शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४४५ - कर्तव्य ज्यान

भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७६।७।५

 

मुद्दाः कर्तव्य ज्यान

 

०७४-CR-०६७४

पुनरावेदक / प्रतिवादी : स्याङ्जा जिल्ला केवरे भन्ज्याङ गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय स्याङ्जामा थुनामा रहेकी कल्पना वि.क.

विरूद्ध

प्रत्यर्थी / वादी : पविसरा वि.क.को जाहेरीले नेपाल सरकार

०७४-CR-११७४

पुनरावेदक / वादी : पविसरा वि.क.को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं. ७ बस्ने सोभितबहादुर वि.क.समेत

 

न्यायिक सक्रियता र न्यायकर्ताको स्वविवेकीय अधिकार कानूनी छिद्र प्रयोग गरी सिमित मानिसलाई फाइदा वा बेफाइदा पुग्नेगरी होइन की यसलाई न्यायकर्ताले नै न्यायको कसीमा उच्च नैतिकता र विवेकका साथ प्रयोगमा ल्याउनुपर्ने । 

(प्रकरण नं.३)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

सुरू तहमा फैसला गर्ने:

मा.जिल्ला न्या. श्री शिवबहादुर रानाभाट

स्याङ्जा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री द्वारिकामान जोशी

माननीय न्यायाधीश श्री बालचन्द्र शर्मा

उच्च अदालत पोखरा

 

फैसला

न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

मुद्दाको तथ्य

मिति २०७१।११।१४ गतेका दिन साँझ करिब ६ देखि ७ बजेको समयमा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्के बस्ने वर्ष ८ की कालो वर्ण दुवै गालामा कुकुरले टोकी खत बसेको र दाँत छिद्रिएको रिता वि.क. नाम गरेकी मेरी छोरी घरबाटै हराएकी हुँदा शङ्का लागेका मेरै श्रीमान् सोवित वि.क. र सौता कल्पना वि.क.माथि कडाइका साथ निगरानी गरिपाउँ भन्ने पविसरा वि.क.को निवेदन । 

जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पूर्वमा चित्रबहादुर सारूको बारी, पश्चिम लोकबहादुर सोती मगरको पाखो जग्गा, उत्तरमा चित्रबहादुर सारूको बारी, दक्षिणमा लोकबहादुर थापाको बारी यति चारकिल्लाभित्र उज्जड सिंह रानाको खरबारीमा बनमारा झारको झ्याङमुनि साढे ३ फिट लम्बाई, डेढ फिट चौडाई, डेढ फिट गहिराई भएको खाडलमा गुलाबी र सेतो मिसिएको ज्याकेट निलो मिड्डी सोभन्दा मुनि मानिसको साप्रादेखि तलको दायाँ खुट्टासमेत रहेको सोदेखि १५ फिट पश्चिम तलतर्फ जमिनमा टाउकाको मानव अस्थिपञ्जर रहेको भन्ने चारकिल्लासहितको लासजाँच मुचुल्का । 

मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पाखो खरबारीमा गुलाबी र सेतो रंगको ज्याकेट निलो मिड्डी भएको मानिसको दायाँ खुट्टाको भाग टाउकोको अस्थिपञ्जर कपालका रौंहरूसमेत फेला परेकोमा उक्त कपडा तथा मानव अस्थिपञ्जरसमेत हेर्दा मेरी छोरी वर्ष ८ की रिता वि.क. मिति २०७१।११।१४ गते हराउँदाका अवस्थामा उल्लिखित कपडाहरू लगाएकी र ती मेरै छोरीले लगाउने गरेका कपडा भएकोले उक्त अस्थिपञ्जर कंकाल मेरै छोरीको हुनुपर्दछ भनी उल्लिखित कपडा तथा कपालका रौंहरूसमेत हेरी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको पविसरा वि.क.को सनाखत कागज । 

जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पूर्वमा दिलबहादुर थापाको बारी, पश्विम खरबारी, उत्तर लोकबहादुर थापाको बारी, दक्षिण उज्जड सिंह रानाको खरबारी यति चारकिल्लाभित्र झमती दर्लामीको बारीमा महिलाको जस्तो देखिने कपालका काला रौंहरू फेला पारी बरामद गरेको भन्ने चारकिल्लासहितको बरामदी मुचुल्का । 

मिति २०७१।११।१४ गते साँझ अन्दाजी १८:०० बजेको समयमा मेरी छोरी वर्ष ८ की रिता वि.क. मेरै सौता बहिनी कल्पना वि.क.को घरअगाडि खेलिरहेकै अवस्थामा साँझ पर्दासमेत घरमा नआएकीले खोजतलास गर्दा सो समयमा मेरी सौता  कल्पना वि.क.समेत डेढ घण्टासम्म घरमा नभएको र डेढ घण्टापछि घरमा आएपछि निजलाई सोधपुछ गर्दा कुनै जानकारी नदिएकी र खोजतलासकै क्रममा मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ-७ ताप्केस्थित पाखो खरबारी जग्गामा निज छोरीले हराउँदाका अवस्थामा लगाएका गुलाबी र सेतो ज्याकेट निलो मिड्डी तथा दायाँ खुट्टाको भाग खाडलमा आधा अवस्थामा तथा टाउकोको अस्थिपञ्जर, कपालका रौंहरूसमेत फेला परेको हुँदा निज मेरी छोरीलाई मेरै श्रीमान् सोवितबहादुर वि.क., जिल्ला तनहुँ काहुँ शिवपुर गा.वि.स. वडा नं.-९ घर भई हाल ऐ.व्यास न.पा.- वडा नं.-१ बस्ने वर्ष ३९ को सिद्धकुमार शाही, जिल्ला सल्यान त्रिवेणी गा.वि.स. वडा नं.-४ बस्ने वर्ष ४४ को हरिप्रसाद बोहरासमेतको सहयोगमा मेरै सौता वर्ष २१ की कल्पना वि.क.ले कर्तव्य गरी मारेकी हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको पविसरा वि.क.को जाहेरी दरखास्त ।

मिति २०७१।११।१४ गते अन्दाजी १७ बजेको समयमा म आफ्नै घरमा थिएँ l यस्तैमा निज जाहेरवाली मेरी सौता दिदी पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क. मेरै घरअगाडि माटो ढुङ्गा चलाउँदै खेलिरहेकी थिई l मैले निजलाई बोलाई नानी जाउ बुबालाई रक्सी ल्याइदेउभन्दा निज रिता वि.क.ले नसुनेजस्तो अटेर गरेर बसी l एकछिनपछि मेरो श्रीमान् र मेरो बुबा हरिप्रसाद बोहरासँग म शौचालय गएर आउँछु  भनी निज रिता वि.क.लाई घरबाट दक्षिणतर्फ अन्दाजी ५०० मिटर पर पाखो खरबारीमा लिई गई निजलाई एकछिन यहीँ बस, म अरूको बारीमा घाँस काट्न जानी हो भनी ५/७ मिनेट सोही स्थानमा राखी अस्थिपञ्जर फेला परेको स्थानभन्दा पूर्व दक्षिणतर्फ रहेको दुधिलोको रूखमा पहिला निज रिता वि.क.को घाँटीमा रसी बाँधी रूखको हाँगाहरू छुट्टिएको कापमा डोरी बाँधी कान्लामा तल खसाई दिएपछि निज रिता वि.क. एकछिन फटफटाउँदा  फटफटाउँदै चल्न छाडेपछि रूखबाट डोरी खोली जमिनमा राखेपछि घाँटीबाट डोरी निकाली अघिल्लो दिन अर्थात्‌ सोही स्थाननजिकै खनेको खाडलमा निज रिता वि.क.ले लगाएका कपडासहित हाली माटोले पुरी सो हेर्न नसकी उक्त खाडल खन्न घरबाट अघिल्लो दिन लगेको फरूवा (कोदाली) सोही स्थान नजिकै रहेको बनमाराको झ्याङमा लुकाई राखी निज रिता वि.क.लाई झुन्ड्याएको डोरी लिई कम्मरमा बाँधी सल ओडेर घरमा आएपछि श्रीमान्‌ले रक्सी ल्याइदिन भनेकोले निज जाहेरवाली पविसरा वि.क.को घरमा रक्सी लिन जाँदा अरूले शङ्का गर्छन् भनेर दिदी कान्छी रिता खोई त भनेकीमा सौता दिदी पविसरा वि.क.ले खोई कहाँ मरेकी छे 

भन्नुभयो l रक्सी लिएर घरमा आइसकेपछि मेरो श्रीमान् र ससुराबुवा नन्दलाल वि.क.ले रक्सी खानुभयो l त्यसपश्चात् जाहेरवाली सौता दिदीको माइली छोरीले रिता बहिनी हराई, घरमा छैन भन्दै आएपछि वरपर तल माथि हो-हल्ला भएपछि गाउँ छिमेकसमेत भई निज रिता वि.क.को खोजतलासमा लागेँ । जाहेरीमा उल्लेख गरेका सिद्धबहादुर शाहीले विगत २ महिना पहिला म तथा मेरो श्रीमान् मेरो माइती घरमा जाँदा मानिस झुन्डिएको डोरी हँसियाले नकाटेको भएमा (२/३) करोड रूपैयाँ पर्छ भनी भनेको मैले सुनेको हुँदा धेरै पैसा पर्छ भनी मैले निज रिता वि.क.लाई झुन्ड्याई डोरी बिक्री गर्नका लागि नै यो सबै गरेकी हुँ l निज रिता वि.क.लाई झुन्ड्याई मारेको निलो रङ्गको नाइलनको डोरी निजलाई मारी खाडलमा पुरेपछि डोरी घरमा ल्याई घरको पश्चिम उत्तरतर्फको कोठाभित्र काठको चेपमा रातोमा सेतो धर्का भएको कपडाले बेरी लुकाई राखेकी हुँ l खाडल खन्न प्रयोग गरेको कोदालो फरूवा घरको पश्चिमतर्फ गाह्रोको सुरमा रहेको कुखुराको खोरमाथि राखेकी हुँ l निज रिता वि.क.लाई मैले मारेको गाउँ छिमेकले शङ्का गर्छन् भनेर मैले माइती घरबाट रू.५०,०००/- (पचास हजार) झिकाई आमाले आई.एम.ई.बाट श्रीमान् सोवितबहादुर वि.क.को नाममा पठाइदिएको सो पैसा वालिङ बजारमा आई निकाली सोही पैसाले यताउता खोजतलास गरेकी हुँ l निज रिता वि.क.लाई मैले मारेको घर परिवार अन्य कोही कसैलाई थाहा छैन l मैले मिति २०७१।११।१४ गते रिता वि.क.लाई झुन्ड्याई मारेपश्चात् निज सिद्धबहादुर शाहीलाई मैले डोरी पाएकी छु, लिन आउनुस् भनी फोन गरेकी 

थिएँ l मेरो बुबा हरिप्रसाद बोहरा वैदेशिक रोजगारको लागि भिसा लगाएकाले काठमाडौं जान आउन नजिक पर्छ भनी विगत पौष महिनाको २६/२७ गतेतिर मेरो घरमा आउनु भएको र निज माघ महिनाको अन्तिमसम्म मेरै घरमा बसी काठमाडौं जानु भएको हो l निज सिद्धबहादुर शाही २०७१ सालको माघ महिनाको ७/८ गतेतिर मेरो घरमा आई वालिङ महोत्सव भरी मेरै घरमा बसी २२/२३ गतेतिर घरमा गएका हुन् l सो समयमासमेत निजले मानिस झुन्डिएको डोरी पाएमा २/३ करोड पर्छ भन्ने गर्दथे भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना वि.क.ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज बेहोरा । 

जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पूर्व बालादेवी कोट जाने गोरेटो बाटो, पश्चिम केवरे-ताप्के कच्ची ग्रामीण सडक, उत्तर नन्दलाल वि.क.को २ तले ढुङ्गा र टिनले छाएको कच्ची घर, दक्षिण बाल तपस प्रा.वि.को भवन यति चारकिल्लाभित्र प्रतिवादी कल्पना वि.क.समेत बस्दै आएको दक्षिण मोहडा गरी बिचमा गल्ली पूर्वपश्चिम २/२ वटा कोठा गरी ४ कोठाको माथिल्लो तलामा टिनले छाएको ठुलो १ कोठा भएको पक्की प्रतिवादी कल्पना वि.क.समेत बस्ने गरेको घर कोठाहरूसमेत कल्पना वि.क.ले मिति २०७२।०१।०३ गते अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिँदा खुलाई लेखाई दिएअनुसार खानतलासी लिँदा पश्चिम उत्तरको कोठा खोली भित्र काठहरू रहेको उक्त काठको चेपमा रातोमा कालो सेतो धर्का भएको कपडाको पोको रहेको, सो पोको खोली हेर्दा पोकोभित्र मानिसको जस्तो देखिने रौंहरू टासिएको १३ फिट ७ इन्च लम्बाइ १ इन्च गोलाइ भएको निलो रङ्गको नाइलनको डोरी र सो घरको पश्चिमतर्फ गाह्रोको सुरमा काठको टिनको छानो भएको कुखुराको खोरको छानोमा राखेको २ फिट ८ इन्च लम्बाई, ६ इन्च गोलाई भएको काठको बिँड भएको ९ इन्च लम्बाई भएको पासोसहितको फलामको कोदालीसमेत फेला पारी बरामद गरिएको चारकिल्लासहितको बरामदी मुचुल्का । 

जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पूर्वमा चित्रबहादुर सारूको बारी, पश्चिममा लोकबहादुर सोति मगरको जग्गा, उत्तरमा चित्रबहादुर सारूको बारी, दक्षिण लोकबहादुर थापाको बारी, यति चारकिल्लाभित्र उज्जड सिंह रानाको बारीको ढिकमा २ फिट गोलाई १५ फिट उचाइ भएको दुधिलोको रूख रहेको रूखको फेददेखि ५ फिट ३ इन्च उचाइमा उत्तर दक्षिण २ वटा हाँगाहरू फैलिई कापे रहेको हाँगाको कापदेखि तल्लो बारीसम्मको दुरी ८ फिट ९ इन्च, रूखको फेददेखि १५ फिट उत्तर पश्चिम साढे ३ फिट लम्बाइ, डेढ फिट चौडाइ, डेढ फिट गहिराइको खाडल रहेको उक्त रूखको फेददेखि ५ फिट ३ इन्च उचाइमा रहेको उक्त कापमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ बस्ने वर्ष २१ की कल्पना वि.क.ले जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ बस्ने निज जाहेरवाली पविसरा वि.क.को कान्छी छोरी वर्ष ८ की रिता वि.क.लाई मिति २०७१।११।१४ गते साँझको समयमा निलो नाइलनको डोरीले घाँटीमा बाँधी रूखमा झुन्ड्याई कर्तव्य गरी मारेको प्रतिवादी कल्पना वि.क.ले मिति २०७२।०१।०३ गते अधिकारप्राप्त अधिकारीसमक्ष खुलाई लेखाइदिएको बयानअनुसार निजै प्रतिवादी कल्पना वि.क.ले देखाई दिएबमोजिमको चार किल्लासहितको घटनास्थल मुचुल्का । 

मिति २०७२।०१।०३ गते अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी कल्पना वि.क.ले बयान दिँदा खुलाई लेखाइदिएअनुसार प्रतिवादी कल्पना वि.क. बस्ने घर कोठाबाट बरामद भई आएका मानिसको जस्तो देखिने कपालका रौंहरू टाँसिएको पूरा लम्बाइ १३ फिट ७ इन्च, गोलाइ १ इन्च  भएको निलो रङको नाइलनको डोरी १ थान र २ फिट ८ इन्च लम्बाइ, ६ इन्च गोलाइ भएको काठको बिँड, ९ इन्च लम्बाइ भएको पासोसहितको फलामको कोदाली थान १ समेत मैले मिति २०७१।११।१४ गते निज जाहेरवाली पविसरा वि.क.को कान्छी छोरी वर्ष ८ की रिता वि.क.लाई झुन्ड्याई कर्तव्य गरी मारी घरमा लगी घरको पश्चिम उत्तरतर्फको कोठाभित्र काठको चेपमा रातोमा सेतो कालो धर्का भएको कपडाले बेरी लुकाई राखेको डोरी हो र उक्त कोदाली निज रिता वि.क.लाई झुन्ड्याई कर्तव्य गरी मारेपछि खाडल खनी पुर्नका लागि प्रयोग गरी घरमा लगी घरको पश्चिमतर्फ गाह्रोको सुरमा रहेको कुखुराको खोरको छानामाथि राखेको कोदाली हो भनी उक्त निलो रङ्गको नाइलनको डोरी तथा कोदालीसमेत देखी हेरी चिनी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना वि.क.को सनाखत l 

मिति २०७१।११।१४ गते साँझ अन्दाजी १८:०० बजेतिर म आफ्नै घरमा बसिरहेको अवस्थामा निज कान्छी श्रीमती कल्पना वि.क.ले ९ महिनाको छोरो मसँग छोडी म शौचालय गएर आउँछु भनी घरबाट गएकीमा त्यस्तै १ डेढ घण्टापछि हस्याङ-फस्याङ गर्दै घरमा आएपछि कहाँ मरेकी थिइस् यतिखेरभन्दा निज श्रीमती कल्पना वि.क.ले शौचालय गएकी थिएँ l आमाको फोन आएर फोनमा कुरा गर्न लागेँ त्यसपछि रिचार्ज कार्ड लिन देउराली गएकी थिएँ भनेपछि मैले मास्तिर दिदीसँग गएर १ बोतल रक्सी ल्याइदिन भनेकोमा निज जाहेरवाली मेरी जेठी श्रीमती पविसरा वि.क.बाट १ बोतल रक्सी ल्याएपछि मेरो बुबा नन्दलाल वि.क. र मैले रक्सी तथा खानासमेत खाई सुत्ने तयारीमा लाग्दा मेरी जेठी श्रीमतीतर्फकी छोरी संगिता र छोरो श्री बहादुरसमेत म बस्ने घरमा आई दाइ दाइ (मलाई निजहरूले दाइ भन्ने हुँदा) कान्छी बहिनी रिता घरमा छैन भनेपछि निज कान्छी श्रीमतीको बुबा हरिप्रसाद बोहरासमेत मेरै घरमा भएको हुँदा म तथा निज जाहेरवाली पविसरा वि.क. समेतले वरपर तल माथि खोजतलास गर्दा फेला नपरेपछि भोलि खोज्न भनेर घरमै सुतियो l यसरी अर्को दिन पनि स्थानीय क्लबसमेत भई प्रहरीसमेतलाई खबर गरी खोजतलास गर्दासमेत निज छोरी रिता वि.क.फेला परिनन् l त्यसपछि खोजतलास गर्ने क्रममा मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पाखो खरबारी जग्गामा निज छोरीले लगाउने ज्याकेट मिड्डी कपडा दायाँ खुट्टा र टाउकाको अस्थिपञ्जर, कपालका रौंहरूसमेत फेला परेको हो l यसरी निज छोरी रिता वि.क. मिति २०७१।११।१४ गते अन्दाजी १८:०० बजेको समयमा हराएकी र सोही समयमा प्रतिवादी कान्छी श्रीमती कल्पना वि.क.समेत एक डेढ घण्टाजति हराएर हस्याङ-फस्याङ गर्दै घरमा आएकी हो l जाहेरवाली मेरी जेठी श्रीमती पविसरा वि.क.तर्फकी कान्छी छोरी रिता वि.क. हराएपछि खोजतलास गर्ने क्रममा कान्छी श्रीमती कल्पना वि.क.ले आमालाई फोन गरी पैसा पठाइदिनु भन्छु भनी फोन गरेपछि निजको आमाले सल्यानबाट छोरी हराएको ४/५ दिनपछि आई.एम.ई.मार्फत मेरो नाममा रू.५०,००० पचास हजार पठाई दिएपछि म वालिङ बजार आई पैसा निकाली सोही पैसाले कहिले कता कहिले कता गरी लामा झाँक्रीसमेत गरी खोज तलास गरेका 

हौं l निज प्रतिवादी कल्पना वि.क., म तथा प्रतिवादी सिद्धबहादुर शाही भई कान्छी श्रीमती कल्पना वि.क.समेत विगत २ महिनाजति पहिला कान्छी श्रीमती कल्पना वि.क.को माइती घरमा जाँदा र निज सिद्धबहादुर शाही माघ महिनामा वालिङ महोत्सव चल्दाका बखत मेरो घरमा आउँदा मानिस झुन्डिएको रसी पाइएमा महङ्गोमा बिक्री हुन्छ भन्ने कुरा भएको हो l मूल्य यकिन थाहा भएन l प्रतिवादी सिद्धबहादुर शाहीसँग विगत डेढ वर्षजति पहिला मेरै गाउँका एकजना भारतीय भुतपूर्व सैनिक सुनाखरीमार्फत चिनजान भएको हो l निज मेरो ससुरा हरिप्रसाद बोहरा २०७१ सालको पौष महिनाको २५/२६ तिर मेरो घरमा आई माघ महिनाको अन्तिमतिर काठमाडौं गएका हुन् l निज ससुराले वैदेशिक रोजगारीका लागि भिसा लगाएकाले काठमाडौं जान आउन नजिक सजिलो हुन्छ भनी मेरो घरमा बस्दै आएका हुन् । निज जाहेरवाली मेरी जेठी श्रीमती पविसरा वि.क.तर्फकी कान्छी छोरी हराएको समय र निज प्रतिवादी कान्छी श्रीमती कल्पना वि.क.समेत सोही समयमा शौचालय जान्छु भनी एक डेढ घण्टापछि हस्याङ-फस्याङ गर्दै घरमा आएकी तथा निज छोरीले लगाउने गरेका कपडा दायाँ खुट्टा खाडलमा पुरेको अवस्थामा फेला परेपछि सोधपुछ गर्दा निज प्रतिवादी कल्पना वि.क.ले घरबाट लिई गई झुन्ड्याई कर्तव्य गरी मारी सोही ठाउँमा खाडल खनी खाडलमा पुरेकी भन्ने थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सोवितबहादुर वि.क.को बयान कागज । 

मिति २०७२।०१।०४ गतेको पत्रसाथ मेरो जिम्मामा पोष्टमार्टमको लागि श्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको मानव अस्थिपञ्जर कंकालको पोष्टमार्टमपश्चात् डि.एन.ए. प्रयोजनार्थ निकालिएको नमुना र प्रयोगशाला परीक्षण प्रयोजनार्थ छुट्याइएको रौंहरूसमेत दाखिल गरेको छु भन्ने बेहोराको प्र.स.नि. जिवन कुवँरको प्रहरी प्रतिवेदन । 

संवत् २०७१ साल पौष महिनाको त्यस्तै २७/२८ गतेतिर मेरो छोरी जाहेरीमा उल्लिखित प्रतिवादी कल्पना वि.क.को घर जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्के आएको हुँ l म निज छोरीकै घरमा बस्दै गरेको अवस्थामा मिति २०७१।११।१४ गते साँझ निज छोरी कल्पना वि.क., ज्वाइँ सोबितबहादुर वि.क. तथा मसमेतले खाना खाई सुत्ने तरखर गर्न लाग्दाका अवस्थामा निज छोरी कल्पना वि.क.को सौता पविसरा वि.क.को छोरी संगिता वि.क.ले कान्छी बहिनी रिता वि.क. घरमा छैन, कहाँ गई भन्दै हामीहरू भएको ठाउँमा आएपछि म, मेरो ज्वाई सोबितबहादुर वि.क., जाहेरवाली पविसरा वि.क. समेतले तलमाथि यताउता खोजतलास गर्दा रातिसम्म फेला नपरेपछि छोरी कल्पना वि.क.को घरमा 

सुतियो l अर्कोदिन स्थानीय मानिसहरू आई प्रहरीसमेतलाई जानकारी गराई खोजतलास गरियो l फेला परिनन् l मैले वैदेशिक रोजगारको लागि कतार जान भनी भिषा लगाएको हुँदा काठमाडौं आउजाउ सजिलो हुन्छ भनी निज छोरीको घरमा बसेको र लामो समयसम्म भिषा नआएको हुँदा चैत्र महिनाको १२/१३ गतेसम्म पनि निज छोरी कल्पना वि.क.को घरमा बसी चैत्र महिनाको १५ गतेतिर घरमा नगई काठमाडौं गएको हुँ l पछि काठमाडौंमै भएका बखत मिति २०७१।१२।३० गते जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्के स्थित पाखो खरबारी जग्गामा निज जाहेरवाली पविसरा वि.क.को छोरी रिता वि.क.ले लगाउने ज्याकेट, मिड्डी कपडा दायाँ खुट्टा अर्ध पुरिएको अवस्थामा सोही नजिकै टाउको अस्थिपञ्जर तथा कपालका रौंहरूसमेत फेला परेको भन्ने म पक्राउ परेपछि मिति २०७२।०१।०२ गते थाहा पाएको र निज जाहेरवाली पविसरा वि.क.को छोरी रिता वि.क. हराउँदाका दिन मिति २०७१।११।१४ गते साँझ परेपछि मेरी छोरी कल्पना वि.क.समेत शौचालय गएर आउँछु भनी एक डेढ घण्टा हराई हस्याङ-फस्याङ गर्दै आएकी थिई सो समयमा म निजै छोरीको घरमा टि.भि.कोठामा टि.भि. हेरी बसिरहेको थिएँ l जाहेरीमा उल्लिखित सिद्धबहादुर शाही २/३ महिना पहिले मेरी छोरी कल्पना वि.क.र ज्वाइँ सोवितबहादुर वि.क.सँग मेरो घरमा गएका थिए, सोही समयमा चिनजान भएको हो l सोही समयमा निज सिद्धबहादुर शाहीले मानिस झुन्डिएर मरेको डोरी हँसियाले नकाटेको भएमा धेरै पैसा पर्छ रे भन्ने कुरा गर्दथे l सोही कुरा मेरो छोरी कल्पना वि.क.ले सुनेकी होली l जाहेरवालाकी छोरी रिता वि.क. हराएकीमा खोजतलास गर्दासमेत फेला नपरेपछि अन्यत्र स्थानमा खोजतलास गर्नका लागि पैसा भएन भनेपछि प्रतिवादी छोरी कल्पना वि.क.र ज्वाइँ सोवितबहादुर वि.क.ले आमालाई फोन गरी पैसा खोजेर पठाइदिनु भनेकीमा मेरी  श्रीमतीले पैसा छैन कहाँबाट पठाउने भन्दा छोरी तथा ज्वाइँ सोबितबहादुर वि.क.ले समेत तपाइँले भनिदिनुहोस् भनेकाले मैले श्रीमतीलाई खोजेर पठाइदेउ भनेपछि श्रीमती पार्वती बोहराले रू.५०,०००/- (पचास हजार) पैसा खोजेर आई.एम.ई.गरी ज्वाइँ सोबितबहादुर वि.क. को नाममा पठाएपछि निजले निकाली रिता वि.क.लाई खोजतलास गर्न यताउता हिँडेका 

हुन् l निज जाहेरवाली पविसरा वि.क.को छोरी रिता वि.क. हराउँदाका बखत मेरी छोरी प्रतिवादी कल्पना वि.क.पनि शौचालय जान्छु भनी एक डेढ घण्टा हराई आएकी र हालसम्म बुझ्दा कल्पना वि.क.ले निज रिता वि.क.लाई झुन्ड्याई कर्तव्य गरी मारी खाडल खनी पुरेको भन्ने थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी हरिप्रसाद बोहराको बयान कागज । 

विगत एक डेढ वर्ष पहिला जाहेरीमा उल्लिखित प्रतिवादी कल्पना वि.क.को श्रीमान् मेरै घरतर्फ दमौली बजारमा भेट भई बोलचाल हुँदाहुँदै निजसँग चिनजान भई कल्पना वि.क.सँग पनि चिनजान थियो l निज जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क.हराएको भन्ने मैले जाहेरीमा उल्लिखित प्रतिवादी सोबितबहादुर वि.क.लाई मिति २०७१ सालको फागुन महिनाको १५/१६ गतेतिर फोन गरेकोमा निजले छोरी रिता वि.क.हराएर खोज्दैछौं भनेपछि थाहा पाएको हुँ l त्यसपश्चात् निज रिता वि.क.को मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पाखो खरबारीमा कपडा र दायाँ खुट्टाको भाग आधा पुरेको अवस्थामा तथा टाउकोको अस्थिपञ्जर र कपालका रौंसमेत फेला परेको भन्ने म पक्राउ परेपछि थाहा पाएको हुँ l निज जाहेरवालीको छोरी हराउनुभन्दा पहिला म निज प्रतिवादी कल्पना वि.क.को घरमा गएको थिएँ l त्यसपश्चात् १० दिनजति बसी घरमा फर्केको थिएँ l निज जाहेरवालीको छोरी रिता वि.क.लाई मारी खाल्टो खनी पुरी दबाउने कार्यमा मेरो संलग्नता छैन निज प्रतिवादी कल्पना वि.क., सोवितबहादुर वि.क.सँग निज कल्पना वि.क.को माइती घरमा २०७१ सालको पौष महिनामा जाँदाका बखत हरिप्रसाद बोहरासँग मेरो चिनजान भएको हो l निज रिता वि.क. हराउँदाका बखत प्रतिवादी कल्पना वि.क. घरबाट शौचालय जान्छु भनी हराएकीमा एक डेढ घण्टापछि घरमा आएकी भन्ने मैले थाहा पाएको र निजको घरमा म आउँदा बस्दा आनीबानीसमेत हेर्दा निजै प्रतिवादी कल्पना वि.क.ले रिता वि.क.लाई कर्तव्य गरी मारेको हुनुपर्दछ l निज रिता वि.क.लाई कर्तव्य गरी मार्ने दबाउने कार्यमा अन्य प्रतिवादीहरू सोवितबहादुर वि.क. र हरिप्रसाद बोहराको के कस्तो संलग्नता छ मलाई थाहा छैन l निज रिता वि.क. हराएपछि त्यस्तै ५/६ दिनपछि निज कल्पना वि.क.ले आफ्नो श्रीमान् सोबितबहादुर वि.क.को मोबाइल नं.९८०५८११३५२ बाट मेरो ९८१३३२३२७९ नं. मा फोन गरी डोरी पाइएको छ लिन आउनुस् भनेकी हुन् l त्यसबेला मैले निजलाई भोलिपर्सीतिर आउँछु भनेको हुँ l निज प्रतिवादी कल्पना वि.क.र निजको श्रीमान् सोबितबहादुर वि.क.सँग कल्पना वि.क.को माइती घरमा जाँदा हरिप्रसाद बोहरासमेतसँग यसरी मानिसहरू झुन्डिएर मरेको डोरी फलामले नछोएको हुनी हो भने बहुमुल्य धेरै पैसा पर्छ भन्ने कुरा भएका हुन् l सोही अवस्थामा निज कल्पना वि.क.ले सुनी जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क.लाई झुन्डाई कर्तव्य गरी मारी दबाउने कार्य गरेकी होलिन् भन्नेसमेत बेहोराको प्रतिवादी सिद्धबहादुर शाहीले गरिदिएको बयान कागज । 

डि.एन.ए. परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौंमा भौतिक सबुद पठाएको भन्ने वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाको च.नं.९६५ र च.नं.९६६ मिति २०७२।०१।०९ गतेको पत्र । 

प्रतिवादी कल्पना वि.क. मेरी छोरी हो l सोबितबहादुर वि.क. ज्वाइँ हुन् l हरिप्रसाद बोहरा मेरो श्रीमान हुन् l सिद्धबहादुर शाही मिति २०७१ सालको पौष महिनामा मेरी छोरी कल्पना वि.क.र ज्वाइँ सोवितबहादुर वि.क.सँग मेरो घरमा गएकोले सो अवस्थामा चिनेकी हुँ l सो अवस्थामा सिद्धबहादुर शाही १९/२० दिन बसेर आएका हुन् l मिति २०७१ सालको फागुन महिनाको १५ गते साँझ त्यस्तै ६/७ बजेको हुँदो हो, मेरो श्रीमान् हरिबहादुर बोहरा के कस्तो अवस्थामा छन्, सन्चो बिसन्चो बुझ्न भनी मेरो मोबाइल नं.९८०९५९९३४५ बाट मोबाइल नं.९८०५८११३५२ मा छोरी कल्पना वि.क.लाई फोन गर्दा सौताकी छोरी हराएर खोज्न हिँडेका छौं भनेकीले मैले निज जाहेरवालीको छोरी रिता वि.क. हराएको थाहा पाएकी हुँ l त्यसको ३/४ दिनपछि निज छोरी कल्पना वि.क.ले मलाई फोन गरी सौताको छोरी हराएकोले खोजतलास गर्नका लागि पैसा भएन पचास हजार खोजेर पठाई दिनुस् भनेकीमा मैले पैसा पाइँदैन भनेपछि मेरो श्रीमान् हरिप्रसाद बोहरालाई कल्पना वि.क.ले भन्न लगाएकीले मैले पचास हजार पैसा खोजी सल्यान जिल्लाको लुहाम बजारबाट आई.एम.ई. गरी सोबित वि.क.को नाममा पठाई दिएकी हुँ l मेरो श्रीमान् हरिप्रसाद बोहरा वैदेशिक रोजगारको लागि काठमाडौंबाट भिषा लगाउनु भएकोले काठमाडौं जान आउन सजिलो हुन्छ भनी छोरीको घरमा आई बस्नुभएकोमा चैत्र महिनाको त्यस्तै १४/१५ गते काठमाडौं जानु भएकोमा चैत्र महिनाको ३० गतेबाट श्रीमान्‌को फोन नलागेपछि कहाँ गएको भनी खोजतलास सोधपुछ गर्दाको क्रममा वडा प्रहरी कार्यालय वालिङमा भएको भन्ने थाहा पाएपश्चात् निज जाहेरवालीको छोरी रिता वि.क.को मिति २०७१।१२।३० गते जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पाखो खरबारीमा टाउकोको अस्थिपञ्जरसमेत फेला परेको भन्ने थाहा पाएकी हुँ l सो सम्बन्धमा निज प्रतिवादी मेरी छोरी कल्पना वि.क.सँग बुझ्दा निज जाहेरवालीको छोरी रिता वि.क.लाई मिति २०७१।११।१४ गते साँझ प्रतिवादी मेरी छोरी कल्पना वि.क.ले झुन्ड्याई कर्तव्य गरी मारी खाडलमा पुरेकी भन्ने थाहा पाएकी बुझेकी हुँ l उक्त वारदातमा अन्य प्रतिवादीहरू सोबितबहादुर वि.क., सिद्धबहादुर शाही तथा हरिप्रसाद बोहराको के कस्तो संलग्नता छ, सो मलाई थाहा भएन l मानिस झुन्ड्याई कर्तव्य गरी मार्नेहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको पार्वती बोहराको कागज । 

जाहेरवाली पविसरा वि.क., प्रतिवादी कल्पना वि.क. तथा सोबितबहादुर वि.क. मेरै चिनजानका छिमेकी मानिस हुन् भने प्रतिवादी सिद्धबहादुर शाही मैले भारतीय सेनामा जागिर खाँदाका अवस्थादेखि चिन्दै आएको छु l म भारतीय सेनामा जागिर खाई विगत ७/८ वर्ष पहिला अवकाश पाएको हुँ l निज सिद्धबहादुर शाहीको घर तनहुँको दमौली बजारमै हो l म २ वर्ष पहिला मेरै गाउँका निज प्रतिवादी सोबितबहादुर वि.क.सँग काठमाडौं जाँदै गर्दा सिद्धबहादुर शाही तनहुँको दमौली बजारमा भेट भई एकआपसमा कुराकानी हुँदा निज प्रतिवादी सोबितबहादुर वि.क.को समेत निज प्रतिवादी सिद्धबहादुर शाहीसँग चिनजान भएको 

हो l तत्पश्चात् निज प्रतिवादी सोबितबहादुर बि.क.को घरमा सिद्धबहादुर शाही पटक-पटक आउजाउ गर्ने र झाँक्रीका हात पाइएमा बहुमुल्य हुन्छ भन्ने गर्दथे l मैले निज जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क. मिति २०७१।११।१४ गते साँझदेखि हराएकी भन्ने त्यसकै ५/६ दिनपछि थाहा पाएको हुँ भने मिति २०७१।१२।३० गते अन्दाजी१३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.७ ताप्केस्थित पाखो खरबारी जग्गामा निज जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क. हराउँदाका बखत लगाएका कपडाहरू र एउटा खुट्टा खाडलमा आधा पुरिएको अवस्थामा फेला परेको र सोही स्थान नजिकै टाउकोको अस्थिपञ्जर कंकाल कपालका रौंहरूसमेत फेला परेको थाहा पाएको हुँ l सो सम्बन्धमा बुझ्दा मृतक रिता वि.क.मिति २०७१।११।१४ गते साँझ हराउँदाका बखत प्रतिवादी कल्पना वि.क.समेत घरमा डेढ घण्टा नभएको र कल्पना वि.क.को बुबा हरिप्रसाद बोहरासमेत लामो समयदेखि कल्पना वि.क.को घरमा बस्दै आएको र प्रतिवादीहरू सिद्धबहादुर शाही, हरिप्रसाद बोहरा, सोबितबहादुर वि.क.समेतले रिता वि.क. हराउँदाका समय पहिलेदेखि लामा झाँक्रीको कुरा गर्ने बस्ने जस्ता कुराबाट निज रिता वि.क.लाई निजै प्रतिवादीहरूले षड्यन्त्र बनाई कर्तव्य गरी मारेको भन्ने लाग्छ l यसरी कर्तव्य गरी मार्ने निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडा कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको सुनाखरी भन्ने देवबहादुर थापाको कागज । 

जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क. लाई मैले झुन्ड्याई कर्तव्य गरी मारी त्यस्तै ८/९ दिनपछि मैले ९८१६१०९१४२ नम्बरको मोबाइल प्रयोग गर्ने भए तापनि सो अवस्थामा मैले मेरो श्रीमान् सोबितबहादुर वि.क.को मोबाइल नम्बर ९८०५८११३५२ बाट प्रतिवादी सिद्धबहादुर शाही लाई निजको मोबाइल नम्बर ९८१३३२३२७९ मा फोन गरी झुन्ड्याई मारेको डोरी लिन आउनु भनेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको ततिम्बा   बयान । 

मृतक रिता वि.क.को अस्थिपञ्जर कंकालको पोष्टमार्टम प्रतिवेदन पठाई दिनुहुन भनी महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंलाई लेखेको प्रहरी सञ्चार । 

जाहेरवाली पविसरा वि.क.को छोरी रिता वि.क. मिति २०७१।११।१४ गते साँझदेखि हराएको भन्ने मैले मिति २०७१।११।१५ गते बिहान पानी लिन गएको अवस्थामा थाहा पाएकी हुँ l रिता वि.क. हराएपछि निज जाहेरवाली पविसरा वि.क. तथा गाउँ छिमेकले खोजतलास गर्दासमेत निज रिता वि.क. फेला परिनन् l यसरी खोज तलास गर्ने क्रममा निज जाहेरीमा उल्लिखित प्रतिवादी कल्पना वि.क.निज जाहेरवालीको छोरी रिता वि.क. हराउँदाका समयमा एक डेढ घण्टा हराएकी भन्ने निजका घर परिवारबाट थाहा पाई स्थानीय मानिसहरूसमेतले निज कल्पना वि.क.लाई सोधपुछ गर्दा कुनै जानकारी दिइनन् l म मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा बाख्रालाई घाँस काट्न भनी मेरै माइतीको हजुरबुबा उज्जड सिंह रानाको पाखो खरबारीमा गई दुधिलो नामको घाँस काटी थोरै भयो भनी अर्को रूखको पनि काट्नु पर्यो भनी अर्को रूखको घाँस काट्न जाँदा सोही स्थान नजिकै बनमारा झारको झ्याङ मुनी गुलाबी सेतो रंगको ज्याकेट तथा मिड्डी कपडा खाडलमा अर्ध पुरेको देखेपछि म सो स्थानबाट आत्तिँदै स्कुलतर्फ आई स्थानीय मानिससमेतलाई सो कुरा बताएपछि स्थानीय मानिसहरूसमेत आई हेर्दा निज जाहेरवाली पविसरा वि.क.को छोरी रिता वि.क.ले लगाउने कपडा हुन् भन्ने थाहा पाई तत्काल प्रहरीलाई खबर गरी प्रहरीसमेत आई उल्लिखित कपडा तथा अन्य स्थानसमेतमा हेर्दा उक्त कपडाहरूभन्दा तल दायाँ खुट्टाको भाग खाडलमा पुरिएको टाउको अस्थिपञ्जर कंकाल कपालका रौंहरूसमेत फेला परेको हो l उक्त फेला परेका कपडाहरूसमेत जाहेरवाली पविसरा वि.क.लाई देखाई सनाखतसमेत गरिदिएकी हुन् l बुझ्दै जाँदा निज रिता वि.क.लाई प्रतिवादी कल्पना वि.क.ले झुन्ड्याई कर्तव्य गरी खाडल खनी पुरेकी भन्ने थाहा पाएकी हुँ l निज रिता वि.क.हराउनुभन्दा पहिलेदेखि नै जाहेरीमा उल्लिखित प्रतिवादीहरू सिद्धबहादुर शाही, हरिप्रसाद बोहरासमेत निज कल्पना वि.क. र सोबितबहादुर वि.क.को घरमा आउने जाने लामो समयसम्म बस्ने र निज सोबितबहादुर वि.क. र कल्पना वि.क.समेत भई लामा झाँक्री गर्ने, कहिले कता कहिले कता डुल्ने जस्ता कुराहरू पहिलेदेखि नै गाउँघरमा सुन्दै आएकी थिएँ l यसरी प्रतिवादीहरू सिद्धबहादुर शाही, हरिप्रसाद बोहरासमेत निज कल्पना वि.क. र सोबितबहादुर वि.क.का पहिलादेखिका यस्ता गतिविधिहरूले गर्दा निज प्रतिवादीहरूले नै योजना बनाई षड्यन्त्र गरी निज रिता वि.क.लाई कर्तव्य गरी मारी खाडलमा दबाउने कार्य गरेकोमा विश्चास 

लाग्छ l यसरी कर्तव्य गरी मारी दबाउने प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको लिला सोतीले गरिदिएको कागज । 

मिति २०७१।११।१४ गते साँझ म मेरो छोरा सोबितबहादुर वि.क.को घर गएकोमा निज छोराले ९ महिनाको छोरालाई काखमा लिएर बसेका 

थिए l छोरो रोएको थियो भने हरिप्रसाद बोहरा घरभित्र बसिरहेका थिए l एकडेढ घण्टा बस्दासमेत बुहारी कल्पना वि.क. लाई घरमा नदेखेपछि कहाँ गई भन्दा शौचालय गएकी हो भन्थ्यो छोराले l त्यसपछि एकछिनमा बुहारी हस्याङ-फस्याङ गर्दै आएकीमा छोराले रक्सी लिन पठायो र कल्पना वि.क.ले रक्सी ल्याई दिएपछि म र छोराले रक्सी खाई खाना खान घरमा गएकोमा जाहेरवालीको कान्छी छोरी मेरी नातिनी रिता वि.क. घरमा छैन भनेपछि वरपर तलमाथि खोजतलास गर्दासमेत पत्तो नलागेपछि सो राति सुतियो l अर्को दिनदेखि पनि खोज तलास गर्‍यो र यसरी ४/५ दिनपछि निज कल्पना वि.क.ले माइतीघरबाट रू.५०,०००।- (पचास हजार) समेत मगाई खोजतलास गर्ने निहुँ पारी प्रतिवादी सिद्धबहादुर शाहीको घरतर्फ जाने त कहिले बुटवल जाने l जाँदा पनि दुवैजना सँगै जाने 

गर्थे l निज नातिनी रिता वि.क. हराउनुभन्दा पहिलादेखि नै प्रतिवादी हरिप्रसाद बोहरा, सिद्धबहादुर शाही, निज कल्पना वि.क., छोरा सोवितबहादुर वि.क.को घरमा आई लामा झाँक्री बस्ने भन्दै ठाउँ ठाउँमा जाने गर्दथे l यसै क्रममा मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ-७ ताप्केस्थित खरबारी जग्गामा नातिनीले हराउँदाका बखत लगाएका कपडा तथा दायाँ खुट्टाको भाग खाडलमा पुरेको अवस्थामा र टाउकोको अस्थिपञ्जर, कपालका रौंहरूसमेत फेला परेपछि बुझ्दै जाँदा प्रतिवादी कल्पना वि.क.ले कर्तव्य गरी मारी खाडलमा पुरेको भन्ने थाहा पाएको हुँ l यसमा प्रतिवादीहरू हरिप्रसाद बोहरा, सिद्धबहादुर शाही, सोबितबहादुर वि.क. समेतको संलग्नतामा कर्तव्य गरी मारी खाडलमा पुरेकोमा पूर्ण विश्चास लाग्छ l निज प्रतिवादीहरूलाइ कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको नन्दलाल वि.क.को कागज । 

मिति २०७१।११।१४ गते साँझ म आफ्नै घरमा थिएँ l निज मृतक मेरो बहिनी रिता वि.क. पनि घरमै थिइन् l जाहेरवाली आमा पविसरा वि.क. घाँस काट्न बारीमा गई साँझ घास काटेर घरमा आउनु भएको हो l यसरी घरमै रहे बसेकोमा बेलुका बहिनी रिता वि.क. घरमा भाँडा धुने काम सकी प्रतिवादी कल्पना वि.क. र सोबितबहादुर वि.क. बस्ने घरअगाडि गई खेलिरहेकीमा रातिसम्म घरमा नआएपछि निज कल्पना वि.क.को घरमा बसी होली भनी बहिनी संगिता वि.क.लाई जाउ कान्छीलाई बोलाएर आउ भनेकोमा बहिनी संगिता सौतेनी आमा कल्पना वि.क.को घरमा गई बहिनी खोई भनी सोधपुछ गर्दा बहिनी निजहरू बस्ने घरमा नभएको थाहा पाएपछि तत्काल बहिनी संगिताले बहिनी छैन भन्दै घरमा आई l म तथा जाहेरवाली पविसरा वि.क.समेतले वरपर तलमाथि खोजतलास गर्दा फेला नपरेपछि सो दिन रातिसम्म खोजी सुतियो l अर्को दिन पनि गाउँ छिमेकसमेतलाई खबर गरी खोजतलास गर्दा फेला परिनन् l यसै क्रममा मिति २०७१।१२।३० गते घरभन्दा पर पाखोबारी जग्गामा मानिसको कपडाहरू खाडलमा अर्ध पुरिएको अवस्थामा छ भन्ने खबर पाई स्थानीय मानिस तथा जाहेरवाली पविसरा वि.क. र मलगायत भई गएर हेर्दा निज बहिनी रिता वि.क.ले हराउँदाका समयमा लगाएका कपडाहरू देखी तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरीसमेत आई हेर्दा सोही कपडाहरूभन्दा मुनि खाडलमा दायाँ खुट्टाको भाग सोही स्थाननजिकै टाउकोको अस्थिपञ्जर कंकाल कपालका रौंहरूसमेत फेला परेकोमा उक्त कपडाहरू खाडलबाट बाहिर निकाली हेर्दा देखी चिनी मेरो आमा जाहेरवाली पविसरा वि.क.ले सनाखतसमेत गरिदिनु भएको हो l यसमा मेरी बैनी रिता वि.क. निज सौतेनी आमा कल्पना वि.क. र बुबा सोबितबहादुर वि.क.को घरअगाडितर्फ खेल्दाखेल्दैका अवस्थादेखि हराएकी, प्रतिवादी हरिप्रसाद बोहरा लगभग एक महिना पहिलादेखि कल्पना वि.क.को घरमा बस्दै आएका र प्रतिवादी सिद्धबहादुर शाही पटक पटक निजहरूका घरमा आउजाउ गर्ने, त्यहाँ बस्दा पनि लामा झाँक्रीका कुरा गर्ने जस्ता कुराहरूबाट निज मेरो बहिनी रिता वि.क.लाई प्रतिवादी कल्पना वि.क., सोवितबहादुर वि.क., सिद्धबहादुर शाही, हरिप्रसाद बोहराले योजना बनाई षड्यन्त्रपूर्वक कर्तव्य गरी मारी खाडलमा दबाउने कार्य गरेकोमा पूर्ण विश्वास लाग्छ l यसरी मेरी नाबालिग बहिनी रिता वि.क.लाई कर्तव्य गरी मार्ने निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनपर्दछ भन्ने बेहोराको श्रीबहादुर वि.क.ले गरिदिएको कागज । 

मिति २०७१।११।१४ गते म विद्यालयबाट करिब १७:०० बजेको समयमा घरमा आई नास्ता खाजा खाई बारीमा मल बोक्न लागेँ l बहिनी रिता वि.क.ले बाख्रा चराउँदै थिई l आमा पविसरा वि.क. घाँस काट्न जानु भएको थियो l मैले मल बोक्दा बोक्दै बहिनीले बाख्रा बाँधी l मलाई मलको भारी घचेड्दिँदै भाँडाहरू धुने गरेकी थिई l यस्तैमा मैले मल बोकिरहेकै अवस्थामा अन्तिम पटक मल लिएर बारीमा गई घरमा आउँदा बहिनी घरमा थिइन l मैले कतै खेल्न गएकी होली भनी तत्काल वास्ता गरिनँ l एकछिनपछि आमासमेत घाँस काटेर आएपछि रातिसम्म पनि घरमा नआएपछि प्रतिवादीहरू मेरै बुबा सोबितबहादुर वि.क. र सौतेनी आमा कल्पना वि.क.बस्ने घरमा गएकी होली भनी निजहरू बस्ने घरमा जाँदा यहाँ त छैन भनेपछि तत्काल वरपर तल माथि खोजतलास गर्दा रातिसम्म फेला नपरेकी हुनाले सो दिन घरमा आई सुतियो l अर्को दिनदेखि कहिले कता कहिले कता गरी खोजतलास गर्दासमेत कुनै जानकारी पाउन 

सकिएन l मेरी यी बहिनी हराउनुभन्दा पहिलादेखि नै प्रतिवादी सोबितबहादुर वि.क.को घरमा प्रतिवादीहरू हरिबहादुर बोहरा बस्दै आएका थिए भने प्रतिवादी सिद्धबहादुर शाही पटकपटक आउने जाने बस्ने 

गर्दथे l उल्लिखित प्रतिवादीहरूले निजै प्रतिवादी कल्पना वि.क.को घरमा बसी लामा झाँक्रीका हातहरू पाउन सकियो भने बहुमूल्य पर्दछ भनी कुरा गर्ने 

गर्दथे l म सानै भएकाले सबै कुरा बुझिनँ l निज मेरो बहिनी रिता वि.क. मिति २०७१।११।१४ गते बेलुका घरबाट हराउनु र मेरी सौतेनी आमा कल्पना वि.क.समेत एक डेढ घण्टाको लामो समयसम्म ९ महिनाको छोरालाई घरमै छाडी हिँडेकी र घरमा आउँदा हस्याङ-फस्याङ गर्दै आएकीसमेतका कुराहरूबाट निज प्रतिवादीहरू कल्पना वि.क. सोवितबहादुर वि.क., सिद्धबहादुर शाही र हरिप्रसाद बोहरासमेतले योजना बनाई षड्यन्त्र गरी मेरो बहिनीलाई कर्तव्य गरी मारी खाडलमा पुरेकोमा पूर्ण विश्वास लाग्छ l निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको संगिता वि.क.को कागज । 

प्रतिवादी सिद्धबहादुर शाहीले प्रयोग गर्ने ९८१३३२३२७९ नं. को मोबाइलबाट प्रतिवादी सोवितबहादुर वि.क.को मोबाइल नं.९८०५८११३५२ प्रतिवादी हरिप्रसाद बोहरा ९८१२८९६५७२, प्रतिवादी कल्पना वि.क. को मोबाइल नं. ९८१६१०९१४२ मा पटक पटक सम्पर्क भएको र प्रतिवादी सोबितबहादुर वि.क.को ९८०५८११३५२ नं. बाट प्रतिवादी कल्पना वि.क.को आमा पार्वती बोहराको ९८०९५९९३४५ नं. मा प्रतिवादी सिद्धबहादुर शाहीको ९८१३३२३२७९ नं. मा पटकपटक सम्पर्क भएको बेहोराको कल डिटेल्स अभिलेखको विश्लेषण । 

मिति २०७१।११।१४ गते साँझ जाहेरवाली पविसरा वि.क.को छोरी वर्ष ८ की रिता वि.क.हराएकी र मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.७ ताप्केस्थित पाखो खरबारी जग्गामा निज रिता वि.क. हराउँदाका अवस्थामा निजले लगाएका ज्याकेट, मिड्डी कपडा दायाँ खुट्टाको भाग खाडलमा अर्ध पुरिएको अवस्थामा र सो स्थान नजिकै मानव टाउकोको अस्थिपञ्जर र कपालका रौंहरूसमेत फेला परेकोमा निज रिता वि.क. हराउनु पहिले प्रतिवादीहरू सिद्धबहादुर शाही, हरिप्रसाद बोहरा, प्रतिवादी सोबितबहादुर वि.क. र कल्पना वि.क.को घरमा पटक पटक आउने जाने, लामो समयसम्म बस्ने, उनीहरू जना ४ भई ठाउँ-ठाउँमा घुम्न हिँड्ने निजै प्रतिवादीहरूको घरमा बसी लामा झाँक्री गर्ने र रिता वि.क. हराएपश्चात् प्रतिवादी कल्पना वि.क. र सोवितबहादुर वि.क.ले कल्पना वि.क.को माइतीघरबाट खोजतलासको निहुँमा पैसासमेत मगाएका तथा रिता वि.क हराउँदाका समयमा प्रतिवादी कल्पना वि.क.समेत एकडेढ घण्टा हराएकीलगायतका कुराहरूबाट जाहेरवालीको छोरी रिता वि.क.लाई निज प्रतिवादीहरूले योजना बनाई षड्यन्त्रपूर्वक कर्तव्य गरी मारी खाडलमा दबाउने कार्य गरेकोमा पूर्णविश्वास लाग्दछ निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोरा भएको करिब एकै मिलानको पहल सिंह थापा, लोकबहादुर सारू, ऋषिराम थापा,  बुद्धबहादुर राना, धनबहादुर सारूसमेतका मानिसहरूले लेखाई दिएको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी कल्पना वि.क.ले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसुर अपराध गरेको देखिँदा निजलाई सोही महलको १३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादीमध्येका सोवितबहादुर वि.क., हरिप्रसाद बोहरा र सिद्दबहादुर बंसी भन्ने सिद्दबहादुर शाहीले सोही ऐनको ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं. बमोजिमको कसुर अपराध गरेको देखिँदा निजहरूलाई सोही ऐन महलको १३(४) नं. बमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको अभियोग    मागदाबी । 

मैले बाख्रे (दुधिलो) को रूखमा बाँधी डोरीको अर्को टुप्पातिरको भागले रिता वि.क.को घाँटीमा पासो लगाइदिई कान्लाबाट धकेली दिएकी हुँ । एकछिनसम्म चलमलाएपछि छोरीको मृत्यु भएको हो । घटनामा मेरो मात्र संलग्नता रहेको 

छ । कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना वि.क.ले सुरू अदालतमा गरेको बयान । 

मैले मेरो आफ्नै छोरीलाई मार्नुपर्ने कुनै कारण छैन र मार्ने तथा मार्नमा सहयोग गर्ने कुनै काम गरेको छैन । म निर्दोष छु । मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सोवितबहादुर वि.क.ले सुरू अदालतमा गरेको 

बयान । 

मृतक रिता वि.क.को मृत्यु सम्बन्धमा मेरो कुनै संलग्नता रहेको छैन । मसमेत माथि आरोप लगाउनुको कारण मात्र म सोवितबहादुरको घरमा आउने जाने गरेकाले हो । म माथिको आरोप झुट्टा हो l अभियोग दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको सिद्दबहादुर शाहीले सुरू अदालतमा गरेको बयान । 

मसमेत विरूद्धको जाहेरी बेहोरा झुठा 

हो । उक्त अपराध घटाउनमा मेरो कुनै संलग्नता 

छैन । म निर्दोष छु । मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी हरिप्रसाद बोहराले अदालतमा गरेको बयान । 

प्रतिवादीहरू उल्लिखित कसुर अपराधमा संलग्न छन् भन्ने बेहोराको वादीतर्फका साक्षी तथा प्रतिवादीहरू निर्दोष छन् भन्ने बेहोराको प्रतिवादीहरूका साक्षीहरूले गरेको बकपत्र मिसिल सामेल रहेको l

मिसिलमा उल्लिखित तथ्य, सङ्कलित प्रमाणहरू, लास प्रकृति मुचुल्कामा उल्लिखित विवरण, प्रतिवादी कल्पना वि.क.ले गरेको साबिती बयान, बरामदी मुचुल्का, सनाखत कागज, घटनास्थल मुचुल्काका फोटोहरूसमेतका प्रमाण कागजातहरूबाट त्यसरी फेला परेको लास / अस्थिपञ्जर रीता वि.क.को भएको र प्रतिवादी कल्पना वि.क.ले घाँटीमा रसीले कसेर निज रीतालाई कर्तव्य गरी मारेको तथ्य स्थापित हुन आयो भने मान्छे झुन्ड्याइएको रसीको आर्थिक मूल्य प्रशस्त हुने भन्ने अपत्यारिलो एवं अवास्तविक कुरा सुनेको आधारमा बहकाउमा परी हत्या गरेको भन्ने तथ्यसमेत मिसिल संलग्न सबुद प्रमाणले पुष्टि गरेको देखियो । प्रस्तुत मुद्दाको घटनाको मुख्य कारण नै प्रतिवादी सिद्धबहादुर शाही, हरिप्रसाद बोहरा तथा सोबितबहादुर वि.क. बिच मान्छे झुन्ड्याइएको डोरी र त्यसको पर्न सक्ने मोलको सम्बन्धमा भएको कुराकानीले अप्रत्यक्ष रूपमा प्रतिवादी कल्पना वि.क.ले आपराधिक मनसाय निर्माण गरी सोहीअनुसार आपराधिक कार्य गर्न दुरूत्साहन मिलेको देखिएको 

छ । प्रस्तुत मुद्दामा प्रतिवादी कल्पना वि.क.ले मार्ने नै मनसायले रिता वि.क.लाई घरबाट पर लगी घाँटीमा पासो कसी झुन्ड्याई मारेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको हुँदा निजले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. र १३(३) नं. बमोजिमको अपराध गरेको ठहर्नाले निज प्रतिवादी कल्पना वि.क.लाई सोही ऐन र महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुन्छ भने अन्य प्रतिवादीहरू सोवितबहादुर वि.क., हरिप्रसाद बेहोरा र सिद्धबहादुर शाहीलाई ऐ. महलको १७(३) नं. बमोजिम जनही १(एक) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू स्याङ्जा जिल्ला अदालतको मिति २०७३।०३।२७ को फैसला । 

सुरू अदालतले गरेको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादी कल्पना वि.क.को अलगअलग पुनरावेदन परेकोमा सुरू अदालतबाट भएको मुद्दाको विवेचना र प्रमाणको मूल्याङ्कनलाई अन्यथा भन्नुपर्ने कारण नदेखिँदा स्याङ्जा जिल्ला अदालतबाट मिति २०७३/०३/२७ मा भएकै फैसला सदर हुने भनी उच्च अदालत पोखराबाट मिति २०७३/१२/०१ मा भएको 

फैसला l

उच्च अदालत पोखराबाट भएको फैसलामा चित्त बुझेन । म पुनरावेदक प्रतिवादी र मृतकबिच मानिस मार्नु पर्नेसम्मको पूर्वरिसइवी केही थिएन l अनुसन्धानको क्रममा र अदालतमा समेत अपराध कसुर स्वीकार गरी न्याय निरूपणमा सहयोग गरेकी छु l मानिस झुन्ड्याइएको डोरीको मूल्यको लोभले घटना हुन पुग्यो, अहिले पश्चाताप भएको छ l तसर्थ, सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई गरेको सुरू फैसलालाई सदर गरेको उच्च अदालतको फैसला चर्को पर्ने र न्यायोचितसमेत नहुने हुँदा अदालती बन्दोबस्तको १८८ नं. बमोजिम घटी सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कल्पना वि.क.ले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र । 

कल्पना वि.क. बाहेकका अन्य प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय हुनुपर्छ भनी लिएको अभियोग दाबी लिएकोमा निजहरूलाई सोहीको १७(३) नं. बमोजिमको सजाय गर्नु न्यायोचित हुने भनी सुरू अदालतले गरेको फैसला सदर गर्ने उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १० र १८ को कानूनी त्रुटि भएकोले सो फैसला बदर गरी अभियोग दाबीअनुसारकै सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र l  

अदालतको ठहर 

सर्वस्वसहित जन्मकैदको सजाय आफूलाई चर्को परेकोले पुनर्विचार हुनुपर्छ भन्ने प्रतिवादी कल्पना वि.क.को र यी कल्पना वि.क. बाहेक घटनाका अन्य प्रतिवादीहरू सोवितबहादुर वि.क., हरिप्रसाद बोहरा र सिद्धबहादुर शाहीलाई पनि अभियोग दाबीअनुसारको सजाय ठहर हुनुपर्छ भन्ने जिकिरसहितको नेपाल सरकारको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययनका क्रममा देखियो l ज्यान मार्ने कार्यमा मुख्य प्रतिवादी कल्पनालाई संयोग पारिदिने कार्य अन्य प्रतिवादीहरूले गरेको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएकोले यी अन्य प्रतिवादीहरूलाई समेत ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम नै सजाय हुनुपर्ने हो भन्ने पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्नुहुने विद्वान्‌ उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठले गर्नुभएको बहस तथा सजाय स्वीकार गरी पश्चातापसमेत गरेको अवस्था र ९ महिने शिशुको आमा भएको कारण पुनरावेदक प्रतिवादी कल्पनालाई मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. अनुसार सजाय छुट गरिनु न्यायोचित हुने भन्ने जिकिरसहितको पुनरावेदक प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्नुहुने सर्वोच्च अदालतका विद्वान्‌ वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवालले गर्नुभएको बहससमेत सुनियो l

मुद्दाको मिसिल अध्ययन गरी विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिरसमेत सुनिसकेपछि प्रस्तुत मुद्दामा प्रतिवादी रहेकी पुनरावेदक कल्पनालाई ठहर भएको सजाय घटाउने अवस्था छ छैन ? अन्य प्रतिवादीहरूलाई अभियोग दाबीअनुसारको सजाय हुनुपर्ने हो होइन ? भन्ने कुरा हेरी यस मुद्दामा उच्च अदालत पोखराबाट भएको फैसला मिलेको नमिलेको के छ भनी निर्णय गर्नुपर्ने देखियो l

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी कल्पना वि.क.ले बालिकालाई रूखमा झुन्ड्याई कर्तव्य गरी मारेको कुरा किटानी जाहेरी, निज प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतसमक्ष गरेको बयान, लास जाँच मुचुल्का, घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, बुझिएका मानिसहरूको बेहोरा तथा प्रतिवादी कल्पना स्वयम्‌ले पेस गरेको पुनरावेदनपत्रमा स्वीकार गरेको हुँदा निज प्रतिवादी कल्पनाले अभियोग दाबीबमोजिमको कसुर गरेको कुरामा थप विवेचना गरिरहनै परेन र अभियोग दाबीअनुसारको कसुर गरेको होइन भन्नेतर्फ यी प्रतिवादीको पुनरावेदन जिकिरसमेत छैन l तसर्थ, निजलाई ठहर भएको सजाय मिलेको छ छैन भन्ने कुरा मात्र हेरे पुग्ने देखियो l 

३. प्रतिवादी कल्पना वि.क.लाई ठहरेको कसुरमा गरेको सजाय मिलेको छ छैन भनी हेर्दा, निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुरमा ऐजनबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने निर्णय गरेको सुरू अदालतको फैसलालाई उच्च अदालतले पुनरावेदनको रोहबाट हेरी सदर गरिदिएको अवस्था छ l यी पुनरावेदिकाले कसुर स्वीकार गरी न्याय निरूपणमा सहयोग गरेको, वारदातप्रति हाल पश्चाताप रहेको, मानिस झुन्ड्याएको डोरीलाई करोडौं पर्छ भनी अन्धविश्वासमा परी के गरेँ भन्नेसमेत जानकारी नभई घटना घटाएको, साङ्घातिक हतियार प्रयोग नगरेको, आफ्नो उमेर भर्खरकै भएको कारणबाट गरेको सर्वस्वसहित जन्मकैदको सजाय चर्को भएको हुँदा सो फैसला उल्टी गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम कम सजाय गरिपाउँ भनी पुनरावेदन जिकिर देखियो l प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी कल्पना वि.क.ले आफ्नो सौता दिदी अर्थात्‌ जाहेरवाली पविसरा वि.क.को ८ वर्षकी नाबालिग छोरी रिता वि.क.लाई क्रूरता एवं निर्मम तरिकाले झुन्ड्याई मारेको र अपराध लुकाउनका लागि मृतकको लास दबाउने छिपाउने उद्देश्यले खाडलमा पुरेकोसमेत देखिन्छ भने यी बालिकाको हत्या गर्नलाई अरूहरूको समेत उक्साहटमा लामो समयदेखि योजना बुनी अपराध कार्य सम्पन्न गरेको देखिन आउँछ l मृतक बालिकाको उमेर हेर्दासमेत झै-झगडा र नोकझोकमा परी आवेशमा आई वा निज बालिकासँग कुनै कुराको बदला लिनलाई उनको हत्या गरेको भन्ने देखिँदैन l प्रतिकार गर्न पनि नसक्ने एक अवोध छोरीलाई पैसाको लोभमा योजनाबद्ध तरिकाले पासो लगाई मारेको र निज छोरी डोरीको पासोमा छटपटाउँदासमेत निर्दयी बन्नसक्ने यी कसुरदार महिलालाई उक्त सजाय चर्को पर्ने भयो भनी छुट दिन न्यायको रोहमा मनासिब देखिन 

आएन l मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. ले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने निर्णयकर्ताको चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुने र अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुने कानूनी व्यवस्था गरेको 

पाइन्छ । वस्तुतः अपराधको परिस्थिति र कसुरदारको मनसाय तत्त्वलाई समेत अत्यन्त सुझबुझका साथ विश्लेषण गरी कसुरअनुसारको न्याय परोस् भन्नका निमित्त सजाय निर्धारण गर्ने सम्बन्धमा न्यायकर्तालाई स्वविवेकीय अधिकार प्रयोग गर्न दिने गरी यस प्रकारको कानूनी व्यवस्था भएको पाइन्छ l न्यायिक सक्रियता र न्यायकर्ताको स्वविवेकीय अधिकार कानूनी छिद्र प्रयोग गरी सीमित मानिसलाई फाइदा वा बेफाइदा पुग्ने गरी होइन कि यसलाई न्यायकर्ताले नै न्यायको कसीमा उच्च नैतिकता र विवेकका साथ प्रयोगमा ल्याउनुपर्ने हुन्छ l तसर्थ, अपराध स्वीकार गरेको र हालको पश्चातापको कारणले मात्र मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. को प्रयोग गरी यी पुनरावेदक प्रतिवादी कल्पना वि.क.को सजाय घटाउन मिल्ने अवस्था देखिएन । 

४. प्रतिवादी कल्पना वि.क.लाई सर्वस्वसमेत हुने गरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने उच्च अदालतको प्रस्तुत फैसला भने परिवर्तित कानूनी व्यवस्थाको सन्दर्भमा विचारणीय 

देखिन्छ l मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) मा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी व्यवस्था, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा भएको कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नु पर्नेछ भन्ने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा सुरू स्याङ्जा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी उच्च अदालत पोखराबाट भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा यी पुनरावेदक प्रतिवादी कल्पना वि.क.उपरको सर्वस्वको सजाय हुने गरी खडा भएको लगत कट्टा गर्नुपर्ने अवस्था देखियो । 

५. वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, मूलत: प्रतिवादीमध्येका सोवितबहादुर वि.क., हरिप्रसाद बोहरा र सिद्धबहादुर शाहीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं. बमोजिम कसुर गरेको देखिँदा निजहरूलाई ऐजनको १७(३) बमोजिम सजाय गरेको उच्च अदालतको फैसला मिलेको नभई सो फैसला उल्टी गरी ऐ. महलको १३(४) नं. बमोजिम अभियोग दाबीअनुसारकै सजाय हुनुपर्छ भनी पुनरावेदन जिकिर लिएको पाइन्छ l प्रतिवादी सोवित वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७१।११।१४ मा साँझ श्रीमती कल्पना वि.क.ले नौ महिनाको छोरालाई मेरो साथमा छाडी बाहिर गएकोमा डेढ घण्टापछि हस्याङ-फस्याङ गर्दै आएकी थिइन्, सोही समयमा छोरी रीता वि.क. हराएकोमा खोजतलास गर्ने क्रममा नभेटिएपछि खोजतलासका लागि सासूसँग कल्पनाले रू.५०,०००।- माग गरी मेरो नाममा पठाई दिनुभएको थियो । पछि लास फेला परी बुझ्दै जाँदा श्रीमती कल्पनाले हत्या गरेको थाहा भयो l सो हत्यामा मेरो कुनै सल्लाह र योजना थिएन । गत माघ महिनामै सिद्धबहादुर शाही मेरो घरमा आएको बखत मानिस झुन्डिएको रसी पाएमा महङ्गोमा बिक्री हुन्छ भनी बताएकोसम्म हो भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको 

देखिन्छ । निज प्रतिवादीले तदनुरूप नै सुरू अदालतमा पनि बयान गरेको देखिन्छ । त्यस्तै प्रतिवादीहरू हरिप्रसाद बोहरा र सिद्धबहादुर शाहीले अधिकारप्राप्त अधिकारी एवं सुरू अदालतसमक्ष मान्छे झुन्ड्याइएको रसीको राम्रो मूल्य पर्छ भन्ने गफका सन्दर्भमा कुरा भएको हो तर उल्लिखित घटना तथा अपराधमा आफ्नो कुनै किसिमको संलग्नता र सहयोग छैन भनी बयान गरेको देखिन्छ । 

६. जाहेरी दरखास्तको बेहोरा एवं जाहेरवालाको बकपत्रबाट यी प्रतिवादीहरूसमेतको योजना, सल्लाह र वचनअनुसार रीता वि.क.को हत्या भएको भन्ने देखियो । मौकामा कागज गर्ने नन्दलाल वि.क. समेतका भनाइले उक्त जाहेरी बेहोरा समर्थित भएको अवस्था छ । प्रस्तुत मुद्दाको अपराध र आपराधिक कार्यको प्रमुख कारणीको रूपमा रहेकी प्रतिवादी कल्पना वि.क.ले अधिकारप्राप्त अधिकारी एवं सुरू अदालतसमक्ष उक्त अपराध आफूले मात्र घटाएको भनी स्पष्ट रूपमा बयान गरेको देखिन्छ । प्रतिवादीहरूमध्ये सोवितबहादुर वि.क. र हरिप्रसाद बोहरा प्रतिवादी कल्पना वि.क.को क्रमश: आफ्नै श्रीमान् र बुबा नाताको देखिन्छ भने सिद्धबहादुर शाही बुबाको साथी रहेको देखिन्छ । मान्छे झुन्डिएको डोरीको राम्रो मूल्य पर्छ भन्ने कुरा सिद्धबहादुर शाहीले हरिप्रसाद बोहराको घरमा भेट हुँदाको समयमा भनेको भन्नेसम्म प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रतिवादीहरूको बयानबाट देखिएको छ तर सो प्रयोजनार्थ यी अन्य प्रतिवादीहरूले मृतक बालिकालाई नै मार्ने भन्ने कार्यमा कुनै वचन दिएको, योजना तथा षड्यन्त्र गरेको र मार्ने कार्यमा वारदात स्थलमा उपस्थित भएको वा जोरजुलुम गरेको भन्ने तथ्य मिसिल संलग्न कुनै पनि प्रमाणबाट देखिन 

आएन । प्रतिवादीहरूको इन्कारी बयानलाई निजहरूको साक्षी बकपत्रले समर्थन गरेको गरेको अवस्था 

देखियो । यी प्रतिवादीहरूले मृतकलाई मार्न यो यसरी यसबेला वचन दिएको वा वारदात स्थलमा यी प्रतिवादीहरू उपस्थित भई मृतकलाई मार्न जिउमा यो यसरी हात हालेको भनी वादी नेपाल सरकारले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वस्तुनिष्ठ एवं विश्वसनीय प्रमाण गुजार्न सकेकोसमेत देखिँदैन । 

७. उपर्युक्त अवस्थामा अनुमानकै भरमा अभियोग दाबीबमोजिम निज प्रतिवादीहरूलाई सजाय गर्न फौजदारी न्यायको मान्य सिद्धान्तले दिँदैन । कानूनतः मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. ले जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नलाई संयोग पारिदिन निमित्त मर्ने मानिसको जिउ हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्ने कानूनी व्यवस्था गरेको 

पाइन्छ । यस सन्दर्भमा, मिसिल संलग्न तथ्य प्रमाणबाट उपर्युक्त कानूनी व्यवस्थाबमोजिमको तथ्य स्थापित हुन नसकेको अवस्थामा पुनरावेदक वादी नेपाल सरकारले मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम नै निज प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी लिएको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । तसर्थ, निज प्रतिवादीहरूले रसी पासोसम्बन्धी मूल्यको कुराकानी गरेको वा सोसम्मको क्रियाले अप्रत्यक्ष रूपमा मुख्य अपराध गर्ने प्रतिवादी कल्पना वि.क.लाई अपराध कार्य गर्न दुरूत्साहन मिलेको देखिँदा र यी प्रतिवादीहरू ज्यान मार्ने मतलबीको रूपमा रहेकोसम्म पाइएकोले ज्यानसम्बन्धीको १७(३) नं. ले निज प्रतिवादीहरूलाई जनही एक वर्ष कैद हुने ठहर्‍याई सुरू अदालतले गरेको फैसला सदर गर्ने गरी भएको उच्च अदालतको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन l

८. अतः प्रस्तुत मुद्दामा प्रतिवादी कल्पना वि.क.ले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत र १३(३) नं. बमोजिमको अपराध गरेको ठहरेकोले निज प्रतिवादी कल्पना वि.क.लाई सोही ऐन र महलको १३(३) नं. बमोजिम जन्मकैद र अन्य प्रतिवादीहरू सोवितबहादुर वि.क., हरिप्रसाद बेहोरा र सिद्धबहादुर शाहीलाई ऐ. ऐन र महलको १७(३) नं. बमोजिम जनही १(एक) वर्ष कैद सजाय हुने ठहर्‍याई स्याङ्जा जिल्ला अदालतबाट मिति २०७३/०३/२७ मा भएको फैसलालाई सदर गरेको उच्च अदालत पोखराको मिति २०७३/१२/०१ को फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ l प्रस्तुत मुद्दामा प्रतिवादी कल्पना वि.क.लाई सर्वस्वको सजायसमेत हुने ठहर गरेको स्याङ्जा जिल्ला अदालतको सो फैसलालाई सदर गर्ने उच्च अदालत पोखराको फैसला हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) र फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा भएको कानूनी व्यवस्थाबमोजिम कायम हुन नसक्ने भई निज प्रतिवादी कल्पना वि.क.को हकमा सर्वस्व हुने गरी ठहरेको लगतसम्म कट्टा हुने ठहर्छ l वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन l अरूमा तपसिलबमोजिम गर्नू l 

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी कल्पना वि.क.लाई भएको सर्वस्वको सजाय नहुने भएकोले निज प्रतिवादी कल्पना वि.क.को हकमा सर्वस्व हुने गरी कायम भएको लगत कट्टा गरिदिनू भनी सुरू स्याङ्जा जिल्ला अदालतमा लेखी पठाई दिनू-------------------------------------------------१

प्रस्तुत मुद्दाको फैसला अदालतको विद्युतीय प्रणालीमा अपलोड गरी मिसिलको अभिलेख राख्ने व्यवस्था मिलाउनू----------------------------------२

 

उक्त रायमा सहमत छु । 

न्या.तेजबहादुर के.सी.

 

इजलास अधिकृतः ताराप्रसाद डाँगी

इति संवत् २०७६ साल कार्तिक ५ गते रोज ३ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु