शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२५९ - जबरजस्ती करणी (अप्राकृतिक मैथुन)

भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

फैसला मिति : २०७५।११।२८

०७४-CR-०२९२

 

मुद्दाः जबरजस्ती करणी (अप्राकृतिक मैथुन)

 

पुनरावेदक / वादी : परिवर्तित नाम ७१ (ख) को संरक्षकको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बैतडी न्वाली गा.वि.स. वडा नं. ४ घर भई जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ बडहरा बस्ने जसिराम नेपाली

 

सामान्यतयाः महिला र पुरूषबिच स्वभाविक रूपमा हुने यौन एवम् मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवम् अप्राकृतिक तरिकाबाट हुने यौनजन्य क्रियाकलाप र मैथुन अप्राकृतिक हुने ।

(प्रकरण नं.७)

यौनजन्य अपराधहरू यौन सन्तुष्टिका लागि गरिने हुँदा यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा वा चाहना नै यौनजन्य अपराधको मानसिक तत्त्वको रूपमा रहेको हुन्छ । मनसाय आफैँमा सादृश्य विषय होइन । यो व्यक्तिले गरेको कार्य, आचरण, प्रकृति र स्वरूपबाट निर्क्यौल गरिने विषय हुने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुदिप दंगाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९

 

सुरू तहमा फैसला गर्नेः 

मा.जिल्ला न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

कैलाली जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल

उच्च अदालत दिपायल

 

फैसला

प्र.न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छः

मिति २०७२।११।०४ गते म मेरो आमा बुबाले सञ्चालन गरेको तरकारी पसलमा भएको अवस्थामा अन्यायी जसीराम नेपाली आमाले सञ्चालन गरेको पसलनजिक आई मलाई ठेलामा राखेको टिक्का खान दियो । त्यसपछि मिलनचोकको भित्र घुम्ने बाटोबाट भित्र लगी मैले देखेमा चिन्ने होटलमा लगी मलाई काखमा राखी पहिले योनिमा औंलाले कोट्यायो, औंला योनिमा हाल्दै सोही औंला आफ्नो मुखमा चाट्ने काम गर्‍यो र मलाई छोड्दा मलाई दुखाई भई बुबा आमा भएको ठाउँमा आई मलाई गरेको सबै कुरा बताएँ । बुबा आमाले त्यस्तो गरेको कसले हो भन्दा मलाई पहिले पनि नातिनी-नातिनी भन्ने सिलाई कटाई काम गर्ने जसिराम नेपालीलाई चिनेको हुँदा बुबा आमालाई सरासर जसिराम नेपाली भएको ठाउँमा लगी निजलाई देखाई मेरो योनिमा औंला घुसाएको हो भनेकी हुँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कैलाली ७१ (ख) को कागज । 

मैले भारत पलिया बस्ने बेदप्रसाद गुप्तासँग विवाह गरी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ मा डेरा कोठा गरी बस्ने र मिलनचोकमा तरकारी पसल गरी आएकोमा मिति २०७२।११।०४ गते साँझ अ.२०:०० बजेको समयमा मेरो साथमा वर्ष ५ की नाबालिका छोरी परिवर्तित नाम ७१ (ख) रहेकी थिइन् । साँझको समयमा म पसलको काममा व्यस्त भएको बेला अन्यायी जसिराम नेपाली आई नाबालिका छोरीलाई ललाई फकाई नजिकको होटलमा लगी नाबालिका छोरीको योनिमा औंला घुसार्ने, मुखले योनिमा चाट्ने कार्य गरेको रहेछ । केहीबेरपछि नाबालिका छोरी म भएको ठाउँमा आई मलाई र मेरो श्रीमान् वेदप्रसाद गुप्तालाई अन्यायी जसिराम नेपालीले नजिकको होटलमा लगी आलु (टिक्की) खुवाई होटलमा लगी लगाएको सुरूवाल खोली योनिमा औंला घुसारेको र मुखले योनिलाई चाटेको कुरा बताएकी 

हुन् । नाबालिका छोरीलाई अप्राकृतिक मैथुन (जबरजस्ती करणी) गर्ने मानिसलाई चिनाउन भन्दा निज अन्यायी जसिराम नेपालीको सिलाई कटाई काम गर्ने पसलमा मसमेतलाई लगी यसैले अप्राकृतिक मैथुन (जबरजस्ती करणी) गरेको हो भनी बताएकी हुँदा सोही समयमा प्रहरीलाई मौखिक खबर गरी नियन्त्रणमा लिन लगाई जाहेरी दरखास्त साथ उपस्थित हुन आएकी छु । निज अन्यायीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।

म विगत ४ वर्षदेखि जिल्ला कैलाली धनगढी उ.म.न.पा.वडा नं.३ मिलनचोकमा सानो खोकामा सिलाई मेसिन राखी गुजारा गर्दै आएकोमा मेरो सिलाई पसलभन्दा १०/१५ मिटरको दूरीमा जाहेरवालीको तरकारी पसल छ । पीडित परिवर्तित नाम ७१ (ख) मेरो सिलाई पसलमा आउने, मलाई बाजे भन्ने गरी आएकी थिइन, मिति २०७२।११।०४ गते साँझ १८:०० बजेको समयमा म नजिकैको पसलमा मादक पदार्थ रक्सी खान जाँदा बाटोमा पीडित परिवर्तित नाम ७१ (ख) ले देखी बाजे-बाजे भन्दै पछाडि लाग्दा पीडित नाबालिकालाई सँगै रक्सी खाने होटलमा लगेर गएँ । मैले रक्सी खाँदै गर्दा पीडितको सुरूवालभित्र हातहाली योनिमा औंला हाली केही बेर चलाएँ । पछि पीडित नाबालिका दगुर्दै आफ्नो अभिभावक भएको ठाउँमा गएकी हुन् । पीडित बालिकाले मैले निज पीडितको योनिमा औंला हालेको कुरा बताएकी रहिछन् । मैले रक्सी खाइसकेपछि आफ्नो सिलाई पसलतर्फ आउँदा पीडित र निजको आमा सँगै आई नाबालिकालाई नचाँहिदो कार्य गर्ने भनी प्रहरीलाई खबर गरेकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी जसिराम नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं.२ ट्राफिक चौराहा स्थित पूर्वमा आकाश म.म. सेन्टर, पश्चिममा त्रिनगर भन्सारतर्फ जाने पिच सडक, उत्तरमा ट्राफिक मूल चौराह, दक्षिणमा खाली जमिन यति चार किल्लाभित्र दिपेन्द्र शर्माको जग्गा भाडामा लिई राजकुमार गुरूङ रोसन होटलका नाममा सञ्चालन गरिएको एकतले टिनको छाना उत्तर मोहडा भएको होटेलअगाडि काउण्टर भई पछाडि बेञ्च टेबुल लगाएको दक्षिणतर्फ लगाएको खटियामाथि प्रतिवादी जसिराम नेपालीले रक्सी खाँदै पीडित नाबालिका परिवर्तित नाम ७१ (ख) को योनिमा औंला घुसारी जबरजस्ती करणी गरिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । 

म विगत ५/६ वर्ष पहिलादेखि तरकारी पसल सञ्चालन गर्दै आएकी र पीडित परिवर्तित नाम ७१ (ख) की संरक्षककी आमाले पनि ३/४ वर्ष पहिलादेखि सोही स्थानमा तरकारी पसल गर्दै आएकीमा सधैँ झैं पीडित मिति २०७२।११।०४ गते सोही पसलको अगाडि खेली रहेकी थिइन् । प्रतिवादी जसीराम नेपाली सोही टोल छिमेकमा सिलाईको कामकाज गर्दै आएको र सो दिन प्रतिवादीले मादक पदार्थ रक्सी सेवन गरी पहिलादेखि आवत जावत गरी रहेका थिए । पछि पीडित परिवर्तित नाम ७१ (ख) लाई काखमा राखी खेलाई रहेका थिए । सोही समयमा मैले डेरा कोठा गरी बस्ने स्थानमा काम भएका कारण म केही समयको लागि कोठातर्फ गई केही समयपछि पसलमा आउँदा छरछिमेकका मानिस भेला जम्मा भइरहेका थिए । के भएको रहेछ भनी बुझ्दा प्रतिवादी जसिराम दमाईले मादक पदार्थ सेवन गरी पीडितलाई टिकीया किनी दिन्छु भनी ललाई फकाई होटलमा लगी अप्राकृतिक मैथुन गरी पीडितलाई निजकै पसलअगाडि छोडी आफ्नो सिलाई गर्ने स्थानमा गएको र पीडितले आफ्नो संरक्षक बुबासँग आफूलाई अप्राकृतिक मैथुन भएको कुरा भनेपछि बुबाले पीडितकी आमालाई भनेको र  आमाले पीडितलाई लगी को-कसले गरेको हो देखाउ भन्दा पीडितले नै प्रतिवादीको सिलाई कटाई गर्ने पसलमा लगी बाजेले गरेको हो भनेपछि पीडितकी संरक्षक आमाले उजुरी गरेकी हुन् भन्ने सुनी थाहा पाएकी हुँ । निज प्रतिवादीले काखमा खेलाई रहेको अवस्थामा मैलेसमेत देखेको हुँदा निज प्रतिवादीले अप्राकृतिक मैथुन गरेकै होला भन्नेमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको पुनम शर्माले मौकामा गरेको कागज ।

म विगत १० वर्ष पहिलादेखि नास्ता पसल गर्दै आएकी र पीडित परिवर्तित नाम ७१ (ख) की संरक्षक आमाले पनि ३/४ वर्ष पहिलादेखि सोही स्थानमा तरकारी पसल गर्दै आएकीमा सधैझैं पीडित मिति २०७२।११।०४ गते सोही पसलको अगाडि खेली रहेकी थिइन् । प्रतिवादी जसीराम नेपाली सोही टोल छिमेकमा सिलाईको कामकाज गर्दै आएको र सो दिन प्रतिवादीले मादक पदार्थ रक्सी सेवन गरी पहिलादेखि आवत जावत गरिरहेको थियो । पछि पीडित परिवर्तित नाम ७१ (ख) लाई काखमा राखी खेलाई रहेको थियो भनी छिमेकी पुनम शर्माको मुखबाट सुनी थाहा पाएकी हुँ । पीडित परिवर्तित नाम ७१ (ख) मेरो पसलमा समेत आउने जाने गर्दथिन् । त्यसै क्रममा वारदातका दिन पीडित परिवर्तित नाम ७१ (ख) आफ्नो तरकारी पसल अगाडि खेलिरहेको अवस्थामा प्रतिवादी जसिराम नेपालीले टिकीया किनी दिन्छु भनी ललाई फकाई के कुन स्थानमा लगी प्रतिवादीले नाबालिकालाई अप्राकृतिक मैथुन गरेको हो । पीडितलाई निजकै पसल अगाडि छोडी आफ्नो सिलाई गर्ने स्थानमा गएको र पीडितले आफ्नो संरक्षक बुबासँग आफूलाई अप्राकतिक मैथुन गरेको भनेपछि बुबाले पीडितकी आमालाई भनेको र पछि आमाले को कसले गरेको हो देखाउ भन्दा पीडितले नै प्रतिवादीको सिलाई कटाई गर्ने पसलमा लगी बाजेले गरेको हो भनेपछि पीडितकी संरक्षक आमाले उजुरी गरेकी हुन् भन्ने मैले सुनी थाहा पाएकी हु भन्नेसमेत बेहोराको गंगादेवी दाहालले मौकामा गरेको कागज ।  

मिति २०७२।११।०४ गते बेलुकी म आफ्नै पसलमा थिएँ । पीडित मेरो पसलअगाडि बेन्चमा बसेकी थिइन् । सोही स्थानमा प्रतिवादी जसिराम नेपालीले पीडितलाई काखमा बोकी मेरो नातिनी भनी खेलाउँदै गरेको थियो । प्रायः पीडितलाई सोहीअनुसार काखमा बोकी खेलाउने खाने कुरा दिने गरेको थियो मैले केही ध्यान गरिन । पीडितलाई खेलाउँदा खेलाउँदै के कहाँ लग्यो मलाई थाहा भएन । केही समयपश्चात् प्रतिवादीलाई पीडितको बुबाले कुटपिट गर्न लागेको देखी किन कुटपिट गरेको भनी भन्दा प्रतिवादीले पीडितलाई ललाई-फकाई होटलमा लगी अनैतिक कार्य गरेको छ भनी भन्दा सुनी थाहा पाएकी हुँ । सोपश्चात् पीडितलाई सोधपुछ गर्दा प्रतिवादी जसिराम नेपालीले टिक्की खान दिन्छु भनी होटलमा लगी टिक्की खान दिई मेरो सुरूवाल तल गरी मेरो योनिमा औंलाले चलाएको हो भनी भन्दा थाहा पाएकी हुँ । प्रतिवादी सो मिति र समयमा मादक पदार्थ रक्सी सेवन गरेका 

थिए । तत्काल पीडितलाई मेडिकल गराउन लगिसकेका थिए । पीडितको यौनाङ्ग हेर्न पाएनौँ । ऐ.भोलिपल्ट मेडिकल भइसकेपश्चात् घरमा गई पीडितको यौनाङ्ग हेर्दा केही रातो भएको र सुरूवालमा औंला छिर्न सक्ने प्वाल बनाएको जस्तो थियो । पीडितलाई के कुन होटलमा लगी प्रतिवादीले उक्त कार्य गरेको हो थाहा भएन भन्नेसमेत बेहोराको गिता कार्की भट्टले मौकामा गरेको कागज । 

प्रतिवादी र पीडितको संरक्षकले एकै स्थानमा आ-आफ्नो पसल सञ्चालन गरी बस्दै आएका थिए । प्रतिवादीको सिलाई-कटाई पसलमा पीडित जाने आउने गर्थिन् । प्रतिवादीले समेत निजलाई नातिनी भनी माया गर्ने खाने कुरा दिने गरेको अघिल्लो दिनहरूमा देखेका थियौँ । वारदात मितिको बेलुकी एक्कासी हो-हल्ला भएको सुनी सो स्थानमा जाँदा प्रतिवादीलाई पीडितको संरक्षकसमेतले गाली गलौज गरी कुटपिट गर्दै गरेको देखेको हो । के भएको भनी सोधपुछ गर्दा प्रतिवादीले पीडितलाई ललाई-फकाई होटलमा लगी योनि चलाई अप्राकृतिक मैथुन जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितको संरक्षकमार्फत सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको लक्ष्मी धामीसमेत जना ३ ले गरी दिएको वस्तुस्थिति मुचुल्का । 

पीडित कैलाली ७१(ख) को शरीरमा निल डाम, घाउ र अप्राकृतिक मैथुनका साथै जबरजस्ती करणीको कुनै लक्षण नभेटिएको भन्ने सेती अञ्चल अस्पतालमा भएको पीडित ७१ (ख) को स्वास्थ्य परीक्षण प्रतिवेदन ।

पीडक जसीराम नेपालीको लिङ्गको वरिपरि यौन संघर्षका कुनै लक्षण नदेखिएको भन्नेसमेत बेहोराको सेती अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट ।

वारदात मिति २०७२।११।४ मा म आफ्नो होटलमा थिएँ । प्रतिवादी होटलमा रक्सी खान आएको थियो । त्यहाँ २०/२५ जना अरू ग्राहक पनि थिए । निज साथमा ५/६ वर्षकी बालिका र एकजना महिलासमेत थिइन् । प्रतिवादीले त्यहाँ पीडितको योनिमा औंला घुसाई अप्राकृतिक मैथुन गरेको मलाई थाहा भएन । त्यहाँ अन्य २०/२५ जनाको बिचमा प्रतिवादीले त्यस्तो आपराधिक कार्य गरे होलान् भन्ने मलाई विश्वास लाग्दैन भन्नेसमेत बेहोराको राजकुमार गुरूङले गरी दिएको कागज ।   

यसमा प्रतिवादी जसीराम नेपालीले पीडित नाबालिका वर्ष ४ की ७१ (ख) (परिवर्तित नाम) लाई ललाई-फकाई होटलमा लगी आफूले रक्सी सेवन गरेको र पीडितलाई आलु टिक्की खुवाई निजको योनिमा औंला घुसाई अप्राकृतिक मैथुन (जबरजस्ती करणी) गरेको पुष्टि भई निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. विपरीतको कसुर अपराध गरेकोले निज प्रतिवादीलाई सोही महलको ३(१) नं.बमोजिम सजाय हुन तथा सोही महलको ९क नं.बमोजिम थप सजाय हुन र सोही महलको ९क र १०ग नं.बमोजिम प्रतिवादीबाट निज पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाउनसमेतको मागदाबी लिइएको अभियोग पत्र ।

म विगत ४।५ वर्षदेखि कैलाली धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा सानो खोका राखी सिलाई कटाईको काम गर्दै आएको छु । मेरो सिलाई पसल राखेको स्थानबाट जाहेरवालाको तरकारी पसल अं. १०।१५ मिटरको दुरीमा छ । पीडित परिवर्तित नाम ७१ (ख) मेरो सिलाई कटाई पसलमा आउने जाने गर्थिन् र मलाई बाजे-बाजे भनेर 

बोल्थिन् । मिति २०७२।११।४ गते साँझ अं. ६.०० बजेको समयमा मैले आफ्नो पसल बन्द गरी नजिकै रहेको पसलमा मादक पदार्थ रक्सी सेवन गर्नको लागि रक्सी पसलमा जान लाग्दा बाटोमा पीडित परिवर्तित नाम ७१ (ख) ले मलाई देखी बाजे-बाजे भन्दै मेरो पछाडि लाग्दा मैले पीडितलाई सँगै रक्सी सेवन गर्ने होटलमा लगेर गएको हुँ । मैले रक्सी सेवन गर्दा पीडित नाबालिकालाई काखमा राखेर रक्सी खाँदै गर्दा पीडितलाई काखमा राखेको हुँ । पीडितको योनिमा हातको औंला घुसारेको होइन । पीडितको योनिमा मुखले चाटेको होइन । के-कति कारणबाट उक्त कुरा भनेको हो मलाई थाहा भएन । पीडितलाई सँगै रक्सी खाने पसलमा लगी आफ्नो काखमा राखेको हुँ । अन्य कार्य केही गरेको होइन । पीडितलाई ललाई-फकाई गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी जसिराम नेपालीले सुरू अदालतमा गरेको बयान ।

मेरो छोरी परिवर्तित नाम ७१(ख) लाई यी प्रतिवादी जसिराम नेपालीले ठेलामा भएको आलुको टिक्की किनी छोरीलाई दिई हात समातेर होटलमा लगी छोरीको योनिमा हातले कोट्याई औंलाले चाट्ने, काखमा बसाल्ने गरेको रहेछ । छोरीको योनि दुखेको रहेछ रूँदै आई निजले गरेको क्रियाकलाप मलाई छोरीले भनेपछि म गएर १ चोटी यी प्रतिवादीलाई हानेँ । निज प्रतिवादीले पनि म माथिसमेत जाई लाग्न आएको  थियो । पछि छिमेकीहरू आई के भयो भनी हो-हल्ला भएपछि यी प्रतिवादीको स्वास्नी नाम नजानेकी प्रहरीमा उजुरी गर्न गएकी थिइन् र प्रहरी आई पीडितलाई समेत बुझ्दा यी प्रतिवादीले जबरजस्ती करणी गर्नको लागि अप्राकृतिक मैथुन गरेको कुरा प्रहरीलगायत सबैको सामुन्नेमा प्रस्ट हुन आएपछि मैले जाहेरी गरेकी हुँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ७१ (ख) को संरक्षक जाहेरवालाले सुरू अदालतमा गरेको बकपत्र ।

परिवर्तित नाम ७१ (ख) लाई जबरजस्ती करणी अप्राकृतिक मैथुन गरेको सम्बन्धमा मलाई केही थाहा भएन । मेरो होटलमा यी प्रतिवादी जसिराम नेपालीसहित केही आइमाई र केटाकेटीसमेत आई नास्ता गरेर गएका थिए । प्रतिवादीले पीडितलाई अप्राकृतिक मैथुन गर्‍यो भन्ने हल्ला सुनेको हुँ । मेरो होटलमा बसी नास्ता खाँदा भने उक्त घटना भएको केही थाहा भएन भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने राजकुमार गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले जबरजस्ती करणी महलको १ नं. विपरीत कसुर अपराध गरेको हुँदा यी प्रतिवादी जसिराम नेपालीलाई सोही महलको ३(१) नं. बमोजिम १०(दश) वर्ष कैद र सोही महलको ९ क बमोजिम थप ६(छ) महिना गरी जम्मा १० वर्ष ६ महिना कैदको सजाय हुने ठहर्छ । क्षतिपूर्तिबापत रू.२०,०००।- (बीस हजार) प्रतिवादीबाट पीडितले भराई पाउने ठहर्छ भन्ने सुरू कैलाली जिल्ला अदालतको मिति २०७३।२।२४ को फैसला ।

मैले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. विपरीत कसुर गरेको छैन । पीडित भनिएकी ७१(ख) को शारीरिक परीक्षण प्रतिवेदनको आधारमा नभई केबल पीडितको भनाइ र जाहेरी बेहोरालाई मात्र आधार मानी मलाई सुरू कैलाली जिल्ला अदालतबाट प्रमाणको मूल्याङ्कन विना १० वर्ष ६ महिना कैद सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रहरीसमक्ष मेरो इच्छाविपरीत बयान भएको हो । मैले अदालतसमक्ष गरेको मेरो वास्तविक बयान हो । पीडितकी आमा जाहेरवाली अपराध भएको भनिएको घटनाको प्रत्यक्षदर्शी नभएको अवस्थामा निजले सुनेको कुरालाई प्रमाण भनी सुरू अदालतले मलाई कसुरदार ठहर्‍याएको इन्साफ कानूनविपरीत हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जसिराम नेपालीको उच्च अदालत दिपायलमा दायर गरेको पुनरावेदनपत्र ।

प्रतिवादीलाई १० वर्ष ६ महिना कैद हुने ठहर्‍याई भएको सुरू कैलाली जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ छलफलको लागि प्रस्तुत मुद्दाको पेसीको जानकारी उच्च सरकारी वकिल कार्यालय दिपायललाई दिई पेस गर्नु भन्ने उच्च अदालत दिपायलबाट भएको आदेश ।

पीडितको मौकाको कागज तथा बकपत्रसमेतबाट होटलमा लगी प्रतिवादी जसीराम नेपालीले रक्सी खाएको र मलाई काखमा राखी योनिमा औंला घुसाई औंला निकाली चाटेको भन्नेसमेत लेखाई दिए पनि निजको सो कसुर अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आएको पाइँदैन । प्रतिवादी मौकामा पीडितलाई काखमा राखी योनिमा औंला छिराएको तथ्यमा साबित रहे पनि अदालतमा भने काखमा राखेको तथ्यलाई स्वीकार गरेको तर योनिमा औंला राखेको तथा मुखले चाटेको तथ्यमा इन्कार रहेको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिमा कुनै पनि प्रकारको घा चोट, रातोपन आदि केही छैन भन्ने उल्लेख भएबाट ५ वर्षीया पीडितको योनिमा औंला घुसाएको भन्ने तथ्य पुष्टि हुन सकेको पाइँदैन । होटलवाला राजकुमारको अदालतको बकपत्रबाट समेत यौनजन्य अपराध भएको भन्ने नदेखिएको र प्रतिवादी कसुरमा इन्कार रहेको तथा अन्य प्रत्यक्षदर्शीसमेत कोही नरहेकोबाट होटलजस्तो मानिसको आवत जावत हुने ठाउँमा पीडितउपर अभियोग दाबीबमोजिमको कसुरजन्य कार्य यी प्रतिवादीले गरे होलान् भनी अनुमान र विश्वास गर्न सकिने अवस्था पनि देखिएन । यस्तो अवस्थामा अभियोग दाबीबमोजिमको कसुर कायम गरी १० वर्ष ६ महिना कैद र रू.२०,०००।- क्षतिपूर्तिसमेत दिलाई दिने गरी कैलाली जिल्ला अदालतबाट मिति २०७३।२।२४ मा भएको फैसला मिसिल संलग्न तथ्य, प्रमाण एवम् कानूनसम्मत नदेखिँदा उल्टी भई आरोपित कसुरबाट पुनरावेदक प्रतिवादी जसिराम नेपालीले सफाइ पाउने ठहर्छ ।

तर नाबालक पीडितलाई संरक्षकको मन्जुरीबिना आफ्नो साथमा होटलमा लगी काखमा राख्नेसम्मको प्रतिवादीको कार्य मुलुकी ऐन, आशय करणीको महलअन्तर्गतको कसुरजन्य कार्य देखिन आएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गत पर्ने नदेखिएबाट सो ऐनको दफा २७ बमोजिम प्रस्तुत मुद्दा आशय करणीतर्फ परिणत गरी दिएको छ । पीडितको संरक्षक जाहेरवालालाई जानकारी दिई सकार गर्न आएमा प्रस्तुत मिसिलबाट आशय करणीको कसुरमा कारबाही किनारा गर्नु भनी सुरू कैलाली जिल्ला अदालतलाई लेखी पठाई दिनु भन्नेसमेत बेहोराको उच्च अदालत दिपायलको मिति २०७३/२/२४ को फैसला ।

पीडितको संरक्षकले प्रतिवादीउपर किटानी जाहेरी दिएको र उक्त जाहेरी बेहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष बकपत्र गरेको, पीडित स्वयंले मौकामा कागज गरी आफ्नो सुरू कागज बेहोरा समर्थन हुने गरी बकपत्र गरेको, मौकामा बुझिएका व्यक्तिहरू तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको कागज र स्वयं प्रतिवादीले मौकामा आरोपित कसुरमा साबित  रही बयान गरेको र अदालतसमक्ष बयान गर्दा पीडितलाई होटलमा लगी निजलाई काखमा राखी रक्सी सेवन गरेको कुरा स्वीकार गरेको अवस्था तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतबाट प्रतिवादीउपरको अभियोग दाबी पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुदिप दंगालले पीडित नाबालिकालाई होटलमा लगी रक्सी सेवन गर्ने क्रममा आफ्नो काखमा राखी पीडितको योनिभित्र ‍औंला प्रवेश गराएको कार्यलाई यौन सन्तुष्टि प्राप्त गर्ने चाहना वा मनसाय बिना गरिएको कार्य थियो भनी मान्न मिल्दैन । अतः जाहेरवाली तथा पीडितको बकपत्र, प्रतिवादीले मौकामा गरेको बयान तथा स्वयम् यी प्रतिवादीले अदालतसमक्ष बयान गर्दा पीडितलाई होटलमा लगेको र आफूले रक्सी सेवन गर्दा पीडित नाबालिकालाई काखमा राखेको तथ्यलाई स्वीकार गरेको अवस्था एवम् बुझिएका मानिसहरूको कथनलगायतका वस्तुनिष्ठ प्रमाणहरूबाट अभियोग दाबी प्रमाणित भएको स्थितिमा यी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण छ भनी गर्नुभएको बहससमेत सुनियो । 

यसमा प्रतिवादी जसिराम नेपालीउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेकाले निज प्रतिवादीलाई सोही महलको ३(१) नं तथा ९क नं. बमोजिम सजाय गरी सोही महलको १०ग बमोजिम पीडितलाई क्षतिपूर्ति भराई पाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ । यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्‍याई १० वर्ष ६ महिना कैद र रू.२०,०००।- क्षतिपूर्तिसमेत भराइ दिने ठहर्‍याई सुरू कैलाली जिल्ला अदालतबाट फैसला भएको देखियो । सो फैसलाउपर प्रतिवादीले पुनरावेदन गरेकोमा सुरू फैसला उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने र प्रस्तुत मुद्दा आशय करणीमा परिणत हुने ठहर्‍याई उच्च अदालत दिपायलबाट फैसला भएकोमा सो फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

उपर्युक्त बहस एवम् पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा मूलतः यी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने र प्रस्तुत मुद्दा आशय करणीमा परिणत हुने ठहर्‍याई उच्च अदालत दिपायलबाट मिति २०७३।१२।१ मा भएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, पीडित छोरीलाई यी प्रतिवादी जसिराम नेपालीले होटलमा लगी काखमा राखी योनिमा औंला हाली चाटेको भनी छोरीले भनेकोले पीडितलाई अप्राकृतिक मैथुन (जबरजस्ती करणी) गरेकोमा कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । त्यसैगरी पीडित भनिएकी परिवर्तित नाम ७१ (ख) ले अनुसन्धानको क्रममा कागज गर्दा यी प्रतिवादीले मलाई होटलमा लगी काखमा राखी पहिले योनिमा औंलाले कोट्यायो, औंला योनिमा हाल्दै सोही औंला आफ्नो मुखमा चाट्ने काम गर्‍यो । सो कुरा मैले आमा, बुबा भएको ठाउँमा आई भनेको हुँ भनी उल्लेख गरेको र सोही बेहोरा अदालतसमक्ष आई बकपत्र गर्दा उल्लेख गरेको देखिन्छ । तथापि वारदात भएको मितिमा नै पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गर्दा “पीडितको शरीरमा कोतरिएको, चिथोरिएको घाउ चोट, निलडाम, सुन्निएको अवस्था छैन र अप्राकृतिक मैथुन गरेको कुनै लक्षण नपाइएको” भन्ने सेती अञ्चल अस्पताल धनगढी, कैलालीको स्वास्थ्य परीक्षण प्रतिवेदन रहेको देखिन्छ । 

३. यसरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिमा कुनै प्रकारको घाउ चोट, रातोपना आदि केही भएको नदेखिएबाट ४ वर्षकी यी बालिकाको योनिमा औंला घुसाएको भन्ने तथ्य स्वतन्त्र रूपमा स्थापित हुन आएको देखिएन । सामान्यतयाः यस्तो प्रकृतिका वारदातमा देखी जान्ने साक्षीको अभाव रहने भएकाले पीडितलाई नै प्रत्यक्षद्रष्टा साक्षीको रूपमा मान्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा पीडित वर्ष ४ को नाबालिका भन्ने रहेको र निजको मानसिक विकासको अवस्थासमेतलाई मध्यनजर गर्दा युक्तियुक्त रूपमा आफ्ना कुराहरू अभिव्यक्त गर्न सक्ने अवस्थाको रहे भएको भन्ने देखिँदैन । त्यसैगरी पीडितकी आमा भनिएकी जाहेरवालीसमेत घटनाको प्रत्यक्षदर्शी नभएको, जाहेरी दरखास्तमा उल्लेख गरेअनुरूप पीडितको योनिमा ‍औंला प्रवेश गराएको भन्ने तथ्य शारीरिक परीक्षणबाट पुष्टि हुन सकेको नदेखिँदा जाहेरी दरखास्त एवम् पीडितको कागज तथा बकपत्रलाई प्रस्तुत सन्दर्भमा प्राथमिक प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने अवस्था देखिएन । 

४. मौकामा बुझिएका पुनम धामी, गंगादेवी दहाल, लक्ष्मी धामीसमेतले कागज गर्दा पीडित र प्रतिवादीलाई वारदातको दिन सँगै देखेको तथा पीडितले नै भनेको हुँदा यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेकोमा शंका लाग्छ भनी लेखाई दिएको पाइन्छ । त्यसैगरी वारदात भएको भनिएका होटलका सञ्चालक राजकुमार गुरूङले प्रतिवादीका साथमा पीडितसमेत सँगै आफ्नो होटलमा आई बसेको तर आफूले यौनजन्य कसुर अपराध आफ्नो होटलमा भएको नदेखेको र तत्काल थाहासमेत नपाएको भनी मौकामा कागज गरी अदालतसमक्ष आई बकपत्र गरेको देखिन्छ । 

५. यी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा म पसलमा रक्सी खान जाँदा बाटोमा पीडितले देखी बाजे-बाजे भन्दै पछाडि लागेको हुँदा पीडितलाई सँगै रक्सी खाने होटलमा लगी रक्सी खाँदै गर्दा पीडितको सुरूवाल भित्र हातहाली योनिमा औंला हाली केहीबेर चलाएको हुँ भनी बयान गरेको देखियो । यी प्रतिवादीले अदालतसमक्ष बयान गर्दा रक्सी पसलमा जान लाग्दा बाटोमा पीडितले मलाई देखी बाजे-बाजे भन्दै मेरो पछाडि लागेपछि निजलाई रक्सी पसलमा लिई गएको, रक्सी सेवन गर्दा पीडित नाबालिकालाई काखमा राखेको हुँ । पीडितको योनिमा हातको औंला घुसारेको र अप्राकृतिक मैथुन गरेको होइन भनी बयान गरेको  देखिन्‍छ । प्रतिवादीले अदालतसमक्ष गरेको बयानलाई निजका साक्षीले समर्थन हुने गरी बकपत्र गरिदिएको देखियो ।

६. यसरी मिसिल संलग्न जाहेरवाली तथा पीडित (कैलाली ७१) को बकपत्र, यी प्रतिवादीले अदालतसमक्ष गरेको बयान, होटल सञ्चालक राजकुमार गुरूङलगायत बुझिएका मानिसहरूको बकपत्रलगायतका मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीले पीडित भनिएकी नाबालिकालाई होटलमा लिई गएको र निजलाई काखमा राखी रक्सी सेवन गरेको तथ्यमा सम्म एकआपसमा सामञ्‍जस्यता रही पीडित बालिकालाई यी प्रतिवादीले होटलमा रक्सी सेवन गर्दा काखमा राखेको भन्ने तथ्यलाई मालाकार रूपमा (Chain of Evidence) पुष्टि प्रमाणित हुन आएको देखियो । 

७. यी प्रतिवादीले नाबालिका पीडितलाई काखमा राखी योनिमा औंला घुसाई अप्राकृतिक मैथुन गरी मुलुकी ऐन, जबरजस्ती करणकी महलको १ नं. अनुसारको कसुर अपराध गरेको भन्ने अभियोग दाबी गरेको देखिन्छ । सामान्यतयाः महिला र पुरूषबिच स्वभाविकरूपमा हुने यौन एवम् मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवम् अप्राकृतिक तरिकाबाट हुने विभिन्न प्रकारका यौनजन्य क्रियाकलाप र मैथुनलाई अप्राकृतिक मैथुन भनी बुझ्नुपर्ने हुन्छ । अप्राकृतिक मैथुनको कसुरमा के कस्ता कार्यहरू अन्तरनिहित हुन सक्छन् भन्नेतर्फ हेर्दा, मुलुकी ऐन, जबरजस्ती करणकी महलको १(घ) मा “गुद्द्वार वा मुखमा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भनी उल्लेख गरेको छ । त्यसैगरी सोही महलको ९क. मा “कसैले कुनै नाबालकसँग कुनै किसिमको बाल यौन दूराचार (Paedophale) गरे गराएमा जबरजस्ती करणी गरेको मानि यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद हुने” भन्ने कानूनी व्यवस्था रहेको छ । 

८. प्रस्तुत सन्दर्भमा माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीले पीडित नाबालिकालाई काखमासम्म राखेको तर अभियोग दाबीअनुसार पीडितको योनिमा औंला घुसाएको भन्ने तथ्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा केवल शंका र अनुमानकै भरमा अप्राकृतिक मैथुन तथा जबरजस्ती करणीजस्तो जघन्य अपराधमा यी प्रतिवादीलाई कसुरदार ठहर्‍याउनु कानून र न्यायको मर्मविपरीत हुन जाने देखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकिर एवम् विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिने अवस्था रहेन ।

९. तथापि यी प्रतिवादीले पीडित नाबालिकालाई होटलमा लिई गएको, आफूले रक्सी खाँदा पीडितलाई काखमा राखेको भन्ने तथ्य माथि विवेचित आधार प्रमाणबाट देखिन आयो । यौनजन्य अपराधहरू यौन सन्तुष्टिका लागि गरिने हुँदा यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा वा चाहना नै यौनजन्य अपराधको मानसिक तत्त्वको रूपमा रहेको हुन्छ । मनसाय आफैँमा सादृश्य विषय होइन । यो व्यक्तिले गरेको कार्य, आचरण, प्रकृति र स्वरूपबाट निर्क्यौल गरिने विषय हुन् । यी प्रतिवादीले पीडितको योनिमा औंला घुसाएको भन्ने तथ्य नदेखिए तापनि नाता सम्बन्धबाहेकको उनाउ पीडित बालिकालाई निजको अभिभावको मन्जुरी बेगर आफूले रक्सी खाने होटलमा लिई आएको, रक्सी सेवन गर्दा पीडितलाई काखमा राखेको अवस्थासमेतलाई मध्यनजर गर्दा रक्सी सेवन गर्ने क्रममा यी प्रतिवादीले पीडितलाई काखमा राख्ने कार्य यौनका आशयले गरेको अस्वाभाविक, अवाञ्छित तथा अमर्यादित व्यवहार देखिन आयो । 

१०. तत्कालीन प्रचलित मुलुकी ऐन, आशय करणीको महलको १ नं. मा “कसैले कुनै महिलाको मन्जुरीविना निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौनसम्बन्धी अङ्ग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुर्व्यवहार गरेको मानिनेछ” भन्ने परिभाषित कार्यको सापेक्षतामा प्रतिवादीको उक्त कार्यलाई आसय करणीको कसुर मान्नुपर्ने देखियो । 

११. तसर्थ, उल्लिखित विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुर कायम गरी सजाय गर्ने ठहर्‍याएको सुरू कैलाली जिल्ला अदालतको मिति २०७३।०२।२४ को फैसला उल्टी गरी यी प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने र प्रस्तुत मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम आशय करणीतर्फ परिणत हुने ठहर्‍याएको उच्च अदालत दिपायलको मिति २०७३।१२।०१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा  बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृतः ठाकुरप्रसाद खरेल

इति संवत् २०७५ साल फागुन २८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु