निर्णय नं. १०२७६ - निर्णय दर्ता बदर हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७६।३।३१
०७०-CI-०३११
मुद्दाः- निर्णय दर्ता बदर हक कायम
पुनरावेदक / प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट अख्तियार प्राप्त ऐ.का कार्यकारी अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने हरिप्रसाद शर्मासमेत
विरूद्ध
प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १६ बस्ने पूर्णबहादुरको मु.स. गर्ने ऐ.ऐ. बस्ने रत्नदेवी चित्रकार
एउटाको हक स्थापित भइसकेको सम्पत्तिमा त्यस्तो सम्पत्तिको स्वामीको मन्जुरीबेगर भोगचलन गरेकै आधारमा मात्र स्वामित्वविहीन व्यक्तिलाई त्यस्तो सम्पत्तिको स्वामी बनाउन नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री चण्डेश्वर श्रेष्ठ
अवलम्बित नजिर :
ने.का.प.२०७४, नि.नं.९८४९, पृ.१२९१
ने.का.प.२०६४, अंक १०, नि.नं.७८८५, पृ.१२०५
सम्बद्ध कानून :
गुठी संस्थान ऐन, २०३३
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल
ललितपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
पुनरावेदन अदालत पाटन
फैसला
न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत पाटनको मिति २०६७।३।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदक प्रतिवादीहरूको संयुक्त निवेदन परी यस अदालतको मिति २०७०।२।१७ को आदेशले मुद्दा दोहोर्याई हेर्न अनुमति प्राप्त भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ :-
ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १३ को हाल ऐ. वडा नं. १९ टंगाल स्थित कि.नं. १०१ को ०-०-३-० (तीन पैसा) जग्गामा मैले परापूर्वकालदेखि नै घर बनाई बसी ललितपुर नगरपालिकाबाट मिति २०३८।९।१२ मा सिफारिस लिई छाना फेरी मर्मत गरी भोगचलनसमेत गर्दै आएको घरजग्गा नापीकै बेलामा फिल्डबुकमा जग्गाधनीको महलमा श्री मछेन्द्रनाथ आरती गुठी जनिएको र जोताहा महलमा म फिरादीको नाम जनिएको हुँदा उक्त घर जग्गा म जोताहाको हैसियतले साबिकदेखि हालसम्म उक्त घरलाई मर्मत गरी बसी आएकोमा उक्त घर जग्गा दर्ता हुन बाँकी भएकाले दर्ता गरिपाउँ भनी मैले गुठी तथा खर्च कार्यालयमा मिति २०४७।९।२ मा द.नं. १२१ मा नगरपालिकाको मिति २०४७।८।१६ को सिफारिससमेतका कागजात राखी निवेदन दिएकोमा सो निवेदनमा कुनै निर्णय नै नगरी त्यसै राखेको र तारेखमा पनि नराखेकाले बाध्य भई परमादेशको माग गरेको थिएँ । पुनरावेदन अदालत पाटनबाट मिति २०५८।५।७ मा परमादेश जारी भएकोमा विपक्षीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले सर्वोच्च अदालतबाट मिति २०६१।१२।४ मा पुनरावेदन अदालतको आदेश सदर भएको हुँदा मेरो मागबमोजिम दर्ता गर्न नमिल्ने र मोही कायम हुन नसकेको घर जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिम तैनाथी जग्गा हो भनी मिति २०६२।९।५ मा निर्णय भएको रहेछ । गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) को आधार लिइएको सम्बन्धमा हेर्दा सार्वजनिक पर्ती जग्गा भनिएको छ तर उक्त जग्गामा साबिकदेखि नै घर भएको भन्ने कुरा साबिक नक्साबाट समेत पुष्टि भएको कुरा उल्लेख नै नगरी विपक्षीहरूले कि. नं. १०१ को क्षे.फ. रोपनी ०-०-३-० (तीन पैसा) जग्गामा रहेको मेरो बसोबासको घरलाई गुठी तैनाथी हो भनी लाग्नै नसक्ने दफा लगाई प्रमाणको गलत मूल्याङ्कन गरी गरेको मिति २०६२।८।१० को निर्णय र काम कारबाही तथा २०६२।९।५ को निर्णय दर्तासमेत बदर गरी मेरो हक कायम गरी मेरै नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादी पूर्णवहादुर चित्रकारको फिराद दाबी ।
जग्गा नापजाँच हुँदा जग्गाधनीमा मछिन्द्रनाथको आरती गुठी जनिएको छ र फिल्डबुकको प्रमाण महलमा मालपोत कार्यालयको च.नं. २९३२ मिति २०४२।११।८ को पत्रले मछिन्द्रनाथ गुठी दर्ता भन्ने लेखिएको छ । जग्गाधनीको नाममा श्री मछिन्द्रनाथ गुठी तथा जग्गाधनीको वतनमा श्री मछिन्द्रनाथको साँझ बिहान आरती गर्ने आरती घर भन्ने जनिई मिति २०४५।११।५ मा दर्ता प्रमाणित भई पुर्जा बनिसकेकोलाई विपक्षीले अन्यथा भन्न नसकेको र यो आरती गुठीको घरलाई घर रहेको ठाउँको अभाव हेरी उपयुक्त बहालमा लगाउने साबिकमा परम्परादेखि चलिआएको कार्यमा कति पनि बाधा नपर्ने भनी व्यवस्था गर्ने भन्ने गुठी संस्थानबाट मिति २०४५।५।१२ मा निर्णय भई अन्तिम भइरहेको हुँदा हदम्यादविहीन फिराद दाबी खारेज गरी गुठीका नाउँको दर्ता यथावत् कायम गरिपाउँ भन्नेसमेत बेहोराको गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं र ललितपुर गुठी तहबिल तथा खर्च कार्यालय तःबहाल ललितपुरको संयुक्त प्रतिउत्तर जिकिर ।
आदेशानुसार सुरू जिल्ला अदालतबाट विवादित कि.नं. १०१ को जग्गाको मिति २०६३।९।२८ मा नाप नक्सा मुचुल्का भई मिसिल सामेल रहेको ।
वादीका नाउँमा दर्ता गर्नु पर्नेमा सो नगरी मछिन्द्रनाथको आरती घर जनिई पुर्जा प्राप्त भइसकेकाले तैनाथी जग्गा हो भनी जनाउ दिने भनी गुठी संस्थान शाखा कार्यालय ललितपुरको मिति २०६२।९।५ को निर्णय मिलेको नदेखिँदा उक्त निर्णय बदर गरिदिएको छ । भोगको आधारमा वादी दाबीको कि.नं. १०१ को ज.रो. ०-०-३-० (तीन पैसा) जग्गा र सोमा बनेको घरसमेत यी वादीका नाममा दर्ता हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६५।१।२३ मा भएको फैसला ।
विवादित जग्गा कुन कानूनका आधारमा वादीका नाउँमा दर्ता हुने हो सो उल्लेख नभएको, वादीले मुलुकी ऐन, जग्गा मिच्नेको महलको १८ नं., जग्गा पजनीको महलको १७ नं. र गुठी संस्थान ऐन, २०३३ को दफा २५(४), २६(४) र २७(७) को आधारमा फिराद गरेको खण्डमा गुठी संस्थान ऐन, २०३३ मा दफा २७(७) नै नरहेको तथा फैसला हुँदा वादीको साबिक यो लगतबाट भिड़ी दर्ता हुने भन्नेसमेत उल्लेख नभएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी गुठी संस्थानको मिति २०६२।८।१० र २०६२।९।५ को निर्णय यथावत् कायम राखी पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गुठी संस्थान केन्द्रीय कार्यालयसमेतले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदनपत्र ।
यसमा विवादित कि.नं. १०१ को जग्गा श्री मछिन्द्रनाथ गुठीको नाममा दर्ता भएको दर्ता स्रेस्ता प्रमाण मिसिलमा सामेल रहेको देखिँदा सो दर्ता स्रेस्ता यथावत् कायम रहेको अवस्थामा सो दर्ता स्रेस्ताको मूल्याङ्कन नगरी भएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई म्यादभित्र हाजिर भएमा वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालतबाट मिति २०६५।१२।२७ मा भएको आदेश ।
यिनै प्रत्यर्थी वादी र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालयसमेत भएको परमादेश रिटमा विवादित कि.नं. १०१ को जग्गा दर्ता गरिपाउँ भन्ने निवेदनमा गुठी संस्थानले कुनै निर्णय नगरेको हुँदा परमादेशको आदेश जारी गरिपाउँ भनी दिएको रिट निवेदनमा पुनरावेदन अदालत पाटनबाट मिति २०५८।५।७ मा जारी भएको परमादेशको आदेशउपर गुठी संस्थानसमेतको पुनरावेदन पर्दा सम्मानित सर्वोच्च अदालतबाट पुनरावेदन अदालतको निर्णयलाई सदर गरी मिति २०६१।१२।४ मा फैसला भएपश्चात् गुठी संस्थानले मिति २०६२।८।१० र २०६२।९।५ मा विवादित घर जग्गा यी वादीका नाममा दर्ता गर्न नमिल्ने भनी निर्णय गरेको रहेछ । विवादित जग्गा मच्छिन्द्रनाथ आरती गुठीको हो भन्ने कुरालाई यी प्रत्यर्थी वादीले पनि स्वीकारेको अवस्था विद्यमान रहेछ । उक्त जग्गामा बनेको घर गुठी संस्थानले आफ्नो तहबाट निर्माण गरी यी प्रत्यर्थी वादीलाई बहालमा दिएको भन्ने कुनै प्रमाण पेस हुन सकेको नदेखिँदा ललितपुर गुठी तहविल तथा खर्च कार्यालयबाट प्राप्त मिसिलमा उठेको मिति २०४७।११।२८ को टिप्पणीमा विवादित कि.नं. १०१ को जग्गा र सोमा बनेको घर पूर्णबहादुर चित्रकारले भोग चलन गरेको र भत्के बिग्रेकोमा बनाई आएको भन्ने बेहोरा उल्लेख भएको ललितपुर नगर पञ्चायतले मिति २०४०।३।२१ मा र ललितपुर नगरपालिकाले मिति २०६२।४।२३ मा विवादित घर जग्गा निवेदकको हक भोगमा रहेकोले दर्ता गरिदिनु भन्ने सिफारिस गरेको सुरू जिल्ला अदालतबाट मिति २०६३।९।२८ मा भई आएको नक्सा एवम् सर्जमिन मुचुल्काबाट समेत विवादित घर जग्गा पूर्णबहादुर चित्रकार र निजको परिवारले नै भोगी आएको भन्ने देखिएको, यी प्रत्यर्थी वादीले नगर पञ्चायतको पूर्वस्वीकृति नलिई तला थपेबापत नगर पञ्चायतले निजबाट मिति २०४२।२।३ मा रू.१३५।- जरिवाना गरेकोसमेत अवस्था विद्यमान रहेछ । उल्लिखित आधार कारणसमेतबाट गुठी संस्थानको मिति २०६२।९।५ को निर्णय बदर गरी विवादित कि.नं. १०१ को जग्गा र सोमा बनेको घर मोहीको हैसियतले यी प्रत्यर्थी वादीका नाममा दर्ता गर्ने गरी भएको सुरू फैसलालाई अन्यथा भन्नु पर्ने अवस्था देखिएन । ललितपुर जिल्ला अदालतबाट मिति २०६५।१।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६७।३।२३ मा भएको फैसला ।
वादीले पुनरावेदन अदालत पाटनमा निवेदन गर्दा आफूले मिति २०४७।९।१२ मा दिएको निवेदनउपर कारबाही गरी निवेदनको टुङ्गो नलगाएको हुनाले निवेदनको टुङ्गो लगाउनु भनी परमादेशको आदेश जारी गरिपाउँ भनी निवेदन परेकोमा सो रिट निवेदनमा लामो समयसम्म कारबाहीको टुङ्गो नलागेको हुनाले सो निवेदनउपर जे जो निर्णय गर्नु पर्ने हो, कानूनबमोजिम निर्णय गर्नु भनी पुनरावेदन अदालत पाटनबाट मिति २०५८।५।१ मा परमादेशको आदेश जारी भई सो निर्णयलाई सदर हुने गरी सर्वोच्च अदालतबाट मिति २०६१।१२।४ मा निर्णय भएको
हो । पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट मिति भएको आदेशहरूमा उक्त कि.नं. १०१ को जग्गामा बनेको घर वादीको हो भनी कतै बोलिएको छैन । अर्को कुरा, फैसला गर्दा मच्छिन्द्रनाथको आरती गुठीको जग्गा हो भनी वादीले स्वीकार गरेको छ भन्ने आधार लिएको छ । उक्त घर जग्गा मच्छिन्द्रनाथको आरती गुठीको घर जग्गा भएको गुठी लगत तथा सर्भे नापीको समयमा तयार भएको फिल्डबुक तथा मालपोत कार्यालयबाट खडा भएको दर्ता स्रेस्ताबाट प्रस्ट देखिन्छ । उक्त घर जग्गा गुठी अधीनस्थ नभई गुठी संस्थान ऐन, २०३३ दफा २५(४) बमोजिम देवस्थल गहना वा देवी देवता, देवस्थ पर्व पूजा जात्रासँग सम्बन्धित गुठी घर जग्गा हो । यस्तो गुठीको घर जग्गालाई वादीले गुठीको जग्गा हो भनी स्वीकार्दैमा उक्त कि.नं. १०१ मा रहेको घर वादीको हो भन्न मिल्ने होइन ।
उक्त घर जग्गाको गुठीले साबिक लगत स्रेस्ता पेस गरेको छ । उक्त घर जग्गा तत्कालीन श्री ५ को सरकारतर्फ गुठी लगत जाँच अड्डा, श्री ५ को सरकारतर्फ हाल यस मच्छिन्द्रनाथका गुठी तहविलबाट अमानत चली आएको पाटन श्री मच्छिन्द्रनाथको नित्य आरती पर्वको पूजा गुठीको आम्दानी खर्च बाँकी कसरसमेतको लगत किताबमा घरबारी ३ मा बुङ्गमतीको १ पाटन २ छ भन्ने स्पष्ट लेखिएको
छ । सोही घर नै यस कि नं. १०१ को जग्गामा रहेको घर हो । गुठी जग्गा रहेको घरलाई कति पनि पूजापाठमा असर नपर्ने गरी बहालमा लगाउने भन्ने व्यवस्था रहेको छ । सो सम्बन्धमा गुठीबाट मिति २०४८।५।१२ मा निर्णयसमेत भएको छ । उक्त घर मच्छिन्द्रनाथको आरती गुठी हो भन्ने कुरा गुठी नाइके राम बज्राचार्यले मिति २०४६।४।१७ मा गुठीमा दिएको निवेदनबाट समेत स्पष्ट हुन्छ । गुठी तहविल खर्च कार्यालयको मिति २०४७।११।२८ को टिप्पणी निर्णय होइन । निवेदन कारबाहीको सिलसिलामा मिसिलमा देखिएको कुरासम्म उल्लेख भएको हो । कि.नं. १०१ को गुठीको घरमा वादीले भोगचलन गरी आएको हो । घर मर्मत सम्भार गर्दैमा र सो कुरा टिप्पणीमा उल्लेख गर्दैमा वादीको घर हो भन्ने प्रमाण हुन सक्दैन ।
वादीले कि.नं. १०१ को घर जग्गा सुरूमा आफ्नो रखवारी तिरो तिरान केही नभएको घर जग्गा हो भनी आफ्नो नाममा दर्ता गरिपाउँ भनी मिति २०४०।३।२१ मा नगरपालिकाबाट सिफारिस लिई मिति २०४०।८।२५ मा मालपोत कार्यालयमा निवेदन दिई कारबाही चलाएका थिए । आफ्नो भन्ने प्रमाण नपुगेपछि मच्छिन्द्रनाथको आरती गुठीको भई घर आफ्नो हो भनी दाबी बदलेका छन् । नगरपालिकाबाट सिफारिस दिँदा सम्बन्धित घर जग्गाको साँध सँधियार छिमेकी राखी सर्जमिन गर्दा सर्जमिनका सबै मानिसले मच्छिन्द्रनाथको आरती गुठीको घर हो भनी मिति २०४७।८।१६ मा सर्जमिन गरिदिएका छन् । नगरपालिकाले सिफारिसमा वादीको घर हो भनी सिफारिस दिएको छैन । वादीले भोगचलन गरी आएकोसम्म उल्लेख गरी सिफारिस भएको छ । भोग चलनको आधारमा आरती गुठीको घरलाई वादीको निजी घर भन्न मिल्ने होइन ।
मच्छिन्द्रनाथको आरती गुठीको घरजग्गा सर्भे नापी हुँदा फिल्डबुकमा चन्दनाथ आरती घर भनी फिल्डबुक तयार भई उक्त घर जग्गाको मिति २०४२।११।८ मा मच्छिन्द्रनाथ आरती गुठी भनी प्रमाणित पुर्जा बनेको छ । सो प्रमाणित पुर्जामा नै मिति २०४२।११।८ उल्लेख भएको छ भने फिल्डबुकमा मालपोत कार्यालयको च. नं. २९३२, मिति २०४२।११।८ को पत्र मछिन्द्रनाथ आरती गुठीमा दर्ता प्रमाणित भनी उल्लेख भएको छ । यसरी मिति २०४२।११।८ मा गुठी तैनाथीमा दर्ता प्रमाणित भएको घर जग्गामा पछि मिति २०४७।९।२ मा दिएको निवेदनको आधारमा पहिला नै दर्ता प्रमाणित भएको घर जग्गा वादीको हुन सक्दैन । सरकारी कार्यालयमा रहेका स्रेस्तामा नै मिति २०४२।११।८ मा दर्ता प्रमाणित भएको कुरालाई अन्यथा भन्न सकिने अवस्था छैन ।
मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथ यही टोलमा रहँदाको अवधिभर यही कि.नं. १०१ को घरमा बसी साँझ बिहान नित्य आरती गर्नु पर्ने भई परम्पराबमोजिम आरती गरी आएको घर हो । यस्तो देवताको आरती घर कसैको नाममा दर्ता गर्न
मिल्दैन । कसैको नाममा दर्ता गरेको भएपनि यो दर्ता बदर गरी गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिम गुठीका नाममा दर्ता हुने घर जग्गा हो । गुठी संस्थानको मिति २०६२।८।१० र २०६२।९।५ को निर्णयलाई बदर गर्ने गरी ललितपुर जिल्ला अदालतबाट मिति २०६५।३।२३ मा र पुनरावेदन अदालत पाटनले सो फैसलालाई सदर गर्ने गरी मिति २०६७।३।२३ मा भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसलाहरू दोहोर्याई हेरी बदर गरी निवेदन मागबमोजिम गुठीको निर्णय कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गुठी संस्थानसमेतको तर्फबाट यस अदालतमा पेस भएको निवेदनपत्र ।
यसमा भोग गरेको आधारमा मोही कायम हुन वादीले माग गरेको देखिएको भए पनि विवादित जग्गा गुठीको भन्नेमा विवाद नदेखिएको र मोही हैसियत कसरी कायम गरेको भन्ने कुरा खुलाउन नसकेको, गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिम दाबी भएकोमा वादीले कानूनबमोजिम मोही कायम गरेको प्रमाणको अभावमा घर जग्गासमेतमा मोहीको हक कायम गरी गुठीको निर्णय बदर गरी वादीको नाममा दर्ता गर्ने ठहर्याएको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ अ.बं १८४क, १८५, ने.का.प. २०६१, अंक ५, पृष्ठ ५०६, नि.नं ७३७५ को समेत त्रुटि विद्यमान देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१ को उपदफा (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेस गर्नु भनी यस अदालतबाट मिति २०७०।२।१७ मा भएको आदेश ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी गुठी संस्थानको तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ता ज्ञानेन्द्रप्रसाद पोखरेलले विवादित कि.नं. १०१ को ०-०-३-० (तीन पैसा) जग्गा नापीमा मछिन्द्रनाथ गुठी जनिई नापी भएको हो । उक्त जग्गा वि.सं. २०३८ सालको नापी नक्साको आधारमा वि.सं. २०४२ सालमा नै श्री मछिन्द्रनाथ आरती गुठीका नाउँमा दर्ता भएको हो । उक्त जग्गा विपक्षीको पति पूर्णबहादुर चित्रकारले आफ्नो नाउँमा दर्ता गरिपाउँ भनी निवेदन दिएकोमा सो निवेदनमा कारबाही नभएकाले परमादेश जारी गरिपाउँ भनी पुनरावेदन अदालत पाटनमा रिट निवेदन दर्ता गर्दा उक्त रिट निवेदनमा पुनरावेदन अदालतबाट कानूनबमोजिम निर्णय गर्नु भनी आदेशसम्म जारी भएको हो । विवादित जग्गा यी विपक्षीका नाउँमा दर्ता गरिदिनु भनी रिट निवेदन जारी भएको होइन । भोगको आधारमा मात्र वादीका नाउँमा जग्गा दर्ता हुने भनी जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण
छ । गुठीको स्वामित्वलाई समाप्त पार्ने गरी फैसलाबाट जग्गालाई रैकर बनाउने काम भएको छ । सम्मानित अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गर्दा उल्लेख गरेको आधारमा पनि सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको छैन । मिति २०४६।४।२७ मा आरती गुठीका राम बज्राचार्यले निवेदन दिँदा उक्त जग्गा रत्नदेवी चित्रकारलाई बहालमा दिएको भन्ने स्पष्ट हुन्छ । विपक्षीले उक्त जग्गाको साबिकको स्रोत खुलाउन सकेका छैनन् । उक्त जग्गा भोगको आधारमा मात्र वादीका नाउँमा दर्ता हुने होइन । नापीमा उक्त जग्गा आरती गुठीकै हो भन्ने देखिएको छ । मिति २०६३।९।२८ को नक्साबाट पनि उक्त जग्गा स्ववासी भन्ने देखिँदैन । मछिन्द्रनाथ गुठीको आम्दानी खर्चको विवरण लगत किताबमा पनि विवादित जग्गा गुठीकै भएको देखिन्छ । विपक्षीले पनि सो जग्गालाई आरती गुठीको जग्गा भनी सुरू फिरादमा स्वीकार गर्नुभएकोमा फैसलामा सो जग्गालाई रैकर भनिएको छ । फिराद दाबी एकातर्फ छ भने फैसला अर्कोतर्फ
देखिन्छ । विपक्षीलाई बसोबासको क्रममा नगरपालिकाले सिफारिससम्म दिएको देखिन्छ । सुरू फैसला र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
विपक्षी वादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठले विवादित जग्गाको विषयमा पुनरावेदन अदालत पाटनबाट परमादेशको आदेश जारी भएको छ । गुठी संस्थानबाट २०६२ सालमा टिप्पणी सदर गरी विवादित जग्गामा मोही कायम गर्न नसकिने तैनाथीमा दर्ता भएको जग्गा भनी निर्णय भएको छ । कि.नं. ९८ सँग सम्बन्धित जग्गा भिड्ने कि.नं. १०१ को जग्गा छ भनी पुनरावेदकले भन्न सकेको छैन । वि.सं. २०३८ सालमा नापी हुँदाको अवस्थामा फिल्डबुकको बेहोरामा घर जनिएको छ । विवादित जग्गाको क्षेत्रफल न्यून छ । सो जग्गामा परापूर्वकालदेखि बनाएको घर छ । तत्कालीन अवस्थामा नगरपञ्चायतको स्वीकृति नलिई तला थपेको कारण रू.१३५।– जरिवानासमेत भएको छ । मिति २०६२।९।५ मा मात्र जग्गा तैनाथी भनी निर्णय भएको छ । गुठी संस्थानले गुठीसम्बन्धी ऐन, २०३३ को दफा ३९(१) को प्रयोग नगरी दफा २५(४) बमोजिम निर्णय गरेकाले गुठी संस्थानको निर्णयउपर जिल्ला अदालतमा नालिस दिन गएको हो । हाम्रो पक्षलाई वि.सं. २०४२ सालको दर्ता निर्णयउपर नआएको भनी विपक्षीले जिकिर लिएको भएपनि त्यस्तो निर्णयको जानकारी हाम्रो पक्षलाई कहिँकतै गराएको देखिँदैन । वि.सं. २०३८ सालमा हाम्रो पक्षको फिल्डबुक कायम भएको जग्गा हो । गुठी संस्थान ऐनको दफा २५(४) को व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित हुँदैन । यो जग्गामा मन्दिर, देवस्थल केही छैन । गुठी संस्थान ऐनको दफा २५(३) लाई पनि मनन गरिनु पर्छ । निस्सा प्रदान गर्दा उल्लेख भएको नजिर यो मुद्दासँग मिल्दैन । पर्ती जग्गाको सन्दर्भमा सो नजिर आएको हो । सो जग्गामा हाम्रो पक्षले वि.स. १९९८ सालदेखि नै घर बनाई आएको अवस्था छ । सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम दुवैतर्फबाट उपस्थित हुनुभएका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा ललितपुर जिल्ला अदालतबाट वादी दाबी पुग्ने ठहर गरी भएको फैसलालाई सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, विवादित कि.नं. १०१ को ०-०-३-० (तीन पैसा) जग्गामा परापूर्वकालदेखि नै घर बनाई घरको छाना फेरी मर्मत गरी भोग चलनसमेत गर्दै आएको घरजग्गा नापीकै बेलामा फिल्डबुकमा जग्गाधनी महलमा श्री मछिन्द्रनाथ आरती गुठी जनिएको र जोताहा महलमा म फिरादीको नाम जनिएको हुँदा उक्त घर जग्गा जोताहाको हैसियतले साबिकदेखि हालसम्म उक्त घरलाई मर्मत गरी बसी आएकोमा उक्त घरजग्गा दर्ता हुन बाँकी भएकाले दर्ता गरिपाउँ भनी गुठी तथा खर्च तहबिल कार्यालयमा मिति २०४७।९।२ मा द.नं. १२१ को निवेदन दिएको
थिएँ । सो निवेदनमा कुनै निर्णय नगरी राखेकाले पुनरावेदन अदालत पाटनमा परमादेशको रिट निवेदन दिएकोमा मिति २०५८।५।७ मा परमादेश जारी भएको र विपक्षीले सो आदेशउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा मिति २०६१।१२।४ मा पुनरावेदन अदालतको आदेश सदर भएकोमा अदालतको सो निर्णयलाई बेवास्ता गरी मेरो मागबमोजिम दर्ता गर्न नमिल्ने भनी मिति २०६२।९।५ मा निर्णय भएको रहेछ । विपक्षीहरूले कि. नं. १०१ को ज.रो. ०-०-३-० (तीन पैसा) जग्गामा रहेको मेरो बसोबासको घरलाई गुठी तैनाथी हो भनी असान्दर्भिक दफा लगाई प्रमाणको गलत मूल्याङ्कन गरी गरेको मिति २०६२।८।१० को निर्णय र काम कारबाही तथा २०६२।९।५ को निर्णय दर्तासमेत बदर गरी मेरो हक कायम गरी मेरै नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिराद दाबी रहेछ । जग्गा नापजाँच हुँदा जग्गाधनीमा मछिन्द्रनाथको आरती गुठी जनिएको छ र फिल्डबुकमा प्रमाण महलमा मालपोत कार्यालयको च.नं. २३३२ मिति २०४२।११।८ को पत्रले मछिन्द्रनाथ गुठी दर्ता भन्ने लेखिएको छ । जग्गाधनीको नाममा श्री मछिन्द्रनाथ गुठी तथा जग्गाधनीको वतनमा श्री मछिन्द्रनाथको साँझ बिहान आरती गर्ने आरती घर भन्ने जनिई मिति २०४५।११।५ मा दर्ता प्रमाणित भई पुर्जा बनिसकेकोलाई विपक्षीले अन्यथा भन्न नसकेको भन्नेसमेत प्रतिउत्तर जिकिर रहेछ । प्रस्तुत मुद्दामा गुठी संस्थान शाखा कार्यालय ललितपुरको मिति २०६२।९।५ को निर्णय मिलेको नदेखिँदा उक्त निर्णय बदर गरिदिएको छ । भोगको आधारमा वादी दाबीको कि.नं. १०१ को ०-०-३-० जग्गा र सोमा बनेको घरसमेत यी वादीका नाममा दर्ता हुने ठहर्छ भनी ललितपुर जिल्ला अदालतबाट मिति २०६५।१।२३ मा फैसला भएको रहेछ । उक्त फैसला उल्टी गरिपाउँ भनी प्रतिवादीले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा सुरूको फैसला सदर हुने ठहरी मिति २०६७।३।२३ मा पुनरावेदन अदालतबाट फैसला भएको रहेछ । सो फैसलाउपर प्रतिवादीहरूको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा निवेदन दिएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को उपदफा (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भनी यस अदालतबाट मिति २०७०।२।१७ मा आदेश भई प्रस्तुत मुद्दा पुनरावेदनसरह दर्ता भएको रहेछ ।
३. अब पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन भनी हेर्दा प्रस्तुत विवाद ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १३ को हाल ऐ. वडा नं. १९ टंगाल स्थित कि.नं. १०१ को ०-०-३-० (तीन पैसा) जग्गाको हक स्वामित्वसँग सम्बन्धित रहेको देखिन्छ । सो घरजग्गा जोताहाको हैसियतले साबिकदेखि हालसम्म घरलाई मर्मत गरी आएकाले उक्त घरजग्गा दर्ता गरिपाउँ भनी वादीले मिति २०४७।९।२ मा दर्ता नं. १२१ को निवेदन गुठी तथा खर्च कार्यालयमा दिएको देखिन्छ । उक्त निवेदनमा सो कार्यालयबाट समयमा निर्णय नभएपछि निर्णय गर्नका लागि परमादेशको आदेश जारी गरिपाउँ भनी वादीले तत्कालीन पुनरावेदन अदालत पाटनमा रिट दायर गरेकोमा उक्त निवेदनमा कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरिदिएको छ भनी पुनरावेदन अदालतबाट मिति २०५८।५।७ मा परमादेशको आदेश जारी भएको र सो आदेशउपर पुनरावेदक प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परेकोमा सोही आदेश सदर हुने गरी यस अदालतबाट मिति २०६१।१२।४ मा निर्णय भएको देखियो । उक्त निर्णयबाट विवादित घरजग्गाको हक वा भोगको विषयमा कुनै कुरा बोलिएको नभई आफूसमक्ष परेको निवेदनमा निर्णय गर्नु भनी निर्देश गरेकोसम्म देखिन्छ । यसरी परमादेशको आदेश जारी भएपछि पुनरावेदक प्रतिवादीबाट वादीले दिएको द.नं.१२१ मिति २०४७।९।२ को निवेदनमा कारबाही गर्ने सिलसिलामा उक्त विवादित घरजग्गा निवेदकका नाउँमा दर्ता गर्न नमिल्ने भनी कारण खुलाई मिति २०६२।९।५ मा निर्णय भएको देखिन्छ । उक्त निर्णय भएपछि वादीले सो निर्णयलाई बदर गरी विवादित कि.नं. १०१ को घरजग्गामा हक कायम गरी आफ्नो नाउँमा दर्तासमेत गरिपाउँ भनी अदालत प्रवेश गरेको देखिन्छ ।
४. सो सम्बन्धमा विवादित जग्गाको प्रकृति के रहेछ भनी हेर्दा सर्वे नापीको फिल्डबुकमा विवादित कि.नं. १०१ को जग्गाधनीको महलमा “श्री मछिन्द्रनाथ आरती गुठी” भन्ने उल्लेख भएको देखिन्छ भने जोताहा महल खाली देखिन्छ । त्यसैगरी २०४२ सालमा नै उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जामा जग्गाधनीको नाममा ‘श्री मछिन्द्रनाथ आरती गुठी” भन्ने उल्लेख भई गुठीले आफ्नो नाउँमा प्राप्त गरिसकेको देखिन्छ र जग्गाधनी दर्ता प्रमाण पुर्जामा जग्गाधनीको वतन महलमा “श्री मछिन्द्रनाथको साँझ बिहान आरती गर्ने आरतीघर” भन्ने उल्लेख भएको देखिन्छ । साथै उक्त प्रमाण पुर्जाको मोही महलमा कसैको नाम उल्लेख भएको देखिँदैन । विपक्षी वादी पूर्णबहादुर चित्रकारले सुरू जिल्ला अदालतमा फिराद गर्दासमेत विवादित कि.नं. १०१ को घरजग्गा नापीकै बेलामा फिल्डबुकको जग्गाधनीको महलमा श्री मच्छिन्द्रनाथ आरती गुठी जनिएको कुरालाई स्वीकारै गरेको देखिन्छ भने जोताहाको महलमा आफ्नो नाम जनिएको छ भन्ने दाबी लिएको देखिए तापनि फिल्डबुक वा जग्गाधनी प्रमाण पुर्जामा जोताहाको महल खाली रहेकोबाट निज उक्त विवादित घरजग्गाको मोही हुन् भनी मान्न सकिने अवस्थासमेत देखिँदैन । जहाँसम्म फिल्डबुकको जग्गाधनी महलमा श्री मछिन्द्रनाथको आरती गुठी लेखेपछि पूर्णबहादुर चित्रकारको नाम लेखिएको प्रश्न छ, त्यसले यी विपक्षी वादी विवादित जग्गाको मोही रहेछ भन्ने जनाउँदैन । मोही हुनको लागि मोही महलमा नाम उल्लेख भएकै हुनुपर्छ । विवादित जग्गाको फिल्डबुक वा जग्गाधनी प्रमाण पुर्जामा यी वादीको नाम मोही महलमा उल्लेख भएको नदेखिँदा निजलाई मोही रहेछ भनी भोगको अधिकार प्राप्त हुनसक्ने अवस्था देखिएन ।
५. आरती नाइके राम बज्राचार्यले गुठी संस्थान कार्यालयका अध्यक्षलाई सम्बोधन गरी मिति २०४६।४।२७ मा श्री मछिन्द्रनाथको आरती गर्न निकासा भइरहेको रकम र घरको बहाल दिलाइदिनु भन्ने आदेश पाउँ भनी लेखेको निवेदनको प्रकरण ३ मा श्री मछिन्द्रनाथको साल बसाल रथ जात्रा चलाई ल्याउँदा ल.पु. थती टोलमा धेरै दिन राज हुने भएकोले ललितपुर नगर पञ्चायत वडा नं. १२ थती टोलको पूर्व मूल सडक, पश्चिम पूर्णबहादुर चित्रकारको घर, उत्तर श्री मछिन्द्रनाथको दिउँसो आरती गर्ने भत्किएको आरती घर, दक्षिण पाटी यति ४ किल्लाभित्रको उत्तर दक्षिण लंग पूर्वमोहडाको आरती घरको दलान पसल कवल ३ भएको श्री मछिन्द्रनाथको आरती घर १९९० सालमा भुकम्पले बिग्रेको ...भत्की बनाएको आरती घरमा रात...आरती गरी आएको सो आरती घरमा ल.पु. टंगाल बस्ने रत्नदेवी चित्रकार बहालमा बस्न दिई आएकोमा सो घरको बहालबापत श्री मछिन्द्रनाथको वर्ष बन्धनमा पर्व पूजा चलान रक्सीपाथी ४ चार दिई आएको थियो । सो रकम पनि २०३७ सालदेखि दिएन भन्ने र प्रकरण नं. ४ मा सो आरती घर नापी हुँदा ल.पु.न.पं. वडा नं. १३ कि.नं. १०१ बाट नापी भएको फिल्डबुकमा श्री मछिन्द्रनाथ आरती घर भनी जनिएको छ भन्ने र प्रकरण १२ मा उल्लिखित कि.नं. १०१ को जग्गामा बनेको पसल कवल ३ भएको ३ कवल १ नाले ४ तले पूर्व मोहडा टायलछाना भएको आरती घरको बहाल बढाबढ गराई बढी कबुल गर्नेलाई सो आरती घर पसल चलन गर्न दिने सो पसलबाट आएको रकम आरतीको कामतर्फ खर्च लेखी दिनु भन्ने ललितपुर गुठी तहबिल तथा खर्च कार्यालयका नाउँमा आदेश जारी पाउन अनुरोध गर्दछु भन्ने उल्लेख भएको देखिन्छ ।
६. आरती नाइके राम बज्राचार्यले गुठी संस्थान कार्यालयमा चढाएको निवेदनको उल्लिखित बेहोरासमेतले विवादित कि.नं. १०१ को ज.रो. ०-०-३-० (तीन पैसा) जग्गा श्री मछिन्द्रनाथ आरती गुठीको हो भन्ने कुरालाई पुष्ट्याईं गरेको देखिन्छ । गुठीले कारबाही गर्दा “तःवहालको फुलबारीसमेतको झिंगटी घर-१ र थतीको घडेरी बारीसमेतको झिंगटी घर-१” भन्ने वि.सं. १९९५ को लगतको आधारमा विवादित घरजग्गालाई गुठीको कायम गरेको देखिन्छ । प्रमाणमा पेस भएको तत्कालीन ललितपुर नगर पञ्चायतको मिति २०४०।३।२१ को र ललितपुर नगरपालिकाको मिति २०६२।४।२३ सर्जमिन मुचुल्कामा पनि विवादित कि.नं. १०१ को घरजग्गा श्री मछिन्द्रनाथ आरती गुठीको र सो घरजग्गा हालसम्म निवेदकले भोगचलन गरी आएको भन्नेसम्मको कथनले पनि उक्त कि.नं. १०१ को जग्गा र सो जग्गामा बनेको घर मछिन्द्रनाथ आरती गुठीकै रहेछ भन्ने देखिन्छ ।
७. एउटाको हक स्थापित भइसकेको सम्पत्तिमा त्यस्तो सम्पत्तिको स्वामीको मन्जुरीबेगर भोगचलन गरेकै आधारमा मात्र स्वामित्वविहीन व्यक्तिलाई त्यस्तो सम्पत्तिको स्वामी बनाउन मिल्ने अवस्था रहँदैन । प्रस्तुत मुद्दामा विवादित कि.नं. १०१ को जग्गाको फिल्डबुकमा जग्गाधनीको महलमा श्री मछिन्द्रनाथ आरती गुठी भन्ने स्पष्ट उल्लेख भएको र सो जग्गाको वि.सं. २०४२ सालमा नै श्री मछिन्द्रनाथ आरती गुठीका नाउँमा जग्गाधनी प्रमाण पुर्जा बनिसकेको तथ्यले विवादित घरजग्गाको स्वामी श्री मछिन्द्रनाथ आरती गुठी नै भएको भन्ने देखिन्छ । फिल्डबुक उतार र जग्गाधनी प्रमाण पुर्जामा जोताहा अर्थात् मोहीको महलमा खाली नै रहेकोसमेतबाट पूर्णबहादुर चित्रकार उक्त घरजग्गाको मोही हुन् भन्ने कुरा पनि पुष्टि हुन सक्ने देखिँदैन ।
८. जहाँसम्म उक्त कि.नं. १०१ मा बनेको घरको प्रश्न छ सो घर यी विपक्षी वादीले बनाएको भन्ने कतैबाट पुष्टि हुनसकेको देखिँदैन । बनिसकेको घर मर्मत गर्नु भनेकोलाई घर निर्माण गरेको भन्ने अर्थ गर्नसमेत मिल्दैन । उक्त जग्गा श्री मछिन्द्रनाथ आरती गुठीका नाउँमा दर्ता हुनुले पनि सो घरजग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिमको देवस्थल वा देवी देवता, देवस्थ पर्वपूजा वा जात्रासँग सम्बन्धित गुठीको घरजग्गा रहेछ भन्ने देखिन्छ । यसका साथै सो जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जामा जग्गाधनीको वतनमा “श्री मछिन्द्रनाथको साँझ बिहान आरती गर्ने आरती घर” भन्ने उल्लेख हुनुले पनि यो घरजग्गा श्री मछिन्द्रनाथ आरती गुठीकै हो भन्ने कुरालाई थप पुष्टि गर्दछ । ललितपुर नगर पञ्चायत र नगरपालिकाबाट भएको विभिन्न मितिको सर्जमिन मुचुल्का र सिफारिस पत्रमा पनि विपक्षीले घरमा मर्मत गरेको र बसोबास गरिआएको भन्नेसम्म उल्लेख भएको देखिन्छ ।
९. मिसिल संलग्न सर्वे नापीको नक्सा हेर्दा कि.नं. १०१ को घरजग्गाको उत्तरमा कि.नं. ९८ भन्ने र दक्षिणमा कि.नं. १०२ उल्लेख भएको देखिन्छ । कि.नं. ९८ को घरजग्गाको हकमा गुठी संस्थान केन्द्रीय कार्यालयसमेत पुनरावेदक वादी र सञ्जयकुमार ताम्राकारसमेत विपक्षी प्रतिवादी भएको ०६४-CI-०८४४ को रैतानी बदर तैनाथी कायम मुद्दामा ‘कि.नं. ९८ को जग्गा व्यक्तिका नाउँमा पहिले गुठी अधीनस्थ र पछि गुठी रैतान नम्बरी जग्गा दर्ता भए गरेको बदर भई साबिकबमोजिम श्री मछिन्द्रनाथ गुठी साँझ बिहान आरती गर्ने आरती घर गुठी तैनाथी जग्गा नै कायम हुने भनी गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासकको मिति ०५८।१२।१ को निर्णय कायम हुने ठहर्छ‘ भनी यस अदालतबाट मिति २०७१।५।१५ मा फैसला भई अन्तिम भइरहेको देखिन्छ । साथै विवादित जग्गाको मिति ०६३।९।२८ को नक्सा हेर्दा कि.नं. ९८ को जग्गा न.नं. ६ र न.नं. ७ मा र कि.नं. १०१ को घरजग्गा न. नं. ९ मा देखिन्छ भने न.नं. ९ को दक्षिणमा न.नं. ८ मा क्लबले बनाएको सार्वजनिक घर रहेको
देखिन्छ । कि.नं. ९८ को पश्चिम र उत्तरतर्फ क्रमशः न. नं. ४ र न.नं. ५ मा कि.नं. ९४ र ९९ को जग्गामा सिद्धिरत्न चित्रकारको घर रहेको देखिन्छ भने कि.नं. १०१ को पश्चिमतर्फ न.नं. ३ मा कि.नं. ९७ को यिनै वादीको घर रहेको देखिन्छ । कि.नं. ९८ र १०१ को जग्गा दुवै बाटोतर्फ मोहडा भएको एउटै आकृतिमा रहेको पाइन्छ । यसबाट यी वादी पक्षले आफ्नो पछाडिको न.नं. ३ को घरको आधारमा विवादित कि.नं. १०१ को जग्गा अनाधिकार भोग गरेको रहेछ भन्ने देखिन्छ ।
१०. “मछिन्द्रनाथको जात्रा मल्लकालदेखि अनवरत रूपमा चलेको ललितपुरको अत्यन्त महत्त्वपूर्ण जात्रा हो । यो विश्वका मासिन लागेका मानव सम्पदा (Living Heritage) मध्ये एक हो भन्ने इतिहासले देखाउँछ । बुङमतीबाट तानिएको रथ पाटनका विभिन्न चोक गल्ली हुँदै थतीटोलमा आउने र केही दिन त्यही राज भई साँझ बिहान आरती गर्ने कुरा बुझ्न सकिन्छ । आरती नाइके राम बज्राचार्यको निवेदन र गुठी संस्थानको प्रतिउत्तरबाट पनि यो कुरा पुष्टि हुन्छ । गुठी परम्परा तथा गुठी सँस्कृति हाम्रो धर्म सँस्कृति र सभ्यतासँग जोडिएको विषय हो । मठ मन्दिरमा पूजाआजा गर्न, जात्रा आदि चलाउन आदि उद्देश्य र प्रयोजनको लागि गुठी जग्गा राखिएको हो । त्यस्तो सम्पदाको संरक्षण हरहालतमा गरिनु पर्छ ।” यस अदालतले प्रकाशमणी शर्मासमेत वि. नेपाल सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबारसमेत भएको उत्प्रेषण परमादेशको निवेदनमा गुठी सम्पदा हाम्रो सभ्यताको अभिन्न अङ्ग रहेको कुरालाई उजागर गर्दै नेपालमा मठ मन्दिरको निर्माण गर्न, त्यसको पूजा आजा चलाउन, विभिन्न सांस्कृतिक पर्व जात्राहरू सञ्चालन गर्न, सार्वजनिक महत्त्वका पाटी पौवा, बाटो, घाट, चौतारा बनाउन र त्यसको संरक्षण गर्न दाताहरूले निश्चित आयस्रोत हुने किसिमको जग्गा जमिन प्रदान गरी गुठी राखेको भन्दै “गुठी विभिन्न उद्देश्यले राखिन्छ । प्रचलन र परम्पराअनुरूप कसैले कुनै मन्दिरको स्थापना वा परम्पराअनुरूप पूजा आजा चलाउन वा भगवान्को नाममा कुनै परम्परागत प्रचलनलाई कायम राख्न ताम्रपत्र वा शिलापत्र वा अन्य कुनै लिखतद्वारा गुठी राखिन्छ । त्यसरी राखिएको गुठीको निरन्तरता र गुठी राख्दाको उद्देश्यअनुरूपको व्यवहार पनि धर्म र संस्कृतिसम्बन्धी हकको दायराभित्र पर्ने विषय हो । त्यस्ता हकको प्रचलनमा अवरोध सिर्जना गरियो भने त्यसलाई प्रचलन गराइदिने दायित्व अदालतले बहन गर्नुपर्छ” भन्दै गुठीको सम्पदाको संरक्षण गर्ने विषयलाई महत्त्व दिएको पाइन्छ । (ने.का.प. २०६४, अंक १०, नि.नं.७८८५ पृ.१२०५) त्यसैगरी निवेदक तुलसी सिंखडा विरूद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् भएको रिट निवेदनमा “नेपालको संविधानको धारा २६ द्वारा धार्मिक स्थल, धार्मिक गुठी एवम् सम्पदाको व्यवस्थापन कानूनमार्फत गर्न सक्ने अधिकार राज्यलाई प्रदान गरिएको कुराको स्मरण गर्दै कानूनको बर्खिलापका कार्यहरू गरिएको स्थितिमा यस्ता कार्यहरू रोक्नु राज्यको कर्तव्य हुन आउने” भन्ने सिद्धान्त कायम गरेको पाइन्छ । (ने.का.प. २०७४, नि.नं. ९८४९ पृ.१२९१)
११. त्यसै गरी सुन्दरलाल थारू विरूद्ध श्री गोरक्ष पात्रदेव सिद्द रत्ननाथ मठ चौधेरा दाङसमेत भएको ०७३-FN-००२२ को उत्प्रेषणयुक्त परमादेशको रिटमा यस अदालतको पूर्ण इजलासबाट मिति २०७५।११।२३ मा आदेश हुँदा “हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै हो । धर्म र संस्कृतिकै रक्षाको अभिष्ट राखी राजादेखि रंकसम्मबाट विभिन्न कालखण्डमा विभिन्न जग्गा गुठी राखिएका
हुन्छन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हो भन्ने र त्यसैगरी...कतिपय अवस्थामा धर्म संस्कृति र गुठीको जग्गा जोगिनु पर्छ भन्ने मत विस्तीर्ण हुँदाहुँदै पनि सुसुप्त नागरिक चेतनामा सीमित हुन्छ । तर व्यक्तिगत स्वार्थ, हित वा अधिकारको दाबी गर्ने पक्ष अदालतसामु नस नारि ठेलेर पौँठाजोरी खेल्दै न्याय प्रभावित पार्न उद्दत रहने अवस्था पनि हुन्छ । यस्तो प्रवृत्तिप्रति अदालत सदा सचेष्ठ रहनु पर्छ । न्याय सहजता र सुविधाको मात्र विषय होइन । कतिपय अवस्थामा यो दुरूह पनि हुन्छ भन्ने कुरालाई न्यायकर्मीहरूले मनन गरी न्याय सम्पादन गर्दै न्यायलाई सहज बनाउनु पर्छ । समाजमा न्यायले हरदम र हर हालतमा जित्नु पर्छ । अवाञ्छित स्वार्थको पराजय हुन सक्यो भने मात्र समाजमा न्याय चीरस्थायी हुन पुग्छ । न्याय जोगाउने दायित्व अदालतकै हो, त्यसैको लागि यो खडा भएको हो । समाजमा र राष्ट्रमा न्याय स्थापित हुन सक्दा मात्र न्यायको गरिमा सुरक्षित रहने हो” भन्ने निर्णय गरेको देखिन्छ ।
१२. प्रस्तुत विवादमा गुठी संस्थानबाट मिति २०६२।९।५ मा गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिम विवादित घरजग्गा तैनाथी गुठी हो भन्ने निर्णयको जानकारी दिनु भन्ने भएकोमा सो निर्णय बदर गरी माग्न फिराद परेको देखिँदा उक्त दफा २५(४) मा देवस्थल रहेका वा देवी देवता, देवस्थल, देवस्थ पर्व पूजा वा जात्रासँग सम्बन्धित धार्मिक एवम् सार्वजनिक पर्ती जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन, त्यस्तो दर्ता गरिएको रहेछ भनेपनि गुठी संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ । आरती घर मछिन्द्रनाथको जात्रा हुँदा गरिने पूजा आरतीसँग सम्बन्धित देखिँदा देवस्थल मान्नु पर्ने भई यस्तो घरजग्गा कसैको नाउँमा दर्ता गर्न मिल्ने प्रकृतिको देखिँदैन । वि.सं. १९९५ सालको लगतमा नै झिंगटीको घर देखिँदा यो घर यी वादीले बनाएको भन्न मिलेन । त्यस अर्थमा दफा २५ को उपदफा (३) बमोजिम उक्त कि.नं. १०१ को जग्गालाई रैतान नम्बरीमा परिणत गर्न सकिने प्रकृतिको देखिएन । त्यसैले गुठी संस्थान ऐन, २०३३ को दफा २५(३) बमोजिम हुनुपर्ने भनी वादीतर्फबाट उपस्थित भई बहस गर्नु हुने विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।
१३. अतः उपर्युक्त विवेचित आधार प्रमाण तथा प्रतिपादित सिद्धान्तहरूसमेतको आधारमा विवादित कि.नं. १०१ को घरजग्गा तैनाथी गुठीको देखिँदा सोमा बनेको घरसमेत विपक्षी वादीका नाउँमा दर्ता हुने ठहर्याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६५।१।२३ को फैसला र सो फैसलालाई सदर गर्ने गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६७।३।२३ को फैसला मिलेको नदेखिँदा उक्त फैसलाहरू उल्टी भई कि.नं. १०१ को जग्गा र सो जग्गामा रहेको घर गुठी संस्थान कार्यालयको मिति २०६२।८।१० र मिति २०६२।९।५ को निर्णयबमोजिम नै श्री मछिन्द्रनाथ आरती गुठीकै नाउँमा दर्ता कायम हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम सुरू ललितपुर जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई विवादित कि.नं. १०१ को जग्गा र सो जग्गामा बनेको घर श्री मछिन्द्रनाथ आरती गुठीकै नाउँमा दर्ता कायम रहने ठहरी फैसला भएकाले सुरू तथा पुनरावेदन अदालतको फैसलाअनुसार उक्त जग्गा तथा घर विपक्षी वादीका नाउँमा दर्ता भइसकेको भए सो दर्ता खारेज गरी उक्त घरजग्गा श्री मछिन्द्रनाथ आरती गुठीकै नाउँमा दर्ता गरिदिनु भनी मालपोत कार्यालय, ललितपुरमा पत्र लेखी पठाइदिनू ..............................................१
सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी भई वादी दाबी नपुग्ने ठहरेकाले वादीले सुरू अदालतमा फिराद दायर गर्दा राखेको कोर्ट फीको रकम रू.५,६९०।- कानूनबमोजिम जफत गर्नू ................२
पुनरावेदक प्रतिवादीहरूले सुरू फैसलाउपर पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा रू.५,६९०।– धरौटी राखेको देखिँदा उक्त धरौटीको रकम फिर्ता पाउँ भनी कानूनको म्यादभित्र दरखास्त दिन ल्याए नियमानुसार फिर्ता दिनु भनी उच्च अदालत पाटनको लेखा शाखामा लेखी पठाइदिनू ..............................................३
सरोकारवालाले नक्कल माग्न आए कानूनबमोजिम लाग्ने दस्तुर लिई नक्कल दिनू ...........................४
प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरी लगत कट्टा गरी सुरू तथा प्रमाण मिसिलहरू सम्बन्धित अदालतमा र प्रस्तुत मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू .......५
उक्त रायमा सहमत छु ।
न्या.डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत:- महेन्द्रबहादुर कार्की
इति संवत् २०७६ साल असार ३१ गते रोज ३ शुभम् ।