निर्णय नं. १०३०० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।५।२
०७२-CR-०३९०
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : धनकुटा जिल्ला, लेगुवा गाउँ विकास समिति वडा नं. २ घर भई हाल जिल्ला प्रशासन कार्यालय, धनकुटाको कारागार शाखाको कैदमा बस्ने नविन कार्की
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम धनकुटा “ख” जाहेरीले नेपाल सरकार
पीडितले आफैँ जाहेरी दिएकी एवं मौकामा र अदालतमा बयान गर्दा विना संरक्षक सबै सवालहरूको स्पष्ट रूपमा जवाफ दिएको तथा सुरू अदालतले समेत प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३क. को प्रयोजनार्थ अपाङ्गको श्रेणीमा राख्नु शंकास्पद देखिएको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको ३क. आकर्षित गर्नु न्यायोचित नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टेकबहादुर कार्की
अवलम्बित नजिर :
ने.का.प.२०६७, अंक ९, नि.नं.८४६९
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री युवराज गौतम
धनकुटा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
माननीय न्यायाधीश श्री चित्रदेव जोशी
पुनरावेदन अदालत धनकुटा
फैसला
न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत धनकुटाको मिति २०७२/२/१७ को फैसलाउपर पुनरावेदक प्रतिवादीको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-
तथ्य खण्ड
मिति २०६९/११/१५ गते म जाहेरवाली कान नसुन्ने, स्वर बोलाई कम भएको, अपाङ्ग महिला मिलको डिजेल लिन भनी रामरिठा बजार गएको अवस्थामा अन्दाजी २.०० बजे जिल्ला धनकुटा लेगुवा गाउँ विकास समिति वडा नं. ४ बर्नेबेलाइती जंगलमा नविन कार्कीसँग भेट भएकोमा म बजारतिर जाँदै गर्दा अभियुक्त पछि पछि आई पछाडिबाट मेरो हात समाई मुखसमेत थुनी डरत्रास देखाई जबरजस्ती तान्दै जंगलको बिचमा लगी लडाई जबरजस्ती करणी गरे । निजले मलाई कब्जामा राखी विभिन्न ठाउँमा लगी जबरजस्ती करणी गरेका, १० दिनपछि भागी माइती घरमा आई यो जाहेरी लिई उपस्थित भएको छु । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम धनकुटा "ख" ले दिएको जाहेरी दरखास्त ।
जिल्ला धनकुटा लेगुवा गाउँ विकास समिति वडा नं.४ बर्ने बेलाइती जंगलमा परिवर्तित नाम धनकुटा "ख" लाई जिल्ला धनकुटा लेगुवा २ बस्ने नविन कार्कीले जरबजस्ती करणी गरेको भनी देखाएबमोजिम लेखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
परिवर्तित नाम धनकुटा "ख" सँग मेरो विवाह हुनुभन्दा अघिदेखि प्रेम सम्बन्ध थियो । सो कुरा निजको दाजुले थाहा पाएपछि कुट्न खोजेको कारण सम्बन्ध घट्दै गई मैले अन्यत्रै विवाह गरेँ । निजले पनि अन्यत्रै विवाह गरी २ वटा छोराको जायजन्म भएपछि निजको श्रीमान्सँग राम्रो सम्बन्ध नभएकोले माइती घरमै बस्दै आएकी हुन् । माइतीघर नजिकै भएकोले घाँस दाउरा गोठालो जाँदा आउँदा भेटघाट हुँदा पहिले विवाह गर्न सफल नभए पनि अब विवाह गरौं भनी निजले भनेको हुँदा मेरो पनि घरमा ३ वटा छोरी भएकोले हुन्छ भनी विवाह गर्ने सहमति भई मिति २०६९/११/१५ गते निज रामरिठा बजारमा मिलको डिजेल लिन जाँदा घरबाटै सँगै गई बर्ने बेलायती जंगलमा सहमतिमा राजीखुसी साथ शारीरिक सम्पर्क भएको हो । त्यसपछि रामरिठा बजारमा निजले डिजेल पसलमा ग्यालिन राखी ७ (सात) दिनसम्म भोजुपरतर्फ गई बसी निजले नै मेरो राजीखुसी साथ आएको हो, कसले के गर्छ भनेको हुँदा घरमा आई २/३ दिन बसेपश्चात् म गाईवस्तु गोठालो गर्न गएको अवस्थामा निजको माइती पक्षले आई सम्झाई बुझाई निजलाई गालीसमेत गरी लिई गएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी नविन कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
परिवर्तित नाम “धनकुटा ख” को योनि वरिपरि कुनै प्रकारको घाँउ वा चोटपटकन लागेको, नसुन्निएको, निजको योनि च्यातिएको छ
(विवाहित) । निज पीडितले लगाएको कपडामा वीर्य नभएको (निजले कपडा फेरिसकेको) । पीडित “धनकुटा ख” लाई जबरजस्ती करणी भएको हो वा होइन भनेर यकिन गर्न सकिँदैन भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको स्वास्थ्य परीक्षण रिपोर्ट ।
प्रतिवादी नविन कार्कीको लिङ्गबाट कुनै पदार्थ नआएको र निजबाट जबरजस्ती करणी भएको छ वा छैन भनेर यकिन गर्न नसकिने भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको स्वास्थ्य परीक्षण रिपोर्ट ।
निज नविन कार्की र परिवर्तित नाम धनकुटा "ख" सरसल्लाह गरी परिवर्तित नाम धनकुटा "ख" तेल लिन जाने बाहाना बनाई ग्यालिन बोकी गई तेल किन्ने पसलमा ग्यालेन छाडी दुवैको राजीखुसी साथ विवाह गरी ५/७ दिन जति के, कता गई बसी नविन कार्कीले आफ्नो घरमा ल्याई श्रीमती बनाई राखेको हो । परिवर्तित नाम धनकुटा "ख" लाई जबरजस्ती करणी गरेको जस्तो लाग्दैन । श्रीमती बनाई घरमा राखेको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने कुलबहादुर कार्कीले मौकामा गरेको कागज ।
निज नविन कार्कीले परिवर्तित नाम धनकुटा "ख" लाई जबरजस्ती करणी गरेको नभई विवाह गरी भित्राएको हो । निजले को, कसको उक्साहटमा लागी किन उजुरी गरेकी हुन् निजै जानुन भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने रामबहादुर कार्कीले गरेको घटना विवरण कागज ।
परिवर्तित नाम धनकुटा "ख" र प्रतिवादी नविन कार्कीबिच वारदात स्थलमा करणी भयो, भएन निजहरू नै जानुन् । भएको भए पनि परिवर्तित नाम धनकुटा "ख" र नविन कार्कीको सहमतिले नै भएको होला । माइतीले ललाई फकाई लगी हाल उजुरी गरेको होला भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने ज्ञानेन्द्र कार्कीले गरेको कागज ।
जाहेरी दरखास्तमा उल्लिखित वारदात स्थलमा निज नविन कार्कीले परिवर्तित नाम धनकुटा "ख" लाई करणी गरे, गरेनन् निजहरू नै जानुन्, करणी गरेको भए पनि सहमतिमा नै हुनु पर्ने हो । सहमतिमा राजीखुसी साथ गरेको शारीरिक सम्पर्कलाई जबरजस्ती करणी भन्न नमिल्ने हो भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने कृष्णबहादुर भट्टराईले गरेको कागज ।
जबरजस्ती करणीमा उजुरी दिएको भन्ने सुनेको हुँ । घरबाट राजीखुसीका साथ विवाह गरी गएको कुरालाई जबरजस्ती करणी भन्न नमिल्ने हो । निजले कसको उक्साहटमा उजुरी दिएकी हुन्, निजै जानुन् भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने दिपक कार्कीले गरेको कागज ।
मिति २०६९/११/१५ गते म रामरिठा बजारमा नै थिएँ । परिवर्तित नाम धनकुटा "ख" सँग राम्रो परिचय नभए पनि निज नियमित डिजेल लिन आउने ग्राहक भएकाले उक्त मिति २०६९/११/१५ गते अन्दाजी १५.०० बजेको समयमा परिवर्तित नाम धनकुटा "ख" मेरो पेट्रोल पम्पमा आई मसँग मार्कर (कलम) मागी ग्यालेनमा आफ्नै नाम लेखी म भोलि आउँछु, फुपूको घरमा जान लागेकी भनी ग्यालेन छोडी गएकी हुन् । नविन कार्कीले निज परिवर्तित नाम धनकुटा "ख" लाई वर्नेबेलायती जंगलमा जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने शिवराज घिमिरेले गरेको कागज ।
प्रतिवादी नविन कार्की र परिवर्तित नाम धनकुटा "ख" बिच के, कस्तो सम्बन्ध थियो,
थिएन ? मलाई थाहा छैन । मिति २०६९/११/१५ गतेका दिन प्रतिवादी नविन कार्कीले पीडित परिवर्तित नाम धनकुटा "ख" लाई जबरजस्ती करणी गरी लिएर गएका रहेछन् भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने पार्वती भण्डारीले गरेको कागज ।
मैले बुझ्दा प्रतिवादी नविन कार्कीले परिवर्तित नाम धनकुटा "ख" लाई जबरजस्ती करणी गरी पीडित जान्न भन्दाभन्दै पनि आफूसँग लिएर गएको हुन् । पीडित कान नसुन्ने मानिस हुन् । यस्तो अशक्तलाई जबरजस्ती करणी गर्ने प्रतिवादीलाई हदैसम्मको सजाय होस् भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने लोकबहादुर कटुवालले गरेको कागज ।
मिति २०६९/११/१५ गते परिवर्तित नाम धनकुटा "ख"” मिलको तेल लिन गएको बेला प्रतिवादी नविन कार्कीले बर्ने बेलायती जंगल नजिकैको बाटोमा भेटी जबरजस्ती करणी गरी जान्न भन्दाभन्दै पनि आफूसँग लगी विभिन्न ठाउँमा राखेका हुन् । कान नसुन्ने अशक्त मानिसलाई जबरजस्ती करणी गर्ने प्रतिवादीलाई हदैसम्मको सजाय हुनु पर्ने हो भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने डिल्लीबहादुर तामाङले गरेको कागज ।
मिति २०६९/११/१५ गते दिउँसो म धारामा पानी थाप्दा थाप्दै गर्दा परिवर्तित नाम धनकुटा "ख" काखीमा झोला च्यापी रामरिठा बजार जान लागेको भनी मसँग बोली बजारतिर झरेकी थिइन् । निज बजारतिर झरेको १० मिनेटपछि नविन कार्की पनि रामरिठा बजारतिर झर्दै गरेका थिए । राति परिवर्तित नाम धनकुटा "ख" को बुबाले परिवर्तित नाम धनकुटा "ख" तिम्रो घरमा आइनकि भनी फोन गरेपछि परिवर्तित नाम धनकुटा "ख" हराएको थाहा भयो । प्रतिवादी नविन कार्कीले जाहेरवालीलाई मिलको तेल लिन जाँदै गर्दा वर्नेबेलायती जंगल नजिकैको बाटोमा भेटी जबरजस्ती लिएर गएको भन्ने कुरा परिवर्तित नाम धनकुटा "ख" ले मलाई भनेपछि थाहा भएको हो । परिवर्तित नाम धनकुटा "ख" कान नसुन्ने अशक्त सोझी महिलालाई जबरजस्ती करणी गर्ने प्रतिवादी नविन कार्कीलाई हदैसम्मको सजाय होस् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गिता भण्डारीले गरेको कागज ।
प्रतिवादी नविन कार्कीले पीडित धनकुटा "ख" लाई जबरजस्ती तानी जंगलको बिचमा लगी लडाई हात समाई मुख थुनी जबरजस्ती करणी गरेको पुष्टि भई निज प्रतिवादी नविन कार्कीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको हुँदा निजलाई ऐ.ऐनको ऐ. महलको ३ नं. को देहाय ५ बमोजिम सजाय गरी ऐ. महलको ३(क) नं. बमोजिम थप सजाय हुन र ऐ.ऐनको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
परिवर्तित नाम धनकुटा "ख" मेरो श्रीमती नाताकी हुन् । मैले मिति २०६९/११/१५ गते निज जाहेरवालीसँग विवाह गरेको हुँ । हामी दुईबिच घर एउटै ठाउँ २/३ मिनेटको वरपर भएको र पहिला पनि निज र मेरो विवाह गर्नुभन्दा अगाडि हामी दुवैबिच प्रेम सम्बन्ध थियो । सो कुरा निजको दाजुले थाहा पाई मलाई कुट्न खोजेपछि निज र मेरोबिच सम्बन्ध छुटेको र पछि आ–आफ्नो विवाह भएको हो । निज विवाह भएको ४/५ वर्ष घरमा बसी पुनः माइतीघरमा बस्दै आएकी हुन् । निजले नै म विदेशबाट २ वर्ष अगाडि घर आएपछि हामी विवाह गरौं । मलाई घरमा र माइतीमा कसैले देख्न सकेन । पहिला पनि हामीबिच प्रेम सम्बन्ध थियो भन्ने गर्थिन् । त्यसै क्रममा मिति २०६९/११/१५ गते निज जाहेरवालीले म तेल किन्ने निहुँमा घरबाट निस्कन्छु, अनि हामी भागौं भनेपछि घरबाट हामी सँगै रामरिठा बजार आयौं । हामी सँगै हिँडेको गाउँघर, केटीको बुबा सबैले देखेका थिए । हामी रामरिठा बजार झर्ने क्रममा दुवै जनाको सहमतिमा करणी गरी बजार
पुग्यौं । हामीबिच सल्लाह भएबमोजिम गाडी चढी भोजपुर सदरमुकाम गई ७ दिनसम्म एउटै होटलमा बसी घरमा आएका हौं । निजले निजकै बुबा, आमाको उक्साहटमा लागी पछि झुठ्ठा आरोप लगाएको हो । मैले निजलाई जबरजस्ती डरत्रास देखाई कब्जामा लिई जबरजस्ती करणी गरेको होइन, अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नविन कार्कीले सुरू अदालतमा गरेको बयान ।
संकलित सबुद प्रमाणहरूबाट यी अभियुक्त प्रतिवादी नविन कार्की कसुरदार नै हुन् भन्ने अवस्था विद्यमान रहेको मिसिलबाट देखिन आएको हुँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादीलाई अ.बं.११८ को देहाय २ बमोजिम पुर्पक्षको निमित्त थुनामा राख्नेसम्मको सुरू अदालतको थुनछेक आदेश ।
जाहेरवालीलाई जबरजस्ती करणी गर्यो गरेन मलाई थाहा छैन । निज प्रतिवादीलाई बाख्रा गोठालो गर्दा लाटीको पछि पछि हिँड्छस्, तँलाई पट्याइ कि क्या हो भनेर जिस्काउँदा क्या हो क्या हो दाई भनी भन्दथ्यो । मिति २०६९/११/१६ गते एकैचोटि नविनले जाहेरवालीलाई लगेछ भनेर गाउँघरमा हल्ला हुँदा थाहा पाएको हो । जबरजस्ती करणी गरेको होइन । सहमतिले लानु जानु गरेको हो । अभियोग दाबी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी भेषबहादुर थापाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको होइन । निज प्रतिवादीले जबरजस्ती करणी गरेको भए १०/१२ दिन पछाडि आफ्नै घरमा किन
ल्याउँथ्यो ? म रामरिठ्ठा बजारबाट घर फर्कदा जाहेरवाली र प्रतिवादीलाई भेटेको हो । मैले कता हिँडेको भन्दा डिजेल लिन हिडेको भनिन् र प्रतिवादीले चाहिँ यी केटीलाई मैले विवाह गरी लिएर हिँडेको भनी जवाफ दिएको हो । त्यसपछि म आफ्नै घरतर्फ
गएँ । उनीहरू १० दिन सँगै बसी त्यसपछि घरमा ल्याई भित्र्याएका हुन् । यिनीहरू लोग्ने स्वास्नी हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी धनबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादी र जाहेरवाली श्रीमान् श्रीमती हुन् । जाहेरवाली र प्रतिवादीबिच जाहेरवालीको विवाह पूर्व नै प्रेम सम्बन्ध थियो । प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी डम्बर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मिति २०६९/११/१५ गते दिनभर म आफ्नै घरमा थिएँ । पीडितलाई तेल किन्न जा भनी निजका बुबाले २ वटा ग्यालिन दिएर पठाएको हो । बाटामा जाँदै गर्दा जबरजस्ती करणी भयो भन्ने सुनेको हो, आँखाले देखिएन । पीडितले भनेको सुनेको हो । सत्य असत्य पीडित आफैँ जानुन् । निज पीडितलाई नविन कार्कीको घरमा थुनेर राखेको छ भनी थाहा पाएपछि निजको बुबाले प्रहरीलाई खबर गरी प्रहरीले प्रतिवादीलाई समातेर लगेको हो । अरू कुरा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने डिल्लीबहादुर तामाङले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मिति २०६९/११/१५ गते गाउँमा बिहे भएकोले भोजमा थिए । यी प्रतिवादीले जबरजस्ती करणी गरेको होइन । यी जाहेरवाली र प्रतिवादीबिच सो समयभन्दा अगाडि नै शारीरिक सम्पर्क भएको कुरा थाहा थियो । यी दुवैजना सहमतिमा लाज पचाउनको लागि भागेर भोजपुर गएर १०/१२ दिन बसी घर आएर बसेका हुन् । जाहेरवालीको बुबासँग प्रतिवादीको रिसइवी भएकाले जाहेरवालीको बुबाले सिकाएर जाहेरी दिएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने कुलबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९/११/१५ गते अन्दाजी २.०० बजेको समयमा म मिलको तेल लिन रामरिठा (लेगुवा) जाँदै थिएँ । सोही बखत यो प्रतिवादीले कालो लेदरको ज्याकेट लगाई आउँदै थियो । प्रतिवादी मातेको
रहेछ । मलाई भेटी म कान नसुन्ने हुँदा एक्कासी जंगलभित्र निजले मेरो हातमा समाती खोल्सी खहरेमा लगी मेरो लुगासमेत खोली जबरजस्ती करणी गरेको हो । मेरो छोराको मायाले मलाई जबरजस्ती करणी नगरभन्दा तँलाई मार्छु काट्छु भनी धम्क्याई मलाई जबरजस्ती करणी गरेको हो । प्रतिवादीले मलाई बस गाडीमा हाली लगे । कहाँ हो त्यो ठाउँ गाउँ थाहा भएन । मिति २०६९/११/२४ गते प्रतिवादीको घरमा ल्याएको हो । ३ दिन प्रतिवादीको घरमा राखेकोले मिति २०६९/११/२७ गते जाहेरी दिन आएको हुँ । तेल लिन जाँदा पहिले ज्यामिरेमुनि जंगलमा लगी करणी गर्यो र बसमा चढाई लगेपछि पनि ठाउँ–ठाउँमा करणी
गर्यो । घरमा ल्याएर पनि तेरो माया लाग्छ, तलाई लिन आउनेलाई काट्छु, तलाई घर बनाएर राख्छु भनी निजको घरमा ताला लगाई राखेको हो भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम धनकुटा "ख" ले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९/११/१५ गते म आफ्नै दोकान लाटी भञ्ज्याङमा थिएँ । पीडितसँग मेरो भेट भएन । पीडित हराएकी र गाउँकै नविन कार्कीले लिएर गएको रहेछ । पीडितको भनाइअनुसार निजको मनसाय विना नै फकाई फुल्याई ६ दिनसम्म घुमाई जबरजस्ती करणी गरेको हो भन्ने पीडितबाटै सुनेको हो, कहाँ लग्यो थाहा भएन भनी पीडितले भन्थिन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने पार्वती भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित परिवर्तित नाम धनकुटा "ख" बजारतिर जाने बाटो छेउमा मेरो घर भएकाले बजारतर्फ जाँदै गरेको देखेको हुँ । यी पीडित धनकुटा "ख" अगाडि र केही समयपछि यी प्रतिवादी नविन कार्की पनि सोही बाटो भएर गएका हुन् । यी पीडितले जहाँ बसे पनि म यहाँ छु भनी फोन गर्ने गर्दथिन, सो दिन कसैलाई पनि फोन नगरेको हुँदा पीडितको बुबाले तेरो घरमा पीडित आइनकि भनी सोध्नुभयो, मैले छैन भनेँ र नविनसँगै गएकाले निजलाई सोध्नु भनेँ । यी प्रतिवादी नविन कार्कीले के कहाँ लगे, राखे, कुन तरिकाले जबरजस्ती करणी गरे सोबारे मलाई थाहा छैन । ६/७ दिनपछि माइतीघरमा आएकी हुन् । पीडितले मेरो माइती कोही रहेनछन्, मलाई कसैले खोजेनन्, मलाई नविन कार्कीले जबरजस्ती करणी गर्यो भनेर भनेकी हुन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गीता भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अभियोग दाबीअनुसार कसुर गरेको होइन, यो अभियोग मागदाबी झुठ्ठा हो । यी जाहेरवाली र प्रतिवादीको सहमतिअनुसार श्रीमान् श्रीमती भएका हुन् । जाहेरवालीको बुबाले रिसइवीका कारणले यो जाहेरी दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कमल थापाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९/११/१५ गते गाउँघरमा विवाह भएकाले सो विवाहमा थिएँ । सोको भोलिपल्ट सोवितबहादुर भण्डारीले मलाई फोन गरी घरमा बोलाउनु भयो र मेरो छोरी परिवर्तित नाम धनकुटा "ख" लाई लिएर गएछ भन्दा थाहा पाएको हो । पीडित तेल किन्न लेगुवा बजार गएकी र सहमति साथ यी पीडित, प्रतिवादी श्रीमान् श्रीमती भई गएका हुँदा जबरजस्ती करणी गरेको होइन । सहमति साथ लानु जानु गरेको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने कृष्णबहादुर भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मिति २०६९/११/१५ गते म आफ्नै घरमा थिएँ । जाहेरवालाको पिता सोवितबहादुर भण्डारीले छोरी हराइन्, त्यता आइनकि भनी मिति २०६९/११/१५ गते राति अन्दाजी ८/९ बजेको समयमा फोन गरेको र प्रतिवादी पनि गाउँघरबाट हिँडेकोले प्रतिवादीले नै लगेको हो । निजैका साथमा भएपछि निजले जबरजस्ती करणी गरेको हुनु
पर्छ । प्रत्यक्ष गएको देखिन, सुनेकोसम्म हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने लोकबहादुर कटुवालले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६९/११/१५ गते लेगुवा गाउँ विकास समिति वडा नं. ७ स्थित रामरिठामा म आफैँले सञ्चालन गरेको पेट्रोल पम्पमा थिएँ । उक्त मितिमा यी जाहेरवाली परिवर्तित नाम धनकुटा "ख" दिनको अन्दाजी ३.०० बजेको समयमा डिजेल लिनको लागि आउनु भएको थियो । यी जाहेरवाली योभन्दा अगाडि पनि नियमित रूपमा डिजल किन्न आउनुहुन्थ्यो । निजले ल्याएको ग्यालिन मेरो पेट्रोलपम्पमा राख्नु भयो र म भोलि आउँछु भनी हिड्न लाग्दा मैले कहाँ जाने भनेर सोध्दा निजले राखेको ग्यालेनमा आफ्नो नाम लेख्नका लागि कलम (मार्कर) माग्नुभयो, सो ग्यालेनमा आफ्नो नाम र ठेगाना लेख्नु भयो र म भोलि आउँछु, फुपूको घरमा जान्छु भनी त्यहाँबाट हिँड्नु भयो । निजका साथमा कुनै साथी थिएनन् । जबरजस्ती करणीका विषयमा मलाई केही थाहा जानकारी भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने शिवराज घिमिरेले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मिति २०६९/११/२८ गते परिवर्तित नाम धनकुटा "ख" को शारीरिक परीक्षण गरी मैले नै प्रतिवेदन तयार गरेको हुँ । परीक्षण गर्दा हामीले हेर्ने भनेको योनि तथा पाठेघरभित्र कुनै घाउ चोटपटक छ, छैन ? र योनि सुनिएको छ, छैन ? च्यातिएको छ,
छैन ? रक्तश्राव भएको छ छैन ? भन्ने नै हो । परिवर्तित नाम धनकुटा "ख" विवाहित महिला भएकाले निजको योनि च्यातिएको थियो । योनिको डिल वरिपरि किनारामा सुनिएको घाउ चोटपटक थिएन । स्तनमा पनि कुनै चोटपटक थिएन । निजले आफ्नो कपडा फेरिसकेको अवस्थामा जाँच गर्न आएकोले निजको योनिभित्र सिमेन (विर्य) नभएको । जबरजस्ती करणी भएको तत्काल अवस्थामा मात्र त्यसका लक्षणहरू राम्रोसँग देख्न सकिन्छ । करणी भएको ७२ घण्टासम्म चाहिँ वीर्य देखिन सक्छ । घटना हुँदाकै अवस्थाका कपडा भएमा सिम्टमहरू देख्न सकिन्छ भन्नेसमेत बेहोराको डा.धिरज ताम्राकारले सुरू अदालतमा गरेको बकपत्र ।
पीडितले घटनाका सम्बन्धमा सविस्तार उल्लेख गरी दिएको जाहेरी दरखास्त एवं निजको अदालतसमक्षको बकपत्र, प्रतिवादीको अधिकारप्राप्त अधिकारीका साथै अदालतसमक्ष निजले गरेको बयान, घटनाका सम्बन्धमा तत्काल जानकारी राख्ने पार्वती भण्डारी र गिता भण्डारीले मौकामा गरेको घटना विवरण कागज एवं निजहरूले अदालतसमक्ष गरेको बकपत्र तथा सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरूमा प्रतिपादित नजिर सिद्धान्त र मिसिल संलग्न सबुत प्रमाणहरूको आधारमा यी प्रतिवादी नविन कार्कीले जाहेरवाली परिवर्तित नाम धनकुटा "ख" लाई अभियोग दाबीको मिति र समयमा जबरजस्ती करणी गरेको देखिन आयो भने घटना विवरण कागज गर्ने अन्य व्यक्तिहरू र प्रतिवादीका साक्षीहरूले अनुमानको भरमा व्यक्त गरेको कथन मात्रको आधारमा यी प्रतिवादी निर्दोष रहेछन् भन्न सकिने अवस्था नहुँदा यी प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर अपराध गरेको ठहर्छ । विधायिकाले प्रदान गरेको न्यायिक स्वविवेकभित्र रही यी प्रतिवादीलाई सजाय गर्दा कानूनको मकसद पूरा हुने देखिन आयो । तसर्थ, प्रतिवादी नविन कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय (५) नं. बमोजिम ७ वर्ष (सात वर्ष) कैद सजाय हुने भई यी पीडित जाहेरवाला अपाङ्गता भएकी कान नसुन्ने महिला भएको पुष्टि भएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ (क)नं. बमोजिम माथि ठहर भएको ७ वर्ष कैद सजायमा थप ५ वर्ष (पाँच वर्ष) कैद गरी जम्मा कैद वर्ष १२ (बाह्र) सजाय हुने
ठहर्छ । साथै प्रतिवादीले गरेको बयानबाट निजको घरमा ३ छोरी र श्रीमतीसमेतको परिवार भई आर्थिक स्थिति पनि सबल नदेखिएको हुँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडित परिवर्तित नाम धनकुटा "ख" लाई क्षतिपूर्तिबापत प्रतिवादीबाट रू.३०,०००।- (तीस हजार) रूपैयाँ दिलाई भराई दिने ठहर्छ भन्नेसमेत बेहोराको सुरू धनकुटा जिल्ला अदालतको मिति २०७०/९/२८ गतेको फैसला ।
जाहेरी र जाहेरवालीको बकपत्र एकापसमा विरोधाभाषपूर्ण रहेको छ । मिसिल संलग्न प्रमाण कागजात र घटनाको प्रकृतिबाट समेत जाहेरवाली र प्रतिवादीबिच अगाध प्रेम सम्बन्ध रहे भएको कुरा देखिन्छ । जाहेरवालीको बकपत्रबाट समेत सो कुरा स्पष्ट भएको छ । वर्नेबेलायती जंगलमा जबरजस्ती करणी भयो भनेकोमा सोपछि पनि पीडिताले कुनै बचाउ वा तत्काल घटनाको प्रतिकार हार गुहार गर्नु पर्नेमा केही नगरी अझ प्रतिवादीसँगै रामरिठा बजार गई पेट्रोल पम्पमा आफैँले गेलिनमा मार्करले नाम लेखी भोलि आउँछु, गेलिन राखिदिनु भनी हिँडी प्रतिवादीसँगै बजारमा सामान झोला, चप्पल किन्न मागी किनी सँगै एउटै बसमा भोजपुर गएर ७ दिन सँगै बसेकी छन् । यदी जबरजस्ती करणी भएको भए तत्काल रोइ कराई हार गुहार संघर्ष गर्नु पर्ने थियो । ७ दिनसम्म सँगै बस्दासमेत प्रतिकार गर्नु पर्नेमा त्यस्तो केही नगरी ७ दिन होटल लजमा बसेर मात्र होइन पुनः फर्केर माइती घर नगई प्रतिवादीकै घरमा आई बसी घरमा पनि म सँगै सुत्यो भनी आफ्नो बयानमा समेत खुलाएको र घाँस दाउरा सँगै गर्दथेँ भनी वादीकै साक्षीको भनाइसमेतबाट स्थापित रूपमा यी जाहेरवाली र प्रतिवादी श्रीमान् श्रीमती भई खुसीसाथ बसेको पुष्टि भएको छ । जाहेरवाली २ सन्तानकी आमा २७ वर्षकी महिला हुन् । मिति २०६९/११/१५ गते दिनको २ बजे वर्नेबेलायती जंगलमा जबरजस्ती करणी भयो भनेकी जाहेरवाली सो करणी यदि भएको भए सोपछि १० दिनसम्म प्रतिवादीसँगै रहनु बस्नु घरमा भित्रनु सम्भव हुने कुरा हुन् ? कि त प्रतिवादीले अपहरण शरीर बन्धक बनाएर राखे भन्नेतर्फ जानुपर्ने हो सोतर्फ दाबी छैन । श्रीमान् श्रीमती भएर लानुजानु गरेको कुरा स्पष्ट छ । जाहेरवालीको बकपत्रबाट समेत यो कुरा पुष्टि भएको छ । तसर्थ, सुरू धनकुटा जिल्ला अदालतले मलाई १२ वर्ष कैद सजाय र रू.३०,०००/– क्षतिपूर्ति जाहेरवालीलाई भराउने गरी भएको फैसला बदर गरी मलाई अभियोग दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत धनकुटासमक्ष दर्ता भएको पुनरावेदन-पत्र ।
घटना वारदात भएको मिति २०६९/११/१५ बाट १३ दिनपछि २०६९/११/२८ मा जाहेरी दिएको र घटना वारदात भएको मितिपछि जाहेरवाली पीडिता प्रतिवादीसँग विभिन्न ठाउँमा घुमी फर्की जाहेरवाली पीडिता प्रतिवादीकै घरमा बसेकोसमेतका तथ्यहरूबाट सुरू धनकुटा जिल्ला अदालतको मिति २०७०/९/२८ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.ब. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय धनकुटालाई जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७१/२/६ गतेको पुनरावेदन अदालत धनकुटाको आदेश ।
पीडित जाहेरवाली धनकुटा "ख" कान नसुन्ने अपाङ्ग भनी थप सजायको माग गरेको देखिँदा सोको यकिन गर्नुपर्ने भएकाले जाहेरवाली परिवर्तित नाम धनकुटा "ख" को कान दुवै वा एक सुन्ने नसुन्ने के
छ ? नसुन्ने अवस्थाको भए के कति मात्रामा सुन्ने रहेछ सो कुराको जाँच गराउन जाहेरवाली धनकुटा "ख" लाई पुनरावेदन सरकारी वकिल कार्यालय धनकुटामार्फत झिकाई वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सम्बन्धित विशेषज्ञबाट निजको श्रवणशक्ति सम्बन्धमा जाँच गराई परीक्षण प्रतिवेदन साथै राखी नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७१/११/११ गतेको पुनरावेदन अदालत धनकुटाको आदेश ।
प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय हुने गरी भएको सुरू धनकुटा जिल्ला अदालतको मिति २०७०।९।२८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत धनकुटाबाट मिति २०७२।०२।१७ मा भएको फैसला ।
विवाह भई दुई भाई छोरा हुर्काई लोग्ने छोडी मसँग दोस्रो विवाह गर्न माइत आई बसेकी यी जाहेरवालीले तन्दरूस्त, सक्षम, सवल, सपाङ्ग महिलाको हैसियतमा गोठालो, खेतालो, घाँसदाउरा, मेलापात गरी घरको कामकाज र बजारमा किनमेलको कामकाजसमेत गरी मोबाइलमा कुरा गर्नुका साथै सांकेतिक भाषाविद्को मद्दत विना, श्रवणयन्त्रको मद्दतविना, अभिभावक वा संरक्षकको मद्दतविना सिधै जाहेरी दिई अदालतमा समेत बकपत्र गरेको अवस्था
छ । यी जाहेरवालीले मिसिल प्रमाणका मानिस र गाउँका मानिसहरूसँगसमेत दोहोरो कुरा गरेको मिसिलमा ठाउँठाउँमा देखिन्छ । मानिसहरूसँग दोहोरो कुरा गर्न सक्ने त्यस्ती जाहेरवालीसँग सल्लाह सहमतिअनुसार शारीरिक सम्बन्ध राख्दा जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर नहुने र सोही महलको ३(क) नं. बमोजिम थप सजायसमेत नहुने प्रस्ट भएकोले प्रमाणको अपव्याख्या गरी भएको सुरू अदालतहरूको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेतको जिकिर लिई पुनरावेदक प्रतिवादीको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन ।
यसमा प्रतिवादीसँगै विभिन्न ठाउँमा घुमी फर्की जाहेरवाली पीडित प्रतिवादीकै घरमा बसेको देखिन्छ । २०६९।११।१५ को वारदातको विषयमा २०६९।११।२८ मा जाहेरी दिएको देखिन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा समेत आपसी सहमतिबाट करणी लिनुदिनु भएको भनी बयान गरेको र पीडितको स्वास्थ्य परीक्षण रिपोर्टलाई समेत प्रमाणमा नलिई भएको पुनरावेदन अदालत धनकुटाको मिति २०७२।०२।१७ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.ब. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई आदेशको प्रतिलिपिसहितको जानकारी दिई नियमानुसार पेस गर्नुहोला भनी मिति २०७४।७।१६ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्रीले यी दुईबिचको सहमतिमा नै करणी भएको हो, जाहेरवालीको लगातार १० दिनसम्म करणी गरेको भन्ने भनाइ रहेकोमा यी प्रतिवादीले पीडिता भनिएकी धनकुटा (ख) लाई १० दिन राख्दासम्म पनि कहिँकतै उजुरी गरेको पाइँदैन । यी जाहेरवालीले प्रहरीमा दिएको प्रतिवेदनमा आफू कान कम सुन्ने र स्वर लथेप्रो भएको अपाङ्ग भनी लेखाएको भए तापनि मौकामा र अदालतमा बयान गर्दा कोही संरक्षक राखेको नदेखिँदा पूर्ण अपाङ्ग भन्ने अवस्था देखिँदैन । अधिकांश बुझिएका मानिसहरूले यिनीहरू एक अर्काका चिनजानका साथीहरू हुन्, उनीहरूबिच पहिलादेखि नै प्रेम सम्बन्ध थियो भनी भनेका छन् । जेठी श्रीमतीले बहुविवाहमा मुद्दा हाल्छु भनेपछि मात्र जाहेरवालीको बाबुले प्रहरी बोलाई जबरजस्ती करणीमा उजुरी हाली पक्राइएको अवस्था छ । करणी स्वेच्छा, राजीखुसीले भएको हुँदा सुरू अदालतहरूबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता टेकबहादुर कार्कीले पीडिता धनकुटा “ख” ले सुरूमा दिएको जाहेरी बेहोरालाई समर्थन गरी अदालतमा बकपत्र गरी दिएकी छिन् । पीडितालाई कब्जा गरी १० दिनसम्म पटक पटक इच्छाविपरीत जबरजस्ती करणी गरेको र ताला लगाई थुनी राखेको हो भन्ने पुष्टि भइरहेको अवस्था छ । पीडिताले आफूले प्रतिवादीसँग विवाह गरेको र मन्जुरीले करणी भएको हो भनी कहीँ पनि भनेकी छैनन् । पीडिता तोते बोली बोल्ने र कान कम सुन्ने खालकी छिन् । जबरजस्ती करणीको मुद्दामा पीडितको भनाइ नै मुख्य प्रमाण हुने भएकोले यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको हुँदा सुरू अदालतहरूबाट भएको फैसला नै सदर होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
मिति २०६९/११/१५ गते कान नसुन्ने, स्वर बोलाइ कम भएको, अपाङ्ग महिला परिवर्तित नाम धनकुटा “ख” लाई धनकुटा लेगुवा गाउँ विकास समिति वडा न.४ को वर्नेबेलायती जंगलमा लगी प्रतिवादी नविन कार्कीले जबरजस्ती करणी गरी मुलुकी ऐन,जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुर गरेको हुँदा ऐ ३ नं. को देहाय ५ बमोजिम प्रतिवादीलाई सजाय गरी पीडिता धनकुटा “ख” अपाङ्ग भएकीले ऐ. ३(क) नं. अनुसार थप सजाय गरी ऐ. १० नं. अनुसार पीडितालाई क्षतिपूर्तिसमेत भराइ पाउँ भन्ने अभियोग माग दाबी भएकोमा प्रतिवादी नविन कार्कीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडिता धनकुटा “ख” सँग प्रेम सम्बन्ध भएकोले विवाह गर्न सहमति भई राजीखुसीसाथ शारीरिक सम्पर्क भएको हो, जबरजस्ती करणी गरेको होइन भनी बयान गरी अदालतमा समेत सोही मिलानको बयान गरेकोमा प्रतिवादीलाई अभियोग माग दाबीअनुसारको कसुर गरेको ठहर्याउँदै भएको सुरू धनकुटा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको पुनरावेदन अदालत धनकुटाको फैसलाउपर पुनरावेदक प्रतिवादी नविन कार्कीको तर्फबाट पुनरावेदन पर्न आएको
रहेछ । प्रस्तुत मुद्दामा सुरू अदालतहरूले गरेको निर्णय मिलेको छ वा छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. प्रतिवादी नविन कार्कीले मिति २०६९/११/१५ का दिन आफ्नो घरबाट दिनको २ बजे रामरिठा बजारमा ग्यालेन लिई डिजेल लिन भनी गएकी परिवर्तित नाम धनकुटा “ख” लाई धनकुटा जिल्ला लेगुवा गाउँ विकास समिति वडा न.४ स्थित वर्नेबेलायती जंगलको बाटोमा जाँदै गर्दा पीडिता धनकुटा “ख” लाई पछाडिबाट हात समाई मुखथुनी डर त्रास देखाई जबरजस्ती तान्दै जंगलको बिचमा लगी जबरजस्ती करणी गरेको र करणी गरिसकेपछि कब्जामा राखी विभिन्न ठाउँमा लगी करणी गरी १० दिनपछि कब्जाबाट फुर्सद भएपछि जाहेरी दिएको हुँ भनी स्वयं पीडिता धनकुटा “ख” ले जाहेरी बेहोरामा खुलाएको देखिन्छ । प्रतिवादी नविन कार्कीले पीडिता धनकुटा “ख” सँग आफ्नो प्रेम सम्बन्ध रहेकोले विवाह गरौं भनी धनकुटा “ख” ले भनेको हुँदा विवाह गर्ने सहमति भई ०६९/११/१५ मा राजीखुसीसाथ शारीरिक सम्बन्ध भई ७ दिन भोजपुरतर्फ गई बसी २,३ दिन मेरो आफ्नै घरमा बसेपश्चात् माइती पक्ष आई धनकुटा “ख” लाई लिई गएका हुन्, मैले पीडिता भनिएकी धनकुटा “ख” लाई जबरजस्ती करणी गरेको छैन । मलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरी सोही मिलानको बयान यी प्रतिवादीले अदालतसमक्ष पनि गरेको देखिन्छ । यी प्रतिवादी नविन कार्कीको घरमा श्रीमतीसहित ३ वटा छोरीहरू रहेको साथै पीडिता धनकुटा “ख” को पनि अन्यत्र विवाह भई सो वैवाहिक सम्बन्धबाट २ वटा छोराको जाय जन्म भइसकेपछि आफ्नो लोग्ने छोडी माइती घर आई बसेको अवस्थामा प्रस्तुत वारदातको घटना घट्न गएको देखिन्छ ।
३. पीडिता धनकुटा “ख” जबरजस्ती करणीको वारदात भएको भनिएको मिति २०६९/११/१५ गते दिनको २ बजेको समयमा आफ्नो माइतीघरमा रहेको मिलको सञ्चालनको लागि डिजेल लिन भनी रामरिठा बजार जाँदै गरेको अवस्थामा प्रतिवादीले सोही बाटोमा पर्ने वर्नेबेलायती जंगल नजिकैको बाटोबाट आई पछाडिबाट पीडिता धनकुटा “ख” को हात समाई मुख थुनी डर त्रास देखाई जबरजस्ती तान्दै जंगलको बिचमा लगी जबरजस्ती करणी गरेको भनी पीडित भनिएकी परिवर्तित नाम धनकुटा “ख” ले जाहेरी बेहोरामा लेखाई दिएको पाइन्छ । यी पीडिताले अदालतमा आई बकपत्र गरेकी र बकपत्रमा "यी प्रतिवादीले म कान नसुन्ने हुँदा एक्कासी जंगलभित्र प्रतिवादी मातेको अवस्थामा मलाई भेटी निजले हातमा समाती खोल्सा खहरेमा लगी मेरो लुगासमेत खोली जबरजस्ती करणी गरेको हो, मेरो छोराको मायाले मलाई जबरजस्ती नगर भन्दा तँलाई मार्छु काट्छु भनी धम्काई मलाई जबरजस्ती करणी गरेको हो" भनी सवाल जवाफ ६, ७ र ८ मा किटान गरेको देखिन्छ । यी पीडितको अदालतसमक्षको बकपत्रबाट निजको सहमति विना नै यी प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको छ भने प्रतिवादीले सहमतिमा नै करणी लिनु दिनु भएको भन्ने जिकिर लिएको छ । उक्त वारदातमा पीडितको पनि सहमति रहेको भए घटनाक्रम सविस्तार गरी प्रतिवादीलाई आरोप लगाउनु पर्ने विश्वासनीय आधार कारण देखिँदैन ।
४. पीडिता धनकुटा “ख” को र प्रतिवादी नविन कार्कीबिच उक्त मितिमा भेटघाट गरी करणी गर्ने र करणी गरिसकेपछि सोही स्थानबाट अन्यत्र (भोजपुर) जाने र निजको घरमा समेत गई बस्ने भन्ने पूर्व सहमति भएको भनी स्वयं प्रतिवादी नविन कार्कीले भन्न नसक्नु र पीडिता धनकुटा “ख” ले त्यस्तो पूर्वतयारी साथ गएको भन्ने अवस्था मिसिल संलग्न साक्षीहरूको भनाइ र सबुद तथ्य प्रमाणबाट पुष्टि हुन सकेको पनि देखिँदैन । वर्नेबेलायती जंगलमा दुई पक्षबिच शारीरिक सम्बन्ध भएपछि यी प्रतिवादी नविन कार्की र पीडिता धनकुटा “ख” ७ दिनसम्म भोजपुर बसी त्यसपछि प्रतिवादीको घरमा आई बसेको अवस्थामा प्रहरी गई छुटाई लगेपछि जाहेरी परेको देखिन्छ । बिना पूर्व तयारी पीडिता धनकुटा “ख” आफूले डिजेल लिन आएको ग्यालिन रामरिठा बजारमा रहेको शिवराज घिमिरेको पसलमा छाडी गएको भन्ने कुरामा प्रतिवादी नविन कार्की र पीडिता धनकुटा “ख” को भनाइ रहेको र उक्त भनाइलाई वादी पक्षका साक्षी शिवराज घिमिरेले स्वीकार गर्दै अनुसन्धान अधिकारीसमक्ष कागज गरी अदालतमा आई बकपत्रसमेत गरेकोबाट कुनै पूर्व तयारी गरी यी पीडिता स्वेच्छाले प्रतिवादीसँग गएको विश्वास गर्न मिल्ने देखिँदैन । जबरजस्ती करणीमा प्रत्यक्ष देख्ने व्यक्ति नहुने हुँदा पीडितको भनाइमा रहेको एकरूपतालाई नै विश्वासनीय प्रमाणको रूपमा अदालतले ग्रहण गर्न सक्ने हुन्छ । नेपाल सरकार विरूद्ध सरोज हिङमाङसमेत भएको जबरजस्ती करणी मुद्दामा "जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नु पर्ने । प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्ने । पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाइ, पीडिताको शारीरिक परीक्षण अनुसन्धान अधिकारीसमक्ष कसुरमा एकआपसमा पोल गरी गरेको साबिती बयानलगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दाबीबाट सफाइ दिँदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुन जाने" (ने.का.प. २०६७, अंक ९, नि.नं. ८४६९) भनी प्रतिपादित सिद्धान्तसमेतको आधारमा यी प्रतिवादी नवीन कार्कीले अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भन्न मिल्ने नदेखिँदा जबरजस्ती करणीको ३(५) नं. बमोजिम सजाय गरेको र क्षतिपूर्ति दिलाएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन्छ ।
५. अब, पीडिता धनकुटा “ख” कान नसुन्ने र स्वर बोलाई कम भएको भनी वादी नेपाल सरकारको तर्फबाट थप सजायको दाबी लिएतर्फ विचार गर्दा, यी पीडितलाई राज्यका तर्फबाट अपाङ्गताको परिचय पत्र दिएको र अदालतको आदेशअनुसार वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्बन्धित विशेषज्ञबाट पीडिता धनकुटा “ख” को अपाङ्गतासम्बन्धी परीक्षण हुँदा पीडिता कान नसुन्ने, राम्रो बोल्न नसक्ने भनी प्रतिवेदन प्राप्त भएको
पाइयो । विशेषज्ञको उक्त भनाइलाई सामान्यतया अन्यथा भन्न मिल्ने हुँदैन, तर प्रस्तुत मुद्दामा यी जाहेरवालीले मौकामा र अदालतमा आई बयान गर्दा आफ्नो तर्फबाट सवाल जवाफमा कोही संरक्षकको सहयोग लिएको देखिँदैन । प्रतिवादीका साक्षी कमल थापाले जाहेरवाली र प्रतिवादी सहमतिअनुसार श्रीमान् श्रीमती भएका हुन्, रिसइवीको कारणले मात्र जाहेरी दिएकी हुन् भनेको पाइन्छ । सोही भनाइलाई समर्थन गर्ने गरी धनबहादुर कार्की, डम्बरबहादुर कार्की र भेषबहादुर थापाले पनि बकपत्र गरेको पाइन्छ । यसबाट यी जाहेरवाली अरूभन्दा केही भिन्न भएपनि कुराकानी संवाद गर्न सक्ने, आफैँ आफ्नो कुराहरू राख्न सक्ने र कुरा बुझ्न सक्ने प्रकृतिको देखिन्छ ।
६. जबरजस्ती करणीको ७ नं. को प्रयोजनार्थ यी पीडित अपाङ्ग हो, होइन भन्ने सम्बन्धमा जाहेरीमा संरक्षक रहेको छैन । अभियोग पत्रमा ३(क) को थप सजाय माग गरे पनि निज सोको परिभाषाभित्र पर्ने व्यक्ति भएको कुनै विश्वासयोग्य प्रमाण अभियोग पत्रसाथ पेस भएको पाइँदैन । यी पीडितले अदालतसमक्ष बकपत्र गर्दा अदालतले सोधेको प्रश्नहरूको पूरा जवाफ दिएको, सवाल जवाफको सोधपुछको समेत स्पष्ट रूपमा बेहोरा खुलाएको र प्रतिवादीको कानून व्यवसायीको तर्फबाट जिरह गर्दासमेत जवाफ दिएको देखिन्छ । जिल्ला अदालतले यी पीडितलाई बकपत्र गर्दा संरक्षकको आवश्यकता महसुससमेत गरेनर अ.बं. २४, २५, र ८३ नं. बमोजिम संरक्षक राख्न लगाएको छैन । के कस्तो परीक्षणबाट यिनलाई अपाङ्गको प्रमाणपत्र दिएको हो, त्यस्तो अवस्था यिनको अदालतमा भएको बकपत्रबाट नदेखिएबाट अपाङ्गता सम्बन्धमा विश्वासनीय प्रमाण देखिँदैन । जबरजस्ती करणीको ३क. नं. मा "कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानामा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भन्ने व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थालाई मध्यनजर गर्दा यी पीडितले आफैँ जाहेरी दिएकी एवं मौकामा र अदालतमा बयान गर्दा विना संरक्षक सबै सवालहरूको स्पष्ट रूपमा जवाफ दिएको तथा सुरू अदालतले समेत यी प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३क. को प्रयोजनार्थ अपाङ्गको श्रेणीमा राख्नु शंकास्पद देखिएको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको ३क. आकर्षित गर्नु न्यायोचित नहुने हुँदा सो नं. बमोजिम सजाय हुँदैन । प्रतिवादी नविन कार्कीले अभियोग दाबीअनुसार कसुर गरेको र पीडिता परिवर्तित नाम धनकुटा “ख” अपाङ्गसमेत भएकोले थप सजायतर्फ दाबी लिई अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरेको सुरू धनकुटा जिल्ला अदालतको फैसलालाई नै सदर गरी भएको पुनरावेदन अदालत धनकुटाको फैसला सो हदसम्म मिलेको देखिएन ।
७. अतः माथि विवेचित आधार र कारणबाट सुरू धनकुटा जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालत धनकुटाको फैसला केही उल्टी भई प्रतिवादी नविन कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय (५) नं. बमोजिम ७ वर्ष (सात वर्ष) कैद र रू.३०,०००।– (तीस हजार) जरिवाना गरेको फैसला सदर हुने र पीडित जाहेरवाली अपाङ्गता भएकी कान नसुन्ने भएको भन्ने आधारमा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप ५ वर्ष (पाँच वर्ष) कैद गर्ने गरी फैसला भएकोमा निज जाहेरवाली व्यावहारिक रूपमा कान सुन्ने तथा सोधिएका प्रश्नको जवाफ दिन सक्ने पुष्टि भएको हुँदा सो हदसम्म उक्त फैसला उल्टी भई निजउपरको थप सजायको अभियोग माग दाबी पुग्न सक्दैन । सो थप अभियोग दाबीको हदसम्म निज प्रतिवादीले सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी नविन कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय (५) नं. बमोजिम ७ वर्ष (सात वर्ष) कैद र रू.३०,०००।– (तीस हजार) मात्र जरिवाना हुने भई निज मिति २०६९।११।२८ देखि थुनामा रही मिति २०७६।११।२७ गते कैद भुक्तान हुने देखिँदा सोहीबमोजिमको लगत कसी असुलउपर गर्नु भनी र निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप ५ वर्ष (पाँच वर्ष) कैद नहुने ठहरेकोले सोको लगत कट्टा गरिदिनु भनी सुरू अदालतमा लेखी पठाई दिनू .................१
फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ................२
सरोकारवालाले फैसलाको नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई दिनू .....................३
प्रस्तुत फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ............................................................४
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृतः सीता अधिकारी
इति संवत् २०७६ साल भदौ २ गते रोज २ शुभम् ।