शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२७९ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: असोज अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७४।१२।२२

०७४-NF-०००६

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सप्‍तरी, कञ्‍चनपुर गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय सप्‍तरीमा थुनामा रहेका हरेन्द्रनारायण देव

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम रामकुमारको जाहेरीले नेपाल सरकार

 

जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइएन । साथै पीडितको उमेर १० वर्षको मात्र देखिएकोले त्यस्तो नाबालकले ३६ वर्षको प्रतिवादीसँग प्रतिकार गर्न सक्ने वा सतीत्व रक्षाको लागि संघर्ष गर्न सक्ने अवस्था नै नभएबाट शरीरको अन्य भागमा संघर्षका चिह्न नदेखिनु स्वाभाविक नै देखिने ।

(प्रकरण नं.५)

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा र विद्वान्‌ अधिवक्ता श्री सुमनकुमार पौडेल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणप्रसाद रिमाल

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने  :- 

माननीय न्यायाधीश श्री दुर्गाप्रसाद ढुङ्गेल

सप्‍तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

मा.मुख्य न्या. श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री उमेशकुमार सिंह

पुनरावेदन अदालत राजविराज

यस अदालत संयुक्त इजलासमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

मा.न्यायाधीश श्री श्री सपना प्रधान मल्ल

 

फैसला

न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२) खण्ड (ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) खण्ड (ख) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ ।

मिति २०७०।०१।१४ का दिन बिहान म जाहेरवालाको छोरी वर्ष १० को परिवर्तित नाम कञ्चनपुर (क) प्रतिवादी हरेन्द्रनारायण देवको पसलमा खानेकुरा किन्न गएको अवस्थामा हरेन्द्र नारायण देवले मेरो छोरीलाई ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेपछि छोरी रूँदै घरमा आई घटनाको बारेमा जानकारी गराएको हुँदा हरेन्द्रनारायण देवलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम रामकुमारको जाहेरी दरखास्त ।

जिल्ला सप्तरी, कञ्चनपुर गा.वि.स., वडा नं. ९ स्थित  हरेन्द्रनारायण देवको घरको पश्चिमपट्टिको कोठाको उत्तर–दक्षिण रहेको कोठाको पलङमा मिति २०७०।१।१४ गते बिहान परिवर्तित नाम कञ्चनपुर (क) लाई हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेको भनिएको बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०७०।१।१४ गते बिहान अन्दाजी ७:३० बजेको समयमा मेरो हजुरबुबाले मलाई खैनी किन्न पठाएकोमा म हरेन्द्रनारायण देवको पसलमा जाँदा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्र गई ढोका ढकढकाउँदा हरेन्द्रनारायण देवले ढोका खोलेपछि मैले रू. पाँच दिई खैनी माग्दा विपक्षीले मलाई पसलभित्र बोलाई खाटमा बसाई ढोका बन्द गरी विपक्षी हरेन्द्रनारायण देवले आफ्नो कपडा खोली मलाई खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली आफ्नो उत्तेजित लिङ्ग मेरो योनिभित्र छिराई जबरजस्ती करणी गर्दा मेरो योनिमा घाउ लागी रगतसमेत बगिरहेको र निजले मलाई जबरजस्ती करणी गर्दा मेरो योनि दुखेकोले म रोइकराई गर्दासमेत निजले मलाई नछाडी जबरजस्ती करणी गरी वीर्य स्खलन भएपश्चात्‌ मात्र मलाई छाडी खैनी र चकलेट दिई पठाएको हुँदा म घरमा गई सम्पूर्ण कुरा आमाबुबालगायतका घर परिवारलाई भन्दा बुबाले जाहेरी दिएको हो । मलाई जबरजस्ती करणी गर्ने हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कञ्चनपुर (क) ले गरेको घटना विवरण कागज ।

मिति २०७०।१।१४ गतेका दिन बिहान मेरो ससुराले छोरीलाई खैनी किन्न पठाएकोमा छोरी एक छिनपछि रूँदै घरमा अएपछि छोरीलाई सोधपुछ गर्दा छोरीले म हरेन्द्रनारायण देवको पसलमा खैनी किन्न गएकोमा निजले पसल बाहिरबाट बन्द गरेकोले भित्रपट्टिबाट खैनी माग्दा हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसलभित्र बस भनी आफ्नो कट्टु खोली खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली निजले मलाई जबरजस्ती करणी गरेको भनी बताएकोमा छोरीको योनि हेर्दा छोरीको योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखी सो कुरा मैले तत्कालै श्रीमान्‌लगायत घर छिमेकीलाई भन्दा मेरो पतिले प्रहरीमा जाहेरी दरखास्त दिएको 

हो । मेरो छोरीलाई जबरजस्ती करणी गर्ने हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरी छोरीले पाउने क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको सरिता मण्डलले गरेको कागज ।

मिति २०७०।१।१४ गतेका दिन बिहान मेरो बुबाले छोरीलाई खैनी किन्न पठाएकोमा छोरी एकछिनपछि रूँदै घरमा आएपछि छोरीलाई मेरो श्रीमतीले सोधपुछ गर्दा छोरीले म हरेन्द्रनाराण देवको पसलमा खैनी किन्न गएकोमा पसल बाहिरबाट बन्द रहेकोले भित्रपट्टिबाट खैनी माग्दा विपक्षी हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसलभित्र बोलाई खाटमा बस भनी आफ्नो कट्टु खोली खाटमा उत्तानो पारी सुताई सुरूवाल कट्टु खोली जबरजस्ती करणी गरेको भनी छोरीले बताएकोमा श्रीमतीले छोरीको योनि हेर्दा छोरीको योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखी सो कुरा मलाई तत्कालै भन्दा मैले छोरीको सुरूवालमा लागेको रगत फोहोर अज्ञानताको कारण धोई प्रहरीमा जाहेरी दरखास्त दिएको हो । मेरो छोरीलाई जबरजस्ती करणी गर्ने हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरी छोरीले पाउने क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम रामकुमारले गरेको घटना विवरण कागज ।

मिति २०७०।१।१४ का दिन बिहान मलाई जबरजस्ती करणी गर्नेमध्ये मलाई देखाएको पाँच जनामध्ये हरेन्द्रनारायण देवले मलाई जबरजस्ती करणी गरेको हो । हरेन्द्रनारायण देवलाई देखी चिनी सनाखतसमेत गरी दिएको भन्नेसमेत बेहोराको पीडित कञ्चनपुर (क) ले गरिदिएको सनाखत कागज ।

निज पीडित कञ्चनपुर (क) लाई जबरजस्ती करणी भएको छ वा छैन यकिन साथ भन्न नसकिने भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

निजले पीडितलाई जबरजस्ती करणी गरेको छ छैन यकिनसाथ भन्न नसकिने भन्नेसमेत बेहोराको हरेन्द्र नारायण देवको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०७०।१।१४ गतेको दिन बिहान म आफ्नो पसलमा बसिरहेको अवस्थामा पीडित परिवर्तित नाम कञ्चनपुर (क) मेरो पसलमा खैनी किन्न आएकोमा मैले पीडितलाई खैनी दिई पठाएको हो । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन, हैन भन्नेसमेत बेहोराको प्रतिवादी हरेन्द्र नारायण देवले अनुसन्धानको क्रममा गरेको बयान ।

मिति २०७०।१।१४ गतेका दिन बिहान म घरमा नै थिएँ । यस्तैमा होहल्ला हुँदा केको हल्ला हो भनी घटनास्थलमा जाँदा पीडित कञ्चनपुर (क) लाई हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेको कुरा सुनी पीडितलाई सोधपुछ गर्दा पीडित कञ्चनपुर (क) ले म हरेन्द्रनारायण देवको पसलमा खैनी किन्न गएकोमा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्रपट्टिबाट खैनी माग्दा हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसलभित्र बोलाई खाटमा बस भनी आफ्नो कट्टु खोली खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली निजले मलाई जबरजस्ती करणी गरेको भनी बताएकोमा पीडितको योनि हेर्दा योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखेको हुँदा हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको शुशिलाकुमारी ढकालसमेतले गरेको घटना विवरण कागज ।

मिति २०७०।१।१४ गतेका दिन बिहान पीडित कञ्चनपुर (क) हरेन्द्रनारायण देवको पसलमा खैनी किन्न जाँदा हरेन्द्रनारायण देवले पीडित कञ्चनपुर (क) लाई जबरजस्ती करणी गरी भागी फरार भएको कुरा थाहा पाई सो बेलामा म कार्यालयमा भएकोमा तत्कालै पीडितको घर परिवारले पीडितलाई यस कार्यालयमा ल्याई पुर्‍याउँदा म र प्र.ज. तारामती खाँ मिली पीडितलाई कार्यालय कक्षभित्र लगी अपराध वारदातको बारेमा सोधपुछ गर्दा पीडितले म हरेन्द्रनारायण देवको पसलमा खैनी किन्न गएकोमा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्रपट्टिबाट खैनी माग्दा हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसलभित्र बोलाई खाटमा बस भनी आफ्नो कट्टु खोली मलाई उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली निजले मलाई जबरजस्ती करणी गरेको भनी बताएकोमा पीडितको योनि हेर्दा पीडितको योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखेको हुँदा हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.ह. प्रितम भट्टराईसमेतले गरेको घटना विवरण कागज ।

मिति २०७०।१।१४ गतेका दिन बिहान म कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एक जना मानिस आएर सिस्टर मेरो घर छेउमा हरेन्द्रनारायण देवले परिवर्तित नाम कञ्चनपुर (क) लाई जबरजस्ती करणी गरेछन् । पीडित रूँदै छ भनेपछि म पीडितको घरमा गई हेर्दा पीडित रोइरहेको देखी मैले पीडितलाई सोधपुछ गर्दा पीडितले म विपक्षी हरेन्द्रनारायण देवको पसलमा खैनी किन्न गएकोमा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्रपट्टिबाट खैनी माग्दा विपक्षी हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसभित्र बोलाई खाटमा बस भनी आफ्नो कट्टु खोली खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली निजले मलाई जबरजस्ती करणी गरेको भनी बताएकोमा पीडितको योनि हेर्दा पीडितको योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखी पीडितलाई प्रहरीमा लैजानुस् स्वास्थ्य परीक्षण गराएपश्चात्‌ औषधी गर्नुपर्छ भनी सल्लाह दिई पठाएको हुँदा विपक्षी हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको शोभा साहले गरेको घटना विवरण कागज ।

मिति २०७०।१।१४ गतेको दिन बिहानीको समयमा हो हल्ला भयो, केको होहल्ला हो भनी हल्ला भएको स्थानमा जाँदा परिवर्तित नाम कञ्चनपुर (क) लाई हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेको रहेछ । मसमेत भई पीडित कञ्चनपुर (क) को गुप्ताङ्ग हेर्दा रातो भई सुनिएको, रगत जस्तो रातो तरल पदार्थ निस्केको थियो । अपराधी खोजी गर्न भनी अपराधीको घरमा जाँदा निज अपराधी भागिसकेको, पीडित कञ्चनपुर (क) लाई जबरजस्ती करणी गर्ने हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको घटनास्थल वस्तुस्थिति मुचुल्का ।

मिति २०७०।१।१४ गतेको दिन बिहान मैले आफ्नो नातिनी पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई खैनी किनेर ल्याउनु भनी रू.५।– दिई पठाएकोमा एकछिनपछि पीडित रूँदै घरमा आएपछि पीडितको आमाले पीडितलाई के भएको भनी सोधपुछ गर्दा पीडितले म हरेन्द्र नारायण देवको पसलमा खैनी किन्न गएकोमा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्रपट्टिबाट खैनी माग्दा हरेन्द्रनारायण देवले खैनी किन्ने बेलामा मनमा कुनियत चिताई पसलभित्र बोलाई खाटमा बस भनी आफ्नो कट्टु खोली खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली निजले मलाई जबरजस्ती करणी गरेको भनी बताएकोमा पीडितको योनि हेर्दा योनिबाट रगत बगिरहेको घाउसमेत लागेको देखी पीडितको बुबाले पीडितलाई लिई प्रहरीमा लगी जाहेरी दिएको हुँदा हरेन्द्रनारायण देवलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बुदन मण्डलले गरेको कागज ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई मिति २०७०।१।१४ गते प्रतिवादीले आफ्नो पसलभित्र बोलाई ढोका बन्द गरी जबरजस्ती करणी गरेको तथ्य पीडितको कागज, बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागज स्वास्थ्य परीक्षण प्रतिवेदन तथा वस्तुस्थिति मुचुल्काबाट पुष्टि भएको हुँदा निज प्रतिवादी हरेन्द्रनारायण देवले गरेको उल्लिखित कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. बमोजिम कसुर अपराधमा निज प्रतिवादीलाई सोही महलको ३(२) नं. बमोजिम सजाय हुन तथा ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

जाहेरी दरखास्तमा उल्लेख गरेको कुरा झुठ्ठा हो । मैले कसैलाई बलात्कार गरेको होइन । मैले मिति २०७०।१।१४ गते बिहान मेरो पसलबाट करिब १५० मिटर उत्तरपट्टी घर भएको ७/८ वर्षको बुनु भन्ने केटी आएकी थिइन । त्यो नानीले १ प्याकेट मडुवा सुर्ती पसलमा आउनासाथ किनेर बाहिरबाटै फर्केकी हुन् । उसको साथमा उसैको उमेरको साथी पनि 

थियो । मेरो सासुआमा घरमै हुनुहुन्थ्यो । पीडितले गरिदिएको कागज‚ जाहेरवाला तथा अनुसन्धानको क्रममा भएका कागजको बेहोरा झुठ्ठा हो । बेकसुर भएकोले सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी हरेन्द्रनारायण देवले सुरू अदालतमा गरेको बयान ।

प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं.११८ को देहाय (२) बमोजिम प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न पठाइ दिनु भन्ने मिति २०७०।२।९ को आदेश ।

पीडितले लगाएको कट्टु वा अन्य लुगामा वीर्य र रगतको कुनै प्रकारको चिह्न वा संकेत थिएन । पीडितको यौनाङ्ग जाँच गर्दा यौनाङ्गभित्र, बाहिर र निजको शरीरको अन्य अंगमा कुनै किसिमको घा खत देखिएन‚ यकिन साथ भन्न सक्दिन करणी पनि भएको हुन सक्छ भन्नेसमेत बेहोराको चिकित्सक डा. सञ्जय अजादले सुरू अदालतमा गरेको बकपत्र । 

निज पीडित बालिकाको सम्पूर्ण चिज Normal (सामान्य) थिए कुनै चोट पटक थिएन । पीडितको कपडासमेत जाँच गरेकोमा वीर्य लागेको थिएन । वीर्य स्खलन बाहिर भएको छ भने पीडितको योनि रसमा पुरूष वीर्य नदेखिन पनि सक्छ । करणी भएको छ छैन यकिन साथ भन्न सकिँदैन भन्नेसमेत बेहोराको विशेषज्ञ डा. दिपा यादवले सुरू अदालतमा गरेको बकपत्र ।

निज कञ्चनपुर (क) को शारीरिक परीक्षण गर्दा कुनै पनि घा खत चिह्न शरीरमा नदेखिएको तथा निजको यौनाङ्ग भित्रबाट Swab को परीक्षण गर्दा Spermatozoa नदेखिएको हुनाले करणी भएको नभएको यकिन साथ भन्न सकिँदैन भन्नेसमेत बेहोराको डा. टेकनारायण मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित कञ्चनपुर (क) को यौनाङ्ग जाँच गर्दा निजको योनि बाहिर वरिपरि तथा तिघ्रालगायतका अन्य अंगमा लागेको वीर्य रगत वा रगत जस्तो अन्य पदार्थ केही देखिएन । करणी भएको नभएको यकिन साथ भन्न सकिँदैन भन्नेसमेत बेहोराको डा. रिधिनाथप्रसाद मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित कञ्चनपुर (क) को यौनाङ्ग जाँच गर्दा निजको योनि बाहिर वरिपरि तथा तिघ्रालगायतका अन्य अंगमा लागेको वीर्य रगत वा रगत जस्तो अन्य पदार्थ केही देखिएन । करणी भएको नभएको यकिन साथ भन्न सकिँदैन भन्नेसमेत बेहोराको डा. शैलेशकुमार झाले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई मिति ०७०।०१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्रनारायण देवले आफ्नो कोठामा लगी खाटमा सुताई कटु खोली आफ्नो पनि कट्टु खोली जबरजस्ती करणी गरेको हो भनी बताएकी थिइन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सविना पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।

मिति ०७०।१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्रनारायण देवले आफ्नो कोठामा लगी पीडितलाई बलात्कार गरेको हो । निज पीडितको योनि हेर्दा रातो भई सुनिएको 

थियो । कट्टुमा तरल पदार्थ लागेको थियो । पीडितलाई सोध्दा अंकल हरेन्द्र देवले मलाई ललाईफकाइ चकलेट दिई खाटमा लडाई जबरजस्ती करणी गरेको हो भनी भनेकी थिइन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने प्रमिलादेवी आचार्यले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई मिति ०७०।१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्र देवले आफ्नो कोठामा लगी खाटमा सुताई कट्टु खोली आफ्नो पनि कट्टु खोली जबरजस्ती करणी गरेको हो । हामी जाँदा केटी रोइरहेकी थिई  । केटीलाई सोध्दा म पसलमा खैनी किन्न गएको थिएँ । हरेन्द्र अंकलले हात समाई भित्र कोठामा लगी खाटमा सुताई मलाई बलात्कार गरेको हो भन्ने बताएकी हुन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने शुशिलाकुमारी ढकालले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई ०७०।१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्र देवले ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको कुरा थाहा पाएको हुँ । हामी महिला प्रहरी टोली घटनाको खबर पाएपछि गाडीसहित लिएर घटनास्थल पुग्दा पीडित कञ्चनपुर (क) लाई हेर्दा रोइराखेको थियो । निजको योनि हेर्दा रातो‚ तिघ्रामा घर्षण‚ डाम, योनि सुनिएको देखेको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने महिला प्रहरी हवल्दार प्रितम भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई ०७०।१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्र देवले ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने महिला प्रहरी जवान तारामती कुमारी रवाँले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई ०७०।१।१४ गते अन्दाजी बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्र देवले जबरजस्ती करणी गरेको हो । घटनास्थलमा पुग्दा पीडितको यौनाङ्ग देख्दा रातो र सुनिएको‚ तिघ्रामा रातो र्‍याल लागेको थियो । प्रतिवादी हरेन्द्र देवलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस गणेश मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) लाई २०७०।०१।१४ गते अन्दाजी बिहान पौने आठ बजेको समयमा प्रतिवादी हरेन्द्र देवले जबरजस्ती करणी गरेको हो । घटनास्थलमा गई हेर्दा पीडितको यौनाङ्ग देख्दा रगत मिसिएको तरल पदार्थ बगिरहेको थियो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने कुमारी शोभा साहले सुरू अदालतमा गरेको बकपत्र ।

म खैनी किन्न गएको थिएँ । खैनी लिएपछि घरमै बस भने । मेरो सुरूवाल खोलेको उसले पनि पेन्ट खोलेको र एकछिन सुत भनेको र उसले मलाई आफ्नो सु गर्ने ठाउमा हरेन्द्र अंकलको सु गर्ने ठाउँले हालेको थियो । सोपछि एकछिनसम्म दुःखी राखेको थियो र अन्तिममा चकलेट दिएर म आफ्नो घर गएको र सबै कुरा आमालाई भनेको थिएँ भन्नेसमेत बेहोराको पीडित कञ्चनपुर (क) ले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।१।१४ गते बिहान ७:३० बजे हरेन्द्र देवले बलात्कार गरेका हुन् । पीडितको यौनाङ्ग हेर्दा सु गर्ने ठाउँ सुन्निएको‚ पूरै रातो भएको थियो र अहिलेसम्म फोहोर पानी बगिराखेको छ । अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सरिता मण्डलले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।०१।१४ गते शनिबारका दिन बिहान ७:३० बजेको समयमा पीडित कञ्चनपुर (क) खैनी किन्न प्रतिवादी हरेन्द्रनारायण देवको पसलमा जाँदा निज प्रतिवादीले पसलको ढोका थुनी पीडितको सुरूवाल र कट्टु खोली प्रतिवादी हरेन्द्रनारायण देवले पनि आफ्नो पैन्ट खोली निज आफ्नो लिङ्ग पीडित नाबालिकाको योनिमा पसाई जबरजस्ती करणी गर्ने बेलामा पीडित चिच्याउँदा आधा लिङ्ग पसाई सोको पिडाले चिच्याउँदा निजले आफ्नो वीर्य योनिको वरिपरि झारेको थियो र पछि आफ्नो पेन्ट लगाई बच्चीको सुरूवाल पनि लगाई यो कुरा कसैलाई नभन्नु भनी चकलेट दिई घर पठाए भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम रामकुमारले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।१।१४ गते बिहान ७:३० बजेको समयमा प्रतिवादी हरेन्द्र देवले आफ्नो घरमा जबरजस्ती करणी गरेको हो । पीडित आफ्नो घर गएपछि हेर्दा पीडितलाई बलात्कार भएको 

थियो । पीडितलाई सोध्दा मलाई प्रतिवादी हरेन्द्र देवले कोठामा लगी बलात्कार गरेको हो  भनेको र बच्चाको योनि हेर्दा सुन्निएको थियो । वीर्य र रगतसमेत लागेको मैले देखेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा बेहोरा लेखाउने मञ्जुदेवी यादवले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।१।१४ गते करिब पौने आठ बजे समयमा म घरमै थिएँ । सो समयमा हरेन्द्र देवले बलात्कार गरेको हो । मैले देख्दा बच्चा रूँदै थियो । मलाई हरेन्द्र अंकलले बलात्कार गर्‍यो भन्दै थियो । त्यहाँ थुप्रै आइमाइहरूबिच एउटा सुरूवाल खोलेर राखेको थियो र कट्टु लगाएको थियो । कट्टु खोलेर हेर्दा रगत र वीर्य लागेको थियो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका साक्षी लक्ष्मी परिहस्तले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।१।१४ गते बिहान ७:३० बजेको समयमा पीडितले प्रतिवादी हरेन्द्र देवको पसलमा खैनी लिन जाँदा भित्र बोलाई लोभलालच देखाइ चक्लेट दिई आफ्नो कोठामा लगी जबरजस्ती गरेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका साक्षी जगदीश मण्डलले सुरू अदालतमा गरेको 

बकपत्र ।

मिसिल संलग्न प्रमाणबाट प्रतिवादी हरेन्द्रनारायण देवलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिमको कसुरदार नदेखिई जबरजस्ती करणीको महलको ५ नं. बमोजिमको कसुरमा कसुरदार ठहर भएको हुँदा कसुरको गम्भीरताका आधारमा निजलाई सोही ५ नं. बमोजिम ६ वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेतको सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।१।२४ को फैसला ।

मेरो इन्कारी बयानलाई अधिकारप्राप्त अधिकारी तथा अदालतमा प्रमाणमा लिइएको 

छैन । जाहेरी, सनाखत मुचुल्का, घटनाविवरण कागज, वस्तुस्थिति मुचुल्का, जाहेरवाला पीडित तथा सरकार पक्षका साक्षीहरूको बकपत्र एवम् प्रतिवादी भारततर्फ भाग्दै गरेको आधार देखाई जबरजस्ती करणीको उद्योग ठहर गरेको छ । वस्तुगत प्रमाणको अभावमा सो वारदातलाई उद्योगतर्फको कसुरसमेत ठहर गर्न मिल्ने हुँदैन । घटनास्थलबाट जबरजस्ती करणीको वारदात भएको कुनै दशी प्रमाण भेटिएको छैन । घटनास्थल विवरण कागजमा सही गर्ने व्यक्तिहरू तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले आफूहरू जबरजस्ती करणी वा उद्योगको चस्मदिद नभएको कुरा प्रस्ट पारेका छन् । निजहरूले सुनेको आधारमा गरिदिएको बकपत्र र निजहरूको भनाइ प्रमाणमा ग्रहणयोग्य हुन सक्ने होइन । अभियोजन पक्षले दाबी नै नलिएको जबरजस्ती करणीको उद्योगमा विना प्रमाण कसुरदार ठहर गर्न मिल्ने होइन । मौकामा पीडितको कपडा नच्यातिएको, पीडितको योनिमा लिङ्ग घुसाउने प्रयास वा भगोष्ठमा चोट लागेको र सुन्निएको भनी चिकित्सकको प्रतिवेदनमा खुलाउन नसकेको अवस्थामा प्रमाणको गलत मूल्याङ्कन गरी भएको सुरूको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त तथा कानूनका मान्य सिद्धान्तसमेत विपरीत हुँदा जबरजस्ती करणीको उद्योग ठहर गरेको सो फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हरेन्द्रनारायण देवको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

करणीसम्बन्धी वारदात भएको तथ्यमा विवाद छैन । पीडितका बाबुको किटानी जाहेरी तथा बकपत्र, पीडितको कागज तथा बकपत्र, मौकामा बुझिएका मानिसहरू, वस्तुस्थिति मुचुल्काका मानिसहरूको मौकाको घटना विवरण कागज तथा अदालतमा भएको बकपत्रसमेतका कागज प्रमाणबाट जबरजस्ती करणीको वारदात स्थापित भएकोमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहर गरी सजाय गरेको सुरूको फैसला मिलेको 

छैन । घटना वारदात र पीडितको बयानबाट प्रतिवादीले पीडितको योनिमा लिङ्ग पसाई जबरजस्ती करणी गरेको पुष्टि भएको छ । सम्मानित सर्वोच्च अदालतबाट पीडित नाबालिकाको योनिको बाह्य भागमा लिङ्गको आंशिक भाग प्रवेश तथा घर्षणले मात्र पनि जबरजस्ती करणीको कसुर हुने, पीडितको भनाइलाई प्राथमिक प्रमाणको रूपमा लिई मुद्दा फैसला गर्नु पर्ने भनी सिद्धान्त कायम भएकोमा सुरू जिल्ला अदालतबाट वारदातलाई उद्योगमा परिणत गरी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल फैसला भएको छ । सुरूको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरी पीडितलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा वादी नेपाल सरकार र प्रतिवादी हरेन्द्रनारायण देव दुवै पक्षको तर्फबाट पुनरावेदन पर्न आएको देखिँदा दुवै पक्षको पुनरावेदन परेको बेहोराको जानकारी परस्परमा सुनाई पेस गर्नु भन्ने मिति २०७१।५।४ को पुनरावेदन अदालतको आदेश ।

यसमा जाहेरवाला तथा प्रतिवादी पक्षका कानून व्यवसायीहरूबाट लिखित बहसनोट पेस गर्न लगाई पेस गर्नु भन्ने मिति २०७१।७।१७ को पुनरावेदन अदालतको आदेश ।

जाहेरवाला परिवर्तित नाम रामकुमारको तर्फबाट विद्वान्‌ अधिवक्ता डा. श्री सर्वेशचन्द्र मिश्र, प्रतिवादी हरेन्द्रनारायण देवको तर्फबाट विद्वान्‌ अधिवक्ता श्री कृष्णानन्द देव र विद्वान्‌ अधिवक्ता श्री अशोककुमार चौधरीले पेस गरेको बहसनोट मिसिल सामेल रहेको ।

प्रतिवादी हरेन्द्रनारायण देवले जबरजस्ती करणीको उद्योग गरेको ठहर गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०७१।१।२४ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी हरेन्द्र नारायण देवलाई मुलुकी ऐन, जबरजस्ती करणीका महलको ३(२) नं. बमोजिम १० (दश) वर्ष कैद सजाय भई प्रतिवादीबाट पीडितलाई उक्त महलको १० नं. बमोजिम रू.७५,०००।– (पचहत्तर हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराई दिने ठहर्छ । सफाइ पाउँ भन्ने प्रतिवादी हरेन्द्रनारायण देवको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने पुनरावेदन अदालत राजविराजको मिति २०७१।९।२३ को फैसला ।

म पुनरावेदक अधिकारप्राप्‍त अधिकारी तथा अदालतसमक्षको बयानमा वादी दाबीबमोजिमको कसुर गरेकोमा इन्कार रहेको छ । मेरो उक्त इन्कारी प्रमाण ऐनबमोजिम ग्राह्य प्रमाण हो । सरकारवादी फौजदारी मुद्दामा कुनै पनि प्रमाण शंकारहित तवरबाट वादीले पुर्‍याउन सकेको हुनुपर्नेमा वादी दाबीबमोजिम र पुनरावेदन अदालतको फैसलाबमोजिम पुनरावेदकले कथित पीडितलाई जबरजस्ती करणी गरेको भन्‍ने विश्‍वासलायक प्रमाण मिसिलमा विद्यमान छैन । सोको ठिकविपरीत मेरो निर्दोषिता प्रमाणित गर्ने ग्राह्य प्रमाणहरू मिसिलमा विद्यमान हुँदाहुँदै पनि मलाई कसुरदार ठहराई गरिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । वादी दाबीबमोजिमको कसुर नगरेको भन्‍ने प्रमाणित हुँदाहुँदै गर्दै नगरेको कसुरको सम्बन्धमा  पनि कसुरदार ठहराई पुनरावेदन अदालत राजविराजबाट भए गरिएको फैसला त्रुटिपूर्ण हुनाले उक्त फैसला बदर गरी वादी दाबीबाट पूर्णतः सफाइ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी हरेन्द्र नारायण देवको यस अदालतमा परेको पुनरावेदन पत्र ।

पीडित परिवर्तित नाम कञ्चनपुर (क) ले प्र. हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेका हुन् भनी प्रस्टसँग किटान गरी मौकामा कागज गरेको, पीडित कञ्चनपुर (क), निजकी आमा सरिता मण्डल र पीडितका बाबु (जाहेरवाला) रामकुमारसमेतले जबरजस्ती करणी भएका तथ्यहरू र घटनाक्रम विवरण खुलाई प्र. हरेन्द्रनारायण देवउपर किटान गरी अदालतसमक्ष बकपत्र गरेको, घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्कामा आफ्नो बेहोरा उल्लेख गर्ने साक्षीहरूले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीउपरको अभियोग दाबी पुष्टि हुने गरी किटानी उल्लेख गरेकोले प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिएकोले योनि क्षतविक्षत भएको कुराको मापनलाई नै सर्वाधिक महत्त्व दिनु न्यायोचित हुँदैन । त्यसैले Hymen intact छ भन्ने आधारमा मात्रै अन्य प्रमाण र परिस्थितिलाई एकातिर पन्छाएर कसुर कायम नहुने ठहर गर्नु मनासिब नदेखिँदा प्रतिवादी हरेन्द्रनारायण देवले जबरजस्ती करणीको उद्योग गरेको ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०७१।१।२४ को फैसला मिलेको नदेखिँदा केही उल्टी गरी निज प्रतिवादी हरेन्द्र नारायण देवलाई मुलुकी ऐन, जबरजस्ती करणीका महलको ३(२) नं. बमोजिम १० (दश) वर्ष कैद सजाय गरी प्रतिवादीबाट पीडितलाई उक्त महलको १० नं. बमोजिम रू.७५,०००।– (पचहत्तर हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको मिति २०७१।९।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासको फैसला ।

प्रस्तुत मुद्दामा पीडितको Bodily, physical signs normal देखिएकोले फैसलामा उल्लिखित नि.नं.७९२३ को नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने होइन । जबरजस्ती कसुर कायम हुन लिङ्गको पूर्ण वा आंशिक प्रवेश भएको हुनुपर्दछ । सविना पौडेल, प्रमिला देवी आचार्य, शुशिला कुमारी ढकाल, प्रहरी हवल्दार प्रितम भट्टरार्इ, प्र.ज. ताराकुमारी खाँसमेतको कथनले लिङ्गको पूर्ण प्रवेश गरेको संकेत गर्दछ तर स्वास्थ्य परीक्षण प्रतिवेदनले सो कुराको पुष्टि गर्दैन । तथ्य नै फरक रहेको स्थितिमा असम्बद्ध नजिर प्रयोग गरी गरेको फैसला नि.नं. ७१५७ र सर्वोच्च अदालत बुलेटिन वर्ष ११, अंक २०, माघ १६ देखि २९, पूर्णाङ्क २५४, पृ. १० समेतको गम्भीर त्रुटि हुँदा पुनरावलोकन गरी कसुरदार कायम गरेको फैसला उल्टी गरिपाउँ भन्ने यस अदालतमा लिएको निवेदन दाबी ।

यसमा जाहेरवालाले मौकाको जाहेरीमा पीडितको यौनाङ्गसमेतबाट रगत बगेको भनी लेखाउन नसकेकोमा निज जाहेरवालाले मौकामा कागज गर्दा छोरीको कट्टु सुरूवालमा रगत तथा वीर्य लागेको थियो भने तापनि कपडा धोई पखालेको भनेको, वारदात लगत्तै पीडितको स्वास्थ्य परीक्षण भएकोमा Perineum, Vulva Vagina: normal. Hymen: intact. No Spermatozoa seen जबरजस्ती करणी भएको छ, छैन यकिनसाथ भन्‍न नसकिने भनी स्वास्थ्य परीक्षणको लागि गठित बोर्डको परीक्षण प्रतिवेदन रहेको एवं प्रतिवादी मौका तथा अदालतमा कसुर गरेकोमा इन्कार रहेकोसमेत देखिएको छ । विशेषज्ञको रायलाई तर्कसङ्गत रूपमा खण्डन नभएसम्म मान्‍नुपर्ने र जबरजस्ती करणी भएको समर्थित गर्ने वस्तुगत प्रमाणको अभावमा कसुरदार ठहर गर्न नमिल्ने भनी यस अदालतबाट सिद्धान्त (ने.का.प. २०४९ नि.नं. ४६०३, ने.का.प. २०४६ नि.नं. ४००१, ने.का.प. २०६१ नि.नं. ७४१४) प्रतिपादन भएकोमा जबरजस्ती करणीको कसुर ठहर गरेको यस अदालतको संयुक्त इजलासको मिति २०७३।५।२० मा करणी ठहर गरेको फैसला प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (२) को खण्ड (ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान गरी दिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।४।२७ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदनसहितको मिसिल कागजात अध्ययन गरियो । 

प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा र विद्वान्‌ अधिवक्ता श्री सुमनकुमार पौडेलले पीडितको परीक्षण प्रतिवेदनबाट Bodily, physical signs normal देखिएको छ । पीडितको शरीरमा Bodily physical sign  देखिएको उल्लिखित नि.नं.७९२३ को नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने होइन । जबरजस्ती कसुर कायम हुन लिङ्गको पूर्ण वा आंशिक प्रवेश भएको हुनुपर्दछ । सविना पौडेल, प्रमिला देवी आचार्य, शुशिलाकुमारी ढकाल, प्रहरी हवल्दार प्रितम भट्टरार्इ, प्र.ज. ताराकुमारी खाँसमेतको कथनले लिङ्गको पूर्ण प्रवेश गरेको संकेत गर्दछ तर स्वास्थ्य परीक्षण प्रतिवेदनले सो कुराको पुष्टि गर्दैन । तथ्य नै फरक रहेको स्थितिमा असम्बद्ध नजिर प्रयोग गरी गरेको फैसला नि.नं. ७१५७ र सर्वोच्च अदालत बुलेटिन वर्ष ११, अंक २०, माघ १६ देखि २९, पूर्णाङ्क २५४, पृ.१० समेतको गम्भीर त्रुटि रहेको छ । जबरजस्ती करणी गरेको भनी दाबी लिएकोमा पीडित तथा प्रतिवादीको शरीरमा संघर्षका कुनै चिह्नहरू रहेको नदेखिएको वारदातको प्रत्यक्षदर्शी कोही नभएको अवस्थामा प्रतिवादीलाई कसुरदार ठहर गर्नु कानून र न्यायसङ्गत हुन 

सक्तैन । साथै विशेषज्ञको रायलार्इ समेत तर्कसङ्गत रूपमा खण्डन नभएसम्म मान्नु पर्ने र जबरजस्ती करणी भएको समर्थित गर्ने वस्तुगत प्रमाणको अभावमा कसुरदार ठहर गर्न नमिल्ने भनी प्रतिपादित सिद्धान्त (नि.नं. ४६०३, नि.नं.४००१, नि.नं.७४१४) विपरीत जबरजस्ती करणीको कसुर ठहर गरेको यस अदालत संयुक्त इजलासको फैसला उल्लिखित प्रतिपादित सिद्धान्तविपरीत हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलार्इ पाउँ भनी गर्नु भएको बहस सुनियो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणप्रसाद रिमालले पीडित परिवर्तित नाम कञ्चनपुर (क) ले प्र. हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेका हुन् भनी किटान गरी गरेको मौकाको कागजलार्इ अदालतमा समेत उपस्थित भई पुष्टि गरेकीले पीडितले योनिमा प्रतिवादीको लिङ्गको प्रवेश भएको कुराको पुष्टाइँ हुन्छ । पीडित कञ्चनपुर (क) कि आमा सरिता मण्डल र पीडितका बाबु (जाहेरवाला) रामकुमारसमेतले जबरजस्ती करणी भएका तथ्यहरू र घटनाक्रम खुलाई निज प्र. हरेन्द्रनारायण देवउपर मौकामा किटान गरी गरेको कागजलार्इ अदालतको बकपत्रबाट पुष्टि गरेका छन् । प्रतिवादीउपर बिना कारण दोष लगाउनु पर्ने कुनै कारण देखिएको छैन । वारदात मिति २०७०।१।१४ मा भएकोमा पीडितको जाँच प्रतिवेदन मिति २०७०।१।२० को देखिएकोले उक्त परीक्षणमा वीर्यसमेतको अपराधसँग सम्बद्ध प्रमाण नभेटिनु स्वाभाविक छ । योनिमा लिङ्गको केही मात्रमा प्रवेश भएको रहेछ भने पनि करणी गरेको मानिनेछ भन्ने जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) मा उल्लेख भइरहेकोले हाइमन च्यातिनु पर्ने वा योनि क्षतविच्छेत भएको  हुनै पर्ने भन्ने नभएकोले यस अदालत संयुक्त इजलासको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । अब पुनरावेदन अदालत राजविराजको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको फैसला मिलेको छ, छैन ? प्रतिवादीको जिकिर पुग्ने हो, होइन ? भनी निर्णय दिनु पर्ने देखियो । 

२. यसमा प्रतिवादी हरेन्द्रनारायण देवले गरेको कार्य मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं. बमोजिम कसुर अपराधमा निज प्रतिवादीलाई सोही महलको ३(२) नं. बमोजिम सजाय हुन तथा ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई दिन लिएको प्रस्तुत अभियोग दाबीमा प्रतिवादी हरेन्द्रनारायण देवलाई मुलुकी ऐन, जबरजस्ती करणीका महलको ३(२) नं. बमोजिम १० (दश) वर्ष कैद सजाय गरी प्रतिवादीबाट पीडितलाई उक्त महलको १० नं. बमोजिम रू.७५,०००।– (पचहत्तर हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसलालार्इ यस अदालत संयुक्त इजलासले सदर गरेको पाइन्छ । कन्याजाली नच्यातिएको, वीर्य नभेटिएको, पीडितको शरीरमा संघर्षजन्य भौतिक चोट पटक चिह्न नभएको, अभियोग शंकारहित रूपमा पुष्टि नभएको, विशेषज्ञको रायलार्इ तर्कसङ्गत रूपमा खण्डन नभएको, वस्तुगत प्रमाणको अभावमा कसुरदार ठहर गर्न नमिल्ने भनी यस अदालतबाट प्रतिपादित सिद्धान्त (नि.नं.४६०३, ४००१, ७४१४, ७१५७) विपरीत फैसला भएको भनी पुनरावलोकनको निवेदन परेको तथा पुनरावलोकनको अनुमति प्रदान भएको देखिँदा उक्त प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुने हो, होइन ? भनी हेर्दा प्रतिवादी हरेन्द्र नारायण देवले मौका तथा अदालतमा अभियोग दाबीको कसुर गरेकोमा इन्कारी बयान गरे तापनि वारदातको दिन समय अर्थात् मिति २०७०।१।१४ गते बिहान करिब ७:३० बजेको समयमा पीडित परिवर्तित नाम कञ्चनपुर (क) खैनी किन्न आएको र आफ्नो पसल रहेको मडुवा सुर्ती दिएको तथ्य निज प्रतिवादी स्वयम्‌ले मौका तथा अदालतमा बयानमा समेत स्वीकार नै गरेको र उक्त समयमा निज प्रतिवादीको घर पसलमा अन्य व्यक्तिको उपस्थिति थियो भन्नेसमेत देखिएन । खैनी किन्न गएकी बालिका रूँदै घरमा आएर घटनाक्रम सुनाएपछि प्रतिवादीले पीडितलार्इ जबरजस्ती करणी गरेको कुरा पीडितका बाबुआमाले तत्कालै छरछिमेकीसमेतका मानिसहरूलार्इ अवगत गरार्इ वारदातकै दिन २०७०।१।१४ मा प्रतिवादी विरूद्ध किटानी जाहेरी दिएको र जाहेरी पुष्टि गरी अदालतमा बकपत्र गरेको पाइन्छ । साथै वारदातको भोलिपल्ट नै पीडितले गरेको मौकाको कागजमा खैनी किन्न गएको बखत प्रतिवादी हरेन्द्र देवले मेरो सुरूवाल कट्टु खोली खाटमा उत्तानो पारी प्रतिवादीको उत्तेजित लिङ्ग पसार्इ छिरार्इ जबरजस्ती करणी गरी वीर्य स्खलन गरेको, घाउ लागी रगत बगेको भनी खुलाएकोमा निजले अदालतमा गरेको बकपत्रमा सु गर्ने ठाउँमा हरेन्द्र देवको सु गर्ने घुसाएको, सु गर्ने ठाउँबाट पानी निस्केको थियो, मेरो सु गर्ने ठाउँ धेरै दुखेको थियो, रातो पनि भएको थियो भनी मौकाको कथन पुष्टि गरेको अर्थात् योनिमा लिङ्गको प्रवेश भएको कुरा समर्थित भइरहेको पाइन्छ । पीडित बालिकाको योनिको अवस्था तत्काल हेर्ने निजको आमा सरिता मण्डलले गरेको मौकाको कागजमा छोरीको योनिबाट रगत बगिरहेको घाउसमेत देखेको भनेकोमा अदालतमा समेत पुष्टि गरी बकपत्र गरेको पाइन्छ । घटना विवरण कागज गर्ने कुमारी शोभा शाह, सुशिलाकुमारी ढकाल, प्रमिला आचार्य, सविना पौडेलसहित प्रहरी हवल्दार प्रितम भट्टराई र प्र.ज. तारा कुमारीसमेतले मौकामा कागज तथा अदालतसमक्ष बकपत्र गर्दा प्र. हरेन्द्र नारायण देवले “कञ्चनपुर (क) लाई जबरजस्ती करणी गरेको हो, निज पीडितको यौनाङ्गबाट रगत जस्तो पदार्थ बगेको थियो, घटनाको तत्काल पछि रूँदै आफ्नो घरमा आई पीडितले आफूउपर प्र. हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेको भनेको भनी जाहेरी समर्थन गरिरहेको पाइन्छ । एकातर्फ पीडितले मौकामा व्यक्त गरेको कुरा जाहेरी एवं मौकामा कागज गर्ने व्यक्तिले गरेको मौकाको कागज एवं बकपत्रसमेतबाट पुष्टि भएको र अर्कोतर्फ जबरजस्ती करणी जस्तो गम्भीर कसुरमा प्रतिवादीलार्इ पीडित तथा जाहेरवालासमेतका व्यक्तिहरूले विना कारण फसाउनु पर्ने कुनै विश्वासलायक एवं विवेकसम्मत आधार र कारण मिसिलबाट खुल्न सकेको पाइएन ।

३. पीडित नाबालकले आफूलार्इ यी प्रतिवादी हरेन्द्र नारायण देवले निज प्रतिवादीको घर पसल जाँदा करणी गरेको भनी बाबुआमालार्इ घर गर्इ भनेकोमा बाबुआमा तथा छिमेकीसमेतले यौनाङ्ग हेरी रक्तस्राव भएकोसमेतका करणी स्वरूपको चिह्नहरू देखेको भनी मौका तथा अदालतमा किटानी रूपमा उल्लेख गरेको देखिएको तथा वारदातको दिन तत्कालै नै जाहेरी दिएको तथा पीडितलार्इ स्वास्थ्य परीक्षणको लागि लगेको देखिएकोले समेत जाहेरी वास्तविक नभई बनावटी हो भन्ने प्रतिवादीको भनाइ पत्यारलायक देखिएन । 

४. दाबीको घटनाका सम्बन्धमा घटनाबाट पीडित व्यक्ति कञ्चनपुर (क) ले जबरजस्ती करणीको घटना भएको भनी व्यक्त गरेको कुरा तथा सो घटना भएको थाहा पाउने जाहेरवालासमेतका मौकामा कागज गर्ने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रूपमा ग्रहण मिल्ने नै देखियो । साथै जबरजस्ती करणी जस्ता अपराध घटाउन अपराधीले अपराध लुकाउन एकान्त स्थान वा त्यस प्रकारको अनुकूल वातावरण रोज्ने हुँदा त्यस प्रकारको घटनामा प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुन पनि सक्ने हुँदा पीडित नै घटनाको आधारभूत गवाह भएकोले निज पीडितले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ ।

५. कन्याजाली च्यातिएको देखिनु, यौनाङ्ग वा शरीरको अन्य भागमा संघर्षको चिह्न देखिनु, वीर्य स्खलन भएको देखिनु जबरजस्ती करणीको कसुर ठहर हुनको लागि महत्त्वपूर्ण प्रमाण भएको तथ्यमा विवाद छैन । तथापि जबरजस्ती करणीको महलको १ नं.को स्पष्टीकरण (ग) ले योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नं. को प्रयोजनको लागि करणी गरेको मानिनेछ भन्ने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा योनिमा लिङ्गको केही भाग मात्र प्रवेश भएको अवस्थामा यौनाङ्गमा घाउचोट लाग्ने, कन्याजाली च्यातिने, वीर्य स्खलन हुनेसमेतको कार्यको कुनै निश्चितता हुने देखिँदैन । यसप्रकार जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको 

पाइएन । साथै पीडितको उमेर १० वर्षको मात्र देखिएकोले त्यस्तो नाबालकले ३६ वर्षको प्रतिवादीसँग प्रतिकार गर्न सक्ने वा सतीत्व रक्षाको लागि संघर्ष गर्न सक्ने अवस्था नै नभएबाट शरीरको अन्य भागमा संघर्षका चिह्न नदेखिनु स्वाभाविक नै देखिन्छ ।

६. पीडितले अदालतमा गरेको बकपत्रमा आफ्नो सु गर्ने ठाउँमा हरेन्द्र देवको सु गर्ने घुसाएको पीडितको योनिमा लिङ्गको प्रवेश भएको तथ्य खुलाएको, पीडितको स्वास्थ्य जाँच ९.३० घण्टापछि भएकोले पीडितको यौनाङ्गसमेतमा जबरजस्ती करणीका बाह्य लक्षण नदेखिनु स्वाभाविक हुन्छ भनी स्वास्थ्य परीक्षण गर्ने डा. संजय आजाद, डा. दीपा यादव, डा. टेकनारायण मण्डल, डा. शैलेशकुमार झा र डा. रिधिनाथप्रसाद मण्डलसमेतले गरेको बकपत्र हेर्दा पीडितसित जबरजस्ती करणी भए नभएको भन्न सकिँदैन भन्ने उल्लेख भएको पाइन्छ । उक्त बेहोराबाट अभियोग दाबीअनुसार जबरजस्ती करणी भएकै होइन भनी निष्कर्षमा पुग्न सक्ने देखिँदैन । पीडितको यौनाङ्ग सुन्निएको, रातो भएको भन्ने पीडितको यौनाङ्ग हेर्ने पीडितको आमाले अदालतसमेतको बकपत्रमा खुलाएको देखिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीका महलको १ नं. स्पष्टीकरण (ग) अनुसार योनिमा लिङ्ग आंशिक रूपमा मात्र पसेको भए पनि जबरजस्ती करणी प्रयोजनका लागि कार्य पूरा भएको मान्नु पर्ने कानूनी व्यवस्था रहेकोले र योनिको बाहिरी भाग Labia Majura र भित्री भाग Libia Minora सम्म पनि लिङ्गको प्रवेश भएको स्थितिमा योनिभित्र लिङ्गको आंशिक प्रवेश भएको मान्नु पर्ने 

हुन्छ । बालिकाको कन्याजाली नच्यातिएको, संघर्षको चिह्न नभेटिएको भन्ने भन्नेसम्मका आधारमा अन्य प्रमाणबाट कसुरदार प्रमाणित भएमा कसुरबाट उन्मुक्ति दिने हो भने न्याय परास्त हुन जान्छ । साथै नाबालकको शरीरमा संघर्षको चिह्न नभेटिएको भन्ने आधारमा जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले प्रश्रय पाउने देखियो । वस्तुत: जबरजस्ती करणी हुनको योनिभित्र लिङ्गको पूर्ण रूपमा प्रवेश भएको हुनुपर्ने, स्त्रीको कन्याजाली (Hymen) च्यातिएको वा शरीरमा संघर्षको चिह्न भेटिनु पर्ने, वीर्य योनिमा स्खलन भएको हुनु पर्ने जस्ता कुरालार्इ विद्यमान कानूनी व्यवस्थाले मान्यता प्रदान गरेकोसमेत छैन । जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण (ग) को व्यवस्थाबाट योनिभित्र आंशिक लिङ्ग प्रवेश गराउनु जबरजस्ती करणीको कसुर कायम हुन पर्याप्त हुने देखिँदा अभियोग दाबीबमोजिम कसुर ठहर गरी प्रतिवादीलार्इ सजाय गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखियो ।

७. यसरी प्रतिवादीले पीडितसित जबरजस्ती करणी गरेको तथ्य वस्तुगत रूपबाट समर्थित प्रमाणित भइरहेकोले निज प्रतिवादी हरेन्द्रनारायण देवले जबरजस्ती करणीको उद्योग गरेको ठहर गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०७१।१।२४ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी गरी निज प्रतिवादी हरेन्द्र नारायण देवलाई मुलुकी ऐन, जबरजस्ती करणीका महलको ३(२) नं. बमोजिम १० (दश) वर्ष कैद सजाय गरी प्रतिवादीबाट पीडितलाई उक्त महलको १० नं. बमोजिम रू.७५,०००।– (पचहत्तर हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको मिति २०७१। ९। २३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहराएको यस अदालत संयुक्त इजलासको मिति २०७३।५।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । यस अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति प्रदान गर्ने आदेशमा उल्लिखित यसै अदालतबाट प्रतिपादित सिद्धान्त र प्रस्तुत मुद्दामा उल्लिखित तथ्य अलग फरक रहेकोले पुनरावलोकनको अनुमतिको बेहोरासँग सहमत हुन सकिएन । प्रतिवादी हरेन्द्रनारायण देवको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार  गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.केदारप्रसाद चालिसे

न्या.पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृतः- हर्कबहादुर क्षेत्री

इति संवत् २०७४ साल चैत २२ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु