शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०३९४ - अपुताली हक कायम

भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, पूर्ण इजलास 

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।९।३

०७३-NF-००३२

 

मुद्दाः अपुताली हक कायम

 

पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने नारायणप्रसाद थारू

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने इन्द्रकुमारी देवी चौधरीको अनुमति प्राप्‍त हरेन्द्रकुमार चौधरी

 

कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्‍न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्‍ने छैन । स्याहार संभार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानूनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्‍त गर्न सक्दछ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्‍ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने ठहर्छ । यसभित्र आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन सक्ने नदेखिने ।

(प्रकरण नं.५)

आफ्नै उदरबाट जन्मेको छोरी भएको र सौतेना छोरा भई विमातृक रहेको तथ्य मिसिल प्रमाणबाट पुष्‍टि भएको साथै सौतेना छोराको तुलनामा आफ्नै उदरतर्फको छोरी नै नजिकको हकवाला हुने कुरालाई कानूनत: स्वीकार गरिएको अवस्था हुँदा हकवाला छोरी विवाहिता हुनु वा नहुनुले कुनै अर्थ राख्‍ने नदेखिने ।

(प्रकरण नं.६)

दुवै अंशियारको संयुक्त नाममा रहेको सम्पत्तिमा सौतेनी छोरा र सौतेनी आमा सगुनीदेवीको समान भाग रहेको          देखिन्छ । संयुक्त नाममा सम्पत्ति राख्‍नुको अर्थ आफ्नो हक अर्का संयुक्त नामवालालाई समर्पण गर्न वा हस्तान्तरण गर्नु हो भनी मान्‍न मिल्ने नदेखिने ।

मर्ने व्यक्ति स्वयंको गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्‍नु पर्ने हुन्छ । विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्‍करणको स्थिति आई विभेदित हुने अवस्था आउने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री बालचन्द्र आचार्य र डा.श्री ठकेन्द्र प्रकाश गिरी एवं विद्वान् अधिवक्ता श्री भरतमणि शर्मा

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री मिथिलेश कुमार सिंह

अवलम्बित नजिर : 

ने.का.प.२०५३, अंक ९, नि.नं.६२६२

ने.का.प.२०६५, अंक ५, नि.नं.७९६७

सम्बद्ध कानून :

नेपालको संविधान

 

सुरू तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री शेखर चन्द्र अर्याल

नवलपरासी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल 

माननीय न्यायाधीश श्री बलराम बिष्‍ट

पुनरावेदन अदालत बुटवल

यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दीपकराज जोशी

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम यस अदालतको संयुक्त इजलासको मिति २०७२।१२।२३ को फैसला पुनरावलोकन गरिपाउँ भनी प्रतिवादीका तर्फबाट निवेदन दायर भई यस अदालतको पूर्ण इजलासबाट मिति २०७३।१२।४ मा पुनरावलोकनको अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

स्व. बुद्धिराम थारूको छोरा स्व. शङ्कर थारू हुन् । शङ्कर थारूको दुई श्रीमतीमध्ये जेठी सोनियादेवी थारू र कान्छी सगुनी थारू हुन् । जेठी सोनियाबाट जन्मेका छोरा विपक्षी नारायणप्रसाद थारू हुन् । कान्छी सगुनी थारूबाट जन्मेको एक मात्र छोरी इन्द्रकुमारी

हुन् । इन्द्रकुमारीको २०४२ सालमा तेजनारायण थारूसँग विवाह भएको थियो । शङ्कर थारूको नाउँमा दर्ता रहेको जग्गा निज शङ्कर थारूको मृत्युपश्‍चात् मिति २०५५।११।६ गतेको निर्णयअनुसार सगुनीदेवी थारू र नारायणप्रसाद थारूको संयुक्त नाउँमा दर्ता रहेको थियो । सगुनीदेवी थरूनीको मिति २०६३।९।१३ गते मृत्यु भएपश्‍चात् निज सगुनीको अपुताली हक इन्द्रकुमारीको नाममा नामसारी गरी दिन प्रतिवादीले इन्कार गरेको हुँदा सोही चोट पीडाका कारण आमा इन्द्रकुमारी मिति २०६३।१२।४ देखि बेपत्ता 

हुनुभयो । अतः विपक्षी नारायणप्रसाद थारू र सगुनीदेवी थरूनीको नाउँमा संयुक्त दर्ता रहेको जग्गामध्ये सगुनीदेवी थरूनीको हकजति अपुतालीको २ नं. बमोजिम आमा इन्द्रकुमारी थरूनीको अपुताली हक कायम गरिपाउँ भन्‍नेसमेत अनुमति प्राप्त हरेन्द्रकुमार चौधरीको फिराद दाबी ।

विपक्षीले देखाएको नाता एवं पुस्तावलीमा कुनै विवाद छैन । विपक्षीको आमा इन्द्रकुमारी थरूनी विवाह भइसकेकी छोरी हुन् । बाबु शङ्कर थारूको मृत्युपछि निजको नाउँमा दर्ता रहेको जग्गा म नारायणप्रसाद थारू र सगुनीदेवीका नाउँमा संयुक्त दर्ता भए पनि हामीबिच रीतपूर्वकको अंशबन्डा भएको छैन । स्व. सगुनीदेवीले अंशबन्डा गराई आफ्नो अंश हक नछुट्याई हामी एकासगोलमा रहेकै अवस्थामा निज सगुनीदेवीको मृत्यु भएको हो । निजको मृत्युपश्‍चात् निजको भाग सम्पत्ति पनि एकासगोलको हकवालाको हैसियतले म प्रतिवादीको हुने भएको हुँदा मेरो नाउँमा एकलौटी दर्तासमेत गराएको छु । सगुनीदेवीको मृत्युपश्‍चात् विपक्षीहरूले सगुनीदेवीको लागि गर्नुपर्ने कुनै कर्तव्य तथा कानूनी दायित्वसमेत पूरा गरेका छैनन् । वादी इन्द्रकुमारी सगुनीदेवीको विवाह भइसकेको छोरी भई निज अपुतालीको महलअन्तर्गतको अपुताली पाउने हकवालासमेत नभएको हुँदा वादीको फिराद दाबी अ.बं.८२ नं. समेतको आधारमा खारेज गरी फुर्सद पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी नारायणप्रसाद थारूको प्रतिउत्तरपत्र ।

वादीका साक्षी धुपनारायण पंजियार र प्रतिवादीका साक्षी देवीप्रसाद पंजियारले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

अपुतालीको २ नं. मा आफ्नै कोखबाट जन्मिएको छोरा नभए विवाहित छोरीले अपुताली पाउँछ भन्‍ने कानूनी व्यवस्था रहेको नदेखिएको र छोरा भन्‍ने शब्दले सौतने छोरा र धर्मपुत्रलाई पनि मान्‍नुपर्छ भनी ने.का.प. २०५६ पृष्ठ ४८९ नि.नं.६७४७ र ने.का.प. २०६५ नि.नं.७९६७ पृष्ठ ६१३ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । मृतक सगुनीदेवी र प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा भएको नभई सगोलमै रहेको अवस्था हुँदा निजको अपुताली पाउँ भन्‍ने वादी दाबी नपुग्ने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६७।२।९ को फैसला ।

अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराको छोरो वा निजको अविवाहित छोरी भएसम्म अरूले अपुताली पाउँदैन भनी उल्लेख भएको छ । मर्नेको लोग्ने र निजको गर्भबाट छोरा नजन्मेको अवस्थामा निजको अपुताली विवाहित छोरीले पाउने भन्‍ने नै हो । प्रतिवादीले आफू सगुनीको गर्भबाट जन्मेको भन्‍नसकेको छैन । ने.का.प.२०६५ नि.नं.७९६७ पेज ६१३ को मुद्दामा अंश र अपुताली दुई अलगअलग कुरा हुन्, अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न सकिँदैन भनी फैसला भएको छ । सगुनीको अपुताली निजले जन्म दिएकी छोरी आमा इन्द्रकुमारीले पाउने र मुख नमिलेको कुरामा अ.बं.१८४क तथा १८५ नं. बमोजिम प्रमाण बुझी निरूपण गर्नु पर्नेमा सो नगरी वादी दाबी नपुग्ने भनी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेत वादीले पुनरावेदन अदालतमा लिएको पुनरावेदन जिकिर ।

२०६३ सालको दे.पु.नं.१०६७ को अपुताली मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तबमोजिम अपुताली प्राप्त गर्न जो मरी अपुताली परेको हो सो व्यक्तिको नाउँमा सम्पत्ति नै हुनुपर्छ वा निज छुट्टी भिन्‍न भएको हुनुपर्छ भन्‍ने नभई सम्पत्तिमा प्रकट मात्र होइन, अन्तर्भुत अधिकार रहने हुन्छ भनी फैसला भएको छ । प्रस्तुत मुद्दामा पुनरावेदक हरेन्द्र, आमा सगुनीको छोरी इन्द्रकुमारी र बाबु तेजनारायणको छोरा रहेकोमा विवाद देखिँदैन । शङ्करको दुई पत्‍नी सोनिया र सगुनी रहेको भन्‍ने कुरा २०५५।११।६ को नामसारीबाट स्पष्ट रहेको छ । सोनियाबाट जन्मिएको छोरा नारायणप्रसाद थारू र सगुनीबाट जन्मिएको छोरी इन्द्रकुमारीको हकमा पुनरावेदक हरेन्द्रकुमारले अपुतालीको २ नं. ले निजको आमाको अपुताली हक हुनेसमेतका अवस्थातर्फ सुरूले केही विवेचना नगरी सगुनीको सम्पत्तिसमेतमा नारायणप्रसाद थारू सौतेनी छोराको अपुताली हुने भनी ठहर गरेको सुरू फैसला सोही आधारमा नमिली फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालतको मिति २०६७।९।२१ को आदेश ।

यसै लगाउको यिनै वादी र नारायणप्रसाद थारू प्रतिवादी भएको ०६७-DP-०१३८ को निर्णय बदर र दु.फौ.नं. ००३८ को जालसाजी मुद्दा मिसिल साथै रहेको पाइयो ।

वादी इन्द्रकुमारीको आमा सगुनी र निजको सौतने छोरा प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा भई अंश नै कायम भई नसकेको अवस्थामा विवाहित छोरीले अपुताली पाउँछ भन्‍न मिल्ने अवस्था पनि देखिन नआएबाट एकै उदरबाट जन्मेको छोरा नहुँदा सौतने छोराले अपुताली नपाउने भन्‍ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । यसैगरी आमाको हक कायम भई नसकेको स्थितिमा पुनरावेदकले दाबी गरेको स्थितिको विद्यमानता भए पनि निजले सुरू अदालतमा अ.बं.८३ नं. को सुविधा लिई फिराद दायर गरी आएबाट निजको हकमा समेत प्रस्तुत मुद्दाबाट बोल्न मिल्ने अवस्थासमेत नहुँदा वादी दाबी नपुग्ने ठहराई भएको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६७।२।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला ।

स्व. शङ्कर थारूको दुई श्रीमतीमा जेठी सोनियादेवी र कान्छी सगुनी थारू हुन् । जेठीतर्फबाट प्रतिवादी नारायणप्रसाद थारू र कान्छीतर्फबाट एक मात्र छोरी म वादी इन्द्रकुमारी थारूको जन्म भएकोमा विवाद छैन । शङ्कर थारूको शेषपछि निजको नामको सम्पत्ति नारायणप्रसाद थारू र सगुनी थारूको नाममा मिति २०५५।११।६ मा नामसारी भई संयुक्त रूपमा भोग गरी आएका थिए । आमा सगुनी थारूको मिति २०६३।९।१३ मा मृत्यु भयो । मुलुकी ऐन, अपुतालीको २ नं. ले मर्नेको लोग्ने, छोरा, अविवाहित छोरी कोही नभए विवाहित छोरीले अपुताली पाउने क्रम निर्धारण गरेको छ । मर्ने सगुनीको लोग्ने, छोरा र अविवाहित छोरी नभएकोले म विवाहित छोरी इन्द्रकुमारीले पाउने हो । यस्तो कानूनी व्यवस्था र यसै अदालतबाट वादी धनकुमारी सारू प्रतिवादी सूर्यबहादुर थापा भएको अपुताली हक कायम मुद्दामा फैसला भई ने.का.प.२०५३ नि.नं.६२६२ पृ.६९७ मा प्रकाशित सिद्धान्त प्रतिकूल सौतेनी छोरा प्रत्यर्थी नारायणप्रसाद थारूले अपुताली पाउने गरी पुनरावेदन अदालत बुटवलसमेतबाट भएको फैसला मुलुकी ऐन, अपुतालीको १, २ र ३ नं. विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादीको हकमा अनुमति प्राप्त हरेन्द्रकुमार चौधरीको यस अदालतमा परेको निवेदनपत्र ।

सुरू रेकर्ड र प्रमाण मिसिल सम्बन्धित अदालतबाट झिकाई पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६९।१।१२ को आदेश ।

वादी इन्द्रकुमारीको आमा सगुनी र निजको सौतेनी छोरा प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा भई नसकेको र अंश नै कायम भई नसकेको अवस्थामा विवाहित छोरीले अपुताली पाउँछ भन्‍न नमिल्ने भन्‍नेसमेतको आधार ग्रहण गरी वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०६८।२।१७ मा फैसला भएको देखिन्छ । अपुताली हक कायमका लागि जिकिर लिइएको जग्गा वादीको आमा सगुनी र प्रतिवादीका नाममा संयुक्त दर्ता रहेकोमा विवाद नरहेको अवस्थामा निज सगुनीको मृत्युपछि निजका नामको सम्पत्तिमा हकवालाले दाबी गर्न सक्ने मुलुकी ऐन, अपुतालीको २ नं. को कानूनी व्यवस्थासमेतका परिप्रेक्ष्यमा हकवाला को हुने भन्‍नेतर्फ विद्यमान कानूनी व्यवस्थाको पर्याप्त विवेचना नै नगरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको मिति २०६८।२।१७ को फैसलामा मुलुकी ऐन, अपुतालीको १ र २ नं. तथा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त (ने.का.प. २०६४, नि.नं.७८५८ पृष्ठ ७५०) समेतको त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१), (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत निवेदनलाई पुनरावेदनको लगतमा दर्ता गरी विपक्षीहरूसमेत झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतबाट मिति २०७०।२।३१ मा भएको आदेश ।

मृतकको नामको अपुताली प्रतिवादी नारायणप्रसाद थारूका नाममा कायम गरी दिएको सुरू एवं पुनरावेदन अदालत बुटवलको फैसला कानूनी त्रुटिपूर्ण रही मिलेको देखिन आएन । तसर्थ, मृतक सगुनी थरूनीको अपुताली हक कायम गरिपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने गरी सुरू नवलपरासी जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई दाबीका जग्गामध्येबाट मृतक सगुनी थरूनीको हकजति आधा जग्गाको हदसम्म प्रत्यर्थी वादीको आमा इन्द्रकुमारीदेवी चौधरीको अपुताली हक कायम हुने ठहर्छ भन्‍नेसमेत बेहोराको यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।१२।२३ मा भएको फैसला ।

मुलपुरूष बुद्धिराम थारूको छोरा शंकर थारूको २ श्रीमतीहरूमा सोनियादेवी र कान्छी सगुनीदेवी रहेकोमा जेठी सोनियादेवीको तर्फबाट निवेदक / प्रतिवादी नारायणप्रसाद थारू र कान्छी सगुनीको तर्फबाट प्रत्यर्थी / वादी इन्द्रकुमारी चौधरीको जायजन्म भएको हो । इन्द्रकुमारी चौधरीको अंशियारहरू छुट्टी भिन्न नहुँदै विवाह भइसकेको भन्ने कुरा प्रत्यर्थी / वादीले नै स्वीकार गरेको अवस्था छ । प्रत्यर्थी / वादीकी आमा सगुनी र निवेदक / प्रतिवादी नारायणप्रसाद थारू सौतेनी आमा / छोरा नाताका हौं । पिता शंकर थारूको नाउँमा दर्ता रहेका जग्गा पिता शंकर थारूको मृत्युपश्चात् मिति २०५५।११।६ को निर्णयानुसार हकवालाहरू सगुनीदेवी थारू र नारायणप्रसाद थारूको नाउँमा संयुक्त दर्ता रहेको 

थियो । सगुनीदेवी थरूनीको मिति २०६३।९।१३ मा मत्यु भएको हो । मृतक सगुनीदेवी प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा नभई एकासगोलमै रहेको अवस्थामा निजको मृत्युपश्चात् एकासगोलको जीवित अंश हकवालाको हैसियतले सगुनीदेवीको अंश हकको सम्पत्ति स्वत: म निवेदक / प्रतिवादीमा सर्न जानेमा कुनै विवाद छैन । सगोलका अंशीहरूमध्ये छुट्टी भिन्न नहुँदै कुनै एक अंशीको मृत्यु भएमा सो सम्पत्तिको हक अर्को जीवित अंशीमा सर्न आउने जीवितताको सिद्धान्त (Princip।e of Survivorship) हो । मुलुकी ऐन, अपुतालीको १० नं. विपरीत विवाह भई गइसकेकी छोरीतर्फबाट संरक्षक बनी मेरोउपरमा दायर भएको प्रस्तुत मुद्दामा वादी दाबी नपग्ने ठहर्‍याई श्री नवलपरासी जिल्ला अदालतबाट मिति २०६७।२।९ मा भएको फैसलालाई सदर गरेको तत्कालीन श्री पुनरावेदन अदालत बटवलको मिति २०६८।२।१७ को फैसला उल्टी गरी दाबीको जग्गामध्येबाट मृतक सगुनीदेवी थारूको हकजति आधा जग्गाको हदसम्म प्रत्यर्थी / वादीको आमा इन्द्रकुमारीदेवी चौधरीको अपुताली हक कायम हुने ठहर गरेको श्री सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०७२।१२।२३ को फैसलामा मुलुकी ऐन, अपुतालीको २ नं. एवं सम्मानित श्री सर्वोच्च अदालत पूर्ण इजलासबाट प्रतिपादित ने.का.प.२०६५ अंक ५ नि.नं.७९६७ पृष्ठ ६१३ मा प्रकाशित नजिर सिद्धान्तको उल्लङ्घन हुन गएको, अपुतालीको १० नं. मा अंश लिई छुट्टिएकी स्वास्नी मरी भने छोरा, अविवाहित छोरी भए छोरा, अविवाहित छोरीले र छोरा, अविवाहित छोरी नभए लोग्नेले पाउँछ, यी नभए सौतेनी छोरा, अविवाहित छोरीले अपुताली पाउँछ भनी प्रस्ट रूपमा उल्लेख भएको छ । प्रस्तुत मुद्दामा पनि निवेदक / प्रतिवादी र मृतकबिचमा सौतेनी आमा / छोराको नाता सम्बन्ध रहेको र हामीहरू एकासगोलमै रहेको अवस्थामा सौतेनी आमा सगुनीको मृत्यु भएको भन्ने तथ्यमा विवाद 

छैन । निजको लालन पालन रेखदेख र काजक्रियासमेत मैले नै गरेको हो । यस्तो अवस्थामा मृतक सगुनीको अपुताली अपुतालीको महलको १० नं. ले निवेदक / प्रतिवादीले पाउने कुरामा कुनै विवाद नभएको अवस्थामा पनि कानूनको गलत अर्थ गरी विवाह गरी गइसकेकी छोरीलाई अपुताली दिलाइदिने ठहर गरेको श्री सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०७२।१२।२३ को फैसलामा ने.का.प.२०५६ अंक ७ नि.नं.६७४७ पृ. ४८९ मा प्रकाशित सिद्धान्तको उल्लङ्घन हुन गएको साथै मुलुकी ऐन, अपुतालीको २, १० नं. को आधारमा सँग बसेको अंशियारले स्वत: अपुताली पाउनेमा मुलुकी ऐन, अपुतालीको २ नं. को गलत अर्थ एवं लाग्नै नसक्ने नजिर सिद्धान्तको प्रयोग गरी प्रत्यर्थी / वादीले अपुताली पाउने ठहर गरेको श्री सर्वोच्च अदालत संयुक्त मिति २०७२।१२।२३ को फैसलामा कानून र नजिरको गलत अर्थ गरिएबाट उक्त फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) अन्तर्गत पुनरावलोकन गरी हेरी बदर गरी मेरो सुरू प्रतिउत्तर जिकिरबमोजिम न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी नारायणप्रसाद थारूको यस अदालतमा दायर भएको पुनरावलोकनको 

निवेदन ।

यसमा यसै अदालतबाट ने.का.प.२०६५ अंक ५ नि.नं.७९६७ मा प्रतिपादित कानूनी सिद्धान्त हेर्दा बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भई आफ्नो घरमा गएको छोरीहरूले बाबु वा आमाको अपुतालीमा दाबी गर्न पाउने अवस्था नहुने भन्‍ने  तथ्यसहितको कानूनी सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने देखिँदा यस अदालतबाट मिति २०७२।१२।२३ को फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ । नियमानुसार सुरू, रेकर्ड र भए प्रमाण मिसिलसमेत झिकाई पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतको पूर्ण इजलासबाट मिति २०७३।१२।४ मा भएको आदेश । 

उक्त आदेशानुसार प्रस्तुत मुद्दा  पुनरावेदनसरह यस अदालतको निस्सा प्राप्‍त दायरीमा दर्ता भएको रहेछ ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत पुनरावेदनसहितको मिसिल कागजात अध्ययन   गरियो ।

पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री बालचन्द्र आचार्य र डा.श्री ठकेन्द्र प्रकाश गिरी एवं विद्वान् अधिवक्ता श्री भरतमणि शर्माले विपक्षी वादी इन्द्रकुमारीको आमा सगुनी र निजको सौतने छोरा प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा भएको भन्‍ने नदेखिएको र यसरी आमाको अंश नै कायम भई नसकेको अवस्थामा विवाहित छोरीले अपुतालीमा दाबी गर्ने पाउँछ भन्‍नु कानूनत: मिल्ने अवस्था हुँदैन । अर्कोतर्फ अंश र अपुताली फरक विषय भएको साथै नारायणप्रसाद थारूले सगुनीदेवीको काजक्रिया गरेको भन्‍ने तथ्य पुष्‍टि भएको छ । यस्तै यसै सम्मानित अदालतबाट बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भई आफ्नो घरमा गएको छोरीहरूले बाबु वा आमाको अपुतालीमा दाबी गर्न पाउने अवस्था नहुने भनी ने.का.प.२०६५, अंक ५, नि.नं.७९६७ मा सिद्धान्तसमेत प्रतिपादन भई न्यायिक दृष्‍टिकोण कायम भएको र मुलुकी ऐन, अपुतालीको २, १० नं. को आधारमा सँग बसेको अंशियारले स्वत: अपुताली पाउनेमा मुलुकी ऐन, अपुतालीको २ नं. को गलत अर्थ एवं लाग्नै नसक्ने नजिर सिद्धान्तको प्रयोग गरी प्रत्यर्थी / वादीले अपुताली पाउने ठहर गरेको यस अदालत संयुक्त इजलासको फैसला कानूनत: त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री मिथिलेशकुमार सिंहले स्व.शङ्कर थारूको नामको सम्पत्ति हक खाने निजकी कान्छी श्रीमती वादीको आमा सगुनीदेवी र जेठी सोनियादेवीतर्फका एक मात्र छोरा प्रत्यर्थी नारायणप्रसाद थारूका नाममा नामसारी भएको तथ्यमा विवाद छैन । मुलुकी ऐनको एघारौं संशोधनबाट २०७२ सालदेखि अपुतालीको महलको २ नं.मा भएको कानूनी व्यवस्थाबाट अपुतालीका सम्बन्धमा विवाहित र अविवाहित दुवैको समान हक हुने भन्‍ने सुनिश्‍चित गरेको र रगतको नाता वादीको नै रहेको देखिएको छ । यस्तो अवस्थामा आमा सगुनीदेवीको मृत्युपछि निजको पति र एका उदरबाट जन्मेका अन्य सन्तान एवं हकवाला नभएको हुँदा मुलुकी ऐन, अपुतालीको २ नं.कानूनअनुसार मृतक सगुनीदेवीको भाग अपुताली एक मात्र विवाहित छोरी वादीले पाउने ठहर गरी भएको यस अदालत संयुक्त इजलासको फैसला कानूनसम्मत हुँदा सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । 

यसमा आमा सगुनीदेवीको एका उदरबाट जन्मेको छोरा र अविवाहित छोरीसमेत अन्य हकदार कोही नरहेको हुँदा निजसमेतको संयुक्त नाममा दर्ता रहेका सम्पत्तिबाट अपुतालीको २ नं. अनुसार निज आमाको भागसम्म अपुताली हक कायम गरिपाउँ भन्‍ने वादीको फिराद दाबी रहेकोमा वादीको विवाह भइसकेको कारणबाट निजको अंश हक समाप्‍त भएको र पहिले नै मरिसकेकी मृतकको अंश नै यकिन नभएको अवस्था हुँदा फिराद दाबीबमोजिम अपुताली हक कायम हुनुपर्ने होइन भन्‍ने प्रतिवादीको प्रतिउत्तर जिकिर रहेछ । सुरू नवलपरासी जिल्ला अदालतबाट वादी दाबी नपुग्ने  ठहर गरी भएको फैसलाउपर वादीको पुनरावेदन परेकोमा तत्कालीन पुनरावेदन अदालत बुटवलबाट सुरू सदर भई फैसला भएकोमा सोउपर वादीको मुद्दा दोहोर्‍याई अन्तर्गत यस अदालतमा निवेदन परेको र यस अदालतबाट निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको र निर्णयार्थ इजलाससमक्ष पेस भएकोमा यस अदालत संयुक्त इजलासबाट सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६८।२।१७ को फैसला उल्टी भई दाबीका जग्गामध्येबाट मृतक सगुनीदेवी थरूनीको हक जति आधा जग्गाको हदसम्म वादीको आमा इन्द्रकुमारी देवी चौधरीको अपुताली हक कायम हुने ठहर्‍याई मिति २०७२।१२।२३ मा फैसला भएकोमा सो फैसला पुनरावलोकन गरिपाउँ भनी प्रतिवादीको निवेदन परेकोमा यस अदालतबाट पुनरावलोकनको अनुमति प्रदान गर्ने गरी आदेश भएबमोजिम प्रस्तुत मुद्दा यस अदालतको निस्सा प्रदान पुनरावेदन दायरीमा दर्ता भएको रहेछ ।

उपरोक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा देहायका विषयमा विवेचना गरी निर्णय दिनुपर्ने हुन आयो ।

(१) तत्कालीन मुलुकी ऐन अपुतालीको महलको २ नं. बमोजिम सगोलमा र संयुक्त नाममा सम्पत्ति रहेको अवस्थामा हकवाला मरेको अवस्थामा निजको अंश भाग अर्को अंशियारको सौतेनी छोरा वा आफ्नो रगतपट्टिको विवाहित छोरीले अपुताली हक दाबी गर्न पाउने हो वा होइन ?

(२) सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी भई वादी दाबीबमोजिम दाबीको जग्गामा आधासम्म अपुताली हक कायम हुने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको फैसला मिलेको छ वा छैन ? 

 

२. निर्णयको रोहमा पहिलो प्रश्‍नका सम्बन्धमा विचार गर्दा जिल्ला नवलपरासी रूपैलिया गा.वि.स.वडा नं.४क कि.नं.२८, ४२ ऐ.४ख कि.नं.३०, ७७, ८९, ३४९, ५४१, १५२, २३६, ऐ. ४ग १, ४३, ४८ समेत १२ (बाह्र) कित्ता जग्गाहरू दर्तावाला शङ्करप्रसादको शेषपछि हक खाने नजिकको हकवाला पत्‍नी सगुनी थरूनी र छोरा नारायणप्रसाद थारूका नाउँमा संयुक्त नामसारी हुने गरी मालपोत कार्यालय नवलपरासीबाट मिति ०५५।११।६ मा निर्णय भएकोमा संयुक्त दर्तावालामध्येकी वादीको आमा सगुनी थरूनीको मृत्यु भएपछि उक्त कित्ता जग्गाहरू यी निवेदक प्रतिवादी नारायणप्रसाद थारूले मृतक सगुनीदेवीको हकसमेत मालपोत कार्यालय नवलपरासीको मिति २०६५।५।२ को निर्णयबाट आफ्नो नाममा नामसारी गराई लिएको देखिन्छ । यी निवेदक प्रतिवादी र विपक्षी वादीको पारिवारिक र नातागत पृष्‍ठभूमि हेर्दा मूल पुरूष स्व.बुद्धिरामको छोरा स्व.शङ्करप्रसाद शंकरप्रसादको दुई श्रीमतीमा जेठी सोनियादेवी र कान्छी सगुनी रहेको र जेठी श्रीमतीबाट एक मात्र छोरा यी निवेदक प्रतिवादी नारायणप्रसाद थारू र कान्छी श्रीमती सगुनीदेवीबाट एकमात्र छोरी यी विपक्षी वादी इन्द्रकुमारीको जाय जन्म भएको र निजको तेजनारायण थारूसँग २०४२ सालमा विवाह भएको भन्‍ने देखिन्छ । सगुनीदेवी थरूनीको मिति २०६३।९।१३ मा मृत्युपश्‍चात् निजको नामको सम्पत्ति वादी इन्द्रकुमारीका नाममा नामसारी गरी दिन प्रतिवादी नारायणप्रसाद थारूले इन्कार गरेका कारण सोही चोट पीडाबाट निज इन्द्रकुमारी मिति २०६३।१२।४ देखि बेपत्ता भएको भन्‍ने फिराद लेखबाट देखिन्छ । 

३. स्व.शङ्कर थारूको शेषपछि निजको हक खाने नजिकको हकवाला वादीकी आमा सगुनदेवी र प्रतिवादी दुई जना मात्र रहेको देखिएकोले निजहरू दुवै जनाको संयुक्त नाममा विवादित जग्गाहरू संयुक्त नामसारी भएको देखिन्छ । यसरी संयुक्त नाममा रहेको सम्पत्ति सगुनदेवीको शेषपछि पुनरावेदक प्रतिवादी नारायणप्रसाद थारूले सौतेनी आमाको नाम कटाई आफ्नो नाम मात्र रहने गरी नामसारी गराएको भन्‍ने मिसिलबाट देखिन आएको अवस्था छ । मुलुकी ऐनमा भएको एघारौं संशोधन मिति २०५९।६।१० पश्‍चात् अपुताली हकका सम्बन्धमा कायम भएको कानूनी व्यवस्थाअन्तर्गत अपुतालीको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराको छोरा वा अविवाहित छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहित छोरी, विवाहित छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउँछन् भन्‍ने उल्लेख भएको 

पाइन्छ । उक्त कानूनी व्यवस्थालाई हेर्दा नेपालको सन्दर्भमा अपुतालीको हकअन्तर्गत दाबी गर्न पाउने सम्बन्धमा स्पष्‍टरूपमा प्राथमिकताक्रम निर्धारण गरेको देखिन्छ । जसअनुसार प्रस्तुत मुद्दामा यी विपक्षी वादी सगुनदेवीको छोरी भएको र निवेदक प्रतिवादी सगुनदेवीको सौतेना छोरा नाताका व्यक्ति रहेको कुरामा विवाद देखिन आएन । कानूनत: सम्पत्तिवाला सगुनदेवीको शेषपछि निजको एकाउदरतर्फको एकमात्र विवाहित छोरी यी वादी इन्द्रकुमारी देखिएको र मुलुकी ऐनमा भएको एघारौं संशोधनबाट अपुतालीको महलको २ नं.मा विवाहित छोरीसमेतले मर्ताको अपुताली पाउने भन्‍ने कानूनी व्यवस्थालाई स्वीकार गरेको र निवेदक प्रतिवादी नारायणप्रसाद थारू सौतेनी छोरा भएकोले निजले सगुनदेवीको अपुताली पाउने अवस्था नभई आफ्नो आमातर्फको अंश हक वा अपुतालीमा हक पुग्ने देखिन आएकोले मैले नै स्याहार सम्भार गरी काजकिरियासमेत गरेको हुँदा मर्ता सगुनदेवीको अपुतालीमा मेरो हक लाग्ने र वादी इन्द्रकुमारीको हक दाबी पुग्ने होइन भन्‍ने निजको प्रतिउत्तर जिकिर कानूनसम्मत मान्‍न मिलेन । जहाँ कानून स्पष्‍ट छ, त्यहाँ अन्य व्याख्याको गुञ्‍जायस रहने देखिँदैन । कानूनले स्पष्‍टरूपमा नै मर्नेको छोरा नभए अविवाहित छोरी, अविवाहित छोरी नभए विधुवा बुहारी, विधुवा बुहारी नभए विवाहित छोरी, विवाहित छोरी नभए निजका छोरा वा अविवाहित छोरीमा अपुताली जाने कानूनी व्यवस्था रहेको देखिन्छ । 

४. नेपालको संविधानको धारा १८ मा समानताको हकअन्तर्गत पुरूष र महिलाबिच विवाहित तथा अविवाहितका आधारमा विभेद नगरिने भनी संवैधानिक प्रत्याभूति दिएको पाइन्छ । जसअनुसार देहायको व्यवस्था रहेको पाइन्छ :

(१) उपधारा (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक  अवस्था,  अपाङ्गता,  स्वास्थ्य  स्थिति,  वैवाहिक  स्थिति,  गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

(२) उपधारा (५) पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुने छ ।

(३) धारा ३८ को उपधारा (१) मा महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुने छ ।

 

५. नेपालको संवैधानिक व्यवस्थाले स्पष्‍टरूपमा महिला र पुरूषका बिचमा भेदभाव गरिने छैन तथा महिला भएकै कारणबाट विभेद गरिने छैन भन्‍ने व्यवस्था गरेको पाइन्छ । त्यस्तै नेपालले अनुमोदन गरेको महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, १९७९ को धारा १ तथा धारा १३ मा वैवाहिक स्थितिको आधारमा सामाजिक कानूनी राजनीतिक वा आर्थिक अधिकारमा पनि महिलालाई बहिष्‍कार, प्रतिबन्ध वा फरक व्यवहार गर्न नपाउने तथा धारा १३ ले पारिवारिक फाइदा महिला र पुरूषबिच विभेद गर्न नपाउने व्यवस्था गरेको छ । मुलुकी ऐनमा भएको एघारौं संशोधनबाट अपुतालीको २ नं.मा स्पष्‍ट व्यवस्था गरी आमाको सम्पत्तिमा विवाह गरेकी छोरीले पनि अपुताली पाउने हक संरक्षण गरेको पाइन्छ । यसरी उल्लिखित संवैधानिक र कानूनी व्यवस्थासमेतको सन्दर्भमा हेर्दा प्रस्तुत मुद्दामा विवादित जग्गाहरू स्व.शंकरप्रसादको शेषपछि नजिकका हकवाला वा सगोलका अंशियारहरूमध्ये यी वादीकी आमा सगुनदेवी र प्रतिवादी नारायणप्रसाद थारूका नाउँमा अंश हकको रोहबाट संयुक्त नाममा नामसारी गएको देखिन्छ । यसबाट सगुनदेवी र नारायणप्रसादको विवादित जग्गामा आधा आधा अंश हक रहेको कुरामा विवाद देखिएन । अंश र अपुताली भन्‍ने कुरा फरक फरक विषय हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध मुख्यरूपमा हेरिन्छ । तर अपुतालीको विवादमा रगतको नाता वा आफ्नो उदरतर्फको भएसम्म फरक उदरबाट जन्मेका सन्तानले मर्नेको अपुताली नपाउने भनी यस अदालतबाट पुनरावेदक प्रतिवादी सूर्यबहादुर थापा प्रत्यर्थी वादी धनकुमारी सारू मगर भएको अपुताली हक कायम मुद्दा (ने.का.प. २०५३ अङ्क ९ नि.नं.६२६२ पृष्ठ ६९७) मा सिद्धान्त प्रतिपादन गरी अपुतालीसम्बन्धी स्पष्‍ट विधिशास्त्रीय मान्यताको विकास गरेको देखिन्छ । यसबाट विवादित सम्पत्तिका आधा हकवाला सगुनदेवीको मृत्यु भएपछि निजको सम्पत्तिमा अपुताली परेको अवस्था हुँदा निज सगुनदेवीको अपुताली आफ्नै उदरबाट जन्मेकी यी विपक्षी वादी इन्द्रकुमारी देवी चौधरीले पाउने देखिएको र अपुतालीको २ नं. को कानूनी व्यवस्थाअनुसार सौतेनी छोरा यी निवेदक प्रतिवादीले सगुनीदेवी थरूनीको अपुताली पाउने भन्‍ने देखिन आएन । कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्‍न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्‍ने छैन । स्याहार सम्भार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानूनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्‍त गर्न सक्दछ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्‍ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने ठहर्छ । यसभित्र आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन सक्ने देखिँदैन । यस्तो अवस्थामा अपुतालीको क्रममा पनि छोरा भनेको ठाउँमा सौतेनी छोरा पर्छ भनी गरिएको बहस बुँदासँग सहमत हुन सकिएन ।

६. प्रस्तुत मुद्दामा सगुनीदेवीको आफ्नै उदरबाट जन्मेको छोरी इन्द्रकुमारी देवी भएको र नारायणप्रसाद थारू सौतेना छोरा भई विमातृक रहेको तथ्य मिसिल प्रमाणबाट पुष्‍टि भएको साथै सौतेना छोराको तुलनामा आफ्नै उदरतर्फको छोरी नै नजिकको हकवाला हुने कुरालाई कानूनत: स्वीकार गरिएको अवस्था हुँदा हकवाला छोरी विवाहिता हुनु वा नहुनुले कुनै अर्थ राख्‍ने देखिँदैन । यस्तो अवस्थामा नारायणप्रसाद थारू विमातृकसमेत रहेको र निजले सगुनदेवीलाई स्याहार सम्भार गरेको तथ्य वस्तुनिष्ठ आधार प्रमाणबाट पुष्‍टि हुने कुनै विश्‍वसनीय प्रमाण यी निवेदक नारायणप्रसाद थारूबाट पेस हुन आएको मिसिलबाट देखिँदैन । 

७. जहाँसम्म प्रस्तुत मुद्दामा वादी इन्द्रकुमारीको आमा सगुनीदेवी र प्रतिवादी नारायणप्रसाद थारूबिच अंशबन्डा भई अंश  नै कायम नभएको अवस्थामा विवाहित छोरीले अंश प्राप्‍त गर्न सक्ने नसक्ने प्रश्‍नमा विचार गर्दा तत्कालीन अपुतालीको महलको २ र ४ नं.को व्यवस्थालाई विश्‍लेषण गर्नपर्ने देखिन्छ । जसअनुसार तत्कालीन २ नं.मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली 

पाउँछ । छोरी नभए सँग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवालाला नभए अरू हकवालाले अपुताली पाउँछ  भन्‍ने व्यवस्था रहेको र सोही महलको तत्कालीन ४ नं. मा सँग बसेका  वा भिन्‍न बसेका बाबु छोरामा अघिबाट छोरो र पछिबाट बाबु मरी अपुताली परेकोमा त्यो अपुताली छोरीहरूले पाउने रहेछन् भने बाबुकी छोरी र छोराकी छोरी दुवै भए दुवैले बाँडी खान पाउँछन् । भिन्‍न नभई सँग बसेका अरू अंशियारहरूमा सबै मरी अपुताली पाउने भएमा सबै अंशियारहरूका छोरीहरूले ऐनबमोजिम बाँडी खान पाउँछन् । लेखिएबाहेक अरू अवस्थामा पछिबाट जो मरी अपुताली परेको हो उसैतिरका छोरीले मात्र अपुताली पाउँछन् भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी कानूनमा नै स्पष्‍ट रूपमा संयुक्त नाममा सम्पत्ति राखिएबाट नै बराबर भाग रहेको देखिन्छ । अंशबन्डा नभई सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्‍ने अपुतालीको महलको ४ नं.को व्यवस्थाले मानेको देखिँदैन । भिन्‍न नभई अंशियार मरी अपुताली परेमा अंशियारको छोरीले अपुताली खान पाउने नै 

देखिन्छ । जो मरी अपुताली परेको हो उसैतिरको छोरीले अपुताली पाउने देखिन्छ । यस्तो अवस्थामा अंशबन्डा भई बन्डा छुट्टिनुपर्छ भनी बहस जिकिरसँग सहमत हुन सक्ने देखिएन ।

८. दुवै अंशियारको संयुक्त नाममा रहेको सम्पत्तिमा सौतेनी छोरा र सौतेनी आमा सगुनीदेवीको समान भाग रहेको देखिन्छ । संयुक्त नाममा सम्पत्ति राख्‍नुको अर्थ आफ्नो हक अर्का संयुक्त नामवालालाई समर्पण गर्न वा हस्तान्तरण गर्नु हो भनी मान्‍न मिल्ने देखिँदैन । सम्पत्तिमा आमा सगुनीदेवीले आफ्नो भागको सम्पत्ति कसैलाई हक हस्तान्तरण नगरेको अवस्थामा अपुतालीको रूपमा उक्त सम्पत्तिमा कसको दाबी लाग्दछ भन्‍ने प्रश्‍नमा विचार गर्दा सबैभन्दा नजिकको नाताको क्रममा को रहेको हुन्छ भनी कानूनी व्यवस्थासमेतको आधारमा सूक्ष्म विश्‍लेषण गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा सौतेनी छोरा र विवाहित छोरी नजिकको नाताको हुने र अपुतालीमा कस्को दाबी पुग्ने भन्‍ने प्रश्‍नमा विचार गर्दा मर्ने व्यक्ति स्वयंको गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्‍नु पर्ने हुन्छ । विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्‍करणको स्थिति आई विभेदित हुने अवस्था आउँदछ । नेपालको संविधान र कानूनले विवाहको आधारमा गरिने भेदभावलाई पूर्णरूपमा निषेध गरेको छ । कानूनले नै मुलुकी ऐन अपुतालीको महलको २ नं. मा मर्नेको भन्‍ने शब्द प्रयोग गरेको अवस्थामा आफ्नोतर्फबाट छोरा नभएको अवस्थामा सौतेनी सन्तानबाट जन्मेको छोराभन्दा आफ्नो गर्भबाट जन्मेको विवाहित छोरी नै नजिकको नातेदार मान्‍नु पर्ने देखिन्छ । छोरी विवाहित हुँदैमा सौतेनी छोरा अपुतालीको निमित्त नजिकको हकवाला हुने भनी मान्‍न  मिल्ने देखिएन । 

९. अब यस अदालतबाट बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भई आफ्नो घरमा गएको छोरीहरूले बाबु वा आमाको अपुतालीमा दाबी गर्न पाउने अवस्था नहुने भनी ने.का.प.२०६५ अंक ५ नि.नं.७९६७ मा प्रतिपादित सिद्धान्तसमेतका आधारमा पुनरावलोकनको अनुमति प्रदान गरिएको र उक्त प्रतिपादित सिद्धान्तसमेत माथि विवेचित अपुताली महलको २ र १२ नं. को कानूनी व्यवस्था एवं यस अदालतबाट ने.का.प. २०५३, अङ्क ९, नि.नं.६२६२ मा प्रतिपादित सिद्धान्तको सापेक्षतामा मुद्दा पुनरावलोकन गर्न प्रदान भएको अनुमति आदेशसँग सहमत हुन सकिएन ।

१०. तसर्थ, माथि विवेचित आधार र कारणबाट सुरू नवलपरासी जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहर गरी भएको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी भई मृतक सगुनी थारूको हक जति विवादित जग्गाहरूमध्ये आधा जग्गामा एका उदरबाट जन्मेकी एक मात्र हकवाला छोरी विपक्षी वादी इन्द्रकुमारी देवी चौधरीको अपुताली हक कायम हुने ठहर्‍याई यस अदालत संयुक्त इजलासबाट मिति २०७२।१२।२३ मा भएको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । निवेदक प्रतिवादी नारायणप्रसाद थारूको जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.प्रकाशकुमार ढुंगाना

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : कुमार मास्के

इति संवत् २०७६ साल पुस ३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु