्द्रबहादुर र प्रेमकुमारबीच नै रीतपूर्वकको अंशबन्डा भएको पाइँदैन । चन्द्रबहादुरको २ पत्‍नी राधा र सुधाको नाउँको र प्रेमकुमारको पत्‍नी भगवती र कमलाको नाउँमा संयुक्त जग्गाहरू दर्ता रहेको देखिन्छ । प्रेमकुमार र चन्द्रबहादुरको नाउँमा पनि संयुक्त जग्गाहरू दर्ता रहेका छन् । उल्लिखित सबै व्यक्तिहरू अंशियार भएको देखिन्छ । राधा र सुधाले पुनरावेदन नगरी चित्त बुझाएका छन् । निजहरूको एकलौटी सम्पत्ति पनि देखिँदैन । पैतृक भएपनि दुई दाजुभाइको पत्‍नीहरूको नाउँमा संयुक्त दर्ता हुन गएको छ । यस स्थितिमा यी सम्पत्तिहरू बन्डायोग्य भई अंशियारबीच बन्डा हुने देखियो । यस अवस्थामा उल्लिखित सम्पत्ति पनि यसै मुद्दाबाट बन्डा छुट्याई दिन कुनै बाधा छैन । प्रतिवादी प्रेमकुमारले चारवटी पत्‍नी विवाह गरेको देखिन्छ । यस अवस्थामा जीवनयापनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकतालाई विचार गरी अंश छुट्याउने कार्यलाई अल्मल्याई अनेकौं कानूनी छिद्रको फाइदा उठाउँदै मुद्दापछि मुद्दा दिँदै तामेलीमा राख्दै व्यावहारिक एवं वास्तविक रूपमा अंश पाउने कार्यलाई ढिलाई गरिराख्‍नु न्यायोचित र कानूनसम्मत देखिएन ।

१८. अब, अंशियार नरहेको व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गाको हकमा अंशियार नै नरहेको व्यक्तिको हिस्सा पर नसारी सगोलको सम्पत्ति भनी बन्डा लाग्ने ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, तायदाती फाँटवारीमा लोकेन्द्र र अशोकको नाउँमा कि.नं.४९५, ७३०, तारा र दिपेसको नाउँमा कि.नं.७८२, ७८४, अशोक र ताराको नाउँमा कि.नं.४८५, कमला र रञ्‍जुको नाउँमा कि.नं.२४७१, लालकाजी र दिपेसको नाउँमा कि.नं.१६३३, चन्द्र, प्रेम र शेरको नाउँमा कि.नं.१४२, १५९, १६२ र सतिदेवी, प्रेम र चन्द्रको नाउँमा कि.नं.२६४ समेतका जग्गाहरू संयुक्त दर्तामा रहेको पाइन्छ । यहाँ अशोक, दिपेस, रञ्‍जु, शेर र सतिदेवी अंशियार भए नभएको कुरा अदालतबाट समेत नबुझिएको र कुनै प्रमाणबाट खुल्न आएको पाइँदैन । यस्तो स्थितिमा तत्काल प्रमाणबाट अंशियार नदेखिएका व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गाको हकमा अंशियारले पाउने हिस्सा मात्र अन्यथा प्रमाणित नभएसम्म सगोलको भई बन्डायोग्य हुने हुन्छ । अतः यी अंशियारबाहेकको व्यक्तिको हिस्सा पर सारी अंशियारको भागमा पर्ने हिस्सा मात्र सगोलको भई अंशियारबीच अंशबन्डा हुने देखिन आएकोले सुरू तथा पुनरावेदन अदालतबाट अंशियारबाहेकको व्यक्तिको हिस्सा पर नसारी गरेको फैसला सो हदसम्म मिलेको देखिन आएन ।   

१९. अर्कोतर्फ प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत पाटनबाट अंशियारमध्ये अविवाहिता अंशियारहरू कुशल, पवित्रा, ललिता, संगीता र गीताको विवाह खर्च पर सार्नुपर्नेमा सो नगरेको भनी जिकिर लिएको सम्बन्धमा विचार गर्दा, निज अंशियारहरू अविवाहित रहेको भन्‍ने पुनरावेदकको जिकिर सम्बन्धमा प्रत्यर्थीहरूबाट कुनै प्रश्‍न उठेको पाइँदैन । निजहरू अविवाहित रहेको देखिएको सन्दर्भमा यससम्बन्धी कानूनी व्यवस्था हेर्दा, मुलुकी ऐन, अंशबन्डाको महलको १७ नं. मा “विवाह नभएका छोरा छोरीको विवाह खर्च पर सार्दा विवाह नभएका छोराछोरी धेरै भएपनि थोरै भएपनि जम्मा धन सम्पत्ति दुई हजारदेखि बढ्ता ठहरे सयकडा पाँच, दुई हजारदेखि मुनि एक हजारसम्म धन सम्पत्ति ठहरे सयकडा दश, एक हजारदेखि घटी धन सम्पत्ति ठहरे सयकडा बीसका दरले विवाह खर्च पर सारी जस्तो हिसाबको अंश पाउँछ सोही हिसाबसित दामासाही गरी विवाह खर्च पनि बाँडिदिनु पर्छ लेखिएबमोजिम बन्डा गर्दा विवाह खर्च पाउने एक जवान मात्र र अंश पाउने अंशियार धेरै जवान भई अंशियारले पाउने अंशभन्दा विवाह खर्च धेरै पाउने भएमा अंशियार एक जनाले पाउने अंशको चार खण्डको तीन खण्डसम्म विवाह खर्च पाउँछ बढी पाउँदैन भाइभाइको अंश गर्दामा भए भाइभाइको छोरा छोरीहरूलाई विवाह खर्च पर सार्नु पर्दैन” भन्‍ने कानूनी प्रावधान रहेको पाइन्छ । 

२०. उपर्युक्त कानूनी व्यवस्थामा अविवाहिता अंशियारको संख्या जति भएपनि जम्मा बन्डा गर्नु पर्ने सम्पत्ति रू.२,०००।- भन्दा बढ्ता भएमा ५ प्रतिशत विवाह खर्च छुट्याई पाउने देखिन्छ । प्रस्तुत मुद्दामा बन्डायोग्य सम्पत्ति दुई हजारभन्दा बढी नै रहेको देखिन आएको हुँदा प्रेमकुमारको भागको बन्डायोग्य जम्मा जग्गा सम्पत्तिको ५ प्रतिशत अविवाहिता अंशियारहरू कुशल, पवित्रा, ललिता, संगीता र गीताको विवाह खर्च पर सार्नुपर्ने देखिन आयो ।    

२१. अतः मूल अंशियार प्रेमकुमार र चन्द्रबहादुर खड्काबीच नै रीतपूवर्कको अंशबन्डा भएको नदेखिँदा तायदातीमा उल्लिखित भिड्न आएको सम्पूर्ण सम्पत्ति र अंशियारबाहेकको व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गाहरूमा अंशियारको हक हिस्सासमेतलाई मूल अंशियार २ (दुई) जना रहेकोले २(दुई) भाग लगाई प्रेमकुमारतर्फ पर्ने १ (एक) भाग सम्पत्तिबाट अविवाहिता छोराछोरीको विवाह खर्च ५ (पाँच) प्रतिशत छुट्याई विवाह खर्च परसारी बाँकी सम्पत्तिलाई पुनः १५ (पन्ध्र) भाग लगाई सोको २ (दुई) भाग वादीहरूले अंश पाउने ठहर्छ । अंशियारबाहेकको व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गाहरूको हकमा अंशियारले पाउने हिस्साको जग्गा मात्र सगोलको भई बन्डा लाग्ने ठहर्छ । अंशियारबाहेकको नाउँमा निजको हिस्साबाहेक गरी बाँकी हिस्साको जग्गासम्म बन्डा लाग्नु पर्नेमा पुरै जग्गा बन्डा लगाएको र अविवाहिता छोराछोरीहरूको विवाहखर्च नछुट्याएको हकमा सम्म पुनरावेदन अदालत पाटनको मिति २०७०।१०।०९ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुनेसमेत ठहर्छ । २०४६ सालमा नै घरसारमा नरमगरम मिलाई मानो छुट्टिएकोले सो मितिभन्दा अघिको सम्पत्ति मात्र बन्डा हुनुपर्ने हो भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।  

तपसिल

वादी पम्फा खड्का र लालकाजी खड्काको हकमा:

माथि ठहर खण्डमा लेखिएबमोजिम मूल अंशियार प्रेमकुमार र चन्द्रबहादुर खड्काबीच नै रीतपूर्वकको अंशबन्डा भएको नदेखिँदा तायदातीमा उल्लिखित भिड्न आएको सम्पत्ति र अंशियारबाहेकको व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गाहरूमा अंशियारको हक हिस्सासमेतको जग्गाहरूलाई २ (दुई) भाग लगाई प्रेमकुमारतर्फ पर्ने १ (एक) भाग सम्पत्तिबाट अविवाहिता छोराछोरीको विवाहखर्च ५ (पाँच) प्रतिशत छुट्याई विवाह खर्च परसारी बाँकी सम्पत्तिलाई पुनः १५ (पन्ध्र) भाग लगाई सोमध्ये २ (दुई) भाग वादीहरूले अंश पाउने ठहर भई अंशियारबाहेकको नाउँमा संयुक्त दर्ता रहेको जग्गामध्ये निजको हिस्साबाहेक गरी बाँकी हिस्साको जग्गासम्म २ (दुई) भाग गरी प्रेमकुमार तर्फको १ (एक) भागबाट बन्डा लाग्नु पर्नेमा पूरै जग्गा बन्डा लगाएको र अविवाहिता छोराछोरीहरूको विवाहखर्च नछुट्याएको हदसम्मको हकमा पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी हुने ठहर भई यस अदालतबाट फैसला भएकोले कानूनको म्यादभित्र वादीले अंश छुट्याई चलन चलाई पाउँ भनी निवेदन दिएमा कानूनबमोजिम निम्न कार्य गरी वादीहरूलाई अंश छुट्याई चलन चलाई दिनु भनी सुरू दोलखा जिल्ला अदालतमा लेखी पठाउनू ---१

वादी प्रतिवादीले पेस गरेका तायदाती फाँटवारीमा अंशियारबीच भिडेका निम्न जग्गाहरू सगोलको हुँदा २ (दुई) भाग लगाई प्रेमकुमारतर्फ पर्ने १ (एक) भागको ५ (पाँच) प्रतिसत विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई पुनः १५ (पन्ध्र) भाग लगाई सोको २ (दुई) भाग वादीहरूले पाउने जग्गाहरू: 

सि.नं. जिल्ला गा.वि.स. ज.धनीको  नाम वडा नं. कि.नं. क्षेत्रफल किसिम मूल्य (रू)

१ दोलाखा क्षेत्रपा दुर्गा खड्का ५ १८ २५० पा.दो. ६,०००

२        “ सुनखानी प्रेमकुमार ३ ४२२ २७० पा.सि. ५,०००

३        “        “             “ ३ ४२६ ७०५ पा.सि. १२,०००

४        “        “             “ ३ ४३७ १०७५ पा.सि. २२,०००

५        “        “             “ ३ ४४० १२५० पा.सि. २५,०००

६        “        “             “ ३ ४६७ २० खे.सि. ४००

७        “        “             “ ३ ५७७ ८३५ पा.सि. १३,०००

८        “        “             “ ३ ६७५ ४११५ खे.सि. ८१,०००

९        “        “             “ ३ ६८१ १२६५ पा.सि. २५,०००

१०        “        “             “ ३ ४४८ २९९५ पा.सि. ६०,०००

११        “ क्षेत्रपा             “ ५ २५४ १००० खे.सि. २,०००

१२        “ सुनखानी             “ ३ २८२ ३३३५ खे.सि. ६७,०००

१३        “       “             “ ३ २९० २२०५ खे.सि. ४५,०००

१४        “       “             “ ३ २९१ ८१५ खे.सि. १७,०००

१५        “       “             “ ३ २६४ ९६५ खे.सि. १६,०००

१६        “       “             “ ३ ३९८ ६७५ खे.सि. १५,०००

१७        “ क्षेत्रपा प्रेम र चन्द्र ५ १८९ ११५० पा.चा. ६,०००

१८        “         “              “ “ २५७ ३१० पा.दो. २,०००

१९        “         “              “       “ २५८ ६५० खे.सि. १०,०००

२०        “         “              “       “ २६८ ३०६० पा.सि. ६०,०००

२१        “         “              “       “ १५६ २६५ खे.सि. ५,०००

२२        “         “              “       “ १८८ १०४० पा.चा. ६,०००

२३        “         “              “       “ २०६ ५४५ खे.सि. १०,०००

२४        “         “              “ १ ७३१ ५६५ खे.सि. १०,०००

२५        “         “              “       “ १०४ ११९५ पा.चा. ६,०००

२६        “         “              “       “ ५६३ ५१५ खे.सि. १०,०००

२७        “         “              “       “ ६७२ ५०५ खे.सि. १०,०००

२८        “         “              “       “ ६८० ४२५ खे.सि. ७,०००

२९        “         “              “       “ ४ १२६० खे.दो. २०,०००

३०        “         “              “       “ ७ ८२५ खे.दो. १३,०००

३१        “         “              “ १ ५०७ ५६५५ खे.दो. १००,०००

३२        “         “              “ २ ३१३ ३८५५ खे.दो. ७०,०००

३३        “         “              “     “ ३१४ ११० खे.दो. ५००

३४        “         “              “ ४ ४ ३३५ खे.दो. ७००

३५        “         “              “ “ ५५१ ७५५ पा.सि. १०,०००

३६        “         “              “ ५ ९१ ५०० पा.दो. ५०००

३७        “         “              “ “ १८५ १२०० पा.दो. १८,०००

३८        “         “ लोकेन्द्र ब. १ ५७२ २५५० खे.सि. ५०,०००

३९        “         “ भगवती ५ ८९ ८६० पा.दो. ११,०००

४०        “         “             “       “ २३५ ६४५ खे.सि. ११,०००

४१        “         “             “       “ २५० ११०० खे.सि. २०,०००

४२        “         “             “ ६ १६३ ८२५ पा.दो. ११,०००

४३        “         “ ताराकुमार १ ६८४ ९२५ खे.सि. १५,०००

४४        “         “             “ ५ ४८७ ९२५ खे.सि. १५,०००

४५        “         “ दुर्गा खड्का ३ १८३ १३७० पा.चा. ७,०००

४६        “         “ सुधादेवी, भगवती ५ १६० १२०० खे.सि. २१,०००

४७        “         “               “       “ १७९ २३०० पा.दो. ४०,०००

४८        “         “ कमलादेवी ३ १८० १५९० पा.दो. ३०,०००

४९        “         “ राधावेदी, भगवती ५ १५९ ४७५ खे.सि. ८,०००

५०        “         “              “       “ १८४ १४५० पा.दो. २५,०००

५१     “     “              “ १ ११७ ७१७० खे.दो. १४०,०००

५२     “     “              “       “ ११८ २०३० पा.दो. ४०,०००

५३     “    “              “ ५ १५८ २४४० खे.सि. ४५,०००

५४      “    “              “ १ ८९४ ७०० खे.दो. ११,०००

५५      “    “              “       “ ८९५ ४०७० खे.दो. ८०,०००

५६      “    “ सुधादेवी, भगवती १ ६ १२२२८ ५०,०००

५७      “    “                “       “ १३ १६४३० ५०,०००

५८       “    “                “ ४ २०५ १४६० २५,०००

५९      “    “                “ ५ १९१ २५३० ४०,०००

६०      “    “ सुधादेवी, दुर्गा ४ २३० ४५२० ५,०००

६१     “ काभ्रे कमलादेवी ३ १७० २९३ ५,०००

६२     “        “                “ ५ १८२४ ७७६ ७,०००

६३     “        “                “       “ १८२७ २५० ५००

६४ ल.पु. इमाडोल                “ १ ३१४ ०-५-०-० २५०,०००

६५         “        “                “ ७ ५९७ ०-४-१-० २०,०००

६६         “        “                “ ३ २४७३ ०-२-०-२ १५०,०००

६७         “        “                “        “ २३५८ ०-३-०-० २००,०००

६८         “        “                “       “ २३५६ ०-०-३-२ ५०,०००

६९         “        “                “        “ २३५० ०-०-१-० ३०,०००

७०        “         “ सुशिला खड्का        “ २००३ ०-८-०-१ ५०,०००

  जम्मा २,३०३,१००

 

 

वादी प्रतिवादीले पेस गरेका तायदाती फाँटवारीमा अंशियारबाहेकका व्यक्ति र अंशियारको नाउँमा संयुक्त दर्ता रहेको जग्गामा अंशियारबाहेकको व्यक्तिको हिस्सा पर सारी अंशियारको हिस्सा मात्र सगोलको हुँदा २ (दुई) भाग लगाई प्रेमकुमारतर्फ पर्ने १ (एक) भागको ५ (पाँच) प्रतिशत विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई पुनः १५ (पन्ध्र) भाग लगाई सोको २ (दुई) भाग वादीहरूले पाउने जग्गाहरू:

सि.नं. जिल्ला गा.वि.स. ज.धनीको  नाम वडा नं. कि.नं. क्षेत्रफल किसिम मूल्य (रू)

१ दोलखा क्षेत्रपा लोकेन्द्र, अशोक १ ४९५ ५४५० खे.दो. १००००

२       “         “                “        “ ७३० ४९४० खे.सि. ८००००

३       “         “ तारा, दिपेस १ ७८२ ६२५० खे.सि. १२००००

४       “         “               “       “ ७८४ ४८८० खे.सि. ९००००

५       “         “ अशोक, तारा ५ ४८५ ११३२५ पा.सि. २००,०००

६ ल.पु. इमाडोल कमला, रञ्जु ३ २४७१ ०-३-०-१ २२००००

७ दोलखा जुगु लालकाजी, दिपेस ४ १६३३ ९७२० २५०००

८        “ क्षेत्रपा चन्द्र, प्रेम, शेर १ १४२ १४३० २५०००

९        “       “                 “       “ १५९ ७५५ १०,०००

१०        “       “                 “       “ १६२ १२६० २५,०००

११     “    “ सतीदेवी,प्रेम,चन्द्र ३ २६४ १९६० १०,०००

  जम्मा ८१५०००

 

 

प्रतिवादीहरू कुशल, पवित्रा, ललिता, संगीता र गीताको हकमाः

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू कुशल, पवित्रा, ललिता, संगीता र गीता अविवाहिता रहेको देखिन आएकाले बन्डायोग्य सम्पूर्ण सम्पत्तिलाई २ (दुई) भाग लगाई प्रतिवादी प्रेमकुमारतर्फ पर्ने १ (एक) भाग सम्पत्तिको ५ (पाँच) प्रतिशत सम्पत्ति निज अविवाहिता अंशियारको विवाह खर्च पर सारी दामासाहीले बाँडी दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ----२

वादी पम्फा खड्का र लालकाजी खड्काको हकमाः

वादीहरूले माथि ठहरखण्डमा लेखिएबमोजिम अंश पाउने ठहरी यस अदालतबाट फैसला भएकोले निजले हालसम्म कोर्ट फी बुझाएको नदेखिँदा सम्पूर्ण बन्डायोग्य जग्गाहरू रू.२७,१०,६००।- (सत्ताइस लाख, दश हजार छ सय रूपैयाँ) लाई २ (दुई) भाग लगाई प्रेमकुमारतर्फ पर्ने १ (एक) भाग जग्गाबाट ५ (पाँच) प्रतिशत अविवाहिता अंशियारको विवाह खर्च पर सारी बाँकी जग्गालाई पुनः १५ (पन्ध्र) भाग लगाई सोको २ (दुई) भाग रू.१,७१,६७१।३३।- (एक लाख एकत्तर हजार छ सय एकहत्तर रूपैयाँ, तेत्तीस पैसा मूल्य बराबरको जग्गा वादीहरूले अंश पाउने ठहरेकाले सोको हुन आउने कोर्ट फी रू.४,७०३।४२।- (चार हजार सात सय तीन रूपैयाँ बयालीस पैसा) प्रतिवादीबाट असुल गर्नु, प्रतिवादीबाट असुल हुन नसकेमा वादीबाट नै जरिवानासरह असुलउपर गर्नु भनी सुरू दोलखा जिल्ला अदालतमा लेखी पठाउनू ------३

वादीबाट नपुग कोर्ट फी जरिवानासरह असुल गरेको अवस्थामा वादीले कोर्ट फी ऐन, २०१७ को दफा १५(११) अनुसार प्रतिवादीबाट उक्त कोर्ट फी भराई लिन पाउने हुँदा वादीले प्रतिवादीको यसै सरहदको जेथा देखाई भराई पाउँ भनी कानूनको म्यादभित्र दरखास्त दिए कुनै दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी सुरू अदालतमा लेखी पठाउनू ------४  

प्रस्तुत फैसला अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू -५

 

उक्त रायमा सहमत छु ।

न्या. पुरूषोत्तम भण्डारी 

 

इजलास अधिकृतः कालीबहादुर साम्यू लिम्बू

इति संवत् २०७५ साल जेठ २० गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु