शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३६८ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७६।१।२२

 

मुद्दाः कर्तव्य ज्यान

 

०७४-RC-०१०१

पुनरावेदक / वादी : चेतनारायण बुढाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ

 

०७४-CR-११९८

पुनरावेदक / प्रतिवादी : कृष्णबहादुर तामाङको छोरा जिल्ला बारा, गढिमाई न.पा. वडा नं.१ पथलैया घर भई हाल कारागार कार्यालय, जगन्‍नाथदेवल, काठमाडौंमा थुनामा रहेका मंगलबहादुर तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : चेतनारायण बुढाको जाहेरीले नेपाल सरकार 

 

विषालु र नशालु पदार्थ सेवन गरेको २४ घण्टाभन्दा बढी अवधि व्यतित भएपश्‍चात् Viscera निकालेर परीक्षणको लागि पठाएको भिसेरामा नशालु र विषालु पदार्थ नपाइएको भनी दिएको प्रतिवेदनलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीले अदालतमा गरेको बयानमा स्वीकार गरेको तथ्यलाई अन्यथा गरी निष्‍कर्षमा पुग्नु प्रमाण कानूनको सिद्धान्तअनुकूल नहुने ।

(प्रकरण नं.७)

 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री शोभा कार्की

वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

केही नेपाल कानूनलाई एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री नरबहादुर शाही

माननीय न्यायाधीश श्री लक्ष्मीकृष्ण श्रेष्ठ

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ रामनगर स्थित पूर्व जयबहादुर गुरूङको घर, पश्‍चिम, बाटो उत्तर अशोक गुप्ताको घर, दक्षिण केशव थापाको घर, यति चार किल्लाभित्रमा रहेको १० कोठा भएको दिनेशकुमार उपाध्यायको पश्चिम मोहडाको २ तले घर, सो घरको गल्लीबाट भित्र भुइँतलामा प्रवेश गर्दा सो गल्लीको अन्तिम दक्षिणतर्फको उत्तरतर्फ झ्याल भएको, उक्त कोठामा हेर्दा सो कोठामा खाट पलङ केही नभएको, १ थान म्याट, १ ओटा डसना, २ ओटा सिरानी, १ थान तन्ना रहेको, उक्त कोठाको पश्चिमतर्फको सिमेन्टले बनेको ४ खानाको र्‍याकको अन्तिम खानामा २ ओटा रियल म्याङ्गो फ्रुटी, सोमध्ये १ ओटा खाली १ ओटा आधा रहेको, १ प्याकेट बिस्कुट खोलिएको अवस्थामा रहेको, र्‍याकमा १ ओटा रातो जग रहेको, भुइँमा सुन्तला र केही सुन्तलाका बोक्राहरू रहेको, मिनरल वाटरको बोतल रहेको भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति 

मुचुल्का ।

बुटवल नगरपालिका वडा नं. १२ रामनगर स्थित दिनेश उपाध्यायको घरमा चन्द्रौटातर्फ घर बताउने व्यक्तिलाई घरको कोठा भाडामा दिएको, सो कोठामा दिउँसो निज व्यक्तिले १ जना महिलालाई लिई आएकोमा बेलुका उक्त कोठाको बाहिरबाट ताला लगाएको तर मानिस घुरेको आवाज सुनेपछि घरबेटीले उक्त कोठामा हेर्दा भित्र मानिस सुतेको र बाहिरबाट कोठामा ताला लगाएको देखी राति २३:०० बजेको समयमा उक्त कोठावाला नआएको हुँदा प्रहरीलाई खबर गरेपश्चात् मसमेतको प्रहरी टोली उक्त घटनास्थलमा खटी गई कोठाको बाहिरबाट लगाएको ताला तोडी ती महिलालाई बोलाउँदासमेत नबोलेकी हुँदा निजलाई बेहोस अवस्थामा रहेको देखी निजलाई मसमेतको सहायताले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगी घरबेटीलाई निजको उपचारमा कुनै कमी हुन नदिन भनी हेरविचार गर्न लगाई घटनास्थल मुचुल्कासमेत गरी यसै प्रतिवेदन साथ दाखिला गरेको छु भन्‍नेसमेत बेहोराको प्र.ना.नि गिरीराज अर्यालको प्रतिवेदन ।

आमा निरमाया बुढाको ९८४७२६६१४७ नं. को मोबाइलमा अपरिचित मानिसको फोन आइरहन्थ्यो, फोन आएपछि आमा बाहिर जाने र कुरा गर्ने गर्नु हुन्थ्यो, कस्को फोन हो भन्दा तिमीहरूलाई किन चाहियो भन्नु हुन्थ्यो, हामीहरूलाई शंका लागी आमाको आँखा छली मोबाइलमा हेर्दा ९८४७७३८२७७ नं. भएको मानिसले फोन गर्ने रहेछ भन्‍ने थाहा पाएका थियौं । गत भाद्र महिनामा हामीहरूको हजुरआमा बिरामी हुनु भएको हुँदा आमा निरमाया बुढा र भाइ भुपाल बुढाले उपचारका लागी बुटवल अस्पताल प्रा.लि. मा ल्याई उपचार गराउँदा वर्ण गहुँगोरो, थेप्चो बाटुलो मोहडा, मोटो, डल्लो शरीर, सुकिलो मुकिलो अं. ४०/५० वर्षको मानिस फलफूल लिएर भेट्न आएपछि आमासँग केहीबेर सञ्चो बिसञ्चोका कुरा गरेर गएका रहेछन् । उपचार गरी घरमा गएपछि हजुरआमाको मृत्युपश्चात् अन्त्येष्टि गरी हामीहरू घरमै बसेको अवस्थामा आमाको मोबाइलमा उक्त नं. बाट फोन आइरहन्थ्यो । मिति २०७१।८।१६ गते बिहान पनि सायद सोही नम्बरबाट हुनुपर्छ फोन आएपछि आमा बाहिर निस्की कुरा गर्नु भएको 

थियो । त्यसपछि म औषधी गर्न भैरहवा जान्छु भनी घरबाट एक्लै हिँड्नु भएको थियो, राति अबेरसम्म घरमा नआएपछि आमाको मोबाइलमा फोन गर्दा फोन स्विच अफ थियो । अर्को दिन मिति २०७१।८।१७ गते बिहान आमा निरमाया बुढा उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना हुनुहुन्छ भन्‍ने खबर पाएपछि म, मेरो भाइ र छिमेकीहरूसमेत उक्त अस्पतालमा आउँदा आमा निरमाया बुढाको मृत्यु भइसकेको थियो । आमाले कान, गला र हातमा लगाएका सुनका गरगहनाहरू तथा साथमा रहेको नगद र मोबाइल थिएन, घटनाको विषयमा बुझ्दा अं.२ महिना पहिले बुटवल १२ रामनगर स्थित दिनेश उपाध्यायको घरमा वर्ण गहुँगोरो, मोटो, डल्लो शरीर, बाटुलो थेप्चो मोहडा भएको अं. ४५/५० वर्षको मानिसले डेरा लिएको र सोही डेरामा मेरो आमा निरमाया बुढालाई फकाई फुल्याई भर विश्वासमा पारी लगेको रहेछ । कोठामा लगेपछि निजले नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस भएपछि मेरो आमाले हातमा, गलामा र कानमा लगाएका सुनका गरगहनाहरू तथा घडी, नगद, मोबाइलसमेत चोरी लुटी उक्त कोठाको बाहिरबाट ताला लगाई गएका रहेछन् । राति करिब ११:३० बजे घरधनीले उक्त कोठाभित्र घ्यार घ्यार गरेको आवाज सुनी लाइट बाली झ्यालबाट भित्र हेर्दा मेरो आमालाई बेहोस अवस्थामा देखी प्रहरीलाई खबर गरी प्रहरीसमेतले ढोकाको ताला तोडी मेरो आमालाई उपचारका लागि लुम्बिनी अञ्‍चल अस्पतालमा लगेकोमा मृत्यु भएको रहेछ । मेरो भाइ भुपाल श्रीसले हजुरआमाको उपचारको क्रममा बुटवल अस्पताल प्रा.लि.मा देखेर बताएको हुलिया र घर धनीले बताएको हुलिया एकै किसिमको मिल्दोजुल्दो भएकोले उल्लिखित मानिसलाई देखेमा चिन्‍न चिनाउन सक्ने र आमाको मोबाइलमा पटकपटक ९८४७७३८२७७ नं. बाट फोन आइरहने हुँदा उक्त मोबाइलसमेत सोही मानिसले प्रयोग गरेको हुन सक्ने भएकोले उल्लिखित हुलिया भएको मानिसलाई खोजतलास गरी पत्ता लगाई पक्राउ गरी कारबाहीसमेत गरिपाउँ भन्‍नेसमेत बेहोराको जाहेरी दरखास्त ।

मिति २०७१ सालको दशैं पछाडि तिहार अगाडि दिउँसो, छिमेकी बुढीले मलाई बोलाएर कोठा खोज्ने मानिस आएका छन् दिने भए आउ भनेपछि म माथिबाट तल आउँदा एकजना बुढो बुढो र एकजना मोटो, मोटो, गोलो मोहडाको, मंगोलियन फेसको ४५/५० वर्षको मानिस आएका थिए । के काम गर्नु हुन्छ, घर कहाँ हो भन्दा मोटो मोटो, होचो होचो व्यक्तिले चन्द्रौटा घर हो सब्जीको व्यापार गर्दछु भनेपछि उक्त कोठामा मासिक १,८००।– भाडा तय भयो, सोही दिन त्यहाँबाट निस्की गए, ३ / ४ दिनपछि त्यही गोरो मोटो, होचो मानिस एक्लै आई पर्दा लगाई ताला लगाएर पछि हिसाब गर्ने गरी रू.२,०००।– दिएर गए, त्यसपछि पुनः मिति २०७१।८।१५ गते दिउँसो मोटो मोटो होचो मानिस रिक्सामा बिस्तरा ल्याई आए, त्यो रात निज सोही कोठामा बसे, अर्को दिन दिउँसो निज मोटो मोटो होचो मानिसले एकजना महिला लिएर आयो, दुवैजनाले कुरा गर्दै थिए, म आफ्नो काममा लागेँ, दिउँसो फोहर फाल्न आउँदा भित्र कोठामा लोग्ने मानिस र महिलाको गुनगुन आवाज आएको थियो, बेलुका ७ बजे सो कोठामा मानिस घ्यार घ्यार गरेको आवाज सुनेँ, गल्ली तिरको झ्यालको पर्दाबाट हेर्दा महिला सुतेको देखेँ, पछि पानी भर्न आउँदा पनि घ्यार घ्यार सुनेपछि सुत्‍ने बेलासम्म पनि त्यस्तै देखेपछि पर्दा उघारी ढोकामा हेर्दा बाहिरबाट ताला लगाएको रहेछ । ढोका ढक ढकाउँदासमेत नउठेपछि केही गलत त भएन भनी प्रहरीलाई खबर गरी ढोकाको ताला तोडी बेहोस अवस्थाकी निज महिलालाई उपचारको लागी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगेकोमा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको राधिकाकुमारी उपाध्यायले गरेको कागज ।

मृतकले प्रयोग गर्ने ९८४७२६६१४७ नं. को कल डिटेल निकाल्दा मिति २०७१।१०।१५ गते 

दिउँसो र ऐ.१६ गते बिहान उक्त नं. मा ९८४७७३८२७७  नं. को फोनबाट फोन भएको देखिएको र उक्त नं. मा फोन सम्पर्क गर्दा सो नं. स्विच अफ भएको हुँदा उक्त नं. प्रयोगकर्ता व्यक्ति नै प्रतिवादी हुन सक्ने भन्‍नेसमेत बेहोराको प्र.ना.नि. नमराज पोख्रेलको प्रतिवेदन ।

९८४७७३८२७७ नं. सँग ९८४७२६६१४७ नं. मृतकको नम्बर, ९८११४९५५६८ दाबा सिंह तामाङको नम्बर, ९८१७५०१४६८ पन्चम श्रेष्ठको नम्बरसँग एक आपसमा कल रिलेसन भएको भन्‍ने रिलेसन चार्ट ।

मेरो श्रीमती लक्ष्मी सुनारका नाममा भएको ९८१७५०१५४६८ नं. को सिमकार्ड अं.२ वर्षदेखि मैले चलाउँदै आएको छु । ९८४७७३८२७७ नं. को सिमकार्ड कसका नाममा छ भन्‍ने मलाई थाहा भएन, तर उक्त सिमकार्ड मैले २/३ वर्षदेखि कहिले बुटवल र कहिले नारायणगढतर्फ देखे चिनेका पित्तललाई सुन पनि बनाउँछु भन्‍ने जडिबुटीको काम पनि गर्दछु भन्‍ने हेटौंडा तथा पथलैयातर्फ घर छ भन्‍ने आफ्नो नाम कृष्ण तामाङ भनी बताउने मानिसले चलाउँदै आएका थिए । निजले मेरो उक्त नं. को सिमकार्डमा कहिले ९८४७७३८२७७ नं. कहिले ९८०६७७८४४० नं. बाट पनि फोन गर्ने गर्दथे, निजले ८/१० महिना पहिला ९८१४२१४३२६, ९८०५२६२४४५ नं. का सिमकार्डसमेतबाट फोन गर्दथे, निजले अन्य नं. का सिमकार्डहरू पनि फेरी फेरी फोन गर्ने गर्दथे, नम्बरहरू याद भएनन् निजको हुलिया वर्ण गहुँगोरो, होचो मोटो, प्राय: सुकिलो मुकिलो भएर हिँड्ने, वर्ष अं. ४५/५० जतिको छ, निजलाई जहाँ देखे पनि चिन्दछु भन्‍नेसमेत बेहोराको पन्चम श्रेष्ठले गरेको कागज । 

मैले मेरै नाममा रहेको ९८११४९५५६८ नं. को सिमकार्ड प्रयोग गर्दै आएको छु । ९८४७७३८२७७ नं. को सिमकार्ड कसका नाममा छ भन्‍ने मलाई थाहा भएन, तर उक्त सिमकार्ड मैले २/३ वर्षदेखि कहिले बुटवल र कैले नारायणगढतर्फ देखे चिनेका पित्तललाई सुन पनि बनाउँछु भन्‍ने जडिबुटीको काम पनि गर्दछु भन्‍ने हेटौंडा तथा पथलैयातर्फ घर छ भन्‍ने आफ्नो नाम कृष्ण तामाङ भनी बताउने मानिसले चलाउँदै आएका थिए । निजले मेरो उक्त नं. को सिमकार्डमा कहिले ९८४७७३८२७७ नं. कहिले ९८०६७७८४४० नं. बाट पनि फोन गर्ने गर्दथे, निजले ८/१० महिना पहिला ९८१४२१४३२६, ९८०५२६२४४५ र ९८०९११५५४५ नं. का सिमकार्डसमेतबाट फोन गर्दथे, निजले अन्य नं .का सिमकार्डहरू पनि फेरी फेरी फोन गर्ने गर्दथे, नम्बरहरू याद भएनन् निजको हुलिया वर्ण गहुँगोरो, होचो मोटो, प्राय: सुकिलो मुकिलो भएर हिँड्ने, वर्ष अं. ४५/५० जतिको छ । निजलाई जहाँ देखे पनि चिन्दछु भन्‍नेसमेत बेहोराको दाबा सिंह तामाङले गरेको कागज । 

प्रतिवादीले प्रयोग गर्ने ९८०६७७८४४० नं. बाट दाबा सिंह तामाङको ९८११४९५५६८, पन्चम श्रेष्ठको ९८१७५०१४६८ र पथलैयतर्फ घर भएकी फुलमाया नामक महिलाको ९८०६८४०३८२ नं. मा एक आपसमा कल भएको रिलेसन चार्ट र प्रतिवादीले प्रयोग गर्ने ९८०६७७८४४० नं. को मोबाइलको आई.एम.ई.आई नं.३५५५१२०५८४७१३१४ मा घटनापश्‍चात् अर्थात् 9 Dec 2014 मा ९८०६८४०३७६ नं. को सिमकार्ड प्रयोग भएको आई.एम.ई.आई डाटाबाट खुल्न आएको देखिएको । 

प्रतिवादीले प्रयोग गर्ने ९८०६८४०३७६ नं. बाट पथलैयातर्फ घर भएकी फूलमाया नामकी महिलाको ९८०६८४०३८२, ९८०६८४०३७८ र चितवन फुलबारीकी महिलाको ९८१५२२५७३७ र पाल्पा मिसनतर्फकी महिला ९८४७२५७३४१ नं. मा एक आपसमा कल भएको रिलेसन चार्ट ।

निरमाया बुढाको मृत्यु सम्बन्धमा सङ्कित नम्बर ९८४७७३८२७७ नं. को सि.डी.आर. निकाली सोभित्र भएका नम्बरका मानिसहरूसँग बुझ्दै जाने क्रममा ९८१७५०१४६८ नं. को प्रयोगकर्ता पन्चम श्रेष्ठ, ९८११४९५२६८ नं. को मोबाइल प्रयोगकर्ता दाबा सिंह तामाङलाई सोधपुछ गर्ने क्रममा ९८४७७३८२७७ नं. को मोबाइल हेटौंडा तथा पथलैयातर्फ घर बताउने गोरो थेप्चो बाटुलो मोहडा, डल्लो अं, ४५/५० वर्षको कृष्ण तामाङ नाम बताउने मानिसको नम्बर हो । निजको ३ ओटी श्रीमती भएको भन्थे । जसमध्ये जेठीतर्फका छोरा बुहारीले पथलैयातर्फ होटल गर्दछन् भन्थे, निजले चितवनको बाराघरेमा समेत डेरा लिएका थिए, निजले उक्त नं. तथा ९८०६७७८४४०, ९८०५२६२४४५, ९८१४२१४३२६ नं. बाट समेत फोन गर्ने गर्दथे, घटना आसपासमा निजले प्रयोग गर्ने ९८०६७७८४४० नं. को आई.एम.ई.आई.नं. को सेटमा घटनापश्‍चात् ९८०६८४०३७६ नं.को सिमकार्ड प्रयोग भएको देखिएको र उक्त नं. को सि.डी.आर. निकाली अनुसन्धान गर्दै जाने क्रममा मिति २०७१।०९।०५ गते ११:५५ मा उक्त नं. को लोकेसन बाराको पथलैयामा देखिएको हुँदा मसमेतका प्रहरी कर्मचारी उक्त स्थानतर्फ गई प्रहरी चौकी पथलैया बारा तथा इलाका प्रहरी कार्यालय सिमरासँग समेत सहयोग लिई स्थानीय मानिसहरूसँग बुझ्दै जाने क्रममा जिल्ला बारा साबिक पिप्रासिमरा गा.वि.स. वडा नं.९ हाल गढीमाई नगरपालिका वडा नं.१ गढीटोल तथा चाँदेटोल बस्ने हाल पथलैया सामुदायिक बनको उपाध्यक्ष पदमा समेत रहेका भन्‍ने बुझिएको वर्ण गहुँगोरो, थेप्चो बाटुलो मोहडा, मोटो डल्लो बोल्दा तामाङ भाषाको लवज मिलाई बोल्ने अं. ४५/५० वर्षको उपनाम अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने वास्तविक नाम थर मंगलबहादुर तामाङ भएको मानिसले ९८१४२१४३२६, ९८४७७३८२७७, ९८०९११५५४५, ९८०६७७८४४० र ९८०६८४०३७६ नं. समेतका मोबाइल नं.हरू चलाउँथे, निजले नम्बरहरू फेरी फेरी मोबाइलहरू चलाउँछन, निज पहिलादेखि नै आपराधिक प्रवृत्तिका मानिस हुन् । निज पटक पटक प्रहरीमा पनि पक्राउ पर्ने गर्दथे, निजले १/२ महिना गाउँ छाडी हिँडे भने घरमा आउँदा प्रसस्त धन पैसा लिई आउँछन्, निजका ३ ओटा श्रीमती छन्, एउटा श्रीमती हेटौंडाको ८ कमानेमा, एउटा श्रीमती बाराको अम्लेखगन्जमा छन्, एउटा श्रीमती जुनेली भन्‍ने जुना तामाङ जिल्ला बारा साबिक पिप्रासिमरा वडा नं.९ हाल गढीमाई न.पा.१ चाँदेटोल भन्‍ने स्थानमा छन्, निज मंगलबहादुर तामाङका छोरा दिनेश तामाङले पथलैयामा दिनेश होटल सञ्चालन गर्दै आएका छन् भन्‍ने खुल्न बुझिन आएको सुरूको हुलियासहितको जाहेरी दरखास्त, बुझिएका दाबा सिंह तामाङ र पन्चम श्रेष्ठले खुलाएको हुलिया तथा मोबाइल नम्बर र स्थानीय मानिसको भनाइसमेतबाट निज निरमाया बुढालाई कर्तव्य गरी मार्ने अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ नै हुन् भन्‍ने यकिन भएको हुँदा निज प्रतिवादीलाई सम्बन्धित वतनतर्फ गई खोजतलास गर्दा फेला नपरेकोले निज अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङलाई प्रतिवादी कायम गरी मुद्दा चलाई पाउँ भन्‍नेसमेत बेहोराको प्र.ह. राजकुमार वि.क.समेतको प्रतिवेदन ।

मेरी आमा निरमाया बुढालाई मिति २०७१।८।१६ गते बुटवल उपमहानगरपालिका वडा नं. १२ रामनगर स्थित दिनेश उपाध्यायको घरको डेरा कोठामा प्रतिवादीले कर्तव्य गरी मारेको घटना सम्बन्धमा घटनापश्‍चात् प्रहरीले अनुसन्धान गर्दै जाँदा मसमेत प्रहरीको सम्पर्कमा रही बुझ्दै जाने क्रममा मेरी आमा निरमाया बुढालाई मैले मिति २०७१।८।१८ गते पेस गरेको जाहेरी दरखास्तमा खुलाएबमोजिमको परिबन्दबाट मेरी आमाले लगाएका गरगहना तथा नगदसमेत लुटी चोरी कर्तव्य गरी मार्ने प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ हुन् भन्‍ने यकिन भएको हुँदा निज प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरी कारबाहीसमेत गरिपाउँ भन्‍नेसमेत बेहोराको जाहेरी दरखास्त ।

प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङको शरीर खानतलासी गर्दा निजले लगाएको ज्याकेटको बायाँतर्फको भित्री खल्तीबाट नेपाली दरका पाँच सयका नोट रू.१५,०००।– र ९८०७२०२२३० नं. को सिमकार्डसहितको नोकिया मोबाइल सेट बरामद भएको, निजको घर कोठा खानतलासी लिँदा स्टिलको दराजभित्र मंगलबहादुर तामाङका नामको मतदाता परिचय पत्र बरामद भएको भन्‍नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङलाई पक्राउ गरी निजको साथ तथा घर कोठाबाट बरामदी मुचुल्कामा उल्लिखित दशीका सामान बरामद गरी दाखिला गरेको छु भन्‍नेसमेत बेहोराको प्र.ना.नि. अविनाश अधिकारीको प्रतिवेदन ।

मंगलबहादुर तामाङ मेरा श्रीमान्‌ हुन् । निजको म कान्छी श्रीमती हुँ, जेठी अमलेखगन्जतर्फ बस्दथिन्, माहिली हेटौंडाको कमानेमा बस्दथिन् भन्‍ने थाहा पाएकी थिएँ, निजसँग सम्बन्ध विच्छेद भइसकेको 

छ । जेठीतिरका जेठो छोरा दिनेश तामाङले पथलैयामा दिनेश होटल सञ्चालन गरेका छन्, श्रीमान्‌ मसँगै हो बस्ने । श्रीमान् प्राय: घरमा बस्दैनन् बाहिर बाहिर हिँडने गर्दछन् । मलाई फोन गर्दा पनि प्राय ल्यान्डलाइनबाट फोन गर्ने गर्दछन् । श्रीमान्‌को मोबाइलमा फोन हान्दा फोन लाग्दैन, सिमकार्डहरू फेरी रहन्थे, कहिले कसो घरमा थोरै धेरै पैसा लिई आउँथे, कहाँ के गर्नु हुन्छ भन्दा पश्चिमतिर व्यापार गर्दछु भन्थे । मेरा श्रीमान्‌ले प्रयोग गरेका ९८१४२१४३२६ र ९८०९११५५४५ नं. को सिमकार्डहरू मेरा नाममा छन् भन्‍नेसमेत बेहोराको जुना तामाङले गरेको कागज ।

म सुर्यबहादुर बुढाथोकीको कान्छी श्रीमती हुँ । श्रीमान्‌ सुर्यबहादुर बुढाथोकीलाई राजन पनि भन्‍ने गर्दछन्, मैले पहिला ९८०६८४०३८२ र हाल ९८०६८४०३७८ नं. को सिमकार्ड चलाउँदै आएकी छु । उक्त सिमकार्डहरू मेरा श्रीमान् सुर्यबहादुर बुढाथोकीका नाममा छन्, ९८०६८४०३७६ नं. को सिमकार्ड मेरा श्रीमान्‌का नाममा भए पनि उक्त सिमकार्ड मेरा श्रीमान्‌का साथी गढीमाई १ चाँदेटोल बस्ने मंगलबहादुर तामाङले चलाउँदै आएका हुन् । निज मंगलबहादुर तामाङले मोबाइलहरू फेरी फेरी चलाउँथे, निजले प्राय: मलाई पनि फरकफरक नम्बरबाट फोन गरी रहन्थे, निजले कहिले ९८०६७७८४४० कहिले ९८०९११५५४५ र कहिले ९८०६८४०३७६ नं. का सिमकार्डहरूबाट फोन गर्ने गर्दथे । निज मंगलबहादुर तामाङ गलत काम गर्ने मानिस रहेछन्, मेरा श्रीमान्‌लाई पनि साथमा लिई हिँड्थे, कहिले कसो केही पैसा पनि लिई आउँथे, निजसँग नहिँड भनी सम्झाउथेँ । मंगलबहादुर तामाङले मेरो श्रीमान्‌लगायत गाउँका अन्य मानिसहरूलाई समेत बिगारेका छन् । निज राम्रा खालका मानिस होइनन्, निजले बुटवलतर्फ पनि एकजना महिलालाई बेहोस पारी लुटपाट गरी मारेका हुन् भन्‍ने थाहा पाएकी हुँ भन्‍नेसमेत बेहोराको फुलमाया बुढाथोकीले गरेको कागज ।

मृतक निरमाया बुढाको मृत्युको कारण Visceral report awaited भन्ने मृतकको शव परीक्षण प्रतिवेदन ।

मलगायत पाल्पातर्फ घर भएका काले दाजी भन्‍नेले सुनको जलप लगाएका पित्तलको ढिक्का खसाली मानिसलाई सुन भेटियो भन्‍ने भ्रममा पारी लगाएका सुनका गहना निकाल्न लगाई निजहरूलाई पित्तलको जलप लगाएको ढिक्का दिई सुन ठगी गर्ने काम गर्थ्यौं । काले दाजीको ६/७ वर्ष पहिले मृत्यु भइसकेको छ । निजका घरपरिवारका मानिससँग मेरो राम्रै चिनजान सम्बन्ध थियो । मिति २०७१ सालको श्रावण महिनामा निज काले दाजीको काका बुटवल फुलबारीमा पेन्सन बुझ्न आएका हुँदा म पनि भेटघाटको लागि बुटवल फुलबारी पेन्सन क्याम्पमा गएको थिएँ । सोही अवस्थामा निरमाया बुढा पनि आफ्नो आमालाई ल्याई पेन्सन बुझ्न आएकी रहिछन्, निरमाया बुढासँग चिनजान परिचयसमेत भयो । नास्तासमेत सँगै खायौं र निजको मोबाइल नं. मागेँ । निजले ९८४७२६६१४७ नं. हो भनी बताइन् । मैले पनि निजलाई मैले पैला चलाउने ९८०९११५५४५ नं. हो भनी बताएँ । त्यसपछि निज र मेरो पटकपटक फोन भइरहन्थ्यो, मैले पनि कैले कसो बुटवल बोलाउँथे, निज आउँथिन् सँगै बस्दथ्यौं । निजको आमा गत २०७१ सालको भाद्र महिनामा बिरामी भई बुटवल अस्पताल प्रा.लि.मा भर्ना गरेका थिए, सो थाहा पाएपछि म पनि भेटघाटको लागि बुटवल अस्पताल प्रा.लि.मा गएँ, उक्त अस्पतालमा आउँदा निज निरमाया बुढाको छोरा पनि थियो, निजको छोरा म आएपछि आमाले पठाएर होला घर गए, निजको आमालाई कुरेर निज निरमाया बुढा र म बस्यौं, म उक्त अस्पतालमा २ दिन जति बसें, निज डिस्चार्ज भएपछि मैले आफैँ गाडी बोलाएर निरमाया र निजको आमालाई पठाइदिएँ । त्यसपछि म कैले कता कैले कता गएको अवस्थामा पनि निजसँग फोन सम्पर्क भइरहन्थ्यो, त्यसपछि मैले बुटवलमा एउटा कोठा लिन पर्‍यो यहाँ बसेर मानिसलाई ठगी गर्न सजिलो हुन्छ भन्‍ने ठानी बुटवलको रामनगरतर्फ कोठा खोज्दै गत २०७१ सालको कार्तिक महिनामा कोठा खोज्दै जाने क्रममा मलाई पछि नाम थाहा भएका दिनेश उपाध्यायको घरमा पुगेँ । त्यहाँ एउटा कोठा खाली रहेछ, सो कोठालाई मासिक रू.१,८००।– दिने कुराकानी भयो र ३/४ दिनपछि कोठामा आई पर्दा लगाएरपछि हिसाब गर्ने गरी रू.२,०००।- घरबेटीलाई दिएँ, कोठामा खासै 

बसिनँ । घरबेटीले सोध्दा चन्द्रौटातर्फ घर हो तरकारीको व्यापार गर्दछु भनी बताएँ, बिचमा ठगी गर्ने उद्देश्यले बागलुङतर्फ गएको अवस्थामा बागलुङबाट बुटवलतर्फ आउँदा गाडीमा ९८४७७३८२७७ नं. को सिमकार्ड भेट्टाएको थिएँ, निरमाया बुढा र साथीहरूलाई सोही नम्बरबाट फोन गरी मेरो नम्बर यही हो भनी बताएको थिएँ । निरमाया बुढालाई घर बताउँदा बागलुङ बसपार्कभन्दा पारीको तित्याङमुनिको गाउँमा मेरो घर हो नाम राम तामाङ हो भनेको थिएँ । बागलुङबाट बुटवल आएपछि मंसिरको दोस्रो हप्तातिर हुनुपर्छ कोठाको लागि सिरक डसनाहरूसमेत किनी कोठामा लिई गएँ, एकरात कोठामा नै बसेँ, निरमाया बुढासँग भेटघाट हुँदा निजले सिक्री, रिङ र औंठीहरू लगाई चिटिक्क परेर आउँथिन्, पैसा खर्च गर्दा पनि निजले प्राय: आफैँले नै खर्च गर्ने हुँदा पहिला-पहिला निजसँग जस्तो सम्बन्ध भए पनि पछिल्लो समयमा म बागलुङसम्म गएर कतै ठगी गरी धनमाल हात पार्न नपाएपछि अब यसैलाई ठिक पारेर यसका गहना तथा नगदसमेत हात पार्नुपर्छ भनी सोच बनाई निज निरमाया बुढासँग फोन सम्पर्क भइरहेको थियो । निजलाई मैले बुटवल बोलाएर मिति २०७१।८।१६ गते बिहान अं. ११:०० बजेतिर निज बुटवलमा आइन् निज र म बुटवल अस्पताल चोकमा भेट भयौं र रिक्सामा दुवैजना भई रामनगर स्थित मेरो कोठामा गयौं, निज निरमाया बुढाले सुन्तला बदाम लिई आएकी थिइन् । दुवै जनाले सुन्तला बदाम खायौं, त्यसपछि मेरो मनमा पाप पलायो । अब यसलाई ठिक पारी यसको पैसा र गहना लुट्न पर्‍यो भन्‍ने सोची मैले चिसो लिएर आउँछु तिमी बस भनी निजलाई एक्लै कोठामा छाडी रामनगर चोकतर्फ आई रक्सी दुकानमा १ ओटा भर्जीनको क्वाटर, २ ओटा रियल जुस, र मिनरलवाटर किनेँ । मसँग पहिले नै भारत सुनौलीबाट ल्याएको ५ गोटा नाइट्रोसन थियो, सो नाइट्रोसनलाई धुलो पारी सो रियल जुसमा ५ गोटा नाइट्रोसन तथा थोरै रक्सीसमेत मिलाई दिएँ, हल्का रक्सी मैले पनि खाएँ, पानी र जुस लिई कोठामा गएँ, निज निरमाया बुढालाई नाइट्रोसन र रक्सी मिश्रित रियल जुस निज मरून् नै भन्‍ने उद्देश्यले खान दिएँ, मैले नमिसाएको जुस खाएँ, उक्त जुस खाएपछि निज लठ्ठ परी लरबराएका कुरा गर्दै निदाए जस्तो गर्न थालिन् । त्यसपछि मैले निजको कानमा लगाएका बेरूवा रिङ १ जोर, औंठी २ ओटा, सिक्री १ थान निकाले सानो पर्समा नगद रू.७,०००।– थियो, सो रकम घडी र मोबाइलसमेत निकाले पश्‍चात् निजलाई बेहोस अवस्थामा कोठामा छाडी बाहिरबाट ताल्चा लगाई गएकोमा पछि घर धनीसमेतले थाहा पाई प्रहरी बोलाई ढोकाको ताला तोडी निजलाई उपचारका लागि लगेकोमा निजको मृत्यु भएको रहेछ । निजबाट लुटेका उक्त गरगहनाहरू इन्डिया सुनौलीतर्फ गई गहना गाली गालेको गहनाका १ जोर रिङ र १ ओटा बेरूवा औंठी बनाई भलवारी स्थित शुभकामना सुनचाँदी पसलमा ल्याई मेरो श्रीमती बिरामी भई अस्पतालमा भर्ना छ अप्रेसन गर्नु पर्ने छ, पैसा छैन श्रीमतीका गहना हुन् भनी पसलवालालाई भर विश्‍वास दिलाई उक्त गहना तौल गर्दा रिङ १ जोर तौल गर्दा १ तोला ४ आना र औंठी १ ओटा १ तोला ४ आनाका थिए । सो दिनको सुनको खरिद दर रेटअनुसार प्रति तोला रू.५०,३५०।– का दरले उक्त गहना रू.१,२५,८७५।- मा बिक्री गरी नगद लिएर गएको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

जिल्ला रूपन्देही ति.न.पा. वडा नं.९ भलवारी स्थित पुष्पादेवी पोख्रेलको शुभकामना ज्वेलर्सबाट १ तोला ४ आनाका रिङ १ जोर र बेरूवा ‌औंठी १ तोला ४ आनाको थान १ बरामद भएको भन्‍नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।

मिति २०७१।८।२२ गते म मेरो आफ्नै शुभकामना ज्वेलर्समा बसेको अवस्थामा यी मेरो सामुन्‍नेमा रहेका प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ मेरो पसलमा आएका थिए, निज मेरो पसलमा आएपछि निजले दिदी मेरो श्रीमती बिरामी भई क्रिमशन अस्पतालमा भर्ना भएकी छन्, निजको अप्रेसनसमेत गर्नु पर्नेछ । आज रकम जम्मा नगरी श्रीमतीको अप्रेसन भएन भने मृत्यु हुन सक्दछ म ज्यादै समस्यामा परेको छु । यी मेरो श्रीमतीका गहनाहरू हुन् ज्यान बाँचेमा गहनाहरू पछि बनाए पनि हुन्छ, यी गहना पनि केही दिन अगाडि बनाएका गहना हुन् । बिल पछि ल्याई दिउँला राखी दिनुहोस् भनी समस्या देखाएका हुँदा मानिस हेर्दा पनि बुढा पाका भलादमी खालका देखिने र गहना पनि नयाँ खालका हुँदा समस्या नै परेर आएका होलान्, यिनका गहना मैले किनी दिँदा एकजना महिलाको ज्यान बच्छ भने किनी दिनु पर्‍यो भनी यिनले ल्याएका १ जोर रिङ तौल गर्दा १ तोला ४ आनाका र १ ओटा बेरूवा औंठीलाई तौल गर्दा १ तोला ४ आनाका थिए, उक्त गहनाहरू मिति २०७१।८।२२ गतेको सुनको खरिद दर मूल्य रू.५०,३५०।– भएको हुँदा सोहीअनुसार ढाई तोला सुनका गहनाको मूल्य रू.१,२५,८७५।– पर्ने हुँदा उक्त रकम निजलाई दिई गहनाहरू मैले खरिद गरी राखेकी हुँ । उक्त गहनाहरू चोरी तथा कर्तव्यका गहना हुन् भन्‍ने मलाई थाहा थिएन । हाल यी प्रतिवादीलाई मेरो पसलमा लगी यिनले बिक्री गरेका गरगहनाहरू देखाउनुहोस् भनी प्रहरीले मेरो पसलबाट गहना बरामद गर्दा निजले ल्याएका यी गहनाहरू गलत गरेर ल्याएका रहेछन् भन्‍ने थाहा भएको हो भन्‍नेसमेत बेहोराको पुष्पादेवी पोख्रेलले गरेको कागज । 

मैले मिति २०७१।८।२२ गते यस कार्यालयमा गरेको कागजमा खुलाएका पित्तललाई सुन पनि बनाउँछु भन्‍ने र जडिबुटीको कारोबार पनि गर्दछु भन्‍ने ९८४७७३८२७७, ९८०६७७८४४०, ९८१४२१४३२६, ९८०५२६२४४५ र ९८०९११५५४५ नं. को मोबाइल प्रयोगकर्ता मैले त्यतिबेला गरेको कागजमा हुलियासमेत खुलाएका यी ५ जना मानिसमध्ये दक्षिणतिरबाट गन्दै उत्तरतर्फ जाँदा चौथो स्थानमा उभिएका वर्ण गहुँगोरो, बाटुलो मोहडा, होचो मोटो शरीर भएको कालो जस्तो देखिने कलेजी रङको ज्याकेट, कालो कालो देखिने ट्रयाक लगाएका यिनै अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ हुन् भन्‍नेसमेत बेहोराको दाबा सिंह तामाङले गरेको सनाखत कागज ।

मैले मिति २०७१।८।२२ गते यस कार्यालयमा गरेको कागजमा खुलाएका पित्तललाई सुन पनि बनाउँछु भन्‍ने र जडिबुटीको कारोबार पनि गर्दछु भन्‍ने ९८४७७३८२७७, ९८०६७७८४४०, ९८१४२१४३२६, ९८०५२६२४४५ नं. को मोबाइल प्रयोगकर्ता मैले त्यतिबेला गरेको कागजमा हुलियासमेत खुलाएका यी ५ जना मानिसमध्ये उत्तर दक्षिण दुवैतर्फबाट गन्ती गर्दा तेस्रो स्थानमा उभिएका वर्ण गहुँगोरो, बाटुलो मोहडा, होचो मोटो शरीर भएको कालो जस्तो देखिने कलेजी रङ्गको ज्याकेट, कालो कालो देखिने ट्रयाक लगाएका यिनै अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ हुन् भन्‍नेसमेत बेहोराको पन्चम श्रेष्ठले गरेको सनाखत कागज ।

अं.१ वर्ष पहिला गत वर्षको पुस माघ महिनामा मेरो होटलमा आई कोठा छ भनी सोध्न ३ जना आएका थिए । जसमध्ये १ जनाको नाम राजु र एक जनाको नाम विक्रम भनी बताएका थिए । यी फोटोमा  देखाइएका मानिसले आफ्नो नाम बताएका थिएनन्, मेरो होटलमा ३ दिन जति बसी अं.११ बजेतिर हामी बेलुका आउँछौं, आजको दिनलाई तपाइँले चलाएको मोबाइल दिनुहोस् भनेका हुँदा मैले मेरै नाममा जारी भएको ९८०५२६२४४५ नं. को सिमकार्ड ३ जनामध्येका राजु नाम गरेको मानिसलाई दिएकी हुँ । त्यसपछि निजहरू हालसम्म मेरो होटलमा आएका छैनन् । मेरो होटलमा निजहरूले खाए बसेको रू.१९,५००।– भएको थियो, सो रकम र मेरो सिमकार्ड हालसम्म पाएकी छैन । निजहरू जाने क्रममा मेरो होटलमा एउटा सानो स्कुल लैजाने झोला छाडी गएकोमा लामो समयसम्म फर्की नआएपछि झोला खोली हेर्दा पुराना पत्रिका र पित्तलका टुक्रा भएको हुँदा मैले झोला फाली दिएकी हुँ भन्‍नेसमेत बेहोराको मन कुमारी सुनारले गरेको कागज ।

मेरो घर र दिनेशकुमार उपाध्यायको घर आमने सामनेमा पर्छ । मिति २०७१।८।१६ गते अं. २०:०० बजेको समयमा छिमेकी भएको कारण दिनेशकुमार उपाध्यायले दिदी एक जना घरमा घुरेर सुतेकी छन् के गर्ने होला भनी सोधेपछि तपाइँलाई शंका लागेमा वडा प्रहरी कार्यालयमा खबर गर्नुहोस् भनेकी हुँ । त्यसपछि निजले प्रहरीमा खबर गरेछन् । दिउँसो निरमाया बुढा कोठाभित्र छिरेकी थिइन्, निज अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले दिउँसो कोठा सफा गर्ने झाडु छ भनी सोधेका थिए । पछि प्रहरीलाई खबर भई प्रहरी आई कोठाको बाहिरबाट ताला लगाएको अवस्थामा उक्त ताला फोडी को के रहेछ भनी हेर्दा ती दिउसो देखेकी महिला रहिछिन्, निज बेहोस भएको अवस्थामा प्रहरीले उठाई एम्बुलेन्समा राखी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पुर्‍याएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको रहेछ । निज प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले पछि नाम थाहा भएकी महिलालाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई कर्तव्य गरी मार्ने निजलाई कानूनबमोजिम कारबाहीसमेत हुनुपर्छ भन्‍नेसमेत बेहोराको बाफी कुमारी भट्टराईले गरेको कागज ।

मसमेत करिब २ वर्षदेखि दिनेश उपाध्यायको घरमा भाडामा बस्दै आएकी छु । दिनेश उपाध्यायको घरको बाथरूम अगाडिको कोठा लगभग २०७१ सालको कार्तिक महिनादेखि हो जस्तो लाग्छ एक जना चन्द्रौटातर्फका तरकारी व्यापारीले भाडामा लिएका छन् भनी घरधनीले भनेका थिए । प्राय: कोठामा मानिस पनि बसेका थिएनन्, सामान पनि केही भए जस्तो लाग्दैनथ्यो । मिति २०७१।८।१५ गतेका दिन यी मलाई देखाइएका अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले रिक्सामा बिस्तरा ल्याई आएका रहेछन्, कोठाभित्र बिस्तरा लिई गएका थिए, मेरो कोठा नजिकै भएका कारण यिनलाई सोधे किन हो तपाइँको कोठा सधै बन्द हुन्छ, सामान पनि छैन भन्दा निजले अब बिस्तारै बिस्तारै सामान जोड्ने हो भन्थे । मिति २०७१।८।१६ गतेका दिउँसो यिनले एक जना महिलालाई लिई आएका थिए । कोही आफन्त वा श्रीमती होलिन् भन्‍ने भयो, निजलाई यी प्रतिवादीले सोही दिन नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई गरगहनासमेत लुटी बाहिरबाट ताला लगाई गएका रहेछन् । हामी आफ्नै काम धन्दामा व्यस्त हुने हुँदा अन्य ख्याल भएन । राति घरधनीसमेतले कोठाभित्र घ्यार घ्यार आवाज सुनी झ्यालबाट हेर्दा कोठाभित्र एकजना महिलालाई बेहोस अवस्थामा देखी प्रहरी बोलाई ढोकाको तालासमेत तोडी प्रहरीले उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगेकोमा मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको जुमीला दर्जीले गरेको कागज । 

मिति २०७१।८।१८ गते मैले यस कार्यालयमा गरेको कागजमा खुलाएका मेरो घरको कोठा मासिक रू.१,८००।– भाडा तय गरी बैना स्वरूप रू.२,०००।- भाडा रकमसमेत दिएका, मिति २०७१।८।१५ गते दिउँसो रिक्सामा बिस्तरा लिई आएका, अर्को दिन कोठामा एकजना महिलालाई लिई आई कोठामा बसेका, यी मेरो सामुन्‍नेमा उभ्याइएका ५ जना मानिसहरूमध्ये दुवैतर्फबाट गन्ती गर्दा तेस्रो स्थानमा उभिएका वर्ण गहुँगोरो, होचो, डल्लो, मोटो, बाटुलो मोहडा भएका कालो जस्तो देखिने कलेजी रङको ज्याकेट, कालो जस्तो ट्रयाक लगाएका अं.४५/५० वर्ष जस्तो देखिने यिनै हाल मलाई नाम थर थाहा भएका अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ हुन् भन्‍नेसमेत बेहोराको राधिकाकुमारी उपाध्यायले गरेको सनाखत कागज । 

मिति यकिन भएन, गत भाद्र महिनाको अन्तिमतिर मेरी आमाको आमा मेरी बज्यै लक्ष्मी थापा श्रीस अचानक बिरामी भई बुटवल हस्पिटल प्रा.लि.मा भर्ना गरी उपचार गरी राखेका थियौं, मेरो आमा निरमाया बुढाको ९८४७२६६१४७ नं.को मोबाइलमा पटक पटक फोन आइरहेकोमा कुनै फोन आउँदा हाम्रै अगाडि नै गर्नुहुन्थ्यो, कुनै फोन आउँदा हामी भन्दा अलग गएर फोन गर्नु हुन्थ्यो, अस्पतालमा रहेकी मेरी बज्यैलाई हेर्न एक जना वर्ण गहुँगोरो, मोटो, डल्लो शरीर, बाटुलो थेप्चो मोहडा भएको अं. ४५/५० वर्षको मानिसले फलफूलसमेत लिई आई भेट गरी आमासँग कुराकानी गर्नु भयो, के के कुरा गरे मलाई थाहा 

भएन । आमा र सो मानिसले कुराकानी गर्दै बस्नु 

भयो । आमाले मलाई दाइ पनि आउनु भएको छ तिमी घर जाउ भन्नु भयो, त्यसपछि म पनि घरतर्फ गएँ । पछि हजुर आमालाई डिस्चार्ज गरी घर लैजानु भयो । सो मानिस घरमा गएको थिएन, सो मानिसले आमालाई फोन गरी रहन्थ्यो, मिति २०७१।८।१६ गते बिहान आमाको मोबाइलमा फोन आएको जस्तो लाग्दथ्यो, सो नम्बर दाइ चेत नारायण बुढाले ख्याल गरेको जस्तो लाग्दथ्यो, त्यसपछि आमाले म औषधी गर्न भैरहवा जाने हो भन्नु भयो र मिति २०७१।८।१६ गते बिहान आमा घरबाट हिँड्नु भयो । रातिसम्म पनि आमा घरमा नआएपछि आमाको मोबाइलमा फोन हान्दा स्विच अफ रहेको हुँदा खोजतलास गर्दै थियौं । पछि आमाको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भयो भन्‍ने थाहा भयो । आमालाई मृतक अवस्थामा सो अस्पतालमा भेट्यौं । घटना बारेमा बुझ्दा बुटवल १२ स्थित दिनेश उपाध्यायको घरमा १ महिना अगाडिदेखि डेरा कोठा भाडामा लिएका वर्ण गहुँगोरो, मोटो, डल्लो, बाटुलो थेप्चो मोहडा भएको अं. ४५/५० वर्षको हुलिया भएको मानिसले मेरो आमालाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी आमाले लगाएका धनमालसमेत लुटी चोरी कर्तव्य गरेको रहेछ । घटनास्थलमा बताएको हुलिया र मैले बुटवल अस्पताल प्रा.लि.मा देखेको मानिस यिनै अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ हुन् भन्‍नेसमेत बेहोराको भुपाल बुढा मगरले गरेको कागज ।

यी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ मेरा श्रीमान्‌ काले भन्‍ने धनबहादुर ठकुरीका साथी हुन् । मैले पाल्पा मिसन अस्पताल नजिक ११/१२ वर्षअगाडि होटल व्यवसाय गरेको अवस्थामा यिनी मेरा श्रीमान्‌सँग आई एक रात बसेका हुन् । मेरा श्रीमान्‌को कालगतिले मृत्यु भएको अं.१० वर्ष जति भयो, सोपश्चात् मैले होटल व्यवसाय गर्न छाडेँ, यी मेरा श्रीमान्‌का साथीले फरक फरक नम्बरबाट मेरो ९८४७२५७३४१ मा फोन गरी सन्चो बिसन्चो सोध्ने गर्दथे । ३/४ महिना अगाडिदेखि निजले ९८०६८४०३७६ नं.समेतबाट फोन गर्ने गर्दथे, बुटवल, पाल्पातर्फ आउने काम छ आएमा भेट गर्दछु भन्‍नेसमेत बेहोराको पुजा ठकुरीको कागज । 

९८०६७७८४४० नं. को सिमकार्ड मेरो हो । मिति २०७०।२।१६ गते म आफ्नै काम विशेषले बुटवल जाँदै गर्दा उक्त सिमकार्डसहितको मोबाइल हराएको हो । यिनी फोटोमा देखाएका प्रतिवादीलाई मैले चिन्दिन । यिनलाई मैले सिमकार्ड दिएकी छैन । उक्त मेरो हराएको मोबाइल को कसले फेला पारे के कसरी उक्त सिमकार्ड प्रतिवादीसँग पुग्यो मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको झना पाण्डे तिवारीको कागज ।

निरमाया बुढा मेरो सहोदर दिदी हुन् । निजसँग राम्रै सम्बन्ध थियो, अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङसँग मेरो चिनजान थिएन । मिति २०७१।८।१६ गतेका दिन मेरो बुटवल आउने काम थियो । पश्‍चिम बासगढी आई बुटवल आउन गाडी कुरेको अवस्थामा निरमाया बुढा दिदी पनि बासगढीमा आउनु भयो, म पनि भैरहवातिर औषधी लिन जाने हो भन्नु हुन्थ्यो, त्यसपछि निरमाया बुढा र म एउटै बसमा बुटवलसम्म सँगै आई म पनि लुम्बिनी अञ्चल अस्पताल नजिक चोकमा उत्रिए, निरमाया बुढा पनि अस्पताल चोक नजिक फोन गर्दै उत्रिन् र हाल यहाँ रहेका अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ पनि अस्पताल चोकमा उभिएका थिए, निजसँग भेट गरिन्, मैले दिदी म जान्छु भनी बिदा हुँदा निजले म पनि एकछिन दाइसँग काम छ त्यसपछि म पनि उता लाग्छु भनिन्, यी मानिसले सोही अवस्थामा रिक्सा बोलाउँदै थिए, म आफ्नो कामतर्फ लागेँ काम सकी घरमा गएँ । निरमाया बुढा रातिसम्म घरमा आएकी थिइनन् । अर्को दिन निजको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्‍ने थाहा पाएकी हुँ । बुझ्दा यिनी मैले अस्पताल चोकमा देखेका अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले रामनगर स्थित आफ्नो कोठामा लगी नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी निजले लगाएका गरगहना तथा नगदसमेत लुटी बाहिरबाट ढोकाको ताला लगाई गएकोमा प्रहरीसमेतलाई खबर गरेपछि प्रहरीले ताला तोडी उपचारका लागि अस्पताल लगेकोमा निजको मृत्यु भएको रहेछ भन्‍नेसमेत बेहोराको तारा बुढाले गरेको कागज ।

प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङ र निरमाया बुढाबिच पहिलेदेखि चिनजान भई भेटघाट तथा फोन सम्पर्क भइरहँदो रहेछ, मिति २०७१।८।१६ गते प्रतिवादीले निरमाया बुढालाई बुटवल बोलाई अस्पताल चोकमा भेट भई आफ्नो डेरा कोठामा लगी निजलाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी निजले लगाएका गरगहना तथा नगदसमेतका धनमाल लुटी चोरी ढोकाको बाहिरबाट ताला लगाई गएकोमा सोही रात घरधनीसमेतले थाहा पाई प्रहरीलाई खबर गरी ताला तोडी निजलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगेकोमा निजको मृत्यु भएको रहेछ । प्रतिवादीले मार्ने नै मनसायले निजलाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी लुटी कर्तव्य गरेका हुँदा निजलाई कारबाही हुनुपर्छ भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।

यी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङसँग अन्दाजी डेढ वर्ष अगाडिदेखि नारायणगढको भोटेको पसलमा म जिम्बु किन्‍न गएको अवस्थामा चिनजान भएको हो, त्यतिबेला निजले जडिबुटी औषधीको कारोबार गर्दछु भन्थे, निजसँग मेरो फोन सम्पर्क भइरहन्थ्यो । चितवनको बाराघरेमा डेरा लिएको छु भन्थे, निजले पहिला पहिला फोन गर्ने नम्बर मलाई थाहा भएन गत मंसिर महिनादेखि निजले मैले प्रयोग गर्ने ९८१५२२५७३७ नं.को मोबाइलमा ९८०६८४०३७६ नं. बाट फोन आइरहन्थ्यो । निजले ५० हजार सापटी दिनुहोस् १५/२० दिनमा दिन्छु भन्थे, मंसिर महिनाको १९/२० तिर हुनुपर्छ निज एक रात हाम्रो घरमा आई बसेका हुन् । निज गएपछि पनि फोनमा कुराकानी भइरहन्थ्यो । यहाँ आएर बुझ्दा निजले एक जना महिलालाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई धनमालसमेत लुटी कर्तव्य गरेका रहेछन् भन्‍नेसमेत बेहोराको निशा थापाले गरेको कागज । 

यी प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले मेरो श्रीमती घरमा भएको अवस्थामा मेरो घरको तल्लो तलाको कोठा २०७१ सालको तिहारको आसपासमा भाडामा लिएका रहेछन्, यिनी प्रतिवादी केही दिनपछि आई मेरो श्रीमतीलाई भाडाबापतको रकम दिँदा निजलाई देखेको थिएँ । म विवाहमा जान हतार भएको हुँदा निजसँग खासै कुराकानी भएन, निज लामो समयसम्म कोठामा आएका थिएनन् । मिति २०७१।८।१५ गते कोठामा बिस्तरा ल्याई आएका र मिति २०७१।८।१६ गते निजले एक जना महिलालाई लिई आएका 

रहेछन् । निज महिलालाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी धनमालसमेत लुटी ढोकाको बाहिरबाट ताला लगाई गएका रहेछन् । बेलुका उक्त कोठामा महिला घ्यार घ्यार गरेको आवाज सुनेपछि झ्यालबाट हेर्दा भित्र एकजना महिला सुतेको, ढोकाको बाहिर ताला लगाएको थियो । मानिस आउँछ होला भनी केहीबेर बाटो कुर्दा नआएपछि स्थानीय मानिसलाई खबर गरी प्रहरीमा जानकारी गराएपछि प्रहरी आई ताला तोडी बेहोस अवस्थाकी निज निरमाया बुढालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगेकोमा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको दिनेशकुमार उपाध्यायले गरेको कागज ।  

प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले मृतक निरमाया बुढालाई बुटवलमा भेटी चिनजान गरी भर विश्‍वासमा पारी पटक-पटक फोन सम्पर्क गरी भेटघाट गर्दै आएकोमा मिति २०७१।८।१६ गते बुटवल–१२ रामनगर स्थित दिनेश उपाध्यायको भाडामा लिएको कोठामा ल्याई पेय पदार्थ फ्रुटीमा ५ ओटा नाइट्रोसन मिसाई ज्यानै लिने उद्देश्यले खान दिई बेहोस पारी निजले लगाएको १ तोलाको सिक्री थान १, २ तोलाको कानमा लगाउने रिङ थान २, औंठी २ तोलाको २ थान, न. ९८४७२६६१४७ को सिमसहितको नोकिया मोबाइल थान १, घडी १ र नगद रू.२५,०००।– समेत लुटी चोरी ढोकामा बाहिरबाट ताला लगाई गएकोमा छरछिमेकीले थाहा पाई प्रहरीलाई खबर गरी उद्धारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगेकोमा निज निरमाया बुढाको मृत्यु भएको हुँदा निज प्रतिवादीले गरेको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ९ नं. का रीतले ज्यान मार्ने कसुर गरेको देखिँदा निज प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङलाई सोही मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं. अनुसार सजाय गरी चोरीतर्फ निज प्रतिवादीले मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ४ नं. का रीतले बिगो रू.२,९२,४५०।– को धनमाल चोरी गरेको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, चोरीको महलको १४(२) नं. बमोजिम सजाय गरी सोही महलको १८ नं. बमोजिम थप सजायसमेत हुन र प्रतिवादीबाट बरामद भई आएको सुनको गहना, मोबाइल र नगदसमेत मुलुकी ऐन, चोरीको महलको २१ नं. बमोजिम जाहेरवालालाई फिर्ता दिलाई दिई चोरीको कुल बिगो रू.२,९२,४५०।– मध्ये बरामद बिगो रू.१,३८,६६२।५० फिर्ता भई बाँकी नपुग हुने बिगो रू.१,५३,७८७।५० प्रतिवादीबाट सोही चोरीको महलको १० नं. को देहाय ३ अनुसार दिलाई भराई दिनसमेतको अभियोग मागदाबी लिई दायर हुन आएको अभियोगपत्र ।

मृतकसँग मेरो चिनजान भएको लगभग १ वर्षभन्दा बढी भयो । हामी दुवै नजिकका साथी जस्तै थियौं । मृतकको आमा बिरामी हुँदा मैले अस्पतालमा लगी उपचार गराएको हो । मृतक मेरो कोठामा आउने जाने गर्नुका साथै रक्सी र नशालु टेबलेटसमेत सेवन गर्नु हुन्थ्यो । निजको आमा बितेको ५ ‌औं दिनमा मृतक एकजना मानिससँग बुटवलको बसपार्कमा आई निजलाई मैले लिन गई, मृतकलाई आफ्नो कोठामा लिई आएको थिएँ । उक्त दिन हामीबिच ट्रेक्टर लोनमा लिने विषयमा सल्लाह भई हामी दुवैले रक्सी सेवन 

गर्यौं । मृतकले उक्त दिन मेरो सामुन्‍ने २ ट्याब्लेट नाइट्रोसन र रक्सी सेवन गरेकी थिइन् । ट्याक्टर लिने सल्लाह भएको हुँदा मृतकले आफैँले आफ्नो गहना निकाली मलाई बेच्न भनी दिएकी थिइन् । मैले उक्त गहना भलवारी लगेर रू.१,१५,०००।- मा बेचेको थिएँ । मैले गहना बेच्न जाँदा मृतकले आफैँ मेरो कोठामा बाहिरबाट चाबी लगाएर जानुहोला भनेकाले मैले कोठामा चाबी लगाई गएको थिएँ । गहना बेचेर फर्केर घरमा आउँदा घर मालिकले प्रहरी बोलाई मृतकलाई उपचारका लागि अस्पतालमा लगेको कुरा मलाई बताएको हुँदा मलाई डर लागी घरमा गएको थिएँ । निजको मृत्यु कसरी भयो मलाई थाहा भएन । मैले मृतक निरमायालाई मारेको होइन । मलाई अभियोग दाबीअनुसार सजाय हुनु पर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले सुरू रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।

मुद्दा पुर्पक्षको लागि प्रतिवादीलाई थुनामा राख्‍नु भन्‍ने रूपन्देही जिल्ला अदालतबाट मिति २०७१।११।११ मा भएको आदेश । 

प्रतिवादी मंगलबहादुर तामाङले मेरो घरको तल्लो तलामा भाडा लिएका थिए । निज खासै कोठामा बस्दैनथे । कहिले काहीँ मात्र बस्थे । उक्त दिन कतिबेला ती महिलालाई ल्याएका हुन् मलाई थाहा भएन । साँझ ७ बजेको समयमा निजको नाक बजेको सुनेपछि मात्र हारगुहार गरेको हो । उपचारको क्रममा निजको मृत्यु भएको हो । विषालु चिज खुवाइएकोले मृत्यु भएको कुरा डाक्टरले भनेको थियो । मंगलबहादुरले नै मृतकलाई मारेका हुन् भन्‍नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने मानिस दिनेशकुमार उपाध्यायले सुरू रूपन्देही जिल्ला अदालतमा गरेको बकपत्र ।

निरमाया औषधी लिन भनी बुटवल आएकी थिइन् । बुटवलमा प्रतिवादी र निरमायाले भेट 

गरेछन् । दुवैजना मंगलबहादुरको डेरामा गई चियापानी खाएछन् । खाँदा प्रतिवादीले निरमायालाई विषालु पदार्थ मिसाई दिएको रहेछ । त्यसपछि निरमाया बेहोस 

भइन् । बेहोस भएको अवस्थामा मंगलबहादुरले गहना र पैसा निकाली बाहिरबाट ढोकामा चाबी लगाई आफू भाग्यो । घर मालिकले घ्यार घ्यारको आवाज सुनेपछि प्रहरी बोलाई उपचारको लागि अस्पताल लगी उपचारको क्रममा निजको मृत्यु भएको हो । मंगलबहादुर तामाङको कारणबाट निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काको मानिस गंगाबहादुर पुनले सुरू रूपन्देही जिल्ला अदालतमा गरेको बकपत्र । 

दिनेश उपाध्यायको घरमा प्रतिवादी मंगल डेरा गरी बसेको ठाउँमा आमालाई लगी जुसमा नशालु पदार्थ खुवाई आमासँग भएको सिक्री र कानको रिङ, मोबाइल, ३११० को, १ घडी रू.२५०००।- लगेको हो । जम्मा सुन ५ तोला थियो । प्रहरीले आमालाई बेहोस अवस्थामा अस्पतालमा पुर्‍याएका थिए र उपचारको क्रममा निजको मृत्यु भएको हो । मंगलबहादुर तामाङले आमालाई विषादी पदार्थ खुवाएकै कारणबाट आमाको मृत्यु भएको हो, निजलाई कारबाही हुनु पर्ने हो भन्‍नेसमेत बेहोराको जाहेरवाला चेतनारायण बुढाले सुरू रूपन्देही जिल्ला अदालतमा गरेको बकपत्र ।

The exhibits No 1, 2, 3, 4, 5 and 6 have shown Negative tests for above mentioned Insecticides ethyl alcohol, methyl alcohol, narcotic drugs and phosphine gas भन्ने बेहोराको भिषेरा प्रतिवेदन ।

मृतक निरमाया बुढाको मृत्युको कारण Viscera report awaited भन्‍ने उल्लेख भएको र भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएको देखिँदा शव परीक्षण गर्ने चिकित्सकबाट मृत्युको कारण उल्लेख गरी पठाउन शव परीक्षण प्रतिवेदन र भिसेरा परीक्षण प्रतिवेदनको प्रतिलिपि साथै राखी लुम्बिनी अञ्चल अस्पतालमा लेखिपठाउनु भन्‍ने सुरू रूपन्देही जिल्ला अदालतको आदेशानुसार पत्राचार भई भिसेरा परीक्षण प्रतिवेदन पोष्टमार्टम गर्ने चिकित्सकहरूलाई देखाउँदा “Viscera report for toxicological examination is negative for any insecticides or toxin. So cause of death is undetermined.” भन्‍ने लिखित रूपमा खुलाइदिनु भएको भन्‍ने लुम्बिनी अञ्चल अस्पतालको मिति २०७२।६।२५ च.नं.४७१ को पत्र । 

प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुरमा साबित भई गरेको उपर्युक्त बेहोराको बयान निजको इच्छाविपरीत जबरजस्ती गराइएको भन्‍ने कुनै प्रमाणबाट प्रमाणित नभएकोले प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अन्यथा भन्‍न मिल्ने देखिएन । प्रतिवादीले भाडामा लिएको कोठामा बाहिरबाट ताल्चा लगाएको र सो कोठामा मृतक निरमाया बुढा बेहोस अवस्थामा रहेको भनी प्रतिवादीले भाडामा लिएको घरधनीले अदालतमा गरेको बकपत्र तथा जाहेरी दरखास्तको बेहोरालाई समर्थन गरी जुसमा नशालु पदार्थ मिसाई खुवाएको भनी डाक्टरले भनेको भन्‍ने जाहेरवालाले गरेको बकपत्रसमेतबाट प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान समर्थित भएको देखिन आएको छ । प्रतिवादीले अदालतमा आरोपित कसुरमा इन्कार भई गरेको बयानमा उल्लेख गरेको कुरा स्वाभाविक भएको देखिन नआई पत्यारलायक भएको देखिन नआएको र प्रतिवादीले अदालतमा गरेको बयान कुनै पनि प्रमाणबाट समर्थित नभई खण्डित भएको देखिन आएको तथा प्रतिवादीले आरोपित कसुरमा साबित भई अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान अन्यथा प्रमाणित नभई समर्थित भएको देखिन आएबाट प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानअनुसार निरमाया बुढालाई मारेर निजले लगाएको गहना र नगदसमेत लिने उद्देश्यले प्रतिवादीले मृतक निरमाया बुढालाई जुसमा नाइट्रोसन र रक्सी मिसाएर खान दिई निरमाया बुढा बेहोस भएपछि निजले लगाएको गहना, मोबाइल फोन, घडी र नगदसमेत प्रतिवादीले लिई निरमाया बुढा रहेको कोठामा बाहिरबाट ताल्चा लगाई गएको र निरमाया बुढाको उपचारको क्रममा मृत्यु भएको भन्‍ने देखिन आयो । ज्यानसम्बन्धीको १३(२( मा विष खुवाई ज्यान मारेमा खुवाउने ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्‍ने व्यवस्था भएको पाइन्छ । निरमाया बुढाको मृत्यु के कारणबाट भएको भन्‍ने स्पष्ट रूपमा खुल्न आएको नभई विष सेवनबाट नै निरमाया बुढाको मृत्यु भएको भन्‍ने तथ्य स्थापित भएको देखिन नआएको भए  तापनि  माथि उल्लेख गरेअनुसार यी प्रतिवादीले सामान्य अवस्थामा रहेकी निरमाया बुढालाई जुसमा नाइट्रोसन र रक्सी मिसाएर खान दिएपछि निज बेहोस भएकोमा उपचारको लागि निजलाई अस्पतालमा लगेकोमा मृत्यु भएको भन्‍ने देखिन आएको स्थितिमा ज्यानसम्बन्धीको १३(२) को कसुर भएको मान्नु पर्ने भयो । माथि उल्लेख भएबमोजिम प्रतिवादीले निरमाया बुढालाई मारेर निजले लगाएको गहना र नगदसमेत लग्ने उद्देश्यले प्रतिवादीले मृतक निरमाया बुढालाई जुसमा नाइट्रोसन र रक्सी मिसाई खान दिएको भन्‍ने देखिन आएबाट प्रतिवादीले ज्यानसम्बन्धीको १३(२( को कसुर गरेको देखिन आई निजलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सजाय हुनु पर्ने देखियो । चोरीको सम्बन्धमा प्रतिवादीले चोरीको ४ नं. को रीतले चोरी गरेकोले चोरीको १४(२) बमोजिम सजाय हुन र सोही महलको १८ नं. बमोजिम थप सजाय हुन अभियोग दाबी रहेको छ । चोरीको ४ नं. बमोजिम जबरजस्ती चोरी गर्नेलाई सोही महलको १२ नं. बमोजिम हुने सजायको डेढी बढाई सजाय गरी जरिवानाबापतसमेत कैद गर्नु पर्ने चोरीको १४ नं. को देहाय २ को व्यवस्थाबमोजिम प्रतिवादीले बिगो रू.१,४१,०७५।- को धनमाल जबरजस्ती चोरी गरेको हुँदा चोरीको १२ नं. ले हुने एक महिना कैद र बिगोबमोजिम जरिवाना रू.१,४१,०७५।– को डेढी बढाउँदा डेढ महिना कैद र रू.२,११,६१२।५० जरिवाना हुनेमा जरिवानाबापतसमेत कैद गर्दा दिन एकको रू.२५।– को दरले २३ वर्षभन्दा बढी हुने भए पनि दण्ड सजायको ३८ नं. को देहाय १ बमोजिम जरिवानाबापत चार वर्षभन्दा बढी कैद हुन नसक्ने भई जरिवानाबापत चार वर्ष कैद र प्रतिवादीले लागु पदार्थ खुवाई बेहोस गराई चोरीको १४ नं. बमोजिम सजाय हुने कसुर गरेको देखिँदा चोरीको १८ नं. बमोजिम एक वर्ष थप कैद हुने देखियो । तसर्थ माथि उल्लेख भएबमोजिम प्रतिवादी कृष्णबहादुर भन्‍ने मंगलबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, चोरीको १४(२) नं. बमोजिम डेढ महिना कैद तथा जरिवानाबापत चार वर्ष कैद र चोरीको १८ नं. बमोजिम थप एक वर्ष कैद हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७३।२।२ मा भएको फैसला ।

मृतक निरमाया बुढालाई मैले कर्तव्य गरी मारेको होइन । मृतकको छोरा चेतनारायण बुढाले घटनाको सम्बन्धमा तत्काल जाहेरी दिँदा उक्त जाहेरीमा किटानीसाथ जाहेरी दिन सकेको अवस्था छैन । केवल शंकाको आधारमा २ महिनापछि मउपर किटानी जाहेरी परेको छ । मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने तथ्ययुक्त प्रमाण अभियोजन पक्षले शंकारहित तवरबाट प्रमाणित गर्न सकेको अवस्था छैन । मृतकको लासमा कुनै घा चोट निलडाम 

देखिँदैन । शव परीक्षण प्रतिवेदनमा समेत No external injury, No Valval and Vaginal injury भन्‍ने उल्लेख हुनुका साथै Cause of death visceral report awaited भनी लेखिएकोमा viscera Report मा नशालु र विषालु पदार्थ नपाइएको, Narcotic Drugs हरू नपाइएको भनी उल्लेख गरिएको छ भने मृतकले प्रयोग गरेको भनेको नाइट्रोसन ट्याबलेटमा नाइट्राजेपाम पाइएको वा नपाइएको जाँच नै गरिएको पाइँदैन । अत: मृतकलाई विष वा नशाजन्य पदार्थ सेवन गराई सोही कारणबाट मृत्यु भएको भन्‍ने कुरा तथ्ययुक्त प्रमाणबाट देखिँदैन । घटनामा चश्मदिद साक्षी कोही पनि नभए नरहेको र मैले मृतकले लगाएको गरगहनासमेत चोरी गरेकोसमेत होइन । यस्तो अवस्थामा कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा कसुरदार ठहर्‍याई सजाय गर्ने गरेको सुरू रूपन्देही जिल्ला अदालतबाट भएको मिति २०७३।२।२ को फैसला वस्तुनिष्ठ प्रमाणको मूल्याङ्कन नगरी आत्मनिष्ठ रूपमा हचुवा र अनुमानको भरमा कसुरदार ठहर्‍याई गरेकोले उक्त सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र । 

यसमा निरमाया बुढालाई प्रतिवादीले पेय पदार्थ फ्रुटीमा नाइट्रोसन मिसाई खान दिई बेहोस पारेको र निजकै कर्तव्यबाट निरमायाको मृत्यु भएको भन्‍ने अभियोग दाबी रहेकोमा निरमाया बुढाथोकीको भिसेरा परीक्षण प्रतिवेदनमा Negative भनी उल्लेख भई आएको देखिएको र प्रतिवादीले सुरू अदालतमा बयान गर्दा इन्कार भइराखेको अवस्थामा प्रतिवादीलाई दाबीअनुरूपको कसुरमा सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, बुटवललाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०७३।११।१० मा पुनरावेदन अदालत बुटवलबाट भएको आदेश ।

यसमा प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय हुने ठहर भएको सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७३।२।२ मा भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।३।१ मा भएको फैसला ।

यसमा प्रतिवादी कृष्‍णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्म कैद, चोरीको १४(२) नं. बमोजिम डेढ महिना कैद तथा जरिवानाबापत चार वर्ष कैद र चोरीको १८ नं. बमोजिम थप एक वर्ष कैद हुने ठहर्‍याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७३।२।२ मा भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।३।१ मा फैसला भएकोमा साधक जाँचका लागि पेस हुन आएकोमा साधक दायरीमा दर्ता गर्नु भन्ने यस अदालतको मिति २०७४।१२।१९ को टिप्‍पणी आदेशानुसार साधक दायरीमा दर्ता भएको रहेछ ।

मृतकका छोरा जाहेरवाला चेतनारायण बुढा प्रस्तुत घटनाका प्रत्यक्षदर्शी होइनन् । मैले स्वतन्त्र भई अदालतमा उपस्थित भई गरेको बयानमा मृतकलाई मारेको कुरामा पूर्णत: इन्कारी रहेको छु । मृतक र मबिच ट्याक्टर किन्‍ने सल्लाह भई गहना बेच्न निजले नै पठाएकी हुन् । मृतकले नाइट्रोसन हो भनी आफैँले लागु औषध नाइट्रोसन खाई सुतेकी र बाहिरबाट कसैले नबोलाओस् बाहिरबाट ताला लगाएर जानु भनेकी हुन् । पछि फर्कि आउँदा घर धनीलाई भेटी सोध्दा प्रहरीले थाहा पाई डरले भागेको हुँ भनी अदालतमा प्रस्टसँग खुलाएको कुराको उचित मूल्याङ्कन भएको छैन । फौजदारी मुद्दामा दाबी प्रमाणित गर्ने भार वादीको हुनेछ भनी प्रमाण ऐनको दफा २५ मा स्पष्ट व्यवस्था गरेको अवस्थामा सोतर्फ विचार नगरी प्रहरीमा भएको गैरन्यायिक बयानका आधारमा कर्तव्य ज्यान जस्तो मुद्दामा लगाइएको अभियोग त्रुटिपूर्ण छ । 

प्रस्तुत मुद्दामा विधिविज्ञान प्रयोगशालाबाट दिएको Viscera प्रतिवेदनमा मृतक निरमाया बुढाको मृत्युको कारण Viscera report awaited भन्‍ने उल्लेख भएकोमा Viscera प्रतिवेदनमा Viscera report for toxicological examination is negative for any insecticides of toxin. So, cause of death is undetermined रहेको, लास जाँच प्रकृति मुचुल्कामा लासमा कुनै निलडाम, काटिएको काहीँ केही नभएको अवस्थामा स्वतन्त्र प्रमाणबाट मैले विषादी नखुवाएको प्रस्ट हुँदाहुँदै पनि सोतर्फ कुनै विचार नगरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सजाय हुने ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ । 

फौजदारी कसुरमा कसुरदार ठहर गर्न आपराधिक मनसाय, पूर्वरिसइवी, दोषी मनोभावनाले कार्य गरेको हुनुपर्दछ । मृतकसँग पूर्वरिसइवी मार्नु पर्नेसम्मको कारणसमेत थिएन । सो कुरा जाहेरवाला र वादीका साक्षीहरूले पनि यस्तो पूर्वरिसइवी मनसाय थियो भन्‍न सकेको छैन । घटनाका चश्मदिद कोही छैनन्, भिसेरा परीक्षणबाट पनि विष देखिएको छैन । मेरो प्रहरीमा भएको कथित साबितीलाई मात्र आधार लिई गरेको फैसला गैरकानूनी रहेको छ । अर्कोतर्फ चोरीको अभियोगमा मेरो पुनरावेदन जिकिर के छ भने मृतक र मबिच भएको ट्याक्टर किन्‍ने सहमतिबमोजिम निजले नै मलाई निजले लगाएको गहना बेच्न दिई उक्त गहना लिई बेच्न गएको हो न कि मैले जबरजस्तीसँग चोरी गरेको हो । तसर्थ अभियोग दाबीलाई मात्र आधार लिई सुरू जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसला सदर हुने ठहर्‍याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।३।१ मा भएको फैसला बदर गरी अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ वैतनिक अधिवक्ता श्री शोभा कार्कीले यी पुनरावेदक प्रतिवादीले मृतक निरमाया बुढालाई मार्नुपर्नेसम्मको कारण रहे भएको कुनै प्रमाणबाट देखिँदैन । प्रतिवादीले मृतकलाई मार्ने योजना, तयारी र मनसाय रहेको पनि देखिएको छैन । निज प्रतिवादीले मृतकलाई नशालु पदार्थ सेवन गराई बेहोस बनाई गरगहना चोर्ने जस्तो जघन्य अपराध गरेको कुरा वस्तुनिष्‍ठ प्रमाणबाट पुष्टि हुन सकेको छैन । Viscera report for toxicological examination is negative for any insecticides of toxin. So, cause of death is undetermined भन्ने उल्लेख भएको अवस्थामा केवल शंकाको आधारमा मात्र कर्तव्य ज्यान र चोरी जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसुरदार ठहर गरी सुरू रूपन्देही जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसला सदर हुने ठहर्‍याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला गैरकानूनी हुँदा उक्त फैसला बदर भई यी पुनरावेदक प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने अवस्था रहेकोले मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पाउँ भनी गर्नु भएको बहससमेत सुनियो । 

उल्लिखित बहस जिकिर र तथ्य भएको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्‍न सक्ने हो वा होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो । 

यसमा प्रतिवादी अण्डा बाजे र कृष्णबहादुर तामाङ भन्‍ने मंगलबहादुर तामाङले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ९ नं.का रीतले ज्यान मार्ने कसुर गरेको देखिँदा निजलाई सोही मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं. अनुसार सजाय गरी चोरीतर्फ निज प्रतिवादीले मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ४ नं. का रीतले बिगो रू.२,९२,४५०।– को धनमाल चोरी गरेको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, चोरीको महलको १४(२) नं. बमोजिम सजाय गरी सोही महलको १८ नं. बमोजिम थप सजायसमेत हुन र प्रतिवादीबाट बरामद भई आएको सुनको गहना, मोबाइल र नगदसमेत मुलुकी ऐन, चोरीको महलको २१ नं. बमोजिम जाहेरवालालाई फिर्ता दिलाई चोरीको कुल बिगो रू.२,९२,४५०।– मध्ये बरामद बिगो रू.१,३८,६६२।५० फिर्ता भई बाँकी नपुग हुने बिगो रू.१,५३,७८७।५० प्रतिवादीबाट सोही चोरीको महलको १०(३) नं. अनुसार दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी भएकोमा सुरू रूपन्देही जिल्ला अदालतबाट प्रतिवादी कृष्णबहादुर भन्‍ने मंगलबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, चोरीको १४(२) नं. बमोजिम डेढ महिना कैद तथा जरिवानाबापत चार वर्ष कैद र चोरीको १८ नं. बमोजिम थप एक वर्ष कैद हुने ठहरी भएको फैसलाउपर प्रतिवादीले पुनरावेदन अदालत बुटवलमा पुनरावेदन गरेको देखियो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई फैसला भएकोमा प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो । प्रतिवादीको पुनरावेदन परेको हुँदा पुनरावेदनको रोहबाट नै निरूपण गर्नु पर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मेरो आमा निरमाया बुढाको ९८४७२६६१४७ नं. को मोबाइलमा अपरिचित मानिसको फोन आइरहन्थ्यो । कसको फोन हो भन्दा तिमीहरूलाई किन चाहियो र भन्नुहुन्थ्यो । हामीलाई शंका लागी आमाको आँखा छली मोबाइल हेर्दा ९८४७७३८२७७ नं. भएको मानिसले फोन गर्ने रहेछ भन्ने थाहा पायौं । मिति २०७१।८।१६  गते फोन आएपछि आमा बाहिर निस्केर फोन गर्नुभयो । त्यसपछि म औषधी गर्न भैरहवा जान्छु भनी घरबाट एक्लै हिँड्नु भयो । मिति २०७१।८।१७  गते बिहान आमा निरमाया बुढा उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना हुनु हुन्छ भन्‍ने खबर पाएपछि म, मेरो भाइ र छिमेकीहरूसमेत अस्पतालमा आउँदा आमा निरमाया बुढाको मृत्यु भइसकेको रहेछ । आमाले कान, गला र हातमा लगाएको सुनका गरगहनाहरू तथा साथमा रहेको मोबाइल र नगद थिएन । घटनाको विषय बुझ्दा अन्दाजी दुई महिना अगाडि रामनगर स्थित दिनेश उपाध्यायको घरमा बस्ने वर्ण गहुँगोरो मोटो डल्लो शरीर बाटुलो थेप्चो मोहडा भएको अं. ४०/५० वर्षको मानिसले डेरामा लगेको र सोही डेरामा आमालाई बोलाई नशालु पदार्थ मिश्रित पेय पदार्थ खुवाई बेहोस पारी आमाले लगाएका गरगहना, घडी, मोबाइल र नगदसमेत चोरी लुटी कोठाको बाहिर ताला लगाई राति १०:३० बजे घरधनीले कोठाभित्र घ्यार घ्यार गरेको आवाज सुनी लाइट बाली झ्यालबाट भित्र हेर्दा आमालाई बेहोस अवस्थामा देखी प्रहरीलाई खबर गरी प्रहरीले समेत घरको ताला तोडी आमालाई उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल लगेकोमा मृत्यु भएकोले आमाको मोबाइलमा पटक पटक ९८४७७३८२७७ नं. बाट फोन गर्ने उक्त फोन प्रयोगकर्तालाई खोजतलास गरी कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तबाट अनुसन्धान भई प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । 

३. मिति २०७१ सालको दशैं पछाडि दिउँसो छिमेकी बुढीले मलाई बोलाई कोठा खोज्ने मानिस आएको छ भनेपछि एकजना मोटो मोटो गोलो मोहोडाको मंगोलियन फेसको अं. ४५/५० वर्षको मानिस आएको र निजलाई के काम गर्नुहुन्छ घर कहाँ हो भनी सोध्दा उक्त व्यक्तिले मेरो घर चन्द्रौटा हो सब्जीको व्यापार गर्छु भनेपछि मासिक रू.१८००।- भाडा तय भएको हुँदा निजलाई घर भाडामा दिने कुरा भएपछि ३/४ दिनपछि सोही व्यक्ति एक्लै आई पर्दा लगाएर पछि हिसाब गर्ने भनी रू.२०००।- दिएर गए । मिति २०७१।८।१५ मा त्यही मोटो मोटो होचो मानिस रिक्सामा बिस्तरा लिएर आए । सो रात कोठामा बसे पछिल्लो दिनको दिउँसो उक्त व्यक्तिले एकजना महिला लिएर आए । दुवैजना गुनगुन आवाज गरी कुरा गर्दै 

थिए । बेलुका ७ बजे घ्यार घ्यार गरेको आवाज सुनेपछि पर्दा उघारी ढोकामा हेर्दा बाहिर ताला लगाएको ढकढक गर्दा नउठेपछि प्रहरीलाई खबर गरी ताला फोडी हेर्दा बेहोस अवस्थामा रहेको महिलालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल लग्दा निजको मृत्यु भएको हो भन्‍ने बेहोराको राधिकाकुमारी उपाध्यायले कागज गरेको देखिन्छ ।

४. यी पुनरावेदक प्रतिवादीले मृतकलाई बसपार्कबाट आफ्नो कोठामा ल्याएको, मृतक र प्रतिवादीबिचमा ट्याक्टर लोनमा लिने सल्लाह भई दुवैले रक्सी सेवन गरेको, मृतकले २ ट्याबलेट नाइट्रोसन र रक्सी सेवन गरेको, मृतकले आफ्नो गरगहना बेच्नको लागि प्रतिवादीलाई दिएको, प्रतिवादीले गहना लिएर जाँदा मृतकले बाहिरबाट चाबी लगाएर जानु भनेकाले मृतकलाई कोठामा राखी बाहिरबाट ढोकामा चाबी लगाई प्रतिवादी गएपछि गरगहना बेचेर साँझ कोठामा आउँदा मालिकले प्रहरीलाई खबर गरी प्रहरी आई मृतकलाई उपचारको लागि अस्पताल लगेको कुरा घर मालिकबाट थाहा पाएकोले डर लागेर आफ्नो घरमा गएको हुँ । मृतक निरमाया बुढालाई मारेको होइन भनी प्रतिवादीले अदालतमा बयान गरेको देखिन्छ ।

५. यी पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०७१।८।१६ को बिहान ११ बजे मृतकसँग भेट भई आफ्नो कोठामा ल्याएको, कोठामा मृतकले बोकी ल्याएको सुन्तला र बदाम खाएको, सुन्तला खाँदाखाँदै मृतकको गरगहना नगद लुट्ने मनमा सोची मृतकलाई एक्लै कोठामा छोडी बाहिरबाट १ क्वाटर भर्जिन, २ वटा रियल जुस र मिनरल वाटर किनेर ल्याई आफैसँग भएको ५ ट्याबलेट नाइट्रोसनलाई धुलो पारेर सो र थोरै रक्सीसमेत रियल जुसमा मिसाई मरून् भन्‍ने उद्देश्‍यले मृतकलाई खान दिएको । उक्त जुस खाएपछि मृतक लठ्ठ परी लरबराएको कुरा गर्दै निदाएको जस्तो गर्न थालेपछि मृतकले कानमा लगाएका रिङ, औंठी २ वटा, सिक्री १ थान निकाली सानो पर्समा भएको नगद रू.७०००।- घडी र मोबाइलसमेत लिई मृतकलाई बेहोस अवस्थामा छाडी बाहिर ताल्चा लगाई गएको हुँ । मृतकबाट लुटेका गरगहनालाई गालेर १ जोर रिङ्ग र एउटा बेरूवा औंठी बनाई भलवारी स्थित सुनचाँदी पसलमा ल्याई आफ्नो श्रीमतीको अप्रेसन गर्नु परेको भनी प्रतितोला रू.५०३५०।- को दरले रू.१,२५,८७५।- मा बिक्री गरेको हुँ भनी कसुरमा साबिती रही बयान गरेको देखिन्छ । 

६. निज प्रतिवादीकै भनाइबमोजिम मृतकलाई सामान्य अवस्थामा निजले आफ्नो कोठामा ल्याएको रियल जुसमा ५ वटा नाइट्रोसन धुलो पारी मिसाई अलिकति रक्सी हाली खुवाएको कुरा अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको साबिती बयान तथा नाइट्रोसन र जुस मृतकले खाएको तथ्यलाई अदालतमा समेत प्रतिवादीले स्वीकार गरेको अवस्था छ । प्रतिवादीले भाडा लिएको कोठामा मृतक घ्यार घ्यार गरी पल्टिएको, कोठा बाहिर ताल्चा लगाएको प्रहरीलाई खबर गरी ताल्चा फुटाली ढोका खोल्दा मृतक बेहोस अवस्थामा रहेको, अस्पताल लैजाँदा निजको मृत्यु भएको भन्‍ने तथ्य घरधनी राधिकाकुमारी उपाध्यायको मौकाको कागजबाट खुलेको देखिन्छ । जाहेरवालाले मौकामा गरेको कागज तथा अदालतमा गरेको बकपत्र, घटना विवरणका व्यक्तिहरूको भनाइ, घटना प्रकृति मुचुल्काको बेहोराबाट घटनास्थलमा प्राप्‍त भएको रियल जुसको खाली तथा आधा जुस रहेको बट्टा र अन्य मिसिल संलग्न कागजबाट प्रतिवादीले मृतकका गरगहना नगद र घडी मोबाइल लुट्ने उद्देश्‍यबाट रियल जुसमा नाइट्रोसन ५ ट्याबलेट पिसी धुलो पारी उक्त नाइट्रोसनको धुलो र केही मात्रामा भर्जिन रक्सी खुवाएको कारणबाट मृतक निरमाया बुढाको मृत्यु भएको र निजले लगाएका सुनका गरगहना, मोबाइल, घडी र नगद रकम प्रतिवादीले चोरी लिई गहना पगाली बेचेको तथ्य शंकारहित तवरबाट पुष्टि हुन आएको देखिन्छ । निज प्रतिवादीको योजना, मनसाय, तयारी र कार्यबाट नै मृतक निरमाया बुढालाई निजले नै मारेको तथ्य स्थापित हुन आएको देखिन्छ । 

७. जहाँसम्म शव परीक्षण प्रतिवेदनमा समेत No external injury, No verbal and vaginal injury उल्लेख हुनुका साथै Cause of death Visceral report awaited भनी लेखिएकोमा Viscera Report मा नशालु र विषालु पदार्थ नपाइएको Negative भनी उल्लेख भएको र चश्मदिद गवाह Eye witness  को अभावमा आफूलाई ज्यानसम्बन्धी महलको १३(२) बमोजिम सजाय गरेको मिलेको छैन अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्‍ने यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर रहेको छ सो सम्बन्धमा विचार गर्दा प्रतिवादीले नाइट्रोसन ट्‍याबलेट ५ वटा र थोरै रक्सी रियल जुसमा मिसाई मृतकलाई खुवाएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र अदालतमा बयान गर्दा मृतक आफैँले २ ट्‍याबलेट नाइट्रोसन खाएकी हुन् भन्ने बेहोरा उल्लेख गरेबाट अहिले आएर Viscera मा नशालु र विषालु पदार्थ नपाइएको भन्ने आधारमा पुनरावेदन पत्रमा लिएको जिकिरलाई युक्तिसङ्गत मान्न मिल्ने 

देखिएन । यी प्रतिवादीले निज मृतकलाई मिति २०७१।८।१६ गते दिउसो ११:०० बजेतिर आफ्नो कोठामा लगी जुसमा नाइट्रोसन ट्‍याबलेट र रक्सीसमेत मिसाई खुवाई बेहोस बनाई कोठामा बाहिरबाट चाबीसमेत लगाई छाडेर गएकोमा सोही दिन राति करिब ११:३० बजे निज मृतकलाई बेहोस अवस्थामा फेला पारेको र उपचारकै क्रममा निजको मिति २०७१।८।१७ गते दिउँसो १२:०० बजेको समयमा लुम्बिनी अञ्‍चल अस्पतालमा मृत्यु भएको अवस्था छ । यसप्रकार उक्त विषालु र नशालु पदार्थ सेवन गरेको २४ घण्टाभन्दा बढी अवधि व्यतित भएपश्‍चात् Viscera निकालेर परीक्षणको लागि पठाएको भिसेरामा नशालु र विषालु पदार्थ नपाइएको भनी दिएको प्रतिवेदनलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीले अदालतमा गरेको बयानमा स्वीकार गरेको तथ्यलाई अन्यथा गरी निष्‍कर्षमा पुग्नु प्रमाण कानूनको सिद्धान्तअनुकूल हुने देखिँदैन ।

८. त्यसैगरी प्रस्तुत वारदातमा चश्मदिद गवाहको अभाव रहेको छ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा यी प्रतिवादीले भाडामा लिएको कोठामा बेहोस अवस्थामा मृतक निरमाया बुढा रहेको र निरमायालाई कोठाको बाहिरबाट लगाएको ताला प्रहरीले तोडी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगी उपचाररत रहेको अवस्थामा मृत्यु भएको तथ्य निर्विवाद रूपमा स्थापित छ । यी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा अब यसलाई ठीक पारी यसको पैसा र गहना लुट्नु पर्‍यो भन्ने सोची मैले चिसो लिएर आउँछु तिमी बस भनी निजलाई एक्लै कोठामा छाडी रामनगर चोकतर्फ आई रक्सी दुकानमा १ वटा भर्जिनको क्वाटर, २ वटा रियल जुस र मिनरल वाटर किनेँ । मसँग पहिले नै भारत सुनौलीबाट ल्याएको ५ वटा नाइट्रोसन थियो, सो ५ वटा नाइट्रोसन धुलो पारी सो रियल जुसमा थोरै रक्सीसमेत मिसाई दिएँ, हल्का रक्सी मैले पनि खाएँ । निरमाया बुढालाई नाइट्रोसन र रक्सी मिश्रित रियल जुस निज मरून् नै भन्ने उद्देश्यले खान दिएँ । निज लठ्ठ परी बर्बराएर कुरा गर्दै निदाए जस्तो गर्न थालिन् । त्यसपछि मैले निजको कानमा लगाएका बेरूवा रिङ१ जोर, ‍औंठी २ वटा, सिक्री १ थान निकालेँ । सानो पर्समा नगद रू.७०००।– थियो सो रकम, घडी र मोबाइलसमेत निकालेपश्चात् निजलाई बेहोस अवस्थामा कोठामा छाडी बाहिरबाट ताल्चा लगाई गएकोमा पछि घरधनीसमेतले थाहा पाई प्रहरी बोलाई ढोकाको ताला तोडी निजलाई उपचारको लागि लगेकोमा निजको मृत्यु भएको रहेछ भनी उल्लेख गरेको पाइन्छ भने अदालतमा बयान गर्दासमेत आफू र निरमाया दुवैले रक्सी सेवन गरेको, निरमायाले २ ट्याबलेट नाइट्रोसन सेवन गरेको, मृतक निरमायाको गहना बेच्न लगेको र भित्र निरमायालाई कोठामा छाडी बाहिरबाट चाबी लगाएर गएको तथ्यमा साबित भई बयान गरेको पाइन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा मृतक निरमाया बुढा आफैँले नाइट्रोसन खाएको, मृतकले नै गहना बिक्री गर्नको लागि दिएको र बाहिरबाट चाबी लगाएर जानु भनी उल्लेख गरेको भए तापनि निजको उक्त कथनलाई निज आफ्नो कोठामा फर्की नआउनुले निजको भनाइ प्रतितलायक देखिएन । निजको अनुसन्धानमा भएको बयानलाई घटनास्थल प्रकृति मुचुल्का, जाहेरी दरखास्त र सोहीअनुरूपको घरधनी दिनेशकुमार उपाध्यायले गरेको बकपत्रसमेतबाट पुष्टि भएको हुँदा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार प्रमाणमा ग्राह्य हुन सक्ने नै देखियो । परिस्थितिजन्य प्रमाणबाट यी प्रतिवादीले कसुर गरेको स्थापित भएको अवस्थामा चश्‍मदिद गवाह नभएको भन्ने आधारमा मात्र सफाइ पाउनु पर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

९. यसप्रकार प्रतिवादीले आफूले गरेको कसुरको सम्बन्धमा यथार्थ विवरणका साथ अनुसन्धानमा साबिती बयान गरेको र निजले अदालतमा समेत बयान गर्दा आफू र निरमाया दुवैले रक्सी सेवन गरेको, निरमायाले २ ट्याबलेट नाइट्रोसन सेवन गरेको, मृतक निरमायाको गहना बेच्न लगेको र भित्र निरमायालाई कोठामा छाडी बाहिरबाट चाबी लगाएर गएको तथ्यमा साबित रही गरेको बयानलाई पुष्टि हुने गरी घरधनी राधिकाकुमारी उपाध्यायले मौकामा लेखाई दिएको कागज, जाहेरवालाले अदालतमा गरेको बकपत्र, बुझिएका मानिसहरूको भनाइ, फोनको कल डिटेल रिपोर्ट, घटनास्थलको प्रकृति र अन्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेको स्थितिमा चश्मदिद गवाह नभएको तथा भिसेरा प्रतिवेदनका आधारमा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्‍ने यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर तथा विद्वान्‌ वैतनिक अधिवक्ताको बहससँग सहमत हुन सकिएन ।

१०. मिति २०७५।०५।०१ गतेदेखि मुलुकी अपराध संहिता, २०७४ लागू भइसकेको अवस्थामा निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकोतर्फ विचार गर्दा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र ऐ. को १३ (२) नं. बमोजिम सजाय ठहर गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेकोमा प्रतिवादी कृष्‍णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय, चोरीको १४(२) नं. बमोजिम डेढ महिना कैद तथा जरिवानाबापत चार वर्ष कैद र चोरीको १८ नं. बमोजिम थप एक वर्ष कैद हुने ठहराई सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।३।१ मा फैसला भएको देखिन्छ । मिति २०७५।०५।०१ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) मा कानूनमा कुनै कसुरबापतमा सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय निर्धारण गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने व्यवस्था गरेको देखिन्छ । त्यसैगरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ । त्यस्तै केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को खण्ड (ख) मा कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नु पर्दा सोही कानूनबमोजिम गर्नुपर्ने छ तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने व्यवस्था रहेको देखिन्छ । त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा मुलुकी ऐन, २०२०, चोरीको महलको १४(२) मा भएको जरिवानाबापत कैदको सजाय तथा सोही महलको १८ नं. बमोजिम थप सजायको व्यवस्थासमेत विद्यमान रहेको देखिँदैन ।

११. अतः माथि विवेचना गरिएअनुसार प्रतिवादी कृष्णबहादुर भन्‍ने मंगलबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, चोरीको १४(२) नं. बमोजिम डेढ महिना कैद तथा जरिवानाबापत चार वर्ष कैद र चोरीको १८ नं. बमोजिम थप एक वर्ष कैद हुने गरी सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७३।२।२ मा भएको फैसला सदर हुने ठहर्‍याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।३।१ मा भएको फैसला सदर हुने ठहर भएको भए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को खण्ड (ख) मा भएको कानूनी व्यवस्थाबमोजिम सर्वस्वको सजाय नहुने तथा मुलुकी ऐन, २०२०, चोरीको महलको १४(२) मा भएको जरिवानाबापत कैदको सजाय तथा सोही महलको १८ नं. बमोजिम थप सजायसमेत नहुने भई प्रतिवादी कृष्णबहादुर भन्‍ने मंगलबहादुर तामाङलाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।    

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादी कृष्‍णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को खण्ड (ख) मा भएको कानूनी व्यवस्थाअनुसार जन्मकैदको मात्र सजाय हुने तथा मुलुकी ऐन, २०२०, चोरीको महलको १४(२) तथा सोही महलको १८ नं. बमोजिमको सजायसमेत नहुने भएकोले निज प्रतिवादी कृष्‍णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङको नाममा त्यहाँ अदालतबाट कसेको लगत संशोधन गरी जन्मकैदको लगत कसी सोअनुरूप कानूनअनुसार निज प्रतिवादीलाई संशोधित कैदी पुर्जी दिनु भनी सुरू रूपन्देही जिल्ला अदालतमा लेखी पठाई दिनू .............................................१

फैसलाको प्रमाणित प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय तथा कारागार कार्यालय, रूपन्देहीमा कैदमा रहेका प्रतिवादी कृष्‍णबहादुर तामाङ भन्ने मंगलबहादुर तामाङलाई दिनू .............................................२

नक्कल माग्ने सरोकारवालाहरूबाट नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू ...................................३

प्रस्तुत मुद्दाको फैसला अपलोड गर्नु र दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ....................................................४

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत: गोपी विश्‍वकर्मा

इति संवत्‌ २०७६ साल वैशाख २२ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु