निर्णय नं. १०३५७ - जबरजस्ती करणी (हाडनातासमेत)
प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७५।३।१३
०६८-CR-०१४०
मुद्दा:- जबरजस्ती करणी (हाडनातासमेत)
पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही, सिपवा गा.वि.स. वडा नं. ८ पतिजिया घर भई हाल कारागार कार्यालय, सुनसरीमा थुनामा रहेको अमर पासी
विरूद्ध
प्रत्यर्थी / वादी : ............को जाहेरीले नेपाल सरकार
प्रत्यक्ष प्रमाणबाट जबरजस्ती करणीको वारदात भएको पुष्टि हुन आएको स्थितिमा पीडितको शारीरिक परीक्षण गर्ने विशेषज्ञको अनुपस्थिति नै प्रतिवादीलाई आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने ।
(प्रकरण नं.६)
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकामा भएको कागज एवं जाहेरवालीको किटानी जाहेरी, प्रतिवादीको मौकाको साबिती बयान बेहोरासमेतबाट वारदात स्थापित भइरहेको स्थितिमा पीडित र जाहेरवालीले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी आफ्नो मौकाको भनाइको प्रतिकूल बेहोरा उल्लेख गरेकै आधारमा प्रतिवादीले सजायबाट उन्मुक्ति पाउन सक्ने स्थिति नरहने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री चुरामणि भुसाल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी
अवलम्बित नजिर :
ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:-
मा.न्या.श्री विश्वमंगल आत्रेय
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.न्या.श्री जगदीश शर्मा पौडेल
मा.न्या.श्री उदय प्रकाश चापागाई
पुनरावेदन अदालत बुटवल
फैसला
न्या.टंकबहादुर मोक्तान : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मिति २०६६/११/१७ गते होली पर्वको दिन भएकोले होली पर्व खेली साँझको खाना खाई हामीहरू घरको बरण्डामा म तथा छोरीसमेत भई सुतेका
थियौं । मेरो बहिनीको छोरा अमर पासी सानै उमेरदेखि मेरो घरमा नै बस्दै आएको थियो । सो दिन अमर पासी साथीभाइहरूसँग होली खेल्न भनी गएको र होली खेली राति अ.११.०० बजे घरमा आएछ । हामीहरू निन्द्रामा थियौं । म कुनामा र छोरी छेउतर्फ सुतेका थियौं । मेरी छोरी वर्ष ८ की ............ सुतेको छेउमा गई ............लाई उठाई फकाई फुल्याई गरी ............माथि चढी जबरजस्ती करणी गरी कोही कसैलाई नभन्नु भनी डर त्रासमा पारी निज अमर पासी घरभित्र गई सुतेछन् । भोलिपल्ट मिति २०६६।११।१८ गते छोरी उठ्न नमानेको र निन्याउरो मुख लगाई बसेको देखी के भयो भनी सोध्दा अकमकाएको, निजको कट्टु, कपडा तथा विस्तारामा समेत रगत देखेपछि पुनः छोरीलाई के भयो भनी सोध्दा मलाई राति दाजु अमर पासीले कोही कसैलाई नभन्नु भनी जबरजस्ती करणी गरेको भनी प्रस्ट बताएपछि उक्त कुरा प्रस्ट हुन आएकोले मेरी बहिनीको छोरा अमर पासीले मेरी छोरी वर्ष ८ की ............लाई हाडनाता जबरजस्ती करणी गरेको हुँदा निजलाई प्रकाउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............को जाहेरी दरखास्त ।
जिल्ला रूपन्देही, मधुवनी गा.वि.स. वडा नं. ८ महिलवार गाउँस्थित पूर्वमा बाठे पासीको एकतले खपडाको घर, पश्चिममा भारत भुजको एकतले पक्की घर, उत्तरतर्फ त्रिभुवन पासीको घर, दक्षिणतर्फ भारत भुजको एक तले पक्की घर यति चारकिल्लाभित्र रहेको ............को बस्ने एक तले पूर्व मोहडा भएको खपडाको घरभित्र एक कोठा बाहिर बरण्डा भएको सो बरण्डामा सुतिरहेकी ............लाई मिति २०६६।११।१७ गते राति ११.०० बजेको समयमा अमर पासीले निज ............लाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।
मिति २०६६/११/१७ गते साँझ हामीहरू घर परिवार खाना खाई सुतेका थियौं । अमर पासीको आमा र मेरी आमा दुई दिदी बहिनी हुन् । हामीहरू बिच दाजु बहिनीको नाता पर्दछ । सानै उमेरदेखि अमर पासी हामी बसेको घरमा बस्दै आएका थिए । उक्त दिन होली पर्व भएकाले अमर पासी होली खेली राति ११.०० बजे सुत्न आएका रहेछन् । म निदाएको थिएँ । निजले रक्सी खाएका रहेछन् । निजको मुखबाट रक्सीको गन्ध आएको थियो । निजले मलाई उठाई फकाई डर त्रासमा पारी मेरो कट्टु खोली ममाथि चढी जबरजस्ती करणी गरेका हुन् । जबरजस्ती करणी गर्ने पक्राउ भई यस कार्यालयको हिरासतमा रहेका प्रतिवादी अमर पासीलाई हेरी देखी प्रस्टसँग चिनें । अ.बं. १७३ नं. बमोजिम सनाखतसमेत गरिदिएँ भनी पीडित ............ले गरेको कागज ।
मिति २०६६।११।१७ गते होली पर्वको दिन भएको कारण म होली खेलिसकेपछि साँझ परेको कारण सुत्न भनी हिँडेको र मेरो घर जिल्ला रूपन्देही सिपवा वडा नं.८ मा पर्ने भए तापनि मेरी आमाकी ठूली दिदी मेरो ठूली आमा घर जिल्ला रूपन्देही, मधुवनी गा.वि.स. वडा नं. ८ महिलवारमा बस्दै आएको कारण मिति २०६६/११/१७ गते राति ११.०० बजेको समयमा सोही ठूली आमाको घरमा सुत्न गएकोमा ठूली आमा जाहेरवाली ............ र ............समेत बाहिर बरण्डामा सुतेका र मस्त निन्द्रामा थिए । म रक्सीको नशामा थिएँ । सोही कारण ............को नजिकै गई ............लाई हल्ला नगर, चुप लाग, हल्ला गरे पिटिदिन्छु भनी डर त्रासमा पारी निजको र मेरोसमेत कट्टु खोली ............को योनिमा मेरो लिङ्ग छिराउँदा ............ रून थालेकीले ............को योनिबाट मेरो लिङ्ग बाहिर निकाली वीर्य झर्न नपाएको भए तापनि नाबालिकालाई जबरजस्ती करणी गरेको हुँ । प्रहरीले मलाई पछि पक्राउ गरेका हुन् भन्नेसमेत बेहोराको अमर पासीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
............को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर पासी भएको जबरजस्ती करणी मुद्दामा पीडित ............को उमेर कति हो भनी खुलाउने सम्बन्धमा प्रहरी अधिकृतसमेतको डोरबाट हामीहरूलाई सोधनी भएकोमा हामीहरूको चित्त
बुझ्यो । हामीहरूको बेहोरा यो छ कि पीडित अनिषा पासी र हामीहरूको घर एउटै गाउँ टोलमा पर्दछ । निज हामीहरूकै घर छिमेकी बालिका हुन् । निजलाई अमर पासीले जबरजस्ती करणी गरेपश्चात् निज डर त्रास वा के कारणबाट हो घर छोडी अन्यत्र गई बसेका छन् । ............को बाबुआमाले हालसम्म पनि गा.वि.स. बाट जन्म दर्ता गराएका रहेनछन् । निजको जन्म दर्ता नगराएको भए तापनि निजको जन्म २०५८ सालमा भएको हो । महिना गते यकिन छैन । निज ८ वर्षकी भएकी छन् भनी जिल्ला रूपन्देही मधुवनी गा.वि.स. वडा नं. ८ बस्ने पल्टन पासीसमेतका व्यक्तिहरूले गरिदिएको उमेरसम्बन्धी मुचुल्का कागज ।
प्रतिवादी अमर पासी केही वर्ष महिनादेखि आफ्नै ठुली आमा जाहेरवालीको घरमा बस्दै आएका थिए । मिति २०६६/११/१७ गते होली पर्वको राति ११.०० बजेको समयमा प्रतिवादी अमर पासीले आफ्नै ठुली आमा जाहेरवालीको छोरी वर्ष ८ की ............लाई जबरजस्ती करणी गरेको भन्ने कुरा सोही राति थाहा पाएको हुँ । प्रतिवादी अमर पासी र पीडित ............दुई दिदी बहिनीका छोरा छोरी हुन् । निज प्रतिवादीले नाबालिकालाई के कसरी कस्तो सोच विचार बनाई जबरजस्ती करणी गरी जघन्य अपराध गरेका हुन् बताउन सक्दिन भन्नेसमेत बेहोराको पल्टन पासी, शम्भु पासी, जोखन पासी र रामलखन लोधसमेतका व्यक्तिहरूको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
Bleeding per vaginum; swelling and tenderness over external genitals; perinea tear @ 6 o’ Clock position, hymen seems to be intact, spermatozoa not found भन्ने बेहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादी अमर पासीले हाडनाताभित्रकी वर्ष ८ की नाबालिका ............लाई जबरजस्ती करणी गरेकोले निजलाई मुलुकी ऐन, जबरजस्तीको महलको १, २ र ३(१) को कसुर अपराध गरेकाले निज अमर पासीलाई सोही महलको ३ नं. को देहाय (१) बमोजिम सजाय हुनुको अतिरिक्त बहिनी नाताकी आफ्नी ठूली आमाकी छोरीलाई जबरजस्ती करणी गरेको स्थिति हुँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको २ को देहाय १ को कसुरमा सोही महलको २ को देहाय १ बमोजिम सजायसमेत गरी पीडित ............लाई सोही महलको १० नं. बमोजिम प्रतिवादीबाट कानून बमोजिम क्षतिपूर्ति दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग माग दाबी ।
जाहेरी दरखास्तको सबै बेहोरा झुट्ठा हो । मैले ............लाई जबरजस्ती करणी गरेको छैन । पीडितको कागजको बेहोरासमेत सबै झुट्ठा हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा मेरो होइन । के के लेखेका थिए, मलाई पढी बाची सुनाएका
होइनन् । पिटाई खाने डरले यहाँ सही गर भनेकाले सहिछाप गरेको हुँ । म रक्सी सेवन गर्दिन । मैले ............लाई जबरजस्ती करणीसमेत गरेको छैन । म निर्दोष छु । मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनु पर्ने होइन र मैले क्षतिपूर्ति दिनुपर्नेसमेत होइन भन्नेसमेत बेहोराको प्रतिवादी अमर पासीले सुरू अदालतमा गरेको बयान ।
किटानी जाहेरी, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाइ, पीडितले गरिदिएको घटनासम्बन्धी कागज र प्रतिवादीको मौकाको बयानसमेतका तत्काल प्राप्त प्रमाणहरूको आधारमा तत्कालको अवस्थामा यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिएन । तसर्थ, पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नियमानुसारको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने गरी थुनामा राख्न कारागार कार्यालय रूपन्देहीमा पठाई दिनू भन्ने बेहोराको सुरू रूपन्देही जिल्ला अदालतबाट भएको मिति २०६६।१२।१६ को थुनछेक आदेश ।
जाहेरी दरखास्त मैले दिएको होइन । सोमा भएको बेहोरा मेरो होइन । सही छाप गर, तपाइँको छोरालाई छोडिदिन्छु भनेको हुँदा सहिछाप गरेको
हुँ । ओछ्यानमा लागेको रातो टाटो होलीको रङ रहेछ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको साक्षी जाहेरवाली ............को बकपत्र ।
मलाई चोट लागेर मेरो पिसाब फेर्ने ठाउँ सुन्निएको हो । मेरो दाजु अमर पासीले मलाई केही गरेको होइन भन्ने बेहोराको पीडित ............ले गरेको बकपत्र ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित रही बयान गरेको, सो बयानलाई किटानी जाहेरी, वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइ एवं पीडितको मौकाको कागज र मेडिकल परीक्षण हेर्दासमेत सो प्रमाणबाट सम्पुष्टि गरिदिएको अवस्था
छ । घटनाका सम्बन्धमा प्रतिवादीले इन्कारी बयान गरेको र पीडितले करणी भएको होइन भनी इन्कार रही बयान बकपत्र गरे पनि सो वारदातको तथ्यलाई अन्यथा भन्न सकिने स्थिति छैन । घटनाका पात्रहरूले अन्यत्र मोडने प्रयास गरे पनि स्थापित सत्यलाई बिगार्न, संशोधन गर्न सक्ने कुरै भएन । जबरजस्ती करणी जस्तो जघन्य अपराधमा घटनाका पात्रहरूको आत्मसमर्पणलाई प्रमुखता दिई कसुरदारलाई उन्मुक्ति दिनु न्यायसङ्गत पनि देखिँदैन । सो सम्बन्धमा प्रतिपादित पछिल्ला सिद्धान्तहरूलाई आधार बनाउँदा प्रतिवादी अमर पासीले जबरजस्ती करणीको १, २ र ३(१) नं. को कसुर गरेको ठहर्छ । निजलाई १० वर्ष कैद सजाय हुने र क्षतिपूर्तिबापत पीडितले प्रतिवादीबाट १५,०००।– भराइ लिन पाउने ठहर्छ । हाडानाता करणीतर्फ पनि सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।०३।१४ को फैसला ।
स्वयम् पीडितले अदालतमा उपस्थित भई करणी गरेको होइन भनी बकपत्र गरिदिएको अवस्था छ । मेरी छोरी मसँगै सुतेकी छ भनी जाहेरवालीले अदालतमा बकपत्र गरेकी र सो बेहोरालाई पीडित भनिएकी ............ले समर्थन हुने गरी बकपत्र गरिसकेको अवस्थामा कल्पनाको आधारमा कसुरदार ठहर गरिएको छ । वारदात स्थापित गर्न प्रमाण पुर्याउने भार वादी पक्षको रहेकोमा वस्तुस्थितिलगायतका प्रमाणले समर्थन गरेको छैन । यस स्थितिमा घटनाका पात्रको आत्मसमर्पण भन्ने शब्दावली फैसलामा प्रयोग गरी भएको फैसला न्यायोचित छैन । हाडनातातर्फको अभियोग ठहर नहुनुबाट पनि जबरजस्ती करणीको अभियोग ठहर हुन नमिल्नेतर्फ विचार नगरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अमर पासीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।
हाडनाता करणीतर्फ सजाय नहुने ठहर्याएको सुरू फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको देखिएन ।
जाहेरवाला ............ तथा पीडितसमेतले अदालतमा उपस्थित भई बकपत्र गर्दा जाहेरी बेहोरा र पीडितको मौकाको कागजको बेहोरालाई इन्कार गरिरहेको देखिएको र वादी नेपाल सरकारको तर्फबाट अन्य प्रमाण प्रस्तुत हुन पनि सकेको नदेखिँदा सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०६७/३/१४ मा पुनरावेदक प्रतिवादीलाई सजायसमेत गर्ने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नू भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६७।११।८ को आदेश ।
मौकाको किटानी जाहेरी पीडितको कागज र प्रतिवादीको मौकामा भएको बयान तथा पीडितको गुप्ताङ्ग परीक्षणसमेतका आधार प्रमाणबाट आरोपित कसुर स्थापित भइरहेको अवस्था हुँदा केवल प्रतिवादीको अदालतको इन्कारीकै भरमा निज निर्दोष होला भनी भन्न मान्न किमार्थ मिलेन । अतः प्रतिवादी अमर पासीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडितले क्षतिपूर्तिबापत रू. १५,०००।– भराइ लिन पाउने ठहराई मिति २०६७/३/१४ मा रूपन्देही जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६७/११/२९ को फैसला ।
जबरजस्ती करणी पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण वादीबाट केही पनि पेस गरिएको छैन । जाहेरवालीले जाहेरी नगरेको कुरा प्रस्ट बताई बकपत्र गरेको र ............ले समेत आफूलाई प्रतिवादीले जबरजस्ती करणी नगरेको भनी बकपत्र गरेको कुरालाई अन्यथा भन्नु पर्ने अवस्था छैन । पीडितको शारीरिक परीक्षण गर्दा केही Swelling भएको रगत, देखिएको भन्ने प्रतिवेदन पेस भए पनि सो कुरा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणित भएको
छैन । मैले अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको छु । अनुसन्धानको क्रममा भएको मेरो बयान डर धाक देखाई गराइएको अवस्थामा अभियोग मागदाबीअनुसार सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर उल्टी गरी झुट्ठा अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अमर पासीको यस अदालतसमक्ष दायर हुन आएको पुनरावेदन ।
पीडितले गरेको अदालतको बकपत्रमा शारीरिक जाँच भएको छैन भन्ने र मिसिल संलग्न पीडितलाई मौकामा शरीर परीक्षण गर्ने मेडिकल अधिकृतको प्रतिवेदनमा Bleeding Per Vaginum भन्ने उल्लेख भएपछि निज मेडिकल अधिकृतको बकपत्र नै हुन नसकेको अवस्थामा जाहेरवाला र पीडितको मौकाको कागज एवं अदालतमा भएको बकपत्र फरक भएको देखिएको र घटना घट्दाको अवस्थामा पीडित र जाहेरवालाले गरेको कागजलाई अन्यथा भनी अदालतमा बकपत्र गरेपछि सोको सत्यता यकिन हुनुपर्ने देखिन्छ । यसरी जाहेरवाला एवं पीडितको अदालतको बकपत्र बेहोरा सत्य भए प्रतिवादीले सफाइ पाउनु पर्ने र मौकामा भएको कागज बेहोरा सत्य भए सजाय हुन सक्नेमा निजहरूको मौकाको कागज एवं बकपत्र बेहोरामा फरक परेपछि त्यसको कानूनी दायित्वसम्बन्धी प्रश्नको यकिन गर्नुपर्नेमा सो नगरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नेपाल सरकारलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२/०३/२३ को आदेश ।
यस अदालतबाट मिति २०७२/०३/२३ मा पीडितको शारीरिक परीक्षण गर्ने विशेषज्ञलाई बकपत्र नगराई फैसला भएको देखिएको भन्ने आधारमा प्रत्यर्थी झिकाउने आदेश भएकोमा पीडितले अदालतसमक्ष बकपत्र गर्दा आफ्नो शारीरिक परीक्षण भएको छैन भनी उल्लेख गरेको भए तापनि मिसिल संलग्न कागजातबाट पीडितको शारीरिक परीक्षण भएको देखिएको हुँदा पीडितको शरीर जाँच गर्ने विशेषज्ञ बुझ्नु पर्ने देखिएकोले शरीर जाँचको प्रमाणित प्रतिलिपि भीम अस्पताल भैरहवामा पठाई जाँच गर्ने विशेषज्ञको नाम खुलाउन लगाई खुलाई आए निजलाई झिकाई बकपत्र गराई नियमबमोजिम पेस गर्नू भन्ने यस अदालतको मिति २०७३/१०/१० को आदेश ।
यस अदालतको मिति २०७३/१०/१० को आदेशानुसार पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सक डा. निपुन कपालीको नाउँको म्याद बेपत्ते तामेल भई आएको देखिएकोले निज चिकित्सकको सही वतन मेडिकल काउन्सिलमा हुने हुनाले निजलाई उपस्थित गराई दिनू भनी मेडिकल काउन्सिललाई लेखी निज चिकित्सक उपस्थित भएपछि बकपत्र गराई नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालतको मिति २०७४/११/०९ को आदेश ।
डा. निपुन कपाली अध्ययनको निम्ति संयुक्त राज्य अमेरिका गएको भन्ने पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएकोले बकपत्र गराउन सम्भव नरहेको भन्ने बेहोराको प्रतिवेदन मिसिल सामेल रहेको ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री चुरामणि भुसालले जाहेरवालीले आफूले जाहेरी नगरेको कुरा प्रस्ट बताई बकपत्र गरेको अवस्था छ । पीडित ............ले समेत आफूलाई प्रतिवादीले जबरजस्ती करणी नगरेको भनी बकपत्र गरेको छ । पीडितको शारीरिक परीक्षण गर्दा केही योनि सुन्निएको, रगत देखिएको भन्ने प्रतिवेदन पेस भए पनि सो कुरा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणित भएको छैन । प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको छ । अनुसन्धानको क्रममा भएको प्रतिवादीको बयान डर धाक देखाई गराइएको हो । जबरजस्ती करणी पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा प्रतिवादीलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले त्यस्तो त्रुटिपूर्ण फैसला उल्टी गरी झुट्ठा अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा आफूले कसुर गरेकोमा साबित नै रही बयान गरेको छ । निजको बयानलाई किटानी जाहेरी, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाइ, पीडितले गरिदिएको मौकाको कागजलगायतका प्रमाणहरूले समर्थन गरिरहेको अवस्था छ । योनिबाट रगत आइरहेको, योनि सुन्निएको भन्नेसमेत बेहोराको पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट समेत प्रतिवादीको मौकाको बयानलाई समर्थन नै गरेको देखिन्छ । जाहेरी दिएको होइन भन्ने बेहोराको जाहेरवालीको बकपत्र, प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भन्ने पीडितको बकपत्र र प्रतिवादीले समेत अदालतमा आई घटना घटेको होइन भनी इन्कारी बयान गरेको अवस्था भए पनि प्रतिवादीको मौकाको बयानलाई, पीडितको शारीरिक परीक्षण प्रतिवेदनले समर्थन गरेको तथ्यलाई अन्यथा भन्न सक्ने अवस्था विद्यमान नरहेकोले मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको कुरा पुष्टि भइरहेको हुँदा निज प्रतिवादीलाई सजाय हुने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिँदा सो फैसला सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब यसमा पुनरावेदक प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुने ठहर्याएको सुरू फैसला सदर गर्ने गरेको मिति २०६७।११।२९ को पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ वा छैन ? प्रतिवादी अमर पासीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६६/१/१७ गते होली पर्वको दिन भएकोले होली खेली साँझको खाना खाई म तथा छोरीसमेत भई घरको बरण्डामा सुतेका थियौं । मेरी छोरी अनिषा पासी सुतेको छेउमा प्रतिवादी गई छोरीलाई उठाई फकाई फुल्याई गरी ............माथि चढी जबरजस्ती करणी गरी कोही कसैलाई नभन्नु भनी डर त्रासमा पारी निज अमर पासी घरभित्र गई सुतेछन् । भोलिपल्ट मिति २०६६/०१/१८ गते छोरी उठ्न नमानेको र निन्याउँरो मुख लगाई बसेको देखी के भयो भनी सोध्दा अक्मकाएकी, निजको कट्टु तथा बिस्तारामा समेत रगत देखेपछि पुनः छोरीलाई के भयो भनी सोध्दा मलाई दाजु अमर पासीले कोही कसैलाई नभन्नु भनी जबरजस्ती करणी गर्यो भनी बताएकीले मेरी छोरी वर्ष ८ की ............लाई अमर पासीले जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत पीडितकी आमा ............को किटानी जाहेरी परी अनुसन्धान भएको प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरी तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको १, २ नं. र ३(१) नं.समेतको कसुर गरेको देखिएकोले ऐ.को ३(१) नं. बमोजिम निज प्रतिवादीलाई सजाय हुन अभियोग मागदाबी भएकोमा यी पुनरावेदक प्रतिवादीले अभियोग दाबीअनुसार कसुर गरेको ठहर्याई प्रतिवादीबाट पीडितले क्षतिपूर्तिसमेत पाउने सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदक प्रतिवादीको पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो ।
३. अब, अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेमा इन्कार रही अदालतसमक्ष बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा ............लाई हल्ला नगर, चुप लाग, हल्ला गरे पिटिदिन्छु भनी डर त्रासमा पारी निजको र मेरोसमेत कट्टु खोली ............को योनिमा मेरो लिङ्ग छिराउँदा ............ रून थालेकीले ............को योनिबाट मेरो लिङ्ग बाहिर निकालेको हुँ, वीर्य झर्न पाएनसमेत भनी पीडितलाई जबरजस्ती करणी गरेको कुरा स्वीकार गरी बयान गरेको पाइयो ।
४. पीडित ............ले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीले जबरजस्ती करणी गरेका होइनन्, चोटपटक लागेर आफ्नो योनिबाट रगत बगेको भनी बकपत्र गरेको देखिए तापनि अनुसन्धान अधिकारीसमक्ष मौकामा कागज गर्दा प्रतिवादी अमर पासीले म निदाएको अवस्थामा मेरो कट्टु खोली ममाथि चढी जबरजस्ती करणी गरे, म कराउँदा हल्ला नगर्नु भनी डर त्रास देखाएकोले हल्ला गरिन, मेरो योनिबाट रगत बगिरहेको देखी आमाले सोध्दा सबै कुरा बताएकी हुँसमेत भनी कागज गरेको देखियो र यी पीडितको मौकामा कागज हुँदा जाहेरवाला ............समेत रोहवरमा बसेको देखिन्छ । जाहेरवाली (पीडितकी आमा) ले जाहेरी मैले दिएकी होइन, जाहेरीको सहिछाप मेरो होइनसमेत भनी अदालतको बकपत्रमा लेखाएकी भए तापनि मिति २०६६।११।१८ गते छोरी उठ्न नमानेको र निन्याउँरो मुख लगाई बसेको देखी के भयो भनी सोध्दा अकमकाएकी, निजको कट्टु, कपडा तथा विस्तारामा समेत रगत देखेपछि पुनः छोरीलाई के भयो भनी सोध्दा मलाई राति दाजु अमर पासीले कोही कसैलाई नभन्नु भनी जबरजस्ती करणी गरेको भनी छोरीले मलाई भनेकी होसमेत भनी मौकामा किटानी जाहेरी दिएकी देखिएको र योनिबाट रगत बगेको, योनि सुन्निएको र योनि र गुदद्वारको बिचमा च्यातिएको भन्ने बेहोराको पीडितको मौकाको शारीरिक परीक्षणबाट जाहेरवालीको जाहेरी बेहोरा र पीडितको मौकाको कागज बेहोरा समर्थित भइरहेको देखिन आएबाट पीडित र जाहेरवालीको अदालतको बकपत्र बेहोरा अन्यथा रहेको देखिन आउँछ । प्रतिवादी पीडितकी दाइ नाताका (आमाकी बहिनीका छोरा) हुन् भन्ने जाहेरीसमेतबाट खुल्न आएकाले पारिवारिक सम्बन्धभित्रको व्यक्तिबाट प्रस्तुत वारदात भएकाले समय अन्तरालमा यसरी प्रतिवादी र पीडित तथा जाहेरवालीको भनाइमा फरक आउनुलाई अस्वाभाविक मानिँदैन । अर्थात् मानवीय स्वभावको कारण यस्तो हुनुलाई इन्कार गर्न सकिन्न ।
५. पीडितको शारीरिक परीक्षण प्रतिवेदन हेर्दा Bleeding per vaginum; swelling and tenderness over external genitals; perinea tear @ 6 o’ Clock position, hymen seems to be intact, spermatozoa not found भन्ने
देखिन्छ । यसरी पीडितको शारीरिक परीक्षणबाट पीडित ............को योनिबाट रगत बगेको, योनि सुन्निएको योनिको बाहिरी भाग छुँदा दुख्ने भएको, योनि र गुदद्वार बिचमा च्यातिएको भन्नेसमेत देखिएको छ । योनिमा चोट लागी रगत आएको भन्ने पीडितको अदालतको बकपत्र भनाइ रहे तापनि अन्य चोट सम्बन्धमा शारीरिक परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिँदैन भने चोटको उक्त प्रकृतिले पीडितलाई जबरजस्ती करणी भएको सङ्केत गर्दछ । यस स्थितिमा मिसिल संलग्न पीडितको शारीरिक परीक्षण, निजको मौकाको कागज, जाहेरवालीको किटानी जाहेरी, प्रतिवादीको मौकाको साबिती बयानलगायतका प्रत्यक्ष प्रमाणहरूलाई पन्छाई वारदातपछिको लामो समय अन्तरालमा विभिन्न कारणले आएको मानवीय स्वभावस्वरूप व्यक्त पीडित र जाहेरवालीको मौखिक (बकपत्र) भनाइलाई आधार मानी प्रतिवादीलाई कसुरबाट उन्मुक्ति दिने हो भने न्यायमा विचलन आई न्याय सम्पादनमा सोको दुरगामी असर पर्ने जाने हुन्छ । यस सम्बन्धमा ने.का.प. २०७४ भाद्र, भाग ५९, अंक ५, नि.नं. ९८१२, पृष्ठ ८५९ मा प्रकाशित पुनरावेदक प्रतिवादी कुमार गुरूङ विरूद्ध प्रत्यर्थी वादी नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दामा "समयको अन्तरालपछि अदालतमा भएको बकपत्रमा पीडित र जाहेरवालाले प्रतिवादीलाई फाइदा पुग्ने गरी वा सजायबाट उन्मुक्ति दिने कुनै लोभ लालच वा प्रभाव वा दबाबसमेतमा परी वा माफी दिने सोच बनाई आफ्नै मौकाको भनाइलाई खण्डन गरे पनि पीडितको स्वास्थ्य परीक्षणले वारदात स्थापित भइरहेको अवस्थामा पीडितको मौकाको भनाइलाई प्रमाणमा लिन मिल्ने, प्रतिवादीले साक्षीहरूलाई आश, त्रास वा प्रलोभनमा पारी अनुसन्धानका क्रममा मौकामा दिएको बयानमा अन्यत्र मोड्न Hostile बनाउन खोज्ने, Hostile भएकै आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिन नमिल्ने, जबरजस्ती करणी अपराधमा चस्मदिद गवाह पीडित नै हुने र पीडितले मौकामा व्यक्त गरेको कुरा नै सत्य हुन्छ किनकि त्यसबेला आफूलाई परेको पीडा मानसपटलबाट हटेको नहुने" भनी सिद्धान्तसमेत प्रतिपादन भएको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा प्रतिवादीले कसुरबाट मुक्ति पाउँछ भन्न मिल्ने देखिन आएन । अन्य मिसिल संलग्न प्रमाणका आधारमा न्याय निरूपण हुन अनिवार्य हुन्छ ।
६. पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि अदालतमा उपस्थित गराउनु भनी यस अदालतबाट पटकपटक आदेश भए पनि निज चिकित्सक हाल अमेरिका अध्ययनका लागि गएका कारण बकपत्रका लागि उपस्थित गराउन सम्भव भएको देखिएन । तथापि माथि विवेचना भएअनुसार मौकामा भएको पीडितको शारीरिक परीक्षणसमेतका मिसिल संलग्न प्रत्यक्ष प्रमाणबाट जबजस्ती करणीको वारदात भएको स्पष्ट देखिएको जसमा पीडितको मौकाको कागज र जाहेरवाली पीडितको आमाको मौकाको जाहेरी बेहोरा र प्रतिवादीको मौकाको साबिती बयानसमेतबाट पुष्टि भएको अवस्थामा पीडितको शारीरिक परीक्षण गर्ने विशेषज्ञ अनुपस्थित भई बकपत्र हुन नसकेको आधारमा ती मिसिल संलग्न प्रत्यक्ष प्रमाणबाट जबरजस्ती करणीको वारदात भएको पुष्टि हुन आएको स्थितिमा पीडितको शारीरिक परीक्षण गर्ने विशेषज्ञको अनुपस्थिति नै प्रतिवादीलाई आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न सक्दैन ।
७. यसप्रकार उपर्युक्तानुसार मौकाको जाहेरी दरखास्त, पीडितको मौकाको कागज र निज पीडितको शारीरिक परीक्षण प्रतिवेदन, पुनरावेदक प्रतिवादीको मौकाको साबिती बयानसमेतबाट पीडितलाई जबरजस्ती करणी भएको पुष्टि हुन आएको अवस्था देखिएको छ । वारदात नै नभएको भए जाहेरवालीको आफ्नै बहिनीको छोरा र पीडितको दाजु नाता पर्ने यी प्रतिवादी विरूद्ध जबरजस्ती करणी जस्तो सङ्गीन अपराध गरेको भनी आरोप लगाउनु पर्ने अवस्था नहुने र बहिनी नाता पर्ने पीडित र ठुली आमा नाताकी जाहेरवालाले आफूउपर जीवनभर सामाजिक लाञ्छना बेहोर्नु पर्ने गरी करणी जस्तो गम्भीर प्रकृतिको आरोप लगाउनु पर्ने कुनै कारण प्रतिवादीले खुलाउन नसकेको अवस्थामा यी पुनरावेदक प्रतिवादीलाई निर्दोष मान्न सकिने स्थिति रहेन ।
८. तसर्थ, योनिबाट रगत बगिरहेको, योनि सुन्निएको र छुँदा दुखेको, योनि र गुदद्वारको बिचमा च्यातिएकोसमेत भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकामा भएको कागज एवं जाहेरवालीको किटानी जाहेरी, प्रतिवादीको मौकाको साबिती बयान बेहोरासमेतबाट वारदात स्थापित भइरहेको स्थितिमा पीडित र जाहेरवालीले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी आफ्नो मौकाको भनाइको प्रतिकूल बेहोरा उल्लेख गरेकै आधारमा यी प्रतिवादीले सजायबाट उन्मुक्ति पाउन सक्ने स्थिति रहेको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर एवं यस अदालतबाट मिति २०७२/०३/२३ गते भएको प्रत्यर्थी झिकाउने आदेशसँग सहमत हुन सकिएन ।
९. अतः माथि विवेचित आधार, कारणबाट यी पुनरावेदक प्रतिवादीले पीडित ............लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी अमर पासीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. बमोजिम १० (दश) वर्ष कैद हुने र निज प्रतिवादीबाट पीडितले क्षतिपूर्तिबापत रू. १५,०००।– भराइ लिन पाउने ठहर्याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०६७/०३/१४ मा भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको मिति २०६७/११/२९ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी अमर पासीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी सुरू तथा पुनरावेदन अदालतको मिसिल तत्तत् अदालतमा पठाई यस अदालतको रेकर्ड मिसिल नियमानूसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत:- विकास श्रेष्ठ / शिवप्रसाद आचार्य
इति संवत् २०७५ साल असार १३ गते रोज ४ शुभम् ।