निर्णय नं. १०२४८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला मिति : २०७४।७।२६
मुद्दाः कर्तव्य ज्यान
०७२-CR-०६५५
पुनरावेदन / प्रतिवादी : जिल्ला मोरङ, डाँगीहाट गाउँ विकास समिति वडा नं. ५ लक्ष्मीमार्ग घर भई हाल कारागार कार्यालय, काठमाडौंअन्तर्गत केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेको अंकित ढकाल
विरूद्ध
प्रत्यर्थी / वादी : कृष्णप्रसाद पराजुलीको जाहेरीले नेपाल सरकार
०७२-CR-०९३५
पुनरावेदन / वादी : कृष्णप्रसाद पराजुलीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, डाँगीहाट गाउँ विकास समिति वडा नं.५ लक्ष्मीमार्ग घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ बस्ने यज्ञराज ढकालको छोरा अंकित ढकाल
अनिच्छित वा अन्जानमा भएको कार्यमा कर्तालाई कम जिम्मेवार तुल्याउनको लागि मुलुकी ऐन, ज्यानसम्बन्धीको ५, ६ नं. मा त्यस्तो कार्यलाई भवितव्यको संज्ञा दिएको देखिन्छ । प्रतिवादीको योजना, मनसाय र परिकल्पनाभन्दा बाहिरको अकल्पनीय अकस्मात घटना घट्न गएको अनिच्छित कार्यबाट भएको कसुरलाई गम्भीर कसुर मानी ठूलो दण्ड गरिनु न्यायसम्मत नहुने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पशुपति आचार्य
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की
माननीय न्यायाधीश श्री चण्डीराज ढकाल
पुनरावेदन अदालत पाटन
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मेरो छोरा वर्ष १७ को रितेश पराजुली कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । मिति २०६९।१२।०४ गतेका दिन दिउसो काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ धोबीधारा नजिक छिरीङ्ग लामाले सञ्चालन गरेको न्यू हेवेन रेस्टुरेन्टमा चिया खाइरहेको अवस्थामा प्रतिवादी अंकित ढकालसमेतले के कुन रिसइवीको कारण निजको साथीहरूसमेत भई रडसमेत प्रहार गरी बेहोस बनाई छिमेकीसमेतले मोडल अस्पताल बागबजारमा लगी जाँच गराउँदा मृत्यु भइसकेको भन्ने जानकारी हुन आएकोले निज प्रतिवादीसमेतलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुसार हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कृष्णप्रसाद पराजुलीको जाहेरी दरखास्त ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ भाष्करमार्गमा मीरा लोहनीको हरियो रंगको घर, सो घरमा छिरीङ्ग लामाले न्यू हेवेन रेस्टुरेन्ट सञ्चालन गरेको, भुइँतला र दोस्रो तलामा रेस्टुरेन्ट, बिच भागमा किचेन कोठा रहेको, भुइँतलाको कोठामा कार्पेट बिच्छ्याई कार्पेटमाथि पातलो गलैँचा रहेको, उत्तर दक्षिणतर्फ २।२ वटा टेबुल रहेको सस्, पानीको बोतल टेबुलमाथि रहेको, भित्तामा रगतजस्तो चिजवस्तु फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ बागबजार स्थित काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षभित्र रहेको स्टेचरमाथि खैरो रंगको कम्मलले छोपी राखेको, उक्त कम्मल हटाई हेर्दा दक्षिण टाउको उत्तर गोडा गरी उत्तानो अवस्थामा रहेको, मृतकको दुवै आँखा बन्द, नाक मुखबाट रातो रगतजस्तो पदार्थ निस्की कानतर्फ बगेको, दायाँ कानको लोतीमुनिदेखि पछाडितर्फ २x२ ईन्च बराबरको निलो कालो दाग देखिएको, अन्य शरीरको बाहिरी भागहरू सामान्य रहेको, लिङ्ग, मलद्वारबाट केही ननिस्केको भन्नेसमेत बेहोराको मृतक रितेश पराजुलीको लास जाँच प्रकृति मुचुल्का विवरण ।
मिति २०६९।१२।०४ गतेका दिन अं. १२:०० बजेतिर रितेश पराजुली मेरो घरमा आएकोले निजले चिया पिउन बाहिर जाउँ भनेपछि हामी दुवै जना निस्की छिरीङ्ग लामाको रेस्टुरेन्टमा गई भुइँतलाको कोठामा भित्र गई बसी २ कप चिया मगाई बसी पिउँदै थियौँ । सो अवस्थामा रितेश पराजुलीले मलाई भन्यो कि तिमीले ११ कक्षाको बोर्ड परीक्षाको लागि फारम भरेनौ अब तिमीले जाँच दिन पाउँदैनौ भनेकोमा तैँले पनि त भरेको छैनस् भन्दा निज आवेशमा आएर बढी बोल्ने भनी बसेकै ठाउँमा एक मुक्का मेरो कञ्चटमा हानेकोले त्यसै यस्तो जोडसँग पिट्ने भनी म उठी केही आवेशमा आई रिस उठी मैले हात मुक्का हान्न लाग्दा निज पनि उठी मलाई समाउन खोज्दा मैले दुवै हातले झम्टी निजको छाती तानी बलपूर्वक धकेली दिँदा भित्तामा ठोक्किन गई चकटीसमेत चिप्लेर भुइँमा लडी अगाडि टेबुलतर्फ लडेको र केही समयपछि बोलाउँदा नबोलेको र नाक मुखबाट रगतजस्तो पदार्थ निस्केपछि मैले उठाउँदा लुलो भएकोले पानी छम्किँदा पनि होसमा नआएपछि बाहिर निस्कँदा होटल साहुको श्रीमती माया लामा आई पुगेको र म आत्तिएको देखी के भयो भनी भन्दा रितेश बेहोस भई कोठामा लडेको छ भनेँ, निज माया लामा कोठामा आई हेर्नु भयो केही समयपछि निजको श्रीमान् छिरीङ्ग लामा आएपछि निमेश आचार्य पनि आइपुगे । रितेश पराजुलीलाई उठाई ट्याक्सीमा राखी निमेश आचार्य र मैले मोडल अस्पताल बागबजारमा लगी जाँच गराउँदा मृत्यु भइसकेको भन्ने थाहा भयो । हामी दुई जनाबिच भएको विवादको कारण मैले धकेली दिँदा भित्तामा ठोक्किई लडी सोही दुर्घटनाको कारणबाट निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी अंकित ढकालको बयान कागज ।
मिति २०६९।१२।०४ गतेका दिन अं. १२:०० बजेको समयमा किचेन कोठाबाट दुई कप चिया भुइँ तलाको रेस्टुरेन्टमा लगी दिन भनेकोले चिया लगी जाँदा दुईजना मानिसहरूलाई दिएपछि फर्की माथिल्लो कोठामा आएको र ट्वाइलेट ओर्ली जाँदा अंकित ढकाल माथिल्लो तलामा आई बैनी मेरो साथी बेहोस भएको छ दाइलाई बोलाई दिनु ल भने तर म नगई ट्वाइलेट गई निस्केँ । पछि माया लामा आई पुग्नु भएको थियो । माया लामासँग भुइँतलाको कोठाभित्र जाँदा अंकित ढकालको साथी भित्तामा अडेस लागि टाउको झुकेको थियो । माथिल्लो कोठामा बसेका मानिसहरू निस्की गइसकेका थिए भन्नेसमेत बेहोराको पेमी तामाङको कागज ।
मिति २०६९।१२।०४ गतेका दिन ११:४० बजेतिर अंकित ढकाल र निजको साथी रितेश पराजुली आएको हुनुपर्छ मेरो अमेरिकाबाट फोन आएकोले फोन गर्न भनी रेस्टुरेन्टबाट बाहिर निस्की गएको र फोन गरी २० मिनेटपछि फर्की आउँदै गर्दा रेस्टुरेन्ट गेट अगाडि बाटोमा अंकित ढकाललाई भेटी यताउता हेरी रहेको केही नबोलेकोले के भयो भनी सोध्दा हेर्नुस् न अन्टी मेरो साथी बेहोस भयो भनेपछि के भयो भनी निज र म भित्र कोठामा जाँदा भित्तामा शरीर टसाई टाउको झुकाई नाकबाट हल्का रगत निस्केको देखेँ, के भएको हो भनी पहिलोपल्ट सोध्दा के भयो थाहा भएन भनी बताएको र निजको गाला कञ्चटमा पनि कोतरिएको घाउ भएकोले यो घाउ कसरी भयो भनी सोध्दा एक जना मानिसले कुटेर भाग्यो भनी बताए तर को हो भनी सोध्दा केही बताएनन् त्यसको लगत्तै मेरो श्रीमान् छिरीङ्ग लामा पनि आउनु भई सबै कुरा बताएपछि श्रीमान् ट्याक्सी लिन बाहिर जानु भई ट्याक्सी लिई बोकी ट्याक्सीमा राखी निज अंकित ढकाल र निजको साथीसमेत भई उपचारको लागि पठाएको हो । होटलमा रहेका पेमी लामा मेरो भाइसमेतलाई सोधपुछ गरी कुनै झैझगडा भएको थियो वा थिएन भनी सोध्दा कुनै झगडा भएको थिएन भनेका थिए । निजहरूबिचमा विवाद भई कुटपिट हुँदा निज रितेश पराजुली घाइते भई मृत्यु भएको हुनुपर्छ भन्नेसमेत बेहोराको माया लामा भन्ने दिलमाया थिङ्गको कागज ।
मिति २०६९।१२।०४ गतेका दिन अं.१२:०० बजे पसलमा आवश्यक पर्ने सामान लिई भर्याङ उक्लँदै गर्दा भुइँ तलाको रेस्टुरेन्टमा बसेका मानिसहरूले दुई कप चिया पठाई दिनु भन्ने आवाज सुनेपछि पहिलो तालमा गई मेरो साला किचेनमा भएकोले दुई कप चिया तल कोठामा पुर्याई दिनु
भनेँ । किचेनमा मःम बनाउने किमा मासु नभएकोले लिन भनी म निस्की बागजार गई मासु खरिद गरी अं. २० मिनेटमा फर्की रेस्टुरेन्टमा आउँदा मेरो श्रीमती र निज अंकित ढकाल आँगनमै रहेकोले के भयो भन्दा रितेश पराजुली बेहोस भई कोठामा लडेको छ भनेकोले कोठाभित्र गई हेर्दा एक मानिस भित्ता छेउमा उत्तानो अवस्थामा रहेको, मुखबाट फिँजजस्तो पदार्थ निस्केको देखेकोले बाहिर निस्की उपचार गर्न लानु पर्ने भयो भनी ट्याक्सी लिन बाहिर गई ट्याक्सी लिई आउँदा निज अंकित ढकालको साथीसमेत भित्र आई तीनजनाले उठाई ट्याक्सीमा राखी उपचारको लागि पठाएको हो । पछि निजको मृत्यु भइसकेको भन्ने थाहा पाएँ । निजहरू बसेको कोठामा निजहरूले पिएको चिया ग्लास, पानी बोतलसमेत यथावत् अवस्थामा रहेको, निजहरू मात्र कोठामा रहेको अन्य मानिसहरू नभएको हुँदा निज अंकित ढकालले हतार गरी पैसा बुझाउन आएको, निजहरूबिचमा विवाद भई कुटपिट हुँदा रितेश पराजुलीको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका छिरीङ्ग लामाको कागज ।
Cause of Death मा Blunt Force Injury to the Head भन्नेसमेत बेहोराको फरेन्सिक मेडिसिन विभाग महाराजगञ्जको प्रतिवेदन ।
मिति २०६९।१२।०४ गतेका दिन अं. १२:०० तिर दिदी माया लामा फोन गर्न भनी बाहिर जानु भएको थियो । म किचेनमा थिएँ, भुइँ तलाको रेस्टुरेन्टमा दुई कप चिया पठाई दिनु भन्ने भिनाजु छिरीङ्ग लामाले भन्नु भएकोले चिया पकाई पेमी तामाङलाई लगी दिन भनी पठाएको हो । चियाको पैसा तिर्न अंकित ढकाल भन्ने व्यक्ति आएका थिए । हतार गरी रू.५० दिएकोले चिया चुरोटको रू.२८ भएकोले रू.३० फिर्ता गरी २ रूपैयाँ खोजी गर्दै रहेको अवस्थामा निज अतालिएर ओर्लन खोज्दा भाइ पैसा लिनु भनी बोलाई फिर्ता दिएको हो । भुइँ तलाबाट बेल बजेकोले केही अर्डर भएको होला भनी ओर्लिंदा दिदी माया लामा आइसक्नु भएको रहेछ । निज अंकित ढकाल र रितेश पराजुलीबिचमा भएको विवादको कारण कुटपिट भई रितेश पराजुलीको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत बेहोराको पवन थिङ तामाङको कागज ।
प्रतिवादी अंकित ढकाल र रितेश पराजुली एकै टोलमा बस्ने भएकोले चिनजान छ । रितेश पराजुलीसँग क्रिकेट खेल खेल्दै आएका थियौँ । कहिलेकाहीँ न्यू हेवेन रेस्टुरेन्टमा चिया पिउन जाने गर्दथ्यौँ । मिति २०६९।१२।०४ गतेका दिन एस.एल.सी जाँच दिएर आफ्नो घर काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ भाष्करमार्गको बाटो हुँदै घर फकँर्दै गर्दा अं.१२:१५ बजेतिर न्यू हेवेन रेस्टुरेन्ट अगाडि गेटमा अंकित ढकालले मलाई बोलाई यहाँ आउ भनी आँशु बगाई रोएकोले के भयो भन्दा तीनजना मानिसले रितेशलाई कुटपिट गरे बेहोस छ भनेपछि म तथा होटलका साहुसमेत कोठाभित्र गई हेर्दा खुट्टा खुम्चाई भित्तामा अडिई रहेको, मुखबाट फिँजजस्तो चिजवस्तु निस्केको, अंकित ढकालले पानी छम्की दिँदासमेत होसमा नआएकोले होटल धनी छिरीङ्ग लामाले ट्याक्सी ल्याई निजले काँधमा बोकी बाहिर निकाली ट्याक्सीमा राखी अंकित र मैले मोडल अस्पतालमा पुर्याई जाँच गराउँदा मृत्यु भइसकेको भन्ने थाहा पाएँ । पछि बुझ्दै जाँदा निजले भनेबमोजिम ३ जना मानिसले कुटपिट गरेको नभई रितेश पराजुली र अंकित ढकालबिच भएको विवादको कारण हातपात भई कुटपिट हुँदा निज रितेश पराजुली भित्तामा ठोक्किन गई सोही ठोक्किएको कारणबाट मृत्यु भएको हुनुपर्छ कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको निमेश आचार्यको कागज ।
मृतक रितेश पराजुली मेरो काकाको छोरा हुन् अंकित ढकाललाई पहिला चिनेको थिएन । मिति २०६९।१२।०४ गतेका दिन दिउँसो भाइ रितेश पराजुलीलाई ३।४ जनाका समूहले कुटपिट गरी घाइते भई मोडल अस्पताल बागबजारमा लगेको भन्ने पशुपति पराजुलीले खबर दिनु भएकोले उक्त अस्पतालमा गई हेर्दा मृत अवस्थामा देखेको हो, के कसरी निजको मृत्यु भएको रहेछ भन्ने सम्बन्धमा बुझ्दा निज रितेश पराजुली र अंकित ढकालबिचको विवादको कारण हातपात भई अंकित ढकालले हात मुक्काले हानी धकेली ठोक्काई लडाई सोही घटनाको कारण निजको मृत्यु भएको भन्ने थाहा भयो कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका खीकाप्रसाद पराजुलीको कागज ।
मृतक रितेश पराजुली मेरो मामाको छोरा हुन् अंकित ढकाल रितेश पराजुलीको साथी हुन् भन्ने सुनेको थिएँ । मिति २०६९।१२।४ गतेका दिन दिउँसो मेरो आफन्त लालचन्द्र तिमिल्सिनाले फोन गर्नु भई मोडल अस्पतालमा आउन भन्नु भएको र के भयो भनी बुझ्दा रितेश पराजुलीको मृत्यु भयो भन्ने थाहा भएपछि गई हेर्दा भाइ रितेश पराजुलीको मृत लास
देखेँ । के कसरी निजको मृत्यु भएको हो भन्ने सम्बन्धमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ न्यू हेवेन रेस्टुरेन्टमा निज रितेश पराजुली र अंकित ढकालबिचको विवादको कारण हातपात भई अंकित ढकालले हात मुक्काले हानी धकेली ठोक्काई लडाई सोही घटनाको कारण निजको मृत्यु भएको भन्ने थाहा भयो कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका लेखनाथ सापकोटाको कागज ।
प्रतिवादी अंकित ढकालले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर गरेकोले निजलाई ऐ.ऐ १३(३) नं. बमोजिम सजायको मागदाबी लिई दायर भएको अभियोग पत्र ।
मृतक रितेश पराजुली र म बच्चादेखिको मिल्ने साथी हौं । उनी मेरो घरमा आउने बस्ने, म उनको घरमा जाने बस्ने साथी हौं । घटना घटेको ६/७ दिनअगाडि पनि मृतकको आमाले म बाहिर जानु छ तिमी साथीसँग आएर बस भनेकाले उनको घरमा गई बसेको थिएँ । घटनाको दिन म घरमा सुतिरहेको अवस्थामा रितेश आए र बाहिर जाउँ भने उसले क्रिकेट ब्याग बोकेका थिए । म उठेँ र नजिकको होस्टलमा क्रिकेट ब्याग राखी सधैँ गफ गरी चिया खाने होटलमा हामी दुवै चिया खान गयौँ । होटलको चिया खाने कोठामा भुइँमा चकटीमा बसी टि-टेबुलमा चिया राखी खाने व्यवस्था रहेको र त्यही हामी बसी चिया मागी खान लाग्यौँ र गफ गर्दागर्दै परीक्षामा फारामको विषय उठ्यो अन्तिम परीक्षाको फाराम भर्ने समय गएको र कलेजले त्यो सुविधा देला नदेला भन्ने गफ गर्दागर्दै उनी एक्कासी जुरूक्क उठे उठ्दा बसेको चकटी चिप्लिँदा उनी लड्न पुगे र भित्तामा ठोक्किए र फेरी अगाडि आई चिया टेबुलमा कन्चट ठोकिन पुग्यो र उनी भुइँमा लडे । मैले खासै केही भएको छैन होला भनी उनलाई उठाउन खोजेँ तर उनी बोल्न सकेनन् र उठ्न पनि उठेनन् । त्यसपछि मलाई डर लाग्यो त्यहीँ भएको बोतलको पानीले छर्किएँ उनी उठेनन् । त्यस बेला होटलको साहु साहुनी आउनु भयो । ट्याक्सी खोजी रितेशलाई मैले काखमा राखी होटल साहु साहुनीसमेत भई मोडल हस्पिटलमा लग्यौँ त्यहाँ उपचार गर्दागर्दै रितेशको मृत्यु भयो केहिछिन पछि प्रहरी आई मलाइ पक्राउ गरी लग्यो । मेरो कुनै रिसइवी थिएन र हामीबिच विवाद भई हानाहान भएको होइन । मैले अनुसन्धान अधिकारीसमक्षको बयानमा विवाद भएको हानाहान भएको लेखिएको रहेछ सो मैले भनेको होइन सत्य बेहोरा मैले माथी लेखाई सकेँ । सो बयानको सहिछाप मेरो हो । जाहेरी बेहोरा, घटनास्थल मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, मौकामा बुझिएका मानिसले गरी दिएको कागजअनुसार मृतकसँग कुनै रिसइवी थिएन र हामीबिच विवाद भएको र कुटपिट भएको होइन । मैले त्यस्तो कार्य नगरेको हुँदा अभियोग माग दाबीबमोजिम मलाई सजाय हुनुहुँदैन भनी प्रतिवादी अंकित ढकालले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीका साक्षी आनन्द महर्जन, चन्द्रप्रसाद सिवाकोटी, बुझिएका पिताम्बर पाण्डे, पुष्पराज पन्त, महेश श्रेष्ठ, डा.रिजेन श्रेष्ठ, डा.मणी महर्जन, पशुपति पराजुली, दिलमाया तामाङ, पेमी तामाङ, छिरिङ्ग लामा, निमेश आचार्य र जाहेरवाला कृष्णप्रसाद पराजुलीले गरेको बकपत्र मिसिल सामेल रहेको छ ।
प्रतिवादी अंकित ढकालले मृतक रितेश पराजुलीलाई मार्ने मनसाय लिएको भन्ने नदेखिई निजसँग विवाद भई तत्काल उठेको रिसले तत्कालै मृतकलाई लात मुक्काले कुटेको भन्ने प्रतिवादी स्वयम्ले स्वीकार गरेको पाइन्छ । मृतकलाई मार्ने मनसाय नभई, मार्नु पर्ने कारणसमेत नरहेको, पूर्वरिसइवी इविलाग नरहेको, जोखिम हतियार पनि प्रयोगमा नआएको अवस्थामा तत्काल उठेको रिस थाम्न नसकी लात मुक्काले प्रतिवादी अंकित ढकालले मृतक रितेश पराजुलीलाई कुटपिट गर्दा सोही कुटपिटबाट बेहोस भई उपचारको क्रममा मृत्यु भएकोले प्रस्तुत मुद्दाको प्रकृति, अवस्था, स्थिति र प्रयोग भएको साधन हेर्दा मुलुकी ऐन १३(३) बमोजिमको सजाय गर्नुपर्ने अवस्था नदेखिएकाले प्रतिवादी अंकित ढकालले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १/१४ नं. बमोजिम कसुर गरेको देखिन्छ निज प्रतिवादी अंकित ढकाललाई सोही महलको १४ नं. बमोजिम कैद १० (दश) हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।११ मा भएको फैसला ।
मृतक रितेश पराजुली र म सँगसँगै एकै कक्षामा पढ्ने गरेको र परीक्षाको जाँचको फाराम भर्ने विषयमा विवाद भएको र मैले निज मृतकलाई मार्नुपर्नेसम्मको कार्य नगरेको र निज चकटीमा लडी भवितव्य परी मृत्यु भएको हुनाले मलाई सुरू काठमाडौं जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६ देहाय ४ बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी अंकित ढकालको पुनरावेदन जिकिर ।
मृतकको पोष्टमार्टम गर्ने चिकित्सक रिजन श्रेष्ठ र मणि महर्जनले बकपत्र गर्दा मृतकका शरीरमा चोटको सम्बन्धमा स्पष्ट पारेको, जाहेरवाला कृष्णप्रसाद पराजुलीको बकपत्र गर्दा स.ज. ७ र १५ प्रतिवादी अंकित ढकालले मारेको कुरा उल्लेख गरेको र मौकामा कागज गर्ने पशुपति पराजुलीले बकपत्र गर्दा स.ज.६ मा मृतकलाई कर्तव्य गरी मारेको हो भनी लेखाएबाट मृतकको मृत्यु प्रतिवादीको क्रियाकलापबाट भएकोले सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।२।११ को फैसला उल्टी गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी अंकित ढकालको एवं वादी नेपाल सरकारको तर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं.२०२ को प्रयोजनार्थ एक अर्काको पुनरावेदन एकआपसमा सुनाई जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१२ को आदेश ।
प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम कैद वर्ष १० (वर्ष) ठहर हुने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१/२/११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुन्छ । वादी नेपाल सरकार र प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१/१२/३ को फैसला ।
घटना घट्दाको अवस्थामा वारदात स्थलमा म र मृतक मात्र थियौं । प्रत्यक्षदर्शी वा चश्मदिद गवाह अरू कोही पनि छैनन् । जाहेरवाला घटनाका प्रत्यक्षदर्शी होइनन् । जाहेरीलाई समर्थन हुने गरी मेरो विरूद्धमा जाहेरवालाले बकपत्र गर्दैमा यस्तो बकपत्रले मान्यता पाउँदैन । सामान्य भनाभनमा हात हालाहाल हुँदा निज भुइँमा रहेको चकटीमा चिप्लेर लडी भवितव्य परी निजको मृत्यु भएको भनी मेरा साक्षी चन्द्रप्रसाद शिवाकोटी र आनन्द महर्जनले अदालतसमक्ष बकपत्र गरेका छन् । अन्य स्वतन्त्र मिसिल संलग्न कागजात प्रमाणहरूबाट समेत भवितव्य हो भनी पुष्टि भइरहेकै अवस्था छ । घटना घटेको दिन वारदातस्थल न्यू हेभेन रेस्टुरेन्टको भुइँ तल्लाको कोठामा म र मृतक बसी चिया खाँदै गफ गर्दै थियौं । गफ गर्ने क्रममा हाम्रो ११ कक्षाको बोर्ड परीक्षाको कुरा उठ्यो । मृतकले मलाई कक्षा ११ को फाराम भरेनौ अब तिमीले जाँच दिन पाउँदैन भनेकोमा मैले पनि तिमीले पनि त भरेको
छैनौं । तिमीले पनि जाँच दिन पाउँदैनौ भनेकोमा निजले आवेशमा आई मलाई मुक्का हान्दा मैले पनि उठेर हात हाल्न लाग्दा निज उठी मलाई समाउन लाग्दा दुवैबिच हात हालाहाल भई भुइँमा रहेको चकटीमा चिप्ली भुइँमा लडी टेबलमा ठोक्किई निज लडेका हुन् । निजलाई उठाउन खोज्दा निज बोल्न सकेनन् । हामी दुईबिच सामान्य विवाद भए तापनि निजलाई मार्नुपर्नेसम्मको कुनै रिसइवी नरहेको र मार्ने पूर्वयोजना तथा मनसाय रहेको अवस्था थिएन । तल्काल उठेको रिसबाट बल प्रयोग गरी सोको चोट पिरले मरेको नभई चकटीमा चिप्लेर लडी भवितव्य परी निजको मृत्यु भएको हुँदा मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी ऐ. ६(४) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अंकित ढकालको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीले विवादको कारण आफूले कुटपिट गरी धकेलेको कुरालाई स्वीकार गरेको देखिन्छ । मृतकको शरीरमा लागेको घा चोटहरू हेर्दा पोष्टमार्टम रिपोर्टको External Examination मा मृतकको शरीरको विभिन्न भाग नाक तथा दाहिनेतर्फका पछाडिको भागमा टाउकोदेखि तलसम्म दाहिने पाखुरामा विभिन्न नाप साइजका चोटहरू लागेको देखिएको छ । मृत्युको कारण Blunt Force Injury to Head बाट भएको भन्ने देखिएबाट प्रतिवादीले भनेबमोजिम मृतकलाई भित्तामा ठोक्किएको कारणबाट मृत्यु भएको भन्न मिल्ने अवस्था छैन । आफूसँग भएको विवादको कारण हात, मुक्का, रडले पटकपटक निर्ममतापूर्वक प्रहार गरी ज्यान मार्ने मनसायले नै कर्तव्य गरी मारेको तथ्य स्थापित भएको अवस्थामा अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. नगरी ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादीको साबिती र घटना घटेको अवस्थामा स्वयं प्रतिवादीले मृतकलाई उपचार गराउन अस्पताल लगेको, आपसी सामान्य विवादको कारणबाट घटेको घटनामा मृतकको मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएको र दुवै पक्षको पुनरावेदन परेको हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवैको पुनरावेदन एकआपसमा परस्परमा सुनाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३/९/१७ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले मृतकको शरीरमा विभिन्न चोटपटकहरू देखिएको छ । मृत्युको कारण Blunt Force Injury to head भन्ने पोष्टमार्टम रिपोर्टबाट देखिएको छ । पटक पटक प्रहार गरेको भन्ने कुरा घा चोटबाट देखिएको छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी र पुनरावेदक प्रतिवादी अंकित ढकालको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनालीले मृतक र प्रतिवादी सँगै चिया खान गएको अवस्था
छ । मार्नुपर्नेसम्मको पूर्वरिसइवी र मनसाय पनि देखिएको छैन । मृतक र प्रतिवादीबिच हात हालाहाल हुँदा लडी मृत्यु भएको अवस्था हुँदा भवितव्यमा सजाय हुनुपर्छ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी अंकित ढकाललाई ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखिन्छ । सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहरी फैसला भएको देखिन्छ । सो फैसलाउपर चित्त नबुझाई ज्यानसम्बन्धी महलको ६(४) बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादीको तर्फबाट र अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेकोमा सुरू फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट फैसला भएको रहेछ । उक्त फैसलामा गरेको सजाय मिलेको छैन । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको र ज्यानसम्बन्धी महलको ६(४) नं. बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादी अंकित ढकालको समेत यस अदालतमा पुनरावेदन परेबाट प्रस्तुत मुद्दामा दोहोरो पुनरावेदन पर्न आएको देखियो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादी अंकित ढकालले ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) बमोजिमको कसुर अपराध गरेकोले निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा मिति २०६९/१२/४ गते छोरा कलेज नगई क्रिकेट अभ्यासको लागि डेरादेखि बाहिर गएको अवस्थामा ऐ. १२.१५ बजे धोबी धारास्थित न्यू हेभेन रेस्टुरेन्टमा चिया खाइरहेको अवस्थामा प्रतिवादी तथा निजका साथीसमेतले टाउकोको कन्चटमा रड प्रहार गरी ढालेपछि वरपरका मानिसहरूले अस्पताल पुर्याएकोमा छोराको मृत्यु भइसकेकोले के कति कारणले गर्दा प्रतिवादीसमेतले मेरो छोराको हत्या गरे थाहा भएन । निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी मृतकका बुबाको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको कारबाही प्रारम्भ भएको देखिन्छ । घटनास्थल विवरण मुचुल्काबाट कार्पेट बिच्छ्याई कार्पेटमाथि पातलो गलैंचा बिच्छ्याएको, उक्त कोठाको उत्तरतर्फको भित्तामा रगतजस्तो रातो पदार्थ फेला परेको भन्ने देखिन्छ । मृतकको टाउकाको भागहरू सामान्य, दुवै नाकको प्वालबाट रातो रगतजस्तो पदार्थ निस्की दायाँ कानतर्फ बगेको, मुख खुल्ला रही माथिल्लो चारवटा दाँतहरू देखिएको, मृतक लासको दायाँ कानको लोती मुनिदेखि पछाडितर्फ २x२ इन्च बराबरको निलो कालो दाग देखिएको, अन्य शरीरको भागहरू सामान्य रहेको भन्ने लास जाँच प्रकृति मुचुल्का विवरण रहेको देखिन्छ । मृत्युको कारण Blunt Force Injury to the head बाट भन्ने Forensic Medicine department को Autopsy Report मा उल्लेख भएको देखिन्छ ।
प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मिति २०६९/१२/४ गते १२ बजेतिर रितेश पराजुली मेरो घरमा आएकोले निजले चिया पिउन बाहिर जाउँ भनेपछि हामी दुवै जना निस्की छिरिङ लामाको रेस्टुरेन्टमा गई भुइँ तलाको कोठाभित्र पसी चिया मगाई बसी पिउँदै थियौं । कक्षा ११ को बोर्ड परीक्षाको फाराम भरेनौ अब तिमीले जाँच दिन पाउँदैनौ भनेकोमा तिमीले पनि त भरेका छैनौ नि भन्दा बढी बोल्ने भनी आवेशमा आएर मेरो कन्चटमा मुक्का हानेकोले त्यसै यस्तो जोडसँग पिट्ने भनी म उठी मैले हात मुक्काले हान्न लाग्दा निज पनि उठी मलाई समाउन खोज्दा मैले दुवै हातले झम्टी निजको छाती तानी धकेली दिँदा निज भित्तामा ठोक्किन गई चकटीसमेत चिप्लेर भुइँमा लडेको र केही समयपछि बोलाउँदा नबोलेको र नाक मुखबाट रगतजस्तो पदार्थ निस्केपछि मैले उठाउँदा लुलो भएकोले पानी छम्किँदा पनि होसमा नआएको अर्थात् हामी २ जनाबिच भएको विवादको कारण मैले धकेलिदिँदा भित्तामा ठोक्किई लडी सोही दुर्घटनाको कारण निजको मृत्यु भएको हो भन्ने बेहोरा उल्लेख भएको पाइन्छ । त्यस्तै प्रतिवादीले अदालतमा बयान गर्दा मृतक रितेश पराजुली र म बच्चादेखिको मिल्ने साथी हौँ । सधैँ चिया खाने होटलमा चिया खान गयौँ । गफ गर्दा गर्दै परीक्षामा फारामको विषय उठ्यो । अन्तिम परीक्षाको फाराम भर्ने समय गएको र कलेजले त्यो सुविधा देला नदेला भन्ने गफ गर्दा गर्दै उनी एक्कासी जुरूक्क उठे, बसेको चकटी चिप्लियो, चकटी चिप्लिँदा उनी लड्न पुगे र भित्तामा ठोक्किए र फेरी अगाडि आई चिया टेबुलमा कन्चट ठोक्किन पुग्यो र उनी भुइँमा लडे, उनलाई उठाउन खोजे, बोल्न सकेनन् उठ्न पनि उठेनन्, डर लाग्यो र त्यहीँ भएको बोतलको पानी छर्किएँ, उठेनन्, होटलको साहुनी र साहु आउनु भयो, साहुसहित मोडल अस्पतालमा लग्यौं, उपचार गर्दा गर्दै रितेशको मृत्यु भयो । कुनै रिसइवी थिए भन्ने बेहोराको बयानसमेतबाट मृतकको मृत्यु दुई साथीबिच परीक्षाको फाराम भरे नभरेको, एकअर्काले जाँच दिन पाउने नपाउने विषयमा सामान्य झगडा हानाहान भएको र सोही घटना क्रममा मृतकको मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिएन ।
अब उक्त वारदातमा प्रतिवादीको के कस्तो चोट प्रहारबाट वा के कसरी मृतकको मृत्यु भएको थियो ? प्रतिवादीको उक्त वारदात घटाउने मनसाय, पूर्वरिसइवी वा योजना वा के कस्तो जोखमी वा अन्य वस्तु प्रयोग गरी मृतकको हत्या गर्नमा प्रयोग भएका थिए वा प्रतिवादीले जिकिर लिएजस्तो भवितव्य के थियो ? र प्रतिवादीलाई कुन स्तरसम्मको कसुरदार ठहर गरी सजाय गर्ने भन्ने विषय नै प्रस्तुत मुद्दामा मुख्य विवादको विषय भई सोही विषयमा विवेचना गरी निर्णय दिनुपर्ने देखियो ।
सर्वप्रथम प्रस्तुत विवादमा प्रतिवादीसँग सम्बद्ध ज्यानसम्बन्धी महलका दफाहरू हेर्नु पर्ने देखियो । सो महलको दफा १३ (३) मा “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद
गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ । लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ” भन्ने उल्लेख भएको त्यस्तै ऐ. दफामा १४ नं. “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोटपीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने उल्लेख भएको देखिन्छ । ऐ.को दफा ५ नं. मा “ज्यान लिने इबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्नेजस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । त्यस्तै ऐ. दफा ६(४) नं. मा रक्षा शिक्षा गर्नेबाहेक अरू कसैले कसैलाई कुटपिट गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
उल्लिखित कानूनी व्यवस्थाबाट मनसायसहित मार्ने कार्य गरेकोमा दफा १३(३) ले सजाय हुने । तत्काल उठेको रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा ढुङ्गा लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले मरेकोमा ऐ. १४ नं. को कसुर हुने र इविलाग वा मनसाय नभई सोच्दै नसोचेको. परिणामको कल्पना नगरेको अवस्थामा कुनै काम कुरा गर्दा मानिस मर्न गएमा भवितव्य हुने कुरा ऐ. दफा ५ ले गरेको र भवितव्य ठहरिएमा ऐ. दफा ६(४) अनुरूप सजाय हुने भन्नेसमेत देखियो ।
अब उपर्युक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा प्रस्तुत वारदात कसुरमा कुन श्रेणीको अपराध रहेछ भनी प्रस्तुत विवादका तथ्य प्रमाणलाई केलाई पृथक पृथक दफासँग भिडाई कुन दफा आकर्षित हुने हो भनी विवेचना गर्नुपर्ने देखियो ।
२. सर्वप्रथम अभियोग दाबी अर्थात् ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा मृतक र प्रतिवादी एउटै कलेजमा कक्षा ११ मा सँगै पढ्ने पहिलेदेखिका चिनजानका मिल्ने साथी रहेको तथ्य देखिएको छ । मृतक र प्रतिवादीबिच अघि कुनै रिसइवीसमेत रहेको भन्ने देखिएको छैन । वारदातको दिनसमेत दुवैजना सधैँ चिया खान जाने होटलमा चिया खान सँगै गएको भन्ने देखिएको छ । दुवैजना सँगै चिया खाने क्रममा पढाइको विषयमा छलफल भएको र कक्षा ११ को फर्म दुवै जनाले नभरेको अवस्था देखिएको छ । सोही विषयमा निजहरूबिच गफगाफ हुँदा मृतकले हात छाड्दा उक्त वारदात घट्न गएको भन्ने छ । वारदातमा दुवै जनाबिच धकेला धकेल भएको भन्ने छ । प्रस्तुत मुद्दामा वारदातको प्रत्यक्षदर्शीसमेत कोही रहेको छैन । दुवैबिचमा झगडा भई कुटपिट भएको भन्ने बुझिएका कुनै प्रमाणबाट देखिँदैन । जाहेरवाला मृतकका बाबुसमेतले अदालतमा आई बकपत्र गर्दा निज प्रतिवादी र मेरो छोरा ३/४ वर्ष पहिलादेखिका साथी हुन् । १/२ पटक मेरो घरमा आइसकेका
थिए । घरमा आउँदा राम्रै व्यवहार देखिन्थ्यो । निजहरूको सम्बन्धमा प्रगाढ थियो । घटनास्थल मैले देखेको होइन, के निहुँमा विवाद उत्पन्न भयो थाहा भएन । रड प्रहार गरेजस्तो निलो डाम देखेको कारण रड प्रहार गरेको भनी जाहेरीमा लेखेको हुँ भन्ने बेहोरा उल्लेख गरी अदालतका बकपत्र गरेको देखिन्छ ।
३. घटनापश्चात् तत्काल थाहा पाउने होटलवाला साहुनी दिलमायाले घटनास्थलमा कुनै लाठा, ढुङ्गा, रडलगायतका हतियार देखिएन, मृतक बेहोस अवस्थामा टेबुलमुनि खुट्टा पसारी भित्तामा अडेस लगाएको देखेको भनेको र होटलका साहु छिरिङ लामासमेतले वारदातस्थलमा हतियार थिएन । झगडा परी घटना भएको पनि मैले देखेको होइन । ट्याक्सीमा राख्दासम्म मृतकको मुखबाट फिँज आएको थियो भनी उल्लेख गरेको पाइयो । टाउकोमा Blunt Injury को कारणले मृत्यु भएको भन्ने पोष्टमार्टममा उल्लेख भएको छ । प्रतिवादीले अनुसन्धान तथा अदालतमा समेत पढाइको विषयमा भनाभन र हात हालाहाल हुँदा निज चकटीमा चिप्लिएर भित्तामा ठोक्किन पुगेका हुन् भनी उल्लेख गरेको पाइन्छ । मृतक र प्रतिवादीबिच पढाइको विषयमा सामान्य भनाभन भई धकेला धकेल हुँदा मृतक भित्तामा ठोक्किन गएको र टेबुलमा पनि टाउको ठोक्किन पुगेको साथै मृतकलाई उपचार गर्न अस्पताल लगेको भनी मौकाको बयानमा उल्लेख हुन आएकोले मृतकलाई मार्ने नियतले कुटपिट गरेको भन्ने देखिएन । प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी पनि देखिएको छैन । मृतकलाई मार्नेसम्मको मनसाय पनि प्रतिवादीमा रहेको छैन । फौजदारी मुद्दामा आपराधिकताको निरूपण गर्नको लागि प्रतिवादीमा रहेको मनसाय तत्त्वलाई हेर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले मनसायपूर्वक मृतकलाई मारेको भन्ने वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन आएको देखिएको छैन । तसर्थ, अभियोग दाबी पुष्टि हुन आएको पाइएन । सोबाट अभियोग दाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने देखिएन ।
४. अब वारदातसँग सम्बन्धित दोस्रो नं. अर्थात् मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. र सोअनुरूपको अवस्था विद्यमान रहेकोले सोही नं. अनुसार १० वर्ष कैद हुने गरी जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको रिसइवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा मृतक र प्रतिवादीसँगै पढ्ने एउटै क्लासका पूर्व परिचित तथा मित्रवत् व्यवहार रहे भएको साथीहरू देखिएको छ । दुवै जना आफ्नो पढाइको सम्बन्धमा चिया खाई गफगाफ गरिरहेको भन्ने देखिएको छ । पढाइकै गफगाफ हुँदा दुवैजनाको बिचमा भनाभन भई कुटपिट भएको अवस्था छ । मृतकको कारणले प्रतिवादी आवेशमा आएको अवस्थासमेत देखिएको छैन । मृतक मर्ने जस्तो कार्य पनि प्रतिवादीबाट भएको देखिएको छैन । दुवैजना आफ्नो भविष्यको बारेमा छलफल गरिरहेको अवस्थामा एकअर्काको कुरा दुवै जनाको चित्त नबुझी सामान्य भनाभन र हात हालाहालको अवस्था देखिन आएको छ । आवेशप्रेरित हत्यामा मूलतः "ज्यान मार्ने मनसाय वा पूर्वरिसइवी नभए पनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतकउपर साधारण लाठी, ढुङ्गा प्रहार गर्दा वा गैरजोखिमी साधन प्रयोग गर्दा सो प्रहारको चोटबाट ज्यान मर्न गएको स्थिति हुनुपर्छ । प्रस्तुत वारदातमा मृतक र प्रतिवादीबिच पढाइको विषयलाई लिएर सामान्य कुटपिट भएको अवस्था देखिन आएको छ । यी प्रतिवादी आफ्नो रिसलाई थाम्न नसक्ने अवस्थामा रहेको भन्ने देखिएको छैन । लाठी ढुङ्गा जोखिमी साधन प्रयोग भएको देखिँदैन । जाहेरीमा उल्लेख भएजस्तो फलामको रडले प्रहार गरेर कुटपिट भएको भए कुटपिटमा गर्दा प्रयोग गरेको दशी बरामद हुनुपर्ने हुन्छ सो देखिँदैन । यसका अलावा तत्काल वारदातस्थलमा पुगेकी होटलकी साहुनीसमेतले हतियार रड इत्यादि केही रहेको भनी भन्न सकेको छैन । चिया पिउने होटल जस्तो सार्वजनिक स्थानमा वारदात भएको छ । सार्वजनिक चिया पसलमा तत्काल उठेको रिस थाम्न नसकिने गरी मानिसलाई मार्नु पर्नेसम्मको झगडा वादविवाद भई कुटपिट हुँदा स्वाभाविक रूपमा सो स्थानमा रहने अन्य व्यक्तिहरूले देख्न सुन्न सक्ने अवस्था रहन्छ । यसप्रकारको सुने देखेको कुनै तथ्य मिसिल संलग्न प्रमाणबाट
देखिँदैन । यस्तो अवस्थामा मुलुकी ऐन, १४ नं. अनुसारको अवस्थाहरूको विद्यमानता प्रस्तुत वारदातमा रहे भएको भन्ने पुनरावेदन अदालतको फैसलासँग पनि सहमत हुन सकिएन ।
५. अब वारदातसँग सम्बन्धित तेस्रो नं. अर्थात् मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. र ऐ. को ६ (४) अनुरूप सजाय गरिपाउँ भनी पुनरावेदक प्रतिवादीले जिकिर लिएको सम्बन्धमा हेर्दा सो ५ नं. मा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइयो । सोही महलको ६(४) मा "कसैले कसैलाई कुटपिट गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । भवितव्यको वारदातमा ज्यान मार्ने मनसाय वा पूर्वरिसइवी नभई कसैले केही कार्य गर्दा यस्तो कार्यबाट मानिसको ज्यान जान सक्ने स्थिति पनि नदेखिएको कार्यबाट मर्न सक्नेसम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भई मानिस मर्न गएको स्थिति हुन्छ । आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्नेतर्फ कर्ता सचेत रहेको हुन्छ । भवितव्य हत्यामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिएको हुन्छ ।
६. प्रस्तुत वारदातमा प्रतिवादी र मृतक मिल्ने साथी भएको वारदातको दिनमा मृतक प्रतिवादीको घरमा आई सँगै चिया खान भनी घरबाट गएको भन्ने तथ्य रहेको छ । चिया खाने होटल न्यू हेभेन रेस्टुरेन्टमा चिया खाँदै गर्दा परीक्षासम्बन्धी विषयमा वादविवाद भएको भई सामान्य कुटपिट हुँदा प्रतिवादीले मृतकलाई धकेलिदिएको र टाउको भित्तामा ठोक्किएको भन्ने प्रतिवादीको बयानबाट देखिन्छ । भित्तामा रगतजस्तो चिज रहेको भन्ने घटनास्थल मुचुल्काबाट देखिएको छ । मृत्युको कारण Blunt Force Injury to the Head भन्ने छ । मृतक र प्रतिवादीको ज्यान लिनुपर्ने कारण रिसइवी देखिँदैन । मार्ने नियतबाट कुटपिट गरेको भन्ने पनि देखिँदैन । वादविवाद हुँदा मृतकलाई धकेल्दा टाउको भित्तामा ठोक्किन पुगी मृत्यु भएको देखिन्छ । मृतकलाई कुनै वस्तुले टाउकोमा प्रहार गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिन आउँदैन । यस्तो अनिच्छित वा अन्जानमा भएको कार्यमा कर्तालाई कम जिम्मेवार तुल्याउनको लागि मुलुकी ऐन, ज्यानसम्बन्धीको ५, ६ नं. मा त्यस्तो कार्यलाई भवितव्यको संज्ञा दिएको देखिन्छ । प्रस्तुत वारदातमा पनि कर्ता प्रतिवादीको योजना, मनसाय र परिकल्पनाभन्दा बाहिरको अकल्पनीय अकस्मात घटना घट्न गएको देखियो । अनिच्छित कार्यबाट भएको कसुरलाई गम्भीर कसुर मानी ठूलो दण्ड गरिनु न्यायसम्मत हुन सक्दैन । प्रतिवादीबाट घटित कसुर ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको भवितव्यको वारदात देखिन आयो ।
७. तसर्थ, माथि उल्लिखित आधार कारण र प्रमाणहरू तथा कानूनी व्यवस्थासमेतको विवेचनाबाट प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१/१२/३ को फैसला नमिलेबाट सो फैसला केही उल्टी भई प्रतिवादी अंकित ढकाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुरमा ऐ. ६(४) नं. बमोजिम २ वर्ष कैद र रू.५००।– जरिवाना हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी अंकित ढकाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(४) नं. बमोजिम २ वर्ष कैद र रू.५००।– जरिवाना हुने ठहरेकोले निज मिति २०६९/१२/४ देखि हालसम्म कारागारमा रहेको देखिँदा निजलाई ठहरेको कैद २ वर्ष र रू.५००।– जरिवानासमेत असुल भइसकेको देखिँदा अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए यस मुद्दाबाट आजै थुनाबाट मुक्त गरिदिनु भनी छुट्टै संक्षिप्त फैसला लेखिसकेको हुँदा अब सोतर्फ केही गरिरहनु परेन ----१
साथै प्रतिवादी अंकित ढकाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको ६(४) नं. बमोजिम २ वर्ष कैद र रू.५००।- जरिवाना हुने ठहरेकाले सुरू फैसलाबमोजिम सुरू अदालतमा कसिएको लगत कट्टा गरी यो फैसलाअनुरूपको २ वर्ष कैद र रू.५००।- जरिवानाको लगतसम्म राखी असुलउपर भइसकेको बेहोरा जनाउनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------२
फैसलाको जानकारी महान्याधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू -----३
सरोकारवालाहरूले नक्कल माग्न आए नियमानुसार नक्कल उपलब्ध गराई दिनू -------------------------४
उक्त रायमा सहमत छु ।
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतः केदारनाथ पौडेल, टेकराज जोशी
इति संवत् २०७४ साल कार्तिक २६ गते रोज १ शुभम् ।