शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२३१ - उत्प्रेषण / परमादेश

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

आदेश मिति : २०७५।११।२३

०७३-NF-००२२

 

मुद्दा : उत्प्रेषण / परमादेश

 

पुनरावेदक / निवेदक : स्व. झुथरा थारूको छोरा दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं.४ दक्षिण अम्रै बस्ने सुन्दरलाल थारू

विरूद्ध

प्रत्यर्थी / विपक्षी : श्री गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठ चौघेरा दाङसमेत

 

गुठीको विवादलाई गुठी स्थापनाको उद्देश्य, मठ मन्दिरको अवस्थिति, अनुयायी वा मतावलम्बीहरूको चासो तथा समर्पण आदिसमेतका विषयहरूको समग्रतामा नहेरेसम्म यस्तो विवादमा सही न्याय निरूपण गर्न कठिन हुने ।

(प्रकरण नं.१८)

हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै    हो । धर्म र संस्कृतिकै रक्षाको अभिष्ट राखी राजादेखि रंकसम्मबाट विभिन्न काल खण्डमा विभिन्न जग्गा गुठी राखिएका   हुन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हुने ।

(प्रकरण नं.१९)

 

पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री शंकरकुमार श्रेष्ठ, विद्वान्‌ अधिवक्ता श्री मनोजकुमार शर्मा

प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय, विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

गुठी संस्थान ऐन, २०२१, २०२९ र २०३३

भूमिसम्बन्धी ऐन, २०२१

 

यसअघि यस अदालतबाट आदेश गर्ने :- 

माननीय न्यायाधीश श्री गोपाल पराजुली

मा. न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

सर्वोच्च अदालत, संयुक्त इजलास

 

आदेश

न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको र निवेदकको रिट निवेदन संयुक्त इजलासबाट खारेज भएपछि न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) अन्तर्गत पुनरावलोकनको निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ । रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

मेरो पिता झुथरा थारू र आमा सन्चिरी थरूनीको तर्फबाट जन्म भएको छोरा म निवेदक सुन्दरलाल थारू र २ छोरीहरू जन्म भएकोमा छोराछोरीको विवाह दानसमेत भइसकेको छ । पिता झुथरा थारू २०३२ सालमा र आमा सन्चिरी थरूनी २०३४ सालमा परलोकपछि हक खाने अंशियार एक मात्र छोरो म निवेदक भएको र पिता झुथरा थारूको नाममा जग्गाधनी श्री गोरक्ष पात्रदेव देवता सिद्ध रत्ननाथ मठ चौघेरा, दाङको नाममा दर्ता स्रेस्ता भएको दाङ जिल्ला, नारायणपुर गाउँ विकास समिति वडा नं.४(क) कि.नं.१६२ को क्षेत्रफल २-१९-१२ जग्गामा मेरो पिता मोहियानी भई मोहीको प्रमाणपत्र प्राप्त गरी परापूर्वकालदेखि म निवेदकसमेतले हकभोग गरी आएको छु । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार जग्गाधनीले विश्वास गरेको व्यक्ति म निवेदक भएको हुँदा पिताको शेषपछि उक्त जग्गा मेरो नाममा मोही नामसारी गरी पाउनको लागि सम्बन्धित नारायणपुर गाउँ विकास समितिको मिति २०६४/११/१६ को च.नं.१२५५ को सिफारिससमेतको आधारमा मैले भूमिसुधार कार्यालय घोराही दाङमा निवेदन दायर गरी मिति २०६६/६/२१/४ मा कि.नं.१६२ को उक्त जग्गा म निवेदक सुन्दरलाल थारूको नाममा मोही नामसारी भई आएको छ । पिता र म निवेदकले मोहीको कर्तव्य दायित्वअनुसार कुतबाली व्यावहारिक तबरबाट तिर्दै बुझाउँदै आएको छु । यस्तै अवस्थामा विगत २०६८ साल फागुनदेखि कानूनबमोजिम कुतबाली बुझिलिई सोको निस्सासमेत मलाई दिनुहोस् भन्दा विपक्षी प्रत्यर्थी नं.१ ले उक्त कुतबाली बुझाएको कानूनबमोजिमको निस्सा पनि दिन्न, व्यावहारिक तबरबाट मात्र म कुतबाली बुझी लिन्छु भनी मलाई जानकारी गराएकाले मैले आफ्नो व्यवहार र परिस्थितिको कारणले कानूनबमोजिम कुतबाली बुझिलिई हक छाडी कार्य गर्न सहयोग गरौं भन्दा विपक्षी मठ सहमतिमा नआएकोले मालपोत कार्यालयमा कुतबाली बुझिलिनु भनी मैले निवेदनसाथ कुतबाली बुझाउन जाँदा मालपोत कार्यालयले कुतबाली बुझ्न इन्कार गरेको र विपक्षीले कुतबाली नबुझी कानूनतः मलाई असर पर्न सक्ने अवस्था सिर्जना गरिएको छ । भूमिसुधार कार्यालय, दाङको मिति २०६६/६/२१/४ को निर्णयबाट मेरो मोही नामसारी भएपश्चात् पनि विपक्षीहरूबाट असल जग्गाधनीको कर्तव्य र दायित्व बहन नगरी उल्टै मलाई अन्यायमाथि झन् अन्याय हुने किसिमबाट कुतबाली नबुझी असहयोग गरेकोले विपक्षीहरूलाई कि.नं.१६२ जग्गाको कुतबाली निवेदकबाट बुझिलिई कानूनबमोजिमको रसिद भरपाई दिई उक्त कि.नं.१६२ को जग्गा मोही हकहस्तान्तरण गर्नमा कुनै पनि किसिमबाट बाधा अवरोध, टण्टा खिचोला नगर्नु नगराउनु, मोही हक स्वभाविक रूपमा सार्न वा हक छाडी दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिमसहितको परमादेशको आदेश जारी गरी न्याय दिलाई पाउँ भन्नेसमेत बेहोराको निवेदन ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? जारी हुनु नपर्ने भए यो आदेशप्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाउँमा म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।

श्री गोरक्ष पात्र देवता सिद्ध रत्न नाथ पिठ रतनपुर चौघेरा दाङ वि.सं.८०९ मा स्थापना भई गोरक्ष पात्र देव रत्न नाथको दैनिक पूजा अर्चना गोरक्ष, योग शिक्षा, संस्कृत शिक्षा, सरकारी विद्यालयहरूमा लगानी गर्दै आएको दाङ जिल्लामा नारायणपुर, ढिकपुर, लक्ष्मीपुर, चौलाही, गोवर्डिहा र साबिक हरिद्वार हाल घोराही नगरपालिकासमेत गरी जम्मा जग्गा विगाहा १३०० विगाहा २०२७/०२८ सालको सर्भे नापीका समयमा यस गुठीको नाममा दर्ता स्रेस्ता भएको थियो ।

यस चौघेरा मठ (गुठी) का नाममा दर्ता स्रेस्ता रहेको उल्लिखित दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं. ४(क), कि.नं. १६२ को क्षेत्रफल २-१९-१२ जग्गामा आँप, लिच्ची, कटहरलगायतका बिरूवाहरूको बगैंचा र गौशालासमेत भएकोले विपक्षीका बाबु र विपक्षीले यो जग्गा कहिल्यै पनि जोतभोग गरेका छैनन् । जग्गाधनी प्रमाण पुर्जामा उक्त कित्तामा विपक्षीको बाबु झुथरा थारूको नाम मोहीको महलमा उल्लेख छैन । यस गुठीले आफ्नैतर्फबाट उपयोग गर्दै आएको जग्गा हुँदा विपक्षीको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन ।

विपक्षी जोताहा मोही होइनन् । द्वन्द्वकालमा गाउँ विकास समितिका सचिवलाई धम्की दिई झुठ्ठा सिफारिस लिई मोही नामसारी गराएका रहेछन् । उक्त कुरा हाल मात्र यस मठलाई जानकारी हुन आएको हो । यस चौघेरा मठ (गुठी) का नामको जग्गाको रेकर्डअनुसार मोही लागेको जग्गा र गुठी तैनाथी घर खेती जग्गाको छुट्टाछुट्टै लगत रहेको छ, सो लगतअनुसार कि.नं.१६२ को ज.वि.२-१९-१२ जग्गा घरखेतीको जग्गा देखिन्छ । विपक्षीले मोहीको हैसियतले जोतभोत गरेको होइन । यस मठ (गुठी) को जग्गामा भएका जोताहा मोहीहरूको संख्या ८७ रहेको र मोहीहरूबाट बाली बुझी लिएपछि प्रत्येक मोहीलाई प्रत्येक वर्ष रसिद दिँदै आएका छौं । रसिद नदिई कुनै पनि मोहीबाट सुरूदेखि हालसम्म बाली बुझी लिने गरेका छैनौं ।

यदि कुनै पनि मोहीले जग्गाधनीलाई बाली बुझाउन जाँदा जग्गाधनीले बाली नबुझी दिएमा भूमिसम्बन्धी ऐनको दफा ३६ र नियमावली, २०२१ को नियम ४६ मा कानूनी उपचारको पर्याप्त व्यवस्था भएकाले उक्त कानूनी उपचारको बाटो अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गर्न नमिल्ने हुँदा विपक्षीको घरसारमा बाली बुझाएको भन्ने बेहोराको रिट निवेदन झुठ्ठा भएकाले खारेज गरिपाउँ भन्नेसमेत विपक्षी गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठको लिखित जवाफ ।

यस कार्यालयले गुठी अधीनस्थ रैतान नम्बरी (रैकर) जग्गाको मालपोत असुल गरी गुठी संस्थानको कोषमा दाखिला गर्ने गरेको छ । गुठी अधीनस्थ जग्गाको जोताहा वा दर्तावाला मोहीको हकमा कुतबाली असुल दाखिला गर्ने काम गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ  मठ चौघेरा दाङबाट हुने गरेको र यस कार्यालयमा कुन कुन जोताहा वा दर्तावाला मोहीले जग्गाको भोगचलन गर्नु भएको छ, छैन ? सालबसाली कुतबाली बुझाए / बुझाएनन् सोको रेकर्डसमेत नहुने तथा रिट निवेदकको के कस्तो अवस्थाका कारण कुतबाली नबुझिएको हो भन्नेसमेतको जानकारी यस कार्यालयलाई नभएबाट उक्त जग्गाको कुत धरौटी बुझी लिनेतर्फ कारबाही अगाडि बढाउनु पर्ने तत्कालीन अवस्था नभएको हुँदा रिट निवेदकले कुत धरौट दाखिला गर्न इन्कार गरी मलाई मालपोत कार्यालयले अन्याय गरेको भन्ने सतही रूपमा लगाइएका आरोपहरू निराधार हुन्, रिट निवेदन खारेज गरिपाउँ भन्ने मालपोत कार्यालय दाङको लिखित जवाफ ।

यी निवेदकले बाबु मोही भएको र आफूले पनि मोहीकै हैसियतमा जग्गा कमाई आएको भनी दाबी लिए पनि निजको बाबुले मोहीको हैसियतले कमाएको भन्ने कुराको प्रमाण पेस गर्न सकेको 

देखिँदैन । अर्कोतर्फ २०६६ सालदेखि मोही नामसारी भएको भने पनि सो अघिदेखिको कुत बुझाएको देखिने प्रमाण पनि पेस गर्न सकेको देखिँदैन । यदि कुत बुझिलिन यी विपक्षीले इन्कार गरेको भए त्यसकै साधिकार निकायमा आफू मोही भएको प्रमाणसहित कुतबाली धरौटी राखी त्यसको निस्सा लिनुपर्नेमा सो गरेको पनि देखिँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ ले मोहीको हैसियतले कमाएको जग्गाको जग्गाधनीले कुत बुझिलिन इन्कार गरेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका वा मालपोत कार्यालय वा भूमि प्रशासन कार्यालयमा धरौट राख्न सक्नेमा त्यसरी कुत बुझाउन जाँदा इन्कार गरेमा सोहीबमोजिमको उपचारको मार्ग अवलम्बन गर्नुपर्नेमा सो गरेको पनि देखिँदैन । यी निवेदकको बाबु मोही रहेको भए निजले र निजको मृत्युपछि यी निवेदकले सालबसाली कुत बुझाई आफ्नो मोही हकको निरन्तरता दिन सक्नुपर्नेमा त्यस्तो निरन्तरता दिन सकेको पनि देखिएन । मिसिल संलग्न उक्त जग्गाको फिल्डबुक उतारको मोही महलमा पनि मोही महल खाली भई यी निवेदक वा निजका बाबु कसैको पनि नाम उल्लेख भएको पाइँदैन । यसरी जग्गावाला विपक्षी मठले २०६८ सालदेखिको बाली नबुझेको भनेपनि सोभन्दा अघिदेखि कुतबाली बुझाएको निरन्तरता देखिने प्रमाण पेस हुन नआई दाबीको जग्गाको मोहीको निरन्तरता देखिन नआएको अवस्थामा गुठी अधीनस्थ उक्त जग्गाको कुतबाली बुझी मोही हक छुट्‍याउन भनी आदेश जारी गर्नु न्यायोचित नहुने मात्र नभई भूमिसम्बन्धी प्रचलित कानूनकै विपरीत हुन्छ । कुतबाली बुझाउने कार्य गुठीमा नै नगई कानूनी आधारविहीन पर्न आएको प्रस्तुत निवेदनबाट गुठीको हकलाई असर पर्ने गरी आदेश जारी हुन सक्ने देखिएन । तसर्थ प्रस्तुत निवेदन खारेज हुने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७१/११/२० मा भएको आदेश । 

जग्गाधनी श्री गोरक्ष पात्रदेव देवता सिद्ध रत्न नाथ  मठ चौघेरा दाङको नाममा दर्ता स्रेस्ता कायम भएको दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं. ४(क) को कि.नं.१६२ को क्षेत्रफल २-१९-१२ जग्गाको मोही मेरो पिता झुथरा थारू भई मोहियानी हकको प्रमाणपत्रसमेत प्राप्त गरी परापूर्वकालदेखि निवेदक र निवेदकको घर परिवारले जोत कमोद भोगचलन गरी आएको जग्गा हो । बाबुको शेषपछि हकखाने अंशियार र स्वभाविक रूपमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही हक प्राप्त गर्ने हकदार रहेको छु । कि.नं. १६२ को जग्गाको मोहियानी हक नामसारी गरिलिन पाउने कानूनी हक निवेदकको रहेको र निवेदकले उक्त कि.नं. १६२ को जग्गा आमा बुबाको शेषपछि  हालसम्म अनवरत रूपमा भोगचलन र कमाई आएको तथ्यमा विवाद रहेको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को (पाँचौं संशोधन) २०५८ को दफा २६(१) बमोजिम जग्गाधनी श्री गोरक्ष पात्रदेव देवता सिद्ध रत्न नाथ मठ चौघेरा दाङ रहेको र मोही मेरो पिता र आमाको मृत्युपछि म निवेदक एक्लो छोरो मोही रहेको अवस्थामा कानूनतः अन्य कोही हकवाला नभएको स्थितिमा जग्गाधनीले पत्याएको व्यक्ति कानूनतः म निवेदक भएको हुँदा उक्त कि.नं.१६२ को स्व. पिताको नाममा भएको मोहियानी हक नामसारी गरी पाउनको लागि नारायणपुर गाउँ विकास समितिको मिति २०६४/११/१६ को सिफारिस लिई निवेदकले भूमिसुधार कार्यालय घोराही दाङमा मोही नामसारी गरिपाउँ भनी दायर गरेको मुद्दामा भूमि सुधार कार्यालय दाङबाट मिति २०६६/६/२१ मा मोही नामसारी हुने गरी फैसला भएको थियो । उक्त भूमि सुधार कार्यालय दाङबाट भएको फैसलाउपर विपक्षी जग्गाधनीको  पुनरावेदन अदालत दाङमा पुनरावेदन नपरी उक्त मोही नामसारी मुद्दा अन्तिम भएर रहेको स्थितिमा उक्त कि.नं.१६२ को जग्गाको मोही नामसारी भई मोही कायम रहेको तथ्य स्थापित हुँदाहुँदै जग्गाधनीले उक्त जग्गाको कुत बुझ्न नमानेको कारण कुत बुझाई पाउँ भनी रिट निवेदन दिई विपक्षीको नाममा परमादेश आदेश जारी नहुने गरी रिट खारेज गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलामा मिसिल संलग्न सबुद प्रमाणको मूल्याङ्कन र विवेचना  एवं भूमिसुधार  कार्यालय दाङबाट  मिति २०६६/६/२१ गते भएको फैसलालाई प्रमाणको रूपमा विवेचना र विश्लेषण र मूल्याङ्कन नगरी सर्वोच्च अदालतबाट भएको फैसला ने.का.प.२०४१ अंक ९ नि.नं २१०३ पृष्ठ ७६२ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल निर्णय बदरभागी रहेको छ । 

मिति २०६६/६/२१ गतेको भूमि सुधार कार्यालय घोराही दाङबाट भएको फैसलाबमोजिम स्व.पिता झुथरा थारूको नामको मोहियानी हक म निवेदकको नाममा नामसारी भई आएपछि विपक्षी जग्गाधनीलाई कुतबाली बुझाउँदै आएको तर त्यसको निस्सा विपक्षी जग्गाधनीले निवेदकलाई दिनु भएको छैन । जग्गाधनी र मोही भएपछि जग्गाधनी र मोहीबिच कुतबाली बुझेको भरपाइ कबुलियतनामा निस्सा दिनुहोस् भनी बारम्बार प्रयत्न गर्दा पनि विपक्षीले कुतबाली बुझाएको निस्सा दिनु भएन । मालपोत कार्यालय दाङमा कुतबाली बुझाउन निवेदनसाथ दिन जाँदा कुतबाली बुझ्ने निवेदन लिन नमानेको र विपक्षी जग्गाधनीले कार्यालयमा कुतबाली बुझ्न निवेदन दिँदासमेत निवेदन बुझ्न नमानेको कारण सम्मानित अदालतसमक्ष असाधारण अधिकारक्षेत्र प्रयोग गरी कुतबाली बुझी पाउँ भनी बाध्यात्मक परिस्थितिमा रिट निवेदन दिएको हो । भूमिसम्बन्धी ऐन, २०२१ र नियमावलीमा भएको व्यवस्थाको विपरीत जग्गाधनी प्रमाणपुर्जामा र भूमि सुधार कार्यालय दाङबाट मिति २०६६/६/२१ मा भएको फैसलाबमोजिम निवेदकको पिताको नामको मोहियानी नामसारी भई रिट निवेदक निर्विवाद रूपमा मोही रहेको देखिँदादेखिँदै पनि म निवेदकको मोही हक नरहेको भन्ने जस्तो धारणा बनाई परमादेशको आदेश जारी नहुने गरी रिट निवेदन खारेज गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसला ने.का.प.२०६१, अंक ३, नि.नं ७३४३, पृष्ठ २७९मा प्रतिपादित सिद्धान्तको प्रतिकूल हुनुका साथै फैसलाबमोजिम मोहियानी हक नामसारी गरी प्राप्त भएको मोहियानी हकमा प्रतिकूल प्रभाव पर्ने गरी भएको निर्णय बदरभागी छ ।

मेरो पिताको नामको मोहियानी नामसारी म निवेदकको नाममा आई उक्त जग्गाधनी पुर्जामा निवेदकको नाम मोही महलमा उल्लेख भएको जग्गा हो । निवेदक मोही हो भन्ने कुरा मिति २०६६/६/२१ गते भूमि सुधार कार्यालय दाङबाट भएको फैसलाबाट र उक्त कि.नं.१६२ को जग्गाधनी पुर्जाबाट पनि प्रस्ट देखिन्छ । यसरी भूमि सुधार कार्यालय दाङबाट भएको उक्त फैसला विपक्षीले स्वीकार गरी आएको स्थितिमा सो फैसला अन्तिम एवं अकाट्य भइरहेकोमा सो फैसलाबमोजिम मोही हक प्राप्त भएको म निवेदक मोही नै होइनन् भन्ने आधार अवलम्बन गरी भएको निर्णय ने.का.प. २०३०, अंक ८, नि.नं. ७८५, पृष्ठ ३४५ को सिद्धान्तप्रतिकूल बदरभागी छ ।

उक्त सर्वोच्च अदालतबाट भएको निर्णय अन्यायिक एवं त्रुटिपूर्ण भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड "ख" बमोजिम पुनरावलोकनको निस्सा प्रदान गरी निवेदकको मागबमोजिम रिट जारी गरिपाउँ भन्ने निवेदनपत्र ।

यसमा वादी यिनै सुन्दरलाल थारू प्रतिवादी श्री सिद्ध रत्ननाथ मन्दिर चौघेरा दाङ भएको मि.नं.९५/३०५ को मोही नामसारी मुद्दामा मिति २०६६/६/२१ मा भूमि सुधार कार्यालय दाङबाट भएको फैसलासहितको मिसिल उक्त कार्यालयबाट झिकाई यिनै पक्ष विपक्ष भएको यस अदालतको ०६९-WO-०५४५ को फैसला मिति २०७१/११/२० को उत्प्रेषण परमादेशको मिसिल यस अदालतको अभिलेख शाखाबाट झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।

यसमा सुरू भूमि सुधार कार्यालय दाङले मिति २०६६/६/२१ मा वादी सुन्दरलाल थारूको नाममा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही नामसारी हुने भन्ने फैसला भएको र भूमि सुधार कार्यालय दाङले मिति २०६६/६/२६ मा यिनै निवेदक सुन्दरलाल थारूलाई मोहियानी हकको प्रमाणपत्र प्रदान गरेको अवस्थासमेत देखिँदा उक्त जग्गाको फिल्डबुक उतारमा मोही महल पनि खाली भएको, कुतबाली पनि निरन्तर रूपमा नबुझाएको र दाबीको जग्गामा मोहीको निरन्तरता देखिन नआएको भन्ने आधारमा सोतर्फ विवेचना नगरी यस अदालत संयुक्त इजलासबाट मिति २०७१/११/२० मा भएको फैसला ने.का.प.२०६१, अङ्क ३, नि.नं. ७३४३, पृष्ठ २७९ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिँदा साबिक न्याय प्रशासन ऐन, २०४८ एवं प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (क) र (ख) को अवस्था विद्यमान रहेको देखिँदा पुनरावलोकनको अनुमति प्रदान गरिएको छ । कानूनबमोजिम गर्नु भन्ने यस अदालतको आदेश । 

यसमा दाबीको दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं. ४(क) कि.नं. १६२ को जग्गा गुठी तैनाथी जग्गा हो भन्ने लिखित जवाफमा उल्लेख भएको देखिँदा विवादित कि.नं. १६२ को जग्गा गुठी तैनाथी जग्गा हो होइन भन्ने सम्बन्धमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट जवाफ झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश । 

रिट निवेदक सुन्दरलाल थारू र विपक्षी मालपोत कार्यालय घोराहीसमेत भएको उत्प्रेषणसमेत मुद्दामा भएको आदेशानुसार दाङ नारायणपुर गाउँ विकास समिति वडा नं. ४(क) कि.नं.१६२ को जग्गा गुठी तैनाथी जग्गा हो होइन ? भन्ने सम्बन्धमा यस अदालतमा जवाफ पठाइदिनु भनी लेखिएको त्यस सम्मानित अदालतको च.नं. ५५५३ मिति २०७४/३/११ को पत्र प्राप्त भई बेहोरा अवगत 

भयो । तत् सम्बन्धमा दाङ नारायणपुर गाउँ विकास समिति वडा नं. ४(क) कि.नं.१६२ को जग्गा गुठी संस्थानले बन्दोबस्त सञ्चालन गरी आएको राजगुठीमा कायम रहेको श्री गोरक्ष पात्रदेव सिंह रत्न नाथ मठको गुठी तैनाथी जग्गा हो । उक्त जग्गा नापीमा मोही महल खाली जग्गाधनी महलमा श्री गोरक्ष पात्रदेवता सिंह रत्न नाथ मठ १८८३ सालको लालमोहरबमोजिम भन्ने बेहोरा जनिई नाप नक्सा भएको जग्गा हो । मालपोत कार्यालय दाङमा रहेको गुठीको लगतमा उल्लिखित जग्गा गुठी संस्थानकै घरखेतीको जग्गाको विवरणमा रहेको छ । सोको प्रतिलिपि यसैसाथ संलग्न गरिएको छ भन्नेसमेत बेहोरा उल्लेख भएको च.नं २०० मिति २०७४/५/४ को गुठी संस्थान प्रधान कार्यालयको जवाफ । 

यसमा प्रस्तुत मुद्दामा यस संस्थानलाई पेसीको जानकारी दिई बहस पैरवी गर्ने अवसर प्रदान गरिदिनु हुन अनुरोध छ भनी गुठी संस्थान प्रधान कार्यालयले मिति २०७४/५/४ को पत्रमार्फत अनुरोध गरेको देखिएकोले सोहीअनुसार गुठी संस्थानलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेरियो ।

प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले गुठी तैनाथीको लगत हुनेमा त्यस्तो तैनाथी लगत देखाउन सकेको छैन । वि.सं.१८८३ को लालमोहरले प्रमाणित गरेमा जग्गा तैनाथी हुने हुन्छ । मधेसमा भिट जग्गा भनेको खेती नहुने पाखो घडेरी हुने जग्गा हो । गुठीसम्बन्धी ऐन, २०३३ को दफा २ को खण्ड "घ" ले राजगुठीको परिभाषा गरेको छ । गुठी अधीनस्थ जग्गा दर्तावालाले गुठी संस्थानमा जिन्सी नगदी रू.१,९०,७२०/- बुझाएको जग्गा हो । गुठी तैनाथी जग्गा कसैको नाउँमा दर्ता नभएको गुठीको सम्पूर्ण अधिकार भएको जग्गा सम्झनु पर्छ । मिति २०७४/४/९ को पत्रमा मठले मोही सुन्दरलाल थारूबाट कुत बुझिसकेको छ । १९ क्विन्टल सात किलो २०० ग्राम जिन्सी बुझाएको देखिएको छ । उल्लिखित आधारहरूबाट संयुक्त इजलासबाट भएको फैसला बदर गरी निवेदक मागबमोजिम रिट जारी हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । निवेदकका तर्फबाटै उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शंकरकुमार श्रेष्ठले विवादको कि.नं.१६२ को जग्गामा सुथरा थारूको नाउँमा मोही कायम भएको छ । मिति २०६६/६/२१/४ को फैसलाले सुन्दरलाल थारूको नाउँमा मोही नामसारी हुने गरी फैसला भएको छ । सुथरा थारूको २०३२ सालमा परलोक भएको र परलोकपछि हक खाने सुन्दरलाल थारू मात्र 

हुन् । गुठी अधीनस्थ जग्गा गुठी तैनाथी जग्गा होइन । मठले कुत नबुझेउपर निवेदक रिट लिएर आउनु परेको अवस्था हो । हाल मठले मोहीबाट कुत बुझिसकेको अवस्था छ । सुन्दरलाल थारू मोही स्थापित भइसकेको भनी मठको पत्रमा उल्लेख गरेको छ । तसर्थ पुनरावलोकनकर्ता मोही स्थापित भइसकेको अवस्थामा सुन्दरलाल थारूको पक्षमा आदेश हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो । निवेदककै तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री मनोजकुमार शर्माले मिति ०६६/६/२१ को निर्णयबाट मोही नामसारी हुने ठहर भएको छ । भूमि सुधार कार्यालयले निवेदकलाई मोहियानी हकको प्रमाणपत्र दिएको छ । जग्गाधनीको नाउँमा मोही नामसारी मुद्दाको म्याद जारी भएकोमा जग्गाधनी उपस्थित भएको देखिँदैन । विवादको जग्गाको जग्गाधनीको महलमा सिद्ध रत्न नाथ उल्लेख छ भने मोहीमा सुन्दरलाल थारू उल्लेख छ । तसर्थ यस अदालतको संयुक्त इजलासबाट रिट खारेज गर्ने गरी भएको आदेश त्रुटिपूर्ण हुँदा बदर गरी रिट जारी हुने गरी आदेश होस् भनी बहस प्रस्तुत गर्नुभयो ।

विपक्षीमध्येका मालपोत कार्यालयको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयले विवादको कि.नं. १६२ जग्गाको निवेदक मोही होइनन् । मोहीको लगतमा यी निवेदकको नाउँमा मोही कायम छैन । तसर्थ सयुक्त इजलासबाट रिट खारेज गर्ने गरी भएको आदेश सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । विपक्षीमध्येका गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेलले मन्दिरमा म्याद टाँसेको आधारमा मोही कायम गर्न 

मिल्दैन । भूमि सुधार कार्यालयमा फैसला बदर मुद्दा मिति २०७४/५/४ मा दिएको अवस्था छ । गुठी संस्थान ऐन, २०२१ को दफा १७ अनुसार राजगुठीको जग्गामा मोही हक प्राप्त हुँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(३)(ख) बमोजिम राजगुठीको जग्गामा मोही लाग्ने व्यवस्था थिएन । गुठी संस्थान ऐन, २०२९ को दफा ३१ ले २०३०/१२/३० पछि संस्थानले लिखित मन्जुरी दिएमा बाहेक मोही हुने छैन । गुठी संस्थान ऐन, २०३३ को दफा २७ ले प्रचलित कानूनबमोजिम मोही हुन कवुलियत हुनुपर्नेमा त्यस्तो कवुलियत छैन । तसर्थ रिट निवेदकको माग दाबीबमोजिम रिट जारी हुनुपर्ने होइन खारेज हुनुपर्ने भएकोले यस अदालतको संयुक्त इजलासबाट रिट खारेज गर्ने गरी भएको आदेश सदर कायम होस् भनी बहस प्रस्तुत गर्नुभयो । 

दुवै पक्षका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नु भएको उपर्युक्त बहससमेत सुनी सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरूपण हुनुपर्ने देखियो ।

(१) विवादित जग्गा के कस्तो प्रकृतिको जग्गा    हो ? जग्गाधनी श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ के कस्तो प्रकृतिको मठ हो ? 

(२) विवादित जग्गामा रिट निवेदकलाई मोही मान्न मिल्छ वा मिल्दैन; रिट निवेदन खारेज गर्ने गरेको संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन । निवेदकको मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन ।

 

२. सर्वप्रथम पहिलो प्रश्नतर्फ हेर्दा प्रस्तुत विवाद दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं.४(क) कि.नं. १६२ को जग्गा विगाहा २-१९-१२ सँग सम्बन्धित देखिन्छ । निवेदकका अनुसार सो जग्गाको जग्गाधनी श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ, चौघेरा दाङ र मोही निवेदकका बाबु झुथरा थारू हुन् । सो जग्गा बाबुको पालादेखि मोहीमा कमाएको र मोहियानी हकको प्रमाणपत्र प्राप्त जग्गा 

हो । सो जग्गा मिति २०६६।६।२१ मा आफ्ना नाममा मोहियानी हकको नामसारी भई कमाउँदै आएको र साबिकदेखि व्यावहारिक रूपमा कुत बुझाउँदै आएकोमा २०६८ साल फाल्गुणदेखि कानूनबमोजिम कुत बुझी बुझाएको कानूनबमोजिमको निस्सा दिनुहोस् भन्दा विपक्षी मठ सहमतिमा नआएकोले मालपोत कार्यालय दाङमा कुतबाली बुझाउन जाँदा मालपोत कार्यालयले कुतबाली बुझ्न इन्कार गरेकोले कुतबाली बुझिलिई कानूनबमोजिमको रसिद भरपाइ दिई उक्त कि.नं. १६२ को जग्गा मोही हक हस्तान्तरण गर्न कुनै पनि किसिमबाट बाधा अवरोध, टन्टा खिचोला नगर्नु नगराउनु, मोही हक स्वभाविक रूपमा सार्न वा हक छाडी दिनु दिलाउनु भनी विपक्षीको नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने निवेदन जिकिर देखिन्छ । 

३. निवेदकका यी कुराहरूलाई विपक्षी गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठले अस्वीकार गरेको देखिन्छ । सो सन्दर्भमा लिखित जवाफमा मठको तर्फबाट केही कुराहरू उठाइएका छन् । प्रथमतः विवादित जग्गा तैनाथी गुठी भई घरखेतीको लगत रहेको जग्गामध्येको जग्गा हो । दोस्रो, विवादित कि.नं. १६२ को जग्गामा आँप, लिची, कटहरलगायतका बिरूवा र गौशालासमेत भएकोले विपक्षीका बाबु र विपक्षीले कहिल्यै पनि जोतभोग गरेका छैनन् । तेस्रो, जग्गाधनी प्रमाण पुर्जामा विपक्षीका बाबुको नाम मोही महलमा छैन । चौथो, उक्त जग्गा गुठीले आफ्नै तर्फबाट उपयोग गर्दै आएको तैनाथी गुठीको जग्गा हुँदा विपक्षीको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन । 

४. प्रस्तुत विवादमा संयुक्त इजलासबाट निर्णय हुँदा मुख्य रूपमा निवेदकले बाबुका पालादेखि मोही रहेको भन्ने कुराको कुनै प्रमाण पेस गर्न नसकेको, २०६६ सालदेखि मोही नामसारी भएको भने पनि सो अघिदेखिको कुत बुझाएको देखिने प्रमाण पेस गर्न नसकेको, फिल्डबुक उतारको मोही महल खाली देखिएकोबाट गुठीको हकलाई असर पर्ने गरी बाली बुझी मोही हक छुट्याउन भनी आदेश गर्नु न्यायोचित नदेखिने भन्नेसमेत आधारमा निवेदन खारेज हुने ठहर भएको पाइन्छ ।

५. यद्यपि प्रस्तुत रिट निवेदनमा कि.नं.१६२ को जग्गामा निवेदक मोही हो वा होइन र विपक्षीहरू निवेदकलाई कानूनबमोजिम मोही मान्न र सोहीअनुरूप व्यवहार गर्न बाध्य छन् वा छैनन् भन्ने सीमित विषय उठाइएको छ तर प्रस्तुत विवाद गुठी जग्गाको सन्दर्भमा उठेको, विवादित जग्गाको फिल्डबुकको कैफियत महलमा “वि.सं. १८८३ का लालमोहरबमोजिम” भन्ने उल्लेख भएको, विवादित गुठीलाई कुनै पक्षले तैनाथी गुठी, कुनै पक्षले अधीनस्थ गुठी भन्ने नामकरण गरेको र यो जग्गाको जग्गाधनी श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ, चौघेरा दाङसँग सम्बन्धित देखिँदा सो मठको स्थापना र समस्त गुठीसम्बन्धी व्यवस्थाको समग्रतामा तथा पूर्ण इजलासका आदेशबमोजिम गुठी संस्थानबाट प्राप्त जवाफ र बहसको क्रममा प्राप्त लालमोहरको सन्दर्भमा समेत हेर्नुपर्ने हुन आयो । 

६. सो दृष्टिवाट हेर्दा लिखित जवाफमा श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ पीठ चौघेरा दाङ वि.सं.८०९ मा स्थापना भएको भन्ने र दाङ जिल्लामा नारायणपुर, ढिकपुर, लक्ष्मीपुर, चौलाही, गोवर्डिहा र साबिक हरिद्वार हाल घोराही नगरपालिकासमेत गरी जग्गा विगाहा १३०० जग्गा २०२७।०२८ सालको सर्भे नापीका समयमा मठको नाममा दर्ता स्रेस्ता रहेको थियो भन्ने कुराहरू उठाइएको छ । के यो साँच्चै

हो ? एतिहासिक तथ्य र प्रमाणहरूले के संकेत

गर्छन् ? त्यसैगरी सर्भे नापीमा नै १३०० विगाहा जग्गा मठको नाउँमा नापी भएको भनिएकोबाट यति धेरै जग्गा के कुन कारणबाट कसले कहिले गुठी राखेको रहेछ ? श्री गोरक्ष पात्र देवता सिद्ध रत्न नाथ मठ, चौघेरा दाङ मठको ऐतिहासिकता के हो ? यसको स्थापना, यसको प्रभाव, विस्तार र मतावलम्बीहरूको के कस्तो योगदान रहेको छ भन्ने आदि प्रश्नहरूबारे समेत विवेचना गर्नु सान्दर्भिक देखियो । सो गर्दा यस इजलासलाई गुठी संस्थानको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताले सो मठको गुठी जग्गाबारेको पेस गरेको लालमोहरबाट सुरू गर्नुपर्ने देखिन्छ । सो लालमोहर तलको बक्सभित्र दिइएको छ ।

 

श्री ज्यूज्यू

श्री रतननाथ

श्री बुबाज्यू

स्वस्ति श्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादि

विविधविरूदावलीविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज

श्रीश्रीश्रीमहाराज राजेन्द्रविक्रमसाहबहादुरसमसेरजङ्देवानां

सदासमरविजयीनाम ....................

 

आगे दाङ् चौघराका श्रीरतननाथके अघिदेषीका धुनीपानी गर्न्या जगा र दाङका अम्वलमा धुपबतिको दैदस्तुर अघिदेखी आजसम्म चर्चि आयाको जगा थामिबक्स्यौं भन्या श्रीबुबाज्यूबाट ६६ सालमा गोसवारा लालमोहर गरिबक्सनुभयाको रहेछ ‍. सो बमोजिम आजसम्म चर्चि आयाका गुठ दाङ्का अम्बलमध्ये छीली प्रगन्नाको दुबीचौर गाऊ १ सवारिं प्रगन्नाको जलहरागाऊ १ ऊतरदक्षिणका अम्बलका अम्बराई गाऊ २ बाघौगाऊ १ देऊषुरि प्रगन्नाको रतनपुरा गाऊ १ ज्मा गाउ ६ लगापातसमेत र देउपरगाउंमा षेत पालसीसन्याषोलाको एक मुरि बिज जान्या षेत एसैका पुछारमा पाथि १६ बिज जान्या षेत सीमन्पानीमा मुरि २ बिज जान्या षेत डाडागाऊको डिहि दाङ् देऊषुरी प्रगन्नामा परापुर्वदेषी दिआयाको कर्क ढाला भिह्रसमेत गुठ जगाको दे-हाए षोली परापुर्वदेषी आजसम्म चलन रितिथिति थामि लालमोहर गरिबक्स्यौं षातरज्मासंग विधिपुर्वक पुजा गरि हाम्रा जय मनाई सेष रह्याको बाह्रपँथिले भोग्य गर ईति सम्वत १८८३ साल मिति बैसाष सुदि ११ रोज ५ शुभम्मं - -

 

७. उपर्युक्त लालमोहरमा गुठी राखिएका पगन्ना, अम्बल र गाउँहरूको विवरण दिइएको छ । दाङ र देउखुरी गरी विभिन्न प्रगन्नाको ६ गाउँ र देउपुर गाउँसमेतमा ३ खला गरी ३ मुरी १६ पाथी विजन जाने खेतसमेतमा रत्ननाथको नाउँमा श्री ५ गिर्वाणयुद्ध विक्रम शाहले १८६६ सालमा गोश्वारा लालमोहर गरेको कुरा उद्धृत गर्दै “परापुर्वदेषी आजसम्म चलन रितिथिति थामी लालमोहर गरिबक्स्यौं” भनिएको र गुठीको आयस्था उठाई नित्य पूजा गरी शेष बाँकी बाह्रपन्थले भोग्य गर” भनिएको छ । यसले मठको ऐतिहासिकता र यससँग जोडिएका पन्थ अर्थात् सम्प्रदायबारे संकेत गर्दछ । दाङका विभिन्न ठाउँका जग्गाहरू सल्यानी राजाहरूका पालादेखि गुठी विर्तासमेत राखिएका र त्यसलाई शाहवंशीय राजाहरूले थामेका कुरा पनि इतिहास प्रकाशमा भेटिन्छन् । मठलाई समर्पण गरिएको गुठी दाङ, देउखुरी, सल्यान, प्युठान आदि स्थानमा रहेको र विभिन्न समयमा थामिएको भन्ने कागजपत्रहरूले देखाउँछन् । यसबाट विवादित जग्गाको फिल्डबुकमा "वि.सं.१८८३ सालका लालमोहरबमोजिम" भनिएको कुरा र २०२६/०२७ को सर्भेमा १३०० विगाहा जग्गा मठको नाउँमा नापी भएको भन्ने कुरा प्रमाणरहित रहेछ भन्न मिल्ने देखिएन । 

८. ऐतिहासिक सन्दर्भतर्फ हेर्दा रत्ननाथको स्थान, सोको गुठी जग्गा, मठको पुजारी, अम्बाली आदिका नाउँमा जारी भएका कैयौं लालमोहर, रूक्का आदि दस्तावेजहरू योगी नरहरिनाथले प्रकाशमा ल्याउनु भएको छ । ती सबै अभिलेख र दस्तावेजहरूको चर्चा र विश्लेषण यहाँ सम्भव छैन तर श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ, चौघेरा दाङसँग सम्बन्धित केही दस्तावेजहरूको आधारमा यो मठ, नाथ सम्प्रदाय र यसको गुठीबारेमा प्रकाश पार्न भने सान्दर्भिक देखिएको छ । यस अदालतले पटकपटक गुठीलाई हाम्रो धर्म र संस्कृतिको एक अभिन्न अङ्ग भन्ने धारणा व्यक्त गरिआएको छ । नेपालको एकीकरणकर्ता श्री ५ पृथ्वीनारायण शाहका गुरू गोरखनाथ, गोरक्ष मत र नाथ सम्प्रदायसँग सम्बन्धित महत्त्वपूर्ण मठ हुँदा यसको ऐतिहासिकताको चर्चा गर्नु आवश्यक हुन आएको छ । 

९. गोरक्षनाथलाई भगवान शिवको एक रूप भनी लिइन्छ । पृथ्वी, वेदवाणी, गौमाता र इन्द्रियसमेतको रक्षा गर्ने भएको कारण भगवान शिवलाई गोरक्ष पनि भनिन्छ । रत्ननाथ सवालाख झाडखण्ड (वनखण्ड मण्डल दाङ देउखुरीसमेत) का राजा रत्न परीक्षकसँग सम्बन्धित छ । राजा रत्न परीक्षक नै कुनै प्रसङ्गमा श्री गोरखनाथको दर्शन पाएपछि राजपाठ छाडी सिद्ध रत्न नाथ बनेको कुरा पनि इतिहास प्रकाशमा उल्लेख छ ।

हिमालयस्थो बलवीर्यशाली समस्तसामन्तनताङ्घ्र-पद्म ।।

धरामशेषामशिसज्जितारी राजन्वतीं रत्नपुरीनरेशः ।।२३।।

राज्यंपरित्यज्य स दाङराजःसप्ताङ्गमष्टाङ्गमवाप्य योगम् ।।

गोरक्षती रत्नपरीक्षकत्वात् सिद्दः प्रसिद्दो भुविरत्ननाथ ।।२४।।

गोरखनाथ रत्न नाथको अवस्थिति दाङमा मात्र नभई काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, मृगस्थली, काशी, मारवाड, राजस्थान, कार्नाटक, पञ्जाव, सिन्धु, सीमान्त, दिल्ली, कुरूक्षेत्र, पुष्कर, पुरूषपुर (पेशावर) काबुल, कान्दार आदिमा समेत रहेको बुझिन्छ । यसबाट भारतको गोरखपुरमा रहेको गोरखनाथको मन्दिरसमेतको श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठसँग कुनै न कुनै मतावलम्बी सम्बन्ध रहेको अनुमान हुन्छ । योगी नरहरिनाथले राजगुरू सिद्ध रत्न नाथको शिष्य परम्परा विक्रम संवत् ८०९ देखि सुरू भएको बताउनुभएको छ जुन कुरा प्रस्तुत रिट निवेदनमा लिखित जवाफ लगाउने क्रममा मठले पनि उल्लेख गरेको छ । दाङ चौघेराको सिद्ध रत्न नाथ पात्रदेवताकै हकमा पनि संवत् १२६१ मा सिद्ध रत्न नाथले यात्रा गर्ने देवी पाटनमा मधेश पहाडका सकल १२ पन्थ बसी श्रीनाथजीका दलिचामा गरेको योगी सम्प्रदायको थिति बन्देजको धर्मपत्र थान १ को पञ्जिका भेटिएबाट मठको ऐतिहासिक महत्त्वबारे संकेत मिल्छ । त्यसो त नेपालमा नाथ सम्प्रदायका पुजारी रहने दैलेखको शिरस्थान, अछामको वैजनाथ, पाल्पाको श्री भैरवनाथ, बाँकेको बागेश्वरी, गोरखाको गोरखनाथ, जुम्लाको भैरवनाथ आदि मठहरू पनि छन, तर ती सबैको इतिहास श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठजति पुरानो नहुन सक्छ । रत्न नाथ मठको गुठीका जग्गाहरू राजा महाराजाहरूले प्रदान गरेको र गुठी व्यक्तिलाई भन्दा पनि मठलाई प्रदान गरिएको र शेष बाँकी पनि व्यक्तिले नभई १२ पन्थले खानु भनिएकोबाट नाथ सम्प्रदायसँग जोडिएका गुठीको सम्बन्ध, नाथ सम्प्रदायको रितिथिति बन्देज, पूजापाठ र योग साधनाको थमौतीसँग सम्बन्धित हुँदा पनि यसको इतिहास अरू महत्त्वपूर्ण बन्न पुगेको छ । 

१०. योगी नरहरिनाथले रत्ननाथ पीठको मेला र पीर महन्तको छनौटको प्रसङ्गबारे पनि प्रकाश पार्नुभएको छ । वहाँका अनुसार फाल्गुण कृष्ण एकादशीदेखि फाल्गुनको अन्तिम दिन (फाल्गुण शुक्ल पुर्णिमा) सम्म दाङ रत्नपुर चौघेरा पात्रदेवको पवित्र तीर्थ रत्ननाथ पीठमा दर्शनार्थी समस्त जनता एवं योगीहरूको ठूलो मेला हुन्छ र त्यसमा १२ पन्थमध्ये कुनै एउटा सुयोग्य योगी सर्वसम्मतिबाट चुनेर गोरक्ष पात्रदेव सिद्ध रत्न नाथका सीद्धासन (पीठ) मा पीर पदवी दिएर स्थापित गरिन्छ । यात्राकै क्रममा होलिका उत्सवपछि श्री नाथ पात्रदेवतालाई पाटेश्वरी पीठमा लगिन्छ । पाटेश्वरी पीठको मार्गमा अति राम्रो देवपुर नामको पुर (देउखुरी-देबपुर) छ त्यहाँ पात्रदेवता आधा मास विश्राम हुन्छ । तदन्तर पाटेश्वरी पीठमा पात्र यात्रा हुन्छ । घटस्थापनादेखि महामेला नवमीसमेत एक पक्षभर देवीपाटनमा चौघेरामा जस्तै समस्त योगी र जनताले मेला गर्छन् । पात्रदेव तथा पीरका गद्दीमा चढाएको उपहार द्रव्यसाथका सबै १२ पन्थ योगीले बाँडेर उपयोग गर्छन् । त्यसपछि पीर आदि सबै योगीहरू फर्केर दाङ चौघेरा आउँछन् । तदन्तर कुनै योगी पीरको अनुमति लिएर तिर्थाटनमा जान्छन्, कुनै चौघेरामा श्री पात्रदेवताका सेवामा रहन्छन् भन्ने पनि इतिहास प्रकाशमा उल्लेख छ । 

११. यात्राको माथि उल्लिखित परम्परा कुनै न कुनै रूपमा गोरक्षपीठमा आज पनि देख्न पाइन्छ तर पीर स्थापनाको सो परम्परा कति स्थिर रूपमा चलेको थियो भन्ने प्रश्न उब्जन्छ । किनभने इतिहास प्रकाशमा सन्धिपत्र संग्रहमा कैयौं लालमोहर रूक्का पत्रहरू प्रकाशित छन् जसले प्रतिवर्ष पुजारीको पजनी गर्दा थान बिग्री उज्रन गएको चर्चा गर्दै पुजारी पद कालपर्यन्तको लागि थामेको पनि पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहका समकालिक उनले समेत सम्मान गरेका र नेपालको एकीकरणमा सहयोगी भूमिकासमेत खेलेका सिद्ध भगवन्तनाथ योगीले प्राप्त गरेको मण्डलायीले पनि यही कुराको संकेत गर्छ । 

१२. संक्षेपमा भन्दा श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको महात्म्य ठूलो रहेछ, मठ पनि धनधान्य समृद्धिले भरिपूर्ण रहेछ, कुनै समयमा मठले हात्तीसमेत पालेको रहेछ भन्ने देखिन्छ । महन्तको रूपमा को कस्ता जोगी नियुक्त हुने, महन्त प्रदेशी जोगी (रम्ताजोगी) वा घरबारी जोगी हुने, जोगी मर्दा पर्दा कसले हेर्ने, दण्डकुण्ड कसले खाने भन्ने आदि विषयमा लालमोहर रूक्का आदिमार्फत व्यवस्था गरिएको पाइन्छ । त्यसैगरी मठको गुठी जग्गामा काम गर्ने मठसँग जोडिएका व्यक्तिहरूलाई अन्य काम अर्थात् बेठ बेगार नलगाउनु, गुठी जग्गाको कुलोपानी नरोक्नु, आवाद गुल्जार गर्नु, मठमा बुझाउनुपर्ने बाली नरोक्नु, मठको सम्पत्ति नमास्नु, मठको हात्ती पक्रन मद्दत गर्नु, गुठी जग्गा रैकरमा परिणत नगर्नु भन्ने आदि बारेमा प्रशस्त दस्तावेजहरू इतिहास प्रकाशमा भेटिन्छन् । यी दस्तावेजहरू, संस्कृत, हिन्दी, थारू भाषा आदिमा जारी भएकासमेत पाइएबाट विभिन्न कालखण्डका राजा महाराजा र राणा प्रधानमन्त्रीहरूसमेतले जनबोली र जनभाषासमेत टिप्दै श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ प्रति श्रद्धा, समर्पण र भक्ति भाव राखेको, आम जनतालाई सम्झाएको र मठको विवादको समाधान गरी मठ सञ्चालनमा सहयोगी भूमिका खेलेको पाइन्छ । 

१३. श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको ऐतिहासिकताबारे यति भनेर अब विवादित जग्गामा रिट निवेदकलाई मोही मान्न मिल्छ वा मिल्दैन; रिट निवेदन खारेज गर्ने गरेको संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन । निवेदकको मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने दोस्रो प्रश्नतर्फ हेर्दा माथि गरिएको विश्लेषणबाट विवादित जग्गाको फिल्डबुकको कैफियत महलमा "१८८३ सालको लालमोहरबमोजिम" भन्ने उल्लेख भएबाट कि.नं.१६२ को जग्गा तैनाथी राजगुठीको जग्गा हो भन्नेमा विवाद रहेन । तैनाथी गुठीमा मोहियानी हकबारे के कस्तो व्यवस्था रहेछ भन्ने विषयमा गुठी संस्थान ऐन, २०२१, २०२९ र २०३३ समेतका व्यवस्थाहरू हेर्नुपर्ने हुन आयो । गुठी संस्थान ऐन, २०२१ को दफा १२ मा राजगुठीको चल अचल जायजेथाको बन्दोबस्त र सञ्चालन संस्थानले गर्नसक्ने व्यवस्था रहेको छ । गुठी संस्थान ऐन, २०२१ को दफा १७ मा देहायको व्यवस्था रहेको देखिन्छः

"१७. राजगुठीको जमिनमा हक प्राप्त नहुनेः अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनबमोजिम संस्थानले बन्दोबस्त वा हेरचाह गरेको कुनै राज गुठीको जग्गा जमिन वा अन्य कुनै सम्पत्तिमा यो ऐन प्रारम्भ हुँदाका बखत कसैलाई कुनै हक प्राप्त भइराखेको भए संस्थानले अन्यथा गर्न मन्जुर गरेकोमा बाहेक यो ऐन प्रारम्भ भएपछि त्यसको हक समाप्त भई कसैको कुनै किसिमको हक नभएसरह सो सम्पत्तिमा पुनः सो राजगुठीको सम्पूर्ण हक कायम भएको मानिने छ ।"

१४. उक्त व्यवस्थाअनुसार हेर्दा गुठी संस्थान ऐन, २०२१ जारी हुँदाको अवस्थामा राजगुठीको जग्गामा कसैलाई कुनै हक नरहेसरह मान्नुपर्ने हुन आयो । यस स्थितिमा विवादित कि.नं.१६२ को जग्गामा रिट निवेदकले बाबुका पालादेखि मोही कायम रहेको भनी उल्लेख गरेको भन्ने कुराले कुनै अर्थ राख्न सक्ने देखिँदैन । जुन कुरा कानूनले नै रोकेको छ, सो कानूनको विपरीत कुनै प्रमाण पत्र जारी गर्न सक्ने अधिकार कसैलाई हुँदैन र जारी नै गरेमा पनि त्यसले मान्यता पाउँदैन । त्यसमाथि निवेदकले झुथरा थारूको नाउँको मोहियानी हकको प्रमाणपत्र भनी पेस गरेको कागजमा कसैको सहिछाप नरही रबरको छापबाट बनाइएको हस्ताक्षरको आकृतिको छाप लगाइएको देखिन्छ । सो प्रमाणपत्रमा मिति पनि उल्लेख छैन, यस्तो कानूनी अस्तित्वविहीन कागजबाट हक सिर्जना हुन्छ भनी मान्न मिल्ने देखिएन । त्यसैगरी भूमि सुधार कार्यालयको मोही नामसारीसम्बन्धी निर्णय हेर्दा पनि कार्यालयको यो यस्तो अभिलेखबाट झुथरा थारू मोही देखिएको नभनी नारायणपुर गाउँ विकास समितिले सिफारिस गरेको भन्ने आधारमा मोहियानी हकको नामसारी गरेको देखिन्छ । रिट निवेदकले यस अदालत वा भूमि सुधार कार्यालयमा पनि बाली बुझाएको कानूनले मान्यता प्राप्त कुनै लिखत प्रमाण रसिद आदि पेस गर्न सकेको पाइँदैन । विवादित जग्गाको मिति २०२८/२/२३ मा खडा भएको फिल्डबुकको मोही महलमा खाली जनाइएकोसमेतबाट भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुँदा मोहियानी हक बन्ने कुनै कुरा प्राप्त भएको भन्न मिल्ने अवस्था देखिएन ।

१५. विपक्षी श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको लिखित जवाफमा निवेदकलाई मोही मान्न इन्कार गरेको र पूर्ण इजलासको आदेशबमोजिम प्राप्त विपक्षी गुठी संस्थानको जवाफ हेर्दा कि.नं.१६२ को जग्गा गुठी संस्थानले बन्दोबस्त सञ्चालन गरी आएको राजगुठीमा कायम रहेको श्री गोरक्षपात्र देव सिंह

रत्ननाथ मठको गुठी तैनाथी जग्गा हो, नापीमा मोही महल खाली, जग्गाधनी महलमा श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ १८८३ सालको लालमोहरबमोजिम भन्ने बेहोरा जनिई नाप नक्सा भएको मालपोत कार्यालयको लगतमा संस्थानकै घरखेतको जग्गा हो भन्ने उल्लेख भएको छ । यसबाट विवादित राजगुठीको जग्गामा रिट निवेदकलाई कुनै हक प्राप्त हुन सक्ने देखिएन । गुठी संस्थान ऐन, २०३३ अनुसार राजगुठीको जग्गामा गुठी संस्थान नै आधिकारिक निकाय हुँदा र श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठका मठाधीशलाई संस्थानको स्थानीय एजेन्ट वा प्रतिनिधिसम्म मान्न सकिने भएबाट लिखित जवाफ पेस गरिसकेपछि हाल मठतर्फबाट के भनियो वा के पत्र लेखियो भन्ने कुराले धेरै अर्थ र महत्त्व राख्न सक्ने देखिँदैन । बरू मठको हितविपरीत कसैले केही कागज गरेको छ वा पत्र लेखेको छ भने त्यस्तो कार्य धर्मलोप मानिने हुँदा मठ वा यसको सम्पत्तिमाथिको हकविपरीत हुने गरी लेख्ने व्यक्तिउपर कारबाही हुन सक्ने हुन्छ ।  

१६. राजगुठीको जग्गाको बन्दोबस्त गुठी संस्थानले गर्ने व्यवस्था गुठी संस्थान ऐन, २०२९ को दफा १६, १८, २४ र दफा २५ मा छ । उक्त ऐनको दफा २६ ले गुठी तैनाथी जग्गामा संस्थानको लिखित सहमतिबेगर कसैलाई मोहियानी हक प्राप्त हुन सक्ने देखिँदैन । सोही व्यवस्थासँग मिल्दोजुल्दो व्यवस्था गुठी संस्थान ऐन, २०३३ को दफा १६ समेतमा हुँदा गुठी संस्थानको सहमतिबेगर राजगुठीको जग्गामा कसैलाई कुनै प्रकारको हक प्राप्त हुन सक्ने देखिँदैन । गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानूनबमोजिम मोहियानी हक पाउने छ भन्ने उल्लेख छ । यसबाट यी रिट निवेदकलाई मोहियानी हक प्राप्त हुने हो कि भन्नलाई पनि प्रथमतः उक्त दफा २७ मा “प्रचलित कानूनबमोजिम” भन्ने शब्दावली प्रयोग भएको छ । यसबाट उक्त दफा २७ ले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोहियानी हक प्राप्त हुन सक्ने कुरालाई इङ्गित गरेको रहेछ भनी बुझ्नु पर्ने हुन्छ । तर गुठी संस्थान ऐन, २०२१ मा राजगुठीको जग्गामा कसैलाई कुनै प्रकारको हक प्राप्त हुन सक्ने नदेखिँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५को उपदफा (३) को खण्ड (ख) को व्यवस्थाअनुसार पनि राजगुठीको जग्गामा मोही लाग्न सक्ने स्थिति नहुँदा अन्य जग्गामा जस्तो ऐन प्रारम्भ हुँदा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई जोताहा अस्थायी निस्सा प्राप्त गरी मोही हुने कुरा राजगुठीको जग्गाको हकमा तत्काल आकर्षित नहुने देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ मा दोहोरो कबुलियत लिई दिई मोही हुने प्रक्रियाबारे व्यवस्था गरिएको हकमा त्यस्तो कबुलियत वा गुठीबाट मोहीको मन्जुरी दिइएको छ भन्ने जिकिर नहुँदा निवेदकको मोहियानी हकको कुरा नै विवादास्पद देखिन आयो । जहाँसम्म २०६६।६।२१ मा मोहियानी हक नामसारी भएको भन्ने जिकिर छ, सो नामसारी बदर गर्नको लागि भूमि सुधार कार्यालय दाङमा २०७४।५।४ मा मुद्दा गरिसकिएको छ भन्ने विपक्षी गुठी संस्थानको तर्फबाट बहसमा जिकिर लिइएकोबाट मोही नामसारी पनि विवादरहित रहेको मान्न सकिने अवस्था देखिएन । 

१७. विवादित जग्गाको हकमा गुठी संस्थानको लिखित जवाफसाथ पेस भएको मालपोत कार्यालयको लगतमा विवादित कि.नं.१६२ को जग्गा “घरखेत” लगतमा उल्लेख भएको पाइन्छ । साथै संस्थानको जिकिर र श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको लिखित जवाफमा घरखेतको जग्गा भनिएको छ । घरखेतको जग्गा भन्नाले मठ आफैँले खेती गर्ने गराउने जग्गा भन्ने बुझिन्छ । यस्तो जग्गामा मोही

हुँदैन । साथै लिखित जवाफमा “यस मठको जम्मा जग्गा विगाहा १३०० मध्ये मोही कायम भएका जग्गाहरू आ.व. २०४९/०५० मा रैकरमा परिणत भएकोले हाल जग्गा विगाहा २९८ मात्र बाँकी रहेकोमध्धे ५२ विगाहा मात्र मोही जग्गा र जग्गा विगाहा २४६ घर खेतीको जग्गा छ, यो कि.नं. १६२ को २-१९-१२ जग्गा घरखेतीको जग्गाको रेकर्डमा पर्छ । हाल ८७ जना मात्र मोही छन् यी निवेदक मोही रेकर्डमा पर्दैनन्” भन्ने उल्लेख भएको पाइन्छ । गुठी जग्गा रैकरमा परिणत गर्दा कसैको निवेदनमा नै गरिने हो । त्यस्तो निवेदन दिने व्यक्ति जग्गा कमाउने जोताहा मोही नै हुन्छन् । श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको हजार विगाहाभन्दा बढी जग्गा रैकर परिणत भइसकेको, यी निवेदक साबिकदेखि मोही भए किन निजले कमाएको जग्गा रैकरमा परिणत हुन सकेन भन्ने प्रश्न पनि विचारणीय देखिन्छ । लिखित जवाफमा हाल देखिएका ८७ जना मोहीमा पनि यी निवेदक वा निजको बाबु मोही नदेखिनु, घरखेतको लगतको जग्गा हो भनिनु र विवादित जग्गामा आँप, कटहर, लिचीका बोटविरूवा बगैंचा र गौशालासमेत छ भनिनुबाट समेत विवादित जग्गा मोही लागेको जग्गा रहेनछ भन्ने नै पुष्टि हुन्छ र परिणामतः निवेदकले गराएको मोहियानी नामसारी विवादास्पद देखिन आउँछ । 

१८. गुठीसम्बन्धी विवाद अदालतमा आउँदा एउटा कित्ता वा केही कित्ता जग्गाको विवाद बनेर आउँछ, तर अक्सर यो सतहसम्मको कुरा हुन्छ । गुठीको विवादलाई गुठी स्थापनाको उद्देश्य, मठ मन्दिरको अवस्थिति, अनुयायी वा मतावलम्बीहरूको चासो तथा समर्पण आदिसमेतका विषयहरूको समग्रतामा नहेरेसम्म यस्तो विवादमा सही न्याय निरूपण गर्न कठिन हुन्छ । विवादित विषयमा प्राप्त अभिलेखहरूको आलोकमा श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठको ऐतिहासिकता, गोरक्षमतको नेपाल, भारत र अन्य मुलुकहरूमा रहेको फैलावट, मठ र मतावलम्बीहरूको आचरण व्यवहार, धर्म संस्कृति जात्रा पर्व जोगाउन र जगेर्ना गर्नुपर्ने आवश्यकतासमेतलाई हेरी न्याय निरूपण गर्नुपर्ने देखिएको छ । यस्तो दृष्टि नराखेसम्म यो विवाद साधुरिएर केबल एक कित्ता जग्गाको मोही हकसम्बन्धी विवाद बन्न पुग्छ र तत्कालको राजनीतिक चाप र प्रभाव एवं स्थानीय तहमा तयार भएका केही कागजातको रोहमा सत्य र असत्यको निरूपण गरिन पुग्छ । 

१९. नेपालमा गुठीका प्रकृति अनेक 

छन् । गुठीको प्रकृति हेरी गुठीसँग सम्बन्धित संस्थाहरू राज्य र समुदायको तहमा अनेक किसिमका छन । तर ती कति सक्षम, जागरूक र उत्तरदायी छन्, यो पनि छलफलको विषय नै होला । हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै हो । धर्म र संस्कृतिकै रक्षाको अभिष्ट राखी राजादेखि रंकसम्मबाट विभिन्न काल खण्डमा विभिन्न जग्गा गुठी राखिएका हुन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हो । धर्म र संस्कृतिको रक्षाको लागि गुठी जग्गा, गुठीका मठ स्थान, तिनका वाग बगैंचा र अभिलेख रक्षा गर्ने, गुठीको रक्षा गर्ने जिम्मेवारी लिएका संस्थाहरूमा सुशासन कायम गर्ने र वर्तमानको आवश्यकतालाई समेत दृष्टिगत गर्दै योजनाबद्ध रूपमा गुठी जग्गा र गुठी संस्कृतिको रक्षा गर्ने कुराहरू सान्दर्भिक प्रश्न बन्छन् । समयको लामो अन्तरालले गर्दा गुठीका विवादहरूमा गुठी राखिएका कागजपत्रहरू हराएको, ऐतिहासिकताको कुरा अभिलेखमा नभई किम्बदन्तीमा सीमित रहन पुगेको, लोभानी पापानीले घेराबन्दी गरेको परिस्थिति पनि उत्पन्न हुन सक्छ । यस्तो परिस्थितिमा अदालतले बृहत् राष्ट्रिय र सामाजिक न्यायको पहिचान गरी विषयवस्तुको निरूपण गर्नुपर्ने हुन्छ ।

२०. गुठीको सन्दर्भमा मनन् गर्नुपर्ने अर्को कुरा के पनि छ भने कतिपय अवस्थामा धर्म संस्कृति र गुठीको जग्गा जोगिनु पर्छ भन्ने मत विस्तीर्ण हुँदाहुँदै पनि सुसुप्त नागरिक चेतनामा सीमित 

हुन्छ । तर व्यक्तिगत स्वार्थ, हित वा अधिकारको दाबी गर्ने पक्ष अदालत सामु नस नारी ठेलेर पौंठाजोरी खेल्दै न्याय प्रभावित पार्न उद्दत रहने अवस्था पनि हुन्छ । यस्तो प्रवृत्तिप्रति अदालत सदा सचेष्ठ रहनु पर्छ । न्याय सहजता र सुविधाको मात्र विषय होइन । कतिपय अवस्थामा यो दुरूह पनि हुन्छ भन्ने कुरालाई न्यायकर्मीहरूले मनन् गरी न्याय सम्पादन गर्दै न्यायलाई सहज बनाउनु पर्छ । समाजमा न्यायले हरदम र हर हालतमा जित्नु पर्छ । अवाञ्छित स्वार्थको पराजय हुन सक्यो भने मात्र समाजमा न्याय चीरस्थायी हुन पुग्छ । न्याय जोगाउने दायित्व अदालतकै हो, त्यसैको लागि यो खडा भएको हो । समाजमा र राष्ट्रमा न्याय स्थापित हुन सक्दा मात्र न्यायको गरिमा सुरक्षित रहने हो । 

२१. तसर्थ माथि गरिएको विवेचनाको रोहमा संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन भनी हेर्दा संक्षेपमा प्रस्तुत विवाद सतहमा हेर्दा एउटा कित्ता जग्गाको विषयको रूपमा पेस गरिएको भएपनि श्री गोरक्ष पात्रदेवता सिद्ध रत्न नाथ मठ, यसको अस्तित्व र जगेर्नासँग सम्बन्धित देखिएकोसमेतका कुराहरूलाई दृष्टिगत गरी हेर्नुपर्ने देखिन आएको छ । यस दृष्टिबाट हेर्दा निवेदकले जे कुराको दाबी लिएको छ सो स्थापित हुन सकेको छैन । संक्षेपमा, निवेदक वा निवेदकको बाबु झुथरा थारू विवादित जग्गाको मोही रहेछ भन्ने विवादरहित रूपमा स्थापित हुन नसकेको र विवादरहित हकको प्रचलन मात्र रिट क्षेत्रबाट हुन सक्ने हुँदा रिट निवेदन खारेज गर्ने ठहराएको यस अदालत संयुक्त इजलासको २०७१।११।२० को निर्णय आदेशलाई अन्यथा भन्न मिल्ने देखिएन । उक्त निर्णय सदर हुने ठहर्छ । संयुक्त इजलासको आदेश उल्टी भई निवेदन मागबमोजिम रिट जारी हुनुपर्दछ भन्ने निवेदक र निजतर्फका विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. तेजबहादुर के.सी.

न्या. डम्बरबहादुर शाही

 

इजलास अधिकृत : ध्रुवराज कार्की

इति संवत्‌ २०७५ साल फागुन २३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु