निर्णय नं. १०२५६ - अंश चलन

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति : २०७६।२।१६
०७५-DF-०००३
मुद्दाः- अंश चलन
पुनरावेदक / प्रतिवादी : ओमबहादुरको बुहारी सूर्यराम सुनुवारको श्रीमती ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने लक्ष्मीसरा सुनुवार राई
विरूद्ध
प्रत्यर्थी / वादी : मानबहादुरको नाति पदमबहादुरको छोरा ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने ओमबहादुर सुनुवार
सगोलको सम्पत्ति भन्नाले पुर्खौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने ।
(प्रकरण नं.७)
अर्कालाई हक छोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन नमिल्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री माधवकुमार बस्नेत र श्री मिना खड्का बस्नेत
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने, श्री रामप्रसाद भण्डारी "संभव" तथा विद्वान् अधिवक्ताहरू श्री शिवबहादुर पाण्डे र श्री सीतादेवी श्रेष्ठ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने न्यायाधीश :
श्री विष्णुप्रसाद उपाध्याय
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहको फैसला:-
माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
मा. न्यायाधीश श्री अब्दुल अजिज मुसलमान
पुनरावेदन अदालत, पाटन
यस अदालतबाट फैसला गर्नेः-
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
मा. न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला
न्या.बमकुमार श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०७३/४/१८ को फैसलाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएअनुसार पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा यस अदालतका संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष प्रस्तुत हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
म वादी र मेरी श्रीमती स्व. खड्गमायाको सम्बन्धबाट जन्मेका ४ छोरामा जेठो चन्द्रकान्त सुनुवार, माहिलो ताराराम सुनुवार, साहिलो सूर्यराम सुनुवार र कान्छो बृहस्पती सुनुवार र छोरीहरू जेठी खिनमाया सुनुवार र कान्छी पदमकुमारी सुनुवार भएकोमा म फिरादी, अविवाहित छोरी खिनमाया सुनुवार र विपक्षी छोरा सूर्यराम सुनुवार एकासगोलमा रही बसेको र अन्य छोराहरू पहिले नै छुट्टी भिन्न भई बसेका छन् । हामी एकासगोलका अंशियारहरूबिच अंशबन्डा भएको छैन । अंशबन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्ति विपक्षीहरूकै जिम्मा रहेको छ । विपक्षी छोरा बुहारीले वृद्ध अवस्थामा भएको म फिरादीलाई आफ्नो इज्जत आमदअनुसार खान लाउन नदिई गाली गलौज गरी घरबाट निकाला गरेकोले मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ र २४ नं. बमोजिम विपक्षी प्रतिवादीहरूबाट तायदाती फाँटवारी मगाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको एकभाग म फिरादीको अंश छुट्टयाई अदालतबाटै चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको वादीको मुख्य फिराद दाबी ।
विपक्षी फिरादी मेरो ससुरा हुन् भने निजका छोरा प्रतिवादीमध्येका सूर्यराम सुनुवार मेरो श्रीमान्
हुन् । निज ब्रिटिस आर्मीमा बेलायतमा कार्यरत हुनुहुन्छ । हामीहरू फरक फरक स्थानमा बसोबास गरिरहेको भए पनि सबै हालसम्म सगोलमै छौं । मेरो श्रीमान्को निजी आर्जनबाट खरिद गरिएको र मेरो माइतीको सहयोगले बनाएको कसैको अंश हक नलाग्ने मेरो घर श्रीमान् सूर्यरामले मलाई हालैको बकसपत्र गरिदिनुभएको छ । मसँग बन्डा गर्नुपर्ने अन्य सम्पत्ति नभएको र म विपक्षीको अंशियारसमेत नभएकोले विपक्षीको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मीसरा सुनुवार राईको प्रतिउत्तर जिकिर ।
प्रतिवादी सूर्यराम सुनुवारले जारी भएको म्यादमा प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको देखियो ।
बुबा ओमबहादुर सुनुवार र स्व.आमा खड्गमाया सुनुवारका हामी ४ भाइ छोरा र २ छोरी छौं । ठुली बहिनी / दिदी खिनमायाको विवाह हुन बाँकी छ । हामी ६ अंशियार छौं । हामीबिच अंशबन्डा भएको छैन । जम्मा सम्पत्तिलाई ६ भाग लगाई १ भाग मैले अंश पाउनुपर्ने हो भन्नेसमेत बेहोराको अदालती बन्दोबस्तको १३९ नं. बमोजिम बुझिएका मानिस चन्द्रकान्त सुनुवार, बृहस्पति सुनुवार र ताराराम सुनुवारले सुरू अदालतसमक्ष गरेको एकै मिलानको छुट्टाछुट्टै बयान ।
म अविवाहित छु । अंशबन्डा भएको छैन । म र बुबा मेरो कान्छो भाइ बुहारीसँगै काठमाडौंमा बसेका अरू दाजुभाइ ओखलढुङ्गा खिजी चण्डेश्वरी-५ मा बस्नुहुन्छ । सूर्यराम भाइ यु.के.मा बस्नुहुन्छ । हामी ६ अंशियार छौं । मैले ६ भागको १ भाग अंश पाउनुपर्छ भन्नेसमेत बेहोराको अदालती बन्दोबस्तको १३९ नं. बमोजिम बुझिएका मानिस खिनमाया सुनुवारले सुरू अदालतमा गरेको बयान ।
यी वादी प्रतिवादीबिच नाता पुस्तामा विवाद नरहेको एवं वादीले अंश पाइसकेको भने पनि मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नआएको हुँदा प्रतिवादीहरूबाट वादीले अंश पाउने नै देखियो । मानो छुट्टिएको मिति यकिन नहुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । अब उक्त दिनसम्मको बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादी एवं अदालती बन्दोबस्तको १३९ नं. बमोजिम बुझिएको व्यक्तिहरूसमेतबाट दाखिल गर्न लगाई अचल सम्पत्तिको दर्ता स्रेस्तासमेत झिकाई नपुग कोर्ट फी वादीबाट दाखिल गर्न लगाई मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ नं. को प्रक्रिया पूरा गर्नु भन्नेसमेत बेहोराको मिति २०७२।५।२८ को सुरू अदालतको आदेश ।
वादीले तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण घर जग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहर्छ । ३ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी सो हदसम्म पुग्न सक्तैन भन्ने सुरू काठमाडौं जिल्ला अदालतको फैसला ।
मैले बकस पाएको घरजग्गा निजी आर्जन हो भन्ने प्रमाणित गर्नको लागि अदालतको आदेशमार्फत मगाइएको मिति १८ अगस्ट, २०१५ को पत्रलाई काठमाडौं जिल्ला अदालतले स्वीकार गरेको तर प्रमाणमा लिएको छैन । प्रमाण नलिनुको कारण पनि उल्लेख गरिएको छैन । यसरी फैसला गर्दा सबुद प्रमाणको मूल्याङ्कन गरेर मात्र फैसला गर्नुपर्ने भन्ने न्यायको सर्वमान्य सिद्धान्त हो । यस सम्बन्धमा सर्वोच्च अदालतबाट रामकृत यादव विरूद्ध भूमि सुधार कार्यालय महोत्तरीसमेत ने.का.प.२०४४ अङ्क ८ नि.नं. ३१७४ पृष्ठ ८२५ भएको मुद्दामा “कुनै पनि न्यायिक निर्णय गर्दा निर्णयमा पुगेको कारण व्यक्त हुनुपर्ने सर्वमान्य न्यायिक परम्परा हो, सोको अभावमा भएको निर्णयमा न्यायिक मनको प्रयोग भएको मान्न नमिल्ने” यस्तैगरी राज पंत विरूद्ध दाङ जिल्ला वन क्षेत्र सुदृढीकरणसम्बन्धी विशेष अदालतसमेत ने.का.प. २०४७ नि.नं. ४०३७ पृष्ठ १४ भएको मुद्दामा “निर्णय गर्न पाउने अधिकारीले निर्णय गर्दा सबुद प्रमाणको आधारमा कानूनको प्रक्रिया पूरा गरी निर्णय गर्नुपर्ने” भन्ने सिद्धान्त कायम भएको छ । त्यसैगरी निजी आर्जनबाट प्राप्त सम्पत्ति बन्डा नलाग्ने भनी सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्तसमेत कायम भएको छ । मैले हालैदेखिको बकसपत्रबाट प्राप्त सम्पत्ति बन्डा नलाग्ने हुँदा सोसमेत बन्डा लाग्ने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण छ । यसरी काठमाडौं जिल्ला अदालतको फैसलाले मिसिल संलग्न लिखत प्रमाणको मूल्याङ्कन नै नगरेको मात्र नभई त्यसलाई पूर्णतः बेवास्ता गरिएको छ भन्ने मौखिक कथनलाई आधार मानी गरेको फैसला कानून तथा न्यायको सर्वमान्य सिद्धान्तको विपरीत भएको हुनाले बदर गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मीसरा सुनुवार राईले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र ।
मिसिल संलग्न आधार प्रमाणबाट तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण घरजग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।९।७ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७३।४।१८ को फैसला ।
मैले दाता सूर्यरामको निजी आर्जनको भनी सप्रमाण पेस गरिसकेपछि सूर्यरामले आफ्नो हक समाप्त भइसकेपछि केवल आफ्नो पुरानो व्यवहारलाई उल्टाउने गरी निजले बिना प्रमाण अभिव्यक्त गरेको कुरालाई मात्र लिएर मेरो हकमा असर पर्न
सक्दैन । आफ्नो हकमा आएको सम्पत्ति कानूनबमोजिम आएको थियो भनी पाउनेले प्रतिरक्षा गर्न सक्छ । यति सरल कुरामा ध्यान नदिई मलाई नोक्सान पुग्ने गरी मैले पेस गरेका प्रमाणलाई मान्यता नदिई कानूनले नै खण्डनयोग्य बनाएको र मैले पेस गरेका प्रमाणबाट खण्डितसमेत भइसकेको छ । मेरो मुख्य जिकिर नै कि.नं. १९१ को घरजग्गा निजी आर्जनको सम्पत्ति बकस पाएको भन्ने छ । यसमा सुरू जिल्ला अदालत र पुनरावेदन अदालत पाटनले पनि उक्त घरजग्गा निजी आर्जनको होइन भन्ने सम्बन्धमा केही नबोली मात्र आर्जनकर्ताले नै सगोलको हो भनी स्वीकार गरेकोले सगोलको भनी अनुमान गर्नुपर्ने भनी गरेको फैसला प्रमाण ऐनको दफा ६(क) र अंशबन्डाको १८ नं. विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) र (ख) बमोजिम मुद्दा दोहर्याई हेरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतसमक्ष पर्न आएको मुद्दा दोहर्याई हेरिपाउँ भन्ने निवेदनपत्र ।
यसमा सूर्यरामका नामका सम्पत्तिहरू पैतृक नभई निजले सगोलमा रहँदा बस्दाकै अवस्थामा British Army मा नोकरी गरी आफ्नो ज्ञान सीपबाट आर्जन गरेको भन्ने देखिएको त्यस्तो सम्पत्ति आफ्नो श्रीमतीलाई बकसपत्र गरिदिएको कार्य आफ्ना पालामा आर्जन गरेको सम्पत्तिसमेत बन्डा लाग्ने ठहर्याई पुनरावेदन अदालत पाटनले मिति २०७३।४।१८ मा फैसला गरेको देखिन्छ । आफ्नो आर्जन आफूखुस गर्न कानूनले निषेध नगरेकोमा अंशबन्डा लाग्ने ठहराएको उक्त फैसला अंशबन्डाको १८नं. र १९(१) नं. को कानूनी व्यवस्थाको प्रतिकूल देखिएको र यसै अदालतबाट ( ने.का.प. २०५९ अंक ३ नि.नं. ८७८७) मा प्रतिपादित सिद्धान्तसमेतको पालना नभई त्रुटिपूर्ण देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।
पुनरावेदक प्रतिवादीले आफ्नो नाममा भएको आफ्नो श्रीमान्बाट बकस पाएको सम्पत्ति बन्डा लाग्ने होइन भन्ने जिकिर लिए तापनि निजले जुन स्रोतबाट पाएको हो सो स्रोतका दाताले नै उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति हो भनी स्वीकार गरेको र प्रमाण ऐन, २०३१ को दफा ६(क) ले एकासगोलका जुनसुकै अंशियारको नाउँमा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको भनी अनुमान गर्नुपर्ने हुँदा यी वादी प्रतिवादीसमेत सगोलकै अंशियार रहेको अवस्थामा मुलुकी ऐन, अंशबन्डाको १८नं. को कानूनी व्यवस्थाबमोजिम निजका नामको सम्पत्ति एकासगोलको पतिबाट हालैदेखिको बकसपत्रबाट पाएको सम्पत्ति सबै अंशियारमा बन्डा लाग्ने नै देखिँदा पुनरावेदक प्रतिवादी लक्ष्मीसरा सुनुवार राईका नामको कि.नं. १९१ को घरजग्गा सम्पत्ति बन्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिर तथा विद्वान् कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन । सम्पूर्ण घरजग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।९।७ मा भएको फैसला सदर हुने ठहर्याई भएको पुनरावेदन अदालत पाटनको मिति २०७३।५।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको राय ।
पुनरावेदक प्रतिवादी लक्ष्मीसराले आफ्ना पतिको निजी आर्जनको कि.नं.१९१ को घर जग्गाको सम्पत्ति बकसपत्रमार्फत प्राप्त गरेको र उक्त कि.नं. १९१ को सम्पत्ति र अंशबन्डाको १८ नं. र माथि उल्लिखित नजिर सिद्धान्तसमेतको आधारमा निजको आफूखुस गर्न पाउने प्रकृतिको सम्पत्ति भएकोमा विवाद नदेखिँदा कि.नं. १९१ को घर जग्गा सगोलको ठहर्याई सबै अंशियारमा बन्डा लाग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब ठहराएको माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको रायसँग सहमत हुन नसकी उक्त कि.नं. १९१ को घर जग्गा सम्पत्ति पुनरावेदक प्रतिवादी लक्ष्मीसरा राईले आफूखुस एकलौटी गर्न पाउने प्रकृतिको भई बन्डा नलाग्ने ठहर्ने हुँदा यो छुट्टै राय व्यक्त गरेको छु । प्रस्तुत मुद्दाको लगत काटी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय ।
नियमानुसार साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारी, अधिवक्ता श्री माधवकुमार बस्नेत र अधिवक्ता श्री मिना खड्का बस्नेतले कि.नं. १९१ निजी स्वआर्जनको भन्ने कागज प्रमाणले स्थापित छ । मुद्दा चलेपछि बुझ्ने क्रममा विवादित घर जग्गामा सगोलको पनि सम्पत्ति लागेको छ भने पनि त्यसको वस्तुनिष्ठ कागज प्रमाण देखाइएको
छैन । सगोल वा पैतृक भन्नलाई वस्तुनिष्ठ प्रमाण कागजको आवश्यक्ता हुन्छ । आफ्नो स्वामित्वबाट हस्तान्तरण भएर गइसकेपछि हालैदेखिको बकसपत्र लिखत बदर मुद्दामा प्रतिवाद गरेको कुरालाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । लक्ष्मीसराको श्रीमान सुर्यराम २०५४ सालदेखि ब्रिटिस गोरखा आर्मीमा कार्यरत रहेको र १० वर्षपछि आर्मीको तलबबाट कि.नं. १९१ को जग्गा खरिद गरेको अवस्था छ । कुनै अंशियारको श्रम सिपबाट आर्जन गरेको सम्पत्ति योगदान नै नभएको अंशियारको समेत अंश लगाउने भन्ने कानूनको मनसाय होइन । सुर्यरामले अंशचलन मुद्दामा प्रतिवाद नगरेकोले अर्को मुद्दामा बोले वा लेखेको कुरा लक्ष्मीसराको विरूद्धमा प्रमाण लाग्न सक्दैन । सुर्यरामले २०७२/५/१ सम्म घर बनाउँदा लिएको ऋण तिरिरहेको अवस्था
छ । ब्रिटेनबाट आएको Document judicial notice मा आउने अवस्था छ । तसर्थ कि.नं. १९१ को जग्गाको हकमा समेत बन्डा लाग्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी हुनुपर्ने अवस्था हुँदा बन्डा नलाग्ने ठहर गरेको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय कानूनसम्मत हुँदा सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसैगरी विपक्षीहरूको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने, श्री रामप्रसाद भण्डारी "संभव", विद्वान् अधिवक्ताहरू श्री शिवबहादुर पाण्डे र श्री सीतादेवी श्रेष्ठले २०१५ अगस्त १८ मा स्रोत खुलाएको पत्र मुद्दा परेपछिको छ । लिखत बदर मुद्दा जिल्लाबाट अन्तिम भएकोमा त्यो कायमै छ । कानूनबमोजिम हुने कार्यहरू कानून र प्रमाणको आधारमा भएको देखिनु पर्दछ । प्रतिवादी सुर्यरामले विवादको कि.नं. १९१ को जग्गालाई निजी भन्न सकेका छैनन् । विवादको जग्गा श्रीमतीको ज्ञान सिपबाट खरिद भएको होइन । सुर्यरामले राजीनामाबाट जग्गा खरिद गर्दा राजीनामा लिखतमा मेरो ज्ञान सिपबाट कमाएको हो भनी कहीँ भन्न सकेको छैन । त्यस्तो सम्पत्ति निजी हुन
सक्दैन । लक्ष्मीसरा समान अंशियार होइनन् । निजी भनेर पुष्टि गर्ने भार सुर्यमानलाई हुन्छ, लक्ष्मीसरालाई हुँदैन । अंश हक नैसर्गिक हक हुने हुँदा नैसर्गिक हकबाट कसैलाई वञ्चित गर्न मिल्दैन । तसर्थ सुरू काठमाडौं जिल्ला अदालतबाट कि.नं.१९१ समेतका तायदातीमा देखाएका जग्गाहरू बन्डा हुने गरी भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर कायम हुने भन्ने माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको राय कानूनसम्मत हुँदा सो राय नै सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा प्रतिवादीहरूबाट तायदाती फाँटवारी मगाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग म फिरादीको अंश छुट्याई अदालतबाटै चलनसमेत चलाई पाउँ भन्ने वादी दाबी भएकोमा मेरो श्रीमान्को तलबबाट जग्गा खरिद गरी श्रीमान्को तलब सुविधाबापतको रकम र मेरो माइतीको आर्थिक सहयोगले बनाएको घर मलाई हालैदेखिको बकसपत्र गरिदिनु भएको मेरो निजी आर्जनको सम्पत्ति भएकोले फिराद खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाइन्छ ।
प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतले तायदाती फाँटवारीमा उल्लेख गरेका सम्पूर्ण घरजग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट प्राप्त गरी चलनसमेत पाउने ठहर्छ । ३ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी सो हदसम्म पुग्न नसक्ने ठहर्छ भनी भएको फैसलाउपर प्रतिवादी लक्ष्मीसरा सुनुवार राईले चित्त नबुझाई पुनरावेदन गरेकोमा पुनरावेदन अदालत पाटनबाट सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने गरी फैसला भएको र सो फैसलामा समेत चित्त नबुझाई प्रतिवादी लक्ष्मीसरा सुनुवार राईको यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी सोमा निस्सा प्रदान भएअनुसार पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदा कि.नं. १९१ को घर जग्गा बन्डा लाग्ने नलाग्ने भन्ने सम्बन्धमा माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने आदेश भएअनुसार यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखिएकोले प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी लक्ष्मीसरा सुनुवार राई नाम दर्ताको कि.नं. १९१ को घर जग्गा अंशियारहरूबिच बन्डा हुनु पर्ने हो वा होइन भन्ने कुराको नै न्यायिक निरूपण हुनु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा विवादको कि.नं.१९१ को जग्गा तपना शर्मा पौडेल पण्डितबाट र.नं.२१५० मिति २०६४/६/२७ मा सुर्यराम सुनुवारले राजीनामा लिखितमार्फत खरिद गरिलिई यसै कित्ता जग्गामा बनेको घरसहितको जग्गा सुर्यराम सुनुवारले र.नं ३६९(ख) मिति २०६८/५/११ को हालैदेखिको बकसपत्र लिखतमार्फत आफ्नी श्रीमती लक्ष्मीसरा राई सुनुवारलाई हक हस्तान्तरण गरिदिएको भन्ने
देखिन्छ ।
३. सम्पत्ति बन्डा हुन त्यस्तो सम्पत्ति पैतृक वा सगोलको आर्जन हुनु आवश्यक हुन्छ । निजी आर्जन पुष्टि हुन नसकेको अवस्थामा भने त्यस्तो सम्पत्ति सगोलको सरह बन्डा हुने अवस्था रहन्छ । निजी आर्जनको सम्पत्ति पुष्टि हुन त्यस्तो सम्पत्तिमा सगोलको अंशियारको श्रम, सिप परेको वा पैतृक सम्पत्ति मिसिएको अवस्था हुनु हुँदैन । सगोलको अंशियारको श्रम, सिप र पैतृक सम्पत्ति यदि मिसिएको भन्ने प्रमाणद्वारा स्थापित हुन्छ भने त्यस्तो सम्पत्तिको अस्तित्व निजी स्वआर्जनको नभई सगोलको हुने र त्यस्तो सम्पत्ति सगोलमा बन्डा लाग्ने हुन्छ । कि.नं. १९१ को जग्गाको हकमा पनि उक्त जग्गा सगोलको अंशियारको श्रम, सिप वा पैतृक सम्पत्ति मिसिएको अवस्थाको सम्पत्ति हो वा प्रतिवादी सुर्यराम सुनुवारको विशुद्ध श्रम, सिप र ज्ञानबाट आर्जन भएको स्वआर्जनको सम्पत्ति हो त्यसतर्फ विचार गरी हेर्नु पर्ने देखिन आएको छ ।
४. हाम्रो अंशबन्डाको कानूनले अपनाई आएको मान्यतालाई हेर्ने हो भने बाबु, आमा, लोग्ने, स्वास्नी छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नु पर्ने भन्ने देखिन्छ । यो मान्यताले सगोलमा आर्जित सम्पत्ति सगोलमा बस्ने सबै अंशियारहरूको बिचमा भागबन्डा लाग्ने कुरालाई स्वीकार गरी सगोलमा आर्जन गरेको र आफ्नो मात्र एक्लो प्रयासले स्वआर्जन गरेको सम्पत्तिलाई छुट्याई ती सम्पत्तिको कानूनी हैसियतका बारेमा तत्काल प्रचलित अंशबन्डाको महलमा व्यवस्था भएको पाइन्छ ।
५. सगोल र निजी स्वआर्जनको सम्पत्तिको सम्बन्धमा भएको कानूनी व्यवस्थाले मानो नछुट्टिई सँग बसेका सगोलको अंशियारले सगोलको सम्पत्ति लगाई आर्जन गरेको सम्पत्ति सगोलको हुने र आफ्नो ज्ञान, सिप, प्रयासबाट आर्जन गरेको सम्पत्ति स्वआर्जनको हुने भन्ने देखिन्छ । सगोलको आर्जन सगोलमा हुने सबै अंशियारहरूबिच भागबन्डा हुन्छ भने स्वआर्जनको निजी सम्पत्ति सगोलमा बन्डा गर्न कर लाग्दैन । जसले आर्जन गरेको हो उसको एकलौटी हुन्छ । यस सन्दर्भमा विचारणीय के हुन्छ भने सम्पत्ति सगोलको हो सगोलमा सबैको भाग लाग्छ भनी जिकिर लिनेले र स्वआर्जनको एकलौटी हो भाग लाग्दैन भनी भन्नेले आफ्नो भनाइ जिकिर वस्तुनिष्ठ तथ्यगत प्रमाण प्रस्तुत गरी सो कुरा पुष्टि प्रमाणित गराएको देखिनु पर्दछ ।
६. मुलुकी ऐन, अंशबन्डाको १८नं. मा "मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभएपनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खतीउपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ ।" भन्ने उल्लेख भएको
देखिन्छ । सो व्यवस्थाअनुसार सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको सगोलको सम्पत्ति र कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट आर्जन गरेको स्वआर्जनको सम्पत्ति बारेमा व्यवस्था गरेको पाइन्छ ।
७. तत्काल प्रचलित मुलुकी ऐन, अंशबन्डाको महलमा भएको व्यवस्था र अदालतबाट प्रतिपादित विभिन्न नजिर सिद्धान्तहरूलाई समेत दृष्टिगत गर्दा सगोलको सम्पत्ति भन्नाले पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने देखिन्छ ।
८. प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) मा "एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । अन्यथा प्रमाणित नभएको अवस्थामा बाहेक अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको भनी मान्नु पर्ने उल्लिखित व्यवस्थाको परिप्रेक्ष्यमा सगोलको बन्डा लाग्ने भनी दाबी गर्नेले आफ्नो दाबी प्रमाणित गर्नुपर्ने र निजी हो बन्डा लाग्दैन भनी जिकिर लिनेले आफ्नो जिकिर प्रमाणित गर्ने दायित्व निर्वाह गर्नु पर्ने हुन्छ । प्रतिवादी लक्ष्मीसराले आफ्नो श्रीमान् ब्रिटिस गोर्खा आर्मीमा कार्यरत रहेको र ब्रिटिस गोरखा आर्मीको तलब सुविधा र आफ्नो माइतीको सहयोगबाट विवादको जग्गा खरिद गरेको भनी उल्लेख गरेको देखिन्छ । मिसिल संलग्न BGN 01.11.03.03 (2169860) मिति 18 August 2015 को British Gurkhas Nepal ले पठाएको पत्रसाथ संलग्न FINANCIAL STATEMENT बाट Outgoing शिर्षकअन्तर्गत (Loan for deposit on 176 Sugandha marga, Pepsicola, Nepal £813.32 पाउण्ड ऋणबापत मासिक जम्मा गरेको भन्ने देखिन्छ । प्रस्तुत FINANCIAL STATEMENT लाई वादीहरूले अन्यथा भन्न सकेको अवस्था देखिँदैन । प्रतिवादी सुर्यराम सुनुवारले यसै लगाउको वादी चन्द्रकान्त सुनुवारसमेत प्रतिवादी सुर्यराम सुनुवारसमेत भएको दूषित हालैदेखिको बकसपत्र बदर मुद्दाको प्रतिउत्तरपत्रको प्रकरण नं. "घ" मा उक्त घर बनाउँदा लिएको नपुग ऋण रकम म आजसम्म पनि तिर्दैछु भनी उल्लेख गरेको देखिएबाट सो भनाइमा प्रतिवादी सुर्यराम सुनुवार विबन्धित देखिई निजको सोभन्दा भिन्न बेहोराले प्रतिवादी पुनरावेदक लक्ष्मीसरा राईको हकमा खास अर्थ राख्ने देखिँदैन । त्यसबाट Financial Statement मा उल्लिखित Outgoing शिर्षकअन्तर्गत लिएको ऋण जग्गा खरिद गरी घर बनाउनको लागि लिएको भन्ने कुरा समर्थित हुन आएकोले विवादको कि.नं.१९१ को जग्गा प्रतिवादी सुर्यराम सुनुवारको ब्रिटिस गोर्खा आर्मीको तलब सुविधाबाट खरिद गरी निर्माण गरेको घरसमेत निजी आर्जनको भन्ने देखियो ।
९. मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको सम्पत्ति सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ भन्ने उल्लेख भएको देखिन्छ । विवादको कि.नं.१९१ को जग्गा सगोलको सम्पत्ति भन्ने पुष्टि नभई मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी सुर्यराम सुनुवारको निजी आर्जनको सम्पत्ति भन्ने पुष्टि भएकोले कानूनतः त्यस्तो सम्पत्ति प्रतिवादी सुर्यराम सुनुवारले आफूखुसी गर्न पाउने बन्डा नहुने प्रकृतिको सम्पत्ति देखियो । जुन बकसपत्रको माध्यमले प्रतिवादी लक्ष्मीसरा सुनुवार राईको नाममा हक हस्तान्तरण भई सो सम्पत्तिको प्रकृति नै परिवर्तन हुन गई स्त्री अंशधनको हैसियत सो सम्पत्तिमा सिर्जना भएकोसमेत देखिन्छ ।
१०. वादी ओमबहादुर सुनुवार र अदालती बन्दोबस्तको १३९ नम्बरबमोजिम बुझिएका ताराराम सुनुवारसमेतले तायदाती पेस गर्दा सुर्यराम सुनुवारका नाउँमा सबै अंशियार मिली थप ओखलढुंगा फलाटे गाउँ विकास समिति-१ को २७ रोपनी जग्गा बिक्री गरी आएको रकमसमेत लगानी गरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५ को कि.नं. १९१ को क्षेत्रफल ०-५-० जग्गा खरिद गरी सोही जग्गामा घर निर्माण गरेको भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । तर उक्त तायदातीमा वादी ओमबहादुर सुनुवारसमेतले २७ रोपनी जग्गा यो यसलाई बिक्री गरेको, यति रकममा बिक्री गरेको र बिक्रीबाट प्राप्त यो यति रकम यो यस माध्यमबाट पठाई कि.नं. १९१ को जग्गा खरिद गरेको हो भनी तायदाती पेस गर्दा खुलाई सोको प्रमाण प्रस्तुत गरेको पाइँदैन । लिखत प्रमाणबाट स्थापित कुरालाई वस्तुनिष्ठ कागज प्रमाणको अभावमा केबल मौखिक भनाइकै आधारमा अन्यथा भन्नु मनासिब हुनेसमेत देखिँदैन ।
११. विवादको कि.नं. १९१ को घर जग्गा हाल प्रतिवादी लक्ष्मीसरा सुनुवार राईको नाउँमा रहेको र उक्त जग्गा निजले पति सुर्यराम सुनुवारबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको अवस्था
देखिन्छ । जुन जग्गा लक्ष्मीसराले बकसपत्रद्वारा प्राप्त गरेकी हुन् सो जग्गा निजको लोग्ने सुर्यरामले जागिरको क्रममा आर्जन गरेको रकमले खरिद गरेको भन्ने माथि उल्लेख भई विवेचना भएको कागज प्रमाणबाट देखिएको र त्यस्तो सम्पत्ति निज सुर्यरामले आफ्नो श्रीमतीलाई हालैदेखिको बकसपत्र गरिदिएको भन्ने देखिँदा आफूखुस गर्न पाउने सम्पत्ति लक्ष्मीसरालाई हकछोडी दिइसकेपछि त्यस्तो सम्पत्ति सगोलको मानी सगोलको अंशियारहरूको बिचमा बन्डा लाग्ने अवस्थाको देखिएन ।
१२. प्रतिवादी लक्ष्मीसराको नाउँमा सुर्यरामले गरिदिएको हालैदेखिको दूषित बकसपत्रको लिखत बदर गरिपाउँ भनी सुर्यरामका दाजु चन्द्रकान्त सुनुवारसमेतले सुर्यराम सुनुवारसमेतका उपर दायर गरेको लिखत बदर मुद्दामा निज सुर्यरामले प्रतिवाद गर्दा मेरो श्रीमतीको नाउँको सम्पत्ति मेरो निजी आर्जन र सगोलको सम्पत्तिबाट आर्जित गरेको भन्ने बेहोरा उल्लेख गरेको सम्बन्धमा अर्कालाई हकछोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी पुनरावेदक प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन मिल्ने पनि देखिँदैन । किनकि प्रतिवादी सुर्यराम कार्यरत ब्रिटिस गोर्खा आर्मीको Financial Statement बाट निजको स्वआर्जनको सम्पत्ति भन्ने पुष्टि भइरहेको अवस्था एकातर्फ देखिइरहेको छ भने अर्कोतर्फ सगोलको सम्पत्तिसमेत विवादित घर जग्गामा लागेको भन्ने नदेखिएपछि प्रमाणबेगर सगोलको भनेकै भरमा विवादको घरजग्गालाई सगोलको सम्पत्ति भनी मान्न मिल्ने देखिएन ।
१३. अतः माथि विवेचित आधार, कारणसमेतबाट सुरू काठमाडौं जिल्ला अदालतबाट कि.नं.१९१ को घर जग्गासमेत सगोलको ठहर्याई सबै अंशियारमा बन्डा लाग्ने ठहराएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३/४/१८ मा भएको फैसला मिलेको देखिएन । तसर्थ विवादित कि.नं. १९१ को घर जग्गासमेत बन्डा लाग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी भई कि.नं. १९१ को घर जग्गा निजी आर्जन भन्ने देखिँदा माननीय न्यायाधीश प्रकाशमान सिंह राउतको राय सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७३/४/१८ को फैसला उल्टी भई विवादित कि.नं.१९१ को घरजग्गा स्वआर्जनको बन्डा लाग्ने नहुँदा बन्डा लाग्ने गरी राखिएको लगत कट्टा गरी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु ..............................१
माथि ठहर खण्डमा लेखिएबमोजिम कि.नं.१९१ को हकमा वादी दाबी ठहर नभएकोले प्रतिवादी लक्ष्मीसरा राईले यस अदालतमा र.नं.१७८८० मिति ०७३/९/१३ को नगदी रसिदमार्फत राखेको कोर्ट फी रू.१०८६/- (एक हजार छयासी) वादीबाट भराई पाउने हुँदा यसै सरहदको वादीको जेथा देखाई भराई पाउँ भनी कानूनको म्यादभित्र दरखास्त दिन ल्याए नियमानुसार वादीबाट प्रतिवादीलाई भराई दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनू ............................................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू .............................३
उक्त रायमा हामी सहमत छौं ।
न्या. केदारप्रसाद चालिसे
न्या. प्रकाशकुमार ढुंगाना
इजलास अधिकृतः ध्रुवराज कार्की
इति संवत् २०७६ साल जेठ १६ गते रोज ५ शुभम् ।