शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२६६ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक:

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७६।१।४

०७४-CR-००६४

 

मुद्दा: मानव बेचबिखन तथा ओसारपसार

 

पुनरावेदक / प्रतिवादी : जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२ ऐरी बस्ने वीरबहादुर रावलको छोरा वर्ष ४९ को वसन्त रावल

विरूद्ध

प्रत्यर्थी / वादी : तराई पहाड नाम परिवर्तन ७५ कञ्चनपुर ङ कुमारीको जाहेरीले नेपाल सरकार

 

पीडितको प्रमाणित बयान रहेको तथा अन्य मिसिल संलग्न प्रमाणहरूलाई हेर्दा पीडितको परिवार Hostile हुँदैमा मात्र प्रतिवादी निर्दोष हुन् भन्न नसकिने ।

(प्रकरण नं.७)

प्रतिवादीले पीडितलाई एक ठाउँबाट अर्को ठाउँ हुँदै भारतको वनबासासम्म लगी पीडितको नाजुक स्थितिको फाइदा लिई यौन शोषण Sexual exploitation को कार्य गरी गर्भधारणसम्म भएको र निजले जबरजस्ती गर्भपतनसमेत गरेको प्रमाण मिसिलबाट देखिँदा प्रतिवादीको उक्त कार्य ओसारपसारको परिभाषाभित्र नै पर्ने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अधिवक्ता श्री रमेशप्रसाद खनाल

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दुर्गाप्रसाद ढुंगेल

कञ्चनपुर जिल्ला अदालत

 

पुनरावेदन तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण

माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- 

तथ्य खण्ड

मेरो घरको आर्थिक अवस्था कमजोर भएकोले बिगत १० वर्ष पहिलेदेखि जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२, ऐरी बस्ने प्रतिवादी वसन्त रावलले मलाई स्कुल पढाई दिन्छु भनी घरमा ल्याई स्कुल नपढाई कमलरीको रूपमा बसी काम गर्दै आएकोमा मिति २०६८ सालदेखि निज प्रतिवादीले मेरा संवेदनशील अंगहरू सुम्सुम्याउने, हात लगाउने गर्ने गर्दथ्यो । मिति २०७० साल वैशाख २ गतेका दिन घरमा प्रतिवादी र म मात्र भएको समयमा निज वसन्त रावलले आफ्नो कोठामा बोलाई जबरजस्ती करणी गरेको हो । मैले उक्त कुरा कहीँ भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको थियो । मिति २०७१ साल जेष्ठ महिनामा प्रतिवादी वसन्त रावलले मलाई भारतीय नम्बरको गाडीभित्र राखी भारतको वनबासा लगी गएको र उक्त गाडीभित्र अन्य नचिनेका २ जना व्यक्तिसमेत रहेका थिए । भारतको वनबासामा पुगेपश्चात् मलाई गाडीभित्र प्रतिवादी र निजसँग भएका २ जनासमेतले पालैपालो करणी गरी सडकमा अलपत्र छोडी आएका र मलाई भारतको S.S.B ले Reeds संस्थाको जिम्मा लगाई दिएका थिए । उक्त कुरा मेरा बुबाले थाहा पाई मलाई भारतबाट ल्याएका हुन् । सोपश्चात् निज प्रतिवादीको श्रीमतीले मलाई फेरी बोलाई कपडा किनी दिन्छु भनी भारतको वनबासा लगी मलाई थाहा नदिई के कुन औषधि खुवाई मेरो पेट दुख्‍न लाग्दा मलाई निजहरूले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगी अल्ट्रासाउन्ड गराउँदा पेटमा भ्रुण छ भनी बताएपश्चात् निजहरूले गर्भपतन गर्न लगाएका हुन् । निज प्रतिवादीले मलाई यौन शोषण गरी भारतीय गाडीमा ओसारपसार गरी अरूद्वारा समेत यौन शोषण गराई गर्भपतनसमेत गराएको हुँदा निज वसन्त रावललाई कारबाही गरिपाउँ भन्ने नाम परिवर्तन ७५ कञ्चनपुर ङ कुमारीको जाहेरी दरखास्त । 

मेरो घरको आर्थिक अवस्था कमजोर भई पालनपोषण गर्नसमेत समस्या भएको हुँदा बिगत १० वर्षदेखि जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२ ऐरी बस्ने वसन्त रावलको घरमा कमलरीको रूपमा काम गर्दै आएकी थिएँ । २०६६ सालमा निज प्रतिवादीले मलाई आफ्नो बहिनीज्वाइँको घरमा काम गर्न भनी काठमाडौंसमेत पठाएपश्चात् २०६८ सालमा म काठमाडौंबाट फिर्ता आई निज अन्यायी वसन्त रावलको घरमा काम गर्दथें । सोही मितिदेखि निज प्रतिवादी वसन्त रावलले मेरा संवेदनशील अंगहरूमा सुम्सुम्याउने, हात लगाउने गर्ने गर्दथ्यो । मिति २०७०।०१।०२ गतेका राति घरमा प्रतिवादी र म मात्र भएको समयमा निजले मलाई खुट्टामा मलम लगाउन भनी आफ्नो कोठामा बोलाई जबरजस्ती करणी गरेको हो । मैले उक्त कुरा कहीँ भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको थियो । मिति २०७१ साल जेष्ठ महिनामा प्रतिवादी वसन्त रावलले भारतीय नम्बरको गाडीमा राखी भारतको वनबासा लगी त्यहाँ पुगेपश्चात् गाडीभित्र प्रतिवादी र निजसँग भएका अन्य २ जनासमेतले पालैपालो करणी गरी मलाई सडकमा अलपत्र अवस्थामा छोडी आएकोमा मलाई भारतको S.S.B. ले Reeds संस्थाको जिम्मा लगाई दिएका थिए । उक्त कुरा मेरा बुबाले थाहा पाई मलाई भारतबाट ल्याएका हुन् । सोपश्चात् निज प्रतिवादीको श्रीमतीले मलाई फेरी बोलाई कपडा किनी दिन्छु भनी भारतको वनबासा लगी मलाई थाहा नदिई के कुन औषधि खुवाई गर्भपतन गर्न लगाएका हुन् । निज प्रतिवादीले मलाई यौन शोषण गरी भारतीय गाडीमा ओसारपसार गरी अरूद्वारा समेत यौन शोषण गराई गर्भपतनसमेत गराएको हुँदा निजलाई कारबाही हुनुपर्छ भन्ने पीडित नाम परिवर्तन कञ्चनपुर ङ कुमारीको बयान ।

२०६४ सालमा पीडित नाम परिवर्तन कञ्चनपुर ङ कुमारीको आमाबुबाले छोरीलाई पढाई लेखाई दिनु भनी पीडितलाई मेरो जिम्मा लगाई मेरो घरमा पठाएका हुन् । निज पीडितलाई मैले २०६४/२०६५ सालमा पूर्ण मा.वि., ऐरी विद्यालयमा नर्सरीमा भर्ना गरी सोही विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेकी र पछि आफैंले विद्यालय जान नमानी घरायसी काममा लागेकी थिइन् । २०६७ सालमा जाहेरवाली स्वइच्छाले भागी काठमाडौं गएकी हुन् । निजलाई कामकाजको सिलसिलामा पठाएको होइन । २०६८ सालमा निज पीडित कञ्चनपुर ङ कुमारी काठमाडौंबाट आफैँ घरमा फर्की आएकी र मेरो श्रीमतीसँग रू. ३,००,०००।- (तीन लाख) दिनुहोस्, म विवाह गर्छु भनी भन्दा श्रीमतीले म नगद रूपैयाँ दिन सक्दिन विवाह गरी दिन्छु भनी भनेकी हुन् । २०६८ साल फागुन महिनामा मेरी दिदी जिबुदेवी रावल मेरो घरमा आएको अवस्थामा निज पीडितसँग राम्रो चिनजान भएको र पछि दिदी आफ्नो घर काठमाडौं जाने क्रममा निज पीडित दिदी जिबुदेवी रावलसँग जान्छु भनी जिद्दी गरी आफैँ काठमाडौं गएकी हुन् । निजलाई मैले कहिले पनि संवेदनशील अंगहरूमा समातेको, भारतीय नम्बरको गाडीमा भारत लगी करणी गरेको, मेरी श्रीमतीले कपडा किन्‍न भारतको वनबासा लगेको अवस्थामा औषधि खुवाएको र भारत लगी अलपत्र अवस्थामा छोडेको पनि होइन । निजले मेरो नाममा किटानी जाहेरी किन पेस गरेकी हुन् थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी बसन्ते भन्ने वसन्त रावलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

पीडित परिवर्तित नाम ङ कुमारीको पिठ्युँमा दुवैतिर पुरानो कोतरिएको घाउ, स्तनमा देब्रेपट्टि २.३ से.मी. माथिल्लो भागमा चिथोरिएको पुराना दाग, खुट्टातिर ३/३ वटा घाउहरू, दाहिने हातमा पुराना घाउहरू, मानसिक अवस्था सामान्य रहेको, अन्दाजी उमेर १५/१६ वर्ष, योनिको झिल्ली फाटेको, स्तनको साइज उमेरभन्दा ठूलो जस्तो देखिएको र योनि जाँच्दा सेतो पानी भएको देखियो भन्नेसमेत बेहोराको परिवर्तित नाम पीडित ङ कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदन । 

पीडित नाम परिवर्तन कञ्चनपुर ङ कुमारी मेरी छोरी हो । मेरो श्रीमती आजभन्दा ९/१० वर्षअगाडि पोइल गएकी हुन् । म बिगत २०६० सालदेखि प्रतिवादी वसन्त रावलको घरमा बसी निजको कुटानी पिसानी गर्ने मिलमा कामकाज गर्दै आइरहेको छु । मेरो २ ओटा छोरी पनि मसँगै बस्दै आइरहेका थिए । २०६८ सालमा वसन्त रावलकी दिदी जिबुदेवी रावल कञ्चनपुर विवाहमा आउँदा परिवर्तित नाम ङ कुमारीले म पनि काठमाडौं तपाइँको घरमा जान्छु भनी गएको हो । वसन्त रावलकी श्रीमती वसन्तीदेवी रावलले भारतको वनबासा लगी औषधि खुवाएको कुरा पनि मलाई थाहा छैन । परिवर्तित नाम कञ्चनपुर ङ कुमारी आफूखुसी घरबाट हिँडेकी र २०/२१ दिन हराएकी हुन् । पछि गड्डाचौकी स्थित के.आई. नेपाल नामक संस्थाबाट बुझी ल्याएको हुँ । सोपश्चात् मेरो आफन्तको घर डडेल्धुरामा पुर्‍याएको हुँ । निज प्रतिवादी वसन्त रावलले मेरी छोरीलाई जबरजस्ती करणी गरी भारत लगी अलपत्र छाडेको कुरा मलाई थाहा छैन भन्नेसमेत बेहोराको पीडितको बुबा .................ले गरेको घटना विवरण कागज ।

पीडित परिवर्तित नाम कञ्चनपुर ङ कुमारी मेरो सहोदर दिदी हो । मेरा बुबा  .................प्रतिवादी वसन्त रावलको मिलमा काम गर्दथे । मेरो दिदी र म वसन्त रावलको घरमा बसी कक्षा २ सम्म निजले नै पढाई दिएको हो । मेरी दिदी वसन्त रावलको घरबाट आफूखुसी काठमाडौं गई एक वर्षजति बसी फिर्ता आएकी हुन् । प्रतिवादीको दिदी जीबुदेवी रावल कञ्चनपुरमा आउँदा दिदीसँगै आफूखुसी काठमाडौं गएको हो । एक दुई वर्षजति काठमाडौं बसी फिर्ता आई प्रतिवादीको घरमा बसेको हो । निज दिदीलाई प्रतिवादीले भारतीय नम्बरको गाडीमा राखी वनबासा लगी अन्य दुई तीनजनाले जबरजस्ती करणी गरी छाडेको कुरा निजले कसैलाई भनेकी थिइनन् । प्रतिवादी वसन्त रावलको श्रीमतीले पीडित दिदीलाई कपडा किनी दिन्छु भनी भारत वनबासा लगी औषधि खुवाएको पनि थाहा छैन । मिति २०७१ साल जेष्ठ महिनामा दिदी घरबाट आफूखुसी भागी गएकी र २०/२१ दिनपछि भारतको वनबासामा अलपत्र अवस्थामा फेला परी के.आई. नेपाल संस्थामार्फत बुबाले बुझेको हो । सोपछि निजलाई बुबाले डडेल्धुरास्थित आफन्तको घरमा पुर्‍याएको हो भन्नेसमेत बेहोराको  .................ले गरेको घटना विवरण कागज ।

जिल्ला कञ्चनपुर भी.न.पा १२ ऐरी मदन टोलस्थित पूर्व डम्बरसिंह रावलको घर, पश्चिम पदमराज पाठकको जमीन, उत्तर र दक्षिण प्रकाशसिंह रावलको खेतबारी यति चार किल्लाभित्र पूर्व मोहडा भएको एक तले चार कोठाबिचमा ग्यालरी भएको वसन्त रावलको पक्की घर, उक्त घरको वसन्त रावल सुत्ने गरेको भनिएको कोठामा पीडित कञ्चनपुर ङ कुमारीलाई प्रतिवादी वसन्त रावलले जबरजस्ती करणी तथा यौनशोषण गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

पीडित प्रतिवादी वसन्त रावलकी दिदी जीबुदेवी रावल कञ्चनपुर आउँदा आफूखुसी काठमाडौं गएको हो । एक दुई वर्षजति काठमाडौं बसी फिर्ता आई प्रतिवादीको घरमा बसेको हो । २०७१ साल जेठ महिनामा निज पीडित आफूखुसी भागी गएकी र के.आई. नेपाल संस्थामार्फत निजको बुबाले बुझेको हो भन्नेसमेत बेहोराको छोटुका भन्ने सतराम चौधरीले गरेको घटना विवरण कागज । 

पीडित ८/९ वर्ष अगाडिदेखि प्रतिवादीको घरमा बस्दै आइरहेकी थिइन् । निज आफूखुसी हिँड्ने गरेकी थिइन् । निजलाई प्रतिवादी वसन्त रावलले काम लगाउन भनी काठमाडौं पठाएको होइन । प्रतिवादीले निज पीडितको संवेदनशील अंगमा सुम्सुम्याउने र जबरजस्ती करणी, यौन शोषण गर्ने कार्य गरेकोमा विश्वास लाग्दैन । २०७१ साल जेठ महिनामा निज पीडित आफूखुसी भागी गएकी र गड्डाचौकीबाट निजको बुबाले बुझेको हो भन्नेसमेत बेहोराको जुग्री चौधरीले गरेको घटना विवरण कागज ।

निज पीडितलाई वनबासा S.S.B. ले Reeds नामक संस्थालाई बुझाएको र निजले आफ्नो घर जान नचाहेको भन्ने आफ्नो बयान दिएको भन्ने बेहोराको भारतस्थित Reeds नामक संस्थाको मिति ०४।०९।२०१४ को पत्र ।

पीडितको आर्थिक अवस्था कमजोर भएको कारण निजका आमाबुबाले निज पीडितलाई प्रतिवादी वसन्त रावलको घरमा छोडेको थियो । निजको बुबा हालसम्म पनि वसन्त रावलकै मिलमा कामकाज गर्छन् । पीडित आफूखुसी हिँड्ने गर्थिन् । पीडित २०६८ साल फागुन महिनामा मेरो बहिनीको विवाहको निम्तोमा आएकी मेरो कान्छी आमा जिबुदेवी रावलसँग आफूखुसी काठमाडौं गएकी हुन् । २०७१ साल जेठ महिनामा निज पीडित आफूखुसी भागी गएकी र गड्डाचौकीबाट निजको बुबाले बुझेको हो भन्नेसमेत बेहोराको संजीव भण्डारीले गरेको घटना विवरण कागज ।

पीडितका बुबा ............... हाम्रो कुटानी पिसानी गर्ने मिलमा कामकाज गर्दै आइरहेका छन् । पीडित कञ्चनपुर ङ कुमारी (नाम परिवर्तन) र निजको बहिनीसमेत मेरै घरमा बस्दै आइरहेका थिए । पीडितकी आमाले हाम्रो जग्गा जमिन छैन भनी समस्या दर्साई २०६४ सालमा निज पीडितसमेतलाई हाम्रो घरमा पालनपोषण गर्न छोडेको हो । प्रतिवादी वसन्त रावल मेरा श्रीमान् हुन् । पीडित स्कूल पढ्न नमान्ने र आफूखुसी हिँड्ने गर्दथिन् । निज पीडित काठमाडौं गई नाम, थर, वतन थाहा नभएको एक जना चन्दको घरमा एक वर्षसम्म बसी फिर्ता आएकी हुन् । २०६८ साल फागुन महिनाको २५ गते मेरी भान्जीको विवाहमा काठमाडौंबाट मेरो श्रीमान्‌को दिदी जिबुदेवी रावल आएकी थिइन् । पीडितले म पनि काठमाडौं जान्छु भनी आफूखुसी काठमाडौं गएको हो । मेरो श्रीमान्‌ले निजलाई जबरजस्ती करणी, यौन शोषण गरेकोमा विश्वास लाग्दैन । मैले निज पीडितलाई भारतको वनबासा लगी औषधि खुवाएको पनि होइन । २०७१ साल जेष्ठ महिनामा निज पीडित आफूखुसी भागी गएकी र गड्डाचौकीबाट निजको बुबाले बुझेको हो भन्नेसमेत बेहोराको वसन्तीदेवी रावलले गरेको घटना विवरण कागज ।

पीडित १० वर्षको उमेरदेखि वसन्त रावलको घरमा बस्दै आइरहेकी थिइन् । वसन्त रावलले आफ्नो बहिनीको घर काठमाडौंमा घरेलु कामकाजका लागि पठाएको हो । प्रतिवादी वसन्त रावलले पीडित परिवर्तित नाम कञ्चनपुर ङ कुमारीलाई जबरजस्ती यौन शोषण गरी निज पीडितले गर्भधारण गरेपश्चात् पीडककी श्रीमती वसन्तीदेवी रावलले निजलाई भारतको वनबासा लगी औषधि सेवन गराएको हो । प्रतिवादीले पीडितलाई भारतीय नम्बरको गाडीमा राखी भारतको वनबासा लगी पीडितलाई बेहोस अवस्थामा छोडेर आएको हो । भारतीय प्रहरीले अलपत्र अवस्थामा फेला पारी निजलाई Reeds नामक संस्थामा बुझाएको हो । सोपश्चात् गड्डाचौकीमार्फत के.आई. नेपाल संस्थामार्फत निजका बुबाले बुझेका हुन् । पीडितका बुबाले डडेल्धुराको अस्पतालमा लगी गर्भ सफाइ गराएको हो भन्नेसमेत बेहोराको हिरादेवी भट्टले गरेको घटना विवरण कागज ।

वसन्त रावलसँग मेरो साला नाता पर्छ । जिबुदेवी रावल मेरी श्रीमती हो । मेरी श्रीमती २०६८ साल फागुन महिनामा सालाको घरमा आएकी थिइन् । पीडित परिवर्तित नाम कञ्चनपुर ङ कुमारी मेरो श्रीमतीसँग जबरजस्ती काठमाडौं मेरो घरमा गएको हो । निजलाई मैले विद्यालयमा समेत भर्ना गरेको थिएँ । निज मेरो घरबाट चाउचाउ किन्‍न जान्छु भनी गई हराई बेपत्ता भएको हो । निजलाई ३ दिनपछि महाराजगञ्जमा प्रहरी चौकीले फेला पारेको हो । मैले निजलाई प्लेनको टिकट काटी धनगढी पठाएको हुँ । पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेका हुन् भन्ने कुरा झुट्ठा हो । निज आफूखुसी हिँड्ने गर्थिन् । पीडित प्रतिवादीको घरबाट आफूखुसी गई भारतको प्रहरीले फेला पारी निजलाई Reeds नामक संस्थालाई बुझाएको र उक्त संस्थाले के.आई. नेपाल नामक संस्थालाई बुझाई सो संस्थाबाट निज पीडितको बुबाले बुझेर ल्याएको हो भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको चक्रबहादुर रावलले गरेको घटना विवरण कागज । 

पीडितका आमाबुबाले पीडितलाई पालनपोषण गरी दिनु होला भनी प्रतिवादीको घरमा छोडेको हो । प्रतिवादीकी श्रीमतीले निज पीडितलाई भारतको वनबासा लगी औषधि सेवन गराएको कुरा हामीले थाहा पाएनौं । प्रतिवादीले पीडितलाई भारतीय नम्बरको गाडीमा राखी भारतको वनबासा लगी पीडितलाई बेहोस अवस्थामा छोडेर आएको, भारतीय प्रहरीले अलपत्र अवस्थामा फेला पारी निजलाई Reeds नामक संस्थामा बुझाएको र सोपश्चात् गड्डाचौकीमार्फत के.आई. नेपाल संस्थामार्फत निजका बुबाले बुझेको हो भन्ने कुरा सुनी थाहा पाएका हौं भन्नेसमेत बेहोराको रंगवीर भट्टसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी वसन्त रावलले पीडित वर्ष १४ की परिवर्तन नाम कञ्चनपुर ङ कुमारीलाई निरन्तररूपमा यौन शोषण गरी २०७१ साल जेठ महिनामा भारतीय नम्बर प्लेटको गाडीमा राखी भारत वनबासामा लगी अलपत्र छाडी दिएको र पीडितलाई घरमा कमलरीको रूपमा राखी शोषण गरेको साथै महेन्द्रनगरबाट विदेश भारत वनबासामा लगी पीडितलाई ओसारपसार गरेको र महेन्द्रनगरबाट काठमाडौंमा समेत पठाई मानव ओसारपसारको कसुर अपराध गरेको सप्रमाण पुष्टि भएकोले प्रतिवादीको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर अपराधमा प्रतिवादी वसन्त रावललाई सोही ऐनको दफा १५(१)च) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी । 

नाम परिवर्तन कञ्चनपुर ङ कुमारीको बुबा मेरा कुटानी पिसानी मिलमा मिस्त्री काम २०६४ सालदेखि काम गरी आएका हुन् । निजको आयस्तर कमजोर भएकाले निजको छोरी पीडित भनेकीलाई पूर्ण मा.वि. ऐरी विद्यालयमा नर्सरीमा भर्ना गरी कक्षा २ सम्म अध्ययन गरेकी थिइन् । २०६७ सालमा निज स्वेच्छाले काठमाडौंमा भागी गएकी हुन् । २०६८ सालमा आफैँ घरमा आएकी हुन् । पुनः २०६८ साल फागुनमा काठमाडौं आफूखुसी गएकी हो । निजले गरेको बयान एवम् जाहेरी सम्पूर्ण बेहोरा झुट्ठा हो । मैले निजका बुबाको आर्थिक अवस्था कमजोर भएकोले मेरो छोरी समान गरी स्कुलमा भर्ना गरी दिएको हो । निजले पछि स्कूल आफूखुसी छोडी आफ्नो मनपरीले घुम्ने गरेको हो । मैले त्यस्तो सानी बच्चीलाई जाहेरी एवम् बयानमा भनेअनुसार कुनै आपराधिक कार्य गरेको छैन । विभिन्‍न किसिमका संस्थाहरूले सिकाई मेरो इज्जतमाथि धक्का पुर्‍याउने षड्यन्त्रले जाहेरी एवम् बयान लेखाएको हो । मैले निजलाई करणी गर्ने, गराउने, भारतमा लगी छोड्ने, गर्भपतन गराउने कुनै कार्य गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी वसन्त रावलले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीबाट मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८ को देहाय ५क १० नं. बमोजिम नगद रू.५०,०००।- (पचास हजार) बराबरको नगद वा जेथा लिई मुद्दा पुर्पक्षको लागि तारेखमा राख्‍नु, सो नदिए अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय कञ्चनपुरमा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०७१।०६।०२ गतेमा सुरू अदालतका स्रेस्तेदारबाट भएको थुनछेक आदेश ।

यसमा यस अदालतका स्रेस्तेदारले मिति २०७१।०६।०२ गते थुनछेक आदेश गर्दा लिएका आधार प्रमाणबाट उक्त थुनछेक आदेश मिलेकै देखिँदा सदर गरिदिएको छ भन्नेसमेत बेहोराको मिति २०७१।०६।२४ गतेमा कञ्चनपुर जिल्ला अदालतका जिल्ला न्यायाधीशबाट भएको थुनछेक आदेश ।

प्रतिवादी वसन्त रावलले पीडितलाई वनबासा पनि लगेको होइन, काठमाडौं पनि लगेको होइन । अरूको उक्साहट र सिकावटमा लागि त्यस्तो लेखाएको होला भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने जुग्री चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी वसन्त रावलले मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको छैन । निजउपर झुट्टा आरोप लगाएको हो । किन आरोप लगायो थाहा भएन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा कागज गर्ने रंगवीर भट्टले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी वसन्त रावलले पीडितलाई ओसारपसार मानव बेचबिखन, शोषण गर्‍यो भन्ने कुरा झुट्टा हो । वनबासा र काठमाडौं आफैँ भागेर गएकी हो । धेरै दिनपछि वनबासाबाट फेला परी उसको बुबाले बुझी लिएको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका गीता खड्काले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी वसन्त रावलले मेरी छोरी ङ कुमारीलाई कहीँ लगेको होइन । मानव बेचबिखन पनि गरेको होइन । निज छोरी आफैँ जहाँ मन लाग्यो त्यहीँ जाने गर्दथी । एकपटक पहिले आफैँ काठमाडौं भागेर गएकी हो । अर्को पटक महेन्द्रनगरबाट वनबासा र काठमाडौंसमेत आफैँ गएकी हो । कसैले लगेको होइन । हामीले भनेको मान्दिनथी जहाँ मन लाग्यो त्यहाँ जाने गर्दथी । भारत वनबासाबाट गड्डाचौकी जिम्मा लगाएपछि त्यहाँ गड्डाचौकीबाट बुझिलिएको हुँ, बुझाउने संस्थाको नाम मलाई थाहा छैन, वनबासाबाट बुझेर ल्याएपछि फेरि भागेर गएकी हो भन्ने बेहोराको मौकामा कागज गर्ने .................ले सुरू अदालतमा गरेको बकपत्र । 

पीडित ङ कुमारी (नाम परिवर्तन) मेरी दिदी हो । निजलाई भारत वनबासामा कसैले लगेको होइन । निज आफैँ वनबासा गएको हो । प्रतिवादी वसन्त रावलले पीडितलाई महेन्द्रनगरबाट काठमाडौं लगी मानव ओसारपसार कार्य गरेको होइन । निज आफैँ काठमाडौं गएकी हो भन्नेसमेत बेहोराको बुझिएका मौकामा कागज गर्ने .................ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी वसन्त रावल एकदम राम्रो चलन बानी व्यवहारको मानिस हो । उजुरकर्तालाई प्रतिवादीले भारत वनबासा पुर्‍याई मानव बेचबिखन कार्य गरेको तथा महेन्द्रनगरबाट काठमाडौं पुर्‍याई ओसारपसार कुनै पनि कार्य गरेको होइन । निजमाथिको आरोप झुट्ठा हो । निज आफैँ काठमाडौं गएकी र आफैँ भारतबाट वनबासा गएकी हुन् । प्रतिवादीले पीडितलाई कुनै किसिमको शोषण, यौन व्यवहार, कमलरी आदि केही गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी राजेन्द्र विष्टले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित र प्रतिवादी मेरा गाउँले हुन् । प्रतिवादी वसन्त रावलले पीडितलाई मानव बेचबिखन ओसारपसार गर्‍यो, यौन शोषण गयो भन्ने कुरा सम्पूर्ण झुट्टा हो । निज प्रतिवादी राम्रो आचरणका व्यक्ति हुन् । निजमाथि झुट्ठा आरोप लगाई फसाउन र बेइज्जत गर्न खोजेको हो । पीडित आफैँ काठमाडौं गएकी र आफैँ भारतको वनबासा गएको हो । निज आफ्नै मनले यताउता गई राख्‍ने गर्दथिन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कृष्णसिंह देउवाले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी वसन्त रावलले पीडितलाई बेचबिखन तथा ओसारपसार गरेको होइन । झुट्ठा आरोप लगाएको हो भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने संजीव भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

मेरो श्रीमान् प्रतिवादी वसन्त रावलले पीडितलाई वनबासा र काठमाडौं लगेका होइनन् । झुट्ठा आरोप लगाएको हो । मानव बेचबिखन ओसारपसार गरेको भन्ने कुरा झुट्टा हो भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने वसन्तीदेवी रावलले सुरू अदालतमा गरेको बकपत्र । 

म प्रतिवादी वसन्त रावलको घरमा ६ वर्षको उमेरदेखि बसेकी हुँ । म काठमाडौं चक्रबहादुर रावलको घरमा भाँडा माझ्ने काममा गएकी हुँ । त्यहाँ म २ वर्ष बसेकी हुँ । त्यहाँबाट वसन्त रावलको घरमा फिर्ता आएकी हुँ । प्रतिवादी वसन्त रावलको घरमा बस्दा लगातार करणी गर्ने कार्य गर्दथ्यो, पेटमा गर्भ रहेको थियो । प्रतिवादी वसन्त रावलले खटिमा लगेर औषधि खुवाएको हो । गर्भ डडेल्धुरामा फालेको हो । प्रतिवादी वसन्त रावलले भारत वनबासामा गाडीमा लगेका हुन् । जाहेरी र अनुसन्धानमा गरेको बयान बेहोरासमेत ठीक हो भन्नेसमेत बेहोराको जाहेरवाली नाम परिवर्तन कञ्चनपुर ङ कुमारीले सुरू अदालतमा गरेको बकपत्र । 

पीडित नाम परिवर्तन कञ्चनपुर ङ लाई प्रतिवादी वसन्त रावलले भारततर्फ लगी यौन शोषण गरेको भन्ने कुरा झुट्ठा हो । प्रतिवादीले यस्तो कार्य गरेको छैन होइन, निज निर्दोष समाजसेवी मानिस हुन् भन्नेसमेत बेहोराको बुझिएका चक्रबहादुर रावलले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी वसन्त रावलले त्यस्तो कार्य गरेको होइन, पीडितलाई घरेलु कार्यमा लगाई यौन शोषण गरी भारततर्फ लगी अलपत्र छोडेको पनि होइन, पीडित भनिएकी केटी आफैँ, आफूखुसी भारततिर घुम्न गएकी हुनुपर्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस मोहनदेव भट्टले सुरू अदालतमा गरेको

बकपत्र ।

आफ्नो संरक्षकत्वमा रहेकी नाबालिकाको शरीरमा यौन शोषणका स्पष्ट प्रमाणहरू मिसिल संलग्न Medical Report बाट देखिएको र यी प्रतिवादीउपर पीडितको किटानी जाहेरी / बयान र बकपत्र गरेको प्रतिवादीउपर उजुर गर्नुपर्ने स्वभाविक कारण नदेखिएको र प्रतिवादीले पीडितलाई शोषण गर्ने उद्देश्यले जबरजस्ती गरी, डर, त्रास, धम्की दिई आफूसमक्ष राख्‍ने, नियन्त्रणमा लिनेसमेतको कार्य गरी आरोपित कसुर गरेको पुष्टि हुँदा यी प्रतिवादी बसन्ते भन्ने वसन्त रावललाई आरोपित कसुरमा अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा सोही दफा १५(१)(च) बमोजिम कसुरको मात्राअनुसार २ वर्ष कैद हुने ठहर्छ । विदेश भारतमा समेत लगेको भन्ने हदसम्मको अभियोग दाबी पुग्न सक्तैन भन्नेसमेत बेहोराको मिति २०७२।०५।१३ मा सुरू कञ्चनपुर जिल्ला अदालतबाट भएको फैसला ।

प्रतिवादीले पीडित नाबालिकालाई नेपालबाट भारत वनबासासम्म ओसारपसार तथा शोषण गरेको सप्रमाण पुष्टि भएको अवस्थामा सुरू अदालतले प्रतिवादीलाई २ वर्ष मात्र कैद गरी विदेश भारत लगेको अभियोग दाबी पुग्न सक्दैन भनी गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको ०७२-CS-००९८ नम्बरको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा परेको पुनरावेदनपत्र ।

मैले पीडित भनिएकी कञ्चनपुर ङ कुमारीउपर कुनै कसुर नगरेको र म स्वयम् लामो समयदेखि टि.वी. सुगरसमेतका विविध बिमारले ग्रसित व्यक्तिलाई दुःख दिन मेरो सम्पत्तिमा धावा पुर्‍याउन मउपर मानव बेचबिखन तथा ओसारपसारको झुट्टा मुद्दा चलाएको कुरा तथ्यगत आधार, प्रमाणले पुष्टि भएको अवस्थामा पनि सुरू अदालतले मिसिलसंलग्न प्रमाणको न्यायोचित विवेचना र मूल्याङ्कन नगरी भएको फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम सफाइ पाउने गरी न्याय पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी वसन्त रावलले मिति २०७२।११।१८ मा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा पेस गरेको पुनरावेदनपत्र । 

यसमा वादी नेपाल सरकार र प्रतिवादी वसन्त रावलको दोहोरो पुनरावेदन परेको देखिँदा पुनरावेदनपत्र एक आपसमा दुवै पक्षलाई परस्पर सुनाई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको मिति २०७३।०१।०७ को आदेश ।

प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा बयान गर्दासमेत कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको र पीडितका बाबु र भाइसमेतले प्रतिवादीको कसुरमा संलग्नता नरहेको भनी बकपत्र गरेको देखिए तापनि यी पीडित सानैदेखि प्रतिवादीको एवम् प्रतिवादीको बहिनी ज्वाइँको घरमा रहे बसेको कुरालाई प्रतिवादी स्वयंले स्वीकारेको अवस्था देखिन्छ । मिसिल संलग्न Medical Report बाट पीडितलाई यौनजन्य शोषण भएको तथा ultrasonogram बाट पीडित गर्भवती भएको देखिन्छ । यी पीडितले आफूलाई बारम्बार यौनशोषण गर्ने गरेको र गर्भसमेत रहेको भनी यी प्रतिवादीउपर किटानी जाहेरी दिएको र सो किटानी जाहेरीलाई समर्थन हुने गरी पीडितले मौकामा अदालतमा गरेको बयान अदालतबाट प्रमाणित भई मिसिलसंलग्न छ । अदालतमा बकपत्र गर्दासमेत पीडितले जाहेरी बेहोरामा मौकाको बयानलाई पुष्टि हुने गरी बकपत्र गरिदिएको देखिन्छ । यसरी Medical Report बाट नाबालक देखिएकी र Medical Report बाटै यौन शोषण भएको स्पष्ट देखिएको, यी पीडितले आफू रहे बसेकै घरको व्यक्तिलाई बिना आधार र कारण किटानी जाहेरी दिनुपर्ने अवस्था नपर्ने हुँदा प्रस्तुत मुद्दामा यी प्रतिवादीको कसुरमा संलग्नता रहेको भन्‍न सकिने अवस्था देखिन आउँछ । पीडितले आफूलाई यौनशोषण गरी प्रतिवादीले भारत लगेको भनी किटानी जाहेरी दिएको, त्यसलाई समर्थन गरी अदालतमा बयान र बकपत्र गरेको, पीडितलाई निजका बुबाले विदेश भारतबाट बुझी ल्याएको कुरा निजको मौकाको कागज र अदालतको बकपत्रबाट समेत प्रस्ट देखिएकोले पीडितलाई भारत पुर्‍याएको कुरामा विवाद देखिन आएन । प्रतिवादी वसन्त रावलले पीडित ङ कुमारीलाई भारतको वनबासासम्म गाडीमा राखेर पुर्‍याएको भनी पीडितले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । यदि प्रतिवादीले पीडितलाई यौनशोषण गरी विदेशी मुलुक भारत नपुर्‍याएको भए प्रतिवादीकै मिलमा पीडितको परिवारले कामकाज गरिरहेको, आफूले समेत प्रतिवादीकै घरमा परिवारको सदस्यको हैसियतमा बसेकी पीडितले प्रतिवादीकै रोहबरमा बकपत्र गर्दा किटानी बकपत्रसमेत गरेकोले प्रतिवादीले अभियोग मागदाबीअनुसारको कसुर गरेको प्रस्ट देखिन आयो । तसर्थ उल्लिखित विवेचित आधार, प्रमाण तथा कारणहरूबाट प्रतिवादीले पीडितलाई शोषण गर्ने उद्देश्यले जबरजस्ती गरी डर, त्रास, धम्की दिई आफूसमक्ष राखेको भनी प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (च) बमोजिम २ वर्ष कैद गर्ने गरी भएको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७२।०५।१३ को फैसला नमिलेकोले सो हदसम्म केही उल्टी भई प्रतिवादीले पीडितलाई भारतको वनबासा पुर्‍याएको देखिएकाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (च) बमोजिम प्रतिवादी वसन्त रावललाई ३ वर्ष ६ महिना कैद हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७३।१२।२१ को फैसला ।

पीडित भनेकी कञ्चनपुर (ङ) कुमारीले वसन्त रावलले आफूलाई जिपमा राखी भारत लगी गाडीमै आफू र अन्य २ जनाले समेत करणी गरी भारत वनबासामा छोडी आएका र काठमाडौं पनि पुर्‍याएको भनी बयान, बकपत्र गरे तापनि भारतीय Reeds संस्थाको २०-५-२०१४ र ०४-०९-२०१४ को पत्र बेहोरासमेतबाट तथा काठमाडौं आफूखुसी नै गएकी भनी पीडितले नै बकपत्र गरेबाट वसन्त रावलले भारत तथा नेपाल काठमाडौं ओसारपसार गरेको पुष्टि हुन नआएकोले सो हदसम्मको अभियोग दाबी पुग्न नसक्ने भनी स्वयम् सुरू अदालतको फैसलाले नै बोली सकेको प्रस्ट छ, सोबाट नै पीडितले लगाएको मानव बेचबिखन ओसारपसार गर्‍यो भन्ने आरोप झुट्टा भइसकेको स्वतन्त्र प्रमाणको महेन्द्रनगर इजलासबाट समेत फैसला गर्दा विवेचना गरिएन ।

पीडित भनिएकी कञ्चनपुर (ङ) कुमारीलाई निजका बुबाले डडेल्धुरा पुर्‍याएको निज आफूखुसी पहिला पनि काठमाडौं जाने गरेकी, अन्यत्र पनि जहाँ मन लाग्यो त्यहीँ जाने गरेकी, आफूखुसी भारततर्फ गएकी, बुबाले भनेको पनि नमान्ने गरेकी, म पुनरावेदकले कुनै किसिमले पनि शोषण नगरेको भन्ने कुराको पुष्टि पीडित भनिएकी (ङ) कुमारीको बुबा जयराज बिष्ट र निजको भाइ विमल बिष्टसमेतले गरेको अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बकपत्रबाट समेत पुष्टि भएको र निजको जन्म भएको मिति र उमेरको बारेमा समेत निजका बुबाले बकपत्रमा प्रस्ट गरेको छ । मौकामा कागज गर्ने रंगवीर भट्ट, गीता खड्का, जुग्री चौधरी, संजिव भण्डारी, वसन्ती रावल, चक्रबहादुर रावल, वस्तुस्थितिका मोहनदेव भट्टसमेतले गरेको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज बेहोरा र अदालतमा गरेको बकपत्र तथा मेरा साक्षी राजेन्द्र विष्ट, कृष्णसिंह देउवा, मोहनदेव भट्टसमेतको बकपत्रबाट पनि मैले कुनै कसुर नगरेको झुट्टा आरोप लागाएको भन्ने कुरा प्रस्ट भएको छ ।

वादीले अभियोग दाबीमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर माग दाबीमा ऐ. को दफा १५(१)(च) को सजायको माग भएकोमा दफा ४(२)(ख) को परिभाषित कसुर म पुनरावेदकबाट भएको मिसिलको कुनै पनि स्वतन्त्र प्रमाणले पुष्टि नगरेको र दफा १५(१)(च) को सजायको मागदाबीको हकमा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ लगेमा १ वर्षदेखि २ वर्ष कैद, विदेश लगेको ठहरिए २ वर्षदेखि ५ वर्षसम्म कैद भन्ने मात्र सजायको व्यवस्था गरिएकोमा सो दुवै कार्यसमेत मबाट नभएको भन्ने कुरा सुरू अदालतको ठहर खण्डले सो हदसम्मको दाबी नपुग्ने भनी ठहर गरिसकेपछि पनि मलाई कुनै दफाले के कसुर गरेको मिसिल प्रमाणले प्रमाणित गर्‍यो र मलाई सजाय गरियो सो नै कानूनी त्रुटिपूर्ण र अन्यायपूर्ण भएको छ ।

अतः म पुनरावेदकबाट पीडित भनिएकी कञ्चनपुर (ङ) कुमारीउपर कुनै कसुर नगरे नभएकोमा पनि अर्काको सिकलौटमा लागी म स्वयम् लामो समयदेखि टि.भी, सुगर आदिसमेतका विविध बिमारीबाट ग्रस्त व्यक्तिलाई दुःख दिन हैरानीमा पार्न क्षति पुर्‍याउनेसमेत गलत भावनाले मानव बेचबिखन ओसारपसारको झुट्टा मुद्दा चलाएको कुरा उपर्युक्त प्रकरणहरूमा उल्लिखित तथ्यगत आधार, प्रमाणले पुष्टि गरेको अवस्थामा उच्च अदालत दिपायल, इजलास महेन्द्रनगरबाट समेत मिसिलसंलग्न स्वतन्त्र प्रमाणको न्यायिक विवेचना तथा मूल्याङ्कन नै नगरी मलाई बिना प्रमाण ३ वर्ष ६ महिना कैदको सजाय ठहर गरेको फैसलाउपर चित्त नबुझी पुनरावेदन गरेको छु, मिसिल संलग्न प्रमाण कागजको न्यायिक मूल्याङ्कन तथा विवेचना गरी निर्दोषित घोषित गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी वसन्त रावलले मिति २०७४।४।३ मा दायर गरेको पुनरावेदनपत्र ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी वसन्त रावलका तर्फबाट उपस्थित वरिष्ठ विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अधिवक्ता श्री रमेशप्रसाद खनालले प्रस्तुत मुद्दामा पीडित भनेकी कञ्चनपुर (ङ) कुमारीलाई निजका बुबाले डडेल्धुरा पुर्‍याएको, आफूखुसी पहिला पनि काठमाडौं जाने गरेकी, निज अन्यत्र पनि जहाँ मन लाग्यो त्यहीँ जाने गरेकी, भारततर्फ आफूखुसी गएको अवस्था छ, पीडितका बाबु, भाइ तथा मौकामा कागज गर्ने रंगवीर भट्ट, गीता खड्का, जुग्री चौधरी, संजिव भण्डारी, वसन्ती रावल, चक्रबहादुर रावल, मोहनदेव भट्टसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज बेहोरा तथा अदालतमा समेत आई गरेको बकपत्रले यी पुनरावेदक प्रतिवादीले पीडितलाई कुनै किसिमले पनि शोषण नगरेको र कसुर अपराध पनि नगरेको पुष्टि भएको अवस्था हुँदा उच्च अदालत दिपायल, महेन्द्रनगर इजालसको फैसला मिलेको छैन, अभियोग मागदाबीअनुसार यी प्रतिवादीले सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ताको बहस सुनी मिसिल अध्ययन गरी हेरियो । अब, प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउनुपर्ने हो, होइन ? उच्च अदालत दिपायल, महेन्द्रनगर इजालसको मिति २०७३।१२।२१ मा भएको फैसला मिलेको छ, छैन ?  पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, पीडित भनिएकी कञ्चनपुर (ङ) कुमारीलाई निजका बुबाले डडेल्धुरा पुर्‍याएको निज आफूखुसी पहिला पनि काठमाडौं जाने गरेकी, अन्यत्र पनि जहाँ मन लाग्यो त्यहीँ जाने गरेकी, आफूखुसी भारततर्फ गएकी, बुबाले भनेको पनि नमान्ने गरेकी, म पुनरावेदकले कुनै किसिमले पनि शोषण नगरेको भन्ने कुराको पुष्टि पीडित भनेकी (ङ) कुमारीको बुबा ................. र निजको भाइ .................समेतले गरेको अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बकपत्रबाट समेत पुष्टि भएको छ, मौकामा कागज गर्ने रंगवीर भट्ट, गीता खड्का, जुग्री चौधरी, संजिव भण्डारी, वसन्ती रावल, चक्रबहादुर रावल, वस्तुस्थितिका मोहनदेव भट्टसमेतले गरेको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज बेहोरा र अदालतमा गरेको बकपत्र तथा साक्षी राजेन्द्र विष्ट, कृष्णसिंह देउवासमेतको बकपत्रबाट पनि कुनै कसुर नगरेको प्रस्ट भएको हुँदा मलाई दुःख हैरानीमा पारी, क्षति पुर्‍याउनेसमेत गलत भावनाले मानव बेचबिखन ओसारपसारको झुट्टा मुद्दा चलाएको कुरा उल्लिखित तथ्यगत आधार, प्रमाणले पुष्टि गरेको अवस्थामा मिसिल संलग्न स्वतन्त्र प्रमाणको न्यायिक विवेचना तथा मूल्याङ्कन नै नगरी मलाई बिना प्रमाण ३ वर्ष ६ महिना कैदको सजाय ठहर गरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको फैसला नमिलेको हुँदा निर्दोष घोषित गरी न्याय पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर लिएको देखियो ।

३. प्रतिवादी वसन्त रावलले मेरा संवेदनशील अंगहरू सुम्सुम्याउने, हात लगाउने गरेकोमा निजले मिति २०७०।१।२ गतेका दिन आफ्नो कोठामा बोलाई जबरजस्ती करणी गरेको हो, मैले उक्त कुरा कहीँ भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको, मिति २०७१ साल जेठ महिनामा भारतीय नम्बरको गाडीभित्र राखी भारतको वनबासा लगी गाडीभित्र यी प्रतिवादी र निजसँग आएका अन्य २ जनासमेतले पालैपालो करणी गरी सडकमा अलपत्र छोडी आएकोमा भारतको S.S.B ले रिड्स महिला सुरक्षा एवम् पुनर्वास गृह Reeds वनबासा, जिल्ला चम्पारन उत्तराखण्ड भन्ने संस्थाको सन् २०.५.२०१४ मा जिम्मा लगाएको, सो कुरा बुबाले थाहा पाई मलाई भारतबाट ल्याएका हुन् । पछि निजहरूले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगी अल्ट्रासाउण्ड गराउँदा पेटमा भ्रुण छ भनेकोले गर्भपतन गर्न लगाएका हुन् । प्रतिवादीले मलाई यौन शोषण गरी भारतीय गाडीमा ओसारपसार गरी अरूद्वारा समेत यौन शोषण गराई गर्भपतनसमेत गराएको हुँदा कारबाही गरिपाउँ भन्ने बेहोराको पीडित ङ कुमारीको किटानी जाहेरी दरखास्त परेको देखियो ।

४. पीडित ङ कुमारी १० वर्षको उमेरदेखि प्रतिवादी वसन्त रावलको घरमा बसी काम गर्दै आइरहेकी, निज प्रतिवादीले जबरजस्ती यौन शोषण गरी गर्भधारण गरेपश्चात् पीडककी श्रीमती वसन्तीदेवी रावलले निजलाई औषधि सेवन गराएको र प्रतिवादीले पीडितलाई भारतीय नम्बरको गाडीमा राखी भारतको वनबासा लगी बेहोस अवस्थामा छोडेर आएको, भारतीय प्रहरीले अलपत्र अवस्थामा फेला पारी निजलाई Reeds नामक संस्थामा बुझाएको र सोपश्चात् गड्डाचौकीमार्फत के.आई. नेपाल संस्थामार्फत निजका बुबाले बुझी नेपाल ल्याएका हुन् । डडेल्धुराको अस्पतालमा लगी गर्भ सफाइ गराएको भनी हिरादेवी भट्ट र रंगवीर भट्टले क्रमशः घटना विवरण कागज र वस्तुस्थिति मुचुल्कामा खुलाई दिएको पाइयो ।

५. म, प्रतिवादी वसन्त रावलको घरमा बस्दा निजले मलाई लगातार करणी गर्ने कार्य गर्दथ्यो, पेटमा गर्भ रहेको थियो । निज प्रतिवादीले मलाई खटिमा लगेर औषधि खुवाएको र डडेल्धुरामा लगी गर्भ फालेको हो । प्रतिवादी वसन्त रावलले भारत वनबासामा गाडीमा लगेका हुन् । जाहेरी र अनुसन्धानमा गरेको प्रमाणित बयान बेहोरासमेत ठीक हो भनी पीडित ङ कुमारीले मौकामा र अदालतमा बकपत्रसमेत गरेको देखियो । 

६. यी पीडितको Medical Report अनुसार पिठ्युँमा दुवैतिर पुरानो कोतरिएको घाउ भएको, स्तनको देब्रेपट्टि २.३. से.मी. को चिथोरिएको पुरानो दाग देखिएको, खुट्टातिर ३/३ वटा घाउहरू रहेको, उमेर १५-१६ वर्ष भएको देखिएको, योनिको झिल्ली फाटेको, स्तनको साइज उमेरभन्दा ठूलो जस्तो देखिएको र योनि जाँच्दा सेतो पानी भएको देखिएको भन्ने च.नं. १०३, मिति २०७१।०५।११ को महाकाली अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन Medical Report बाट देखिन आयो । त्यसैगरी पीडितले Pregnancy Test गराएको डडेल्धुरा अस्पतालको पुर्जी र गर्भ रहेको भन्ने ultrasonogram को फोटोकपीसमेत मिसिलसंलग्न रहेको देखिन्छ । पीडितलाई यौन शोषण नभएको भए गर्भधारणको अवस्था नरहने र पीडितले यौन सम्बन्धलाई सहमति दिने उमेरमा पनि रहेको देखिँदैन । यस्तो अवस्थामा पीडितमाथि यौन शोषण भएको शारीरिक अवस्था तथा गर्भधारण एवम् गर्भपतनको अवस्थाहरूबाट पनि प्रमाणित भएको देखिन्छ ।  

७. प्रस्तुत मुद्दामा जहाँसम्म पीडितको बाबु र भाइसमेतले यी प्रतिवादी वसन्त रावल कसुरमा सामेल नरहेको भन्ने बकपत्र रहेको यसरी पीडितको बाबु र भाइ नै Hostile हुँदा पनि प्रतिवादीले सफाइ पाउनुपर्छ भन्ने पुनरावेदन जिकिर रहेकोमा पीडित आफ्नो बाबुसमेत प्रतिवादीको मिलमा काम गर्ने गरेको भन्ने भनाइमा प्रतिवादीले पनि स्वीकार गरेको देखिन्छ । आफू कहाँ काम गर्ने कामदारलाई सामाजिक तथा आर्थिक दबाबमा पारी विपरीत Hostile बयान दिन लगाउने सम्भावना रहन्न भन्न पनि सकिँदैन । गरिब वर्ग एकातिर हिंसाको अत्यन्त जोखिममा रहन्छन् भने अर्कोतिर त्यस्तो हिंसा विरूद्ध न्यायको पहुँच पनि गरिबको निमित्त सहज हुँदैन । कतिपय अवस्थामा गरिबीको कारणले र आर्थिक दबाबको कारणले पनि पक्षहरू Hostile हुने गर्दछन् । पीडितको प्रमाणित बयान रहेको तथा अन्य मिसिल संलग्न प्रमाणहरूलाई हेर्दा पीडितको परिवार Hostile हुँदैमा मात्र यी प्रतिवादी निर्दोष हुन् भन्न सकिने अवस्था रहँदैन ।

८. जहाँसम्म प्रतिवादीले पीडितलाई शोषण पनि नगरेको र ओसारपसारको स्थिति पनि नरहेकोले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ बमोजिम कारबाही हुने होइन भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा मानव बेचबिखन ओसारपसार ऐन, २०६४ ले शोषणलाई पनि मानव बेचबिखन तथा ओसारपसारको प्रकारकै रूपमा मान्यता दिएको छ । सो ऐनको दफा ४(२)(ख) ले “वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्‍ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्‍ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने” कार्यलाई मानव ओसारपसारको परिभाषाभित्र राखेको छ । यसैगरी नेपाल पक्षधर भएको 

.......................................

 

 

यो परिभाषाअनुसार मानव बेचबिखन भन्नाले शोषणको उद्देश्यले नाजुक अवस्थाको फाइदा लिई रकम दिई वा नदिई आफ्नो शक्तिको प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनुलाई समेत समेटिएको छ भने शोषण भन्नाले कुनै पनि किसिमको यौन शोषण हुन सक्दछ भन्ने परिभाषा गरेको छ ।   

९. यसरी प्रस्तुत मुद्दामा पनि प्रतिवादी वसन्त रावलले यी पीडितालाई शोषण गरी आफूसँग राखेको अवस्था देखिएको र निज पीडिताको नाजुक स्थितिको फाइदा लिई यौन शोषण Sexual exploitation को कार्य गरेको सोको परिणाम पीडिता गर्भधारणसम्म भएको र निजले जबरजस्ती गर्भपतनसमेत गरेको प्रमाण मिसिलबाट देखिँदा प्रतिवादीको उक्त कार्य ओसारपसारको परिभाषाभित्र नै पर्ने देखिन्छ । साथै यी पीडिताका अभिभावक जो स्वयं प्रतिवादीका कामदार रहेको र यी पीडितालाई आफूसँग राख्‍ने, शोषण गर्ने र एक ठाउँबाट अर्को ठाउँमा र भारतको वनबासासम्म लगी शोषण गरी त्यहीँ छाडी आउने कार्य गरेको पीडिता स्वयम्‌को बयान तथा भारतबाट Reeds भन्‍ने संस्थाबाट यिनै पीडिताका बाबुले बुझी ल्याएको मिसिल संलग्न प्रमाण काजगजातहरूबाट नै पुष्टि भइरहेको देखिन्छ । यस्तो अवस्थामा शोषण गरेको तथ्य पीडितको शारीरिक अवस्था, भनाइ र मिसिल प्रमाणबाट स्थापित भएको नै देखिन्छ ।  

१०. मानव बेचबिखन ओसारपसार ऐन, २०६४ को दफा १५(१)(च) मा शोषण गर्ने उद्देश्यले दफा ४ को उपदफा (२) को खण्ड (ख) मा “नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद र विदेश लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने” भन्ने व्यवस्थासमेत रहेको पाइन्छ । अब मानव बेचबिखन तथा ओसारपसारको मागदाबीअनुसार सो ऐनको दफा ४ को उपदफा (२) को खण्ड (ख) र सुरू कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलामा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले सो फैसलालाई केही उल्टी हुने गरी सोही ऐनको दफा १५(१)(च) बमोजिम गरेको सजायमा विचार गर्दा यी प्रतिवादी वसन्त रावलले आफ्नै घरमा काम गर्ने पीडित नाबालिका ङ कुमारीलाई विभिन्न समयमा निजको इच्छा विपरीत पटकपटक जबरजस्ती करणी गरेको पीडिताले गर्भधारण गरेको, निजलाई गर्भपतनसमेत गराएको र दाससरह राखेको देखिन आएको तथा भारतीय ठाउँ वनबासामा लगी छाडेको भन्ने मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिन आएको छ । 

११. प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा बयान गर्दासमेत कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको र पीडितका बाबु र भाइसमेतले प्रतिवादीको कसुरमा संलग्नता नरहेको भनी बकपत्र गरेको देखिए तापनि यी पीडित सानैदेखि प्रतिवादीको एवम् प्रतिवादीको बहिनी ज्वाइँको घरमा रहे बसेको कुरालाई प्रतिवादी स्वयंले स्वीकारेको अवस्था देखिन्छ भने मिसिल संलग्न Medical Report बाट पीडितलाई यौनजन्य शोषण भएको तथा ultrasonogram बाट पीडित गर्भवती भएको र यिनै प्रतिवादीले निजको गर्भपतन गराएको भन्ने कुरा मिसिलबाट समेत देखिन आउँछ ।

१२. प्रतिवादीउपर पीडितले किटानी जाहेरी दिएको र सो किटानी जाहेरीको बेहोरालाई समर्थन र पुष्टि हुने गरी मौकामा गरेको बयान तथा अदालतमा गरेको बकपत्रबाट समेत प्रमाणित भरहेको मिसिलबाट देखिएको छ । यसरी Medical Report समेतबाट पीडित नाबालक भएको तथ्य स्थापित भएको र निजउपर यौन शोषणजस्तो आपराधिक कार्य प्रतिवादी वसन्त रावलबाट नै भएको पीडितसमेतको बयानबाट देखिएको छ । यी पीडितले आफू रहे बसेकै घरको अभिभावक व्यक्तिलाई बिना आधार र कारण अभियोग लगाई किटानी जाहेरी दिनुपर्ने अवस्था नहुँदा प्रस्तुत मुद्दामा प्रतिवादी वसन्त रावलको कसुरमा संलग्नता रहेको नै देखिन आउँछ । 

१३. पीडितले आफूलाई यौनशोषण गरी प्रतिवादीले भारत लगेको भनी किटानी जाहेरी दिएको, त्यसलाई समर्थन हुने गरी मौकामा बयान तथा अदालतमा आई बकपत्र गरेको र पीडितलाई प्रतिवादीले भारतको वनबासासम्म पुर्‍याई छोडेका, वनबासामा SSB ले फेला पारी उद्धार गरी Reeds भन्ने संस्थामा बुझाएको कुरा Reeds भन्ने संस्थाको पत्रबाट समेत देखिएको अवस्था छ । यस अवस्थामा प्रतिवादी वसन्त रावलले शोषणको उद्देश्यले ओसारपसार गरेको भन्ने पुष्टि भइरहेको छ । Reeds - Rural Environmental and Educational Developed Society भन्ने भारतीय संस्थाबाट पीडितलाई निजका बुबाले भारतको वनबासाबाट बुझी ल्याएको कुरा निजको मौकाको बयान र अदालतको बकपत्रबाट समेत प्रस्ट देखिएकोले पीडितलाई प्रतिवादीले विदेशमा (भारतसम्म) पुर्‍याएको कुरा प्रमाणित भएको देखिँदा प्रतिवादीले अभियोग मागदाबीअनुसारको कसुर गरेको प्रस्ट देखिन आयो । 

१४. यसरी प्रतिवादी वसन्त रावललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (च) बमोजिम शोषणको उद्देश्यले ओसारपसार गरेकोमा २ वर्ष कैद गर्ने गरी भएको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७२।०५।१३ को फैसला नमिलेकोले सो हदसम्म केही उल्टी भई प्रतिवादीले पीडितलाई शोषणको उद्देश्यले भारतको वनबासासम्म पुर्‍याएको देखिएकाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (च) बमोजिम शोषणको उद्देश्यले विदेशसमेत लगेको देखिएकोमा प्रतिवादी वसन्त रावललाई ३ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला तथ्य, मिसिल, कानून र न्यायको रोहमा अन्यथा देखिन आएन ।

१५. अतः उल्लिखित कानूनी व्यवस्था तथा मिसिल संलग्न आधार, कारणहरूसमेतबाट यी प्रतिवादी वसन्त रावलले अभियोग दाबीबमोजिम कसुर गरेको तथ्य प्रमाणित भएकोले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७३।१२।२१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.केदारप्रसाद चालिसे

 

इजलास अधिकृत: मिनबहादुर कुँवर

इति संवत् २०७६ साल वैशाख ४ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु