शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१८४ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

फैसला मिति : २०७५।६।२२

०६६-CR-०५५९

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक / वादी : ............. को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, इटहरी न.पा. वडा नं. ४ घर भई श्री नं. २ फिल्ड गुल्म, फुस्रे, धरानमा कार्यरत नेपाली सेनाका सिपाही खेम खड्कासमेत

 

अनुसन्धान अधिकारीसमक्ष र अदालतमा भएको बयानमा कसुरमा आफ्नो संलग्नता रहेको भनी साबित रही अन्य प्रतिवादीहरूलाई पनि पोल गरेको अवस्था छ र त्यसलाई अन्य भौतिक एवम् स्वतन्त्र प्रमाणबाट समेत समर्थित भइरहेको अवस्था छ भने त्यस्तो पोललाई प्रमाणमा लिन हुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ता श्री पूर्णचन्द्र राजवंशी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने न्यायाधीश:- 

मा. जिल्ला न्यायाधीश श्री नागेन्द्रलाल कर्ण

सुनसरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीश:- 

माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही 

पुनरावेदन अदालत,  विराटनगर

 

फैसला

न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- 

 

तथ्य खण्ड

जाहेरी दरखास्तको बेहोरा

मिति २०६१।७।२५ गते बिहान ६ बजेतिर हामी श्रीमान् र श्रीमती अर्काको खेतमा धान काट्न गएको र घरमा छोरी .......... र अन्य छोराछोरी रहेकोमा छोरी .......... दिसा बस्न खोलातिर गएको अवस्थामा आर्मी जस्तो पोसाक र हातमा सबैले बन्दुक बोकेका ५ जनाको समूहले मेरी छोरी सुमित्रा माझीलाई हातमा समाती तानी जङ्गलमा लगी बोल्नसमेत नदिई मुख थुनी भुइँमा लडाई छोरीको कपडाहरू खोली आफ्नो कटु तथा कपडाहरू खोली उत्तेजित लिङ्ग छोरीको योनिमा छिराई सबैले पालैपालो करणी गरेको हुँदा अपराधीहरूलाई पत्ता लगाई पक्राउ गरी जबरजस्ती करणीको महलबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............... को मिति २०६१।७।२७ को जाहेरी दरखास्त ।

 

घटनास्थल मुचुल्काको बेहोरा

जिल्ला सुनसरी, गा.वि.स. भरौल वडा नं. ५, भलुवा चौरीस्थित पूर्वमा सर्दु खोला, जंगल, पश्चिममा धरान कालाबन्जार जाने कच्ची बाटो, उत्तरमा चारकोसे झाडी जंगल, दक्षिणमा विशाल चौकबाट सर्दु खोला निस्कने बाटो; यति ४ किल्लाभित्र ठूलो वनमाराको घारी, ठूलो कुसुमको रूख रहेको, सोही रूखदेखि अं. १२ फिट उत्तरमा ठूलो वनमाराको घारी भई माडिएको, सो स्थान भुइँमा वरिपरि ढालको फुटाएको (खोलेको) खाली ३ वटा खोल पाइएको, सोही स्थानमा प्रयोग गरेको ढाल फ्याँकिएको अवस्थामा भई सो ढालमा रातो रगत देखिएको अवस्थामा १ वटा ढाल पाइएको, उक्त स्थानमा पाइएको ३ वटा खाली खोल र प्रयोग गरिएको रगत लागेको कण्डम (ढाल) प्रहरीले हामीहरूको रोहबरमा उठाई लगेको ठिक हो भन्नेसमेत बेहोराको मिति २०६१।७।२७ को घटनास्थल मुचुल्का ।

 

पीडित ................ ले अनुसन्धानको क्रममा गरेको कागज

मिति २०६१।७।२५ गते बुबा आमा अर्काको खेतमा धान काट्न गएको र मलगायत भाइ बहिनी घरमा बसेकामा बिहान ८:३० बजेको समयमा दिसा बस्नको लागि सर्दुखोलातिर जाँदै गरेको अवस्थामा आर्मी पोसाक लगाएका हतियार बोकेका व्यक्तिहरूले मलाई बोलाई यता आउ भनी ५ जनामध्ये १ जनाले मेरो हात समाती जङ्गलमा लगी भुइँमा लडाई मैले कराउन खोज्दा मुख थुनी आफ्नो हतियार अरूलाई बोक्न दिई मैले लगाएको सुरूवाल खोली आफूले लगाएको प्यान्ट र कट्टु खोली मलाई नाङ्गो पारी उत्तेजित लिङ्ग मेरो योनिमा छिराई तल माथि गर्दा योनि दुखी म सहन नसकी छटपटाउन लागेको र मलाई यसो नगर्नुहोस् मर्छु भनी पटकपटक बिन्ती गर्दासमेत नमानी  मुख थुनी मेरो शरीरलाई वशमा पारी मलाई चटपटाउनसमेत नदिई पाँचैजना व्यक्तिहरूले पालैपालो आफ्नो लिङ्गमा ढाल (कन्डम) समेत लगाई मेरो गुप्ताङ्गमा लिङ्ग छिराई जबरजस्ती करणी गरेपछि मेरो योनिबाट रगत बग्न थालेकोमा मैले पुन: बिन्ती गर्दासमेत यी अपराधी नरपिचासहरू नमानी एकपछि अर्काले गरी आफ्नो यौनतृष्णा मेटाएपछि आफूहरू सबैजनाले आ-आफ्नो कपडा लगाएपछि एकजनाले मलाई भुइँबाट उठाई मेरो कटु सुरूवाल लगाइदिई रू. १००।– र एउटा चाउचाउको प्याकेट हातमा थमाइदिई यो कुरा कसैलाई नभन्‍नु; भनिस् भने मारिदिन्छु भनी धम्की दिई पठाएकोमा म एकदमै सख्त घाइते भई योनि तथा पेट दुखेकोले घरमा आई सुतेको र मेरो योनिबाट रगत बगिरहेकोले गर्दा म एकछिन बेहोस भएको र पछि मेलोबाट बाबु आमा आएर मलाई देखी मेरो शरीरबाट बगेको रगत देखी के भएको हो भनी आमाले सोध्दा मैले घटनाबारेको सम्पूर्ण विवरण आमालाई सुनाएपछि मलाई सो रात घरमा नै राखी भोलिपल्ट मिति २०६१।७।२६ गते बेलुका ५ बजेको समयमा एम्बुलेन्समा हाली विराटनगर पुर्‍याई उपचार गराई सोको भोलिपल्ट मिति २०६१।७।२७ गते १३:०० बजेतिर इलाका प्रहरी कार्यालय, धरान ल्याई पुर्‍याएको हो भन्नेसमेत बेहोराको पीडित .............. ले अनुसन्धानको क्रममा मिति २०६१।७।२७ मा गरेको कागज ।

 

शारीरिक जाँच प्रतिवेदन

पीडित ............... र प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूको मिति २०६१।७।२७ मा शारीरिक जाँच गरी सोको प्रतिवेदन पठाइएको विषयक वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको मिति २०६१।७।३० को छुट्टाछुट्टै पत्र ।

 

प्रतिवादी यामप्रसाद खाम्दाङ लिम्बूले अनुसन्धानको क्रममा गरेको बयान

मिति २०६१।७।२३ गतेजस्तो लाग्छ; यकिन मिति थाहा भएन, सशस्त्र प्रहरी गण; २ नं. फिल्ड गुल्म; फुस्रे; धरानबाट निस्केको गस्ती टोलीमा सशस्त्र प्रहरी १ नं. गुल्मबाट मसमेत १० जनाको टोली खटी चतरा लाइनमा संयुक्तरूपमा गस्ती गर्दै गएकोमा हामी संयुक्त सुरक्षा फौजको गस्ती टोली लप्टनको कमाण्डमा गस्ती गर्दै जाँदा मिति २०६१।७।२५ गते भरौल गा.वि.स. अन्तर्गतको विशाल चौक भन्‍ने ठाउँमा आई पुगी बिहानको खाना त्यहीँ पकाएर खानको लागि सो एरियामा आसपासका सबैतिर डिफेन्स लिई सुरक्षा गर्नुपर्ने भएकोले २ नं. फिल्ड गुल्मबाट खटी आउनुभएका सेनाको हवल्दार साहबले मलाई र हामीसँगै डिउटीमा खटिएका सेनाका सिपाही खेम खड्का, बसन्त आचार्य, विशाल राईसमेतलाई खाना पकाउन लागेको ठाउँदेखि केही पूर्वमा डिउटी तोकिएको हुँदा उक्त स्थानमा पुग्दा हाल नाम थाहा भएकी वर्ष १६ की ............... जङ्गलबाट हामी भएतिर आउँदै गरेको हाम्रो टोलीका साथीहरू खेम खड्का, बसन्त आचार्य, विशाल राईसमेतले देखी बोलाई सर्दुखोलाको जङ्गलतिर लगी घटनास्थल मुचुल्कामा उल्लिखित स्थानमा ठूलो वनमाराको घारीमा लगी सबैभन्दा पहिला खेम खड्काले निज ............... लाई बल प्रयोग गरी जबरजस्ती करणी गरे, सोपछि बसन्त आचार्य र विशाल राईसमेतले एक एकपल्ट करणी गरिसकेपछि म पनि निजहरूलाई खोज्दै उक्त स्थानमा जाँदा खेम खड्काले २ पल्ट र अरूले एक एकपल्ट सामूहिक करणी गरी सकेका थिए, निजहरूले मलाई पनि करणी गर भनेकाले मैले पनि पीडितको स्तन समाई मेरो उत्तेजित लिङ्ग निज पीडितको योनिमा छिराई सकेपछि गाउँतिरका मानिसहरू आएको देखी म आफ्नो लिङ्गको वीर्य स्खलन नगरी त्यतिकै झिकी कपडा लगाई गएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी यामप्रसाद खाम्दाकले अनुसन्धानको क्रममा मिति २०६१।८।४ मा गरेको बयान ।

 

पीडितकी आमा ............... ले अनुसन्धानको क्रममा गरेको कागजको बेहोरा

मिति २०६१।७।२५ को दिनमा म र मेरो श्रीमान् धान काट्नको लागि ठूलाकान्छा भन्‍ने डम्बरबहादुर विष्टको खेतमा गई धान काटिरहेको समयमा खेतमा छोरा सन्तोष माझी आई निजले दिदीको शरीरबाट खुन बगिरहेको छ; घर हिँड्नु भनी खबर गर्न आएपछि म घर आई छोरी सुमित्रालाई हेर्दा छोरी सुतेको काठको फ्लाक (तख्ती) मा तथा भुइँमा समेत छोरीको शरीरबाट बगेको रगत जमेको थियो, छोरीलाई के भयो भनी सोध्दा बिहान विशाल चौकमा भात पकाई खाने ५/६ जना आर्मीहरूले मलाई जबरजस्ती समाती जङ्गलमा झाडीभित्र लगी कुसुमको रूख छेउ भुइँमा लडाई सुताई नाङ्गो पारी सबैले पालैपालो गरी मलाई बोल्न चटपटाउनसमेत नदिई जबरजस्ती करणी गरी सोपश्‍चात् हातमा केही पैसा र चाउचाउ दिएका र यो कुरा कसैलाई नभन्‍नु; भनेमा मारिदिन्छु भनी धम्क्याएका हुँदा म बाटो भएर घर नआई उनीहरूको डर त्रासले जङ्गल हुँदै आफ्नो घर आई सुतेको हुँ भनी छोरीले सुनाएकी हुँदा मैले सुनी थाहा पाएको हुँ । तत्काल छोरीको शरीर (गुप्ताङ्ग) बाट धेरै मात्रामा रगत बगेको हुँदा छोरीको अवस्था एकदमै नाजुक भएको र आफूसँग पैसा नभएकोले गाउँलेहरूको सहयोगमा भोलिपल्ट उपचार गराउन सिविन हेल्पलाइन विराटनगरमा लगेको हो । यसरी मेरी छोरी ............... लाई सामूहिकरूपमा जबरजस्ती करणी गर्ने सुरक्षाकर्मीहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित ............... की आमा निर्मला माझीले अनुसन्धानको क्रममा मिति २०६१।८।१४ मा गरेको कागज ।

 

मौकामा बुझिएका ............... ले अनुसन्धानको क्रममा गरेको कागजको बेहोरा

जाहेरीमा उल्लिखित मितिमा दिदी विशाल चौकदेखि पूर्वपट्टिको चौरीमा २ जना आर्मीसँग गफ गरिरहेको देखी मैले दिदीलाई बोलाएँ; दिदी मसँग घरतिर नआई आर्मीसँग घारीतिर गइन्, म त्यसपछि घर आएर माछा मार्न भनी खेततिर गएँ, माछा मारेर अं. १० बजेको समयमा घरमा आई बसिरहेको अवस्थामा जङ्गलबाट आउने सानो बाटोबाट दिदी घर आइन्, नजिक गएर हेर्दा केही रगत लागेको कपडा हातमा बोकेकी थिइन्; फिलामा पनि रगत लागेका देखी म आमालाई बोलाउन खेतमा गई आमा घर हिँड्नु भनी रून थालेपछि आमा, बुबा र म घर आयौं, घर आएर हेर्दा घरको भान्साको भुइँको फलेकमा दिदी लुगाहरू ओछ्याएर सुतिरहेकी थिइन् । ओछ्याएको गुन्द्रीमा अलि अलि खुन लागेको थियो । आमाले भुइँमा भएको रगत उठाएर फाल्नुभयो; म चाहिँ रूँदै बसेँ भन्नेसमेत बेहोराको ............... ले अनुसन्धानको क्रममा मिति २०६१।८।१६ मा गरेको कागज ।

 

मौकामा बुझिएका वीरेन्द्रकुमार पौडेलले गरिदिएको कागज बेहोरा

मिति २०६१।७।२३ गते मेरो कमाण्डमा खटी गएका यामप्रसादसमेतको नेपाल प्रहरीको टोली नेपाली सेनाको पृतना हेडक्वाटर इटहरीबाट लप्टन सरको कमान्डमा खटी आएका नेपाली सेनाको टोलीसँग मिसिएपछि सो टोलीको कमाण्डर म नभई आर्मीको लप्टन सर हुनुहुन्थ्यो । त्यही सर्चको क्रममा हाम्रो टोली मिति २०६१।७।२५ गते बिहान सुनसरी जिल्लाको भरौल-५, भलुवाचौरी भन्‍ने ठाउँको विशाल चोकमा पुगी खानाको जोडजाम गर्न लाग्यौं; केही साथीहरू चारैतिरबाट डिफेन्स लिएर पेरिमिटर डिउटीमा थिए । हाल पक्राउ परेका यामप्रसाद खाम्दाक पनि आर्मीसँग हामी बसेको ठाउँभन्दा केही पूर्व रहेको झाडीमा डिउटीमा बसेका र सोही समयमा पीडित ............... दिसा गर्नको लागि सर्दु खोलातर्फ जाँदै गरेको अवस्थामा आर्मीको एकजना सिपाहीले बहिनी यता आउ भनी बोलाई हातमा समाती नजिकै रहेको झाडीभित्र लगी जबरजस्ती करणी गरेका हुन् । यसरी करणी गर्ने व्यक्तिहरूमा नेपाल प्रहरीका प्र.ज. यामप्रसाद खाम्दाक र आर्मीका विशाल राई, खेम खड्का र बसन्त आचार्य तथा अन्य २ जनासमेत भई जबरजस्ती करणी गरेको पछि सुनी थाहा पाएको हुँ; आफ्नो आँखाले देखेको छैन भन्नेसमेत बेहोराको प्र.स.नि. वीरेन्द्रकुमार पौडेलले अनुसन्धानको क्रममा मिति २०६१।८।११ मा गरेको कागज ।

 

प्रतिवादी सनाखत गरी पीडित ............... ले गरिदिएको कागजको बेहोरा

मलाई करणी गर्ने मानिस यो ताँतीको अगाडिबाट हेर्दा तेस्रो र पछाडिबाट हेर्दा पाँचौं स्थानमा रहेको व्यक्ति हाल नाम थाहा भएअनुसार यामप्रसाद खाम्दाक लिम्बू हुन् । यी व्यक्तिसमेतले मलाई जबरजस्ती करणी गरेको ठिक साँचो हो भनी यो सनाखत कागज गरिदिएँ भन्नेसमेत बेहोराको पीडित ............... ले अनुसन्धानको क्रममा गरेको मिति २०६१।८।१६ को कागज ।

 

अभियोग दाबी बेहोरा

प्रतिवादीहरू यामप्रसाद खाम्दाक, खेम खड्का, बसन्त आचार्य र विशाल राईसमेतले पीडित ............... लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. ले परिभाषित कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको ३(३)नं. बमोजिम सजाय हुन, निज प्रतिवादीहरूले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई ऐ. ऐनको सोही महलको ३क नं. को कसुरमा सोही नं. बमोजिम थप सजाय हुन र प्रतिवादीहरूको अंश भागमा पर्ने सम्पत्तिलाई सर्वस्व गरी ऐ. ऐनको सोही महलको १० नं. बमोजिम प्रत्येक प्रतिवादीबाट पीडित ............... लाई आधा अंशसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकार (तत्कालीन श्री ५ को सरकार) को तर्फबाट सुनसरी जिल्ला अदालतमा मिति २०६१।८।२२ मा दायर भएको अभियोग पत्र ।

 

प्रतिवादी यामप्रसाद खाम्दाकले सुरू अदालतमा गरेको बयान 

मिति २०६१।७।२५ गते बिहान ९ बजेतिर म र शाही नेपाली सेनाको ४ जनासमेत ५ जना गस्ती गर्दै जाँदा विशाल चोकमा पुगेपछि खाना पकाउन थाल्दा ३ जना सेनाका जवानहरू बाटोमा तथा म र १ जना सेना चौरमा डिउटी गरिरहेको समयमा यी पीडित भनिएकी ............... सर्दु खोलाबाट आउँदा बाटोमा डिउटी गरिरहेका सेनाले निजलाई बोलाई गफ गरी एकछिन उक्त पीडित घरतर्फ गई त्यसपछि फेरि घरबाट एउटी फुच्ची केटीको साथमा आई र निज पीडित, निजको साथमा आएकी केटी र ३ जना सेनासमेत जङ्गलतर्फ गएका थिए । त्यसपछि खेम खड्का भन्‍ने सेनाले उक्त पीडित भनिएकी र निजको साथमा आएकी फुच्ची केटीलाई समेत सर्दु खोला मास्तिर जङ्गलमा लिएर गयो र दुईजना चाहिँ बगरमै मान्छे हेर्नको लागि डिउटी बसेका थिए । सबैभन्दा पहिले खेम खड्काले पीडित भनिएकी ............... लाई जबरजस्ती करणी गर्‍यो, त्यसपछि ऊ फर्की आयो र बसन्त आचार्य भन्‍ने सेनाको सिपाहीले करणी गर्‍यो र त्यसपछि मसँगै डिउटीमा हुने सेनाको सिपाहीले उसले बोकेको हतियार मलाई बोक्न दिई पीडितलाई जबरजस्ती करणी गरेको थियो । उक्त कुरा मैले अलिक परै बसेर लुकी हेरेको 

थिएँ । पीडितसँगै गएको केटीलाई भने पहिल्यै खेम खड्काले पैसा दिएर फर्काइदिएको थियो । मैले जबरजस्ती करणी गरिन । घटनास्थल मुचुल्का लेखिएबमोजिम ठिक हो । उक्त घटना घटेको देखे तापनि मलाई के गर्नुपर्छ भन्‍ने कुरा सोच्नै 

सकिन । मैले सो घटनाको सम्बन्धमा डरले गर्दा कसैलाई भनिन । पीडित ............... को बयान पढी सुनाउँदा सुनेँ; भनेबमोजिम जबरजस्ती करणी मैले माथि उल्लेख गरेका व्यक्तिले गरेको हो । मैले जिल्ला सरकारी वकिल कार्यालयमा आई बयान गर्दा प्रहरी इन्सपेक्टर भनाइमा लागी पीडितको स्तनसम्म समातेको भनेको हो; लिङ्ग योनिमा छिराएको केही पनि भनेको थिइन । उक्त बयान मैले भनेबमोजिम लेखिएको होइन । प्र.स.नि. वीरेन्द्रकुमार पौडेललाई म चिन्दिन; निजले किन त्यस्तो कागज गरे मलाई थाहा छैन । प्रहरीमा कागज गर्ने ............... ,  ............... समेतले भनेबमोजिम माथि उल्लिखित आर्मीले जबरजस्ती करणी गरेका हुन् । वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूले सेना र प्रहरीका सिपाहीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेका भनी भनेपनि सेनाका सिपाहीहरूले गरेका हुन्; मैले गरेको होइन । पीडित ............... ले निजलाई जबरजस्ती करणी गर्ने भन्‍ने व्यक्ति सनाखत गर्दा मसमेत ९ जनालाई सनाखत गर्न उभ्याइएको थियो तर पीडितले मलाई नदेखाई सबैजनालाई देखाई दिएकी थिइन्; मलाई मात्र देखाई सनाखत गरिदिएकी होइनन् । मैले अभियोग मागदाबीबमोजिम कसुर अपराध नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन; सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।

 

प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूको हकमा भएको थुनछेक आदेश

तत्कालप्राप्त कागजात प्रमाणहरूबाट पीडित ............... को जबरजस्ती करणी भएको र सो कसुरमा यी प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूसमेतको संलग्नता रहेको थिएन भनी भन्‍न सकिने अवस्था देखिन नआएकोले अहिले नै यी प्रतिवादी निर्दोष हुन् भनी भन्‍न 

सकिएन । अत: पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीलाई मुलुकी ऐन; अ.बं. ११८ को देहाय २ बमोजिम पुर्पक्षको लागि अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार शाखा मोरङमा थुनामा राख्‍न पठाइदिनु भन्नेसमेत बेहोराको सुनसरी जिल्ला अदालतको मिति २०६१।८।२२ को आदेश । 

 

प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूको हकमा सुरू जिल्ला अदालतबाट भएको थुनछेक आदेशउपर परेको निवेदनमा पुनरावेदन अदालत विराटनगरबाट भएको आदेश

सुनसरी जिल्ला अदालतबाट थुनछेक आदेश हुँदा प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूलाई प्रस्तुत मुद्दा पुर्पक्षको लागि मुलुकी ऐन; अदालती बन्दोबस्तको महलको ११८ नं. को देहाय २ बमोजिम थुनामा राख्‍ने भनी गरेको आदेशउपर परेको निजको निवेदनमा पुनरावेदन अदालत विराटनगरबाट "... निवेदक प्रतिवादी अनुसन्धान अधिकारीसमक्ष घटनाको विवरण खुलाई आफूसमेत भई करणी गरेकोमा साबित भएको तथा पीडित पक्षले निजलाई चिनेको भनी सनाखत गरिदिएकोसमेत कैफियत प्रतिवेदनबाट देखिएको हुँदा पछि बुझ्दैजाँदा ठहरेबमोजिम हाललाई पुर्पक्षको निमित्त थुनामा राख्‍न भनी त्यस अदालतबाट भएको आदेशमा कुनै परिवर्तन गर्नु परेन । कानूनबमोजिम गर्नुहोला ।" भन्नेसमेत बेहोराको मिति २०६१।१०।२२ मा भएको आदेश । 

 

प्रतिवादी विशाल राईले सुरू अदालतमा गरेको बयान

मैले जाहेरवाला र अन्य प्रतिवादीहरूलाई चिनेको छैन; प्रतिवादी खेम खड्कालाई हाल एकै ठाउँमा बसेकोले चिनेको छु । मिति २०६१।७।२४ गते भरौल गा.वि.स.को कालाबञ्‍जरअन्तर्गत वन कार्यालयमा सुरक्षाको लागि खटी गएकोमा सो वन कार्यालयमा बसी भोलिपल्ट मिति २०६१।७।२५ गते बिहान ७ बजे भरौलको विशाल चोकमा आयौं । सो ठाउँमा खाना पकाई खाई दिनको १ बजे हामी हाम्रो क्याम्प धरान फुस्रेतर्फ गएका हौं । मिति २०६१।७।२५ गतेको बिहान ९ बजेको समयमा मैले निज ............... लाई समाती जङ्गलमा लगी जबरजस्ती करणी गरेको होइन छैन । निजलाई कसले जबरजस्ती करणी गरे मलाई थाहा भएन । जाहेरी बेहोरा सुनें; किन किटानी जाहेरी गरे मलाई थाहा भएन । मैले प्रतिवादी यामप्रसाद खाम्दाकको बयान कागज पढी बाची सुनेँ, म निजलाई चिन्दिन, निजले प्रहरी र अदालतमा बयान गर्दा मसमेत भई पीडितलाई जबरजस्ती करणी गरेको हो भनी किन पोल गरे; मलाई थाहा भएन । जाहेरवाला .............., निजकी श्रीमती, छोरा ............... समेतलाई मैले नचिनेको र मैले कुनै अपराधसमेत नगरेको हुँदा निजहरूले प्रहरीमा कागज गर्दा किन मेरो नामसमेत पोल गरे; मलाई थाहा छैन ।  घटनास्थल मुचुल्का र बरामदी मुचुल्काको बेहोरा देखेँ सुनें; मैले त्यस्तो कुनै अपराध नगरेको हुँदा किन सो मुचुल्कामा त्यसरी किटानी पोल गरेका हुन्; मलाई थाहा भएन । पीडित ............... ले प्रहरीमा गरेको कागज सुनाउँदा सुनेँ, सो कागजअनुसार मैले निजलाई जबरजस्ती करणी गरेको छैन, मैले निजलाई चिनेको पनि छैन, किन निजले त्यसरी पोल गरिन् निजै जानुन् । वस्तुस्थिति मुचुल्काको बेहोरा सुनेँ, मैले जबरजस्ती करणी गरेको छैन, किन पोल गरे मलाई थाहा छैन । प्र.स.नि. वीरेन्द्रकुमार पौडेललाई मैले चिनेको छैन, निजले किन त्यसरी पोल गरे मलाई थाहा छैन, मैले अपराध गरेको छैन । मैले अभियोग मागदाबीअनुसारको कुनै अपराध नगरेको हुँदा मलाई अभियोग दाबीअनुसारको सजाय हुनुपर्ने होइन; दाबी झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी विशाल राईले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।

 

प्रतिवादी खेम खड्काले सुरू अदालतमा गरेको बयान 

म आर्मीमा काम गर्दछु; धरान फुस्रेस्थित सेनाको क्याम्पको सिपाहीको रूपमा कार्यरत छु । मैले जाहेरवाला ............... र प्रतिवादी यामप्रसाद खाम्दाकलाई चिनेको छैन, प्रतिवादीहरू बसन्त आचार्य र विशाल राईलाई पहिला चिनेको थिएन; हाल चिनजान छ । मिति २०६१।७।२५ ताक मलाई अपरेसनमा खटाइएको हुँदा सर्च कारबाहीको लागि मिति २०६१।७।२३ मा चकरघट्टीमा गई त्यहाँको वन कार्यालयमा बास बसी मिति २०६१।७।२५ गते बिहान ५ बजेतिर चकरघट्टीबाट गाउँगाउँ हुँदै भरौलको विशाल चोकमा आई खाना पकाई खाई १ बजेतिर आफ्नो क्याम्प धरान फुस्रेमा गएका हौं । उक्त सर्च कारबाहीको लागि भरौलतर्फ जाँदा बसन्त आचार्य, विशाल राई, म र अन्य नाम नजानेका मान्छे गरी हामी ३८/३९ जनाको टोली थियौं, प्रहरीहरू पनि थिए; निजहरूको नाम मलाई थाहा भएन । मिति २०६१।७।२५ गते बिहान अं. ९ बजेको समयमा मैले पीडित ............... लाई जबरजस्ती करणी गरेको होइन छैन । निजलाई कसले जबरजस्ती करणी गरे; मलाई थाहा भएन । मैले पीडित ............... लाई चिनेको छैन । मैले जाहेरवालालाई पनि चिनेको छैन, निजले किन ममाथि किटानी पोल गरेका हुन्; मलाई थाहा भएन । मैले पीडित ............... को प्रहरीमा भएको कागज देखेँ सुनेँ, मैले निजलाई जबरजस्ती करणी गरेको होइन छैन । निजलाई को को भई करणी गरे; मलाई थाहा भएन । मसँग गएका कुनै पनि प्रहरी आर्मीले करणी गरेको पनि मलाई थाहा भएन । प्रहरीमा कागज गर्ने शिवकुमार माझी र निजकी श्रीमतीको कागज बेहोरा देखेँ सुनेँ । निजहरूले भनेबमोजिम मैले ............... लाई जबरजस्ती करणी गरेको छैन र पीडितलाई रू.१००।- र चाउचाउसमेत दिएको होइन छैन, निजलाई मार्ने धम्कीसमेत दिएको होइन, निजहरूले किन किटान गरी पोल गरे मलाई थाहा छैन । वस्तुस्थिति मुचुल्काको बेहोरा लेखाउने व्यक्तिहरूलाई मैले चिनेको छैन, निजहरूको बेहोरा झुठा हो, मैले कसुर गरेको नहुँदा निजहरूले किन किटानी पोल गरे निजहरू नै जानुन् । प्रतिवादी यामप्रसाद खाम्दाकले प्रहरी र अदालतमा समेत बयान गर्दा निज आफू साबित भई हामीउपर पनि किटानी पोल गरी गरेको बयान बेहोरा पढी बाची सुनाउँदा देखेँ सुनेँ, निजले किन हामीलाई किटानी पोल गरे; मलाई थाहा भएन । निज यामप्रसादलाई मैले चिनेकै छैन । पीडितको भाइ ............... को कागज बेहोरा सुनेँ, निजले किन पोले मलाई थाहा छैन । प्र.स.नि. वीरेन्द्रकुमार पौडेलले प्रहरीमा गरेको कागज बेहोरा सुनेँ, निजलाई मैले चिनेको छैन, निजले किन त्यसरी पोल गरे थाहा भएन । मैले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा अभियोग दाबीअनुसार सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी खेम खड्काले सुनसरी जिल्ला अदालतमा गरेको बयान । 

 

प्रतिवादीहरू खेम खड्का र विशाल राईको हकमा भएको थुनछेक आदेश

तत्कालप्राप्त कागजात प्रमाणहरूबाट यी पीडित ............... लाई जबरजस्ती करणी गरेको हालको मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी खेम खड्का र विशाल राईको संलग्नता सो कसुरमा रहेनछ भनी मान्‍न मिल्ने अवस्था विद्यमान नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल यी प्रतिवादी खेम खड्का र विशाल राईलाई मुलुकी ऐन; अ.बं. ११८ को देहाय २ बमोजिम पुर्पक्षको लागि अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार शाखा मोरङमा थुनामा राख्‍न पठाइदिनु भन्नेसमेत बेहोराको सुनसरी जिल्ला अदालतको मिति २०६१।११।२० को आदेश ।

केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंको च.नं. ३०१२ मिति २०६२।१।२० को पत्रसाथ संलग्न परीक्षण प्रतिवेदन सुरू मिसिल संलग्न रहेको ।

 

प्रतिवादी खेम खड्का र विशाल राईको हकमा सुरू जिल्ला अदालतबाट भएको थुनछेक आदेशउपर परेको निवेदनमा पुनरावेदन अदालत विराटनगरबाट भएको आदेश

सुनसरी जिल्ला अदालतबाट थुनछेक आदेश हुँदा प्रतिवादीहरू खेम खड्का र विशाल राईलाई प्रस्तुत मुद्दा पुर्पक्षको लागि मुलुकी ऐन; अदालती बन्दोबस्तको महलको ११८ नं. को देहाय २ बमोजिम थुनामा राख्‍ने भनी गरेको आदेशउपर परेको निजहरूको निवेदनमा पुनरावेदन अदालत विराटनगरबाट "... यसमा पीडित ............... को कथन, घटनास्थल प्रकृति मुचुल्का र सहअभियुक्त प्रतिवादी यामबहादुर खाम्दाकको अदालतमा भएको बयानसमेतका तत्काल प्राप्त प्रमाणको आधारमा त्यस अदालतबाट मिति २०६१।११।२०।५ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहन परेन । कानूनबमोजिम    गर्नू ।" भन्नेसमेत बेहोराको मिति २०६२।३।१७ मा भएको आदेश ।   

 

जाहेरवाला ............... ले सुरू अदालतमा गरेको बकपत्र बेहोरा

मिति २०६१।७।२५ का दिन म र मेरी श्रीमती जनबनी गर्न भनी ठूलाकान्छा विष्टका खेतमा काम गर्दै 

थियौं । अं. दिउँसो १ बजेतिर मेरो छोरा ............... हामी भए ठाउँमा आयो र आफ्नी आमालाई घर जाउँ भनी ढिपी गर्‍यो । मैले पनि के रहेछ भनी जाउ भनी 

पठाएँ । ८-१० मिनेटपश्‍चात् छोरो ............... मलाई लिन फेरि आई तपाइँ नगई हुँदैन भनी भनेपछि म पनि छोरासँगै घर गएँ । घर पुगेपछि छोरी ............... रगतपच्छे भई बाहिर बरन्डामा सुतिरहेकी 

रहिछन् । यसरी निज छोरीको गुप्ताङ्गबाट रगत बगेकोले निजकी आमा अर्थात् मेरी श्रीमतीले सफा गरिन् । छोरालाई सोध्दा दिदी जङ्गलतर्फबाट आइन् भन्यो । छोरीले मलाई आर्मीका बर्दी लगाएका मानिसहरूले जबरजस्ती करणी गरेका हुन् भनी बताइन् । वारदातपछि यी प्रतिवादीहरूसँग मेरो भेटघाट भएको छैन । मेरी छोरीलाई खाम्दाक लिम्बू, बसन्त आचार्यलगायतले जबरजस्ती करणी गरेका रहेछन् । मैले मिति २०६१।७।२७ मा दिएको जाहेरीको बेहोरा र सहीछाप मेरै हो । यी प्रतिवादीहरूलाई मैले पहिला चिनेको थिइन । पक्राउ परेपछि नाम सुनी चिनेको हुँ । निजहरूसँग मेरो कुनै रिसइवीसमेत 

छैन । जाहेरी दिँदाको बखत प्रतिवादीहरूको नाम थाहा नभएकोले खुलाउन सकिन; पछि प्रतिवादीहरूको नाम थाहा भएकोले हाल खुलाएको हुँ । आर्मीका मान्छे भएकाले मैले प्रतिवादी खेम खड्कालाई चिन्दिन भन्नेसमेत बेहोराको जाहेरवाला शिवकुमार माझीले सुनसरी जिल्ला अदालतमा गरेको बकपत्र ।

 

पीडित ............... ले सुरू अदालतमा गरेको बकपत्र

मिति २०६१।७।२५ का दिन बुबा आमा घरमा नभएको बेला म दिसा गर्न भनी सर्दु खोलातर्फ जाँदा नचिनेका थुप्रैजना सैनिक पोसाक लगाएका बन्दुक बोकेका व्यक्तिहरू थिए । यी प्रतिवादीहरूलाई म 

चिन्दिन । निजहरूसँग मेरो कुनै रिसइवी, लेनदेन, झैझगडासमेत छैन । निजहरूले मलाई जबरजस्ती सुताएर जबरजस्ती करणी गरेका हुन् । मैले उक्त घटना विवरण आमालाई भनेकी थिएँ । उक्त घटना हुँदा प्रतिवादीहरूसँग प्रतिकारको क्रममा मैले आमा भन्दा मुख थुनी दिए । घटनापछि म रगतपच्छे भएकी थिएँ । घटनापश्‍चात प्रतिवादीहरूले मलाई जबरजस्ती रू.२०।– र चुइगमसमेत दिएका 

थिए । मउपर जबरजस्ती करणी हुँदा भाइ आफ्नै घरमा थियो । मिति २०६१।७।२७ मा प्रहरीमा उपस्थित भई कागज गर्दा मैले भनेअनुसार प्रहरीले कागज गराएका हुन् भन्नेसमेत बेहोराको पीडित ............... ले सुरू अदालतमा गरेको बकपत्र ।

 

प्रतिवादी खेम खड्काका साक्षी अम्बर अछामीले सुरू अदालतमा गरेको बकपत्र

म सेनाको सिपाही भएकाले मिति २०६१।७।२५ का दिन ड्युटीमा भरौल गा.वि.स. मा थिएँ । उक्त दिन युनिफाइड कमान्डमा प्रतिवादी खेम खड्कालगायत हामी ६०-७० जना जति 

थियौं । उक्त दिन प्रतिवादी खेम खड्का म भएकै युनिफाइड कमाण्डमा थिए भने अर्का प्रतिवादी विशाल राई अर्को ग्रुपमा थिए । उक्त दिन म र प्रतिवादी खेम खड्का बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म नै सँगसँगै थियौं । उक्त दिन हामी भएको युनिफाइड कमान्डमा भात भान्सा ग्रुपमा म र खेम खड्कालगायत ७-८ जना थियौं । उक्त दिन खेम खड्का बिहानदेखि नै मसँग खटिएको छ र साँझपख मात्र सँगै क्याम्प पुगेको आधारमा नै निजको यो घटनामा संलग्नता छैन भन्‍नसकेको हो । वारदात घटेको भनिएको दिनभरी खेम खड्का हामीसँगै रहेको हुँदा प्रतिवादी यामप्रसादले आफू फसेको रिसमा खेम खड्काको नाम लिएको हुनसक्छ । खेम खड्काको यस वारदातमा संलग्नता छैन । जाहेरवालाले किन खेम खड्काको नाम पोल गरेको हो; मलाई थाहा भएन । वारदात घटेको भनिएको दिन प्रतिवादी खेम खड्का दिनभरी नै मसँग रहेको हुँदा निजले सो घटना घटाएको होइन तर जाहेरवाला, पीडित, पीडितकी आमा, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले किन निजको नाम किटान गरे थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी खेम खड्काका साक्षी अम्बर आछामीले सुनसरी जिल्ला अदालतमा गरेको बकपत्र ।

 

सुरू सुनसरी जिल्ला अदालतको फैसला बेहोरा

फरार रहेका प्रतिवादी बसन्त आचार्यको हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखिदिने ठहर्छ । प्रतिवादी यामप्रसाद खाम्दाकले अनुसन्धानको क्रममा बयान गर्दा कसुर गरेकोमा आफू साबित भई प्रतिवादीहरू विशाल राई खेम खड्का तथा बसन्त आचार्यलाई पोल गरी सबैजना मिली जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको देखिएको, निजले अदालतमा आई बयान गर्दा आफूले गरेको नभई खेम खड्का र बसन्त आचार्यले गरेको भनी पोल गरी मसँग ड्‍युटीमा रहेको सेनाको सिपाहीले उसले बोकेको हतियार मलाई बोक्न दिई पीडितलाई जबरजस्ती करणी गरेको थियो भनी लेखाएको देखिएबाट यी प्रतिवादी घटनास्थलमा रहे भएको कुरा पुष्टि हुन्छ भने यी प्रतिवादी यामप्रसादलाई किटान गरी निजले जबरजस्ती करणी गरेका हुन् भनी पीडित ............... ले सनाखतसमेत गरेको देखिएकोले निजलाई जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. महलको ३क नं. बमोजिम थप ५(पाँच) वर्ष कैद गरी जम्मा १०(दश) वर्ष कैद हुने ठहर्छ । साथै ऐ. ऐनको १० नं. बमोजिम यी प्रतिवादीबाट पीडितलाई आधा अंशसमेत दिलाई भराई पाउने ठहर्छ । प्रतिवादी खेम खड्काको हकमा किटानी जाहेरी नभएको, निजले अदालतमा बयान गर्दा आफूले कसुर गरेकोमा पूर्णतः इन्कार रहेको देखिएको, यी प्रतिवादी खेम खड्काले पीडितलाई जबरजस्ती करणी गरेको भनी प्रतिवादी यामप्रसादले अदालतको बयानमा लेखाएको देखिए पनि निजको उक्त पोल अन्य प्रमाणबाट पुष्टि भएको नदेखिएको, प्रतिवादी खेम खड्काको उक्त इन्कारी बयान निजका साक्षी अम्बर आछामीले बकपत्र गरी समर्थन गरिदिएको, मौकामा कागज गर्ने प्र.स.नि. वीरेन्द्रकुमार पौडेलले उक्त घटनामा यी खेम खड्काको उपस्थितिबारे सुनी थाहा पाएको भनी लेखाएको, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले कागज गर्दा यी खेम खड्काको नाम किटान गरे पनि आफूले देखेको भनी लेखाउन नसकेको, प्र.स.नि. वीरेन्द्रकुमार पौडेललगायत वस्तुस्थिति मुचुल्काका कुनै पनि व्यक्तिहरू बकपत्रका लागि अदालतमा उपस्थित भएको नदेखिएको कारणहरूबाट ती व्यक्तिहरूले केवल शङ्काको भरमा यी प्रतिवादी खेम खड्काको नाम लेखाएको देखिन्छ । जाहेरवाला र पीडितले बकपत्र गर्दा पनि यी प्रतिवादी खेम खड्काले जबरजस्ती करणी गरेको हो भनी लेखाउन सकेको नदेखिँदा केवल शङ्काको भरमा एवम् अन्य प्रमाणबाट समर्थित नभएको सहअभियुक्तको पोलको आधारमा प्रतिवादी खेम खड्का दोषी हुन् भनी मान्‍न सक्ने अवस्था नदेखिएकोले प्रतिवादी खेम खड्काको हकमा वादी दाबी नपुग्ने ठहर्छ । तसर्थ यी प्रतिवादीले सफाइ पाउने ठहर्छ । प्रतिवादी विशाल राईको हकमा किटानी जाहेरी भएको नदेखिएको, मौकाको बयानमा प्रतिवादी यामप्रसाद खाम्दाकले पोल गरे पनि अदालतमा पोल गरेको नदेखिएको, प्र.स.नि. वीरेन्द्रकुमार पौडेल तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले मौकामा शङ्काको भरमा नाम लेखाए पनि यी व्यक्तिहरूलाई वादी पक्षले पेस गरी वादी दाबी समर्थन गराउन नसकेको, प्रतिवादी विशाल राई कसुरमा पूर्णतः इन्कार रहेको देखिएको, अदालतमा आई बकपत्र गर्ने पीडित ............... एवम् जाहेरवाला ............... ले प्रतिवादी विशाल राईको नाम किटान गरेको नदेखिएको आदि कारणले प्रतिवादी विशाल राई निर्दोष भएको कुरा पुष्टि भएको देखिएकोले निजको हकमा समेत वादी दाबी नपुग्ने ठहर्छ । तसर्थ प्रतिवादी विशाल राईले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुनसरी जिल्ला अदालतको मिति २०६४।११।२२ को फैसला ।

 

प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूले पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन जिकिरको बेहोरा

मेरो अदालतमा भएको इन्कारी बयानलाई प्रमाणमा ग्रहण गरिएन । घटनास्थलमा उपस्थित भएको अवस्थाले मात्र कसुर अपराध गर्‍यो भन्‍न मिल्दैन । पीडितले सनाखत गर्दा आफूलाई वारदातमा नदेखेको भनी उल्लेख गरेको र पीडितको शारीरिक परीक्षणबाट जबरजस्ती करणी भएको नदेखिएको अवस्थामा प्रमाणको मूल्याङ्कन नगरी मलाई सजाय गरेको त्रुटिपूर्ण फैसला बदर गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूले पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन-पत्र ।

 

नेपाल सरकारले पुनरावेदन अदालत विराटनगरमा गरेको पुनरावेदन जिकिरको बेहोरा

इन्कारी बयान र बकपत्रका आधारमा मात्र प्रतिवादीहरूलाई सफाइ दिन मिल्दैन । वारदातस्थलमा आफूहरू भएको तथ्य भने प्रतिवादीहरूले स्वीकारेको नै देखिन्छ । सहअभियुक्त यामप्रसाद खाम्दाकले बयान गर्दा खेम खड्का, बसन्त आचार्य र अर्को १ जनासमेतले पीडितलाई जबरजस्ती करणी गरेको भनेका छन् । पीडितले प्रतिवादीहरूलाई पहिलेदेखि नै चिनेको नहुँदा निजहरूउपर किटानी जाहेरी गर्न नसक्नु अस्वाभाविक होइन । प्रतिवादीहरूले मौकामा एकअर्कालाई पोल गरी आफू साबित भई बयान गरेको र सो बयानलाई मिसिल संलग्न प्रमाणहरूले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादी विशाल राई र खेम खड्‍कालाई सफाइ दिने ठहर्‍याएको सुरूको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी निजहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन-पत्र ।

 

पुनरावेदन अदालत विराटनगरबाट भएको फैसलाको बेहोरा

प्रतिवादीहरू विशाल राई र खेम खड्‍काउपरको अभियोग दाबी पुष्टि गर्न स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण वादीपक्षले पेस गर्न सकेको नदेखिँदा निजहरूलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको सुरूको फैसलालाई अन्यथा भन्‍न सकिएन । प्रतिवादी यामप्रसाद खाम्दाकले अदालतमा आरोपित अभियोगमा इन्कारी बयान गरे तापनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मैले पीडितको स्तन समाई उत्तेजित लिङ्ग पीडितको योनिमा छिराई वीर्य स्खलन नहुँदै झिकें भनी आरोपित अभियोगमा साबित भई बयान गरेको, सोलाई समर्थन हुनेगरी वादी पक्षका साक्षी पीडित र जाहेरवालाले अदालतमा बकपत्रसमेत गरेको र प्रतिवादी यामप्रसादलाई निजले जबरजस्ती करणी गरेका हुन् भनी पीडितले लेखाइदिएको अवस्थामा यी प्रतिवादी यामप्रसादलाई कसुरदार ठहर गरी सजाय गरेको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६४।११।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।३१ को फैसला ।

 

वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन जिकिरको

बेहोरा

पीडित सुमित्रा माझीउपर सामूहिक जबरजस्ती करणी भएको तथ्यमा सुरू अदालत र पुनरावेदन अदालत विराटनगर सहमतै रहेको र प्रतिवादीमध्ये यामप्रसाद खाम्दाक लिम्बूलाई जबरजस्ती करणी र सामूहिक करणीतर्फ सजायसमेत भएको अवस्था छ । यामप्रसाद खाम्दाक लिम्बूले मौकाको अनुसन्धानको बयानमा आफूसमेत अपराधमा साबित भई विरूद्ध खण्डका प्रतिवादीहरूलाई पोल गरेको र सम्मानित अदालतमा भएको बयानमा पनि खेम खड्‍कालगायत विरूद्ध खण्डका सेनाका सिपाहीहरूले पीडितलाई जबरजस्ती करणी गरेका हुन् भनी उल्लेख गरेको देखिँदा प्रतिवादीहरूको संलग्नता निर्विवादरूपमा पुष्टि हुँदाहुँदै पनि प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । जाहेरवालाले ५ जना आर्मी पुलिसको समूहले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको तथ्य उल्लेख गर्दै जाहेरी गरेका र सोही जाहेरी बेहोरालाई समर्थन गर्दै अदालतमा बकपत्र गरेका छन् । पीडितले अदालतमा गरेको बकपत्रको स.ज. १५ मा आर्मीका बर्दी लगाएका मानिसले आफूलाई सामूहिक जबरजस्ती करणी गरेका हुन् भनी लेखाएकी छन् । पीडितको सो कथनले प्रतिवादी यामप्रसाद खाम्दाकको बयानलाई समर्थन गरेको छ । प्रतिवादीको उक्त बयान र पीडितको कथनलाई विश्‍लेषण नै नगरी जाहेरीमा नाम नखुलेको, पीडितले नाम खुलाई बकपत्र नगरेको जस्ता अति सामान्य भनाई उल्लेख गरी प्रतिवादीहरूलाई सफाइ दिन मिल्ने होइन । पीडित र जाहेरवालाले प्रतिवादीहरू चिनेजानेको नभएको हुँदा प्रतिवादीहरूको नाम थाहा नहुनु स्वाभाविकै 

हो । प्रतिवादीहरूको बयानमा करणी गरेको होइन भनी इन्कार गरे तापनि वारदात मिति र समयमा निजहरू घटनास्थलमा रहेको तथ्यलाई स्वीकारेकै छन् । अनुसन्धानका क्रममा बुझिएका प्र.स.नि. वीरेन्द्रकुमार पौडेल सो गस्ती टोलीमा संलग्न थिए, खेम खड्का र विशाल राईसमेतले जबरजस्ती करणी गरेको तथ्य आफूले थाहा पाएको भनी लेखाएको आधारबाट समेत सफाइ पाएका प्रतिवादीहरूको संलग्नतामा अपराध वारदात भएकोमा विवाद देखिँदैन । प्रतिवादी खेम खड्का र विशाल राईले अदालतमा बयान गरेपश्‍चात् थुनछेक आदेश हुँदा अदालतले यामप्रसाद खाम्दाक लिम्बूले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष यी प्रतिवादीहरूलाई गरेको पोलसमेतको तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राखिएको छ । उल्लिखित प्रमाणहरूमा अदालती परीक्षण हुँदा कुनै परिवर्तन नआएको अवस्थामा प्रतिवादीहरू खेम खड्का र विशाल राईलाई सफाइ दिने गरी भएको सुरू फैसलाले प्रमाणको त्रुटिपूर्ण मूल्याङ्कन गरेको प्रस्ट छ । अतः उल्लिखित आधार प्रमाणबाट प्रतिवादीहरू खेम खड्‍का र विशाल राईलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन-पत्र ।

 

यस अदालतबाट भएको प्रत्यर्थी झिकाउने आदेश 

यसमा कसुर ठहर भएका प्रतिवादी यामप्रसादले अदालत र अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी खेम खड्का र विशाल राईलाई पोल गरी बयान गरेको देखिनुका साथै बर्दीधारी व्यक्तिहरूले जबजस्ती करणी गरेको भनी पीडितले प्रहरी एवम् अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । यामप्रसादले सामूहिकरूपले पीडितलाई जबरजस्ती करणी गरेको ठहर गरेको अवस्थामा निजले पोल गरेको अन्य सहअभियुक्तहरूलाई सफाइ दिँदा सामूहिक जबरजस्तीको वारदात नै स्थापित नहुने विरोधाभाषपूर्ण अवस्था रहने हुँदा घटनास्थल र मुद्दाको प्रकृति हेरी निर्णय गर्नुपर्नेमा प्रतिवादी खेम खड्का र विशाल राईलाई सफाइ दिने गरेको पुनरावेदन अदालतको निर्णय मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम छलफलका निमित्त विपक्षीहरूलाई झिकाई नियमानुसार पेस गर्नू भन्‍ने बेहोराको यस अदालतको मिति २०६९।१।३१ को आदेश । 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापाले आफू र यी प्रत्यर्थी प्रतिवादीहरूसमेत भई पीडित ............... लाई वारदातको मिति र समयमा जबरजस्ती करणी गरेको कुरामा साबित रही प्रतिवादीमध्येका यामप्रसाद खाम्दाक लिम्बूले अनुसन्धानको क्रममा र अदालतमा बयान गरेका छन्, निजको उक्त बयान बेहोरा पीडितको अनुसन्धानको क्रममा भएको कागज र अदालतको बकपत्र बेहोराबाट पुष्टि भइरहेको छ, आर्मी जस्तो पोसाक लगाएका हातमा हतियार बन्दुक बोकेको ५ जनाले पीडित ............... लाई पालैपालो जबरजस्ती करणी गरेका हुन् भन्‍ने जाहेरी बेहोरा जाहेरवालाको अदालतको बकपत्रबाट पनि पुष्टि भइरहेको अवस्थामा सँगसँगै गई सामूहिकरूपमा जबरजस्ती करणी गर्नेमध्येका प्रतिवादी यामप्रसाद खाम्दाक लिम्बूको हकमा कसुर ठहर गरी यी प्रत्यर्थी प्रतिवादीहरूको हकमा सफाइ दिने ठहर्‍याएको सुरू सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने ठहर्‍याएको उच्च अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला केही उल्टी गरी यी प्रत्यर्थी प्रतिवादीहरू खेम खड्का र विशाल राईको हकमा समेत अभियोग मागदाबीबमोजिम कसुरदार ठहर गरी सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो भने प्रत्यर्थी प्रतिवादीहरू खेम खड्का र विशाल राईको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ता श्री पूर्णचन्द्र राजवंशीले प्रतिवादीहरू खेम खड्का र विशाल राई आरोपित कसुरमा इन्कार रही बयान गरेका र निजहरूको उक्त बयान बेहोरा निजका साक्षीहरूबाट समर्थित भइरहेको छ, निजहरूले पनि पीडितलाई करणी गरेको भन्‍ने तथ्य शंकारहित तवरबाट पुष्टि हुनसकेको छैन, यी प्रतिवादीहरूले पनि आफूलाई करणी गरेको हो भनी पीडितले यकिनसाथ भन्‍न नसकेको अवस्थामा शंकाकै भरमा यी प्रतिवादीहरूउपर अभियोग ठहर गर्नु न्यायोचित नहुने हुँदा निजहरूलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको सुरू सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने ठहर्‍याएको उच्च अदालत विराटनगरको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त तथ्य तथा बहस जिकिरहरू रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरू खेम खड्का र विशाल राईलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको सुरू फैसलालाई सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सो कुराको निर्णय दिनुपर्ने देखिन आयो ।

२. अब निर्णयतर्फ विचार गर्दा; मिति २०६१।७।२५ का दिन बिहान ९ बजेतिर जिल्ला सुनसरी तत्कालीन भरौल गा.वि.स. वडा नं. ५, भलुवाचौरी बस्ने ............... दिसा बस्न भनी सर्दु खोलातिर गइरहेको अवस्थामा त्यस समयमा एउटा समूहमा बसी ड्युटी गरिरहेका प्रतिवादीहरू नेपाल प्रहरीका प्रहरी जवान यामप्रसाद खाम्दाक, श्री नं. २ फिल्ड गुल्म धरान फुस्रेमा कार्यरत शाही नेपाली सेनाका सिपाहीहरू खेम खड्का, विशाल राई र बसन्त आचार्यसमेत भई निज सुमित्रा माझीलाई समाती जबरजस्ती तानी उक्त भलुवाचौरी स्थित चारकोसे जङ्गल झाडीभित्र रहेको विशाल चोक नजिक ठूलो बनमाराको घारीमा लगी जबरजस्तीसँग पालैपालो करणी गरी मुलुकी ऐन; जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई ऐ. महलको ३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा ऐ. महलको ३क नं. को कसुर अपराधमा ऐ. को ३क नं. बमोजिम थप सजाय हुन र ऐ. महलको १० नं. बमोजिम प्रतिवादीहरूको अंशभागबाट आधा अंश पीडितलाई दिलाई भराई पाउन भन्‍ने मागदाबी लिई अभियोग-पत्र पेस भएकोमा प्रतिवादीमध्येका बसन्त आचार्य म्यादमा हाजिर नभई फरार रहेकाले निजको हकमा मुलुकी ऐन; अ.बं. १९० नं. बमोजिम मुलतबी राखिदिने, प्रतिवादीमध्येका यामप्रसाद खाम्दाकको हकमा अभियोग माग दाबीबमोजिम मुलुकी ऐन; जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. महलको ३क नं. बमोजिम थप ५(पाँच) वर्ष कैद गरी जम्मा १०(दश)  वर्ष कैद हुने र ऐ. ऐनको ऐ. महलको १० नं. बमोजिम यी प्रतिवादीको अंश भागबाट पीडित ............... लाई आधा अंश दिलाई भराई दिने, प्रतिवादीहरूमध्येका खेम खड्का र विशाल राईको हकमा वादी दाबी नपुग्ने भई निजहरूले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्‍याएको सुनसरी जिल्ला अदालतको मिति २०६४।११।२२ को फैसलामा चित्त नबुझाई आफूलाई कसुरदार ठहर भएकोमा प्रतिवादीमध्येका यामप्रसाद खाम्दाकको र प्रतिवादीहरू खेम खड्का र विशाल राईलाई अभियोग दाबीबाट सफाइ दिएकोमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा छुट्टाछुट्टै पुनरावेदन परेकोमा पुनरावेदन अदालत विराटनगरबाट सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई मिति २०६६।३।३१ मा भएको फैसलाउपर प्रतिवादीहरू खेम खड्का र विशाल राईको हकमा वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।

३. वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनमा उल्लिखित मुख्य जिकिरतर्फ हेर्दा; प्रतिवादीमध्येका यामप्रसाद खाम्दाक लिम्बूले आफूसमेत अपराधमा साबित भई विरूद्ध खण्डका प्रतिवादीहरूलाई पोल गरेको र सोही आधारमा प्रतिवादीहरूले सामुहिकरूपमा पीडितलाई जबरजस्ती करणी गरेको कुरा पुष्टि भई प्रतिवादीमध्येका यामप्रसाद खाम्दाकलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको ठहर गरी सजाय गरेको हुँदा यी प्रतिवादी खेम खड्का र विशाल राईलाई सफाइ दिएको मिलेन, जाहेरवालाले ५ जना आर्मी पुलिसको समूहले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको तथ्य उल्लेख गर्दै जाहेरी गरेको र सोही बेहोरा समर्थन गर्दै अदालतमा बकपत्र गरेका छन्, पीडितले अदालतमा गरेको बकपत्रको स.ज.१५ मा आर्मीका बर्दी लगाएका मानिसले आफूलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेका हुन् भनी लेखाएकी छिन्, पीडितको सो कथनले प्रतिवादी यामप्रसाद खाम्दाकको बयानलाई समर्थन गरेको छ, प्रतिवादीको उक्त बयान र पीडितको कथनलाई विश्‍लेषण नै नगरी जाहेरीमा यी प्रतिवादीहरूको नाम नखुलेको र पीडितले नाम खुलाई बकपत्र नगरेको जस्ता अति सामान्य भनाइ उल्लेख गरी सफाइ दिएको मिलेन, पीडित र जाहेरवालाले प्रतिवादीहरूलाई चिनेजानेको नभएको हुँदा प्रतिवादीहरूको नाम थाहा नहुनु स्वाभाविकै हो, तसर्थ; जाहेरी र पीडितको बकपत्रमा यी प्रतिवादीहरूको नाम नकिटेको भन्‍ने मात्र आधार लिई सफाइ दिएको मिलेन, यी प्रतिवादीहरूले बयानमा पीडितलाई करणी गरेको होइन भनी इन्कार गरे तापनि वारदात मिति र समयमा निजहरू घटनास्थलमा रहेको तथ्यलाई स्वीकारेकै छन्, अनुसन्धानको क्रममा बुझिएका प्र.स.नि. वीरेन्द्रकुमार पौडेलले सो गस्ती टोलीमा आफू संलग्न थिएँ, खेम खड्का र विशाल राईसमेतले जबरजस्ती करणी गरेको तथ्य आफूले थाहा पाएको भनी लेखाएको आधारबाट समेत यी प्रतिवादीहरूको संलग्नता उक्त वारदातमा भएकोमा विवाद देखिँदैन । तसर्थ; उल्लिखित आधार प्रमाणबाट प्रतिवादीहरू खेम खड्का र विशाल राईलाई सफाइ दिनेगरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी निजहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने नै वादीपक्षको मुख्य पुनरावेदन जिकिर रहेको पाइन्छ ।

४. पुनरावेदक वादीपक्षबाट लिइएको उपर्युक्त पुनरावेदन जिकिरतर्फ दृष्टिगत गरी निर्णयतर्फ विचार गर्दा; प्रतिवादीमध्येका खेम खड्का अनुसन्धानको क्रममा फरार रहेपनि सुरू अदालतमा उपस्थित भई बयान गर्दा निजले अभियोग दाबीबमोजिम आफूले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा इन्कार रही बयान गरे तापनि वारदातको मिति र समयमा प्रतिवादीमध्येका बसन्त आचार्य, विशाल राई र आफूसमेत वारदातस्थल नजिक ड्युटीमा खटिएको कुरा स्वीकार गरेका छन् । निज प्रतिवादीका साक्षी अम्बर अछामीले सुरू अदालतमा बकपत्र गर्दा आफू पनि उक्त समयमा प्रतिवादी खेम खड्काको समूहमा भई ड्युटी गरेको तर उक्त मिति र समयमा पीडितलाई जबरजस्ती करणी गरेको घटनामा प्रतिवादी खेम खड्काको संलग्नता छैन, यामप्रसादले आफू उक्त घटनामा फसेको रिसले खेम खड्काको नाम लिएको हुन सक्दछ भनी बकपत्र गरी प्रतिवादी खेम खड्काको इन्कारी बयानलाई समर्थन गरेको देखिन्छ । यसरी आरोपित कसुरमा प्रतिवादी खेम खड्काको इन्कारी बयान निजको साक्षीद्वारा समर्थन गरिएको देखिन्छ भने निजको उक्त इन्कारी बयान मिसिल संलग्न कुन कुन प्रमाणद्वारा समर्थन वा खण्डन भएको छ; सो सम्बन्धमा हेरी विश्‍लेषण गर्नुपर्ने हुन्छ ।  

५. प्रतिवादी खेम खड्का उक्त वारदातको मिति र समयमा घटनास्थल नजिकै एक समूहमा ड्यूटीमा खटिएको तथ्य निजको सुरू अदालतको बयानबाट पुष्टि भइरहेको छ । उक्त समूहमा प्रतिवादीहरू यामप्रसाद खाम्दाक, खेम खड्का, विशाल राई र बसन्त आचार्यसमेत सँगै खटिएका थिए भन्‍ने कुरा प्रतिवादी यामप्रसाद खाम्दाकको मौकाको अनुसन्धानको क्रममा र सुरू अदालतमा भएको बयानबाट पनि पुष्टि भइरहेको छ । सो तथ्य अनुसन्धानको क्रममा कागज गर्ने प्र.स.नि. वीरेन्द्रकुमार पौडेलले पनि आफू घटनास्थल नजिक युनिफाइड कमान्डमा ड्युटी गर्दा आफ्नै समूहका प्रतिवादीहरू यामप्रसाद खाम्दाक, खेम खड्का, विशाल राई, बसन्त आचार्यसमेतले ड्युटी गरेका र निजहरूले पीडित ............... लाई जबरजस्ती करणी गरेको भन्‍ने कुरा सुनेको हुँ भनी कागज गरी पुष्टि गरिदिएका छन् । यसरी प्रतिवादी खेम खड्का, यामप्रसाद खाम्दाकसहितका प्रतिवादीहरू वारदातको मिति र समयमा घटनास्थल नजिक युनिफाइड कमान्डमा एउटै समूहमा बसी ड्युटी गरिरहेको तथ्य निर्विवादरूपमा पुष्टि भएको देखियो ।

६. त्यसरी प्रतिवादीहरू ड्यूटी गरिरहेको उक्त मिति र समयमा नै उक्त ड्युटीस्थल नजिकै पीडितउपर जबरजस्ती करणीको आपराधिक घटना भएको तथ्य मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, पीडितको शारीरिक जाँच प्रतिवेदन, पीडितको मौकाको कागज, प्रतिवादी यामप्रसाद खाम्दाकको अनुसन्धानको क्रममा र सुरू अदालतमा भएको बयान, पीडित र जाहेरवालाको अदालतमा भएको बकपत्रसमेतबाट पुष्टि भइरहेको 

छ । नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूद्वारा संयुक्त रूपमा सञ्चालित युनिफाइड कमान्डको गस्तीको बखत उक्त ड्युटीमा खटिने सुरक्षाकर्मीहरूले आफ्नो पोसाक लगाई हतियार (बन्दुक) समेत लिई ड्युटीमा खटिने गरेको प्रचलन नै रहेको र सो तथ्यबारे आमरूपमा विदितै रहेको र सो मिसिल संलग्न जाहेरी दरखास्त, पीडितको कागज, प्रतिवादीहरू यामप्रसाद खाम्दाक र खेम खड्काको बयान तथा प्र.स.नि. वीरेन्द्रकुमार पौडेलको कागजसमेतबाट पुष्टि भइरहेको छ । यसरी वारदातको मिति र समयमा यी प्रतिवादी खेम खड्का पनि प्रतिवादी यामप्रसाद खाम्दाकसमेतका सुरक्षाकर्मीहरू सम्मिलित टोलीमा खटिई घटनास्थल नजिकै ड्युटी गरिरहेको र उक्त बखत निजले नेपाली सेनाले लगाउने औपचारिक पोसाकमै हतियार लिई ड्युटी गरिरहेको तथ्य पुष्टि हुन आएको छ । 

७. यसरी वारदात भएको बखत घटनास्थल नजिकै नेपाली सेनाका सिपाहीको रूपमा सेनाको पोसाकमा हतियारसमेत लिई अन्य प्रतिवादीहरूको साथ प्रतिवादी खेम खड्का पनि खटिएको देखियो । उक्त समयमा पीडित ............... सर्दु खोलातिर दिसा बस्न भनी गइरहेको बखत यी प्रतिवादी खेम खड्कासमेत भई पीडित सुमित्रा माझीलाई बोलाउँदै हातले समाती नजिकैको चारकोसे झाडीको छेउमा ठूलो बनमाराको घारीमा लगी जबरजस्तीसँग पालैपालो करणी गर्ने क्रममा यी प्रतिवादी खेम खड्काले सर्वप्रथम जबरजस्ती करणी गरी वारदातको अवधिमा दुईपटकसम्म पीडितलाई जबरजस्ती करणी गरेको बेहोरा अनुसन्धानको क्रममा पक्राउ परी आएका प्रतिवादी यामप्रसाद खाम्दाकले मौकामा नै आफ्नो बयानमा लेखाएका छन् भने सुरू अदालतको बयानमा समेत प्रतिवादी खेम खड्काले पनि पीडितलाई जबरजस्ती करणी गरेका हुन् भनी लेखाइदिएको कारणले यी प्रतिवादी अदालतको बयानमा कसुरप्रति इन्कार रहे पनि प्रतिवादी यामप्रसाद खाम्दाकले मौकाको अनुसन्धान अधिकारीसमक्षको र अदालतको बयानमा आफूसमेत कसुरमा संलग्न रहेको भनी यी प्रतिवादी खेम खड्कालाई पनि कसुरमा गरेको पोललाई प्रमाण मूल्याङ्कनको सिद्धान्तको आधारमा निज विरूद्ध प्रमाणमा लिन नमिल्ने भन्‍ने हुँदैन । मौकामा पक्राउ परेको प्रतिवादीले मौकाको बयानमा आफू कसुरप्रति साबित रही अन्य प्रतिवादीको हकमा समेत कसुरप्रति पोल गरेपनि अदालतको बयानमा अन्य प्रतिवादीलाई पोल गर्दैन भने त्यस्तो प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको पोललाई अन्य स्वतन्त्र र परिस्थितिजन्य प्रमाणहरूले समर्थन गरे नगरेको आधारबाट प्रमाणमा लिने सम्बन्धमा बहुत सतर्कता अपनाउनुपर्ने हुन्छ भने मौकाको अनुसन्धान अधिकारीसमक्षको र अदालतमा भएको बयानमा कसुरमा आफ्नो संलग्नता रहेको भनी साबित रही अन्य प्रतिवादीहरूलाई पनि पोल गरेको अवस्था छ र त्यसलाई अन्य भौतिक एवम् स्वतन्त्र प्रमाणबाट समेत समर्थित भइरहेको अवस्था छ भने त्यस्तो पोललाई निसन्देहरूपमा प्रमाणमा लिन कुनै द्विविधा मानिरहन हुँदैन ।

८. देशमा आन्तरिक सशस्त्र विद्रोहको समयमा शान्ति सुरक्षाको लागि खटिएका सुरक्षा निकायका जवानहरूबाटै पद, पोसाक र हतियारको आडमा वनमा घाँस दाउरा गर्न गएकी निर्दोष एवम् एक्ली महिलाउपर गरिएको यस्तो जबरजस्ती करणी जस्तो जघन्य वारदात एवम् कसुरमा प्रमाण मूल्याङ्कन गर्दा सामान्य एवम् हलुकारूपमा हेरी लिन मिल्ने हुँदैन । यसरी आफू कसुरमा साबित भई नेपाली सेनाका सिपाही यी प्रतिवादी खेम खड्काले सर्वप्रथम पीडितउपर जबरजस्ती करणी गरेको बेहोरा किटानीसाथ लेखाएका प्रतिवादी यामप्रसादको उक्त भनाई पीडितलाई आर्मी पुलिसको बर्दी लगाएका ५ जनाको समूहका सिपाहीहरूले पालैपालोसँग जबरजस्ती करणी गरेका हुन् भन्‍ने जाहेरवालाको जाहेरी बेहोरा र पीडितको मौकाको कागज बेहोरा तथा जाहेरवाला र पीडितको अदालतसमक्षको बकपत्रबाट पुष्टि भइरहेको छ । यसबाट उक्त वारदातका सहअभियुक्त यामप्रसाद खाम्दाक पीडितउपर यी प्रतिवादी खेम खड्काले जबरजस्ती करणी गरेको देख्‍ने व्यक्ति भएको हुँदा पीडितलाई मैले जबरजस्ती करणी गरेको छैन भन्‍ने प्रतिवादी खेम खड्काको कसुरमा इन्कारी बयान र सोलाई समर्थन गर्दै निजका साक्षीले गरेको बकपत्र खण्डित भई पीडितलाई यी प्रतिवादी खेम खड्काले समेत वारदातको मिति र समयमा जबरजस्ती करणी गरेको देखियो ।

९. आफूसँग पूर्व चिनजान नभएको सेना तथा प्रहरीका पोसाकधारी व्यक्तिहरूले अनायास सामूहिकरूपमा पालैपालोसँग मुखसमेत थुनी जबरजस्ती करणी गरेको अवस्थामा पीडितले ती व्यक्तिहरूको नाम, थर, वतन नचिन्‍नु थाहा नपाउनु स्वाभाविक नै हो । यसरी नचिनेका व्यक्तिहरूले जबरजस्ती करणी गरेको हुँदा तिनीहरूको नाम मौकाको जाहेरी दरखास्त, पीडितको कागज र जाहेरवाला तथा पीडितको बकपत्रमा उल्लेख गर्न नसक्नुलाई अस्वाभाविक मान्‍न सकिँदैन । उक्त वारदातलाई लिई परेको जाहेरी दरखास्त, पीडितको कागज, जाहेरवाला र पीडितको बकपत्रमा ५ जनाजति सेनाका पोशाकधारी हतियारसमेत लिएका सिपाहीहरूले जबरजस्तीसाथ सामूहिकरूपमा करणी गरेको बेहोरा पीडित र जाहेरवालाले खुलाएकै हुँदा जाहेरी दरखास्त, पीडितको कागज र पीडित तथा जाहेरवालाको बकपत्रमा यी प्रतिवादी खेम खड्काको नाम किटानी साथ उल्लेख गर्न नसकेको कुरालाई मात्र आधार बनाई यी प्रतिवादीले उक्त वारदातमा पीडितलाई जबरजस्ती करणी गरेकै थिएनन् भन्‍ने निष्कर्षमा पुग्नु प्रस्तुत वारदातको प्रकृति, वारदातमा प्रतिवादीहरूको संलग्नताको स्थिति एवम् प्रतिवादीहरूको हैसियतको सन्दर्भमा न्यायोचित हुन सक्दैन । तसर्थ; यस आधारमा यी प्रतिवादी खेम खड्कालाई आरोपित कसुरबाट सफाइ दिएको सुरूको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसलामा उल्लिखित उक्त आधार र कारणहरूसँग सहमत हुन सकिएन । अतः यी प्रतिवादी खेम खड्काले पनि अभियोग दाबीबमोजिम वारदातको मिति र समयमा पीडित सुमित्रा माझीलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिन आयो ।

१०. त्यस्तै; अर्का प्रतिवादी विशाल राईको हकमा विचार गर्दा; निजलाई मौकामा पक्राउ गर्न नसकेको र पछि अदालतबाट जारी भएको म्यादमा सुरू अदालतमा हाजिर भई बयान गर्दा निजले आरोपित कसुर गरेकोमा इन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादी विशाल राईसमेतले वारदातको मिति र समयमा पीडितलाई जबरजस्ती करणी गरेका हुन् भनी अनुसन्धानको क्रममा बयान गर्ने अर्का प्रतिवादी यामप्रसाद खाम्दाकले पोल गरेको देखिए पनि निजले सुरू अदालतमा आई बयान गर्दा यी प्रतिवादी विशाल राईको नाम किटानीसाथ लेखाउन सकेको देखिँदैन । जाहेरवालाले मौकामा दिएको जाहेरीमा र पीडितले मौकामा गरेको कागजमा तथा तिनीहरूले सुरू अदालतमा गरेको बकपत्रमा समेत यी प्रतिवादी विशाल राईको नाम किटानीसाथ लेखाउन नसकेको अवस्थामा सहअभियुक्त यामप्रसादले अनुसन्धानको क्रममा गरेको बयानमा निजको नाम उल्लेख भएको भरमा मात्र निज विशाल राईले पनि आरोपित कसुर गरेको मान्‍नु शंकायुक्त देखिएको हुँदा निजविरूद्ध सहअभियुक्त यामप्रसादको अनुसन्धानको क्रमको भनाइमा मात्र भर पर्न सकिएन । यस्तो द्विविधापूर्ण अवस्थामा शंकाको सुविधा यी प्रतिवादी विशाल राईले पाउने देखियो । तसर्थ; निज प्रतिवादीको हकमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर र यस अदालतको संयुक्त इजलासबाट मिति २०६९।१।३१ मा भएको प्रत्यर्थी झिकाउने आदेशसँग सहमत हुन सकिएन । अतः प्रतिवादी विशाल राईको हकमा वादी नेपाल सरकारको अभियोग दाबी पुग्न नसक्ने ठहराई निजलाई आरोपित कसुरबाट सफाइ दिनेगरी भएको सुरू सुनसरी जिल्ला अदालतको फैसलालाई सदर हुने ठहराई गरेको पुनरावेदन अदालत विराटनगरको फैसलालाई उक्त हदसम्म अन्यथा मान्‍न सकिएन ।

११. अतः उपर्युक्त विश्‍लेषणको आधारमा प्रतिवादी खेम खड्का र विशाल राईलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुनसरी जिल्ला अदालतको मिति २०६४।११।२२ को फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।३१ को फैसला केही उल्टी भई प्रतिवादी खेम खड्काले अभियोग मागदाबीबमोजिम पीडित ............... लाई जबरजस्ती करणी गरेको ठहर्छ । सो ठहरेकोले निजलाई मुलुकी ऐन; जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ५ (पाँच) वर्ष कैद र निजले समूहमा भई करणी गरेकोसमेत ठहरेकाले ऐ. महलको ३क नं. बमोजिम थप ५ (पाँच) वर्ष कैद गरी जम्मा १० (दश) वर्ष कैद हुने ठहर्छ । साथै; मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम यी प्रतिवादीहरूबाट पीडितलाई आधी अंशसमेत दिलाई भराई पाउने ठहर्छ । अर्का प्रतिवादी विशाल राईको हकमा वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न नसक्ने ठहरेकोले निजलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६४।११।२२ को फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।३१ को फैसला सो हदसम्म सदर हुने ठहर्छ । साथै; तत्काल फरार रहेका प्रतिवादी बसन्त आचार्यको हकमा प्रस्तुत मुद्दा मुलतबीमा राखेको बेहोरा सुरू फैसलाबाट देखिएकोले निजको हकमा प्रस्तुत मुद्दा मुलतवीबाट यथाशीघ्र जगाई कारबाही किनारा गरी अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

१. माथि ठहर खण्डमा पुनरावेदन अदालत विराटनगरको फैसला केही उल्टी भई प्रतिवादी खेम खड्कालाई अभियोग माग दाबीबमोजिम १० (दश) वर्ष कैद हुने ठहरेकोले निजको हकमा कैदको लगत कसी फैसला कार्यान्वयन गर्नू भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ।

२. प्रतिवादी खेम खड्काको भागमा पर्ने अंशबाट आधा अंश पीडित ............... लाई दिलाई भराई दिनू भनी फैसला कार्यान्वयन गर्ने सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ।

३. प्रतिवादी बसन्त आचार्यको हकमा प्रस्तुत मुद्दा मुलतबीबाट यथाशीघ्र जगाई कारबाही किनारा गर्नका लागि सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ।

४. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी सुरू मिसिल सुनसरी जिल्ला अदालतमा र रेकर्ड मिसिल उच्च अदालत विराटनगरमा पठाउने गरी प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत: प्रदीपकुमार उपाध्याय

इति संवत् २०७५ साल असोज २२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु