निर्णय नं. १०५४६ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।४।२१
०७५-CR-२३१७
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : दुर्गा मण्डलको छोरा मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, मोरङ, विराटनगरमा थुनामा रहेका वर्ष १९ का सुरज मण्डल
विरूद्ध
प्रत्यर्थी / वादी : गणेश ढकालको जाहेरीले नेपाल सरकार
आवेश प्रेरित कार्य र त्यसको प्रतिक्रिया (reaction) को बिचमा यदि आवेश शान्त हुने समय (cooling off period) हुन्छ भने उक्त समय, मनसाय तत्त्वको सिर्जना (creation of intention) हुन प्रर्याप्त हुने भएकोले त्यस्तो कार्यलाई आवेश प्रेरित भन्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६६, अङ्क ६, नि.नं.८१६७, पृ.९४०
ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८३६, पृ.८६५
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री फणिन्द्रप्रसाद पराजुली
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल
माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल
उच्च अदालत विराटनगर
फैसला
न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
तथ्य खण्ड
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्वमा नहर पश्चिममा गोकुल टोल, उत्तरमा एयरपोर्ट र दक्षिणमा बखुटोल यति चार किल्लाबिचमा रहेको गोकुल टोलको ग्राबेल सडकको उत्तरपट्टि रगत जस्तो पदार्थ जमेको, झारहरू मडारिएको, सो स्थानमा इँटा रहेको, सो इँटामा रगत जस्तो रातो पदार्थ लागेको, सोही स्थानमा विपिन ढकाललाई सुरज मण्डल, छोटु दास, रोशन कटुवालसमेतका मानिसहरूले इँटा प्रहार गरी घाइते बनाएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
मिति २०७३।७।१४ गते राति जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ५ बस्ने विपिन ढकाललाई सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्ने सुरेश कट्वाल र छोटु भन्ने परमेश्वर दाससमेतका मानिसहरूले विराटनगर-५ स्थित गोकुल टोलमा कुटपिट गरी शक्त घाइते बनाई फरार रहेका हुँदा निजहरूलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकोले निजहरूको सम्बन्धित घर, वतनमा खटी गई खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा दाखिला गराउने भनी हामी प्रतिवेदक प्रहरी कर्मचारीहरूलाई मौखिक आदेश भएको हुँदा निजहरूको खोजतलास गर्दा निजहरूमध्ये सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्ने सुरेश कटवाललाई फेला पारी पक्राउ गरी यसै प्रतिवेदन साथ दाखिला गरेका छौं कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्र.स.नि. जिवनाथ आचार्यसमेतको प्रतिवेदन ।
म जाहेरवालाको छोरा वर्ष ३३ को विपिन ढकाल मिति २०७३।७।१४ गते राति लक्ष्मीपूजाको दिन अन्दाजी ८:०० बजेतिर रमाइलो हेर्न जान्छु भनी घरबाट गएका र हामी घरका अन्य सदस्यहरू घरमा नै व्यस्त भएका थियौँ । यस्तैमा राति २२:०० बजेतिर मेरो छोरा विपिन ढकाललाई सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्ने सुरेश कटवाल र छोटु भन्ने परमेश्वर दाससमेतका मानिसहरूले कुटपिट गरी टाउकोमा इँटा प्रहार गरी शक्त घाइते बनाई भुईँमा लडाएको अवस्थामा घटनास्थल नजिकै बस्ने विशाल रानाभाटले देखी घटनाको बारेमा जानकारी गराएपश्चात् मेरी श्रीमती मनिता ढकाल घटनास्थलमा गई रगताम्मे अवस्थामा गम्भीर घाइते भई लडिरहेको अवस्थामा छोरालाई देखी निज विशाल रानाभाटसमेतका मानिसहरूले उपचारको लागि नोबेल अस्पताल विराटनगरमा लगी उपचार गराउँदा उपचार हुन नसकी न्युरो अस्पताल, विराटनगर रिफर गरी दिएको हुँदा तत्काल उपचारको लागि न्युरो अस्पताल लाँदा उक्त अस्पतालमा समेत उपचार हुन नसकी थप उपचारको लागि भारतको सिलिगुढी स्थित पारामाउन्ट अस्पतालमा लगी भर्ना गराई अस्पतालको सघन कक्षमा उपचार भइरहेकोमा मिति २०७३।७।१६ गते राति सोही अस्पतालमा छोराको मृत्यु भएको हुँदा लासलाई उक्त अस्पतालबाट ल्याई विराटनगर स्थित कोशी अञ्चल अस्पतालको शवगृहमा सुरक्षित राखी यो जाहेरी दिन आएको
छु । मेरो छोरालाई सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्ने सुरेश कट्वाल र छोटु भन्ने परमेश्वर दाससमेतका मानिसहरूले कुटपिट गरी इँटासमेतले प्रहार गरेको र सोही चोटका कारण मेरो छोराको मृत्यु भएको हुँदा मेरो छोरालाई कर्तव्य गरी मार्ने अपराधी व्यक्तिहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाऊँ भन्नेसमेत व्यहोराको गणेश ढकालको जाहेरी दरखास्त ।
कपाल रगतले भिजेको, आँखा दुवै बन्द, बाँया कानको लोती चुडिएको, मुख बन्द, दाँया कानमाथि टाउकोमा चोट भई ७ वटा टाँका लागेको बाँया कानको लोती चिरिएको सो कानमाथि कञ्चटको भागमा चोट लागी ५ वटा टाँका लागेको सो भाग छाम्दा फुटी गिलो रहेको, नाइटोदेखि घाँटीको भागसम्म अप्रेशन भई चिरिएको घाउ २० वटा टाँका लागेको भन्नेसमेत व्यहोराको मृतक विपिन ढकालको लास जाँच
मुचुल्का ।
मिति २०७३।७।१४ गते साझा अन्दाजी ९ बजेतिर मेरो साथी छोटु भन्ने परमेश्वर दाससँग कञ्चनबारी चोकमा भेट भई रक्सी खाने सल्लाह गरी म र मेरो साथी जाँदै गर्दा पूर्वचिनजानका रोशन भन्ने सुरेश कट्वालासँग बाटोको नहरमा भेटेपछि निजले कहाँ हिँडेको भन्दा म र मेरो साथी छोटुले दिपावलीको रमाइलो मनाउन हिँडेका हौं भनेपछि त्यस्तो भए म पनि जान्छु भनेकाले म, छोटु र रोशन भन्ने सुरेश कट्वाल महेन्द्र उरावको घरमा गई मैले लोकल रक्सी एक बोतल मागी तीनै जनाको गिलासमा हाली खाँदै गर्दाको अवस्थामा विराटनगर-५ बस्ने सिनियर दाइ पूर्वचिनजानका विपिन ढकाल आए र केहि छिनपछि भिमबहादुर मगर सोही घरमा आउनुभयो र निज दाइहरूले मसमेतलाई दिपावलीको शुभकामना भनी हात मिलाई आज रमाइलो गर्नुपर्छ भनी भिम मगरले पुन: एक बोतल रक्सी मागी सबैलाई गिलासमा बराबरी लगाई चेस गरी खान थाल्यौँ सोही बखत छोटु भन्ने परमेश्वर दास र मैले बिदापछि कामको बारेमा सरसल्लाह गर्दै गर्दा विपिन ढकालले बिना कारण निहुँ खोजी मलाई निजले एक मुक्का हान्नुभयो । मैले दाइ तपाईंले यो के गर्नुभयो, किन कुट्नुभयो भनी मेरो अनुहार छाम्दा नाकबाट रगत बगेकोले मैले ठुलो-ठुलो स्वरले कराउन थालेपछि घरवाली आन्टीले तिमीहरूको झगडा गर्ने ठाउँ यो होइन, खुरूक्क यहाँबाट गइहाल भनेपछि मसमेत छोटु, रोशन, विपिन, भिम सो पसलबाट बाहिर बाटोमा निस्कियौं, बाहिर निस्केपछि मलाई विपिन ढकालले किन कुट्यो भनी रिस उठी रिस सहन नसकी निजको कठालोमा समाई भिम र रोशन कट्वालले झगडा नगर्नु भन्दै छुट्याउन खोज्दा मैले र छोटुले भिम र रोशनलाई तिमीहरू जाओ भनेपछि भिम आफ्नो घरतर्फ गयो र रोशन भन्ने सुरेश कट्वाल कता गयो थाहा भएन । त्यसपछि मैले र छोटुले विपिनलाई लात्ती तथा मुक्कासमेतले कुटपिट गर्दै गर्दा छोटुले विपिनको पेटमा जोडले लात्ताले हान्दा विपिन तल नालीमा खस्यो सोहि समयमा मलाई अत्याधिक रिस उठेको कारण नवनिर्मित घर अगाडि भेटेको इँटाले अन्दाधुन्दा हान्दा निजको टाउकोमा लागी मरे है भनी करायो । त्यसपछि मान्छे मर्यो है भन्दै म कराउँदै भागे र छोटु पूर्वतर्फ भागी गयो । त्यसपछि के भयो मलाई थाहा भएन । पछि घटनाको बारेमा वरपरका छरछिमेकले थाहा पाई निज विपिन ढकालको आमालाई खबर गरी घटनास्थलबाट उठाई उपचारको लागी नोबेल, न्युरो हुँदै भारतको सिलगढी लाँदा निजको मृत्यु भएको हो भनी हाल थाहा पाएको
हुँ । निज विपिन ढकाललाई मैले तथा साथी छोटुसमेतले रक्सी सेवन गरेको अवस्थामा निजले हातपात गरेको कारण रिस आवेगमा आई कुटपिट गर्दा निज घाइते भई उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुरज मण्डलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७३।७।१४ गते साँझ अन्दाजी ९ बजेतिर म आफ्नो घरबाट निस्की चुरोट खान भनी जाँदै गर्दा नहर छेउमा रहेको एउटा पसलमा पुग्दा सो पसलमा मेरा चिनजानका साथीहरू छोटु भन्ने परमेश्वर दास, सुरज मण्डल बसिरहेका थिए । म पनि उक्त स्थानमा पुगेपछि दिपावलीको अवसरमा रमाइलो गर्नुपर्छ भनी हामी तीनैजनाको सल्लाहअनुसार रक्सी खान जाने भनी तीनैजना महेन्द्र उरावको घरमा गई साथी सुरज मण्डलले एक बोतल लोकल रक्सी माग्यो र सो रक्सी तिनैजनाले गिलासमा हाली खाँदै गर्दाको अवस्थामा विपिन ढकाल भन्ने मानिस आई साथीहरू छोटु र सुरजसँग दिपावलीको शुभकामना भनी हात मिलाई सोही स्थानमा बसे तर मेरो निजसँग खासै चिनजान नभएको हुँदा मसँग बोलचाल भएन । त्यसको केहिछिनपछि साथी भिम मगर आई अब सबैजना भई रमाइलो गर्नुपर्छ भन्दै एक बोतल लोकल रक्सी मागी म, भिम मगर, सुरज मण्डल, छोटु भन्ने परमेश्वर दास र विपिन ढकालसमेत पाँचैजना भई सबैका गिलासमा बराबरी लगाई चेस गरी खान थाल्यौ, खाने क्रममा निज विपिन ढकाल र सुरज मण्डलको के कुन विषयमा विवाद भई विपिन ढकालले सुरज मण्डललाई एक मुक्का हान्दा सुरजको नाकबाट रगत बग्न थाल्यो त्यसपछि पसलवाली आन्टीले तिमीहरूको झगडा गर्ने ठाउँ यो होइन खुरूक्क यहाँबाट गइहाल भनेपछि हामी सबैजना बाहिर निस्कियौँ, बाहिर निस्केपछि सुरज र छोटुले विपिन ढकाललाई कठालोमा समाई पसलको पूर्वतिर बाटोमा लगेर कुटपिट गर्न थालेपछि म र भिम छुट्याउन भनी जाँदा सुरजले तिमीहरू नआउ भनेपछि मैले भिमलाई फेरि एकपटक गएर सम्झाउन, तिमीले भनेको मान्छ भन्दा जेसुकै गरून् खोई मैले भनेको त हो मानेनन् भनेपछि भिम र म घर जान भनी आ-आफ्नो बाटो लाग्यौं । म घरतर्फ जाँदै गर्दा सुरज मण्डल हतारहतार आई मर्यो मर्यो भन्दा मैले के भयो, के गरिस् भनी सोध्दा मैले विपिन ढकाललाई इँटाले टाउकोमा हान्दा मर्यो भन्दै निज सुरज मण्डल
भाग्यो । त्यसपछि म के भएछ भनी उक्त स्थानमा गई हेर्दा विपिन ढकालको टाउकोबाट रगत बगिरहेको र भुईँमा लडिरहेको देखी मलाई डर लागी आफ्नो घरतर्फ लागे, अन्य साथीहरू को कहाँ गए थाहा
भएन । पछि विपिन ढकालको घर परिवारमा को कसले खबर गरी निजलाई घटनास्थलबाट उठाई उपचारको लागि नोबेल, न्युरो हुँदै भारतको सिलगढी लाँदा निजको मृत्यु भएको हो भनी थाहा पाएको हुँ । निज विपिन ढकाललाई सुरज मण्डल र छोटुसमेतले रक्सी सेवन गरेको अवस्थामा निजले हातपात गरेको कारण रिस आवेगमा आई कठालोमा समाई पसलको पूर्वतिर बाटोमा लगेको हुँदा निजहरूले नै कुटपिट गर्दा निज घाइते भई उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रोशन भन्ने सुरेश कटुवालको अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७३।७।१४ गते दिउसो अन्दाजी ३ बजेतिर म आफ्नो घरबाट निस्की तिहारको समय भएको हुँदा गाउँघरमा साथीहरूसँग दिनभरि घुमफिर गरी साँझ अन्दाजी ७ बजेतिर विराटनगर-५ एयरपोर्ट जाने बाटोमा रहेको महेन्द्र उरावको श्रीमतीले सञ्चालन गरेको पसलमा गई आदी बोतल लोकल रक्सी मागी खाएँ । म त्यसपछि विराटनगर-५ स्थितमा रहेको गाउँको दाइ नाता पर्ने अर्जुन थापा मगरको घरमा गई केही समय बसी गफगाफ गरेपछि अब घर जानुपर्यो भनी त्यहाँबाट हिँडी घुम्दै जाने क्रममा अन्दाजी ०९:३० बजेतिर घर जाने बाटोमा रहेको महेन्द्र उरावको घर छेउमा पुग्दा साथी छोटु भन्ने परमेश्वर दासले भिम यता आउ त भनी बोलाएपछि म उक्त स्थानमा जाँदा सो स्थानमा मेरा चिनजानका साथीहरू रोशन भन्ने सुरेश कटुवाल, सुरज मण्डल, विपिन ढकाल र छोटुसमेत बसी रक्सी खाई रमाइलो गर्दै रहेछन् । मसमेत त्यहाँ गएपछि पाँचैजना भई तिहारको रमाइलो गरौँ भनी मैले पनि एक बोतल लोकल रक्सी मागी पाँचैजनाको गिलासमा बराबरी हाली चेस गरी खान थाल्यौँ, खाने क्रममा सुरज मण्डल र विपिन ढकालको के कुन विषयमा विवाद भई भनाभन भएपछि विपिन ढकालले सुरज मण्डललाई एक मुक्का हान्दा सुरजको नाकबाट रगत बग्न थाल्यो त्यसपछि पसलवाली आन्टीले तिमीहरूको झगडा गर्ने ठाउँ यो होइन खुरूक्क यहाँबाट गइहाल भनेपछि हामी सबैजना बाहिर निस्कियौ बाहिर निस्केपछि सुरज र छोटुले विपिन ढाकाललाई कठालोमा समाई पसलको पूर्वतिर बाटोमा लगेपछि म र रोशन भन्ने सुरेश कटुवाल तिमीहरू झगडा नगर भनी छुट्याउन जाँदा सुरज मण्डलले मलाइसमेत एक लात्ता हानेपछि म पनि जेसुकै गरून् भनी आफ्नो बाटो लागेँ । रोशन भन्ने सुरेश कटुवाल पनि के कता गए मलाई थाहा
भएन । म त्यसपछि घर जाँदै गर्दा सुरज मण्डल भन्ने मान्छे मर्यो मान्छे मर्यो भन्दै भाग्दै गरेको देखी निज सुरज मण्डल र छोटु भन्ने परमेश्वर दास विपिन ढकालसँग झगडा गर्दै थिए । निजहरूले विपिन ढकाललाई मारे होलान् भनी सोची के भएछ भनी हेर्न जाँदा विपिन ढकाल सो स्थानमा बेहोस् अवस्थामा लडिरहेको थिए र उक्त स्थानमा अन्य गाउँका मानिसहरूसमेत भेला जम्मा भइसकेका हुँदा म आफ्नो घरतर्फ लागेँ । अन्य सुरज मण्डल, छोटु भन्ने परमेश्वर दास र रोशन भन्ने सुरेश कटुवाल पनि के कता गए मैले देखिन, पछि को कसले विपिन ढकालको घर परिवारमा खबर गरी निजलाई घटनास्थलबाट उठाई उपचारको लागि नोबेल, न्युरो हुँदै भारतको सिलगढी लाँदा निजको मृत्यु भएको हो भनी हाल थाहा पाएको
हुँ । निज विपिन ढकाललाई सुरज मण्डल र छोटुसमेतले रक्सी सेवन गरेको अवस्थामा निजले हातपात गरेको कारण रिस आवेगमा आई कठालोमा समाई पसलको पूर्वतिर बाटोमा लगेको हुँदा निजहरूले नै कुटपिट गर्दा निज घाइते भई उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भिमबहादुर मगरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
Due to complication of massive intracranial hematoma with intraventricular hemorrhage with diffuse cerebial edema causes cardio pulmonary arrest भन्नेसमेत व्यहोराको मृतक विपिन ढकालको पोष्टमार्टम प्रतिवेदन ।
मिति २०७३।७।१४ गते साँझ २१:०० बजेको समयमा म आफ्नो घरमा बसी रहेको अवस्थामा गाउँकै रोशन भन्ने सुरेश कटुवाल, सुरज मण्डल र छोटु भन्ने परमेश्वर दास ३ जना आई बाहिर बसी सुरज मण्डलले एक बोतल रक्सी मागी तीनैजनाले खान थालेको १० मिनेटपछि गाउँकै विपिन ढकाल र भिमबहादुर मगर पनि आई रक्सी मागी खान
थाले । केही छिनपछि निजहरू एक आपसमा विवाद गरी होहल्ला गर्न थालेपछि, मैले झगडा हुन्छ कि भनेर गाली गरेर बाहिर निकालेपछि पनि निजहरू बाटोमा हल्ला गर्दै हिँडे । म आफ्नो घरभित्र छिरी ढोका बन्द गरी खाना खान लागेँ । त्यसको आधा घण्टापछि छिमेकीहरूले दिदी तपाईंको घरमा रक्सी खान आएका केटाहरू झगडा गरी विपिन ढकाललाई कुटपिट गरी लडाई के कता गए भनेपछि वरपरका मानिसहरू तथा घाइतेका आफन्तहरू आई विपिन ढकाललाई घटनास्थलबाट उठाई उपचारको लागि लगेकोमा भारतको सिलगढीमा विपिन ढकालको मृत्यु भएको
हो । हाल गाउँ घरमा बुझ्दा सुरज मण्डल र परमेश्वर दासले विपिन ढकाललाई इँटासमेतले प्रहार गरेको र भिम मगर र सुरेश कटुवालले छुट्याउन खोज्दा नमानेको कारण घटनास्थलबाट छाडी भागेको भन्ने सुनेको हो यसरी मान्छे मर्न सक्छ भन्ने जानी जानी इँटाले प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनु पर्दछ भन्नेसमेत व्यहोराको शान्तीदेवी उरावको घटना विवरण कागज ।
मिति २०७३।७।१४ गते राति ११:०० बजेतिर घर नजिक मानिसहरू जाँड खाएर कराउँदै झगडा गरी हल्ला भएकोले के भएछ भनी उठी हेर्दा गाउँका दाइ विपिन ढकाल बाटोदेखि माथि नालीमा रगताम्मे भई लडिरहेको अवस्थामा देखी मैले गाउँमा होहल्ला गर्दा गाउँ टोलका मानिसहरू उठी उपचारको लागि पठाएको हो । घटनाको बारेमा बुझ्दा शान्तीदेवी उरावको घरमा रक्सी खान सुरज मण्डल, छोटु भन्ने परमेश्वर दास, सुरेश कटुवाल गएको र पछि विपिन ढकाल र भिम मगरसमेत सोही स्थानमा रक्सी खाई झगडा गर्न खोजेकोले घरवालीले आफ्नो घरमा झगडा हुन नदिएर पठाए पछि सुरज मण्डल, परमेश्वर दास, सुरेश कटुवाल, भिम मगरसमेत सँगै जाँदा निजहरूले गहकिलो इँटाले विपिन ढकालको टाउकोमा प्रहार गरी गम्भीर चोट लागी उपचारको क्रममा मृत्यु भएको भन्ने सुनेको हो । उल्लिखित प्रकारबाट कर्तव्य गरी मारेको हुँदा निज अभियुक्तहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत व्यहोराको विशाल रानाभाटको घटना विवरण कागज ।
मिति २०७३।७।१४ गते राति अन्दाजी ०९:०० बजेतिर म आफ्नो घरमा टि.भी. हेरिरहेको थिएँ । घर बाहिर को को जाँड खान आएका थिए, मैले वास्ता गरिन । निजहरूले हल्ला गर्न थालेपछि आमाले तिमीहरू हल्लाखल्ला नगर भनी घरबाट बाहिर निकालिदिनुभयो । त्यसपछि निज मानिसहरू कराउँदै कम्पाउन्डबाट बाहिर निस्किए, हामी पनि सुत्यौँ । रातको ११:०० बजेतिर हल्ला भएपछि को कसको हल्ला गर्छ भनी बाहिर निस्कदा घरदेखि अन्दाजी ७० मिटरपूर्व गाउँका छिमेकीहरू भेला भएका र बाटोमाथि मान्छे लडी रगताम्मे अवस्थामा देखी को रहेछ भनी हेर्दा गाउँकै विपिन ढकाल दाइ हो भन्ने चिनी मेरा दाइ र म एम्बुलेन्स लिई आई घाइतेलाई नोबेल अस्पतालमा लग्यौँ । नोबेल अस्पतालले बिरामी हेरी न्युरो लानु भनेपछि न्युरो ल्याउँदा उक्त अस्पतालले पनि रिफर गरेपछि भारतको सिलिगुढी लाँदा निज विपिन ढकालको मृत्यु भएको हो । हाल बुझ्दा त्यस दिन हाम्रो घरमा जाँड खान आउने सुरज मण्डल, सुरेश कटुवाल, परमेश्वर दास, भिम मगर र मृतक विपिन ढकालसमेत आई विवाद गर्दै गएका थिए । निजहरूमध्ये को को भई को कसले विपिन ढकाललाई घाइते हुने गरी कुटपिट गरी घाइते बनाए मैले नदेखेको हुँदा भन्न सक्दिनँ भन्नेसमेत व्यहोराको सुरेश उरावको घटना विवरण कागज ।
मिति २०७३।७।१४ गते साँझ तिहारको लक्ष्मीपुजा भएकोले मेरो छोरा विपिन ढकाल एकछिन घुमेर आउँछु भनी रातको अन्दाजी ९:०० बजेतिर घरबाट हिँडेको थियो । म पनि घरको काम सकी सुते । रातको अन्दाजी ११:०० बजेतिर छिमेकी केटाकेटीहरू मेरो घरमा आएर आन्टी आन्टी दाइ नालीमा लडिरहेको छ भनेर सुनाएपछि म छोराको खोजी गर्दै आउँदा घरदेखि उत्तरपूर्व नालीमा छोरा बेहोस् अवस्थामा लडिरहेको देखी मैले छोरालाई बोलाउँदा नबोलेपछि काखमा राख्न खोज्दा इँटाले टाउकोमा किचाएको रहेछ । मेरो हात तथा कपडा छोराको रगतले भिज्यो र म त्यही रूँदै कराउँदै थिए, सोही बेला कसले एम्बुलेन्स लिएर आयो र हतार हतार एम्बुलेन्समा हाली नोबेल अस्पतालमा लाँदा उपचार हुन नसकी न्युरो अस्पताल पठाउँदा उक्त अस्पतालमा पनि उपचार हुन नसकेको हुँदा छोरालाई एम्बुलेन्समार्फत भारतको सिलगढी लगेकोमा उपचारको क्रममा मिति २०७३।७।१६ गते सिलगढीमा मृत्यु भएको हुँदा छोरालाई को कसले कर्तव्य गरी मारेको रहेछन् भनी गाउँमा बुझ्दा मिति २०७३।७।१४ गते राति अन्दाजी ९:०० बजेको समयमा महेन्द्र उरावको घरमा रक्सी खानको लागि सुरेश कटुवाल, परमेश्वर दास र सुरज मण्डलले रक्सी खाँदै गरेका अवस्थामा मेरो छोरा विपिन ढकाल र छोराको साथी भिम मगर पनि सोही पसलमा गई रक्सी मागी खाएछन्, खाने क्रममा सुरज मण्डल र परमेश्वर दाससँग विवाद भएपछि रक्सी बेच्ने बहिनीले मेरो घरमा झगडा नगर भनी बाहिर निकालेपछि छोरालाई सुरज मण्डल, परमेश्वर दास र सुरेश कटुवालसमेत भई लगेर कुटपिट गरेपछि भिम मगरले छुट्याउने क्रममा नसकेपछि घटनास्थलमा नै छाडी घरतर्फ जान लाग्दा सुरज मण्डल र परमेश्वर दासले मान्छे मर्यो भनी हल्ला गरेको भिम मगरले सुनी होहल्ला गरेपछि मलाई बोलाउन गएका रहेछन् । यसरी उल्लिखित प्रकारबाट मेरो छोरा विपिन ढकाललाई इँटाले टाउकोमा प्रहार गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको हुँदा निज मानिसहरू सुरज मण्डल, परमेश्वर दास र सुरेश कटुवाललाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्नेसमेत व्यहोराको मनिता भन्ने लेखाकुमारी ढकालको घटना विवरण कागज ।
मिति २०७३।७।१४ गते राति लक्ष्मीपुजाको दिन छिमेकी विपिन ढकाल बाटोमा घाइते अवस्थामा लडिरहेकोले राति नै उपचारको लागि नोबेल न्युरो हुँदै भारतको सिलिगुढी लगी उपचारको क्रममा मिति २०७३।७।१६ गते मृत्यु भएको भन्ने थाहा पाएको
हो । घटनाको बारेमा बुझ्दा विराटनगर-५ स्थित महेन्द्र उरावको घरमा सुरेश कटुवाल, सुरज मण्डल, परमेश्वर दाससमेत बसी रक्सी खाइरहेको अवस्थामा विपिन ढकाल र भिम मगर आई रक्सी खाइरहेको अवस्थामा विपिन ढकाल र सुरज मण्डलको विवाद भएपछि घरवालीले हल्ला नगर भनी बाहिर निकालेपछि विवाद गर्दै आउँदा सुरेश कटुवाल, सुरज मण्डल र परमेश्वर दासले कुटपिट गरी घाइते बनाएको र भिम मगरले छुट्याएको विपिन ढकाल लडेपछि घटनास्थलमा छाडी भागी गएको भन्ने सुनेको हो उक्त घटनामा संलग्न प्रतिवादीहरू सुरज मण्डल, परमेश्वर दास, सुरेश कटुवालसमेतका मानिसहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत व्यहोराको विनोद भण्डारीसमेतले प्राय एकै मिलान हुने गरी लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
यसमा मिसिल संलग्न घटनास्थल मुचुल्का, लासजाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूले गरेको कागज, शव परीक्षण प्रतिवेदन एवं वस्तुस्थिति मुचुल्कासमेतको कागजातहरूको जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ५ स्थित गोकुल टोलमा विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले मिति २०७३।७।१४ गते रातको समयमा जाहेरवालाको छोरा वर्ष ३३ को विपिन ढकालसँग विवाद गरी निजलाई लात, मुक्का तथा इँटासमेतले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरी सख्त घाइते बनाई घाइतेलाई उपचारार्थ न्युरो अस्पताल विराटनगरमा पुर्याई थप उपचारको लागि भारतको सिलगुढी स्थित पारामाउन्ट अस्पतालमा लगी उपचार हुँदाकै अवस्थामा सोही चोट पिरको कारण विपिन ढकालको मिति २०७३।७।१६ गते मृत्यु भई कर्तव्य ज्यानको वारदात घटाएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीहरू सुरज मण्डल र छोटु भन्ने परमेश्वर दासलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. अनुसारको कसूर अपराधमा ऐ.ऐन ऐ. महलको १३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादीमध्येका रोशन भन्ने सुरेश कटुवाल र भिमबहादुर मगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसारको कसूर अपराधमा ऐ. महलको १७(३) नं. बमोजिम सजाय हुन मागदाबी पेस गरिएको अभियोगपत्र ।
उक्त मिति समयमा म र अन्य प्रतिवादीहरूसमेत भई एयरपोर्ट नजिकै गोकुल टोलमा रक्सी खाई रमाइलो गरिरहेका थियौँ । हामी रक्सी सेवन गर्न बसेको १५/२० मिनेटपछि जाहेरवालाको छोरा विपिन ढकाल पनि सोही ठाउँमा आए र सुरूमा एक्लै बसी रक्सी खाए र केही समयपछि हामीसँगै रक्सी खाए । रातको अन्दाजी १० बजेतिर रक्सी पसलबाट निस्की निज विपिनले मलाई एक्कासी बक्सिङले नाक र ओठमा हानेपछि मेरो नाकबाट रगत बग्न थाल्यो र मैले निज विपिनलाई मलाई अस्पताल लगिदिनु दाइभन्दा निज निकै मातेका भएकाले बाटोमा लरखराइरहेका थिए । लक्ष्मीपूजाको रात र लाइन नभएकोले निकै अध्याँरो थियो । घटनास्थल नजिकै इँटा थुपारेको भएकोले निज विपिन सोही इँटामा लडेर गम्भीर चोट लागेको तथा म र निजका आफन्तसमेत भई निजलाई उठाई उपचारको लागि नोबेल अस्पताल लिई गएका हौँ । मैले विपिन ढकाललाई इँटा ढुङ्गाले कुटपिट गरेको होइन । को कसले कुटे मलाई थाहा छैन, मउपरको जाहेरी झुट्टा हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुरज मण्डलको सुरू मोरङ जिल्ला अदालतमा गरेको बयान ।
मिति २०७३।७।१४ गतेको राति करिब ८ बजेको समयमा म प्रतिवादी छोटु र प्रतिवादीमध्येका सुरज गोकुल होटलमा बसी रमाइलो गर्ने क्रममा विपिन ढकाल आई एक्लै बसी रक्सी मागी खाँदै गर्दा छोटु भन्ने परमेश्वर दासले बोलाएपछि निज विपिन हामीसँगै आई रक्सी खान थाले त्यसपछि भिमबहादुर मगरसमेत आई रक्सी सेवन गर्न लाग्यौं । विपिन ढकाल, सुरज र छोटु निकै मातेका थिए । हामीले खाँदा खाँदैको बखतमा निज विपिन र सुरजबिचमा वादविवाद हुन लागेकाले रक्सी बेच्ने आन्टीले तिमीहरू घर जाओ भन्नुभयो त्यसपछि विपिनलगायत सबैजना बाहिर निस्केका थियौं । म रक्सी खाएको ठाउँमा नै बसी केहिछिनपछि बाहिर निस्कदा सुरज मण्डलको नाकबाट रगत आइरहेको थियो । विपिन, छोटु र सुरजबिचमा धकेलाधकेल हुँदै गरेको र भिमबहादुर मगरले छुटाउन कोसिस गर्दै गरेको, देखी मैले पनि सम्झाउन खोजेँ तर मानेका थिएनन् र त्यसपछि छोटु भन्ने परमेश्वर दासले तिमी घर जाऊ म मिलाउँछु भनेकाले म घरतर्फ गएँ, भिम मगर पनि उसको घरतिर लागेँ, म घरमा आएपछि उक्त घटना हुन गएछ, को कसले इँटाले प्रहार गरी विपिनलाई घाइते बनाए मैले देखिन । मउपरको जाहेरी व्यहोरा झुट्टा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रोशन भन्ने सुरेश कटवालको सुरू मोरङ जिल्ला अदालतमा गरेको बयान ।
मिति २०७३।७।१४ गते राति अन्दाजी ९:३० बजेको समयमा म फुपुको घरमा तास खेली आफ्नो घरतर्फ जाने क्रममा प्रतिवादीहरू सुरज, सुरेश, परमेश्वर र मृतक विपिन ढकालसमेत भई मेहन्द्र उरावको घरको बरन्डामा बसी रक्सी खाइरहेका थिए । मलाई छोटु भन्ने परमेश्वरले देखी रक्सी खान बोलाएकाले म पनि गएको र रक्सी खाँदै गर्दा सुरज र विपिन कान, मुख जोडी खस्याङ खुसुङ गर्दै थिए । विपिनले एक्कासी सुरज मण्डललाई मुक्काले नाकमा हान्दा सुरजको नाकबाट रगत बग्न थाल्यो । त्यसपछि सुरज मण्डलले विपिन ढकालको कलर पक्रेर धकेलाधकेल गर्दै
थिए । मैले छुट्याउन खोज्दा परमेश्वर दासले तिमी घर जाऊ, म मिलाएर पठाउँछु भनेकाले म आफ्नो घरतर्फ लागेँ, उनीहरू पूर्वतर्फ लागे, झण्डै ५ मिनेट पछि सुरज मण्डल मान्छे मर्यो भन्दै हिँडेको देखी मैले उसलाई पक्री घटनास्थलमा आउँदा विपिन दाइको टाउकोमा चोट थियो, नजिकै खुन लागेको इँटा थियो । निज सुरज मण्डललाई त्यहाँ भेला भएका मानिसको जिम्मा लगाई म आफ्नो घरतर्फ गए । तसर्थ मैले विपिन ढकाललाई इँटा प्रहार गरी सख्त घाइते बनाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी भिमबहादुर मगरले सुरू मोरङ जिल्ला अदालतमा गरेको बयान ।
मिति २०७३।७।१४ गते रोशन, छोटु र सुरज ३ जना आई रक्सी खान थालेको १० मिनेटपछि विपिन त्यसपछि भिम आई सबैले मिलेर रक्सी किनेर खाएकोमा हल्ला गर्न थालेपछि हाम्रो सुत्ने बेला भयो जानुहोस् भनी घरबाट निकाली दिए । म त्यसपछि भैलो खेल्ने आई बाटामा एकजना मानिस लडाई राखेको छर यहाँ को को आई रक्सी खाएर झगडा गरी लडाएछन् भनेको थिए भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने शान्तिदेवि उरावले सुरू मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।
घाइते बाटामा लडिरहेको देखेको हुँ । तर कसले घाइते बनाएको थाहा भएन भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने विशाल रानाभाटले सुरू मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।
वारदातको दिन राति ९:३० बजेतिर कोलम टोलमा हो हल्ला भइरहेको सुनी जाँदा २ जना मधेशी मुलका र एकजना नेपाली मुलका बिचमा झगडा भइरहेको रहेछ । उक्त झगडा प्रतिवादी सुरेश कटवालसमेतले छुट्याएपछि निज सुरेश र म आफ्नो घरतर्फ गयौं भन्नेसमेत व्यहोराको प्रतिवादी सुरेश कटवालका साक्षी कैलास पुडासैनीले सुरू मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।
वारदात मितिको राति म घर अगाडी उभिइरहेको बखतमा प्रतिवादी भिमबहादुर मगर आएका र केहि छिनपछि मान्छे मर्यो भनी हल्ला भएकोले घटनास्थलतर्फ म र भिमबहादुर जाँदा विपिन ढकाल घाइते भई लडेको देखेका हौं । निज भिमबहादुर मगरले विपिन ढकाललाई कुटपिट गरी ज्यान मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी भिमबहादुरका साक्षी गणेश भुजेलले सुरू मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूले कुटेर लडिरहेको अवस्थामा म र श्रीमतीले छोरा विपिनलाई भेटी त्यहाँबाट नोबेल न्युरो हुँदै सिलिगुढी पुर्याई उपचारको क्रममा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला गणेश ढकालले सुर मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी सुरज मण्डलसमेतले मृतकलाई लात, मुक्का एवम् इँटासमेत प्रहार गरी कर्तव्य गरी मारी अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको कसूर गरेको देखिएकोले निजलाई सोही नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीद्वय रोशन भन्ने सुरेश कटुवाल र भिमबहादुर मगरउपरको अभियोग दाबी मिसिल प्रमाणबाट तथ्ययुक्त किसिमले पुष्टि हुन सकेको नदेखिँदा निजहरूले आरोपित कसूरबाट सफाइ पाउने र म्याद तामेल हुन नसकेका प्रतिवादी छोटु भन्ने परमेश्वर दासको हकमा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(क) (४) बमोजिम तामेलीमा रहने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको फैसला ।
प्रतिवादीहरूउपर किटानी जाहेरी दरखास्त दिएको र प्रतिवादीहरूकै कुटपिटको कारण उपचारको क्रममा मृतक विपिन ढकालको मृत्यु भएको हो । प्रतिवादीहरूसमेत घटनास्थलमा उपस्थित रहेको कुरा बयानमा स्वीकार गरेको अवस्था छ । प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. अनुसार सजायको मागदाबी लिइएको र उक्त १७(३) नं. मा “अरू कसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखिबाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि ३ वर्षसम्म कैद गर्नुपर्छ” भनी उल्लेख गरेको देखिँदा निज प्रतिवादीहरू घटनास्थलमा रहनु नै कसूर प्रमाणित हुन प्रर्याप्त आधार हुँदाहुँदै उक्त कानूनी व्यवस्थासमेतका प्रतिकूल हुने गरी वारदात स्थलमा रहेका यी प्रत्यर्थी प्रतिवादीहरूलाई दाबीबमोजिम नै सजाय गर्नुपर्नेमा आरोपित कसूरबाट सफाइ दिने गरी भएको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको उच्च अदालत विराटनगरमा दिएको पुनरावेदन पत्र ।
निज प्रतिवादीको बयानबाट कुटपिट गरी नालीमा खसाली पुन: इँटाले अन्धाधुन्ध कुटपिट गरेको भनी अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान र मृतकका शरीरमा परेका विभिन्न चोटहरूको परिदृश्यसमेतका समग्र प्रमाणबाट प्रतिवादीको कानून व्यवसायीले प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय हुनुपर्ने भनी लिएको बहस जिकिरसँग सहमत हुन सकिने देखिएन । तसर्थ, निजलाई आरोपित कसूर ठहर गरी जन्मकैदको सजाय ठहर्याएको जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको उच्च अदालत विराटनगरको फैसला ।
प्रस्तत मुद्दाका मृतक विपिन ढकाललाई म पुनरावेदकले मार्नुपर्ने कुनै कारण, पूर्वरिसइबी केही पनि नभएको, वारदातमा सँगै बसी रक्सी खाएको र निज मृतक बिना कारण मातिई एक्कासी मलाई नाकमा कुटेको र रक्सीले मातिई मृतक आफैँ लडेको अवस्थातर्फ न्यायकर्ताज्यूले ध्यान नदिई म पुनरावेदक प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरी भएको सुरू एवं उच्च अदालतबाट भएको फैसलाहरू चर्को एवं मनसायपूर्वक भएको कर्तव्य ज्यान मुद्दामा ठहर भए जस्तो गरी भएको फैसला त्रुटिपूर्ण हुँदा प्रचलित कानूनबमोजिम उचित न्याय इन्साफ गरी कम सजाय गरिपाऊँ भन्ने व्यहोराको यस अदालतमा परेको प्रतिवादी सुरज मण्डलको पुनरावेदन पत्र ।
अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी सुरज मण्डलका तर्फबाट बहसमा उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेलले पुनरावेदन जिकिरलाई समर्थन गर्दै गर्नुभएको बहससमेत सुनियो ।
विद्वान् अधिवक्ताले आफ्नो बहसको प्रस्तुतिमा मृतकले रक्सी खाई पुनरावेदकलाई बिना कारण कुटेको, मृतक रक्सीले माती आफैँ लडी टाउको ठोक्किएको र मृतकलाई उपचारको लागि अस्पतालमा समेत लगेको तथा मृतकलाई मार्नुपर्नेसम्मको मृतकसँग पुनरावेदक प्रतिवादीको पूर्वरिसइबी केहि पनि नभएको यी अवस्थाहरूतर्फ विचार नै नगरी पुनरावेदकले मनसायपूर्वक मृतकलाई मारेको भन्ने ठहर भएको सुरू एवं उच्च अदालत विराटनगरबाट भएको फैसलाहरू त्रुटिपूर्ण भएको हुँदा पुनरावेदकको मागबमोजिम कम सजाय हुने गरी न्याय इन्साफ होस् भनी भन्नुभयो ।
उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मिसिलमा विद्वान् अधिवक्ताले राख्नुभएको उल्लिखित बहस जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा मूलत प्रतिवादी र मृतकबिच रक्सी सेवन गर्ने क्रममा सामान्य विवाद भई मृतकले प्रतिवादीलाई नाकमा मुक्का प्रहार गर्दा प्रतिवादीले मृतकलाई कुटपिट गरी इँटा तथा लात्ता प्रहार गर्दा मृतकको टाउकोमा लागी उपचारको क्रममा मृतकको मृत्यु भएको भन्ने देखिँदा उक्त वारदात मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्ने अवस्थाको हो वा के हो ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब निर्णयतर्फ विचार गरी हेर्दा मिसिल संलग्न प्रमाण कागजात, उपस्थित भई बकपत्र गर्ने व्यक्तिको बकपत्र व्यहोरा, अनुसन्धान अधिकारी र अदालतमा प्रतिवादी स्वयम्ले गरेको बयान व्यहोरासमेतबाट मृतक र प्रतिवादी वारदात भएको रात सँगै बसी रक्सी सेवन गरेको र सोही अवस्थामा मृतक र प्रतिवादीबिच सामान्य वादविवाद भई मृतकले प्रतिवादीलाई नाकमा मुक्का हानेको र प्रतिवादीलगायत सँगैका अन्य साथीहरू पसलबाट बाहिर गइसकेपछि प्रतिवादीले मृतकलाई कुटपिट गरी टाउकोमा इँटाले प्रहार गर्दा मृतकको टाउकोमा चोट लागि उपचारको क्रममा मृतकको मृत्यु भएको भन्ने देखिएको छ ।
३. अभियोग दाबीबाट प्रतिवादीले मृतकसँग विवाद गरी निजलाई लात, मुक्का तथा इँटासमेतले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरी सख्त घाइते बनाई घाइतेको उपचार हुँदाकै अवस्थामा सोही चोट, पिरको कारण निज विपिन ढकालको मृत्यु भई कर्तव्य ज्यानको वारदात घटाएको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी सुरज मण्डललाई ज्यानसम्बन्धी महलको १ र १३(३) नं. अनुसारको सजाय हुने मागदाबी पेस भएकोमा सुरू जिल्ला अदालतबाट घटित वारदातलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कसूर ठहर गरी भएको फैसला पुनरावेदन अदालतबाट सदर हुने ठहर्याएकोमा सो फैसलामा प्रतिवादीले चित्त नबुझाई मृतक विपिन ढकाललाई पुनरावेदकले मार्नुपर्ने कुनै कारण, पूर्वरिसइबी केही पनि नभएको, वारदातमा सँगै बसी रक्सी खाएको र निज मृतक बिना कारण मातिई एक्कासी मलाई नाकमा कुटेको र रक्सीले मातिई मृतक आफैँ लडेको अवस्थातर्फ न्यायकर्ताले ध्यान नदिई म पुनरावेदक प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरी सुरू एवं उच्च अदालतबाट भएको फैसलाहरू त्रुटिपूर्ण हुँदा कम सजाय गरिपाऊँ भन्ने व्यहोराको यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।
४. यस सम्बन्धमा तत्काल प्रचलनमा रहेको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को व्यवस्थालाई हेर्दा “लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ ।” भन्ने व्यवस्था रहेको पाइन्छ भने मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १४ नं. को व्यवस्था हेर्दा, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट, पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भनी उल्लेख भएको पाइन्छ । यी व्यवस्थालाई हेर्दा ज्यानसम्बन्धी महलको १३(३) नं. ले मनसायपूर्वकको हत्या र सोही महलको १४ नं. ले आवेशप्रेरित हत्या सम्बन्धका सजायको व्यवस्था गरेको देखिन्छ ।
५. जितबहादुर बुढाथोकी विरूद्ध नेपाल सरकार भएको मुद्दामा आवेश प्रेरित हत्याको विषयमा हामीले मानी आएको हाम्रो न्यायिक अभ्यासको सन्दर्भमा हेर्ने हो भने निम्नानुसारको कुराहरू उल्लेख भएको पाइन्छ :-
“(क) प्रतिवादीलाई पीडितले स्व-स्फुर्तरूपमा उत्तेजित पार्ने कार्य गरेको थियो, थिएन ?
(ख) पीडितले गरेको क्रियाकलाप यति गम्भीर थियो, थिएन, जसबाट सामान्य सुझबुझ भएको मानिससमेत उत्तेजित हुन सक्थ्यो सक्दैन्थ्यो ?
(ग) पीडितबाट सिर्जित उत्तेजना नियन्त्रण गर्न सकिने अवस्थाको थियो, थिएन ?
(घ) प्रतिवादीले पीडितलाई आक्रमण गर्दा प्रतिवादीको आवेशको अवस्था समाप्त भएको (Cooling Off Blood) थियो, थिएन ?”
६. उल्लिखित कुराहरू प्रस्तुत मुद्दाको सन्दर्भमा सान्दर्भिक हुने देखिन्छ । घटित वारदातलाई हेर्दा प्रतिवादीलाई मृतकले रक्सी सेवन गरेको सुरमा १ मुक्का नाकमा प्रहार गरेको र तत्काल नै प्रतिवादीले किन यसरी हानेको भनी ठूलो स्वरले कराउदा पसलवाला (शान्ति उरावले) बाहिर निक्लेर जाऊ भनेपछि प्रतिवादीलगायत मृतक र सँगैका साथीहरू सबै बाहिर गएपछि मृतकले पुन: प्रतिवादीलाई उत्तेजित (Incite) गर्ने कुनै त्यस्तो व्यवहार गरेको भन्ने नदेखिएकोमा एकाएक प्रतिवादीले मृतकलाई कठालोमा समाई लात तथा मुक्काले कुटपिट गरेको र सँगैका साथीहरू छुट्टाउन गई सम्झाउने कोसिस गर्दासमेत प्रतिवादीले नमानी, मृतक नालामा खसेपछि पनि इँटाले पटकपटक (Repeatedly) प्रहार गरेको भन्ने देखिँदा प्रतिवादीको उक्त कार्य केवल आवेश प्रेरित थियो भनी भन्न मिल्ने अवस्थाको देखिँदैन । यसै सन्दर्भमा पूर्णबहादुर तिमिल्सिना विरूद्ध नेपाल सरकारको कर्तव्य ज्यान मुद्दामा, “कर्तव्य ज्यानको अपराध कायम हुनको लागि सबै अवस्थामा पूर्वरिसइबी, पूर्वमनसाय वा पूर्वयोजना आवश्यक पर्दछ भन्ने हुँदैन । आपराधिक कार्य विभिन्न कडीहरूमा (segments) को रूपमा रहेको अवस्थामा कुनै कडीमा आपराधिक मनसायको उपस्थित भएमा अपराध कायम हुनको लागि सो आपराधिक मनसाय पर्याप्त हुने” भनी मानी आएको न्यायिक अभ्यास उल्लेखनिय देखिन्छ ।
७. आवेशप्रेरित हत्या (Provocational Crime) को सम्बन्धमा हामीले पीडकबाट हुने अपराधसँग सम्बन्धित क्रियाकलाप अर्थात् कार्यलाई सुक्ष्म तरिकाले संवेदनशील र गम्भीरतापूर्वक हेर्नु
पर्दछ । कहिलेकाहीँ व्यक्तिबाट भएको कार्य स्वयम्ले मनसाय तत्त्वलाई उजागर गरिरहेको हुन्छ । प्रस्तुत मिसिलकै सन्दर्भमा प्रतिवादीले मृतकलाई कुटपिट गर्दै नालीमा खसाल्नु र खसिसकेपछि पनि इँटाले पटकपटक (Repeatedly) हिर्काउनु, मृतकले प्रतिवादीलाई एक मुक्का हान्नुबाहेक अरू कुनै थप उत्तेजित हुने त्यस्तो कुनै कार्य निजबाट भएको नदेखिनु र त्यस्तो अवस्था र स्थितिमा प्रतिवादीले देखाएको प्रवृत्ति अनि त्यसमा लगाएको समयलाई हेर्दा तत्काल उठेको रिसको जुन तोड अर्थात् आक्रोश हो, समयको अन्तरालले शान्त भइसकेको हुनुपर्छ भनी सामान्य सुझबुझ भएको व्यक्तिहरू सबैले जान्ने र महसुस गर्ने कुरा हुँदा प्रतिवादीबाट भएको सो कार्य आवेशकै कारणले मात्र घटेको भनी भन्न मिल्ने
देखिँदैन । किनकी घटना घटाउदा प्रयोग भएको इँटा र इँटाले पटकपटक प्रहार गरेको स्थिति र अवस्थाले मनसाय तत्त्वको उजागर स्पष्ट भएको देखिन्छ । प्रतिवादीलाई सँगैको साथीहरूले पनि सम्झाउने कोसिस गरेको भन्ने कुरा घटनामा उपस्थित रोशन भन्ने सुरेश कटुवाल र भिमबहादुर मगरको मिसिल संलग्न बयानबाट देखिन्छ । यसबिचमा प्रतिवादीलाई उत्तेजना शान्त (Cooling off blood) हुने प्रर्याप्त समय हुँदाहुँदै पनि प्रतिवादीले रिसको झोकमा भनी मृतकलाई लगातार (continuous) प्रहार गरिरहेको अवस्थाको विद्यमान रहेको भन्ने मिसिलबाट देखिँदा यस्तो अवस्थामा घटित उक्त वारदातलाई प्रतिवादीले जिकिर लिएअनुसार आवेश प्रेरित हत्या भन्नु युक्तिसङ्गत देखिँदैन । यसै सन्दर्भमा University of Illinois का विद्वान् Professor Emeritus, Matthew Lippman ले आवेश प्रेरित हत्याको बारेमा आफ्नो Contemporary Criminal Law, Concepts, Cases and Controversies नामक पुस्तकमा व्यक्त गरेको धारणा सान्दर्भिक देखिन्छ जसमा, “The defense of sudden heat of passion is unavailable if a reasonable person’s passion would have experienced a cooling off blood between the time of provocation and the time of killing.” भनी भनिएको छ । उत्तेजना शान्त हुने कुनै निश्चित समय नभएपनि समय र परिस्थितिअनुसार एउटा सुझबुझ र जान्ने बुझ्ने मानिसको (Reasonable Man) यदि उक्त अवस्थामा उत्तेजना शान्त हुन्छ भन्ने कुरा आँकलन गर्न सक्ने अवस्था रहन्छ भने त्यस्तो अवस्थामा भएको हत्या आवेश प्रेरित हत्या थियो भनी लिएको जिकिर मनासिब देखिँदैन ।
८. आवेशप्रेरित कार्य र त्यसको प्रतिक्रिया (Reaction) को बिचमा यदि आवेश शान्त हुने समय (Cooling Off Period) हुन्छ भने उक्त समय, मनसाय तत्त्वको सिर्जना (Creation of Intention) हुन प्रर्याप्त हुने भएकोले त्यस्तो कार्यलाई आवेश प्रेरित भन्न मिल्दैन । यहि सन्दर्भमा Justice Devlin ले, “Provocation must cause a sudden and temporary loss of self control, rendering the accussed so subject to passion as to make him or her for the moment not master of his mind” भनी व्यक्त गरेको कुरा प्रस्तुत मिसिलमा रहेको विवादको सम्बन्धमा उल्लेखनीय देखिन आउँछ । जसअनुसार आवेश प्रेरित हत्याको जिकिर लिनको निम्ति प्रतिवादीलाई मृतकले अत्याधिक रूपमा उत्तेजित हुने कार्य गरी प्रतिवादीले अचानक उठेको रिसको कारण क्षणिक रूपमा आफ्नो सोच्न सक्ने क्षमता गुमाई घटना घटाएको हुनु पर्दछ । जुन हाम्रो ज्यानसम्बन्धी महलको १४ नं. मा भएको आवेश प्रेरित हत्यासम्बन्धी व्यवस्थाको भावना र अर्थसँग मेल खाने अवस्थाको देखिन्छ ।
९. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. लाई हेर्दा पीडितबाट भएको वा गरेको कुनै कुराबाट प्रतिवादी स्वस्फूर्त उत्तेजित भएको देखिनुपर्ने र व्यक्तिबाट भएको क्रियाकलाप अस्वभाविक प्रकृतिको भई उत्तेजित तुल्याउने किसिमको हुनुपर्ने र पीडितबाट देखाइएको अस्वभाविक क्रियाकलापले तत्काल आवेगमा आई उत्तेजित भई घटना घटाएको देखिनुपर्ने हुन्छ । प्रस्तुत मिसिलमा भएको घटनाको प्रत्यक्षदर्शी रोशन भन्ने सुरेश कटुवाल र भिमबहादुर मगरसमेतको भनाई र स्वयम् प्रतिवादीको भनाइबाट नै रोशन कटुवाल र भिमले झगडा नगर्नु भन्दै छुट्याउन खोज्दा मैले र छोटुले विपिनलाई लात्ती तथा मुक्कासमेतले कुटपिट गर्दै विपिन नालीमा खसेपछि फेरि इँटाले अन्धाधुन्द हान्दा निजको टाउकोमा लागेको भन्ने देखिँदा प्रतिवादीले मृतकउपर गरेको क्रियाकलाप, घटना घटाउन निजले लगाएको समय, कुटपिट गर्दै मृतकलाई नालीमा खसाली सकेपछि पनि फेरि कुटपिट गरी घटनास्थलमै रहेको इँटा (जुन गरूङ्गो वस्तु हो जस्को अत्याधिक प्रयोगले र मर्मस्थानमा भएको प्रहारले घातक चिजको रूप धारण गर्ने वस्तु भएको) जस्तो वस्तुले एक पटक नभई पटकपटक मृतकलाई प्रहार गरी त्यसैको चोटको परिणामले मृतकको मृत्यु भएको भन्ने देखिँदा स्वयम् प्रतिवादीबाट भएको कार्यले मनसायको उजागर गरिरहेको यस्तो अवस्थामा मनसाय तत्त्वको अभाव थिएन भन्ने पुनरावेदक प्रतिवादीको जिकिरले अर्थ राख्ने देखिँदैन । किनकी प्रतिवादीबाट घटनामा देखाइएको क्रियाकलापको साथै मृतकलाई मर्मस्थानमा इँटा जस्तो गरूङ्गो वस्तुले पटकपटक प्रहार गरेको अवस्थाले प्रतिवादीको मनसायको पुष्टि भइरहेको देखिन्छ ।
१०. अत: माथि उल्लेख भई विवेचना र विश्लेषण भएको आधार, कारण एवं प्रमाणसमेतबाट प्रतिवादीले ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको कसूर गरेको ठहर्याई भएको सुरूको फैसला सदर गरी उच्च अदालत विराटनगरबाट मिति २०७५।११।१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत : मञ्जु शर्मा, मेजुमी गुरूङ
इति सवंत् २०७७ साल साउन २१ गते रोज ४ शुभम् ।