शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२४५ - जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ ।

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७५।११।३०

०७१-CI-०८८३

 

मुद्दा:- जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ ।

 

पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, साबिक कुदान गाउँ विकास समिति, हाल कपिलवस्तु नगरपालिका, वडा नं.८ मौजे सेमरहवा बस्ने लालसा धोबी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु, परसोहिया गाउँ विकास समिति, वडा नं.१ मौजा परसोहिया बस्ने गुलाबकुमार मिश्र

 

जग्गाको वास्तविकता सर्भे नापीको नक्सा र सोही नक्साको आधारमा तयार गरिएको टायल चेकबाट आएको जग्गाको क्षेत्रफललाई नै आधिकारिक क्षेत्रफल मानिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः-

मा.जिल्ला न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअर्न्तगत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यसप्रकार छः- 

म वादीको नाउँमा दर्ता भोग चलनको जिल्ला कपिलवस्तु गाउँ विकास समिति, गोटीहवा वडा नं.२ (क) कि.नं.२४६ को ज.वि. ०२० जग्गामध्ये विपक्षी विजयसेन चौधरीले उत्तरतर्फबाट पूर्व मोहडातर्फबाट अन्दाजी १.५ मिटर उत्तर-दक्षिण चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई र लम्बाई पूर्व-पश्‍चिम अन्दाजी ८१ मिटर गरी ज.वि.००१० धुर जग्गा मिति २०६९।३।२५ गते बिहान अन्दाजी ८ बजेको समयमा जबरजस्ती कब्जा गरी उत्तरतर्फ रहेको आफ्नो कि.नं.७४४ को जग्गामा मिलाई केही भागमा पक्‍की घर बनाउन जगसमेत खन्‍ने पुर्ने, जग बनाउने, माटो निकाल्ने गरेको र विपक्षीमध्येका लालसा धोबीले उल्लिखित मेरो जग्गामा दक्षिणतर्फबाट पूर्व मोहडातर्फ अन्दाजी १.५ मिटर चौडाई उत्तर-दक्षिणतर्फबाट पूर्व मोहडातर्फ उत्तर-दक्षिण अन्दाजी २ मिटर र पूर्व-पश्‍चिम लम्बाई अन्दाजी २४ मिटर गरी अन्दाजी ज.वि. ०२२१/२ जग्गा जबरजस्ती कब्जा गरी दक्षिणतर्फ रहेको कि.नं.२४७ को जग्गामा मिलाई पक्‍की घर बनाउन जग खन्‍ने पिलर बनाउने कार्य गरेको र विपक्षीमध्येका रामदयाल कुर्मीले पनि उक्त जग्गाको दक्षिण-पश्‍चिमतर्फबाट पूर्वतर्फ अन्दाजी २ मिटर चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई पूर्व-पश्‍चिम लम्बाई अन्दाजी ५६ मिटर गरी जम्मा ज.वि.००७१/२ जग्गा कब्जा गरी आफ्नो कि.नं.२४८ र २४९ को जग्गामा मिलाई कब्जा गरी विपक्षीहरूले अनधिकृत रूपमा जबरजस्ती मेरो जग्गा कब्जा गरी घर बनाउन जग खन्‍ने बनाउनेसमेत कार्य गरी कब्जा खिचोला गरेकोले कब्जा खिचोला मेटाई जग भत्काई चलन चलाई पाउँ भन्‍ने फिराद पत्र ।

जिल्ला कपिलवस्तु गाउँ विकास समिति, गोटिहवा वडा नं.२(क) कि.नं.२४७ को जग्गासमेत म प्रतिवादीको नाउँमा दर्ता भई मैले हक भोग गरी आएको आफ्नो नाउँ दर्ताको जग्गामा अघिदेखि नै निर्माण कार्यसमेत गरी भोग गरी आएको छु । कुनै नयाँ घर बनाएको होइन भन्‍ने प्रतिवादी लालसा धोबीको प्रतिउत्तर पत्र ।

प्रतिवादी विजय सेन चौधरी र रामदयाल कुर्मीले सुरू अदालतबाट जारी भएको इतलायनामाको तामेली म्यादभित्र प्रतिउत्तर नगरी गुजारी बसेको । 

यसमा दुवै पक्षको वादीको साक्षी बुझी, उल्लिखित जग्गाको दर्ता स्रेस्ता बुझी कि.नं.२४६, ७४४, २४७, २४८, २४९ देखिने गरी नक्सा ट्रेस र नक्सा प्रिन्ट नापी कार्यालयबाट झिकाई, विवादित जग्गाको ४ किल्ला क्षेत्रफल भौतिक स्थितिसमेत देखिने गरी अ.बं.१७१ नं. बमोजिम नाप नक्सा गरी पेस गर्नु भन्‍ने सुरू अदालतबाट मिति २०६९।८।२८ मा भएको आदेश । 

वादीका साक्षी रामअचल कोरी र प्रतिवादीका साक्षी जोखन कुर्मीले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको । 

मालपोत कार्यालय कपिलवस्तुको च.नं.३७५२ मिति २०६९।१०।१४ को पत्रसाथ प्राप्त दर्ता स्रेस्ता प्रतिलिपि सुरू मिसिल सामेल रहेको । 

नापी कार्यालय कपिलवस्तुको च.नं.५७० मिति २०६९।११।१ को पत्रसाथ प्राप्त नक्सा ट्रेस तथा प्रिन्ट मिसिल सामेल रहेको । 

सुरू अदालतको जिल्ला डोरबाट मिति २०७०।१।१३ मा भई आएको नाप नक्सा मुचुल्का मिसिल सामेल रहेको ।                           

वादीको कि.नं.२४६ को जग्गाको उत्तरतर्फ रहेको कि.नं.७४४ मा गाभिएको रहेको अवस्थामा प्रतिवादीको कि.नं.७४४ को क्षेत्रफल बढेको हुनुपर्नेमा सो बढेको अवस्था छैन । वादीले दाबी गरेझैं प्रतिवादीको कि.नं.२४७, २४८, २४९ मा वादीको जग्गा कब्जा खिचोला भएको छ, छैन भनी हेर्दा कि.नं.२४७ को ००१८ र कि.नं.२४८ को ००९ र २४९ को ०११० जग्गा रहेको स्रेस्ताबाट देखिन्छ । न.नं.१३, १४, १५, १६ को जग्गाको क्षेत्रफल ००१८ भन्दा केही बढी रहेको अवस्था छ । न.नं.१५, १६ लाई विवादित देखाइएको छ । न.नं.१०, ११ कि.नं.२४८, २४९ भित्रको उल्लेख छ । न.नं.१२ लाई विवादित देखाइएको छ । न.नं.१० मा ०१३ जग्गा रहेको 

छ । जसबाट न.नं.१० मा प्रतिवादीको जग्गा बढेको छैन । न.नं.११ मा पनि प्रतिवादीको जग्गा बढेको छैन । नक्सा ट्रेस हेर्दा रेखाङ्कन सीधा आकृतिको 

देखिन्छ । आफ्नो जग्गा कसले कुन तर्फबाट खिचोला गरेको हो भन्‍ने वादीको दाबी नै स्पष्ट छैन । यसर्थ, वादी दाबी पुग्दैन भन्नेसमेत बेहोराको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७०।२।२७ को फैसला ।

उक्त फैसलामा चित्त बुझेन । मेरो कि.नं.२४६ को ज.वि.०-२-० जग्गा स्रेस्ताअनुसार भएको । प्रिन्ट नक्सासमेतमा ०-२-० जग्गा रहेकोमा नापी शाखा कार्यालय कपिलवस्तुबाट टायल चेक गरार्इ टायल चेकको माग गरी जग्गाको यकिन क्षेत्रफल पत्ता लगार्इ प्रमाण लगार्इ फैसला गर्नुपर्नेमा सो टायल चेक माग नगरी फैसला भएको छ । नाप नक्सा मुचुल्कामा मेरो कि.नं.२४६ को क्षेत्रफल ०-१-१३ देखाइएको छ । नाप नक्सा मुचुल्कामा भएको नापलार्इ गणना गर्दा हिसाब गर्दा ०-१-१२ आउँछ । आखिर मेरो स्रेस्ताअनुसारको बाँकी ०-०-८ धुर जग्गा कहाँ गयो । सो सम्बन्धमा फैसलामा केही बोलिएको छैन । यसरी प्रमाणको समुचित मूल्याङ्कन र विश्लेषण नभर्इ जग्गा मिच्नेको १, १४ नं., अ.बं.१८४(क), अ.बं.१८५ नं., प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशसमेतको त्रुटि गरी फैसला बदर गरी वादी दाबीबमोजिम जग्गा कायम गरी हक इन्साफ पाउँ भन्नेसमेत बेहोराको वादी गुलाम मिश्रको पुनरावेदन पत्र ।

प्रतिवादी लालसाका नाम दर्ताको कि.नं.२४७ को जग्गाको क्षेत्रफल ०-१-१८ देखिर्इ भई आएका नक्सा मुचुल्काको न.नं.१३, १४, १५ र १६ मा उक्त जग्गाको क्षेत्रफल बढी देखिएको र एवं प्रकारले न.नं.११, १२ र न.नं.९, १० मा कायम रहेका जग्गासमेत सम्बन्धमा यकिन नगरी दाबी पुग्न नसक्ने ठहर्‍यार्इ सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७०।२।२७।२ मा भएको फैसला समग्र प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकार्इ आए वा म्याद नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत बुटवलको मिति २०७०।८।२५ को आदेश ।

मिति २०७०।१।१३ को नक्साबाट विवादको न.नं.७ को जग्गामध्ये ०-०-३ जग्गा, विवादको न.नं.९ र १२ को जग्गामध्येबाट ०-०-११/२ जग्गा, विवादको न.नं.१५ को जग्गामध्ये ०-०-१/२ जग्गा र विवादको न.नं.१६ को ०-०-२ जग्गा वादीको कि.नं.२४६ भित्रको देखिँदा वादीको पूरै दाबी नपुग्ने ठहराएको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७०।२।२७ को फैसला सो हदसम्म केही उल्टी भई विवादको न.नं.७ को जग्गामध्ये दक्षिणतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-३ जग्गा, विवादको न.नं. ९ र १२ को जग्गामध्येबाट उत्तरतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-११/२ जग्गा, विवादको न.नं.१५ को जग्गामध्ये उत्तरतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-१/२ जग्गा र विवादको न.नं.१६ को जग्गा प्रतिवादीको खिचोला मेटार्इ वादीले चलन चलार्इ पाउने ठहर्छ । फिराद दाबीको पूरै जग्गा प्रतिवादीको खिचोला मेटार्इ चलन चलार्इ पाउँ भन्‍ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने पुनरावेदन अदालत बुटवलको मिति २०७१।३।२४ को फैसला । 

दाबीको जिल्ला कपिलवस्तु, गोटिहवा गाउँ विकास समिति, वडा नं.२(क) कि.नं.२४६ को ०-२-० जग्गामध्ये विजय सेन चौधरीले उत्तरतर्फबाट ०-०-१० जग्गा खिचोला गरी आफ्नो जग्गामा मिसाई घर बनाउन थालेको, प्रतिवादी लालसा धोबीले उक्त कि.नं.२४६ मध्ये दक्षिणतर्फबाट ०-०-२१/२ जग्गा कब्जा गरी आफ्नो जग्गामा मिसाई पक्‍की घर बनाएको, रामदयाल कुर्मीले उक्त कि.नं.२४६ मध्ये दक्षिण-पश्‍चिम तर्फबाट ०-०-७ १/२ जग्गा कब्जा गरेको भनी उल्लेख गरी वादी दाबी रहेको छ । प्रतिवादी विजय सेनले छुट्टै जग्गा कब्जा गरी घर बनाएको भनी दाबी भएको, प्रतिवादी लालसा धोबीले छुट्टै जग्गा कब्जा गरी घर बनाएको भनी दाबी भएको, प्रतिवादी रामदयाल कुर्मी छुट्टै जग्गा खिचोलाको दाबी भएको यसप्रकार तीनजना प्रतिवादीले अलगअलग जग्गा कब्जा गरी घर बनाएको भनी दाबी भएको प्रस्तुत मुद्दाको दाबी मुलुकी ऐन अदालती बन्दोबस्तको ७२ नं. को प्रतिकूल भई पहिलो प्रतिवादी विजय सेन चौधरीबाहेक अन्य प्रतिवादी म पुनरावेदकउपरको दाबी नै लाग्न सक्ने अवस्था नभएको अ.बं.७२ नं. विपरीत पुनरावेदन अदालत बुटवलबाट भएको फैसला बदरभागी छ । 

वादीको कि.नं.२४६ र म प्रतिवादीको कि.नं.२४७ को जग्गाको कुन भुजाको नाप कति हो स्पष्ट देखिन्छ । लुम्बिनी इन्जिनियरिङ कन्सलटेन्सी कपिलवस्तुको जुनियर सर्वेयरबाट दाबीको कि.नं.२४६ र मेरो कि.नं.२४७ को पूर्व-पश्‍चिम र उत्तर-दक्षिण भुजाहरूको नाप पेस छ । सो नाप हेर्दा म प्रतिवादीको कि.नं.२४७ उत्तर-दक्षिणको पूर्व मोहडा १३ मिटर, पश्‍चिम मोहडा १२ मिटर, पूर्व-पश्‍चिमको उत्तर मोहडा २५ मिटर र दक्षिण मोहडा २३ मिटर रहेको छ । नापीको नक्साको आधारले म प्रतिवादीको नक्सा नम्बर १३, १४, १५, १६ को नाप हेर्दा पूर्व मोहडा १३ मिटर, पश्‍चिम मोहडा १२ मिटरभित्रै देखिएको छ । उत्तर मोहडा सर्वे नापीको नक्सामा २५ मिटर हाल अदालतको नक्सामा २६ मिटर रहेको देखेपछि सो १ मिटरको विवाद पश्‍चिमतिरको व्यक्तिको हो । उत्तरतिरको अरू कसैको जग्गा मेरो भोगमा आएको छैन । दक्षिण मोहडा २३ मिटर भिडेकै छ । यसप्रकार सर्वे नक्साको मेरो कित्ताको भुजाहरूको नाप अदालतबाट भएको मेरो भोगको देखाएको जग्गासँग भिडेकै देखिएको छ । 

मिसिल संलग्न २०७१।१।१३ को नाप नक्सा मुचुल्कामा न.नं.३ को नाप ०-०-१० उल्लेख भएको छ । पुनरावेदन अदालत बुटवलको फैसलाले सो नक्साको न.नं.३ को नाप १० धुरलाई गलत भन्दै ०-०-१३३/४ भनी उल्लेख गरिएको छ । न.नं.१४ र न.नं. १५ मा पक्‍की घर बनिसकेको छ । यस्तोमा पुनरावेदनको फैसलाले नक्सा गलत भनेपछि सो बदर गरी नापीको सर्भे नक्सालाई आधार बनाई नापीको मुचुल्कासमेत गरी नाप नक्सा गर्नुपर्ने गरिएन गलत नक्सालाई आधार बनाई गरिएको फैसला बदर गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्‍ने प्रतिवादी लालसा धोबीको पुनरावेदन पत्र ।

यसमा वादीको कि.नं.२४६ मा ०-२-० क्षेत्रफल भएकोमा अदालतबाट भएको नक्सा हेर्दा विवादित जग्गासमेत जोड्दा सोभन्दा बढी 

देखिन्छ । प्रतिवादी लालसा धोबीको कि.नं.२४७ मा मिसिल संलग्न जग्गाधनी दर्ता स्रेस्ताबाट ०-०-१८ देखिनेमा प्रतिवादीको कि.नं.२४७ मा ०-०-७ १/२ जग्गा मात्र रहेको भनी प्रतिवादी लालसा धोबीले खिचोला गरेको ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको मिति २०७१।३।२४ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७५।२।३० को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी लालसा धोबीको तर्फबाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.ले सर्भे नापीको नक्‍सासँग अदालतबाट भई आएको नक्‍सा मिलेको छैन । सर्भे नापीको नक्‍सा नै आधिकारिक नक्‍सा मानिनु पर्छ । सर्भे नक्‍सालाई आधार बनाई नाप नक्‍सा गर्नुपर्नेमा सो गरेको देखिएको छैन । पुनरावेदन अदालतबाट फैसला हुँदा भई आएको नक्सालाई गलत भनी बदर गर्नुपर्नेमा सो नगरी भएको फैसला त्रुटिपूर्ण छ । सर्भे नापीको नक्सा र जग्गाको नापको एकाई र आकृति मिल्छ । तसर्थ पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

विद्वान् वरिष्‍ठ अधिवक्ताको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा सुरू जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्‍ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा, वादीको नाउँ दर्ताको जिल्ला कपिलवस्तु, गोटिहवा गाउँ विकास समिति, वडा नं.२(क) कि.नं.२४६ को ज.वि.०२० जग्गामध्ये विपक्षी विजयसेन चौधरीले उत्तरतर्फबाट पूर्व मोहडातर्फबाट अन्दाजी १.५ मिटर उत्तर-दक्षिण चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई र लम्बाई पूर्व-पश्‍चिम अन्दाजी ८१ मिटर गरी ज.वि.००१० धुर जग्गा जबरजस्ती कब्जा गरी उत्तरतर्फ रहेको आफ्नो कि.नं.७४४ को जग्गामा मिलाई केही भागमा पक्‍की घर बनाउन जगसमेत खन्‍ने पुर्ने, जग बनाउने, माटो निकाल्ने गरेको र विपक्षीमध्येका लालसा धोबीले उल्लिखित मेरो जग्गामा दक्षिणतर्फबाट पूर्व मोहडातर्फ अन्दाजी १.५ मिटर चौडाई उत्तर-दक्षिणतर्फबाट पूर्व मोहडातर्फ उत्तर-दक्षिण अन्दाजी २ मिटर र पूर्व-पश्‍चिम लम्बाई अन्दाजी २४ मिटर गरी अन्दाजी ज.वि. ०२२१/२ जग्गा जबरजस्ती कब्जा गरी दक्षिणतर्फ रहेको कि.नं.२४७ को जग्गामा मिलाई पक्‍की घर बनाउन जग खन्‍ने, पिलर बनाउने कार्य गरेको र विपक्षीमध्येका रामदयाल कुर्मीले पनि उक्त जग्गाको दक्षिण-पश्‍चिमतर्फबाट पूर्वतर्फ अन्दाजी २ मिटर चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई पूर्व-पश्‍चिम लम्बाई अन्दाजी ५६ मिटर गरी जम्मा ज.वि.००७१/२ जग्गा कब्जा गरी आफ्नो कि.नं.२४८ र २४९ को जग्गामा मिलाई कब्जा गरी विपक्षीहरूले अनधिकृत रूपमा जबरजस्ती आफ्नो जग्गा कब्जा गरी घर बनाउन जग खन्‍ने बनाउनेसमेत कार्य गरी कब्जा खिचोला गरेकोले कब्जा खिचोला मेटाई जग भत्काई चलन चलाई पाउँ भन्‍ने फिराद दाबी रहेकोमा उक्त कि.नं.२४७ को आफ्नो नाउँ दर्ताको जग्गामा अघिदेखि नै घर निर्माण गरी भोग गरी आएको छु, कुनै नयाँ घर बनाएको होइन भन्‍ने प्रतिवादी लालसा धोबीको प्रतिउत्तर जिकिर रहेकोमा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी नक्साको न.नं.७ को जग्गामध्ये दक्षिणतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-३ जग्गा, सोही न.नं.९ र १२ को जग्गामध्येबाट उत्तरतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-११/२ जग्गा, साथै सोही न.नं.१५ को जग्गामध्ये उत्तरतर्फ पूर्व-पश्‍चिम लम्बार्इ उत्तर-दक्षिण चौडार्इ हुने गरी ०-०-१/२ जग्गा र न.नं.१६ को जग्गा प्रतिवादीको खिचोला मेटार्इ वादीले चलन चलार्इ पाउने ठहराई पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर प्रतिवादीमध्येका लालसा धोबीको पुनरावेदन परी पेस भएको पाइयो ।

२. सो सन्दर्भमा विचार गर्दा, दाबीको कि.नं.२४६ को जग्गाको दक्षिणतर्फ ०-२-२१/२ जग्गा आफ्नो कि.नं.२४७ को जग्गामा मिसाई प्रतिवादी लालसा धोबीले खिचोला गरेकोले मेटाई पाउँ भन्‍ने फिराद दाबी भएकोमा पुनरावेदन अदालतबाट खिचोला ठहराएको उपर प्रतिवादी लालसा धोबीको प्रस्तुत पुनरावेदन परेको देखियो । मिसिल संलग्न रहेको नक्सा मुचुल्काको न.नं.१३, १४, १५ र १६ का जग्गाहरू प्रतिवादी लालसा धोबीको भोगचलनमा रहेको भन्‍ने देखिन्छ । नं.नं.१६ मा विवाद जनिएको देखिन्छ । उक्त कि.नं.२४७ को जग्गाको दर्ता स्रेस्ताबाट क्षे.फ.०-०-१८ भन्‍ने देखिन्छ । उक्त जग्गाको नापी कार्यालयबाट प्राप्‍त नक्सा ट्रायल हेर्दा उक्त जग्गाको पूर्वतर्फ उत्तर-दक्षिण १३ मिटर रहेको भन्‍ने देखिएको छ । नक्सा मुचुल्काको न.नं.१३ को पूर्वतर्फ उत्तर-दक्षिण ११.५० मिटर रहेको देखिएको छ । झगडा जनिएको न.नं.१६ को पूर्वतर्फ उत्तर-दक्षिणको लम्बाई १.५० मिटर रहेको देखिएको छ । न.नं.१३ र विवादित न.नं.१६ को लम्बाई जोड्दा ट्रायल चेकअनुसारको १३ मिटर पुग्ने देखिन्छ । 

३. प्रतिवादी रामदयाल कुर्मीको कि.नं.२४९ को जग्गामा आफ्नो ०-०-७१/२ र प्रतिवादी विजयसेन चौधरीको कि.नं.७४४ को जग्गामा आफ्नो ०-०-१० जबरजस्ती कब्जा गरेको भन्‍ने वादी दाबी रहेकोमा नक्साको न.नं.५, ६, ७, ९ र १२ को जग्गामध्ये ०-०-४१/२ जग्गामात्र खिचोला ठहर भएकोमा वादीको त्यसतर्फ पुनरावेदन परेको देखिँदैन । जग्गाको स्रेस्ताको क्षेत्रफल र फिल्डको अवस्थामा  सामान्य घटबढ हुन सक्ने हुन्छ । विविध कारणले जग्गाको स्रेस्तामा जग्गाको क्षेत्रफल फरक लेखिन सक्ने अवस्थालाई नकार्न सकिन्‍न । जग्गाको वास्तविकता सर्भे नापीको नक्सा र सोही नक्साको आधारमा तयार गरिएको टायल चेकबाट आएको जग्गाको क्षेत्रफललाई नै आधिकारिक क्षेत्रफल मानिन्छ । नापी कार्यालयबाट प्राप्त ट्रायल चेकका आधारमा प्रतिवादी लालसा धोबीको जग्गाको नक्साको लम्बाई चौडाईको आधारमा वादीको दर्ताको जग्गा घुसाई खिचोला गरेको देखिन आएन ।

४. तसर्थ, वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी लालसा धोबीले आफ्नो कि.नं.२४७ को जग्गामा वादीको कि.नं.२४६ को ०-०-७१/२ जग्गा घुसाई खिचोला गरेको ठहराएको पुनरावेदन अदालत बुटवलको मिति २०७१।३।२४ को फैसला नमिलेकोले यी पुनरावेदक प्रतिवादी लालसा धोबीको हकमा सम्म उक्त फैसला केही उल्टी भई प्रतिवादी लालसा धोबीउपरको दाबी पुग्न नसक्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भई प्रतिवादी लालसा धोबीको हकमा वादी दाबी पुग्न नसक्ने ठहरी फैसला भएकोले प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालत बुटवलमा धरौटी र.नं.०९१ मा राखेको धरौटी रू.६०६।- र र.नं.४६६० मा राखेको कोर्ट फी रू.८३५।- फिर्ता पाउँ भनी कानूनका म्यादभित्र निवेदन दिए कुनै दस्तुर नलिई फिर्ता दिनु भनी उच्च अदालत बुटवलमा लेखी पठाई दिनू ....................१

पुनरावेदन अदालतको फैसलाअनुसार प्रतिवादी लालसा धोबीबाट वादीले चलन चलाई पाउने भनी राखेको लगत कट्टा गर्नु भनी सुरू कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाई दिनू ..............................२  

दायरीको लगत काटी मिसिल नियमानुसार बुझाई 

दिनू.............................................................३

 

उक्त रायमा सहमत छु ।

न्या. टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : शोभा पाठक

इति संवत् २०७५ साल फागुन ३० गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु