शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४०० - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२

सर्वोच्‍च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७५।१०।२४

०७३-CR-०३१५

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : कृष्णबहादुर श्रेष्ठको छोरा, काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटिचौर गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय, धुलिखेलमा थुनामा रहेका देवलाल श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी / वादी : नाम परिवर्तित काभ्रे ३०(ट) को जाहेरीले नेपाल सरकार

 

जबरजस्ती करणीसम्बन्धी अपराधमा ‘सहमतिको अभाव’ लाई महत्त्वपूर्ण तत्त्वको रूपमा लिइन्छ र जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि पीडितको सहमति बिना करणी गरिएको हुनुपर्ने ।

सहमति वैध हुनको लागि उक्त मन्जुरी स्वतन्त्रतापूर्वक पूर्ण सचेत अवस्थामा दिइएको हुनुपर्छ र सहमति दिने मानिसलाई उक्त कार्यको परिणामको बारेमा पूर्णरूपमा ज्ञान हुनुपर्छ । कुनै कार्यको लागि सहमति दिनु भनेको आफ्नो तर्क र विवेकको प्रयोग गरी स्वइच्छाले उक्त कार्यको लागि मन्जुरी दिनु हो । यसकारण सहमति दिन सक्ने वा नसक्ने भन्‍ने विषय मानिसको मानसिक क्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ र कुनै कार्य गर्नको लागि सहमति दिन सक्छ वा सक्दैन भन्‍ने कुराको निर्क्यौल गर्दा विवेक (Reason) को प्रयोग गर्न सक्ने मानसिक अवस्था छ वा छैन भन्‍ने कुरालाई हेरिनुपर्ने ।

(प्रकरण नं.७)

साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को प्रतिबन्धात्मक वाक्यांशमा प्रयुक्त होस ठेगानमा नरहेको भन्‍ने शब्दावलीले मानसिक रूपमा सामान्य अवस्थामा नरहेको कारणले कुनै कार्यको प्रकृति तथा परिणामको बारेमा तर्कसङ्गत रूपमा बुझ्न सक्ने अवस्था नरहेको भन्‍ने बुझ्नुपर्ने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी.

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री कृष्णराम कोइराला

काभ्रेपलाञ्चोक जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की

माननीय न्यायाधीश श्री हेमराज पन्त

पुनरावेदन अदालत पाटन 

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।३।२९ को फैसलाउपर प्रतिवादी देवलाल श्रेष्ठको तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:-

तथ्य खण्ड

काभ्रेपलाञ्चोक जिल्ला शंखुपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा श्यामपाटी कुरगाउँ, पश्चिममा जगतबहादुर तामाङको सुन्तला बारी, उत्तरमा जगतबहादुर तामाङकै सुन्तला बारी र दक्षिणमा मानबहादुर तामाङको खाली जग्गा यति चार किल्लाभित्रको स्थानमा जगतबहादुर तामाङकै जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको गोठ टहरा रहेको र उक्त गोठ टहराभित्र प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङ दुवैजना मिली पीडित हाल नाम परिवर्तित काभ्रे ३० (ठ) लाई मिति २०७०।१२।१० गते दिउँसो १४:३० बजेको समयमा जबरजस्ती करणी गरेको घटनास्थल चारकिल्लासहितको मुचुल्का । 

२०७०।१२।१० गते दिउँसो १४:३० बजे म जाहेरवालाको छोरी हाल नाम परिवर्तित काभ्रे ३० (ठ) लाई प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङले ललाई फकाई दाउराको भारी घचेट्न भनी मेरो छोरी वर्ष १७ कि काभ्रे ३० (ठ) लाई मैले थाहा नपाउने गरी दुवैजनाले घचेटी घचेटी लगी घरबाट झण्डै १ घण्टाको दुरीमा रहेको एक्लेखेतको जंगलको डाँडामा पुर्‍याई सोही जंगलमा रहेको गोठमा लगी भुइँमा लडाई निज प्रतिवादीहरू दुवैजनाले मेरो छोरीको इच्छाविपरीत पालैपालो जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने काभ्रे ३० (ट) को जाहेरी दरखास्त । 

मिति २०७०।१२।१० गते म र मेरो आमा मात्र घरमा रहेकोमा बिहान ०८:०० बजेको समयमा मैले घर नजिकैको धाराबाट बाल्टिनमा पानी ल्याई हामी दुवैजना सँगै बसी बिहानको खाना खाई आमा घर नजिकैको करेसाबारीमा खुर्सानीको बिउ राख्न थालेपछि म आमाको आँखा छली घर नजिकैको कच्ची सडकमा आउँदा मेरै गाउँको कहिले काहीँ बाटो हिँड्दा चिनेको नवराज तामाङ र देवलाल श्रेष्ठ म भएको ठाउँमा आई मलाई वनमा दाउरा काट्न जाउँ, तिमीले हामीहरूको दाउराको भारी घचेटिदेउ, हामीलाई पनि साथी हुन्छ भनी निज प्रतिवादीहरू दुवैजनाले मेरो हातमा समाती अँगालो हाली मेरो ढाडमा घचेट्दै जंगलतिर लिएर गए । म सुस्तमनस्थितिको भएको हुँदा मैले कहाँ लैजान लागेको आमाले गाली गर्छ, कुट्छ, पिट्छ भन्दा तिमी डराउनु पर्दैन हामी केही पनि गर्दैनौं भनी मलाई सम्झाउँदै मेरो घरदेखि झण्डै १ घण्टाको पैदल दुरीमा रहेको जंगलमा पुर्‍याई, निज प्रतिवादीहरूले मेरो हात समात्ने शरीरको संवेदनशील अंगहरूमा चलाउने गर्दथे भने मलाई यस्तो काम नगर्नु भनी कराउँदा चिच्याउँदासमेत मेरो केही सीप नलागी सोही दिनको दिउँसो अन्दाजी १४:३० बजेको समयमा एक्लेखेत भन्‍ने स्थानको जंगलमा पुर्‍याई सो जंगलभित्र रहेको मान्छे नबस्ने गोठमा लगी जबरजस्ती दुवै जनाले मलाई भुइँमा लडाई, मेरो छाती योनिमा समेत छुने चलाउने गरी मैले लगाएको कपडा सुरूवाल खोली पालैपालो दुवैजनाले २/२ पटक जबरजस्ती करणी गरेको हो । मलाई जबरजस्ती करणी गर्दा मैले सहन नसकी हारगुहार गरी चिच्याउँदा घटनास्थलबाट भाग्न लाग्दा गाउँका मानिसहरूले थाहा पाई दुवैजनालाई समातेको हो भन्‍ने पीडित काभ्रे ३० (ठ) ले गरेको कागज ।

मिति २०७०।१२।१० को बिहान ११:०० बजे म र मेरो साथी देवलाल श्रेष्ठ हाल नाम परिवर्तित काभ्रे ३० (ठ) पीडितको घर नजिकै पुग्दा निजलाई कच्ची सडकको छेउमा बसिरहेको देखेपछि निजसँग कुराकानी गरी हामी दुवैजनाले तिमीले हाम्रो दाउराको भारी घचेटी दिनुपर्छ भनी फकाई हातमा समाई पछाडिबाट धकेल्दै दुवैजनाले जबरजस्ती घरदेखि झण्डै १ घण्टा पैदल दुरीमा लाग्ने एक्लेखेतको जंगलमा रहेको डाँडाको गोठमा पुर्‍याई हामी दुवैजनाले जबरजस्ती भुइँमा लडाई मैले निज पीडितलाई हात पाखुरामा समाती जबरजस्ती निज पीडित काभ्रे ३०(ठ) को सुरूवाल खोली घुँडासम्म पुर्‍याई निज पीडितको योनिभित्र जबरजस्ती लिङ्ग प्रवेश गरी १० मिनेटजति करणी गरेँ र मैले करणी गर्ने बित्तिकै साथी देवलाल श्रेष्ठले १०/१२ मिनेटजति जबरजस्ती करणी गर्‍यो । त्यसपछि पुनः मैले नै करणी गरेँ । पीडित रोई कराई गर्न थालेपछि गाउँलेहरूले थाहा पाई करणी गरिरहेकै अवस्थामा हामी दुवैजनालाई समातेको हो, मैले र मेरो साथी देवलाल श्रेष्ठले २/२ पटक पालैपालो जबरजस्ती करणी गरेको हो भनी प्रतिवादी नवराज तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०७०।१२।१० गते बिहान ११:०० बजेको समयमा म मेरै साथी नवराज तामाङ हाल नाम परिवर्तित काभ्रे ३०(ठ) पीडितको घर नजिकै पुग्दा निजलाई कच्ची सडकको छेउमा बसिरहेको देखेपछि निजसँग कुराकानी गरी हामी दुवैजनाले तिमीले हाम्रो दाउराको भारी घचेटी दिनुपर्छ भनी ललाई फकाई हातमा समाई पछाडिबाट धकेल्दै दुवैजनाले जबरजस्ती घरदेखि झण्डै १ घण्टा पैदल दुरीमा रहेको एक्लेखेतको जंगलमा लगी एकान्त स्थानमा रहेको गोठमा पुर्‍याई र नवराज तामाङले हात पाखुरामा समाती जबरजस्ती निज पीडितलाई भुइँमा लडाई, चल्न चट्पटाउन नदिई मेरो साथी नवराज तामाङले पहिला जबरजस्ती करणी गर्‍यो । त्यसपछि मैले सम्झाई बुझाई निज पीडित वर्ष १७ की काभ्रे ३० (ठ) को संवेदनशील अंगहरूमा समाती दुध माडी, योनिमा लिङ्ग प्रवेश गराई १०/१२ मिनेटजति करणी गरेँ । हामी दुवैजनाले पालैपालो २/२ पटक जबरजस्ती करणी गरेको हो । जबरजस्ती करणी गरेकै अवस्थामा निज पीडित रोई कराई चिच्याउँदा गाउँका स्थानीय मानिसहरूले थाहा पाई घटनास्थलमा आई हामीहरू दुवैजनालाई स्थानीय गाउँका मानिसहरूले समाती प्रहरीलाई बुझाएको हो भन्‍ने पक्राउ परेका प्रतिवादी देवलाल श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०७०।१२।१० गते दिउँसो १३:०० बजेको समयमा मेरै गाँउको हाल नाम परिवर्तित वर्ष १७ की सुस्त मनस्थितिकी काभ्रे ३० (ठ) घरबाट हराई हालसम्म पनि फेला परेको छैन भन्‍ने खबर पाएपछि मलगायत गाउँघरका १०/१५ जना मानिसहरू खोज्न हिँडेकोमा गाउँ घर टोल छिमेकमा समेत खोजतलास गर्दा कहीँकतै फेला नपरेकोमा खोजतलास गर्दै जाने क्रममा जिल्ला काभ्रेपलाञ्चोक, सपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित एक्लेखेतको जंगलमा खोजतलास गर्दै जाने क्रममा मान्छे नबस्ने गोठनजिक पुग्दा महिला रोएको जस्तो आवाज सुनेपछि तत्काल छिटो छिटो उक्त गोठमा जाँदा पीडितमाथि देवलाल श्रेष्ठ चढी जबरजस्ती करणी गरिरहेको अवस्थामा रंगेहात हामीहरूले देखेको हो र प्रतिवादीहरू दुवै जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको हो भन्‍ने बुझिएका मानिसहरू घटनाको प्रत्यक्षदर्शी प्रकाश तामाङ, ईश्वरी बस्नेत र उत्तमराज भण्डारीसमेतले गरिदिएको करिब एकै मिलान बेहोराको अलगअलग घटना विवरण कागज । 

Vaginal swab taken for examination भन्‍ने बेहोराको धुलिखेल अस्पतालको परीक्षण प्रतिवेदन ।

मिति २०७०।१२।१० गते दिउँसो १४:३० बजेको समयमा मेरै गाउँको नवराज तामाङ र देवलाल श्रेष्ठले हाल नाम परिवर्तित काभ्रे ३० (ठ) लाई ललाई फकाई प्रलोभन देखाई जिल्ला काभ्रेपलाञ्चोक सपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित एक्लेखेतको जङ्गलमा हातमा समाई लिई गएको मैलै प्रत्यक्ष रूपमा देखेको हुँ । निज प्रतिवादीहरू दुवैजना मिली उक्त जङ्गलको मान्छे नबस्ने गोठमा लगी दुवैजनाले भुइँमा लडाई पालैपालो जबरजस्ती करणी गरेको हो भन्‍ने बासुदेव तामाङ भन्‍ने बाबु तामाङले गरेको कागज । 

प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङले ललाई फकाई हात पाखुरामा समाती दाउराको भारी घचेट्न भनी घर नजिकैको सडक छेउबाट झण्डै १ घण्टाको पैदल दुरीमा रहेको एक्लेखेतको जंगलको डाँडामा रहेको मानिसहरू नबस्ने गोठमा पुर्‍याई सुस्तमनस्थितिकी पीडितलाई जबरजस्ती करणी गरेको देखिँदा निज प्रतिवादीहरू नवराज तामाङ र देवलाल श्रेष्ठको उल्लिखित कार्य जबरजस्ती करणी महलको १ नं. र ३ (४) नं. को कसुर भएकोले निज प्रतिवादीहरूलाई जबरजस्ती करणी महलको ३ (४) नं. बमोजिम सजाय हुन तथा निज पीडित काभ्रे ३० (ठ) सुस्तमनस्थितिकी महिलासमेत भएको हुँदा सोही महलको दफा ३ (क) नं. बमोजिम थप सजाय हुन तथा सोही महलको १० नं. र १० (ग) बमोजिम निज प्रतिवादीहरूबाटै पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्‍ने अभियोग मागदाबी । 

मिति २०७०।१२।१० गते दिउँसो २:३० बजेको समयमा नाम परिवर्तित काभ्रे ३०(ठ) लाई मसमेतले ललाई फकाई दाउको भारी घचेट्ने भनी १७ वर्षकी काभ्रे ३० (ठ) लाई घचेटी घचेटी लगी घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको एक्लेखेतको जंगलको डाँडामा लगी सोही स्थानको गोठमा लडाई मसमेतले निजको इच्छाविपरीत पालैपालो जबरजस्ती करणी गरेका हौं । यस्तो गर्नुहुँदैन भन्‍ने थाहा थियो तर होसै भएन भन्‍ने प्रतिवादी नवराज तामाङले सुरू अदालतमा गरेको बयान । 

पीडित काभ्रे ३०(ठ) लाई मैले जबरजस्ती नभई निजको मन्जुरीमा नै करणी गरेको हुँ । मसहित नवराजले पनि करणी गरेको हो । मैले निजलाई २ पटक करणी गरेँ । नवराजले कतिपटक गरे मलाई थाहा भएन । मैले गोठमा मात्र करणी गरेको हुँ । अन्यत्र 

होइन । पीडितले केही पनि भनेकी थिइनन् । माथितिर हिँडभन्दा खुरूखुरू गएकी हुन् । अनुसन्धानको क्रममा एकजनाले हात समाती अर्को जनाले पछिबाट धकेलेको र नवराज तामाङले हातखुट्टा समाई मैले करणी गरेको भन्‍ने बेहोरा मैले भनेको थिइनँ । अरू बेहोरा ठीक छ भन्‍ने प्रतिवादी देवलाल श्रेष्ठले सुरू अदालतमा गरेको बयान । 

तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीहरू कसुरदार होइनन् भन्‍न सक्ने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादीहरूलाई मुलुकी ऐन, अ.बं ११८ को देहाय (२) बमोजिम कारागार कार्यालयमा थुनामा राख्न पठाउनू । साथै पीडित, जाहेरवाला, बुझिएका मानिस तथा प्रतिवादीका साक्षीसमेत बुझी नियमानुसार पेस गर्नु भन्‍ने बेहोराको सुरू अदालतको आदेश । 

जाहेरवालाकी छोरी काभ्रे ३०(ठ) लाई प्रतिवादीहरू नवराज र देवलाल श्रेष्ठले मिति २०७०।१२।१० गते ललाई फकाई पारी एक्लेखेत स्थित जंगलमा करणी गरी सँगै घरमा ल्याउँदै गर्दा गाउँलेहरू र आफन्तले खोजी गर्दाको अवस्थामा करणी गरेको कुरा गाउँसमाजमा समेत स्वीकार गरेको र गाउँलेहरूले प्रहरीमा जिम्मा लगाएका हुन्, प्रतिवादीलाई सजाय दिलाई पाउँ भन्‍ने बुझिएका मानिस उत्तमराज भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

घटना भएको दिन म काठमाडौंमा थिएँ । घटनाबारे फोनबाट थाहा पाएको हुँ भन्‍ने बुझिएका मानिस ईश्वरीप्रसाद बस्नेतले सुरू अदालतमा गरेको बकपत्र । 

छोरी टि.भी. हेर्दै छे भन्‍ने सोची म बारीमा काम गर्दै थिएँ । पछि छोरीलाई प्रतिवादीहरूले ललाई फकाई दाउरा घचेट्न भनी जंगल लगी जबरजस्ती करणी गरेका हुन् । म छोरी खोज्न जान लाग्दा गाउँहलेहरूले हामी खोजी ल्याउँछौं भनेका र मेरी छोरीलाई गाउँलेहरूले नै खोजेर ल्याएका हुन् । आउँदा छोरी बिस्तारै हिँडेकी र केही थकित मुद्रामा थिइन् । मेरी छोरी मानसिक रूपमा सुस्त छिन् । प्रतिवादीहरूलाई कडा सजाय गरिपाउँ भन्‍ने बेहोराको जाहेरवाला काभ्रे ३० (ट) को बकपत्र ।

पीडित सुस्तमनस्थितिकी भई बोल्न नसकेको र हाउभाउबाट समेत बुझिने गरी केही व्यक्त गर्न नसकेकाले सुरू अदालतमा सवाल सोधी बकपत्र गराउन नसकिएको भन्‍ने कागज मिसिल संलग्न 

रहेको । 

काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटीचौर गा.वि.स. वडा नं. ८ बस्ने धनबहादुर तामाङकी श्रीमती प्रतिवादी नवराज तामाङकी आमा माइली तामाङका नाममा कुनै घर जग्गा छ वा छैन भए रोक्‍का राखी सोको विवरण र निजका नाममा घरजग्गा नभए सोको जानकारी पठाइदिनु भनी तथा प्रतिवादी नवराज तामाङका नाममा काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटीचौर वडा नं. ७ को ९३३ र ९३४ को जग्गा रोक्‍का राखी सोको जानकारीसमेत मालपोत कार्यालय काभ्रेबाट मगाई आएपछि पेस गर्नु भन्‍ने सुरू अदालतको आदेश । 

सुरू अदालतको आदेशानुसार पत्राचार भएकोमा माइली तामाङका नाममा रहेका कि.नं १७२०, ९३९, ९३७,७१५ र नवराज तामाङका नाउँको कि.नं ९३३ र ९३४ का जग्गा रोक्‍का रही प्रतिवादी देवलाल श्रेष्ठको नाममा शंखुपाटीचौर गा.वि.स. मा जग्गाको स्रेस्ता नभेटिएको भन्‍ने पत्र प्राप्त भई मिसिल संलग्न रहेको । 

यी प्रतिवादीहरूउपरको किटानी जाहेरी, आफूले दिएको जाहेरीलाई समर्थन हुने गरी जाहेरवालाले अदालतमा गरेको बकपत्र मौकामा कागज गर्ने उत्तमराज भण्डारी र इश्वरी बस्नेतले यिनै प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेका हुन् भनी अदालतमा गरेको बकपत्र तथा प्रतिवादीमध्येका देवलालले पीडितको सहमतिमा करणी भएको हुँदा सफाइ पाउनु पर्छ भने पनि अर्का प्रतिवादी नवराजले पीडितलाई जंगलको गोठमा जबरजस्ती करणी गरेको हो भनी अदालतमा बयान गरेको अवस्था भई यी पीडित सामान्य हाउ भाउ र बोली चाली गर्न नसक्ने, शारीरिक तथा मानसिक अवस्था नाजुक भएको अवस्थाकी मानिस हँुदा निजले प्रतिवादी देवलालले भनेजस्तो करणी गर्ने सहमति भई जंगलमा गएको हो भनी अर्थ गर्नसमेत मानवीय मूल्य र मान्यताविपरीत हुनेसमेत देखिएबाट यी प्रतिवादी नवराज तामाङ र देवलाल श्रेष्ठले सुस्तमनस्थितिको यी पीडित काभ्रे ३०(ठ) लाई जबरजस्ती करणी गरेको स्थापित भएकोले निज प्रतिवादीहरूलाई जबरजस्ती करणीको ३(४) बमोजिम जनही ५ वर्ष तथा सुस्तमनस्थिति अवस्थाकी पीडितलाई जबरजस्ती करणी गरेको अवस्था हुँदा ऐ. ३(क) बमोजिम थप जनही ५ वर्षसमेत कैद सजाय हुने भई प्रतिवादीहरूबाट जनही यी पीडितले ऐ. १० र १०(ग) बमोजिम रू ५०,०००।- क्षतिपूर्तिसमेत पाउने ठहर्छ भन्‍नेसमेत काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।

सुरू अदालतको फैसलामा पीडित परिवर्तित नाम काभ्रे ३०(ठ) लाई सहजै सुस्तमनस्थितिको अवस्थामा रहेको अनुमान गर्न सकिने उल्लेख छ । कुनै लिखत ठोस प्रमाण उल्लेख नगरी सुस्तमनस्थितिको हो भन्‍ने आधारमा मलाई थप पाँच वर्ष कैद गरेको 

छ । घटना घट्दाको अवस्थामा आफू मानसिक रोगी भएकोले औषधी सेवन गर्दै थिएँ । सो कुराको प्रमाण मानसिक अस्पताल लगनखेल ललितपुरको मिति २०६६/८/२८ को स्वास्थ्य जाँच कार्डबाट पनि प्रस्ट छ । पीडित १६ वर्ष पूरा भएको, निजले सहमतिमा नै घटना घटाएको तथा निज सुस्तमनस्थितिको पनि नभएको र म मानसिक रोगीसमेत भएको कारण मलाई लगाएको आरोप झुठा भएकोले सुरू अदालतको फैसला उल्टी गरी मलाई सफाइ दिलाई पाउँ भन्‍नेसमेत प्रतिवादी देवलाल श्रेष्ठले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र । 

प्रतिवादी देबलाल श्रेष्ठसमेतलाई जबरजस्ती करणीको ३(४) बमोजिम ५ वर्ष तथा सुस्तमनस्थिति अवस्थाकी पीडितलाई जबरजस्ती करणी गरेको अवस्था हुँदा ऐ. ३(क) बमोजिम थप ५ वर्षसमेत कैद सजाय हुने भई यी प्रतिवादीसमेतबाट पीडितले ऐ. १० र १०(ग) बमोजिम जनही रू.५०,०००।- क्षतिपूर्तिसमेत पाउने ठहराई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भएको मिति २०७१।३।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७२।३।२९ को फैसला ।

घटनास्थल मुचुल्कामा लेखिएको ठाउँ घनाबस्ती नजिक भएको र मानव आवत जावत हुन सक्ने ठाउँ भएकोले त्यस्तो ठाउँमा सहमतिमा पनि करणी हुन सक्दैन । जाहेरीमा उमेर १७ वर्षको भनी लेखिएको भए तापनि २५ वर्ष पुगेकी व्यक्ति भएकोले यस्ती साबालक भइसकेकी व्यक्तिलाई घटनास्थल मुचुल्कामा लेखिएको जस्तो ठाउँमा जबरजस्ती करणी हुन सक्ला भनी अनुमान गर्न सकिँदैन । पीडित अन्धो, लाटो होइनन् । सामान्य तोतेबोली जस्तो मात्र छ । जाहेरवाला र जाहेरवालाको छोरी नाताभित्रका मानिसहरू पर्ने व्यक्ति होइनन् त्यसैले फकाएर कुनै पनि बहानामा एकान्तमा एक घण्टाको बाटो हिँडाई लान सक्ने सम्भव हुँदैन । अतः घटना भएको नै होइन, त्यसैले पनि म निर्दोष छु । पीडितको स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै बाहिरी भागमा वा गोप्य पार्टमा समेत चोटपटक नभएको, speculum (शरीरभित्र परीक्षण गर्न पसाइने यन्त्र) प्रयोग नगरिएकोले hymen को बारेमा कुनै टिप्पणी गर्न नसकिने, तत्कालका गोप्य अंग वरिपरि कुनै seminal stain नरहेको तथा veginal swab परीक्षणको लागि लिइएकोमा जबरजस्ती करणी भएको कुनै प्रमाण नभेटिएको भनेर स्पष्ट रूपमा report मा उल्लेख गरिएको छ । त्यस्तै मेरो स्वास्थ्य परीक्षण गर्दा पनि Report Negative अर्थात् कुनै symptoms देखिएन । यसबाट जबरजस्ती करणी भएको होइन भन्‍ने स्पष्ट परीक्षण प्रतिवेदनले प्रस्ट पारेको छ । जहाँसम्म मेरो अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्षको बयानको आधार छ । सँगै हिँडेका बखत चरित्र बिग्रेकी भए पनि गाउँकी केटी भएकोले रिसले मसमेतलाई पक्री समाती प्रहरीमा बुझाएका र नगरे नबिराएको कसुरमा गरे बिराएको भनी उजुरी गरेका र सो कुरालाई पुष्टि हुने गरी लेखिएको बयान कागजमा मसमेतलाई सहीछाप गराएको भए पनि परीक्षण रिपोर्ट हाम्रो हितमा आएको देखेपछि अदालतमा इन्कारी गरेमा डबल सजाय हुन्छ, बरू स्वीकारेमा सजाय कम हुन्छ भनी प्रहरीले भनेकाले आफू सोझो लाटो भएकोले सोही कुरा अदालतसमक्ष भनिदिएको मात्र हो । यथार्थमा करणी गर्ने कार्य नभएकोले सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी झुट्टा अभियोगबाट सफाइ दिलाई पाउँ भन्‍ने पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठको मिति २०७३।०६।०९ को पुनरावेदनपत्र । 

यसमा जबरजस्ती करणीमा सजाय गर्दा पीडिता सुस्तमनस्थिति अवस्थाकी भएकोले जबरजस्ती करणीको महलको ३(क) बमोजिम थप ५ वर्षसमेत कैद ठहऱ्याइएको तर अनुसन्धानको क्रममा पीडिता मानसिक रूपमा असक्त भएको प्रमाणित गरेको नदेखिएको अवस्थामा ने.का.प. २०६५, नि.नं. ८०४२ मा प्रतिपादित सिद्धान्त र प्रमाण ऐन, २०३१ को दफा ११ र १८ को रोहमा सजायमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ छलफलका लागि पेसीको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७५।०१।२७ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी. ले पीडित सुस्तमनस्थिति अवस्थाको रहेको भनी उल्लेख गरेको भए तापनि सो कुरा कुनै वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको छैन । पीडितको मन्जुरीबिना जबरजस्ती करणी गरेको भनी अभियोग लगाइएको भए तापनि स्वास्थ्य परीक्षण हुँदा पीडित र प्रतिवादीको बिचमा संघर्षका चिह्नहरू देखिएको 

छैन । प्रतिवादी देवलाल श्रेष्ठले पीडितलाई जबरजस्ती करणी नगरेको अवस्थामा निजलाई सजाय गरेको सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला तथा सो फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेको हुँदा उल्टी गरी पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठलाई सफाइ दिनुपर्छ भनी बहस गर्नुभयो ।

त्यसैगरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले प्रतिवादी देवलाल श्रेष्ठसमेत दुवैजना प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरिरहेको अवस्थामा नै गाउँलेहरूले रङ्गेहात पक्राउ गरेका 

हुन् । निजहरूउपर किटानी जाहेरी परेको तथा दुवै जना प्रतिवादीले मौकामा तथा अदालतसमक्ष करणी गरेको कुरालाई स्वीकार गरेका छन् । प्रतिवादी देवलाल श्रेष्ठले अदालतमा आफूले सहमतिमा करणी गरेको भनी उल्लेख गरेको भए तापनि पीडित सुस्तमनस्थितिको रहेको हुँदा निजले करणीको लागि सहमति दिन सक्ने अवस्था नै रहँदैन । यस अवस्थामा प्रतिवादीहरूलाई सजाय गरेको सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला र उक्त फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? भन्‍ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा  २०७०।१२।१० गते दिउँसो १४:३० बजे मेरो छोरी काभ्रे ३०(ठ) लाई प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङले ललाई फकाई घरबाट झण्डै १ घण्टाको दुरीमा रहेको एक्लेखेतको जंगलको डाँडामा पुर्‍याई सोही जंगलमा रहेको गोठमा लगी मेरो छोरीको इच्छाविपरीत पालैपालो जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने बेहोराको जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. र ३(४) नं. को कसुरमा सोही महलको ३(४) नं. बमोजिम सजाय हुन तथा निज पीडित काभ्रे ३०(ठ) सुस्तमनस्थितिकी महिलासमेत भएको हुँदा सोही महलको दफा ३क नं. बमोजिम थप सजाय हुन तथा सोही महलको १० नं. र १०(ग) बमोजिम निज प्रतिवादीहरूबाटै पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भनी अभियोग पत्र दायर भएको देखिन्छ । यसरी अभियोगपत्र दायर भएकोमा सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतले अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरेको देखिन्छ भने पुनरावेदन अदालत पाटनले समेत सुरू जिल्ला अदालतको उक्त फैसला सदर गरेकोमा यी प्रतिवादी देवलाल श्रेष्ठले उक्त फैसलामा चित्त नबुझाई यस अदालतमा प्रस्तुत पुनरावेदन पत्र दायर गरेको देखियो । अर्का प्रतिवादी नवराज तामाङले पुनरावेदन नगरी उक्त फैसलामा चित्त बुझाई बसेको देखिन्छ ।

३. प्रस्तुत मुद्दामा मिसिलसाथ संलग्न घटनास्थल मुचुल्का, बुझिएका मानिसहरूले गरेको बकपत्र, पीडितको बकपत्रलगायतका प्रमाणहरूको अध्ययन गरी हेर्दा, प्रतिवादीहरूले पीडितलाई काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित गोठ टहराभित्र लगी करणी गर्दागर्दैको अवस्थामा फेला पारी गाउँलेहरूले पक्राउ गरेको भन्‍ने तथ्यमा कुनै विवाद रहेको देखिँदैन । अर्को शब्दमा भन्‍नुपर्दा प्रतिवादीहरूले पीडितसँग करणी गर्दागर्दैको अवस्थामा रङ्गेहात पक्राउ गरी प्रहरीसमक्ष बुझाएको देखिन्छ । प्रतिवादी देवलाल श्रेष्ठले यस अदालतमा दायर गरेको पुनरावेदनपत्रमा उक्त दिन घटना नै नभएको भनी दाबी गरे तापनि स्वयम् प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानमा पीडितलाई आफूहरूले उक्त स्थानमा लगी करणी गरेको तथ्यलाई स्वीकार गरेको पाइन्छ । यसरी जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि दुई तत्त्वहरू पहिलो यौन समागम र दोस्रो सहमतिको अभाव हुनुपर्नेमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले पीडितलाई करणी गरेको तथ्यमा विवाद रहेको देखिँदैन । यद्यपि प्रतिवादी देवलाल श्रेष्ठले सुरू अदालतमा बयान गर्दा आफूहरूले पीडितलाई करणी गरेको भए तापनि निजको मन्जुरीमा नै करणी गरेको भनी दाबी लिएको देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले सहमतिमा करणी गरेका हुन् वा होइनन् भन्‍ने प्रश्‍नलाई मुख्य रूपमा विचार गर्नुपर्ने देखिन्छ ।

४. प्रतिवादी देवलाल श्रेष्ठले आफूहरूले पीडितको मन्जुरीमा नै करणी गरेको भनी जिकिर लिएको भए तापनि प्रस्तुत मुद्दामा पीडित सुस्तमनस्थितिको रहेको भन्‍ने वादी नेपाल सरकारको दाबी रहेको छ । अपितु प्रतिवादी देवलाल श्रेष्ठले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र तथा निजको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताको बहसमा पीडित सुस्तमनस्थितिको भएको भन्‍ने कुनै आधार प्रमाण नभएको भनी जिकिर लिएको देखिन्छ । यस अदालतबाट मिति २०७५।१।२७ मा भएको प्रत्यर्थी झिकाउने आदेशमा पनि पीडिता मानसिक रूपमा असक्त भएको प्रमाणित गरेको नदेखिएको भन्‍ने आधारमा प्रत्यर्थी झिकाउने आदेश भएको देखिन्छ । यसरी प्रस्तुत मुद्दामा एकातर्फ पीडित मानसिक रूपमा असक्त हुन् वा होइनन् भन्‍ने तथ्यगत प्रश्न उठेको छ भने अर्कोतर्फ पीडित मानसिक रूपमा असक्त भएको अवस्थामा मानसिक रूपमा असक्त महिलाले करणीको लागि मन्जुरी दिन सक्ने अवस्था रहन्छ, रहँदैन र मन्जुरी दिएको भए तापनि त्यस्तो मन्जुरीले कानूनी मान्यता पाउन सक्छ वा सक्दैन भन्‍ने सैद्धान्तिक प्रश्न पनि सँगै उठेको छ ।

५. प्रथमतः पीडित मानसिक रूपमा अस्वस्थ हुन् वा होइनन् भन्‍ने तथ्यगत प्रश्नतर्फ विचार गर्दा, पीडितको आमाले दिएको जाहेरी दरखास्तमा पीडित सुस्तमनस्थितिको भनी उल्लेख गरेको देखिन्छ भने बुझिएका मानिसहरू प्रकाश तामाङ, ईश्वरी बस्नेत र उत्तमराज भण्डारीसमेतले गरेको घटना विवरण कागजमा पनि पीडित सुस्तमनस्थितिको भनी उल्लेख गरेको पाइन्छ । त्यसैगरी अदालतसमक्ष निज पीडितलाई बकपत्र गराउने क्रममा पीडित सुस्तमनस्थितिकी भएकी कारण सवाल जवाफ १ देखि ४ सम्म जाहेरवालाको सहायताले लेखिएको र अन्य जवाफहरू दिन नसकेको भनी बकपत्रमा लेखेको देखिन्छ भने पीडित सुस्तमनस्थितिको भई बोल्न नसकेको र हाउभाउबाट समेत बुझिने गरी केही व्यक्त गर्न नसकेकाले सुरू अदालतमा सवाल सोधी बकपत्र गराउन नसकिएको भन्‍ने कागजसमेत मिसिलसाथ संलग्न रहेको देखिन्छ । पीडितको आमाले अदालतमा गरेको बकपत्रमा पनि आफ्नी छोरी मानसिक रूपमा सुस्त रहेको भनी उल्लेख गरेको देखिन्छ । त्यसैगरी धुलिखेल अस्पतालले मिति २५ मार्च २०१४ मा दिएको मेडिकल रिपोर्टमा पनि History According to Relative भन्‍ने शीर्षकमा ...victim is mentally retarded from childhood history भनी उल्लेख गरेको पाइन्छ । यसरी पीडितको परिवारले सुरूदेखि नै पीडित सुस्तमनस्थितिको भएको जिकिर लिएको देखिन्छ भने अन्य बुझिएका मानिसहरूले पनि उक्त जिकिरलाई समर्थन गरेको देखिन्छ । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी तथा सुरू अदालतसमक्ष प्रतिवादी सुस्त मनस्थितिको होइनन् भनी कहीँकतै जिकिर लिएको पनि देखिँदैन । कुनै पनि परिवारले आफ्नो सदस्य मानसिक रूपमा स्वस्थ हुँदाहुँदै सुस्तमनस्थितिको हो भनी जिकिर लिएको भनी सोच्न व्यावहारिक रूपमा पनि उपयुक्त हुन सक्दैन । यस अवस्थामा पीडित सुस्तमनस्थिति (Mentally Retarded) भएकी महिला भएको तथ्य स्थापित हुन पुग्छ । 

६. यसरी पीडित Mentally retarded व्यक्ति भएको तथ्य पुष्टि भएकोमा Mentally Retarded Person भन्‍नाले कस्तो प्रकारको व्यक्ति हो भनी हेर्दा Black’s Law Dictionary ले Mental Retardation भन्‍नाले Congenital below average intellectual ability thought to equate to an IQ of 70 or under, marked by significant deficits in cognitive functioning, abnormal development and social maladjustment भनी परिभाषित गरेको पाइन्छ । यसरी Mentally Retarded Person भन्‍नाले सामान्य समझ भएको व्यक्तिभन्दा कम मानसिक क्षमता भएको व्यक्ति जसको दिमागको काम कारबाहीमा कुनै प्रकारको कमजोरी रहेको छ वा मानसिक अवस्थाको विकासमा असामान्य रूपमा ढिलाई भएको छ उसलाई बुझ्नुपर्ने हुन्छ । 

७. प्रस्तुत मुद्दाको पीडित सुस्तमनस्थितिकी मानसिक रूपमा अस्वस्थ महिला भएको तथ्य स्थापित भएपश्चात् मानसिक रूपमा अस्वस्थ महिलाले करणीको लागि सहमति दिन सक्छ वा सक्दैन तथा सहमति दिएको अवस्थामा पनि उक्त मन्जुरीले कानूनी मान्यता पाउन सक्छ वा सक्दैन भन्‍ने सैद्धान्तिक प्रश्नमा विवेचना गर्नु सान्दर्भिक नै हुन्छ । जबरजस्ती करणीसम्बन्धी अपराधमा ‘सहमतिको अभाव’ लाई महत्त्वपूर्ण तत्त्वको रूपमा लिइन्छ र जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि पीडितको सहमतिबिना करणी गरिएको हुनुपर्छ । सामान्य अर्थमा सहमति भन्‍नाले कुनै पनि कार्य गर्न वा नगर्नको लागि दिइएको मन्जुरी हो तर पीडितले सबै अवस्थामा दिएका मन्जुरी वैध नहुन सक्छ । सहमति वैध हुनको लागि उक्त मन्जुरी स्वतन्त्रतापूर्वक पूर्णसचेत अवस्थामा दिइएको हुनुपर्छ र सहमति दिने मानिसलाई उक्त कार्यको परिणामको बारेमा पूर्णरूपमा ज्ञान 

हुनुपर्छ । कुनै कार्यको लागि सहमति दिनु भनेको आफ्नो तर्क र विवेकको प्रयोग गरी स्वइच्छाले उक्त कार्यको लागि मन्जुरी दिनु हो । यसकारण सहमति दिन सक्ने वा नसक्ने भन्‍ने विषय मानिसको मानसिक क्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ र कुनै कार्य गर्नको लागि सहमति दिन सक्छ वा सक्दैन भन्‍ने कुराको निर्क्यौल गर्दा विवेक (Reason) को प्रयोग गर्न सक्ने मानसिक अवस्था छ वा छैन भन्‍ने कुरालाई हेरिनुपर्छ । व्यक्तिको मानसिक अवस्था कमजोर छ भने उक्त व्यक्तिले जुन कार्यको लागि सहमति दिइने हो उक्त कार्यको प्रकृति तथा सो कार्यले निम्त्याउने परिणामको सम्बन्धमा बुझ्न सक्दैन र सो विषयमा स्वतन्त्र र तर्कसङ्गत निर्णय (Reasoned Decision) गर्न सक्दैन ।

८. हाम्रो सन्दर्भमा हेर्दा साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को प्रतिबन्धात्मक वाक्यांशमा होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भन्‍ने व्यवस्था गरेको पाइन्छ । यसमा प्रयुक्त होस ठेगानमा नरहेको भन्‍ने शब्दावलीले मानसिक रूपमा सामान्य अवस्थामा नरहेको कारणले कुनै कार्यको प्रकृति तथा परिणामको बारेमा तर्कसङ्गत रूपमा बुझ्न सक्ने अवस्था नरहेको भन्‍ने बुझ्नुपर्ने हुन्छ । शाब्दिक रूपमा पनि होस ठेगानमा नरहेको मानिस भन्‍नाले के भइरहेको छ, भइरहेको कार्यले कस्तो परिणाम निम्त्याउँछ भन्‍ने कुराको सामान्य समझ पनि नरहेको मानिस भन्‍ने बुझिन्छ । अतः हाम्रो कानूनी व्यवस्थाले समेत मानसिक अवस्था ठीक नभएको महिलाले करणीको लागि सहमति दिन नसक्ने परिकल्पना गर्दै त्यस्तो महिलाले दिएको सहमतिलाई वैधता नदिने व्यवस्था गरेको पाइन्छ ।

९. मानसिक रूपमा अस्वस्थ महिलाले दिएको सहमतिको वैधताको सम्बन्धमा अन्य देशको अभ्यास हेर्दा भारतीय दण्ड संहिताको दफा ३७५ मा जबरजस्ती करणीको परिभाषा गर्दै विभिन्‍न अवस्थामा दिइएको सहमतिलाई मान्यता नदिने र त्यसरी सहमति प्राप्त गरी गरेको करणी पनि जबरजस्ती करणी हुने भनी उल्लेख गरिएको छ । जसमध्ये सहमति दिँदाको अवस्थामा by reason of unsoundness of mind or intoxication or the administration by him personally or through another of any stupefying or unwholesome substance, she is unable to understand the nature and consequences of that to which she gives consent भएमा पनि त्यस्तो सहमतिले मान्यता नपाउने व्यवस्था रहेको छ । यसरी भारतको दण्ड संहितामा पनि मानसिक रूपमा अस्वस्थ रहेको महिलाले सहमति दिएको कार्यको प्रकृति र परिणामको बारेमा बुझ्न नसक्ने हुनाले त्यस्तो महिलाले दिएको सहमतिले मान्यता नपाउने व्यवस्था गरेको पाइन्छ । त्यसैगरी Tulsi Das Kanokar vs. State of Goa, AIR 2004 SC 978 भएको मुद्दामा भारतको सर्वोच्च अदालतले मानसिक रूपमा अस्वस्थ महिलाले दिएको सहमतिले मान्यता नपाउने उल्लेख गर्दै A mentally challenged girl cannot legally give a consent which would necessarily involve understanding of the effect of such consent. It has to be conscious and voluntary act. For constituting consent, there must be intelligence based on the knowledge of the significance and the moral effect of the act. A girl whose mental faculties are underdeveloped cannot be said in law to have suffered sexual intercourse with consent भनी व्याख्या गरेको छ । यसरी उक्त मुद्दामा पनि भारतको सर्वोच्च अदालतले सहमति हुनको लागि सहमति दिएको कार्यको प्रभाव र परिणामको बारेमा बुझ्न सक्ने हुनुपर्ने र मानसिक रूपमा अस्वस्थ महिलाले सो गर्न नसक्ने भएकोले निजले दिएको सहमतिलाई वैध सहमति मान्‍न नसकिने भन्‍ने दृष्टिकोण व्यक्त गरेको पाइन्छ । 

१०. मानसिक रूपमा अस्वस्थ महिलाले करणीको लागि सहमति दिन सक्छ वा सक्दैन तथा त्यस्तो व्यक्तिले दिएको सहमतिले मान्यता पाउन सक्छ वा सक्दैन भन्‍ने सैद्धान्तिक प्रश्नको निरूपण गरेपश्चात् अब सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन भन्‍ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । यसको लागि मानसिक अवस्था स्वस्थ नभएकी महिलाले दिएको सहमति जबरजस्ती करणीको महलमा भएका कानूनी प्रावधानहरूसँग पनि तुलना गरी विवेचना गर्नु सान्दर्भिक नै हुन्छ ।

११. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्‍ने व्यवस्था रहेको छ । साथै सोको स्पष्टीकरण खण्ड (ख) मा “होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन” भनी उल्लेख गरिएको छ । सोही महलको ३क नं. मा “कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ” भनी थप सजायको व्यवस्था गरेको छ ।

१२. जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण खण्ड (ख) मा होस ठेगानमा नरहेको अवस्थाको व्याख्या गर्दा पीडितको शारीरिक, मानसिक र अपराध हुँदाको समयमा दिमाग चेतनायुक्त कार्य गर्न असक्षम रहेको आदि समग्र परिस्थितिहरूको सिंहावलोकन गरी Case wise रूपमा तथ्य प्रमाणबाट नै व्याख्या गरिने हो । होस ठेगानमा नरहेको अवस्था मानसिक रूपमा सुस्तमनस्थिति भइरहेको स्थितिमा पनि रहन सक्छ । सुस्तमनस्थिति (Mentally retarded) भएको व्यक्तिले आफूले गरेको कार्यको परिणाम र ठीक बेठीक छुट्ट्याउन सक्ने क्षमता नै 

हुँदैन । यस कारण सुस्तमनस्थिति मानसिक रूपमा एक प्रकारको होस ठेगानमा नरहेकै अवस्था हो । अतः होस ठेगानमा नरहेको महिलाको सहमतिलाई उक्त कानूनी व्यवस्थाले मन्जुरी लिएको भनी छुट दिन मिल्ने देखिएन । 

१३. जबरजस्ती करणीको महलको ३क ले अशक्त, अपाङ्गता वा होस ठेगानमा नरहेका महिलालाई जबरजस्ती करणी गरेमा थप पाँच वर्ष कैद गर्नुपर्ने कठोर कानूनी व्यवस्था गरेको छ । अपाङ्गता वा होस ठेगानमा नरहेको भनी प्रयुक्त व्यवस्थाले परस्परमा सो अवस्थाको प्रभाव रहने भन्‍ने नै हो । अर्थात् अपाङ्गता भएका व्यक्तिको होस ठेगानमा नरहन सक्ने साथै होस ठेगानमा नरहने व्यक्ति मानसिक अपाङ्गता (सुस्तमनस्थिति) पनि हुन सक्ने अवस्था रहने भएर नै अपाङ्गता वा होस ठेगानमा नरहेको भनी ‘वा’ ले दुवै अवस्थालाई समेटेको पाइन्छ । सामूहिक रूपमा जबरजस्ती करणी गरेमा पनि उक्त दफा ३क ले थप ५ वर्ष सजाय गर्नपर्ने व्यवस्था गरेको पाइन्छ । 

१४. उक्त विवेचना गरिएका सैद्धान्तिक एवं कानूनी आधारसमेतलाई दृष्टिगत गरी अब प्रस्तुत मुद्दाको तथ्य प्रमाणलाई विश्‍लेषण गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू देवलाल श्रेष्ठ र नवराज तामाङले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानमा आफूहरूले पीडितलाई काभ्रेपलाञ्चोक जिल्ला शंखुपाटीचौर गा.वि.स. वडा नं. ५ स्थित गोठ टहराभित्र लगी करणी गरेको भन्‍ने तथ्यलाई स्वीकार गरेको देखिन्छ भने अन्य मिसिल संलग्न प्रमाण कागजहरूबाट पनि सो तथ्य समर्थित हुन पुगेको छ । पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठले सुरू अदालतमा गरेको बयानमा आफूले सहमतिमा पीडितलाई करणी गरेको भनी उल्लेख गरेको भए तापनि पीडित मानसिक रूपमा अस्वस्थ रहेको र मानसिक रूपमा अस्वस्थ रहेको व्यक्तिले करणीको लागि सहमति दिन नसक्ने र सहमति दिएको भए तापनि त्यस्तो सहमतिलाई मान्यता दिन नमिल्ने भनी माथिका प्रकरणहरूमा विवेचना भइसकेको छ । 

१५. सहअभियुक्त नवराज तामाङले अदालतमा बयान गर्दा पनि पीडितालाई दाउराको भारी घचेट्न भनी घचेटी घचेटी जंगलमा रहेको गोठमा पुर्‍याएको र निजको इच्छाविपरीत पालै पालो करणी गरेको हो भनी उल्लेख गरेको पाइन्छ । मानसिक सन्तुलन गुमाएकी, सुस्तमनस्थिति भएकी, कलिलो १७ वर्षको उमेर पुगेकी पीडितालाई अन्य काम गरिदिन भनी झुक्याई एकान्त जंगलमा भएको गोठमा पुर्‍याई दुवैजना प्रतिवादीहरूले पालै पालो जबरजस्ती करणी गरेको भनी निज सहअभियुक्तले कसुर अपराध गरेकोमा साबिती भई प्रतिवादी देवलाल श्रेष्ठलाई समेत पोल गरी बयान गरेको देखियो । निज सहअभियुक्तको सो पोल बयान मिसिल संलग्न वस्तुगत तथ्य प्रमाणहरूबाट समर्थित भइरहेको हुँदा प्रमाणयोग्य नै देखिन्छ । सुस्तमनस्थिति वर्ष १७ की मात्र भएकी पीडितालाई २ जना प्रतिवादीहरूले पालै पालो जबरजस्ती करणी गरेको तथ्य झन् दर्दनाक रहेको छ । यसबाट प्रतिवादीहरूले पीडितलाई करणी गरेको र पीडित सुस्तमनस्थिति अवस्थाकी रही सो करणी लिनेदिने कार्यको लागि स्वतन्त्र मन्जुरी दिन नसक्ने अवस्था भई प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आयो । यस्तो अवस्थामा प्रतिवादी देवलाल श्रेष्ठको हकमा निजलाई सोही कसुर अपराधमा सजाय गर्ने गरेको सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला अन्यथा देखिएन । आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठको पुनरावेदन जिकिर एवं यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश हुँदा लिइएको आधारसँग समेत सहमत हुन सकिएन ।

१६. अतः माथि विवेचित तथ्य, प्रमाण एवं सैद्धान्तिक तथा कानूनी आधारसमेतबाट पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठसमेतले सुस्तमनस्थिति अवस्थाकी पीडित परिवर्तित नाम काभ्रे ३०(ठ) लाई जबरजस्ती करणी गरी साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(४) नं. विपरीत अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आयो । निज प्रतिवादी देवलाल श्रेष्ठको हकमा निजलाई सोही अभियोग दाबीको कसुरमा जबरजस्ती करणीको महलको ३(४) बमोजिम ५ (पाँच) वर्ष कैद र ऐ. को ३क नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा १० वर्ष कैद सजाय हुने ठहर भई निज प्रतिवादीबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) पीडितलाई क्षतिपूर्ति भराइदिने गरी भएको सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।३।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी देवलाल श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जनाउ सम्बन्धित कारागारमार्फत पुनरावेदक प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उपर्युक्त रायमा सहमत छु ।

न्या.पुरूषोत्तम भण्डारी

 

फैसला तयार गर्नेः शा.अ. कल्याण खड्का

इति संवत् २०७५ साल माघ २४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु