शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३५३ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री  हरिप्रसाद फुयाल 

फैसला मिति : २०७६।३।२९

 

मुद्दाः- जबरजस्ती करणी

 

०६८-CR-१०१६

पुनरावेदक / वादी : प्रहरी वृत्त कालिमाटी (घ) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, थकनी गाउँ विकास समिति, मुसुरेबाट घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ धुम्बाराही डेरा गरी काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित बालिका गृहमा बसी खाना पकाउने काम गर्ने कृष्णबहादुर बोगटी

 

०६८-CR-१०६८

पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, थकनी गाउँ विकास समिति, मुसुरे घर भई हाल कारागार कार्यालय, जगन्‍नाथ देवल, काठमाडौं थुनामा रहेका कृष्णबहादुर बोगटी

विरूद्ध

प्रत्यर्थी / वादी : प्रहरी वृत्त कालिमाटी (घ) को जाहेरीले नेपाल सरकार

 

कसुरको उद्योगमा पूर्ण अपराधमा हुनुपर्ने मनसाय तत्त्व विद्यमान हुनुपर्छ । मनसाय नराखी गरिएको कार्य उद्योग ठहर्न     नसक्ने ।

उद्योग ठर्हनको लागि अभियुक्तले कसुरको तयारी गरेर मात्र पुग्दैन । तयारीभन्दा अघि उसले पूर्ण अपराध घटाउन सारभूत रूपमा प्रयासहरू गरेको हुनुपर्ने ।

(प्रकरण नं.५)

 

वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी अधिवक्ताहरू श्री गणेशबहादुर गुरूङ, श्री सीतादेवी श्रेष्ठ र श्री उज्वलराज मैनाली

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः- 

मा. जिल्ला न्यायाधीश श्री  लेखनाथ घिमिरे

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :-

मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी

माननीय न्यायाधीश श्री सत्यराज गुरूङ

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ । 

मिति २०६६।४।२४ गते दिनको अन्दाजी १२:०० बजेको समयमा काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित सिविन नेपालको बालिका गृहमा खाना पकाउने काम गरी बस्ने कृष्णबहादुर बोगटीले सोही सिविन नेपालको संरक्षणमा रहेकी बालिका वर्ष १३ की “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेको भनी सिविनका कर्मचारीले यस कार्यालयमा जानकारी गराएकोले निजलाई पक्राउ गरी दाखिला गराउनु भन्‍ने यस कार्यालयको मौखिक आदेशानुसार सिविनकै कर्मचारीको सहयोगमा निज कृष्णबहादुर बोगटीलाई पक्राउ गरी कानूनबमोजिम कारबाहीको लागि दाखिला गरिएको भन्‍नेसमेत बेहोराको पक्राउ प्रतिवेदनको प्रतिलिपि ।

जिल्ला सुनसरी, धरान नगरपालिका घर बताउने वर्ष १३ की बालिका “कालिमाटी घ” लाई जिल्ला नुवाकोट घर भई हाल ललितपुर बस्ने वर्ष ५२ को कृष्णबहादुर बोगटीले मिति २०६६।४।२४ गते जबरजस्ती करणी गरेको भन्‍ने बालिकाबाट खुल्न आएकोले आवश्यक छानबिन अनुसन्धान गरी निज अभियुक्तलाई कानूनी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको सिविन नेपाल बाल मजदुर सरोकार केन्द्रको पत्रको प्रतिलिपि ।

मिति २०६६।४।२४ गते अन्दाजी १२:०० बजेको समयमा काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा न. ६ स्थित सिविन नेपालको बालिका गृहमा खाना पकाउने काम गरी बस्ने कृष्णबहादुर बोगटीले सोही सिविन नेपालको संरक्षणमा रहेकी बालिका वर्ष १३ की “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेको भन्‍ने सिविन नेपालको पत्रसाथ पीडित यस कार्यालयमा उपस्थित भएकोले निज बालिकालाई प्रसूती गृह थापाथलीबाट स्वास्थ्य परीक्षण गरिसकिएको र वारदात स्थान तहाँ कार्यालयको पर्ने हुँदा कागजात साथ पठाइएको भन्‍नेसमेत बेहोराको महानगरीय प्रहरी परिसर, महिला तथा बालिका सेवा केन्द्र कालिमाटीको पत्रको प्रतिलिपि । 

मिति २०६६।४।२४ गते अन्दाजी १२:०० बजेको समयमा म र साथी न्युरानी भई बालिका गृहको भान्छामा रेडियो सुनिरहेको अवस्थामा खाना पकाउने काम गर्ने कृष्णबहादुर बोगटी (काका) आई मेरो र साथी न्युरानीको स्तन समाती दिएकोले हामीहरू भर्‍याङ उक्लिने क्रममा निज पछि पछि आई पुनः न्युरानीको स्तनमा समाति दिएकोले दुख्यो भनी निज न्युरानी तल ओर्लिनु भयो त्यसपछि म र निज कृष्णबहादुर बोगटी मात्र भएकोले निजले आफ्नो उत्तेजित लिङ्ग निकाली मेरो फ्रक उचाली पेण्टी सारी लिङ्ग मेरो योनिमा पसाई केही बेरमा लिङ्गबाट निस्केको सेतो पानी मेरो पेण्टी र भुइँमा खसेकोले पुछी निज न्युरानीलाई सुनाएको हुँ । भोलिपल्ट सोही बालिका गृहमा काम गर्ने नानु श्रेष्ठ मिस र उषा अधिकारीलाई बताएको 

हुँ । मलाई निज कृष्णबहादुर बोगटीले जबरजस्ती करणी गरेको हुँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको विपरीत कार्य गरेको हुनाले हदैसम्मको सजाय गरिपाउँ भन्‍ने पीडित जाहेरवाली “कालिमाटी घ”को जाहेरी दरखास्त ।

काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित दक्षिण मोहडा भइरहेको साढे दुई तलाको पक्की भवनको भुइँ तलामा सामानहरू राख्‍ने स्टोर रूमका कोठाहरू, सोदेखि माथिल्लो तलामा सिविन बालिकाहरूले खाने किचन रूम तथा पूर्व भागमा दक्षिण मोहोडा भई रहेको पक्की भर्‍याङ रहेको उक्त भर्‍याङ सँगै टपमुनि सानो प्यासेज भएको, प्यासेजको पूर्वी भागमा पुरानो स्टोभ भाँडो, पुरानो सुकुल, प्लास्टिकको बोरा, काठहरू रहेको, सोदेखि पश्चिम भागमा भुइँमा कार्पेट तथा सुकुल विच्छ्याएको घटनास्थलमा २०६६।४।२४ गते दिनको अन्दाजी १२:३० बजेको समयमा सोही सिविन बालिका गृहमा कार्यरत प्रतिवादी कृष्णबहादुर बोगटीले पीडित जाहेरवाली “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेको भनी निज पीडित स्वयंले देखाई दिएअनुसारको घटनास्थल विवरण ठिक छ भन्‍ने चार किल्लासहितको घटनास्थल मुचुल्का । 

मिति २०६६।४।२४ गते दिउँसो काका प्रतिवादी कृष्णबहादुर बोगटीको रेडियो सुन्‍न भनी भान्सामा गई रेडियो माग्दा रेडियो तथा खानको लागि बरफ पनि दिनुभयो । काकाले दुवै जनाको स्तनमा समाउनुभयो । म माथि भर्‍याङमा लुक्न गएँ, न्यूरानी बोलाउँदै माथि आउँदा काका पनि माथि आई पुनः न्युरानी तल गएकीले म पनि तल जान लाग्दा निज काकाले मलाई गर्ने हो त भनी आफ्ना कपडा तल झारी लिङ्ग देखाउनुभयो, म रेलिङ्गमा समाई उभिएर बसी रहेको अवस्थामा मेरो फ्रक माथि फर्काई पेण्टी सारी आफ्नो लिङ्ग एउटा हातले अर्को हातले मेरो कम्मर समाई उहाँको लिङ्ग मेरो योनिमा दली मसँग टाँसिई घर्षण गरेको केही समय पछि लिङ्गबाट सेतो पानी निस्की मेरो योनि तथा भुइँमा झरेकोले मेरो पेण्टीमा समेत लागेको थियो । उक्त फोहोर टालोले पुछेको हुँ, त्यसपछि काका तल झरी जानुभयो । उक्त घटना साथीहरूलाई जानकारी गराई सिविनकै सर मिसहरूको सहयोगमा मैले जाहेरी दिएको हुँ भन्‍नेसमेत बेहोराको पीडित “कालिमाटी घ” ले गरिदिएको कागज ।

मिति २०६६।४।२४ गते दिनको अन्दाजी १२:३० बजेको समयमा म र “कालिमाटी घ” भान्सामा गई पानी खाई रेडियो सुनी बसिरहेको अवस्थामा काका प्रतिवादी कृष्णबहादुर बोगटी आई आईस खान दिई जिस्कदै काउकुती लगाएकोले “कालिमाटी घ” माथि भर्‍याङतिर गइन । काका तलतिर गए । म केही बेर बाहिर हेरेर बसिरहेँ, केही समयपछि माथि जाँदा “कालिमाटी घ” सुकुलमा बसी रहेकी थिइन् । सोही समयमा काका पनि आएकोले म भाग्न लाग्दा काकाले मेरो स्तनमा समाउँदा दुखेको हुँदा भागेर भान्सामा गई बसेँ । एकछिनपछि “कालिमाटी घ” तल आइन् । निजको अनुहार डराएको जस्तो देखी के भयो भनी सोध्दा खेल्ने ठाउँतिर गई माथि काकाले जबरजस्ती करणी गर्‍यो, काकाको लिङ्गबाट सेतो फोहोर पदार्थ निस्केको थियो । नजिकैको टालोले पुछ भनेकीले हामीलाई सिविनमा र माइती नेपालको दिदीहरूले यस्तो घटना घट्यो भने कपडा सुरक्षितसाथ राख्नुपर्छ भनी सिकाएकोले सुरक्षितसाथ राखी त्यहाँ बस्ने नानु मिसलाई समेत पीडितले उक्त घटनाको जानकारी गराएको हो भन्‍नेसमेत बेहोराको सोही सिविन गृहमा काम गर्ने न्युरानी श्रेष्ठको कागज ।

मिति २०६६।४।२४ गते मैले काम गर्ने बालिका गृहको आफू सुत्ने कोठामा २ जना बालिकाहरू न्युरानी र “कालिमाटी घ” आई काका रेडियो सुन्नु पर्‍यो भनेकाले भान्साको ढोका खोली रेडियो बजाएर दिएँ, त्यसपछि म चिया पकाउँदै गर्दा निजहरू रेडियो बजाउँदै भर्‍याङ माथि सुकुलसमेत ओछ्याएको ठाउँमा सुतेका र न्युरानी आई “कालिमाटी घ” ले बोलाएको छ भनेकीले जाँदा निज “कालिमाटी घ” भित्तामा अडेस लागी उत्तानो परी उपर खुटी लगाई सुती फ्रक माथि फर्की भित्री पेण्टी देखिएकोले करणी गर्ने उत्तेजना बढ्न गई पहिला न्युरानीलाई जिस्किँदै निजको शरीरमा चलाइदिएपछि न्युरानी गएकी र म र “कालिमाटी घ” मात्र भएकोले मैले आफ्नो पेण्टी र टाउजर खोली उत्तेजित लिङ्ग निकालेर देखाउँदा के गरेको काका भन्दै लाज मानेको देखी करणी गरौं भन्दा उठेर भित्तामा अडेस लागि बसिरहेकीले निजको कपडासमेत खोली मेरो लिङ्ग योनिमा टसाई कम्मर समाई भित्र पसाई घर्षण गर्दा गर्दै वीर्य स्खलन भएपछि लिङ्ग बाहिर निकाली वीर्य ओछ्यान सुकुलमा परेको थियो भन्‍नेसमेत बेहोराको प्रतिवादी कृष्णबहादुर बोगटीको बयान । 

पीडित “कालिमाटी घ” को उमेर परीक्षण गर्दाको समयमा १४ र १५ को बिचमा रहेको भन्‍नेसमेत बेहोराको फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंको उमेर परीक्षण प्रतिवेदन ।

म पनि काठमाडौं जिल्ला, तीनथाना स्थित बालिका गृहमा काम गर्ने हुँदा मिति ०६६।४।२४ गते शनिबार भएकोले बच्चाहरूलाई नुहाई दिने काममा व्यस्त थिएँ । सोही दिन बेलुकी अन्दाजी ८:३० बजेतिर सोही बालिका गृहमा बस्ने बालिका न्युरानी र पीडित “कालिमाटी घ” लाई प्रतिवादी कृष्णबहादुर बोगटीले निजहरू भान्सामा रेडियो सुन्न गएको अवस्थामा स्तन समाएकोले भागी लुक्न जाँदा निज प्रतिवादी सोही ठाउँमा आई न्युरानीको स्तन समाएपछि भागेर गएकी अवस्थामा पीडित “कालिमाटी घ” मात्र भएको मौका पारी कपडा खोली दिई भित्तामा टसाई लिङ्ग योनिमा दली घर्षण गरी जबरजस्ती करणी गरेको र उक्त समयमा लगाएको कपडा तथा पुछेको टालोसमेत लुकाएर राखेको छ भनेकीले भोलिपल्ट सिविनका अन्य प्रोग्राम अफिसरसमेतलाई जानकारी गराई सिविनका तर्फबाट पीडितको नाममा निज प्रतिवादीउपर जाहेरी दिई कानूनी कारबाही अगाडि बढाएका हौं । निज पीडित बालिकाले बताएअनुसार प्रतिवादी कृष्णबहादुर बोगटीले पीडित “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेकोमा मलाई विश्वास लाग्छ भन्‍नेसमेत बेहोराको बुझिएकी मानिस नानु श्रेष्ठले गरिदिएको कागज । 

प्रतिवादीको उल्लिखित कार्य मुलुकी ऐन, जबरजस्ती करणीका महलको १ नं. विपरीतको कसुर हुँदा निज प्रतिवादी कृष्णबहादुर बोगटीलाई सोही महलको दफा ३(३) नं. बमोजिम सजाय हुन तथा सोही महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीको तर्फबाट मनासिब क्षतिपूर्ति दिलाई भराइ दिने व्यवस्था हुनसमेत मागदाबी लिइएको छ भन्‍नेसमेत बेहोराको अभियोगपत्र । 

म दश वर्ष पहिलेदेखि सिविन बाल केन्द्रमा खाना पकाउने काम गर्दै आइरहेको छु । मिति २०६७।४।२४ गते पनि जाहेरवालीसमेतका केटीसँग भेट भएकै हो खाना खाने ठाउँमा सधैँ भेट हुने हो । मैले जाहेरवालीलाई कुनै जबरजस्ती करणी गरेको होइन म एक बालबच्चा भएको मानिस हुँ । मैले कुनै अपराध गरेको छैन, मलाई अनाहकमा फसाएको हो, फसाउनु पर्ने कारण चाहिँ के हो भने सोही सिविन बाल केन्द्रमा काम गर्ने हाकिम एकाउन्टेण्टसँग मेरो तलवको विषयमा मन मुटाब भएको थियो । सोही रिसइवी साध्नको लागि हाकिम एकाउन्टेण्टको जाल प्रपञ्चमा परी जाहेरवालीले झुठा जाहेरी दिएको हो । मैले कुनै किसिमले पनि निज “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेको होइन छैन भन्‍नेसमते बेहोराको प्रतिवादी कृष्णबहादुर बोगटीले अदालतमा गरेको बयान । 

उक्त मितिमा प्रतिवादी कृष्णबहादुर बोगटीले ममाथि जबरजस्ती करणी गरेको हो । उनले हामी रेडियो सुनेर बसिरहेको समयमा आएर मेरो छाती समाते त्यसपछि म माथि भान्सामा गएँ, साथी न्युरानी पनि माथि आउँदा निज प्रतिवादी पनि सँगसँगै माथि नै आए । निज प्रतिवादीले न्युरानीको छाती फेरि पनि समाते, न्युरानी दुख्यो भन्दै तल आउनुभयो म चाहिँ माथि भान्सामा नै थिएँ । त्यसपछि निज प्रतिवादीले आफ्नो पेन्टको चेन खोले मैले फ्रक लगाएकी थिएँ । मेरो फ्रक र पेण्टीसमेत उनले खोले र उनको लिङ्ग मेरो पिसाब गर्ने ठाउँमा घुसाएर दलदालसमेत गरे अनि मैले के गर्न लाग्नुभएको भनेर भन्दा निज प्रतिवादी नबोली तल झरे निजको लिङ्गबाट सेतो तरल पदार्थ मेरो पेण्टीमा र भुइँमा खस्यो मैले टालोले पुछेर टालो त्यही छाडी दिएँ र म पनि तल झरेर न्युरानीलाई सबै कुरा सुनाएपछि न्युरानीले त्यो कपडाको र घटनाको विषयमा नानी मिसलाई भन्‍नुपर्छ भनेर भनिन् र नानी मिसलाई भनेपछि नानी मिसले उमा मिसलाई भन्‍नुपर्छ भनेर भन्‍नुभयो र उक्त कपडा एउटा प्लास्टिकको झोलामा राख्नुपर्छ भनेर उमा मिसले भन्‍नुभयो अनि सोनी मिसलाई समेत खबर गरी प्रहरीमा जाहेरी दिन गएको हो भन्‍नेसमेत बेहोराको पीडित “कालिमाटी घ” को बकपत्र । 

घटना भएको दिन म थिइन, त्यसको भोलिपल्ट मलाई नानुले घटनाको बारेमा सुनाएपछि पीडित “कालिमाटी घ” ले बताएअनुसार घटना भएका दिन प्रतिवादी कृष्णबहादुर बोगटीले न्युरानी र म रेडियो सुनेर बसेको बेला हामी दुवैको छाती समाएका थिए र न्युरानी दुख्यो भन्दै तल झरेपछि म माथि तलामा 

गएँ । निज प्रतिवादी मेरो पछिपछि माथि नै आएर फेरि मेरो छाती समाए र मेरो लुगा फ्रक र पेण्टी खोली भर्‍याङको बारको आडमा उम्कन भाग्न नदिई प्रतिवादीले आफ्नो पेण्टको चेन खोली मेरो पिसाब गर्ने ठाउँमा उनको लिङ्ग छुवाई दलदालसमेत 

गरे । मैले त्यस्तो के गरेको काकाभन्दा प्रतिवादी केही नबोली तल झरे अनि मैले उनको लिङ्गबाट निस्केको सेतो तरल पदार्थ मेरो पेण्टीमा र भुइँमा समेत परेको थियो । एउटा कपडाले पुछेर त्यहीँ राखेको थिएँ । पछि नानु मिसिले सो कपडा सुरक्षित राख्‍नुपर्छ भनेकोले सुरक्षित राखेका रहेछन् भन्‍नेसमेत बेहोराको बुझिएकी उमा अधिकारीको बकपत्र । 

उक्त मितिमा प्रतिवादी कृष्णबहादुर बोगटीले पीडितलाई जबरजस्ती करणी गरेको हुन् । उक्त दिन मसँगै रहेको अलि परको भवनमा नुहाई रहेको 

थिएँ । पछि न्युरानीले पीडित “कालिमाटी घ” लाई काका प्रतिवादीले के गरे भनी सोध्दा पीडित भन्‍न डराइरहेकी थिइन् । मैले डराउनु पर्दैन के के भएको हो भनी सोध्दा पीडितले भनेअनुसार पीडितलाई एक्लै मौका पारी भर्‍याङको बारमा उभ्याई भाग्न उम्कन नदिई आफ्नो पेन्टको चेन खाली पीडितको फ्रक र पेण्टीसमेत खोली पीडितको पिसाब गर्ने ठाउँमा प्रतिवादीले आफ्नो पिसाब गर्ने लिङ्ग छुवाई दलदालसमेत गरेको रहेछन् र निज प्रतिवादीको लिङ्गबाट सेतो तरल पदार्थ पीडितको पेण्टीमा र भुइँमा खसेको रहेछ पीडितले एउटा कपडाले पेण्टी र भुइँमा खसेको सेतो तरल पदार्थ पुछेकी रहिछन् सो कपडासमेत मिसिल संलग्न रहेछ भन्‍नेसमेत बेहोराको बुझिएकी नानु श्रेष्ठको बकपत्र ।

प्रतिवादीले जबरजस्ती करणी गरेको भन्‍ने विषयमा मलाई विश्वास लाग्दैन । निज प्रतिवादी कृष्णबहादुर बोगटीलाई चिनेको ७/८ वर्ष जति 

भयो । उहाँले मलाई पढ्नसमेत सहयोग गर्नुभएको 

थियो । मैले थाहा जानकारी पाएसम्म निजको चाल चलन असल र सहयोगी खालको छ । निज त्यस्ता चरित्रहीन व्यक्ति होइनन् भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी सुनिता लामाको बकपत्र । 

निज प्रतिवादी निर्दोष व्यक्ति हुन् । उनले काम गर्ने संस्थाका हाकिमसँग लेनदेनको विषयमा भनाभन हुँदा निजलाई आरोप लगाएर फसाएकोसम्म हो । उनी त्यस्ता चरित्रका व्यक्ति होइनन् भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी मानबहादुर तामाङले गरेको   

बकपत्र ।

प्रतिवादीले बालिकाको विवशताको फाइदा उठाई जबरजस्ती करणीको उद्योग जस्तो जघन्य कसुर गरेको अवस्थालाई विचार गरी जबरजस्ती करणीको महलको ३(३) नं. ले हुने सजायको आधारमा निज प्रतिवादीलाई सोही ५ नं. ले आधा सजाय अर्थात् ५ वर्ष कैद हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति ०६६।११।९ मा भएको फैसला । 

मैले बालिकाको विवशताको फाइदा उठाई जबरजस्ती करणी उद्योग जस्तो जघन्य अपराध गरेको होइन । मेरो मौकाको बयान राजीखुसीले भएको नभई आफैँ लेखी मलाई जबरजस्ती सहिछाप गराएको 

हो । उक्त कुरा मैले अदालतको बयानमा लेखाएको 

छु । यस्तो स्थितिमा मलाई दोषी ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

जबरजस्ती करणी भएको तथ्य स्थापित भइरहेको प्रस्तुत वारदातलाई जबरजस्ती करणीको उद्योग गरेको भनी कम सजाय हुने कसुर कायम गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतको फैसलाउपर दुवै पक्षको पुनरावेदन पर्न आएको देखिँदा दुवैको पुनरावेदनपत्र अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली (संशोधनसहित), २०४८ को नियम ४७ को प्रयोजनार्थ प्रतिवादी कृष्णबहादुर बोगटी थुनामा रहेको देखिँदा निज थुनामा रहेको कारागार शाखामा र वादी नेपाल सरकारको हकमा पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई जानकारी गराई प्रस्तुत मुद्दाको पेसी तोकी सोको सूचनासमेत दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको आदेश ।

मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि भएको नदेखिए तापनि संरक्षण गृहमा सुरक्षार्थ राखिएकी बालिकाले आफूलाई खाना बनाई खुवाउने र काका भनी सम्बोधन गर्ने गरेको पाको उमेरको प्रतिवादीउपर अनावश्यक झूठो कुरा उल्लेख गरी आफ्नो साथी र गृहको प्रमुखसमेतलाई पोल गरी आरोप लगाउनु पर्ने, मौकामा बुझिएका व्यक्तिहरूले निजको कथनलाई समर्थन गरी बकपत्र गर्नु पर्ने एवं संस्थामा काम गर्ने व्यक्तिसँगको असमझदारी तथा विवादको कारण एउटी संरक्षित बालिकाको भावी जीवनलाई दाउमा राखी प्रतिवादीउपर षडयन्त्र गरी संस्थाले उजुरी दिनु पर्ने कुनै भरपर्दो कारणसमेत रहे भएको नदेखिएकोले प्रतिवादीले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको पुष्टि नभए तापनि जबरजस्ती करणीको उद्योग गरेको देखिएकोले निजले जबरजस्ती करणको महलको ५ नं. विपरीत कसुर गरेको पुष्टि 

हुन्छ । तसर्थ वादी नेपाल सरकारको प्रतिवादीलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍ने र प्रतिवादीको आफूलाई पूर्ण सफाइ दिलाई पाउँ भन्‍ने दुवै पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

अतः माथि विवेचित आधार कारण र प्रमाणबाट सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।११।९ मा प्रतिवादी कृष्णबहादुर बोगटीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. विपरीत कसुरमा सोही ३(३) नं.ले हुने सजायको आधारमा सोही ५ नं. अनुसार कैद वर्ष ५ हुने ठहयाई फैसला भएकोमा अपराधको परिस्थिति तथा प्रतिवादी र पीडित जाहेरवालीबिचको आपसी सम्बन्धसमेतलाई दुष्टिगत गर्दा ५ वर्ष कैद गर्दा व्यावहारिक र न्यायोचित नहँुदा काठमाडौं जिल्ला अदालतको उक्त फैसला केही उल्टी भई प्रतिवादी कृष्णबहादुर बोगटीलाई जबरजस्ती करणी महलको ५ नं. विपरीत कसुरमा ऐ ३(३) नं. बमोजिम ४ चार वर्ष मात्र कैद हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी दुवैतर्फको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने ठहर्छ भन्‍ने मिति २०६८।५।२७ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला । 

प्रतिवादीले पीडितलाई करणी गर्ने आशयले आफ्नो लिङ्ग पीडितको योनिमा घर्षण गरेको भन्‍ने तथ्यमा जाहेरी दरखास्त, बुझिएका प्रत्यक्ष थाहा पाउने तत्कालै घटनास्थलमै उपस्थित मानिसहरू न्यूरेनी तथा उमा अधिकारी एवं अन्य मानिसहरूको कागज र स्वयं प्रतिवादीको मौकाको कागजको बेहोराबाट समर्थन र पुष्‍टि भइरहेको हुँदा लिङ्ग योनिमा घर्षण हुने कार्य जबरजस्ती करणीको कसुरजन्य कार्यको उद्योग मात्रै नभई पूर्ण कसुर भएको हुँदा उद्योग ठहर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । 

प्रसूति गृहबाट भएको स्वास्थ्य परीक्षणमा घाउ चोट र कन्याजालीको अवस्थाका सम्बन्धमा मात्रै परीक्षण जवाफ प्राप्त भएको देखिन्छ । १४/१५ वर्ष उमेरकी केटीको योनिमा लिङ्ग केही मात्र प्रवेश हुनका लागि घाउ अर्थात् च्यातिने खोस्रिने हुनै पर्छ तथा कन्याजाली छेदन हुनै पर्छ; नभएमा करणी हुँदैन छोएको मात्र हो भन्‍ने बुझाई सरासर गलत छ । किनकि लिङ्ग योनिमा केही प्रवेश गर्दैमा कन्याजाली छेदन हुने तथा घाउ हुने हुँदैन । फेरि करणीको कसुर हुनका लागि योनिमा लिङ्गको पूर्ण प्रवेश हुनैपर्छ भन्‍ने 

होइन । आंशिक प्रवेश वा योनिको मुखमा छोएको अवस्थामा पनि करणी जन्य कसुर स्थापित हुन पर्याप्त हुन्छ । तसर्थ प्रमाण आधारबाट जबरजस्ती करणी गरेको तथ्य स्थापित भइरहेको प्रस्तुत मुद्दालाई जबरजस्ती करणीको उद्योग गरेको भनी कम सजाय हुने कसुर कायम गरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदरभागी छ ।

अतः उल्लिखित तथ्य र प्रमाणसमेतबाट प्रतिवादीलाई जबरजस्ती करणी उद्योगसम्म गरेको ठहर गरी सुरू अदालतले गरेको सजायमा पनि १ वर्ष घटाई ४ वर्ष कैद गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई सजाय गरी पाउन भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन । 

पुनरावेदन अदालत पाटनले फैसला गर्दा म पुनरावेदक आरोपित कसुरमा इन्कार रहे तापनि पीडित जाहेरवालीले अदालतमा आफ्नो जाहेरी दरखास्तलाई समर्थन गरी बकपत्र गरेको देखिन्छ भन्‍ने आधार लिएको छ । त्यसमा पुनरावेदन अदालतसमेतले मेरो उक्त कसुरमा इन्कारी रहेको स्वीकार गरेको छ । मैले बयान गर्दा नै स.ज.७ मा हाकिम एकाउन्टेनसँग तलबको विषयमा मन मुटाव भएको र सोही रिसइवी साँध्नका लागि जाल प्रपन्च रचेको हो भनी स्पष्ट रूपमा उल्लेख गरेको छ । घटना भएको भनेको समय १२.३० बजेमा उक्त बाल गृहका सर एवं मिसहरू हुने भएको र १५-१६ जना बालिकाहरूसमेत रहने भएकोले त्यस्तो घटना घटाउन सम्भव नहुने कुरा गरेको छ । वास्तवमा जबरजस्ती करणी जस्तो अपराध त्यस्तो समयमा र मानिसहरूको जमात रहने अवस्थामा सम्भव हुनै सक्दैन । प्रस्तुत कसुर मबाट भएको भनी मौखिक जानकारी सिविनकै कर्मचारीले दिएको भन्‍ने आधारमा वीर अस्पतालमा मेरो स्वास्थ्य परीक्षण गरिएकोमा सिविनकै बालिका गृहमा प्रोग्राम अफिसर पदमा कार्यरत सोनी पियाले मिति ०६६ श्रावण २६ गते महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आफ्ना जिम्‍मा लिई कागज गरिदिनुभएको थियो । यदि मबाट त्यस किसिमको कसुर भएको भए सोही अफिसका कर्मचारीले मेरो जिम्मा लिने प्रश्न आउँदैन थियो । तसर्थ पनि १० वर्षको समयमा कहिले पनि कुनै किसिमको बदनियत राखी कुनै पनि बालिकामाथि कुनै पनि अपराध गरेको थिइन र छैन । सबैलाई आफ्नो सन्तानसरह व्यवहार गर्दै आएको थिएँ । जुन कुरा नुरानी, जाहेरवालीसमेतले मलाई काका भनी सम्बोधन गर्नेबाट पनि प्रस्ट 

हुन्छ । तसर्थ पनि झुट्टा कुरा उल्लेख गरी दिएको जाहेरी र सोलाई समर्थन गरी गरिएको बकपत्रसमेत झुठा देखिएको अवस्थामा त्यसतर्फ विचार नगरी भएको फैसला आफैँमा त्रुटिपूर्ण छ । जाहेरी दरखास्त र अदालतमा गरेको बकपत्र एक आपसमा मेल 

खाँदैन । जाहेरी दरखास्तमा मैले पाइन्ट लगाएको र पाइन्टको फसनर तल सारको भनिएको छ जुन कुरा अदालतमा पनि भनिएको छ तर अनुसन्धान अधिकृतसमक्ष गरेको कागजमा टाउजर लगाएको भनिएको छ । जाहेरी दर्खास्तमा मैले पेन्टी र सुकुलमा लागेको सेतो पानी पुछेको टालो एउटा प्लाष्टिकको झोलामा पोको पारी राखे भनी भनिएको छ । जाहेरवालीको जाहेरी बेहोरा अनुसन्धान अधिकृतसमक्ष गरेको कागज र अदालतसमक्ष गरेको बकपत्र एक अर्कासँग मेल खाइरहेको छैन । तसर्थ पनि जाहेरी दर्खास्त र सोलाई समर्थन गरी गरिएको बकपत्रसमेत झुट्टा हुँदा त्यस्तो जाहेरी दरखास्त र बकपत्रको आधारमा मलाई कसुरदार ठहर्‍याइएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ ।

तत्काल घटना थाहा पाउने न्यूरानी श्रेष्ठ तथा नानू श्रेष्ठको बयानको तादम्यता रहेको 

छैन । निज बुझिएका न्युरान श्रेष्ठ र नानु श्रेष्ठले प्रहरीसमक्ष गरेको बयानसमेत मलाई फसाउने मनसायले सृजित घटनाको एउटा पाटो मात्र रहेको अवस्था छ । म पुनरावेदकले मौकामा गरेको बयान मैले भनेबमोजिम तयार भएको नभई मलाई डर, धाक धम्की दिई कुटपिटसमेत गरी लेखिएको बेहोरा पढ्न र सुन्न नदिई जबरजस्ती सहिछाप गराई गरिएको र मैले सो कुरा अदालतसमक्ष व्यक्त गरिरहेको अवस्थामा मलाई जबरजस्ती दोषी साबित गर्ने गरी जबरजस्ती करणीको महलको ५ नं. विपरीत कसुर गरेको पुष्टि हुन्छ भनी भएको फैसला बदरभागी छ । साथै अदालत आफैँले पनि फैसलामा अपराधको परिस्थिति तथा प्रतिवादी र पीडित जाहेरवालीबिचको आपसी सम्बन्धसमेतलाई दृष्टिगत गर्दा ५ वर्ष कैद गर्दा व्यावहारिक र न्यायोचित नहुँदा काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी जबरजस्ती करणीको महलको ५ नं. विपरीत कसुरमा ऐ.३(३) नं. बमोजिम ४ वर्ष मात्र कैद हुने ठहर्छ भनी गरिएको छ । अतः उपर्युक्त सबुद प्रमाण, न्यायिक मान्य सिद्धान्तसमेतका आधारमा मैले कुनै पनि कसुर नगरेको प्रमाणित हुँदा हुँदै पनि कसुरदार ठहर गरी काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनबाट गरेको उक्त फैसला मुलुकी ऐन, अदालती बन्दोवस्तको १८४(क), १८५ तथा प्रमाण ऐन, २०३१  को दफा २५ र ५४ नं.समेतको आधारमा त्रुटिपूर्ण भएकोले उक्त फैसलाहरू बदर भागी गरी मेरो जिकिरबमोजिम आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्‍ने कृष्णबहादुर बोगटीको पुनरावेदनपत्र ।

यसमा प्रतिवादीलाई चार वर्ष कैद हुने ठहरी भएको फैसलाउपर पुनरावेदन दर्ता भएको देखियो । यस प्रकारको साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग) हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(ग) को व्याख्यासम्बन्धी प्रश्‍न समावेश भए मुद्दामा पुनरावेदन लाग्ने हो वा अनुमतिको माध्यमबाट हेरिने हो भन्‍ने प्रश्‍नको निरूपण पूर्ण इजलासबाट गर्ने गरी मुद्दा (०७०-CR-०८७७) विचाराधीन रहेको देखिँदा सो मुद्दामा पूर्ण इजलासबाट फैसला भएपछि सो फैसला र लगाउका मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्‍ने मिति २०७४।११।१३ मा यस अदालतबाट भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीले प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्न आफ्नो उत्तेजित लिङ्ग पीडितको योनिमा केही भाग मात्र पसाएको भनी पीडितले कागज गरी सोही बेहोराको बकपत्र गरिदिएकी छन । आफ्नै संरक्षणमा रहेकी बालिकालाई प्रतिवादीले जबरजस्ती करणी गरेकोले निजलाई जबरजस्ती करणीको उद्योग गरेको ठहर्‍याई भएका फैसलाहरू सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा उक्त फैसलाहरू उल्टी गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी र प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी अधिवक्ताहरू श्री गणेशबहादुर गुरूङ, श्री सीतादेवी श्रेष्ठ र श्री उज्वलराज मैनालीले पीडितको स्वास्थ्य परीक्षणबाट केही खुली आएको छैन । बरामद गरिएको भनिएको पीडितको पेन्टी र वीर्य पुछेको भनिएको टालोको वैज्ञानिक परीक्षणमा मानव वीर्य नदेखिएको, पीडितलाई यी प्रतिवादीले जबरजस्ती करणी गरेको भए पीडितको शरीरको कुनै भागमा संघर्षका चिह्नहरू देखिनु पर्नेमा केही देखिएको छैन । प्रतिवादी र उक्त सिविन संस्थाका कर्मचारीहरूबिचमा भएको मनमुटावका कारण प्रतिवादीका विरूद्ध जाहेरी दरखास्त दिइएको हो । तसर्थ प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा अभियोग दाबीबाट सफाइ हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

विद्वान्‌ सहन्यायाधिवक्ता र विद्वान्‌ वरिष्‍ठ अधिवक्ता र अधिवक्ताहरूको बहस सुनी मिसिल अध्ययन गरी सुरू फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, 

छैन ? वादी नेपाल सरकार तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्‍ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा, प्रतिवादीलाई मुलुकी  ऐन, जबरजस्ती  करणीको महलको १ नं.को कसुरमा सोही महलको ३ (३) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम पीडितलाई क्षतिपूर्ति भराइ पाउनसमेत मागदाबी लिइएको अभियोगपत्र भएकोमा प्रतिवादीलाई जबरजस्ती करणीको उद्योग गरेको कसुरमा सोही महलको ३(३) नं. ले हुने सजायको आधारमा सोही महलको ५ ले आधा सजाय अर्थात् ५ वर्ष कैद हुने ठहरी भएको  सुरूको फैसला पुनरावेदन अदालत पाटनबाट अपराधको परिस्थिति तथा प्रतिवादी र पीडित जाहेरवालीबिचको आपसी सम्बन्धसमेतलाई दृष्टिगत गर्दा ५ वर्ष कैद गर्दा व्यावहारिक र न्यायोचित नहँुदा काठमाडौं जिल्ला अदालतको उक्त फैसला केही उल्टी भई प्रतिवादी कृष्णबहादुर बोगटीलाई जबरजस्ती करणी महलको ५ नं. विपरीत कसुरमा ऐ ३(३) नं. बमोजिम ४ चार वर्ष मात्र कैद हुने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी कृष्णबहादुर बोगटीको पुनरावेदन परी पेस भएको देखियो ।

२. सो सन्दर्भमा हेर्दा, पीडितले अदालतमा बकपत्र गर्दा निज प्रतिवादीले आफ्नो पेन्टको चेन खोली आफ्नो फ्रक र पेण्टीसमेत निजले खोली लिङ्ग आफ्नो पिसाब गर्ने ठाउँमा घुसाएर दलदालसमेत गरे अनि आफूले के गर्न लाग्नुभएको भनेर सोध्दा निज प्रतिवादी नबोली तल झरे निजको लिङ्गबाट सेतो तरल पदार्थ आफ्नो पेण्टीमा र भुइँमा खस्यो आफूले टालोले पुछेर टालो त्यही छाडिदिएँ भन्‍ने बकपत्र गरेको देखिन्छ । निजको उक्त बकपत्रबाट जबरजस्ती करणीको कसुर हुन सक्छ सक्दैन भन्‍ने सन्दर्भमा हेर्दा, जबरजस्ती करणी गरेकोले कारबाही गरिपाउँ भनी पीडित कालिमाटी “घ” ले दिएको जाहेरी दर्खास्तसमेतले प्रस्तुत मुद्दाको अनुसन्धान भएको पाइन्छ । प्रतिवादीले अदालतमा गरेको बयानमा आरोपित कसुर गरेकोमा पूर्ण रूपमा इन्कार रही बयान गरे तापनि अनुसन्धानको क्रममा भएको बयानमा कसुरमा साबित रहेको भन्‍ने 

देखिन्छ । पीडितको साथमा रही प्रतिवादीले जिस्क्याई तल पठाएकी भनिएकी न्युरानी श्रेष्ठले पीडितसँगै बसेको अवस्थामा प्रतिवादीले आफ्नो स्तन समाई दुखेकोले भान्सामा पुगी बसेको र कालिमाटी “घ” पछि आई काकाले जबरजस्ती करणी गरे भनेकी तथा निजको अनुहारसमेत डराएको जस्तो थियो भनी मौकाको जाहेरवालीको भनाइ मिलानको बेहोरा लेखाएको पाइन्छ । प्रमाणकी नानु श्रेष्ठसमेतले तत्काल पीडितले प्रतिवादीबाट आफूउपर भएको घटनाको बारेमा बताएकीले सिविनको प्रोगाम अफिसरलाई जानकारी गराई जाहेरी दिएको भन्‍ने देखिन्छ । यसरी पीडित तथा तत्काल घटना थाहा पाउने न्युरानी श्रेष्ठ तथा प्रमाणका नानु श्रेष्ठसमेतको भनाइ तथा यी पुनरावेदक प्रतिवादी कृष्णबहादुर बोगटीबाट अनुसन्धानको क्रममा गराइएको बयानसमेतबाट प्रतिवादीले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको हो कि भन्‍ने देखिए पनि उल्लिखित तथ्यहरू मिसिल संलग्न अन्य वस्तुगत प्रमाणहरूबाट समर्थित भएको छ छैन ? भन्‍नेतर्फ हेरिनु पर्ने हुन्छ । 

३. प्रतिवादीले अदालतमा गरेको बयानमा आरोपित कसुर गरेकोमा इन्कार रही सिविन बाल केन्द्रमा काम गर्ने हाकिमसँगको विवादको कारण झुट्टा जाहेरी दिई फसाएको हो भनी जिकिर लिएको अवस्था छ भने निजले प्रमाण दिएका साक्षी सुनिता लामा तथा मानबहादुर तामाङले संस्थाको काम गर्ने हाकिमसँगको लेनदेनको विषयमा भनाभन भई आरोप लगाएको तथा प्रतिवादीले दाबीबमोजिमको कसुर गरेकोमा विश्वास लाग्दैन भनी बकपत्र गरेको देखिन्छ । पीडित सिविन बालिका गृहमा सुरक्षणमा रहेकी बालिका भएकोमा विवाद छैन । प्रतिवादीसमेत सोही गृहको भान्सामा काम गर्ने बोलीचालीमा समेत काका भनी सम्बोधन गरिने व्यक्तिका उपर पीडित बालिकाले अनावश्यक झुठो कुरा उल्लेख गरी आफ्नो साथी तथा गृहको प्रमुखसमेतलाई प्रतिवादीउपर पोल गरी भन्नु पर्ने कुनै कारण देखिँदैन भने संस्थामा काम गर्ने व्यक्तिसँगको असमझदारी तथा विवादको कारण यौटी संरक्षित बालिकाको भावी जीवन नै जोखिममा पर्ने गरी निजलाई हतियार बनाई प्रतिवादीउपर षडयन्त्र गरी उजुरी गर्नु पर्ने कारणसमेत नदेखिँदा प्रतिवादीले पीडितउपर यौन दुराचार नै नगरेको भन्‍ने निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

४. प्रतिवादीले अभियोग दाबीबमोजिमकै जबरजस्ती करणीको कसुर हो वा सोको उद्योगको कसुर हो भन्‍नेतर्फ विचार गर्दा वारदात मिति २०६६।४।२४ को भोलिपल्ट अर्थात् मिति ०६६।४।२५ गते भएको पीडितको स्वास्थ्य परीक्षण रिपोर्टमा स्वास्थ्य साधारण रहेको, कन्याजाली नच्यातिएको तथा शरीरमा कुनै पनि नयाँ घाउ चोटपटक नलागेको भन्‍ने उल्लेख भएको पाइन्छ । वारदातको समयमा पीडितले लगाएको भनिएको पेण्टी, प्रतिवादीको लिङ्गबाट निस्केको सेतो पदार्थ पुछेको भनिएको टालोसमेतको वैज्ञानिक परीक्षण गर्दा कुनै पनि वस्तुमा मानव वीर्य फेला नपरेको भन्‍ने परीक्षण रिपोर्टबाट देखिन्छ । पीडितले मौकामा दिएको जाहेरी दर्खास्तमा आफ्नो योनिमा प्रतिवादीले लिङ्ग पसाई करणी गरेको भनी उल्लेख गरेको बेहोरा उक्त परीक्षण रिपोर्टबाट कुनै पनि चोटपटक योनिलगायतको भागमा भएको नपाइँदा पीडितको उक्त भनाइ पत्यार लायक पाइएन । वारदातको स्वरूप हेर्दा वर्ष १४ की नाबालिका जाहेरवालीलाई अभियोग दाबीबमोजिम प्रतिवादीले जबरजस्ती करणी गरिसकेको भनी निष्कर्षमा पुग्न सकिने अवस्था देखिएन । प्रतिवादीले पीडितको संवेदनशील अङ्ग समाउने, लिङ्ग देखाउनेसमेतको काम गरी पीडितउपर जबरजस्ती करणीको उद्योगसम्म गरेको देखिन आयो ।

५. कसुरको उद्योगमा पूर्ण अपराधमा हुनुपर्ने मनसाय तत्त्व विद्यमान हुनुपर्छ । मनसाय नराखी गरिएको कार्य उद्योग ठहर्न सक्दैन । उद्योग ठहर्नको लागि अभियुक्तले कसुरको तयारी गरेर मात्र पुग्दैन । तयारीभन्दा अघि उसले पूर्ण अपराध घटाउन सारभूत रूपमा प्रयासहरू गरेको हुनुपर्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई करणी गर्ने उद्देश्यले पीडित भर्‍याङमा उभिएको अवस्थामा निजको पेन्टी सारी फ्रक उठाई आफ्नो उत्तेजित लिङ्ग पीडितको योनिभित्र पसाउने प्रयास गरेको देखिन आयो । पीडितको उमेर परीक्षणबाट १४ वर्षको बालिका रहेको तथा असहाय बालिकाको रूपमा बालिका संरक्षण गृहमा बसेको अवस्थामा सोही गृहमा खाना बनाई बालिकाहरूलाई खुवाउने गरी आएका तथा सम्बोधनमा काका भनी पीडितले संरक्षकत्व दर्शाउने गरिएका प्रतिवादीले बालिकाको विवशताको फाइदा उठाई जबरजस्ती करणीको उद्योगको कसुर गरको ठहराएको फैसला अन्यथा देखिँदैन ।

६. तसर्थ, पीडित जाहेरवालाको बयान कागज तथा बकपत्र, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, घटनास्थल प्रकृति विवरणसमेतका मिसिल संलग्न कागज प्रमाणहरूको विवेचना गरी हेर्दा, प्रतिवादीले पीडितको योनिमा लिङ्ग प्रवेश गराएको भन्‍ने देखिँदैन । यसबाट प्रतिवादीले पीडित बालिकालाई जबरजस्ती करणी गरेको भन्‍ने स्थापित हुँदैन । प्रतिवादीले पीडितउपर उल्लिखित यौन दुर्व्यहार गर्दा आफ्नो उत्तेजित योनाङ्ग योनिभित्र प्रवेश गराउन खोज्दा वीर्य स्खलन भएकोले प्रतिवादीले जबरजस्ती करणी गर्न नपाएको र जबरजस्ती करणीको अपराधको उद्योगसम्म गरेको देखिँदा उद्योगको कसुर ठहराई प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगको कसुरमा जबरजस्ती करणीको महलको ३(३) नं. ले हुने सजायको आधारमा सोही महलको ५ ले आधा सजाय अर्थात् ५ वर्ष कैद हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला अपराधको परिस्थिति तथा प्रतिवादी र पीडित जाहेरवालीबिचको आपसी सम्बन्धसमेतलाई दृष्टिगत गर्दा ५ वर्ष कैद गर्दा व्यावहारिक र न्यायोचित नहँुदा काठमाडौं जिल्ला अदालतको उक्त फैसला केही उल्टी भई प्रतिवादी कृष्णबहादुर बोगटीलाई जबरजस्ती करणी महलको ५ नं. विपरीत कसुरमा ऐ. ३(३) नं. बमोजिम ४ चार वर्ष कैद हुने ठहराई पुनरावेदन अदालत पाटनबाट मिति २०६८।५।२७ मा भएको फैसला अन्यथा नदेखिएकोले सो फैसला सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७६ साल असार २९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु