शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१८० - डाँका

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्‍च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही 

फैसला मिति : २०७५।२।१६

०६८-CR-०४४२

 

मुद्दाः डाँका

 

पुनरावेदक / वादी : जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ बस्ने जीवन कार्कीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्‍तरी, बदगामा गाउँ विकास समिति वडा नं. ८ बस्ने राम अशिष मुखिया

 

मुद्दा पुर्पक्षको क्रममा प्रतिवादीले राखेको जेथा अ.बं. १२४क नं. अनुरूप तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा जफत हुनेछ भनी कागज गराउनु पर्ने बाध्यकारी सर्त पालना नगरी जेथा जफत हुने कागज नगराएको अवस्थामा जेथा जफत हुनु नै पर्छ भन्नु न्यायोचित  नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री रमेश पोखरेल

सप्‍तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री कुमार चुडाल

पुनरावेदन अदालत‚ राजविराज

 

फैसला

न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस निम्नअनुसार छः-

म मिति २०६३।१२।२२ गते काम विशेषले काठमाडौंबाट धनकुटातर्फ बा. २३ प १३२४ नं. को मोटरसाइकलमा चढी महेन्द्र राजमार्गमा गइरहेको अवस्थामा जिल्ला सप्तरी गाउँ विकास समिति ठेलिया वडा नं. ५ स्थित पुग्दा ६ जना मानिसहरूले मेरो मोटरसाइकल रोकी मलाई कुटपिटसमेत गरी मोटरसाइकल र घडी डाँका गरी सोही मोटरसाइकलमा चढी लिएर गएको र ३ जना पैदल भागेकोले मैले गुहार भनी कराउँदा स्थानीय मानिसहरू घटनास्थलमा आई मसमेत भई लखेट्दै जाँदा तिन जाना डाँकाहरूलाई समाती निजहरूको साथमा कटुवा पेस्तोलसमेत रहेकोले बरामद गरी प्रहरी पुगेपछि जिम्मा लगाएको हो, अन्य प्रतिवादीहरूको बारेमा निजहरूसमेतबाटै खुलाई मेरो बिगो रू.१,२५,१३०।- समेत दिलाई भराई कारबाहीसमेत गरिपाउँ भन्ने जाहेरी दरखास्त ।

जिल्ला सप्तरी ठेलिया ५ स्थित पूर्वमा नयाँ सीमा हटिया, पश्चिममा वक्साहा चौक, उत्तर खाली जग्गा, दक्षिण खाली जग्गा, यति चार किलाभित्र महेन्द्र राजमार्गमा रहेको कलभटको पश्चिम छेउ राजमार्गमा प्रतिवादी राजीकुमार मण्डलले जिवन कार्कीको बा. २३ प.१३२४ नं. को मोटरसाइकल डाँका गरी लगेको र घटनास्थलदेखि २०० मिटर दाँयामा प्रतिवादी राजीकुमार मण्डल, मो. वकिल मिया र प्र. राम असिस मुखियालाई हतियारसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरेको भन्ने घटनास्थल मुचुल्का र प्रहरी प्रतिवेदन ।

जिवन कार्कीको मुख, औंला र घुँडासमेतमा चोट लागेको भन्ने केस फाराम रिपोर्ट ।

मिति २०६३।१२।२२ गते रामजनम यादव, वेचन यादव, राजीकुमार मण्डल, राम असिस मुखिया र संजय साह पूर्वयोजना बनाई मोटरसाइकल डाँका गर्न भनी भारदहबाट भेला भई छुट्टाछुट्टै बसमा चढी सिमरामा उत्रेर ढुकेर बसिरहेको अवस्थामा पश्चिमतिरबाट उक्त मोटरसाइकल आएकोले हतियार पेस्तोल देखाई कुटपिटसमेत गरी मोटरसाइकल लुटी ३ जना सोही मोटरसाइकलमा चढी गएको र हामी ३ जना पैदल भाग्दै गर्दा स्थानीय जनतासमेतले पक्राउ गरेको हो, भन्नेसमेत प्रतिवादी मो. वकिल मियाको साबिती बयान ।

जाहेरीमा उल्लिखित वारदात मिति समयमा म रामजनम यादव, मो. वकिल मिया, वेचन यादव, राम असिस मुखिया र संजय साह ६ जना ठेलीयाको सिमरा ठाउँमा मोटरसाइकलको लागि ढुकेर बसेको अवस्थामा पश्चिमबाट जाहेरवालाको मोटरसाइकल आएकोले हतियार पेस्तोल तेर्साई रोकेर लुटी लगेको हो र ३ जना सोही मोटरसाइकल लिएर गए हामी पक्राउ तीन जना पैदल भाग्दै गर्दा पक्राउ परेको हौं, हतियार कुटुवासमेत हामीवाट बरामद भएको छ भन्नेसमेत बेहोराको प्र.राजीकुमार मण्डलको साबिती बयान ।

जाहेरीमा उल्लिखित मितिका दिन मलगायतका राजी कुमार, मो. वकिल, रामजनम, वेचन र संजयसमेत ६ जना मोटरसाइकल डाँका गर्नको लागि ठेलिया गा.वि.स. स्थित सीमा भन्ने ठाउँमा गई पश्चिमबाट आइरहेको जाहेरवालाको मोटरसाइकल लुटी भाग्दै गर्दा हामीलाई हतियारसहित जनताले समातेको हो भन्नेसमेत बेहोराको प्रतिवादी राम असिस मुखियाको बयान ।

जाहेरीमा उल्लिखित वारदात मिति समयमा प्रतिवादी राजीकुमार मण्डल, मो. वकिल मिया, राम असिस मुखिया, रामजनम यादव, वेचन यादव र संजय साहसमेतले जाहेरवालाको मोटरसाइकलमा गइरहेको बा. २३ प १३२४ नं. को मोटरसाइकललाई पेस्तोल तेर्साई डाँका गरी मोटरसाइकल लुटी लगेको हो । जाहेरवाला जीवन कार्कीलाई समेत कुटपिट गरेकोले प्रतिवादीमध्येका ३ जना मोटरसाइकल लिएर भागेको र ३ जना पैदल भाग्दै गरेकोमा स्थानीय मानिसहरूले समाती हतियारसहित प्रहरीलाई बुझाएको हो प्रतिवादीहरूलाई हदैसम्मको सजाय होस् भन्ने बेहोराका वस्तुस्थिति मुचुल्का ।

मिसिल संलग्न रहेको वस्तुस्थिति मुचुल्का दशी प्रमाणसमेतका आधारमा जाहेरवालाको रू.१,२५,१३०।- बराबरको धनमाल माथि उल्लिखित प्रतिवादी वकिल मिया, राजीकुमार मण्डल, राम असिस मुखिया, रामजनम यादव, वेचन यादव, संजय साहसमेतले डाँका गरी लगेको देखिँदा निजहरूलाई मुलुकी ऐन चोरीको महलको १ नं. र ६ नं. कसुरमा ऐ १४(४) नं. अनुसार सजाय हुन र सोही ऐनको १० नं. र २१ नं. बमोजिम डाँका भएको बिगो रू.१,२५,१३०।-प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाउन माग दाबी लिई फरार रहेका रामजनम यादव, बेचन यादव, संजय साहलाई वारेन्टसहित म्यादी पुर्जी जारी गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी । 

जाहेरी बेहोरा झुठा हो । मैले मोटरसाइकल डाँका गरेको होइन । चिनेका ४ जना मान्छेले जबरजस्ती मोटरसाइकल कब्जा गरी चढी भागेका हुन् भन्नेसमेत बेहोराको प्र. राम असिस मुखियाले अदालतमा गरेको बयान ।

मोटरसाइकल मैले डाँका गरेको होइन । अरू नै मानिसले मोटरसाइकल लिई भाग्दै थिए । हतियार मबाट बरामद भएको नभई राज़ीकुमार मण्डलबाट बरामद भएको हो । जाहेरीमा किन मलाई पोल गरे म भन्न सक्दिन भन्नेसमेत बेहोराको प्र. मो. वकिल मियाले अदालतमा गरेको बयान ।

जाहेरी साँचो होइन मोटरसाइकल मैले लुटेको होइन । को कसले लुटेको मलाई थाहा छैन ममाथि किन किटानी जाहेरी दिए, दिनेले नै जानुन् भन्नेसमेत बेहोराको प्र. राजीकुमार मण्डलले अदालतमा गरेको बयान ।

प्रतिवादी रामजनम यादव, प्र. वेचन यादव तथा प्र. संजय साह जारी भएको म्यादमा हाजिर नभई फरार रहेको मिसिलबाट देखिन्छ ।

डाँकाजस्तो फौजदारी मुद्दामा जाहेरीमा नाम किटान भएको र अनुसन्धानको बयानलाई मात्र प्रतिवादीहरूको विरूद्धको प्रमाण हो भनी ठहर गर्न सक्ने अवस्था नहुदा उल्लिखित तीनैजना प्रतिवादीहरूले अभियोग, दाबीवाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।३।१० गतेको फैसला ।

सुरू फैसलामा चित्त बुझेन फैसलामा धरौट वा जमानतसमेत जफत हुने गरी ठहर फैसला गरिएको छैन । ठहर खण्डमा जेथा जफत नगरी तपसिल खण्डबाट जफत हुन्छ भन्नु फैसलाको ठहर र तपसिल खण्ड बाझिन पुगेको देखिन्छ । धरौट वा जमानीमा छुटेको व्यक्तिबाट फैसलाबमोजिम असुल गर्नु पर्ने भए असुल गरी बाँकी फिर्ता गर्न पर्ने र जमानी पत्र स्वतः खारेज हुने भन्ने कानूनी व्यवस्था भएकोमा फैसलाले केही पनि असुल हुनु नपर्ने ठहरेको म पुनरावेदकको हकमा राखिएको जमानत जफत गर्नु भनेको अ.बं. १२४ (ख) र १२५ नं. विपरीत भई बदरयोग्य छ । सो हदसम्म बदर गरी म पुनरावेदकको हकमा राखिएको धरौटी फुकुवा हुने गरी हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको राम अशिष मुखियाको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

यसमा यी पुनरावेदक प्रतिवादीबाट धरौट वा जमानत लिँदा मुलुकी ऐन अ.बं. १२४ क नं. बमोजिम अड्डाबाट तोकिएको समय र स्थानमा उपस्थित नभए धरौट जफत हुने सर्त उल्लेख गरी कागज गराएको मिसिलबाट देखिन नआएको कारणले सुरू फैसलाको तपसिल खण्डमा धरौटीबापत राखेको जेथासमेत जफत हुने गरी भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय राजविराजलाई पेसीको सूचना दिई नियमबमोजिम पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।१०।१२ को आदेश । 

प्रस्तुत मुद्दामा सप्तरी जिल्ला अदालतको फैसला हेर्दा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने गरी फैसला भएको देखिन्छ । सो फैसलाको ठहर खण्डमा प्रतिवादीले राखेको जेथा जफत हुने नहुने सम्बन्धमा केही नबोली प्रतिवादी राम अशिष मुखियासमेतले अदालतबाट तोकिएको तारेखमा रूजु हाजिर नरही तारिख गुजारी बसेकोले निजहरूले धरौटीबापत राखेको जेथा जफत हुन्छ भनी तपसिल खण्डमा उल्लेख भएको पाइन्छ । निज प्रतिवादीले जेथा जमानत राख्दा गरेको कागजमा मुलुकी ऐन, अ.बं. १२४ नं. बमोजिम तोकेको तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा जफत हुनेछ भनी उल्लेख भएकोसमेत देखिँदैन । निज प्रतिवादीले राखेको जेथा जमानत निजले तारेख गुजारेको अवस्थामा जफत हुनु पर्ने हो होइन फैसलाको ठहरमा नै बोल्नु पर्नेमा तपसिल खण्डमा मात्र उक्त जेथा जफत हुने भनी उल्लेख भएकोसमेत देखिँदा सप्तरी जिल्ला अदालतबाट मिति २०६६/३/१० मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई प्रतिवादीको जेथा फुकुवा हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६७/१०/२६ को फैसला ।

अ.बं. १२४ नं. मा भएको व्यवस्थाअनुसार अड्डाबाट तोकिएको समय र स्थानमा उपस्थित हुनु पर्ने व्यक्ति तोकिएबमोजिम उपस्थित नभएमा तत्सम्बन्धमा राखेको धरौट जफत हुने छ भन्ने स्पष्ट व्यवस्था रहे भएको देखिँदादेखिँदै पनि तारेख गुजार्ने प्रतिवादीले राखेको धरौटबापत राखेको जेथा जफत हुने छ भनी उल्लेख नगरेकै आधारमा उक्त जेथा जमानत जफत नहुने भन्ने फैसला अ.बं. १२४ नं. को कानूनी व्यवस्थाको प्रतिकूल छ । साथै उक्त फैसलाउपर नेपाल सरकारको पनि पुनरावेदन परेकोमा दुवै साथै राखी फैसला गर्नु पर्नेमा प्रतिवादीको पुनरावेदनमा मात्र जेथा फुकुवा हुने गरी भएको फैसला त्रुटिपूर्ण हुदा सो फैसला बदर गरी जिल्ला अदालतको जेथा जमानत जफत हुने फैसला सो हदसम्म सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा नेपाल सरकारको तर्फबाट प्रतिवादीहरूलाई सफाइ दिएउपर मिति २०६७/४/३ मा पुनरावेदन अदालत राजविराजमा पुनरावेदन दर्ता भएको भन्ने जिकिरसमेत उल्लेख  गरी यस अदालतमा पुनरावेदन दिएको देखिँदा तत्सम्बन्धमा मुद्दाको कारबाही कुन अवस्थामा रहेको छ । सोसम्बन्धी विवरण खुल्ने जवाफ महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपछि कानूनबमोजिम गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७१/११/०३ को आदेश ।

नियमानुसार दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा अड्डाबाट तोकिएको समय र स्थानमा उपस्थित हुनु पर्ने व्यक्ति तोकिएबमोजिम उपस्थित नभएमा तत्सम्बन्धमा राखेको धरौट जफत हुने छ भन्ने अ.बं. १२४ नं. मा स्पष्ट कानूनी व्यवस्था रहे भएको देखिँदादेखिँदै सो व्यवस्थाको प्रतिकूल तारेख गुजारेको प्रतिवादीको जेथा फुकुवा हुने गरी गरेको पुनरावेदन अदालत राजविराजको फैसला कानूनी त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने वादी नेपाल सरकार पुनरावेदकसहितको सुरू मिसिल अध्ययन गरियो । यसमा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

यसमा मिसिल अध्ययन गरी हेर्दा, जाहेरवालाको रू.१,२५,१३०।- बराबरको धनमाल माथि उल्लिखित प्रतिवादी वकिल मिया, राजीकुमार मण्डल, राम असिस मुखिया, रामजनम यादव, वेचन यादव, संजय साहसमेतले डाँका गरी लगेको देखिँदा निजहरूलाई मुलुकी ऐन चोरीको महलको १ नं. र ६ नं. कसुरमा ऐ १४(४) नं. अनुसार सजाय हुन र सोही ऐनको १० नं. र २१ नं. बमोजिम डाँका भएको बिगो रू १,२५,१३०।- प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाउन माग दाबी लिई फरार रहेका रामजनम यादव, वेचन यादव, संजय साहलाई वारेन्टसहित म्यादी पुर्जी जारी गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको देखिन्छ । जाहेरी बेहोरा झुठा हो, मैले मोटरसाइकल डाँका गरेको होइन भन्नेसमेत बेहोराको हाजिर रहेका प्रतिवादीहरूको बयान भएकोमा डाँकाजस्तो फौजदारी मुद्दामा जाहेरीमा नाम किटान भएको र अनुसन्धानको बयानलाई मात्र प्रतिवादीहरूको विरूद्धको प्रमाण हो भनी ठहर गर्न सक्ने अवस्था नहुँदा उल्लिखित तिनै जना प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सप्तरी जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । उक्त फैसलाको ठहर खण्डमा जेथा जमानत जफत हुने भनी उल्लेख नभएको र तपसिल खण्डमा मात्र जफत गर्नु भन्ने लेखिएको, ठहर खण्ड र तपसिल खण्ड बाझिई बदरयोग्य हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेको देखिन्छ । निज प्रतिवादीले राखेको जेथा जमानत निजले तारेख गुजारेको अवस्थामा जफत हुनु पर्ने हो होइन फैसलाको ठहरमा नै बोल्नु पर्नेमा तपसिल खण्डमा मात्र उक्त जेथा जफत हुने भनी उल्लेख भएकोसमेत देखिँदा सप्तरी जिला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई प्रतिवादीको जेथा फुकुवा हुने ठहर्छ भनी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको देखिन्छ । सुरू फैसलाउपर नेपाल सरकारको समेत पुनरावेदन परेकोमा दुवै पुनरावेदन साथ राखी फैसला गर्नु पर्नेमा प्रतिवादीको पुनरावेदनमा मात्र हेरी जेथा फुकुवा हुने गरी भएको फैसला मिलेको छैन भनी वादी नेपाल सरकारको यस अदालतमा प्रस्तुत पुनरावेदन परेको परेको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, जाहेरवालाको रू.१,२५,१३०।- बराबरको धनमाल माथि उल्लिखित प्रतिवादी वकिल मिया, राजीकुमार मण्डल, राम असिस मुखिया, रामजनम यादव, वेचन यादव, संजय साहसमेतले डाँका गरी लगेको देखिँदा निजहरूलाई मुलुकी ऐन चोरीको महलको १ नं. र ६ नं. कसुरमा ऐ १४(४) नं. अनुसार सजाय हुन र सोही ऐनको १० नं. र २१ नं. बमोजिम डाँका भएको बिगो रू १,२५,१३०।- प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाउन माग दाबी लिई फरार रहेका रामजनम यादव, वेचन यादव, संजय साहलाई वारेन्टसहित म्यादी पुर्जी जारी गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको  प्रस्तुत मुद्दामा सप्तरी जिल्ला अदालतको फैसलाबाट प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएको देखिन्छ । उक्त फैसलाले प्रतिवादीहरूलाई सफाइ दिएउपर वादी नेपाल सरकारको र तपसिल खण्डमा जेथा जफत हुने उल्लेख गरेउपर प्रतिवादी रामअशिष मुखियाको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा दुवै पुनरावेदन साथै राखी फैसला गर्नु पर्नेमा नेपाल सरकारको पुनरावेदन बाँकी राखी प्रतिवादीको पुनरावेदनमा मात्र जेथा फुकुवा हुने गरी फैसला भएकोले सो फैसला कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भनी वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदन परेको देखियो । उक्त वादीको पुनरावेदनको कारबाही कुन अवस्थामा छ भनी यस अदालतबाट आदेश भई पत्राचार हुँदा उक्त मुद्दा हाल पुनरावेदन अदालत राजविराजमा मुल्तबीमा रहेको भन्ने मिसिल संलग्न कागजबाट देखिएबाट दुवै पुनरावेदन साथै राखी फैसला भएन भन्ने पुनरावेदन जिकिर सम्बन्धमा थप विवेचना गरी रहनु परेन ।

३. अब प्रतिवादी रामअशिष मुखियाको जेथा फुकुवा गरेको मिलेको छैन भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६/०३/१० मा फैसला भएको देखिन्छ । उक्त फैसलाको ठहर खण्डमा प्रतिवादीले राखेको जेथा जफत हुने नहुने सम्बन्धमा केही नबोली प्रतिवादी राम अशिष मुखियासमेतले अदालतबाट तोकिएको तारेखमा रूजु हाजिर नरही तारिख गुजारी बसेकोले निजहरूले धरौटीबापत राखेको नगद र जेथा जफत हुन्छ भनी तपसिल खण्डमा उल्लेख भएको पाइन्छ । मुलुकी ऐन अ.बं.१२४ नं. मा ‘’अड्डाबाट तोकिएको समय र स्थानमा उपस्थित हुनु पर्ने व्यक्ति तोकिएबमोजिम उपस्थित नभएमा तत्सम्बन्धमा राखेको धरौट जफत हुनेछ र जमानत दिएको भए यसै महलको १२४क. नम्बरबमोजिम गराइएको कागजअनुसार जमानतको रकम असुल गर्नु पर्छ । तर त्यस्तो व्यक्तिले आफू उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाएमा अड्डाले सोबमोजिम नगर्न पनि सक्नेछ ” । भन्ने उल्लेख छ । साथै १२४क. नम्बरमा “यसै महलको ११८ नम्बरबमोजिम कुनै व्यक्तिसँग धरौटी लिँदा अड्डाबाट तोकिएको समय र स्थानमा उपस्थित नभएमा धरौट जफत हुने सर्त उल्लेख गरी कागज गराउनु पर्छ....१” भनी उल्लेख भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाबाट अ.बं. १२४क. नं. को परिपालन भएमा मात्र अ.बं.१२४ नं. ले पूर्णता पाउने 

देखिन्छ । तर प्रस्तुत मुद्दामा मिति २०६४/०१/३० मा निज प्रतिवादीले जेथा जमानत राख्दा गरेको कागजमा मुलकी ऐन, अ.बं. १२४क. नं. बमोजिम तोकेको तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा जफत हुनेछ भनी उल्लेख भएकोसमेत देखिँदैन । यसरी एकातर्फ धरौटबापत राखेको जेथा जफत गर्नलाई कानूनले बाध्यकारी गरी तोकेको “धरौट जफत हुने” सर्त राखी कागज गराउनु पर्नेमा कागज गराएको देखिँदैन र अर्कोतर्फ निज प्रतिवादीउपरको अभियोग मिति २०६४/१/३ मा दायर भई मिति २०६५/८/३ गतेसम्मको तारेखमा निज रूजु हाजिर रहेको तथा निजले आरोपबाट सफाइ पाएकोसमेत तथ्य मिसिलबाट देखिन्छ । उल्लिखित तथ्यको परिप्रेक्ष्यमा मुद्दा पुर्पक्षको क्रममा निज प्रतिवादीले राखेको जेथा अ.बं. १२४क नं. अनुरूप तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा जफत हुनेछ भनी कागज गराउनु पर्ने बाध्यकारी सर्त पालना नगरी जेथा जफत हुने कागज नगराएको अवस्थामा जेथा जफत हुनु नै पर्छ भन्नु न्यायोचित देखिएन ।

४. तसर्थ, प्रतिवादीले कसुरबाट सफाइ पाएको अवस्था, तारेख गुजारेमा जेथा जफत हुने कानूनले तोकेको सर्त उल्लेख भई कागज नभएको र फैसलाको ठहर खण्डमा जफत हुनु पर्ने हो होइन बोल्नु पर्नेमा तपसिल खण्डमा मात्र उक्त जेथा जफत हुने भनी उल्लेख भएकोसमेत आधारमा सुरू सप्तरी जिला अदालतबाट मिति २०६६/३/१० मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई प्रतिवादीको जेथा फुकुवा हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजले मिति २०६७/१०/२६ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. डम्बरबहादुर शाही

 

इजलास अधिकृतः टेकराज जोशी 

इति संवत् २०७५ साल जेठ १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु