शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२७२ - जग्गा खिचोला घर उठाई चलन

भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७५।८।१९

०६९-CI-१०००

 

मुद्दा : जग्गा खिचोला घर उठाई चलन

 

पुनरावेदक / प्रतिवादी : काजीमानको छोरा सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्‍ने वर्ष ७२ को लोकेन्द्रनारायण श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्‍ने गयाप्रसाद श्रेष्ठको श्रीमती रामादेवी श्रेष्ठसमेत

 

जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्‍त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्‍त नहुने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण

सप्तरी जिल्ला अदालत

पुनरावेदन फैसला गर्नेः

मा. न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री टेकराज नेपाल

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको पुनरावेदन सुन्‍ने अधिकार क्षेत्रअन्तर्गत दर्ता भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

हामी वादी आमा छोराको संयुक्त नाममा दर्ता रहेको सप्तरी जिल्ला कल्याणपुर गा.वि.स. वडा नं.८ (क) कि.न.४५७ को ०-९-५ जग्गा हामीहरूले निर्विवाद रूपमा भोगचलन गरी आएकोमा कुनै प्रकारको टंटा खिचोलासमेत केही थिएन । वादीहरूमध्ये म दीपक श्रेष्ठ घरमा नरहेको अवस्थामा मौका छोपी विपक्षीहरूले जोरजबरजस्ती उक्त जग्गामा प्रवेश गरी मिति २०६२।११।०६ को करिब ८.०० बजेको समयमा विपक्षीहरूमध्ये लोकेन्द्रनारायण श्रेष्ठ र निजका छोरा नानीबाबु श्रेष्ठले उक्त ०-९-५ जग्गाको उत्तरपट्टि ०-४-१० जग्गालाई घेरवेर गरी पूर्वउत्तर तर्फबाट ०-२-५ जग्गामा पूर्व विट्टा पश्चिम मुख फर्केको फुसको घर थान-१, पश्चिम विट्टा पूर्व मुखको फुसको घर थान-१, दक्षिण विट्टा उत्तर मुखको फुसको घर थान-१ समेत जम्मा तिन थान घर बनाउन लागेका 

हुन् । त्यस्तै विपक्षीहरूमध्ये चेतलक्ष्मी श्रेष्ठ र दीपककुमार श्रेष्ठले सोही ०-९-५ जग्गामध्ये दक्षिणतर्फबाट ०-४-१५ जग्गा घेरबेर गरी ०-२-५ जग्गामा दक्षिण विट्टा उत्तर मुख फर्केको इट्टाको गाह्रो टायलको छाना भएको घर थान-१ र पूर्व विट्टा पश्चिम पूर्व मुख फर्केको सानो फुसको घरसमेत बनाउन लागेका हुन् । सो बखत वादी म रामादेवी श्रेष्ठ विपक्षीहरूलाई रोक्न जाँदा नमानी मलाई अपशब्दसमेत बोलेकाले फर्की आएकी  हुँ । वादी म दिपक श्रेष्ठले भद्रभलाद्मी राखी छलफल गर्न लाग्दा विपक्षीहरू नआई जे गर्न सक्छौ गर भनी जवाफ दिएकोले हाम्रो नामको कि.न.४५७ को ०-९-५ भिट अवल पूरै जग्गा खिचोला गरेकाले खिचोला मेटाई चलनसमेत चलाई पाउँ भन्नेसमेत फिरादपत्र ।

हामी प्रतिवादीहरूले मिति २०६२।११।०६ को बिहान ८:०० बजे घर बनाउन प्रारम्भ गरी ५ थान घर कुन समयमा पूरा गरी चारैतर्फ घेरबेर गरेको हो त्यस सम्बन्धमा फिरादपत्रमा केही उल्लेख छैन । फिरादपत्रमा घर बनाउन प्रारम्भ गरेको उल्लेख गरेका छन् । बनाउने कार्य कहिले सम्पन्न भएको हो भन्ने सम्बन्धमा दाबी प्रस्ट छैन । सर्भे नापीको केही वर्षपछि नै वादीहरूको सहमतिबाट हामीहरूले वादी दाबीको जग्गामा घर बनाई बसोबास गरी आउनुका साथै उक्त जग्गामा आँप लिचीलगायत विभिन्न फलफुलको बिरूवा रोपी हुर्काइसकेको छौं । वादीको दाबी जग्गा मिच्नेको महलको १८ नं. तथा घर बनाउनेको महलको ११ नं. को हदम्यादभित्र नपरेको हुँदा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र ।

मिति २०६३।०७।३० को आदेशबमोजिम विवादित जग्गाको दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपि तथा मिति २०६४।०२।२७ को आदेशानुसार विवादित जग्गाको सर्भे नक्सा प्रिन्ट र टायल चेक एवं डोरबाट भई आएको नक्सा मुचुल्का सुरू मिसिल सामेल

रहेको ।

मिति २०६५।१०।२२ को आदेशअनुसार वादीले गाउँ विकास समितिको कार्यालय, कल्याणपुर, सप्तरीमा दर्ता गराएको द.नं.४१३, मिति २०६१।०३।१६ को सक्कल निवेदन प्राप्त भई मिसिल सामेल रहेको । 

वादीका साक्षी योगेन्द्रकुमार श्रेष्ठ तथा प्रतिवादीका साक्षी महेन्द्र श्रेष्ठसमेतले गरेको बकपत्र सुरू मिसिल सामेल रहेको ।

मिति २०६६।०२।०७ मा वादीका वारेस दीपक श्रेष्ठले अ.व.७८ नं. बमोजिम गरेको बयान सुरू मिसिल सामेल रहेको ।   

वादी दीपक श्रेष्ठले गा.वि.स.को कार्यालय कल्याणपुरमा दर्ता गराएको द.नं.४१३ को निवेदनमा लोकेन्द्रनारायण श्रेष्ठले २० वर्षदेखि दाबीको जग्गा भोगचलन गर्दै आएको भनी उल्लेख गरेको र मिति २०६५।०८।०७ मा भएको नक्सा कुण्डलीको न.नं.३ को खाली जग्गा वादीकै कि.नं.४५७ भित्रको देखिएकाले उक्त न.नं.३ को जग्गामा प्रतिवादीको खिचोला मेटाई वादीलाई चलनसमेत चलाई दिने ठहर्छ । न.नं.१ र २ को जग्गामा वादीको दाबी पुग्न सक्तैन भन्ने सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।०३।२१ को 

फैसला ।

प्रतिवादीहरूको प्रतिउत्तर जिकिर बनावटी हो । प्रतिवादीहरूले गा.वि.स.को कार्यालयमा निवेदन दिँदा घर बनाई लिएको भन्ने जिकिर नलिई पछि फिराद परेपछि प्रतिउत्तरमा मात्र इन्कार गरेका 

हुन् । केही जग्गामा दाबी पुग्ने र केहीमा दाबी नपुग्ने भनी सुरू अदालतले गरेको निर्णय त्रुटिपूर्ण छ । कि.नं.४५७ को जग्गामा हामीहरूको सहमतिले घर बनाएको भए सहमतिको लिखत पेस गर्न सक्नु पर्दथ्यो । त्यस्तो लिखत पेस हुन सकेको छैन । एउटै ससिम जग्गामध्ये न.नं.३ मा दाबी पुग्ने र न.नं.१ र २ को जग्गामा दाबी नपुग्ने कारणसमेत उल्लेख नभएकोले सुरूको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।

यसमा दाबीको कि.नं.४५७ को जग्गामा २० औं वर्ष पहिले वादीको सहमतिमा घर बनाई बसेको भनी प्रतिउत्तर जिकिर देखिए तापनि त्यस्तो लिखित सहमति पेस नभएको अवस्थामा न.नं.३ को जग्गा मात्र प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको सप्तरी जिल्ला अदालतको मिति २०६६।०३।२१ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।०१।०७ को पुनरावेदन अदालत राजविराजको आदेश । 

सुरू जिल्ला अदालत नापी डोरबाट मिति २०६५।०८।०७ मा भई आएको नक्साको न.नं.१ र २ मा घर बनेको देखिएको र सो घरहरूको पश्चिमतर्फ खाली जग्गा देखिन्छ । सोही नक्सालाई आधार मानी नक्सामा भएका घरहरू र सोको लगापातले ओगटेको जग्गाको क्षेत्रफल र खाली जग्गाको क्षेत्रफल अलग अलग नदेखिएकोले सोही नक्सालाई आधार मानी उल्लिखित क्षेत्रफलसमेत देखिने गरी अ.बं.१७१ नं. बमोजिम पुनः नक्सा गरी आएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको मिति २०६८।०८।०५ को पुनरावेदन अदालत राजविराजबाट भएको आदेशबमोजिम डोरबाट भई आएको नक्सा मुचुल्का मिसिल सामेल रहेको ।

वादी दाबीको जग्गामा वादी दाबीकै सहमतिमा घर बने, बनाएको हो भन्ने तथ्ययुक्त सबुद वादीले पेस दाखिल गर्न सकेको नपाइँदा पहिलेबाटै बनाई भोग गरेको सिद्ध हुन्छ । मिति २०६८।०९।१४ को नक्सा कुण्डलीको न.नं.५ र ७(ख) मा रहेको घर र सो घरले चर्चेको जग्गा र सो घरमा आवातजावत गर्ने निकास बाटो रहेको न.नं.४ र ६ को जग्गामा प्रतिवादीहरूले २० औं वर्ष अगाडिदेखि घर बनाई भोग गरेको 

देखियो । सोबाहेकका न.नं.१, २, ३, ८ र ९ का जग्गासम्म वादी दाबीबमोजिम प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याउनु पर्नेमा सो नठहर्‍याएको हदसम्म सुरू फैसला केही उल्टी हुने भई वादीले चलनसमेत चलाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०६८।१०।२३ को फैसला ।

सप्तरी जिल्ला अदालतबाट मिति २०६५।०८।०७ मा भएको नक्सा मुचुल्काअनुसार सुरूले स्पष्ट फैसला गरेकोमा विना कारण उक्त फैसला केही उल्टी गरी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको छ । सो फैसला मिति २०६८।०९।१४ को नक्सा कुण्डलीअनुसार न.नं.५ र न.नं.७(ख) मा रहेको घर र घरले चर्चेको जग्गा तथा सो घरमा आवतजावत गर्ने निकास बाटो रहेको न.नं.४ र ६ बाहेकका न.नं. १, २, ३, ८ र ९ का जग्गासम्म प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याउनु पर्नेमा सो नठहर्‍याएको हदसम्म सुरू फैसला केही उल्टी गरी पुनरावेदन अदालत राजविराजको मिति २०६८।१०।२३ मा भएको फैसलामा नक्सा न.नं.७, ७क, ७ग र ७घ समेतका सम्बन्धमा केही नबोली भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू सप्तरी जिल्ला अदालतको फैसला सदर कायम गरी न्याय पाउँ भन्ने बेहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन पत्र ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागजात अध्ययन गरी हेरियो ।

हामी वादी रमादेवी श्रेष्‍ठ र दिपक श्रेष्‍ठको नाउँमा संयुक्त दर्ता रहेको कि.नं.४५७ को ०-९-५ जग्गा प्रतिवादीहरू लोकेन्द्रनारायण श्रेष्‍ठ र नानिबाबु श्रेष्‍ठले उत्तरतर्फबाट तिन थान फुसको घर बनाई र प्रतिवादीहरू चेतलक्ष्मी श्रेष्‍ठ र दिपककुमार श्रेष्‍ठले दक्षिणतर्फबाट इँटाको गारो भएको घर-१ र फुसको घर-१ बनाई पूरै जग्गा कब्जा गरेकाले जग्गा खिचोला मेटाई घर उठाई चलनसमेत चलाई पाउँ भन्‍ने फिराद दाबी रहेको देखियो । नापी सर्भेको पछिबाटै दाबीको जग्गामा आफूहरूले वादीको सहमतिबमोजिम नै घर निर्माण गरी फलफूलको बोटबिरूवासमेत रोपी बसोबास गरी आएकोले मुलुकी ऐन, जग्गा मिच्नेको महलको १८ नं. तथा घर बनाउनेको महलको ११ नं. बमोजिम फिराद खारेज गरिपाउँ भन्‍ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको देखियो । न.नं.३ को खाली जग्गा वादीकै कि.नं.४५७ भित्रको जग्गा देखिएकोले उक्त नं.नं.३ को जग्गामा प्रतिवादीको खिचोला मेटाई वादीलाई चलनसमेत चलाई दिने, न.नं.१ र २ को जग्गामा वादीको दाबी पुग्न नसक्ने ठहर भई सुरू सप्‍तरी जिल्ला अदालतबाट फैसला भएको पाइयो ।

सुरू सप्‍तरी जिल्ला अदालतबाट भएको फैसलामा वादीहरूले चित्त नबुझाई पुनरावेदन अदालत राजविराजमा पुनरावेदन गरेको देखियो । पुनरावेदन अदालत राजविराजबाट न.नं.१, २, ३, ८ र ९ का जग्गासम्म प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याउनु पर्नेमा सो नठहर्‍याएको हदसम्म सुरू फैसला केही उल्टी हुने भई वादीले चलनसमेत चलाई पाउने ठहर गरी फैसला भएको देखियो । पुनरावेदन अदालत राजविराजबाट भएको फैसलाउपर प्रतिवादीहरूले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेको 

देखियो ।     

अब, पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, वादीको कि.नं.४५७ को ०-९-५ जग्गा वादीहरू रमादेवी श्रेष्‍ठ र दिपक श्रेष्ठको नाउँमा संयुक्त दर्ता रहेको देखिन आएको छ । सो जग्गाको सम्बन्धामा वादी दिपक श्रेष्ठले गा.वि.स. कार्यालय, कल्याणपुर, सप्तरीमा जग्गा उपलब्ध गराई पाउँ भन्‍ने मिति २०६१।०३।१६, द.नं.४१३ को निवेदन दिएको देखिन्छ । 

३. सो निवेदनको बेहोरा हेर्दा, गा.वि.स. कल्याणपुर, वडा नं.८ अन्तर्गत मेरो र मेरो आमाको नाउँमा संयुक्त दर्तासमेत कायम रहेको १० कठ्ठा जग्गा यसै गा.वि.स. मा बस्ने श्री लोकेन्द्रनारायण श्रेष्‍ठले करिब २० वर्षदेखि भोगचलन गर्दै आएको सट्टामा ५ कठ्ठा जग्गा दिएको तर बाँकी जग्गाको कुनै हरहिसाब नदिएको र उक्त १० कठ्ठा जग्गाको मैले नै मालपोत तिर्दै आएकाले निज लोकेन्द्रनारायण श्रेष्ठको जग्गा निजलाई नै फिर्ता दिई मेरो जग्गा फिर्ता गराई दिन अनुरोध छ भन्‍ने बेहोरा उल्लेख भएको पाइन्छ । वादी दिपक श्रेष्ठले उक्त निवेदनको सम्बन्धमा मिति २०६६।०२।०७ मा अ.बं.७८ नं. बमोजिम सुरू सप्तरी जिल्ला अदालतमा बयान गरेको पाइन्छ । 

४. उक्त बयानमा दाबीको कि.नं.४५७ को जग्गामध्ये प्रतिवादीहरूले आधामा करिब २० वर्षजति अघिदेखि घर बनाई बसोबास गर्दै आएको भएपनि ३ वर्षअघि २०६२ साल फागुनदेखि घर पुनः निर्माण गरी जबरजस्ती बसेको हो, खाली गरी दिनु भन्दा नमानेकाले गा.वि.स. मा निवेदन दिएको थिएँ, सो सबै जग्गाको मालपोत मैले नै तिर्दै आएको छु, दर्ता स्रेस्तासमेत मेरै भएकाले मेरो हक लाग्ने हो, उक्त निवेदन गा.वि.स. को कार्यालय, कल्याणपुरमा मैले नै दिएको हो भन्‍ने बेहोरा लेखाएको पाइन्छ ।

५. उक्त निवेदन तथा वादीको अ.बं.७८ नं. बमोजिमको सुरू अदालतसमक्षको बयानबाट दाबीको कि.नं.४५७ को जग्गा वादी प्रतिवादीबिच २० वर्षअघिको सहमतिबमोजिम नै प्रतिवादीहरू उक्त जग्गामा बसोबास गर्दै आएको देखिन आयो । यसरी २० वर्षअघिबाटै प्रतिवादीहरू घर निर्माण गरी बसोबास गरी आएको देखिएको, वादीले पुनरावेदन अदालत राजविराजबाट भएको फैसलाउपर पुनरावेदन नगरी चित्त बुझाएकै देखिँदा प्रतिवादीहरूको पुनरावेदन जिकिरमा नै सीमित रही इन्साफ दिनुपर्ने देखिन 

आयो । 

६. प्रतिवादीहरूको पुनरावेदन जिकिर हेर्दा, मिति २०६८।०९।१४ को नक्सा कुण्डलीअनुसार न.नं.५ र न.नं.७(ख) मा रहेको घर र घरले चर्चेको जग्गा तथा सो घरमा आवतजावत गर्ने निकास बाटो रहेको न.नं.४ र ६ को हकमा बोलिएको तर अन्य न.नं.७, ७ क, ७ ग र ७ घ समेतका जग्गाका सम्बन्धमा केही नबोलिएको पुनरावेदन अदालत राजविराजको फैसला अस्पष्ट रहेको भन्‍ने नै प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको देखियो । पुनरावेदन अदालत राजविराजको मिति २०६८।०८।०५ को आदेशानुसार दाबीको कि.नं.४५७ को जग्गामा मिति २०६८।०९।१४ मा पुनः नक्सा मुचुल्का भएको पाइन्छ । सो मुचुल्कामा निम्नबमोजिम नक्सा भएको पाइन्छ ।

न.नं. कि.नं. क्षेत्रफल जग्गाको स्थिति

१ ४५७ ०-१-३.५६ खाली

२ ४५७ ०-१-१३.५९ खाली

३ ४५७ ०-०-१५.२९ परालको टौवा, लिचिको रूख-२, वेलको रूख-१, कागतीको रूखसमेत भएको

४ ४५७ ०-०-७.१९ घरदेखि पूर्वपट्टिको खाली जग्गा

५ ४५७ ०-०-८.५० आँगन जहाँ चर्पी, ३ कोठे फुसको घर, धान राख्ने भकारी, चापा कल

६ ४५७ ०-०-६.८६ घरदेखि पूर्वतर्फको खाली जग्गा

७ ४५७ ०-०-१४.५३ आँगन जहाँ तीन कोठे खपडाको घर, फुसको घर-१, चर्पी-१, चापा कल-१, 

८ ४५७ ०-०-१८.११ खाली

९ ४५७ ०-२-५.७१ खाली

 

 

७. उल्लिखित नक्सा मुचुल्काबाट न.नं.१, २, ३, ४, ५, ६, ७, ८ र ९ को जग्गाहरू वादीहरूको नाउँमा संयुक्त दर्ता रहेको कि.नं.४५७ को ०-९-५ को जग्गाभित्र पर्ने जग्गाहरू भएको देखियो । न.नं.१, २, ३, ८, र ९ को जग्गाहरू खाली रहेको देखिन्छ । अन्य न.नं.४, ५, ६ र ७ को जग्गाहरूमा प्रतिवादीहरूको बसोबास रही भोगचलनसमेत रहेको देखिन्छ । वादीहरूको उक्त न.नं.४, ५, ६ र ७ को जग्गामा प्रतिवादीहरू बीस वर्षअघिबाट बसोबास रही भोगचलनसमेत रहेको तथ्य वादीले मिति २०६१।०३।१६ मा गा.वि.स.को कार्यालय, कल्याणपुरमा दिएको निवेदन र सो निवेदनउपर सुरू सप्‍तरी जिल्ला अदालतमा अ.बं.७८ नं. बमोजिम गरेको बयानबाट पुष्टि भइसकेको छ । प्रतिवादीहरूले २० वर्षअघिबाट घर निर्माण गरी भोगचलन गरी आएको न.नं.४, ५, ६ र ७ को जग्गाबाहेकका खाली जग्गासम्म प्रतिवादीहरूले खिचोला गरेको ठहर गरी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको देखिन्छ । 

८. जग्गाधनीको सहमतिबाट २० औं वर्षदेखि घर बनाई बसोबास गरी भोगाधिकारको हक प्राप्‍त गरेको घर तथा सो घरमा आउने जाने निकास बाटोको हकमा वादी दाबी नपुग्ने गरी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको छ । वादीहरूको नाउँमा दर्ता रहेको हक स्वामित्वको कि.नं.४५७ को जग्गामध्ये प्रतिवादीहरूको भोगाधिकार रहेको विवादित घर जग्गाबाहेक अन्य खाली जग्गामा सो भोगाधिकारको नाताले स्वतः जग्गा प्राप्‍त गर्ने आधार हुँदैन । जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्‍त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्‍त हुँदैन । अन्यथा जग्गा दर्ता स्वामित्वसम्बन्धी कानूनी व्यवस्थाको कुनै अर्थ रहँदैन । प्रतिवादीहरूले २० वर्षअघिदेखि घर निर्माण गरी बसोबास गरिआएको न.नं.४, ५, ६ र ७ बाहेक अन्य वादीहरूको दर्ताको कि.नं.४५७ को न.नं.१, २, ३, ८ र ९ को जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला अन्यथा भन्‍न मिलेन । प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सक्दैन ।

९. अत: न.नं.३ को जग्गासम्म प्रतिवादीहरूले खिचोला गरेको ठहर गरी सुरू सप्‍तरी जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने गरी न.नं.१, २, ३, ८ र ९ को जग्गासमेत प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।१०।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृतः नरहरि ढकाल, कालिबहादुर साम्यू लिम्बू

इति संवत् २०७५ साल मङ्सिर १९ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु