शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३५४ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७६।५।१३

०७५-RC-०१७७

 

मुद्दाः कर्तव्य ज्यान

 

वादी : दलभद्रे कामीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : बिरमाने कामी भन्‍ने बिरमान वि.क.

 

लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय हुने । 

(प्रकरण नं.१७)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री देवकुमार गिरी

जाजरकोट जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

उच्च अदालत सुर्खेत

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत सुर्खेतको मिति २०७५।०८।२६ को फैसला साधक जाँचको लागि  प्राप्त भई न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

तथ्य खण्ड

मिति २०५५।१।५ गते मेरो छोरा करविरे कामी जिल्ला जाजरकोट खगेनकोट गा.वि.स. वडा नं.९ स्थित दगरास भन्ने ठाउँमा आफ्नो काम विशेषले गएको र सोही मितिदेखि घर नआएको हुँदा सो सम्बन्धमा मैले इष्टमित्र तथा भारत आवत जावत गर्ने मानिसहरूसँग सोधपुछ तथा खोजतलास गर्दा कहिँकतै फेला नपरेकोले खोजतलास गरिपाउँ भन्ने बेहोराको मिति २०५५।०४।०१ गतेको दलभद्रे कामीले दिएको हुलिया निवेदन ।

मिति २०५५।०१।०५ गते मेरो छोरा करविरे कामी जिल्ला जाजरकोट खगेनकोट गा. वि. स. वडा नं. ९ स्थित दगरास भन्ने ठाउँमा आफ्नो काम विशेषले घरबाट निस्की गएकोमा घरमा नआई सोही महिनाको १६ गते साँझ दगरास स्थित धने कामीको घरमा बास बस्न गएको बेला जिल्ला जाजरकोट रग्दा गा.वि.स. वडा नं. २ बस्ने अनन्ते कामीको छोरा डिल्ले कामी, मनसुरे कामी, अजे कामी, करविरे कामी, बिरवाने कामी र धने कामीसमेतले मारी लास बेपत्ता बनाएकोले पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने मिति २०५५।०४।२१ को निवेदन ।

मिति २०५५।०१।०५ गते मेरो छोरा करविरे कामी दगरास लोपाङ गाउँतिर अनाज बेसाह (खरिद) गर्न भनी घरबाट निस्की गएकोमा छोरा धेरै दिनसम्म घरमा फिर्ता नआएपछि भारततर्फ गए कि भनी सोधपुछ तथा खोजतलास गर्दा कुनै ठाउँ अत्तोपत्तो लागेको थिएन । पछि बुझ्दै जाँदा वैशाख १६ गतेको साँझ छोरा करविरे कामी प्रतिवादी धने कामीको घरमा गएको भन्‍ने सुनिन आएपछि गाउँका हरिबहादुर सिंहको घरमा धने कामीको श्रीमती पुतली कामीलाई बोलाई मेरो छोराको सम्बन्धमा सोधपुछ गर्दा १६ गते राति प्रतिवादी धने कामी र निजको भाई विरमाने कामीले करविरे कामीको र म पुतली कामीको बिच अनैतिक सम्बन्ध भएको भनी करविरे कामीलाई कर्तव्य गरी मारी लाससमेत वेपत्ता बनाएको भन्ने कुरा गरेकी र धने कामी र विरमाने कामी भागी भारततर्फ गएको हुँदा निजहरूले नै मेरो छोरा करविरे कामीलाई कर्तव्य गरी मारी लास बेपत्ता बनाएको हुँदा पक्राउ गरी कारबाही गरिपाउँ भन्ने मिति २०५५।०५।०३ गतेको जाहेरी दरखास्त ।

मिति २०५५।०४।१९ गते गाउँ घरका भद्रभलादमीसमेत हरीबहादुर सिंहको घरमा भेला जम्मा भई पुतली कामीलाई बोलाई छलफल गर्दा १६ गते करविरे कामी घरमा आएको अवस्थामा मेरो लोग्ने धने कामी र देवर विरमाने कामीसमेत भई करविरे कामी र मेरोबिच अनैतिक सम्बन्ध छ भन्ने आरोप लगाई करविरे कामीलाई डोरीले दुवै हात पछाडी बाँधी कुटपिट गर्दै घर नजिकको जंगलमा लगी नाइलनको डोरीले घाँटीमा पासो लगाई मारेका हुन् । घटना घटाएपछि कोही कसैलाई भनिस् भने तँलाई पनि मारिदिन्छौं भन्दै लोग्ने र देवरले मलाई पनि लछार पछार गर्दै घरमा ल्याई घरभित्र थुनी बाहिरबाट ताल्चा लगाई दुवै भाइ पुनः घटनास्थलतर्फ गई बिहान उज्यालो हुने समयमा घर फर्की आएका हुन् । लास कहाँ दबाए, छिपाए, मलाई थाहा भएन भनी बताएकी हुन् । धने कामी र विरमाने कामी घरमा नभएकोले कर्तव्य गरी मारी बेपत्ता बनाएकोमा पूर्ण विश्‍वास लाग्दछ भन्ने नारायणबहादुर सिंहले मिति २०५५।५।५ मा गरेको घटना विवरण कागज ।

मिति २०५५।०४।१९ गते गाउँ घरका भद्रभलादमी मेरो घरमा भेला जम्मा भई छलफल गर्दा निज पुतली कामीलाई छलफलमा झिकाई सोधपुछ गर्दा मृतक करविरे कामी मिति २०५५।५।१६ गते कुखुरा लिन भनी घरमा आएको बखत मेरो लोग्ने धने कामी र देवर विरमाने कामीसमेत भई करविरे कामी र मेरोबिच अनैतिक सम्बन्ध भएको आरोप लगाई करविरे कामीलाई डोरीले दुवै हात पछाडि बाँधी कुटपिट गर्दै घर नजिकको जंगलमा लगी नाइलनको डोरीले घाँटीमा पासो लगाई मारेका हुन् । घटना घटाएपछि कोही कसैलाई भनिस् भने तँलाई पनि मारिदिन्छौ भन्दै लोग्ने र देवरले मलाई पनि लछार पछार गर्दै घरमा ल्याई घरभित्र थुनी बाहिरबाट ताल्चा लगाएका 

हुन् । दुवै भाइ पुनः घटनास्थलतर्फ गई बिहान उज्यालो हुने समयमामात्र घर आएका हुन् । लासलाई कहाँ लगी दबाए, छिपाए थाहा भएन भनी छलफलमा बसेका भद्रभलादमीहरूको सामुन्ने पुतली कामीले बताएकी हुन् । प्रतिवादी धने कामी र विरमाने कामीले करविरे कामीलाई कर्तव्य गरी मारी बेपत्ता बनाएकोमा पूर्ण विश्‍वास लाग्दछ भन्ने हरिबहादुर सिंहले मिति २०५५।५।५ मा गरेको घटना विवरण कागज ।

मिति २०५५।०४।१९ गते गाउँ घरका भद्रभलादमीसमेत भेला जम्मा भई मृतक करविर कामी बेपत्ता भएको बारेमा पुतली कामीसँग सोधपुछ गर्दा मिति २०५५।१।१६ गते मृतक करविरे कामी हाम्रो घरमा आएको अवस्थामा मेरो लोग्ने धने कामी र देवर विरमाने कामी भई करविरे कामी र मबिच अनैतिक सम्बन्ध छ भन्ने आरोप लगाई मृतक करविरे कामीलाई डोरीले दुवै हात पछाडि बाँधी कुटपिट गर्दै घर नजिकको जंगलमा लगी नाइलनको डोरीले घाँटीमा पासो लगाई मारी कोही कसैलाई भनिस् भने तँलाई पनि मारिदिन्छौं भन्दै लोग्ने र देवरले मलाई पनि लछार पछार गर्दै घरमा ल्याई घरभित्र थुनी बाहिरबाट ताल्चा लगाई पुन करबिरे कामीलाई मारेको ठाउँतर्फ गई बिहान उज्यालो हुने बेलामा घरमा आएका हुन् । लास कहाँ दबाए, छिपाए थाहा छैन भनी भेला भएका मानिसहरूका सामु बताएकी हुन् । घटनाबारे प्रहरीलाई जानकारी गराएको हो भन्ने नवराज सिंहले गरेको घटना विवरण कागज ।

मेरा कान्छा ससुरा जाहेरवाला दलभद्रे कामीको जेठा छोरा मेरा देवर नाताका करबिरे कामी  मिति २०५५।१।१६ गतेका दिन घरमा आएका 

थिए । सो दिन बिहानै छुट्टी भिन्‍न भएका मेरा साख्खै देवर बिरमाने कामी पनि घरमा आई बसेका थिए । मेरा श्रीमान् धने कामी काम विशेषले गाउँतर्फ जानुभएको थियो । घरमा साना बालबच्चा र म मात्र थियौ । देवर करबिरे कामीलाई के काममा आयौ भनी सोध्दा दाइसँग पैसा लिनु थियो, दिन्छन् कि भनेर आएको भने । मैले रोटी हालेर दुवै देवरलाई खान दिएँ, खाना खाइसकेपछि देवर करबिरेले घर जान्छु भन्दा देवर बिरमानेले आज बस भोलि म पनि सँगै तिम्रो घर जान्छु भने । साँझमा दुवै देवर टेपरिकर्ड सुनिरहेका थिए । त्यसैबेला मेरा श्रीमान् घर आइपुगी बाहिर ढुकी बसेका रहेछन् । श्रीमान् बाहिर आई बसेको थाहा थिएन । म रोटी हाल्न हातधुन भनी बाहिर निस्कँदा श्रीमान्‌ले पाखुरामा समाती यो करबिरे तँसँग बस्छ रे ! यसलाई किन भित्र राखेकी छस् भन्दै आज यसलाई लास पार्छु भन्दै श्रीमान्‌ भित्र गई करबिरे कामीलाई श्रीमान् र देवरले कुटपिट गर्न 

थाले । घरबाहिर निकाली दुवै हात पछाडि बाँधी घरदेखि पश्चिम धारामेलो भन्‍ने जंगलमा लगे । त्यसबेला रातको ९।१० बजेको थियो, हल्ला गरेमा तँलाई पनि मार्छौ भनेपछि म चुपलागी बसेँ । धने कामी र बिरेमाने कामीले प्लास्टिकको डोरीले करबिरे कामीको घाँटीमा सुर्के पासो लगाई मौवाको रूखमा बिरमाने चढेर पासोको डोरी माथिबाट तान्‍ने र तल जमिनबाट धने कामीले उचाल्ने गरी झुन्डाई मारेपछि डोरी हाँगामा बाँधी दुवै भाइले मलाई समाती घर ल्याई घरभित्र थुनी बाहिरबाट ताला लगाई त्यसको लास गाडमा फाल्नुपर्छ भन्दै दुवै जना फेरि लास झुन्ड्‍याएको ठाउँतर्फ गए । बिहान घर आई मलाई बाहिर निकाली घटना कसैलाई भनेमा मार्ने डरत्रास देखाएका हुन् । मैले डरले केही भन्‍न सकिन । करबिरे कामीका घरका मानिसहरूले बेपत्ता भएको सम्बन्धमा सोधखोज गर्दा मिति २०५५।४।१९ गतेका दिन गाउँका हरिबहादुर सिंहको घरमा भएको छलफलमा मलाई सोधखोज गरेकोले सम्पूर्ण विवरण सबैको सामु भनेकी हुँ । करबिरे कामीको लास कहाँ दबाए, छिपाए, मलाई थाहा छैन भन्ने पुतली कामीले गरेको घटना विवरण कागज ।

वारदात मितिदेखि भागी फरार रहेका बिरमाने कामी र धने कामी घर ठेगानामा नबस्ने, भारततर्फ गएको भन्‍ने बुझिएको भन्‍ने विभिन्‍न मितिका प्रहरीको प्रतिवेदनहरू मिसिल सामेल रहेको ।

धने कामी हालसम्‍म फेला नपरेको र प्रतिवादी बिरमाने कामी मिति २०७४।६।२३ मा आफ्नो घर बतनमा लुकीछिपी बसेको अवस्थामा फेलापारी प्रक्राउ गरी प्रतिवेदनसाथ पेस गरेका छौं भन्‍ने प्रहरीको प्रतिवेदन मिसिल सामेल रहेको ।

प्रतिवादी धने कामी मेरो सहोदर दाजु र मृतक करबिरे कामी मेरो काकाको छोरा हुन् । दाजु धने कामी छुट्टी भिन्‍न भइसक्नुभएको छ । मेरो २ ठाउँमा घर हुँदा बुबा आमा औलको घरमा र म लेकको घरमा बस्छु । मिति २०५५।०१।१६ गते घरबाट बुबाले मकै लिएर आइज भनेकोले मकै लिएर जाँदा रात परेकोले बिच बाटोमा रहेको दाजु धने कामीको घरमा गएँ । दाजु काम विशेषले घरबाहिर जानुभएको, घरमा भाउजू पुतली कामी, बच्चाहरू र मृतक करविरे कामी थिए । भाउजूले साँझको खाना रोटी हाल्नुभएकोले खाएर सुत्यौं । करविरे कामी र भाउजू पुतली कामीबिच पहिलेदेखि नै अनैतिक सम्बन्धको बारेमा दाजु धने कामीलाई थाहा भई घरबाहिर दोवा चियो गरी बसिरहनु भएको रहेछ । मलाई तत्काल थाहा भएन । राति म निदाएको अवस्थामा करविरे कामी भाउजू पुतली कामीको बिस्तरामा गएको बखत दाजु धने कामी बाहिरबाट आई यो अपराधी सालेलाई छाड्नु हुँदैन भन्दै करविरे कामीलाई कुटपिट गर्न थाले । मलाई डोरी ल्याउ बाँध्नुपर्छ भनेपछि मैले डोरी खोजी ल्याएँ । करविरे कामीको दुवै हात पछाडिबाट बाँधी दाजु, भाउजू र म तीनैजना मिली कुटपिट गरी घाइते बनाई रातको समयमा जंगलमा लगी यसलाई यतै खतम गर्नुपर्छ भनी दाजुले भनेपछि भाउजूले टाउको समात्नु भयो । मैले पछाडितिर ढाड कम्बरमा समाते । दाजुले घाँटीमा डोरी कसी खुट्टाले किची कर्तव्य गरी मारेका हौं । मृतक लास नजिकैको रूखमा बाँधी घरतर्फ आयौं । घरमा पुगेपछि भाउजूलाई यो कुरा कसैलाई नभन्‍नु, हामी गएर लासलाई भेरी नदीमा बगाएर आउँछौ भनी सल्लाह गरी लास भएको ठाउँमा गई रूखबाट लास निकाली पालैपालो बोकी मैदे पुर्‍याई म बाटोमा मान्छेको रेखदेखमा बसेँ, दाजुले लासलाई भेरी नदीमा फाल्नुभयो । भाउजूले हामी दाजुभाइले मारेको भन्‍ने कुरा गरेकी छन् भन्‍ने सुनिएपछि भारत गई लुकीछिपी बसेका थियौ । ६ वर्षपछि म घरमा आएँ दाजु भारतमै बस्दै आएका 

छन् । लाससहितका डोरीहरू भेरी नदीमा फालिसकेका छन् भन्ने विरमाने कामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

ढुङ्गा माटोले बनेको, खरले छाएको एक तले प्रतिवादी धने कामीको कच्ची घर सोही घरभित्र मिति २०५५।०१।१६ गते प्रतिवादी धने कामी, विरमाने कामी मिली करविरे कामीलाई कुटपिट गरी डोरीले हात बाँधी जंगलतर्फ लिएको भन्ने मिति २०७४।६।२९ को घटनास्थल मुचुल्का ।

जिल्ला जाजरकोट साबिक खगेनकोट गा.वि.स. वडा नं. ९ हाल त्रिवेणी नलगाड न.पा. ८ दगरास स्थित पूर्वमा प्रतिवादी धने कामीको घर, पश्‍चिममा दगरास गाउँमा जाने ठाडो गोरेटो बाटो, उत्तरमा अठिङग्रे गैरी भन्ने ठाउँ, दक्षिणमा रतन कामीको जग्गा यति चार किल्लाभित्रमा मौवाको रूख रहेको, सोही रूखमा मिति २०५५।०१।१६ गते राति प्रतिवादी धने कामी विरमाने कामी मिली करविरे कामीलाई कुटपिट गरी कर्तव्य गरी मारी झुन्ड्याई कर्तव्य गरी मारेको स्थान भन्‍ने मिति २०७४।६।२९ को घटनास्थल मुचुल्का । 

जिल्ला जाजरकोट साबिक खगेनकोट गा.वि.स. वडा नं ९ हाल त्रिवेणी नलगाड न.पा. ८ दगरास स्थित पूर्वमा ठुली भेरी नदी, पश्‍चिममा दल्लीदेखि डोल्पा जाने कच्ची बाटो, उत्तरमा मालुवा गाउँ, दक्षिणमा खमाउरे खोला यति चार किल्लाभित्र पर्ने ठुली भेरी नदीको किनार रहेको सोही भेरी नदीको भेलमा मिति २०५५।०१।१६ गते राति प्रतिवादी धने कामी र विरमाने कामी मिली करविरे कामीको मृतक लास फाली बगाई बेपत्ता बनाएको भनिएको मिति २०७४।६।२९ को घटनास्थल मुचुल्का ।

मिति २०५५।०१।१६ गते मृतक करविरे कामी प्रतिवादी धने कामीको घरमा गएका 

रहेछन् । साँझ परेपछि धने कामीको श्रीमती पुतली कामीले खाना बनाई खुवाई राति सुतेको अवस्थामा प्रतिवादी धने कामी, विरमाने कामीले पुतली कामीसँग करविरे कामीको अनैतिक सम्बन्ध रहेको भनी राति नै कुटपिट गरी डोरीले बाँधी जंगलमा लगी डोरीले घाँटी कसी कर्तव्य गरी मारी मृतक लासलाई सोही जंगलको रूखमा बाँधी तिनैजना घरमा आई पुतली कामीलाई घरमा बस्न लगाई पुनः धने कामी र विरमाने कामी लास भएको जंगलमा गई बोकी राति नै भेरी नदीमा लगी बगाई लास बेपत्ता बनाएको कुरा हाल हल्लाखल्ला चलेपछि सुनी थाहा पाएको हुँ भन्ने रतन वि.क.ले गरेको घटना विवरण कागज ।

मैले शङ्का मानी गाउँकै मनसुरे कामी, डिल्ले कामी, अजे कामी, करबिरे कामीले मेरा छोराको ज्यान बेपत्ता बनाएको भनी हुलिया निवेदन दिएकोमा पछि बुझ्दा धने कामी र बिरमाने कामीले मेरो छोरा बेपत्ता बनाएको भनी धने कामीकी श्रीमती पुतली कामीले भनेकोले धने कामी र बिरमाने कामीका नाममा किटानी जाहेरी दिएको छु । घटनामा मनसुरे कामी, डिल्ले कामी, अजे कामी, करबिरे कामीको कुनै संलग्नता 

छैन । डिल्ले कामी र अजे कामीको मृत्यु भइसकेको 

छ । वारदात हुँदाको साँझको मिति २०५५।१।१६ गते प्रतिवादी धने कामी, विरमाने कामीले पुतली कामीसँग करविरे कामीले अनैतिक सम्बन्ध राखेको भनी आरोप लगाई प्रतिवादी धने कामी विरमाने कामी र पुतली कामीसमेत मिली मेरो छोरालाई कुटपिट गरी डोरीले हातमा बाँधी घरदेखि पश्‍चिम जंगलमा लगी घाँटीमा डोरीले कसी कर्तव्य गरी मारी नजिकको रूखमा बाँधी झुण्डाई तीनै जना घर फिर्ता भएको पुन: सल्लाह गरी धने कामी र विरमाने कामी लास भएको स्थानमा गई लासलाई पालैपालो बोकी भेरी नदीमा बगाएका भन्ने जाहेरवाला दलभद्रे कामीले गरेको घटना विवरण कागज ।

२०५५ सालमा म खगेनकोट गा.वि.स.को वडा नं. ९ को वडा अध्यक्ष थिएँ । प्रतिवादीहरू र जाहेरवाला सबैलाई चिन्दछु । मिति २०५५।४।१९ गते हरिबहादुर सिंहको घरमा मृतक करविरे कामी हराएको कुरा गर्नुछ । तपाइँ पनि वडा अध्यक्ष भएकोले जानु पर्‍यो भन्ने कुरा गरेकाले जाँदा गाउका भद्र भलादमीसमेत भेला जम्मा भएका थिए । छलफलमा धने कामीको श्रीमती पुतली कामीलाई बोलाई सोधपुछ गर्दा पुतली कामीले वारदात भएको दिनको साँझ करविरे कामी घरमा आएको अवस्थामा श्रीमान् धने कामी र विरमाने कामीले मसँग करविरे कामीको अनैतिक सम्बन्ध रहेको भनी आरोप लगाई कुटपिट गरी डोरीले हातबाँधी घरदेखि पश्‍चिमतर्फको जंगलमा लगी डोरीले घाँटी कसी कर्तव्य गरी मारी रूखमा बाँधी घर कोठामा आई मलाई घरभित्र थुनी दुवै जना पुनः लास भएको ठाउँतिर गई लास के कता बेपत्ता पारी बिहान घरमा आएका 

हुन् । मलाई घटनाको बारेमा कतै नभन्नु भनिस् भने मारिदिन्छु भनेका थिए भन्ने कुरा गरेकी हुन् भन्ने देवबहादुर सिंहले गरेको घटना विवरण कागज । 

मिति २०५५।१।१६ गते रातिको समयमा प्रतिवादी धने कामी, निजको श्रीमती पुतली कामी र विरमाने कामी भन्ने विरमान वि.क.समेतले करविर बि.कलाई कुटपिट गरी डोरीले घाँटीमा बाँधी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १३ (३) नं. बमोजिमको कसुर गरेको हुँदा ऐ.१३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी ।

म लेकको घरमा र बुबा आमाहरू औल घरमा बस्नुहुन्थ्यो । मिति २०५५।१।१६ गते म बुबाआमाको लागि मकै पुर्‍याउन जाँदा रात परेकोले दगरास भन्‍ने ठाउँमा दाजु धने कामीको घरमा आई 

बसे । घरमा भाउजू पुतली कामी, छोराछोरीहरू र मृतक करबिरे कामी थिए । खाना खाइसकेपछि सुत्न गयौँ । दाजु धने कामी बाहिर काममा जानुभएको 

रहेछ । रातको समयमा घरमा आउँदा पुतली कामी र करविरे कामीलाई सँगै सुतेको देखी दुवैलाई समातेपछि ब्युझिएँ । धने कामीले करबिरे कामीलाई कुटपिट गर्न थाले । डोरीले बाँधेर कुटपिट गर्दै सदस्य हरिबहादुर सिंहको घरमा लैजाने भनेपछि मृतक करबिरे कामी, धने कामी, पुतली कामी र म रातको १२ बजे गयौं । बाटोमा मृतकले पेट दुख्यो भनेर बसे । टाउको तल झुन्ड्याएको केही समयमा पल्टिए । उठाएर हेर्दा ज्यान गइसकेको रहेछ । जंगलको गहिरो ठाउँको सुदरीको रूखमा बाँधी घरमा गयौं । धने कामीले नाम्लोको डोरी लिएर मृतक करबिरे कामीलाई भिरमा लगेर फालिदिन्छु, तँ घट्टमा मकै पिस्न जा भनेकोले म घट्टतिर गएँ । डरले घट्टमा बस्न नसकेकोले म बुबाआमाको घर गएँ । धने कामीले लास कहाँ लगरे फाले मलाई थाहा छैन, भोलिपल्ट म लेकको घरतर्फ गएँ, धने कामी त्यहीँ आएर कसैलाई नभनेस् जे भए पनि बेहोर्ने मै हुँ भनेका थिए । असार महिनातिर सबैले थाहा पाइसके, भारततर्फ भागी जाऔँ भनेकोले भारततर्फ गयौँ । प्रतिवादी धने कामीले मृतकको अण्डकोषमा कुटपिट गर्दा सो चोटको कारण करविर कामीको मृत्यु भएको हो । मैले मृतक करविरे कामीलाई कुटपिट गरी मारेको होइन भन्ने प्रतिवादी विरवान भन्ने विरमान वि.क.ले अदालतमा गरेको बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी बिरमान वि.क.लाई मुलुकी ऐन अ.बं. ११८ (२) नं.बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न कारागार कार्यालय पठाइदिनु भन्ने  निमित्त स्रेस्तेदारबाट मिति २०७४।७।१६ मा भएको आदेश मिलेकै देखिँदा, सदर गरिदिएको छ भन्‍ने जाजरकोट जिल्ला अदालतबाट मिति २०७४।७।२६ को आदेश ।

वारदात भएको करिब १ महिनापछि जाहेरवाला दलभद्रे कामीले आफ्नो छोरा करविरे कामीलाई मारे, छलफल गरिदिनु पर्‍यो, प्रतिवादी धने वि.क. र बीरमाने वि.क.माथि शङ्का लाग्छ भनेपछि घटनाको बारेमा थाहा पाएको हुँ । मिति २०५५।५।५ गतेको घटना विवरण कागजको बेहोरा र सहिछाप मेरो हो भन्ने हरिबहादुर सिंहले अदालतमा गरेको बकपत्र ।

मिति २०५५।१।५ मा छोरा करविरे कामी चिउरी किनी बेच्ने उद्देश्यले घरबाट निस्केका 

थिए । १५/१६ दिनसम्म घर फिर्ता नभएपछि छोराको खोजतलास गर्ने क्रममा प्रतिवादी पुतली कामीले ऐ.१६ गते मृतक आफ्नो घरमा आएको अवस्थामा पुतली कामी, धने कामी र विरमान बि.क ले मृतकलाई मारी मौवाको रूखमा झुण्ड्याउन खोज्दा नसकी भेरी नदीमा फालेका हौं भनेबाट वारदातको बारेमा थाहा पाएको हुँ, प्रतिवादी धने कामी र बिरमाने कामी भागेर विदेशतर्फ गइसकेका थिए, छोरासँग चिउरी खरिद गर्ने रू.१४,०००।- रेडियो र घडीसमेत रहेकोले लोभले हत्या गरी भेरी नदीमा फालेका हुन् भन्ने जाहेरवाला दलभद्रे कामीले अदालतमा गरेको बकपत्र ।

मिति २०७५।१।१६ गते प्रतिवादी धने कामीले मृतक र आफ्नो श्रीमती पुतली कामीबिच अनैतिक सम्बन्ध रहेको आशङ्कामा आवेगमा आई मृतकलाई मारेको भन्ने गाउँघरमा हल्ला सुनेको हुँ । प्रतिवादी विरमान कामीले मारेको भन्‍ने सुनिन । मृतक मारिसकेपछि धने कामी र बिरमाने कामी भागेर भारत गएको भन्‍ने सुनेको हुँ भन्ने प्रतिवादी विरमान वि.क.का साक्षी देउराम कामीले अदालतमा गरेको बकपत्र । 

मिति २०५५।१।१६ मा मृतक र आफूबिच अनैतिक सम्बन्ध भएको आशङ्कामा प्रतिवादी धने कामी र  देवर विरमाने भन्ने विरमान वि.क.ले जाहेरवालाको छोरालाई धने कामीको घरमा कुटपिट गरी झुन्ड्याई कर्तव्य गरी मारी भेरी नदीमा फालेका हुन् भनी प्रतिवादी पुतली कामीले भनेकी हुन् भन्ने घटना विवरण कागज गर्ने नवराज सिंहले अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू धने कामी र निजको श्रीमती पुतली कामीको नाममा कुनै जग्गा जमिन नभएको तथा निज धने कामीको स्वर्गीय हजुरबुबा नरिमाने कामी र स्वर्गीय बुबा कल्धरे कामीको नाममा समेत कुनै जग्गा जमिन नदेखिएको भन्ने मिति २०७५।२।३ मा भएको मुचुल्का मिसिल सामेल रहेको ।

फरार प्रतिवादीहरू धने कामी र पुतली कामीको हकमा मिति २०७४।८।२८ मा तामेल भएको म्यादमा हाजिर नभई फरार भएको देखिँदा निजहरूको हकमा मुलुकी ऐन अ.बं. १९० नं. बमोजिम मुलतबिमा राखिदिने ठहर्छ । जाहेरवालाको छोरा करविरे कामीलाई मिति २०५५।१।१६ गते राति धने कामीको घरमा कुटपिट गरी घाइते बनाई सो घरबाट बाहिर जंगलमा लगी पुन: कुटपिट गरी मारी झुन्ड्याई पुन: झुन्ड्याएको ठाउँबाट निकाली खोलामा लगी बगाएको तथ्य स्थापित भएको, मौकामा बुझिएकी पुतली कामीको घटना विवरण कागजले पनि प्रतिवादी विरमान कामीसमेत जाहेरवालाको छोरालाई मार्नमा संलग्न देखिएकोले प्रतिवादी विरमाने भन्ने विरमान कामीलाई अभियोग दाबीबमोजिम जन्मकैद हुने ठहर्छ  भन्नेसमेत जाजरकोट जिल्ला अदालतको मिति २०७५।३।४ को फैसला ।

म पुनरावेदकले मृतकलाई मार्नु पर्नेसम्मको पूर्वरिसइवी तथा मनसाय नभएको, मृतकलाई मार्नका लागि कुनै किसिमको योजना नबनाएको र कुनै किसिमको वचनसमेत नदिएको, मैले अभियोग दाबीबमोजिमको अपराध गरेको भन्ने कुरा मिसिल संलग्न कुनै पनि स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएको अवस्थामा फरार सहअभियुक्त पुतली वि.क.ले घटना विवरणमा निराधार पोलको आधारमा मलाई सजाय गर्ने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी विरमान वि.क. को पुनरावेदन जिकिर ।

यसमा मृतक भनेको करविरे कामीको लास फेला नपरेको कारणले Corpus delecti प्रमाणित नभएको मृतकलाई कुटपिट गरेको वा कुनै चोट प्रहार गरेकोमा प्रतिवादीले इन्कारी बयान गरेको र अनुसन्धानको क्रममा बुझिएकी वारदातको प्रत्यक्षदर्शी पुतली कामीको कागजबाट प्रतिवादीले मृतकलाई मार्ने मुख्य भूमिका खेलेको नदेखिएको अवस्थामा ज्यानसम्बन्धी महलको १३ वा १७ नं. मध्ये कुन नं. को सजाय आकर्षित हुनेतर्फ सविस्तार विवेचना नगरी १३(३) नं. बमोजिम सजाय हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय सुर्खेतलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत सुर्खेतको मिति २०७५।८।१२ को आदेश ।

जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, सहप्रतिवादी पुतली कामीको मौकाको घटना विवरण कागज, घटना विवरण कागज गर्ने हरिबहादुर सिंह र नवराज सिंहसमेतको मौकाको कागज एवं बकपत्र, प्रतिवादी विरमान कामीको अनुसन्धानका क्रममा भएको साबिती बयान तथा अदालतमा भएको आंशिक साबिती बयानसमेतको आधार प्रमाणहरूबाट प्रतिवादी विरमाने भन्ने विरमान वि.क.ले करविर कामीलाई कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आएको देखिँदा प्रतिवादीलाई अभियोग मागदाबीबमोजिमको जन्म कैदको सजाय हुने ठहर्‍याई सुरू अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने उच्च अदालत सुर्खेतबाट मिति २०७५।८।२६ मा भएको फैसला ।

उच्च अदालत सुर्खेत मिति २०७५।८।२६ को फैसलाउपर प्रतिवादीका नाममा जारी भई गएको पुनरावेदनको म्याद मिति २०७५।१०।२२ मा तामेल भएको पुनरावेदन म्यादको तामेली मिसिल सामेल रहेको ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो ।

यसमा मिति २०५५।१।१६ गते रातिको समयमा प्रतिवादी धने कामी, पुतली कामी र विरमाने कामी भन्ने विरमान वि.क.समेतले करविरे वि.क.लाई कुटपिट गरी कर्तव्य गरी मारेकोले प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ (३) नं. को कसुरमा ऐ.को १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ । सुरू जाजरकोट जिल्ला अदालतबाट मिति २०७५।३।४ मा प्रतिवादीमध्येका धने कामी र पुतली कामीको हकमा अ.बं. १९० नं बमोजिम मुलतबी राखी प्रतिवादीमध्येका बिरमाने कामी भन्‍ने बिरमान वि.क.लाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको 

देखियो । प्रतिवादीको पुनरावेदन पर्दा सुरू अदालतबाट भएको फैसला सदर हुने ठहरी मिति २०७५।८।२६ मा उच्च अदालत सुर्खेतबाट फैसला भएको 

देखिन्छ । सो फैसलाउपर प्रतिवादीको नाममा जारी भएको पुनरावेदनको म्याद मिति २०७५।१०।२२ मा तामेल भएकोमा कानूनको म्यादभित्र प्रतिवादीको पुनरावेदन नपरेकोले प्रस्तुत मुद्दा साधकको रूपमा यस अदालतमा पेस हुन आएको देखियो । 

प्रतिवादी बिरमाने कामी भन्‍ने बिरमान वि.क.लाई जन्मकैदको सजाय हुने ठहर गरेको पुनरावेदन अदालत सुर्खेतको उक्त फैसला मिले, नमिलेको के रहेछ ? भन्‍ने साधकको रोहमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ हेर्दा, मिति २०५५।१।५ गते छोरा करविरे कामी काम विशेषले बाहिर गएकोमा घर फर्की नआएकाले खोजतलास गर्दा कहीँकतै फेला नपरेकोले खोजतलास गरिपाउँ भनी करबिरे कामीका बाबु दलभद्रे कामीले मिति २०५५।४।१ मा इलाका प्रहरी कार्यालय सदा, जाजरकोटमा हुलिया निवेदन दिएको देखियो । बेपत्ता भएको छोरालाई मिति २०५५।१।१६ गते साँझ डिल्ले कामी, मनसुरे कामी, अजे कामी, करविरे कामीले मार्ने योजना बनाई  बिरवाने कामी र धने कामीसमेतले आफ्नो घरमा बास बस्न लगाई मारी लास बेपत्ता बनाएकोले पक्राउ गरी कारबाही गरिपाउँ भनी मिति २०५५।४।२१ मा इलाका प्रहरी कार्यालय, रग्दामा अर्को निवेदन गरेको देखिन्छ ।

३. मिति २०७४।४।१९ मा बेपत्ता भएका छोराको खोजबिन गरिदिनु पर्‍यो भनी गाउँका भद्र भलादमीसमेत हरिबहादुर सिंहको घरमा छलफल गर्दा धने कामीको श्रीमती पुतली कामीले मिति २०५५।१।१६ राति प्रतिवादी धने कामी र विरमाने कामीले करविरे कामीको र मेरोबिच अनैतिक सम्बन्ध भएको भनी कर्तव्य गरी मारी लाससमेत बेपत्ता बनाएको भन्ने कुरा गरेकी र निजहरू दुवैजना भारततर्फ भागी गएको हुँदा निजहरूले नै छोरा करविरे कामीलाई कर्तव्य गरी मारी लास बेपत्ता बनाएकोले कारबाही गरिपाउँ भनी मिति २०५५।५।३ मा मृतकका बाबु दलभद्रे कामीको जाहेरी परेको देखियो ।

४. मिति २०५५।१।१६ मा मेरो छोरा प्रतिवादी धने कामीको घरमा गएको अवस्थामा प्रतिवादी धने कामी, विरमाने कामीले धने कामीको श्रीमती पुतली कामीसँग मेरो छोराले अनैतिक सम्बन्ध राखेको भनी आरोप लगाई पुतली कामीसमेत प्रतिवादीहरू मिली कुटपिट गरी डोरीले हातमा बाँधी जंगलमा लगी घाँटीमा डोरीले कसी कर्तव्य गरी मारी नजिकको रूखमा झुन्ड्याई तीनैजना घर आई पुन: सल्लाह गरी धने कामी र विरमाने कामी लास भएको स्थानमा गई लासलाई पालैपालो बोकी भेरी नदीमा बगाएका हुन् भनी जाहेरवालाले घटना विवरण कागजसमेत गरेको देखिन्छ । अदालतमा उपस्थित हुँदासमेत यी प्रतिवादीसमेतले छोरालाई मारेका हुन् प्रतिवादी धने कामी र बिरमाने कामी भागेर विदेशतर्फ गइसकेका र छोरासँग चिउरी खरिद गर्ने रू.१४,०००।- रेडियो र घडीसमेत रहेकोले लोभले हत्या गरी भेरी नदीमा फालेका हुन् भनी बकपत्र गरेको देखियो ।

५. पुतली कामीले अनुसन्धान तहकिकातको क्रममा मिति २०५५।५।७ मा कागज गर्दा कान्छा ससुरा नाताका जाहेरवाला दलभद्रे कामीको छोरा मेरा देवर नाताका करबिरे कामी मिति २०५५।१।१६ गतेका दिन घरमा आएका र सोही दिन छुट्टी भिन्‍न भएका मेरा साख्खै देवर बिरमाने कामी पनि घरमा आएका थिए । श्रीमान् धने कामी काम विशेषले गाउँतर्फ गएका थिए । खाना खाइसकेपछि देवर करबिरे कामीले घर जान्छु भन्दा देवर बिरमाने कामीले आज बस भोलि म पनि सँगै तिम्रो घर जान्छु भनेकोले दुवै देवरहरू घरमा बसेका थिए । मेरा श्रीमान् घर आइपुगी बाहिर ढुकी बसेका रहेछन् । म हातधुन बाहिर निस्कँदा पाखुरामा समाती यो करबिरे 'तँ सँग बस्छ रे, यसलाई किनभित्र राखेकी छस् आज यसलाई लास पार्छु' भन्दै भित्र गई श्रीमान् र देवरले करबिरे कामीलाई कुटपिट गर्न थाले । दुवै हात पछाडि बाँधी राति ९।१० बजेको समयमा जंगलमा लगी प्लास्टिकको डोरीले घाँटीमा सुर्के पासो लगाई बिरमाने कामी मौवाको रूखमा चढेर पासोको डोरी माथिबाट तान्‍ने र धने कामीले तल जमिनबाट उचाल्ने गरी झुन्डाई मारेपछि डोरी हाँगामा बाँधी दुवैभाइले मलाई समाती घर ल्याई घरभित्र थुनी बाहिरबाट ताला लगाई त्यसको लास गाडमा फाल्नुपर्छ भन्दै दुवैजना फेरि लास झुन्ड्‍याएको ठाउँतर्फ गएका हुन् । बिहान घर आई मलाई बाहिर निकाली घटना भनेमा मलाई पनि मार्ने डरत्रास देखाएका थिए । करबिरे कामी बेपत्ता भएको सम्बन्धमा मिति २०५५।४।१९ मा गाउँका हरिबहादुर सिंहको घरमा भएको छलफलमा सोधखोज गर्दा सम्पूर्ण विवरण सबैको सामु भनेकी हुँ । लास कहाँ दबाए, छिपाए मलाई थाहा छैन भनी घटनाको सम्पूर्ण विवरण खुलाई कागज गरेको देखियो । घटनाको प्रत्यक्षीदर्शी रहेकी पुतली कामीसमेत प्रस्तुत मुद्दाको प्रतिवादी कायम भई निज र निजका श्रीमान् धने कामी हालसम्‍म फरार रहेको देखिन्छ ।

६. पुतली कामीले छलफलमा उपस्थित भएका सबैको सामुन्‍नेमा आफ्नो पति धने कामी र देवर विरमाने कामीले करबिरे कामी र आफ्नोबिचमा अनैतिक सम्बन्ध रहेको आरोप लगाई मिति २०५५।१।१६ गते राति करबिरे कामीलाई कर्तव्य गरी मारेका हुन् भनी बताएको भन्‍ने नारायणबहादुर सिंह, हरिबहादुर सिंह, नबराज सिंहले २०५५ साल भदौमा नै र प्रतिवादी पक्राउ परेपछि तात्कालीन वडा अध्यक्ष देबबहादुर सिंहले २०७४ कार्तिकमा कागज गरेको देखिन्छ । मौकामा कागज गर्ने नवराज सिंह र हरिबहादुर सिंहले मौकाको बयान बेहोरा र सहिछाप सनाखत गरी बकपत्र गरेको देखियो । 

७. मिति २०५५।१।१६ मा प्रतिवादीहरूले मृतकलाई डोरीले हात बाँधी कुटपिट गरेको भन्‍ने धने कामीको घर, मृतकलाई मारी झुन्ड्‍याएको जंगलको मौवाको रूख रहेको भन्‍ने स्थान र मृतकलाई मारी लास बगाई बेपत्ता पारिएको भनेको भेरी नदीको किनारको घटनास्थल मुचुल्कासमेत गरेको 

देखियो । उक्त मुचुल्कामा यी प्रतिवादी बिरमाने कामी, जाहेरवाला, तत्कालीन वडा अध्यक्ष रहेका देवबहादुर सिंह र हरिबहादुर सिंह रोहवरमा बसेको देखिन्छ । 

८. प्रतिवादी विरमान वि.कले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी धने कामी छुट्टी भिन्‍न भएका सहोदर दाजु र मृतक करबिरे कामी काकाको छोरा हुन् । मेरो २ ठाउँमा घर रहेको हुँदा बुबाआमा औल घरमा र म लेकको घरमा बस्छु । मिति २०५५।०१।१६ गते घरबाट बुबाले मकै लिएर आइज भनेकोले मकै लिएर जाँदा ढिला भई रात परेकोले बिच बाटोमा रहेको दाजु धने कामीको घरमा गएँ । दाजु काम विशेषले घरबाहिर जानुभएको, घरमा भाउजू पुतली कामी, बच्चाहरू र मृतक करविरे कामी 

थिए । करविरे कामी र भाउजू पुतली कामीबिच पहिलेदेखि नै अनैतिक सम्बन्ध रहेको बारेमा दाजु धने कामीलाई थाहा भई घर बाहिर आई दोवा चियो गरी बस्नुभएको कुरा मलाई तत्काल थाहा भएन । करविरे कामी भाउजू पुतली कामीको बिस्तरामा गएको बखत दाजु धने कामी बाहिरबाट आई यो अपराधी सालेलाई छाड्नु हुँदैन भन्दै करविरे कामीलाई कुटपिट गर्न 

थाले । मलाई डोरी ल्याउ बाँध्नु पर्छ भनेपछि मैले डोरी खोजी ल्याए, करविरे कामीको दुवै हात पछाडिबाट बाँधी दाजु म र भाउजू तीनैजना मिली कुटपिट गरी घाईते बनाई जंगलमा लगी भाउजूले टाउकोमा र मैले पछाडीतिर ढाड कम्बरमा समाती दाजुले घाँटीमा डोरी कसी खुट्टाले किची कर्तव्य गरी मारेका हौं । घरमा पुगेपछि भाउजूलाई यो कुरा कसैलाई नभन्नु हामी गएर लासलाई भेरी नदीमा बगाएर आउँछौं भनी लास भएको ठाउँमा गई रूखबाट लास निकाली पालैपालो बोकी मैदे पुर्‍याई म बाटोमा मान्छेको रेखदेखमा बसेँ, दाजुले लासलाई भेरी नदीमा फाल्नुभयो । भाउजूले हामी दाजुभाइले मारेको भन्‍ने कुरा गरेकी छन् भन्‍ने सुनिएपछि भारत गई लुकीछिपी बसेका थियौं । ६ वर्षपछि म घरमा आएँ । दाजु भारतमै बस्दै आएका 

छन् । लाससहितका डोरीहरू भेरी नदीमा फालिसकेको छ भनी अभियोग दाबीको कसुर गरेको स्वीकारी साबिती बयान गरेको देखियो ।

९. निज प्रतिवादी अदालतमा उपस्थित हुँदा मिति २०५५।१।१६ गते मकै पुर्‍याउन भनी आफू बसेको लेकको घरबाट बुबाआमा बसेको औलको घरमा जाँदा रात परेकोले दाजु धने कामीको घरमा 

गएँ । घरमा भाउजू पुतली कामी, छोराछोरीहरू र मृतक करबिरे कामी थिए । दाजु बाहिर काममा जानुभएको रहेछ । रातको समयमा घरमा आउँदा पुतली कामी र करविरे कामीलाई सँगै सुतेको देखेपछि दाजुले करबिरे कामीलाई कुटपिट गर्न थाले । डोरीले बाँधेर कुटपिट गर्दै सदस्य हरिबहादुर सिंहको घरमा लैजाने भनेपछि मृतक करबिरे कामी, दाजु, भाउजू र म जाँदा बाटोमा मृतकले पेट दुख्यो भनी बसी टाउको तल झुन्ड्याएको केही समयमा पल्टिएकोले उठाएर हेर्दा ज्यान गइसकेको रहेछ । जंगलको रूखमा बाँधी घरमा आई दाजुले डोरी लिएर मृतकलाई भिरमा लगेर फालिदिन्छु, तँ घट्टमा मकै पिस्न जा भनेकोले म घट्टतिर जाँदा डरले बस्न नसकेकोले म बुबाआमाको घर गएँ । धने कामीले लास कहाँ लगरे फाले मलाई थाहा छैन, भोलिपल्ट लेकको घरमा आई कसैलाई नभनेस्, जे भए पनि बेहोर्ने मै हुँ भनेका थिए । असार महिनातिर सबैले थाहा पाइसके भारततर्फ भागी जाऔं भनेकाले भारततर्फ गयौं भन्‍ने तथ्य स्वीकार गरी दाजुले मृतकको अण्डकोषमा कुटपिट गर्दा सो चोटको कारण करविरे कामीको मृत्यु भएको हो, मैले मृतकलाई कुटपिट गरी मारेको होइन भनी मृतकलाई कुटपिट गरेको र ज्यान मारेको कुरामा इन्कारी बयान गरेको देखियो ।

१०. घटनाको प्रत्यक्षदर्शी देखिएकी र प्रस्तुत मुद्दामा प्रतिवादी कायम भएकी प्रतिवादी धने कामीकी श्रीमती पुतली कामीले आफूसँग मृतकको अनुचित सम्बन्ध रहेको आरोप लगाई पति धने कामी र देवर बिरमाने कामीले कर्तव्य गरी मारेको भनी कागज गरेको देखियो । कागज गर्ने पुतली कामी र वारदातमा संलग्न रहेका भनिएका निजका पति धने कामीसमेत हालसम्‍म फरार रहेको देखिन्छ । जाहेरवालाको छोरा बेपत्ता भएको सम्बन्धमा भएको सामाजिक छलफलको क्रममा पुतली कामीले आफूसँग मृतकको अनुचित सम्बन्ध रहेको आरोप लगाई पति धने कामी र देवर बिरमाने कामीले कर्तव्य गरी मारेको बताएको भनी तत्कालीन समयमा छलफलमा रहेका नारायणबहादुर सिंह, हरिबहादुर सिंह, नवराज सिंह, तत्कालीन वडा अध्यक्षसमेत रहेका देवबहादुर सिंहले कागज गरेको देखिएको छ । प्रतिवादी प्रक्राउ परेपछि उनै व्यक्तिहरूसमेत रोहवरमा बसी वारदातस्थलहरूको घटनास्थल मुचुल्का तयार भएको देखियो ।

११. प्रतिवादी बिरमाने कामीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घटनाको स-विस्तार उल्लेख गरी अभियोग दाबीको कसुर गरेको स्वीकारी मृतकलाई मारी लास भेरी नदीमा फालेको भनी साबिती बयान गरेको देखिन्छ । अदालतमा उपस्थित हुँदा वारदातको समयमा मृतक करबिरे कामी दाजु धने कामीको घरमा आएको, बाहिर गएका दाजु राति घरमा फर्की आउँदा मृतक करबिरे कामी भाउजू पुतली कामीको बिस्तारामा सुतेको देखी दाइले कुटपिट गरी डोरीले बाँधी जंगलतर्फ लैजादै गर्दा मरेपछि रूखमा बाँधी घर फर्की आएको कुरामा साबित रहेको देखियो । घर पुगेपछि दाजुले डोरी लिएर मृतकलाई भिरमा लगेर फालिदिन्छु भनी जंगलतर्फ गएको र लास कहाँ लगेर फाले, थाहा नभएको र आफूले मृतकलाई कुटपिट नगरेको, दाजुले मृतकको अण्डकोषमा कुटपिट गर्दा सो चोटको कारण मृत्यु भएको हो भनी बयान गरेको देखिन्छ ।

१२. सहप्रतिवादी पुतली कामीले अनुसन्धानको क्रममा गरेको कागजमा उल्लेख गरेको बेहोरासँग मिल्दोजुल्दो गरी के कसरी मृतक करबिरे कामीलाई मारी भेरी नदीमा फालेको भनी प्रतिवादीले मौकामा बयान गरेको पाइयो । सहोदर दाजुकी श्रीमती पुतली कामीसँग मृतक राति सुत्‍न गएको देखेपछि दुवै दाजुभाइ सँगै भएको अवस्थामा कुटपिट गर्ने कार्य भएको तथ्य खुलेको छ । मृतकलाई राति वारदातस्थल धने कामीको घरमा सुताउने कार्य गरिएको छ । प्रतिवादी  धने कामी एक्लैले मृतक करबिरे कामीलाई मारी भेरी नदीमा फाल्न सक्ने अवस्था रहँदैन ।

१३. प्रतिवादी बिरमाने कामीले मृतकलाई दाजुले कुटपिट गरी मारेको भनी सो वारदात हुँदा उपस्थित रहेको स्वीकार गरेका छन् । घर जान्छु भनी मृतकले भन्दा पनि भोलि साथै जाने भनी मृतकलाई रोकी राखेको भन्‍ने रहेको छ । मृतकको लास भेरी नदीमा फालेको भनी मौकामा निज प्रतिवादीले बयान गरेको पाइन्छ । लास फेला पर्न सकेको 

छैन । दाजु एकजनाले मात्र घरमा कर्तव्य गरी मारी लास फाल्न गएको भन्‍ने भनाइ विश्वासलायक छैन । सहप्रतिवादी पुतली कामीको मौकाको कागजलाई र निज प्रतिवादीको बयान बेहोरालाई हेर्दा मृतकलाई कुटपिट गरी मार्न र लास दबाउने कार्यमा समेत यी प्रतिवादीको संलग्नता रहेकै देखिन्छ ।

१४. घटनाको जानकारी भएपछि यी प्रतिवादी दाजु घने कामीसँगै भारततर्फ गई बसेको भन्‍ने अदालतको बयानबाट देखिएको छ । यस अवस्थामा वारदातस्थलमा देखिएका यी प्रतिवादी रातको समयमा ज्यान मार्नेसम्‍मको कार्य हुँदा असक्त, अपाङ्ग, नाबालक, बृद्धसरह वारदातलाई टुलटुली हेरीमात्र बसे होलान् भन्‍ने कुरा पत्यारलायक देखिएन ।

१५. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. ले कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन, मार्नको उद्योग गर्न हुँदैन भन्‍ने उल्लेख गरेको छ । गैरकानूनी ढङ्गबाट ज्यान मार्ने कार्य कानूनले निषेध गरेकोले निषेधित कार्य गरे अपराध कायम भई कानूनबमोजिम सजाय हुन्छ । सोही महलको १३ (३) नं. मा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गर्दा ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसैको चोटले मरेको भन्‍ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्‍ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ भन्‍ने कानूनी व्यवस्था छ ।

१६. मृतकको लास बरामद भएको 

देखिएन । लास भेरी नदीमा फालेको भन्‍ने मिसिल संलग्न कागजातबाट देखिएको छ । भेरी नदीमा फालेको अवस्थामा लास भेट्टिन सक्ने अवस्था रहँदैन । घटनाको प्रकृति, वारदातको स्वरूप, मुद्दाको उठान, वारदातपश्चात् प्रतिवादी गाउँघर छोडी अन्यत्र भारततर्फ गई बसेको स्थितिसमेतका संकलित सबुत प्रमाणहरूको विवेचनाबाट यी प्रतिवादीसमेत भई मृतकलाई कर्तव्य गरी मारेको पुष्टि भएको छ । लास बरामद नभएको, लासजाँच मुचुल्का र लासको पोष्टमार्टम रिपोर्टसमेत हुन नसकेको भन्‍ने आधारले मात्र प्रतिवादी निर्दोष रहेको मान्‍न मिलेन ।

१७. कर्तव्य ज्यान जस्तो जघन्य अपराधका सबै वारदातमा लास बरामद हुनै पर्छ भन्‍ने हुँदैन, ज्यान मारिसकेपछि वारदातमा संलग्न व्यक्तिले लास दबाउन छिपाउन सकेसम्‍मको प्रयत्न गरेको हुन्छ । घटनाबारे अरू कसैलाई थाहा जानकारी नहोस् र आफूले गरेको अपराधको कानूनबमोजिमको सजाय भोग्नु नपरोस् भनी संलग्न व्यक्ति सचेत रहने र लास दबाई वर्षौंसम्‍म घटनालाई रहस्यको गर्भमा राख्‍ने परिस्थितिको सिर्जना गर्न सकेको अवस्थामा लास फेला नपर्नु स्वाभाविक हुन्छ । लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय गर्नुपर्ने हुन्छ । लास बरामद नभएको आधारमा अपराधीलाई सजायबाट उन्मुक्ति दिनु न्याय र कानूनको दृष्टिमा उचित हुँदैन । लास बरामद नभएको भन्‍ने कुरा प्रतिवादीको उन्मुक्ति पाउने आधार बन्‍न सक्दैन ।

१८. अतः उल्लिखित विवेचित आधार कारण तथा कानूनी व्यवस्थाबाट प्रतिवादी बिरमाने कामी भन्‍ने बिरमान वि.क.लाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय गर्ने गरेको सुरू जाजरकोट जिल्ला अदालतको मिति मिति २०७५।३।४ को फैसलालाई सदर गरेको उच्च अदालत सुर्खेतको मिति २०७५।८।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । फैसलाको प्रतिलिपि साथै राखी कारागार कार्यालय जाजरकोटमा कैदमा रहेका प्रतिवादीलाई फैसलाको जानकारी 

दिनू । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृतः मदन पराजुली

इति संवत् २०७६ साल भदौ १३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु