शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४१३ - घुस रिसवत लिई भ्रष्टाचार गरेको

भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक:

सर्वोच्च अदालत,  संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।९।१५

०७५-CR-०६१३ 

 

मुद्दाः घुस रिसवत लिई भ्रष्टाचार गरेको

 

पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत गोकुल पन्तसमेतको प्रतिवेदनले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जय जोशीको नाति विष्णु जोशीको छोरा बझाङ जिल्ला, मौलाली गा.वि.स.वडा नं.८ घर भई जनकपुर उपमहानगरपालिका वडा नं.४ बस्ने नापी कार्यालय धनुषाअन्तर्गत २ नं. नापी टोलीका अमिन कृष्णप्रसाद जोशी

 

भ्रष्टाचारको कसुर स्थापित हुनको लागि प्रतिवादीबाट रकम बरामद हुनु नै पूर्ण एवम् पर्याप्त प्रमाण हुन

सक्दैन । प्रतिवादीले सो रकम स्वेच्छाले माग गरेको र स्वेच्छाले घुसबापतको रकम लिएको तथ्य वस्तुनिष्ठ, विश्वसनीय, प्रचुर एवम् पर्याप्त प्रमाणद्वारा परिपुष्टि हुनु पर्ने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासनी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०२१, अंक २, नि.नं.२२९

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री द्वारिकामान जोशी

मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

मा. न्यायाधीश श्री नारायणप्रसाद पोखरेल

विशेष अदालत काठमाडौं

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भर्इ दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

धनुषा जिल्ला, धनुषा नगरपालिका वडा नं.५ स्थित मेरो गाउँ ब्लकको जग्गा नापी गर्दा मेरो भोगचलनमा रहेको जग्गा मलाई जानकारी नगराई सन्तोषी यादवको नाममा नापी गराएकोमा मलाई जानकारी भएपछि म नापी कार्यालय, धनुषामा गई कार्यालय प्रमुखसँग यस विषयमा जानकारी गराउँदा कार्यालय प्रमुखले फिल्डमा खटिने अमिन कृष्णप्रसाद जोशीलाई भेट्न भनेकोमा निजलाई भेटी यस विषयमा कुराकानी गर्दा निज अमिनले मसँग रू.३०,०००।– दिनुहोस् म तपाइँको काम गरिदिन्छु भनी रकम माग गरेको हुँदा घुस / रिसवत माग गर्ने कर्मचारीलाई कारबाही गर्नु उपयुक्त हुने देखिएकोले सो कुराको जानकारी यस आयोगमा गराएको छु । निजले मसँग उल्लिखित कार्यको निमित्त रू.३०,०००।– माग गरेकोले निजलाई दिनका लागि सो रकम नगद उपलब्ध गरार्इ पाऊँ र मबाट निजले घुस / रिसवत लिएको अवस्थामा फेला परेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी कारबाही गरिपाउँ भन्‍नेसमेतको बेहोराको उजुरीकर्ता सूर्यनारायण यादवको मिति २०७३।१२।२० को उजुरी निवेदन ।

उजुरवालाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबास महोत्तरीबाट भरपार्इ कागजमा उल्लिखित दर र नम्बरका ३० थान नोटहरूको हुने रू.३०,०००।- बुझिलिई निवेदकले मिति २०७३।१२।२० मा गरिदिएको भरपार्इ कागज ।

उजुरीमा उल्लिखित कामको सम्बन्धमा अमिन कृष्णप्रसाद जोशीसँग गरिएको वार्तालाप रेकर्ड भएको सि.डी. निवेदनसाथ पेस गरेको भन्‍नेसमेत बेहोराको मिति २०७३।१२।२० को निवेदन तथा सि.डी. एक थान ।

नापी कार्यालय, धनुषाका अमिन कृष्णप्रसाद जोशीले घुस / रिसवत स्वरूप रू.३०,०००।– माग गरेको भन्‍ने उजुरीकर्ता सूर्यनारायण यादवको निवेदनको आधारमा निजलाई भरपार्इ गरार्इ रकम उपलब्ध गराइएको हुँदा आरोपित कृष्णप्रसाद जोशीउपर निगरानी राखी निजले घुस / रिसवत लिएको पाइएमा दशी प्रमाणसहित पक्राउ गरी यस आयोगमा दाखिला गर्ने प्रयोजनको लागि निवेदकलाई उपलब्ध गराइएको रकमको फोटोकपीसहित प्र.उ.राजकुमार लम्सालसमेतलाई खटाई पठाइएको भन्‍ने बेहोराको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीको च.नं. ९४२ मिति २०७३।१२।२० को पत्र । 

यसमा २ नं. नापी टोलीको कार्यालय, धनुषामा प्रवेश गरी आरोपित अमिन कृष्णप्रसाद जोशीको खानतलासी लिने प्रयोजनको लागि खडा गरिएको प्रवेश मुचुल्का । 

नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोली, धुनषामा कार्यरत अमिन कृष्णप्रसाद जोशीलाई दिइएको मिति २०७३।१२।२० गतेको खानतलासी पुर्जी । 

मिति २०७३।१२।२० गते १३:३० बजेको समयमा अमिन कृष्णप्रसाद जोशीको खानतलासी गर्दा निजले लगाएको खैरोसर्टको अगाडिको बायाँपट्टिको गोजीबाट रू.१,०००।– दरका नेपाली नोटहरू थान-२० र कालो सेतो मिसिएको छिर्के पाइन्टको अगाडीको बायाँतर्फको गोजीबाट रू.१०००।– दरका नेपाली नोटहरू १० थानसमेतको हुने रू.३०,०००।– सहित अन्य जिन्सी सामानहरू बरामद गरिएको भन्‍नेसमेत बेहोराको मिति २०७३।१२।२० गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

अमिन कृष्णप्रसाद जोशीलाई सेवाग्राहीसँग रू.३०,०००।– घुस / रिसवतबापतको रकमसहित रंगेहात पक्राउ गरी रीतपूर्वक खानतलासी गरी तयार गरिएको खानतलासी तथा बरामदी मुचुल्का तथा बरामद नोटहरूको छायाँकपीसमेतमा सहीछाप गर्न अनुरोध गर्दा निज कृष्णप्रसाद जोशीले सहीछाप गर्न नमानेको भन्‍ने मिति २०७३।१२।२० को मुचुल्का । 

बझाङ जिल्ला, साबिक मौलाली गा.बि.स.वडा नं.८ घर भई २ नं. नापी टोली, धनुषामा कार्यरत अमिन कृष्णप्रसाद जोशीको गतिविधिउपर निगरानी राख्दा निज कृष्णप्रसाद जोशीले सेवाग्राहीसँग घुस / रिसवतबापतको रकम लिन टेलिफोनमार्फत कुरा गरी सेवाग्राहीलाई आफ्नै कार्यालयमा बोलाई निजले सेवाग्राहीबाट रू.३०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई निज कृष्णप्रसाद जोशीलाई खानतलासी गर्दा बरामदी मुचुल्कामा उल्लिखित नम्बरका नोटहरू फेला परेकोले रीतपूर्वक बरामद गरी बरामदी मुचुल्का खडा गरी निज अमिन कृष्णप्रसाद जोशीलाई पक्राउ गरी बरामद दशी प्रमाण, बरामद गर्दाको श्रव्यदृश्य सि.डी. सहित दाखिला गरेको भन्‍नेसमेत बेहोराको प्र.उ.राजकुमार लम्सालसहितको टोलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीसमक्ष पेस गरेको मिति २०७३।१२।२० को दाखिला प्रतिवेदन तथा श्रव्यदृश्यसहितको सि.डी. थान-एक ।

म नेपाल सरकारको अमिन (करार सेवा) पदमा २०७१ साल चैत्र महिनादेखि नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोली, धनुषामा कार्यरत छु । धनुषा जिल्लाको साबिक उमाप्रेमपुर गा.वि.स. हाल धनुषा नगरपालिकासमेतको गाउँब्लकको जग्गा नापनक्सा गर्नेसमेत मेरो पदीय जिम्मेवारी 

हो । निवेदकसँग मेरो नाता सम्बन्ध, रिसइवी, खराब सम्बन्ध केही छैन । गाउँब्लकको जग्गा सन्तोषी यादवले नापजाँच गराएका थिए । उक्त जग्गाको कित्ता नम्बर कायम गर्ने, प्रारम्भिक तेरिज कायम गर्नेलगायतका अन्य काम बाँकी नै छ । म माथि जबरजस्ती अन्याय भएकोले खानतलासी तथा बरामदी मुचुल्का र रकमहरूको फोटोकपी कागजमा सहीछाप नगरेको भन्‍ने मुचुल्काको बेहोरा ठिक हो । निवेदकसँग चैत्र ३/४ गतेतिर पहिलो भेटघाट भएको हो र पछि चैत्र ११/१२ गतेतिर पनि भेटघाट भएको हो । मैले निवेदक सूर्यनारायण यादवलाई मिति २०७३।१२।२० गते २ नं. नापी टोली, धनुषाको कार्यालयमा भेट्न बोलाएको 

हो । मलाई जबरजस्ती गरी २ जनाले हात समातेर मेरो खल्तीमा पैसा हाल्न खोज्दा इन्कार गरेको 

छु । सूर्यनारायण यादवले मलाई पैसा दिन खोज्दा मैले लिन्‍न भनेको छु । जबरजस्ती २ जनाले हात समातेर मेरो खल्तीमा पैसा हाल्दा फालेको छु । फाल्दाफाल्दै पुनः जबरजस्ती मेरो खल्तीमा हाल्दा रकम बरामद भएको हो । घुसबापतको रकम लिन मन्जुर गरेको थिइन । मेरो खल्तीमा जबरजस्ती पैसा हाल्न खोज्दा मेरो २ वटा पेन भाँचिएको छ, मेरो ओंठमा पनि चोट लागेको छ, सर्टको बटन निस्केको छ । सूर्यनारायण यादवसँग मैले रकम लिएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी कृष्‍णप्रसाद जोशीले अनुसन्धानको क्रममा गरेको बयान ।

मिति २०७३।१२।२० गते अमिन कृष्णप्रसाद जोशीउपर दिएको उजुरी बेहोरा मेरो आफ्नै हो, सहीछापसमेत मेरो हो । उजुरी निवेदन पेस गरेपश्‍चात भरपार्इ गरी अख्तियारबाट रकम बुझिलिएको ठिक साँचो हो । मिति २०७३।१२।२० गते निवेदन साथ पेस गरेको अडियो वार्तालापसहितको सि.डी.को बेहोरा ठिक हो । उक्त फोन वार्तालाप मिति २०७३।१२।१९  गते र सोभन्दा अगाडि अमिन कृष्णप्रसाद जोशीसँग गरिएको वार्तालाप हो । विगत ३५ वर्ष अगाडिदेखि मेरो भोगचलनमा रहेको ऐलानी जग्गा मेरो नाममा नापी हुनुपर्नेमा सो ठाउँका सन्तोषी यादवको नाममा नापी गराएको हुँदा सोही कुरा सच्याई मेरो नाममा नापी गराउन जाँदा निज अमिन कृष्णप्रसाद जोशीले मसँग रू.३०,०००।– घुस मागी मेरो जग्गा अर्कैको नाममा नापी भए तापनि मिलाइदिन्छु भनेका थिए । उक्त जग्गा मेरो बुबा सात दाजुभाइमध्ये एक फाँट मेरो हो । त्यो जग्गा अहिले हजुरआमाको नाममा छ । मेरो बसाई जनकपुरमा छ । मेरो आमा गाउँमा बस्नुहुन्छ । संयोगवश नापी भएको दिन मेरो आमा बहिनीको घरमा जानुभएको मौकामा मेरो काकाहरूले मेरो फाँटको जग्गा आफ्नो नाममा नापी गराउनुभएछ । सो कुरा मलाई जानकारी भएपछि भोलिपल्ट गाउँमा गई छिमेकीको जग्गा नापी रहेको अवस्थामा अमिन कृष्णप्रसाद जोशीलाई भेट्दा उहाँले तपाइँको जग्गा नापी भइसक्यो कति पटक नाप्ने भन्‍नुभयो । उहाँले असारतिर सात दिने सूचना नगरपालिकामा टाँसेपछि निवेदन दिनुहोला भन्‍नु भयो । त्यसपछि नापी कार्यालय, धनुषाका कार्यालय प्रमुखलाई गएर भेट्दा असारतिर सूचना टाँस भएपछि निवेदन दिनुहोला वा तपाइँले निज अमिनलाई नै खुसी पार्नु, उसले नै तपाइँको काम गरिदिन्छ भनेपछि फेरी निज अमिनलाई भेट्दा निज अमिन कृष्णप्रसाद जोशीले मलाई रू.३०,०००।– दिनुहोस्, म तपाइँको काम गर्छु र लालपुर्जा दिने दिनसम्म ग्यारेन्टी बस्छु भनेकोले आफ्नै भोगचलनमा रहेको सम्पत्तिको लागि घुस दिने मनसाय नभएको हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासमा उजुरी दिएँ । निज अमिन कृष्णप्रसाद जोशीले मसँग माग गरेको रू.३०,०००।– घुसबापतको रकम २ नं. नापी टोली, धनुषाको कार्यालयमा निजले आफ्नै अफिस कोठामा लिएको हो भन्‍नेसमेत बेहोराको बन्द सवालमार्फत उजुरीकर्ता सूर्यनारायण यादवले अनुसन्धानमा गरेको कागज ।

अमिन कृष्णप्रसाद जोशीउपर खडा गरिएको प्रवेश मुचुल्का मेरो रोहवरमा गरिएको 

हो । मिति २०७३।१२।२० गते आयोगबाट खटिएको प्र.उ.राजकुमार लम्सालसमेतको टोलीले अमिन कृष्णप्रसाद जोशीलाई खानतलासी गर्दा निजको शरीरबाट रू.३०,०००।– सहित अन्य सामानहरू बरामद भएको हो । खानतलासी तथा बरामदी मुचुल्कामा भएको मेरो नामको सही मेरो हो भन्‍नेसमेत बेहोराको जिल्ला प्रशासन कार्यालय धनुषाका ना.सु.शिवकृष्‍ण काफ्लेले अनुसन्धानमा गरेको कागज ।

अमिन कृष्णप्रसाद जोशी नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोलीमा करार सेवामा कार्यरत कर्मचारी हुन । प्रवेश मुचुल्काको सही मेरो हो । अमिन कृष्णप्रसाद जोशीको खानतलासी मेरो रोहवरमा गरिएको हो र खानतलासी गर्दा निजको खल्तीबाट रू.३०,०००।– नगद बरामद भएको हो । उक्त बरामद रकम फोटोकपी कागजमा भएको रकमहरूसँग भिडाउँदा भिडेको थियो भन्‍नेसमेत बेहोराको नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत सुरेश जोशीले अनुसन्धानमा गरेको    कागज ।

अमिन कृष्णप्रसाद जोशी २ नं. नापी टोली, धनुषामा करार सेवामा कार्यरत कर्मचारी हुन् । धनुषा जिल्ला, साबिक उमाप्रेमपुर गा.वि.स.वडा नं.७ हाल धनुषा नगरपालिका वडा नं.५ को गाउँब्लकको जग्गा नापजाँच गर्न अमिन कृष्णप्रसाद जोशीलाई जिम्मेवारी दिइएको र निजलाई नै फिल्डमा खटाइएको भन्‍नेसमेत बेहोराको नापी कार्यालय धनुषाअन्तर्गत २ नं.नापी टोली प्रमुख दिलिपकुमार साहले अनुसन्धानमा गरेको कागज । 

मिति २०७३।१२।२० गते आयोगबाट खटिएको प्र.उ.राजकुमार लम्सालसमेतको टोलीले मसमेतको रोहवरमा अमिन कृष्णप्रसाद जोशीको खानतलासी लिएको हो । खानतलासी तथा बरामदी मुचुल्काको बेहोरा ठिक हो र सही मेरो हो । निज कृष्णप्रसाद जोशीको खानतलासी गर्दा निजको शरीरबाट रू.३०,०००।- सहित अन्य सामानहरू बरामद भएको हो । बरामद रकम रू.३०,०००।– आयोगको टोलीले लिई आएको नोटहरूको फोटोकपीमा भिडाउँदा भिडेको थियो । अमिन कृष्णप्रसाद जोशीउपर खडा गरिएको प्रवेश मुचुल्का मेरो रोहवरमा गरिएको हो र उक्त मुचुल्कामा भएको सही मेरोसमेत हो भन्‍नेसमेत बेहोराको बन्द सवालमार्फत जिल्ला समन्वय समिति धनुषाका कार्यक्रम अधिकृत सुनिलकुमार झाले अनुसन्धानमा गरेको कागज ।

अमिन कृष्णप्रसाद जोशीको पोलिग्राफ परीक्षण गर्दा ३३ अंक प्राप्‍त भई “Deception Indicated” देखिएको भन्‍ने रायसहितको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, केन्द्रीय पोलिग्राफ शाखाको च.नं.७२७९ मिति २०७३।१२।२४ को पत्रसाथ संलग्न अमिन कृष्णप्रसाद जोशीको पोलिग्राफ परीक्षण प्रतिवेदन ।

मिति २०७३।१२।२० गतेसम्म धनुषा जिल्ला, धनुषा नगरपालिका, वडा नं.५ को गाउँब्लकको जग्गा नापजाँच कार्यमा अमिन कृष्णप्रसाद जोशीसमेतलाई खटाइएको, उजुरी बेहोरामा उल्लिखित जग्गाको नाप नक्सा कार्यको प्रारम्भिक लगत र फिल्डबुक अमिन कृष्णप्रसाद जोशीले २ नं. नापी टोलीमा नबुझाएको भन्‍नेसमेत बेहोराको नापी कार्यालय, धनुषाको पत्र ।

बन्द सवाल कागज थान-३ तथा अन्य कागजातहरूको प्रमाणित प्रतिलिपि पाना-२७ भएको फायल थान-१ आवश्यक कार्य पूरा गरी संलग्न राखी पठाइएको भन्‍नेसमेत बेहोराको च.नं. ९७७ मिति २०७३।१२।३० को पत्र तथा संलग्न कागजातहरू ।

नापी कार्यालय, धनुषाअन्तर्गत २ नं.नापी टोली, धनुषामा कार्यरत राष्‍ट्रसेवक अमिन कृष्णप्रसाद जोशीले आफ्नो ओहोदाले गर्नुपर्ने उजुरी निवेदनमा उल्लिखित उजुरीकर्ता सूर्यनारायण यादवले भोगचलन गर्दै आएको भनिएको धनुषा जिल्ला, धनुषा नगरपालिका वडा नं.५ स्थित गाउँब्लकको जग्गा सन्तोषी यादवको नाममा नापी गराएकोमा उक्त जग्गा अर्कैको नाममा नापी भए तापनि मिलाइदिन्छु भनी पटकपटक फोन सम्पर्क तथा भेटघाटसमेत गरी मलाई रू.३०,०००।– दिनुहोस्, म तपाइँको काम गर्छु र लालपुर्जा दिने दिनसम्म ग्यारेन्टी बस्छु भनी उजुरीकर्ता सूर्यनारायण यादवसँग आफ्नो लागि रू.३०,०००।– (तीस हजार) घुस / रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज कृष्णप्रसाद जोशीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको देखिएको हुँदा निज अमिन कृष्णप्रसाद जोशीलाई बिगो रू.३०,०००।- (तीस हजार) कायम गरी ऐ.ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय गरी बरामद भई आएको रू.३०,०००।- दशी स्वरूप प्रमाणमा लगाई उक्त रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीलाई फिर्ता गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको आरोप-दाबी ।

उजुरीकर्ता सूर्यनारायण यादवलाई मैले चिन्दिनथेँ । निजलाई गाउँब्लकको जग्गा नापी हुँदा उहाँको वडामा अन्य मान्छेको जग्गा नापजाँच गर्दा निजसँग चिनजान भएको हो । उजुरीकर्ताले आफ्नो जग्गा नापजाँच गराउँदा निज उपस्थित नै 

थिएनन् । जग्गा नापजाँच हुनुभन्दा अगावै  जग्गा नापजाँच हुँदै छ भनी सम्बन्धित नगरपालिकामा १५ दिने सूचना दिएको थियो । उक्त सूचना दिँदादिँदै पनि निज सूर्यनारायण यादव जग्गामा उपस्थित नै नभएको र निजको जग्गा पनि कसैको नाममा पनि गरेको 

थिएन । उसले पटकपटक मलाई फोन गरी प्रक्रियाको बारेमा बुझ्दा मैले उसलाई नापी कार्यालयमा पठाएको हुँ । उसले सिधै मेरो काम गरिदिनुहोस् म पैसा दिन्छु भन्दा तपाइँ प्रक्रियामा जानुहोस् तपाइँको पैसा 

लाग्दैन । तपाइँको काम ७ दिने सूचना प्रकाशन भएपछि विना पैसा काम हुन्छ भनेकोमा उल्टै म २ नं. नापी टोली कार्यालयमा आएको बेलामा उसलाई प्रक्रियागत कुरा बताउन खोज्दा मेरो टेबुलमा पैसा फाली इन्कार गर्दा सादा पोसाकमा आएका अपरिचित ३ जना व्यक्तिले २ वटा हात समाती जबरजस्ती मेरो खल्तीमा पैसा राख्‍न खोज्दा मेरो २ वटा पेन भाँचिएको, सर्टको बटन छिनेको थियो । साथै जोरजुलुम गरी मेरो खल्तीमा पैसा राखिदिँदा उक्त रकमसमेत खुचमुचिएर पोको परेको थियो । पैसा राख्‍ने प्रयास गर्दा ३ पटकसम्म उनीहरूले राखिदिने मैले फ्याँकी दिने गर्दा उल्टै मलाई २ झापड गालामा हानी अख्तियारको टोलीद्वारा अब तपाइँ चुप लाग्नुहोस् अब तपाइँ केही गर्न पाउनुहुन्‍न तपाइँको खल्तीको पैसा झिक्नुहोस् भनी मैले आफैँले बुझ्दै नबुझेको, राख्दै नराखेको पैसा जुन अख्तियारको टोलीद्वारा जबरजस्ती रूपमा राखिएको पैसा सार्वजनिक गर्न लगाई सोही आधारमा बरामदी मुचुल्कासमेत खडा गरियो । तर ममाथि षडयन्त्रपूर्ण ढङ्गले अन्याय गरियो भनी उक्त मुचुल्कामा सहीछापसमेत नगरेको हो । उजुरी नै षडयन्त्रपूर्ण ढङ्गले मलाई फसाउने नियतले दिएको हो । जबरजस्ती मेरो गालामा २ झापड हानी मलाई हलचलसमेत गर्न नदिई बलपूर्वक मेरो खल्तीमा पैसा राखिदिएको हो । सि.डी. इडिटिङ गरेर तयार गरिएको छ । मेरो बोलीको शब्द हटाइएका छन् । जबरजस्ती रूपमा मेरो खल्तीमा पैसा हाली मबाट नै पैसा निकाल्न लगाई सि.डी.तयार गरिएको हो । त्यसमा कुनै सत्यता छैन, मलाई फसाउने, दुःख दिने नियतबाट सि.डी.तयार गरिएको हो । मैले कुनै रकम माग गरेको र लिए बुझेको छैन, सत्य तथ्यमा आधारित छैन । म २०७० साल चैत्रदेखि करार सेवाअन्तर्गत अमिन, पदमा नियुक्ति (करार) लिई काम गर्दै आइरहेको 

थिएँ । मेरो पदीय जिम्मेवारी नापी कार्यालय धनुषाअन्तर्गत २ नं. नापी टोलीका टोली प्रमुखले खटाएको, लाए अह्राएको ठाउँमा गाउँब्लकभित्रको जमिन नापजाँच गर्ने हो । नापजाँच पछि नक्सामा मसी भर्ने, प्रारम्भिक तेरिज कायम गर्ने, कित्ता कायम गर्ने, फिल्डबुक लेख्‍ने, क्षेत्रफल यकिन गर्नेलगायतका ७ दिने सूचना जारी नहुन्जेलसम्मको लागि मेरो जिम्मेवारी हो । निवेदक सूर्यनारायण यादवको जमिन नापजाँच (पेन्सिलवर्क) बाहेक कुनै पनि काम अघि बढेको छैन । करार सेवाको तल्लो तहको कर्मचारी भएकोले मैले कुनै पनि काम अल्झाउने, दुःख हैरानी दिने कार्य गरेको छैन । मैले पैसा माग्ने जस्ता कामको विरोध गर्ने गरेको र यसभन्दा अघि करिब ५ वर्षसम्म पत्रकारिता गरी जिल्लामा रेडियोसमेत सञ्चालन गरेको थिएँ । म जिल्लामा घुस विरोधी कडा स्वभावको मान्छे भनी सबैले प्रशंसा गर्दथे । अहिले आएर ममाथि अन्यायपूर्ण ढङ्गले आरोप लगाइएको हो । यसमा कुनै सत्यता छैन । कसैको उक्साहटमा लागि ममाथि षडयन्त्रपूर्वक ढङ्गले फसाउने काम गरिएको हो । मैले गल्ती नगरेको भएर नै खानतलासी बरामदी मुचुल्का र उक्त नोटहरूको फोटोकपी कागजमा समेत सहीछाप गरेको छैन । म निर्दोष हुँदा झुठ्ठा आरोप-दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी कृष्णप्रसाद जोशीले विशेष अदालतसमक्ष गरेको बयान । 

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) नं.बमोजिम निज प्रतिवादी कृष्णप्रसाद जोशीबाट रू.३०,०००।- धरौट लिई मुद्दाको पुर्पक्ष गर्नु भनी मिति २०७४।१।१० मा भएका आदेशानुसार निज प्रतिवादीले र.नं.३३८ मिति २०७४।१।१० मा रू.३०,०००।- नगदै धरौट दाखिला गरी पुर्पक्षको लागि तारेखमा रहेको देखिन्छ ।  

मिति २०७३।१२।२० को खानतलासी तथा बरामदी मुचुल्का र प्रतिवेदनको बेहोरा ठिक साँचो 

हो । सोमा भएको सही मेरो हो भन्‍नेसमेत बेहोराको वादी पक्षका साक्षी राजकुमार लम्सालले विशेष अदालतमा गरेको बकपत्र । 

मिति २०७३।१२।२८ मा भएको घटना विवरण कागजको बेहोरा ठिक हो र सोमा भएको सहीछाप मेरो हो भन्‍नेसमेत बेहोराको वादी पक्षका साक्षी दीलिपकुमार साहले विशेष अदालतमा गरेको बकपत्र । 

उजुरी निवेदनको बेहोरा ठिक हो र सोमा भएको सहीछाप मेरो हो । कृष्णप्रसाद जोशीले माग गरेको रू.३०,०००।– घुसबापतको रकम मैले निजको आफ्नै अफिस कोठामा नै दिएको हुँ । पहिला मौखिक रूपमा पैसा माग गर्नुभएको थियो । Audio मा पैसाको कुरा गर्दा अफिसमै आएर भेटनुस्, तपाइँको काम भइहाल्छ भन्‍नुभएको थियो । Audio record गर्दा उहाँले रकम खुलाउनुभएको थिएन । मैले रकम दिएर बाहिर निस्किएपछि अख्तियारको टोलीले उहाँलाई पक्राउ गरी रकम बरामद गरेको थियो । सगोलको जग्गाको अगाडि मुखको जग्गा काकाले आफ्ना नाममा नापी गराएकोले उजुर गर्नुपरेको हो भन्‍नेसमेत बेहोराको उजुरीकर्ता सूर्यनारायण यादवले विशेष अदालतमा गरेको बकपत्र । 

मिति २०७३।१२।२७ मा भएको घटना विवरण कागजको बेहोरा ठिक साँचो हो र सोमा भएको सहीछाप  मेरो हो । बरामद भएका नोटहरू फ्रेस थिएनन् । कच्चाक कुच्चुक परेका नोटहरू प्रतिवादीको खल्तीबाट निकालेको हो । निज प्रतिवादीको विरूद्धमा कुनै लिखित उजुर आएको थिएन भनी वादी पक्षका साक्षी सुरेश जोशीले विशेष अदालतमा गरेको बकपत्र । 

बरामदी मुचुल्का एवम् मिति २०७३।१२।२८ को घटना विवरण कागजको बेहोरा ठिक हो र सोमा भएको सहीछाप मेरो हो भन्‍नेसमेत बेहोराको वादी पक्षका साक्षी सुनिलकुमार झाले विशेष अदालतमा गरेको बकपत्र । 

खानतलासी, बरामदी, प्रवेश मुचुल्का र प्रतिवेदनसमेतको बेहोरा ठिक हो । सोमा भएको सहीछाप मेरै हो भन्‍नेसमेत बेहोराको वादी पक्षका साक्षी प्रकाश थापा, साजन लामा, अम्बिकाप्रसाद पहाडी, बुद्धबहादुर मोक्तान, शिवकृष्ण काफ्ले, रविन्द्र खनाल, तोरणबहादुर कार्की र प्रविण न्यौपानेसमेतले विशेष अदालतमा गरेको एकै मिलानको अलग अलग बकपत्र । 

खानतलासी, बरामदी, प्रवेश मुचुल्का र प्रतिवेदनसमेतको बेहोरा ठिक हो । सोमा भएको सहीछाप मेरै हो । बरामद भएका नोटहरू हल्का कच्याक कुच्चुक परेका थिए भन्‍नेसमेत बेहोराको वादी पक्षका साक्षी रामकिशोर साहले विशेष अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले निवेदकसँग घुसबापतको रकम माग गरेको होइन । निवेदकसमेतले प्रतिवादीलार्इ जबरजस्ती खल्तीमा रकम हाली दिएको हुँदा निजउपर लगाएको आरोप झुठ्ठा हो । त्यसकारण निजले सफाइ पाउनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी रविराज जोशीले विशेष अदालतमा गरेको बकपत्र । 

वादी पक्ष र प्रतिवादीको रोहवरमा मिति २०७४।९।५ मा सि.डी. लिपिबद्ध भर्इ मिसिल संलग्न रहेको छ । 

समगरमाथा टेलिभिजनबाट मिति २०७३।१२।२० मा बेलुका ७.०० बजेको प्राइम समाचारमा नापी कार्यालय, धनुषाका अमिन कृष्णप्रसाद जोशीले घुस लिएको सम्बन्धमा प्रसारित पूरा श्रव्यदृश्यको भि.सि.डी. र सो श्रव्यदृश्य कसले कुन समयमा तयार पारेको हो भन्‍ने सम्बन्धमा यकिन जवाफसमेत उक्त संस्थाबाट मगाई प्राप्त भएपछि पेस गर्नु भन्‍ने विशेष अदालतको मिति २०७४।११।११ को आदेशानुसाको जवाफ एवम् भि.सि.डी. मा समेत प्राप्त भर्इ मिसिल सामेल रहेको छ । 

प्रतिवादी कृष्णप्रसाद जोशीले आरोप-दाबीअनुरूप सेवाग्राहीसँग रिसवत / घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको ठोस र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको नदेखिँदा निज प्रतिवादीले आरोप-दाबीबाट सफाइ पाउने गरी विशेष अदालत काठमाडौंबाट मिति २०७५।०३।०६ मा भएको फैसला ।

नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोली, धनुषामा कार्यरत राष्ट्रसेवक अमिन कृष्णप्रसाद जोशीले आफ्नो ओहोदाले जग्गा नापजाँच गर्नुपर्ने काम उजुरी निवेदनमा उल्लिखित उजुरीकर्ता सूर्यनारायण यादवले भोगचलन गर्दै आएको धनुषा जिल्ला, धनुषा नगरपालिका, वडा नं.५ स्थित गाउँब्लकको जग्गा सन्तोषी यादवको नाममा नापी गराएकोमा उक्त जग्गा अर्कै व्यक्तिको नाममा नापी भएपनि सो जग्गा तपाइँको नाममा मिलाइदिन्छु भनी प्रतिवादीले निवेदक सूर्यनारायण यादवसँग पटकपटक फोन सम्पर्क गरी उक्त काम गरिदिन निवेदक उजुरीकर्तासँग रू.३०,०००।– घुस / रिसवत माग गरेकोले निवेदकले घुसबापतको रकम अख्तियारबाट नगदै बुझी लिर्इ प्रतिवादी कार्यरत रहेको कार्यालयमा निजकै कार्यकक्षमा गर्इ प्रतिवादीलार्इ दिएपछि सो रकम लिर्इ निजले लगाइराखेको सर्ट र पाइन्टको अगाडिको बायाँतर्फको गोजीबाट रू.३०,०००।- बरामद भर्इ सो रकमसहित निज प्रतिवादी पक्राउ परेको भन्‍ने तथ्य मिसिल संलग्न उजुरी निवेदन, खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवेदन, सि.डि. तथा अडियो रेकर्ड, अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज, पोलीग्राफ परीक्षण प्रतिवेदन, प्रतिवादीले मौकामा गरेको बयान र वादी पक्षका साक्षीहरूको अदालतमा भएको बकपत्रसमेतका प्रमाणहरूबाट पुष्टि हुन आई निज प्रतिवादी कृष्णप्रसाद जोशीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको देखिँदादेखिँदै पनि निज प्रतिवादी कृष्णप्रसाद जोशीलाई सजाय नगरी सफाइ दिने गरी विशेष अदालत काठमाडौंबाट मिति २०७५।३।६ मा भएको फैसला भ्रष्टाचार निवारण ऐन, २०५९ को मर्मविपरीत भर्इ त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी आरोप दाबीबमोजिम प्रत्यर्थी / प्रतिवादीलाई कसुर ठहर गरी सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

नियमानुसार पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासनीले प्रतिवादी कृष्णप्रसाद जोशी नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोलीमा अमिन पदमा कार्यरत रहेको देखिन्छ । धनुषा जिल्ला, धनुषा नगरपालिका वडा नं. ५ स्थित गाउँब्लकको जग्गामध्ये उजुरीकर्ता सूर्यनारायण यादवको भोगचलन रहेको जग्गा अर्कै व्यक्तिको नाममा नापी भएपनि सो जग्गा तपाइँको नाममा मिलाइदिन्छु भनी प्रतिवादीले निवेदक सूर्यनारायण यादवसँग पटकपटक फोन सम्पर्क गरी उक्त काम गरिदिन निवेदकसँग रू.३०,०००।– घुस रिसवत माग गरी निवेदकबाट प्रतिवादीले घुसबापतको रकम लिर्इ राखेको अवस्थामा सो रकमसहित पक्राउ परेको भन्‍ने देखिएको छ । निज प्रतिवादीले निवेदकको काम गरिदिनको लागि घुस रकम माग गरी लिएको हुँदा निजलाई जबरजस्ती रूपमा घुसबापतको रकम दिई फसाएको होइन । प्रतिवादीको मौकाको बयान, बरामदी मुचुल्का, श्रव्यदृश्ययुक्त सि.डी., उजुरकर्ताको बकपत्रसमेतका प्रमाणबाट निज प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि भएको देखिँदादेखिँदै पनि प्रतिवादीलार्इ आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी निज प्रतिवादीलार्इ आरोप दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी कृष्णप्रसाद जोशीले उजुरीकर्ता सूर्यनारायण यादवको भोग चलनमा रहेको जग्गा अर्कै व्यक्तिका नाममा नापी भए तापनि पटकपटक फोन सम्पर्क गरी मलाई रू.३०,०००।– दिनुहोस्, म काम मिलाइदिन्छु भनी सेवाग्राहीसँग रू.३०,०००।– घुस / रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजमको कसुर गरेको पुष्टि हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ३(१) र ३(१) को देहाय (ख) बमोजिम कैद र जरिवानासमेत गरिपाउँ भन्‍ने आरोप-दाबी रहेको देखिन्छ । निज प्रतिवादी कृष्‍णप्रसाद जोशीले आरोपित कसुरबाट सफाइ पाउने गरी मिति २०७५।३।६ मा विशेष अदालत काठमाडौंबाट फैसला भएको देखियो । सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको पाइयो ।

उपर्युक्त तथ्य र बहस जिकिर एवम् मिसिल संलग्न अन्य कागजातहरू अध्ययन गरी हेर्दा विशेष अदालतबाट भएको उक्त फैसला मिलेको छ छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हुने हो, होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, नापी कार्यालय, धनुषाअन्तर्गत २ नं. नापी टोली, धनुषामा कार्यरत राष्ट्रसेवक अमिन कृष्णप्रसाद जोशीले उजुरीकर्ता सूर्यनारायण यादवले भोगचलन गर्दै आएको धनुषा जिल्ला, धनुषा नगरपालिका, वडा नं.५ स्थित गाउँब्लकको जग्गा सन्तोषी यादवको नाममा नापी गराएकोमा उक्त जग्गा तपाइँको नाममा मिलाइदिन्छु भनी निज प्रतिवादीले निवेदकसँग पटकपटक फोन सम्पर्क गरी रू.३०,०००।– घुस / रिसवत माग गरी निवेदकबाट सो घुसबापतको रकम लिएको भन्‍ने मिसिल संलग्न उजुरी निवेदन, खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवेदन, सि.डि. तथा अडियो रेकर्ड, अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज, पोलिग्राफ परीक्षण प्रतिवेदन, प्रतिवादीले मौकामा गरेको बयान एवम् वादी पक्षका साक्षीहरूको अदालतमा भएको बकपत्रसमेतका प्रमाणहरूबाट पुष्टि भइरहेको देखिँदादेखिँदै पनि निज प्रतिवादी कृष्णप्रसाद जोशीलाई सजाय नगरी सफाइ दिने गरी विशेष अदालत काठमाडौंबाट मिति २०७५।३।६ मा भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी आरोप दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्‍ने पुनरावेदन जिकिर लिएको देखियो ।

३. धनुषा जिल्ला, धनुषा नगरपालिका, वडा नं. ५ स्थित मेरो गाउँब्लकको जग्गा नापी गर्दा मेरो भोगचलनमा रहेको जग्गा मलाई जानकारी नगराई सन्तोषी यादवको नाममा नापी गराएकोमा उक्त जग्गा मेरो नाममा मिलाइदिन्छु भनी म निवेदकसँग प्रतिवादीले रू.३०,०००।– घुस रकम माग गरेकोले निजलाई दिनका लागि सो रकम नगद उपलब्ध गरार्इ पाउँ र मबाट निजले घुसबापतको रकम लिएको अवस्थामा फेला परेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी कारबाही गरिपाउँ भन्‍ने उजुरीकर्ता सूर्यनारायण यादवले दिएको उजुरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ । 

४. मिति २०७३।१२।२० गते १३:३० बजेको समयमा अमिन कृष्णप्रसाद जोशीको खानतलासी गर्दा निजले लगाएको खैरोसर्टको अगाडिको बायाँपट्टिको गोजीबाट रू.१,०००।– दरका नेपाली नोटहरू थान-२० र कालो सेतो मिसिएको छिर्के पाइन्टको अगाडिको बायाँतर्फको गोजीबाट रू.१०००।– दरका नेपाली नोटहरू १० थानसमेतको हुने रू.३०,०००।– बरामद गरिएको भन्‍ने खानतलासी तथा बरामदी मुचुल्का र प्रतिवेदनबाट देखिन्छ ।

५. प्रतिवादी कृष्णप्रसाद जोशीले अनुसन्धानको क्रममा बयान गर्दा म नेपाल सरकारको अमिन पदमा करार सेवामा २०७१ सालदेखि कार्यरत छु । धनुषा जिल्लामा गाउँब्लकको जग्गा नापजाँचको क्रममा उजुरवालाको जग्गा अर्को व्यक्तिले नापनक्सा गराएकोले त्यसमा सेवाग्राही निवेदक सूर्यनारायण यादवले उजुरी प्रक्रियाबारेमा जानकारी लिन फोन सम्पर्क गरेको थिए । निजलार्इ मिति २०७३।१२।२० मा नापी टोली धनुषाको कार्यालयमा भेट्न बोलाएको अवस्थामा मलाई जबरजस्ती गरी २ जनाले हात समातेर खल्तीमा पैसा हाल्न खोज्दा इन्कार गरेको 

छु । सूर्यनारायण यादवले मलाई पैसा दिन खोज्दा लिन्‍न भनेको छु । मलार्इ जबरजस्ती २ जनाले हात समातेर मेरो खल्तीमा पैसा हाल्दा फालेको हुँ । फाल्दाफाल्दै पुनः जबरजस्ती मेरो खल्तीमा रकम हाल्दा उक्त रकम बरामद भएको हो । ममाथि जबरजस्ती भई अन्याय गरेकोले मैले मुचुल्कासमेतमा सहीछाप नगरेको हो । घुस लिन मन्जुर थिएन, मैले फोन गरी उजुरीकर्तालाई बोलाएको पनि होइन । भिडियो हेर्दा मैले बोलेको र भनेको कुरा इडिटिङ गरेको छ । जबरजस्ती खल्तीमा पैसा हाल्न खोज्दा मेरो पेन भाँचिएको छ, सर्टको बटन निस्केको छ । सूर्यनारायण यादवबाट मैले रकम लिएको छैन । निवेदकले ममाथि लगाएको आरोप झुठ्ठा हो भन्‍ने लेखाएको देखिन्छ । निज प्रतिवादीले अदालतसमक्ष पनि तदनुरूप नै बयान गरेको पाइन्छ । यसरी निज प्रतिवादीले मौकामा र अदालतमा आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । 

६. उजुरकर्ता सूर्यनारायण यादवले गाउँब्लकको जग्गा नापी गर्दा मेरो भोगचलनमा रहेको जग्गा मलाई जानकारी नगराई सन्तोषी यादवको नाममा नापी गराएकोले म नापी कार्यालयमा गई प्रमुखसँग यस विषयमा कुराकानी गर्दा अमिन कृष्णप्रसाद जोशीलाई भेट्नु भनेकोमा निजलाई भेटी कुराकानी गर्दा निजले मसँग रू.३०,०००।– दिनुहोस् , म तपाइँको काम गरिदिन्छु भनी घुस रकम माग गरेकोले निजलाई घुसबापतको रकम दिनको लागि अख्तियारसमक्ष निवेदन दिर्इ रकम बुझी लिई उक्त घुसबापतको रकम प्रतिवादी कृष्णप्रसाद जोशीलार्इ निजको आफ्नै अफिस कोठामा दिएको हो भनी निवेदकले मौकामा कागज गरेको देखिन्छ । उजुरकर्ता निवेदकले अदालतसमक्ष उपस्थित भर्इ बकपत्र गर्दा उहाँलाई उक्त घुसबापतको रकम अफिसमै दिएको 

हुँ । पहिला मौखिक रूपमा पैसा माग गर्नुभएको थियो । Audio मा पैसाको कुरा गर्दा अफिसमै आएर भेटनुस्, तपाइँको काम भइहाल्छ भन्‍नुभएको थियो । Audio record गर्दा उहाँले रकम खुलाउनुभएको थिएन । मैले रकम दिएर बाहिर निस्किएपछि अख्तियारको टोलीले उहाँलाई पक्राउ गरी रकम बरामद गरेको थियो । मैले सगोलको जग्गाको अगाडि मुखको जग्गा काकाले आफ्ना नाममा नापी गराएकोले प्रतिवादीउपर उजुर गर्नुपरेको हो भन्‍ने लेखाएको पाइन्छ ।  

७. बरामदी मुचुल्काको बेहोरा ठिक साँचो छ । सहीछाप आफ्नै हो भनी वादी पक्षका साक्षीहरू राजकुमार लम्साल, दिलिपकुमार साह, सुनिलकुमार झा, प्रकाश थापा, शिवकृष्ण काफ्ले, बुद्धबहादुर मोक्तान, अम्बिकाप्रसाद पहाडी, साजन लामा, रविन्द्र खनाल, तोरणबहादुर कार्की  र प्रविण न्यौपानेसमेतले बकपत्र गरेको देखिएपनि वादी पक्षकै साक्षी रामकिशोर साहले खल्तीबाट बरामद भएका नोटहरू हल्का कच्याक-कुच्चुक परेको भनी र सुरेश जोशीले बरामद भएका नोटहरू फ्रेस थिएनन्, कच्चाक कुच्चुक परेका नोटहरू प्रतिवादीको खल्तीबाट निकालेको हो । निज प्रतिवादीको विरूद्धमा कुनै लिखित उजुर आएको थिएन भनी बकपत्र गरेको पाइन्छ । प्रतिवादीका साक्षी रविराज जोशीले प्रतिवादीलाई निवेदकसमेतले जबरजस्ती गरी खल्तीमा रकम राखी दिएका हुन् । उहाँ निर्दोष हुनुहुन्छ भनी बकपत्र गरेको  देखिन्छ । 

८. भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा बरामदी मुचुल्काको महत्त्वपूर्ण स्थान रहेको हुन्छ । बरामदी मुचुल्का भनेको कसुरसँग सम्बद्ध दशीको सामान कहाँ, कसबाट के कति फेला परेको हो भनी दुरूस्त रूपमा देखाउने एउटा तस्वीर हो । यस मुद्दाको बरामदी मुचुल्का हेर्दा, प्रतिवादी कृष्णप्रसाद जोशीको सर्टको गोजीबाट रू.२०,०००।- र पाइन्टको गोजीबाट रू.१०,०००।- बरामद भएको भन्‍ने देखिएको छ । तर सो बरामदी मुचुल्कामा निज प्रतिवादीले सहीछाप गरेको 

देखिँदैन । निजले उक्त बरामदी मुचुल्कामा सहीछाप गर्न इन्कार गरेको बेहोरासहितको मुचुल्कासमेत मिसिल संलग्न रहेको देखिन्छ । सिद्धान्ततः प्रतिवादीबाट रकम बरामद भएकै कारणबाट मात्र आरोपित कसुर स्थापित गर्न पूर्ण र पर्याप्त आधार हुन सक्दैन । रकम बरामद भएको अवस्था र परिस्थितिसमेत विचारणीय हुने देखिन्छ ।  

९. वादी पक्षले पेस गरेको सि.डी. र त्यसको लिपिबद्ध उतारसमेत हेर्दा प्रतिवादीबाट रकम बरामद भएको र प्रतिवादीको कमिजको गोजीमा कालो मसीको दाग रहेको एवम् कमिजको एउटा टाँक खुलेको भन्‍ने देखिन्छ । तर प्रतिवादीले मौकामा बयान गर्दासमेत सो भिडियो इडिटिङ गरी पेस गरेको भनी जिकिर लिएको देखिन्छ । वादी पक्षका साक्षी राजकिशोर साह र सुरेश जोशीले बरामद भएका नोटहरू कच्चाक कुच्चुक परेको भनी अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादीको बयानअनुसार निजको कमिजको गोजीमा कालो मसीको दाग लागेको र कमिजको टाँक एउटा खुलेको दृश्य सि.डी.समेतबाट देखिएको छ । यस स्थितिमा प्रतिवादीउपर जबरजस्तीपनाको व्यवहार नभएको नगरेको भन्‍न सकिने अवस्था देखिएन ।

१०. भ्रष्टाचार जस्तो गम्भीर कसुर स्थापित हुनको लागि प्रतिवादीबाट रकम बरामद हुनु नै पूर्ण एवम् पर्याप्त प्रमाण हुन सक्दैन । प्रतिवादीले सो रकम स्वेच्छाले माग गरेको र स्वेच्छाले घुसबापतको रकम लिएको तथ्य वस्तुनिष्ठ, विश्वसनीय, प्रचुर एवम् पर्याप्त प्रमाणद्वारा परिपुष्टि हुनुपर्दछ । अभियोजन पक्षले पेस गरेको टेलिफोन वार्ताको सि.डी. र त्यसको लिपिबद्ध उतारसमेत अवलोकन गर्दा, यी प्रतिवादीले सेवाग्राहीसँग यति रकम चाहियो भनी घुसबापतको रकम माग गरेको भन्‍ने देखिँदैन । त्यस्तै उजुरकर्ताले अदालतमा बकपत्र गर्दा पनि Audio record मा उहाँले रकम खुलाउनुभएको थिएन भन्‍ने उल्लेख गरेको पाइन्छ । यसरी उजुरकर्ताले आफ्नो भोगको जग्गा अर्काको नाममा नापी भएको कारणबाट दिएको उजुरी, प्रतिवादीले मौकामा र अदालतमा गरेको  इन्कारी बयान, वादीका साक्षी राजकिशोर साह र सुरेश जोशीले गरेको बकपत्र र सि.डी. समेतका प्रमाणबाट प्रतिवादीले आरोपित कसुर गरेको देखिन आएन । 

११. यसै सन्दर्भमा ने.का.प.२०२१ अंक २ नि.नं.२२९ पृ.३१ मा सर्वोच्च अदालतबाट “घुस खाई भ्रष्टाचार गरेको साबित गर्ने बुँदा प्रमाणहरू शंकारहित हुनुपर्ने विशेष प्रहरी विभागले घुस खार्इ भ्रष्‍टाचार गर्‍यो भन्‍ने आरोप कुनै कर्मचारीउपर लगाई निजलाई दोषी बनाउँदा उक्त कर्मचारीले स्वतः घुस मागी लिएको हो र घुस लिने मनसाय थियो भन्‍ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । कारबाहीमा जबरजस्तीपनाको आभाषसम्म पनि हुनु हुन्‍न । भ्रष्‍टाचार गरेको हो भनी साबित गर्ने बुँदा प्रमाणहरू बिलकुल शंकारहित हुनुपर्छ तब मात्र दोषी साबित गर्न मिल्छ । प्रस्तुत मुद्दामा डि.एफ.ओ.लार्इ दोषी बनाउन...चामल घुस खाएको ठहर्दैन” भन्‍ने सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । सोअनुसार प्रतिवादीले घुसबापतको रकम माग नगरी जबरजस्ती खल्तीमा राखिदिएको भनी आफ्नो बयानमा उल्लेख गरेको, वादी पक्षका साक्षी राजकिशोर साह र सुरेश जोशीले बरामद भएका नोटहरू कच्चाक कुच्चुक परेको भनी अदालतमा बकपत्र गरेको 

देखिन्छ । प्रतिवादीको बयानअनुसार निजको कमिजको गोजीमा कालो मसीको दाग लागेको र कमिजको टाँक एउटा खुलेको भन्‍ने सि.डी.समेतबाट देखिन्छ । यस स्थितिमा निवेदकबाट प्रतिवादीले घुस / रिसवत स्वेच्छाले लिएको नदेखिँदा निज प्रतिवादीलार्इ आरोपित कसुर गरेको ठहर गर्न मिल्ने देखिएन । 

१२. यसप्रकार प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार अभियोजन पक्षमा हुने कानूनी व्यवस्था रहेको पाइन्छ । सोअनुसार यी प्रतिवादीले सेवाग्राही निवेदकसँग आफ्नो स्वेच्छाले घुसबापतको रकम माग गरेको र स्वेच्छाले नै घुसको रकम लिई आरोपित कसुर गरेको हो भनी शंकारहित तवरबाट वस्तुनिष्ठ एवम् विश्वसनीय प्रमाण वादी पक्षबाट प्रस्तुत गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा अन्दाज, आंशका र अनुमानको आधारमा निज प्रतिवादी कृष्णप्रसाद जोशीले आरोपित कसुर गरेको ठहर गर्न मिल्दैन । फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार शंकाको सुविधा अभियुक्तले पाउने हुँदा निज प्रतिवादीले आरोप-दाबीबाट सफाइ पाउने गरी विशेष अदालत काठमाडौंबाट मिति २०७५।३।६ मा भएको फैसला मनासिब देखिँदा प्रतिवादीलार्इ आरोप दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

१३. अत: माथि विवेचित आधार र प्रमाणबाट प्रतिवादी कृष्णप्रसाद जोशीले आरोप-दाबीअनुरूप सेवाग्राही निवेदकसँग घुस / रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको ठोस र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा निज प्रतिवादी कृष्‍णप्रसाद जोशीले आरोप-दाबीबाट सफाइ पाउने गरी विशेष अदालत काठमाडौंबाट मिति २०७५।३।६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलार्इ दिर्इ प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझार्इ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : रामचन्द्र खड्का

इति संवत् २०७६ साल पुस १५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु