निर्णय नं. ४४२० - सवारी ज्यान

निर्णय नं. ४४२० ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०४६ सालको फौ.पु.नं. ५८५, ५९४
फैसला भएको मिति: २०४८।११।१८।१ मा
पुनरावेदक/वादी : प्र.ना.नि.पूर्णप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : का.न.पं.वा.नं.१३ बस्ने चालक उद्धव गौतम
पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. १३ बस्ने उद्धव गौतम
विरुद्ध
प्रत्यर्थी/वादी : प्र.ना.नि. पूर्णप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सवारी ज्यान
(१) सही साइड तर्फबाट कार चलाउँदै लाँदा डिउटीमा रहेको मृतक प्रहरीको कारको ठक्कर लागी मृत्यु भएको देखिन आएको, मार्नु पर्ने इवि आदि कारण अवस्था र ज्यानसम्बन्धीको १३(३) को अपराध प्रमाणित हुन सक्ने आधार प्रमाण समेत नहुँदा ज्यानसम्बन्धीको ६(२) अनुसार भवितव्य ठहर्याई प्रतिवादीलाई कैद वर्ष १ र जरिवाना रु. ५००।– समेत हुने ठहर्याएको फैसला मिलेकै देखिने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल
फैसला
न्या.हरगोविन्द सिंह प्रधान
१. म.क्षे.अ. को निर्णय उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मिति २०४२।८।२६ गते राती कालिमाटी चोकमा डिउटीमा रहेको प्र.ज.चन्द्रकुमारलाई प्रा.कार ६५३९ ले ठक्कर दिई लडाई उक्त कार भागी गएछ । प्र.ज.रमनबहादुरले निजलाई वीर अस्पतालमा लगी जाँच गराई शाही सैनिक अस्पतालमा भर्ना गरेकोमा मिति २०४२।८।१८ गते अं. १२:२० बजे प्र.ज.चन्द्रकुमार गिरीको मृत्यु भएकोले मानिसलाई ठक्कर लाग्दा मानिस मर्दछ भन्ने कुरा जानी जानी बचाउ तर्फको कुनै ख्यालै नराखी ठक्कर लगाई मारेकोमा चालक उद्धव गौतमलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महल अनुसार कारवाही गरिपाउँ भन्ने समेत मिति २०४२।८।१९ को प्र.ना.नि.पूर्णप्रसादको प्रतिवेदन ।
३. निज ट्राफिक प्रहरीले रातीको समयमा कहाँ गएर आइस भनी गाडी रोकी सोध्ला भन्ने डरले ४ नं. गियर लगाई ८०।९० कि.मि. को रफ्तारमा हाँकी लैजाँदा निज ट्राफिक प्रहरीले बीच बाटोमा बसी रोक्ने (साविक पेज नं. ७७४) इसारा दिई सो इसारालाई इन्कार गरेर बायाँ किनाराबाट गाडी पास गराउँछु भनी स्टेरिङ काट्दा निज चन्द्रकुमारलाई अगाडिपट्टिको बर्नेटले जोडसंग लागी २५ फिट जति बीचमा रगडी नालीनेर पुगेकोले त्यहाँबाट गाडी लिई भागेको हुँ त्यसैबेला ब्रेक लगाई भन्ने समेत व्यहोराको मिति २०४२।८।२३ को चालक ला.नं. ०५९८५८ को उद्धव गौतमले गरेको बयान ।
४. वा.अं.च. ६५३९ नं. को कारको हेण्ड ब्रेक नलाग्ने फुट ब्रेक नलाग्ने अगाडिको बोनट कुच्चिएको भन्ने समेत व्यहोराको मिति २०४२।९।५ को मेकानिकल जाँच मुचुल्का ।
५. वा.अं.च. ६५३९ नं. को कारले प्र.ज. चन्द्रकुमार गिरीलाई ठक्कर दिई मिति २०४५।८।१८ मा निजको मृत्यु भएको हो भन्ने समेत सरजमीन मुचुल्का ।
६. वा.अं.च. ६५३९ नं. कारले ठक्कर दिई प्र.ज. चन्द्रकुमार घाइते भएकोले मैले निजलाई उठाई वीर अस्पतालमा पुर्याएको हुँ त्यसपछि मेलेट्री अस्पतालमा भर्ना भई मिति २०४२।८।१८ मा प्र.ज.चन्द्रकुमारको मृत्यु भएको हो भन्ने समेत मिति २०४२।९।१५ को प्र.ज.रमनबहादुर भुजेलको बयान कागज ।
७. संकलित सबूद प्रमाणका आधारमा वा.अं.च. ६५३९ नं. को प्रा. कारले आफ्नो चाहिंदो मात्रामा सडक छोडी एक्कासी देब्रे च्यापिएर लगी फुटपाथ निर भएको प्र.ज. चन्द्रकुमार गिरीलाई ठक्कर दिई सोही कारणले मृत्यु समेत भएकोले चालक उद्धव गौतमलाई ज्यानसम्बन्धी महल अनुसार कार्यवाही समेत गरी पाउँ भन्ने समते व्यहोराको प्र.ना.नि. पूर्णप्रसादको जाहेरी प्रतिवेदन भई ख्यालै नराखी प्रतिवादी उद्धव गौतमले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) तथा सवारी ऐन, २०२० को दफा २२(१), २८(१), ३६(१) को कसूर अपराध गरेको देखिन्छ । निज अभियुक्त उद्धव गौतमले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) सवारी ऐन, २०२० को दफा ४५(१), ४६(१)(क), ४२ र दफा ५१(क) अनुसार कार्यवाही सजायँ भई निजबाट सवारी ऐन, २०२० को दफा ४५(१) अनुसार क्रिया खर्च समेत क्षेतिपूर्ति भराई पाउँ भन्ने मिति २०४२।९।१६ को प्रहरी प्रतिवेदन ।
८. प्रहरीमा मलाई कुटपिट गरी सावित गरी बयान गराइएको हो । मिति ०४२।८।१६ गते राती मैले चलाउने गरेको प्रा.कार वा.अं.च. ६५३९ नं. को मोटर सोल्टी होटल जान भनी आइरहेको बखत दायाँबाट बायाँपट्टि बाटो काटी आएकोले मैले ब्रेक लगाउने र दायाँ बायाँ मोड्ने समेत मौका नपाई कारको अगाडि बायाँ साइडको बर्नेटले ठोकिन गई निज प्र.ज. चन्द्रकुमारको मिति २०४२।८।१८ मा मृत्यु भएको हो । मैले जानी जानी दुर्घटना गराएको होइन भन्ने समेत व्यहोराको मिति २०४२।९।१८ मा चालक उद्धव गौतमले जिल्ला अदालत काठमाडौंमा गरेको बयान ।
९. मिति २०४३।२।२० गतेको भरपाई कागज मृतक चन्द्रकुमार गिरीको बा.अं.च. ६५३९ नं को प्रा. कारले ठक्कर दिई मृत्यु भएकोले कार चालक उद्धव गौतमसंग आमा कृष्णकुमारी गिरीले रु. १९,५००।–बुझी लिई भरपाई गरेकीले म उक्त कागजमा साक्षी बसेको हुँ भन्ने समेत व्यहोराको मिति २०४३।६।२३ मा प्र.ना.नि. प्रदिप शम्शेर राणाले गरेको बयान ।
१०. मृतककी आमा कृष्णकुमारी गिरीले क्षतिपूर्ति बापत रु. १९,५००।– मेरो अगाडि बुझी लिएको ठीक साँचो हो भन्ने समेत व्यहोराको मिति २०४३।९।२३ को प्र.ना.उ. हिरण्य प्रधानले गरेको बयान ।
११. उक्त वारदातमा चालक उद्धव गौतम हो । चालकले चलाएको प्र्रा.कार बा.अं.च. ६५३९ नं. ले ठक्कर दिई घाइते गराएको र प्र.ज. चन्द्रकुमारलाई बीर अस्पतालमा भर्ना गराएको हुँ । अरु कुरा प्रहरीमा गरेको कागजमा उल्लेख गरेको छु भन्ने सम्म व्यहोराको २०४३।७।२६ मा प्र.ज. रमनबहादुर भुजेलले गरेको बयान । (साविक पेज नं. ७७५)
१२. मृतकको आमाले कृया खर्च समेत लेनदेन गर्दा दुर्घटना भनी स्वीकार गरेको देखिने र सो तथ्यलाई रोहवरमा प्र.ना.उ. ले अदालत समक्ष आई बकपत्र गरी पुष्ट्याई गरेको देखिँदा समेत निज प्र.उद्धव गौतमले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) को कसूर गरेको ठहर्याउन नमिल्ने देखिन्छ, र निज चालकले वादी दावी अनुसार कसूर गरेको देखिँदा यो साधक जाहेर गर्ने गरी अ.बं. १८६ नं. अनुसार फैसला भएको मिति २०४३।८।८ को काठमाडौं जिल्ला अदालतको फैसला ।
१३. शुरुको इन्साफमा चित्त बुझेन फैसला बदर गरी वादी दावी तथा पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१४. यसमा मेकानिकल जाँचबाट समेत ब्रेकहरु राम्रो अवस्थामा नदेखिएबाट प्रतिवादीले लापर्वाही गरी चलाएबाट प्रहरी चन्द्रकुमारको मृत्यु हुन गएको देखिन्छ । त्यस्तो अवस्थामा सवारी ऐन अन्तर्गत मात्र सजायँ गर्ने गरेको जिल्ला अदालतको फैसला मिलेको छैन । ज्यानसम्बन्धीको ६ नं. को देहाय २ अनुसार प्रतिवादीलाई एक वर्ष कैद र रु. ५००।– पाँचसय रुपियाँ जरिवाना समेत हुने ठहर्छ । त्यस्तो ठहर्नाले शुरु जिल्ला अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत वा.अं.अ. को मिति २०४४।८।१० को फैसला ।
१५. वा.अं.अ. को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी वादी दावी तथा पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट र वा.अं.अ. को फैसलामा चित्त बुझेन फैसला बदर गरी मेरो अदालतमा गरेको बयान जिकिर तथा पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत प्रतिवादीको तर्फबाट म.क्षे.अ.मा परेको दोहोरो पुनरावेदनपत्र ।
१६. सही साइड तर्फबाट कार चलाउँदै लाँदा डिउटीमा रहेको मृतक प्रहरीको कारको ठक्कर लागी मृत्यु भएको देखिन आएको मार्नु पर्ने इवी आदि कारण अवस्था र ज्यानसम्बन्धी महलको १३(३) को अपराध प्रमाणित हुन सक्ने आधार प्रमाण समेत मिलिसबाट देखिन नआएकोले ज्यानसम्बन्धी महलको ६(२) अनुसारको भवितव्य ठहर्याई प्रतिवादीलाई कैद वर्ष १ र जरिवाना रु. ५००।– समेत हुने ठहर्याएको वा.अं.अ. को फैसला मनासिबै ठहर्छ भन्ने समेतको म.क्षे.अ. को फैसला ।
१७. म.क्षे.अ.को फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी अनुसार प्र.लाई सजाय होस भनी श्री ५ को सरकारको तर्फबाट र म.क्षे.अ. को फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेतको प्र.उद्धव गौतमको यस अदालतमा पर्न आएको दोहोरो पुनरावेदनपत्र ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनुभएका विद्वान का.मु सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले आफ्नो नियन्त्रण भन्दा बाहिरको रफ्तारमा उक्त गाडी हाँकी गम्भीर लापरवाहीको कार्य गरी डिउटीमा बसेको ट्राफिक प्रहरीलाई धक्का दिंदा प्रहरीको मृत्यु भएको हुँदा माग दावी अनुसार प्र.लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने समेतको र पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्रीहरि अर्यालले प्र.उद्धव गौतम आफ्नो साइडबाट गाडी चलाई गइरहेको अवस्थामा मृतकले आफ्नो ठाउँ छाडी एक्कासी बाटो काटी छेकिदिनाले दुर्घटना हुन गएको हुँदा म.क्षे.अ. समेतको फैसला उल्टी गरी सफाई पाउनु पर्छ भन्ने समेतको प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१९. अब म.क्षे.अ. को इन्साफ मिलेको छ छैन सो को निर्णय दिनु परेको छ ।
२०. निर्णय तर्फ विचार गर्दा यसमा प्र.उद्धव गौतमले चलाएको कारबाट दुर्घटना परी प्रहरी चन्द्रकुमारको मृत्यु भएको कुरामा विवाद देखिएन साथै प्रहरी चन्द्रकुमार र प्रतिवादी बीच पहिले देखि नै चिनाजानी (साविक पेज नं. ७७६) र रिसइवी थियो भन्ने कुरा पनि वादी पक्षबाट दावी लिन सकेको देखिँदैन । प्र्रतिवादीले गलत साइड तर्फबाट सवारी चलाएको भन्ने समेत दावी नभएको र लास जाँच तथा घटना प्रकृतिबाट पनि सो कुरा पुष्टि हुन सकेको पाइँदैन । यसरी सही साइड तर्फबाट कार चलाउँदै लाँदा डिउटीमा रहेको मृतक प्रहरीको कारको ठक्कर लागी मृत्यु भएको देखिन आएको, मार्नु पर्ने इवी आदि कारण अवस्था र ज्यानसम्बन्धीको १३(३) को अपराध प्रमाणित हुनसक्ने आधार प्रमाण समेत नहुँदा ज्यानसम्बन्धीको ६(२) अनुसार भवितव्य ठहर्याई प्रतिवादीलाई कैद वर्ष १ र जरिवाना रु. ५००।– समेत हुने ठहर्याएको बागमती अञ्चल अदालतको फैसला मनासिबै ठहर्याएको म.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ, अरु तपसील बमोजिम गर्नु ।
तपसील
इन्साफ खण्डमा लेखिए बमोजिम वा.अं.अ. को फैसला सदर गरेको म.क्षे.अ. को फैसला मनासिबै हुने ठहरेकोले वा.अं.अ. को मिति २०४४।८।१० को फैसलाले पुनरावेदक प्रतिवादी उद्धव गौतमलाई गर्ने गरेको कैद वर्ष १ र जरिवाना रु. ५००।– को अ.बं. २०३ नं. बमोजिम ४ प्रतिवादीले थप कैद दिन १८ र थप जरिवाना रु. २५। हुन्छ । लगत कसी असूल उपर गर्नु भनी शुरु का.जि.अ. मा लेखी पठाउनु ......१ मिसिल नियमानुसार गरी बुझाई दिनु .......२
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णजंग रायमाझी
इति सम्वत् २०४८ साल फाल्गुण १८ गते रोज १ शुभम् ।