शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५४१ - कर्तव्य ज्यान

भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७७।३।१०

 

मुद्दा : कर्तव्य ज्यान

 

०७४-CR-१०१०

पुनरावेदक / प्रतिवादी : अजिज खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका झल्ला भन्‍ने औशान खाँ

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१०११

पुनरावेदक / प्रतिवादी : सहीबाज खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका चिन्की भन्‍ने अलमान खाँ

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१०१२

पुनरावेदक / प्रतिवादी : अमिर खाँको श्रीमती जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेकी केशर जाहा खाँ

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१०१३

पुनरावेदक / प्रतिवादी : साबिर खाँको श्रीमती जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेकी मोटी पुसु भन्‍ने काफिया खाँ

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१०१४

पुनरावेदक / प्रतिवादी : रसुल खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका बाहुर भन्‍ने साकिर खाँ

 

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१०१५

पुनरावेदक / प्रतिवादी : युसुफ खाँको छोरा भारत जिल्ला बहराइज थाना कोतवाली नगर बढीया घर भई हाल जिल्ला कारागार कार्यालय बाँकेमा थुनामा रहेका गुड्‍डु खाँ

विरूद्ध

प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार

 

घटना विवरण कागज गर्ने मानिसहरूले सुनी जानेको आधारमा अनुमान गरी मौकामा घटना विवरण कागज गरेको र अदालतसमक्ष बकपत्र गर्दा मौकाको व्यहोरा अन्यथा भनी प्रतिवादीहरू निर्दोष हुन् भनी बकपत्र गरे तापनि निजहरूको प्रत्यक्षदर्शी साक्षी नभएको हुँदा प्रतिवादीका साक्षीहरू एवम् घटना विवरण कागज गर्ने साक्षीहरूको व्यहोरा एवम् प्रतिवादीको अदालतमा भएको इन्कारी बयान व्यहोरालाई मात्र आधार लिई शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, कल डिटेल्ससमेतका प्रमाणहरूलाई उपेक्षा गर्न नसिकने ।

(प्रकरण नं.६)

ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको बेलामा घटनास्थलमा मौजुद नरही अन्यत्र थिएँ भनी लिएको जिकिर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन भन्‍नु तर्कसङ्गत नहुने ।

(प्रकरण नं.११)

कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक वस्तुनिष्‍ठ एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनुपर्ने ।

(प्रकरण नं.२८)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर : 

ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५०

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

मुलुकी ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री हरिप्रताप के.सी.

बाँके जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल

पुनरावेदन अदालत, नेपालगन्ज

 

फैसला

न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः 

तथ्य खण्ड

जिल्ला बाँके, सोनपुर गाउँ विकास समिति वडा नं.३ स्थित पूर्वमा मायाराम यादवको जग्गा, पश्चिममा लालमोहम्मद खाँको खेतबारी, उत्तरमा छाँगा खाँको खेतबारी, दक्षिणमा गजाघर खाँको खेतबारी यति चार किल्ला भित्र छोट्टन नाउको खेतबारीमा परालको कुन्यु नजिक घाँटीको भाग पूर्वतर्फ भई दाहिने हात पूर्वतर्फ सर्टको बाहुला च्यातिएको, बायाँ काँधमा दुई ठाउमा काटिएको घाँउ, टाउको काटिएको शरीरको भाग मात्र रहेको, दुबै खुट्टा पश्चिम उत्तर रहेको भन्‍ने मिति २०६९।११।११ गतेको लास जाँच मुचुल्का । 

जिल्ला बाँके, सोनपुर ३ स्थित पूर्वमा ओमकार यादवको खेतबारी, पश्चिम र उत्तरमा मायाराम यादव र जमिल खाँको खेतबारी, दक्षिणमा अली अक्बर खाँको खेतबारी यति चार किल्ला भित्र जमिनमुनि गाडिराखेको सेतो धर्के स्वेटर र निलो अन्डर ट्राउजरले बेरेर राखेको घाँटीभन्दा माथि टाउकाको भाग मात्र रहेको भन्‍ने मिति २०६९।११।११ गतेको मुचुल्का ।

मिति २०६९।११।११ गते बाँके, सोनपुर-३ बटवा गाउँ स्थित टाउको नभएको शरीर मात्र रहेको लास र सो शरीर मात्रको लासदेखि अं.७०० मिटर उत्तरमा ट्राउजर र स्वेटरले बेरेर जमिनमुनि गाडेको अवस्थामा रहेको टाउकाको भाग मेरो दाजु चाँदबाबु खाँको हो भनी मृतक लास देखी हेरी सनाखत गरिदिए भन्‍ने व्यहोराको अली हसन खाँको मिति २०६९।११।१२ गतेको सनाखत कागज ।

मृतक चाँदबाबु खाँको मृत्यु धारिलो हतियारले घाँटीबाट टाउको छुट्‍याइएको कारण भएको हो भन्‍ने मिति २०६९।११।१२ गतेको पोष्टमार्टम रिपोर्ट ।

जिल्ला बाँके, सोनपुर ३ बटवा गाउँ स्थित पूर्वमा खाली जमिन, पश्चिममा मन्सव खाँको घर, उत्तर दक्षिणमा बटवा गाउँको बाटो यति चार किल्लाभित्र मिति २०६९।११।१० गते चाँदबाबु खाँलाई घाँटी रेटी हत्या गरी फरार रहेका ऐ.ऐ. बस्ने चिन्की भन्‍ने अलमान खाँ, ऐ.ऐ. बस्ने बहुर भन्‍ने साकिर खाँ, ऐ.ऐ. बस्ने झल्ला भन्‍ने औसान खाँ, ऐ.ऐ. बस्ने मोटी भन्‍ने काफिया खाँ र ऐ.ऐ. बस्ने केशरजहाँ खाँलाई फेला पारी निजहरूको खानतलासी लिँदा केशरजहाँ खाँको साथबाट ९८१२४८६७७०, ९८१२४८६७७१ नं.को सिमसहितको नोकिया मोबाइल थान २, चिन्की भन्‍ने अलमान खाँको साथबाट ९८१४५६३७१९ नं. सिमसहितको नोकिया मोबाइल थान १, मोटी भन्‍ने काफिया खाँको साथबाट ९८१४५१०८९० नं. सिमसहितको कालो मोबाइलसमेत प्रहरी टोलीले फेला पारी बरामद गरेको भन्‍ने मिति २०६९।११।२१ गतेको बरामदी मुचुल्का ।

मिति २०६९।११।१० गते चाँदबाबु खाँलाई घाँटी रेटी हत्या गरी फरार रहेका भारत बहराइच बस्ने गुड्‍डु खाँलाई ९८०४५३४७६५ नं. र ९८१६५८७७४९ नं.को सिमसहितको नोकिया मोबाइल थान २ समेत बरामद गरी पक्राउ गरेको भन्‍ने मिति २०६९।११।२१ गतेको बरामदी मुचुल्का ।

जिल्ला बाँके, सोनपुर ४ स्थित पूर्वमा सहीद अली रङ्गरेजको खाली खेत, पश्चिममा निमार्णाधीन घर, उत्तरमा लल्लु खाँको गहुँ बारी, दक्षिणमा मुन्सरिफ दर्जीको गहुँ खेत यति चार किल्लाभित्र पानी जम्मा भएको खाल्डो, सो खाल्डोको पश्चिम किनारामा मिति २०६९।११।१० गते राति चाँदबाबु खाँलाई बाँके सोनपुर ३ बस्ने अलमान खाँ, औसान खाँ, साकिर खाँ, गुड्‍डु खाँ, काफिया खाँ र केशरजहाँ खाँसमेतले घाँटी रेटी हत्या गर्न प्रयोग गरेको काँठको भाग ४ इन्च, काजो १ इन्च, हँसियाको भाग १३ इन्च लम्बाई भएको हँसिया फेला पारी बरामद गरी लिएको भन्‍ने मिति २०६९।११।२१ गतेको बरामदी मुचुल्का ।

जिल्ला बाँके, सोनपुर ४ स्थित पूर्वमा मौलाना खाँको घर, पश्चिममा सलिम साईको घर, उत्तरमा अनुप दर्जीको घर, दक्षिणमा मस्जित मन्दिर यति चार किल्ला भित्र काफिया खाँको दुईवटा कोठा जस्ताले छाएको, दुईवटा कोठा निमार्णाधिन अवस्थामा रहेको, जस्ताले छाएको उत्तरतर्फको कोठामा दुईओटा खटिया माथि बिस्तारासमेत रहेको उक्त कोठाको पूर्व उत्तर साईडमा डोरीमा झुन्ड्याई राखेको लुगाहरूमध्ये मिति २०६९।११।१० गते राति चाँदबाबु खाँलाई हत्या गर्दा काफिया खाँले लगाएको पहेलो रंगको झिलझिले बुट्टा भएको कुर्ता सुरूवालसमेत प्रहरी टोलीले बरामद गरी लिएको भन्‍ने मिति २०६९।११।२१ गतेको बरामदी मुचुल्का ।

म जाहेरवालाको दाजु चाँदबाबु खाँ विगत डेढ वर्ष पहिलादेखि बाँके, नेपालगन्ज नगरपालिका वडा नं.१३ मा बस्दै आएकोमा प्रतिवादीमध्येका गुड्‍डु खाँ पनि भारतकै रहेकाले निजसँग मेरो दाजुको राम्रो सम्बन्ध रहेको थियो, यस्तैमा निज प्रतिवादी गुड्‍डु खाँ र केशरजहाँ खाँबिच प्रेम सम्बन्ध रहेको र सो कुरा मेरो दाजुलाई समेत थाहा जानकारी भएकाले निज प्रतिवादी केशरजहाँ खाँको श्रीमान् विदेशबाट घरमा आएको हुँदा यदि निज प्रतिवादीहरूको सम्बन्धका बारेमा मेरो दाजुले केशरजहाँ खाँको श्रीमान्‌लाई भनी दिएमा आफूहरूको सम्बन्ध बिग्रने तथा खतरासमेत हुने सम्झी निज काफिया खाँ, साकिर खाँ, अलमान खाँ, औसान खाँ, केशरजहाँ खाँ र गुड्‍डु खाँले मेरो दाजुलाई मार्ने योजना बनाई मिति २०६९।११।१० गते प्रतिवादीमध्येकी काफिया खाँले मेरो दाजुलाई बाँके, सोनपुर ३ बटवा गाउँमा बोलाई निज प्रतिवादीहरू सबैले मेरो दाजुलाई समाती च्याँपी बोल्न कराउन नदिई घाँटीमा धारिलो हतियारले रेटी कर्तव्य गरी मारी शरीरको भाग सोही स्थानमा छोडी टाउकाको भाग शरीरको भागदेखि अं.७०० मिटर उत्तर लगी खेतमा गाडेको भन्‍ने खुल्न आएको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भन्‍ने व्यहोराको अली हसन खाँको मिति २०६९।११।२२ गतेको जाहेरी ।

मिति २०६९।११।१० गते चाँदबाबु खाँलाई बाँके, सोनपुर ३ बटवा गाउँ स्थित घाँटी रेटी हत्या गरेको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेका भारत वहराइच बस्ने गुड्‍डु खाँलाई मिति २०६९।११।२१ गते बाँके, ईन्द्रपुर ३ स्थित सिमसहितको मोबाइल थान २, बाँके, सोनपुर ३ बस्ने केशरजहाँ खाँलाई सिमसहितको मोबाइल थान २, अलमान खाँलाई सिमसहितको मोबाइल थान १, मोटी भन्‍ने काफिया खाँलाई सिमसहितको मोबाइल थान १ सहित फेला पारी पक्राउ गरी निजहरूसँग सोधपुछ गर्दा वारदातमा प्रयोग गरेको हँसिया सोनपुर ४ मा, काफिया खाँले वारदातमा प्रयोग गरेको कुर्ता सुरूवाल र झल्ला भन्‍ने औसान खाँले घर नजिकै लुकाई राखेको कटुवा पेस्तोलसमेत फेला पारी बरामदशमेत गरी दाखिला गरेका छौं कानूनबमोजिम गरिपाऊँ भन्‍ने व्यहोराको प्र.न.नि. मनोजकुमार ठगुन्‍नाको मिति २०६९।११।२२ गतेको प्रतिवेदन ।

मेरो मृतक चाँदबाबु खाँसँग भारतमा हुँदादेखि नै चिनजान रहेकाले मैले भारतमा आपराधिक घटना घटाएको हुँदा भारतमा पक्राउ पर्ने डरले विगत २०।२१ महिनादेखि नेपालमा आई ठेलागाडामा तरकारी बेच्दै आएको थिए । मृतक चाँदबाबु खाँ पनि नेपालमा आई बस्ने हुँदा निजसँग पनि मेरो पहिलेदेखि नै चिनजान रहेकाले नेपालमा पनि राम्रो सम्बन्ध थियो । मेरो बाँके, सोनपुर ३ बस्ने झल्ला भन्‍ने औसान खाँसँग परिचय भई म विगत एक डेढ वर्षदेखि निजको घरमा डेरा कोठा लिई बस्दै आएको थिए । निजको घरमा बस्दा मेरो सोही गाउँकी केशरजहाँ खाँसँग परिचय भई हामी दुईबिच मायाप्रेम रही हाम्रो नाजायज सम्बन्धसमेत रहेको थियो, सो कुरा मृतकलाई समेत जानकारी 

थियो । मृतक चाँदबाबु खाँको पनि सोही गाउँकी मोटी भन्‍ने काफिया खाँसँग प्रेम सम्बन्ध रहेको थियो । काफिया खाँको श्रीमान्‌ विदेशमा रहेकाले मृतक चाँदबाबु खाँले काफिया खाँलाई आफूहरूको सम्बन्धका बारेमा काफियाको श्रीमान्‌सँग बताई दिने भनी धम्की दिई पैसासमेत माग्ने गरेका थिए । पछि निजले मेरो मोबाइलबाट मेरो प्रेमिका केशरजहाँ खाँको मोबाइल नम्बर लिई निजलाई पनि ब्ल्याकमेल गरी कि मलाई पैसा देउ नत्र तिम्रो सम्बन्धको बारेमा तिम्रो श्रीमान्‌लाई भनी दिन्छु भनी बारम्बार फोनबाट धम्की दिने गरेका थिए, सो कुरा काफिया खाँ, केशरजहाँ खाँ र मलाईसमेत चित्त बुझेको थिएन, यस्तैमा काफिया खाँले सो कुरा निजको आफन्त साकिर खाँ, अलमान खाँ र औसान खाँसमेतलाई बताएपश्चात् हामी सबैजनाले अब यो चाँदबाबु खाँलाई सिध्याउनु पर्छ भनी योजना बनाई मिति २०६९।११।९ गते म र चिन्की भन्‍ने अलमान खाँ उढरापुर मेलामा गई त्यहाँबाट मैले रू.२०।- र चिन्की भन्‍ने अलमान खाँले रू.१५०।- हाली रू.१७०।- मा हँसिया खरिद गरी ल्याई उक्त हँसिया चिन्की खाँले नै राख्दै आएका थिए । मिति २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई चाँदबाबु खाँलाई गाउँमा नै बोलाउने भनी मेरो मोबाइलबाट काफिया खाँले फोन गरी चाँदबाबु खाँलाई गाउँमा बोलाएपछि निज चाँदबाबु खाँले आउँछु भनेको हुँदा अं. रातको ९:३० बजेको समयमा हामी सबैले सल्लाह गरी म, औसान खाँ, अलमान खाँ, केशरजहाँ खाँ र साकिर खाँ खेतबारीको रूख मुनि लुकी बसी काफिया खाँलाई चाँदबाबु खाँसँग भेट गर्न लगाई काफिया र चाँदबाबु खाँ खेतको आलीमा बसी कुराकानी गर्न लागेको अवस्थामा चिन्की खाँले आफूसँग भएको हँसिया लिई पछाडिबाट लुकी गई चाँदबाबु खाँलाई गर्दन, टाउकोलगायतको भागमा प्रहार गरेपश्चात् चाँदबाबु खाँ जमिनमा लड्न गएपछि म, काफिया खाँ, औसान खाँ, केशरजहाँ खाँ र साकिर खाँ उक्त स्थानमा गई घेरा हाली निजलाई सबैजनाले समाती हलचल गर्न नदिई मैले चिन्की भन्‍ने अलमान खाँसँग भएको हँसिया आफूले लिई निजको घाँटीको भागबाट रेटी टाउको छुट्याई टाउको निजकै स्वेटर र ट्राउजरले बेरी म र अलमान खाँले पालैपालो बोकी सो ठाउँदेखि उत्तरतर्फ लगी अलमान खाँले हातले पानी भएको ठाँउमा खाडल बनाई मैले उक्त टाउको खाल्डोमा हाली पुरी हामी सबैजना आ-आफू सुत्‍ने ठाँउमा गएका हौं, पछि म मिति २०६९।११।२१ गते प्रहरीद्वारा पक्राउमा परे, निज चाँदबाबु खाँले काफिया खाँ र केशरजहाँ खाँलाई ब्ल्याकमेल गरी धम्की दिने गरेकाले हामी सबैले योजना बनाई निजलाई घाँटी रेटी हत्या गरेका हौं भन्‍ने व्यहोराको गुड्‍डु खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

मेरो श्रीमान्‌ ४/५ वर्ष पहिलादेखि विदेशमा रहेको हुँदा ७/८ महिना पहिला मेरो गाउँकै झल्ला खाँको घरमा डेरा कोठा गरी बस्ने गुड्‍डु खाँसँग आउने चाँदबाबु खाँसँग परिचय भई निजसँग मेरो माया प्रेमको सम्बन्ध रही हामीबिच नाजायज सम्बन्धसमेत रहेको थियो । पछि निज चाँदबाबु खाँले मलाई विभिन्‍न धम्की दिई मलाई पैसा देउ नत्र तिम्रो घरबार बिगारिदिन्छु, तिम्रो श्रीमान्‌लाई भनिदिन्छु भन्‍ने गर्दथे । गुड्‍डु खाँ र केशरजहाँ खाँको पनि सम्बन्ध रहेकाले चाँदबाबु खाँले केशरजहाँ खाँसमेतलाई फोन गरी डरत्रास, धम्की दिई पैसा माग्ने र पैसा नदिएमा तिमी र गुड्‍डु खाँको सम्बन्ध बारेमा तिम्रो श्रीमान्‌लाई भनिदिन्छु भन्‍ने गरेको हुँदा सो कुरा केशरजहाँ खाँले गुड्‍डु खाँ र निजको आफन्त अलमान खाँ, साकिर खाँ र औसान खाँसमेतलाई बताएकी रहिछन् । तत्पश्चात् निजहरू सबैजनाले चाँदबाबु खाँलाई खत्तम गर्ने भनेको कुरा थाहा पाई मैले पनि निजहरूलाई चाँदबाबु खाँले आफूलाई पनि दुःख दिने गरेको कुरा बताएपछि मिति २०६९।११।१० गते म, गुड्‍डु खाँ, अलमान खाँ, औसान खाँ, साकिर खाँ र केशरजहाँ खाँ मेरो घरमा जम्मा भई सबैले सरसल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई मलाई कुरा गर्न दिएपश्चात् मैले निज चाँदबाबु खाँसँग कुरा गरी मलाई भेट गर्न आउ भनी वारदात स्थानमा बोलाएकी हुँ । निजले आउँछु भनेपछि, रातको अं.९:३० बजेको समयमा गुड्‍डु खाँ, औसान खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी नदेखिने ठाउँमा बसेकोमा चाँदबाबु खाँ उक्त स्थानमा आएपछि म र निज चाँदबाबु खाँ आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ आई निज चाँदबाबु खाँको गर्दन र टाउकोको भागमा हँसिया प्रहार गरी गुड्‍डु खाँ, औसान खाँ र साकिर खाँसमेत उक्त ठाँउमा आई निजहरूले घेरा हाली चाँदबाबु खाँलाई हलचल गर्न नदिई हातखुट्टा समाती गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन्, म र केशरजहाँ खाँ नजिकै उभिएका थियौं, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबुकै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडी दिएका हुन, तत्पश्चात् हामी सबैजना आ-आफ्नो घरमा गएका हौं भन्‍ने व्यहोराको मोटी / पुशु भन्‍ने काफिया खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

गुड्‍डु खाँ विगत एक डेढ वर्षदेखि मेरो घरमा डेरा कोठा लिई बस्ने गरेको हुँदा निजसँग कहिलेकाँही मृतक चाँदबाबु खाँ पनि मेरो घरमा आउने जाने गर्ने हुँदा चाँदबाबु खाँलाई देखेको थिएँ, पछि निज चाँदबाबु खाँले केशरजहाँ खाँ र काफिया खाँलाई ब्ल्याकमेल गरी धम्की दिई डरत्रास देखाई पैसा माग्ने हुँदा सो कुरा गुड्‍डु खाँसमेतले मलाई भनेकाले म, काफिया खाँ, अलमान खाँ, केशरजहाँ खाँ र साकिर खाँ भई चाँदबाबु खाँलाई खतम गर्नुपर्छ भन्‍ने योजना बनाई मिति २०६९।११।९ गते अलमान खाँ र गुड्‍डु खाँ उढरापुर मेलामा गई हँसिया लिई मिति २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई सबैले सल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाईलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँले चाँदबाबु खाँसँग कुरा गरी चाँदबाबु खाँलाई गाउँमा बोलाएपछि रातको अं.९:३० बजेको समयमा म गुड्‍डु खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी काफिया खाँलाई चाँदबाबु खाँसँग कुरा गर्न लगाई निजहरू आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ गई निज चाँदबाबु खाँको गर्दन र टाउकाको भागमा हँसिया प्रहार गरेपश्चात् म, गुड्‍डु खाँ र साकिर खाँसमेत उक्त ठाँउमा गई निजलाई घेरा हाली चाँदबाबु खाँलाई हलचल गर्न नदिई हातखुट्टा समातेपश्चात् गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन, म र केशरजहाँ खाँ नजिकै उभिएका थियौ, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबुकै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडी दिएका हुन, तत्पश्चात् हामी सबैजना आ-आफ्नो घरमा गएका हौं भन्‍ने व्यहोराको झल्ला भन्‍ने औसान खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

काफिया खाँ, औसान खाँ, केशरजहाँ खाँ, साकिर खाँ मेरो गाउँका हुन्, गुड्‍डु खाँ पनि झल्ला भन्‍ने औसान खाँको घरमा विगत एक डेढ वर्ष पहिलादेखि डेरा कोठा लिई बस्ने हुँदा निजसँग समेत मेरो घनिष्ठ सम्बन्ध रहेको थियो । यस्तैमा मलाई गुड्‍डु खाँले केशरजहाँ खाँलाई चाँदबाबु खाँले ब्ल्याकमेल गरी डरत्रास, धम्की दिने, पैसा माग्ने गरेका छन् यसलाई खतम गर्नुपर्छ भनी बताएकाले सो कुरा मैले केशरजहाँ खाँसँग गर्दा निजले पनि सोहीअनुसार कुरा गरेको र गाँउकै काफिया खाँको श्रीमान्‌समेत विदेशमा रहेकाले चाँदबाबु खाँले निजसँग सम्बन्ध गाँसी नाजायज सम्बन्धसमेत राख्‍ने गरेकोमा निजलाई पनि विभिन्‍न डरत्रास देखाई पैसा माग्ने, घर व्यवहार बिगारी दिन्छु भनी धम्की दिने गरेको कुरा बताएपश्चात् म, गुड्‍डु खाँ, केशरजहाँ खाँ, काफिया खाँ, औसान खाँ र साकिर खाँ काफिया खाँको घरमा बसी चाँदबाबु खाँलाई मार्ने योजना बनाई मिति २०६९।११।९ गते म र गुड्‍डु खाँ उढरापुर मेलामा गई मैले रू.१५०।- र गुड्‍डु खाँले रू.२०।- हाली रू.१७०।- मा हँसिया खरिद गरी ल्याई मिति २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँसँग कुरा गर्न लगाई चाँदबाबु खाँलाई वारदात स्थानमा भेट गर्न बोलाई रातको अं.९:३० बजेको समयमा म, गुड्‍डु खाँ, औसान खाँ, केशरजहाँ खाँ र साकिर खाँ रूखको फेदमा लुकी बसी काफिया खाँलाई चाँदबाबु खाँसँग भेट गर्न लगाई निजहरू दुवैजना खेतको आलीमा बसी कुरा गरिरहेको अवस्थामा मैले अघिल्लो दिन मेलाबाट खरिद गरी ल्याएको हँसिया लिई लुकी पछाडिबाट गई चाँदबाबु खाँलाई गर्दन र टाउकोमा प्रहार गरेपश्चात् निज भुईँमा लड्न गएकोमापछि गुड्‍डु खाँ, साकिर खाँ र औसान खाँ आई निजलाई घेरा हाली हलचल गर्न नदिएपश्चात् मेरो हातमा रहेको हँसिया गुड्‍डु खाँले लिई घाँटीबाट टाउको छुट्‍याएका हुन, सो बखत काफिया खाँ र केशरजहाँ खाँ नजिकै उभिएका थिए।पछि हामी सबैले सल्लाह गरी उक्त टाउको निजकै ट्राउजर र स्वेटरले बेरी मैले र गुड्‍डु खाँले उत्तरतर्फ खेतमा लगी गाडेका हौं भन्‍ने व्यहोराको चिन्की भन्‍ने अलमान खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

मेरो श्रीमान् विदेशमा रहेकाले गाउँकै झल्ला भन्‍ने औसान खाँको घरमा बस्ने गुड्‍डु खाँसँग मेरो चिनजान परिचय भई निजसँग मायाप्रेम बस्दै गएपश्चात् निजले मसँग बिहे गरौं भन्‍ने गर्दथे । मृतक निजको साथी भएकाले निज पनि कहिलेकाँही गाउँमा आउने हुँदा मृतक चाँदबाबु खाँ र काफिया खाँको परिचय भई निजहरूको पनि मायाप्रेम सम्बन्ध रहेको थियो, पछि मृतकले गुड्‍डु खाँबाट मेरो मोबाइल नं. लिई मलाई फोन गरी डरत्रास देखाई मलाई पैसा दे नत्र तेरो श्रीमान्‌लाई तेरो र गुड्‍डुको सम्बन्धको बारेमा भनी तेरो घरबार बिगारिदिन्छु भनी धम्की दिएकाले मैले सो कुरा गुड्‍डु खाँसँग गरेकी थिए । निजले काफिया खाँसमेतसँग फोन गरी पैसा माग्ने नदिएमा आफूहरूको सम्बन्धका बारेमा काफिया खाँको श्रीमान्‌लाई भनी दिने भन्‍ने कुरा काफिया खाँले मसँग भनेको हुँदा उक्त कुरा हामीले गाउँकै अलमान खाँ, साकिर खाँ र औसान खाँसमेतलाई भनेपश्चात् हामी सबैले चाँदबाबु खाँलाई मार्ने योजना बनाई मिति २०६९।११।१० गते सबैजना काफिया खाँको घरमा बसी सरसल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँसँग कुरा गर्न लगाई चाँदबाबु खाँलाई वारदात स्थानमा भेट गर्न बोलाएपश्चात् रातको अं.९:३० बजेको समयमा म, गुड्‍डु खाँ, औसान खाँ, अलमान र साकिर खाँ रूखको फेदमा लुकी बसी काफिया खाँलाई चाँदबाबु खाँसँग भेट गर्न लगाई निजहरू दुवैजना खेतको आलीमा बसी कुरा गरिरहेको अवस्थामा अलमान खाँले हँसिया लिई लुकी पछाडिबाट गई चाँदबाबु खाँलाई गर्दन र टाउकोमा प्रहार गरेपश्चात् निज भुईँमा लड्न गएपछि गुड्‍डु खाँ, साकिर खाँ र औसान खाँ गई निजलाई घेरा हाली हलचल गर्न नदिएपछि अलमान खाँको हातमा रहेको हँसिया गुड्‍डु खाँले लिई घाँटीबाट टाउको छुट्‍याएका हुन्, सो बखत म र काफिया खाँ नजिकै उभिएका थियौं भन्‍ने व्यहोराको केशरजहाँ खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

औसान खाँ, काफिया खाँ, केशरजहाँ खाँ, अलमान खाँ मेरो गाउँकै हुन, गुड्‍डु खाँ पनि झल्ला भन्‍ने औसान खाँको घरमा डेरा कोठा लिई बस्ने हुँदा निजसँग समेत मेरो चिनजान परिचय रहेको थियो, निज गुड्‍डु खाँसँग मृतक चाँदबाबु खाँ पनि आउने जाने गर्ने हुँदा निजको गाउँकै काफिया खाँसँग चिनजान भई प्रेम सम्बन्ध रहन गएको रहेछ । गुड्‍डु खाँ र केशरजहाँ खाँबिच पनि प्रेम सम्बन्ध रहेछ । पछि मृतक चाँदबाबु खाँले काफिया खाँ र केशरजहाँ खाँलाई ब्ल्याकमेल गरी विभिन्‍न डरत्रास देखाई पैसा माग गर्ने र पैसा नदिएमा घर व्यवहार बिगार्ने भनी धम्की दिने, बारम्बार सताउने गर्न थालेकाले सो कुरा काफिया खाँ, केशरजहाँ खाँ र गुड्‍डु खाँले मसमेतलाई बताएपश्चात् हामी म, केशरजहाँ खाँ, काफिया खाँ, औसान खाँ, अलमान खाँसमेत काफिया खाँको घरमा बसी चाँदबाबु खाँलाई मार्ने योजना बनाई मिति २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई सबैले सल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँले चाँदबाबु खाँसँग कुरा गरी चाँदबाबु खाँलाई गाउँमा बोलाएपश्चात् रातको अं.९:३० बजेको समयमा म, गुड्‍डु खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी काफिया खाँलाई चाँदबाबु खाँसँग कुरा गर्न लगाई निजहरू आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ गई निज चाँदबाबु खाँको गर्दन र टाउकाको भागमा हँसिया प्रहार गरेपश्चात् म, गुड्‍डु खाँ र औसान खाँसमेत उक्त ठाँउमा गई निजलाई घेरा हाली चाँदबाबु खाँलाई हलचल गर्न नदिई हातखुट्टा समाती गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबुकै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडिदिएका हुन् । तत्पश्चात् हामी आ-आफ्नो घरमा गएका हौं भन्‍ने व्यहोराको बहुर भन्‍ने साकिर खाँको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६९।११।२४ गते गरेको बयान ।

मिति २०६९।११।१० गते राती म घरमा नै थिए, भोलिपल्ट बिहान बटवा गाउँमा एक पुरूष व्यक्तिको टाउको छिनालिएको शरीर मात्रको भाग रहेको छ भन्‍ने सूचना पाई प्रहरी टोली उक्त स्थानमा आएपश्चात् मसमेत सो ठाँउमा जाँदा प्रहरी टोलीले शरीरको भागदेखि अं.७०० मिटर उत्तरतर्फको खेतमा गाडी राखेको टाउकाको भागसमेत फेला पारेका 

हुन् । पछि मात्र मृतक जाहेरवालाको दाजु भारत बहराइच बस्ने चाँदबाबु खाँको रहेको भन्‍ने सुनेको 

हुँ । सो घटनाको बारेमा बुझ्दै जाँदा मृतकको प्रतिवादी काफिया खाँसँग सम्बन्ध रहेको र प्रतिवादी गुड्‍डु खाँ र केशरजहाँ खाँबिच समेत सम्बन्ध रहेकाले मृतक चाँदबाबु खाँले काफिया खाँ र केशरजहाँ खाँलाई ब्ल्याकमेल गरी विभिन्‍न डरत्रास धम्की दिएपश्चात् गुड्‍डु खाँ, औसान खाँ, अलमान खाँ, साकिर खाँ, काफिया खाँ, केशरजहाँ खाँसमेतले मृतकलाई ठिक पार्नुपर्छ भन्‍ने योजना बनाई गुड्‍डु खाँले मृतक चाँदबाबु खाँलाई फोन गरी गाउँमा बोलाई गुड्‍डु खाँ, साकिर खाँ, अलमान खाँ र औसान खाँले घाँटी रेटी हत्या गरेका रहेछन् भन्‍ने व्यहोराको मुस्ताद्दिन साह, कैयुम खाँ र सहिजाद खाँको मिति २०६९।१२।११ गतेको घटना विवरण कागज ।

मृतक र प्रतिवादीहरूबिच भएको मोबाइल कल डिटेल प्रतिवेदन पेस गरेको भन्‍ने व्यहोराको प्र.स.नि. पूर्णबहादुर ओलीको मिति २०६९।१२।१६ गतेको प्रतिवेदन ।

मृतक चाँदबाबु खाँले प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँ र केशरजहाँ खाँले राखेको सम्बन्धका बारेमा सार्वजनिक गर्ने भनी रकम माग गरी ब्ल्याकमेल गर्ने गरेको विषयमा इबी लिई प्रतिवादी गुड्‍डु खाँसमेतलाई उक्त कुरा बताएपछि अन्य प्रतिवादीहरू चिन्की भन्‍ने अलमान खाँ, झल्ला भन्‍ने औसान खाँ र बहुर भन्‍ने साकिर खाँ भई आपसी मिलेमतो एवम् योजनामा मिति २०६९।११।१० गते प्रतिवादी गुड्‍डु खाँको मोबाइलबाट प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँले मृतक चाँदबाबु खाँलाई वारदातस्थलमा बोलाई निज मृतक चाँदबाबु खाँ उक्त स्थानमा पुगेपश्चात् प्रतिवादीहरू गुड्‍डु खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ, झल्ला भन्‍ने औसान खाँ, चिन्की भन्‍ने अलमान खाँ, केशरजहाँ खाँ, बहुर भन्‍ने साकिर खाँ भई धारिलो हतियार हँसिया प्रहार गरी घाँटी काटी टाउको अलग गरेर कर्तव्य गरी मारेको पुष्टि भई प्रतिवादी गुड्‍डु खाँ, चिन्की भन्‍ने अलमान खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ, झल्ला भन्‍ने औसान खाँ, केशरजहाँ खाँ, बहुर भन्‍ने साकिर खाँले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं.को कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाऊँ भन्‍नेसमेत व्यहोराको मिति २०६९।१२।१६ गते सुरू बाँके जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र ।

मृतक चाँदबाबु खाँलाई म चिन्दिन । मृतकलाई मैले कर्तव्य गरी मारेको होइन । को-कसले मारे थाहा भएन । मैले कसूर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी गुड्‍डु खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।१९ गते गरेको बयान ।

मिति २०६९।११।११ गते म मेरो गाउँ आफ्नै घरमा थिएँ । मसमेत अन्य प्रतिवादीहरू मिली मृतकलाई हँसिया प्रहार गरी कर्तव्य गरी मारेको 

होइन । कसले मारे थाहा भएन । अभियोग दाबीबमोजिम मैले कुनै कसूर गरेको छैन भन्‍नेसमेत व्यहोराको प्रतिवादी चिन्की भन्‍ने अलमान खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।१९ गते गरेको बयान ।

म जाहेरवाला र मृतकलाई चिन्दिन । वारदात समयमा म आफ्नै घरमा थिएँ । मृतकलाई कसले घाँटी रेटी कर्तव्य गरी मारे मलाई थाहा भएन, निजलाई मैले मारेको होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी झल्ला भन्‍ने औसान खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।१९ गते गरेको बयान ।

जाहेरी दरखास्त व्यहोरा झुट्टा हो । मैले कसैको हत्या गरी कर्तव्य गरी मारेको होइन । कसले गरे थाहा भएन भन्‍नेसमेत व्यहोराको प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।२० गते गरेको बयान ।

म मृतक तथा जाहेरवालालाई चिन्दिन । मृतक चाँदबाबु खाँलाई अन्य प्रतिवादीहरूसमेत भई कर्तव्य गरी मारेको होइन । अभियोग दाबीबमोजिम मैले कुनै कसूर गरेको छैन भन्‍नेसमेत व्यहोराको प्रतिवादी केशरजहाँ खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।२० गते गरेको बयान ।

म जाहेरवाला तथा मृतकलाई चिन्दिन । अन्य प्रतिवादीहरू गाउँ घर कै भएकोले चिन्छु । मिति २०६९।११।१० गते म आफ्नै घरमा थिए । मृतक चाँदबाबु खाँलाई मैले कर्तव्य गरी मारेको होइन भन्‍नेसमेत व्यहोराको बहुर भन्‍ने साकिर खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०६९।१२।२१ गतेको बयान ।

बरामदी मुचुल्का, घटना विवरणका मानिसहरूको कागज व्यहोरासमेतका तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरूलाई निर्दोष मान्‍न 

मिलेन । पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ.बं.११८ को देहाय २ बमोजिम नियमानुसार सीधा खान पाउँने गरी थुनामा राख्‍नू । प्रतिवादी चुक्ता भइसकेको हुँदा वादी तथा प्रतिवादीका साक्षी बुझी पेस गर्नू । प्रतिवादीको कोठाबाट बरामद भएको कुर्ता सुरूवाल जाँचको लागी पठाइएको देखिँदा उक्त परीक्षण प्रतिवेदन सम्बन्धित कार्यालयबाट झिकाई पेस भएको दशी जिन्सीमा आम्दानी बाँध्नू भन्‍ने सुरू बाँके जिल्ला अदालतको मिति २०६९।१२।२१ को आदेश ।

Blood could not be detected on a stained yellow colored piece of kurta & human blood was detected on a stained gray colored piece of cloth भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको मिति २०७०।१।२६ गतेको परीक्षण प्रतिवेदन ।

मिति २०६९।११।१० गते म साकीर खाँको छोराको विवाह भएको कारण निजको घरमा विवाहको काममा सहयोग गर्न गएको थिए । प्रतिवादी साकीर खाँ पनि निजको घरमा नै भएकोले निजसँग भेटघाट भएको हो । प्रतिवादी साकिर खाँले मृतक चाँदबाबु खाँलाई कर्तव्य गरी मारेका होइनन् । छोराको विवाह भएकाले प्रतिवादी दिन रात घरमा नै थिए भन्‍नेसमेत व्यहोराको प्रतिवादी बहुर भन्‍ने साकिर खाँको साक्षी मुस्तकीम खाँले सुरू बाँके जिल्ला अदालतमा मिति २०७०।२।१९ गतेको बकपत्र ।

वारदात मितिमा म तथा प्रतिवादी छिमेकीको विवाहमा थियौं । वारदातमा केशरजहाँको संलग्नता 

छैन । यी प्रतिवादी निर्दोष छन् । अभियोग दाबी झुट्टा हो । प्रतिवादीलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी केशरजहाँ खाँको साक्षी दिलबहार मिर्जाले सुरू बाँके जिल्ला अदालतमा मिति २०७०।२।१९ गते गरेको बकपत्र ।

वारदात समयमा म आफ्नै घरमा थिए । उक्त मितिमा मेरो यी प्रतिवादी झल्लु भन्‍ने औसान खाँसँग भेट भएको थियो । वारदातमा यी प्रतिवादीको कुनै संलग्नता छैन । यी प्रतिवादी गाउँका सिधासाधा मेहनत मजदुरी गरी खाने मानिस हुन् भन्‍नेसमेत व्यहोराको झल्लु भन्‍ने औसान खाँको साक्षी मिजन खाँले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।१९ गतेको बकपत्र ।

मिति २०६९।१२।११ को घटना विवरण कागजको व्यहोरा मेरो होइन । खाली कागजमा प्रहरीले सही गराएका हुन् । मृतकलाई देखेको छैन । प्रतिवादीहरू सबैलाई चिन्छु । प्रतिवादीहरूले उक्त वारदात घटाएका होइनन् र मार्नमा सहयोग पनि गरेका होइनन् भन्‍नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने सहिजात खाँले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।१९ गतेको बकपत्र ।

मिति २०६९।१२।११ को घटना विवरण कागजको व्यहोरा मेरो होइन । प्रहरीले खाली कागजमा सहीछाप गराएका हुन् । मिति २०६९।११।१० गते अन्य प्रतिवादीहरू प्रतिवादीमध्येका बहुर भन्‍ने साकिरको छोराको विवाहमा थिए । निज प्रतिवादीहरूले उक्त वारदात घटाएका होइनन् भन्‍नेसमेत व्यहोराको घटना विवरणको मानिस मुस्तादिन साहले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।२० गतेको बकपत्र ।

अभियोग दाबी झुट्टा हो । वारदात मिति र समयमा प्रतिवादीसँग मेरो निजको घरमा भेट भएको थियो । आफ्नो घरमा बसेको निज प्रतिवादीले मृतकलाई योजना बनाई मारेकी होइनन् । मार्नुपर्ने पनि कुनै कारण छैन भन्‍नेसमेत व्यहोराको प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँको साक्षी छब्बन खाँले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।१९ गतेको बकपत्र ।

मृतकलाई प्रतिवादी चिन्की भन्‍ने अलमान खाँले मारेका होइनन् । अभियोग दाबी झुट्टा हो । प्रहरीले झुट्टा मुद्दामा फसाउनको लागि जाहेरी दिन लगाएका हुन् । निज प्रतिवादी निर्दोष हुन् । अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउनुपर्छ भन्‍नेसमेत व्यहोराको प्रतिवादी चिन्की भन्‍ने अलमान खाँको साक्षी चिन्टु लालाले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।२० गतेको बकपत्र ।

घटनास्थल मुचुल्का ठीक साँचो हो । मृतकलाई को-कसले काटी फालेका हुन् थाहा 

भएन । प्रतिवादीहरूले काटी फालेका होइनन् । मिति २०६९।११।१० गते प्रतिवादी केसरजहाँ गाउँमा विवाह भएकोले निज प्रतिवादी सो विवाहमा थिएनन् भन्‍नेसमेत व्यहोराको घटनास्थल मुचुल्काका मानिस मन्सव खाँले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।२१ गतेको बकपत्र ।

मिति २०६९।१२।११ को घटना विवरण कागजको व्यहोरा मेरो होइन । प्रहरीले खाली कागजमा सहीछाप गर्न लगाएका हुन् । प्रतिवादी साकीर खाँले मृतकको हत्या गरेका होइनन् भन्‍नेसमेत व्यहोराको घटना विवरणको मानिस कैयुम खाँले सुरू बाँके जिल्ला अदालतमा गरेको मिति २०७०।२।२१ गतेको बकपत्र ।

प्रतिवादी मिली रातको समयमा मृतकलाई एकान्त स्थान खेतमा बोलाई सबै प्रतिवादीले घेरा हाली मृतकका हात खुट्टासमेत समाई प्रतिवादीमध्येका गुड्‍डु खाँले घाँटी रेटी कर्तव्य गरी मारेकोले प्रतिवादीमध्येका गुड्‍डु खाँले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ.को १३(१) नं. बमोजिम कसूर गरेको देखिँदा निज गुड्‍डु खाँलाई ऐ.१३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू चिन्की भन्‍ने अलमान खाँ, झल्ला भन्‍ने औसान खाँ, बहुर भन्‍ने साकिर खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ र केशरजहाँ खाँले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ.को १३(४) नं. बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरूलाई ऐ.१३(४) नं. बमोजिम जन्म कैद हुने ठहर्छ भन्‍ने सुरू बाँके जिल्ला अदालतको मिति २०७१।११।१३ को फैसला । 

जाहेरवालाको जाहेरी व्यहोरा निज अदालतमा उपस्थित भई बकपत्र नगरेसम्म प्रमाणमा लिन 

मिल्दैन । प्रस्तुत मुद्दामा वादी पक्षले जाहेरवाला अलिहसन खाँको बकपत्र गराउन सकेको अवस्था छैन । वारदात देखाइएको मिति र समयमा म आफ्नो छोराको विवाह भएकोले घरैमा थिए भनी गरेको बयान व्यहोरालाई मेरा साक्षी मुस्तिवक खाँको बकपत्र, घटना विवरणका साक्षी सहिजाद खाँसमेतको बकपत्रबाट पुष्टि भएको अवस्थामा म पुनरावेदक प्रतिवादीउपरको अभियोग मागदाबी मिसिल संलग्न हुनैपर्ने सबुद प्रमाणबाट पुष्टि नभएकोले म निर्दोष देखिँदादेखिँदै मलाई जन्मकैदको सजाय हुने गरी भएको बाँके जिल्ला अदालतको मिति २०७१।११।१३ को फैसला गम्भीर कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाऊँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी बहुरे भन्‍ने साकिर खाँको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।३।२८ गतेको पुनरावेदन पत्र ।

म पुनरावेदक प्रतिवादीले मृतक चाँदबाबु खाँलाई मार्नुपर्नेसम्मको कारण कतैबाट पुष्टि हुन सकेको देखिँदैन । म पुनरावेदक प्रतिवादीको मृतक र अन्य प्रतिवादीसँग टेलिफोन संवाद् भएको कुरा टेलिफोन डिटेलबाट पुष्टि भएको छैन । मेरा साक्षी मिजन खाँले झल्ला भन्‍ने औसन खाँको वारदातमा संलग्नता छैन भनी बकपत्र गरिदिएका छन । प्रहरीमा भएको मेरो इच्छा विरूद्धको बयानलाई आधार मानी भएको फैसला गम्भीर त्रुटिपूर्ण छ । बरामदी मुचुल्का र घटनास्थलका साक्षी मन्सव खाँले मृतकलाई को-कसले काटी फालेका हुन थाहा भएन । प्रतिवादीहरूले काटी फालेका होइन भनी बकपत्र गरेको अवस्थासमेतका प्रमाणबाट म निर्दोष भएको पुष्टि हुँदाहुँदै मलाई ज्यानसम्बन्धी महलको १ र १३(४) नं. बमोजिम सजाय गरिएको बाँके जिल्ला अदालतको फैसलामा कानूनको व्यवस्थाको गम्भीर त्रुटि हुँदा सो फैसला बदर उल्टी गरी सफाइ पाऊँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी झल्ला भन्‍ने औसन खाँको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।४।२८ गतेको पुनरावेदन पत्र ।

म पुनरावेदक प्रतिवादीले मृतक चाँदबाबु खाँलाई मार्नुपर्नेसम्मको कारण कतैबाट पुष्टि हुन सकेको देखिँदैन । म पुनरावेदक प्रतिवादीको मृतक र अन्य प्रतिवादीसँग टेलिफोन संवाद भएको कुरा टेलिफोन डिटेलबाट पुष्टि भएको छैन । हाम्रा साक्षी चिन्टु लालाले प्रतिवादी चिन्की भन्‍ने अलमान खाँ निर्दोष हुन निजले सफाइ पाउनुपर्छ भन्‍ने बकपत्र गरिदिएका थिए । म पुनरावेदक प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँको सम्बन्ध मेरो र मृतक चाँदबाबु खाँसँग नाजायज सम्बन्ध रहेको कारणले हत्यामा संलग्न भएको भनी फैसलामा आधार प्रमाण लिइएको छ तर मिसिल संलग्न Call Detail हेर्दा मृतक चाँदबाबु खाँ र मेरोबिच एकपटक पनि टेलिफोन संवाद भएको देखिएको छैन । वादी पक्षले प्रमाण स्वरूप पेस गरेको Call Detail सूचीमा मृतक र पुनरावेदक प्रतिवादीबिच फोन सम्पर्क भई ब्ल्याकमेल गरेको स्थापित भएको छैन तर फैसला गर्दा नाजायज सम्बन्ध र फोन सम्पर्क भएको भनी भएको सुरू फैसला तथ्यगत आधारमा त्रुटिपूर्ण छ । म पुनरावेदक काफिया खाँको पहेलो रङ्गको कुर्ता सुरूवालमा लागेको रगत जाँच गर्न पठाइएकोमा सो रगत मृतककै हो भन्‍ने प्रमाणित भएको अवस्था छैन । म पुनरावेदक प्रतिवादीका साक्षी छब्बन खाँले प्रतिवादीले मृतकलाई मार्नुपर्ने कुनै कारण छैन भनी सुरू जिल्ला अदालतमा बकपत्र गरिदिएका छन । बरामदी मुचुल्का र घटनास्थलका साक्षी मन्सव खाँले सुरू अदालतमा आई मृतकलाई को-कसले काटी फालेका हुन थाहा भएन । प्रतिवादीले काटी फालेका होइनन् भनी बकपत्र गरिदिएका छन । साथै घटना विवरण कागज गर्ने वादी पक्षका साक्षीहरू कैयुम खाँ, मुस्तकिम साह, सहीजात खाँसमेतले प्रतिवादीहरूले उक्त वारदात घटाएका होइनन् र मार्नमा सहयोग पनि गरेका होइनन् भन्‍ने लेखाएको व्यहोराबाट अभियोग प्रमाणित हुन नसकेकोसमेतका कागज प्रमाणबाट हामी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुने गरी सुरू बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको हुँदा सो फैसला बदर उल्टी गरी सफाइ पाऊँ भन्‍नेसमेत व्यहोराको चिन्की भन्‍ने अलमान खाँ र मोटी / पुशु भन्‍ने काफिया खाँको संयुक्त उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।४।२८ गतेको पुनरावेदन पत्र ।

जाहेरीमा म पुनरावेदक केशर जहाँ खाँको नाउँ उल्लेख भए तापनि घटनामा के-कस्तो संलग्नता रहेको छ भन्‍ने स्पष्ट नभएको, मृतक र मेरोबिच आपसमा अपवित्र सम्बन्धसमेत नरहेको, मृतकलाई मार्नुपर्ने सम्मको कारणसमेत नरहेको, अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा मृतकलाई मार्नको लागि मतसल्लाहमा रही हतियार खरिद गर्नमा सहयोग गरेको भनी स्वीकार गरेको अवस्था नभएको, सहअभियुक्तहरूले अधिकारप्राप्त अधिकारीसमक्ष पोल गरी बयान गरेतापनि अदालतमा पोल गरी बयान नगरेको, सहअभियुक्तहरू काफिया खाँसमेतले म पुनरावेदक केशरजहाँ खाँको मृतकसँग प्रेम सम्बन्ध रही आएको भनी उल्लेख गरेको छैन । घटना विवरणका सहिजात खाँसमेतका मानिसहरूले बकपत्र गर्दा प्रहरीसमक्ष भएको व्यहोरा आफ्नो नभएको, घटनामा केशरजहाँ खाँको संलग्नता नरहेको भनी उल्लेख गरेका छन् । मेरा साक्षी दिलबहादुर मिर्जाले मेरो अदालतसमक्षको बयानलाई पुष्टि हुने गरी बकपत्र गरिदिएको छन । तसर्थ सहअभियुक्तको पोल र अधिकारप्राप्त अधिकारीसमक्ष गरेको इच्छाविपरीतको बयानलाई मात्र प्रमाणमा लिइ अदालतसमक्ष तत्काल बुझिएको व्यक्तिहरूको बकपत्रसमेतलाई प्रमाणमा नलिई भएको बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरिपाऊँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी केशरजहाँ खाँको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।५।१५ गतेको पुनरावेदन पत्र ।

मृतकले प्रतिवादीहरू काफिया खाँ र केशरजहाँ खाँले अवैध सम्बन्धका बारेमा सार्वजनिक गर्ने भनी रकम माग गरी ब्ल्याकमेल गर्ने गरेको विषयमा रिसइबी लिइ प्रतिवादी गुड्‍डु खाँसमेतलाई उक्त कुरा बताएपछि अन्य प्रतिवादीहरू अलमान खाँ, औसन खाँ र साकिर खाँ भई आपसी मिलेमतोमा योजना बनाई वारदात मिति २०६९।११।१० गते प्रतिवादी गुड्‍डु खाँको मोबाइलबाट प्रतिवादी काफिया खाँले मृतकलाई वारदातस्थलमा बोलाई सबै प्रतिवादीहरूले मनसायपूर्वक ढङ्गबाट कर्तव्य गरी मारेको तथ्य घटनास्थल मुचुल्का, खानतलासी तथ बरामदी मुचुल्का, कल डिटेल्स, लासजाँच मुचुल्का, अलिहसन खाँको किटानी जाहेरी एवम् शव परीक्षण प्रतिवेदनसमेतका प्रमाणहरूबाट पुष्टि भएको छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) ले धार भएको वा नभएको जोखिमी हतियार प्रयोग गरी ज्यान मारेको कामलाई समेटेको छ । प्रस्तुत मुद्दामा वारदात हँसिया प्रयोग गरी भएको छ । सुरू अदालतबाट १३(४) ठहर भएका प्रतिवादीहरूले लाठी, ढुङ्गा प्रयोग गरी मृतकको जीउमा हात हाली संयोग पारेको मात्र नभई सम्पूर्ण प्रतिवादीहरूले मनसायपूर्ण तरिकाले योजनाबद्ध रूपमा बल प्रयोग गरेको अवस्था रहेको, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) मा उल्लेख भएबमोजिम जतिजना भई हतियार छाडेको छ, सबैलाई सर्वस्वसहित जन्मकैद हुनुपर्नेमा सो नभई १३(४) बमोजिम घटि सजाय हुने ठहर भएको, सबै प्रतिवादीहरू मनसायपूर्वक ढङ्गले कर्तव्यमा संलग्न रहेको तथा सबैले चोट छाडेको तथ्य, लास जाँच मुचुल्का एवम् शव परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको अवस्थामा माथि उल्लिखित कारण, प्रमाणसमेतबाट प्रतिवादी अलमान खाँ, औसर खाँ, साकिर खाँ, काफिया खाँ र केशरजहाँ खाँलाई १३(१) नं.ले सजाय हुनुपर्नेमा सो नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा निजहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाऊँ भन्‍नेसमेत व्यहोराको नेपाल सरकारको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।८।६ गतेको पुनरावेदन पत्र ।

मसमेतले मृतकलाई मार्नुपर्नेसम्मको कारण नभएको, मृतक र मेरोबिचमा पूर्व रिसइबीसमेत नभएको, परिचितसमेत नभएको, मउपर दिएको किटानी जाहेरी व्यहोरालाई जाहेरवाला अदालतमा उपस्थित भई समर्थित र पुष्टि गराउन नसकेको, मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान मेरो इच्छाविपरीत भएको बयान हो, प्रहरीले लेखेको काजगमा सहीछाप मात्र गरेको हुँ । अदालतमा म कसूर अपराधमा इन्कार रही बयान गरेको छु । सो बयान मेरो साक्षीको बकपत्रसमेतबाट समर्थित भएको अवस्था छ । घटना विवरण कागज गर्ने कैयुम खाँ, मुस्तकिन साह, सहजाद खाँसमेतले अदालतमा बकपत्र गर्दा घटना विवरण कागज व्यहोरा आफूले गरेको होइन, प्रहरीले खाली कागजमा सहीछाप मात्र गराएका हुन्, म पुनरावेदक प्रतिवादीसमेतले मृतकलाई कर्तव्य गरी मारेका होइनन् भनी लेखाएका छन् । म पुनरावेदक प्रतिवादी र प्रतिवादीमध्येकी केशरजहा खाँबिचमा प्रेम सम्बन्ध भएको र सो जानकारी मृतक चाँदबाबु खाँलाई भएकोले निजले केशरजहा खाँको लोग्नेलाई भनी दिने भन्दै आएकोले सोही रिसइबीले मृतकलाई मारेको भन्‍ने आधार तर्कसम्मत छैन । म एवम् केशरजहा खाँले सुरू अदालतमा बयान गर्दा हामीबिच एकआपसमा माया प्रेम नभएको भनी बयान गरेको अवस्था छ । अतः उल्लिखित आधार, प्रमाणबाट मिसिल संलग्न कागज प्रमाणको उचित मूल्याङ्कन नगरी म पुनरावेदक प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याइ बाँके जिल्ला अदालतको मिति २०७०।११।१३ को फैसला गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी गुड्‍डु खाँको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको मिति २०७२।८।२० गतेको पुनरावेदन पत्र ।

यसमा चिन्‍की भन्‍ने प्रतिवादी अलमान खाँले हँसिया प्रहार गरेको र त्‍यसपछि प्रतिवादी गुड्‍डु खाँले त्‍यही हँसिया प्रयोग गरी मृतकको शरीर र टाउको छुट्‍याएको भन्‍ने देखिएको र प्रतिवादी केशरजँहा खाँ र सकिर खाँ घटनास्‍थलदेखि पर अलग रहे बसेको अवस्‍थाको विवेचना र विश्‍लेषणको अभावमा भएको सुरूको फैसला प्रमाण मूल्‍याङ्कनको रोहमा विचारणीय भई फरक पर्ने देखिन आएको अवस्‍था भई नेपाल सरकारको समेत पुनरावेदन परेको हुँदा अ.बं.२०२ नं.को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन परस्‍परमा सुनाई जानकारी गराई नियमानुसार पेस गर्नू भन्‍ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।२।१७ को आदेश ।

यी प्रतिवादीहरूले अदालतमा आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको भए तापनि निजहरूको मौकाको बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन नमिल्ने आधार र कारण मिसिल प्रमाणबाट देखिन आएको 

छैन । निजहरूको सो मौकाको बयान व्यहोरा शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, कल डिटेल्ससमेतका प्रमाणहरूबाट समर्थित भई पुष्टि भएको अवस्था रहेकोमा मृतक र प्रतिवादीमध्येका काफिया खाँबिच अवैध सम्बन्ध रहेको र प्रतिवादीमध्येका गुड्‍डु खाँ र केशरजहाँ खाँबिचको नाजायज सम्बन्ध प्रकाश गरी घरबार बिगारी दिन्छुसमेत भनी मृतकले यी प्रतिवादी काफिया खाँलाई धम्कीसमेत दिई ब्ल्याकमेल गरी रूपैयाँ माग्ने नाजायज सम्बन्ध राख्‍ने गरेकोसमेत कारणबाट यी प्रतिवादीहरूले एकआपसमा सरसल्लाह गरी योजना बनाई मिति २०६९।११।१० गते मृतकलाई एकान्तमा बोलाई हँसियाले घाँटी रेटी कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादीमध्येका गुड्‍डु खाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(१) बमोजिमको कसूर गरेकोले सोही १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू चिन्की भन्‍ने अलमान खाँ, झल्ला भन्‍ने औसान खाँ, बहुरे भन्‍ने साकिर खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ र केशरजहाँ खाँले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत ऐ. १३(४) नं. बमोजिमको कसूर गरेकोले सोही १३(४) नं. बमोजिम निजहरूलाई जन्मकैद सजाय हुने ठहर्‍याई सुरू बाँके जिल्ला अदालतबाट मिति २०७१।११।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने व्यहोराको पुनरावेदन अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।११।१३ को फैसला ।

मैले आरोपित कसूर नगरेको भनी अदालतसमक्ष गरेको बयान मेरा तथा स्वयं वादीका साक्षीको बकपत्रसमेतबाट पुष्टि भइरहेको अवस्थामा केवल मेरो इच्छाविपरीत गरिएका मौकाको साबिती बयानलाई मात्र फैसलाको मुख्य आधार लिएको छ तर म पुनरावेदकले सुरू जिल्ला अदालतमा बयान गर्दा जाहेरवालाको दाइ मृतक चाँदबाबु खाँको मृत्युको बारेमा आफूलाई थाहा जानकारी नभएको र देखाएको वारदात मिति समयमा म आफ्नो घरमा थिएँ भनी वारदात घटनाको बारेमा पूर्ण रूपमा इन्कारी बयान गरी आएको छु । म पुनरावेदकलाई अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको साबिती बयान, व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाण ग्रहण गर्न नमिल्ने अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको साबिती बयानलाई मात्र प्रमाण ग्रहण गरी म पुनरावेदकलाई जन्मकैद हुने ठहरी गरेको सुरू फैसलालाई सदर हुने गरी गरेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला विचारणीय हुँदा उक्त फैसला बदर गरिपाऊँ । मृतकलाई मसमेतले ज्यानैसम्म मार्नुपर्ने कुनै कारण नरहेको, अभियोग मागदाबीबमोजिमको कुनै कसूर अपराध नगरेको कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भई आएको अवस्थामा पनि सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई पूर्ण रूपमा सफाइ हुने ठहराई पाऊँ भन्‍ने व्यहोराको पुनरावेदक प्रतिवादी ‍औसान खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको पुनरावेदन  पत्र ।

मैले आरोपित कसूर नगरेको भनी अदालतसमक्ष गरेको बयान मेरा तथा स्वयं वादीका साक्षीको बकपत्रसमेतबाट पुष्टि भइरहेको अवस्थामा केवल मेरो इच्छाविपरीत गरिएका मौकाको साबिती बयानलाई मात्र फैसलाको मुख्य आधार लिइएको छ । म पुनरावेदकले सुरू जिल्ला अदालतमा बयान गर्दा जाहेरवालाको दाइ मृतक चाँदबाबु खाँको मृत्युको बारेमा आफूलाई थाहा जानकारी नभएको, मसमेत अन्य प्रतिवादीहरू मिली मृतकलाई हँसिया प्रहार गरी मारेको होइन भनी वारदात घटनाको बारेमा पूर्ण रूपमा इन्कारी बयान गरी आएको छु । जाहेरवालाले जाहेरी दरखास्तलाई सनाखत गर्नुपर्नेमा सो गर्न नसकी जाहेरी दरखास्त स्वतन्त्र एवम् वस्तुनिष्ठ अन्य प्रमाणबाट पुष्टि हुन सकेको छैन । मृतकलाई मसमेतले ज्यानैसम्म मार्नुपर्ने कुनै कारण नभएको साथै निज मृतक र मेरोबिचमा पूर्वरिसइबी परिचितसमेत नभएको र मार्ने मनसायसमेत मिसिल संलग्न कागजातबाट र वादी पक्षले स्वतन्त्र शङ्कारहित तवरबाट प्रमाणित गर्न नसकेकोसमेत नदेखिएको अवस्थामा सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई सफाइ दिलाई पाऊँ भन्‍ने व्यहोराको पुनरावेदक प्रतिवादी चिन्‍की भन्‍ने अलमान खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको 

पुनरावेदनपत्र ।

मैले आरोपित कसूर नगरेको भनी अदालतसमक्ष गरेको बयान मेरा तथा स्वयं वादीका साक्षीको बकपत्रसमेतबाट पुष्टि भइरहेको अवस्थामा केवल मेरो इच्छाविपरीत गरिएका मौकाको साबिती बयानलाई मात्र फैसलाको मुख्य आधार लिएको छ तर म पुनरावेदकले सुरू जिल्ला अदालतमा बयान गर्दा जाहेरवालाको दाइ मृतक चाँदबाबु खाँको मृत्युको बारेमा आफूलाई थाहा जानकारी नभएको र देखाएको वारदात मिति, समयमा म आफ्नो घरमा थिए भनी वारदात घटनाको बारेमा पूर्ण रूपमा इन्कारी बयान गरी आएको छु । म पुनरावेदक र प्रतिवादीमध्येका गुड्‍डु खाँको बिचमा प्रेम सम्बन्धमा भएको र सोको जानकारी मृतक चाँदबाबु खाँलाई भएको र निज मृतकले केशरजहाँ खाँको लोग्नेलाई भनी दिने भन्दै आएका हुँदा सोही रिसइबीका कारण मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने जाहेरवालाको किटानी जाहेरीका आधारमा मुद्दाको उठान भएको छ । म पुनरावेदक र अर्का प्रतिवादी गुड्‍डु खाँसमेतका अन्य प्रतिवादीहरूको बयान तथा मिसिल संलग्न अन्य प्रमाणबाट म पुनरावेदक र निज गुड्‍डु खाँको बिचमा माया प्रेम थियो भन्‍ने कुरा मृतकलाई थाहा भई सो कुरा म पुनरावेदकको लोग्नेलाई भनी दिने रिसइबीका कारण मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने फैसलाको आधारसमेत तर्कसम्मत छैन । म पुनरावेदकको जाहेरवालाको दाइ मृतक चाँदशँग चिनजान नभएको कारणबाट निजलाई मार्नुपर्नेसम्मको मेरो कुनै पूर्वरिसइबी मनसाय तयारी र योजना नभएको र सोअनुरूप मैले निजलाई नमारेको तथ्य पुष्टि प्रमाणित भएको अवस्थामा पनि सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई पूर्ण रूपमा सफाइ दिलाई पाऊँ भन्‍ने व्यहोराको पुनरावेदक प्रतिवादी केशरजँहा खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको पुनरावेदनपत्र ।

मैले मुद्दाको अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई फैसलाको मुख्य आधार लिएको छ, तर म प्रतिवादी अभियोगसाथ सुरू जिल्ला अदालतमा उपस्थित भई बयान गर्दा जाहेरवाला तथा निजको दाइ मृतक चाँदबाबु खाँलाई चिन्दैन भनी आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही अधिकारीसमक्ष गराइएको साबिती बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाण ग्रहण गर्न नमिल्ने अवस्थामा अधिकारप्राप्त अधिकारसमक्ष गराइएको साबिती बयानलाई मात्र प्रमाण ग्रहण गरी म पुनरावेदकलाई जन्मकैद हुने ठहरी गरेको सुरू फैसलालाई सदर हुने गरी गरेको उच्च अदालत तुलसीपुर नेपालगन्जको फैसला विचारणीय हुँदा उक्त फैसला बदर गरिपाऊँ । म पुनरावेदक र मृतक चाँदबाबु खाँको बिचमा प्रेम तथा नाजायज सम्बन्धमा भएको र पछि मृतकले पैसा माग्ने घरबार बिगारी दिने धम्की दिँदै आएका हुँदा सोही रिसइबीका कारण मृतकलाई कर्तव्य गरी मारेको भनी मलाई अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराईएको सोहीबमोजिमको अभियोग दर्ता भएको छ तर सो कुरा मेरो अदालतको बयान तथा अन्य प्रतिवादीहरूको बयान आदि मिसिल संलग्न अन्य प्रमाणबाट खुल्न नआएको अवस्थामा 

छ । यस अवस्थामा मेराउपर अभियोग लागेको कारणबाट मलाई सजाय गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुनेगरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई पूर्ण रूपमा सफाइ दिलाई पाऊँ भन्‍ने व्यहोराको पुनरावेदक प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको पुनरावेदनपत्र ।

म पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई फैसलाको मुख्य आधार लिएको छ तर म पुनरावेदकले सुरू जिल्ला अदालतमा बयान गर्दा जाहेरवालाको दाइ मृतक चाँदबाबु खाँको मृत्युको बारेमा आफूलाई थाहा जानकारी नभएको र देखाएको वारदात मिति समयमा मेरो छोराको विवाह भोज भएको हुँदा म आफ्नो घरमा थिएँ भनी वारदात घटनाको बारेमा पूर्ण रूपमा इन्कारी बयान गरी आएको छु । म पुनरावेदकलाई अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको साबिती बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाण ग्रहण गर्न नमिल्ने अवस्था छ । जाहेरवालाले जाहेरी दरखास्तलाई सनाखत गर्नुपर्नेमा सो गर्न नसकी जाहेरी दरखास्त स्वतन्त्र एवम् वस्तुनिष्ठ अन्य प्रमाणबाट पुष्टि हुन सकेको छैन । मृतकलाई मसमेतले ज्यानैसम्म मार्नुपर्ने कुनै कारण नभएको साथै निज मृतक र मेरोबिचमा पूर्वरिसइबी परिचितसमेत नभएको मिसिलबाट पुष्टि भई आएको अवस्थामा छ । प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा घटना विरणको कागज गर्ने कैयुम खाँले मौकामा गरेको कागज मेरो होइन, उक्त मितिमा साकिर खाँको छोराको विवाह भोज भएको हुँदा दिनरात आफ्नो घरमा थिए भनी बकपत्र गरी आउनुको साथै सहिजाद खाँ र मुस्तकिम साहसमेतले म पुनरावेदक वारदात मिति, समयमा घरमा थिएँ भनी गरेको बकपत्रले जाहेरवालाको जाहेरीलाई पुष्टि गरेको छैन । जाहेरवालाको दाइसँग कुनै पूर्वरिसइबी ज्यानैसम्म मार्नुपर्ने कुनै कारणसमेत केही नभएको हुँदा अभियोग मागदाबीबमोजिमको कुनै कसूर अपराध नगरेको कुरा पुष्टि भई आएको अवस्थामा पनि सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई सफाइ दिलाई पाऊँ भन्‍ने व्यहोराको बाहुर भन्‍ने साकिर खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको पुनरावेदनपत्र ।

म प्रतिवादीले अधिकारप्राप्त अधिकारसमक्ष गरेको साबिती बयानलाई फैसलाको मुख्य आधार लिएको छ तर सुरू जिल्ला अदालतमा उपस्थित भई बयान गर्दा मसमेतले मृतक चाँदबाबु खाँलाई मारेको होइन भनी आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरी आएको छु । म पुनरावेदकलाई अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको साबिती बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाण ग्रहण गर्न नमिल्ने अवस्थामा छ । म पुनरावेदक र प्रतिवादीमध्येकी केशरजहाँ खाँको बिच प्रेम सम्बन्ध भएको र सोको जानकारी मृतक चाँदबाबु खाँलाई भएको र निज मृतकले केशरजहाँ खाँको लोग्नेलाई भनी दिने भन्दै आएका हुँदा सोही रिसइबीका कारण मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने जाहेरवालाको किटानी जाहेरीका आधारमा मुद्दाको उठान भएको 

छ । म पुनरावेदक र अर्का सहप्रतिवादी केशरजहाँले सुरू जिल्ला अदालतमा बयान गर्दा म पुनरावेदक र निजको बिचमा माया प्रेम नभएको भनी बयान गरी आउनुका साथै अन्य प्रतिवादीहरू तथा घटनामा बुझिएका व्यक्तिबाट समेत निजको र मेरोबिचमा माया प्रेम थियो भन्‍ने कुरा खुल्न नआएको अवस्था छ । जाहेरवालाले जाहेरी दरखास्तलाई सनाखत गर्नुपर्नेमा सो गर्न नसकी जाहेरी दरखास्त स्वतन्त्र एवम् वस्तुनिष्ठ अन्य प्रमाणबाट पुष्टि हुनसकेको छैन । मृतकलाई मसमेतले ज्यानैसम्म मार्नुपर्ने कुनै कारण नभएको साथै निज मृतक र मेरोबिचमा पूर्वरिसइबी परिचितसमेत नभएको मिसिलबाट पुष्टि भई आएको अवस्थामा छ । मृतकसँग कुनै पूर्वरिसइबी ज्यानैसम्म मार्नुपर्ने कुनै कारणसमेत नभएको हुँदा अभियोग मागदाबीबमोजिमको कुनै कसूर अपराध नगरेको कुरा पुष्टि भई आएको अवस्थामा पनि सुरू जिल्ला अदालतको फैसलालाई नै सदर हुने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।१३ गतेको फैसला बदर गरी मलाई सफाइ दिलाई पाऊँ भन्‍ने व्यहोराको गुड्‍डु खाँको यस अदालतमा पर्न आएको मिति २०७४।९।२६ गतेको पुनरावेदनपत्र ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीहरू गुड्‍डु खाँ, चिन्की भन्‍ने अलमान खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ, झल्ला भन्‍ने औसान खाँ, केशरजहाँ खाँ, बहुर भन्‍ने साकिर खाँको तर्फबाट उपस्थित विद्वान्‌ वैतनिक कानून व्यवसायी अधिवक्ता श्री रजिता थापाले घटनाको प्रत्यक्षदर्शी कोही नभएको, जाहेरवालाले अदालतसमक्ष बकपत्र नगरेको र अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानको आधार लिई यी प्रतिवादीहरूलाई कसूरदार ठहर गरेको फैसला नमिलेको भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मृतक लासको टाउको र शरीर छुट्टिएको फेला परी अली हसन खाँको जाहेरीबाट प्रारम्भ भएको प्रस्तुत मुद्दामा चाँदबाबु खाँको हत्या गरेको भनी प्रतिवादीहरू गुड्‍डु खाँ, चिन्की भन्‍ने अलमान खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ, झल्ला भन्‍ने औसान खाँ, केशरजहाँ खाँ, बहुर भन्‍ने साकिर खाँ उपर मुलुकी ऐन, ज्यानसम्बन्धी १ नं. विपरीतको कसूरमा सोही महलको १३(३) नं.को कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३(१) नं. बमोजिम सजायको मागदाबी लिई अभियोगपत्र पेस भएको प्रस्तुत मुद्दामा सुरू बाँके जिल्ला अदालतले मागदाबीबमोजिम प्रतिवादीमध्येका निज गुड्‍डु खाँलाई ऐ.१३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरू चिन्की भन्‍ने अलमान खाँ, झल्ला भन्‍ने औसान खाँ, बहुर भन्‍ने साकिर खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ र केशरजहाँ खाँलाई ऐ.१३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्‍याएउपर वादी नेपाल सरकार र प्रतिवादीहरूको तर्फबाट उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पुनरावेदन पर्दा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट सुरू अदालतको फैसला सदर हुने ठहर्‍याएउपर आफूहरू निर्दोष रहेको हुँदा सुरू जिल्ला अदालतमा गरेको बयान जिकिरबमोजिम सफाइ पाउनुपर्छ भनी प्रतिवादीहरूको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आई पेस हुन आएको देखियो ।

३. मिसिल संलग्न जिल्ला बाँके, सोनपुर गाउँ विकास समिति वडा नं.३ स्थित छोट्टन नाउको खेतबारीमा परालको कुन्यु नजिक बायाँ काँधमा दुई ठाउमा काटिएको घाउँ, टाउको काटिएको शरीरको भाग मात्र रहेको र केही पर जमिनमुनि गाडिराखेको सेतो धर्के स्वेटर र निलो अन्डर ट्राउजरले बेरेर राखेको घाँटीभन्दा माथि टाउकाको भाग मात्र रहेको भन्‍ने लास जाँच मुचुल्काबाट देखिनुका साथै मृतकको मृत्यु Avulsion of head from neck by sharp edge weapon (घाँटीबाट टाउको छुट्याइएको) भन्‍ने शव परीक्षण प्रतिवेदनबाट खुल्न आएको देखियो । अलिहसन खाँको किटानी जाहेरी दरखास्त, घटनास्थल लासजाँच मुचुल्का, खानतलासी तथा बरामदी मुचुल्का, Autopsy Report समेतबाट चाँदबाँबु खाँको मिति २०६९।११।१० को राति धाँरिलो हतियारले घाँटी काटी घाँटीबाट टाउको छुट्याई हत्या गरिएको तथ्य स्थापित हुन आएको देखिन्छ । प्रतिवादीहरूले अदालतसमक्ष गरेको बयानमा मृतकलाई कर्तव्य गरी मारेकोमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकले केशरजहाँ खाँ र काफिया खाँलाई ब्ल्याकमेल गरी पैसा माग्ने हुँदा अलमान खाँ, साकिर खाँ, औसन खाँ, काफिया खाँ, केशरजहाँ खाँ र गुड्‍डु खाँले मार्ने योजना बनाई घाँटी रेटी मारेका हौं समेत भनी वारदातको पूर्ण विवरण खुलाई बयान गरेको देखिन्छ । प्रतिवादीहरूले देखाएको स्थानबाट मृतकको टाउको एवम् वारदातमा प्रयोग भएको हँसियासमेत बरामद भएको अवस्था 

छ । अब प्रस्तुत आपराधिक कार्यमा यी प्रतिवादीहरूको संलग्नता छ वा छैन, घटनाको तथ्य र मिसिल संलग्न प्रमाणको आधारमा रहे नरहेतर्फ विवेचना गर्नुपर्ने हुन आयो ।

४. प्रतिवादी गुड्‍डु खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई मार्नुपर्ने मनसाय नरहेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, साक्षीहरू कैयुम खाँ, सहजाद खाँ, मुस्तकीम खाँसमेतले म पुनरावेदकसमेतले मृतकलाई कर्तव्य गरी मारेको होइन भनी बकपत्र गरेको, जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनुपर्ने जिकिर लिएको देखिन्छ । तसर्थ, सर्वप्रथम सोतर्फ नै विचार गर्नुपर्ने हुन आयो ।

५. प्रतिवादी गुड्‍डु खाँ अदालतसमक्ष अभियोग कसूरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसूरमा साबित रहेको पाइन्छ । वारदातको समयमा मृतक चाँदबाबु खेतको आलीमा बसी प्रतिवादीमध्येका काफिया खाँसँग कुरा गरी बसेको मौका पारी सुरूमा चिन्की भन्‍ने अलमान खाँ लुकीछिपी गई पछाडिबाट चाँदबाबुको गर्दन ढाडलगायत शरीरको अन्य भागमा प्रहार गरी निज लडेपछि साकिर खाँ, औसान खाँ, केशरजहाँ खाँ र मसमेत गै साकिर खाँ, औसान खाँ र अलमान खाँले चारैतिरबाट घेरा हाली हातखुट्टा समाती मृतकलाई हलचल गर्न नदिई मैले अलमान खाँको हातबाट हँसिया लिई गर्दनबाट टाउको छिनालेको हुँ । घाँटीबाट छिनालेको टाउको सबैजनाको सल्लाहले साकिर खाँ, अलमान खाँ, औसान खाँ र मैले मृतकले लगाएको स्वेटर र अन्डर ट्राउजरमा लपेटी सबैजना भई मैले र अलमान खाँले पालैपालो बोकी घटनास्थलभन्दा ५/६ सय मिटर उत्तरतर्फ हिलो भएको खेतमा लगी हातले हिलोमा खाल्डो बनाई टाउको सोही खाल्डोमा हाली माटोले पुरी दिएको र वारदातमा प्रयोग भएको हँसिया बाटोमा पर्ने हिलो भएको पानी तलाउ (खाल्डो) मा फ्याँकी दिएको हुँ भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयानमा उल्लेख गरेको पाइन्छ । सो कुराको पुष्टि वारदातमा प्रयोग भएको हँसिया बाँके सोनपुर गाउँ विकास समिति वडा नं.४ स्थित पानीको खाल्डोमा रहेको विवरणबमोजिम मिति २०६९।११।२१ मा यी प्रतिवादीसमेतका प्रतिवादीहरूको रोहबरमा बरामद भएको देखिन्छ । लास जाँच प्रतिवेदनमा मृतकको मृत्यु धारिलो हतियारले घाँटीबाट टाउको छुट्‍याइएको कारण भएको हो भन्‍ने उल्लेख भएको देखिन्छ । यसबाट प्रतिवादी गुड्‍डु खाँको अधिकारप्राप्त अधिकारीसमक्षको बयानसँग उक्त लास जाँच प्रतिवेदनमा उल्लिखित व्यहोरा मेल खाई घटनाका यर्थाथतालाई स्थापित गरेको पाइन्छ । मौकाको साबितीलाई प्रहरीले नै त्यस्तो साबिती व्यहोरा लेखी सही गराएको भन्‍ने पुनरावेदन जिकिर लिएकोमा पनि आफूहरूले सो साबिती कागजमा सही गरेको कार्यलाई स्वीकार गरेकै देखिन्छ । प्रहरीले निजको इच्छाविरूद्ध वा जबरजस्तीसँग कुटपिट गरी वा अनुचित दबाब दिई बयान गरेको भन्‍ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीले पेस गर्न सकेको पनि देखिँदैन । प्रहरीमा भएको साबिती बयानलाई लास बरामद भएको स्थिति, लास जाँच प्रकृति, लास जाँच विवरणसमेतबाट समर्थित भएको स्थितिमा सो साबिती र त्यसबाट स्वभाविक रूपले देखिएको कुराहरू मालाकार रूपमा एकआपसमा सिलसिलाबद्ध ढङ्गले प्रस्तुत भई प्रमाणमा लिन मिल्ने नै देखिन्छ । निजको सो बयान व्यहोरासँग सहप्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयान व्यहोरा, घटनास्थल लास प्रकृति मुचुल्का, शव-परीक्षण प्रतिवेदन बरामदी मुचुल्‍कासमेतका वस्तुनिष्ठ प्रमाणहरूबाट समर्थित भई पुष्टि हुन आएको देखिन्छ, यसबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा ग्रहण गर्न नमिल्ने अवस्था र कारण मिसिल प्रमाणहरूबाट देखिन आएको छैन ।

६. यसैगरी मृतकले काफिया खाँ र केशरजहाँ खाँलाई ब्ल्याकमेल गर्ने हुँदा मृतकलाई ठिक पार्नुपर्छ भन्‍ने सोचमा मृतकलाई कुनै एकान्त ठाउँमा बोलाई त्यही सबै मिली सिध्याउनुपर्छ भन्‍ने योजनाअनुसार काफिया खाँले बोलाए आउने भएको हुँदा काफिया खाँले मेरो नम्बरबाट फोन गरी वारदात स्थानमा आऊ भनी बोलाएकी र निजले आउँछु भनेका हुँदा अलमान खाँ, साकिर खाँ, औसान खाँ, काफिया खाँ, केशरजहाँ खाँ र म उक्त स्थानमा निज आई पुग्ने समयभन्दा पहिले पुगी बसेका थियौं भनी अनुसन्धानको क्रममा प्रतिवादी गुड्डु खाँले बयान गरेको देखिन्छ । यी प्रतिवादी गुड्‍डु खाँको मोबाइल नं.९८०४५३४७६५ बाट मृतकको मोबाइल नं.९८०४५७८१३९ मा वारदातपूर्व सम्पर्क भएको र मृतकको मोबाइल नं.बाट प्रतिवादीमध्येकी केशरजहाँ खाँको मोबाइल नं.९८१२८६७७० र ९८१२४८६७७१ मा पटक-पटक सम्पर्क भएको तथ्य प्र.स.नि. पूर्णबहादुर ओलीले मिति २०६९।१२।१२ गते ‍पेस गरेको कल डिटेल्स प्रतिवेदन हेर्दा पुष्टि हुन आएको छ । प्रतिवादी गुड्‍डु खाँसमेतको सिमसहितको उपरोक्त मोबाइल बरामद भई प्रतिवादीहरू पक्राउ परेको देखिन्छ । तर यी प्रतिवादीले मृतक चाँदबाबु खाँलाई चिन्दिन भनी पुनरावेदन जिकिर लिएको पाइन्छ । मिसिल संलग्न फोन कल डिटेल्सबाट निज प्रतिवादी र मृतक बिच पटक-पटक फोनमा सम्पर्क भएको देखिँदा निजको उक्त जिकिरसँग सहमत हुन सकिँदैन । घटना विवरण कागज गर्ने मानिसहरू मुस्तादिन साह, कैयुव खाँ, सहीजात खाँले सुनी जानेको आधारमा अनुमान गरी मौकामा घटना विवरण कागज गरेको र अदालतसमक्ष बकपत्र गर्दा मौकाको व्यहोरा अन्यथा भनी प्रतिवादीहरू निर्दोष हुन् भनी बकपत्र गरे तापनि निजहरूको प्रत्यक्षदर्शी साक्षी नभएको हुँदा प्रतिवादीका साक्षीहरू एवम् घटना विवरण कागज गर्ने साक्षीहरूको व्यहोरा एवम् प्रतिवादीको अदालतमा भएको इन्कारी बयान व्यहोरालाई मात्र आधार लिई शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, कल डिटेल्ससमेतका प्रमाणहरूलाई उपेक्षा गर्न सिकने अवस्था देखिँदैन ।

७. फौजदारी मुद्दामा न्याय सम्पादन गर्दा अपराधीको उद्देश्य अपराधको पद्धति वा शैली घटनास्थलको दृश्य, घटनास्थलमा पाइएको अपराधसँग सम्बन्धित चीजवस्तु वा दशी इत्यादिको अप्रत्यक्ष प्रमाणसमेतलाई आधार मानी सत्यको उद्‍घाटन गरी अपराधीलाई सजाय दिनु र पीडित व्यक्ति प्रति न्याय गर्नु अदालतको दायित्व रहेको हुन्छ । प्रतिवादी केशरजहाँसँगको यी प्रतिवादीको सम्बन्धको बारेमा जानकारी पाएका मृतकले निजलाई ब्ल्याकमेल गरी रकम मागेको भन्‍नेसमेत कारणबाट मृतकलाई मार्नुपर्नेसम्मको रिसइबी भई अन्य प्रतिवादीहरूसँग मतसल्लाह गरी सुनियोजित तवरले मेलाबाट हँसियासमेत खरिद गरी मृतकको घाँटी रेटी टाउको नै छुट्‍याई मारी टाउको बोकी लगी खाल्डोमा पुर्नेसम्मको कार्यमा यी प्रतिवादी संलग्‍न रहेको भन्‍ने देखिन आएको छ । 

८. जाहेरवालाले अदालतमा बकपत्र गर्न नआएको सम्बन्धमा विचार गर्दा प्रत्यक्षदर्शी नरहेका यी मृतकका आफन्त जाहेरवालाले दिएको जाहेरी दरखास्त अपराध बारेको सूचनासम्म हो, वारदातको प्रत्यक्षदर्शी साक्षी नरहेका भारत वतन भएका जाहेरवाला अदालतसमक्ष अनुपस्थित रहेको भए तापनि मिसिल प्रमाणहरूबाट वारदात पुष्टि भइरहेको र मृतकसँग वारदातपूर्व सम्पर्क भएको नं.को सिमसहितको मोबाइलसहित यी प्रतिवादी गुड्‍डु खाँ पक्राउ परेको तथ्य प्रतिवेदक प्र.ना.नि. मनोजकुमार ठगुण्डासमेतको प्रतिवेदनबाट पुष्टि भइरहेको हुँदा पुनरावेदक प्रतिवादी गुड्‍डु खाँको पुनरावेदन जिकिरसँग सहमत हुन 

सकिएन । अतः यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं.१३(१) बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला सदर गर्ने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला निजको हकमा मिलेकै देखिन आयो ।

९. प्रतिवादी चिन्की भन्‍ने अलमान खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई मार्नुपर्ने मनसाय नरहेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, साक्षीहरू चिन्टु लालाले म पुनरावेदकसमेतले मृतकलाई कर्तव्य गरी मारेको होइन्, सो दिन म आफ्नै घरमा थिएँ भनी बकपत्र गरेको, जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनुपर्ने जिकिर लिएको देखिन्छ । यसमा चिन्की भन्‍ने अलमान खाँले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा केशरजहाँ खाँलाई मृतकले ब्ल्याकमेल गरी पैसा माग्ने गरेकोले निजलाई ठिक पार्नुपर्‍यो भनी गुड्‍डु खाँले भनेको केशरजहाँलाई सोध्दा मृतकले विभिन्‍न बहानामा धम्काई पैसा माग्ने गर्दछन् भनेकी र मृतकले गाउँकै काफिया खाँसँग पनि नाजायज सम्बन्धसमेत राखी मसँग तिम्रो नाङ्गो तस्वीर छ, नाजायज सम्बन्धका बारेमा तिम्रो श्रीमान्‌समेतलाई भनी घरबार बिगारिदिन्छु भनी ब्ल्याकमेल गर्ने गरेको कुरा काफिया खाँलेसमेत गरेकी र उक्त कुरा औसान खाँ, साकिर खाँसमेतलाई थाहा भएको हुँदा गुड्‍डु खाँले हामीहरूलाई निज चाँदबाबुलाई सिध्याउनुपर्छ भनी भनेकोमा मसमेतले योजना बनाई म र गुड्‍डु खाँले वारदातको अघिल्लो दिन मिति २०६९।११।९ मा उढरापुर स्थित मेलामा गई मैले रू.२५०।- र गुड्‍डु खाँले रू.२०।- थपी रू.२७०।- मा हँसिया खरिद गरी ल्याई मैले साथमा राखेको थिएँ । उपरोक्त आधारमा हेर्दा यी प्रतिवादी र अन्य प्रतिवादीहरू गुड्‍डु खाँसमेतसँग मृतकलाई मार्ने भन्‍ने मतसल्लाहमा पसी प्रतिवादी गुड्‍डु खाँ सँगै हँसिया किन्‍न गई आफूसमेतले रूपैयाँ खर्च गरी हँसिया किनी ल्याई राखी प्रतिवादी काफिया खाँको घरमा बसी योजना बनाई काफिया खाँले मृतकलाई फोन गरी बोलाई सबैजना मिली सिध्याउनुपर्छ भन्‍ने योजना बनाई सोअनुसार काफिया खाँले गुड्‍डु खाँको मोबाइलबाट फोन गरी मृतकलाई बोलाउन लगाई निजले आउँछु भनेको हुँदा गुड्‍डु खाँ, औसान खाँ, साकिर खाँ, काफिया खाँ, केशरजहाँ खाँ र म पहिले पुगी काफिया खाँलाई देखिने गरी बस्न र चाँदबाबु खाँ आएमा कुराकानी गरी अलमल्याउनु भनी हामीहरू वरिपरि खेतको आली रूखको फेदमा लुकी बसी चाँदबाबु आई काफियासँग बसी कुरा गरिरहेको मौकामा पछाडिबाट हँसियाले चाँदबाबुको गर्दन ढाडलगायतका शरीरका अन्य भागमा प्रहार गरे, निज भुईँमा लडेपछि गुड्‍डु खाँ, साविर खाँ, औसान खाँ, केशरजहाँ खाँसमेत आई औसान खाँले खुट्टा साकिर खाँले हात र मैले ढाडबाट च्यापी मृतकलाई हलचल गर्न नदिई गुड्‍डु खाँले मेरो हातबाट हँसिया लिई पछाडिबाट घाँटी रेटी छिनालेका हौं । सबैजनाको सल्लाहले मृतकको स्वेटर र अन्डर ट्राउजरमा टाउको लपेटी मैले र गुड्‍डुले पालैपालो बोकी घटनास्थलदेखि ५/६ सय मिटर उत्तर हिलो भएको खेतमा लगी मैले खाल्डो बनाई गुड्‍डु खाँले टाउको सोही खाल्डोमा हाली दुवैजनाले माटोले पुरिदिएको हुँ समेत भनी बयान गरेको देखिन्छ ।

१०. निजले अदालतसमक्ष बयान गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरेको 

देखिन्छ । मौकाको साबितीलाई प्रहरीले नै त्यस्तो साबिती व्यहोरा लेखी सही गराएको भन्‍ने यी प्रतिवादीले जिकिर लिएकोमा पनि आफूले सो साबिती कागजमा सही गरेको कार्यलाई स्वीकार गरेकै 

देखिन्छ । प्रहरीले निजको इच्छा विरूद्ध वा जबरजस्तीसँग कुटपिट गरी वा अनुचित दबाब दिई बयान गरिएको भन्‍ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीबाट पेस गर्न सकेको पनि 

देखिँदैन । निजको अनुसन्धान अधिकृतसमक्ष भएको बयान प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा ग्रहण गर्न नमिल्ने कुनै आधार कारण देखिएन । निज प्रतिवादीको मौकाको व्यहोरा सहप्रतिवादीहरूको बयान व्यहोराबाट समर्थित देखिन्छ । घटनास्थल लास प्रकृति मुचुल्का, शव-परीक्षण प्रतिवेदन, वारदातमा प्रयोग भएको हँसिया बरामद भएको बरामदी मुचुल्का, कल डिटेल्ससमेतका स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरूबाट समेत यी प्रतिवादीको मौकाको बयान व्यहोरा पुष्टि भइरहेको देखिन्छ । यी प्रतिवादीसमेतको रोहमा बरामद भएको उक्त हँसिया सनाखतसमेत गरिदिएको देखिन्छ ।

११. निजको पुनरावेदन जिकिरमा वारदात हुँदाको समयमा घटनास्थलमा नभई आफ्नो घरमा थिएँ, मृतकलाई मैले कर्तव्य गरी मारेको होइन भनी अन्यत्र स्थलमा रहेको जिकिर लिएको देखिए तापनि यी प्रतिवादीउपर किटानी जाहेरी परेको पाइन्छ भने निजले र अन्य सहप्रतिवादीहरूलेसमेत अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको आधारमा यी प्रतिवादीको उपस्थिति र संलग्नता रहेको भनी पुष्टि भइरहेको छ । अन्य स्थलको जिकिर लिएर मात्र 

पुग्दैन । वस्तुनिष्‍ठ प्रमाण पेस गर्न सक्नु पर्दछ । स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुन सक्नेमा सोसमेत गरेको देखिँदैन । ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको बेलामा घटनास्थलमा मौजुद नरही अन्यत्र थिएँ भनी लिएको जिकिर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन भन्‍नु तर्कसङ्गत नहुने तसर्थ यी पुनरावेदकको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१२. उपरोक्त आधारमा हेर्दा यी प्रतिवादी अन्य प्रतिवादीहरू गुड्‍डु खाँसमेतसँग मृतकलाई मार्ने भन्‍ने मतसल्लाहमा पसी प्रतिवादी गुड्‍डु खाँसँगै हँसिया किन्‍न गई आफूसमेतले रूपैयाँ खर्च गरी हँसिया किनी ल्याएको भनी बयान गरेको देखिन्छ । प्रतिवादी काफिया खाँको घरमा बसी योजना बनाई काफिया खाँले मृतकलाई फोन गरी बोलाई वारदातस्थलमा हँसियासहित लिई गई लुकी बसी यी प्रतिवादीले मृतकलाई शरीरका विभिन्‍न भागमा प्रहार गरी घाइते बनाई, लडाई, समाई, मार्न संयोग मिलाई दिई प्रतिवादी गुड्‍डु खाँले मृतकको घाँटी रेटी घाँटीबाट टाउको छुट्‍याई लिई गई टाउको खाल्डोमा गाड्ने कार्यमा समेत यी प्रतिवादी चिन्‍की भन्‍ने अहमान खाँ संलग्‍न रहेको देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको १,१३(४) बमोजिम जन्मकैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला निजको हकमा मिलेकै देखिन आयो ।

१३. प्रतिवादी झल्ला भन्‍ने औसन खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई मार्नुपर्ने मनसाय नरहेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, वारदात घटनाको दिन म आफ्नै घरमा थिए भनी बकपत्र गरेको, जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनुपर्ने जिकिर लिएको देखिन्छ । निजले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा गुड्‍डु खाँ विगत एक / डेढ वर्षदेखि मेरो घरमा डेरा कोठा लिई बस्ने गरेको हुँदा निजसँग कहिलेकाँही मृतक चाँदबाबु खाँ पनि मेरो घरमा आउने जाने गर्ने हुँदा चाँदबाबु खाँलाई देखेको थिए, पछि निज चाँदबाबु खाँले केशरजहाँ खाँ र काफिया खाँलाई ब्ल्याकमेल गरी, धम्की दिई, डर त्रास देखाई पैसा माग्ने हुँदा सो कुरा गुड्‍डु खाँसमेतले मलाई भनेकाले म, काफिया खाँ, अलमान खाँ केशरजहाँ खाँ र साकिर खाँ भई चाँदबाबु खाँलाई खतम गर्नुपर्छ भन्‍ने योजना बनाई मिति २०६९।११।९ गते अलमान खाँ र गुड्‍डु खाँ उढरापुर मेलामा गई हँसिया लिई २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई सबैले सल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँले चाँदबाबु खाँसँग कुरा गरी चाँदबाबु खाँलाई गाउँमा बोलाएपछि रातको अं.९:३० बजेको समयमा म गुड्‍डु खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी काफिया खाँलाई चाँदबाबु खाँसँग कुरा गर्न लगाई निजहरू आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ गई निज चाँदबाबु खाँको गर्दन र टाउकाको भागमा हँसिया प्रहार गरेपश्चात् म, गुड्‍डु खाँ र साकिर खाँसमेत उक्त ठाँउमा गई निजलाई घेरा हाली, चाँदबाबु खाँलाई हलचल गर्न नदिई, हातखुट्टा समातेपश्चात् गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबु कै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडी दिएका हुन, तत्पश्चात् हामी सबैजना आ-आफ्नो घरमा गएका हौ भनी बयान गरेको देखिन्छ ।

१४. यी प्रतिवादीले अदालतमा आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको भए तापनि निजको मौकाको बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन नमिल्ने आधार र कारण मिसिल प्रमाणबाट देखिन आएको छैन । निजको सो मौकाको बयान व्यहोरा, शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, सहप्रतिवादीहरूको अनुसन्धान अधिकृतसमक्ष भएको बयान, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, कल डिटेल्ससमेतका प्रमाणहरूबाट समर्थित भई पुष्टि हुन आएको देखिन्छ । निजको पुनरावेदन जिकिरमा वारदात हुँदाको समयमा घटनास्थलमा नभई आफ्नो घरमा थिएँ, मृतकलाई मैले कर्तव्य गरी मारेको होइन भनी अन्यत्र स्थलमा रहेको जिकिर लिएको देखिए तापनि यी प्रतिवादीउपर किटानी जाहेरी परेको पाइन्छ भने निजले र अन्य सहप्रतिवादीहरूले समेत अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको आधारमा यी प्रतिवादीको उपस्थिति र संलग्नता रहेको भनी पुष्टि भइरहेको छ । अन्य स्थलको जिकिर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुन सक्नेमा सोसमेत गरेको देखिएन ।

१५. उपरोक्त आधारमा हेर्दा यी प्रतिवादी झल्ला भन्‍ने औसान खाँ, अन्य प्रतिवादी गुड्‍डु खाँसमेतसँग मृतक चाँदबाबुलाई मार्ने मतसल्लाहमा बसी वारदातस्थलमा गई मृतकलाई घेरा हाली मृतकको खुट्टा समाती मार्नमा संयोग मिलाई दिई प्रतिवादी गुड्‍डु खाँले हँसियाले मृतकको घाँटी रेटी, टाउको छिनाली मारेको र सो टाउको बोकी लिई गई खाल्डोमा गाड्नेसम्मको मतसल्लाहमा पसी संलग्‍न रहेको भन्‍ने मिसिल प्रमाणहरूबाट स्थापित हुन आएको देखिँदा यी प्रतिवादी झल्ला भन्‍ने औसान खाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३(४) बमोजिमको कसूरमा ऐ.१३(४) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला निजको हकमा मिलेकै देखिन 

आयो । अत: मार्ने कार्यमा नै संलग्‍न हुने यी प्रतिवादी झल्ला भन्‍ने औसान खाँको मृतकलाई मार्नुपर्ने मनसाय थिएन भन्‍न मिलेन । तसर्थ: यी पुनरावेदकको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१६. प्रतिवादी बाहुर भन्‍ने साकिर खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई मार्नुपर्ने मनसाय नरहेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनुपर्ने जिकिर लिएको देखिन्छ । 

१७. निजले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा औसान खाँ, काफिया खाँ, केशरजहाँ खाँ, अलमान खाँ मेरो गाउँकै हुन, गुड्‍डु खाँ पनि झल्ला भन्‍ने औसान खाँको घरमा डेरा कोठा लिई बस्ने हुँदा निजसँग समेत मेरो चिनजान परिचय रहेको थियो, निज गुड्‍डु खाँसँग मृतक चाँदबाबु खाँ पनि आउने जाने गर्ने हुँदा निजको गाउँकै काफिया खाँसँग चिनजान भई प्रेम सम्बन्ध रहन गएको रहेछ । गुड्‍डु खाँ र केशरजहाँ खाँबिच पनि प्रेम सम्बन्ध रहेको रहेछ । पछि मृतक चाँदबाबु खाँले काफिया खाँ र केशरजहाँ खाँलाई ब्ल्याकमेल गरी विभिन्‍न डरत्रास देखाई पैसा माग गर्ने र पैसा नदिएमा घर व्यवहार बिगार्ने भनी धम्की दिने, बारम्बार सताउने गर्न थालेकाले सो कुरा काफिया खाँ, केशरजहाँ खाँ र गुड्‍डु खाँले मसमेतलाई बताएपश्चात् हामी म, केशरजहाँ खाँ, काफिया खाँ, औसान खाँ, अलमान खाँसमेत काफिया खाँको घरमा बसी चाँदबाबु खाँलाई मार्ने योजना बनाई मिति २०६९।११।१० गते हामी सबैजना काफिया खाँको घरमा जम्मा भई सबैले सल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँले चाँदबाबु खाँसँग कुरा गरी चाँदबाबु खाँलाई गाउँमा बोलाएपश्चात् रातको अं.९:३० बजेको समयमा म, गुड्‍डु खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी काफिया खाँलाई चाँदबाबु खाँसँग कुरा गर्न लगाई निजहरू आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ गई निज चाँदबाबु खाँको गर्दन र टाउकाको भागमा हँसिया प्रहार गरेपश्चात् म, गुड्‍डु खाँ र औसान खाँसमेत उक्त ठाँउमा गई निजलाई घेरा हाली चाँदबाबु खाँलाई हलचल गर्न नदिई, हातखुट्टा समाती गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबु कै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडी दिएका हुन् । तत्पश्चात् हामी आ-आफ्नो घरमा गएका हौं भनी बयान गरेको देखिन्छ । निजले आफन्त पर्ने केशरजहाँ खाँ र काफिया खाँलाई मृतकले ब्ल्याकमेल गरी पैसा माग्ने गरेकोले योजना बनाई मारेका हौं भनेको देखिँदा मार्नुपर्नेसम्मको कारण स्पष्ट हुन आएको देखिन्छ ।

१८. यी प्रतिवादीले अदालतमा आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको भए तापनि निजको मौकाको बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन नमिल्ने आधार र कारण मिसिल प्रमाणबाट देखिन आएको छैन । निजको सो मौकाको बयान व्यहोरा, शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, सहप्रतिवादीहरूको अनुसन्धान अधिकृतसमक्ष भएको बयान बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन कल डिटेल्ससमेतका प्रमाणहरूबाट समर्थित भई पुष्टि हुन आएको देखिन्छ ।

१९. उपरोक्त आधारमा हेर्दा यी प्रतिवादी बहुर भन्‍ने साकिर खाँ अन्य प्रतिवादी गुड्‍डु खाँसमेतसँग मृतक चाँदबाबुलाई मार्ने मतसल्लाहमा बसी वारदातस्थलमा गई मृतकलाई घेरा हाली मृतकको हात समाती मार्नमा संयोग मिलाई दिई प्रतिवादी गुड्‍डु खाँले हँसियाले मृतकको घाँटी रेटी टाउको छिनाली मारेको र सो टाउको बोकी लिई गई खाल्डोमा गाड्नेसम्मको मतसल्लाहमा पसी संलग्‍न रहेको भन्‍ने मिसिल प्रमाणहरूबाट स्थापित हुन आएको देखिँदा यी प्रतिवादी बहुर भन्‍ने साकिर खाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३(४) बमोजिमको कसूरमा ऐ.१३(४) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला निजको हकमा मिलेकै देखिन आयो । अत: मार्ने कार्यमा नै संलग्‍न हुने यी प्रतिवादी बहुर भन्‍ने साकिर खाँको मृतकलाई मार्नुपर्ने मनसाय थिएन भन्‍न मिलेन । तसर्थ यी पुनरावेदकको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२०. प्रतिवादी केशरजहाँ खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई नचिनेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, जाहेरीमा उल्लिखित म र प्रतिवादीमध्येका गुड्‍डु खाँबिचको प्रेम सम्बन्ध र सोले उत्पन्‍न रिसइबीसमेत झुट्टा कथन रहेको जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनुपर्ने जिकिर लिएको देखिन्छ । 

२१. निजले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा मेरो श्रीमान् विदेशमा रहेकाले गाउँकै झल्ला भन्‍ने औसान खाँको घरमा बस्ने गुड्‍डु खाँसँग मेरो चिनजान परिचय भई निजसँग मायाप्रेम बस्दै गएपश्चात् निजले मसँग बिहे गरौं भन्‍ने गर्दथे । मृतक निजको साथी भएकाले निज पनि कहिलेकाँही गाउँमा आउने हुँदा मृतक चाँदबाबु खाँ र काफिया खाँको परिचय भई निजहरूको पनि मायाप्रेम सम्बन्ध रहेको थियो, पछि मृतकले गुड्‍डु खाँबाट मेरो मोबाइल नं. लिई मलाई फोन गरी डरत्रास देखाई मलाई पैसा दे नत्र तेरो श्रीमान्‌लाई तेरो र गुड्‍डुको सम्बन्धको बारेमा भनी तेरो घरबार बिगारीदिन्छु भनी धम्की दिएकाले मैले सो कुरा गुड्‍डु खाँसँग गरेकी थिए । निजले काफिया खाँसमेतसँग फोन गरी पैसा माग्ने नदिएमा आफूहरूको सम्बन्धका बारेमा काफिया खाँको श्रीमान्‌लाई भनी दिने भन्‍ने कुरा काफिया खाँले मसँग भनेको हुँदा उक्त कुरा हामीले गाउँकै अलमान खाँ, साकिर खाँ र औसान खाँसमेतलाई भनेपश्चात् हामी सबैले चाँदबाबु खाँलाई मार्ने योजना बनाई मिति २०६९।११।१० गते सबैजना काफिया खाँको घरमा बसी सरसल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई काफिया खाँसँग कुरा गर्न लगाई चाँदबाबु खाँलाई वारदात स्थानमा भेट गर्न बोलाएपश्चात् रातको अं.९:३० बजेको समयमा म, गुड्‍डु खाँ, औसान खाँ, अलमान र साकिर खाँ रूखको फेदमा लुकी बसी काफिया खाँलाई चाँदबाबु खाँसँग भेट गर्न लगाई निजहरू दुवैजना खेतको आलीमा बसी कुरा गरिरहेको अवस्थामा अलमान खाँले हँसिया लिई लुकी पछाडिबाट गई चाँदबाबु खाँलाई गर्दन र टाउकोमा प्रहार गरेपश्चात् निज भुईँमा लड्न गएपछि गुड्‍डु खाँ, साकिर खाँ र औसान खाँ गई निजलाई घेरा हाली हलचल गर्न नदिएपछि अलमान खाँको हातमा रहेको हँसिया गुड्‍डु खाँले लिई घाँटीबाट टाउको छुट्‍याएका हुन्, सो बखत म र काफिया खाँ नजिकै उभिएका थियौं भनी बयान गरेको देखिन्छ । ब्ल्याकमेल गरी पैसा माग्ने गरेकोले योजना बनाई मारेका हौं भनेको देखिँदा मार्नुपर्नेसम्मको कारण स्पष्ट हुन आएको देखिन्छ ।

२२. यी प्रतिवादी केशरजहाँ खाँले अदालतमा आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको भए तापनि निजको मौकाको बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन नमिल्ने आधार र कारण मिसिल प्रमाणबाट देखिन आएको छैन । निजको सो मौकाको बयान व्यहोरा शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, सहप्रतिवादीहरूको अनुसन्धान अधिकृतसमक्ष भएको बयान, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन कल डिटेल्ससमेतका प्रमाणहरूबाट समर्थित भई पुष्टि हुन आएको देखिन्छ । उपरोक्त आधारमा हेर्दा, यी प्रतिवादी केशरजहाँ खाँलाई मृतकले गुड्‍डु खाँसँगको नाजायज सम्बन्धलाई लिएर ब्ल्याकमेल गरी पैसा माग्ने गरेको हुँदा प्रतिवादी गुड्‍डु खाँसमेतसँग मृतक चाँदबाबुलाई मार्ने मतसल्लाहमा पसी योजना बनाई मार्नमा वचन दिई वारदातस्थलमा गई सहयोग पुर्‍याएको भन्‍ने देखिन आएको र आरोपित आपराधिक कार्यको जरिया प्रतिवादी केशरजहाँ खाँ र गुड्‍डु खाँबिच रहेको नाजायज सम्बन्ध भन्‍ने नै देखिन आएकोले मृतकलाई समाउने, काट्ने, मार्ने कार्य नगरेको भएपनि मार्नमा वचन दिएको स्थापित हुन आएकोले निज प्रतिवादी केशरजहाँ खाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३(४) बमोजिमको कसूरमा ऐ.१३(४) बमोजिम जन्मकैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला मिलेकै देखिन आएकोले यी पुनरावेदक प्रतिवादी केशरजहाँ खाँको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२३. प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँको पुनरावेदन जिकिर हेर्दा, मृतकलाई नचिनेको, अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको, जाहेरीमा उल्लिखित म र मृतक चाँदबाबु खाँबिचको प्रेम सम्बन्ध र सोले उत्पन्‍न रिसइबीसमेत झुट्टा कथन रहेको, जाहेरवाला अदालतमा अनुपस्थित रहेकोसमेत आधारमा आरोपित कसूरबाट सफाइ पाउनु पर्ने जिकिर लिएको देखिन्छ । 

२४. यी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मेरो श्रीमान्‌ ४।५ वर्ष पहिला देखि विदेशमा रहेको हुँदा ७/८ महिना पहिला मेरो गाउँकै झल्ला खाँको घरमा डेरा कोठा गरी बस्ने गुड्‍डु खाँसँग आउने चाँदबाबु खाँसँग परिचय भई निजसँग मेरो सम्बन्ध मायाप्रेम रही हामीबिच नाजायज सम्बन्धसमेत रहेको थियो । पछि निज चाँदबाबु खाँले मलाई विभिन्‍न धम्की दिई मलाई पैसा देउ नत्र तिम्रो घरबार बिगारी दिन्छु, तिम्रो श्रीमान्‌लाई भनी दिन्छु भन्‍ने गर्दथे । गुड्‍डु खाँ र केशरजहाँ खाँको पनि सम्बन्ध रहेकाले चाँदबाबु खाँले केशरजहाँ खाँसमेतलाई फोन गरी डरत्रास धम्की दिई पैसा माग्ने र पैसा नदिएमा तिमी र गुड्‍डु खाँको सम्बन्ध बारेमा तिम्रो श्रीमान्‌लाई भनी दिन्छु भन्‍ने गरेको हुँदा सो कुरा केशरजहाँ खाँले गुड्‍डु खाँ र निजको आफन्त अलमान खाँ, साकिर खाँ र औसान खाँसमेतलाई बताएकी रहिछन् । तत्पश्चात निजहरू सबैजनाले चाँदबाबु खाँलाई ठीक पार्नुपर्छ भनी रहेका हुँदा मैले उक्त कुरा थाहा जानकारी पाई मैले पनि निजहरूलाई चाँदबाबु खाँले आफूलाई पनि ब्ल्याकमेल गर्ने गरेको कुरा बताएपछि मिति २०६९।११।१० गते म, गुड्‍डु खाँ, अलमान खाँ, औसान खाँ, साकिर खाँ र केशरजहाँ खाँ मेरो घरमा जम्मा भई सबैले सरसल्लाह गरी गुड्‍डु खाँले आफ्नो मोबाइलबाट चाँदबाबु खाँलाई फोन लगाई मलाई कुरा गर्न दिएपश्चात् मैले निज चाँदबाबु खाँसँग कुरा गरी मलाई भेट गर्न आउ भनी वारदात स्थानमा बोलाएकी हुँ । निजले आउँछु भनेपछि, रातको अं.९:३० बजेको समयमा गुड्‍डु खाँ, औसान खाँ, साकिर खाँ, केशरजहाँ खाँ पहिले नै खेतबारीमा गई लुकीबसी नदेखिने ठाउँमा बसेकोमा चाँदबाबु खाँ उक्त स्थानमा आएपछि म र निज चाँदबाबु खाँ आलीमा बसी कुराकानी गफगाफ गर्न लाग्दा पछाडिबाट चिन्की भन्‍ने अलमान खाँ आई निज चाँदबाबु खाँको गर्दन र टाउकोको भागमा हँसिया प्रहार गरिसकेपछि गुड्‍डु खाँ, औसान खाँ र साकिर खाँसमेत उक्त ठाँउमा आई निजहरूले घेरा हाली, चाँदबाबु खाँलाई हलचल गर्न नदिई हातखुट्टा समाती गुड्‍डु खाँले अलमान खाँको हातबाट हँसिया लिई चाँदबाबु खाँको घाँटी रेटी टाउको छुट्‍याएका हुन, म र केशरजहाँ खाँ नजिकै उभिएका थियौ, टाउको छुट्‍याएपछि हामी सबैले सल्लाह गरी टाउको निज चाँदबाबुकै स्वेटर र ट्राउजरले बेरी अलमान खाँ र गुड्‍डु खाँले पालैपालो बोकी लिई सोदेखि उत्तरतर्फ खेतबारीमा पानी भएको ठाँउमा गाडी दिएका हुन, तत्पश्चात्‌ हामी सबैजना आ-आफ्नो घरमा गएका हौं भनी बयान गरेको देखिन्छ ।

२५. यी प्रतिवादीले अदालतमा आरोपित कसूरमा पूर्ण रूपमा इन्कार रही बयान गरेको भए तापनि निजको मौकाको बयान व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन नमिल्ने आधार र कारण मिसिल प्रमाणबाट देखिन आएको छैन । निजको सो मौकाको बयान व्यहोरा, शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, सहप्रतिवादीहरूको अनुसन्धान अधिकृतसमक्ष भएको बयान, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, कल डिटेल्ससमेतका प्रमाणहरूबाट समर्थित भई पुष्टि हुनुको साथै वारदातस्थलमा संलग्‍न हुँदा यी प्रतिवादीले लगाएको कुर्ता सुरूवाल बरामद भई परीक्षण हुँदा सुरूवालमा मानव रगत पाइएको भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको मिति २०७०।१।२६ को परीक्षण प्रतिवेदनसमेतबाट देखिन आई वारदातमा यी प्रतिवादीको संलग्‍नता पुष्टि हुन आएको देखिन्छ ।

२६. उपरोक्त आधार प्रमाणहरूका आधारमा हेर्दा, मृतक र यी प्रतिवादीका बिच सम्बन्ध रहेको, सो सम्बन्ध प्रकाश गरी घरबार बिगारी दिन्छुसमेत भनी मृतकले यी प्रतिवादीलाई धम्कीसमेत दिई ब्ल्याकमेल गरी रूपैयाँ माग्ने गरेकोसमेत कारणबाट यी प्रतिवादीले आफ्नो आफन्तसमेत रहेका अन्य प्रतिवादी औसान खाँसमेतसँग भनी यिनै प्रतिवादीसमेत भई प्रतिवादीहरूले यिनै प्रतिवादीको घरमा बसी मृतकलाई मार्ने योजना बनाई मतसल्लाहमा पसी मार्नमा वचन दिई प्रतिवादी गुड्‍डु खाँको मोबाइलबाट मृतकलाई वारदातस्थलमा बोलाई मार्नमा संयोग मिलाई दिएको भन्‍ने अवस्था देखिन आएको हुँदा यी प्रतिवादीले मृतकलाई समाउने, काट्ने, मार्नेसमेतको कार्यमा स्वयं संलग्‍न रहेको भन्‍ने नदेखिए तापनि मार्नमा वचन दिई संयोग मिलाई दिएको र आरोपित आपराधिक कार्यको जरिया यी प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँ रहेको तथ्‍य स्थापित हुन आएको हुँदा यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १,१३(४) बमोजिमको कसूरमा ऐ,१३(४) नं. बमोजिम जन्म कैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला निजको हकमा मिलेकै देखिन आयो । तसर्थ पुनरावेदक प्रतिवादी मोटी / पुशु भन्‍ने काफिया खाँको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२७. अब प्रस्तुत वारदातमा जाहेरवाला अदालतमा उपस्थित नभएको भनी यी प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, जाहेरवाला स्वयं पीडित वा प्रत्यक्षदर्शी होइन, आफ्नो आफन्‍तको निर्मम हत्याबारे थाहा पाएसम्मको जानकारी दिने व्यक्ति हुन् । यस अदालतबाट अलिमुल्लाह मुसलमान विरूद्ध नेपाल सरकार रहेको (ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५०) कर्तव्य ज्यान मुद्दामा "जाहेरी दरखास्त आफैँमा प्रमाण हुने वा नहुने भन्‍ने नभई यो कसूरका बारेमा सूचना दिने माध्यम हो । अपराधको बारेमा सूचना दिनुलाई First Information Report (FIR) पनि भन्‍ने गरेको पाइन्छ । जाहेरी परेपछि घटना वा आपराधिक कार्यको विस्तृत अनुसन्धान हुने गर्दछ । अनुसन्धानबाट सङ्कलित प्रमाण कागजले जाहेरी व्यहोरालाई समर्थन गर्छ वा गर्दैन भन्‍ने मुख्य विषय रहेको हुन्छ । घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी व्यहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रामाणिक मूल्य प्राप्त गर्दछ" भन्‍ने प्रतिपादित सिद्धान्तबाट जाहेरी दरखास्तले आँफैमा स्वतन्त्र प्रमाणको रूप ग्रहण नगर्ने र जाहेरवालाको जाहेरी व्यहोरा अन्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएमा सो जाहेरीलाई अन्यथा भन्‍न नमिल्ने भन्‍ने देखियो । प्रस्तुत वारदात घटाउनुमा यी प्रतिवादीहरूको सुनियोजित योजना, मनसाय, अपराधमा संलग्नता तथा निर्मम र अमानवीय तवरले मृतकको घाँटी रेटी हत्या गरेको देखिन आयो ।

२८. प्रस्तुत वारदातमा प्रत्यक्षदर्शीको अभाव रहेको भन्‍नेसमेत पुनरावेदकहरूको जिकिर रहेको पाइन्छ । प्रत्यक्षदर्शी नभए पनि अन्य प्रमाणको आधारबाट कसूरदार देखिएमा प्रत्यक्षदर्शी नरहेको आधारमा निर्दोष रहेको अर्थ गर्न मिल्दैन । प्रस्तुत मुद्दामा प्रतिवादीहरूको मौकाको बयान एवम् ती बयानले औंल्याएका स्थानबाट दशी नै बरामद भएको छ । सङ्कलित प्रमाणले कसूर स्थापित गर्छ भने प्रत्यक्षदर्शी छैन भनेकै भरमा प्रतिवादीहरूलाई उन्मुक्ति दिन मिल्दैन । प्रत्यक्ष प्रमाणको अभावमा सङ्कलित प्रमाणहरू मालाकार कडीको कसीमा राखी हेर्नुपर्ने हुन्छ । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कसूरमा साबित भई बयान गरेको पाइन्छ । अपराध गर्दा अपनाइएको तरिका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्ण सचेत रही नियोजित र सङ्गठित रूपमा आफ्नो कार्ययोजनालाई पूर्णता दिएको देखिन्छ । कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक वस्तुनिष्‍ठ एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनुपर्ने हुन्छ । वारदातस्थलबाट बरामद भएको हँसिया, प्रतिवादीहरूले खुलाएको ठाउँबाटै बरामद भएको मृतकको टाउको, लास जाँच प्रकृति मुचुल्कामा उल्लेख भएको व्यहोरा, शव परीक्षण प्रतिवेदन, कल डिटेल्ससमेतका मिसिल संलग्‍न आधार प्रमाणबाट यी प्रतिवादीहरूले नै उक्त घटना घटाएको देखियो ।

२९. अत: उपरोक्तबमोजिमको तथ्यको विश्लेषण, कारण र प्रमाणको आधारमा प्रतिवादीमध्येका गुड्‍डु खाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(१) बमोजिमको कसूर गरेकोले सोही १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने 

ठहर्छ । साथै केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(क) मा कुनै कसूरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएकोभन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्‍ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ.को दफा १७७ (२) मा ज्यान मर्ने कसूर गर्ने, गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहे भएको देखिएकोले प्रस्तुत मुद्दामा पनि यी प्रतिवादीमध्येका गुड्‍डु खाँलाई सर्वस्व नहुने भई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । तथा अन्य प्रतिवादीहरू चिन्की भन्‍ने अलमान खाँ, झल्ला भन्‍ने औसान खाँ, बाहुर भन्‍ने साकिर खाँ, मोटी / पुशु भन्‍ने काफिया खाँ र केशरजहाँ खाँले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत ऐ.१३(४) नं. बमोजिमको कसूर गरेकोले सोही १३(४) नं. बमोजिम निजहरूलाई जन्मकैद सजाय हुने भनी सुरू बाँके जिल्ला अदालतबाट मिति २०७१।११।१३ मा भएको फैसला सदर हुने ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको मिति २०७३।१२।१३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा रहेको व्यवस्थाबमोजिम प्रतिवादी गुड्‍डु खाँलाई जन्मकैद मात्र हुने र अन्य प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत ऐ.१३(४) नं. बमोजिमको कसूर गरेकोले सोही १३(४) नं. बमोजिम निजहरूलाई जन्मकैद सजाय हुने ठहर भएकाले सोहीबमोजिम लगत कस्नू भनी सुरू बाँके जिल्ला अदालतमा लेखी पठाउनू........................१

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी गुड्‍डु खाँलाई जन्मकैद मात्र हुने ठहर भएकाले निज प्रतिवादीको चल अचल सम्पत्ति रोक्‍का राखेको भए तत्काल फुकुवा गरी सोको जानकारी निज प्रतिवादी र निजका हकवालालाई दिनू.................................१

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू...........................................१

सरोकारवालाले फैसलाको नक्कल माग्न आएमा नियमानुसार गरी नक्‍कल दिनू............................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू..............................१

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृत:- सोनी श्रेष्‍ठ

इति संवत् २०७७ साल असार १० गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु