शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३४७ - कर्तव्य ज्यान

भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक:

निर्णय नं. ४३४७    ने.का.प. २०४८      अङ्क ८

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको स.अ.फौ.सा.नं. २६

फैसला भएको मिति : २०४८।७।६।४ मा

वादी : धुपकलीदेवीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि.रौतहट ब्रमपुरी गा.पं. वडा नं. १ बस्ने रतन सिंह भन्ने रत्नेश्वरप्रसाद सिंहसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)                मौकाको कागजमा आफू वारदातस्थलमा रही मृतकलाई प्रहार गरेको भन्ने कुरा स्वीकार गरेको र शव परीक्षण प्रतिवेदन, लाश जाँच मुचुल्का समेतमा उल्लेख भएको घाउ चोटको प्रकृति मौकाको कागजसंग सामन्जस्य रही सो स्वीकारोक्तिलाई समर्थन गरेको प्रमाणित भएकोले ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मनासिब ठहर्ने ।

(प्रकरण नं. १९)

फैसला

न्या.केदारनाथ उपाध्याय

१.     मिति २०४१।१२।१६ गते बेलुकी ९ बजे लोग्ने ललन सिंह घरबाट निस्की बाहिर जानु भएकोमा ऐ. १७ गते बिहानसम्म घर नआउनु भएकोले खेतमा गई हेर्दा निजको आङ जिउमा काटेको र मृत अवस्थामा रहेको देखिँदा जाहेर गर्न आएको छु । रत्नेश्वरप्रसाद सिंह, नागेश्वर महरा, अच्छेलाल महरा समेत भई लोग्नेलाई निर्मम हत्या गरेको हुँदा निज (साविक पेज नं. ४३७) हरुलाई पक्राउ गरी ज्यानसम्बन्धी महल बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको धुपकलीदेवीको मिति २०४१।१२।१७ को जाहेरी दर्खास्त ।

२.    मृत ललनसिंह राजपुतको लाश जत्रतत्र घोचेको काटेको देखिने भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

३.    ललन सिंहको झगडियाले खेतमा रहरी काटी बोझा पारी रहेको अवस्थामा नागेश्वर महरा, अच्छेलाल महरा, रामआश्रे महरा समेत अरु नचिनेका ३।४ जनाले समेत हामीलाई प्रहार गर्न लागेकाले हामी भाग्यौं भनी बाबुले भन्नु भएकोले म पनि हेर्न गएको थिएँ भन्ने समेत व्यहोराको रामानन्द तत्माको प्रहरीमा भएको कागज ।

४.    रत्नेश्वरप्रसाद सिंह समेतका व्यक्तिहरुले ललन सिंहलाई कर्तव्य गरी मारेका हुन् मैले उज्यालोबाट रामआश्रे समेतलाई चिनें भन्ने समेत व्यहोराको चुल्हाई दास तत्माको प्रहरीमा भएको कागज ।

५.    राजु सिंहले हातमा लिएको धार भएको फलामे गडासा देखाई हल्ला गरिस् भने मारी दिन्छु भनी भनेकोले हामी भागी गएका हौं भन्ने समेत व्यहोराको रघुनी महराको प्रहरीमा भएको कागज ।

६.    मैले उम्कनको लागि बर्छीले मृतकको आङ जिउमा २।३ पटक प्रहार गर्दा नागेश्वर, अच्छेलाल, रामआश्रे समेतले जत्रतत्र लाठी भाला गडासा प्रहार गर्दा ललन सिंहको घटनास्थलमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको रत्नेश्वरप्रसाद सिंहले प्रहरीमा गरेको बयान कागज ।

७.    नागेश्वर, अच्छेलाल, रामआश्रे, राजु सिंह समेत भई आज मानिसको ज्यान लिनु पर्छ भनी सल्लाह गरेका र नागेश्वर समेतको कीर्ते मोही मुद्दा भएको र नागेश्वरले बोकेको मोही निष्काशन मुद्दा हारेकाले सोही रिसइवीबाट कर्तव्य गरी मारेको होलान भन्ने केही व्यक्तिको र राजु सिंह भारतमा बस्छन् रत्नेश्वर भलाद्मी मानिस हुँदा निजहरुलाई रिसइवीको कारणबाट ज्यान मुद्दा चलाएका होलान भन्ने केही व्यक्तिको भनाई सरजमीन मुचुल्का ।

८.    संकलित सबूद प्रमाणको आधारमा अभियुक्त रत्नेश्वर प्रसाद सिंह, राजु सिंह, नागेश्वर महरा, अच्छेलाल महरा, राम आश्रे महरा समेतका ५ जना अभियुक्तहरुले ललन सिंहलाई हातहतियार प्रयोग गरी मारेको प्रमाणित हुन आएकोले निजहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ हुन माग दावी भएको प्रहरी अधिकृतको राय र अभियुक्तहरु मध्येका रत्नेश्वर र अच्छेलाललाई ऐ.ऐनको १३(१) बमोजिम, नागेश्वरलाई १३(३) बमोजिम र राजु सिंह तथा रामआश्रेलाई १३(४) बमोजिम सजायँ होस भन्ने माग दावी भएको छुट्टै राय सरकारी वकीलको भएको मिति २०४२।१।२४ मा प्रहरी प्रतिवेदन परेकोमा अदालतबाट सरकारी वकीलको रायलाई समर्थन गरिएको रहेछ ।

९.    मिति २०४१।१२।१६ गते म आफ्नो घरमा नै छु । छोरा राजु सिंह आफ्ना मावली भारत हरनारायण गाउँमा छन् । मर्ने ललन सिंहलाई मैले मारेको छैन कसले मारे मलाई थाहा छैन । ललन सिंह र निजको परिवारसंग २०३८ सालमा झगडा भएको थियो । प्रहरीमा कुटाई खाने डरले बयानमा सही गरी दिएको हुँ भन्ने समेत व्यहोराको रत्नेश्वरप्रसाद सिंहको अदालतमा भएको बयान ।

१०.    जाहेरी दर्खास्त मिलानको जाहेरवाली धुपकलीदेवीको बकपत्र ।

११.    प्र.रत्नेश्वरप्रसाद सिंहले ललन सिंहलाई कर्तव्य गरी मारे मराएको छैन । रिसइवीबाट झुठ्ठा जाहेरी दिइएको हो भन्ने समेत व्यहोराको प्र.को साक्षी महेन्द्रप्रसाद सिंहले अदालतमा गरेको बकपत्र ।

१२.   नागेश्वर महरा चमार, राय आश्रे महरा चमार, अच्छेलाल महरा चमार, राजु सिंह राजपुतले शुरु म्यादै गुजारी बसेको ।

१३.   मिसिल संलग्न सबूद प्रमाणको आधारमा (साविक पेज नं. ४३८) रत्नेश्वरप्रसाद सिंह समेतका प्रतिवादीहरुले छाडेको चोट प्रहारबाट मृतक ललन सिंहको मृत्यु भएको भन्ने कुरा निर्विवाद रुपमा पुष्टी भएको देखिन आएकोले प्र.रत्नेश्वरप्रसाद सिंहले ज्यानसम्बन्धी १३(३) को कसूर अपराध गरेको देखिन ठहर्न आएको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(३) नं. ले जन्मकैदको सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जि.अ.को मिति २०४४।६।३० को फैसला ।

१४.   रौ.जि.अ.को उक्त फैसला साधक सदरको लागि नारायणी अं.अ.मा दर्ता भएको ।

१५.   प्र.रत्नेश्वरप्रसाद सिंहले ज्यानसम्बन्धीको महलको १३(१) को कसूर गरेको देखिएबाट निजलाई सर्वश्वसहित जन्मकैद गर्नु पर्नेमा सो नगरी शुरु रौ.जि.अ.ले १३(३) अन्तर्गत जन्मकैदको सजायँसम्म गर्ने गरेको फैसला नमिलेकोले सो हकसम्म उल्टी भई प्र.रत्नेश्वरप्रसाद सिंहलाई ऐ.ऐनको १३(१) अन्तर्गत सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ.को मिति २०४६।२।९ को फैसला ।

१६.    ना.अं.अ.को फैसला साधक सदरको लागि म.क्षे.अ.मा दर्ता हुन आएको ।

१७.   प्र.रत्नेश्वरप्रसाद सिंहलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको ना.अं.अ. को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०४७।४।८ को साधक फैसला ।

१८.   म.क्षे.अ.को उक्त फैसला साधक सदरको लागि मिति २०४७।५।२२ मा यस अदालतमा दर्ता हुन आएको रहेछ ।

१९.    नियम बमोजिम दैनिक मुद्दा सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको साधक सदरको लागि पठाएको मिसिल अध्ययन गरी इन्साफतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब छ वा छैन भन्ने प्रश्नको सम्बन्धमा साधक तहबाट विचार गर्नु पर्ने देखियो । यसमा मुलतवी रहेका प्र.नागेश्वर महरा चमार, प्र.अच्छेलाल महरा चमार, प्र.राम आश्रे महरा चमार र प्र.राजु सिंह राजपुतका हकमा बाहेक प्र.रत्नेश्वरप्रसाद सिंहका हकमा साधक तहबाट विचार गर्दा प्र.रत्नेश्वरले मौकाको कागजमा आफू वारदातस्थलमा रही बर्छीले मृतक ललन सिंहलाई प्रहार गरेको भन्ने कुरा स्वीकार गरेको शव परीक्षण प्रतिवेदन, लाश जाँच मुचुल्का समेतमा उल्लेख भएको घाउ चोटको प्रकृति निजले गरेको सो मौकाको कागजसंग सामञ्जस्य रही सो स्वीकारोक्तिलाई समर्थन गरेको प्रमाणित भएकोले ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.हरगोविन्द सिंह प्रधान

इतिसम्वत् २०४८ साल कार्तिक ६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु