निर्णय नं. १०४९६ - जिउ मास्ने बेच्ने l

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।७।५
०७४-CR-१५०३
मुद्दाः जिउ मास्ने बेच्ने l
पुनरावेदक / प्रतिवादी : सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय सप्तरीमा थुनामा रहेको वर्ष ५७ को वैजनाथ यादव
विरूद्ध
प्रत्यर्थी / वादी : आमोदचन्द्र झाको जाहेरीले नेपाल सरकार
सम्बद्ध घटना परिस्थितिसँग सामञ्जस्यता राख्ने पीडितको मौकाको अभिव्यक्तिलार्इ प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै हुँदा मुद्दाको कारबाही र किनाराको क्रममा गरिने प्रमाणहरूको मूल्याङ्कन कानूनी व्यवस्था मात्रको निरपेक्षतामा नभई सम्बद्ध घटना र परिस्थितिको सापेक्षतामा एक विवेकयुक्त चेतद्वारा निर्दिष्ट सत्यको खोजीमा आधारित हुने ।
(प्रकरण नं.२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुमनकुमार पौडेल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्या. श्री कृष्णप्रसाद बास्तोला
सप्तरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री रामप्रसाद ओली
माननीय न्यायाधीश श्री दयानाथ खरेल
उच्च अदालत जनकपुर, राजविराज इजलास
फैसला
न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा (१) बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ-
मुद्दाको तथ्य
मिति २०५७।५।२९ गते बेलुकी अन्दाजी ९ बजेको समयमा राजविराज नगरपालिका वडा नं.६ स्थित वैजनाथ यादवको घरमा महिला चिच्याएको आवाज सुनी त्यहाँ गई हेर्दा एउटा अपरिचित मान्छेले महिलालाई जबरजस्ती समाती आफ्नो काबुमा पार्न प्रयत्न गरिरहेको थाहा पाई बन्द रहेको ढोका खोल्दा कोठाभित्रबाट एउटा पुरूष मान्छे निस्की भागेको र एउटा महिला पनि अतालिँदै बाहिर आई मलाई सुनिता यादवले नोकरी लगाई दिने प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्ति गर्न लगाएकी हुन् भनी बताएकी हुँदा निज वैजनाथ यादव, सुनिता यादव, कमली यादव तीनै जनालाई जिउ मास्ने बेच्ने ऐनअन्तर्गत कारबाही गरिपाउँ भन्ने मिति २०५७।५।३० को जाहेरी दरखास्तको बेहोरा ।
मिति २०५७।५।२८ गते दिदी सकिला खातुनले राजविराजमा रक्सी पार्ने औषधी किन्न पठाएकोले राजविराजमा औषधी किनी पहिल्यैदेखि चिनजानकी सुनिता यादवले मलाई मिता भनी बोलाई आफ्नो घर लगी जागिर लगाइदिने लोभ देखाई कोठामा छाडी नोकरी लगाइदिने मान्छे आएको छ भनी लोग्ने मान्छेलाई म भएको कोठामा पठाएपछि निज लोग्ने मान्छेले वैजनाथलाई रू.३००।- दिएर मलाई करणी गर्न खोजेको हुँदा मैले सोअनुसार अनुचित कार्य गर्न दिन इन्कार गरेपछि मलाई खुकुरी देखाई ज्यान मार्ने धम्की दिएकोले म डरले चुप लागेँ । निजले मलाई करणी गरी गरेर गए l करणी गर्नेमा मैले चिनेका महमद जसो र महमद उस्मान थिए भन्नेसमेत बेहोराको पीडित बेबी खातुनले गरेको अधिकारीप्राप्त अधिकारीसमक्ष गरेको मौकाको कागज ।
जिल्ला सप्तरी राजविराज-६ खर्साल टोल राजविराज बजारतर्फ जाने बाटोदेखि पश्चिम राजकुमार साहको बाँसघारीदेखि पूर्व, राजकुमार साहको घरदेखि दक्षिण, उपेन्द्र यादवको धानखेतदेखि उत्तर चारकिल्लाभित्र रहेको पश्चिमतर्फको घर उत्तर दक्षिण फैलिएको सो घरको उत्तरतर्फको कोठा खुल्ला
रहेको l सो कोठाको भुइँमा सुकुल ओछ्याइएको पीडित महिलाले देखाएबमोजिमको घटनास्थल मुचुल्का ।
वैजनाथ यादव, सुनिता यादव र कमली यादवलाई पक्राउ गरी दाखिल गरेका छौं l कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
मैले पहिले चिनेकी बेबी खातुन नाम गरेकी महिला मिति २०५७।५।२८ गते मेरो पसल छेउमा दिउँसोको समय रूपनी रोड राजविराजमा उभिरहेको देखी निजलाई बोलाई मेरो घरमा जाउँ, म नोकरी लगाइदिन्छु भनी फकाउँदा निजले मेरो कुरा मानेकीले निज बेबी खातुनलाई घरमा लगी म, मेरी आमा कमली यादव र बाबु वैजनाथ यादवसमेतले ललाई फकाई डर त्रास देखाई वेश्यावृत्तिमा लगाएको हो । हाम्रो घरमा मैले नचिनेका बुबाले चिनेका महिला मानिससमेत आउँछन् । वेश्यावृत्ति गर्न आउने पुरूषहरू म
चिन्दिन l बुबाले मात्र चिन्नुहुन्छ भन्नेसमेत बेहोरा भएको प्रतिवादी सुनिता यादवले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०५७।५।२८ गते मेरी छोरी सुनिता यादवले मेरी साथी हुन् भनी बेबी खातुनलाई घरमा लिई आएकी थिइन् । श्रीमान्सँग चिनजान भएका मान्छे घरमा आउने जाने गर्दथे । म घर व्यवहारले फुर्सद पाउँदिन थिएँ । श्रीमान्ले घरमा आउने ती मानिसहरूसँग पैसा लिई करणी गराउँदा रहेछन् । निज बेबी खातुन घर जान्छु भनी भनेकी हुँदा मैले नजानुसम्म भनेकी हुँ । बेबी खातुन बसेको कोठामा जाने आउने र ढोका खोली मान्छे छिराउने आदि कामसमेत छोरी सुनिताले गर्दथिन् भन्नेसमेत बेहोराको प्रतिवादी कमली यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०५७।५।२८ गते मेरी छोरी सुनिता यादवसँग बेबी खातुन नाम गरेकी केटी आएकी र सो दिन मेरो घरमा बसेकी हुन् । निजले पैसा छैन भनेकीले म नोकरी लगाइदिन्छु भनी मेरो सम्पर्कमा आउने नाम थर वतन थाहा नभएको केटाहरूबाट पैसा असुल गर्दै बेबी खातुनसँग जबरजस्ती डर त्रासमा पारी करणी गराएको हुँ । यसैक्रममा भोलिपल्ट बेबी खातुन बेदनाले चिच्याउँदा छिमेकीहरूले थाहा पाई जाहेरी दिएका हुन् । मैले निजलाई करणी गराएबापत रू.३०० देखि रू.५०० सम्म पटक पटक लिएँ । केही रकम बेबी खातुनलाई दिएँ । श्रीमतीले चिनेका महिलासमेत आई पहिले-पहिले यहाँ बस्ने गर्दथे भन्नेसमेत बेहोराको वैजनाथ यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
हाल पक्राउ परेका वैजनाथ यादव, कमली यादव र सुनिता यादवलाई चिनेँ l म घरतिर जान लाग्दा यिनै सुनिता यादवले फकाई फुल्याई प्रलोभन देखाई आफ्नो घर पुर्याई निजको बाबु वैजनाथसमेत भई कोठामा थुनी परपुरूषसँग करणी गराएका हुन् । वेश्यावृत्तिमा संलग्न गराउने वैजनाथको श्रीमती कमली यादवसमेत हुन् l हेरी चिनी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको बेबी खातुनले गरिदिएको सनाखत कागज ।
राजविराज नगरपालिका-६ खर्साल टोलस्थित पूर्व राजविराज नगरपालिका बजार जाने बाटो, पश्चिममा राजकुमार साहको बाँसघारी, उत्तरमा राजकुमार साहकै घर, दक्षिणमा उपेन्द्र यादवको धानबारी यति चारकिल्लाभित्र रहेको पश्चिमतर्फको उत्तर दक्षिण फैलिएको टालीको छाना भएको घर, सो घरको कोठामा पसी हेर्दा कोठाको दक्षिणतर्फ बिँड नभएको खुकुरी-१ र पोलिथिन झोलामा राखिएको किलिप, क्रिम र लिपिष्टिक रहेको प्लाष्टिकको झोलासमेत बरामद भएको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मलाई देखाएको बरामद भई आएको अन्दाजी १६ इन्च लामो यो बिँड नभएको खुकुरी निज वैजनाथ यादवले मलाई वेश्यावृत्तिमा लगाउन डर त्रास देखाउन प्रयोग गरेको खुकुरी हो l बरामद भएको क्रिम, लिपिष्टिक र कपालमा लगाउने क्लिप मेरो हो भन्ने बेहोराको बेबी खातुनले गरिदिएको सनाखत कागज ।
मिति २०५७।५।२९ गते बेलुकी अन्दाजी ९.०० बजेको समयमा वैजनाथ यादवको घरमा कुनै महिला चिच्याएको जस्तो आवाज आएकोले मसमेत उक्त घरमा गई हेर्दा पश्चिमतर्फको वैजनाथ यादवको घरको उत्तरतर्फ बन्द कोठामा महिलालाई जबरजस्ती करणी गरेजस्तो सुनी सो कोठा खोल्न भनी बाहिरबाट मसमेतले भनेपछि ढोका खोली हेर्न खोज्दा एक जना अपरिचित मान्छे भागेर गए l एकजना अपरिचित केटी रूँदै बाहिर निस्की मलाई वैजनाथ यादव, कमली यादव र सुनिता यादवले ललाई फकाई डर त्रास देखाई जबरजस्ती वेश्यावृत्तिमा लगाएका हुन् भनी भनेकी हुँदा जाहेरवालाले प्रहरीमा पीडितसहित जाहेरी पेस गरेका हुन् । निज वैजनाथ यादवको घरमा पहिलादेखि वेश्यावृत्ति गर्ने महिला तथा पुरूषहरू आउने गर्दथे । हामीले पटक-पटक यसो नगर्नुहोस् भनी सम्झाउँदासमेत नमानी उक्त कार्य गर्दै आएका थिए भन्नेसमेत बेहोराको बुझिएका राजकुमार साहसमेतका जना तीनले लेखाई दिएको घटना विवरण कागज ।
मिति २०५७।५।२९ गते राति प्रतिवादी वैजनाथ यादवको घरमा हो-हल्लाह भएको आवाज सुनी मसमेत उक्त स्थानमा जाँदा वैजनाथ यादव, कमली यादव र सुनिता यादवले १ जना केटीलाई डर त्रास देखाई वेश्यावृत्तिमा लगाएको भन्ने निज पीडित बेबी खातुनले बताएपछि थाहा भयो । निज वैजनाथ यादवको घरमा पहिलेदेखि नयाँ-नयाँ महिला केटीहरू आउने जाने गर्दथे l वैजनाथले घरमा वेश्यावृत्ति गराउँदै आएका थिए भन्ने एकै मिलानको बेहोरा खुलाई बद्रीदाससमेतका जना पाँचले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरूमध्ये सुनिता यादवले बेबी खातुनलाई पहिले मिता भनी नजिकको मान्छे भएजस्तो भान पारी जागिर लगाइदिने, पैंसा दिनेसमेतका प्रलोभन दिई फकाई घरमा ल्याई प्रतिवादी वैजनाथ र कमलीसँग चिनजान गराई सबैले सोही कुरा दोहोर्याई प्रलोभन देखाएपछि बेबी खातुन घर जान खोज्दा धाकधम्की त्रास दिई घरको ढोका थुनी कोठाभित्र बन्दी बनाई लगातार दुई दिनसम्म वेश्यावृत्तिमा लगाएको कुरा प्रमाणित हुन आएको र यी तीनैजना प्रतिवादी एकै घर परिवारका मान्छे भएकोले घरमा पीडितलाई थुनी राखी वेश्यावृत्ति गराउनमा तीनैजना प्रतिवादीको समान किसिमको संलग्नता रहेको देखिँदा उल्लिखित प्रतिवादीहरू वैजनाथ यादव, कमली यादव र सुनिता यादवलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) अनुसारको कसुर अपराधमा ऐ.ऐनको दफा ८(३) बमोजिम सजाय गरिपाउन मागदाबी लिइएको छ । प्रतिवादीहरूमध्ये सुनिता यादवले आफ्नो उमेर १४ वर्ष भनी लेखाएको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम हुन माग दाबी लिइएको भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
म बेबी खातुनलाई चिन्दिन । बेबी खातुनलाई घरमा ल्याई करणी गराएको हैन छैन । प्रहरीले कुटपिट गरी डर त्रास देखाई बयानमा सही गर्न लगाएका हुन् । झुठ्ठा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कमली यादवले सुरू अदालतमा गरेको इन्कारी बयान ।
म बेबी खातुनलाई चिन्दिन । पुरानो रिसइवी साँध्न यो झुठ्ठा उजुर गरेका मात्र हुन् । मसमेत भई निज बेबी खातुनलाई अनैतिक देह व्यापार गराएको भन्ने आरोप झुठ्ठा हो । प्रहरीले जबरजस्ती कुटपिट गरी बयान गराएको हो । बेबी खातुनलाई वेश्यावृत्तिमा नलगाएको हुँद झुठ्ठा अभियोगदाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको वैजनाथ यादवले सुरू अदालतमा गरेको इन्कारी बयान ।
मैले बेबी खातुनलाई नोकरीको प्रलोभन दिई फकाई वेश्यावृत्तिमा लगाउन घर लिएर गएको हैन । निजलाई मैले जिल्ला प्रहरी कार्यालयमा मात्र देखेको हुँ l म बेबी खातुनलाई चिन्दिन । तसर्थ, झुठ्ठा अभियोग दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुनिता कुमारी यादवले सुरू अदालतमा गरेको इन्कारी बयान ।
जाहेरी बेहोरा सही सत्य हो l मिति २०५७।५।२८ गते प्रतिवादी सुनिता यादवले मलाई फकाई जागिर लगाइदिने, पैसा पनि दिने प्रलोभनमा फसाई जबरजस्ती वेश्यावृत्तिमा लगाई ऐजन २८ र २९ गते क्रमश: तीनजना र दुईजना मानिससँग करणी गर्न लगाएकाले असह्य पीडा भई कराउँदा बाहिरका मानिसहरूले थुनी थाहा पाई प्रस्तुत जाहेरी दिएका हुन् भन्नेसमेत मूल बेहोरा भएको पीडित बेबी खातुनले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०५७।५।२९ गते राति ९.४५ बजेको समयमा मेरो छिमेकी वैजनाथ यादवको घरबाट महिला चिच्याएको आवाज सुनी के भएछ भनी अन्य छिमेकीहरूसहित गई हेर्दा ती कराउने केटी मानिसलाई सुनिता यादवले ललाई फकाई घर ल्याएको र वैजनाथ तथा कमली यादवसमेत भई ढोका थुनी वेश्यावृत्तिमा संलग्न गराएको थाहा भयो l पहिले पनि यस्तै कसुरमा निज वैजनाथ पक्राउ परिरहने, निजको घरमा महिला तथा नयाँ-नयाँ केटीहरूको भिडभाड भइरहने हुँदा जाहेरी बेहोराबमोजिम कसुर अपराध गरेको हो भन्नेसमेत बेहोरा भएको जाहेरवाला अमोदचन्द्र झाले अदालतमा गरेको बकपत्र ।
एउटी अवला स्त्रीले अदालतमा आई आफू यी यी मानिसहरूको जालप्रपन्चबाट बलात्कृत हुन पुगेको भनी बताएको कुरालाई घटनाक्रमले पुष्टि गरेको अवस्था विद्यमान रहेको देखिँदा यी प्रतिवादीहरूले पीडित बेबी खातुनलाई वेश्यावृत्तिमा लगाएको ठहरेकाले निज प्रतिवादीहरू वैजनाथ भन्ने वैद्यनाथ यादव, प्रतिवादी कमली यादवसमेतलाई अभियोग दाबीबमोजिम जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(३) बमोजिम १० (दश) वर्ष कैद सजाय हुने ठहर्छ l प्रतिवादीमध्येकी सुनिता यादवको हकमा निज वारदात हुँदाको मिति २०५७।५।२८ मा नाबालिग नै देखिन आएको हुँदा निज प्रतिवादी सुनिता यादवलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम तजविजी ७ (सात) वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सप्तरी जिल्ला अदालतबाट मिति २०५८।२।१७ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा सुरू अदालतबाट भएको फैसलामा चित्त नबुझाई यी प्रतिवादी वैजनाथले उच्च अदालत जनकपुर, राजविराज इजलासमा अभियोग दाबीबाट सफाइ पाउँ भनी पुनरावेदन गरेकोमा पुनरावेदक प्रतिवादी वैजनाथ यादवलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(३) बमोजिम १० (दश) वर्ष कैद सजाय गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०५८।२।१७ मा भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन l सो फैसला मिलेकै देखिँदा सदर हुन्छ, यी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत जनकपुर राजविराज इजलासको मिति २०७४/१०/१० को फैसला l
पीडित भनिएकी बेबी खातुनलाई मेरी छोरी सुनिताले घरसम्म लगेको देख्ने कोही नभएको, निजमाथि जबरजस्ती करणी भएको भन्ने तथ्य चिकित्सकीय प्रमाणबाट पुष्टि नभएको अवस्थामा जाहेरवाला एवं पीडितको बेहोरा आफैँमा खण्डित भइरहेको, वारदातस्थलको प्रकृतिअनुसार वारदातको सम्भावना एवं कार्य नै शून्य रहेको आधार प्रमाणबाट म निर्दोष छु l प्रमाण ऐन, २०३१ को दफा २५ को अनुसार मलाई दोषी करार गर्नलाई आवश्यक पर्ने प्रमाण वादी पक्षले गुजार्न सकेको छैन l तसर्थ, मलाई १० वर्ष कैद सजाय गर्ने सुरू तथा उच्च अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी वैजनाथ यादवले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र l
अदालतको निर्णय
प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी वैजनाथको तर्फबाट कानूनी प्रतिरक्षाको लागि उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री सुमनकुमार पौडेलले वेश्यावृत्ति भएको कुरा मेडिकल रिपोर्टबाट पुष्टि हुन नसकेको अवस्थामा प्रतिवादीउपरको अभियोगदाबी ठहर्न सक्तैन भनी गर्नुभएको बहस पनि सुनियो l
बेबी खातुनलाई जागिर लगाइदिनेसम्मको प्रलोभन र मौकामा डर त्राससमेत देखाई आफ्नै घरमा लगी बाहिरिया पुरूषहरू बोलाई वेश्यावृत्तिमा लगाएको हुँदा प्रतिवादीहरू सुनिता यादव, वैजनाथ यादव र कमली यादवलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसुरमा ऐजन ऐनको दफा ८(३) बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको तत्कालीन श्री ५ को सरकारको अभियोग मागदाबी रहेकोमा पुनरावेदक प्रतिवादी वैजनाथ यादवले अदालतमा कसुर इन्कार गरी बयान गरेको भए तापनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफू कसुरमा साबित रहेको कुरालाई सङ्कलित कागज प्रमाणले समर्थन गरेको आधार कारणसमेतबाट निज प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको ठहर्याई १० (दश) वर्ष कैद सजाय गर्ने गरी सुरू अदालतबाट फैसला भएको र सो फैसलालाई उच्च अदालतले पुनरावेदनको रोहबाट हेरी सदर गरिदिएको देखिन्छ l महिलालाई वेश्यावृत्तिमा लगाएको भनी आफूउपर ठहर भएको कसुरलाई पुष्टि गर्ने प्रमाण वादी पक्षले गुजार्न नसकेको हुँदा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको प्रस्तुत फैसला प्रमाण मूल्याङ्कनका हिसाबले त्रुटिपूर्ण छ, त्यसकारण उक्त फैसला उल्टी गरी आफूलाई अभियोगदाबीबाट अलग फुर्सद दिलाइनु पर्छ भन्ने जिकिरसहित यी प्रतिवादी वैजनाथको पुनरावेदन यस अदालतमा दायर भएको रहेछ l उपर्युक्त तथ्य भएको यस मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट मिति २०७४/१०/१० मा भएको फैसला मिलेको छ छैन, प्रतिवादीको पुनरावेदक जिकिर पुग्छ, पुग्दैन भनी निर्णय दिनुपर्ने देखियो l
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर गरेका हुन् भन्नलाई वादी पक्षले आसन्न छिमेकीले तत्कालै दिएको किटानी जाहेरी, पीडित महिला बेबी खातुनले आफूमाथि यौन दुर्व्यवहार भएको भनी लेखाइदिएको मौकाको कागज, बरामद भएका खुकुरीलगायत पीडित महिलाले प्रयोग गर्ने गरेका शृङ्गारका सामग्री, पेस भएका दसीको सनाखत कागज, बुझिएका मानिसहरूले लेखाइदिएको बेहोरालाई दसी प्रमाणको रूपमा पेस भएको पाइन्छ l पीडित बेबी खातुनले मौकामा र अदालतमा गरेको बकपत्रमा वैजनाथको छोरीले फकाई घरमा लगेपछि जागिर दिन्छु भनी प्रलोभन देखाई नोकरी लाइदिने मानिस उनै हुन् भनी तिनै अपरिचित पुरूषसँग कोठामा थुनी दिएको र यी प्रतिवादीहरूको कर्तुत बुझेपछि आफूले प्रतिकार गर्न खोज्दा खुकुरी देखाई ज्यान मार्ने धम्की दिई डरधाकसम्म देखाएको, पहिलो दिन तीनजना र दोस्रो दिन दुईजनासँग रकम लिई मलाई करणी गराएको भनी एकै बेहोराको कागज तथा बकपत्र गरेको पाइन्छ । त्यसैगरी, प्रतिवादी बैजथान यादवको घरमा पीडितलाई थुनी राखेको कोठाबाट बरामद भएको खुकुरी, क्रिम, लिपिस्टिक र कपालमा लगाउने क्लिपसमेत बरामद भएको
छ l बरामद यो खुकुरी आफूलाई डर देखाउन प्रयोग गरिएको थियो l बरामद यी शृङ्गारका यी सामग्री मेरै हुन् l मलाई वैश्यावृत्तिमा लगाउने मानिस यिनै वैजनाथ यादव हुन्, देखेँ चिनेँ भनी पीडितले सनाखत गरिदिएको पाइन्छ l आफूलाई करणी गर्ने मानिसहरूले वैजनाथलाई पाँच सय र तीन सय रूपैयाँ दिएका छौँ भनी पालैपालो आई करणी गरेका र वैजनाथ स्वयम् नै आई उनीहरूलाई करणी गर्न दिनु, नदिएमा काटिदिन्छु भनी बाहिर निस्की ढोका लगाइदिएको भनी पीडित महिलाले मौकामा कागज गरिदिएकी रहिछिन् l पीडित महिलाले यी प्रतिवादीलाई त्यसप्रकारको आरोप लगाउनु पर्नाको अन्य छुट्टै कारण केही थियो कि त भन्नलाई त्यस्तो अर्थपूर्ण सम्बन्ध देखिने रिस, आक्रोश, बदला, पूर्व परिस्थिति, सम्बन्ध, लेनदेन वा यस्तै अवाञ्छित कुनै दबाब प्रभाव रहे भएको भन्ने मिसिल संलग्न अनुसन्धान प्रतिवेदनबाट खुल्न आएको देखिँदैन l प्रतिवादीहरूले पनि सो कुरालाई अन्यथा भन्न र औचित्यपूर्ण तरिकाले खण्डन गर्नसकेको देखिँदैन l सम्बद्ध घटना परिस्थितिसँग सामञ्जस्यता राख्ने यसप्रकारको पीडितको मौकाको अभिव्यक्तिलाई प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै हुन्छ l मुद्दाको कारबाही र किनाराको क्रममा गरिने प्रमाणहरूको मूल्याङ्कन कानूनी व्यवस्था मात्रको निरपेक्षतामा नभई सम्बद्ध घटना र परिस्थितिको सापेक्षतामा एक विवेकयुक्त चेतद्वारा निर्दिष्ट सत्यको खोजीमा आधारित हुने हुँदा पीडित बेबी खातुनले अनुसन्धानको क्रममा व्यक्त गरेको कुरालाई समर्थन गर्ने अदालतमा पेस गरेको बकपत्र र रातको समयमा छिमेकीको घरमा माहिला कराएको आवाज सुनी आई देख्ने जाहेरवालाले मौकामा गरेको कागज र अदालतको बकपत्र तथा प्राप्त अन्य दसी प्रमाणले प्रस्तुत मुद्दामा अभियोग दाबी पुष्टि हुने आधारशिला निर्माण गरेको स्थिति विद्यमान रहेकोले यी प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेका होइनन् भनी मान्न सकिने अवस्था देखिन आएन l
३. वैजनाथको घरमा एक महिला चिच्याएको सुनी हामी छिमेकका मानिस गई ढोका खोली हेर्दा भित्रबाट पुरूष भागेको तथा मलाई जबरजस्ती वेश्यावृत्ति गर्न लगाएका हुन् भन्ने पीडित महिलाको भनाइसमेत उद्धृत गरी आमोदचन्द्र साहले दिएको जाहेरी, बुझिएका राजकुमार साह, बद्रीदाससमेतको कागज बेहोरा र जाहेरवालाले अदालतमा आई गरेको बकपत्रबाट समेत पीडितको मौकाको भनाइ र अदालतमा आई गरेको बकपत्र समर्थित भएको स्थिति देखिन्छ l प्रतिवादी वैजनाथ यादवले अदालतमा इन्कारी बयान गरे पनि अधिकारप्राप्त अधिकारीसमक्ष पीडितलाई नोकरी लगाई दिन्छु भनी मेरो सम्पर्कमा आएका केटाहरूबाट पैसा असुल गरी बेबी खातुनलाई अनुचित प्रभाव र त्रासमा राखी करणी गर्न लगाएको हुँ, करणी गराएबापत रू.३००/- देखि रू. ५००/- प्रतिव्यक्ति लिएको सत्य हो भन्ने बेहोराको बयान गर्नुका साथै अन्य प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा समेत त्यस्तै बेहोरा खुलाइदिएका
छन् l प्रतिवादी वैजनाथकै घरमा उक्त वारदात भएको र यिनै वैजनाथ उक्त घरका घरमूली तथा अन्य प्रतिवादीहरूका अभिभावकसमेत रहेको अवस्थाको समुचित मूल्याङ्कन गर्दा अभियोग दाबीलाई निरर्थक भन्न सकिने स्थित देखिएन l घटनास्थल मुचुल्का, बरामद भएका वस्तुहरू र जाहेरवालासमेतको बकपत्रबाट पीडितको भनाइ र जाहेरी बेहोरा पुष्टि भई प्रमाणीय देखिएको अवस्थामा यी प्रतिवादीलाई अभियोग दाबीअनुसारको कसुर तथा सजाय ठहर गरेको सुरू सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसलालाई अन्यथा भनिरहनुपर्ने अवस्था देखिन आएन l
४. अतः माथि विवेचित आधार एवम् कारण र प्रमाणसमेतबाट प्रतिवादी वैजनाथ भन्ने वैद्यनाथ यादवलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसुरमा ऐजन ऐनको दफा ८(३) बमोजिम १० (दश) वर्ष कैद सजाय गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०५८।२।१७ मा भएको फैसलालाई अन्यथा भन्न नमिल्ने भई सुरू सदर हुने ठहर गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७४/१०/१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ l यी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सकेन l प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू l
उक्त रायमा सहमत छु l
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृतः ताराप्रसाद डाँगी
इति संवत् २०७६ साल कार्तिक ०५ गते रोज ३ शुभम् ।