शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२८४ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७४।१२।२६

०७१-CR-०१०८

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नाम डि कुमारीको जाहेरीले वादी नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : खोटाङ जिल्ला, चिसापानी गा.वि.स. वडा नं.७ बस्ने प्रदिप भुजेलसमेत

 

वारदात मितिभन्दा अघि अभिलेखित जन्मदर्ता प्रमाण पत्र वा प्रमाण ऐन, २०३१ को दफा १४ अनुरूप तैयार भएको अभिलेख आदि वस्तुनिष्ठ प्रमाण पेस हुन नसकेको अवस्थामा पीडित स्वयंले घटनाको तत्काल पछि उल्लेख गरेको उमेरलाई अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा अन्यथा मान्‍न नमिल्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दयाशंकर अधिकारी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री खगेन्द्र राउत

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल

उदयपुर जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री पवनकुमार शर्मा

माननीय न्यायाधीश श्री शारड्गा सुवेदी

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः

म जाहेरवाला र मेरो सहोदर बहिनी नाम परिवर्तित सि कुमारी राई मिति २०६७।१०।८ गते आफ्नो घरबाट उदयपुर जिल्ला बेल्टार सिरूवानी मावलीघरमा आएकोमा सोही दिनको अ.४:०० बजे बेल्टार बजारमा आइपुगी नास्ता खाई घुमफिर गरी जान लाग्दा विपक्षी अन्यायीहरू प्रदिप भुजेल, डेविट चौधरी, दिपक परियार र रविन भन्‍ने सुरेश परियारसमेतले हामीलाई बेल्टार बसपार्क नजिकमा भेटी हामीहरूलाई सोधीखोजी गरेकोले हामीले सिधै कुरा बताउँदा निजहरूले हामीलाई विभिन्‍न लोभलालच देखाई प्रलोभनमा पारी बेल्टार बजार घुमाई हामी पुर्‍याई दिन्छौं भन्दै साँझ अ.२०:०० बजेको समयमा बेल्टार बसपार्कमा लगी निजहरूमध्ये प्रदिप भुजेल र डेविट चौधरीले मलाई सोही बसपार्कमा रहेको ना.२ ख २६५८ नं.को बसभित्र लगी बोले कराएमा मारीदिनेसम्मको धाक धम्की दिई निजहरू प्रदिप भुजेल र डेविट चौधरीले मलाई उक्त बसभित्र लगी डर त्रासमा पारी निजहरू दुवैले पालैपालोसँग जबरजस्ती करणी गरेको र मेरो बहिनी नाम परिवर्तित सि कुमारी राईसमेतलाई अन्य प्रतिवादी दिपक परियार र रविन भन्‍ने सुरेश परियारले को. १ख २३६० नं. को बसभित्र लगी सोही समयमा पालैपालोसँग जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्‍ने बेहोराको नाम परिवर्तित डि कुमारी राईको किटानी जाहेरी दरखास्त । 

जिल्ला उदयपुर बेल्टार गा.वि.स. वडा नं.२ बसपार्कस्थित पूर्वमा शंकर थापाको घर, पश्चिममा सुर्य वि.क. को घर, उत्तरमा सडक, दक्षिणमा सडक यति चारकिल्लाभित्र रहेको बेल्टार बसपार्कमा राखेको ना.२ख २६५८ नं. को गितादेवी बसभित्र मिति २०६७।१०।८ गते राति २०:०० बजेको समयमा प्रतिवादीहरू प्रदिप भुजेल र डेविट चौधरीले जाहेरवाली डि कुमारी राईलाई जबरजस्ती करणी गरेको भनिएको घटनास्थल ठिक छ भन्‍ने बेहोराको मौकाको घटनास्थल मुचुल्का । 

पक्राउमा परी आएका प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीको लिङ्गबाट मिति २०६७।१०।८ गते राति करणी भए नभएको यकिन गर्न नसकिने भन्‍ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालयको पत्र । 

म केही दिनदेखि ना.२ख २६५८ नं. को बसमा खलासी काम गर्दै आएकोमा मिति २०६७।१०।८ गते दिनको अं. ४:०० बजेको समयतिर म उक्त बसमा झाडु लगाई रहेको बेला निज जाहेरवाला डि कुमारी राई र निजको बहिनी सि कुमारी राई बसपार्कतिर आएकोले निजहरूलाई सोधीखोजी गर्दा पहाडबाट मावलीघरतिर आएको भनेपछि निजहरूलाई मैले गफगाफ गर्दै गर्दा प्रतिवादी डेविट चौधरी, दिपक परियार र रविन भन्‍ने सुरेश परियारसमेत आएपछि निजहरूलाई बेल्टार बजार घुमाई साँझ परेपछि जाहेरवाला डि कुमारी राईलाई र निजको बहिनीलाई बेल्टार बसपार्कतिर लगी बसपार्कमा रहेको ना.२ ख २६५८ नं.को बसभित्र लगी मैले र प्रतिवादी डेविट चौधरीले जाहेरवाला डि कुमारी राईलाई पालैपालोसँग पहिले मैले जबरजस्तीसँग करणी गरेँ भने त्यसपछि प्रतिवादी डेविट चौधरीले जबरजस्ती करणी गरेको हो । हामी दुवै जनाले निजलाई २/२ पटकसम्म करणी गरेपछि हामीहरू निजलाई छाडी भागेको हो भन्‍ने बेहोराको पक्राउ प्रतिवादी प्रदिप भुजेलको साबिती बयान । 

मिति २०६७।१०।८ गते म आफ्नो काम विशेषले बेल्टार बजार गएकोमा साँझ ५ बजेतिर प्रतिवादी प्रदिप भुजेललाई भेट्दा निजहरूसँग जाहेरवाला डि कुमारी राई र निजको बहिनी सि कुमारी राईसमेत सँगै आएकोले निजहरूसँग म पनि विभिन्न कुरा गरी बेल्टार बजार घुमी साँझ परेपछि बसपार्कमा गई निज प्रदिप भुजेलले नै आज यिनीहरूलाई करणी गर्नुपर्छ भनेकोले मैले पनि निजहरूलाई विभिन्न कुरा गरी बसपार्कमा रहेको ना.२ ख २६५८ नं. को बसभित्र लगी म र प्रदिप भुजेलले पालैपालोसँग जाहेरवाला डि कुमारी राईलाई जबरजस्ती करणी गरेको हो । प्रदिप भुजेल र मैले निजलाई २/२ पटकसम्म करणी गरेपछि हामीहरू हिँडेका हौं भन्‍ने बेहोराको पक्राउ प्रतिवादी डेविट चौधरीको साबिती बयान । 

पीडित जाहेरवाला नाम परिवर्तित डि कुमारी राईको योनिच्छेद फाटेको, निजले लगाएको पेन्टीमा पुरूषको वीर्य देखिएको, निजको स्तनको दाहिने पट्टि २x२ से.मी. दुवै स्तनबिचमा २x१ से.मी. को निलडाम देखिएको भन्‍ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालयको पत्र ।

मिति २०६७।१०।८ गते रातको अ.२०:०० बजेको समयमा जिल्ला उदयपुर बेल्टार बजार बसपार्कमा रहेको ना.२ ख २६५८ नं. को बसमा प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीले मेरो दिदी जाहेरवाला नाम परिवर्तित डि कुमारी राईलाई पालैपालोसँग जबरजस्ती करणी गरेको हुन् भन्‍ने बेहोराको पीडित नाम परिवर्तित सि कुमारी राईको कागज । 

मिति २०६७।१०।८ गते मेरो छोरीहरू जाहेरवाला नाम परिवर्तित डि कुमारी राई र नाम परिवर्तित सि कुमारी राईलाई बेल्टार सिरूवानी मावली घर पठाएकोमा निजहरूलाई बेल्टार बसपार्कमा पुग्दा प्रतिवादीहरू प्रदिप भुजेल र डेविट चौधरीले जाहेरवाली डि कुमारी राईलाई ना.२ख २६५८ नं. को बसमा र सि कुमारी राईलाई को.१ ख २३६० नं. को बसभित्र लगी प्रतिवादी दिपक परियार र रविन भन्‍ने सुरेश परियारले जबरजस्ती करणी गरेको हुँदा निजलाई कारबाही होस् भन्‍ने बेहोराको पीडितको बुबा भुपाल राईको कागज ।

भुपाल राईको छोरी नाम परिवर्तित डि कुमारी राईको विद्यालयको अभिलेखअनुसार निजको जन्म २०५२।५।१६ रहेको भन्‍ने शिक्षा निकेतन औतारी मा.वि.को पत्र । 

जाहेरवाला तथा निजको बहिनी मेरो भतिजी नाताका मानिसहरू हुन्, निजहरू मिति २०६७।१०।८ गते आफ्नो घरबाट मावली घर सिरूवानीमा आउँदा बेल्टार बजार बसपार्कमा प्रतिवादीहरू प्रदिप भुजेल, डेविट चौधरी, दिपक परियार, रविन भन्‍ने सुरेश परियारसमेतले भेटी विभिन्‍न लोभलालचमा पारी बेल्टार बजार घुमाई निजहरूले साँझ परेपछि जाहेरवाला डि कुमारी राईलाई बसपार्कमा रहेको ना.२ख २६५८ नं.को बसमा प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीले डर त्रासमा पारी जबरजस्ती करणी गरेको र अर्की बहिनी सि कुमारी राईसमेतलाई प्रतिवादी दिपक परियार र रविना भन्‍ने सुरेश परियारले को.१ ख २३६० नं.को बसभित्र लगी पालैपालो जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही सजाय होस् भन्‍ने बेहोराको बुझिएका रणबहादुर राईको कागज ।

मिति २०६७।१०।८ गते मैले चलाई ल्याएको ना. २ ख २६५८ नं. को बसलाई बेल्टार बसपार्कमा राखी खलासी प्रदिप भुजेललाई रेखदेख गर्न छाडी आएको थिएँ । भोलिपल्ट बिहान विराटनगर यात्रीहरू लिई जानको लागि बसपार्कमा जाँदा उक्त जाहेरीमा लेखिएको समयमा प्रतिवादी खलासी प्रदिप भुजेल र डेविट चौधरीले उक्त ना.२ ख २६५८ नं.को बसभित्र जाहेरवाला नाम परिवर्तित डि कुमारी राईलाई जबरजस्ती करणी गरेको भन्‍ने सुनी थाहा पाएको हुँ । अर्को को.१ख २३६० नं.को बसभित्र पनि प्रतिवादी दिपक परियार र रविन भन्‍ने सुरेश परियारले जाहेरवालाको बहिनीलाई जबरजस्ती करणी गरेका रहेछन् । निज प्रतिवादीहरूलाई हदैसम्मको कारबाही सजाय होस् भन्‍ने बेहोराको बुझिएका ना.२ख २६५८ नं. को बसका चालक कुसुम लाल साहको कागज । 

जाहेरीमा लेखिएको वारदात मिति समयमा हामी आ-आफ्नो घर कोठामा थियौं । उक्त समयमा प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीसमेतले बेल्टार बजार बसपार्कमा रहेको ना.२ ख २६५८ नं. को बसभित्र जाहेरवाला नाम परिवर्तित डि कुमारी राईलाई विभिन्न डर त्रास देखाई जोरजुलुमका साथ निजहरू दुवै जनाले पालैपालोसँग जबरजस्ती करणी गरेको र अर्का प्रतिवादी दिपक परियार र रविन भन्‍ने सुरेश परियारले सोही बसपार्कमा रहेको को.१ख २३६० नं. को बसभित्र लगी जाहेरवालाको बहिनी सि कुमारी राईलाई समेत दुवैले जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही सजाय हुनुपर्ने भनी अम्बिका राईसमेत ५ जनाले गरी दिएको वस्तुस्थिति मुचुल्का । 

पीडित जाहेरवाला नाम परिवर्तित डि कुमारी राई तथा निजको बहिनी सि कुमारी राई मेरो फुपूका छोरीहरू हुन् । निजहरू मिति २०३७।१०।८ गते आफ्नो घरबाट मावली घर सिरूवानी आउने क्रममा बेल्टार बजारमा आइपुग्दा प्रतिवादीहरू प्रदिप भुजेल, डेविट चौधरी, दिपक परियार र रविन भन्‍ने सुरेश परियारसमेतले भेटी निजहरूलाई बेल्टार बजारमा घुमाउँदा साँझ परेपछि बसपार्कमा लगी ना.२ ख २६५८ नं. को बसमा प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीले जाहेरवाला डि कुमारी राईलाई जबरजस्ती करणी गरेको र अर्को सि कुमारी राईलाई को.१ ख २३६० नं. को बसभित्र लगी प्रतिवादी दिपक परियार र रविन भन्‍ने सुरेश परियारले पालैपालोसँग जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई हदैसम्मको कारबाही हुनु पर्ने भन्‍ने निरकुमारी राईको कागज ।

प्रदिप भुजेल र डेविट चौधरीले घर जाँदै गरेकी वर्ष १५ कि जाहेरवाली डि कुमारी राईलाई चिनजानकै मानिस भएको झुठा बेहोरा उल्लेख गरी केही समय गफगाफमा भुल्याई मामाघर पुर्‍याई दिने बहाना बनाई बेल्टार स्थितमा रहेको बसपार्कमा पुर्‍याई ना.२ ख २६५८ नं. को बसभित्र लगी बोले कराएमा मारी दिने धम्की दिई पालैपालो जबरजस्ती करणी गरी जाहेरवाली कराएपछि भागी गएका भन्‍ने तथ्य प्रस्ट भएकोले निज प्रतिवादी प्रदिप भुजेल तथा डेविट चौधरीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. र ३ नं.को कसुर अपराधमा ऐ. महलको ३ नं.को देहाय (२) बमोजिम सजाय हुनुको साथै निज प्रतिवादीहरूलाई ऐ.ऐन ऐ. महलको ३क नं. बमोजिम थप सजायसमेत गरी पाउन एवं ऐ.महलको १० नं.बमोजिम पीडितलाई उचित क्षतिपूर्तिसमेत भराई पाउन र सो प्रयोजनको लागि ऐ.१० (ग) नं.बमोजिमसमेत गरिपाउँ भन्‍ने बेहोराको अभियोग माग ।

उक्त मितिमा सि कुमारी राईलाई दिपक परियारले छारे खोला र आयुष बसभित्र राजीखुसीले करणी गर्‍यो दिदी डि कुमारी राईलाई मैले र डेविट चौधरीले छारे खोलामा गीता देवी बसभित्र पालैपालो सहमतिले करणी गरेको हो । राजीखुसीले करणी गर्दा दुवै पटक मैले पहिला करणी गरेको हो । जबरजस्तीसँग करणी गरेको होइन छैन । अत: अभियोग दाबीबमोजिम मैले सजाय पाउनु पर्ने हैन सफाइ पाउँ भनी प्रतिवादी प्रदिप भुजेलले सुरू अदालतमा गरेको बयान ।

अभियोग दाबीबमोजिम मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । म निर्दोष भएको हुँदा अभियोग दाबीबमोजिम सफाइ पाउँ भनी प्रतिवादी डेविट चौधरीले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादीहरूले मलाई जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्‍नेसमेत बेहोराको जाहेरवाली डि कुमारी राईको अदालतमा गरेको बकपत्र ।

डेविट चौधरी नाम परिवर्तित डि कुमारीलाई जबरजस्ती करणी गरेको होइन, म उक्त घटनाको प्रत्यक्षदर्शी होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी डेविट चौधरीका साक्षी मुनेश्‍वर चौधरीको बकपत्र ।

प्रतिवादीमध्येको प्रदिप भुजेललाई जबरजस्ती करणी महलको ३(४) को कसुरमा ५ वर्ष कैद सामूहिक बलात्कारतर्फ सोही ३ (क) बमोजिम थप कैद सजाय भई क्षतिपूर्तिबापत प्रतिवादीहरूको आर्थिक स्थितिसमेतलाई दृष्टिगत गरी रू.२५,०००।- प्रतिवादीहरूवाट पीडितले भराई पाउने, अर्का प्रतिवादी डेविट चौधरी १६ वर्षमुनिको देखिँदा सजायको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम प्रतिवादी प्रदिप भुजेलले पाउने सजायको आधा सजाय क्षतिपूर्तिसम्म भराई दिन नपर्ने ठहर्छ भनी सुरू उदयपुर जिल्ला अदालतबाट मिति २०६९।३।२६ मा भएको फैसला । 

प्रतिवादी प्रदिप भुजेललाई माग दाबीबमोजिम सजाय नहुनु पर्ने कुनै कारण र अवस्था खुलाएको 

छैन । पीडिता डि कुमारी राईको १६ वर्षभन्दा कम भएको तथ्य शिक्षा निकेतन औतारी माध्यमिक विद्यालयको पत्रबाट खुली आएको छ । पीडिताको जन्ममिति उल्लिखित विद्यालयको च.न.४७/०६७ मिति २०६७।१०।२० को पत्रअनुसार मिति २०५२।५।१६ लेखिएको पाइएकोले दाबीबमोजिम सजाय हुनुपर्छ । पीडिताले बकपत्र गर्दा उमेर १७ वर्ष लेखाउनुलाई वारदातको मिति उमेर भन्न 

मिल्दैन । प्रतिवादी डेविट चौधरीको उमेर १६ वर्षभन्दा मुनिको मानी निजको बयानलाई मात्र आधार मानी डाक्टर परीक्षणविनाको प्रमाणलाई ग्रहण गरिएको 

छ । प्रतिवादी डेविट चौधरीबाट जबरजस्ती करणीको महलको १० नं. अनुसार क्षतिपूर्ति भराउनु पर्नेमा भराएको छैन । यसर्थ सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी प्रदिप भुजेललाई जबरजस्ती करणीको ३ (४) को ठहरमा ५ वर्ष र कैद र सामूहिक जबरजस्ती करणीतर्फ ३क बमोजिम थप कैद ५ वर्ष र निज प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- (पच्चीस हजार रूपैयाँ) क्षतिपूर्ति मगाई दिने र प्रतिवादी डेविट १६ वर्षभन्दा मुनिको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम निजलाई प्रदिप भुजेललाई हुने ठहरिएको सजायको आधा सजाय भई क्षतिपूर्तिसम्म भराई दिन नपर्ने ठहर्‍याई सुरू उदयपुर जिल्ला अदालतबाट मिति २०६९।३।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।११।२१ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरूले जाहेरवालीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेकोमा विवाद 

छैन । सुरू तथा पुनरावेदन अदालतबाट प्रतिवादीहरूले जबरजस्ती करणीको कसुर गरेको ठहर भएको र प्रतिवादीहरूले समेत फैसलालाई स्वीकार गरी पुनरावेदन नगरी बसेको अवस्था छ । प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि भइसकेपछि मिसिल प्रमाणबाट देखिएको पीडितको उमेरको आधारमा प्रतिवादीहरूलाई सजाय गर्नुपर्ने हुन्छ । पीडित अध्ययनरत रहेको शिक्षा निकेतन औतारी माध्यमिक विद्यालय देवी स्थान -५ पौवा, खोटाङको मिति २०६७/१०/२० को पत्रबाट विद्यालयको अभिलेखअनुसार निजको जन्ममिति २०५२/०५/१६ भनी उल्लेख भई आएको, सो जन्ममितिको आधारमा वारदात मिति २०६७/१०/८ मा निजको उमेर १५ वर्ष ४ महिना २२ दिन मात्र भएको देखिन्छ । उक्त विद्यालयको अभिलेख सम्बन्धमा मुद्दाको कुनै पक्षले विवाद उठाएको अवस्थासमेत छैन । बाल न्याय कार्यविधि नियमावली, २०६६ ले समेत बालबालिकाको उमेर निर्धारण गर्दा क्रमशः अस्पतालको जन्म रेकर्ड, जन्मदर्ता प्रमाण पत्र, विद्यालयको अभिलेखको आधारमा निर्धारण गर्नुपर्छ भनेको अवस्था छ । पीडितको अस्पतालमा जन्म भएको जन्म रेकर्ड र जन्म दर्ता प्रमाण पत्र नभएको अवस्थामा विद्यालयको अभिलेख नै आधिकारिक प्रमाण भएकाले सोलाई आधारमानी विद्यालयको अभिलेखबाट देखिएको पीडितको उमेरको आधारमा अभियोग दाबीअनुसार सजाय गर्नुपर्नेमा पीडितले जाहेरीमा उल्लेख गरेको उमेरलाई आधार मानी भएको फैसला बाल न्याय कार्यविधि, २०६४ को नियम १५ को उपनियम (ग) को व्याख्यामा गम्भीर त्रुटिपूर्ण भई बदरभागी छ । 

प्रतिवादी डेविट चौधरी नाबालक देखिएको कारणले मात्र निजले पीडितलाई क्षतिपूर्ति स्वरूप दिनुपर्ने आर्थिक दायित्वबाट उन्मुक्ति पाउने अवस्था हुँदैन । बालबालिकासम्बन्धी ऐन, २०४८ तथा जबरजस्ती करणीको महलको १० नं.ले बालबालिकाले गरेको जबरजस्ती करणीमा क्षतिपूर्ति भराउनु नपर्ने भनी छुट दिएको देखिँदैन, कानूनले स्पष्ट रूपमा छुट नदिएको अवस्थामा अदालतले मनोगत रूपमा व्याख्या गरी छुट दिन मिल्दैन । प्रतिवादीले जबरजस्ती करणीजस्तो महिला विरूद्धको गम्भीर अपराधको कसुर गरेको देखिएको र स्वयं पीडितसमेत नाबालिका रहेको देखिँदा पीडितलाई अपराधबाट पुग्न गएको पीडा स्वरूप प्राप्त हुने क्षतिपूर्तिको अधिकारबाट वञ्‍चित गर्न मिल्दैन । यस्तै प्रकृतिको मुद्दा "जबरजस्ती करणीको अपराधमा पीडक कसुरदारबाट पीडित जुनसुकै बयस्क महिलाले पाउने कानूनबमोजिमको क्षतिपूर्ति बच्चा महिला अर्थात् बालबालिकाले पाउँदैन भनी तर्क गरी व्याख्या गर्दै जाने हो भने समाजमा दण्डहिनतालाई प्रोत्साहन मिल्न जाने" भनी नेपाल सरकार विरूद्ध पवनकुमार यादवसमेत (ने.का.प. २०६७, अंक ११, नि.नं. ८४९४, पृष्ठ १८०२) भएको जबरजस्ती करणी मुद्दामा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यस्तै अर्को मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट "बालबालिकासम्बन्धी ऐन, २०४८ ले बालबालिकाले गरेको जबरजस्ती करणीमा जबरजस्ती करणीको १० नं. लागू नहुने भनी छुटसमेत नदिएको हुँदा जबरजस्ती करणीको १० नं. स्वतः आकर्षित हुने" भनी सिद्धान्त प्रतिपादन भएको (सर्वोच्च अदालत बुलेटिन, २०६६, भदौ २ पूर्णाङक ४१२, २०५९ सालको फौ.पु.नं.३९१५, पृ-१०, अब्दुल कलाम मुसलमान वि. नेपाल सरकार) भएको मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तसमेत पालना नगरी भएको फैसला त्रुटिपूर्ण छ ।

माथि विभिन्‍न प्रकरणहरूमा उल्लेख भएअनुसार पीडितको उमेर १६ वर्षभन्दा कम रहेको पुष्टि हुँदाहुँदै बढी उमेर देखाई प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा घटी सजाय हुने ठहर गरेको तथा प्रतिवादी डेविट चौधरी नाबालक भएको कारणले पीडितलाई क्षतिपूर्ति दिनु नपर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा कानून एवं नजिरसमेतको त्रुटि हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री दयाशंकर अधिकारीले पीडितको उमेर १६ वर्षभन्दा कम भएको विद्यालयको कागजबाट पुष्टि हुँदाहुँदै पनि सो जन्ममिति कायम नगरी प्रतिवादीहरूलाई घटी सजाय हुने गरी साथै प्रतिवादीमध्येका डेविट चौधरीबाट समेत पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्नेमा नभराएको हदसम्म पुनरावेदन अदालत राजविराजको मिति २०७०।११।२१ को फैसला उल्टी हुनुपर्दछ भन्‍नेसमेत बहस प्रस्तुत गर्नुभयो । प्रतिवादी डेविट चौधरीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री खगेन्द्र राउतले जाहेरवालीको उमेर अभियोगपत्रमा १६ वर्ष उल्लेख छ । वारदात घटिसकेपछि विद्यालयले सिफारिस गरेको अवस्था छ । फरक उमेर लेखिएको अवस्थामा जुन बढी छ त्यही उमेर मान्य हुने हुँदा पुनरावेदन अदालत राजविराजको फैसला सदर हुनुपर्दछ भन्‍नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको तथ्य एवं बहस बुँदा भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।११।२१ मा भएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रदिप भुजेल र डेविट चौधरीले वर्ष १५ कि जाहेरवाली डि कुमारी राईलाई बेल्टार स्थितमा रहेको बसपार्कमा पुर्‍याई ना.२ ख २६५८ नं.को बसभित्र लगी बोले कराएमा मारी दिने धम्की दिई पालैपालो जबरजस्ती करणी गरी जाहेरवाली कराएपछि भागी गएका भन्‍ने तथ्य प्रस्ट भएकोले निज प्रतिवादी प्रदिप भुजेल तथा डेविट चौधरीलाई मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं. र ३ नं.को कसुर अपराध ऐ. महलको ३ नं.को देहाय (२) बमोजिम सजाय हुनको साथै निज प्रतिवादीहरूलाई ऐ.ऐन ऐ.महलको ३क नं. बमोजिम थप सजायसमेत गरी पाउन एवं ऐ. महलको १० नं.बमोजिम पीडितलाई उचित क्षतिपूर्तिसमेत भराई पाउन र सो प्रयोजनको लागि ऐ.१० (ग) नं. बमोजिम समेत गरिपाउँ भन्‍ने अभियोग मागदाबी रहेकोमा प्रतिवादी प्रदिप भुजेललाई जबरजस्ती करणीको ३ (४) को कसुरमा ५ वर्ष कैद र सामूहिक जबरजस्ती करणीतर्फ ३क बमोजिम थप कैद ५ वर्ष र निज प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति भराई दिने र प्रतिवादी डेविट चौधरी १६ वर्षभन्दा मुनिको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम निजलाई प्रदिप भुजेललाई हुने ठहरिएको सजायको आधा सजाय भई क्षतिपूर्तिसम्म भराई दिन नपर्ने ठहर गरी सुरू उदयपुर जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतकै फैसला सदर हुने ठहरी फैसला भएको र सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । 

३. पुनरावेदक वादीले पुनरावेदनपत्रमा पीडितको उमेर १७ वर्ष कायम गरी प्रतिवादीहरूलाई घटी सजाय गरेको, प्रतिवादी डेविट चौधरीको उमेर १६ वर्षमुनिको कायम गरी बालबालिकासम्बन्धी ऐन लगाई आधा सजाय गरेको तथा निजबाट क्षतिपूर्ति भराउनु नपर्ने ठहर गरेको हदसम्म फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्ने भन्‍ने मुख्य जिकिर लिएको पाइन्छ । 

४. तत्सम्बन्धमा हेर्दा, प्रतिवादीहरूले जबरजस्ती करणीको कसुर गरेको ठहर गरेकोसम्म फैसला मिलेकोले पुनरावेदन जिकिर नलिइएको भन्‍ने वादीको पुनरावेदन तथा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न नआएको हुँदा प्रतिवादीहरूलाई कसुरदार ठहर गरेकोतर्फ विवेचना गर्न परेन । 

५. पीडितको उमेर १६ वर्षभन्दा कम भएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको ३(२) बमोजिम प्रतिवादीहरूलाई सजाय हुनु पर्नेमा ३(४) बमोजिम कैद सजाय गरेको सुरू फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेकोले सोतर्फ विचार गर्दा मिति २०६७।१०।८ गते २०.०० बजे भए घटेको वारदात सम्बन्धमा पीडित स्वयम्‌ले मिति २०६७।१०।९ मा दिएको जाहेरी दरखास्तमा आफ्नो उमेर १७ वर्ष लेखेको 

देखिन्छ । वारदात मितिपछि मिति २०६७।१०।२० च.न. ०४७/०६७ को श्री शिक्षा निकेतन औतारी माध्यमिक विद्यालयको पत्रलाई आधार बनाई पीडितको जन्ममिति २०५२।०५।१६ भनी निज १६ वर्षभन्दा कम भएको भन्ने जिकिर लिइएको देखिन्छ । वारदात मितिभन्दा अघि अभिलेखित जन्मदर्ता प्रमाण पत्र वा प्रमाण ऐन, २०३१ को दफा १४ अनुरूप तयार भएको अभिलेख आदि वस्तुनिष्ठ प्रमाण पेस हुन नसकेको अवस्थामा पीडित स्वयंले घटनाको तत्काल पछि उल्लेख गरेको उमेरलाई अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा अन्यथा मान्‍न मिलेन । 

६. पीडितको उमेरको आधारमा प्रतिवादी प्रदिप भुजेललाई जबरजस्ती करणीको ३ (४) को कसुरमा ५ वर्ष कैद र सामूहिक जबरजस्ती करणीतर्फ ३ (क) बमोजिम थप कैद ५ वर्ष र निज प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- (पच्चीस हजार रूपैयाँ) क्षतिपूर्ति भराई दिने र प्रतिवादी डेविट चौधरी १६ वर्षभन्दा मुनिको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम निजलाई प्रदिप भुजेललाई हुने ठहरिएको सजायको आधा सजाय हुने गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।११।२१ मा भएको फैसला सो हदसम्म मिलेकै देखिन आयो । 

७. यसैगरी प्रतिवादी डेविट चौधरीबाट पीडितलाई क्षतिपूर्ति नभराएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्‍ने वादीको अर्को पुनरावेदन जिकिर रहेको छ । सोतर्फ विचार गर्दा, प्रतिवादी डेविट चौधरीको पनि कसुर वारदातमा संलग्नता भई दुवैजनालाई सजाय ठहर भएको अवस्था छ । मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम कैद सजाय भएको अवस्थामा सोही महलको १० नं. बमोजिम क्षतिपूर्ति निर्धारण गरी सोही महलको १०ग नं. बमोजिम क्षतिपूर्ति भराउनु पर्नेमा कानूनको उक्त अनिवार्य व्यवस्थालाई पुनरावेदन अदालतबाट अवलम्बन गरेको नदेखिँदा पुनरावेदन अदालत राजविराजको मिति २०७०।११।२१ को फैसला सो हदसम्म केही उल्टी भई प्रतिवादी डेविट चौधरीबाट पनि पीडितलाई रू.१५,०००।- (पन्ध्र हजार) भराई दिने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।११।२१ मा भएको फैसला केही उल्टी भई प्रतिवादी डेविट चौधरीबाट पीडितलाई रू.१५,०००।- (पन्ध्र हजार) क्षतिपूर्ति भराई दिने ठहरी फैसला भएकोले फैसलाबमोजिम लगत राखी पीडितलाई प्रतिवादीबाट कानूनबमोजिम क्षतिपूर्ति भराइ दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------१

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ------------२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू -----३

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : शिवहरि पौड्‍याल

इति संवत् २०७४ साल चैत २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु