निर्णय नं. १०५२३ - राज्य विरूद्धको अपराध

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७७।३।२
०७५-CR-१०९३
मुद्दाः राज्य विरूद्धको अपराध
पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका-१३ एकान्तकुना बस्ने दिलबहादुर के.सी.को छोरा राष्ट्रिय फुटबल टिमको पूर्वखेलाडी हाल प्रशिक्षक अन्जन के.सी.समेत
कानूनले स्पष्ट रूपमा परिभाषित गरी कसुर मानेको विषयमा त्यस्तो कानूनको स्पष्ट उल्लङ्घन गरेको भनी स्थापित नभएसम्म अर्कै प्रयोजनलाई बनेको विद्यमान कुनै कानूनी प्रावधानलाई तानतुन पारेर व्याख्या गरी कसुर कायम गर्न (nullum crimen sine lege) र सजाय गर्न (nulla poena sine lege) नहुने ।
मानव अधिकार कानूनको व्याख्याले उदारवादी र समावेशी धारलाई अनुशरण गर्छ; अधिकार छ वा छैन भन्ने प्रश्न उठेमा सकेसम्म र मिलेसम्म अधिकार छ भन्नेतर्फ अदालतले व्याख्या गर्दै मानव अधिकारको संरक्षण गर्छ भने फौजदारी कानूनले व्यक्तिगत स्वतन्त्रताको अपहरण गर्ने र जथाभावी प्रयोगले निरङ्कुशतालाई प्रश्रय दिने हुँदा यसको कठोर व्याख्या गरिनुपर्छ; कुनै कानूनी प्रावधान आकर्षित हुन्छ वा हुँदैन भन्ने द्विविधाको स्थितिमा आकर्षित हुँदैन भन्ने व्याख्या गरिनुपर्छ । यस्तो व्याख्या लोकतन्त्र, विधिको शासन र सीमित सरकारको अवधारणाअनुकूल हुने ।
(प्रकरण नं.११)
संविधानको धारा २०(४) र मुलुकी अपराध संहिता, २०७४ को दफा ७ को प्रतिबन्धात्मक व्यवस्थाले देवानी कानून निर्माण गरी देवानी दायित्व (civil liability) थप्ने, अनुशासनात्मक कारबाही (disciplinary action) गर्ने प्रबन्ध गर्ने, कुनै कार्य गरेबापत अयोग्यता (disqualification) कायम गर्ने वा निश्चित अवधिसम्म व्यावसायिक कार्य गर्न रोक्ने (suspension) वा विदेशी नागरिकको हकमा निजलाई देश निकाला (deportation) गर्ने जस्ता कार्यहरू गर्नलाई प्रतिबन्ध लगाउँदैन । अर्थात् पश्चात्दर्शी कानून निर्माण गरी वा कानूनी प्रबन्ध गरी त्यस्ता कार्यहरू गर्न सकिन्छ; त्यसो गर्न संविधान वा कानूनको व्यवस्थाले नरोक्ने ।
(प्रकरण नं.१४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०४५, नि.नं.३६०३
ने.का.प.२०६१, नि.नं.७४३२, पृ.११०३
ने.का.प.२०६४, नि.नं.७८६६, पृ.८२७
ने.का.प.२०६६, नि.नं.८२००, पृ.१२३५
ने.का.प.२०६९, नि.नं.८८६०, पृ.१०९६
सम्बद्ध कानून :
नेपालको संविधान
मुलुकी अपराध संहिता, २०७४
राज्य विरूद्धको (अपराध र सजाय) ऐन, २०४६
फैसला
न्या.आनन्दमोहन भट्टराई : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः-
तथ्य खण्ड
छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरूमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा नेपालले भाग लिई अन्तर्राष्ट्रिय फुटबल खेल खेल्नका लागि आबद्ध रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू खेल्न गएकोमा सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २००९ को साफ च्याम्पियनसिप (SAAF Championship), सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरू कप, सन् २०१४ मा कोरियामा भएको खेलसमेतका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरी गएका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यले म्याच फिक्सिङ (Match Fixing) गरी अन्तर्राष्ट्रिय फुलबल खेल हार्ने योजना बनाई मोटो रकम लिई खेल खेली हार्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरू विकास सिंह क्षेत्री र अन्जन के.सी. का साथै नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, सोही टिमका खेलाडीहरू सन्दिप राई र रितेश थापासमेतको मिलेमतोबाट कुख्यात एजेन्टहरूसँग सम्पर्क गरी म्याच फिक्सिङ (Match Fixing) गरी खेल हारेबापतमा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने एजेन्टहरू सिंगापुरका नागरिक विलसन् राज (Willson Raj), टिटानी परियासामी (Titani Periasamy) र केसवन पट्टान (Kesavan Pattan) लाई काठमाडौं उपत्यकाभित्र रहेका वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) समेतमा रकम आफूहरूको नाममा हाल्न लगाई सोमार्फत आएको रकम अन्जन के.सी. र रितेश थापासमेतले लिई निज खेलाडीहरूले एक आपसमा भागबन्डा लगाई नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यले खेल हारी राज्य विरूद्धको कसुर अपराध गरेको देखिएको हुँदा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरू विकास सिंह क्षेत्री, अन्जन के.सी. तथा नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरू सन्दिप राई र रितेश थापालाई अनुसन्धान कारबाहीको लागि यसै प्रतिवेदनसाथ दाखिला गरेका छौं । उक्त कार्यमा अन्य संलग्न व्यक्तिहरू भएमा निजहरूबाट खुलाई निजहरूसमेतउपर राज्य विरूद्धको कसुर अपराधमा अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।०६।२७ को प्रहरी प्रतिवेदन ।
म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००७ अन्तिमदेखि नियुक्त भई कहिले खेलमा सहभागी हुने, कहिले घाइते भएको कारण खेलमा सहभागी हुन नपाएको हुँ । मैले खेलेको खेलहरूमा सागर थापा, रितेश थापा, अन्जन के.सी., सन्दिप राईसमेत भई सहभागी भएको हो । म सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २०११ मा मलेसियामा तथा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल र सन् २०१२ मा भारतमा भएको नेहरू कपमा सहभागी छु । उक्त खेलहरूमा म, सागर थापा, रितेश थापा, सन्दिप राई, बिराज महर्जन, भरत खवास, रबिन श्रेष्ठ, राजु तामाङ, जुमानु राई, भोला सिलवाल, निराजन खड्का, अनिल गुरूङ र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू जाने गरेका थियौं । मसमेतका खेलाडीहरूले विदेशी राष्ट्रहरूमा हुने विभिन्न खेलहरूमा रकम लिई नेपालको स्वाभिमान बिक्री गरेका छैनौं । विदेशी एजेन्टबाट क्लबमा खेलाउने भनी आश्वासन आएको थिएन । मैले व्यापार व्यवसाय केही गरेको छैन । खेल खेल्दा एन्फाले प्रतिमहिना रू.१०,०००।- दिन्थ्यो भन्नेसमेत बेहोराको प्रतिवादी विकास सिंह क्षेत्रीले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।७।१२ को बयान ।
म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००७ देखि नियुक्त भई हालसम्म खेल खेल्दै आएको थिएँ । सन् २००७ मा ओमनमा ओमनसँग खेल्दा २/० मा हारेको, नेपालमै ओमनसँग खेल्दा २/० मा हारेको, भुटानसँग खेल्दा २/१ मा जितेको, पुनः भुटानसँग खेल्दा १/० ले जितेको हो । सन् २००८ मा कम्बोडियामा मकाउसँग खेल्दा ३/२ ले जितेको, माल्दिभ्समा इन्डियासँग ४/० ले हारेको, माल्दिभ्ससँग ३/१ ले हारेको, पाकिस्तानलाई ४/१ ले जितेको, मर्डेका कप (Mordeka Cup) मा मलेसियासँग ४/० ले हारेको हो । सन् २००९ को साफ गेममा माल्दिभ्ससँग १/१ गोल बराबरमा, भारतसँग १/० ले हारेको र अफगानिस्तानसँग ३/० गोलमा विजयी भएको हो । सन् २०१० मा कोरियासँग १/० ले हारेको र श्रीलंकासँग १/० ले हारेको हो । सन् २०११ मा फिलिपिन्ससँग ४/० ले हारेको, मलेसियामा २/० ले हारेको, कम्बोडियासँग १/० ले जितेको हो । सन् २०११ को साफ च्याम्पियनसिप (SAAF Championship) मा मालदिभ्ससँग १/१ मा, सन् २०१२ मा भारतमा भएको नेहरू कप हारेको र सन् २०१४ मा इराकसँग ४/० ले हारेको हो । उक्त खेलहरूमा म, सागर थापा, रितेश थापा, विकास सिंह क्षेत्री, अन्जन के.सी., बिराज महर्जन, रबिन श्रेष्ठ, चुनबहादुर थापा, राजु तामाङ, निराजन रायमाझी, जुमानु राई, भोला सिलवाल, युगल किशोर राई, निराजन खड्का, अनिल गुरूङ, सन्तोष साउखल र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू जाने गरेका थियौं । म विगत सन् २००७ देखि राष्ट्रिय फुटबल टिममा सहभागी भई उल्लिखित खेलहरूमा सहभागी भएको हुँ । अन्य कुरा मलाई थाहा छैन । मलाई खेल खेल्दा रकम दिएर आउ भनी कसैले अफर गरेका थिएनन् । मैले २०६७ सालमा १० महिनाको अन्दाजी १० लाख नेपाली रूपैयाँ लिई भारतको कलकत्ताको मोहमडन स्पोर्टिङ क्लबमा व्यावसायिक खेल खेलेको थिएँ । म, अन्जन के.सी., रितेश थापासमेतले सञ्चालन गरेको ललितपुर झम्सिखेलस्थित एफ. फोर. ग्यारेजको मेनेजमेन्टसम्म हेरेको थिएँ जुन हाल सञ्चालनमा छैन । मैले एन्फाबाट कार र बाइक पाएको छु र मासिक तलब १५ हजार दिने गरेको छ । मसमेतका खेलाडीहरूले विदेशी राष्ट्रहरूमा हुने विभिन्न खेलहरूमा रकम लिई नेपालको स्वाभिमान बिक्री गरेका छैनौं भन्नेसमेत बेहोराको प्रतिवादी सन्दिप राईले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१२ को बयान ।
म नेपालको राष्ट्रिय फुटबल टिममा २०६० सालदेखि नियुक्त भई खेल खेल्न थालेको हुँ । सन् २००५ मा साफ गेम कराँचीमा, सन् २००५ मा च्यालेन्जकप बंगलादेशमा, सन् २००६ मा साफ गेम श्रीलंकामा, सन् २००७ मा वर्ल्ड कप क्वालिफाइङ ओमनमा, सन् २००७ मा च्यालेन्ज कप कम्बोडियामा, साफ गेम माल्दिभ्समा, ए.एफ.सि. च्यालेन्जकप हैदराबादमा खेलेको हुँ । खेलेको खेलहरूमध्ये सन् २००८ मा मर्डेका कपमा मलेसियासँग ४/० गोलमा हारेको, अफगानिस्तानसँग २/२ गोल बराबरमा, सेरालियोनसँग ३/१ गोलमा हारेको, सन् २००९ को साफ गेममा माल्दिभ्ससँग ४/० ले हारेको, भारतसँग ४/० गोलमा हारेको, पाकिस्तानसँग ४/० गोलमा विजयी भएको हो । सन् २०११ मा मलेसियासँग २/० गोलमा हारेको, फिलिपिन्ससँग ४/० गोलमा हारेको र सन् २०१२ मा क्यामरूनसँग ५/० गोलले हारेको हो । सन् २०१४ मा कोरियामा अन्डर एसिया च्याम्पियनसिप खेलमा सहभागी भएको हुँ । खेल खेल्दा सेन्टर डिफेन्सको भूमिका निर्वाह गर्थें । प्रायः हामीहरूले खेलेको खेलहरूमध्ये सन् २००८ देखि रितेश थापा, सन्दिप राई, अन्जन के.सी., विकाससिंह क्षेत्रीसहित अन्य खेलाडीहरूसमेत सहभागी भएर खेल खेलेका हौं । सो खेलहरूमध्ये सन् २००८ देखिको खेलमा म (डिफेन्स), सन्दिप राई (डिफेन्स), रितेश थापा (गोलकिपर), विकाससिंह क्षेत्री, बिराज महर्जन, रबिन श्रेष्ठ, राजु तामाङ, जुमानु राई, भोला सिलवाल, रन्जित श्रेष्ठ, निराजन खड्का, अनिल गुरूङ र अन्य नाम याद नभएका २० जनाको सख्याको खेलाडीहरू जाने गरेका थियौं । म २०६० सालदेखि नेपालको राष्ट्रिय फुटबल टिममा सहभागी भई फुटबल खेलेको र सन् २००९ देखि क्याप्टेनको भूमिका निर्वाह गरी विभिन्न अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरूमा सहभागी भई खेल खेलेको हुँ । खेलचाहीँ राम्रै खेलेको हो । अन्य कुरा थाहा भएन । विभिन्न विदेशी क्लबमा खेलाई दिन्छु भनी आश्वासन आउने गरेको थियो तर रकम मैले लिइनँ । म राष्ट्रिय फुटबल टिमको टिम क्याप्टेन भइसकेपछि मलाई नेपाल सरकारले एन्फामार्फत हात्तीवनमा रहेको मेरो सिटी नामक अपार्टमेन्टमा बस्ने व्यवस्था गराई दिएकोमा अहिलेसम्म नपाएको र एन्फाले हरेक महिना रू.१५,०००।- दिने गरेको थियो भन्नेसमेत बेहोराको प्रतिवादी सागर थापाले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१२ को बयान ।
म सन् २००३ देखि हालसम्म राष्ट्रिय फुटबल टिममा सहभागी भई सन् २०१५ मा भारतको पुणेमा सञ्चालन भएको फ्रेन्डसिप म्याचसमेतमा सहभागी भएको हुँ । मैले फुटबल खेलको गोलकिपरमा खेल खेल्दै आएको छु । मैले हालसम्ममा सन् २००३ मा कोरियामा ओमन विरूद्ध पहिलो म्याच हुँदा ६/० गोलले हारेको, सोहीबेला नै कोरियासँग १६/० गोलले हारेको, सन् २००६ मा बंगलादेशमा श्रीलंका विरूद्धमा खेल खेल्दा १/१ को बराबरीमा खेल टुङ्गिएको, सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा अफगानिस्तान विरूद्ध २/२ गोल बराबरी, मलेसियासँग ४/० गोलले हारेको, सन् २००९ मा कम्बोडियामा मकाउ विरूद्ध ३/० ले खेल जितेको, कम्बोडियासँग १/० ले खेल जितेको, ओमनसँग २/० ले हारेको, साफ च्याम्पियनसिप (SAAF Championship) मा माल्दिभ्समा भएको खेलमा इन्डियासँग ४/० ले हारेको, पाकिस्तानसँग खेल खेल्दा १/० ले जितेको
हो । सन् २०१२ मा दिल्लीमा नेहरू कपमा माल्दिभ्ससँग २/१ ले हारेको, क्यामरूनसँग ५/० ले हारेको हो । उल्लिखित खेलहरूमा सन् २००८ देखिको खेलहरूमा गोलकिपरमा म, सागर थापा, सन्दिप राई, विकाससिंह क्षेत्री, अन्जन के.सी., जुमानु राई, अनिल गुरूङ, राजु तामाङ, निराजन रायमाझी, राकेश श्रेष्ठ, अनन्त थापा, पर्वत पाण्डे, चुनबहादुर थापा, भरत खवास, रोहित चन्द, जगदिश श्रेष्ठ, सन्तोष साहुखल, निराजन खड्का, सुमन सुवेदी, विराज महर्जन, रविन श्रेष्ठ, विशाल श्रेष्ठ, विकेश कुत्थु, सुजल श्रेष्ठसमेत भई खेलहरू खेलेका हौं । एक पटक खेल खेल्न जाँदा कम्तीमा २० जना खेलाडी सहभागी भई जाने गरेका थियौं । सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २००९ को साफ च्याम्पियनसिप (SAAF Championship) र सन् २०१२ मा भारतमा भएको नेहरू कपसमेतमा मैले गोलकिपरको रूपमा खेल खेलेको हुँ । सन् २०११ मा मलेसियामा र फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल तथा सन् २०१४ मा कोरियामा भएको खेलमा सहभागी भई गएकोमा खेल मैदानमा सहभागी
भइन । सो बेला सहायक कोचको रूपमा सामेल भएको हो । म्याच फिक्सिङको बारेमा थाहा भएन । मसमेतले म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको र रकम लिएको होइन । मलाई इन्डिया, कम्बोडिया, बंगलादेश र मलेसियासमेतको क्लबमा आबद्ध हुन कुरा आएको थियो तर रकमको बारेमा कुरा भएन । नेपाल प्रहरीको तर्फबाट असई पदको तलबभत्ता र एन्फाबाट हात्तीवनमा अपार्टमेन्ट र मासिक रू.१५,०००।- भत्ता पाउँदै आएको छु भन्नेसमेत बेहोराको प्रतिवादी रितेश थापाले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१२ को बयान ।
सिंगापुरका टिटानी एस.व.परियासामी (Titani SO Periasamy) ले पठाएको रकम रू.२,२०,१७५।६८ मेरो सवारी चालक अनुमतिपत्र प्रयोग गरी बुझिलिएको सम्बन्धमा मेरो भन्नु केही छैन । सिकन्दर थापा मेरो आफ्नै भाइ हुन् । शोभा के.सी. अन्जन के.सी.को आमा रहेको कुरा हाल थाहा पाएको हुँ । भाइ सिकन्दर थापालाई उल्लिखित रकम लिन मैले पठाएको हुँ । रकम ल्याई मलाई भाइले दिएका हुन् । रकम के कहाँबाट आएको हो सो कुरा भाइलाई थाहा थिएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले विभिन्न मितिमा नबिन कार्की र डेजिब थापासमेतका व्यक्तिहरूलाई पठाएको भनिएको रकम निजहरूले मलाई दिएका छैनन् भन्नेसमेत बेहोराको प्रतिवादी रितेश थापाले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१७ को ततिम्बा बयान ।
म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००५ देखि नियुक्त भई सन् २००५ मा साफ गेम कराँची, च्यालेन्जकप बंगलादेशमा, सन् २००६ मा साफ गेम श्रीलंकामा, सन् २००७ मा वर्ल्डकप क्वालिफाइङ राउन्डको लागि ओमनमा, सन् २००७ मा च्यालेन्ज कप कम्बोडियामा, साफ गेम माल्दिभ्समा, ए.एफ.सि च्यालेन्ज कप हैदराबादमा, सन् २००८ मा मर्डेका कप, सन् २००९ मा साफ च्याम्पियनसिप खेलमा सहभागी भएको थिएँ । सहभागी खेलहरूमध्ये सन् २००८ मा मर्डेका कपमा मलेसियासँग ४/० गोलमा हारेको, अफगानिस्तानसँग २/२ गोल बराबरमा, सेरालियोनसँग ३/१ गोलमा हारेको, सन् २००९ को साफ गेममा माल्दिभ्ससँग १/१ गोल बराबरमा, भारतसँग १/० गोलमा हारेको र अफगानिस्तानसँग ३/० गोलमा विजयी भएको हो । उक्त मितिमा म डिफेन्स, सागर थापा डिफेन्स, रितेश थापा गोलकिपर, सन्दिप राई डिफेन्स, विराज महर्जन, रविन श्रेष्ठ, चुनबहादुर थापा, राजु तामाङ, विकाससिंह क्षेत्री, निराजन रायमाझी, जुमानु राई, भोला सिलवाल, युगल किशोर राई, रन्जित श्रेष्ठ, निराजन खड्का, अनिल गुरूङ र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू खेल्न जाने गरेका थियौं । मैले ललितपुर ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययन गरेको हुँ । बच्चादेखि नै फुटबल खेल खेल्न थालेको हुँ । फुटबल खेल खेल्दाको अवस्थामा सबैभन्दा पहिला एन्फा एकाडेमीमा छनौट भई गेम खेल्न थालेकोमा २०६० सालमा फ्रेन्ड्स क्लब कुपण्डोलबाट राष्ट्रिय लिगको गेम खेल्न सुरू गरेँ । यसरी गेम खेल्दै जाँदा सन् २००५ मा राष्ट्रिय टिममा छनौट भई फुटबल खेलको लागि छिमेकी राष्ट्र तथा मित्र राष्ट्रहरूमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा नेपालको तर्फबाट भाग लिई अन्तर्राष्ट्रिय फुटबल खेलमा सन् २००५ देखि सन् २०१० सम्मका खेलहरूमा सहभागी भई खेलहरू खेलेको हुँ । यसरी खेल खेल्न जाँदाका समयमा सन् २००८ मा मर्डेका कप मलेसियामा हुँदा म टिमको सदस्य थिएँ । सो बेला मलेसियामै विदेशी एजेन्टहरूले विभिन्न आश्वासन दिई राम्रो क्लबमा राखिदिन्छौं भन्नेसम्मको कुरा आएको थियो । सो कपमा म्याच फिक्सिङ भएको थाहा भएन । सन् २००९ मा साफ गेममा अफगानिस्तानसँग खेल्दा विदेशी एजेन्टहरूले विभिन्न आश्वासन् देखाएका
थिए । सो गेममा हामीले ३/० गोलको अन्तरले विजयी भएका थियौं । मैले सन् २००५ देखि सन् २००९ सम्मको फुटबल गेममा सहभागी भई गेम खेलेको हुँ । सो गेमहरू खेल्ने क्रममा विभिन्न प्लेयर एजेन्टहरूसँग चिनजान भएको थियो । सो बेला खेलाडीहरूलाई विभिन्न विदेशी क्लबहरूमा ट्रायल गर्नको लागि मेरो नाममा वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत रकम पठाएकोसम्म हो । कुनै रकम व्यक्तिगत प्रयोजनको लागि पनि पठाएका थिए । म्याच फिक्सिङको लागि लिएको होइन । निजहरूमध्ये केसवन पट्टानले प्लेयर एजेन्ट बनाएको हुँदा खेल खेल्दाका अवस्थामा चिनजान भएको र खेलाडी भएको कारणले गर्दा नै विदेशी क्लबमा ट्रायल गर्नको लागि रकम दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१२ को बयान ।
विदेशी नागरिकहरू आवादैयाप्पान पालानियाप्पान (Avadaiyappan Palniappan) ले सन् ०५।१३।२०१० मा पठाएको रू.१,७५,५५६।९५, जिवानान्थन सुपरामनि (Jivananthan Superamani) ले सन् ०५/०३/२०१२ मा पठाएको रू.८३,१६३।२३ र मनिमुथु अरूमुगम (Manimuthu Arumugam) ले सन् १०।०४।२०१३ मा पठाएको रू.३०,१११।१७ रकम मैले बुझी लिएको हुँ । निज विदेशी नागरिकहरूसँग चिनजान छैन । के कुनबापत पठाए थाहा भएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् १९।१०।२०११ मा पठाएको मलेसियन रिंगेट १४,९४५ रकम मैले मेरो आमा शोभा के.सी.लाई साथमा लिई गई रकम लिएको हुँ । रकम लिँदा आमा शोभा के.सी.को नामको ६६५९५ नम्बरको नागरिकता प्रमाण पत्र पेस गरी रकम लिएको हो । रकम के कहाँबाट आएको सोबारे आमालाई जानकारी थिएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले विभिन्न मितिमा नबिन कार्की र डेजिब थापासमेतका व्यक्तिहरूलाई पठाएको भनिएको रकम मैले पाएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०७२।०७।१७ को ततिम्बा बयान ।
त्यहाँको च.नं. १३२० मिति २०७२।०७।०१ को पत्र मागबमोजिम प्रशिक्षक तथा खेलाडीहरूलाई मिति २०७२।०६।२८ देखि लागु हुने गरी निजहरूलाई अनुसन्धानको अन्तिम किनारा नलागेसम्म फुटबलको कुनै पनि गतिविधिहरूमा संलग्न नगराइने गरी कारबाही गरिएको भन्ने बेहोराको अखिल नेपाल फुटबल सङ्घको च.नं.१६७/०७२/०७३ मिति २०७२।०७।१३ को पत्र ।
"In the meantime we would like to request to send further details about the following issues: (a) Details of suspicious match (match fixing) that AFC has noticed. (b) Details of three FOREIGNERS’ individuals who had sent money to Nepali suspects players and official. (c) Any other suspicious and manipulation details that you observed during the Nepalese football matches.” भन्नेसमेत बेहोराको च.नं. ०७२/७३-१०११ मिति २५ अक्टोबर २०१५ को महानगरीय अपराध शाखा (Metropolitan Crime Division), काठमाडौंले एसियन फुटबल कन्फिडरेसन (Asian Footbal Confideration-AFC) लाई लेखेको पत्र र "The AFC Integrity Unit in collaboration with its key partners has consolidated information which strongly suggests that Nepali football players and officials have undertaken activities related to match-fixing.” भन्नेसमेत बेहोराको एसियन फुटबल कन्फिडरेसन (Asian Footbal Confideration-AFC) को २८ अक्टोबर २०१५ को पत्र जवाफ ।
अन्जन के.सी. मेरो छोरा हुन् । मेरो मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) सँग चिनजान छैन । छोरा अन्जन के.सी.ले विदेशबाट साथीले मलेसियन रिंगेट पठाएको छ लिन जाउँ भनी करिब ४ वर्षअघि जावलाखेलस्थित वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) मा मलाई साथमा लिई गई मेरो नागरिकता प्रमाण पत्र पेस गरी छोराले रकम बुझी लिएका हुन् । उक्त रकम के-कसरी, को कसले, केबापत पठाए छोरालाई थाहा छ । मलाई अन्य कुरा थाहा भएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी शोभा के.सी.को मिति २०७२।०७।१७ को कागज ।
हाल पक्राउमा परेका पूर्वखेलाडी तथा कोच अन्जन के.सी., विकाससिंह क्षेत्री र हालका खेलाडी सागर थापा, सन्दिप राई र रितेश थापासहित अन्य खेलाडीहरू तथा सो समयमा खटिई जाने आधिकारिक पदाधिकारीसमेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूप्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरूउपर कानूनबमोजिम कारबाही गरी निज खेलाडीहरूसँग संलग्न अन्य खेलाडी तथा आधिकारिक पदाधिकारीहरूउपर कानूनबमोजिम कारबाही हुनुपर्छ । हाल पक्राउमा परेका खेलाडीहरूले उल्लिखित खेलहरूमा म्याच फिक्सिङ गरी खेल खेलेको कुरा नेपालको फुटबल खेलको हालको वरियताक्रमले स्पष्ट पार्ने हुँदा निजहरूउपर कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका पूर्व राष्ट्रिय फुटबल टिम क्याप्टेन मणि शाहको मिति २०७२।०७।१७ को कागज ।
खेलाडीहरूले खेलमा राम्रो खेल प्रदर्शन नगर्नु खेलमा सधैँ विजय हात पार्नुको सट्टा हार खानुमा एन्फाका आधिकारिक पदाधिकारीहरू, टिम लिडर, टिम व्यवस्थापक तथा एन्फाका उच्च पदाधिकारीसमेतको संलग्नता हुनुपर्छ । कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फामा उच्च पदाधिकारीको हात नरहेसम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा निज पक्राउमा परेका खेलाडीहरूसमेत भई खेलहरूमा के-कसरी, को-को संलग्न रही के-कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सोतर्फसमेत निज पूर्व खेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी., विकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापासमेतबाट सो कार्य गर्न को-को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन्, निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरूसमेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूप्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका पूर्वराष्ट्रिय फुटबल टिमका व्यवस्थापक कृष्णभक्त मानन्धरको मिति २०७२।०७।१७ को कागज ।
खेलाडीहरूले खेलमा राम्रो खेल प्रदर्शन नगर्नु, खेलमा सधैँ विजय हात पार्नुको सट्टा हार खानुमा एन्फाका आधिकारिक पदाधिकारीहरू, टिमलिडर, टिम व्यवस्थापक तथा एन्फाका उच्च पदाधिकारीसमेतको संलग्नता हुनुपर्छ । कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फाका उच्च पदाधिकारीको हात नरहेसम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा पक्राउमा परेका खेलाडीहरूसमेत भई खेलहरूमा के-कसरी, को-को संलग्न रही के-कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सोतर्फसमेत निज पूर्वखेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, विकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापासमेतबाट सो कार्य गर्न को-को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन् निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरूसमेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूप्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका एन्फाका उपाध्याक्ष विजय नारायण मानन्धरको मिति २०७२।०७।१७ को कागज ।
नेपालको फुटबल टिमका खेलाडीहरूले विदेशमा गई खेल खेल्दा प्रायः खेलमा हार खाने र फुटबल खेलको नेपालको गिर्दो वरियताक्रमको नतिजाको आधारमा हाल पक्राउमा परी आएका खेलाडीहरूले विभिन्न खेलहरूमा म्याच फिक्सिङ गरी विदेशी कुख्यात एजेन्टहरूसँगको मिलोमतोमा रकम लिई नेपालको स्वाभिमानलाई विदेशी मुद्रासँग दाँजी खेलहरूमा हार खाएको कुरामा विश्वास
लाग्छ । उक्त खेलाडीहरू सहभागी भई खेलबाट लज्जास्पद तरिकाले खेलहरूमा हार्दासमेत एन्फाबाट कुनै कारबाही नहुनुमा उल्लिखित खेलाडीहरूले एन्फाका उच्च पदाधिकारीसमेतको मिलोमतो र संलग्नतामा खेलहरूमा म्याच फिक्सिङ गरी खेल खेलेको हुनुपर्छ । यसरी म्याच फिक्सिङ गरी खेल खेल्नुमा खेलाडीहरू, एन्फाका पदाधिकारी, व्यवस्थापनसमेतको जिम्मेवारी रहन्छ किनकि सम्बन्धित निकायबाट सही मार्गनिर्देशन नभई गलत मार्गनिर्देशनको आधारमा विदेशी एजेन्टहरूसँग मिलोमतो गरी खेलमा फिक्सिङ्ग गरी खेल खेलेको कुरा प्रस्ट हुन आएको र कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फाका उच्च पदाधिकारीको हात नरहेसम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा निज पक्राउमा परेका खेलाडीहरूसमेत भई खेलहरूमा के-कसरी, को-को संलग्न रही के-कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सोतर्फसमेत निज पूर्वखेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, विकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापासमेतबाट सो कार्य गर्न को को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन् निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी मुकेश शाहीको मिति २०७२।०७।१७ को कागज ।
नेपालको फुटबल टिमका खेलाडीहरूले विदेशमा गई खेल खेल्दा प्रायः हार खाने र फुटबल खेलको नेपालको गिर्दो वरियताक्रमको नतिजाको आधारमा हाल पक्राउमा परी आएका खेलाडीहरूले विभिन्न खेलहरूमा म्याच फिक्सिङ गरी विदेशी कुख्यात एजेन्टहरूसँगको मिलोमतोमा रकम लिई नेपालको स्वाभिमानलाई विदेशी मुद्रासँग दाँजी खेलहरूमा हार खाएको कुरामा विश्वास लाग्छ । उक्त खेलाडीहरू सहभागी भई खेलबाट लज्जास्पद तरिकाले खेलहरूमा हार्दासमेत एन्फाबाट कुनै कारबाही नहुनु, नेपालमा पनि शहिद स्मारक लिग प्रतियोगिताहरूमा पनि म्याच फिक्सिङका कुराहरू सञ्चार माध्यमहरूमा आउँदा पनि एन्फा मौन बसेको कारण उल्लिखित खेलाडीहरूले एन्फाका उच्च पदाधिकारीसमेतको मिलोमतो र संलग्नतामा खेलहरूमा म्याच फिक्सिङ गरी खेल खेलेको हुनुपर्छ । यसरी म्याच फिक्सिङ गरी खेल खेल्नुमा खेलाडीहरू, एन्फाका पदाधिकारी, व्यवस्थापनसमेतको जिम्मेवारी रहन्छ किनकि सम्बन्धित निकायबाट सही मार्ग निर्देशन नभई गलत मार्गनिर्देशनको आधारमा विदेशी एजेन्टहरूसँग मिलोमतो गरी खेलमा फिक्सिङ गरी खेल खेलेको कुरा प्रस्ट हुन आएको र कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फाका उच्च पदाधिकारीको हात नरहेसम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा पक्राउमा परेका खेलाडीहरूसमेत भई खेलहरूमा के-कसरी, को-को संलग्न रही के-कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सोतर्फसमेत निज पूर्वखेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, विकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापासमेतबाट सो कार्य गर्न को-को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन् निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका सरस्वती क्लब कोटेश्वरका उपाध्यक्ष उत्तम राजभण्डारीको मिति २०७२।०७।१७ को कागज ।
रितेश थापा मेरो आफ्नो दाइ हुन् । मेरो दाइ रितेश थापाले मलेसियाबाट पैसा आउँदै छ भनी वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को कन्ट्रोल नम्बर दिएपछि मैले इटहरीस्थित वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) बाट उल्लिखित रकम आफ्नो नामको सवारी चालक अनुमति पत्र पेस गरी रकम बुझी लिई उक्त रकम दाइ रितेश थापालाई दिएको हुँ । उक्त रकम के-कसरी, को कसले केबापत पठाइदिए दाइ रितेश थापालाई थाहा होला । मलाई दाइले विदेशी क्लबसँग सम्झौता गरी आएको पैसा हो भनी जानकारीसम्म गराएका थिए । अन्य कुरा थाहा भएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका सिकन्दर थापाको मिति २०७२।०७।१८ को कागज ।
प्रहरी प्रतिवेदन: प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अन्जन के.सी. समेत भएको राज्य विरूद्धको अपराध मुद्दाको अनुसन्धानको क्रममा नेपालको राष्ट्रिय फुटबल टिमको फिजियो थेरापिष्ट पदमा कार्यरत डेजिब थापाले विदेशी कुख्यात एजेन्ट मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले मनि ट्रान्सफर कन्ट्रोल नम्बर ३९१७०३९३०४ बाट सन् १०/०६/२०१२ मा पठाएको रकम डेजिब थापाले सन् २१/०९/२०१२ मा रू.१,४०,३९७।२६ आफ्नो ०६-१६१४५९ को सवारी चालक अनुमतिपत्र प्रयोग गरी वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) मार्फत बुझेको देखिँदा निज डेजिब थापासमेत संलग्न रही म्याच फिक्सिङ (Match Fixing) गरी खेलमा सहभागी भएको मिसिल कागजातबाट देखिन आएको हुँदा निजउपर राज्य विरूद्धको अपराधअन्तर्गत कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।०७।१८ को प्रहरी प्रतिवेदन ।
प्रस्तुत मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भई आएका प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको तत्काल लिइएको अडियो / भिडियो रेकर्ड, वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) बाट रकम प्राप्त गरेको विवरण, प्रतिवादीहरूको बयान, महानगरीय अपराध शाखा (Metropolitan Crime Division), काठमाडौंले एसियन फुटबल कन्फिडरेसन (Asian Footbal Confideration-AFC) लाई लेखेको पत्र र एसियन फुटबल कन्फिडरेसन (Asian Footbal Confideration-AFC) को पत्र जवाफसमेत, विल्सन राज पेरूमलले सेरालियोन विरूद्ध नेपालले खेल खेल्दा म्याच फिक्सिङ गरी खेल खेलेको भन्नेसमेत बेहोरा प्रकाशित भएको केलङ्ग किङ्गस (Klong Kings) नामक पुस्तकको अंशभाग, बुझिएका पूर्वखेलाडीसमेत रहेका मणी साह, मुकेश शाही तथा राष्ट्रिय फुटबल टिमका तत्कालीन व्यवस्थापक कृष्णभक्त मानन्धर, एन्फाका उपाध्यक्ष विजय नारायण मानन्धर एवं उत्तम राजभण्डारीसमेतको घटना विवरण कागजलगायतका प्रमाणबाट विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले राज्य विरूद्धको कसुर / अपराध गरेको वारदात स्थापित हुन आयो । अनुसन्धानबाट देखिएअनुसार सन् २००९ को १३ डिसेम्बरमा बंगलादेशको ढाकामा सम्पन्न भएको साफ च्याम्पियनसिप (२०६६।०८।२९ देखि २८ सम्म भएको) को समयमा पक्राउमा परेका प्रतिवादीहरू रितेश थापा, सागर थापा, सन्दिप राई, अन्जन के.सी. समेतका खेलाडीहरू सहभागी भएको देखिएको सो समयमा मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २००९।१२।१३ गतेका दिन अन्जन के.सी.को नाममा रू.३,६७,५९६।३४ र रितेश थापाको नाममा रू.२,२०,१७५।६८ पठाएको देखिएको अवस्थामा उल्लिखित खेलाडीहरूले म्याच फिक्सिङ गरी खेलमा सहभागी भएको कुरालाई प्रस्ट पार्दछ । सन् २०११।१०।११ तदनुसार २०६८ असोज २४ गते फिलिपिन्समा फिलिपिन्स र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सले नेपालउपर ४/० गोलले विजय हात पारेको अवस्थामा प्रतिवादी विकाससिंह क्षेत्री, रितेश थापा, सागर थापा, सन्दिप राईसमेत खेलमा सहभागी भएको र सो समयमा मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २०११।१०।१९ मा बिनोद खड्काको नाममा रू.१,४०,३९७।२६, बबिता विष्टको नाममा रू.१,७४,३९०।२३, उत्सव पौडेलको नाममा रू.१,७४,३९०।२३, प्रतिवादी अन्जन के.सी.को आमा शोभा के.सी.को नाममा रू. ३,७४,७३२।१४, सन् २०११।१०।१३ गते विनोद खड्काको नाममा रू.७,४०,२४८।८५ र सन् २०११।१०।१४ मा नविन कार्कीको नाममा रू.९,३०,०३५।८५ पठाएको देखिन आएको अवस्थामा निज प्रतिवादीहरूले उल्लिखित व्यक्तिहरूको नाममा रकम लिन लगाई म्याच फिक्सिङ गरी खेलमा सहभागी भएको
देखिन्छ । त्यसैगरी सन् २०१२ मा भारतको दिल्लीमा अगस्ट २२ देखि सेप्टेम्बर २ सम्म सञ्चालन भएको नेहरू गोल्ड कपमा प्रतिवादी रितेश थापा, सागर थापा, विकाससिंह क्षेत्री, सन्दिप राईसमेतका खेलाडीहरू सहभागी भएको देखिएको र सो समयमा मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले अन्जन के.सी.को नाममा सन् २०१२।०९।०३ मा रू.७०,३४४।८१ र सन् २०१२।०३।०५ मा रू.८३,१६३।२३, सन् २०१२।०९।२९ मा नविन कार्कीको नाममा रू. १,०४,३७१।१९, डेजिव थापाको नाममा सन् २०१२।०६।१० मा रू.१,४०,३९७।२६ र सन् २०१२।०९।२० मा रू.१,०८,३६६।२५, सन् २०१२।०६।१० मा प्रतिवादी रितेश थापाको भाइ सिकन्दर थापाको नाममा रू.१,०४,३७१।१९ र विदेशी जिवन्थन सुपरामनि (Jivanthan Superamani) ले सन् २०१२।०३।०५ मा अन्जन के.सी. को नाममा रू.८३,१६३।२३ समेतका रकमहरू पठाएको देखिँदा उल्लिखित प्रतिवादीहरूले आफ्नो तथा अन्य व्यक्तिहरूको नाममा रकम राख्न लगाई म्याच फिक्सिङ गरी खेलमा सहभागी भएको अवस्थालाई पुष्टि गर्छ । साथै सन् २०१४ मा कोरियामा भएको अण्डर ट्वेन्टी थ्री एसियन च्याम्पियनसिप गेममा प्रतिवादी सागर थापा, सन्दिप राईसमेतका खेलाडीहरू सहभागी भएको र सो समयमा मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २०१३।०८।२६ मा अन्जन के.सी.को नाममा रू.३०,३८५।५८, सन् २०१३।०२।२४ मा अन्जन के.सी. को नाममा रू.२७,८२३।०३, सन् २०१३।०९।०३ मा अन्जन के.सी.को नाममा रू.७०,३४४।८१, विदेशी मनिमुथु अरूमुङ्गम (Manimuthu Arumungam) ले सन् २०१३।०४।१० मा रू.३०,१११।१७ रकम अन्जन के.सी.को नाममा पठाएको देखिनुले उल्लिखित प्रतिवादीहरूले म्याच फिक्सिङ गरी खेल खेलेको कुरालाई प्रस्ट गर्दछ । प्रतिवादी खेलाडीहरूमध्ये अन्जन के.सी. डिफेन्डर तथा प्रशिक्षक रहेको, खेलमा प्रतिवादी सागर थापा डिफेन्डर, विकाससिंह क्षेत्री डिफेन्डर, सन्दिप राई मिड फिल्डर तथा रितेश थापा गोलकिपरको भूमिकामा खेलमा सहभागी रहेको अवस्थामा प्रतिवादी सागर थापा, विकाससिंह क्षेत्रीसमेतले विपक्षीलाई गोल हान्न दिनमा सहयोग पुर्याउने, सन्दिप राईले गोल नहान्ने, रितेश थापाले गोल खाने गरी मिलोमतोमा म्याच फिक्सिङ गरी खेल खेलेको प्रस्ट हुन आउँछ । प्रतिवादी डेजिब थापा सन् २००९ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिप र सन् २०१२ मा भारतमा भएको नेहरू गोल्ड कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमको फिजियो थेरापिष्ट रहेको र रकम बुझेको देखिएको छ । प्रतिवादीहरू नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरू विकाससिंह क्षेत्री र अन्जन के.सी.का साथै नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरू सन्दिप राई र रितेश थापा एवं फिजियो थेरापिष्ट डेजिव थापाले छिमेकी राष्ट्र एवं मित्र राष्ट्रहरूमा आयोजना भएका अन्तर्राष्ट्रिय फुटबल तथा मैत्रीपूर्ण फुटबल खेलहरूमा नेपाली राष्ट्रिय फुटबल टिमबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी खेल खेल्दा अवैध अन्तर्राष्ट्रिय कुख्यात एजेन्टहरू सिंगापुरका नागरिक विल्सन राज (Willson Raj) र टिटानी परियासामी (Titani Periasamy) एवं मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) समेतसँग सम्पर्क र साँठगाँठ गरी म्याच फिक्सिङ (Match Fixing) गरी नेपाल राष्ट्रको तर्फबाट खेल हार्ने योजना बनाई खेल हारेबापतमा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने एजेन्टहरूसँग रकम लिनु खानु गरी फुटबल खेल खेली पटक-पटक विदेशी भूमिमा नेपाल राष्ट्र र नेपालीको प्रतिष्ठाको रूपमा रहेको अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल हारी नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय एकताको प्रतिकको रूपमा रहेको फुटबल खेल प्रेमी आम नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याई अन्तर्राष्ट्रिय फुटबलप्रति जनताहरूमा घृणा, द्वेष फैलाएको स्थापित हुन आएको हुँदा प्रतिवादीहरू सागर थापा, अन्जन के.सी., सन्दिप राई, विकाससिंह क्षेत्री, रितेश थापा र डेजिब थापाले गरेको उक्त कसुर / अपराध राज्य विरूद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा ३.१ अनुसार राष्ट्र विप्लपको कसुर / अपराध गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३.१ बमोजिम जन्मकैदको सजाय गरिपाऊँ । फरार प्रतिवादी डेजिव थापाको हकमा सम्मानित अदालतबाटै कानूनबमोजिम समाह्वान म्याद जारी गरी पाउन अनुरोध छ । प्रस्तुत मुद्दामा अन्य खेलाडीहरूको म्याच फिक्सिङ (Match Fixing) गरी पाएको रकम बाँडफाँड गरी लिने कार्यमा संलग्नता रहे नरहेको अनुसन्धानबाट खुली नआएको, विदेशी एजेन्टहरू विल्सन राज (Willson Raj Perumal), टिटानी परियासामी (Titani Periasamy) एवम् केसवन पट्टान (Kesavan Pattan) ले पठाएको रकम लिने विनोद खड्का, बविता विष्ट, उत्सव पौडेल, नविन कार्की, शोभा के.सी. र सिकन्दर थापासमेतको हकमा प्रस्तुत मुद्दामा संलग्न रहेको भन्ने अवस्था हालको अनुसन्धानबाट नदेखिएको हुँदा निजहरूको हकमा पछि कहिँकतैबाट संलग्न रहेको भनी खुली आएका बखत कानूनबमोजिम गरिने बेहोरासमेत अनुरोध छ । नेपाली खेलाडीहरूलाई म्याच फिक्सिङ (Match Fixing) गराई खेलमा सहभागी गराउने कार्यमा संलग्न विदेशी एजेन्टहरू विल्सन राज (Willson Raj), टिटानी परियासामी (Titani Periasamy) र केसवन पट्टान (Kesavan Pattan) समेतको हकमा निजहरू नेपाल सरहदभित्र फेला परी पक्राउ भई आएका बखत कानूनबमोजिम गरिने बेहोरासमेत अनुरोध छ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
म सन् २००३ देखि राष्ट्रिय फुटबल टिममा रही खेल्न थालेको हुँ । सन् २००९ देखि हालसम्म उक्त टिमको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै आएको छु । सन् २००३ मा एसियन क्वालिफाइङ राउन्ड दक्षिण कोरिया, यसैको सेकेन्ड राउन्ड ओमानमा, वर्ल्डकप क्वालिफाइङ राउन्ड जोर्डन, नेपाल र ओमानमा, साफ च्याम्पियनसिप पाकिस्तान, भारत, बंगलादेश, माल्दिभ्स र नेपाललगायतका देशमा विभिन्न मितिमा खेलेको छु । सन् २००३ मा भएको एसियन क्वालिफाइङ राउन्डमा ओमानसँग ७/०, भियतनामसँग ५/०, दक्षिण कोरियासँग १६/० गोलले पराजित भएका हौं भने यसैको सेकेण्ड म्याचमा ओमानसँग ६/०, दक्षिण कोरियासँग ७/० र भियतनामसँग २/० गोलले पराजित भएको हौं । त्यस्तै साफ च्याम्पियनसिपमा भारतसँग २/१ र बंगलादेशसँग २/० ले पराजित भएका हौं भने सन् २००५ मा भुटानलाई ३/० ले पराजित गरेको हो । अहिले याद भएका खेलहरू यिनै हुन् । विदेशमा खेल खेल्न जाँदा प्रशिक्षक, सहायक प्रशिक्षक र म्यानेजर पनि हाम्रो टिममा हामीसँगै हुनुहुन्थ्यो । हामी खेल्दादेखि कमजोर रहेको नेपाली फुटबल टिमलाई फिफाको वरियतामा १३४ औं स्थानमा ल्याई सार्क क्षेत्रमै पहिलो नम्बरमा ल्याएका हौं । हामीले म्याच फिक्सिङ (Match Fixing) गरेको होइनौं र रकम लिएको भनेर स्वीकार गरेका छैनौं । मैले विल्सन राज (Willson Raj) नामका व्यक्तिलाई चिनेको पनि छैन र भेटेको पनि छैन । अडियो तथा भिडियो रेकर्ड गर्दा डर त्रास देखाई धम्काएर गराइएको हो । आफ्नो स्वेच्छाले भनेको
होइन । मैले म्याच फिक्सिङ (Match Fixing) गर्ने, रकम लिने, विदेशी एजेन्टसँग साँठगाँठ गर्ने कुनै काम गरेको छैन । म निर्दोष हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सागर थापाले विशेष अदालत काठमाडौंमा मिति २०७२।०७।२३ मा गरेको बयान ।
म सन् २००७ देखि राष्ट्रिय फुटबल टिममा रही खेल सुरूवात गरेको हुँ । वर्ल्डकप क्वालिफाइङ राउन्ड ओमानअन्तर्गत २००७ र २००८ मा कम्बोडियामा च्यालेन्ज कप खेलेको, २००८ मै माल्दिभ्समा साफ च्याम्पियनसिप, हैदरावादमा २००८ मा च्यालेन्ज कपको फाइनल राउन्ड, २००९ मा बंगलादेशमा साफ च्याम्पियनसिप र २०१० मा च्यालेन्ज कप, २०११ मा नयाँ दिल्लीमा साफ च्याम्पियनसिपलगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल खेलेको छु । राष्ट्रिय टिमको खेलाडीको हैसियतमा खेल खेल्दा देशलाई जिताउन शतप्रतिशत प्रयत्न गरेको थिएँ । वर्ल्डकप क्वालिफाइङअन्तर्गतको ओमानसँगको दुवै म्याचमा ०/२ को अन्तरले खेल हारेको, कम्बोडियामा भएको खेलमा मकाओलाई ३/२ को अन्तरले खेल जितेको, कम्बोडियालाई १/० अन्तरले जितेको, २००८ मा माल्दिभ्समा भारतसँग ०/४ ले र माल्दिभ्ससँग १/३ ले हारेको, पाकिस्तानसँग ४/० ले जितेको र हैदरावादमा म्यानमारसँग ०/३ ले हारेको, उत्तर कोरियासँग १/० ले हारेको र श्रीलंकालाई ३/० ले जितेको हो । २००९ मा साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग १/१ ले बराबरी, भारतसँग १/० ले हारेको र अफगानिस्तानलाई ३/० ले जितेको हो । २०११ मा साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग १/१ ले बराबरी भएको, बंगलादेशसँग १/० ले जितेको, पाकिस्तानसँग १/१ ले बराबरी भएको र सेमिफाइनलमा अफगानिस्तानसँग ०/१ ले हारेको हो । मैले म्याच फिक्सिङ (Match Fixing) गरी कुनै रकम लिई खेल खेलेको छैन । आफूले सक्दो राम्रो खेल खेलेको छु । अनुसन्धानको क्रममा लिइएको अडियो तथा भिडियो रेकर्डको सि.डि.मा भएको बेहोरा मलाई देखाएको थिएन । केलङ्ग किङ्स (Kelong Kings) नामक पुस्तकमा सन् २००८ मा नेपाल र सेरालियोन बिचको खेलमा म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको भनेर लेखिएको सम्बन्धमा मलाई थाहा छैन । मैले विदेशी एजेन्टसँग मिली म्याच फिक्सिङ (Match Fixing) गर्ने काम गरेको छैन । राष्ट्रको गौरव र स्वाभिमानको लागि दिलोज्यान दिएको र कुनै कसुर नगरेको हुँदा अभियोगदाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सन्दिप राईले विशेष अदालत काठमाडौंमा मिति २०७२।०७।२३ गरेको बयान ।
म सन् २००७ को अन्तिमतिरबाट राष्ट्रिय फुटबल टिममा छनौट भई खेल्न सुरू गरेको हुँ । सो समयदेखि मैले मलेसिया, फिलिपिन्स, माल्दिभ्सको साफ च्याम्पियनसिप, कम्बोडियामा ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup), वर्ल्डकप क्वालिफाइङ जोर्डनमा, भारतमा नेहरू कप र साफ च्याम्पियनसिप, नेपालमा टिमोर, उत्तर कोरिया र भुटान विरूद्धका खेलहरू खेलेको छु । अनुसन्धान अधिकृतसमक्ष भएको मेरो बयान बेहोरा मैले भनेबमोजिम लेखिएको हो । मलाई म्याच फिक्सिङ (Match Fixing) को बारेमा धेरै जानकारी छैन तर २ वटा टिम मिलेर खेल्नुलाई म्याच फिक्सिङ (Match Fixing) भनिन्छ । मैले कोही कतैबाट केही रकम पाएको छैन र अरू साथीहरूले के-कति रकम पाए सो बारेमा मलाई थाहा भएन । हालको नेपालको फिफा वरियताक्रम तल झर्नुको कारण नेपाल जहिले पनि आफूभन्दा फिफा वरियताको राम्रो टिमहरूसँग खेलेर हो कि जस्तो लाग्छ । म नेपालको खेलाडी भएर खेल्दा सधैँ राष्ट्रिय झण्डा छातीमा राखेर खेल्नुपर्दा मलाई गर्व लाग्दथ्यो । मैले आजसम्म नेपालको प्रतिनिधित्व गरी खेलेजतिका खेलहरूमा मेरो मन, वचन र कर्मले राष्ट्रप्रति जिम्मेवार भई खेलेको हुनाले झुट्टा आरोप दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विकाससिंह क्षेत्रीले विशेष अदालत काठमाडौंमा मिति २०७२।०७।२३ मा गरेको बयान ।
म सन् २००५ देखि २००९ सम्म खेलाडीको रूपमा कार्यरत थिएँ । त्यसपछि स्थानीय थ्रीस्टार क्लबमा प्रशिक्षकको रूपमा कार्यरत छु । सन् २००५ मा कराँचीमा भएको साफ च्याम्पियनसिपमा सुरू खेल भुटानसँग खेलेकोमा ३/० ले जितेको, बंगलादेशमा खेलेको ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup) मा भारतलाई जितेको, श्रीलंकासँग बराबरी भएको, ब्रुनाइसँग २/१ ले हारेको हो । २००६ मा श्रीलंकामा खेलेको साफ गेममा भारतलाई जिती तेस्रो स्थानमा रहेको हो । २००७ मा जोर्डनमा भएको वर्ल्डकप क्वालिफाइङमा २/० ले ओमानसँग हारेको हो । सन् २००९ मा बंगलादेशमा भएको साफ गेममा अफगानिस्तानलाई ३/० ले जितेको, माल्दिभ्ससँग बराबरी (१/१) मा रहेको र भारतसँग १/० ले हारेको हो । सन् २००८ मा मरडेका कप फुटबलमा क्वालिफाई हुन नसकेको
हो । मैले फुटबल खेल्ने समयमा विदेशी क्लबमा ट्रायल गर्नको लागि बोलाएको थियो । त्यसै क्रममा मलाई पैसा पठाएको हो । तर म चोट (Injury) को कारणले सन् २०१० देखि खेल खेल्न सकिन । जुन मानिसले मलाई पैसा पठाएको थियो त्यो मानिस केसभनसँग राम्रो मित्रता भएको कारणले कहिलेकाहीँ मैले उसलाई पस्मिना, हस्तकलाका सामान (Handicraft) र ग्रीन टी आदि सामान पठाइदिन्थेँ र त्यसबापत उसले पैसा पठाइदिन्थ्यो । वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) बाट आएको रकम त्यसरी नै आएको हो । सन् २००९ पछि मैले कुनै गेम खेलेको छैन, राष्ट्रिय टिममा आबद्ध पनि छैन र राष्ट्रिय टिमको प्रशिक्षकको हैसियतले कतै गएको पनि छैन । सन् २००८ मा मर्डेका कप खेलमा अमेरिकी डलर ५,००० (पाँच हजार) लिई २/२ को बराबरीमा खेल हारेको भन्ने आरोप झुट्टा
हो । प्रहरीले सोधपुछको क्रममा मलाई सुतिरहेको बेलामा उठाई महेन्द्र पुलिस क्लबमा लागि रितेश थापाको भिडियो देखाएर मलाई पनि जबरजस्ती बोल्न लगाई भिडियो लिएको हो । केलङ किङ्स (Kelong Kings) नामक पुस्तकमा नेपाल र सेरालियोनबिचको खेलमा ३/१ को म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको भनी लेखिएको पुस्तकको बारेमा मलाई केही थाहा छैन । मैले आफ्नो पढाई, परिवार, करिअर त्यागेर सानैदेखि देशकै लागि केही योगदान गर्न फुटबलको क्षेत्रमा लागी आफ्नो तर्फबाट सक्दो प्रयास गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा जितसमेत हासिल गरी राष्ट्रको गौरव बढाउने काम गरेकोमा राष्ट्रहितविपरीतको आरोपले मेरो मन पनि छियाछिया पारेको छ । राष्ट्रका लागि खेल खेलेको र राष्ट्रघात नगरेको हुँदा झुट्टा आरोपबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले विशेष अदालत काठमाडौंमा मिति २०७२।०७।२३ मा गरेको बयान ।
म वि.सं. २०६० अर्थात् सन् २००३ मा थ्रीस्टार क्लबबाट उत्कृष्ट गोलकिपरको पुरस्कार पाएपछि प्रहरी क्लबले बोलाएकोले खेलाडीको हैसियतमा प्रहरी सेवामा प्रवेश गरी प्रहरीकै रूपमा देशको सेवा गरेको छु । खेलाडीको रूपमा प्रवेश गरेपश्चात् हालसम्म १५/१६ वटा जति अन्तर्राष्ट्रिय खेल खेलेको छु । जसमा एसियन क्वालिफाइङअन्तर्गत ओमान र कोरियासँग खेलेको हुँ । सो खेलमा ओमनसँग ६/० ले खेल हारेको हो । सन् २००५ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिप (SAAF Championship) मा भुटानलाई ३/० ले जितेको हो । सन् २००६ मा श्रीलंकामा भएको साफ गेम (SAAF Game) मा मेरो कप्तानीमा नेपालले कास्य पदक प्राप्त गरेको थियो । सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा अफगानिस्तानसँग २/२ को बराबरी र मलेसियासँग ०/४ गोल अन्तरले खेल हारेको थियो । सन् २००७ मा कम्बोडियामा भएको ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup) मा मकाओलाई ३/२ र कम्बोडियालाई १/० ले हराएको, माल्दिभ्समा भएको साफ च्याम्पियनसिप (SAAF Championship) मा भारतसँग हारेको, पाकिस्तानलाई ४/० ले जितेको हो । सन् २०१२ मा भारतमा भएको नेहरू कपमा माल्दिभ्ससँग २/१ ले हारेको र क्यामरूनसँग ५/० ले खेल हारेको हो । त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मात्र टिममा छु । राष्ट्रिय खेल खेलेको छैन । मसमेतले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलमा म्याच फिक्सिङ (Match Fixing) गरी टिमलाई हराई रकम खाने गरेको भन्ने आरोप सरासर झुट्टा
हो । म एउटा राष्ट्रसेवक प्रहरी कर्मचारीसमेत भएकोले नेपाली जनता, नेपाली फुटबल समर्थक र नेपालको राष्ट्रिय स्वाभिमान र गौरव बढाउने उद्देश्यले प्रत्येक खेलमा आफ्नो शतप्रतिशत प्रयत्न लगाएको छु । कुनै धन आर्जन गर्नको लागि राष्ट्रद्रोही काम गरेको छैन । मलाई वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) बाट आएको पैसा म्याच फिक्सिङ (Match Fixing) को लागि आएको होइन । उक्त पैसा कम्बोडियामा भएको ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup) खेल्ने क्रममा कम्बोडिया विरूद्ध उत्कृष्ट खेलेर १/० ले जितेपश्चात् त्यहाँको स्थानीय क्लबबाट कम्बोडियाको फुटबल लिग खेल्नको लागि अफर गरेकोले सोबापत विदेशी एजेन्टमार्फत मलाई पठाइदिएको हो । जुन खबर नेपाली सञ्चार माध्यममा पनि प्रकाशित भएको थियो । म र मेरो भाइले बुझेको भन्ने सिंगापुरका नागरिक Titani Periasamy ले पठाएको रकम अन्तर्राष्ट्रिय क्लबहरूमा खेल्नको लागि आएको अफरबमोजिम टिकट र एड्भान्सको रूपमा आएको रकम हो । सन् २००८ मा मर्डेका कप खेलमा अमेरिकी डलर ५,००० (पाँच हजार) लिई २/२ को बराबरीमा खेलेर म्याच फिक्सिङ (Match Fixing) भन्ने आरोप झुट्टा हो । अनुसन्धानको क्रममा बयान गर्दा म्याच फिक्सिङ (Match Fixing) गरेको भनी स्वीकारेको छैन । जबरजस्ती मानसिक तनाव दिई भन्न लगाएको हो । मैले कुनै कसुर नगरेकोले झुट्टा आरोप दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रितेश थापाले विशेष अदालत काठमाडौंमा मिति २०७२।०७।२३ मा गरेको बयान ।
विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम प्रतिवादीहरू अन्जन के.सी., रितेश थापा, सन्दिप राई र विकास सिंह क्षेत्रीबाट जनही रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) र प्रतिवादी सागर थापाबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) धरौटी माग गरिएको छ । सो धरौटी नगदै वा सो खाम्ने जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राख्नु र सो दिन नसके कानूनबमोजिम सिधा खान पाउने गरी मुलुकी ऐन अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंबाट मिति २०७२।०७।२४ मा भएको थुनछेक आदेश ।
विशेष अदालतको आदेशबमोजिम प्रतिवादीहरू अन्जन के.सी., रितेश थापा, सन्दिप राई र विकाससिंह क्षेत्रीबाट जनही रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) र प्रतिवादी सागर थापाबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) का दरले माग भएको धरौटी निज प्रतवादीहरूले क्रमशः विशेष अदालतको र.नं. ३२७६, ३२७७, ३२७९, ३२८० र ३२७८ मिति २०७२।०७।२४ का धरौटी रसिदबाट दाखिल गरी अदालतले तोकेको तारेखमा रूजु हाजिर हुने छु नभई तारेख गुजारेमा धरौटी रकम जफत भएमा मन्जुरी छ भनी मुलुकी ऐन, अ.बं. १२४ क नं. बमोजिम कागज गरी तारेखमा रही मुद्दाको पुर्पक्ष गरी आएको ।
अभियोगपत्र मागबमोजिम प्रतिवादी डेजिब थापाका नाममा विशेष अदालतबाट जारी भएको समाह्वान म्याद मिति २०७२।१०।११ मा निज प्रतिवादीको घरदैलोमा टाँस भई रीतपूर्वक तामेल भएकोमा निज प्रतिवादीले सो सुरू म्यादै गुजारी प्रतिवाद नगरी बसेको ।
वादी पक्षका साक्षीहरू विशेष सरकारी वकिल कार्यालयमार्फत र प्रतिवादीका साक्षीहरू प्रतिवादीहरूमार्फत उपस्थित गराई उपस्थित भएपछि बकपत्रको लागि पेस गर्नु भन्ने विशेष अदालत काठमाडौंबाट मिति २०७२।१२।१२ मा भएको आदेश ।
मिति २०७२।०६।२७ मा मसमेतले चढाएको प्रहरी प्रतिवेदनको बेहोरा ठीक साँचो हो । सो प्रतिवेदनमा भएको सहीछाप हामीहरूको हो भन्नेसमेत बेहोराको एकै मत मिलानको दिपेश कौशिक, रञ्जित लामा, सुदीपराज पाठक, बालकृष्ण सञ्जेल र केशवबहादुर गुरूङका बकपत्रहरू तथा अनुसन्धानको क्रममा मिति २०७२।०६।१७ मा भएको मेरो बयान कागजमा भएको बेहोरा गलत छन् भने सहीछाप भने मेरो आफ्नै हो भन्नेसमेत बेहोराको शोभा के.सी.को बकपत्र ।
प्रतिवादीले पैसाको लागि म्याच फिक्सिङ गरे भन्ने कुरामा विश्वास लाग्दैन । यो कुरा आरोप मात्र हो भन्नेसमेत बेहोराको करिब एकै मत मिलानको प्रतिवादी रितेश थापाको साक्षी सुजन कार्की, प्रतिवादी सन्दिप राईको साक्षी उत्तमराज थापा, प्रतिवादी विकास सिंह क्षेत्रीको साक्षी किरण खड्का, प्रतिवादी सागर थापाको साक्षी सुरज फुयाँल क्षेत्री र प्रतिवादी अन्जन के.सी.को साक्षी उमेश नकर्मीले गरेका बकपत्रहरू मिसिल सामेल रहेका ।
अभियोगपत्रको सबुद प्रमाण खण्डको दसी प्रमाण खण्डमा उल्लिखित सि.डि. थान-३ समेत मिसिल साथै रहेका ।
अभियोग दाबीमा वि.सं.२०६५ देखि २०७१ सम्मको अवधिमा यी प्रतिवादीहरूको मिलोमतोमा अन्तर्राष्ट्रिय कुख्यात व्यक्तिहरूसँग साँठगाँठ गरी मोटो रकम लिई म्याच फिक्सिङ (Match fixing) गरी नेपाल र नेपाली जनतालाई धोका दिई नेपालको बेइज्जत गरेको भन्ने मुख्य आरोप गरेको पाइन्छ । तर सो अवधिमा नेपालमा फुटबल खेलमा हुने म्याच फिक्सिङ (Match fixing) लाई कसुर कायम गर्ने कुनै कानून प्रचलनमा रहेको पाइएन । मूलतः स्वच्छ प्रतिस्पर्धामा खेलिने खेलको नतिजा अनिश्चित हुने र म्याच फिक्सिङ (Match fixing) भएको खण्डमा चाहेअनुसारको खेलको नतिजा निकाल्नका लागि विभिन्न अनियमित किसिमका व्यवस्था गर्ने, खेल कुन टिमले जित्छ भन्ने बाजी राखी बाजी जिताउन वा हराउन सहयोग पुर्याउने र अन्ततः गैरकानूनी किसिमबाट रकम आर्जनको चाँजोपाँजो मिलाउने कार्य हो । यी सबै गैरकानूनी कार्य रोक्ने कुनै कानून सो अवधिमा प्रचलनमा रहेको पाइएन । २०७५ साल भाद्र १ गतेदेखि प्रारम्भ भएको मुलुकी अपराध संहिता, २०७४ मा म्याच फिक्सिङ (Match fixing) लाई कसुर कायम गरेर सजायको व्यवस्थासमेत गरिएको तथ्यले पनि यसभन्दा अगाडि यस किसिमको कानूनी व्यवस्था नरहेको भन्ने कुराको थप पुष्टि भएको छ । प्रतिवादीहरूले म्याच फिक्सिङ (Match fixing) गरी आरोप पत्रमा दाबी लिइएको जस्तो मोटो रकम प्राप्त गरेकै भए पनि उक्त रकम आफूलाई गैरकानूनी फाइदा पुर्याउने नियतबाट प्राप्त गरेको हुनुपर्दछ । अभियोजन पक्षले त्यस किसिमको दाबी लिएको पाइँदैन । यसरी प्रतिवादीहरूले म्याच फिक्सिङ (Match fixing) गरी राज्य विरूद्ध अपराध गरे भनिएको समयमा म्याच फिक्सिङ (Match fixing) लाई कसुर कायम गरेको कानून प्रचलनमा नै नभएको, नेपालको संविधानको धारा २० को उपधारा (४) मा तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन भन्ने व्यवस्था भएअनुसार प्रतिवादीहरूउपरको आरोप दाबी पुग्न सक्ने
देखिएन । त्यसैगरी राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ को कसुर अर्थात् राष्ट्र विप्लवको कसुरअन्तर्गतको कसुर पनि प्रतिवादीहरूले गरे भनिएको कार्य पर्नसक्ने अवस्था नदेखिएको हुँदा आरोपित दाबीबाट प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंको मिति २०७५।०२।२४ को फैसला ।
प्रतिवादीहरू अन्जन के.सी., सन्दिप राई, सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा र डेजिब थापाले विभिन्न मित्र राष्ट्रहरूमा आयोजना भएका मैत्रीपूर्ण एवं अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा नेपाल र नेपाली जनताको तर्फबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी नेपालको झण्डा र राष्ट्रिय गानको सपथ खाई फुटबल खेल खेल्दा प्रतिवादीहरूले अवैध अन्तर्राष्ट्रिय एजेन्ट Titani periasamy Wilsonraj Perumal र Kesavan Pattan सँग साँठगाँठ गरी म्याच फिक्सिङ गरी नेपाल राष्ट्रको तर्फबाट खेल हार्ने योजना बनाई रकम लिनुखानु गरी फुटबल खेल खेली पटक-पटक विदेशी भूमिमा नेपाल र नेपालीको प्रतिष्ठाको रूपमा रहेको मैत्रीपूर्ण तथा अन्तर्राष्ट्रिय खेल हारी विदेशी भूमिमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रको स्वाभिमानको रूपमा रहेको फुटबल खेलप्रति नै जनतामा घृणा द्वेष फैलाएको कार्य स्थापित हुन आएको हुँदा प्रतिवादीहरूले गरेको उक्त कसुर अपराध राज्य विरूद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा (१) अनुसार राष्ट्र विरूद्धको कसुर अपराध गरेको पुष्टि भएकोले विशेष अदालतबाट मिति २०७५।०२।२४ मा भएको फैसला त्रुटिपूर्ण भई बदरभागी भएकाले उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले प्रतिवादीहरूले नेपालको राष्ट्रिय फुटबल टिमबाट विभिन्न अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल खेल्दा राष्ट्रको प्रतिनिधित्व गर्दै खेल्न गएको, त्यसरी प्रतिनिधित्व गर्दा राष्ट्रिय झण्डा फहराइने, राष्ट्रिय गीत बजाइने र गाउने हुन्छ । यस्तोमा विभिन्न व्यक्तिहरूसँग साँठगाँठ गरी निश्चित परिणाम आउने र फुटबल खेल हार्ने गरी म्याच फिक्सिङमा संलग्न रही रकम लिएको र यसरी खेल हारी राज्यको प्रतिष्ठामा आँच पुग्ने गरी राज्य विरूद्धको अपराध गरेकाले विशेष अदालतको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताले गर्नु भएको बहस सुनी सम्बन्धित मिसिल अध्ययन गरी हेर्दा देहायका विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
१. प्रतिवादीहरूले के-कस्तो कार्य गरेको भन्ने आरोप छ ?
२. प्रतिवादीहरूले गरेको भनिएको उल्लिखित कार्यमा अभियोग पत्रमा उल्लेख भए जस्तो राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) आकर्षित हुन सक्ने हो वा होइन ।
३. प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ।
२. सर्वप्रथम प्रतिवादीहरूले के-कस्तो कार्य गरेको भन्ने आरोप छ भन्ने प्रश्नतर्फ हेर्दा, नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले सन् २००८ देखि २०१४ सम्मको अवधिमा छिमेकी मित्रराष्ट्रहरूमा तथा अन्तर्राष्ट्रिय स्तरमा फुटबल खेल्दा राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यले म्याच फिक्सिङमा संलग्न रहेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा त्यसो गरेको देखिएको भन्दै केही खेलाडीहरूलाई पक्राउसमेत गरी मिति २०७२।६।२७ मा पेस गरेको प्रतिवेदनबाट प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखिन्छ । सोही अनुसन्धान अघि बढी प्रतिवादीहरू अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरू विकाससिंह क्षेत्री र अन्जन के.सी.का साथै नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरू सन्दिप राई र रितेश थापा एवं फिजियो थेरापिष्ट डेजिब थापाले छिमेकी राष्ट्र एवं मित्र राष्ट्रहरूमा आयोजना भएका अन्तर्राष्ट्रिय फुटबल तथा मैत्रीपूर्ण फुटबल खेलहरूमा नेपाली राष्ट्रिय फुटबल टिमबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी खेल खेल्दा अवैध अन्तर्राष्ट्रिय कुख्यात एजेन्टहरू सिंगापुरका नागरिक विल्सन राज (Willson Raj) र टिटानी पेरियासामी (Titani Periasamy) एवं मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) समेतसँग सम्पर्क र साँठगाँठ गरी म्याच फिक्सिङ (Match Fixing) गरी नेपाल राष्ट्रको तर्फबाट खेल हार्ने योजना बनाई खेल हारेबापतमा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने एजेन्टहरूसँग रकम लिनु खानु गरी फुटबल खेल खेली पटक-पटक विदेशी भूमिमा नेपाल राष्ट्र र नेपालीको प्रतिष्ठाको रूपमा रहेको अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल हारी नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको फुटबल खेल प्रेमी आम नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याई अन्तर्राष्ट्रिय फुटबलप्रति जनताहरूमा घृणा, द्वेष फैलाएको स्थापित हुन आएको हुँदा प्रतिवादीहरू सागर थापा, अन्जन के.सी., सन्दिप राई, विकाससिंह क्षेत्री, रितेश थापा र डेजिब थापाले गरेको उक्त कसुर राज्य विरूद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा (१) अनुसार राष्ट्र विप्लवको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३.१ बमोजिम जन्मकैदको सजाय गरिपाउँ भन्ने अभियोगपत्र विशेष अदालतसमक्ष पेस भएको देखिन्छ । प्रतिवादीहरूउपर सो आरोप लगाउँदा अभियोजन पक्षले प्रतिवादीहरूको तत्काल लिइएको अडियो / भिडियो रेकर्ड, सन् २००९ को डिसेम्बर १३ देखि २०१३ को अप्रिल १० सम्म (वि.सं. २०६६ साल मङ्सिर १३ देखि २०६९ साल चैत्र २८ सम्म) विभिन्न मितिमा वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) बाट रकम प्राप्त गरेको विवरण, प्रतिवादीहरूको बयान, महानगरीय अपराध शाखा (Metropolitan Crime Division), काठमाडौंले एसियन फुटबल कन्फेडरेसन (Asian Footbal Confideration-AFC) लाई लेखेको पत्र र एसियन फुटबल कन्फेडरेसन (Asian Footbal Confideration-AFC) को पत्र जवाफसमेत, विल्सन राज पेरूमलले सेरालियोन विरूद्ध नेपालले खेल खेल्दा म्याच फिक्सिङ गरी खेल खेलेको भन्नेसमेत बेहोरा प्रकाशित भएको केलङ किङ्गस (Klong Kings) नामक पुस्तकको अंशभागसमेतलाई आधार लिएको देखिन्छ ।
३. माथि उल्लिखित माध्यमबाट रकम ट्रान्सफर भएको र सो रकम आफूहरूले बुझेको कुरालाई प्रतिवादीमध्येका अन्जन के.सी. र रितेश थापाले अदालतमा समेत स्वीकार गरेको पाइन्छ भने रकम बुझेको कुरा स्वीकार्दै रितेशका भाइ सिकन्दर के.सी. र अन्जनकी आमा सोभा के.सी. समेतले कागज गरेको देखिन्छ । रकम आफैँले बुझ्नेमा अन्जन के.सी., रितेश थापा, डेजिब थापाको नाम छ भने यिनै खेलाडीका नातेदार र सम्पर्कका अन्य व्यक्तिहरू विनोद खड्का, बविता विष्ट, उत्सव पौडेल, नविन कार्कीसमेतले रकम बुझेको भन्ने पनि अभियोग पत्रमा उल्लेख भएको
छ । मिसिलमा यी सबै कुरा देखिने अभिलेखहरू संलग्न छन् । यिनै आधारमा “विदेशी भूमिमा नेपाल राष्ट्र र नेपालीको प्रतिष्ठाको रूपमा रहेको अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल हारी नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको फुटबल खेलप्रेमी आम नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याई अन्तर्राष्ट्रिय फुटबलप्रति जनताहरूमा घृणा, द्वेष फैलाएको” बाट यी प्रतिवादीहरूले राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को ३.१ को कसुर गरेकोले सोही दफाअन्तर्गत सजाय हुनुपर्ने भन्ने माग अभियोजन पक्षले लिएको देखिन्छ ।
४. अभियोजन पक्षको यो दाबीलाई विशेष अदालतले अस्वीकार गर्दै सो दफाअन्तर्गत प्रतिवादीहरूलाई सजाय गर्न नमिल्ने ठहराउँदै आरोपित दाबीबाट सफाइ पाउने फैसला गरेकोमा नेपाल सरकारको पुनरावेदन पर्न आएकोबाट प्रतिवादीहरूले गरेको भनिएको उल्लिखित कार्यमा अभियोग पत्रमा उल्लेख भएजस्तो राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) आकर्षित हुन सक्ने हो वा होइन भन्ने दोस्रो प्रश्नतर्फ हेरौं । राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा “राष्ट्र विप्लव” बारे व्यवस्था गर्दै सो दफाको उपदफा (१) मा देहायको व्यवस्था गरिएको छः
“कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुने छ” ।
५. ऐनको नाम र प्रस्तावनाबाट नै स्पष्ट हुन्छ कि उल्लिखित ऐन राज्य विरूद्ध गरिने अपराध र सजायका सम्बन्धमा समयानुकूल व्यवस्था गर्न बनेको ऐन हो । वस्तुतः राज्य विरूद्धको कसुर राज्यको अस्तित्वसँग जोडिने हुँदा यो अत्यन्त गम्भीर प्रकृतिको कसुर हो । कुनै पनि राज्यको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने जस्ता कार्य अत्यन्त गम्भीर कार्य मानिन्छन् । कुनै पनि राष्ट्रले राष्ट्रद्रोहलाई सहँदैन । राष्ट्रद्रोह अर्थात् नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने कार्यहरूलाई रोक्न र त्यस्तो अपराधमा संलग्न राष्ट्रद्रोहीलाई सजाय गर्न सकिएन भने राष्ट्रको अस्तित्वमा नै सङ्कट पर्न जाने हुन्छ ।
६. यहाँ प्रतिवादीहरूउपर जुन दफा प्रयोग हुनुपर्ने दाबी गरिएको छ सो “राष्ट्र विप्लव” सँग सम्बन्धित दफा हो । सामान्य भाषामा “विप्लव” भन्नाले उत्पात, उपद्रव वा हलचल भन्ने
बुझिन्छ । राष्ट्र विप्लव । राष्ट्रद्रोहलाई संकेत गर्न अंग्रेजीमा मिल्दाजुल्दा शब्दहरू sedition, uprising, insurgency, insurrection, rebillion, pandemonium, आदि प्रयोग गरिन्छन् । यी सबै कार्यहरू अत्यन्त गम्भीर कार्यहरू हुन् । ऐनको दफा ३.१ ले “राष्ट्र विप्लव” अन्तर्गत सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने कार्यलाई कसुर कायम गरेको छ । यस्तो कार्य “नियतपूर्वक” गरिएको हुनुपर्ने ऐनको पहिलो सर्त हो भने त्यस्तो कार्यले राज्यमा “अव्यवस्था” को सिर्जना गरेको वा अव्यवस्था सिर्जना गर्ने उद्योग गरेको हुनुपर्ने ऐनको दोस्रो सर्त हो । दफा ३.१ मा प्रयुक्त “अव्यवस्था” शब्दले शान्ति र व्यवस्थामा खलल पार्ने कार्यलाई जनाउँछ । अव्यवस्था (disorder) सिर्जना हुँदा राष्ट्र वा त्यसको कुनै भागको नियमित व्यवहार, शान्ति र अमन चयन खलबलिन पुग्छ; अराजकताको स्थिति पनि सिर्जना हुन सक्छ । अव्यवस्था शब्दले कम्तीमा पनि कुनै न कुनै रूपको हिंसाजन्य वा उपद्रवी कार्य वा त्यसको परिणामलाई नै संकेत गर्छ ।
७. अब प्रश्न उठ्छ, के प्रतिवादीहरूका कार्य “राष्ट्र विप्लव” का कार्यहरू हुन् त ? यसको उत्तर अवश्य पनि होइन भन्ने नै निस्कन्छ । हो, राष्ट्रलाई प्रतिनिधित्व गरेर विदेशमा खेल खेल्न जाने व्यक्तिहरूले राष्ट्रको भावनात्मक प्रतिनिधित्व गरेका हुन्छन् । उनीहरूले गर्ने कुनै गलत तथा अनुचित कार्यले अभियोग पत्रमा भने जस्तो “नेपाली जनताको स्वाभिमान र आत्मसम्मान” मा चोट पुग्छ । यहाँ रकम लेनदेनको जुन कुरा उठेको छ, रकम ट्रान्सफर भएको र बुझेको जुन प्रमाण जुटाइएको छ, जसरी केही खेलाडीहरूले रकम बुझेको कुरा अदालतमा समेत गरेका छन्, मिसिलमा जुन कुरा उठाइएको छ सो राष्ट्रिय लज्जाको विषय हो र यस्तो कार्यबाट राष्ट्रको शिर निहुरिन पुग्ने हुँदा यो सर्वथा अनुचित हो, यसमा कुनै द्विविधा छैन । मिसिल हेर्दा यी खेलाडीहरूमध्ये सागर थापालाई विश्व फुटवल सङ्घ (FIFA) ले आजीवन फुटबल खेल र सोसम्बन्धी कार्य गर्न प्रतिबन्ध लगाएको र सबै प्रतिवादीहरूलाई अखिल नेपाल फुटबल सङ्घले २०७२।६।२८ देखि मुद्दाको अनुसन्धान नसकिएसम्म फुटबलसम्बन्धी गतिविधि गर्नबाट रोकेको पनि संलग्न कागजहरूबाट
देखिन्छ । फुटबल खेलाडीहरूले गरेका कार्यहरू एकै पटक फौजदारी कसुर र अनुशासन एवं मर्यादासँग सम्बन्धित कारबाही (cONCOURSE action) का विषय हुन सक्छन् । यस्तोमा मिसिलमा उपलब्ध तथ्य प्रमाणको आधारमा सम्बन्धित निकायहरूले कानूनको परिधिभित्र रही आफूलाई प्राप्त अधिकारअन्तर्गत जहिले पनि अनुशासनात्मक कारबाही गर्न सक्छन् । तर कसुरसँग सम्बन्धित कुरा चाहिँ अदालत वा न्यायिक निकायले हेरी निरूपण गर्ने विषय हो । यहाँ स्पष्ट हुनुपर्ने कुरा के छ भने प्रस्तुत मुद्दा अनुशासनात्मक कारबाहीसँग सम्बन्धित मुद्दा होइन । अभियोग पत्रमा यी प्रतिवादीहरूलाई यो यस्तो अनुशासनात्मक कारबाही हुनुपर्ने भनी उल्लेख छैन । यहाँ त यी खेलाडीहरूले राज्य विरूद्धको कसुर अर्थात् “राष्ट्र विप्लव” गरे भन्ने आरोप लगाई जन्मकैदको सजायको माग गरिएको छ । त्यसैले विशेष अदालतमा अभियोग पत्रमा उल्लिखित कानून नै आकर्षित हुन्छ वा हुँदैन भन्ने प्रश्न उठेको र अदालतले मुद्दाको तथ्यभित्र पसी को-कसको हकमा आरोपित कार्य गरेको ठहर्छ र को-कसको हकमा ठहर्दैन भन्नेबारेमा नहेरी जुन कानूनमा आधारित भई सजायको माग गरियो सो कानून नै आकर्षित हुन्छ वा हुँदैन भन्ने प्रारम्भिक प्रश्नमा नै केन्द्रित भई फैसला गरेको देखिन्छ । जुन कानूनमा आधारित भई सरकार वादी बनी मुद्दा दायर गरिएको छ, सो कानून आकर्षित नहुने भएमा अन्य प्रश्नमा प्रवेश गर्ने कुरा नै हुँदैन । त्यसैले को-कसको हकमा म्याच फिक्सिङ गरेको प्रमाणित हुन्छ र को-कसको हकमा प्रमाणित हुन सक्दैन भनी हेर्ने भन्दा पनि अभियोग पत्रले टेकेको कानून नै आकर्षित हुन्छ वा हुँदैन भन्ने प्रमुख प्रश्न हाम्रो सामुन्ने पनि खडा छ ।
८. यस दृष्टिबाट हेर्दा विवादित कार्य “राष्ट्र विप्लव” को कार्य होइन; यो म्याच फिक्सिङको कार्य हो; यसलाई राष्ट्र विप्लवको कार्य भन्न सकिँदैन भन्ने यस इजलासको पनि ठम्याई छ । विधायिका आफैँले म्याच फिक्सिङ (Macth Fixing) को कार्य राष्ट्र विप्लवको कार्य हुँदैन भन्ने स्वीकार गरेर नै मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ मा यसलाई “राष्ट्र हित प्रतिकूलको कार्य” भनी सो दफाको उपदफा (३) मा कसुर कायम गर्ने र उपदफा (४)(ख) मा सजायको व्यवस्था गरेको देखिन्छ । यसबाट अब विवादित कार्य “राष्ट्र विप्लव” रहेनछ र विवादित कार्य भएको अवधि अर्थात् सन् २००९ देखि २०१३ सम्म (अर्थात् वि.सं. २०६६ मंसिरदेखि २०६९ सालको चैत्रसम्म) सो कार्यलाई कसुर कायम गरी सजाय गर्ने कानून विद्यमान रहेनछ भन्नेमा द्विविधा रहेन ।
९. यसै सन्दर्भमा यी प्रतिवादीहरूले नेपाल र नेपाली जनताको तर्फबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी नेपालको झण्डा र राष्ट्रिय गानको सपथ खाई फुटबल खेल खेल्दा अवैध अन्तर्राष्ट्रिय एजेन्टसँग साँठगाँठ गरी म्याच फिक्सिङ गरी पटक-पटक विदेशी भूमिमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रको स्वाभिमानको रूपमा रहेको फुटबल खेलप्रति नै जनतामा घृणा द्वेष फैलाएको भन्ने जिकिर गर्दै प्रतिवादीहरूलाई सफाइ दिने विशेष अदालतको फैसला उल्टी हुनुपर्ने भन्ने जिकिर नेपाल सरकारको तर्फबाट पुनरावेदनमा लिइएको छ । विद्वान् उपन्यायाधिवक्ताले पनि यसै कुरालाई बहसको क्रममा उठाउनुभएको छ । यद्यपि यी प्रश्नहरूको संक्षिप्त उत्तर माथिल्ला प्रकरणहरूमा दिइसकिएको छ तर यस्तो प्रकृतिको विवाद नेपालमा पहिलो पटक उठेकोले अभियोग पत्रमा उल्लिखित कानून किन आकर्षित हुँदैन भन्ने कुराको सन्दर्भमा फौजदारी कानून र न्यायसँग सम्बन्धित केही सैद्धान्तिक र संवैधानिक प्रश्नहरूबारे विचार गर्नुसमेत वाञ्छनीय देखिन्छ ।
१०. वर्तमान संविधानको प्रस्तावनामा नै “कानूनी राज्यको अवधारणा” प्रतिको प्रतिबद्धतालाई स्वीकार गरिएको छ । कानूनी राज्यमा कानून नै सर्वोच्च हुन्छ र कानूनको स्पष्ट उल्लङ्घन गरेमा बाहेक कसैलाई पनि सजाय गरिँदैन । कार्यकारणीको स्वेच्छा, स्वविवेक वा स्वेच्छाचारितालाई कानून अधीनस्थ बनाउनु कानूनको शासनको प्रमुख उद्देश्य हो । कानूनी राज्यमा कानूनले छुट दिएको कुरालाई मात्र अधिकारको रूपमा स्वीकार गरिने नभई कानूनले स्पष्ट रोक लगाएको अवस्थामा बाहेक व्यक्तिले आफ्नो सबै व्यवहार साधिकार सञ्चालन गर्न पाउँछ । अर्को शब्दमा भन्दा, अधिकार कानूनले छुट दिएको विषय मात्र नभई कानूनले निषेध गरेदेखि बाहेकको सबै कुरा हो; यस मानेमा यो कानूनले नबाँधेको खुला संसार
हो । कानूनी राज्यको यो अवधारणालाई नै आत्मसात् गर्दै संविधानको धारा २० को उपधारा (४) मा “तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन” भन्ने व्यवस्था राखिएको पाइन्छ । चाखलाग्दो कुरा के भने यो व्यवस्था नेपालमा करिब-करिब यही रूपमा २००७ सालदेखिका सबै संविधानहरूमा रहेको
पाइन्छ । यसबाट हाम्रो संवैधानिक व्यवस्थामा कानूनको शासनको अवधारणालाई कति महत्त्व दिइएको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यद्यपि कानूनको शासनलाई व्यवहारमा उतार्न भने विभिन्न व्यवधानहरू नआएका होइनन् तर कानूनको शासन नेपाली जनताको एउटा प्रमुख संवैधानिक अभिष्ट सदा रहिआएको छ । यो कुरालाई संविधानका व्यवस्थाहरूले पटक-पटक पुष्टि गर्दै आएका छन् ।
११. कानूनी शासनको जगमा प्रसिद्ध विधिशास्त्री ए.भि. डायसीको विधिको शासनसम्बन्धी मान्यताहरू रहेका छन् जसलाई आधुनिक लोकतन्त्रमा अत्यन्त महत्त्वका साथ हेरिन्छ । उनी भन्छन् : "... no man is punishable or can be lawfully made to suffer in body or goods except for a distinct breach of law established in the ordinary legal manner before the ordinary Courts of the land. In this sense the rule of law is contrasted with every system of government based on the exercise by persons in authority of wide, arbitrary, or discretionary powers of constraint. कसैलाई पनि सजाय गर्न कानूनको स्पष्टतः उल्लङ्घन (distinct breach of law) गरेको हुनुपर्छ भन्ने कानूनी शासनको मूल मान्यता हो । यसलाई फौजदारी कानून र न्यायको क्षेत्रमा विशेष कडाईका साथ हेरिन्छ । फौजदारी न्याय प्रणालीमा कानूनबेगर कसुर हुँदैन (अर्थात् Nullum crimen sine lege) भन्ने र कानूनबेगर कसैलाई पनि सजाय गर्नु हुँदैन (अर्थात् nullum poena sine lege) भन्ने मान्यतालाई स्वीकार गरिँदै आएको छ । कानूनबेगर सजाय गर्नु हुँदैन भन्ने मान्यताभित्र चारवटा तत्त्वहरू विद्यमान रहेका हुन्छन् । जसमध्ये पहिलो, कसैलाई पनि कुनै घटना घटिसकेपछि पश्चात्दर्शी कानून निर्माण गरेर सजाय गर्ने होइन कि सजाय गर्नुपूर्व नै सो विषयमा कानून विद्यमान (अर्थात् Nulla poena sine lege praevia) भएमा मात्र सजाय गर्न सकिन्छ । दोस्रो, कसैलाई पनि प्रथा परम्परा आदिको आधारमा होइन कि मुलुकको कानूनी प्रणालीले स्वीकार गरेको मान्यताअनुसार निर्मित लिखित कानूनबमोजिम मात्र सजाय (अर्थात् Nulla poena sine lege scripta) गर्न सकिन्छ । तेस्रो, त्यस्तो सजाय गर्ने कानून निश्चित (अर्थात् Nulla poena sine lege certa) हुनुपर्छ, अर्थात् यस्तो कानूनले स्पष्टरूपमा कसुरको परिभाषा र सजाय दुवै गरेको हुनुपर्छ । त्यसो भएमा मात्र व्यक्तिहरूले के गर्दा कानूनको उल्लङ्घन हुन्छ र के गर्दा हुँदैन भन्ने कुरा स्पष्ट बुझेर सोहीअनुरूप आफ्नो आचरण व्यवहार सञ्चालन गर्न पाउने हुन्छन् । चौथो, फौजदारी कानूनको कठोर व्याख्या गरिनुपर्छ । कानूनले स्पष्ट रूपमा परिभाषित गरी कसुर मानेको विषयमा त्यस्तो कानूनको स्पष्ट उल्लङ्घन गरेको भनी स्थापित नभएसम्म अर्कै प्रयोजनलाई बनेको विद्यमान कुनै कानूनी प्रावधानलाई तानतुन पारेर व्याख्या गरी कसुर कायम गर्न र सजाय (अर्थात् nulla poena sine lege stricta) गर्नु हुँदैन । यस मानेमा फौजदारी कानून र मानव अधिकार कानूनको व्याख्याले दुईविपरीत धारलाई
पच्छ्याउँछन् । मानव अधिकार कानूनको व्याख्याले उदारवादी र समावेशी धारलाई अनुसरण गर्छ; अधिकार छ वा छैन भन्ने प्रश्न उठेमा सकेसम्म र मिलेसम्म अधिकार छ भन्नेतर्फ अदालतले व्याख्या गर्दै मानव अधिकारको संरक्षण गर्छ भने फौजदारी कानूनले व्यक्तिगत स्वतन्त्रताको अपहरण गर्ने र जथाभावी प्रयोगले निरङ्कुशतालाई प्रश्रय दिने हुँदा यसको कठोर व्याख्या गरिनुपर्छ; कुनै कानूनी प्रावधान आकर्षित हुन्छ वा हुँदैन भन्ने द्विविधाको स्थितिमा आकर्षित हुँदैन भन्ने व्याख्या गरिनुपर्छ । यस्तो व्याख्या लोकतन्त्र, विधिको शासन र सीमित सरकारको अवधारणाअनुकूल हुन्छ ।
१२. यी समस्त सैद्धान्तिक सन्दर्भमा अब प्रस्तुत विवादमा यी प्रतिवादीहरूले म्याच फिक्सिङ गरी पटक-पटक विदेशी भूमिमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रको स्वाभिमानको रूपमा रहेको फुटबल खेलप्रति नै जनतामा घृणा द्वेष फैलाएको भन्ने आधारमा विशेष अदालतको फैसला उल्टी हुनुपर्छ भनी नेपाल सरकारले पुनरावेदनमा लिएको जिकिरको सन्दर्भमा हेर्दा अभियोग पत्रमा उठाइएको विवादित विषय अवश्य पनि गम्भीर हो; यसले समस्त नेपालीको स्वाभिमानमा चोट पुर्याएको छ भन्ने कुरा माथि व्यक्त गरिसकिएको छ । तर यति हुँदाहुँदै पनि यो राष्ट्र विप्लवको कार्य चाहिँ होइन । यहाँ नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने कुनै कार्य भएको छैन, न त प्रतिवादीहरूले मुलुकमा अव्यवस्था फैलाउने कुनै कार्य नै गरेको अवस्था यहाँ छ । यस्तो कुनै कार्य भएको छ भनी अभियोग पत्रमा उल्लेख भएको स्थितिसम्म पनि यो होइन । तसर्थ राष्ट्र विप्लवमा आकर्षित हुने कानून तानतुन गरेर प्रस्तुत म्याच फिक्सिङको विषयमा प्रयोग गर्न मिल्दैन । यसो गर्नु नेपालको संविधानले अनुशरण गरेको कानूनी राज्यको अवधारणा, विद्यमान कानूनको स्पष्ट उल्लङ्घन गरेमा मात्र सजाय गर्न मिल्छ, कानूनको अभावमा कसुर कायम गर्न र सजाय गर्न मिल्दैन भन्ने धारा २०(४) को मान्यतासमेतको विपरीत हुन जान्छ । संविधानको धारा २०(४) ले कानूनबेगर कसुर हुँदैन (Nullum crimen sine lege) तथा कानूनबेगर कसैलाई पनि सजाय गर्नु हुँदैन (nullum poena sine lege) भन्ने र पश्चात्दर्शी कानूनको प्रयोग गरी अपराध कायम गर्न र सजाय गर्न मिल्दैन भन्ने सिद्धान्तहरूलाई अङ्गीकार गरेको छ, जुन विश्वव्यापी मानव अधिकारको सिद्धान्तअनुकूल समेत छ । त्यसैले तथ्यगत रूपमा अभियोग पत्र र पुनरावेदन जिकिरमा उठाइएका कुराहरू गम्भीर छन् भन्ने कुरालाई स्वीकारेको अवस्थामा पनि यसो गर्नु राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ अन्तर्गतको कसुर हुन्छ र सो दफाअन्तर्गत प्रतिवादीहरूलाई सजाय गर्न मिल्छ भन्ने निष्कर्ष कतै निस्कँदैन र यस्तो जिकिरलाई स्वीकार गर्न सकिने अवस्था छैन ।
१३. नेपालको संविधानको धारा २०(४) को व्यवस्थाको सन्दर्भमा पश्चात्दर्शी कानून निर्माणको सीमा के हो भन्ने पनि प्रश्न यदाकदा उठ्छ । यस्तो विवाद अरू मुलुकहरूमा पनि उठेको पाइन्छ । पश्चात्दर्शी कानून (Ex post facto law) मूलतः फौजदारी कानूनको हकमा लागु हुन्छ । तर यसको अपवाद हुँदै हुँदैनन् भन्ने चाहिँ होइन । द्वन्द्वोत्तर परिस्थिति (post-conflict situation) रहेका देशमा अन्तर्राष्ट्रिय मानव अधिकारको गम्भीर उल्लङ्घनका विषयमा पश्चात्दर्शी कानून बन्न सक्ने र बनाइएको अवस्था पनि
भेटिन्छ । तर यी अपवादात्मक अवस्था हुन् र पश्चातदर्शी कानूनको आवश्यकता महसुस भएको स्थितिमा सो कुराको स्वीकृति पनि मुलुकको संविधानले नै दिएको हुनुपर्छ । जहाँ संविधानले नै पश्चात्दर्शी कानून निर्माण गर्न रोक लगाएको हुन्छ, पश्चात्दर्शी कानून निर्माण गरी कसुर कायम गर्ने र सजाय गर्ने सम्भावना रहँदैन । हाम्रै आफ्नो अनुभवमा पनि नेपालको संविधान, २०१९ को धारा १७(२) ले अनुमति दिएको भन्दै २०४२ सालमा विध्वंशात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ पश्चात्दर्शी प्रभाव हुने गरी निर्माण गरिएको र ऐन निर्माणपूर्वका घटनामा मुद्दा चलाइएको त थियो तर अब न त संविधानमा त्यस्तो छिद्र छ न त विद्यमान अपराध संहिताले नै पश्चात्दर्शी कानून निर्माण गरी कसुर कायम गर्न र सजाय गर्न अनुमति दिन्छ । पश्चात्दर्शी कानून निर्माण गरी कसुर कायम गर्न सकिँदैन भन्ने कुरालाई यस अदालतले पटक-पटक उद्घोष पनि गरेको छ । हाल आएर मुलुकी अपराध संहिता, २०७४ को दफा ७ मा “कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा तोकिएभन्दा बढी सजाय हुने छैन” भन्ने उल्लेख गरिएबाट दफा ५१(३) मा परिभाषित गरिएको “नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्ने वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरूद्धको कसुर भएको मानिने छ” भनी गरिएको व्यवस्थाले प्रस्तुत मुद्दामा उठाइएको विवादित कार्यलाई कसुर कायम गरेको देखिए तापनि यहाँ वर्णित घटनाहरू अपराध संहिता लागु भएको मिति अर्थात् २०७५।५।१ भन्दा अघिको घटना हुँदा सो घटनाहरूमा आकर्षित हुन सक्ने देखिएन ।
१४. यसै सन्दर्भमा पश्चात्दर्शी कानून निर्माण गर्न नेपालको संविधानको धारा २०(४) वा मुलुकी अपराध संहिता, २०७४ को दफा ७ ले प्रतिबन्ध लगाएको अवस्थामा त्यसको तात्पर्य के हुन्छ, त्यसले के-केस्ता कार्य गर्न रोक्छ भन्ने प्रश्नहरू पनि
उब्जन्छन् । वस्तुतः यसले पहिले घटिसकेको घटनामा पछिबाट कानून निर्माण गरी कसुर कायम गर्ने वा विद्यमान कानूनमा भएको कसुरको परिभाषा परिवर्तन गरी कसुर कायम गर्ने वा कसुरको गम्भीरता बढाउने अवस्था थप्ने वा विद्यमान कानूनमा रहेको सजायभन्दा बढी सजाय हुने गरी कानून संशोधन गर्ने, वा प्रमाणसम्बन्धी नियम परिवर्तन गरी कम स्तरको प्रमाण वा कम प्रमाणको आधारमा सजायभागी बनाउने जस्ता कार्य गर्नबाट रोक्छ । अर्थात् यी कुनै कुराहरू पनि पश्चात्दर्शी कानूनमार्फत गर्न
मिल्दैन । तर संविधान र संहिताको यो प्रतिबन्धात्मक व्यवस्थाले देवानी कानून निर्माण गरी देवानी दायित्व (Civil liability) थप्ने, अनुशासनात्मक कारबाही (Disciplinary action) गर्ने प्रबन्ध गर्ने, कुनै कार्य गरेबापत अयोग्यता (Disqualification) कायम गर्ने वा निश्चित अवधिसम्म व्यावसायिक कार्य गर्न रोक्ने (Suspension) वा विदेशी नागरिकको हकमा निजलाई देश निकाला (Deportation) गर्ने जस्ता कार्यहरू गर्नलाई प्रतिबन्ध
लगाउँदैन । अर्थात् पश्चात्दर्शी कानून निर्माण गरी वा कानूनी प्रबन्ध गरी त्यस्ता कार्यहरू गर्न सकिन्छ; त्यसो गर्न संविधान वा कानूनको व्यवस्थाले रोक्दैन । अन्य मुलुकहरूमा त्यस्ता कानून निर्माण गर्न सकिन्छ भन्ने व्याख्याहरू भइसकेको अवस्था पनि छ । विषयवस्तुको गम्भीरताले सो कुरालाई अपरिहार्य मान्छ भने तथ्यको विषयवस्तुमा प्रवेश गरी छानबिन गर्ने र देवानी परिणाम निस्कने कानूनी प्रबन्धमार्फत सो गर्न नमिल्ने कुनै कारण र अवस्था रहँदैन । प्रस्तुत मुद्दामा अभियोगपत्रको विषय सोसँग सम्बन्धित नहुँदा सो बारेमा थप बोल्नु आवश्यक देखिएन ।
१५. प्रस्तुत मुद्दामा उठाइएको विवादको सम्बन्धमा, मुद्दाको प्रकृति, विद्यमान संवैधानिक तथा कानूनी व्यवस्था, त्यसको सैद्धान्तिक परिवेश, तुलनात्मक कानूनमा गरिएको व्यवस्थासमेतको चर्चा गरिसकेपछि अब प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा सङ्क्षेपमा प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ, सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ । तर त्यति हुँदाहुँदै पनि सो कार्य राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसुर नहुँदा दफा ३.१ आकर्षित हुने कसुर हो भन्ने देखिँदैन । वारदात सन् २००९ देखि २०१३ साल (वि.सं. २०६६ मंसिरदेखि २०६९ सालको चैत्र) सम्मको अवधिको हुँदा वर्तमान मुलुकी अपराध संहिता, २०७४ प्रयोग गरी कसुर कायम गर्न र सजाय गर्न नेपालको संविधानको धारा २०(४) र संहिताकै दफा ७ ले रोक्ने देखिन्छ । देवानी दायित्वको विषयवस्तु प्रस्तुत मुद्दाको विषय नभई विवादित कार्यलाई राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसुर भन्दै दफा ३.१ बमोजिमको सजायको माग गरिएको अवस्था रहेकोमा सो ऐन नै आकर्षित हुँदैन भन्ने नै यस इजलासको दृष्टिकोण छ । सोबाहेक विवादित विषयको देवानी पाटोमा प्रवेश गर्दै सबुद प्रमाणको मूल्याङ्कन गरी को-कसको हकमा के-कस्तो गल्ती देखिन्छ वा देखिँदैन भन्ने यो मुद्दाको रोहबाट बोल्न मिल्ने देखिएन ।
१६. तसर्थ माथि विभिन्न प्रकरणहरूमा उल्लिखित आधार र कारणबाट सङ्क्षेपमा प्रतिवादीहरूले गरेको भनिएको कार्यमा जुन कानूनको प्रयोग हुनुपर्ने भनी अभियोग माग र पुनरावेदनमा समेत जिकिर लिइएको छ सो कानून आकर्षित हुनसक्ने देखिएन । कानून नै आकर्षित नहुने भएपछि तथ्यमा प्रवेश गरी अन्य कुराहरू हेरी न्याय निरूपण गर्न मिल्ने अवस्था भएन । कानूनको अभावमा अभियोग दाबी पुग्न नसक्ने भन्दै प्रतिवादीहरूले नेपाल सरकारले प्रस्तुत मुद्दामा लिएको अभियोग दाबीबाट सफाइ पाउने ठहराई विशेष अदालत काठमाडौंबाट मिति २०७५।०२।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनुहोला ।
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत: तेजप्रसाद पौडेल
इति संवत् २०७७ साल असार २ गते रोज ३ शुभम् ।