निर्णय नं. १०२८६ - दूषित नामसारी निर्णय दर्ता बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।३।११
मुद्दाः- दूषित नामसारी निर्णय दर्ता बदर
०६९-CI-१०९५
पुनरावेदक / वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने हेमशंकरकी बुहारी हरिहरराजकी पत्नी अम्बिका राजोपाध्यायसमेत
विरूद्ध
विपक्षी / प्रतिवादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने स्व. हेमशंकरको नाति स्व. विष्णुहरीराजको छोरा मृगेन्द्रराज सुवेदी राजोपाध्याय
०६९-CI-११२८
पुनरावेदक / वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने हेमशंकरको नाति स्व. विष्णुहरीराजको छोरा मृगेन्द्रराज सुवेदी राजोपाध्याय
विरूद्ध
विपक्षी / प्रतिवादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने स्व. हेमशंकरको नाति स्व. हरिहरराजको छोरा शारदेशराज शर्मासमेत
अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी सिफारिस गराई सोही आधारमा कारबाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई बिक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसङ्गत नहुने ।
(प्रकरण नं.५)
समान अंश हक कायम रहेको जग्गाको अंशियार जोसुकैले जुनसुकै बेहोराबाट दर्ता गराए पनि अन्य अंशियारको अंशहक समाप्त नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशी, विद्वान् अधिवक्ता श्री दिपेन्द्र थापा
विपक्षी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६६, अंक ९, नि.नं.८२२२
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री चण्डीराज ढकाल
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री एकराज आचार्य
माननीय न्यायाधीश श्री रामचन्द्र यादव
पुनरावेदन अदालत पाटन
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः-
पिता विष्णुहरि, उपेन्द्रराज, विध्नहर र कृष्णहरिसमेतको बिच २०२२।३।११ मा बन्डाफारी गरी आ-आफ्नो भाग छुट्याउने गरी लिखत भएकोमा पारित गरी नदिएकोले विध्नहर राजोपाध्यायले लिखत पारित मुद्दा गरी भक्तपुर जिल्ला अदालतको २०२३।३।२० को फैसलाबमोजिम २०२४।६।१ मा पारित लिखतबाट २०२१ सालमा नापी हुँदा कायम भएको छालिङ गा.वि.स. वडा नं. २ कि.नं.७४८ समेतका ५६ कित्ता जग्गाहरू पिता विष्णुहरिको नाममा दर्ता भई पिताले भोगचलन गरी आएकोमा पिताको २०२३ सालमा र आमाको २०५३ सालमा परलोक भएपछि मैले मोहीहरूसँग कुत बुझी भोगिआएको उल्लिखित कित्ता जग्गाहरूबाहेक केही जग्गाहरू नामसारी दर्ता गर्न बाँकी रहेकोले उक्त जग्गाहरू नामसारी गर्न मालपोत कार्यालय, भक्तपुरमा निवेदन दिन बुझ्दा ती जग्गाहरू विपक्षीहरूका पिता हरिहर राजोपाध्यायले नामसारी दर्ता गरी लगेको भन्ने २०६४।९।१ मा नामसारी मिसिलको नक्कल लिई हेर्दा काका हरिहरले निजको दाजु विष्णुहरि २०२३ फाल्गुणमा परलोक भई निजको हक खाने काकाबाहेक कोही नभएकोले नामसारी गरिपाउँ भनी २०३१।५।२६ मा तत्कालीन भू.प्र.का. भक्तपुरमा निवेदन गरी हरिहरबाहेक अरू हकवाला कोही नभएको भनी बलराम कर्माचार्य र राम अवाललाई साक्षी राखी २०३१।२।५ मा मुचुल्का बनाई सो मुचुल्कासमेतको आधारमा हरिहरका नाममा नामसारी गरी दिने निर्णय भएको, हरिहरको परलोकपछि गुण्डु ४, भक्तपुर, कि.नं. ३१२ समेतका ३४ कित्ता जग्गा हरिहरकी पत्नी अम्बिकाको मन्जुरीमा विपक्षी शारदेश र सुरेशले नामसारी गरी पाउन निवेदन दिई २०६३।१२।१९ को मालपोत कार्यालय, भक्तपुरको निर्णयले निजहरूको नाममा नामसारी गरेछन् । पिता विष्णुहरिका नाममा दर्ता भएको उल्लिखित जग्गाहरू पिताको हकवाला विपक्षका पति पिता हरिहरबाहेक कोही नभएको भनी हकवाला नभएको व्यक्ति हरिहरले तत्कालीन भू.प्र.का., भक्तपुरबाट २०३१।९।२५ मा भएको दूषित नामसारी निर्णय गराई, सो निर्णयअनुसार दर्ता गराउने हरिहर परलोक भएपछि उल्लिखित जग्गाहरू विपक्षमध्येका शारदेश र सुरेशका नाममा नामसारी गर्ने गरी मालपोत कार्यालय, भक्तपुरबाट २०६३।१२।१९ मा भएको दूषित नामसारी र सोअनुसार भएको दर्तासमेत गरी विष्णुहरिको छोरा म फिरादीलाई ज.ध.प्र.पुर्जा दिनु भनी मालपोत कार्यालय भक्तपुरलाई जनाउ गराई पाउँ भन्ने वादी मृगेन्द्रराज राजोपाध्यायको फिरादपत्र ।
वादी दाबीको जग्गा हामी प्रतिवादीहरूको पिताले पैतृक सम्पत्तिको संरक्षण गर्ने प्रयोजनार्थ नामसारीसम्म गर्नुभएको हो जसबाट विपक्षीको हक लोप भएको छैन । निजको हक छैन भनी इन्कार गरेको पनि छैन । एकासगोलको जुनसुकै अंशियारको नाममा पैतृक सम्पत्ति नामसारी दा.खा. भए तापनि अन्यथा प्रमाणित नभएसम्म सबैको हक लाग्नेमा विवाद छैन । यस्तो सत्य तथ्य लोप गरी सम्पूर्ण सम्पत्ति आफूले मात्र पाउनु पर्छ भनी दाबी गर्ने हकदैया वादीलाई
छैन । विवादित जग्गामा ४ खण्डको १ खण्ड वादीको हक रहेकोमा निर्विवाद छ । २०३१।९।२५ को नामसारी निर्णय र २०६३।१२।१९ को नामसारी निर्णय एउटै नभई अलग अलग नामसारी निर्णय बदरार्थ एउटै फिरादमा दाबी गर्न नमिल्ने भएकोले मुलुकी ऐन अ.बं. ७२ नं. र जग्गा मिच्नेको १८ नं. एवम् जग्गा पजनीको १७ नं. द्वारा निर्दिष्ट हदम्यादभित्र वादीको नालेस नभएको र कि.नं.६७ र ११५ को जग्गा प्रतिवादीहरूको पिता तथा पति हरिहर राजोपाध्यायले जगत तुसि बाख्योलाई र.नं. ८०९ मिति २०३५।१२।५ मा राजीनामा गरी हक हस्तान्तरण गर्दा वादी सो लिखतमा साक्षी बसेकोसमेतबाट हदम्याद अभावमा दायर गरिएको वादी दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादी अम्बिका राजोपाध्यायसमेतका संयुक्त प्रतिउत्तरपत्र ।
विष्णुहरिका श्रीमती र छोराहरू हुँदाहुँदै ५६ कित्ता जग्गा प्रतिवादीहरूका नाममा नामसारी गर्नेगरी भएको निर्णय र नामसारी बदर हुनुपर्ने हो भन्ने वादीको साक्षी कपिल बनेपालीको बकपत्र ।
वादी तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा लाग्नु भएको र भूमिगत रहँदाको अवस्था राजद्रोहसमेतको मुद्दा पर्न सक्ने र सर्वस्व हुन सक्ने भएकोले वादी र वादीको आमाको सहमतिबाट हरिहरराज शर्माको नाममा नामसारी गरेको भन्ने सुनेको हुँ । सहमतिमा भएको निर्णय दूषित नभई बदर हुनु पर्ने होइन भन्ने प्रतिवादीको साक्षी ऋषिकेश शर्माको बकपत्र ।
फिरादीले आफ्ना बाबुको नामको जग्गा प्रतिवादीहरूले दर्ता गराएको कुरा २०३५।१२।५ मा नै थाहा भएकोमा सो मितिले कानूनका म्यादभित्र नालेस पर्न आएको नदेखिँदा वादी दाबी खारेज हुने ठहर्छ भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६७।३।९ गतेको फैसला ।
विपक्षीहरूका पति पिता मेरा काका नाताका हरिहरले पिता विष्णुहरिको नाउँमा दर्ता भएको ५६ कित्ता जग्गा निजको परलोक भएपछि निजका कोही छोरा छोरीसमेतको कुनै हकवाला नभई आफैँ मात्र हकवाला भएको भनी झुट्टा बेहोरा देखाई मिति ०३१।९।२५ मा गरेको नामसारी निर्णय नै दूषित दर्ता नामसारीको रूपमा रहने र विपक्षीहरू पति पिता हरिहरले सम्पत्ति प्राप्त गरेको मूल स्रोत दूषित भएपछि सो दूषित दर्ता नामसारी बदर गर्नको लागि हदम्याद बाधक नहुने भनी सम्मानित सर्वोच्च अदालतबाट स्पष्ट नजिरसमेत प्रतिपादन भइरहेकोमा भक्तपुर जिल्ला अदालतले विपक्षीहरूका पति पिता म पुनरावेदकका काका हरिहरले जालपरिपञ्च गरी साक्षी राखेको लिखतबाट म पुनरावेदकलाई जानकारी भएको हुँदा सोही मितिबाट फिराद गर्नुपर्ने भनी फिराद दाबी खारेज हुने ठहर्याई गरेको फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदक वादी मृगेन्द्रराज सुवेदी राजोपाध्यायको पुनरावेदनपत्र ।
एकाको नाममा दर्ता भएको जग्गा निजको हक खाने अंशियार हुँदाहुँदै निजलाई नदेखाई दाखिल खारेज नामसारी गरी गरिएको दर्तालाई दूषित दर्ता मान्नुपर्ने भनी सुरूले फैसलामा स्वीकार गरिसकेको स्थितिमा पनि दूषित दर्ताको विषयमा थाहा पाएको मितिले कानूनको म्यादभित्र नालेस पर्न आएको नदेखिँदा वादी दाबी खारेज हुने भनी भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ मा गरेको फैसला व्याख्याको प्रश्नमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६८।६।३० गतेको पुनरावेदन अदालत पाटनको आदेश ।
सुरू अदालतबाट वादी मृगेन्द्रराज सुवेदीले नामसारीका निमित्त हरिहरराज राजोपाध्यायलाई मन्जुरी नदिएको र नामसारीबाट प्राप्त जग्गा हस्तान्तरणको लिखतमा साक्षी नबसेको अवस्थामा मात्र दर्तालाई दूषित मान्नुपर्ने आभाषाङ्कित फैसला भएकोमा सोको अनर्थ हुने गरी फैसलाको व्याख्याको प्रश्नमा फरक पर्न सक्ने भनी यस अदालतबाट भएको प्रत्यर्थी झिकाउने आदेशको आधार त्रुटिपूर्ण हुँदा सुरू फैसला सदरै कायम गरिपाउँ भन्ने अम्बिका राजोपाध्यायसमेतको लिखित प्रतिवादपत्र ।
वादी दाबी खारेज हुने ठहराई भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ गते भएको फैसला मिलेको नदेखिँदा वादी दाबीको कि.नं. ६७ र ११५ को जग्गाको बाहेक अरू जग्गाको नरम गरम मिलाई २ भागको १ भाग तत्कालीन भूमि प्रशासन कार्यालय, भक्तपुरको मिति २०३१।९।२५ गतेको र मालपोत कार्यालय भक्तपुरको मिति २०६३।२।१९ गतेको नामसारी निर्णय केही उल्टी भई पुनरावेदक वादीले २ भागको १ भाग जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०४।२३ मा भएको फैसला ।
हामी प्रतिवादीले सुरू अदालतसमक्ष विपक्षी वादीसँग अंशबन्डा हुन बाँकी नै रहेको र नामसारी भएका जग्गाहरूमा ४ भागको १ भाग निज वादीको अंश हक सुरक्षित नै रहेको बेहोराङ्कित प्रतिउत्तर फिराएकोमा सुरू फैसलाले पनि सोहीअनुरूप निजको अंश हक सुरक्षित नै गरेको छ । साथै विपक्षी वादीले पुनरावेदन अदालतसमक्ष ४ भागको १ भागभन्दा बढी अंश हक छ भनी पुनरावेदन जिकिर लिनु भएको पनि थिएन । विपक्षी वादी आफू राजनीतिमा लागेको कारणले कहिले भूमिगत त कहिले वारेन्ट जारी भई बेपत्ता हुनुको साथै निजको बारेमा कहिले सर्वस्व हुने डर त कहिले सम्पत्ति रोक्का राख्ने हल्लासमेत
चल्थे । जुन पीडाको परमार्थता विपक्षी वादी स्वयंले आफ्नो सुरू फिराद दाबी पत्रमा पोख्नु भएकै छ । निजकै सल्लाह एवम् सहमतिले पैतृक जग्गा नामसारी गरी संरक्षण गर्ने प्रयोजनार्थ हामी प्रतिवादीहरूको पिताले नामसारीसम्म गर्नु भएको थियो । जसबाट विपक्षीको हक लोप भएको छैन र निजको हक छैन भनी इन्कार गरेको पनि छैन । तत्कालीन भूमि प्रशासन कार्यालय, भक्तपुरको दिनाङ्क २०३१/०९/२५ को निर्णयानुसार हामीहरूका पति / पिता हरिहरराजको नाममा नामसारी भएपश्चात् निज पिताले दिनाङ्क २०३३/१२/०३ मा र.नं. ८०९ मार्फत नामसारी भई आएको जग्गामध्ये ताथली वडा नं. ८ कित्ता नं. ६७ र ११५ समेत २ कित्ता जग्गा जगत तुसीलाई पारित गरी दिनु भएको राजीनामा लिखतमा विपक्षी वादी / पुनरावेदक स्वयं साक्षी बस्नुभएको थियो । विपक्षी वादीको सल्लाह एवम् सहमतिबाट हामीहरूको पति / पिता हरिहरको नाममा नामसारी भएकोले नै उक्त लिखतमा साक्षी बसी स्वीकार गरेकोमा हाल आएर ३०औं (तीसौं) वर्षभन्दा पछि आफूले सहमति दिई स्वीकार गरेको विषयलाई दूषित भनी दायर भएको फिरादलाई समर्थन गरी साक्षी बसेको विषयमा विवेचना नै नगरी भएको पुनरावेदन अदालतको फैसला उल्टी गरिपाऊँ ।
हामीहरूको सुरू प्रतिउत्तर पत्रको पुस्तेवारीमा उल्लिखित जिजुबाजे धर्मराजको भाग हिस्साको हकमा वादीको पिता विष्णुहरिले २०२२ सालको बन्डाफारी लिखतमा व्यावहारिक सरलताको लागि प्रतिनिधित्वसम्म गर्नु भएको थियो । जिजुबाजे धर्मराजको भाग हिस्सा खाने हकदार छोराहरूमा जेठो हेमशंकर-१ र कान्छो पुरूषोत्तम -१ समेत जना २ भएको हुँदा निजहरूको अंश भाग निम्नबमोजिम कायम रहने भएको थियो । जिजुबाजेको भागमध्ये आधा खण्डमा पुरूषोत्तमको हक र आधा खण्डमा हेमशंकरको हक रहे भएकोमा निर्विवाद छ । यस्तोमा पुरूषोत्तमको आफ्नो कालगतिले परलोक भई निजको हक खाने हकदार श्रीमती पूर्णलक्ष्मी -१ मात्र भएकोमा निजको पालन पोषण स्याहार सुसारसमेत हामी प्रतिवादीहरूको पिता हरिहरले गर्नु भएकाले निज पूर्णलक्ष्मीको पनि आफ्नै कालगतिले २०३२ सालमा परलोक भई अपुताली परेकोमा जीवित रहँदा पालन पोषण गरेको हुँदा निजको भाग हिस्साजति सम्पूर्ण सम्पत्तिमध्ये आधा अर्थात् ४ भागको २ भाग हामीहरूका पिताले नै प्राप्त गरी भोग चलनसमेत गरी आउनु भएकोले सोही आधारमा उक्त हिस्सा प्राप्त भएको तथ्य विपक्षी वादीले पनि स्वीकार गर्नुभएको
छ । पिता हेमशंकरको हिस्सामध्ये पनि दुई छोराहरूमा आधा जेठो छोरा विष्णुहरिको र आधामा कान्छो छोरा हरिहरराजको अंश हक रहेकोमा विवाद छैन । यसप्रकार माथि समुल्लेखन भएअनुरूप पुरूषोत्तमको अंश भागको सम्पत्ति र पिता हेमशंकरबाट आफूले प्राप्त गर्नु पर्ने अंश भागको सम्पत्तिसमेत गरी ४ भागको ३ भागमा हरिहरराजको र बाँकी १ भागमा विष्णुहरिको हक कायम हुनेमा वादी प्रतिवादी दुवैले स्वीकार गरी सोहीअनुरूप भोग चलन गरी आएका थियौं ।
नवदुर्गा, चंपतल आँगनको मासिक पूजा र जगन्नाथको पूजासमेत हामीहरूले ३ पालो र विपक्षी वादीले १ पालो चलाई आइरहेको तथ्य निज विपक्षीसमेतको हस्ताक्षरयुक्त पालो क्रम कागजबाट सम्पुष्टि हुन्छ । विपक्षी वादी स्वयंले सम्बद्ध मोहीहरूसँग सालबसाली बाली बुझी भर्पाई गरी दिँदा आफ्नो खुद हकहिस्सासमेत जनाई अर्थात् ४ खण्डको १ खण्ड हक हिस्सा रहेको तथ्य जनाई सहिछाप गर्नुभएकोमा निर्विवाद छ । अतः आफूले भोग गरी आएको हक हिस्साभन्दा अधिक हक हिस्सा छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ३४ ले पनि मिल्ने होइन । साथै विपक्षी वादीको उक्त जग्गाहरूमा ४ खण्डको १ खण्ड हक रहे भएको तथ्यमा पनि निर्विवाद छ । अतः प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट नामसारी निर्णय दर्ता दूषित ठहर्ने गरी भएको फैसला पूर्णतः उल्टी भागी हुँदा उल्टी नै गरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला सदरै कायम गरिपाउँ भन्ने अम्बिका राजोपाध्यायसमेतको पुनरावेदन पत्र ।
पिता विष्णुहरिको नाउँमा दर्ता भएको फिराद दाबीको कित्तालगायतका जग्गा दर्तावालाको परलोकपश्चात् जग्गा पजनीको २(क) बमोजिम नामसारी दा.खा. गर्न पाउने हकवाला आमा २०१३ सालमा परलोक हुनुभन्दा अगाडि आमा र म पुनरावेदक आमाको परलोकपश्चात् पुनरावेदक मात्र हुन् भन्नेमा विवाद
छैन । उक्त जग्गा म पुनरावेदकले आफ्नो नाममा नामसारी दर्ता गर्न पाउने जग्गा विपक्षीहरूका पति पिताले नभएको नाता देखाई मसमेतका हकवाला लोप गरी नामसारी दर्ता गर्नु भएको बेहोरा म पुनरावेदकलाई जानकारी भएपछि ज.प.को १७ नं. बमोजिम सम्पूर्ण नामसारी दा.खा. दर्ताको निर्णय बदर गरी म पुनरावेदकको नाउँमा दा.खा. दर्ता गरी दिनु भनी मालपोत कार्यालय, भक्तपुरमा जनाउसमेत पाउँ भनी सोसमेतको कोर्टफी दाखिल गरी फिराद गरेको मुद्दामा नामसारी दर्ताको निर्णय बदर हुने हो वा होइन भन्नेसम्मको निर्णय हुनुपर्ने मुद्दामा सम्मानित अदालतले विपक्षीहरूको पति पिता हरिहर पनि अंशियार भएको कारण देखाई निजको हकहिस्सा छुट्याई आधासम्ममा मात्र नामसारी दर्ता निर्णय बदर गर्न मिल्ने होइन । दूषित नियतले भएको कार्य सधैँ दूषित नै हुँदा दूषित कार्य कुनै पनि अवस्थामा सदर हुन सक्दैन । जालसाजी नियतले काम भएको अवस्था मिसिलबाट देखिँदादेखिँदै पनि देवानी मुद्दाबाट राहतप्राप्त भएको हुँदा जालसाजी मुद्दामा सजाय नगर्ने सम्मानित अदालतको परिपाटीले गर्दा जालसाजीपूर्ण कार्य गर्नेको मनोबल बढेको
देखिन्छ । प्रस्तुत मुद्दामा पनि सोहीबमोजिम जालसाजी मुद्दामा जालसाजी नठहर्ने गरी भक्तपुर जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत पाटनले सदर गरेकाले सो मुद्दामा दोहोर्याई पाउने निस्सा पाउँ साथै अन्य लगाउ मुद्दामा साथै राखी पाउँ भन्ने मृगेन्द्रराज सुवेदी राजोपाध्यायको पुनरावेदन पत्र ।
यसमा आजै यसै इजलासबाट ०७१-CI-११२८ नं. को मुद्दामा मुलुकी ऐन, अ.बं. २०२ को प्रयोजनार्थ वादी प्रतिवादीको पुनरावेदनहरू एक अर्कालाई सुनाउने आदेश भएको र प्रस्तुत मुद्दासमेत उक्त मुद्दासँग अन्तरप्रभावी रहेको हुँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई एकै लगाउमा राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७४।२।२९ मा भएको आदेश ।
नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रत्यर्थीका तर्फबाट उपस्थित हुनभएका विद्वान् अधिवक्ता श्री दिपेन्द्र थापाले मिति २०३१।९।२५ गतेको निर्णयका सम्बन्धमा कानूनको हदम्याद नघाई दायर गरेकोले वादी दाबी खारेज हुने ठहराई भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ गते भएको फैसला कानूनसम्मत छ । उक्त फैसला केही उल्टी भई वादी दाबीको कि.नं. ६७ र ११५ को जग्गाको बाहेक २ भागको १ भाग जग्गाको दर्ता बदर भई फिरादीले सो जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत पाउने भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६९।४।२३ मा भएको फैसला मिलेको छैन । हदम्यादभित्र फिरादपत्र दर्ता नभएको अवस्थामा वादी दाबी खारेज हुनेगरी भएको सुरू फैसला मिलेको हुँदा पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०४।२३ मा भएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसैगरी पुनरावेदक / प्रत्यर्थीका तर्फबाट उपस्थित हुनभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशीले पुनरावेदक वादीको पिता विष्णुहरिको नाउँमा दर्ता भएको जग्गालाई पिताको मृत्यु भएपछि पिताका हक खाने काका हरिहरबाहेक कोही छैन भनी झुट्ठा बेहोरा उल्लेख गरी दूषित रूपमा एकलौटी नामसारी गराउनुभएको थियो र हरिहरको मृत्युपछि प्रत्यर्थी प्रतिवादीहरूले उक्त जग्गा नामसारी गराउनु भएको
छ । भएका हकदार लुप्त गराई गराएको दूषित दर्ता कायम रहन सक्तैन, दूषित दर्तामा हदम्यादसमेत लाग्दैन । सुरू फैसलाले दूषित भनी स्वीकार पनि गरेको अवस्थामा समेत आफ्ना बाबुको नामको जग्गा प्रतिवादीहरूले दर्ता गराएको कुरा २०३५।१२।५ मा नै थाहा भएकोमा सो मितिले कानूनका म्यादभित्र नालेस पर्न आएको नदेखिएकोले खारेज हुने ठहर्याई फैसला भएको छ । यसरी भएको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६७।३।९ गतेको फैसला केही उल्टी भई पुनरावेदन अदालत पाटनबाट नामसारी निर्णय दर्ता दूषित ठहर्ने र फिरादीले उक्त जग्गाको २ भागको १ भाग जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत पाउने भन्ने फैसला भएको छ । दूषित देखिएको अवस्थामा सम्पूर्ण जग्गाको दर्ता बदर हुनुपर्नेमा सो नगरी २ भागको १ भाग मात्र बदर हुनेगरी भएको फैसला उल्टी भागी हुँदा उक्त पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६९।४।२३ को फैसला उल्टी गरी सम्पूर्ण जग्गाको नामसारी निर्णय दर्ता दूषित ठहर्याई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
विद्वान् कानून व्यवसायीको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पिता विष्णुहरिको नाउँमा दर्ता भएको जग्गालाई पिताको मृत्यु भएपछि पिताका हक खाने काका हरिहरबाहेक कोही छैन भनी झुट्ठा बेहोरा उल्लेख गरी दूषित रूपमा एकलौटी नामसारी गराई हरिहरको मृत्युपछि प्रत्यर्थी प्रतिवादीहरूले गराएको दूषित नामसारी निर्णय र दर्तासमेत बदर गरी फिरादीका नाउँमा जग्गाधनी प्रमाण पुर्जासमेत दिलाई पाउँ भन्ने वादी मृगेन्द्रराज राजोपाध्यायको फिरादपत्रबाट उठान भएको प्रस्तुत मुद्दामा कानूनको हदम्याद नघाई दायर गरेकोले वादी दाबी खारेज हुने ठहराई भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ गते भएको फैसलामा चित्त नबुझाई वादीको पुनरावेदन परेको देखिन्छ । भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ गते भएको फैसला उल्टी भई वादी दाबीको कि.नं. ६७ र ११५ को जग्गाको बाहेक २ भागको १ भाग जग्गाको दर्ता बदर भई वादीले उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत पाउने भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६९।४।२३ मा भएको फैसलामा चित्त नबुझाई दुवै पक्षको पुनरावेदन परेको देखिन्छ ।
३. यी पुनरावेदकहरू एउटै हाँगाका अंशियार रहेको देखिएको र पुनरावेदक वादीका पिता स्व. विष्णुहरि र पुनरावेदक प्रतिवादी शारदेशराज शर्माका पिता तथा अम्बिका राजोपाध्यायका पति स्व. हरिहर राजोपाध्याय दुवैजना हेम शंकरका छोरा हुन् भन्ने
कुरामा पनि विवाद छैन । यी वादी प्रतिवादीहरूका अघिल्लो पुस्ताका अंशियारहरूबिच मिति २०२२।३।११ गतेको घरसारको बन्डापत्र भएको र उक्त बन्डापत्र लिखत पारित गरिपाउन विध्नहरले मुद्दा दायर गरेकोमा उक्त बन्डापत्र पारित हुनेगरी मिति २०२३।३।२० गते भक्तपुर जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसलाको आधारमा मिति २०२४।६।१ मा मालपोत कार्यालय, भक्तपुरबाट अंशबन्डाको लिखत पारित भई फिराद दाबीका भक्तपुर जिल्ला छालिङ गा.वि.स. वडा नं. २ कि.नं. ७४८ को क्षेत्रफल ०-८-२ समेतका विभिन्न ५६ कित्ता जग्गाहरू पुनरावेदक वादीका पिता विष्णुहरिका नाउँमा दर्ता हुन आएको देखिन्छ र उक्त तथ्यमा वादी प्रतिवादीहरू दुवै पक्षको कुनै विवाद देखिएन ।
४. मेरो दाजु विष्णुहरि राजोपाध्याय आफ्ना कालगतिले २०२३ साल फाल्गुण महिनामा परलोक भएको र निजको हक खाने हकदार अंशियार मबाहेक अरू कोही नभएकाले निजको नाउँमा दर्ता भएको तपसिलमा लेखिएका जग्गाहरूमा निजको नाउँ खारेज गरी मेरो नाउँमा नामसारी दर्ता गरिपाउँ भनी मिति २०३३।५।२७ गते पुनरावेदक / प्रत्यर्थी प्रतिवादी शारदेश राज शर्माका पिता तथा अम्बिका राजोपाध्यायका पति हरिहर राजोपाध्यायले भूमि प्रशासन कार्यालय, भक्तपुरमा नामसारी गरिपाउँ भनी निवेदन दिएको र उक्त निवेदनको आधारमा दाबीका कित्ता जग्गाहरूसमेत हरिहरको नाउँमा जग्गा दर्ता हुने गरी भूमि प्रशासन कार्यालय, भक्तपुरबाट मिति २०३१।९।२५ गते निर्णय भएको देखियो । उक्त जग्गाहरू दाजु विष्णुहरि राजोपाध्यायको नामबाट आफ्ना नाममा नामसारी गर्दा हरिहरराज राजोपाध्यायले मृतकका अन्य हकदार रहेको तथ्य लुप्त गराएको देखिन्छ । अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी गराएको नामसारीले कानूनी मान्यता प्राप्त गर्दैन । यसरी अंशियार हकवालाहरूलाई नै लोप गरी गरेको नामसारी दर्ताको कार्यलाई दूषित दर्ता मान्नुपर्ने हुन्छ । दूषित दर्तामा जहिलेसुकै फिराद दायर गर्न सकिने हुन्छ । यस सम्बन्धमा यस अदालतबाट समेत “कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएको जग्गा अन्य व्यक्तिलाई हस्तान्तरण गर्दैमा त्यसले समेत कानूनी मान्यता प्राप्त गर्न नसक्ने” (ने.का.प.२०६६, अंक ९, नि.नं.८२२२) भनी सिद्धान्तसमेत प्रतिपादन भएको छ ।
५. जहाँसम्म मुलुकी ऐन अ.बं. ७२ नं. र जग्गा मिच्नेको १८ नं. एवम् जग्गा पजनीको १७ नं. द्वारा निर्दिष्ट हदम्यादभित्र वादीको नालेस नभएको र कि.नं.६७ र ११५ को जग्गा प्रतिवादीहरूको पिता तथा पति हरिहर राजोपाध्यायले जगत तुसि बाख्योलाई र.नं. ८०९ मिति २०३५।१२।५ मा राजीनामा गरी हक हस्तान्तरण गर्दा वादी सो लिखतमा साक्षी बसी सो समयमा नै उक्त बेहोरा थाहा पाइसकेकोसमेतबाट हदम्याद अभावमा दायर गरिएको वादी दाबी खारेज गरिपाउँ भन्ने फिराद दाबी रहेकोतर्फ हेर्दा भइरहेका अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी सिफारिस गराई सोही आधारमा कारबाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई बिक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसङ्गत हुने देखिँदैन र नामसारी निर्णय नै दूषित एवं कानूनी मान्यता शून्य भइरहेको अवस्थामा त्यस्तो दूषित नामसारी निर्णयका आधारमा प्राप्त गरेको जग्गा अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गरेको लिखतमा साक्षी बसेकोमा सो समयमा नै थाहा पाएको हुँदा त्यसबाट असर पर्ने व्यक्तिले भए गरेको मितिबाटै हदम्यादभित्र नालिस गर्नुपर्दछ भनी व्याख्या गर्नु न्यायसङ्गत नहुने हुँदा हदम्याद अभावमा दायर गरिएको वादी दाबी खारेज गरिपाउँ भन्ने फिराद दाबीको कुनै औचित्य देखिँदैन ।
६. यी पुनरावेदकहरू एउटै हाँगाका अंशियार रहेको देखिएको र पुनरावेदक वादीका पिता स्व. विष्णुहरि र पुनरावेदक प्रतिवादी शारदेशराज शर्माका पिता तथा अम्बिका राजोपाध्यायका पति स्व. हरिहर राजोपाध्याय दुवैजना हेम शंकरका छोरा हुन् भन्ने कुरामा पनि विवाद छैन । अंश हकलाई नैसर्गिक अधिकारको रूपमा लिइन्छ । पुनरावेदक वादीका पिता र पुनरावेदक प्रतिवादीका पिताका बिचमा कानूनबमोजिम रीत पुर्याई बन्डापत्र आजसम्म पनि भए गरेको नदेखिएको र उक्त विषय दुवै पक्षबाट स्वीकार गरेको देखिन्छ । कानूनबमोजिम अंशबन्डा भएको नदेखिएको अवस्थामा सगोलमा रहेको पैतृक सम्पत्ति स्व. हेम शंकरका छोराहरू स्व. विष्णुहरि र स्व. हरिहर राजोपाध्यायमा समानरूपमा भाग बन्डा लाग्ने कुरामा पनि विवाद देखिन आएन । यसरी समान अंश हक कायम रहेको जग्गाको अंशियार जोसुकैले जुनसुकै बेहोराबाट दर्ता गराए पनि अन्य अंशियारको अंशहक समाप्त हुँदैन ।
७. पुनरावेदक प्रत्यर्थी प्रतिवादीहरूले विवादका जग्गा पैतृक सम्पत्ति हुन् भनी निर्विवाद रूपमा स्वीकार गरेका छन् । जिजुबाजे धर्मराजको भाग खाने जेठा छोरा हेमशंकर र कान्छो छोरा पुरूषोत्तम भएकोमा स्व. पुरूषोत्तमको मृत्यु भई निजको हक खाने श्रीमती पूर्णलक्ष्मीको समेत २०३२ सालमा परलोक भएको र निजको पालनपोषण सुसारसमेत हामी प्रतिवादीहरूका पिता हरिहरले गर्नु भएकोले पूर्णलक्ष्मीसमेतको आधा हिस्सा अपुताली परेकाले हाम्रो पिताले भोग चलन गरी आएको हुँदा अपुताली र आफ्नो भागसमेत ४ खण्डको ३ खण्डमा हामी प्रतिवादीहरूका पिता हरिहरको हक र बाँकी १ खण्डमा वादीको हक रहेको भनी प्रत्यर्थी प्रतिवादीहरूले प्रत्युत्तरपत्रमा जिकिर लिएको सम्बन्धमा हेर्दा सोको पुष्टि हुने प्रमाण निजहरूबाट पेस दाखिला भएको देखिँदैन । स्व. पुरूषोत्तमको श्रीमती पूर्णलक्ष्मीको भागको हुने श्री सम्पत्ति शेषपछिको बकसपत्र वा अष्टलोहसमेत गरी प्रत्यर्थी प्रतिवादीहरूका पिता हरिहर राजोपाध्यायले प्राप्त गरेको भन्ने ठोस सबुद प्रमाणहरू पेस हुन नआएकाले धार्मिक कार्य सम्पन्न गर्न राखेको पालोको आधार र मोहीलाई दिएको भरपाईको आधारमा मात्र फिराद दाबीको जग्गाहरूमा प्रत्यर्थी प्रतिवादीका पिता हरिहरको ४ भागमध्ये ३ भाग र १ भाग पुनरावेदक वादीको पिताको हक हुने भनी अनुमान गरी निष्कर्षमा पुग्न मिल्दैन । अन्यथा पुष्टि भएको अवस्थामा बाहेक अंशियारहरू घटे वा बढेमा बाँकी अंशियारहरूले भएको सम्पत्तिमा बन्डा गर्नुपर्ने हुन्छ । सोभन्दा बढी दाबी गरेमा सोको वस्तुनिष्ठ आधारमा प्रमाणित गर्नुपर्ने दायित्व दाबीकर्ताको रहनेमा प्रस्तुत मुद्दामा दाबी गर्ने पक्षबाट पुष्टि गर्न सकेको देखिएन । यस्तो अवस्थामा सगोलको सम्पत्तिमा सगोलका सबैको बराबरी हक लाग्ने हुन्छ ।
८. उल्लिखित तथ्य, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तसमेतको रोहबाट हेर्दा अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी हरिहर राजोपाध्यायको नाममा गराएको नामसारीले कानूनी मान्यता प्राप्त गर्दैन । यसरी अंशियार हकवालाहरूलाई नै लोप गरी गरेको नामसारी दर्ताको कार्यलाई दूषित दर्ता मान्नुपर्ने हुन्छ । दूषित कार्यबाट भएको दर्तासमेतले वैधता प्राप्त गर्न सक्तैन । अवैध दर्ताले कहिले पनि वैधानिकता प्राप्त गर्न नसक्ने हुँदा त्यस्तो कार्यको परीक्षण गरी सोको बदर गर्नु अदालतको दायित्वभित्र पर्न आउँछ । यसरी दूषित कार्यबाट भएको दर्ताले वैधता प्राप्त गर्न नसक्ने भएपनि प्रस्तुत मुद्दाका पक्षहरू एउटै हाँगाभित्रका अंशियार रहेको
देखिन्छ । निजहरूका बिच विधिवत् अंशबन्डा भएको पनि देखिँदैन । यसरी एकै हाँगाभित्रका अंशियार भएको र निजहरूका बिच विधिवत् रूपमा अंशबन्डा भएको पनि नदेखिएको अवस्थामा दुवै पक्षका पुनरावेदकहरूका पति तथा पिताद्वय स्व. विष्णुहरि र स्व. हरिहरले नै दाबीका जग्गाहरू २ भागको १/१ भाग मात्र पाउने हुन्छ । यसरी पुनरावेदक वादीले दाबी गरेको मध्ये २ भागको १ भाग मात्र जग्गाको दूषित दर्ता बदर हुन्छ । दाबीमध्ये २ भागको १ भाग जग्गाको दूषित दर्ता बदर हुने भए तापनि हरिहर राजोपाध्यायले जगत तुसि बाख्योलाई र.नं. ८०९ मिति २०३५।१२।५ मा कि.नं. ६७ र ११५ को जग्गा राजीनामा गरी हक हस्तान्तरण गर्दा वादी सो लिखतमा साक्षी बसी हक हस्तान्तरण भएको देखिन्छ । आफू साक्षी बसी बिक्री वितरण गरेको जग्गाको समेत दाबी गर्नु न्यायसङ्गत नहुँदा सो जग्गाबाहेक दाबीका अन्य जग्गाहरूमध्ये २ भागको १ भाग नामसारी दर्ता दूषित हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट भएको फैसला अन्यथा मान्न सक्ने अवस्था नहुँदा दुवै पक्षका पुनरावेदकहरूको पुनरावेदन जिकिर र दुवै पक्षका कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।
९. तसर्थः हदम्यादको अभावमा वादी दाबी खारेज हुने ठहराई भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।९ गते भएको फैसला केही उल्टी भई दाबीको कि.नं. ६७ र ११५ को जग्गाको बाहेक अरू जग्गाको २ भागको १ भाग तत्कालीन भूमि प्रशासन कार्यालय, भक्तपुरको मिति २०३१।९।२५ गतेको र मालपोत कार्यालय भक्तपुरको मिति २०६३।०२।१९ गतेको नामसारी निर्णय दूषित ठहर भई पुनरावेदक वादीले २ भागको १ भाग जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत पाउने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०४।२३ मा भएको फैसला मिलेकै देखिँदा उक्त फैसला सदर हुने ठहर्छ । पुनरावेदकहरू दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत : राजकुमार दाहाल
इति संवत् २०७६ साल असार ११ गते रोज ४ शुभम् ।