निर्णय नं. १०५०१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।९।१४
०७३-CR-०३४२
मुद्दा: जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम रिताकुमारीको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : जिल्ला गोरखा, खोप्लाङ्ग गा.वि.स. वडा नं. ३ बस्ने पूर्णबहादुर नेपालीको छोरा गणेश नेपाली
जबरजस्ती करणीजस्तो फौजदारी कसुरमा स्पष्ट तथ्य, कारण तथा स्वास्थ्य परीक्षण प्रतिवेदनको नतिजाअनुरूप जबरजस्ती करणी हुनको लागि आवश्यक पर्ने सुस्पष्ट तथ्य र प्रमाणबाट मात्र कसुरको ठहर गरी सजाय गर्न न्यायोचित हुने ।
(प्रकरण नं.१३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुली
विपक्षी / प्रतिवादीका तर्फबाट : वैतनिक अधिवक्ता श्री रजिता थापा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू फैसला गर्ने अदालत :
मा.जि.न्या.श्री प्रकाशकुमार काफ्ले
गोरखा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
उच्च अदालत पोखरा
फैसला
न्या.पुरूषोत्तम भण्डारी : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :
तथ्य खण्ड
मिति २०७१।९।२९ गतेका दिन बिहान अं. १४:०० बजेको समयमा मेरी छोरी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारी आफ्नो हजुरबुबासँग बाख्रा हेर्न गई घरतर्फ आउँदै गर्दा गणेश नेपालीले बाटोबाट निजलाई फकाई केही पर असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा निज छोरी नाम परिवर्तित “छ” कुमारीले घरमा आएपछि बताएकी हुँदा निज प्रतिवादी गणेश नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिर्तित रिताकुमारीको जाहेरी दरखास्त ।
जिल्ला गोरखा खोपलाङ गा.वि.स. वडा नं. ३ स्थित चारैतर्फबाट घेरिएर रहेको असुरोको बुट्यान घारी रहेको, सो घारीभित्र सम्म परेको जमिन रहेको, सो जमिनमा पलाएको घाँस केही मात्रामा मडारिएको देखिएको, सोही स्थानमा गणेश नेपालीले नाम परिवर्तित “छ” कुमारीलाई जबरजस्ती करणी गरेको भनी देखाइएको स्थान घटनास्थल प्रकृति मुचुल्का ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको genital organs and anus slight sdima in labia mogora genital and anal injuries – nature, fresh recent mild swelling present भन्ने बेहोरा उल्लेख भएको ।
मिति २०७१।९।२९ गतेका दिन म मेरो हजुरबुबासँग बाख्रा हेर्न गोठालो गएकी थिएँ । दिनको अं. १३:०० बजेको समयमा हजुरबुबाले मलाई घरमा गएर ममीलाई खाजा बनाउन भन भनी पठाउनु भएकोले म घरतर्फ जाँदै गर्दा बाटोमा मैले चिनेको गणेश नेपाली भेट भई मलाई सँगै जाउँ भनी मेरो घरदेखि केहीपर असुरोघारीमा लगी मैले लगाएको सुरूवाल खोलिदिई जमिनमा सुताई निजले लगाएको पाइन्ट खोली आफ्नो कुरी निकाली निज ममाथि सुती निजको कुरी मेरो कुरीमा जोडी धकेलेकोले मलाई दुखी म रूने कराउने गरेपछि निजले हतार हतार उठी आफ्नो पाइन्ट लगाई मेरो सुरूवाल लगाई दिई यो कुरा कसैलाई भनेमा पिट्छु भनी आफ्नो घरतर्फ गएका हुन् । त्यसपछि मैले घरमा आई ममीलाई सबै कुरा बताएकी हुँ भन्नेसमेत बेहोराको पीडित “छ” कुमारीले गरेको कागज ।
मिति २०७१।९।२९ गतेका दिन म आफ्नो विद्यालय गई परीक्षा दिई घरतर्फ फर्कने क्रममा बाटोमा नाम परिवर्तित “छ” कुमारी एक्लो भेटिएकीले मलाई करणी गर्ने मन लागी निजलाई फकाई फुल्याई केही पर असुरोघारीमा लगी निजले लगाएको सुरूवाल खोलिदिई मैले लगाएको पाइन्टसमेत खोली निजलाई मेरो काखमा राखी मेरो लिङ्ग निकाली निजको योनिमा टेकाई धकेलेकोले निज रून लागेकीले नरोउ केही हुँदैन भनी रून कराउन नदिई करणी गर्न छाडी मैले हतार हतार उठी यो कुरा कसैलाई भनेमा पिट्छु भनी निजलाई धम्क्याई आफनो घरतर्फ गएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गणेश नेपालीको बयान कागज ।
मिति २०७१।९।२९ गतेका दिन अं. १३:०० बजेको समयमा गोरखा खोपलाङ्ग ३ बस्ने वर्ष १६ को गणेश नेपालीले जाहेरवालाको छोरी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारीलाई ऐ.ऐ. वर्षरे स्थित असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएका हौं । निज प्रतिवादीले पीडित “छ” कुमारीलाई फकाई फुल्याई असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएका
हौं । निज प्रतिवादीले पीडित “छ” कुमारीलाई फकाई फुल्याई असुरोघारीमा लगी जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ । निजलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको प्रमिला पोखरेल, सिता पन्थ, दिलमाया अंगाई, कमल पोखरेलले गरेको एकै मिलानको कागज ।
मिति २०७१।९।२९ गतेका दिन मेरो नातिनी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारी मसँगै बाख्रा हेर्न जान्छु भनेकीले निजलाई साथमा लिई बाख्रा हेर्न गएको हुँ । दिनको १३:०० बजेको समयमा निज घरतर्फ गएकी हुन् । पछि बाख्रा चराई घरमा आउँदा सबैजना रूने कराउने गरेकाले मैले के भयो भनी सोध्दा निज नातिनी घरतर्फ आउने क्रममा गणेश नेपालीले फकाई फुलाई असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ । निज प्रतिवादीले नाबालिका “छ” कुमारीलाई जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको गुणकान्त ढकालले गरेको कागज ।
प्रतिवादी गणेश नेपालीले पीडित बालिका परिवर्तित नाम “छ” कुमारीलाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि भएको देखिँदा निज प्रतिवादी गणेश नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराधमा सोही महलको ३(१) नं. बमोजिम सजाय हुन र ऐ.महलको १० (ग) नं बमोजिम प्रतिवादीवाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउनसमेत मागदाबी लिई सुरू गोरखा जिल्ला अदालतमा दायर भएको अभियोगपत्र ।
जाहेरीमा लेखिएको कुरा झुटा हो । सो दिन म विद्यालय गएर परीक्षा दिएर आएको थिएँ । मेरो घरमा साँचो लगाएको रहेछ साँचो खोज्ने क्रममा ममीलाई खोज्दै गाउँमा गएको हो । पीडित भनिएकी बच्चा पनि सोही ठाउँमा थिइन् मैले उनलाई मेरो ममीलाई देखिनौ भनी सोधेको हुँ । उसले मैले देखिन भनिन् र म उनलाई छोडेर गएकोमा सो ठाउँमा अरू मानिस पनि थिए । मलाई हजुरआमा पर्नेले आज स्कुल गइनस् भनी सोध्नुभयो मैले उहाँलाई परीक्षा दिएर आएको हुँ भनेँ र त्यसपछि मैले ममीलाई नभेटी घर आएको हुँ । भाइ स्कुलबाट आएका रहेछन् ममीलाई खोज्न भाई गए म आफ्नै घरमा बसेको थिए मैले उनलाई जबरजस्ती गर्ने कुनै काम गरेको होइन, मैले गल्ती गरेको नै छैन मलाई झुटा आरोप लगाइएको हो । मैले गल्ती नगरेकोले मलाई सजाय हुनु हुँदैन मलाई जाहेरवालीले समय समयमा गाली गलौज गरी फसाएर छाड्छु भन्ने गर्दथिन् । सोही कारणले यस्तो झुटा जाहेरी दिएकी हुन् मैले पीडित “छ” कुमारी जबरजस्ती करणी गरेको होइन / छैन, मलाई सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी गणेश नेपालीले गरेको बयान ।
पीडित बालिका “छ” कुमारी, जाहेरवाला रिताकुमारी प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी तथा वादी प्रतिवादीका तर्फबाट उपस्थित भएका साक्षीहरूको बकपत्र भई बकपत्र मिसिल सामेल रहेको ।
गोरखा जिल्ला अदालतको मिति २०७१।१०।२६ को थुनछेक आदेशबमोजिम प्रतिवादी गणेश नेपाली मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका ।
प्रतिवादी गणेश नेपालीले जबरजस्ती करणी गरेकोमा अदालतसमक्ष इन्कार रही बयान गरेको देखिन्छ । पीडित “छ” कुमारीले अदालतसमक्ष बयान गर्दा गणेश नेपालीले आफ्नो कुरी निकालेर मेरो कुरीमा घुसार्यो, म कराएँ, रोएँ भनी बकपत्र गरेको
देखिन्छ । जाहेरवाली रिताकुमारीले नानीले भनेको आधारमा जाहेरी दिएको हो भनी यस अदालतसमक्ष बकपत्र गरेको देखिन्छ । पीडित “छ” कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट योनि केही सुन्निएको भन्ने देखिन्छ । अमर ज्योति जनता उच्च माध्यमिक विद्यालयको अभिलेखअनुसार प्रतिवादीको जन्ममिति २०५५।६।२१ देखिन्छ । अतः प्रतिवादीको उमेर १६ वर्ष पुगिसकेको देखिएको र जाहेरवाली तथा पीडितको बकपत्र र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट योनि सुन्निएको देखिएकाले प्रतिवादी गणेश नेपालीले पीडित “छ” कुमारीलाई जबरजस्ती करणी गरेको
ठहर्छ । प्रतिवादी गणेश नेपालीलाई १० वर्ष कैद हुने ठहर्छ । पीडित “छ” कुमारीले प्रतिवादी गणेश नेपालीबाट रू.१,००,०००।– क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू गोरखा जिल्ला अदालतबाट मिति २०७२।१।७ मा भएको फैसला ।
सुरूको फैसलामा चित्त बुझेन । म पुनरावेदकले मिति २०७१।९।२९ मा पीडित भनिएकी नाम परिवर्तित “छ” कुमारीलाई मैले त्यस्तो जबरजस्ती करणी गर्ने कार्य गर्नु त परै जाओस् छोएकोसम्म पनि छैन । म पढ्दै गरेको स्कुले विद्यार्थीउपर नभए नगरेको झुटा आरोप लगाई फसाई सोही झुटा अभियोग दाबीबमोजिम १० वर्ष कैद गर्ने गरी भएको सुरूको फैसला अन्यायपूर्ण हुँदा बदरभागी छ । जहाँसम्म पीडित भनिएकीको बकपत्रको सवाल सम्बन्धमा उनी अति नै कलिलो उमेर अवस्थाकी व्यक्ति हुँदा सोधिएका सवालबारे जानी बुझी युक्तियुक्त जवाफ गर्नसक्ने उमेरकी
होइनन् । अरूले जे कुरा भन्यो सिकायो त्यही कुरा भन्ने उमेरकी भएकीको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा ३८ बमोजिम प्रमाणमा लिन मिल्ने स्थिति छैन । जाहेरी र मेडिकल रिपोर्टमा उल्लिखित तथ्यहरू एकआपसमा मेल नखाने र विरोधाभाषपूर्ण छन् । मेरो र पीडित भनिएकीको स्वास्थ्य परीक्षणमा जबरजस्ती करणीको कुनै चिह्न, सङ्केत वा लक्षणहरूसम्म केही छैन । यदि साँच्चै जबरजस्ती करणी भएको भए १५/१६ वर्षको व्यक्तिले ५ वर्षकी बालिकालाई त्यसो गर्दा योनि छेदन हुने, हाइमन फाट्ने, च्यातिने र रक्तस्राव हुनुपर्दथ्यो । घटना भएको भनिएकै दिनमा दुवैको उक्त स्वास्थ्य परीक्षण गरिएको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा maild swelling present भन्ने उल्लेख भए तापनि उक्त swelling को कारण के हो ? भन्ने आधार प्रमाण कहाँ के
छ ? प्रमाणको उचित मूल्याङ्कन विश्लेषण नगरी कसुर ठहर गरेको उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी छ, बदर गरिपाऊँ । मेरो इच्छाविपरीतको प्रहरीमा भएको बयान, घटनास्थल मुचुल्काका तथ्यहरू काल्पनिक बनाइएको भन्ने स्पष्ट देखिन्छ । यदि सही रूपमा तयार गरिएको कागज भए मलाई उक्त मुचुल्कामा रोहवरमा राख्नुपर्ने किन राखिएन ? मलाई पछि प्रहरीले चोरीको विषयमा सोधपुछ गर्न भनी बोलाई लगेको थियो । यस्ता महत्त्वपूर्ण तथ्यहरूप्रति सुरू अदालतले कुनै ध्यानै दिएको छैन । यदि साँच्चै घटना भएको भए किन एकैखालको तथ्य बताउन सक्दैनन् । त्यस्तो तथ्यगत कुरामा एक अर्कामा फरक किन आयो ? जसले गर्दा यो घटना नै सत्य नभएको र वारदात नै स्थापित हुन नसकेको स्थिति छ । प्रस्तुत कुराप्रति सुरू अदालतले पूर्ण बेवास्ता गरेको छ । मिसिल संलग्न प्रमाणहरूको उचित मूल्याङ्कन र विश्लेषण नगरी हचुवाको भरमा गरिएको सुरूको त्रुटिपूर्ण फैसला बदर गरी म ९ कक्षामा पढ्दै गरेको विद्यार्थीको भविष्य अन्धकारमा धकेलिनबाट बचाई सफाइ पाउँ भन्नेसमेत बेहोराको गणेश नेपालीले पुनरावेदन अदालत पोखरामा दायर गरेको पुनरावेदनपत्र ।
यसमा पीडित परिवर्तित “छ” कुमारीको परीक्षण प्रतिवेदन पठाई दिनु भनी गोरखा जिल्ला अदालतका मिति २०७१।११।२९ च.नं. ८०१ को पत्रबाट माग गरिएकोमा सो परीक्षण प्रतिवेदन मिसिल संलग्न नदेखिएको हुँदा उक्त परीक्षण प्रतिवेदन भए जिल्ला सरकारी वकिल कार्यालय गोरखालाई यथाशीघ्र पठाइदिनु भनी लेखी पठाई प्रतिवेदन प्राप्त भएपछि वा जवाफ प्राप्त भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पोखराबाट मिति २०७२।५।३१ मा भएको आदेश ।
यसमा, पीडित नाम परिवर्तित “छ” कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा पीडितको शरीरमा अन्य चोटपटक केही नभएको र Labia majora मा mild swelling देखिएको भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा प्रतिवादीलाई जबरजस्ती करणीमा सजाय गर्ने गरेको गोरखा जिल्ला अदालतको मिति २०७२।७।५ को फैसला फरक पर्न सक्ने अवस्था देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पोखराबाट मिति २०७२।९।२७ मा भएको आदेश ।
Semen Could not be detected on exhibit nos. 1 & 2, Blood group of exhibit no. 3 was ‘A’ भन्ने Opinion उल्लेख भएको Central Police Forensic Science Laboratory को परीक्षण प्रतिवेदन ।
प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्य राखी पीडित र आफ्नो लुगा फुकाली पीडितमाथि चढी लिङ्गले घोचेको, पीडितलाई दुखेपछि उठी भागेको, करणी गर्न नपाएको भन्ने देखिन आएको एवं प्रतिवादीको कलिलो उमेर रहे पनि कसुरको गाम्भीर्यसमेत हेरी यी प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगमा सजाय गर्नुपर्नेमा करणी गरेको ठहर गरी भएको सुरू फैसला सो हदसम्म मिलेको
देखिएन । तसर्थ, उपर्युक्त विवेचित तथ्य, आधार र कारणबाट समेत सुरू गोरखा जिल्ला अदालतबाट प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरेकोमा १० वर्ष कैद हुने र रू.१,००,०००।- क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने ठहर्याई मिति २०७२।१।७ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी गणेश नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको उद्योगसम्बन्धी कसुरमा जबरजस्ती करणीको ३(१) नं. एवं ५ नं. अनुसार प्रतिवादीलाई ६(छ) वर्ष कैद सजाय हुने ठहर्छ । सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको मिति २०७३।०१।१४ को फैसला ।
प्रतिवादी गणेश नेपालीले वर्ष ५ की अवोध नाबालिग “छ” कुमारीलाई फकाई असुरोघारीमा लगी आफ्नो र बच्चीको सुरूवाल खोली जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको छ । प्रतिवादीले पीडितलाई ललाई फकाई जबरजस्ती करणी गरेकोमा निज ५ वर्षकी नाबालिगले उक्त कार्यको प्रतिकार गर्न सक्ने अवस्था रहँदैन । ५ वर्षीय निज नाबालिग पीडितले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ७ मा निज प्रतिवादीले मेरो कट्टु खोल्यो । ऊ आफ्नो कट्टु खोल्यो, ऊ आफ्नो कुरी निकाल्यो र निजले मेरो कुरीमा घुसायो । त्यसपछि मलाई दुख्यो, म कराएँ, रोएँ भनी वारदातको यथार्थ विवरण खुलाएको देखिन्छ । बाल बोलीमा अवश्य सत्यता लुकेको हुन्छ । यसरी निज प्रतिवादीले पीडित बालिकालाई जबरजस्ती करणी गरेको तथ्य निःसन्देह पुष्टि भएको छ । प्रतिवादीले अदातलसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कारी रहे तापनि मौकाको बयानमा अभियोगबमोजिमको यथार्थ घटना विवरण खुलाएको देखिन्छ । निज पीडितले अदालतसमक्ष उपस्थित भई मौकाको भनाइलाई पुष्टि हुने गरी बकपत्र गरिदिएसमेतबाट प्रतिवादीको मौकाको भनाइ पुष्टि भएको छ । जाहेरवालाको किटानी जाहेरी, निजले जाहेरीलाई समर्थन गर्ने गरी अदालतमा गरेको बकपत्र, पीडितको मौकाको कागज तथा अदालतमा गरेको बकपत्रसमेतबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि भएको देखिएकोमा सुरू अदालतबाट निजउपर अभियोग दाबीबमोजिमको कसुरसमेत स्थापित भइसकेको अवस्थामा सुरू अदालतको फैसलामा केही उल्टी गरी प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगतर्फ घटी सजाय कायम गर्ने गरी पुनरावदेन अदालत पोखराबाट भएको फैसला उल्लिखित आधार, कारण, प्रमाण र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीउपर अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा पीडितको शारीरिक परीक्षण प्रतिवेदनको Genital organs and anus महलमा Slight edima in labia majora भनी उल्लेख गर्नुका साथै Opinion मा mild swelling भनी देखाएको र पीडितले अदालतको बकपत्रमा मेरो कट्टु खोल्यो, ऊ आफ्नो तुरी निकाल्यो र तिनले मेरो कुरीमा घुसार्यो त्यसपछि मलाई दुख्यो, म कराएँ भनेको अवस्थामा जबरजस्ती करणीको महलको १ नं. को स्पस्टीकरणको (ग) अनुसार योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नं. को प्रयोजनको लागि करणी गरेको मानिने छ भन्ने कानूनी व्यवस्था हुँदाहुँदै करणीको उद्योग मात्र ठहर गर्ने गरी भएको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।०५।२१ को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुलीले प्रतिवादी गणेश नेपालीले वर्ष ५ की अवोध नाबालिग “छ” कुमारीलाई ललाई फकाई गरी असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा प्रतिवादीले मौकामा बयान गर्दा वारदातको दिन म विद्यालयबाट घर फर्कने क्रममा निज पीडितलाई भेटी मलाई करणी गर्न मन लागी निजलाई फकाई फुलाई केही पर असुरोघारीमा लगी निजले लगाएको सुरूवाल खोली निजको योनि हातले खेलाई मैले लगाएको पाइन्ट खोली काखमा राखी मेरो लिङ्ग निकाली निजको योनिमा टेकाई १/२ पल्ट धकेलेकोले निज रून कराउन लागेकोले निजलाई छाडी आफ्नो पाइन्ट लगाई घरतिर गएको भनी घटनाको बारेमा खुलाएको देखिन्छ भने पीडित नाबालिकाले अदालतमा गरेको बयानमा प्रतिवादीले मौकामा लेखाएको बेहोरा पुष्टि हुने गरी बकपत्र गरिदिएको अवस्थासमेतबाट प्रतिवादीले जबरजस्ती करणीको कसुर गरेको पुष्टि हुन आएकोले पुनरावेदन अदालत पोखराबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रतिवादीको तर्फबाट उपस्थित वैतनिक अधिवक्ता श्री रजिता थापाले प्रतिवादी अदालतमा अभियोग दाबीमा इन्कार रहेको, प्रतिवादी वारदातको समयमा भर्खर १६ वर्ष मात्र पुगेको र कक्षा ९ मा अध्ययनरत विद्यार्थीसमेत भएको हुँदा निजमा त्यस्तो आपराधिक सोच, चिन्तन र मनसाय नरहेको साथै जाहेरवालाले रिसइवीको कारणले जाहेरी दिएकी तथा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट करणी गरेको भन्ने पुष्टि नभइरहेको, घटनाको सम्बन्धमा चश्मदिद गवाह कोही पनि नरहेको अवस्थामा शंकाको भरमा तथ्य र प्रमाणको विवेचना नगरी फैसला भएकोमा निजलाई सजाय हुनुपर्ने होइन भनी गर्नुभएको बहससमेत सुनियो ।
अब, यसमा पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०७१।९।२९ गतेका दिन बिहान अं. १४:०० बजेको समयमा मेरी छोरी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारी आफ्नो हजुरबुबासँग बाख्रा हेर्न गई घरतर्फ आउँदै गर्दा गणेश नेपालीले बाटोबाट निजलाई फकाई केही पर असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा निज छोरी नाम परिवर्तित “छ” कुमारीले घरमा आएपछि बताएकी हुँदा निज प्रतिवादी गणेश नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिर्तित रिताकुमारीको जाहेरी दरखास्त परेको देखियो ।
३. जिल्ला गोरखा खोपलाङ गा.वि.स. वडा नं. ३ स्थित चारैतर्फबाट घेरिएर रहेको असुरोको बुट्यान घारी रहेको, सो घारीभित्र सम्म परेको जमिन रहेको, सो जमिनमा पलाएको घाँस केही मात्रामा मडारिएको देखिएको, सोही स्थानमा गणेश नेपालीले नाम परिवर्तिछ “छ” कुमारीलाई जबरजस्ती करणी गरेको भनी देखाइएको स्थान घटनास्थल प्रकृति मुचुल्का भएको पाइयो ।
४. पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको genital organs and anus slight sdima in labia mogora genital and anal injuries – nature, fresh recent mild swelling present भन्ने बेहोरा उल्लेख भएको देखियो ।
५. मिति २०७१।९।२९ गतेका दिन म मेरो हजुरबुबासँग बाख्रा हेर्न गोठालो गएकी थिएँ । दिनको अं. १३:०० बजेको समयमा हजुरबुबाले मलाइ घरमा गएर ममीलाई खाजा बनाउन भन भनी पठाउनु भएकोले म घरतर्फ जाँदै गर्दा बाटोमा मैले चिनेको गणेश नेपाली भेट भई मलाई सँगै जाउँ भनी मेरो घरदेखि केही पर असुरोघारीमा लगी मैले लगाएको सुरूवाल खोलीदिई जमिनमा सुताई निजले लगाएको पाइन्ट खोली आफ्नो कुरी निकाली निज ममाथि सुती निजको कुरी मेरो कुरीमा जोडी धकेलेकोले मलाई दुखी म रूने कराउने गरेपछि निजले हतार हतार उठी आफ्नो पाइन्ट लगाई मेरो सुरूवाल लगाई दिई यो कुरा कसैलाई भनेमा पिट्छु भनी आफ्नो घरतर्फ गएका हुन् । त्यसपछि मैले घरमा आई ममीलाई सबै कुरा बताएकी हुँ भन्नेसमेत बेहोराको पीडित “छ” कुमारीले कागज गरेको पाइयो ।
६. मिति २०७१।९।२९ गतेका दिन म आफ्नो विद्यालय गई परीक्षा दिई घरतर्फ फर्कने क्रममा बाटोमा नाम परिवर्तित “छ” कुमारी एक्लो भेटिएकीले मलाई करणी गर्ने मन लागी निजलाई फकाई फुल्याई केही पर असुरोघारीमा लगी निजले लगाएको सुरूवाल खोलीदिई मैले लगाएको पाइन्टसमेत खोली निजलाई मेरो काखमा राखी मेरो लिङ्ग निकाली निजको योनिमा टेकाई धकेलेकोले निज रून लागेकीले नरोउ केही हुँदैन भनी रून कराउन नदिई करणी गर्न छाडी मैले हतार हतार उठी यो कुरा कसैलाई भनेमा पिट्छु भनी निजलाई धम्क्याई आफनो घरतर्फ गएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गणेश नेपालीको बयान कागज गरेको देखियो ।
७. मिति २०७१।९।२९ गतेका दिन अं. १३:०० बजेको समयमा गोरखा खोपलाङ ३ बस्ने वर्ष १६ को गणेश नेपालीले जाहेरवालाको छोरी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारीलाई ऐ.ऐ. वर्षरे स्थित असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएका हौं । निज प्रतिवादीले पीडित “छ” कुमारीलाई फकाई फुल्याई असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएका
हौं । निज प्रतिवादीले पीडित “छ” कुमारीलाई फकाई फुल्याई असुरोघारीमा लगी जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ । निजलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको प्रमिला पोखरेल, सिता पन्थ, दिलमाया अंगाई, कमल पोखरेलसमेत कागज गरेको पाइयो ।
८. मिति २०७१।९।२९ गतेका दिन मेरो नातिनी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारी मसँगै बाख्रा हेर्न जान्छु भनेकीले निजलाई साथमा लिई बाख्रा हेर्न गएको हुँ । दिनको १३.०० बजेको समयमा निज घरतर्फ गएकी हुन् । पछि बाख्रा चराई घरमा आउँदा सबैजना रूने कराउने गरेकाले मैले के भयो भनी सोध्दा निज नातिनी घरतर्फ आउने क्रममा गणेश नेपालीले फकाई फुलाई असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ । निज प्रतिवादीले नाबालिका “छ” कुमारीलाई जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको गुणकान्त ढकालले कागज गरेको देखियो ।
९. प्रतिवादी गणेश नेपालीले पीडित बालिका परिवर्तित नाम “छ” कुमारीलाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि भएको देखिँदा निज प्रतिवादी गणेश नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराधमा सोही महलको ३(१) नं. बमोजिम सजाय हुन र ऐ.महलको १० (ग) नं. बमोजिम प्रतिवादीवाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउनसमेत मागदाबी लिई अभियोगपत्र दायर भएको देखियो ।
१०. निज पीडित नाम परिवर्तित “छ” कुमारी हजुरबुबासँग बाख्रा हेर्न गई घरतर्फ आउँदै गर्दा गणेश नेपालीले बाटोमा फकाई नजिकैको असुरो घारीमा लगी जबरजस्ती करणी गरेको कुरा पीडितले घरमा आएपछि बताएकी हुँदा निज प्रतिवादी गणेश नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी परिवर्तित नाम रिताकुमारीको किटानी जाहेरी परेको देखिएको र प्रतिवादी गणेश नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरे पनि अदालतमा अभियोग दाबीमा इन्कार गरी बयान गरेको
देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने पीडित बालिकाका हजुरबुबा गुणकान्त ढकाललगायतका व्यक्तिले समेत प्रतिवादीले परिवर्तित नाम “छ” कुमारीलाई जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हो । निजले पीडितलाई ललाई फकाई गरी असुरो घारीमा लगी जबरजस्ती करणी गरेको कुरामा पूर्ण विश्वास लाग्दछ । निजलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भनी लेखाएको देखिन्छ ।
११. पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Genital organs and anus मा slight edima in labia majora र Genital and anal injuries (Nature, Fresh/ Recent...) अन्तर्गत Labia majora मा mild swelling present भनी उल्लेख भएको र Opinion मा Diffuse swelling (mild) of labia majora seen. Veginal swab is negative for spermatozoa. No any injury is noted in others body parts. भन्ने उल्लेख भएको देखिएकोमा, प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा injuries (Nature, fresh... ) मा No any injury seen र opinion मा No any injury seen in gential area, Penial swab Negative for Spermatozoa भन्ने उल्लेख भएको
देखियो । प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट प्रतिवादीको लिङ्गमा घर्षण भएको, खोस्रिएको वा कुनै घाउ चोटपटक लागेको भन्ने देखिन आएन । साथै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौंबाट प्राप्त पीडितको Veginal Swab तथा प्रतिवादीको Penial Swab र रगतको नमुना परीक्षण प्रतिवेदनको Opinion मा Semen Could not be detected on exhibit nos. 1 & 2, Blood group of exhibit no.3 was ‘A’ भन्ने उल्लेख भएको देखिन्छ । उल्लिखित स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितको Vaginal Swab तथा प्रतिवादीको Penial Swab को परीक्षण प्रतिवेदनबाट पनि जबरजस्ती करणी हुँदा देखिने प्रमाणिक चिह्न तथा आवश्यक प्रमाणहरू मिसिल संलग्न रहेको देखिँदैन ।
१२. निज ५ वर्षीय पीडित बालिकाले अदालतसमक्ष गरेको बकपत्रमा निज प्रतिवादीले मेरो कट्टु खोल्यो, आफ्नो कट्टु खोल्यो, ऊ आफ्नो कुरी निकाल्यो र निजले मेरो कुरीमा घुसायो । त्यसपछि मलाई दुख्यो, म कराएँ, रोएँ भनी उल्लेख गरेको, जाहेरवाला नाम परिवर्तित रिताकुमारीले जाहेरीको बेहोरा समर्थन गर्दै अदालतमा बकपत्र गरेको तथा निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा साबिती बयान गरेको अवस्थासमेतलाई मध्यनजर गर्दा निजले पीडित बालिकाको लुगा फुकालेको तथा आफ्नो लुगासमेत खोली पीडितमाथि चढेपछि पीडित बालिका रून कराउन थालेको कारण करणी गर्न भने नपाएको तथ्य मिसिल संलग्न रहेका कागज तथा प्रमाणसमेतले स्थापित गरेको देखिन्छ ।
१३. मिसिल संलग्न रहेको प्रतिवादी अध्ययनरत विद्यालय श्री अमर ज्योति जनता उच्च माध्यमिक विद्यालयको अभिलेख तथा निजको कक्षा ८ उत्तीर्ण गरेको लब्धाङ्क प्रमाणपत्रअनुसार निज गणेश नेपालीको जन्ममिति २०५५।०६।२१ उल्लेख भएको देखिँदा निज वारदातको समयमा भर्खरै १६ वर्ष पूरा भएको देखिन्छ । निज कक्षा ९ मा अध्ययनरत विद्यार्थीसमेत भएको तथा निजको उमेर, मिसिल संलग्न कागज प्रमाण तथा कसुरको गाम्भीर्यलाई समेत मध्यनजर गर्दा जबरजस्ती करणीजस्तो फौजदारी कसुरमा स्पष्ट तथ्य, कारण तथा स्वास्थ्य परीक्षण प्रतिवेदनको नतिजाअनुरूप जबरजस्ती करणी हुनको लागि आवश्यक पर्ने सुस्पष्ट तथ्य र प्रमाणबाट मात्र कसुरको ठहर गरी सजाय गर्न न्यायोचित हुने देखिन्छ ।
१४. प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने तथ्यलाई स्वास्थ्य परीक्षण प्रतिवेदन एवं प्रतिवादीले अदालतसमक्ष भएको इन्कारी बयानसमेतका प्रमाणहरूको पुष्टि गर्न सकेको अवस्था छैन । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्य राखी पीडितलाई ललाई फकाई गरी पीडित र आफ्नोसमेत लुगा फुकाली पीडितमाथि चढेको र त्यसपछि पीडित रोई कराई गरेपश्चात् प्रतिवादी उठी हिँडेकोले गर्दा करणी गर्न पाएको अवस्था
देखिँदैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत करणी नै भएको भन्ने कुरा विवादरहित तवरबाट पुष्टि प्रमाणित भएको देखिँदैन । १६ वर्षको केटाले ५ वर्षकी बालिकालाई जबरजस्ती करणी नै गरेको भए पीडिताको गुप्ताङ्गमा त्यस्तै प्रकारको चिह्न घाउखत देखिनुपर्ने करणी नै भएको भए त्यस्तो नाबालिकाको यौनाङ्गमा क्षतविक्षत भएको हुनुपर्ने त्यसै प्रकारको चोट वा यौनाङ्गमा च्यातिएको रगतपक्ष भएको देखिनुपर्ने सोसमेत केही देखिँदैन । केवल आफ्नो यौन उत्तेजना मेटाउने उद्देश्यबाट प्रयाससम्म गरेको अवस्थामा पीडिता रोए कराएपछि पीडक नर्भस भई आफैँ डराई छोडी गएको अवस्था देखिन्छ । जसबाट निजले आफ्नो अभीष्ट पूरा गर्न नपाई प्रयाससम्म गरेको देखिन आयो । पीडकसमेत कलिलो उमेरको देखिएको करणी सम्बन्धमा पूर्ण जानकारी नभई आफ्नो उत्तेजना शान्त गर्ने प्रयाससम्म गरेको देखिएबाट करणी नै भएको भनी भन्न सकिने अवस्था देखिएन । केवल करणी गर्ने उद्योगसम्मको कसुर गरेको देखिन आयो ।
१५. तसर्थ, माथि विवेचित आधार र कारणसमेतबाट प्रतिवादीले जबरजस्ती करणी उद्योगको कसुर गरेको देखिएको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी उद्योगको कसुर ठहर गरी जबरजस्ती करणीको ३(१) नं. एवं ५ नं. बमोजिम प्रतिवादीलाई ६(छ) वर्ष कैद सजाय हुने ठहर गरी पुनरावेदन अदालत पोखराबाट मिति २०७३।१।१४ मा भएको फैसला सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । साथै सजायको हकमा प्रतिवादीको उमेर १६ वर्षको देखिँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(४), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ तथा केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) अनुसार ६ वर्षको दुई तिहाइ अर्थात् ४(चार) वर्ष कैद सजाय हुने ठहर्छ । यी प्रतिवादी गणेश नेपाली २०७१।९।२९ गतेदेखि हालसम्म थुनामा बसी ४(चार) वर्ष कैद भुक्तान भइसकेको र निजलाई थुनामुक्त गरिदिनु भनी जिल्ला अदालत गोरखालाई लेखी पठाइसकेको देखिँदा अब केही गरिरहनु परेन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत : दुर्गाप्रसाद बस्याल
इति संवत् २०७६ साल पौष १४ गते रोज २ शुभम् ।