शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२५५ - अंश दपोट

भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७५।११।९

०६७-NF-००१२

 

मुद्दा: अंश दपोट

 

पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने बतियादेवीसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने अशोक राय यादवसमेत

 

कुनैपनि चल अचल सम्पत्ति दपोट ठहर हुन अंशियारहरूबिच त्यस्तो सम्पत्ति बन्डा हुने अवस्थाको देखिनु पर्दछ । बन्डा नहुने अवस्थाको सम्पत्ति दपोट ठहर नहुने ।

निजी आर्जनको सम्पत्ति बन्डा नहुने भई त्यस्तो सम्पत्ति कानूनतः दपोट नठहर्ने ।

(प्रकरण नं.४)

अंश मुद्दामा प्रतिवादी नबनाएकै कारण अंशियारमध्येका श्रीमतीका नाउँमा भएको बन्डायोग्य सम्पत्ति तायदातीमा देखाउनु पर्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री युवराज भण्डारी, श्री महादेव पण्डित र श्री सतिषकुमार झा

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्तात्रय श्री महेन्द्रप्रसाद सिंह, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र विद्वान्‌ अधिवक्ता श्री बाबुराम दाहाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्या. श्री केदारप्रसाद प्याकुरेल

महोत्तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री बद्रिकुमार बस्नेत

माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह

पुनरावेदन अदालत जनकपुर

यस अदालतमा फैसला गर्नेः

मा. न्यायाधीश श्री ताहिर अलि अन्सारी

मा. न्यायाधीश श्री मोहनप्रकाश सिटौला

 

फैसला

न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

रामलखन राय यादव म फिरादीको ससुरा, प्रतिवादी कृष्णदेव यादव जेठाजु एवं जिनेश्वर एवं विन्देश्वर देवर हुनुहुन्छ । प्रतिवादी पवित्रादेवी जेठानी एवं प्रतिवादी बतियादेवी देवरानी हुन् । प्रतिवादीहरूको हामीप्रति बदनियतपूर्ण व्यवहार भएको कारणबाट २०४६ सालको दे.नं. ६५२ को अंश मुद्दा दायर गर्दा अंश पाउने ठहरी मिति २०४९।२।१२ मा महोत्तरी जिल्ला अदालतबाट फैसला भयो । सो अंश मुद्दा दायर हुनुअघि २०३७ सालमा अंश मुद्दा दायर भएकोमा अंश पाउने ठहरी फैसला भएपनि फैसला कार्यान्वयन हुन सकेको थिएन । दे.नं. ६५२ को अंश मुद्दामा रामलखनसमेतको हकमा पहिला दायर भएको मुद्दामा दाखेल भएको फाँटवारीलाई र प्रतिवादी कृष्णदेव, जिनेश्वर, विन्देश्वरको हकमा फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरी सगोलको श्रीसम्पत्तिको फाँटवारी दाखिल गर्ने प्रतिवादीहरूले सम्पत्तिको फाँटवारी दबाए छिपाएको छैन यति नै हो भनी फाँटवारी दाखेल गर्नुभएको छ । सगोलको परिवारको जुनसुकै सदस्यको नाममा दर्ता रहेको सम्पत्ति सगोलको सम्पत्ति हुने भनी प्रमाण ऐनमा व्यवस्था भएको छ । फाँटवारीमा सम्पत्ति दबाए छिपाएकोमा सो सम्पत्ति नदबाउनेले एकलौटी खाने भनी प्रतिवादीहरूले कागज गर्नुभएको छ । जलेश्वर सहर विस्तारमा प्लट नं. ३६ एवं प्लट नं. ८१ गरी दुईवटा प्लट पूर्ण मूल्य प्रतिवादी जिनेश्वर एवं पवित्री देवीको नामबाट दाखेल गरिएको छ । मात्र पारित हुन बाँकी छ । त्यो फाँटवारीमा देखाइएको  छैन । प्रतिवादी जिनेश्वरको नाममा दर्ता रहेको भटौलिया गाउँ विकास समिति वडा नं.४ स्थित संजय राइस मिलका अतिरिक्त तपसिलमा उल्लिखित सम्पत्ति फाँटवारीमा नदेखाउनुका साथै रू.३०,०००।– मोलको चार जोडा गोरु, दुईवटा भैंसीसमेत फाँटवारीमा नदेखाई कानून प्रतिकूलको काम गर्नुभएको छ । प्रतिवादीले दबाए छिपाएको छैन भनी कागजसमेत गरी सक्नु भएकोले साक्षी प्रमाण बुझी मोल रू.१,७१,०००।– जाने मिल, घर जग्गासमेतमा हाम्रो एकलौटी हक कायम गरी पाउनुका साथै गोरु, भैंसीको मोल दिलाई सहर विस्तारको जग्गा हाम्रो नाउँमा लिखत पारी हुने गरी हक कायम गरिपाउँ भन्ने वादी दाबी ।

 

प्रतिवादी जिनेश्वर रायको जिम्मा रहेको सम्पत्ति

जिल्ला ठेगाना वडा नं. कि.नं. क्षेत्रफल मोल

महोत्तरी भटौलिया ४ अवस्थित श्री संजय राइस मिल नामाकरण भएको धान कुट्ने, तेल पेल्ने तथा आँटा पिस्ने मिल २०,०००।-

महोत्तरीजलेश्वर न.पा. वडा नं. ५ मा सञ्चालित सहर विस्तार योजनामा खरिद गरेको हाल दर्ता गराउन बाँकी रहेको प्लट नं. ८१ को घडेरी जग्गा

०-१-० १३,०००।-

प्रतिवादी जिनेश्वर रायकी श्रीमती बतियादेवी नाउँमा दर्ता रहेको सम्पत्ति

जिल्ला ठेगाना वडा नं. कि.नं. क्षेत्रफल मोल

महोत्तरी रामगोपालपुर ५ग १९१ ०-१९-१११/२ २८,०००।-

 

 

प्रतिवादी कृष्णदेव यादवको जिम्माको सम्पत्ति

जिल्ला महोत्तरी रामगोपालपुर गाउँ विकास समिति  वडा नं. ५ मा पर्ने सर्भे नापी नभएको सडकदेखि पश्चिम, गणेशी सो उत्तर, रामलखन सो पूर्व, चलितर चौधरी सो दक्षिणको ०-३-० घडेरी जग्गा र सो जग्गामा भएको काठको पूर्व मुखको दुई तले घर कोठा ८ को एवं सोही जग्गामा भएको पूर्व, दक्षिण, उत्तर मुखको खपडाको छाना भएको कोठा ६ को घर तथा पानी खाने पाइप (आर्टिजनवेल) समेतको मोल रू.१५,०००।–

 

प्रतिवादी कृष्णदेव यादवकी श्रीमती प्रतिवादी पवित्री देवीको जिम्माको सम्पत्ति

जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं.५ मा सञ्चालित सहर विस्तार योजनामा खरिद गरेको हाल दर्ता गराउन बाँकी रहेको प्लट नं. ३६ को घडेरी जग्गाको क्षेत्रफल ०-१-० को  रू.१३,५००।–

जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ७ग मा पर्ने कि.नं.५१२ को ०-०-१५ जग्गा र उक्त जग्गामा भएको काठको पूर्व मुखको खपडा टायलको छाना भएको १६ कोठा भएको दुई तले घर र सो जग्गामा भएको पानी खाने पाइपसमेतको मोल रू.४०,०००।–

जिल्ला महोत्तरी भटौलिया गाउँ विकास समिति वडा नं. ९ कि.नं. १४२ को क्षेत्रफल ०-२-२ मोल रू.५,०००।–

जिल्ला महोत्तरी भटौलिया गाउँ विकास समिति वडा नं. ७ मा पर्ने वेचन मण्डल र निज रिनीको नम्बरी जग्गादेखि पूर्व दक्षिण, रामलखन सो उत्तर र पूर्व, लेघाई र बद्री राय सो पश्चिमको अन्दाजी ०-०-१५ जग्गा र सो जग्गामा भएको पूर्व मुखको फुसको भुसा राख्ने घर समेतको मोल रू.६,५००।–

चार जोडा गोरू एवं दुई भैंसीको मोल रू.३०,०००।–

वादीको दाबी हकदैयाविहीन खारेजयोग्य छ । सगोलको आर्जनबाट म पवित्रीका नाउँमा जग्गा जमिन खरिद भएको छैन । सगोलको आर्जनबाट खरिद भएको कुनै सबुद प्रमाण फिराद पत्रमा पेस गरेको छैन । दे.नं.६५२ को अंश मुद्दामा म पवित्रीलाई वादीले प्रतिवादीसमेत नबनाएको र वादीले सो जग्गा जानकारी राख्ने र फाँटवारीमा देखाउनु नपर्ने कुनै कारण फिरादमा देखाउनु भएको छैन । म पवित्रीदेवी अंश मुद्दामा उपस्थित नरहेकोलाई अंश दपोट गरेको वादी दाबी झुठ्ठा रहेकोले खारेजयोग्य छ । म पवित्रीले माइतीबाट प्राप्त गरेको सुनको जबर (गहना) र चाँदी बिक्री गरी आफ्नो नाउँमा जग्गा खरिद गरेको छु । सो जग्गामध्ये जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ७ग कि.नं. ५१२ को ०-०-१५ जग्गामा घर बनाउनु पर्ने भएकोले जिल्ला वन कार्यालय धनुषामार्फत घर बनाउन सञ्चय कोष सापटी ११,५६८।२५ लिई जनकपुर नगरपालिकाबाट घर बनाउन इजाजत लिई घर बनाई घर कर तिर्दै आएको छु । विपक्षी वादीको अंश हक लाग्ने जग्गा मेरो नाउँमा दर्ता छैन । प्रतिवादीमध्ये म बतियादेवीलाई वादीले दे.नं. ७७४ को अंश मुद्दामा प्रतिवादी बनाएको छैन । म प्रतिवादी नभएको अंश मुद्दामा फाँटवारी दाखेल गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्दैन । मैले आफ्नो सुन चाँदी जवारत बिक्री गरी आफ्ना नाउँमा जमिन खरिद गरेकोमा म जग्गाधनीको एकलौटी रहेको तथ्य रजिस्ट्रेसनबाट प्रस्ट हुने नै छ । वादीले चल सम्पत्तिको रूपमा चार जोडा गोरु र दुई भैंसीसमेत झुठ्ठा देखाई हामीलाई परेसान गर्न मात्र झुठ्ठा मुद्दा दिएका हुन् । वादीका जग्गाहरूको कुनै सकल रजिस्ट्रेसनहरू मालपोत कार्यालयबाट झिकाई वादीको झुठ्ठा दाबीबाट फुर्सद प्रदान गरिपाउँ भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर ।

वादी दाबीको जग्गा प्रतिवादी कृष्णदेव यादव, जिनेश्वर यादव, बतियादेवी, पवित्रीदेवीसमेतको नाउँमा दर्ता रहेको सगोलको जग्गा भएकोले सबैको अंश हक लाग्ने जग्गा हो । वादी र प्रतिवादीबिच अंशबन्डा भएको छैन भन्ने बेहोराको वादीका साक्षी जानकी मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादीहरू २०३९ सालदेखि नै अलग अलग बसी आएका छन् । वादी दाबीको जग्गा सगोलको नभई निजी आर्जनको जग्गा हो । वादीको अंश हक लाग्ने जग्गा होइन । आफ्नो निजी आर्जनको सम्पत्तिबाट खरिद गरेको हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी लालबाबु यादवले सुरू अदालतमा गरेको बकपत्र ।

प.सं.दे.१०३२।५४ च.नं.३७० मिति २०५०।४।३१ अनुसार पुनरावेदक रामलखन यादवसमेत विपक्षी अशोककुमारसमेत भएको अंश मुद्दा कारबाहीयुक्त अवस्थामा छ भनी पुनरावेदन अदालत जनकपुरबाट लेखी आएकोले मिति २०५०।८।२८ को आदेशानुसार प्रस्तुत मुद्दा अदालती बन्दोबस्तको १२ नं. बमोजिम मुल्तबीमा रहेको ।

दे.पु.नं. १०३२ को अंश दर्ता मुद्दासमेत पुनरावेदन अदालत जनकपुरबाट प्राप्त भइसकेको र प्रस्तुत मुद्दा मुल्तबीबाट जगाई पाउँ भनी वादीसमेतले मिति २०५१।१२।१२ मा निवेदनसमेत दिएको देखिँदा प्रस्तुत मुद्दा मुल्तबीबाट जगाई नियमानुसार गर्नु भन्ने महोत्तरी जिल्ला अदालतको आदेश ।

यसमा चलतर्फको भैंसी थान दुईको वादी दाबीबाहेक अरू श्रीसम्पत्ति प्रतिवादीहरूले अंश दपोट गरेको ठहर्छ । सो ठहरेकोले सम्पूर्ण श्रीसम्पत्तिमा वादीहरूको एकलौटी हक कायम हुने र अंशबन्डाको २७ नं. बमोजिम दपोट गरेको श्रीसम्पत्ति प्रतिवादीबाट झिकी वादीहरूले आफ्नो नाममा दर्ता गरी भोग गर्नसमेत पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू महोत्तरी जिल्ला अदालतको फैसला ।

सुरू अदालतबाट भएको फैसलामा चित्त बुझेन । वादीले पुनरावेदकमध्येका बतियादेवी र पवित्रीदेवीलाई प्रतिवादीसम्म पनि नबनाएकोले उक्त दे.नं. ६५२ को अंश मुद्दामा तायदाती फाँटवारी पेस गरेका छैनौं । पुनरावेदकमध्येका हामी प्रतिवादी जिनेश्वर र प्रतिवादी कृष्णदेवले पेस गरेको फाँटवारीमा उक्त सम्पत्ति नदेखाइएको कारणबाट मात्र दपोट ठहर हुने होइन । उक्त सम्पत्ति वादीलाई जानकारी नरहेको भन्ने कुरा फिरादमा उल्लेख गर्न नसकेको, बरू फिरादमा नै उक्त सम्पत्ति सगोलको आर्जनबाट खरिद गरेको भनी उल्लेख गरेको र तायदाती फाँटवारी पेस गर्ने दायित्व वादी प्रतिवादी दुवै पक्षमा रहेकोमा वादीले आफैँले जालसाजी भनी दाबी गरेको लिखतको जानकारी वादीलाई नभएको भन्न नमिल्ने हुँदाहुँदै पनि दपोट गरेको ठहराएको तथा फाँटवारी नै पेस नगर्ने हामी पुनरावेदक बतियादेवी तथा पवित्रीदेवीले समेत दपोट गरेको ठहर्‍याएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूले पुनरावेदन अदालत जनकपुरमा दायर गरेको पुनरावेदन ।

अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५३।४।२० को आदेश ।

अंश दर्ता मुद्दाको प्रमाण मिसिल सर्वोच्च अदालतमा पठाइएको भन्ने पुनरावेदन अदालतको मिति २०५३।११।३ को पत्रबाट देखिँदा उक्त मिसिल प्राप्त भएपछि जगाई कारबाही गर्ने गरी प्रस्तुत मुद्दा हाल अदालती बन्दोबस्तको १२ नं. बमोजिम मुल्तबीमा राखी दिएको छ भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।

अंश दर्ता मुद्दा सर्वोच्च अदालतबाट मिति २०५६।५।२८ मा फैसला भइसकेको भनी प्रमाणित प्रतिलिपिसहित निवेदन पर्न आएकोले प्रस्तुत मुद्दा मुल्तबीबाट जगाई दिएको छ भन्नेसमेतको पुनरावेदन अदालत जनकपुरको आदेश ।

पुनरावेदन अदालत जनकपुरको आदेशानुसार भई आएको मिति २०५८।६।७ र मिति २०५८।९।९ को नाप नक्सा मुचुल्का रेकर्ड मिसिल सामेल रहेको ।

दाबीका सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिका प्लट नं. ३६ र ८१ का घडेरी जग्गा दपोट गरेको ठहर्‍याउन मिसिल प्रमाणबाट नमिल्नेमा पनि दपोट गरेको ठहर्‍याई सुरू महोत्तरी जिल्ला अदालतबाट मिति २०५२।५।२१ मा भएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई फिरादमा उल्लिखित सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिको प्लट नं. ८१ र प्लट नं. ३६ को घडेरी जग्गालाई अंश दपोट गर्‍यो भन्ने वादी दाबी पुग्न सक्दैन । अरूमा सुरूको इन्साफ मुनासिब ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५८।१२।७ को फैसला ।

पुनरावेदन अदालत जनकपुरबाट भएको फैसलामा चित्त बुझेन । २०४६ सालको दे.नं. ६५२ को अंश मुद्दामा प्रतिवादी र निजहरूका पत्नी नाउँको सम्पत्तिको तायदाती माग भएको छैन । सो मुद्दामा बतियादेवी र पवित्रीदेवीलाई प्रतिवादी नबनाइएको र अदालती बन्दोबस्तको १३९ नं. बमोजिम झिकाइएको पनि छैन । अंशबन्डाको २७ नं. बमोजिम सम्पत्ति नदबाएको भन्ने कागज पनि गराएको छैन । हाल आएर सम्पत्ति दपोट हुने अवस्था छैन । वादीलाई हाम्रो सम्पत्तिको बारेमा थाहा हुँदाहुँदै तायदातीमा नदेखिएका हुन् । पिता रामलखन राय नाउँको नापी नभएको भनिएको महोत्तरी रामगोपालपुर वडा नं. ६ को २ घर भएको ०-३-० कठ्ठा जग्गा नापी भई २०३७ सालको दे.नं. ७७४ को अंश दर्ता मुद्दामा तायदाती पेस गरिएको र २०४६ सालको मुद्दामा पनि सोही बेहोरा उल्लेख छ । सो जग्गा कित्ताकाट भई कि.नं. ३९२ वादी नाउँमा र कि.नं. ३९३ हाम्रो नाउँमा कायम छ । पवित्रीदेवीको नाउँको कि.नं. ३१७ को ०-१-१० मध्ये दाइजो पेवाबाट खरिद गरेको ०-०-१५ कि.नं. ५१२ कायम भई सोमा पतिले सञ्चय कोष सापटी लिई घर बनाई हाल सहरी नापीमा कि.नं. ३८ बाट कित्ताकाट भई कि.नं. १३० को घर जग्गामा कसैको हक नलाग्नेमा दपोट ठहर्‍याएको मिलेन । जिल्ला महोत्तरी भटौलिया गाउँ विकास समिति वडा नं. ७ को नापी नभएको घडेरी जग्गा ०-०-१० र कि.नं. १४२ को जग्गा पवित्रीदेवीले दाइजो पेवाबाट खरिद गरेको र अंश मुद्दामा तायदातीमा देखाएको छ । त्यस्तो बतियादेवीको नाउँको कि.नं. १९१ को जग्गा दाइजो पेवाबाट खरिद गरेको हुनाले दपोट हुने होइन । अंशबन्डाको २७नं को प्रतिकूल भएको फैसला आंशिक त्रुटिपूर्ण हुँदा सोलाई बदर गरी सम्पूर्ण वादी दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन ।

यसमा २०४६ सालको दे.नं. ६५२ को अंश मुद्दामा यस मुद्दाका प्रतिवादी बतियादेवी र पवित्रीदेवीलाई प्रतिवादी बनाएको देखिँदैन र सो अंश मुद्दामा निजहरूलाई बुझिएको र तायदातीसमेत माग गरिएको देखिँदैन । यसरी तायदाती नै माग नगरिएको र अदालती बन्दोबस्तको २७ नं. अनुसार कागज नै नगराइएका बतियादेवी र पवित्रीदेवीले अंश दपोट गर्‍यो भनी प्रस्तुत मुद्दामा ठहर गर्न मिल्ने अवस्था 

देखिँदैन । यस्तै प्रश्न समावेश भएको संवत् २०४६ सालको दे.पु.नं. ४३८ मुनिलाल साह कानु विरूद्ध सुन्दर साह कानुसमेत भएको अंश दपोट मुद्दामा यस अदालतको संयुक्त इजलासबाट अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबन्डाको २७ नं. आशयविपरीत हुने (ने.का.प. २०४७, नि.नं. ४१२७, पृष्ठ ३५६) भन्ने निर्णय भई कायम भएको सिद्धान्तको विपरीत र अंशबन्डाको २७ नं. को विपरीत पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अदालती बन्दोबस्तको २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने यस अदालतको मिति २०६१।१२।२ को आदेश ।

महोत्तरी जिल्ला अदालतको मिति २०५२।५।२१ को फैसला केही उल्टी गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५८।१२।७ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको यस अदालतको संयुक्त इजलासको मिति २०६५।१२।२५ को फैसला ।

अंश दपोटको लागि विवादमा परेका कित्ता जग्गाहरूको दर्तावाल जग्गाधनीहरूसँग तायदाती माग नभएको तथ्य निर्विवाद छ । ती कित्ता जग्गाहरू अंशबन्डा नहुने प्रकृतिको स्त्री अंशधन एवं निजी आर्जनको रहेको भनी प्रस्तुत मुद्दामा जिकिर लिँदा निजी आर्जन नठहर्ने भए सगोलको अबन्डा सम्पत्तिसरह बन्डा लाग्ने ठहर गर्नुपर्नेमा अंश दपोट हुने ठहर्‍याएको फैसला पुनरावलोकनीय छ । यस अदालतको फैसला सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरूसँग बाझी न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरिपाउँ भन्ने बतियादेवीको निवेदन ।

यसमा, अंश मुद्दामा प्रतिवादी नै नबनाइएका निवेदकमध्येका बतियादेवी र पवित्रा देवीलाई बुझ्दै नबुझी एवं निजहरूसँग तायदाती माग नभएको अवस्थामा निजहरूको नाउँमा रहको सम्पत्ति अंश दपोट गरेको ठहरी यस अदालतबाट भएको मिति २०६५/१२/२५ को फैसला कान्छी खत्री क्षेत्रीसमेत विरूद्ध बलबहादुर भट्टराई क्षेत्री भएको अंश चलन मुद्दा (ने.का.प.२०५६, अंक ३, नि.नं. ६६८३, पृष्ठ १९०) र मूनिलाल साहु कानु विरूद्ध सुन्दर साह कानुसमेत भएको अंश दपोट मुद्दा (ने.का.प.२०४७, नि.नं.४१२७, पृष्ठ २६४) मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश । 

यसमा २०३७ सालको दे.नं ७७४ वादी कृष्णदेव यादवसमेत प्रतिवादी रामलखन यादवसमेतको अंश मुद्दामा महोत्तरी जिल्ला अदालतबाट मिति २०३९/११/२९ मा भएको फैसलासहितको मिसिल र २०४६ सालको दे.नं.६५२ वादी अशोककुमार यादवको संरक्षक गुलावदेवी यादव र प्रतिवादी कृष्णदेव यादवसमेत भएको अंश मुद्दामा महोत्तरी जिल्ला अदालतबाट मिति २०४९/२/१२ मा भएको फैसलालाई सदर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१/८/२० मा फैसला भएको भन्ने दुवै पक्षका विद्वान्‌ कानून व्यवसायीहरूबाट खुल्न आएको हुँदा उक्त मुद्दाहरूको फैसलासहितका मिसिलहरू सम्बन्धित अदालतबाट झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट भएको आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री युवराज भण्डारी, श्री महादेव पण्डित र श्री सतिशकुमार झाले प्रतिवादीहरू कृष्णदेव र जिनेश्वरले मिति २०४८/८/२९ मा तायदाती पेस गरेको देखिएको छ । उक्त तायदाती वादीको वारेसले सुनी पाएको अवस्था छ । दपोट भनेको जग्गा कि.नं. १०० रामलखनको पहिलेको अंश मुद्दाको तायदातीमा आइसकेको हो । रामलखनको नामको कि.नं. १०० जग्गा तायदातीमा परेको छ । बन्डा मुचुल्कामा पनि यो जग्गा उल्लेख भएको 

देखिन्छ । कि.नं. १०० नै कित्ताकाट भई कि.नं. ३९२ र ३९३ भएको हो । दाबीको जग्गा २०४० सालमा खरिद भएकोले उक्त जग्गा दपोट ठहर हुन सक्दैन । समान अंशियारमध्येको श्रीमतीहरू देखिएकोले उनीहरूको नाउँको सम्पत्ति तायदातीमा देखाउनु पर्ने अनिवार्यता छैन । लोग्नेले तायदातीमा पेस नगर्दैमा दपोट ठहर हुने होइन । बतियादेवी र पवित्रीदेवीका निजी आर्जनको सम्पत्ति स्त्री अंशधनअन्तर्गत पर्ने सम्पत्ति हुँदा त्यस्तो सम्पत्तिलाई पैतृक मान्न मिल्दैन । उक्त स्त्री अंशधनको जग्गालाई दपोट ठहर गर्न मिल्दैन । तसर्थ पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उल्टी भई वादी दाबीका सबै सम्पत्ति दपोट ठहर नहुने गरी फैसला हुनुपर्दछ भनी र प्रत्यर्थी वादीको तर्फबाट विद्वान्‌ वरिष्ठ अधिवक्तात्रय श्री महेन्द्रप्रसाद सिंह, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र विद्वान्‌ अधिवक्ता श्री बाबुराम दाहालले आफ्नो श्रीमतीहरूको नाउँमा भएको सम्पत्ति तायदातीमा पेस गर्ने दायित्व सम्बन्धित पतिहरूको नै हो । यहाँ विपक्षीहरूबाट उक्त दायित्वको पालना भएको छैन । अंशबन्डाको २० नं ले अंशको जानकारसँगबाट फाँटवारी झिकाउने हो । सगोलको सम्पत्तिको तायदाती जानकारले नै दिनु पर्ने हुन्छ । घरमूली प्रतिवादी कृष्णदेव र जिनेश्वर भएकोमा घरमूलीले नै आफ्नो श्रीमतीहरूको नाउँमा भएको सम्पत्तिको फाँटवारी पेस गर्नु पर्ने हुन्छ । प्रतिवादीहरूले पेस नगरेकोले दपोट ठहर 

हुन्छ । दाबीको जग्गाहरू हाल प्रतिवादीको भोगचलनमा रहेको छ । प्रतिवादीहरूले बन्डा नलाग्ने कुराको प्रमाण आधार गुजार्न सकेको अवस्था छैन । अदालतबाट भएको नक्सा मुचुल्काबाट समेत प्रतिवादीहरूको भोग चलनमा विवादको जग्गाहरू देखिएको छ । बाँडिएको जग्गा कि.नं.१०० को जग्गा होइन । रामगोपालपुरको ०-३-० जग्गा र कि.नं.१०० जग्गा अलग अलग जग्गा हो । तसर्थ पुनरावेदन अदालतबाट भएको फैसला मिलेको हुँदा उक्त फैसला सदर कायम हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा प्रतिवादीहरूले तायदातीमा देखाउनु पर्ने सम्पत्ति तायदातीमा नदेखाई अंश दपोट गरेकोले दपोट गरेको सम्पत्तिमा हाम्रो एकलौटी हक कायम गरी गोरु, भैंसीको मोल दिलाई सहर विस्तारको जग्गा हाम्रो नाउँमा लिखत पारित हुने गरी हक कायम गरिपाउँ भन्ने वादी दाबी र दे.नं. ६५२ को अंश मुद्दामा म पवित्रीदेवीलाई वादीले प्रतिवादीसमेत नबनाएको र विपक्षी वादीको अंश हक लाग्ने जग्गा मेरो नाउँमा दर्ता छैन । प्रतिवादीमध्ये म बतियादेवीलाई वादीले दे.नं. ७७४ को अंश मुद्दामा प्रतिवादी नबनाएको र मैले आफ्नो सुन चाँदी जवाहरत बिक्री गरी जमिन खरिद गरेको हो । वादीले हामीलाई परेसान गर्न मात्र झुठ्ठा मुद्दा दिएका हुँदा झुठ्ठा दाबीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू महोत्तरी जिल्ला अदालतबाट चलतर्फको भैंसी थान दुईको वादी दाबीबाहेक अरू श्रीसम्पत्ति प्रतिवादीहरूले अंश दपोट गरेको ठहर्छ । सो ठहरेकोले सम्पूर्ण श्रीसम्पत्तिमा वादीहरूको एकलौटी हक कायम हुने र अंशबन्डाको २७ नं. बमोजिम दपोट गरेको श्रीसम्पत्ति प्रतिवादीबाट झिकी वादीहरूले आफ्नो नाममा दर्ता गरी भोग गर्नसमेत पाउने ठहर्छ भन्ने फैसला भएको, उक्त फैसलाउपर पुनरावेदन अदालत जनकपुरमा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी दाबीका सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिका प्लट नं. ३६ र ८१ का घडेरी जग्गा दपोट गरेको ठहर्‍याउन मिसिल प्रमाणबाट नमिल्नेमा पनि दपोट गरेको ठहर्‍याई सुरू महोत्तरी जिल्ला अदालतबाट मिति २०५२।५।२१ मा भएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई फिरादमा उल्लिखित सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिको प्लट नं. ८१ र प्लट नं. ३६ को घडेरी जग्गालाई अंश दपोट गर्‍यो भन्ने वादी दाबी पुग्न सक्दैन । अरूमा सुरूको इन्साफ मुनासिब ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको, उक्त फैसलाउपर यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट महोत्तरी जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने फैसला भएउपर पुनरावलोकनको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम निस्सा प्रदान भएबाट पुनरावेदनको रोहमा दर्ता भई प्रस्तुत मुद्दा निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको रहेछ ।

उपर्युक्त दुवै पक्षका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी पुनरावेदन जिकिर एवं मिसिल संलग्न कागजात प्रमाणहरूसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको न्यायिक निरूपण हुनु पर्ने देखियो ।

(१) यसमा चलतर्फको भैंसी थान दुई, सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिको प्लट नं. ८१ र प्लट नं. ३६ को घडेरी जग्गाबाहेकको अन्य सम्पत्ति दपोट ठहर हुनुपर्ने हो वा होइन ?

(२) यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदन जिकिर पुग्ने हो वा होइन ?

 

२. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा सुरू अदालतबाट फैसला हुँदा भैंसी थान दुईको वादी दाबीबाहेक अरू सम्पत्ति दपोट ठहर्ने गरी फैसला भएको र पुनरावेदन अदालत जनकपुरबाट सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिको प्लट नं. ८१ र प्लट नं. ३६ को घडेरी जग्गालाई अंश दपोट ठहर्‍याएको हदसम्मको फैसला नमिलेको भनी केही उल्टी फैसला भएउपर वादीहरूको पुनरावेदन परेको अवस्था नदेखिँदा सोतर्फ विवेचना गरिरहन परेन । उक्त पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी यस अदालतको संयुक्त इजलासबाट पुनरावेदन अदालतको फैसला सदर हुने गरी फैसला भएको र सोउपर प्रतिवादीहरूको पुनरावलोकनको निवेदन परी निस्सा प्रदान भएको अवस्था देखियो । 

३. मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गरी हेर्दा प्रतिवादी कृष्णदेव यादवको जिम्माको सम्पत्ति जिल्ला महोत्तरी, रामगोपालपुर गाउँ विकास समिति वडा नं. ५ मा पर्ने सर्भे नापी नभएको सडकदेखि पश्चिम, गणेशी सो उत्तर, रामलखन सो पूर्व, चलितर चौधरी सो दक्षिणको ०-३-० घडेरी जग्गा र सो जग्गामा भएको काठको पूर्व मुखको दुई तले घर कोठा ८ को एवं सोही जग्गामा भएको पूर्व, दक्षिण, उत्तर मुखको खपडाको छाना भएको कोठा नं. ६ को घर, प्रतिवादी पवित्रीदेवीको जिम्मामा रहेको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ७(ग) मा पर्ने कि.नं. ५१२ को ०-०-१५ जग्गा र उक्त जग्गामा भएको काठको पूर्व मुखको खपडा टायलको छाना भएको १६ कोठा भएको दुई तले घर, प्रतिवादी पवित्रीदेवीकै जिम्मा रहेको जिल्ला महोत्तरी भटौलिया गाउँ विकास समिति वडा नं ९ कि.नं.१४२ को क्षेत्रफल ०-२-२ को जग्गा, प्रतिवादी पवित्रीदेवी जिम्माकै जिल्ला महोत्तरी, भटौलिया गाउँ विकास समिति वडा नं. ७ मा पर्ने वेचन मण्डल र निज रिनीको नम्बरी जग्गादेखि पूर्व दक्षिण, रामलखन सो उत्तर र पूर्व, लेघाई र बद्री राय सो पश्चिमको अन्दाजी ०-०-१५ जग्गा र सो जग्गामा भएको पूर्व मुखको फुसको भुस राख्ने घर, प्रतिवादी जिनेश्वर रायकी श्रीमती बतियादेवी नाउँमा दर्ता रहेको महोत्तरी जिल्ला रामगोपालपुर वडा नं ५(ग) कि.नं १९१ को ०-१९-१११/२ को जग्गा प्रतिवादीहरूले दपोट गरेको ठहर भई सुरू अदालत पुनरावेदन अदालत र यस अदालतको संयुक्त इजलासबाट फैसला भएको अवस्था देखियो ।

४. अब, वादी दाबीका उल्लिखित दपोट हुने ठहर भएका सम्पत्ति दपोट ठहर हुने सम्पत्ति हुन् होइनन् भन्नेतर्फ हेर्दा मुलुकी ऐन, अंशबन्डाको महलको २७ नं. मा "दबाए छपाएको छैन भनी कागज गरिसकेपछि दबाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन । नदबाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन् । दबाएबापतको सजाय हुँदैन" भन्ने उल्लेख भएको देखिन्छ । कुनै पनि चल अचल सम्पत्ति दपोट ठहर हुन अंशियारहरूबिच त्यस्तो सम्पत्ति बन्डा हुने अवस्थाको देखिनु 

पर्दछ । बन्डा नहुने अवस्थाको सम्पत्ति दपोट ठहर 

हुँदैन । अंशियारहरूबिच मानो छुट्टिएको मितिपछि आर्जन गरेको र मानो छुटिनुभन्दा अघि आर्जन गरेको निजी आर्जनको पुष्टि हुन सकेको सम्पत्तिसम्म बन्डा नहुने भई त्यस्तो सम्पत्ति कानूनतः दपोट नठहर्ने अवस्था हुन्छ । तर कानूनबमोजिम बन्डा हुने अवस्थाको सम्पत्ति तायदातीमा नदेखाई दबाए छपाएको देखिएको अवस्थामा भने त्यस्तो सम्पत्ति दपोट ठहर हुने अवस्था हुन्छ ।

५. दे.नं ६५२ को अंश मुद्दामा कृष्णदेव यादव जिम्माको वादी दाबीको जग्गा तायदातीमा उल्लेख भएको देखिँदैन । प्रतिवादीले आफ्नो जिम्माको जग्गा तायदातीमा पेस नगर्नु पर्ने कारण पनि देखाउन सकेको देखिँदैन । आफ्नो नाउँको जग्गा तायदातीमा देखाउनु पर्ने दायित्व स्वयं प्रतिवादीको नै भएकोमा प्रतिवादीले तायदातीमा नदेखाएको र देखाउनु नपर्नाको पर्याप्त कारण र आधार पनि देखाउन नसकेको अवस्थामा प्रतिवादी कृष्णदेवले आफ्नो जिम्माको वादी दाबीको जग्गा दबाउने उद्देश्यले नै तायदातीमा नदेखाएको मान्नु पर्ने हुन्छ । जहाँसम्म पुनरावेदकले २०२१ सालको नापीमा साबिक चिकना गाउँ विकास समिति वडा नं ३(क) कि.नं. १०० हाल रामगोपालपुर गाउँ विकास समिति वडा नं. ६ मा ०-२-० कायम भएको जग्गा दर्ता रहेको र सो जग्गाको तायदाती २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा पेस भएको तथा २०४६ सालको दे.नं. ६५२ को अंश मुद्दामा म कृष्णदेवसमेतले तायदाती दाखिला गर्दा २०३७ सालको दे.नं. ७७४ को मुद्दामा पेस भएको तायदातीलाई कायम गरिपाउँ भनी उल्लेख गरेको भन्ने कुरा रहेको छ सो सम्बन्धमा हेर्दा वादीले फिरादमा उल्लेख गरेको जिल्ला महोत्तरी  रामगोपालपुर गाउँ विकास समिति वडा नं. ५ मा पर्ने ०-३-० जग्गा भन्ने देखिन्छ । यसरी हेर्दा रामगोपालपुरको वडा नं. र क्षेत्रफल नै फरक पर्न आएको देखियो भने विपक्षीतर्फका कानून व्यवसायीहरूले समेत कि.नं. १०० को जग्गा तायदातीमा देखाएको जग्गा होइन । रामगोपालपुरको ०-३-० जग्गा र कि.नं. १०० जग्गा अलग अलग जग्गा हो भनी बहसको क्रममा उल्लेख गरेको देखिन्छ । यस अवस्थामा कि.नं. १०० को जग्गा दपोट ठहर हुने होइन भन्ने पुनरावेदन जिकिर मनासिब देखिएन । 

६. त्यस्तै, वादी दाबीका जग्गाहरू पवित्रीदेवी र बतियादेवीका नाउँमा रहेको र उल्लिखित दे.नं ६५२ को अंश मुद्दामा पवित्रीदेवी र बतियादेवीलाई प्रतिवादी नबनाएकोले प्रतिवादी नबनाएको व्यक्तिको जग्गा दपोट ठहर हुने होइन भनी जिकिर लिएकोतर्फ हेर्दा मुलुकी ऐन, अंशबन्डाको २० नं. मा "अंशको नालिस परी आएकोमा अंशबन्डा गरिदिनु पर्ने देखिन आएपछि मुद्दा फैसला नगर्दै घरको लेनदेन कामकाज गर्ने जानकारसँग यसै महलको २३ नम्बरबमोजिम अंशबन्डा गर्नुपर्ने चल अचल धन र ऋणसमेत गैह्र श्रीसम्पत्ति यत्तिकै हो, दबाए छपाएको छैन भन्ने धर्म भकाई फाँट लिई बन्डा गरिदिनु पर्छ । फाँट दिनु पर्नेले फाँट नदिई अडियो भने त्यस्तालाई फाँटवारी नदिएसम्म यसै महलका २१ नम्बरबमोजिम छ महिनासम्म थुनी राख्नु 

पर्छ । फाँट दिएपछि थुनाबाट छाडी कानूनबमोजिम बन्डा गरिदिनु पर्छ" भन्ने उल्लेख भएको 

देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार अंश मुद्दाको फाँटवारी घरको लेनदेन कामकाज गर्ने जानकारसँग लिनु पर्ने भन्ने देखिन्छ । प्रमाणको दे.नं. ६५२ को अंश मुद्दामा प्रतिवादी कृष्णदेव र जिनेश्वरले तायदाती पेस गरेकोले निजहरूनै घरको जानकार मानिस भन्ने देखियो । आफ्नो श्रीमतीहरूको नाउँमा भएको सम्पत्ति बारेमा प्रतिवादीहरूलाई जानकारी रहन सक्ने नै हुँदा निजहरूले उक्त सम्पत्ति तायदातीमा देखाउनु पर्ने हुन्छ ।

७. एकासगोलको अंशियारहरूमध्येका जुनसुकै अंशियार एवं अंशियारमध्येका छोरा, छोरी, श्रीमतीसमेतका नाउँमा बन्डा हुनुपर्ने अवस्थाको सम्पत्ति रहने अवस्था हुन्छ । त्यसैले अंश मुद्दामा प्रतिवादी नबनाएकै कारण अंशियारमध्येका श्रीमतीका नाउँमा भएको बन्डायोग्य सम्पत्ति तायदातीमा नदेखाउनु नपर्ने भन्ने होइन । अंश मुद्दाको सन्दर्भमा कसैलाई प्रतिवादी बनाएको वा नबनाएको भन्ने कुरा मुख्य होइन । त्यस्ता प्रतिवादीहरूको नाउँमा रहेका सम्पत्ति बन्डायोग्य सम्पत्तिभित्र पर्छ पर्दैन भन्ने कुरा मुख्य रूपमा हेरिनु पर्ने विषय हो । कृष्णदेव यादवकी पत्नी पवित्रीदेवी देखिएकीमा पवित्रीदेवीको नाउँको वादी दाबीको जग्गाहरू पनि कृष्णदेव यादवले तायदातीमा पेस गर्दा उल्लेख गरेको देखिँदैन । यसैगरी जिनेश्वर रायकी श्रीमती बतियादेवीको नाउँ दर्ताको सम्पत्ति पनि जिनेश्वर राय यादवले तायदाती पेस गर्दा उल्लेख गरेको देखिँदैन । 

८. प्रतिवादी कृष्णदेव यादव र प्रतिवादी जिनेश्वर यादवले दे.नं. ६५२ को अंश मुद्दामा वादी दाबीका जग्गाहरू बन्डा नहुने भए तायदातीमा उल्लेख गरी उक्त जग्गाहरू बन्डा नहुने कुराको प्रमाण सोही मुद्दाको रोहमा पुर्‍याउनु पर्ने हुन्छ । प्रतिवादीहरूले वादी दाबीका जग्गाहरू बन्डा नहुने अवस्थाका निजी आर्जनको घरजग्गाहरू हुन् भनी वस्तुनिष्ठ कागज प्रमाण पेस गरी पुष्टि गर्न सकेको अवस्था देखिँदैन ।

९. यसप्रकार विवादको सम्पत्ति प्रतिवादी कृष्णदेव यादव र जिनेश्वर यादवका अंशियार श्रीमती प्रतिवादीहरू बतियादेवी र पवित्रीदेवीको नाउँमा भएकोमा उक्त सम्पत्ति बन्डा लाग्ने नलाग्ने जे जस्तो अवस्थाको भएपनि आफ्ना श्रीमतीहरूको नाउँमा रहेको सम्पत्ति तायदातीमा देखाई बन्डा गर्नु नपर्ने अवस्थाको भए तायदाती पेस गर्दाको बखतमा नै प्रतिवादीहरूले सो कुराको जिकिर लिनु पर्नेमा प्रतिवादीहरूले आफ्नो श्रीमतीहरूको नाउँको सम्पत्ति तायदातीमा नै नदेखाएको तायदाती पेस गर्दाको बखत नै आफ्ना श्रीमतीहरूको नाउँमा भएका सम्पत्ति तायदातीमा पेस गर्न नसकिने अवस्थाको भए प्रतिवादीहरूले सोको युक्तियुक्त कारण दिन नसकेको, कि.नं. १०० को जग्गा तायदातीमा देखाएको भनी जिकिर लिएपनि सो कुरा निर्विवादित रूपमा पुष्टि हुन सकेको अवस्था नभएकोलगायतका आधार कारणहरूलाई मध्यनजर गर्दा वादी दाबीका भैंसी दुई थान, प्लट नं. ३६ र ८१ र सञ्जय राइस मिल्सबाहेकका अन्य घर जग्गाहरू बन्डायोग्य सम्पत्तिको परिधिभित्र पर्न आएको देखियो । प्रतिवादीहरूले उक्त घर जग्गाहरू तायदातीमा नदेखाई लुकाएको देखिँदा अंशबन्डाको २७ नं. बमोजिम उक्त जग्गाहरू प्रतिवादीहरूले दपोट गरेको नै देखिन आयो ।

१०. दोस्रो प्रश्नतर्फ हेर्दा माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट वादी दाबीका भैंसी दुई थान, प्लट नं. ३६ र ८१ बाहेकका जग्गाहरू बन्डायोग्य सम्पत्ति भई प्रतिवादीहरूले दबाई लुकाई दपोट गरेको देखिँदा वादी दाबीका सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिका प्लट नं. ३६ र ८१ का घडेरी जग्गा दपोट गरेको ठहर्‍याउन मिसिल प्रमाणबाट नमिल्नेमा पनि दपोट गरेको ठहर्‍याई सुरू महोत्तरी जिल्ला अदालतबाट मिति २०५२।५।२१ मा भएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई फिरादमा उल्लिखित सम्पत्तिमध्ये सञ्जय राइस मिल र जलेश्वर नगर विकास समितिको प्लट नं. ८१ र प्लट नं. ३६ को घडेरी जग्गालाई अंश दपोट गर्‍यो भन्ने वादी दाबी पुग्न नसक्ने र अरूमा सुरू महोत्तरी जिल्ला अदालतको फैसला मनासिब हुने ठहर्छ भनी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर र यस अदालतबाट पुनरावलोकनको निस्सा प्रदान गर्दा लिएका आधारहरूसँग सहमत हुन सकिएन । दायरीको मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

न्या. टंकबहादुर मोक्तान

 

इजलास अधिकृत:- ध्रुवराज कार्की

इति संवत् २०७५ साल फाल्गुण ९ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु