शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३२२ - अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७५।११।२

०७४-DF-०००१

 

मुद्दा : अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ ।

 

पुनरावेदक / वादी : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ८ बस्ने राजेन्द्र वैद्य

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ८ बस्ने सुन्दरीमाया वैद्यसमेत

 

अंशबन्डा गर्दा केही जग्गा बन्डा गर्न बाँकी रहन सक्ने, अंशियारहरूबिचको व्यावहारिक तथा अन्य कारणले गर्दा बन्डा गर्नुपर्ने अवस्थाको सम्पत्ति बन्डा नगरी त्यसै राखिने अवस्था पनि 

हुन्छ । अंशबन्डाको ३५ नं. को व्यवस्था गर्नु पर्नाका कारण पनि बन्डा हुन बाँकी सम्पत्तिलाई व्यवस्थित गर्ने प्रयोजनको लागि नै हो भन्ने उक्त कानूनी व्यवस्थाको अध्ययनबाट देखिने ।

(प्रकरण नं.८)

कानूनमा नै अंशहक समाप्त हुने आधारहरूको बारेमा स्पष्टरूपमा उल्लेख भएको अवस्थामा त्यस्तो अवस्थाको विद्यमानता भएको आधारमा अंशहक समाप्त हुने अवस्था रहन्छ तर त्यस्तो अवस्था नभएसम्म अंशजस्तो नैसर्गिक हक समाप्त हुने गरी गरिने कानूनको व्याख्याबाट न्यायको अभिष्ट पूरा हुन सक्ने अवस्था नरहने । 

अंशबन्डासम्बन्धी कानूनमा अंशबन्डा लिखतमा उल्लेख नभएको जग्गा जसको नाउँमा रहेको छ उसकै हुने भन्ने उल्लेख भएको देखिँदैन । बरू कानूनले त्यस्तो जग्गाको हकमा नालिस लाग्न सक्नेतर्फ मार्ग प्रशस्त गरेको देखिन्छ । यस्तो अवस्थामा त्यस्तो जग्गाको प्रकृतिको आधारमा बन्डा लाग्ने नलाग्ने भन्ने कुराको न्यायिक निर्क्योलमा पुग्न सकिने अवस्थालाई प्रस्ट रूपमा इङ्गित गरेको अवस्था देखिने ।

(प्रकरण नं.१०)

अबन्डा जग्गा बन्डा हुने नहुने सम्बन्धमा देवनाथ साह तेली विरूद्ध नन्दु साह तेलीसमेत भएको मुद्दामा गरिएको व्याख्या वा प्रतिपादित सिद्धान्त कानून एवं न्यायसम्मत रहेको देखिन आयो । तसर्थ यस अदालतबाट वादी रामलखन यादवसमेत वि. रामलाल अहिरसमेत भएको (संवत् २०६७ सालको दे.पु.नं. ०६७-CI-०३९५) को अबन्डा जग्गा बन्डा गरिपाउँ मुद्दामा प्रतिपादित सिद्धान्त अमान्य हुने ।  

(प्रकरण नं.१२)

आमाको नाउँको सम्पत्ति जुनसुकै तरिकाबाट आर्जन गरेको सम्पत्ति भएपनि सन्तानहरूको लागि पैतृक सम्पत्तिसरह हुने ।

(प्रकरण नं.१७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री ओमकाजी प्रजापति र गोपाल श्रेष्ठ

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री कमलमणि श्रेष्ठ र श्री धनबहादुर ए.सी.

अवलम्बित नजिर : 

ने.का.प.२०६९, अंक ६, नि.नं.८८४६

ने.का.प.२०७३, अंक १२, नि.नं.९७२५

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :- 

मा. जिल्ला न्यायाधीश श्री लेखनाथ रेग्मी

काभ्रेपलाञ्चोक जिल्ला अदालत 

पुनरावेदन अदालतमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र

माननीय न्यायाधीश श्री सत्यराज गुरूङ

 

फैसला

न्या.टंकबहादुर मोक्तान : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) एवं हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा मिति २०७४/५/५ मा यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने भएको आदेशनुसार पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

पिता हरिबहादुर वैद्य र आमा सुन्दरीमाया वैद्यको तर्फबाट जेठो म फिरादी राजेन्द्र र कान्छो सुरेन्द्र वैद्यको जायजन्म भई एकासगोलमा बसी आएकोमा म फिरादी जिल्ला रौतहट चन्द्रनिगाहापुरमा व्यापार गरी बसेकोमा मिति २०५६।१०।२० मा हामी अंशियारका बिचमा मालपोत कार्यालय, रौतहटबाट र.नं. ४८२८ को अंशबन्डाको लिखत पारित गरी छुट्टी भिन्न भई बसेकोमा सो समयमा म फिरादीलाई काभ्रेमा के कति सम्पत्ति छ भन्ने कुरा थाहा 

भएन । हाल बनेपाको घर जग्गा आमा र भाइले बिक्री गर्न लागेको थाहा पाई मालपोत कार्यालय, काभ्रेमा गई बुझ्दा मेरोसमेत अंश हक लाग्ने हाम्रो पैतृक सम्पत्ति काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ९ कि.नं. २२४ क्षेत्रफल ०-६-०-२ को जग्गा र सोमा बनेको ३ तले पक्की घरसमेत मिति २०५६।१०।२० को बन्डापत्रमा नदेखाई मेरो अंशहक मार्ने नियतले लुकाएको रहेछ र उक्त जग्गा आमाको दाइजो पेवा देखाउने बदनियतले आमा सुन्दरीमाया दिने र भाइ सुरेन्द्र वैद्य लिने भई मिति २०५८।४।२१ र.नं. ३०४ को हालैदेखिको बकसपत्र लिखत पारित गरेको र पुनः मिति २०६४।५।१९ र.नं. १०८७ को हालैदेखिको बकसपत्र लिखतबाट उक्त जग्गा दिने सुरेन्द्र वैद्य लिने आमा सुन्दरीमाया वैद्य भई हाल उक्त जग्गा आमा सुन्दरीमाया वैद्यको नाममा नै दर्ता कायम छ । अतः उक्त कि.नं. २२४ को घरजग्गा अंशबन्डा गर्दा नदेखाई अबन्डा रहेकोले मेरो भागजति ४ भागको १ भाग नरम गरम मिलाई मेरो नाममा बन्डा गरी जग्गाधनी प्रमाणपुर्जा बनाई चलनसमेत चलाई पाउँ भन्ने बेहोराको राजेन्द्र वैद्यको फिराद दाबी । 

विपक्षीको फिराद दाबी झुठ्ठा हो, फिराद दाबीमा उल्लिखित कि.नं. २२४ को घरजग्गा विपक्षीले अंशहक लाग्ने जग्गा होइन । सो जग्गा म सुन्दरीमायालाई मेरो पिता सनकबहादुर प्रधानले दिएको रूपैयाँ र मेरो दाइजो पेवाबाट प्राप्त घरजग्गा हो । विपक्षीको हकदैयाविहीन फिराद खारेज 

गरिपाऊँ । फिरादीलाई काभ्रेको घरजग्गाको सम्बन्धमा थाहा छैन भनी लेखाएको कुरा झुठ्ठा हो । यी फिरादीको विवाह नै सोही बनेपाको घरबाट भएको हो । विपक्षी वादी बनेपामै जागिर खाई बसेको र सोही घरमा नै बसेकोमा पछि बनेपामा डेरा गरी बसेकोले अंशबन्डा हुँदाको बखतमा सो घरजग्गाको सम्बन्धमा विपक्षीलाई पूर्ण जानकारी भएको र सो सम्पत्तिलाई विपक्षीले समेत मेरो सम्पत्तिबाट पाएको सम्पत्तिबाट खरिद गरेको स्वीकार गरी अंशबन्डाको लिखतमा उल्लेख नगरी अन्य पैतृक सम्पत्ति मात्र बन्डा भएको हो । सो बन्डा लिखतमा अबन्डाको सम्पत्ति भनी उल्लेख गरिएको छैन । यी राजेन्द्र वैद्यको जेठो छोरा अपहरण गरेको भनी मसमेत उपर चौकीमा उजुरी दिई सो घरमा आई यी वादीले ढुंगा मुढासमेत गरेको, आफ्नो जन्म दिने आमालाई दुःख दिने नियतले मात्र यो फिराद दायर गरेको हो । उक्त घरजग्गा धितो राखी चण्डेश्वरी सहकारी संस्थाबाट रू.२०,००,०००।- ऋणसमेत लिएको छ । प्रस्तुत मुद्दा अंशबन्डाको १८, ३५, दण्ड सजायको ४३नं., दान बकसको १ नं., स्त्री अंश धनको ४, ५ नं. समेतको कानूनी त्रुटि गरी अदालती बन्दोबस्तको ८२ नं. विपरीत दायर भएको फिराद दाबी अदालती बन्दोबस्तको १८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने बेहोराको सुन्दरीमाया वैद्य र सुरेन्द्र वैद्यको संयुक्त प्रतिउत्तरपत्र । 

फिराद दाबीमा उल्लिखित कि.नं. २२४ को जग्गा मैले व्यापार व्यवसायबाट खरिद गरेको जग्गा हो र पहिले सानो जस्ताको छानो भएको घर भएकोमा पछि मैले नै पक्की घर बनाएको हो । अंशबन्डा गर्दा सो घरजग्गाको सम्बन्धमा यी वादीलाई थाहा थिएन होला । मिति २०५६।१०।२० मा भएको अंशबन्डामा सो घरजग्गा अबन्डामा नै राखिएको हो । हाल उक्त घरमा प्रतिवादीमध्येका सुन्दरीमाया वैद्य र सुरेन्द्र वैद्य मात्र बसोबास गरी आएका छन् । म पनि धार्मिक संघ संस्थामा बसेको छु । सो जग्गा अंशबन्डा लाग्ने घरजग्गा हो । सो घर जग्गामा मेरो १ भाग सुरक्षित गरिपाउँ भन्ने बेहोराको प्रतिवादी हरिबहादुर वैद्यको प्रतिउत्तर । 

सुरू अदालतको आदेशानुसार वादी प्रतिवादीको बिचमा मिति २०५६।१०।२० मा पारित अंशबन्डाको लिखतको प्रमाणित प्रतिलिपि मालपोत कार्यालय, रौतहटबाट प्राप्त भई मिसिल सामेल रहेको देखिन्छ । तथा मिति २०३०।२।१६ र.नं. २०३६, मिति २०६४।५।१९ र.नं. १०८६, मिति २०५८।४।२१ र.नं. ३०४ को लिखतको प्रमाणित प्रतिलिपि मालपोत कार्यालय, काभ्रेबाट प्राप्त भई मिसिल सामेल रहेको देखिन्छ । यिनै वादी प्रतिवादी भएको फौ.मि.नं. १०९।१२८ को जालसाजी मुद्दासमेत साथै रहेको छ । 

दाइजो पेवाको सम्पत्ति हो भन्ने कुरा पनि प्रमाणबाट पुष्टि हुन नसकी प्रतिवादीको जिकिर निराधार देखिन आएकोले र अंशबन्डाको ३५ नं. मा भएको कानूनी व्यवस्थाअनुरूप विवादित घरजग्गा अर्थात् वादी दाबीको उक्त कि.नं. २२४ को जग्गा र घर अबन्डाको सम्पत्ति देखिएकाले वादी दाबीबमोजिम ४ भागको १ भाग वादीको नाममा बन्डा गरी चलनसमेत चलाई दिनुपर्ने ठहर्छ भन्ने सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला । 

सुरू अदालतको फैसलामा चित्त बुझेन । कि.नं. २२४ का घरजग्गा म प्रतिवादी सुन्दरीमाया वैद्यलाई पिता सनकबहादुरले मिति २०३०।२।१८ अष्टमानको नाममा काभ्रे मालपोत कार्यालयमा दर्ता भएको जग्गामध्येबाट खरिद गरी दिनु भएको, खेत १८ मध्येका खेत ।२।१० जग्गा म सुन्दरीमाया श्रेष्ठको नाममा मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा र.नं. २५६ माटोमुरी ।२।१० मा दर्ता हुन आएको जग्गा, जग्गा नापजाँच हुँदा काभ्रेपञ्लाचोक जिल्ला, बनेपा वडा नं. ८ कि.नं. २२४ को क्षेत्रफल ०-६-०-२ कायम भएको हो । सो जग्गामा निर्माण भएको घर म सुन्दरीमाया वैद्यको पिता सनकबहादुर प्रधानले दिएको रूपैयाँ र मेरो दाइजो पेवा र दुःख कष्ट गरी खाई नखाई आफैँले आर्जन गरी बढे बढाएको रूपैयाँबाट तीन तला घरसमेत निर्माण गरी पिता सनकबहादुरको स्याहार सम्भारबाट प्राप्त गरेकोले म सुन्दरीमायाको एकलौटी रहने सहमतिमा विपक्षीसमेतले स्वीकार गरी अंशबन्डा गर्नुपर्ने सम्पत्ति रौतहटमा मात्र भएकोले सो सम्पत्ति विपक्षी म प्रतिवादी सुरेन्द्र वैद्यको भागमा अंशबन्डा गरेको हो । म सुन्दरीमाया वैद्यको अंशबन्डाको १८ नं., स्त्री अंश धनको ४ र ५ नं.बमोजिम आफूखुस गर्न पाउने घरजग्गा अंशबन्डा भएको, अंशियार सुरेन्द्र वैद्यलाई म प्रतिवादी सुन्दरीमाया वैद्यले मालपोत कार्यालय, काभ्रेपञ्लाचोकबाट र.नं. ३०४ मिति २०५८।४।२१ गते हालैदेखिको बकसपत्र गरी लिनु दिनु गरेको जग्गा म प्रतिवादी सुन्दरीमाया वैद्यले सुरेन्द्र वैद्यबाट २०६४।५।२९ मा हालैदेखिको बकसपत्र प्राप्त गरेको घरजग्गा अंश लिइसकेका अंशियार विपक्षीलाई अंश दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुन्दरीमाया वैद्यसमेतले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन । 

यसमा मिति २०५६।१०।२० मा पारित भएको अंशबन्डाको लिखतमा वादी दाबीको कि.नं. २२४ को जग्गा अबन्डाको भन्ने उल्लेख भएको नदेखिएको अवस्थामा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश । 

वादी दाबी पुग्न नसक्ने ठहर्‍याउनु पर्नेमा वादी दाबीबमोजिम विवादित घरजग्गा अबन्डाको ठहर्‍याई ४ भागको १ भाग वादीले अंश पाउनेसमेत ठहर्‍याएको सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०६७।१०।१७ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।

पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा चित्त बुझेन । विवादित कि.नं. २२४ को घरजग्गामा म पुनरावेदकसमेतको भोग चलन रहेको कुरा विपक्षीहरूले स्वीकार गरिरहेको अवस्थामा उक्त सम्पत्तिमा म पुनरावेदकको भोग चलन नै नभएको भनी निर्णयाधार लिनु उक्त सम्पत्तिमा रहेको मेरो साम्पत्तिक हकबाट मलाई वञ्चित गर्नु हो । अंशबन्डाको ३५ नं. अनुसार मिति २०५६/१०/२० गते अंशबन्डा हुँदा उक्त कि.नं. २२४ को घरजग्गा अंशबन्डा नै नभएको भएपनि वा उक्त मितिमा अंशबन्डा हुँदा अबन्डा गोश्वाराको भनी उल्लेख भएपनि र मिति २०५६/१०/२० गते अंशबन्डाको लिखत नभएको भएपनि उक्त कि.नं. २२४ को घरजग्गामा हिसाब शान्ति दुवै थरको भोग भएकोमा म पुनरावेदकले नालेस गरी मेरो अंश हक सुरक्षित गर्न नसकिने होइन । सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतले उक्त कि.नं. २२४ को घरजग्गा अबन्डाको ठहराई वादी दाबीबमोजिम ४ भागको १ भाग वादीको नाउँमा बन्डा हुने र चलनसमेत चलाई पाउने ठहर्‍याएको मिति २०६७/१०/१७ को फैसला उल्टी हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी वा बदर गरी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भएको फैसला सदर गरी कि.नं. २२४ को घरजग्गा अबन्डाको ठहर्‍याई म पुनरावेदकको वादी दाबीबमोजिम ४ भागको १ भाग बन्डा हुने र चलनसमेत चलाई पाउने ठहर्‍याई पाउँ भन्नेसमेत बेहोराको वादी राजेन्द्र वैद्यले यस अदालतमा दायर गरेको पुनरावेदन । 

यसमा वादी प्रतिवादीहरूबिच मिति २०५६/१०/२० मा भएको बन्डापत्रको लिखत हेर्दा अंशियारहरूबिच रौतहट चन्द्रनिगाहापुरको घर जग्गा मात्र बन्डा भएको देखिएको र सो बन्डापत्रमा अरू सम्पत्ति नभएको एवं दबाए छिपाएको छैन भन्नेसम्म उल्लेख गरी बनेपामा पनि घर जग्गा  रहेको वा अन्य कुनै सम्पत्तिबाट अंश नपाउने भन्ने पनि सो बन्डापत्रमा उल्लेख भएको देखिँदैन । विवादको बनेपास्थित कि.नं.२२४ को जग्गा वादीको आमा सुन्दरीमाया वैद्यले मिति २०३०/२/१७ मा राजीनामाबाट खरिद गरी लिएको, सोमा घर रहेकोसमेत देखिँदा आमा बाबुले जुनसुकै तवरबाट पाएको सम्पत्तिमा छोराको लागि पैतृक सम्पत्ति हुने हुँदा अंशियारको अंश लाग्ने नै हुनाले उक्त बन्डापत्रमा सो घर आमा सुन्दरीमायाको अंश भागमा रहने भनी उल्लेख भएको नदेखिएको अवस्थामा यी वादीको अंश नलाग्ने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नभई फरक पर्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश । 

यसमा मिति २०५६/१०/२० को अंशबन्डापत्रमा उल्लेख नभएको सुन्दरीमाया वैद्यको नाममा दर्ता कायम रहेको कि.नं.२२४ को घरजग्गा बन्डा लाग्ने वा नलाग्ने भनी यस इजलासबाट निर्णय गर्नुपर्ने भएकोमा यसै अदालतबाट "सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बन्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बन्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबन्डाको ३५ नं.अनुसार बन्डाको माग गर्दै नालेस लाग्ने । बन्डापत्रमा कुनै सम्पत्तिको सम्बन्धमा केही नबोलिएको अवस्थामा त्यो जसको नाममा छ उसैको मात्र हुने अरू अंशियारको त्यसबाट हक लोप हुने भन्ने अर्थ लाग्न नसक्ने । हकको समाप्ति प्रस्ट रूपमा लेखिएको अवस्थामा मात्र हुन्छ । कुनै सम्पत्तिको विषयमा केही लेखिँदैन भने त्यसको प्रकृतिले त्यो बन्डा हुने वा नहुने निर्धारित गर्दछ । सो सम्पत्ति कुनै अंशियारको निजी हुने भन्ने प्रस्ट उल्लेख नभएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(ख) बमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अनुमान गरिने कानूनी व्यवस्था क्रियाशील हुने" भनी पुनरावेदक प्रतिवादी देवनाथ साह तेली विरूद्ध प्रत्यर्थी वादी नन्दु साह तेलीसमेत भएको "अबन्डा जग्गा बन्डा छुट्याई पाउँ" भन्ने मुद्दा (ने.का.प. २०६९, अंक ६, नि.नं. ८८४६) मा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८/१२/२२ मा प्रतिपादित सिद्धान्त र "अंशियारहरूका बिच कानूनबमोजिमको पारित लिखत भएको अवस्थामा लिखतले नै प्राथमिकता पाउने र त्यस्तो अवस्थामा मौखिक कथनको कुनै सार्थकता नरहने हुन्छ । यसका साथै वादीहरूलाई सो जग्गा साबिकदेखि अस्तित्वमा थियो भन्ने सम्बन्धमा तत्काल पनि जानकारी थियो भन्ने कुरा वादीहरूकै कथनबाट पुष्टि हुन आउँछ । यसरी विवादित जग्गा छ भन्ने कुरा अंशियारहरूका बिचमा थाहा जानकारी हुँदाहुँदै पनि उक्त जग्गा पछि बन्डा हुने गरी अबन्डाको रूपमा राखिएको छ भन्ने कुरा कहीँकतै खुलाइएको पनि पाइएन । यदि बन्डा गर्नु पर्ने अरू पनि जग्गा बाँकी राखिएको भए लिखत हुँदाका बखत सोही लिखतमा नै उक्त बेहोरा प्रस्टसँग उल्लेख गरिने 

थियो । तथापि एकासगोलका अंशियारहरूका बिच लिखित बन्डापत्र गर्दाको बखतमा नै यो यो जग्गा पछि बन्डा हुनेगरी अबन्डा राखिएको छ भनी स्पष्ट रूपमा पारित लिखतमा नै उल्लेख नभएको जग्गालाई अबन्डा राखेको रहेछ भनी अनुमान गर्न सकिने अवस्था पनि देखिएन" भनी पुनरावेदक वादी रामलखन यादवसमेत प्रत्यर्थी प्रतिवादी रामलाल अहिरसमेत भएको अबन्डा जग्गा बन्डा गरिपाउँ (०७०-CI-०००६) को मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६९/५/२७ मा प्रतिपादित सिद्धान्त परस्परमा बाझिएको देखिएकोले सो विषयमा पूर्ण इजलासबाट निरूपण गरी यकिन गर्नु पर्ने देखिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतको मिति २०७४/५/५ मा भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितका मिसिल संलग्न कागजात प्रमाणहरूको अध्ययन गरियो ।

प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री ओमकाजी प्रजापति र गोपाल श्रेष्ठले विवादित कि.नं. २२४ को जग्गा मोही लागेको जग्गा होइन । विवादको कि.नं. २२४ को जग्गामा पुनरावेदकको समेत भोगचलन रहेको छ । आमा वा बाबुको सम्पत्ति जुनसुकै तरिकाबाट आर्जन गरेको भएपनि छोराछोरीको लागि त्यस्तो सम्पत्ति पैतृक हुन्छ भनी यसै सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएर रहेको अवस्था छ । विवादको कि.नं. २२४ को जग्गा मेरो पक्ष र विपक्षीहरूबिच अंशबन्डा हुँदा पछि बन्डा गर्ने गरी राखिएको जग्गा हो । पुनरावेदक प्रतिवादी देवनाथ साह तेली विरूद्ध प्रत्यर्थी वादी नन्दु साह तेलीसमेत भएको अबन्डा जग्गा बन्डा छुट्याई पाउँ भन्ने मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट उक्त कि.नं. २२४ को बन्डा हुने स्थिति छ । तसर्थ विवादको कि.नं. २२४ को जग्गाबाट मेरो पक्ष वादीले अंश भाग पाउनु पर्ने अवस्था हुँदा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी सुरूबाट बन्डा गर्ने गरी गरेको फैसला सदर कायम हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।

प्रत्यर्थी प्रतिवादीमध्येकी सुन्दरीमाया वैद्यको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री कमलमणि श्रेष्ठ र श्री धनबहादुर ए.सी. ले वादी बन्डापत्र बदरमा आउनु पर्नेमा आउन सक्नु भएको छैन । अंशबन्डा गर्दा वादीलाई असर पर्ने गरी भएको छैन । विवादको कि.नं. २२४ को जग्गा अबन्डाको जग्गा होइन । अबन्डाको जग्गा नहुँदा विवादको जग्गा प्रतिवादी सुन्दरीमाया वैद्यको एकलौटी हक हुने जग्गा हो । पुनरावेदक वादी रामलखन यादवसमेत प्रत्यर्थी प्रतिवादी रामलाल अहिरसमेत भएको अबन्डा जग्गा बन्डा गरिपाउँ भन्ने मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट विवादको कि.नं. २२४ को जग्गालाई अबन्डाको जग्गा भन्न मिल्दैन । तसर्थ पुनरावेदन अदालतबाट भएको फैसला मिलेको हुँदा सोही फैसला सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नु भयो । 

पिता हरिबहादुर वैद्य र आमा सुन्दरीमाया वैद्यको तर्फबाट जायजन्म भएका दुई छोरामा जेठो म फिरादी राजेन्द्र वैद्य र कान्छो सुरेन्द्र वैद्य एकासगोलमा बसी आएकोमा हामी अंशियाहरूबिचमा मिति २०५६/१०/२० मा र.नं. ४८२८ बाट अंशबन्डाको लिखत पारित गरी छुट्टी भिन्न भई बसेकोमा आमा सुन्दरीमाया वैद्यको नाममा रहेको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ९ कि.नं. २२४ क्षेत्रफल ०-६-०-२ को जग्गा र सोमा बनेको ३ तले पक्की घरसमेतको मेरोसमेत अंशहक लाग्ने पैतृक सम्पत्ति उक्त बन्डापत्रमा नदेखाएको र उक्त जग्गा आमाको दाइजो पेवा देखाउने बदनियतले आमा सुन्दरीमाया वैद्य दिने, भाइ सुरेन्द्र वैद्य लिने भई मिति २०५८/४/२१ मा र.नं. ३०४ को हालैदेखिको बकसपत्र लिखत पारित गरी मेरो अंश हक मार्ने नियत राखेकोले उक्त कि.नं. २२४ को घरजग्गाबाट मेरो भागजति ४ भागको १ भाग नरम गरम मिलाई बन्डा गरी जग्गाधनी प्रमाणपुर्जा बनाई चलनसमेत चलाई पाउँ भन्ने राजेन्द्र वैद्यको फिराद दाबी र फिराद दाबीमा उल्लिखित कि.नं. २२४ को घरजग्गा मेरो पिताले दिएको रूपैयाँ र दाइजो पेवाबाट प्राप्त घरजग्गा भएको र अंशबन्डा हुँदा विपक्षीलाई सो बारेमा पूर्ण जानकारी रहेको र सो तथ्य स्वीकार गरी बन्डापत्रमा उल्लेख नगरिएको हो । हाल सो जग्गा धितो राखी चण्डेश्वरी सहकारी संस्थाबाट रू.२०,००,०००/- ऋण लिएको हुँदा फिराद खारेज गरिपाउँ भन्नेसमेत सुन्दरीमाया वैद्य र सुरेन्द्र वैद्यको संयुक्त प्रतिउत्तर जिकिर साथै उक्त जग्गा मैले व्यापार व्यवसाय गरी खरिद गरी मैले नै पहिले जस्ताको छानो भएको सानो घर भएकोमा पछि पक्की घर बनाएको पैतृक बन्डा लाग्ने सम्पत्ति भएकोले मेरो एक भाग सुरक्षित गरिपाउँ भन्ने हरिबहादुर वैद्यको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट वादी दाबीबमोजिम ४ भागको १ भाग वादीको नाममा बन्डा गरी चलनसमेत चलाई दिने ठहर्‍याई भएको फैसलाउपर पुनरावेदन अदालत पाटनमा प्रतिवादीको पुनरावेदन परी सो अदालतबाट सुरू फैसला उल्टी हुने ठहर्‍याई भएको फैसलाउपर वादीको यस अदालतमा पुनरावेदन परेकोमा अंशबन्डा गर्दा अंशबन्डा कागजमा उल्लेख नभएको जग्गा अंशियारहरूबिच बन्डा हुने हो होइन भन्ने सम्बन्धमा यस अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तहरू परस्पर बाझिएको भनी प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने भएका आदेशनुसार प्रस्तुत मुद्दा यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको रहेछ । 

उपर्युक्त दुवै पक्षका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहससमेत सुनी पुनरावेदनसहितका मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नको निरूपण हुनुपर्ने देखिन्छ । 

(क) मिति २०७४/५/५ मा यस अदालतको संयुक्त इजलासबाट भएको आदेशअनुसार यस अदालतबाट प्रतिपादित आदेशमा उल्लिखित नजिर / सिद्धान्तहरू परस्परमा बाझिएको अवस्था हो वा होइन ?

(ख) विवादको कि.नं.२२४ को घरजग्गा दाबीबमोजिम वादीले बन्डा छुट्याई लिन पाउने हो होइन ?

(ग) पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन ? 

 

२. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा यस अदालतबाट उल्लिखित दुई अलग अलग अबन्डा जग्गा बन्डा छुट्याई पाउँ भन्ने मुद्दामा प्रतिपादित सिद्धान्तहरू परस्परमा बाझिएको नबाझिएको सन्दर्भमा हेर्दा पुनरावेदक प्रतिवादी देवनाथ साह तेली विरूद्ध प्रत्यर्थी वादी नन्दु साह तेलीसमेत भएको अबन्डा जग्गा बन्डा छुट्याई पाउँ भन्ने मुद्दा (ने.का.प.२०६९ अंक ६ नि.नं. ८८४६) मा यस अदालतको संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्तमा "सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बन्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बन्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबन्डाको ३५ नं.अनुसार बन्डाको माग गर्दै नालेस लाग्ने, बन्डापत्रमा कुनै सम्पत्तिको सम्बन्धमा केही नबोलिएको अवस्थामा त्यो जसको नाममा छ उसैको मात्र हुने अरू अंशियारको त्यसबाट हक लोप हुने भन्ने अर्थ लाग्न नसक्ने, हकको समाप्ती प्रस्ट रूपमा लेखिएको अवस्थामा मात्र हुने, कुनै सम्पत्तिको विषयमा केही लेखिँदैन भने त्यसको प्रकृतिले त्यो बन्डा हुने वा नहुने निर्धारित हुने र सो सम्पत्ति कुनै अंशियारको निजी हुने भन्ने प्रस्ट उल्लेख नभएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(ख) बमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अनुमान गरिने कानूनी व्यवस्था क्रियाशील हुने" भनी उल्लेख भएको देखिन्छ । उल्लिखित मुद्दामा भएको फैसलाको अध्ययन गर्दा भाइ भाइबिच मिति २०३६/२/१५ मा बन्डापत्रको लिखत गर्दा केही जग्गा अबन्डा राखी सगोलमै भोग चलन गर्ने सहमतिबमोजिम नै जग्गा अबन्डा राखिएको भन्ने वादीको बेहोरा र वादी दाबीको जग्गा साबिकदेखि हालसम्म मैले नै एकलौटीरूपमा हक भोग चलन गरी आएकोले वादी दाबी अंशबन्डाको ३५ नं. को विपरीत भएकोले अदालती बन्दोबस्तको १८० नं.बमोजिम खारेज हुनुपर्दछ भनी प्रतिउत्तर लगाएको परिप्रेक्ष्यमा तह-तह फैसला हुँदै यस अदालतबाट उल्लिखित सिद्धान्त प्रतिपादन भएको अवस्था देखिन्छ ।

३. यसैगरी पुनरावेदक वादी रामलखन यादवसमेत प्रत्यर्थी प्रतिवादी रामलाल अहिरसमेत भएको अबन्डा जग्गा बन्डा गरिपाउँ मुद्दामा “अंशियारहरूका बिच कानूनबमोजिमको पारित लिखत भएको अवस्थामा लिखतले नै प्राथमिकता पाउने र त्यस्तो अवस्थामा मौखिक कथनको कुनै सार्थकता नरहने हुन्छ । यसका साथै वादीहरूलाई सो जग्गा साबिकदेखि अस्तित्वमा थियो भन्ने सम्बन्धमा तत्काल पनि जानकारी थियो भन्ने कुरा वादीहरूकै कथनबाट पुष्टि हुन आउँछ । यसरी विवादित जग्गा छ भन्ने कुरा अंशियारहरूका बिचमा थाहा जानकारी हुँदाहुँदै पनि उक्त जग्गा पछि बन्डा हुने गरी अबन्डाको रूपमा राखिएको छ भन्ने कुरा कहीँकतै खुलाइएको पनि पाइएन । यदि बन्डा गर्नु पर्ने अरू पनि जग्गा बाँकी राखिएको भए लिखत हुँदाका बखत सोही लिखतमा नै उक्त बेहोरा प्रस्टसँग उल्लेख गरिने थियो । तथापि एकासगोलका अंशियारहरूका बिच लिखित बन्डापत्र गर्दाको बखतमा नै यो यो जग्गा पछि बन्डा हुने गरी अबन्डा राखिएको छ भनी स्पष्ट रूपमा पारित लिखतमा नै उल्लेख नभएको जग्गालाई अबन्डा राखेको रहेछ भनी अनुमान गर्न सकिने अवस्था पनि देखिएन" भनी सिद्धान्त कायम भएको देखिन्छ । सम्बन्धित मुद्दाको फैसलाको प्रतिलिपि अध्ययन गर्दा मेघा, द्वारिका र जद्दुबिच मिति २०४७/२/२३ मा अंशबन्डा गर्दा मेघाको नाममा गोनाहा गाउँ विकास समितिअन्तर्गत रहेको जग्गा विगाहा ४-१२-१५ जग्गा अंशबन्डा गरी बाँकी विचारी र रामलालको नाउँमा दर्ता रहेको जग्गा पछि बन्डा गर्ने गरी भागबमोजिम भोग गरी आएकोमा उक्त अंशबन्डा गर्न बाँकी जग्गा बन्डा गरौंभन्दा बन्डा गर्दैनौं जानेको गर भनी भनेको भनी उक्त जग्गा बन्डा गर्न माग गरी फिराद परेको र आफ्नो जग्गा आफ्नै खुस चलन गर्न पाउने भएकोले मिति २०४७/२/२७ को लिखतमा उल्लेख गर्नुपर्ने नहुँदा पैतृक सम्पत्ति मात्र बन्डा हुन गएको हो भनी फिराद खारेज हुनुपर्ने भनी प्रतिउत्तर जिकिर लिएको परिप्रेक्ष्यमा तह-तह फैसला हुँदै यस अदालतबाट उल्लिखित सिद्धान्त कायम भएको अवस्था देखिन्छ ।

४. दुवै मुद्दाहरू अबन्डा जग्गा बन्डा गरिपाउँ भन्ने मुद्दा भएको र दुवै मुद्दाहरू यस अदालतको संयुक्त इजलासबाट फैसला भएको अवस्था हुँदा उक्त मुद्दाहरूमा भएको फैसला एकआपसमा फरक परे नपरेको भन्ने कुरालाई सावधानीपूर्वक जाँची हेर्नु पर्ने देखिन्छ । दुवै मुद्दाहरूमा भएको फैसलाको अध्ययनबाट अंशियारहरूबिच अंशबन्डा हुँदा विवादको अबन्डा जग्गा अंशबन्डाको लिखतमा उल्लेख नभएको भन्ने देखिन्छ । अंशबन्डा लिखतमा उल्लेख नभएका अबन्डा जग्गाहरू नै दुवै मुद्दाको विवादको विषय रहेको देखिन्छ । अर्थात् अबन्डा जग्गा बन्डा गरी पाउने वा नपाउने भन्ने नै मुख्य विवादको विषय रहेको देखिन्छ । 

५. अबन्डा जग्गा बन्डा गर्ने सम्बन्धमा मुलुकी ऐन, अंशबन्डाको महलको ३५ नं. ले  स्पष्ट दिशानिर्देश गरेको देखिन्छ । तसर्थ उक्त नं. मा भएको व्यवस्थाहरूलाई नै मुख्य रूपमा हेर्नु पर्ने हुन्छ । उक्त अंशबन्डाको महलको ३५ नं. मा भएको व्यवस्था हेर्दा "अंशबन्डा नै नभएको वा बन्डा हुँदा अंशबन्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकै पनि र लिखत र भोगै नभएकोमा अघि बन्डा भई बाँकी रहेको वा दबाए छिपाएको पाउँ भन्न आएमा भिन्न-भिन्न जिउसम्म मात्र नालिस लाग्छ । अबन्डा गोश्वाराको लिखत भएकोमा आ-आफ्नो अंश हक लाग्नेजति अबन्डा आ-आफ्नो खुस हुन्छ" भन्ने उल्लेख भएको पाइन्छ ।

६. अंशबन्डाको महलको ३५ नं. को उल्लिखित व्यवस्थाले अबन्डाको सम्पत्तिको अवस्था, प्रकृति, अबन्डाको जग्गा सम्बन्धमा नालिस कहिलेसम्म लाग्ने, नालिस गर्नु पर्दा को कसउपर नालिस लाग्ने, गोश्वारा लिखत आदिको बारेमा के हुने भन्ने सम्बन्धमा उल्लेख गरेको देखिन आउँछ । जसअनुसार "अंशबन्डा नै नभएको", "बन्डा हुँदा अंशबन्डा गोश्वाराको लिखत भएको" र "लिखत नभए पनि हिसाब शान्ति दुवै थरको भोग भएकोमा" जहिलेसुकै पनि नालिस लाग्न सक्ने भन्ने देखिन्छ । "लिखत र भोगै नभएकोमा अघि बन्डा भई बाँकी रहेको", "दबाए छिपाएको" पाउँ भन्न आएकोमा भिन्न भिन्न जिउसम्म नालिस लाग्ने भन्ने देखिन्छ । अबन्डा गोश्वाराको लिखत भएकोमा भने आ-आफ्नो अंश हक लाग्नेजति अबन्डा आ-आफ्नो खुस हुने भन्ने देखिन्छ ।

७. अबन्डा जग्गाको विवादले जब प्रवेश पाउँछ त्यस्तो अवस्थामा मुलुकी ऐन, अंशबन्डा महलको ३५ नं. को परिधि र सीमाभित्र रहेर सो विषयको न्यायिक निरूपण गर्नुपर्ने हुन्छ । उक्त ३५ नं. को कानूनसम्मत व्याख्यामार्फत नै अबन्डा जग्गा बन्डा हुने नहुने कुराको न्यायिक निर्क्योल गर्नुपर्ने हुन जान्छ । अंशबन्डाको ३५ नं. ले अबन्डा जग्गा बन्डा हुने आधारहरूको बारेमा स्पष्टरूपमा उल्लेख गरेको अवस्थामा सोही नम्बरमा भएको व्यवस्थाअनुरूप नै अबन्डा जग्गा बन्डा हुने नहुने भन्नेतर्फ विवेचना गर्नुपर्ने हुन्छ ।

८. अंशबन्डा गर्दा अंश गर्नुपर्ने सबै श्रीसम्पत्ति एकै पटक बन्डा गर्नुपर्ने भनी अंशबन्डाको महलले कुनै अनिवार्यता सिर्जना गरेको देखिँदैन । अंशबन्डा गर्दा केही जग्गा बन्डा गर्न बाँकी रहन सक्ने, अंशियारहरूबिचको व्यावहारिक तथा अन्य कारणले गर्दा बन्डा गर्नुपर्ने अवस्थाको सम्पत्ति बन्डा नगरी त्यसै राखिने अवस्था पनि हुन्छ । अंशबन्डाको ३५ नं. को व्यवस्था गर्नु पर्नाका कारण पनि बन्डा हुन बाँकी सम्पत्तिलाई व्यवस्थित गर्ने प्रयोजनको लागि नै हो भन्ने उक्त कानूनी व्यवस्थाको अध्ययनबाट देखिन्छ । 

९. अंशबन्डा गर्दाका बखत अस्तित्वमा रहेको एकाघरसँगका अंशियारको नाउँमा दर्ता रहेको जग्गा अंशबन्डा लिखतमा उल्लेख नभएकै आधारमा उक्त जग्गा जसको नाउँमा छ उसको हुने, बन्डापत्रको लिखतमा कुनै जग्गा अबन्डा नजनिएकै कारणले सो सम्पत्ति अबन्डा सम्पत्तिभित्र नपर्ने, अबन्डाको जनिन सो कुरा अंशबन्डाको लिखतमा उल्लेख हुनै पर्ने भन्ने जस्ता अवधारणाले अंशबन्डाको ३५ नं. को उद्देश्य एवं उपादेयतालाई सङ्कुचित बनाउने देखिन्छ । कुनै जग्गा अंशबन्डा हुँदाको बखत अस्तित्वमा थियो तर उक्त जग्गा अंशबन्डाको लिखतमा समेटिएको अवस्था देखिएन भने त्यस्तोमा अंशबन्डाको ३५ नं. को परिधि र सीमाभित्र रहेर त्यसको न्यायिक व्याख्या हुनु जरूरी हुन्छ । कानूनको व्याख्या गर्दा अंशहक जस्तो व्यक्तिको नैसर्गिक हकको प्रयोगको आधार सङ्कुचित हुने गरी होइन, त्यस्तो नैसर्गिक हकको प्रयोगबाट कुनै अंशियार वञ्चित हुन नपर्ने गरी उदाररूपमा गरिनु पर्ने हुन्छ । 

१०. कानूनमा नै अंशहक समाप्त हुने आधारहरूको बारेमा स्पष्टरूपमा उल्लेख भएको अवस्थामा त्यस्तो अवस्थाको विद्यमानता भएको आधारमा अंशहक समाप्त हुने अवस्था रहन्छ तर त्यस्तो अवस्था नभएसम्म अंशजस्तो नैसर्गिक हक समाप्त हुने गरी गरिने कानूनको व्याख्याबाट न्यायको अभिष्ट पूरा हुन सक्ने अवस्था रहँदैन । अंशबन्डासम्बन्धी कानूनमा अंशबन्डा लिखतमा उल्लेख नभएको जग्गा जसको नाउँमा रहेको छ उसकै हुने भन्ने उल्लेख भएको देखिँदैन । बरू कानूनले त्यस्तो जग्गाको हकमा नालिस लाग्न सक्नेतर्फ मार्ग प्रसस्त गरेको देखिन्छ । यस्तो अवस्थामा त्यस्तो जग्गाको प्रकृतिको आधारमा बन्डा लाग्ने नलाग्ने भन्ने कुराको न्यायिक निर्क्योलमा पुग्न सकिने अवस्थालाई प्रस्ट रूपमा इङ्गित गरेको अवस्था देखिन्छ ।

११. देवनाथ साह तेली विरूद्ध नन्दु साह तेली भएको अबन्डा जग्गा बन्डा गरिपाउँ भन्ने मुद्दामा विवादको जग्गा बन्डापत्रको लिखत हुनुभन्दा पहिलेदेखि नै प्रतिवादीको नाउँमा दर्ता रहेको, दाबीको जग्गा बन्डा नलाग्ने निजी आर्जनको हो भनी स्वयं प्रतिवादीले जिकिर लिन नसकेको, केबल २०३६ सालमा बन्डा भइसकेको छ, अबन्डाको लिखत छैन भन्ने मात्र जिकिर लिएको तथ्यगत अवस्था र अंशबन्डाको महलको ३५ नं. को कानूनी व्यवस्थाको आधारमा नजिर कायम गरेको देखिन्छ । तर रामलखन यादव विरूद्ध रामलाल अहिरको अबन्डा जग्गा बन्डा गरिपाउँ भन्ने मुद्दामा कुन कुन जग्गा भागबन्डा गरेको हो, कुन जग्गा निजी आर्जनको हो, कुन कुन जग्गा क-कसको भागमा परेको हो, कुन कुन जग्गा जीउनी राखिएको हो, कसको नाममा दर्ता रहेको, कुन-कुन कि.नं. को जग्गा हाल अंशबन्डा नगरी अबन्डा वा बन्डा हुन बाँकी राखिएको हो भन्ने कुरा बन्डापत्र लिखतमा खुलाइने हुन्छ । उक्त बन्डापत्रको कागजमा सो जग्गा बन्डा गर्न बाँकी राखिएको भन्ने कुरा कहीँकतै उल्लेख गरिएको देखिएन । यदि उक्त सम्पत्ति बन्डा गर्न बाँकी राखिएको वा राख्नु पर्नेसम्मको कुनै कारण भए सो कुरा लिखतमा खुलाउनु पर्ने थियो सो कुरा खुलाइएको पनि पाइँदैन, कति कति क्षेत्रफल जग्गा अबन्डा राखिएको हो र क-कसले कति कति क्षेत्रफल भागबन्डा गर्न बाँकी राखी भागशान्ति भोग गरेको हो भन्ने कुरा सो पारित लिखतमा लेखिनुपर्ने थियो, सो बन्डापत्रमा उल्लेख गरेकोसम्म पनि देखिएन, सो जग्गा अबन्डा राखिएको हो भन्ने कुरा देखिने खालका अन्य व्यवहार प्रमाणबाट पनि प्रस्ट हुन सकेको देखिएन भनी अबन्डा कायम हुने नहुने भन्ने कुरा लिखतमा उल्लेख भएबमोजिम हुने भन्ने आधारमा लिखतलाई प्रमुखता दिई सिद्धान्त कायम भएको अवस्था देखिन्छ । 

१२. यसप्रकार माथि विवेचित आधार कारणसमेतलाई मध्यनजर गर्दा देवनाथ साह तेली विरूद्ध नन्दु साह तेलीको मुद्दामा प्रतिपादित सिद्धान्त अंशबन्डाको ३५ नं. को भावना र मर्मअनुसार नै भएको देखिएको र रामलखन यादव विरूद्ध रामलाल अहिरको मुद्दामा प्रतिपादित नजिर सिद्धान्त अंशबन्डाको महलको ३५ नं. को प्रयोजन शून्य हुने गरी सङ्कुचित व्याख्या भएको देखिन आएकोले अबन्डा जग्गा बन्डा हुने नहुने भन्ने विषयमा दुवै मुद्दाहरूमा अलग अलग न्यायिक दृष्टिकोण पेस भएको देखियो । जसले गर्दा उल्लिखित सिद्धान्तहरूमा न्यायिक एकरूपता देखिन आएन । यद्यपि अबन्डा जग्गा बन्डा हुने नहुने सम्बन्धमा देवनाथ साह तेली विरूद्ध नन्दु साह तेलीसमेत भएको मुद्दामा गरिएको व्याख्या वा प्रतिपादित सिद्धान्त कानून एवं न्यायसम्मत रहेको देखिन आयो । तसर्थ यस अदालतबाट वादी रामलखन यादवसमेत वि. रामलाल अहिरसमेत भएको (संवत् २०६७ सालको दे.पु.नं. ०६७-CI-०३९५) को अबन्डा जग्गा बन्डा गरिपाउँ मुद्दामा प्रतिपादित सिद्धान्त अमान्य हुन्छ ।   

१३. दोस्रो प्रश्नतर्फ हेर्दा मिसिल संलग्न वादी प्रतिवादीहरूबिच मिति २०५६/१०/२० मा भएको अंशबन्डाको लिखत हेर्दा हामीहरू बाबु, आमा, छोराहरू ४ अंशियारबाहेक अरू अंशियार नभएको र बढ्दो पारिवारिक विवादले गर्दा सगोलमा बसी कार्यव्यबहार गर्न हित्तचित्त नमिली अंशबन्डा गरिलिन दिन नै बेस हुँदा तपसिलका वार्ड कित्ता क्षेत्रफलको ज.वि.०-१-१० को हुने मोल रू.१०,००,०००/- अक्षरूपी दश लाख जाने घर जग्गासमेत अंश बाँडफाँड गरी लिनु दिनुपर्ने कुनै अरू सम्पत्ति नभएकोले उक्त लेखिएको मोलमा हुने जेथाको हामी आमा बाबुको अंश हकमा पर्न आउने अंश नगर्दै हामी लोग्ने स्वास्नीको भागको रू. ५,००,०००/- नगदै बुझी लिई हामी लोग्ने स्वास्नी सँगसाथमा बस्ने र छोरा २ को हकमा समेत चलजति घरसारमै हातहातै बुझी अचल तपसिलको जेथा अंश लिई दिई बस्न मन्जुर भएकोले योभन्दा बाहेक अरू अंश दबाए छिपाएको छैन र आजसम्मको घर व्यवहारमा लागेको ऋण रू. ७,००,०००/- (सात लाख) साहूहरूको सुरेन्द्र वैद्यले तिर्ने गरी पाउने अंश नरम-गरम मिलाई लियौं दियौं फरक छैन, फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला भनी हामीहरूको मनोमानी राजीखुसीसँग मालपोत कार्यालय, रौतहटमा अंशबन्डाको कागज लेखी सहिछाप गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । उक्त अंशबन्डाको लिखतबाट यी वादी प्रतिवादीबिच चल अचल सम्पत्ति नरम-गरम बन्डा भएको भन्ने देखियो भने उक्त लिखतमा अरू अंश दबाए छिपाएको छैन भनी उल्लेख गरेपनि अंशियारमध्येको प्रतिवादी सुन्दरीमाया वैद्यको नाउँको कि.नं. २२४ को घरजग्गा भने अंशबन्डा लिखतमा उल्लेख नगरी राखेको अवस्था देखियो ।

१४. विवादको कि.नं.२२४ को घर जग्गा वादीका आमा सुन्दरीमाया वैद्यको नाउँमा दर्ता कायम रहेको देखिन्छ । वादी राजेन्द्र वैद्य, प्रतिवादीहरू हरिबहादुर वैद्य, सुन्दरीमाया वैद्य र सुरेन्द्र वैद्य लोग्ने स्वास्नी, बाबुछोरा, आमाछोरा र दाजुभाइ नाताभित्रका समान अंशियार रहेको भन्ने कुरामा विवाद 

देखिँदैन । त्यसैगरी निजहरूबिच मिति २०५६/१०/२० मा अंशबन्डाको लिखत पारित भएको कुरामा पनि विवाद देखिँदैन । विवादको कि.नं. २२४ को घर जग्गा पारित अंशबन्डा लिखतमा उल्लेख नभई रहेको जग्गा भन्ने कुरामा पनि विवाद देखिँदैन । उक्त कि.नं. २२४ को जग्गाको सम्बन्धमा अबन्डाको लिखत भएको पनि देखिँदैन । वादीले अंशबन्डाको लिखतमा उल्लेख नभएको कि.नं. २२४ को घरजग्गा बन्डा गर्न माग गरी फिराद दायर गरेको अवस्था हुँदा उक्त कि.नं. २२४ को जग्गा नै वादी दाबीबमोजिम अंशियारबिच नरम-गरम मिलाई बन्डा भई वादीले उक्त जग्गाबाट बन्डा छुट्याई लिन पाउने हो होइन भन्ने कुराको निष्कर्षमा पुग्नु पर्ने देखियो । 

१५. सर्वप्रथम विवादको कि.नं. २२४ को जग्गा वादी प्रतिवादीबिच बन्डा हुनुपर्ने जग्गा हो वा होइन भन्ने कुराको निर्क्योल गर्न उक्त जग्गाको स्रोत, प्रकृति र उक्त जग्गा कुन अवस्थाको हो भन्ने कुरा हेर्नुपर्ने हुन्छ । मिसिल संलग्न कागज प्रमाणहरूबाट उक्त जग्गा यी पुनरावेदक वादी राजेन्द्र वैद्यको आमा सुन्दरीमाया वैद्यको भएको देखिन्छ । उक्त जग्गा सुन्दरीमाया वैद्यले अष्टमान बुद्धाचार्यबाट र.नं. २०३६ मिति २०३०/२/१७ को राजीनामा लिखतबाट खरिद गरेको ।२।१० कै जग्गा पछि कि.नं. २२४ कायम भएको जग्गा भन्ने देखिन्छ । प्रतिवादीसमेत रहेकी सुन्दरीमाया वैद्यले आफ्नो प्रतिउत्तरपत्रमा विपक्षीको अंशहक लाग्ने जग्गा होइन । सो जग्गा म सुन्दरीमायालाई मेरो पिता सनकबहादुर प्रधानले दिएको रूपैयाँ र मेरो दाइजो पेवाबाट प्राप्त गरेको घर जग्गा हो भनी जिकिर लिएको देखिन्छ । तर  प्रतिवादीमध्येका हरिबहादुरले प्रतिउत्तर लगाउँदा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा वडा नं. ९ कि.नं. २२४ क्षेत्रफल ०-६-०-२ जग्गा एकासगोलको पैतृक सम्पत्तिबाट मेरा पत्नी सुन्दरीमायाको नाममा खरिद गरेको सगोलको जग्गा हो र सोमा मैले नै घर निर्माण गरेको पैतृक सम्पत्ति हो, उक्त घरजग्गा मालपोत कार्यालय, रौतहटको र.नं. ४८२८ मिति २०५६/१०/२० को अंशबन्डापत्रमा नदेखाइएको अबन्डाको सम्पत्ति हो र अंशियार सबैलाई बराबर बन्डा लाग्ने पैतृक सम्पत्ति हो भनी उल्लेख गरेकोमा प्रतिवादीमध्येकी सुन्दरीमाया वैद्यसमेतले पुनरावेदन गर्दा हरिबहादुरको प्रतिउत्तर जिकिरलाई खण्डन गरे तापनि उक्त सम्पत्ति दाइजो पेवाको सम्पत्ति भएको तथ्य पुष्टि हुने कुनै ठोस सबुद प्रमाण पेस गर्न सकेको अवस्था देखिँदैन । 

१६. ने.का.प.२०७३ भाग ५८ अंक १२ नि.नं. ९७२५, पूर्ण इजलास, पाँचकन्या प्रजापतिसमेत विरूद्ध हरिचन्द्र प्रजापतिसमेत भएको अंश मुद्दामा "मुलुकी ऐन, अंश बन्डाको १० नं. ले बाबु,  आमा र लोग्नेलाई आफ्ना सन्तति, छोराछोरी र श्रीमतीलाई इज्जत आमदअनुसार खान लाउन,  शिक्षा दिक्षा, स्वास्थ्योपचारको व्यवस्था गरी दिन पर्छ भनी घरको मूल व्यक्तिउपर  जिम्मेवारी तोकेको देखिन्छ । अंशबन्डा गरिदिँदा आफ्ना सम्पत्ति तथा सबै अंशियारहरू जीयजीयैको अंश गरिदिनुपर्ने र अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गरी दिनु भनी अंशबन्डाको १ र २ नं. ले व्यवस्था गरेको छ । पैतृक सम्पत्तिमा बाबु, आमा, लोग्ने र श्रीमतीले जथाभावी गरी अंशियारहरूमध्ये कसैलाई काखा र कसैलाई पाखा राख्ने गरी पैतृक सम्पत्तिको बाँडफाँड र हक हस्तान्तरण गर्न मिल्दैन । यसो गर्दा बाबु आमाले आफूले पैतृक वा स्वआर्जन जुनसुकै तरिकाबाट आर्जन गरेको भएपनि सन्ततिको लागि पैतृकसरह हुन्छ भन्ने कुरा पनि हेक्का राख्नु 

पर्दछ । साथै वृद्धावस्थामा पालन पोषण गर्ने भन्ने नाममा सन्ततिहरूबिचमा प्रत्यक्षरूपमा देखिने र महसुस हुने गरी भेदभाव गर्नसमेत नमिल्ने” भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । 

१७. उल्लिखित सिद्धान्तसमेतको पृष्ठभूमिमा अंशबन्डाको महलको ३५ नं. मा भएको कानूनी व्यवस्थासमेतलाई विचार गर्दा सुन्दरीमाया वैद्य वादीकी आमा नाताको भएको, निजले उक्त सम्पत्ति सुरूमा राजीनामा लिखतमार्फत प्राप्त गरेको देखिएको, विवादित जग्गा निजले छोरा सुरेन्द्र वैद्यलाई र.नं. ३०४ बाट मिति २०५८।४।२१ मा हालैदेखिको बकसपत्र गरिदिए पनि पुनः सुरेन्द्र वैद्यबाट र.नं. १०८७ बाट मिति २०६४।५।१९ मा हालैदेखिको बकसपत्र लिखतमार्फत पुनःप्राप्त गरिलिएको पाइएको र आमाको नाउँको सम्पत्ति जुनसुकै तरिकाबाट आर्जन गरेको सम्पत्ति भएपनि उल्लिखित सिद्धान्तको आधारमा अंशियार छोराहरूको लागि पैतृक सम्पत्तिसरह हुने देखिएको हुँदा प्रतिवादीमध्येकी सुन्दरीमाया वैद्यको नाउँको सम्पत्तिबाट यी वादीले अंश भाग नपाउने भन्न मिल्ने देखिएन । अंश भाग पाउने नै देखिन आयो ।

१८. तसर्थ वादी प्रतिवादीहरूबिच मिति २०५६/१०/२० मा अंशबन्डाको लिखत पारित भएको देखिएको, उक्त अंशबन्डा लिखत हुँदाका अवस्थामा विवादको कि.नं. २२४ को घर जग्गा बन्डापत्रमा उल्लेख भएको नदेखिएको, अंशबन्डाको ३५ नं. ले यी वादीलाई अबन्डा जग्गा बन्डा छुट्याई लिन नालिस दिन पाउने अधिकार रहे भएको नै देखिएको, उक्त जग्गा वादीको आमा सुन्दरीमाया वैद्यले आफ्नो नाउँमा अंशबन्डा हुनुभन्दा अगावै मिति २०३०/२/१७ मा अष्टमान बुद्धाचार्यबाट राजीनामा लिखतबाट खरिद गरी लिएको देखिएको, अंशबन्डा भइसकेपछि सुन्दरीमाया वैद्यले विवादको जग्गा छोरा सुरेन्द्र वैद्यलाई हालैदेखिको बकसपत्र गरिदिई पुनः छोरा सुरेन्द्र वैद्यबाट हालैदेखिको बकसपत्र गरिलिएको देखिएको, आमाको नाउँको सम्पत्ति जुनसुकै तरिकाबाट आर्जन गरेको भएपनि छोराछोरीको लागि पैतृक हुने भन्ने प्रतिपादित सिद्धान्तबाट देखिन आएको, विवादको घर जग्गामा यी वादीसमेत बसी सोही घरबाट वादीको विवाहवारीसमेत भई सन्तानको जायजन्म भएको भन्ने कुरा स्वयं प्रतिवादी सुन्दरीमाया वैद्यसमेतको प्रतिउत्तर लेखबाट देखिन आएकोसमेतका अवस्थाहरूलाई दृष्टिगत गर्दा प्रतिवादी सुन्दरीमाया वैद्यको नाउँमा रहेको विवादको अबन्डा कि.नं. २२४ को घरजग्गाबाट पुनरावेदक वादी राजेन्द्र वैद्यले दाबीबमोजिम चार भागको एक भाग जग्गा बन्डा छुट्याई लिन पाउने देखिन आयो ।

१९. अब, तेस्रो तथा अन्तिम प्रश्नतर्फ हेर्दा माथि प्रकरण प्रकरणहरूमा विवेचित आधार प्रमाणबाट वादी दाबीबमोजिम विवादित घरजग्गा अबन्डा ठहर्‍याई चार भागको एक भाग वादीले अंश पाउने ठहर्‍याएको सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी भई सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट वादी दाबीबमोजिम चार भागको एक भाग वादीको नाउँमा बन्डा गरी चलनसमेत चलाई दिनुपर्ने ठहर गरेको फैसला मिलेको हुँदा सदर हुन्छ । तपसिलका कुरामा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला सदर हुने ठहर भएकोले पुनरावदेक वादीले सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतमा राखेको कोर्ट फी रू. ८,७७०/-  प्रतिवादीहरूबाट भराई पाउने हुँदा उक्त वादीले भराई पाउने कोर्ट फीमध्ये प्रतिवादीहरू सुन्दरीमाया वैद्य र सुरेन्द्र वैद्यले पुनरावेदन अदालत पाटनमा रू. ५८४६/६७ (ध.र.नं. २५६ मिति २०६८/६/८) मार्फत धरौटीमा जम्मा गरेको देखिँदा उक्त धरौटी रकमबाट भराई पाउँ भनी वादीले पुनरावेदन अदालत पाटनमा दरखास्त दिए भराइ दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाउनू ........................................................१

नपुग कोर्ट फी प्रतिवादीमध्येको हरिबहादुर वैद्यबाट भराइपाउँ भनी ऐनको म्यादभित्र दरखास्त दिए भराइदिनु भनी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखी पठाउनू ...............................................२

वादीले यस अदालतमा राखेको कोर्ट फी  रू.१,४६५।५० प्रतिवादीहरूबाट भराई पाउने हुँदा उक्त कोर्ट फी प्रतिवादीहरूबाट भराइपाउँ भनी ऐनको म्यादभित्र दरखास्त दिए भराइदिनू भनी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखी पठाउनू ...३

दायरीबाट मुद्दाको लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाइदिनू .........................................४

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.डा.आनन्दमोहन भट्टराई

न्या.डम्बरबहादुर शाही

 

इजलास अधिकृत : ध्रुवराज कार्की

इति संवत् २०७५ साल फाल्गुण २ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु