निर्णय नं. १०४३१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
स.का.मु. प्रधानन्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७६।२।१
०७४-CR-१६५८
मुद्दा: जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम “ट” को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : झापा जिल्ला शरणामति गा.वि.स. वडा नं. ८ बस्ने परिवर्तित नाम “ई”
भौतिक सबुद प्रमाणसँग कुनै छेडछाड (Tamper) गरिएको छैन भने यसले कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न विश्वसनीय आधार दिन्छ । जुन मानव साक्षीको भन्दा बढी भरपर्दो
हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा सङ्कलन भएको भौतिक सबुद प्रमाणसँग कुनै किसिमको छेडछाड भएको मिसिल संलग्न कुनै कागज प्रमाणबाट नदेखिएको अवस्थामा त्यस्ता प्रमाणलाई नजरअन्दाज गर्न नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री मनोज के.सी.
झापा जिल्ला अदालत
उच्च अदालतमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रमेश पोखरेल
माननीय न्यायाधीश श्री रमेशबहादुर थापा
उच्च अदालत, विराटनगर इलाम इजलास
फैसला
का.मु.प्र.न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-
पीडित “ट–१” उपनाम गरेकी बालिका मेरो भान्जी नाताकी हुन् । मेरो दिदी “ट–२” उपनाम र भान्जाहरू वैदेशिक रोजगारको लागि विदेशमा छन् । घरमा पीडित भान्जी र प्रतिवादी भिनाजु मात्रै बस्ने गर्दथे । मिति २०७२।०१।०२ को दिन अं. ११:०० बजेको समयमा म आफ्नै घरमा भएको अवस्थामा मेरो दिदी “ट–२” उपनामले मलाई फोन गरी तेरो भिनाजुले भान्जीलाई आफ्नै घरमा बलात्कार गरे अरे, मलाई गाउँबाट फोन आएको थियो । के भएको हो तुरून्त घरमा गएर बुझ भनेकी हुँदा म तत्कालै निज दिदीको घर जाँदा भिनाजु घरमा थिएनन् । पीडित भान्जीलाई रोइरहेको अवस्थामा देखी के भएको हो भनी सोधपुछ गर्दा निज भान्जीले मलाई बुबाले राति सँगै सुतेको अवस्थामा मेरो शरीरको माथिल्लो भागको कपडाहरू खोली दिई मेरो स्तन समाती मुसार्ने, मलाई छाडिदिनु भन्दा केही हुँदैन भनी रोई कराई भन्दासमेत टि.भी. को आवाज ठुलो बनाई मलाई विभिन्न डरत्रास देखाई मेरो मुख थुनी दिई शरीरको विभिन्न भागमा टोकी मलाई जबरजस्ती करणी गर्दै आउनु भएको र मिति २०७२।१।१ को रातिसमेत बुबाले मलाई २/३ पटक करणी गरेको हुँदा सहन नसकी भाउजूलाई सुनाएपश्चात् भाउजूले विदेशमा रहनु भएको आमालाई फोन सम्पर्क गरी सुनाई दिनुभएको भनी बताएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
जिल्ला झापा शरणामती गा.वि.स. वडा नं. ८ मा रहेको प्रतिवादी तथा पीडितको ३ कोठे घरको पूर्वबाट दोस्रो कोठाको खाटमा प्रतिवादी “ई” उपनामले आफ्नै छोरी “ट–१” उपनामलाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
प्रतिवादी “ई” उपनाम गरेको मानिस मेरो बुबा हुन् । विगत केही महिनादेखि घरमा म र बुबा मात्रै बस्दै आएका थियौं । मेरो आमा, जेठो दाजु र कान्छो दाजु रोजगारको लागि विदेशमा हुनुहुन्छ । मेरो भाउजूलाई घरमा रहँदा बस्दा बुबाले गालीगलौज गर्ने, हातपातसमेत गर्ने गरेको कारण आजभन्दा एक वर्ष पहिला उहाँ आफ्नै माइती घरमा बस्ने गर्नुहुन्छ । निज बुबा र म एउटै खाटमा सुत्ने गरेकोमा २०७१ सालको जेष्ठ महिनाको अन्तिमतिर एकदिन सुतेको अवस्थामा मेरो शरीरको माथिल्लो भागको कपडा खोली मेरो स्तन मुसार्न थाल्नु भएकोले मैले यस्तो नगर्नु भन्दा केही हुँदैन भन्दै जबरजस्ती गर्न खोज्नु भएकोले मैले रोई कराई गर्दा तेरो आमा, दाजुहरू कोही छैनन् भनी विभिन्न डर त्रास देखाई ममाथि चढी शरीरको विभिन्न भागमा टोकी दिई जबरजस्ती करणीसमेत गर्नुभएको, मलाई बुबाले मारिदिने पो हो कि भनी यो कुरा कसैलाई भनिनँ । यस्तैमा मिति २०७२।१।१ को रातिसमेत बुबाले मलाई २/३ पटक करणी गरेको हुँदा सहन नसकी भाउजूलाई सुनाएपश्चात् भाउजूले विदेशमा रहनु भएको आमालाई फोन सम्पर्क गरी सुनाई दिनुभएको थियो । आमाले मामालाई फोन गरी बताएपश्चात् मामा हाम्रो घरमा आई मलाईसमेत साथमा लिई प्रहरीकोमा गई उजुर गर्नुभएको हो भन्नेसमेत बेहोराको पीडित “ट–१” उपनामकी बालिकाले अनुसन्धानको क्रममा गरेको कागज ।
जाहेरवालाको दिदी “ट–२” उपनाम गरेकी महिलासँग मेरो २०४४ सालमा विवाह भई हाम्रो सम्बन्धबाट २ छोराहरू र १ छोरीको जायजन्म भएको छ । पीडित “ट–१” उपनाम मेरो एकलौटी छोरी
हुन् । म विगतमा ७ वर्षसम्म वैदेशिक रोजगारको लागि कतारमा बस्दा श्रीमतीसँग सम्बन्ध बिग्रियो र घरमा आएपश्चात् हामी श्रीमान् श्रीमती छुट्टाछुट्टै बस्न
थाल्यौं । निज श्रीमतीले कान्छो छोरा र पीडितलाई साथमा लिई काठमाडौंतर्फ बस्ने गरेकोमा आजभन्दा दुई वर्ष पहिला निज श्रीमती वैदेशिक रोजगारको लागि साउदी अरब गइन् । सोपश्चात् कान्छो छोरा र पीडित छोरी मसँगै बस्दै आएकोमा आजभन्दा तीन महिना पहिला कान्छो छोरासमेत विदेश गयो । घरमा म र छोरी बस्दै आएका थियौं । निज छोरी घरको बिच कोठामा सुत्ने गर्दथिन् । छोरी सुत्ने कोठामा मेरो कोठाबाट जानुपर्छ, छोरी सुत्ने कोठामा ढोकासमेत छैन । मिति २०७२।१।१ को बेलुकी म र पीडित छोरी आफ्नै घरमा थियौं । हामीले सँगै खाना खाई टि.भी. समेत हेरी निज छोरी आफू सुत्ने कोठामा गई सुतिन्, म आफ्नै कोठामा सुतेँ । भोलिपल्ट बिहान म चिया खाई गाउँतिर गएको अवस्थामा अं. १३:०० बजे म घरमा आउँदा छोरी थिइनँ । बुझ्दा जाहेरवाला सालो भाइ आएर लिएर गएको भन्ने थाहा पाएको र बेलुकी १९:०० बजे म घरमा नै भएको अवस्थामा प्रहरी आई मलाई पक्राउ गरी ल्याएको हो, मैले आफ्नै छोरीलाई करणी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी “ई” उपनामले अनुसन्धानको क्रममा गरेको बयान ।
जाहेरवाला मेरो मामा ससुरा, प्रतिवादी “ई” उपनाम मेरो ससुरा र पीडित “ट–१” उपनाम गरेकी बालिका मेरो नन्द नाताकी मानिस हुन् । मेरो श्रीमान्, सासू आमा र देवर वैदेशिक रोजगारको लागि विदेश जानु भएको छ । मलाईसमेत प्रतिवादी ससुराले गालीगलौज गर्ने, हातपातसमेत गर्ने कारण मसमेत घर छाडी माइती घरमा बस्दै आएको छु । मेरो सासू आमाले कहिलेकाहीँ मलाई फोन गरी नन्दको ख्याल गर्नु भन्नु भएकोले म कहिलेकाहीँ घरमा जाँदा ससुरा बुबाले तँ यहाँ नआइज भन्ने गरेको कारण म घरमा जाँदिनथेँ । नन्दलाई घरबाहिरै भेटी हालचाल बुझ्ने गर्दथेँ । वारदात मिति समयमा म आफ्नै माइती घरमा थिएँ । घटनाको बारेमा मलाई कुनै जानकारी थिएन । भोलिपल्ट बिहानै म नन्दलाई भेट्न भनी घर नजिकै गई निजलाई बोलाई के छ हालखबर भनी सोधपुछ गर्दा एक्कासी भक्कानिएर रोएकीले के भयो भनी सोधपुछ गर्दा निज नन्दले मलाई बुबाले राति सँगै सुतेको अवस्थामा मेरो शरीरको माथिल्लो भागको कपडाहरू खोली दिई मेरो स्तन समाती मुसार्ने, मलाई छाडिदिनुभन्दा केही हुँदैन भनी रोइकराई भन्दासमेत टि.भी. को आवाज ठुलो बनाई मलाई विभिन्न डर त्रास देखाई मेरो मुख थुनी दिई शरीरको विभिन्न भागमा टोकी मलाई जबरजस्ती करणी गर्दै आउनु भएको र मिति २०७२।०१।०१ को रातिसमेत बुबाले मलाई २/३ पटक करणी गरेको भनी बताएपश्चात् मैले तत्कालै फोन गरी सासू आमालाई जानकारी गराएको थिएँ । सासू आमाले जाहेरवालालाई फोन गरी जानकारी गराउनु भएको हो । निज नन्दले मलाई बुबाले टोक्नु भएको भनी देखाउँदा निजको तिघ्रा र ढाडमा समेत टोकेको डाम थियो भन्नेसमेत बेहोराको “ट–५” उपनामकी महिलाले अनुसन्धानको क्रममा गरेको कागज ।
प्रतिवादी “ई” उपनाम र पीडित “ट–१” उपनाम मेरो गाउँ छिमेकी नै भएकोले निजहरूको परिवारलाई म राम्रोसँग चिन्दछु । पीडितको आमा, दुवै दाजुहरू वैदेशिक रोजगारको लागि विदेशमा भएको, भाउजू आफ्नै माइती घरमा बस्ने र प्रतिवादी र पीडित बाबु छोरी मात्रै घरमा बस्दै आएका थिए । वारदात मिति २०७२।०१।०१ को राति अं. २१:४५ बजेको समयमा म आफ्नै घरमा थिएँ । घटना घटेको कुरा तत्काल थाहा पाइनँ । भोलिपल्ट दिउँसो अं. १५:०० बजेतिर निज प्रतिवादीलाई प्रहरीले पक्राउ गरी लगेपछि किन पक्राउ गरेछन् भनी बुझ्दा निज प्रतिवादीले आफ्नै छोरी पीडित “ट–१” उपनामलाई घरमा नै सुतेको अवस्थामा जबरजस्ती करणी गरेकोले पक्राउ गरेको भन्ने सुनी थाहा पाएको हो । आफ्नै छोरीलाई करणी गर्ने निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको विष्णुप्रसाद सिटौला, शुशिला तामाङ, सखिचन्द्र ठाकुर, नरेन्द्र सेढाई र इन्द्रप्रसाद कडरियाले प्रायः एकै मिलान हुने गरी अनुसन्धानको क्रममा गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी परिवर्तित नाम “ई” ले आफ्नै वर्ष १६ की छोरी परिवर्तित नाम “ट–१” लाई पटकपटक जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र २ नं. तथा हाडनाता करणी गर्नेको महलको १ नं. को कसुर अपराध गरेकोले निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. अनुसार सजाय गरी हाडनातामा करणी गर्नेको महलको १ नं. बमोजिम जबरजस्ती करणीको महलको २ नं. अनुसार थप सजाय गरी प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत वादी नेपाल सरकारको झापा जिल्ला अदालतमा दायर भएको अभियोगपत्र ।
मैले पीडित मेरी छोरीलाई जबरजस्ती करणी गरेको होइन । म र मेरो श्रीमतीका बिच मनमुटाव भएको कारण निज मसँग नबसेको ९ वर्ष भयो । हाल श्रीमती विदेशबाट आएकी हुँदा निजले मलाई फसाउन मउपर झुट्ठा मुद्दा दायर गरेको हो । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी परिवर्तित नाम "ई" उपनामले झापा जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्रमाणको रोहमा प्रतिवादी परिवर्तित नाम "ई" कसुरदार होइनन् भनी हालै भन्न नसकिने अवस्था भएकाले मुलुकी ऐन अ.बं. ११८ नं. को देहाय (२) नं. बमोजिम पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निज प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत बेहोराको झापा जिल्ला अदालतबाट भएको आदेश ।
मिति ०७२।१।२ को मैले गरेको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । बेहोरा लेखाएबमोजिम ठीक छ । प्रतिवादी बुबाले मलाई जबरजस्ती करणी गर्नुभएको हो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम ट-१ ले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीको गाउँ समाजमा राम्रो चालचलन भएका सामाजिक मानिस हुन् । प्रतिवादी र निजकी श्रीमतीबिचको सम्बन्ध राम्रो छैन । प्रतिवादीले पीडितको करणी गरेको कुरा पछि मात्र थाहा पाएको
हुँ । घटना भए, नभएको यकिन भन्न सक्दिन भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी गोपाल आचार्यले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७२।१।२ का दिन मैले दिएको जाहेरी दरखास्तको बेहोरा पढी बाची सुनाउँदा सुनी
पाएँ । उक्त बेहोरा भान्जी पीडितले भनेबमोजिम लेखाएको ठीक छ । सोमा भएको सहीछाप मेरै हो, प्रतिवादीलाई कानूनबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम "ट" ले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्काको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । बेहोरा मेरो होइन । सहीछाप मेरो हो । प्रतिवादीले आफ्नै छोरी पीडितलाई जबरजस्ती करणी गरेको होइन । घरायसी द्वन्द्वको कारणले यस्तो उजुरी दिएको हो । घटना घटेकोमा विश्वास लाग्दैन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका विष्णुप्रसाद सिटौलाले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्काको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । बेहोरा मेरो होइन । सहीछाप मेरो हो । प्रतिवादीले आफ्नै छोरी पीडितलाई जबरजस्ती करणी गरेको होइन । निज निर्दोष हुँदा निजलाई अभियोग दाबीबमोजिमको सजाय हुने होइन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका शुशिला तामाङले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडितको भनाइअनुसार प्रतिवादी "ई" उपनामका पुरूषले ०७१ जेष्ठको अन्तिमतिरदेखि नै जबरजस्ती करणी गर्ने गरेको, करणी गर्दा शरीरका विभिन्न भागमा टोकी दिएको, रक्सी खाएर आई पीडितको सबै लुगा खोली दिई नाङ्गै बनाई जबरजस्ती २ पटक करणी गरेको भनी लेखाई दिएकी छन् । यी पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम उमेरकी देखिएको हुनाले मन्जुरी नै भएको अवस्थामा पनि जबरजस्ती करणीको परिभाषामा पर्ने, तर पीडितलाई डर त्रास, धाक देखाई करकापसँग जोरजुलुम गरी विभिन्न अवस्थामा प्रतिवादीले करणी गरेको पुष्टि भएकोले यी प्रतिवादी परिवर्तित नाम "ई" ले अभियोग दाबीबमोजिम कसुर अपराध गरेको देखिएको हुनाले निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(३) नं. बमोजिम ८ (आठ) वर्ष कैद र हाडनाता करणीको महलको १ नं. बमोजिम १० (दश) वर्ष थप कैदसमेत गरी जम्मा १८ (अठार वर्ष) कैद हुने ठहर्छ । क्षतिपूर्तिको हकमा प्रतिवादीको अंश हक लाग्ने सम्पत्तिबाट रू. एक लाख पीडितले क्षतिपूर्ति पाउने ठहर्छ भन्नेसमेत बेहोराको झापा जिल्ला अदालतबाट भएको फैसला ।
म पुनरावेदकले जबरजस्ती करणी गरेको होइन । पीडितको कागजलाई अन्य सङ्कलित भएका प्रमाणहरूले पुष्टि भएको छैन । फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहेको हुन्छ । म प्रतिवादीले आरोपित कसुर गरेकै हो भन्ने शंकारहित प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा शंका र अनुमानको भरमा मात्र मलाई सजाय गर्नु प्रचलित फौजदारी न्यायको सिद्धान्तको समेत विपरीत हुन्छ । जाहेरी दरखास्त र ट १ को कागजलाई अन्य प्रमाणले समर्थन नगरेसम्म त्यस्तो जाहेरी दरखास्त र सो कागज आफैँमा स्वतन्त्र प्रमाण हुन सक्दैन । अनुमानको भरमा फैसला गर्नुभन्दा पनि वस्तुनिष्ठ आधार प्रमाण रहनुपर्छ । वादी पक्षका साक्षीले समेत जबरजस्ती गरेको होइन भनी अदालतमा आई बकपत्र गरेको अवस्था छ । मौकामा कागज गर्नेहरूले बकपत्र गर्दा म प्रतिवादी निर्दोष रहेको कसुर गरेको होइन भनेको अवस्था छ । अन्य स्वतन्त्र भरपर्दो प्रमाणबाट म पुनरावेदक आरोपित कसुरमा दोषी नदेखिएको अवस्थामा केवल ट १ ले मलाई फसाउन आमा र मामाको बहकाउबाट गरेको कागजको आधारबाट मात्र मलाई सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने हुँदा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला उल्टी गरी म प्रतिवादीले सफाइ पाउनु पर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी “ई” उपनामको उच्च अदालत विराटनगर इलाम इजलासमा परेको पुनरावेदन पत्र ।
यसमा जाहेरी सुनेको भरमा परेको छ । जबरजस्ती करणी गरेकोमा प्रतिवादी अनुसन्धानमा तथा अदालतमा इन्कार छन् । पीडितको शारीरिक परीक्षणबाट करणीजन्य अपराध भएको भन्ने कुरा नदेखिएको अवस्थामा कसुर कायम गर्ने गरेको सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कन र विश्लेषणको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.वं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय इलामलाई पेसीको जानकारी दिई पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको आदेश ।
जाहेरी दरखास्त सुनेको आधारमा परेको पीडिताको आमा, बाबुको बिचमा मनमुटाव रही सम्बन्ध राम्रो नरहेको, पीडिताको शारीरिक परीक्षण गर्ने डा.सूर्यप्रसाद रिमालले पीडिताको जाँचमा कुनै चोटपटक, रगत बगेको, च्यातिएको, निलडाम नदेखिएको भनी करणी भएको भन्ने किटानी गर्न नसकी बकपत्र गरेका छन् । वस्तुस्थितिका मानिस सखिचन्द्र ठाकुर, शुसिला तामाङ, विष्णुप्रसाद सिटौला, एवम् घटनास्थल मुचुल्काका मानिस सरिता पाण्डे, लेखनाथ गौलीले प्रतिवादीले पीडितालाई करणी गरेको होइन भनी बकपत्र गरेको देखिन्छ । पीडिताको शारीरिक परीक्षणमा करणीजन्य कार्य भएको भन्ने नदेखिएको एवम् प्रतिवादी अनुसन्धान र अदालतमा इन्कार भई बयानसमेत गरेका अवस्थामा प्रतिवादीलाई सफाइ दिनु पर्नेमा प्रतिवादीलाई १८ वर्ष कैद हुने ठहर्याएको झापा जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी परिवर्तित “ई” उपनाम गरेको पुरूष व्यक्तिले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर, झापा इजलासबाट भएको फैसला ।
पीडितले मौकामा गरेको कागजलाई समर्थन गर्दै अदालतसमक्ष किटानी बकपत्र गरिदिएको अवस्था छ । प्रस्तुत वारदातको निज एक मात्र प्रत्यक्षदर्शी भएको निजले मौकामा भनेको कुरा र अदालतमा बकपत्र गर्दा लेखाएको कुरामा कुनै विरोधाभाष नभएकोले निजको भनाइलाई प्रमाणमा लिनु नपर्ने कुनै कारण छैन । पीडितको स्वास्थ्य परीक्षण गर्दा निजको योनिमा कुनै चोटपटक देखिएको छैन । निजले लगाएको कपडा परीक्षण गर्दा रगत तथा वीर्य देखिएको छैन भने पनि सबै कपडा खोलेर करणी गरेको र घटना पुरानो भएकोले चोटपटक नदेखिएको हो । प्रस्तुत मुद्दामा आफ्नो रेखदेख र नियन्त्रणमा रहेकी आफ्नै छोरीलाई प्रतिवादीले करणी गरेकोले यस्तो अवस्थामा पीडितले प्रतिरोध गर्न सक्ने अवस्था पनि हुँदैन । यसरी पीडित स्वयम्को भनाइबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि भएकोले निजलाई सफाइ दिने गरी उच्च अदालत विराटनगर इलाम इजलासबाट भएको फैसला उल्टी गरी निज प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले पीडित र प्रतिवादी बुबा छोरी नाता सम्बन्धका भई पीडितकी आमा विदेश रहेको बेला निज प्रतिवादीले पीडितलाई १ वर्षदेखि जबरजस्ती करणी गर्दै आएको कुरा पीडितले आफ्नो भाउजूलाई समेत बताएकी थिइन् । जाहेरवालाको जाहेरी बेहोरालाई समर्थन गर्दै पीडितसमेतले अदालतमा बकपत्र गरिदिएको अवस्था छ । पीडितलाई जबरजस्ती करणी गर्दा पूरै कपडा खोली गरेको हुनाले निजको कपडामा रगत तथा वीर्य फेला नपरेको अवस्थामा जबरजस्ती करणी भएकै होइन भनी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासबाट भएको फैसला मिलेको छ वा
छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी परिवर्तित नाम "ई" ले आफ्नो छोरी "ट-१" लाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ र ३(३) नं. बमोजिमको अपराधमा सोही ३(३) नं. बमोजिम सजाय गरी ऐजन हाडनाता करणीको महलको १ नं. बमोजिमको अपराधमा थप सजाय गरी पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत दिलाई पाउँ भनी अभियोग दाबी रहेको छ । प्रतिवादीले आरोपित कसुरमा इन्कार रही अदालतमा तथा अनुसन्धानको क्रममा बयान गरेका छन् । झापा जिल्ला अदालतबाट निज प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको ३(३) नं. बमोजिम ८ वर्ष कैद र हाडनाता करणीको महलको १ नं. बमोजिम १० वर्ष थप कैद सजाय गरी प्रतिवादीबाट पीडितलाई रू.१,००,०००।- क्षतिपूर्ति भराई दिने गरी फैसला भएको छ । सो फैसलाउपर निज प्रतिवादीको पुनरावेदन परेकोमा उच्च अदालत विराटनगर इलाम इजलासबाट निज प्रतिवादीले सफाइ पाउने ठहरी फैसला भएको छ । उक्त फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको छ ।
३. प्रतिवादी परिवर्तित नाम "ई" भिनाजु नाताको भई निजले पीडित भान्जी परिवर्तित नाम "ट-१" लाई मिति २०७२।१।१ मा र सोभन्दा अगाडिसमेत जबरजस्ती करणी गर्नुभएको भनी पीडितका मामाले जाहेरी दिएका छन् । परिवर्तित नाम "ट-१" ले जाहेरी बेहोरालाई समर्थन गर्दै अनुसन्धानको क्रममा कागज गर्नुका साथै अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । जाहेरवालाले जाहेरी बेहोरालाई समर्थन गर्दै अदालतमा उपस्थित भई बकपत्र गरेका छन् । प्रतिवादीले आरोपित कसुरमा इन्कार रही अनुसन्धानको क्रममा एवं अदालतमा बयान गरेका
छन् । वस्तुस्थिति मुचुल्काका मानिसहरू सुसिला तामाङ, विष्णुप्रसाद सिटौला तथा घटनास्थल मुचुल्काका मानिसहरू सरिता पाण्डे, लेखनाथ गौलीसमेतले अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन, प्रहरीले अनुसन्धानको क्रममा कागज लेखी पढ्नसमेत नदिई सहीछाप गराएको हो भनी लेखाई दिएका छन् ।
४. प्रतिवादीले परिवर्तित नाम "ट-१" लाई पछिल्लो समय २०७२।१।१ को राति जबरजस्ती करणी गरेको भनी जाहेरी बेहोरा एवं पीडितले अनुसन्धानको क्रममा गरेको कागज एवं अदालतमा गरेको बकपत्रबाट देखिन्छ । सोको भोलिपल्ट निजको शारीरिक परीक्षण हुँदा निजको शरीरमा तथा यौनाङ्गमा कुनै घाउ खत देखिएको छैन । कन्याजाली च्यातिएको छैन । पीडितले लगाएको कट्टुमा कुनै रगत वा वीर्य फेला परेको
छैन । पीडितको Vaginal Swab मा Sperm पाइएको छैन भनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको मिति २०७२।५।२४ को मिसिल संलग्न पत्रबाट देखिन्छ । जबरजस्ती करणीको वारदातमा जतिसक्दो चाँडो पीडितको स्वास्थ्य परीक्षण गर्दा भौतिक प्रमाण सङ्कलन गर्न सकिने सम्भावना बढी रहन्छ । प्रस्तुत वारदातमा घटना भएको भोलिपल्ट नै पीडितको स्वास्थ्य परीक्षण हुँदासमेत त्यस्तो कुनै प्रमाण फेला परेको छैन । त्यस्तै प्राय: पहिलो शारीरिक सम्पर्क (First Transection) मा नै च्यातिने कन्याजाली पीडितको भनाइ मान्ने हो भने १ वर्षदेखि पटकपटक जबरजस्ती करणी हुँदासमेत च्यातिएको छैन । भौतिक सबुद प्रमाणसँग कुनै छेडछाड (Tamper) गरिएको छैन भने यसले कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न विश्वसनीय आधार दिन्छ । जुन मानव साक्षीको भन्दा बढी भरपर्दो हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा सङ्कलन भएको भौतिक सबुद प्रमाणसँग कुनै किसिमको छेडछाड भएको मिसिल संलग्न कुनै कागज प्रमाणबाट नदेखिएको अवस्थामा त्यस्ता प्रमाणलाई नजरअन्दाज गर्न सकिँदैन ।
५. पीडितको शारीरिक परीक्षण गर्ने डाक्टरले अदालतमा उपस्थित भई बकपत्र गर्दासमेत आफ्नो परीक्षण प्रतिवेदनलाई समर्थन गर्दै पीडितसँग करणी भएको कुनै किटानी सबुद प्रमाण फेला नपरेको भनी लेखाई दिएका छन् । जाहेरवाला स्वयम् घटनाको प्रत्यक्षदर्शी नभई पीडितले भनेको आधारमा जाहेरी दिएको देखिन्छ । अनुसन्धानको क्रममा कागज गर्ने मानिसहरूले अदालतमा बकपत्र गर्दा प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भनी लेखाई दिएका र प्रतिवादीले आरोपित कसुरमा इन्कार रही गरेको बयान निजको साक्षीहरूको बकपत्रबाट समर्थित भएको छ । पीडित भनिएको परिवर्तित नाम "ट-१" को आमासँग निजका बाबु यी प्रतिवादीको सम्बन्ध राम्रो नरहेको कुरा प्रतिवादी र पीडित स्वयम्ले पनि स्वीकार गरेको परिप्रेक्ष्यमा प्रतिवादीले आरोपित कसुर गरेको प्रमाणित हुनसकेको नदेखिई निजउपर झुठो आरोप लगाएको देखिएकोले निज प्रतिवादीलाई सफाइ दिने गरी उच्च अदालत विराटनगर इलाम इजलासबाट भएको फैसलालाई अन्यथा मान्न मिल्दैन । प्रतिवादीलाई आरोपित कसुरमा अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवं विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।
६. तसर्थ, माथि विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादी परिवर्तित नाम "ई" उपनाम गरेको पुरूष व्यक्तिले आरोपित कसुर नगरेकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ८ वर्ष कैद र हाडनाता करणीको महलको १ नं. बमोजिम १० वर्ष थप कैद गरी जम्मा १८ वर्ष कैद सजाय गरी प्रतिवादीको अंश हक लाग्ने सम्पत्तिबाट रू. एक लाख पीडितले क्षतिपूर्ति पाउने गरी झापा जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी गरी प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७३।९।२५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृतः रामु शर्मा
इति संवत् २०७६ साल जेठ १ गते रोज ४ शुभम् ।