शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३३२ - जबरजस्‍ती करणी

भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।१।२२

०७३-CR-१२६२

 

मुद्दा: जबरजस्‍ती करणी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक पिस्कर गा.वि.स. वडा नं.७ स्थायी घर भई हाल कारागार कार्यालय, डिल्लीबजार, काठमाडौंमा थुनामा रहेका साइला भन्ने मानकुमार थामी

विरूद्ध

प्रत्यर्थी / वादी : रामकृष्ण तिमल्सिनाको जाहेरीले नेपाल सरकार

 

घटनाको तत्कालै जाहेरी नपरेको भन्ने आधारमा मात्र कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दर्खास्तलाई अन्यथा भन्न नमिल्ने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री ओमप्रसाद थपलिया

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६३, अंक १०, नि.नं.७७७२, पृ.१२९४

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण

भक्तपुर जिल्‍ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई

माननीय न्यायाधीश श्री किशोर सिलवाल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भई नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची-१२ को ढाँचामा तयार गरिएको छ । 

जाहेरी दर्खास्त‚ अभियोग पत्रलगायतका तथ्य खण्ड, भक्तपुर जिल्ला अदालतको फैसला, पुनरावेदन अदालत पाटनको फैसलाको बेहोरासमेत सोही अदालतबाट भएका फैसलाबाट देखिने हुँदा यहाँ सोको पुनरावृत्ति गरिएको छैन ।

अदालतको ठहर

प्रतिवादीहरू मानकुमार थामी र चन्द्रप्रकाश धामीले परिवर्तित भक्तपुर २७(s) लाई निजको अश्लिल भिडियोसमेत बाहिर ल्याई दिने डर त्रास देखाई जबरजस्ती करणी गरेकोले निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम सजाय र ऐ. ऐनको ३(क) नं.बमोजिम थप सजायसमेत गरी सोही महलको १० नं. र १०(ग) नं.बमोजिम पीडितलाई उचित क्षतिपूर्तिसमेत भराई पाउँ भन्ने अभियोग दाबी भएकोमा दुवैजना प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको ३(४) नं.बमोजिम जनही ५(पाँच) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम जनही थप पाँच वर्षसमेत गरी जनही १०(दश) वर्षका दरले कैद हुने र प्रतिवादीहरूबाट जनही रू.५०,०००।- (पचास हजार) का दरले पीडितले जम्मा रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराई पाउने ठहर्‍याई भक्तपुर जिल्ला अदालतबाट मिति २०७१।११।११ मा फैसला भएको देखियो ।

सो फैसलाउपर वादी तथा दुवै प्रतिवादीहरूको छुट्टाछुट्टै पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट अभियोग दाबीबमोजिम कसुर ठहर गरेको तथा क्षतिपूर्ति भराई दिने ठहर्‍याएको हदसम्म सुरू फैसला सदर हुने र पीडितको उमेर १४ वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरको देखिएकोले प्रतिवादीहरूलाई सजायको हकमा जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम जनही ६(छ) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम जनही थप पाँच वर्षसमेत गरी जनही ११(एघार) वर्षका दरले कैद हुने ठहर्‍याई मिति २०७३।०२।२५ मा फैसला भएको देखियो । सो फैसलाउपर प्रतिवादी मानकुमार थामीको चित्त नबुझी प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । प्रतिवादी चन्द्रप्रकाश धामीको पुनरावेदन परेको रेकर्डबाट देखिएन ।

प्रतिवादी मानकुमार थामीले पुनरावेदनपत्रमा प्रस्तुत मुद्दामा आपराधिक कार्यमा मेरो साबिती नै नभएकोमा साबिती भएको भनी फैसलामा आधार लिइएको छ । साबिती र स्वीकारोक्ति एकै कुरा होइनन् । मिति २०७०।३।२९ गते दिउँसो अन्दाजी १२:३० बजे जबरजस्ती करणी भएको भनिए पनि २०७०।४।२१ गते साँझ ५ बजे मात्र जाहेरी दरखास्त दर्ता भएको अवस्था छ । सोची विचारी (After Thought) जाहेरी दर्खास्त परेको हुँदा उक्त जाहेरी बनावटी 

हो । आपराधिक कार्य भएको भन्ने कुरा कहीँकतैबाट स्थापित हुन सकेको छैन । म पुनरावेदकले निज पीडित भनिएकीको दाजु जाहेरवालाको घर बनाउने काम गरेबापतको ज्यालासमेत लिन बाँकी रहेको थियो । त्यही पैसा दिनुपर्दछ भनी झुट्टा जाहेरी दिएका हुन् । स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत जबरजस्ती करणीको कुनै चिह्नहरू नदेखिएको अवस्थामा म पुनरावेदकलाई कसुरदार ठहर्‍याई सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने मुख्य जिकिर लिएको देखियो ।

पुनरावेदक प्रतिवादी मानकुमार थामीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री ओमप्रसाद थपलियाले प्रतिवादीउपर बनिबनाउ रूपमा प्रस्तुत मुद्दा दायर गरिएको छ, वारदात भएको भनिएको मितिबाट २०/२१ दिनपछि जाहेरी परेको छ, वारदात भएको भनिएको स्थानमा कसुरसँग सम्बन्धित कुनै चिज फेला परेको छैन र उक्त स्थानमा रहेका कसैले पनि वारदात भएको भनी भन्न नसकेको अवस्थामा जाहेरी नै पत्यारयोग्य छैन । मेरो पक्षले अदालतसमक्ष गरेको बयानमा पीडितलाई निजको सहमतिमा मिति २०७०।४।१० मा एकपटक करणी गरेको भन्ने उल्लेख हुँदा थप सजाय गर्न मिल्ने होइन । तसर्थ पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त तथ्य, पुनरावेदन जिकिर तथा बहस जिकिर रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरूमध्येका चन्द्रप्रकाश धामीलाई जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम ६(छ) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम थप ५(पाँच) वर्षसमेत गरी जम्मा ११(एघार) वर्ष कैद हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३।०२।२५ मा फैसला भएउपर ती प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको रेकर्डबाट नदेखिँदा निजका हकमा विचार गरिरहनु 

परेन । अब पुनरावेदक प्रतिवादी मानकुमार थामीका हकमा पुनरावेदन अदालत पाटनको मिति २०७३।२।२५ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादी साइला भन्ने मानकुमार थामीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मेरी बहिनी परिवर्तित नाम भक्तपुर २७(s) ले नमान्दा नमान्दै मिति २०७०।३।२९ गते दिउसो अन्दाजी १२:३० बजे मानकुमार थामी र चन्द्रप्रकाश धामीले काकाको भोजनालयको कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने कुरा मेरी बहिनीले मिति २०७०।४।१९ गते भनेको हुँदा घटनामा संलग्न व्यक्तिलाई आवश्यक कारबाही गरिपाउँ भनी यी पुनरावेदकसमेतउपर किटानी जाहेरी परेको देखिन्छ । उक्त जाहेरी दर्खास्त सोच विचार गरी (After Thought) वारदात भनिएको मितिभन्दा २१ दिनपछि परेको हुँदा बनावटी हो भनी लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मिति २०७०।३।२९ मा आफूलाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेका हुन् भनी पीडितले आफ्ना दाजु जाहेरवालालाई मिति २०७०।४।१९ मा मात्र भनेपछि सोही बेहोरा जनाई मिति २०७०।४।२१ मा जाहेरी दर्खास्त परेको भन्ने देखिन्छ । कुनै अपराध घटेमा वा घट्न लागेमा सोको सूचना वा जाहेरी दरखास्त यथासम्भव छिटो दिनुपर्ने मान्यता हो । यस मान्यताको प्रमुख उद्देश्य वारदातस्थलको सुरक्षा, अपराध गर्ने व्यक्तिको खोजी वा पक्राउमा तदारूकता तथा अपराधसँग सम्बन्धित चिज, वस्तु वा दशी प्रमाणको संरक्षण र संकलनलगायत सम्पूर्ण अपराध अनुसन्धानमा समेत सहयोग पुगोस् भन्ने देखिन्छ । यो मान्यता पीडित महिलाको जीवन, अस्तित्व, सतित्वसँग प्रत्यक्षतः सम्बन्धित जबरजस्ती करणीजस्तो अपराधमा पनि उत्तिकै महत्त्वपूर्ण रहेकोमा दुईमत छैन । तर हाम्रो जस्तो देशमा यस्ता यौनजन्य अपराधहरूबाट पीडित कतिपय महिलाहरूले आफूविरूद्ध भएका अपराध बाहिर नल्याउने तथा त्यस्ता अपराधका विरूद्ध यथासमयमा उजुर नगर्ने प्रवृत्ति पनि त्यत्तिकै रहेको पाइन्छ । यसको प्रमुख कारण त्यस्तो घटना उजागर गर्दा समाजमा रहेको आफ्नो र आफ्नो परिवारको छवि तथा प्रतिष्ठामा पर्ने प्रत्यक्ष प्रभाव, पछि हुने वा भइसकेको वैवाहिक सम्बन्धमा पर्न सक्ने प्रतिकूल असरलगायतका तत्त्व तथा सामाजिक परिवेशबाट त्रसित भएर नै हो भन्न सकिन्छ । तसर्थ जबरजस्ती करणीको घटना बाहिर ल्याउने तथा अपराधको सूचना दर्ता गर्ने कुरा समाजमा रहेको चेतनाको स्तर, आर्थिक, सामाजिक र सांस्कृतिक भेदभावबाट ग्रसित अवस्था, भौगोलिक स्थिति, परिवारको इज्जत र प्रतिष्ठा, सामाजिक दृष्टिकोण, पृष्ठभूमि, कुसंस्कार, द्विविधाजनक मनोविज्ञान र अपराधको प्रकृति जस्ता विविध कारक तत्त्वहरूले निर्धारण गर्ने कुरालाई पनि सहजरूपमा मनन गर्नुपर्ने हुन्छ । यदि कानूनले निर्धारण गरेको हद म्यादभित्र जाहेरी दर्खास्त परेको छ भने उल्लिखित विभिन्न कारक तत्त्वहरूले जाहेरी दिन केही दिन वा समय ढिलो हुन सक्ने कुरालाई अस्वभाविक मान्न मिल्दैन । साथै यिनै विविध कारक तत्त्वहरू हुन सक्ने यथार्थतालाई आत्मसात गरी विधायिकाले नै जबरजस्ती करणीमा हदम्यादको व्यवस्था गरेको हो भन्न सकिन्छ । 

३. प्रस्तुत मुद्दामा वारदात हुँदाको अवस्थामा विद्यमान रहेको हदम्यादसम्बन्धी कानूनी व्यवस्था हेर्दा तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको ११ नं. मा जबरजस्ती करणीको कुरामा सो भए गरेको मितिले ३५ दिनभित्र नालेस दिनुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । जबरजस्ती करणीको वारदात घटेको विषयमा जाहेरी दिन ३५ दिनको समय दिने गरी भएको उक्त कानूनी व्यवस्थाले पनि जबरजस्ती करणीको अपराधमा यथासमयमा उजुर नगर्नुको पछाडि विविध कारण हुन सक्ने यथार्थतालाई आत्मसात् गरेको पाइन्छ ।  

४. जबरजस्ती करणी मुद्दामा वारदात भएका मितिले कति समयभित्रमा जाहेरी दिनुपर्ने हो  भन्ने सम्बन्धमा हाम्रो सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त उल्लेख गर्न सान्दर्भिक हुने देखियो । कृष्णहरि माकको जाहेरीले नेपाल सरकार विरूद्ध दिपक तुलसी वाख्यो भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६३, अङ्क १०, नि.नं. ७७७२, पृष्ठ १२९४) मा समयमा नै जाहेरी दरखास्त दिनुपर्ने मान्यताभित्र अपराध अनुसन्धानमा सहायक हुने माथि उल्लिखित घटनास्थलको सुरक्षा, अपराधी पक्राउ गर्ने कार्य, अपराधसँग सम्बन्धित चिजवस्तु वा दशी प्रमाण नष्ट हुने अवस्था रोकी अपराध सिद्ध गर्ने तत्त्वहरूको बचावट वा संरक्षण जस्ता प्रमुख विषय सन्निहित रहेको हुन्छ । यति हुँदाहुँदै पनि जाहेरी दरखास्त यति घण्टा वा दिनभित्र दिई सक्नुपर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने 

होइन । अपराधको प्रकृति, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसुरको पीडा, पीडित भएर पनि पीडितउपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरूप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरूप कसुरको जाहेर गर्ने वा नगर्ने  भन्ने कुरामा नै द्विविधा हुने मनोवैज्ञानिक दबाब (Psychological Stress) जस्ता तत्त्वहरूले यसमा प्रभाव पारिरहेका हुन्छन् भनी सिद्धान्त प्रतिपादन गरेको पाइन्छ । 

५. यसरी उल्लिखित कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा जबरजस्ती करणी मुद्दामा कानूनद्वारा हदम्याद निर्धारण गरेको सो हदम्यादभित्र नै जाहेरी परेको अवस्थामा घटना भएको यति दिन वा यति घण्टाभित्रै जाहेरी दर्खास्त दिनुपर्ने, ढिला गरी जाहेरी दिएको कारणले मात्र जाहेरी दर्खास्त बनावटी हुने भनी तर्क गर्नु कानूनसङ्गत देखिँदैन । घटना घटेपछि तत्कालै जाहेरी नपरेको भन्ने आधारमा मात्र कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दर्खास्त अन्यथा प्रमाणित नभएसम्म त्यसको प्रमाणिक मूल्य रही रहने हुँदा यी पुनरावेदकले लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

६. उक्त जाहेरी बेहोरा समर्थन हुने गरी जाहेरवालाले प्रतिवादी मानकुमार थामीले बहिनी पीडितलाई धम्काएकोले भागेर चितवन दिदिको घरमा गएकोले निजको झोला खोल्दा नाङ्गो फोटो र चिठी पाएपछि सोको आधारमा प्रहरीमा निवेदन दिएको हुँ । पछि बहिनीलाई सोध्दा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी बताएकी हुन् भनी अदालतसमक्षसमेत बकपत्र गरिदिएको देखियो । पीडित परिवर्तित नाम भक्तपुर २७(s) ले मौकामा गरी दिएको कागजमा मिति २०७०।३।२९ गते म मेरो फोटो लिन पंकिजनी फोटो स्टुडियो कमलविनायकमा गएको समयमा प्रतिवादी चन्द्रप्रकाश धामीसँग भेट भएको र निजले आफूलाई ललाई फकाई काकाको भोजनालयमा खाजा खान जाउँ भनी लिएर गएको र सोको केही समयपछि यी पुनरावेदक प्रतिवादी मानकुमार थामीसमेत आई दुवै प्रतिवादीहरूले जबरजस्ती ५ नं. कोठामा लगी इच्छाविपरीत जबरजस्ती करणी गरेको हुन् भन्ने बेहोरा लेखाएको र उक्त बेहोरालाई समर्थन हुने गरी अदालतसमक्ष निजको बकपत्रसमेत भएको पाइयो ।

७. वारदात भएको होटल काका भोजनालयका सञ्‍चालक लालबहादुर तामाङले मौकामा कागज गर्दा मिति २०७०।३।२९ दिउँसो अन्दाजी १२ बजेतिर २ जना केटा र १ जना केटी आई हामीहरूलाई यसो गफसफ गर्न एकैछिन कोठा चाहियो भनेकोले मैले निजहरूलाई कोठा नं. ५ को चाबी दिएको 

थिएँ । निजहरू अन्दाजी एक डेढ घण्टा कोठामा बसेका थिए । पछि थाहा हुँदा मानकुमार थामी र चन्द्रप्रकाश धामीले उक्त दिन नाम परिवर्तित भक्तपुर २७(s) लाई जबरजस्ती करणी गरेको थाहा पाएको हुँ भन्नेसमेत बेहोरा लेखाइदिएको देखिन्छ । 

८. आपराधिक कार्यमा मेरो साबिती नै नभएकोमा साबिती भएको भनी आधार लिई भएको फैसला त्रुटिपूर्ण छ भन्ने यी पुनरावेदक प्रतिवादी मानकुमार थामीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडितलाई तिम्रो अश्लिल फिल्म मसँग छ, मलाई पनि करणी गर्न देउ नत्र राम्रो हुने छैन भनी करणी गर्न सहमति लिई मिति २०७०।४।१० मा करणी गरेको हुँ भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । यसबाट निजले अश्लिल भिडियो सार्वजनिक गरिदिने डर त्रास देखाई अनुचित प्रभावमा पारी पीडितलाई करणी गरेको 

देखियो । साथै निजले अदालतसमक्ष बयान गर्दासमेत पीडित परिवर्तित नाम भक्तपुर २७(s) लाई निजको सहमतिमा एक पटक करणी गरेको तथ्यलाई स्वीकार नै गरेको देखियो । पीडितको जन्मदर्ता प्रमाणपत्रअनुसारको निजको जन्ममिति २०५४।६।२६ बाट गणना गर्दा वारदात मितिसम्म निजको उमेर १६ वर्षभन्दा कम नै देखिन आयो । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.अनुसार १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी हुने व्यवस्था रहेको हुँदा प्रस्तुत मुद्दामा १६ वर्षभन्दा कम उमेरकी पीडित परिवर्तित नाम भक्तपुर २७(s) उपर भएको करणीजन्य कार्य निजको मन्जुरी वा सहमतिले भएको हो होइन भन्नेतर्फ विवेचना गरिरहनु पर्ने नै नदेखिँदा प्रतिवादीको उपर्युक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

९. यी पुनरावेदकले अदालतसमक्ष बयान गर्दा आफूले पीडित परिवर्तित नाम भक्तपुर २७(s) लाई मिति २०७०।३।२९ मा नभई मिति २०७०।४।१० मा एक पटक करणी गरेको हुँ भनी जिकिर लिए पनि वारदात मिति २०७०।४।१० हो भन्ने कुरा पुष्टि हुने कुनै प्रमाण यी पुनरावेदक प्रतिवादीले पेस गर्न सकेको देखिँदैन । यसरी निजले लिएको उक्त जिकिर प्रमाणित गर्ने भार पनि प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम निजमा नै रहेकोमा सो प्रमाणित गर्न नसकेको र जाहेरी दर्खास्त पीडितको मौकाको कागज तथा बकपत्र, सनाखत कागजसमेतबाट मिति २०७०।३।२९ मा नै वारदात भएको पुष्टि भएको देखिँदा उपर्युक्त जिकिर विश्‍वसनीय देखिन आएन । 

१०. यी पुनरावेदकलाई जबरजस्ती करणीको महलको ३(क) नं.बमोजिम थप सजाय हुनु नपर्ने भनी विद्वान्‌ कानून व्यवसायीले लिएको बहस जिकिरतर्फ विचार गर्दा पीडितले मौकामा कागज गर्दा तथा अदालतसमक्ष बकपत्र गर्दासमेत दुवै प्रतिवादी मानकुमार थामी र चन्द्रप्रकाश धामीले आफूलाई जबरजस्ती करणी गरेका हुन् भनी किटानीसाथ लेखाएको र आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति यिनै हुन् दुवै प्रतिवादीहरूलाई सनाखतसमेत गरिदिएको देखिन्छ । साथै जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम ६(छ) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम थप पाँच वर्षसमेत गरी जम्मा ११(एघार) वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीमध्येका चन्द्रप्रकाश धामीले चित्त बुझाई बसेकोसमेत देखिँदा उच्च अदालत पाटनबाट भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । 

११. अतः माथि विवेचित तथ्य, आधार र कारणसमेतबाट प्रतिवादी साइला भन्ने मानकुमार थामीको हकमा सुरू भक्तपुर जिल्ला अदालतबाट निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं.बमोजिम ५ वर्ष कैद तथा ऐ.ऐनको ३(क) नं.बमोजिम थप पाँच वर्ष कैद हुने भई जनही १०(दश) वर्ष कैद सजाय हुने र पीडितलाई जनही रू.५०,०००।- क्षतिपूर्ति भराइदिने गरी मिति २०७१।११।११ मा भएको फैसला केही उल्टी भई निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम ६(छ) वर्ष कैद तथा ऐ.ऐनको ३(क) नं.बमोजिम थप ५(पाँच) वर्ष कैद हुने भई जनही ११(एघार) वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट पीडितलाई रू.५०,०००।- क्षतिपूर्ति भराइदिने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३।२।२५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी साइला भन्ने मानकुमार थामीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका पुनरावेदक प्रतिवादीलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।   

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : भगवती शर्मा ढुंगाना

इति संवत् २०७६ साल वैशाख २२ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु