निर्णय नं. ४४१८ - उत्प्रेषण

निर्णय नं. ४४१८ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
सम्वत् २०४७ सालको रिट नं. ७०४
आदेश भएको मिति: २०४८।१०।५।१ मा
निवेदक : का.न.पं. वा.नं. २९ ठमेल बस्ने द्वारिकामाया राजकर्णिकार
विरुद्ध
विपक्षी : मालपोत कार्यालय काठमाडौंसमेत (साविक पेज नं. ७६८)
विषय : उत्प्रेषण
(१) निखन्न पाउने र निखन्न दिनु पर्ने दुबै थरले निखनी लिन दिनका लागि संयुक्त दर्खास्त गरी सो अनुसार निखनी लिने दिने सम्बन्धमा आफ्नो अधिकारभित्र रही मालपोत कार्यालयबाट मिलापत्र भएकोमा मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५(४) नं. आकर्षित भई सयकडा १ प्रतिशत बक्सौनी बुझाउनु पर्ने नै देखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ५)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री तीर्थराज बसौला
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. ०४७।३।१८।२ मा पुनवीर महर्जनका छोरा का.जि.का.न.पं. वडा नं. १६ बालाजु बस्ने न्हुच्छेनारायण महर्जन र मेरा बीच निजले देवीमाया राजकर्णिकारसंग खरिद गरी लिएको का.जि.का.न.पं. वडा नं. २९ को कि.नं. ५५८ को क्षेत्रफल ०–१–२–३ जग्गा र त्यसमा बनेको घर समेत म निवेदक सन्धीसर्पन पर्ने अंशियार हकवाला भएकोले निखनी लिने दिने गरी सम्झौता भए बमोजिम मैले निज न्हुच्छेनारायण महर्जनलाई दिन बाँकी रु. १९,५०,०००।– घरसारमा बुझाई म र निज भई निखनी लिनदिनका लागि मिति २०४७।३।२८ मा मालपोत कार्यालय काठमाडौंमा संयुक्त दर्खास्त गरेका थियौं । उक्त निवेदनमा विपक्षीबाट मु.ऐ.रजिष्ट्रेशनको दफा ३५(१) अनुसारको रीत पुर्याई बक्सौनी ऐ.नं. को दफा ४ बमोजिम १ प्रतिशतका दरले लिई सदर स्याहा गरी दिनु भन्ने मिति ०४७।३।२८ मा आदेश गरी मबाट रु. २१,०००।– दाखेल गर्न लगाई मिति ०४७।३।२९ मा निखनी लिने दिने कार्य गरी उक्त घर जग्गा मेरा नाउँमा दर्ता गरी दिई मलाई ज.ध.द.प्र. पत्र प्रदान गरियो । रजिष्ट्रेशनको दफा ३५(१) बमोजिम निखनी लिने दिने भएकोमा केही पनि दस्तूर नलिई दाखेल खारेज गरी दिनु पर्नेमा म बाट बक्सौनी भनी दस्तूर लिएको गैरकानुनी एवं गैरसंवैधानिक छ । किनकी अधिकार प्राप्त अड्डा समक्ष परेको विवादमा दुई थर झगडिया बीच मिलापत्र भएकोमा मात्र बक्सौनी स्वरुप दस्तूर लाग्ने व्यवस्था रजिष्ट्रेशनको ३५ नं. को दफा ४ मा गरिएको पाइन्छ । तर हामी विवाद परी मिलापत्र गरेको होइन अतः नेपालको संविधान, २०१९ को धारा १०(१), ११(२)(ङ) र १५ समेतद्वारा प्रदत्त मौलिक हक हनन् भएकोले सो को प्रचलनका लागि ऐ.को धारा १६ अन्तर्गत यो निवेदन गर्न आएको छु । विपक्षीहरुको रजिष्ट्रेशनको ३५(१) नं. बमोजिम भएको निखनी लिने दिने र सो बमोजिम दर्ता स्रेस्ता कायम राख्ने गरेको समेत कार्य कानुनी हुँदा त्यसलाई यथावत राखी केवल बक्सौनी बापत रकम दाखेल गराउनु भनी भएको आदेश र सो बमोजिम म बाट रुपैयाँ दाखेल गराएको कार्यहरु गैरकानुनी एवं गैरसंवैधानिक हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकबाट दाखेल गराई सदर स्याहा भएको रु. २१,०००।– निवेदकलाई फिर्ता गरी दिनु भन्ने परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
३. यसमा के कसो भएको हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । (साविक पेज नं. ७६९)
४. यसमा का.न.पा. वडा नं. २९ कि.नं. ३५८ क्षे.फ. ०–१–२–३ को घर जग्गा देवीमायाले ०४७।१।२१ मा न्हुच्छेनारायण महर्जनलाई र.नं. ७४२१(क) बाट राजीनामा गरी दिएको र सो कुरा द्वारिकामायाले थाहा पाई सो घर जग्गा र द्वारिकामायाको घर जग्गा साविक एउटै घर भएको र द्वारिकामाया कि.नं. ५५८ को पश्चिम पट्टिको संधियार तथा नजिकको हकदार समेत भएको कारण दर्शाई उक्त घर जग्गा द्वारिकामायाले निखन्नको लागि न्हुच्छेनारायण र द्वारिकामाया राज कर्णिकार समेत भई घर जग्गा निखन्न दिने मन्जूर गरी द.नं. १०३५४।०४७।३।२८ मा संयुक्त निवेदन परी सनाखत समेत भई उक्त निवेदनमा भएको मिति ०४७।३।२८ को तोक आदेश अनुसार मुलुकी ऐनको रजिष्ट्रेशनको दफा ३५(१) अनुसारको रीत पुर्याई बक्सौनी ऐ.ऐनको दफा ४ बमोजिम १ प्रतिशतका दरले लगाई सदर स्याहा गरिदिने भन्ने भएबाट यस कार्यालयको म.ले.प. फा.नं. ११, र.नं. १२००८ मिति ०४७।३।२८ मा रु. २१,००,०००।– को एक प्रतिशत बक्सौनी बापत हुन आउने रु. २१,०००।– बुझी लिई सदर स्याहा भएको थियो । यसमा रजिष्ट्रेशनको दफा ३५(१) अनुसार निखनी लिने दिने भएकोमा केही पनि दस्तूर नलिई दा.खा. गरिदिनु पर्नेमा बक्सौनी भनी लिएको रकम गैरकानुनी एवं गैरसंवैधानिक छ भनी उल्लेख गरेकोमा र.पा. गरिदिनु लिनु भइसकेको जग्गा तेश्रो व्यक्तिले निखनी पाउँ भनी निवेदन परी कार्यवाही हुँदा विवाद नपरेको भन्न नमिल्ने यस कार्यालयको उद्देश्य कानुन बमोजिम राजश्व असूल गर्ने भएको हुँदा यसमा रिट निवेदकले बक्सौनी बापत १% रकम तिर्नु नपर्ने भए निखनी लिए दिएकै बखत कार्यालयमा यो ऐन नियमले बक्सौनी तिर्न नपर्ने भनी अड्डी लिनु पर्नेमा उस बखत निखनी १% ले हुने रकम रु. २१,०००।– बुझाई भपाई समेत लिई जग्गा दा.खा. गराई गएको पछि आई तिर्नु समेत नपर्ने रकम तिर्नु पर्यो सो गैरकानुनी छ भन्नु सरासर गैरकानुनी तथा झुठ्ठा देखिँदा निजको रिटनिवेदन खारेज गरिपाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने समेत विपक्षी मालपोत कार्यालयको लिखितजवाफ ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री तिर्थराज बसौलाले न्हुच्छेनारायण महर्जन र निवेदक बीच निज न्हुच्छेनारायणले देवीमाया राजकर्णिकारसंग खरिद गरी लिएको का.जि.का.न.पं. वा.नं.२९ को कि.नं. ५५८ को क्षेत्रफल ०–१–२–३ जग्गा त्यसमा बनेको घर समेत निवेदक सन्धीसर्पन पर्ने हकवाला भएकोले निखनी लिने दिने गरी सम्झौता भए अनुरुप विपक्षी मा.पो.का. काठमाडौंमा संयुक्त दर्खास्त दिएकोमा विपक्षीबाट मु.ऐ.रजिष्ट्रेशनको ३५(४) नं. बमोजिम एक प्रतिशतका दरले निवेदकबाट रु. २१,०००।– बक्सौनी लिने गरेको त्रुटिपूर्ण छ भन्ने समेतको र विपक्षी कार्यालयको तर्फबाट उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री अलीअकवर मिकरानीले रजिष्ट्रेशन पास गरी लिनु दिनु भइसकेको जग्गा निखनी पाउँ भनी तेश्रो व्यक्तिको निवेदन परी कार्यवाही हुँदा विवाद नपरेको भन्न नमिल्ने साथै रिट निवेदकले बक्सौनी बापत रकम तिर्नु नपर्ने भए निखनी लिए दिएकै बखत अड्डी लिनु पर्नेमा तिरी भर्पाई लिइसकेपछि रिट क्षेत्रमा आएको गैरकानुनी छ भनी गर्नु भएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा निखन्न पाउने र निखन्न दिनु पर्ने दुवै थरले निखनी लिने दिनेका लागि संयुक्त दर्खास्त गरी सो अनुसार निखनी लिने दिने सम्बन्धमा आफ्नो अधिकार भित्र रही मालपोत कार्यालय काठमाडौंबाट मिलापत्र भएकोमा मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५(४) नं. आकर्षित भई सयकडा १% बक्सौनी बुझाउनु पर्ने नै देखिँदा रिट निवेदकको माग बमोजिमको अदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी (साविक पेज नं. ७७०) बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इति सम्वत् २०४८ साल माघ ५ गते रोज १ शुभम् ।