निर्णय नं. १०२८३ - मोही नामसारी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
फैसला मिति : २०७५।२।६
०७३-CI-०३९२
मुद्दाः मोही नामसारी
पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, गेहडी गुठी गा.वि.स वडा नं. ९ बस्ने रामचन्द्र सहनी
विरूद्ध
प्रत्यर्थी / वादी : रौतहट जिल्ला, गेहडी गुठी गा.वि.स वडा नं. ७ बस्ने सरूप सहनीको श्रीमती झलिया देवी मल्लाहिन
तत्कालीन भूमिसम्बन्धी ऐन, २०२१ मा "बुहारी" लाई मोही नामसारी हुने हकवालामा राखेको नभएपनि प्रस्तुत मुद्दामा मोहीको एक मात्र छोरा र निजको एक मात्र श्रीमती रहेको अवस्थामा कानूनबमोजिमको हकवाला व्यक्ति बुहारी भएकोले जग्गाधनीले मोही पत्याउन इन्कार गर्ने हक रहेको नदेखिने ।
मोही नामसारी गर्ने हदम्यादको व्यवस्था भूमिसम्बन्धी ऐनमा रहे भएको नदेखिँदा नामसारी नगराएकै कारणले निजको हक स्थापित भएको छैन भन्नु न्यायसङ्गत नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विनोद श्रेष्ठ
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६१, अंक २, नि.नं.७३३८
सम्बन्धित कानून :
भूमिसम्बन्धी ऐन, २०२१
सुरू तहमा फैसला गर्नेः
भूमिसुधार अधिकारी श्री रामकृष्ण उप्रेती
भूमि सुधार कार्यालय, रौतहट
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रमेश पोखरेल
माननीय न्यायाधीश श्री नागेन्द्र लाभ कर्ण
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
प्रतिवादीका नाम दर्ताको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको मोही महलमा रहेको वादीको स्व. ससुरा मखन सहनी भई निजले उक्त जग्गा मोहीको हैसियतले जोतकोड गरी जग्गाधनीलाई हुने कुत बुझाउँदै आएकोमा ससुरा २०३३ सालभन्दा अगाडि तथा सासू वसमतिया मलाहिन पनि २०३३ सालभन्दा अगाडि स्वर्गवास भई निजहरूको मृत्युपश्चात् उक्त जग्गा म वादीको लोग्ने सरूप सहनीले जोतकोड गरी कुत बुझाएकोमा सरूप सहनीको मृत्यु मिति २०५१।०२।१२ गतेमा भई निजको मृत्युपश्चात् उक्त जग्गा म वादीले मोहीको हैसियतबाट जोतकोड गरी जग्गाधनीलाई कुतसमेत बुझाउँदै आइरहेकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार उक्त जग्गाको मोही नामसारी गरिपाउँ भन्नेसमेत बेहाराको झलियादेवी मलाहिनको मिति २०७१।३।१२ को फिरादपत्र ।
मेरा नाउँमा दर्ता रहेको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं.६५७ को ज.वि.०-८-५ जग्गाको मोही महलमा वादीको स्व. ससुरा मखन सहनीको नाम उल्लेख रहे पनि निज मोहीले आफ्नो जीवनकालमा नै जग्गा जोत्न छाडी हटी भागी गइसकेकोमा उक्त कित्ता जग्गा म जग्गाधनीले जोत भोग गर्दै आइरहेकोमा निज मोहीको २०३३ सालमा र निजकी श्रीमती २०३३ मा नै परलोक भई हक खाने छोरा वादीका लोग्ने सरूप सहनीले आफ्नो जीवनकालमा उक्त जग्गा जोत्न नगई नामसारीसमेत गराउन नखोजी मिति २०५१।०२।१२ मा परलोक हुनु भयो । मिति २०५३।०९।२४ मा ऐन चौथो संशोधन लागू हुँदा यी वादी हकदैयाविहीन हकवालाले मोही नामसारीको मुद्दा दिएको हुँदा वादीको नाममा मोही नामसारी हुन पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीको मिति २०७१।८।१७ को लिखित जवाफ ।
वादी दाबीको महमदपुर वडा नं. ९ कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको मोही मखन सहनी मिति २०३३ सालभन्दा अघि र निजकी श्रीमती पनि २०३३ सालभन्दा अघि र निजको एक मात्र छोरा सरूप सहनी मिति २०५१।२।१२ मा परलोक भइसकेको गा.वि.स. गेडही गुठीको सरजमिन मुचुल्कासहितको सिफारिस तथा वादीको फिराद लेखबाट देखिन्छ । तत्कालीन भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार ससुरा बुहारी नातामा मोही नामसारीको लागि कानूनी व्यवस्थाको अभाव रहेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को ०५३।०९।२४ को चौथो संशोधनबाट मात्र बुहारीलाई मोहियानी हक प्राप्त हुने कानूनी व्यवस्थाको प्रारम्भ भएकोमा कानूनी व्यवस्था प्रारम्भ हुनुअगावै मोही तथा निजकी श्रीमती, छोरासमेतको मृत्यु भइसकेको गा.वि.स. गेडही गुठीको सिफारिससहितको सरजमिन मुचुल्का तथा वादीको फिराद लेखबाट पुष्टि हुँदा माग दाबीअनुसारको महमदपुर वडा नं.९ कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको स्व. मोही मखन सहनीको नामबाट मोही नामसारी माग गर्ने वादीलाई हकदैयाको अभाव रहेको देखिँदा प्रस्तुत मुद्दामा मोही नामसारीतर्फको दाबी नपुग्ने ठहर्छ भनी भूमि सुधार कार्यालय, रौतहटबाट मिति २०७२।०२।१३ मा भएको फैसला ।
वादी दाबीको जग्गाको मोही मखन सहनीको मृत्युपश्चात् एक मात्र छोरा सरूप सहनीले मोहीको हैसियतले कमाई कुत बुझाउँदै आउनु भएको, निजको मृत्युपश्चात् मैले कमाई कुत बुझाउँदै आएको छु । मोही नामसारी गर्ने हदम्याद छैन । मोही रोज्न अर्को विकल्प छैन । भूमिसम्बन्धी ऐन, २०२१ को ०५३।९।२४ को चौथो संशोधनले मलाई असर गर्दैन । ने.का.प. २०६१ नि.नं. ७३३८ पृष्ठ २२७ मा "मोहीको शेषपछि निजको हक खाने एक मात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एक मात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त भन्ने अर्थ गर्नु न्यायसङ्गत नहुने । पुनरावेदक वादीले विवादित जग्गा जोतभोग गरी आएको भन्ने कुरा बराबर बाली बुझाई आएको, कुनै वर्षहरूको बाली धरौट राखेको र जोत कमोद वादीले नै गरेको भन्ने सरजमिन मुचुल्कासमेतबाट देखिन आएको अवस्थामा २०५८।५।१४ मा फैसला भएको दे.नं.८५ को मुद्दामा गरिएको व्याख्याको निष्कर्षसमेतबाट मोहीको मृत्युपछि मोही हक निजको एक मात्र हकवाला भएमा स्वतः निजमा सर्ने, नामसारी नगराएकै कारणले मोही हक समाप्त हुन नसक्ने हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रस्तुत मुद्दाको विवादित जग्गाको जोताहा मोही रूद्र कुमारको मृत्युपछि एक मात्र हकवाला छोरा बुरू कुमारका नाउँमा स्वतः मोही हक स्थापित भएको मान्नु पर्ने स्थितिबाट निज बुरू कुमारको नाउँमा नामसारी नगराएकै कारणले निज जीवित रहेकै अवस्थामा मोही हक समाप्त भएको मान्न नमिली वादीका पति बुरू कुमारको हकमा आएको मोही हक निजको मृत्युपश्चात् पत्नी यी वादीको हकमा स्वतः सर्ने हुँदा निजको नामसारी गराउन नपाउने भन्न नमिल्ने, प्रक्रियागत कुरा फरक पर्दैमा कानूनले व्यवस्था गरेको हक प्राप्त हुने कुरालाई इन्कार गर्न पनि नमिल्ने र हक समाप्त पनि हुन नसक्ने" भनी यस्ता विवादको समाधान गरिसकेको अवस्थामा प्रतिपादित नजिरलाई उपेक्षा गर्न मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) र प्रतिपादित नजिरसमेतको आधारबाट प्रक्रियागत कुराले मेरो मोही नामसारी हुने कुरामा असर नपुग्ने हुँदा छोरा बुहारी समान हाँगाका भएकोले प्रमाणको समुचित मूल्याङ्कन नगरी भएको भूमि सुधार कार्यालय, रौतहटको फैसला बदर गरी माग दाबीबमोजिम मोही नामसारी हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको झलियादेवी मलाहिनको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको मोही मखन सहनीको नाउँमा दर्ता
देखिन्छ । निज दर्तावाला मोहीको श्रीमती स्वर्गीय भइसकेको भन्ने देखिन्छ । एक मात्र छोरा वादीको पति स्वरूप सहनीको पनि स्वर्गीय भइसकेको भन्ने तथ्य रहेको छ । वादीले सो जग्गा कुतबालीबापत भूमि सुधार कार्यालय, रौतहट गौरमा मिति २०७०।११।११ मा धरौट राखेको पनि देखिन्छ । बुहारीले पनि ससुराको मोहियानी हक प्राप्त गर्ने २०५३ सालपछि संशोधित भूमिसम्बन्धी ऐन, २०२१ ले स्पष्ट गरेको छ । छोरासरह बुहारीले पनि मोही हक प्राप्त गर्न सक्ने सो कानूनी व्यवस्था लैङ्गिक दृष्टिकोणबाट नयाँ कानूनी व्यवस्था रहेको, सो कानूनी व्यवस्था प्रचलनमा आउनुपूर्वको स्थितिलाई नसमेट्ने गरी स्पष्ट कानूनमा उल्लेख
छैन । साथै यस्तै तथ्यसँग मिल्दोजुल्दो ससुराको मोही हक बुहारीको नाममा नामसारी हुन सक्ने गरी सर्वोच्च अदालतबाट पुनरावेदक वादी हिरामाया माझी श्रेष्ठ प्रत्यर्थी जगतमाया श्रेष्ठ भएको जोत नामसारी मुद्दामा न्यायिक सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । (ने.का.प. २०६१ नि.नं. ७३३८ पृष्ठ २२७) उक्त तथ्य तथा कानूनी व्याख्यासमेतको रोहबाट मोही नामसारी गर्न नमिल्ने गरी सुरू भूमि सुधार कार्यालय, गौर रौतहटबाट भएको फैसला फरक पर्न सक्ने भएबाट छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२।०७।१६ मा भएको आदेश ।
मिति २०७२।०७।१६ मा भएको आदेशमा लिइएको नि.नं. ७३३८ को नजिरको तथ्य प्रस्तुत मुद्दाको तथ्यसँग मेल नखाने हुँदा प्रस्तुत मुद्दामा उक्त नजिर आकर्षित हुन सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पश्चात्दर्शी नभएकोले सुरू भूमिसुधार कार्यालयले गरेको फैसला कानूनसङ्गत
छ । उक्त चौथो संशोधनबाट थप भएको बुहारीको नाममा पनि मोही हक नामसारी हुने कानूनी प्रावधानको दफा २६ को व्यवस्था चौथो संशोधन लागू भएपश्चात् मात्र आकर्षित हुने हो भनी सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तविपरीत मलाई झिकाउने आदेश त्रुटिपूर्ण छ । सुरू फैसला सदर गरिपाउँ भन्ने बेहोराको प्रत्यर्थी प्रतिवादी रामचन्द्र सहनीको लिखित प्रतिवाद ।
फिराद दाबीबमोजिम पुनरावेदिकाको नाममा मोही नामसारी गरिदिनु पर्नेमा हकदैयाको अभावमा दाबी पुग्न नसक्ने भन्ने सुरू भूमि सुधार कार्यालय, रौतहटको मिति २०७२।२।१३ को फैसला उल्टी भई दाबीको कि.नं.६५७ को ज.वि.०-८-५ जग्गाको मोही मखन सहनीको नामबाट पुनरावेदिका झलिया देवीको नाममा मोही नामसारी हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७३।१।१२ मा भएको फैसला ।
म पुनरावेदक प्रतिवादीको नाममा दर्ता रहेको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं.६५७ को ०-८-५ जग्गा मेरो भाइ लक्षन सहनीको नाममा र.नं.१२५० मिति २०३५।२।१८ को पारित लिखतबाट हक स्वामित्वमा आएको जग्गा हो । उक्त जग्गा मिति २०६३।२।१७ मा हामी अंशियारबिच बन्डा हुँदा म पुनरावेदक प्रतिवादीको अंश भागमा परी निर्वाद भोगचलन गरी आएको छु । विवादित कि.नं. ६५७ को जग्गाधनी प्रमाण पुर्जाको मोही महलमा विपक्षी झलियादेवीको ससुरा मखन सहनी मल्लाह उल्लेख भए तापनि निज मोही मखन सहनी मल्लाहले २०३३ सालभन्दा अगाडिदेखि नै जोत कमोद नगरी जग्गा छाडेकोमा निजको मृत्यु २०३३ सालमा र निजको पत्नीको पनि २०३३ सालअगावै परलोक भइसकेको अवस्था छ । मोहीको हकवालाको रूपमा रहेको एक मात्र छोरा सरूप सहनीले मोही नामसारीको लागि कुनै प्रकारको दाबी नगरी निजको समेत मिति २०५१।०२।१२ मा परलोक भई तत्कालीन भूमिसम्बन्धी कानूनी व्यवस्थाअनुसार सो जग्गाको मोही हकको समाप्ति भइसकेको अवस्था छ । विवादित कि.नं. को जग्गामा विपक्षी ससुरा मोही जनिए तापनि साबिकदेखि नै जग्गा कमाउन छाडी निजलगायत निजको हकवालासमेतको परलोक भई मोहियानी हक नै समाप्ति भइसकेको तथा उक्त जग्गा २०३५ सालदेखि नै हाम्रो हकभोगमा रहेको तथ्य सो जग्गाको तिरो तिरानको रसिदलगायतका प्रमाण कागजातहरूबाट प्रस्ट हुँदाहुँदै कुनै आधारविना नै २०६३।२।११ मा जग्गा खरिद गरी लिदा मोही हक स्वीकार गरेको भनी मोही नामसारी मुद्दामा लिएको आधार अघि सारी मलाई हराई भएको पुनरावदेन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण भई बदरभागी छ ।
अत: कि.नं. ६५७ को ज.वि. ०-८-५ जग्गा मोहीको हैसियतले जोतकमोद नगरेको आधारमा भूमिसुधार कार्यालय रौतहटले मोही नामसारी नहुने गरी गरेको निर्णयलाई पुनरावेदन अदालत हेटौंडाले उल्टी गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी मेरो पुनरावेदन मागबमोजिम भूमिसुधार कार्यालय रौतहटले गरेको निर्णयलाई कायम गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विनोद श्रेष्ठले विवादित कि.नं.६५७ को जग्गा पुनरावेदकको अंश भागमा परी भोगचलन गरी तिरो तिरान गर्दै आएको जग्गा हो । प्रत्यर्थी उक्त जग्गाको वास्तविक मोही नभई निजको ससुराको नाम मोही महलमा उल्लेख भएकोसम्म हो, मोहीको हैसियतले जोत कमोद नगरेको र तत्काल प्रचलित भूमिसुधार ऐनमा बुहारीका नाममा मोही नामसारी हुने व्यवस्था नभएकोले सुरू भूमिसुधार कार्यालयको निर्णयलाई उल्टी गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरूको निर्णय कायम हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्तानुसारको पुनरावेदनपत्र तथा बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७३।१।१२ मा भएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीका नाम दर्ताको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं.६५७ को ज.वि.०-८-५ जग्गाको मोही ससुरा स्व. मखन सहनीको नामबाट मोही नामसारी गरिपाउँ भन्ने वादीको फिराद दाबी भएकोमा सुरू भूमिसुधार कार्यालय रौतहटबाट हकदैयाको अभावमा मोही नामसारीतर्फको वादी दाबी नपुग्ने ठहर गरी मिति २०७२।२।१३ मा फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादीको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परी उक्त अदालतबाट सुरू भूमिसुधार कार्यालय रौतहटको फैसला उल्टी भई दाबीको कि.नं.६५७ को ज.वि.०-८-५ जग्गाको मोही मखन सहनीको नामबाट पुनरावेदिका झलिया देवीको नाममा नामसारी हुने ठहर गरी मिति २०७३।१।१२ मा फैसला भएको र सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।
३. पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा विवादित कि.नं.६५७ को जग्गामा विपक्षीका ससुरा मोही जानिए तापनि २०३५ सालदेखि नै हाम्रो हकभोगमा रहेको, बुहारीको नाममा मोही नामसारी हुने तत्कालीन कानूनी व्यवस्था नरहेको हुँदा वादीका नाउँमा मोही नामसारी हुने गरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्ने मुख्य जिकिर लिएको पाइन्छ । तत्सम्बन्धमा विचार गर्दा, यसमा वादीका ससुरा मखन सहनी मोही रहे भएको कुरामा कुनै विवाद देखिँदैन । मोही मखन सहनी मलाह र निजको श्रीमती वसमतिया मलाहिन २०३३ सालअगाडि नै परलोक भएको भन्ने कुरा निवेदिकाले पेस गरेको च.नं.५१९ मिति २०७१।०३।१२ को गाउँ विकास समितिको कार्यालय, गेडही गुठी रौतहटको मोही नामसारी सम्बन्धमा उल्लेख भएको सर्जमिनसहितको सिफारिस पत्रबाट देखिन्छ । आमा बाबुहरूको मृत्युपछि उल्लिखित कि.नं. ६५७ नं. को जग्गाको निर्विवाद मोही मखन सहनीका एक मात्र छोरा सरूप सहनी भई निजसमेतको २०५१।०२।१२ मा मृत्यु भएपछि हालसम्म उक्त जग्गा झलीयादेवीले नै कमाई आएकी भन्ने उक्त गाउँ विकास समितिको सिफारिससमेतबाट देखिन आएको छ । पुनरावेदक रामचन्द्र सहनीले कि.नं.६५७ को जग्गा २०३५ सालदेखि नै हाम्रो हकभोगमा रहेको भनी पुनरावेदनमा जिकिर लिए पनि सोको पुष्टि हुने कुनै प्रमाण पेस गर्न सकेका छैनन् ।
४. सम्बन्धित कानूनी व्यवस्था हेर्दा "भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा १ मा ... मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ" भन्ने प्रावधान रहेको छ ।
५. यस्तै समान तथ्य रहेको पुनरावेदक वादी हिरामाया माडी श्रेष्ठ विरूद्ध प्रत्यर्थी जगतमाया श्रेष्ठ भएको जोत नामसारी मुद्दामा "मोहीको शेषपछि निजको हक खाने एक मात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) अनुसार मोही रोज्नुपर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एक मात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोही नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्ने अर्थ गर्नु न्यायसङ्गत नहुने" भन्ने ने.का.प.२०६१, अंक २, निर्णय नं.७३३८ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
६. प्रस्तुत मुद्दामा साबिक मोही मखन सहनीको २०३३ सालभन्दा अगाडि तथा निजकी श्रीमतीको २०३३ सालमै मृत्यु भएको र निजहरूको एक मात्र छोरा सरूप सहनीको समेत मृत्यु भई निजकी पत्नी वादी झलियादेवी हकदार रहेकी तथ्य मिसिल कागजातबाट खुल्न आएको छ । कि.नं.६५७ को जग्गा वादी झलियादेवीले निरन्तर रूपमा जोतकमोद गरेको भन्ने सर्जमिन मुचुल्कासहितको सिफारिसबाट देखिन्छ । पुनरावेदक रामचन्द्र सहनीका नाममा मोहीसहितको जग्गा मिति २०६३।२।११ मा आएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ मा २०५३ सालमा भएको चौथो संशोधनपूर्वको साबिकको व्यवस्थाअनुसार बुहारीले मोहियानी हक प्राप्त गर्न नसक्ने भन्ने पुनरावेदकको अर्को जिकिर रहेको
छ । तत्कालीन कानूनमा "बुहारी" लाई मोही नामसारी हुने हकवालामा राखेको नभएपनि प्रस्तुत मुद्दामा मोही मखन सहनीको एक मात्र छोरा सरूप सहनी र निजको एक मात्र श्रीमती वादी झलियादेवी रहेको अवस्थामा एक मात्र कानूनबमोजिमको हकवाला व्यक्ति बुहारी भएकोले जग्गाधनीले मोही पत्याउन इन्कार गर्ने हक रहेको देखिँदैन । मोही नामसारी गर्ने हदम्यादको व्यवस्था भूमिसम्बन्धी ऐनमा रहे भएको नदेखिँदा नामसारी नगराएकै कारणले निजको हक स्थापित भएको छैन भन्नु न्यायसङ्गत हुँदैन । पुनरावेदकले ऐन संशोधन हुनुपूर्व नै मोही लगत कट्टा गराउन सकेको देखिँदैन । दर्तावाला मोही निजकी श्रीमती तथा छोराको समेत मृत्यु भएको लामो समय व्यतित भइसकेको, एक मात्र हकवाला बुहारी नाताकी वादीले जोत कमोद गरिरहेको तथा कुतसमेत धरौट राखेको अवस्थामा कि.नं.६५७ को जग्गाको मोही मखन सहनीको नामबाट झलियादेवीको नाममा नामसारी हुने नै देखिन आयो ।
७. अत: हकदैयाको अभावमा दाबी पुग्न नसक्ने भन्ने सुरू भूमिसुधार कार्यालय, रौतहटको मिति २०७२।०२।१३ को फैसलालाई उल्टी गरी दाबीको कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको मोही मखन सहनीको नामबाट झलीयादेवीको नाममा मोही नामसारी हुने ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मनासिब देखिन आयो । उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
८. तसर्थ, माथि विवेचित आधार प्रमाणबाट विवादित कि.नं.६५७ को जग्गाको मोही मखन सहनीको नामबाट वादी झलियादेवीका नाममा मोही नामसारी हुने ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७३।१।१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : शिवहरि पौड्याल
इति संवत् २०७५ साल जेठ ६ गते रोज १ शुभम् ।