निर्णय नं. १०२६४ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७४।१२।७
०७१-CR-०६३५
मुद्दाः- जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम गिताको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाल्पा, पोखराथोक गा.वि.स. वडा नं. ५ बस्ने अर्जुन कोइराला
§ प्रतिवादीले जाहेरवालालाई विवाह गर्छु भनी भनेको हल्का आधारलाई मात्र '' झुक्यान'' र ''अनुचित प्रभावमा" पारी जबरजस्ती करणी गरेको भन्न नमिल्ने ।
§ वारदातको अवस्था, परिस्थिति, पृष्ठभूमि, पीडित र प्रतिवादीको शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदन र पीडित स्वयंको बकपत्र समेतले प्रतिवादीले जाहेरवालालाई पूर्ण सहमतीमा नै करणी गरेको अवस्था पुष्टी हुन आउँदा जबरजस्ती करणीको वारदात कायम नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरु तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिश्चन्द्र ढुंगाना
पाल्पा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री किशोर सिलवाल
माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
पुनरावेदन अदालत, बुटवल
फैसला
न्या.तेजबहादुर के.सी.: साविक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार अन्तर्गतको भई पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
पाल्पा जिल्ला, पोखराथोक गा.वि.स., वडा नं. ५ बस्ने अर्जुन कोईरालाले मलाई विवाह गर्ने सल्लाह गर्नुछ भनी मिति २०६९।२।१ गते बिहान पाल्पाको आर्यभञ्ज्याङमा भेट्न बोलाएकाले म उक्त स्थानमा जाँदा मलाई तानसेनस्थित बिरकोट होटलमा ल्याई राती सोही होटलमा राखी विवाह गर्ने प्रलोभन देखाई सो राती र भोलीपल्ट समेत जबरजस्ती करणी गरेको र मलाई घरमा लगेर भित्र्याउनु पर्छ भन्दा तँलाई करणी गर्न ल्याएको हुँ, घरमा जा भनी भोलिपल्ट मलाई राईडाँडा भन्ने स्थानमा लगेर छोडी भागेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरी पाउँ भन्नेसमेत व्यहोराको परिवर्तित नाम गीता कुमारीको जाहेरी दरखास्त।
पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं.३ स्थित बाबु शाक्यको घरमा रहेको बिरकोट होटलको दोस्रो तलाको पूर्व तर्फको कोठामा २ ओटा खाट रहेका, त्यसमध्ये पूर्व तर्फको खाटमा रहेको बिस्तरा अस्तव्यस्त अवस्थामा रहेको, सिरकको खोल निकाली राखिएको, उक्त खोल र तन्नामा समेत रगत जस्ता टाटाहरु रहेका र सोही बिस्तरामा मिति २०६९।२।१ गते प्रतिवादी अर्जुन कोईरालाले जाहेरवाला गीता कुमारीलाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का।
नाम बिशाल कार्की र घर पोखराको बिन्दबासीनी बताउने पछि नाम, थर र वतन थाहा भएको पाल्पा पोखराथोक-५ बस्ने अर्जुन कोईरालाले मलाई एक महिना पहिलादेखि नै फोन गर्दै आएको थियो। सोही क्रममा मिति २०६९।२।१ गते बिहान निजले मलाई फोन गरी बिहे गर्छु भनी बोलाएकोले निजसँग पाल्पाको आर्यभञ्ज्याङ भन्ने स्थानमा भेट भई पाल्पा तानसेनमा आई घुमफिर गरी बेलुका तानसेन टुँडिखेल नजिक रहेको बिरकोट होटलमा राखी मैले तिमीलाई बिहे गर्छु भनी मेरो मुख थुनी मैले लगाएको कपडा खोली मेरो अंगहरु सुमसुमाई मलाई करणी गरी बिर्य मेरो योनीभित्र स्खलन गराएको र ऐ. २ गते पनि बिहानको खाना खाई पुनः २ पटक जबरजस्ती करणी गरेपछि मलाई राईडाँडा भन्ने स्थानमा छाडी भागेको हुँदा जाहेरी दिएकी हुँ भन्नेसमेत व्यहोराको पीडित परिवर्तित नाम गीताकुमारीले गरेको मौकाको कागज।
प्रतिवादी अर्जुन कोईरालाको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणीका लक्षण नपाईएको, घटना स्थलबाट बरामद भएको सिरकको खोल तथा तन्नामा पाईएको रगत परीक्षण गर्ने क्रममा रक्त समूह छुट्टयाउन नसकिएको र पीडित तथा पीडकको रगत थप परीक्षणको लागि पठाईएको भन्ने समेत व्यहोराको प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदन।
परिवर्तित नाम गीता कुमारीको योनीमा एक से.मि.लामो चोट रहेको भन्ने समेत व्यहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन।
मैले आजभन्दा करीब एक महिना पहिला मेरो दाजुलाई फोन गर्ने क्रममा गल्ति नम्बरमा फोन डायल भई पछि नाम थाहा भएकी परिवर्तित नाम गीताकुमारीले फोन उठाएकोले निजको बारेमा सोधपुछ गर्दा निजले आफ्नो घर मेरो घर वतन नजिकै बताएकी हुनाले गाउँले नाताले कहिलेकाँही फोन गर्ने र निजले पनि मलाई फोन गर्ने गर्थिन्। सोही क्रममा मेरो विवाह नभएको र मेरो घरबाट मलाई विवाह गर्न भनेका हुँदा मैले निजसँग विवाहको प्रस्ताव राख्दा निजले स्वीकार गरेकाले मिति २०६९।१।३१ गते म काठमाडौंदेखी गाडी चढेर मिति २०६९।२।१ मा पाल्पाको आर्यभाञ्ज्याङमा आई निजलाई बोलाई दुबै जना भेट भई चिनापहिचान गरी पाल्पाको तानसेन घुम्न आई बेलुका तानसेनको बिरकोट होटलमा कोठा लिई राती एउटै खाटमा सुतेको र मलाई करणी गर्न मन लागेकोले निजलाई उक्त कुरा भन्दा १/२ पटक हुँदैन भनेपनि पछि निजले आफूले लगाएको कपडा खोलिन् र मैले पनि आफ्नो कपडा खोली हामी दुबैको राजीखुशीले राती दुई पटक र त्यसको भोलिपल्ट बिहानको खाना खाईसकेपछि पुनः एकपटक करणी गरेको हुँ। त्यसपछि मैले एक महिनापछि आउँछु र विवाह गर्छु, तिमी अहिले घर जाउ भनी राईडाँडासम्म लगेर छोडी म आफ्नो घरतर्फ गएको हुँ। मलाई निजको भाउजु परिवर्तित नाम बिनाकुमारीले भेट्न बोलाएकी थिईन्। म अहिले अफिस जान्छु, गीताकुमारीलाई राम्रोसँग रेखदेख गरी दिनु भनी हिंडेकोमा निज बिनाकुमारीलाई भेट्न नगएको कारणले जबरजस्ती करणीमा जाहेरी दिन लगाएकी हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुन कोईरालाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज।
मिति २०६९।२।२ गते दिउसो मेरो नन्द परिवर्तित नाम गीताकुमारी बर्तुङ्गमा रोईरहेकी छन् भन्ने थाहा पाई उक्त स्थानमा आई सोधपुछ गर्दा निजले आफूलाई प्रतिवादी अर्जुन कोईरालाले विवाह गर्ने प्रलोभन देखाई तानसेनको बिरकोट होटलमा राखी जबरजस्ती करणी गरेको भनेपछि निजलाई घरमा लगी अर्को दिन जाहेरी दिन लगाएकी हुँ। नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने निज प्रतिवादी अर्जुन कोईरालालाई कानूनबमोजिम कारवाही हुनुपर्दछ भन्ने समेत व्यहोराको परिवर्तित नाम बिनाकुमारीले मौकामा गरेको कागज।
यस गा.वि.स मा दर्ता भए अनुसार परिवर्तित नाम गीताकुमारीको जन्म मिति २०५४।६।११ भएको भन्ने पिपलडाँडा गा.वि.स. कार्यालयको मिति २०६९।२।११को पत्र र विद्यालयको रेकर्ड अनुसार निजको जन्म मिति २०५४।९।११ भएको भन्ने श्रीकृष्ण उच्च मा.वि.पिपलडाँडा, पाल्पाको पत्र।
पछि नाम थाहा भएको अर्जुन कोईराला र परिवर्तित नाम गीताकुमारी मिति २०६९।२।१ गते बेलुका मेरो होटलमा आई सो रात होटलमा नै खाना खाई सुतेका र ऐ. २ गते पनि बिहानको खाना खाई हिसाब किताब गरी होटलबाट गएका हुन् । निज प्रतिवादीले जाहेरवाला पीडित गीताकुमारीलाई जबरजस्ती करणी गरे नगरेको मलाई थाहा भएन। राती कुनै हो हल्ला भएको थिएन भन्नेसमेत व्यहोराको बिरकोट होटलका संचालक ओमप्रसाद श्रेष्ठले गरेको मौकाको कागज।
मिति २०६९।२।१ गते म घरमा नै थिएँ। पछि नाम थाहा भएको अर्जुन कोईरालाले परिवर्तित नाम गीताकुमारीलाई विवाह गर्ने प्रलोभन देखाई पाल्पाको बिरकोट होटलमा ल्याई जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको राजकुमार श्रेष्ठ समेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का।
प्रतिवादी अर्जुन कोईरालाले १६ वर्ष नपुगेकी बालिका परिवर्तित नाम गीताकुमारीलाई विवाह गर्छु भनी ललाई फकाई प्रलोभन देखाई तानसेन बजारस्थित बिरकोट होटलमा लगी मिति २०६९।२।१ गते राती र भोलिपल्ट बिहानसमेत पटक–पटक जबरजस्ती करणी गरेको हुनाले निज प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको १ नं. को कसूरमा सोही ३ नं. को देहाय ३ अनुसार सजाय गरी पीडितलाई प्रतिवादीवाट मनासीव क्षतीपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत ब्यहोराको अभियोग पत्र।
जाहेरवाला गीताकुमारीसँग फोनमा कुराकानी चिनजान हुँदा हामीहरु बीच विवाह गर्ने सल्लाह भएको थियो। मेरो विवाह नभएको र निजले पनि उमेर १७ बर्ष पूरा भएको भनेकी हुँदा हामीहरु बीच भेट हुने सल्लाह गरी म काठमाडौंबाट मिति २०६९।२।१ मा पाल्पाको आर्यभञ्ज्याङमा आएपछि पहिलो पटक हामी बीच देखभेट भएको थियो। अनि दुबै जना गाडी चढी तानसेन आई दिनभर बजार घुमी साँझपख तानसेन बसपार्क नजिकैको बिरकोट होटलमा कोठा खोजी बसेका हौं। कोठामा दुई वटा खाट थिए। जाहेरवालालाई महिनावारी भएको रहेछ। सोही कारणले हामी छुट्टा-छुट्टै खाटमा सुतेका हौं। हामी बीच छिट्टै बिहे गर्ने कुरा भएकाले विवाह पछि मात्र करणी गर्ने सल्लाह भएको थियो। सो रात मैले निजलाई करणी गरेको होईन। अर्को दिन बिहान उठी केहीबेर बजार घुमेर खाना खाई सकेपछि मैले निज गीताकुमारीलाई राईडाँडासम्म छोड्न जाँदै गर्दा मेरो अफिसबाट फोन आएकाले निजलाई तिमी अहिले घर जाउ, म एक महिना पछि आउँछु र बिहे गरौँला भनी हामी त्यहाँबाट छुट्टिएका हौँ। मैले जाहेरवालालाई ललाई फकाई जबरजस्ती करणी गरेको होईन। जाहेरीको व्यहोरा झुठ्ठा हो। योनीमा लागेको चोट पहिले नै लागेको हुन सक्छ। उक्त चोटको बारेमा मलाई केही थाहा भएन। मौकामा गरेको बयान मैले भने बमोजिम लेखिएको होईन। प्रहरीले आफै लेखी मलाई यहाँ सहीछाप गर भनी सहिछाप मात्र गराएका हुन्। उक्त बयान मलाई पढाएर सुनाएका पनि होईनन्। परिवर्तित नाम बिनाकुमारीले जाहेरवालासँग मेरो बिहे गरी दिनको लागि रिपोर्ट गरेको भन्नु भएको थियो। मैले अभियोग दाबी अनुसारको कसूर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होईन भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुन कोईरालाले शुरु अदालतमा गरेको बयान।
मैले मिति २०६९।२।२ गतेका दिन गीताकुमारीलाई सही सलामद अवस्थामा देखेकी हुँ। निजले मलाई म त बिहे गर्न हिंडेकी हुँ ,केटा कपडा लिन गएको छ भनेकी हुनाले मैले निज कतिखेर आउने हो घर जाउँ भनी घरमा लिएर आएकी हुँ। गीताकुमारी १८ वर्षकी भइन्। प्रतिवादी अर्जुन कोईरालाले गीताकुमारीलाई जबरजस्ती करणी गरेको सम्बन्धमा मलाई केही थाहा छैन। निज अर्जुन कोईरालालाई सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने परिवर्तित नाम बिनाकुमारीको बकपत्र।
उक्त दिनको घटनाबारे मलाई पीडितकी भाउजुले भनेको हुनाले सुनी थाहा पाएकी हुँ, अरु मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको बादी पक्षका साक्षी रनमाया शाक्यको बकपत्र।
जाहेरवाला परिवर्तित नाम गीताकुमारीलाई प्रतिवादी अर्जुन कोईरालाले जबरजस्ती करणी नगरेको हुँदा अभियोग मागदावी बमोजिम सजाय हुनुपर्ने होईन। निज प्रतिवादी असल मान्छे भएको हुनाले झुठ्ठा अभियोगबाट सफाई पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुन कोइरालाका साक्षी गीता रेग्मीको बकपत्र।
जाहेरवाला परिवर्तित नाम गीताकुमारीलाई प्रतिवादी अर्जुन कोईरालाले जबरजस्ती करणी गरेका होईनन्। मैले निज जाहेरवालासँग जेठ २ गते भेट भई पानी खान माग्दा मलाई महिनावारी भएको हुनाले पानी दिन मिल्दैन भनेकी थिइन्। निज जाहेरीवालीले प्रतिवादी अर्जुन कोईराला आर्मीमा जागिरे भएको हुनाले आफूसँग विवाह गरेमा राम्रो हुने ठानी जाहेरी दिएकी होलिन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी चन्द्रबहादुर कोईरालाले गरेको बकपत्र।
मिति २०६९।२।१ गतेको साँझ परिवर्तित नाम गीताकुमारी र अर्जुन कोईराला मेरो होटलमा बास बस्न आएका हुन्। निजहरु एउटै कोठामा बसेका हुन्। उक्त दिन म होटलमा थिइन, छोराहरु मात्र थिए। प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने कुरा मैले छोरा लगायत काम गर्ने मान्छे कोहीबाट पनि थाहा पाइन। केटा केटी मात्र भएको हुनाले एउटै मात्र कोठा लिए होलान् भनी भनेको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने ओमप्रसाद श्रेष्ठले गरेको बकपत्र।
प्रतिवादी अर्जुन कोईराला र म बीच वारदात हुनुभन्दा एक महिना अगाडिदेखी चिनजान भएको थियो। हामी बीच विवाह हुने सहमती भई मिति २०६९।२।१ गते आर्यभञ्ज्याङमा भेट भएका हौं। आर्यभञ्ज्याङबाट दुवै जना तानसेनबजार आई घुमफीर गरी साँझ तानसेनको बिरकोट होटलमा बास बसेका हौं। हामी दुबैजना बीच विवाह गर्ने सहमती भएको र म पनि विवाह गर्नको लागी घरबाट हिंडेकी हुनाले हामी दुवैको सहमतिमा करणी भएको हो। जबरजस्ती करणी भएको होईन। भोलिपल्ट अर्जुनको घरमा जाने सल्लाह भएकोमा अर्जुनको अफिसबाट फोन आएको हुँदा निजले मलाई म अहिले विवाह गर्न सक्दिन, अफिसबाट फोन आएकोले म जानु पर्ने भयो, एक महिनापछि आएर विहे गरौंला भनी हिंडेकाले विहे गर्न आएकोमा विहे नगरी फर्किन लाज लागेर मैले उजुरी दिएकी हुँ। निज प्रतिवादी अर्जुनसँग बिहे गर्ने भनेकाले उक्त राती र भोलिपल्टसमेत दुबैको सहमतिमा करणी गरेका हौं। मौकामा गरेको कागजमा भएको व्यहोरा मैले भनेबमोजिम लेखिएको होईन। म हाल १७ बर्षकी भएँ। मैले आजभन्दा दुई बर्ष अगाडि ममीले बनाएको चिनाको आधारमा उमेर भनेकी हुँ। मेरो उमेर यकिन गर्न मैले डाक्टरी रिपोर्ट पनि बनाएकी छु भन्नेसमेत ब्यहोराका जाहेरवाली तथा पीडित परिवर्तित नाम गीताकुमारीले गरेको बकपत्र।
यी प्रतिवादी अर्जुन कोइरालाले पीडित १६ वर्ष नपुगेकी परिवर्तित नाम गीतालाई करणी गरेको पुष्टि हुन आएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को कसूरमा सोही महलको ३ को देहाय ३ बमोजिम ६(छ) वर्ष कैद हुने र सोही महलको १० नं. बमोजिम पीडित तथा जाहेरवालीलाई प्रतिवादी अर्जुन कोईरालाबाट रु. २५,०००।-(पच्चिस हजार) क्षतिपूर्ति भराई दिनेसमेत ठहर्छ भन्ने शुरु पाल्पा जिल्ला अदालतको मिति २०७०।२।२० को फैसला।
शुरु जिल्ला अदालतबाट भएको फैसलामा मेरो चित्त बुझेन। जाहेरवाली आफूले म १७ वर्षकी भएँ भनी बताएकीछन्। अदालतमा बकपत्र गर्दासमेत मेरो जन्म मिति २०५२।४।२० हो भनी हामी बीच विवाह गर्ने सहमती भई करणी लिनुदिनु गरेको हो भनी बकपत्र गरेकी छन्। समग्र कागज प्रमाणबाट जाहेरवाली करणीको मितिमा १६ वर्ष नाघिसकेको र मन्जूरीले करणी गरेको हुँदा सोतर्फ विवेचना नै नगरी मलाई कसूरदार ठहर गरेको शुरु जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण छ। जाहेरवालीको उमेर यकिन गराई प्रमाणको यथोचित मूल्याङ्कन गरी शुरु फैसला उल्टी गरी अभियोग दावीबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुन कोइरालाको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन।
पीडित गीताकुमारी (परिवर्तित नाम) ले अदालतमा बकपत्र गर्दा वारदातको समयमा आफ्नो उमेर १७ वर्ष भैसकेको र सहमतीले करणी लेनदेन भएको भनी खुलाएको देखिएको छ। अनुसन्धान अधिकृतले निज पीडितको उमेरसमेत एकीन परीक्षणको लागि मिति २०६९।२।३ मा पाल्पा जिल्ला अस्पताललाई स्वास्थ्य परीक्षणको लागि पत्र सहित पठाएको देखिएकोमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको उमेर १३ वर्ष ९ महिना भनी उल्लेख भएको भएपनि सो के कुन परीक्षणबाट पीडितको उमेर परीक्षण गरिएको हो सो नखुलाएको र परीक्षणको प्रतिवेदनहरु पनि पठाएको अवस्था नदेखिएको र स्वयम् पीडितले मेरो स्वास्थय जाँच गरी उमेर एकिन गरियोस् भनी अदालत समक्षको निजको वकपत्रको स.ज. ११ मा जिकीर गरेको समेतका आधारबाट शुरु जिल्ला अदालतबाट मिति २०७०।२।२० मा भएको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलका निम्ती अ.वं. २०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पेशीको जानकारी पुनरावेदन सरकारी वकील कार्यालयलाई दिनु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०७०।१०।२१ को आदेश।
परिवर्तित नाम गीताकुमारीको उमेर १८ र १९ वर्षको बीचमा भएको भन्ने लुम्विनी अञ्चल अस्पतालको उमेर परीक्षण प्रतिवेदन।
हाडको विकासको आधारमा औषत उमेर निकालिएको हो भन्नेसमेत व्यहोराको जाहेरवालीको उमेर परीक्षण गर्ने डा. सुरेश थापा डा. इन्द्र ढकालले पुनरावेदन अदालत वुटवलमा गरेको बकपत्र।
पीडितको उमेर सम्बन्धी लुम्विनी अञ्चल अस्पताल, बुटवलका चिकित्सकहरुको उमेर परीक्षण प्रतिवेदन तथा उक्त उमेर परीक्षण गर्ने चिकित्सकहरुको बकपत्रसमेतको आधारमा वारदात मितिमा पीडितको उमेर १६ वर्ष माथि रहे भएको पुष्टी हुन आएकोले वारदात मितिमा १४ वर्ष पुरा भै १६ वर्ष ननाघेकी भन्ने आधार लिई परिवर्तित नाम गीताकुमारीलाई प्रतिवादीले जबरजस्ती करणीको कसूर गरेको ठहर्याई निज प्रतिवादीलाई ६(छ) वर्ष कैद सजाय हुने एवं पीडितलाई निज प्रतिवादीबाट रु. २५०००।(पच्चिस हजार रुपैया) क्षतिपूर्ति भराई दिने गरी शुरु पाल्पा जिल्ला अदालतबाट मिति २०७०।२।२० मा भएको फैसला मिलेको नदेखिंदा उक्त फैसला उल्टी भई १६ वर्ष माथिको पीडित र प्रतिवादी बीच स्वेच्छाले करणी लिनु दिनु भएको कार्यलाई जबरजस्ती करणीको १ नं. विपरीतको कसूर मान्न नमिल्ने हुँदा प्रतिवादी अर्जुन कोइरालाले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०७१।२।२० मा भएको फैसला।
परिवर्तित नाम गीताकुमारी रहेकी पीडित जाहेरवालीले जाहेरी दरखास्तमा, मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दा समेत प्रतिवादी अर्जुन कोइरालाले निजलाई पाल्पा बसपार्क स्थित बिरकोट होटलको कोठामा लगि करणी गरेको भनी उल्लेख गरेकी छन्। प्रतिवादी अर्जुन कोइरालाले समेत मौकामा बयान गर्दा निज जाहेरवालीलाई सहमतीमा करणी गरेको हुँ भनी स्वीकार गरी बयान गरेका छन्। पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा निजको योनीमा १ से.मी. लामो चोट देखिएको छ। घटनास्थल कोठामा फेला परेको तन्नामा मानिसको रगत फेला परेको भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ। वारदात मिति २०६९।२।१ रहेको छ। जन्म दर्ता अनुसार द.नं. १५१ मिति २०५९।५।९ मा दर्ता गरे अनुसार पीडितको जन्म मिति २०५४।६।११ रहेको भन्ने पिपलडाडा गाउ विकास समितिको पत्रमा उल्लेख छ। विद्यालयको रेकर्ड अनुसार जन्म मिति २०५४।९।११ रहेको भन्ने श्री कृष्ण उच्च मा. वि. पिपलडाडा-८ पाल्पाको पत्रमा उल्लेख रहेकोले पीडित नाबालिका हुन् भन्ने स्पष्ट देखिंदा देखिंदै पनि प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदावी बमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन।
ठहर खण्ड
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापाले प्रतिवादीले जाहेरवालीलाई करणी गरेको तथ्य पुनरावेदन अदालतको फैसलाबाट नै स्थापित भएको छ।वारदातको समयमा जाहेरवालीको उमेर १६ वर्षभन्दा कम रहेको भन्ने विद्यालयको रेकर्ड तथा जन्मदर्ताको प्रमाणपत्रबाट खुलेको अवस्थामा चिकित्सकको उमेर परीक्षण प्रतिवेदनको आधारमा मात्र पीडित जाहेरवाली १६ वर्षभन्दा माथिको उमेरको भएको भनी अभियोग दावी बमोजिमको कसूर कायम नगरेको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाइ उक्त फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो।
प्रस्तुत मुद्दामा प्रतिवादी अर्जुन कोईरालाले १६ वर्ष नपुगेकी बालिका परिवर्तित नाम गीताकुमारीलाई विवाह गर्छु भनी ललाई फकाई प्रलोभन देखाई तानसेन बजारस्थित बिरकोट होटलमा लगी पटक-पटक जबरजस्ती करणी गरेको हुनाले निज प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको १ नं. को कसूरमा सोही ३ नं. को देहाय ३ अनुसार सजाय गरी पीडितलाई प्रतिवादीवाट मनासीव क्षतीपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत अभियोग मागदावी रहेकोमा शुरु पाल्पा जिल्ला अदालतबाट प्रतिवादीले अभियोग दावी बमोजिमको कसूर गरेको ठहर्याई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं को देहाय ३ बमोजिम ६(छ) वर्ष कैद हुने र सोही महलको १० नं. बमोजिम पीडित तथा जाहेरवालीलाई प्रतिवादी अर्जुन कोईरालाबाट रु. २५,०००।-(पच्चिस हजार) क्षतिपूर्ति भराई दिने गरी फैसला भएको देखियो। सो फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत वुटवलबाट सुरु फैसला उल्टी गरी प्रतिवादी अर्जुन कोईरालाले अभियोग दावीबाट सफाइ पाउने ठहर्याई फैसला भएको देखियो। सो फैसला उपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन आयो। पुनरावेदन पत्रमा नावालक पीडित उपर प्रतिवादीले जबरजस्ती करणीको कसूर गरेकाले अभियोग दावी बमोजिम सजाय हुनु पर्छ भन्ने जिकिर लिईएको पाईयो।
अब पुनरावेदन अदालत वुटवलबाट भएको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होईन भन्ने सम्बन्धमा निर्णय गर्नु पर्ने देखिन आयो।
२. निर्णय तर्फ विचार गर्दा जाहेरवाली र प्रतिवादी अर्जुन कोईराला बीच वारदात मितिभन्दा एक महिना पहिलादेखि नै फोन सम्पर्क हुँदै आएकोमा विवाहको सल्लाह गर्ने भनी मिति २०६९।२।१ गते पाल्पाको आर्यभञ्ज्याङ भन्ने स्थानमा भेट भई पाल्पा तानसेनमा आई दिनभर घुमफिर गरी बेलुका तानसेन टुँडिखेल नजिक रहेको बिरकोट होटलमा बास बसेको तथ्यमा प्रतिवादी तथा पीडित जाहेरवालीको समेत मुख मिलेकै देखिन्छ। विवाह गर्ने प्रलोभन देखाई सो राती र भोलीपल्ट समेत जबरजस्ती करणी गरेको भन्ने जाहेरी व्यहोरा रहेको पाईन्छ। निजले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा प्रतिवादीले जाहेरवालीका कपडा खोली, शरीरका अंगहरु सुमसुमाई करणी गरी विर्य योनीभित्र स्खलन गराएको र अर्को दिन बिहानको खाना खाई पुनः २ पटक करणी गरेपछि राईडाँडा भन्ने स्थानमा छाडी हिंडेको भनी घटना विवरण खुलाईदिएको पाईन्छ। प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान कागज गर्दा एक महिना अघिदेखि नै फोन हुने गरेको र सोही क्रममा जाहेरवालीसँग विवाहको प्रस्ताव राख्दा निजले स्वीकार गरेकाले मिति २०६९।१।३१ गते काठमाडौं देखी गाडी चढेर मिति २०६९।२।१ मा पाल्पाको आर्यभञ्ज्याङमा आई निजलाई बोलाई दुबै जना भेट भई चिना पहिचान गरी पाल्पाको तानसेन घुम्न आई बेलुका तानसेनको बिरकोट होटलमा कोठा लिई राती एउटै खाटमा सुतेको र दुबैको राजीखुशीले राती दुई पटक र त्यसको भोलिपल्ट बिहानको खाना खाईसकेपछि पुनः एकपटक करणी गरी एक महिनापछि विवाह गर्छु भनी राईडाँडासम्म लगेर छोडी आफ्नो घरतर्फ गएको हुँ भनी जाहेरवालीकै घटना विवरणलाई समर्थन हुने गरी बयान कागज गरेको देखिन्छ। प्रतिवादीले अदालत समक्ष बयान गर्दा पीडित जाहेरवालीलाई करणी गरकोमा मात्र इन्कार रहेपनि मौकामा भएको बयान कागजको अन्य व्यहोरा समर्थन हुने गरी बयान गरेको पाईन्छ। पीडितको स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणीको लक्षण नपाईएको, होटलको मालिकले पनि जबरजस्ती गरेको वा हल्ला भएको थाहा नभएको भनी कागज गरी दिएको, प्रतिवादीले पीडितको इच्छा विपरीत वल प्रयोग गरेको वा जोरजुलुम गरेको देखिने कुनै प्रमाण, चिन्ह वा लक्षण मिसिलबाट देखिन आएको छैन। यसरी प्रतिवादी तथा जाहेरवालीको एक आपसमा मिल्दोजुल्दो घटना विवरण समेतका कागज प्रमाणहरुका आधारमा निजहरु बीच विवाहको कुरा भई परस्परमा सहमतिमै तानसेन स्थित विरकोट होटलमा बास बसी करणी भएको भन्ने देखिन्छ। सुरु अदालतबाट पीडितको उमेर १६ वर्षभन्दा माथि भएको कारणले जबरजस्ती करणीको अभियोग मागदावी नपुग्ने ठहर भएको देखिन्छ। प्रतिवादी र जाहेरवाली पीडित बीच सहमतिमा नै करणी भएको सम्बन्धमा यस अदालतमा अन्यथा दावी जिकिर समेत पेस हुन आएको नहुँदा सो हदसम्म यस अदालतबाट थप विवेचना गरी रहन पर्ने आवश्यकता देखिएन। तथापी प्रतिवादी र पीडित बीच सहमतिमै करणी भएको भए पनि पीडितको उमेर १६ वर्षभन्दा कम भएकोले जबरजस्ती करणी भएको मान्नुपर्ने भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेकोले पीडितको उमेरको विषय नै मुख्य विवादित प्रश्नको रुपमा रहेको पाईयो।
३. जाहेरी दर्खास्तमा जाहेरवाली पीडितको उमेर १४ वर्ष भनी लेखाएको देखिन्छ भने अदालतमा बकपत्र गर्दा १७ वर्षकी भएको र जन्म मिति २०५२।४।२० हो भनी उल्लेख गरेको पाईन्छ। कृष्ण उच्च माध्यमिक विद्यालय पिपलडाँडाको पत्र अनुसार पीडितको जन्म मिति २०५४।९।११ रहेको पाईन्छ। पिपलडाँडा गा.वि.स. कार्यालयको पत्रमा पीडितको जन्म मिति २०५४।६।११ उल्लेख भएको देखिन्छ। यसबाट पीडितको जन्म मितिमा एकरुपता कायम हुन सकेको देखिएन। यसै सन्दर्भमा पुनरावेदन अदालत वुटवलको आदेश अनुसार पीडित परिवर्तित नाम गीताकुमारीको उमेर जाँच हुँदा निजको उमेर १८ र १९ वर्षको बीचमा भएको भन्ने लुम्विनी अञ्चल अस्पतालको उमेर परीक्षण प्रतिवेदन रहेको पाईयो। उक्त प्रतिवेदन हाडको विकासको आधारमा दिईएको हो, clinical र x-ray पद्धति अपनाएर उमेर जाँच गराएका हौं, उक्त प्रविधि सरल, उपयुक्त र विश्वसनीय प्रविधि हो, यो विश्वमा प्रचलित प्रविधि हो भनी उमेर परीक्षण गर्ने चिकित्सकहरु डा. सुरेश थापा र डा. इन्द्र ढकालले अदालतमा आई बकपत्र गरेको समेत देखियो। उक्त परीक्षण प्रतिवेदन र जाहेरवालीले अदालतमा गरेको बकपत्रमा उल्लखित उमेर मिल्दो जुल्दो नै देखिंदा सो उमेरलाई अन्यथा भन्न मिलेन। जाहेरवालीले प्रतिवादीसँग एक महिना अघि देखि नै फोन सम्पर्क गरेकी, विवाहको सल्लाह गर्ने भनी प्रतिवादीसँग आर्यभञ्ज्याङ भेट गरी तानसेन स्थित बिरकोट होटलमा पुगी प्रतिवादीसँगै रात विताएको लगायतका क्रियाकलापबाट पनि पीडित धेरै कलिलो उमेरको नभई उमेर परीक्षणबाट किटान गरिए बमोजिम १८/१९ वर्षकी भएको अनुमान गर्न सकिने आधार सिर्जना भएको पाईन्छ। अन्य प्रमाणबाट जन्म दर्तामा उल्लिखित उमेर तथा विद्यालयको रेकर्ड अनुसारको उमेर खण्डित हुन पुगेको छ भने त्यसले विश्वसनीय प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन। गाउँ विकास समितिको रेकर्ड र विद्यालयको रेकर्डमा उल्लिखित उमेर एक आपसमा बाझिएको अवस्थामा विशेषज्ञबाट परीक्षण भई कायम गरिएको जन्म मिति स्वयं पीडितले गरेको बकपत्रबाट समेत पुष्टि हुन आएको देखिंदा सो मितिलाई विश्वसनीय मान्नु पर्ने नै हुन्छ। उमेर परीक्षण गर्ने चिकित्सकहरुले दिएको प्रतिवेदनमा उल्लिखित पीडीतको उमेर हेर्दा १६ वर्षभन्दा बढी देखिन आएको छ।
४. विशेषतः उमेर पुगेका किशोर किशोरी लामो समय देखी सामान्यबाट विशेष र आत्मीय सम्बन्ध हुँदै अन्तरंगको क्षेत्रमा प्रवेश गर्छन् , यिनै चरणमा पटक पटक यौन सम्बन्ध र सम्पर्क पनि हुँदै आइरहेको हुन्छ। यसरी नै परिचित र नजिक वा टाढाको नाता सम्बन्ध भएका किशोरी एवं महिला र पुरुष केटा पनि आपसी सहमतिमा नै लामो समयदेखि यौन सम्पर्कमा रही रहेका हुन्छन्। वारदातकै दिन वा त्यसको केही दिन अघि परिचय भएर सम्बन्ध स्थापित भएका किशोरी र पुरुष दिनरात सँगै हुन्छन्, रातमा सँगै एउटै ओछ्यानमा सुत्छन्, सहमतीमै करणी हुने गर्छ। यी प्रतिनिधिमूलक घटनाका अवस्थामा उमेर पुगेका किशोर किशोरी बिच एक आपसमा परिचय र सम्बन्ध स्थापित हुन्छ, अर्थात पुरानै चिनजान र सम्बन्ध पनि भईरहेको हुन्छ, विवाह गर्ने वा नगर्ने कुरा वा सहमति भएको वा नभएको पनि हुन सक्छ, तथापि सहमतिमा विगतदेखि नै करणी हुँदै आईरहेको हुन्छ, तर के स्वार्थ पूर्ति नभएर? बिचमा अपर्झट के नयाँ परिस्थिति खडा हुन गएर? वा पुरुष पक्षबाट अघि भनेको के आन्तरिक सहमतिमा हो, त्यसमा धोखा हुन गएर पछिल्लो क्रिया वा वारदातलाई लिएर जबरजस्ती करणीको आरोपको जन्म हुन्छ। यो अवस्थामा पीडित र पीडकको शारीरिक र यौनाङ्ग परीक्षण गर्दा जवरजस्ती क्रियाको कुनै लक्षणहरु देखिंदैनन्, प्रमाणित पनि भएका हुँदैनन्। पीडितको पनि अनेक अवस्था, परिस्थिति र पृष्ठभूमि रहेको हुन्छ। यसमा छिमेकी, परिवार, नातागोता, इष्टमित्र भित्रको रिसइवी, इर्ष्या र पीडित स्वयंको अहंपन पनि जोडिएको हुन्छ। पीडित संरक्षणमा रहेको कुनै जिम्मेवार वा स्थानीय तहमा वोलवाला शक्ति भएको व्यक्ति र महिला अधिकारसँग सम्बन्धित गैर सरकारी संस्थाहरुको भूमिका पनि जोडिन पुगेका हुन्छन्। प्रतिवादीसँग इवी साध्न वा मुद्दा कमजोर वा प्रतिवादीकै पक्ष वा विपक्षमा बनाईदिएर पीडितले क्षतिपूर्ति बापत पाउने रकममा आफ्नो पनि हिस्सेदारी हुने गरी वारदातलाई अतिरंजित, बलियो वा कमजोर बनाउने भनी नेपथ्यमा रहेका महिलाहरु एवं त्यस्ता गैर सरकारी संस्थाहरुको पनि करणीको मुद्दालाई एक प्रकारको टुङ्गोमा पुर्याउने अहं भूमिका रहेको हुन्छ। पीडितको शारीरिक र यौनाङ्ग परिक्षणबाट जबरजस्ती करणीको केही लक्षण नदेखिएपनि पीडितले अदालतसमक्ष आफू उपर जबरजस्ती करणी भएको बकपत्र गरिदिएको अवस्था हुन्छ। यस्तो अवस्था, परिस्थिति र पृष्ठभूमिले करणीको मुद्दालाई जटिल बनाईरहेको हुन्छ। जबरजस्ती करणीका क्रिया र घटना सहजै हुने कार्य होईनन्। वास्तविक जबरजस्ती करणीका कार्यहरु कमै हुने गर्छन्। किशोरी वा महिलाको सामान्य सहमति नभईकन पनि करणी हुन गाह्रो हुन्छ। मूलतः जवरजस्ती करणीको क्रिया, घटनास्थलको प्रकृती, पीडित एवं पीडकको शारीरिक एवं यौनाङ्गको परीक्षण, करणीको कार्य हुँदा डर, त्रास, धम्की, प्रलोभन एवं अनुचित प्रभाव पारे नपारेको जस्ता परिस्थिति र पृष्ठभूमी आदि नै निर्णायक तत्वहरु हुने गर्छन्। तर अन्ततः किशोरी एवं महिलाको पृष्ठभूमि, अवस्था, उमेर, इज्जत, प्रतिष्ठा, भविष्य आदि पनि सँग सँगै समानान्तर एवं निर्णायक तत्वको रुपमा नै मुद्दाको वरिपरि घुमिरहेको हुन्छ। अदालतमा पीडितले प्रतिवादीको पक्षमा बकपत्र गरेपनि उनीहरुको शारीरिक एवं यौनाङ्ग परीक्षणबाट करणी भएको अवस्था देखिए र पीडितले अदालतमा प्रतिवादीको विरुद्धमा किटानी बकपत्र गरेपनि उनीहरुको शारीरिक एवं यौनाङ्ग परिक्षणबाट करणीको क्रियाको अवस्थामा शून्यता देखिए निर्णयाधारमा फरक फरक अवस्थाहरु हुन जाने हुन्छ। उमेर पुगेका किशोरी एवं महिला र पुरुष बीच करणीको वारदातमा जबरजस्तीका लक्षणहरुलाई घटनास्थल प्रकृतिको अवस्था, पीडित र पीडकको शारीरिक र योनाङ्ग परीक्षणको प्रतिवेदन र उनीहरुले करणीको क्रियाको अघिपछि बिताएका दिनरातका समयभित्रका दुवै पक्ष बीचको सम्बन्ध र सम्पर्कको वातावरणले नै जबरजस्ती करणीको लक्षणहरुलाई निर्धारण गर्ने नगर्ने कार्य संकेत गरिरहेका हुन्छन्।
५. १६ वर्षभन्दा कम उमेरको बालिकालाई मञ्जूरी लिएर पनि करणी गर्न कानूनतः बर्जित छ। त्यस्तो नावालिकाको मञ्जूरी लिएर वा नलिएर जेसूकै भए पनि करणी गरेकोमा जबरजस्ती करणीको वारदात हुने देखिन्छ। तर १६ वर्ष भन्दा बढी उमेरको महिलालाई सहमतिमा करणी गरेकोमा जबरजस्ती करणीको वारदात कायम हुने अवस्था देखिन आउँदैन।
६. उपरोक्त अवस्थाबाट प्रस्तुत वारदातलाई केलाएर हेर्दा, पीडित र प्रतिवादी बीच पीडितले नै प्रतिवादीलाई फोन सम्पर्क गरेको आधारबाट चिनजान सम्बन्ध भएको र दुवैको सल्लाहमा पाल्पाको आर्यभञ्ज्याङ्गमा भेट भएको देखिन्छ। दुवै बीच आर्यभञ्ज्याङ्गमा भेट भएपछि सल्लाह भई पाल्पा तानसेन स्थित विरकोट होटलमा राती बास बस्दा दुवै जना एउटै खाटमा सुतेको अवस्थामा प्रतिवादीले जाहेरवालीलाई रातमा दुईपटक करणी गर्छन्। त्यती मात्र होईन, बिहान ९/१० बजेको समयमा सोही होटलमा नै पुनः एक पटक करणी गर्छन्। यसरी घटनाको पृष्ठभूमि र अवस्था हेर्दा जाहेरवाली स्वयं प्रतिवादीलाई भेटन गएकी छिन्। होटल कोठाको घटनास्थल प्रकृति मुचुल्काबाट रातीको समयमा जाहेरवाली कराएको, चिच्याएको र कुनै हार गुहार मागेको अवस्था पनि देखिँदैन। जबरजस्ती क्रियाको कुनै लक्ष्ण, चिन्ह र संकेतहरु छैनन्। जाहेरवाली र प्रतिवादीको शरीर एवं यौनाङ्ग परीक्षण प्रतिवेदनबाट पनि जाहेरवाली उपर जबरजस्तीको रुपमा करणीको कार्य भएको देखिन आउँदैन। उमेर पुगेकी किशोरीले आफैले प्रतिवादीलाई फोन गरी, गएर भेटी, होटलमा रातभरी सँगै सुती बिहान उज्यालो भएपछि पनि पुनः एक पटक करणी गरेपछि प्रतिवादी स्वयंले जाहेरवालीलाई लगेर राईडाँडामा छाडेको र त्यसपछि जाहेरवाली आफ्नो घर गएको अवस्था छ। अदालतमा जाहेरवालीले विवाह गर्छु भनेकाले प्रतिवादीसँग सहमतीमै करणी गरेका हौँ भनी बकपत्र पनि गरेकी छिन्। प्रतिवादीले जाहेरवालीलाई विवाह गर्छु भनी भनेको भन्ने हल्का आधारलाई मात्र झुक्यान र अनुचित प्रभावमा पारेको भन्न मिल्दैन। जाहेरवाली स्वयमले बकपत्र गर्दाको अवस्थासम्म प्रतिवादीले आफूलाई विवाह गर्ने र आफू पनि प्रतिवादीसँग विवाह गर्न भनी गएको तथ्यप्रति अझ पनि विश्वस्त हुँदै प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेकी छिन्। यस्तो अवस्थामा प्रतिवादीले जाहेरवालीलाई विवाह गर्छु भनी भनेको हल्का आधारलाई मात्र '' झुक्यान'' र ''अनुचित प्रभावमा" पारी जबरजस्ती करणी गरेको भन्न मिल्दैन। वारदातको अवस्था, परिस्थिति, पृष्ठभूमि, पीडित र प्रतिवादीको शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदन र पीडित स्वयंको अदालत समक्षको बकपत्र समेतले प्रतिवादीले जाहेरवालीलाई पूर्ण सहमतीमा नै करणी गरेको अवस्था पुष्टी हुन आउँदा जबरजस्ती करणीको वारदात कायम हुने अवस्था देखिन आउँदैन।
७. अतः उपर्युक्त बमोजिम विवेचित आधार कारणबाट पीडितको उमेर १६ वर्ष माथिको देखिन आएकोले पीडित जाहेरवाली र प्रतिवादी बीच स्वेच्छाले करणी लिनु दिनु भएको कार्यलाई जबरजस्ती करणीको १ नं. विपरीतको कसूर मान्न नमिल्ने हुँदा प्रतिवादी अर्जुन कोइरालालाई कसूरदार कायम गरी सजाय हुने ठहराएको सुरु फैसला उल्टी गरी निज प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्याई पुनरावेदन अदालत बुटवलबाट मिति २०७१।२।२० मा भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ। पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन। फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू।
उक्त रायमा सहमत छु ।
न्या.दीपककुमार कार्की
इजलास अधिकृत: महेश खानाल
इति सम्वत् २०७४ साल चैत्र ७ गते रोज ४ शुभम् ।