शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६०२ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा

फैसला मिति :  २०७७।३।२९

 

मुद्दाः- मानव बेचबिखन तथा ओसारपसार

 

०७२-CR-०४२९

पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, मोतिपुर गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय, पाल्पामा थुनामा रहेको लाल बहादुर परियारको श्रीमती माया परियारसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : उमा परियारको जाहेरीले नेपाल सरकार

 

०७२-CR-११३१

पुनरावेदक / वादी : उमा परियारको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान, बाङ्गेसाल गा.वि.स. वडा नं. २ बस्ने सुनिल मिश्रको श्रीमती माष्टर्नी भन्ने गीता मिश्रसमेत

 

वादी पक्षका साक्षीहरूले जाहेरवालाको कुरा सुनेकै भरमा बकपत्र गरेको देखिएबाट त्यस्तो जाहेरी बेहोरा जाहेरवालाको बकपत्र र निजले भनेकाले सुनी थाहा पाएको हो भन्‍ने साक्षी भनाइका आधारबाट मात्र मानव बेचबिखनजस्तो गम्भीर अपराधमा दोषी ठहर गर्नु न्याय र कानूनसङ्गत 

नहुने ।

(प्रकरण नं.७)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्याय

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद सापकोटा र विद्वान् अधिवक्तात्रय श्री मुकुन्द न्यौपाने, श्री कमलेश द्विवेदी र श्री श्यामकुमार श्रेष्‍ठ

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४

 

सुरू तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री प्रकाशचन्द गजुरेल

माननीय न्यायाधीश श्री वीरेन्द्र कुमार कर्ण

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

मिति २०६८ सालको जाडो महिनामा मलाई माया परियारले ब्युटीपार्लरमा काम गर्ने भनी ललाई फकाई गरी मोतिपुर गा.वि.स.को वनगाईसम्म ल्याई लिला गुरूङ र विना भन्ने महिलाहरूको जिम्मा लगाइ दिएको र तीनजना महिलाहरूले मलाई वनगाईबाट नेपालगन्ज हुँदै भारतको दिल्ली पुर्‍याई लिई जानेमध्ये विनाको घरमा ४ दिन राखी जि.वि. रोड स्थित वेश्यालयमा बेचिदिएकोमा एकजना नेपाली केटाको सहयोगमा त्यहाँबाट भाग्न सफल भएकी हुँदा उक्त प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको उमा परियारले दिएको जाहेरी दरखास्त ।

मेरो घरमा सौतेनी आमा तथा गरिबी भएको कारण रोजगारीको खोजीमा रहेकी र मैले माया परियारलाई जागिर खोजिदिन भनी अनुरोध गरेकीमा मिति २०६८ सालको जाडो समयमा माया परियारले मलाई बोलाई तिमीलाई भारतको कोटला शहरमा ब्युटी पार्लरमा काम लगाई दिन्छु भनेकोले म पनि सहमत भएपछि निजले मलाई मेरो घर ढोडेकोलबाट वनगाई ल्याइ मलाई विना र लिलासँग भेट गराई माया परियार र ३ जना महिलाले कुराकानी गरे । त्यसपछि मलाई माया परियारले तिमी उहाँ दिदीहरूसँग जानु र दिदीहरूले भने जस्तै गर्नु भनी अह्राई माया परियार सोही वनगाईबाट फर्किइन् । मसमेत नेपालगन्ज जाने माइक्रो बसमा चढी तीनजना दिदीहरूसँगै नेपालगन्जतर्फ लाग्यौ । दाङ पुगेपछि माष्टर्नी दाङ झरिन् भने हामी ३ जना विनाको भाउजुको घर नेपालगन्जमा गई बसी अर्को दिन बिहान विना, लिला र म दिल्ली पुगी विनाको दिल्ली स्थित घरमा पुग्यौं । लिला विनासँग पैसा मागेर नेपाल फर्की भने मलाई विनाले आफूले सञ्चालन गरेको कोठीमा लगी वेश्वावृत्तिमा लगाइन् । त्यसपछि म एकजना नेपाली केटाको सहयोगमा एक वर्षपछि नेपालमा फर्केकी हुँ भन्नेसमेत बेहोराको उमा परियारको जिल्ला अदालत कपिलवस्तुबाट भएको प्रमाणित बयान ।

पक्राउमा परेकी लिला गुरूङले आफूलाई दिल्लीसम्म लगी बिक्री गरेको, पक्राउमा परेकी माष्टर्नी भन्ने गिता मिश्रले दाङसम्म पुर्‍याई लिला र विनाको साथ लगाई भारत पठाएको भनी जाहेरवाला उमा परियारले गरिदिएको छुट्टाछुट्टै सनाखत कागज ।

उमा परियारले मलाई जागिर खोजिदिन भनी अनुरोध गरेकी र लिला गुरूङले ब्युटीपार्लरमा काम गर्ने मानिस चाहिएको छ, खोजी देउ भनेकी हुँदा उमा परियारसँग सो विषयमा कुरा गर्दा सहमत भएकीले उमा परियारले जाँन्छु भनेकी छ, भनी लिला गुरूङलाई खबर गरेकी थिएँ । लिला गुरूङले त्यसो भए उमा परियारलाई लिई वनगाईसम्म आउँनु भनेकी हुँदा म उमालाई लिई वनगाई आएँ । त्यहाँ अन्य २ जना महिला पनि रहेका र लिलाले काम राम्रो छ, उमालाई सम्झाउ भनेकीले उमालाई सम्झाई म निजहरू ४ जनालाई नेपालगन्ज जाने माइक्रो बसमा चढाई फर्की घर गएकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी माया परियारले गरेको बयान । 

मैले माया परियारलाई ब्युटीपार्लरमा काम गर्ने मानिस खोज्न भनेकोमा माया परियारले उमा जाने भनेपछि मायालाई उमालाई लिई वनगाई चोकमा आउनु भनी म वनगाई गई मलाई पहिल्यै बोलाएका ज्ञानी वादी र गिता मिश्रसँग भेट गरेँ । त्यसपछि माया र उमा परियारसमेत आएपछि सँगै खाजा खाई उमालाई लिई म, ज्ञानी वादी, गिता मिश्र भई नेपालगन्ज जाने बसमा चढी नेपालगन्ज गयौं, गिता मिश्रबिचमा दाङ झरिन् । त्यसपछि हामीहरू नेपालगन्ज ज्ञानी वादीको भाउजू विन्दु कार्कीको घरमा पुग्यौं । त्यहाँ एकदिन बसी अर्को दिन म, ज्ञानी वादी र उमा नेपालगन्जबाट विन्दु कार्कीसमेत भई रूपैडियासम्म पुगेका र विन्दु कार्की त्यहिबाट फर्किन् । हामी ३ जना भारतको दिल्ली गई ज्ञानी वादीको घरमा बस्यौं । त्यसपछि म ३ दिन पछि नेपाल फर्किएँ । ज्ञानी वादीले उमा परियारलाई वेश्यावृत्तिमा लगाएको पछि थाहा पाएँ भन्नेसमेत बेहोराको प्रतिवादी लिला गुरूङले गरेको बयान ।

लिला गुरूङले आफ्नो दुःखको कुरा गरेकीले म र ज्ञानी वादी सल्लाह गरी पछि विचार गरौंला भनेकोमा २०६८ सालको पुषमा पुनः लिला गुरूङसँग सल्लाह गर्न म र ज्ञानी वादी वनगाई आयौं । त्यसपछि लिला गुरूङ आइन् त्यसपछि उमा र माया परियार 

आए । हामी पाँचजना वनगाईको होटलको एकान्त कोठामा बसी सल्लाह गर्दा लिला गुरूङ र उमा परियारले काम गर्ने इच्छा गरेका र माया परियारले समेत यिनलाई जागिर लगाइदिन पर्‍यो भनेकी हुँदा मैले भाउजू (ज्ञानी वादी) ले भारतमा ब्युटीपार्लर खोलेकी छन्, त्यहीँ काम गर भनेकोमा लिला र उमाले त्यति टाढा हुँदैन भनेका थिए, मायाले टाढा भए पनि काम सिकी नेपालमै गर्नुहुन्छ भनेपछि निजहरूसमेत राजी भएका हुँदा ज्ञानी वादीले माया परियारलाई अं. पाँच हजार भा.रू. दिई म ज्ञानी वादी, उमा परियार र लिला गुरूङ भारत जान भनी नेपालगन्जतर्फ 

लाग्यौं । भाउजूले म एक्लै जान सक्छु भनेकी हुँदा म दाङ भालुवाङ झरेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गिता मिश्रले गरेको बयान । 

२०६८ सालको माघ महिनातिर ज्ञानी वादी र नचिनेका अन्य २ जना मेरो डेरामा आए, सो दिन त्यहीँ बसी मसमेत दिल्ली जान रूपैडिया पुग्दा प्रहरीसमेतले सोधपुछ गरेका र मैले प्रहरी चिनेको हुँदा त्यहीँ पारी बजार जाने हो भनेकोले छोडिदिए । त्यसपछि हामीहरू ४ जना भई दिल्ली गएको र त्यहाँ ज्ञानी वादीको लोग्ने अजय वादी लिन आए । हामी निजको घरमा गई २ दिन बसी लिला गुरूङ, म र ज्ञानी वादीको सासू नेपाल आएका हौं । हामी आएपछि ज्ञानी वादीले उमा परियारलाई वेश्यावृत्तिमा लगाएकी हो भन्नेसमेत बेहोराको विन्दु वादी कार्कीले गरेको बयान । 

माया परियारलाई प्रहरीले पक्राउ गरेको भन्ने थाहा पाई पक्राउबारे बुझ्दा उमा परियारलाई माया परियार, लिला गुरूङ र गिता मिश्रसमेत भई ललाई फकाई भारतको वेश्यालयमा लगी बिक्री गरेको भन्ने थाहा पाएको हौं भन्नेसमेत बेहोराको पदम भुषाल, आकाश भन्ने ढुण्ड परियार, रमेश आचार्य, नारायण परियार र विष्णु परियारले लेखाइदिएको वस्तुस्थिति मुचुल्का । 

जिल्ला कपिलवस्तु मोतिपुर गा.वि.स.वडा नं ३ स्थित स्टाप होटलमा बसी उमा परियारलाई माया परियार, लिला गुरूङ र गिता मिश्रसमेतले ललाई फकाई बेच्ने उद्देश्यले भारतमा लगेको स्थान रहेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । 

यसरी उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादी विना भन्ने ज्ञानी वादीले वर्ष १६ की उमा परियारलाई भारतमा ब्युटीपार्लरको काम लगाई दिने भनी झुक्याई ललाई फकाई गरी नेपालबाट भारतमा लगी आफूले फाइदा लिने उद्देश्यले वेश्यावृत्तिमा लगाई निज प्रतिवादी विना भन्ने ज्ञानी वादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा (१) खण्ड (ख) र दफा ४ को उपदफा (२) खण्ड (ख) को कसुर अपराध गरेकोले निज प्रतिवादी विना भन्ने ज्ञानी वादीलाई उक्त ऐनको दफा १५ को उपदफा (१) खण्ड (ख) र खण्ड (ङ) उपखण्ड (१) बमोजिम सजाय हुन मागदाबी लिई र लिला गुरूङले आफूले उमा परियारलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले नलगेको भनी जिकिर लिएपनि निजले मानिस खोजिदिन माया परियारलाई भनेको, आफूसँगसँगै भारतसम्म गएको र आफू फर्कने बेलामा उमा परियारको जागिरको अवस्थाको बारेमा नबुझी आफू मात्र फर्की आएको र वेश्यावृत्तिमा लगाएको थाहा पाएपछि कतै जानकारी नगराएबाट निजको जिकिर पुष्टि नभएको एवं उमा परियारले निजलाई किटानी गरी जाहेरी, बयान एवं सनाखत गरिदिएबाट निजले वेश्यावृत्तिमा लगाउने उद्देश्यले वर्ष १६ की उमा परियारलाई नेपालको भारत दिल्लीसम्म पुर्‍याएको पुष्टि भएको एवं विन्दु वादी (कार्की) ले उमा परियारलाई लिई वेश्यावृत्तिमा लगाउने उद्देश्यले नेपालगन्जबाट रूपैडिया हुँदै भारत दिल्लीसम्म गएको, सीमा पार गर्ने क्रममा स्थानीय प्रहरीलाई झुक्याई सीमा पार गर्न सहयोग पुर्‍याएको पुष्टि भएको र दुवैले उमा परियारलाई ब्युटीपार्लर वा घरेलु कामदारमा लगाउने उद्देश्य भए १ जना महिलालाई लिई ३ जना महिलाहरू जानुपर्ने औचित्यसमेत पुष्टि गर्न नसकेको हुँदा निज प्रतिवादीहरू लिला गुरूङ र विन्दु वादी (कार्की) ले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा (२) को खण्ड (ख) को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू लिला गुरूङ र विन्दु वादी (कार्की) लाई उक्त ऐनको दफा १५ को उपदफा (१) खण्ड (ङ) उपखण्ड (१) बमोजिम सजाय हुन मागदाबी लिई प्रतिवादी माया परियारले आफूले उमा परियारलाई ब्युटी पार्लरमा लगाई दिने उद्देश्यले भारत पठाएको भनी जिकिर लिएपनि उमा परियारले भारत टाढा भयोभन्दा जान उक्साएको, ज्ञानी वादीबाट मानिस खोजिदिएबापत भा.रू.५०००।- लिएको, १ जना मानिसलाई ३ जनाले लिई जाँदा बेचिन सक्ने कुरातर्फ ध्यान नपुर्‍याएको तथा गिता मिश्रले आफ्नो भाउजू नाताकी ज्ञानी वादीको कोठी रहेको थाहा पाई सो कोठीमा वेश्यावृत्तिमा लगाउने उद्देश्यले वर्ष १६ की उमा परियारलाई ब्युटीपार्लरमा जाने भनी फकाई माया परियारले मोतिपुर गा.वि.स.को ढोडेकोलबाट वनगाईसम्म ल्याई र गिता मिश्रले वनगाईबाट दाङको भालुवाङसम्म ल्याई ज्ञानी वादीसमेतलाई जिम्मा लगाई निज प्रतिवादीहरू गिता मिश्र र माया परियारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा (२) को खण्ड (ख) को कसुर गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू गिता मिश्र र माया परियारलाई उक्त ऐनको दफा १५ को उपदफा (१) खण्ड (ङ) उपखण्ड (२) बमोजिम सजाय हुन तथा विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू विना भन्ने ज्ञानी वादी, माया परियार, लिला गुरूङ, माष्टर्नी भन्ने गीता मिश्र र विन्दु वादी (कार्की) बाट पीडित उमा परियारलाई उक्त ऐनको दफा १७ बमोजिम मनासिव क्षतिपूर्ति दिलाई भराई पाउन माग दाबी भएको अभियोग पत्र ।

मैले जाहेरवालीलाई ब्युटी पार्लरमा काम लगाई दिन्छु भनी लगाएको होइन निज उमा परियारले लिला गुरूङसँग म पनि काम गर्न जान्छु भनी नचिनेका २ वटी आइमाईसँग गएका हुन् मैले बेच्ने काम गरेकी होइन । अरूले के गरे मलाई थाहा छैन । मैले उमा परियार र लिला गुरूङलाई चिन्दछु । माष्टर्नी भन्ने गिता मिश्र, विन्दु वादी कार्की, विना भन्ने ज्ञानी वादीलाई पहिलो पटक वनगाईमा एक पटक देखेको हो । लिला गुरूङले उमा परियारलाई पार्लरमा काम गर्न जाने हो भनि लिला गुरूङ, उताबाट आएका गीता मिश्र र नाम थाहा नभएको अर्को आइमाईसमेत भई पश्चिमतर्फ बुटवलतर्फबाट आएको सानो गाडीबाट गएका हुन अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेअनुसार लेखिएको होइन नपढीकन सहीछाप गराएका हुन् मैले कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी माया परियारले सुरू अदालतमा गरेको बयान । 

उमा परियार र माया परियार गाउँकै हुँदा चिन्दछु, अरूलाई चिन्दिन जाहेरी बेहोरा र बयान झुठा हो मैले उमा परियारलाई ललाई फकाई बेचबिखन गरेकी होइन रिसइबीले पोल गरेको हुनुपर्दछ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेअनुसार लेखिएको होइन मैले नभनेको कुराहरू लेखी नपढी नसुनाई सहीछाप गराएका हुन  मैले कसुर नगरेको हुँदा दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लिला गुरूङले सुरू अलदालतमा गरेको बयान ।

जाहेरी बेहोरा र निजको बयान झुठा हो । निजलाई मैले बेचबिखन गरेको होइन । म मानसिक बिरामी भएकिले मैले बुटवलबाट औषधी लिई फर्कंदा वनगाईबाट नचिनेका आइमाईहरू पनि चढेका थिए नेपालगन्ज जाने गाडी थियो म भालुवाङमा झरेकी हुँ मैले सहप्रतिवादीहरू कसैलाई पनि चिन्दिन । जाहेरी र बयानको विषयमा मलाई केही थाहा छैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेअनुसार लेखिएको होइन मैले नभनेको कुराहरू लेखी नपढी नसुनाई सहीछाप गराएका हुन मैले कसुर नगरेको हुँदा दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी माष्टर्नी भन्ने गिता मिश्रले सुरू अदालतमा गरेको बयान । 

जाहेरवालीलाई मैले चिन्दिन । जाहेरीमा उल्लिखित व्यक्तिहरू मेरो नाताका होइनन् । मेरो घरमा आएर बसेका होइनन । ज्ञानी वादीसँग मेरो कुनै नाता छैन । कैलाश भन्ने मेरो भाइ होइन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेअनुसार लेखिएको होइन । मैले नभनेको कुराहरू लेखी नपढी नसुनाई सहीछाप गराएका हुन् । मैले कसुर नगरेको हुँदा दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन । मउपरको अभियोग दाबी झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी विन्दु वादी कार्कीले सुरू अदालतमा गरेको बयान ।

प्रस्तुत मुद्दा पुर्पक्षको लागि कानूनबमोजिमको सिदा खान पाउने गरी अ.बं. ११८ नं. को देहाय दफा (२) बमोजिम थुनामा राख्न अ.वं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई निज प्रतिवादी लिला गुरूङ र प्रतिवादी विन्दु वादी कार्कीलाई कारागार कार्यालय कपिलवस्तुमा पठाइदिनू । अर्का प्रतिवादीहरू माष्टर्नी भन्ने गीता मिश्र र माया परियारलाई मुलुकी ऐन अ.बं. ११८ नं. को देहाय दफा (२) बमोजिम थुनामा राख्न अ.बं. १२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई जिल्ला कारागार कार्यालय कपिलवस्तुमा पठाई दिनु भनी सुरू अदालबाट आदेश भएको । 

प्रतिवादी विन्दु वादी कार्की र प्रतिवादी माष्टर्नी भन्ने गीता मिश्रलाई अ.बं.४७ नं. बमोजिम तारेखमा राखी मुद्दा पर्पक्ष गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६९।९।१९ को आदेश ।

मिति २०६९।७।२१ गतेको जाहेरीमा भएको सहीछाप मेरो हो । लिला गुरूङ र माया परियारले पहिलेदेखि मलाई मासिक २० हजार पाइन्छ भनी फकाई रहेका थिए । भारत जाउ भन्ने विना भन्ने ज्ञानी वादी र गिता वनगाई होटलमा आई रक्सी मासु खाई खुवाई माष्टर्नी भन्ने गीता मिश्रले दाङसम्म लगी लिला र विनाले नेपालगन्ज लगेका हुन् । बोडर सिमाना कटाइ इन्डियाको जि.वि. रोड होटलमा छोडी आफूहरू नेपाल फर्किएपछि एकवर्ष पछि नेपाली केटा मेरो कोठीमा वेश्यावृत्तिको लागि (यौनसम्पर्क गर्न) आएको बेला म रोएँ र मेरो सम्पूर्ण कहानी बताएपछि त्यसको दुइदिन पछि केटाको सहयोगमा भैरहवा हुँदै आई पिपरा प्रहरी चौकीमा उजुर गरेकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाली उमा परियारले सुरू अदालतमा गरेको बकपत्र । 

उमा परियार भारतबाट छुटेर आएपछि मलाई भारतमा वेश्यावृत्तिको लागि बेचेकोमा एकजना नेपाली दाइले कोठीबाट फुत्काएर ल्याउनु भएको भनेकी थिइन् भन्ने वादीका साक्षी वस्तुस्थिति मुचुल्काका विष्णु परियारले सुरू अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादी विन्दु कार्की घरायसी कामबाहेक बाहिरी काम नगर्ने भएकोले मानव बेचबिखनको मुद्दामा संलग्नता छैन । निज निर्दोष हुँदा सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्र. विन्दुको साक्षी शोमबहादुर वि.क.ले सुरू अदालतमा गरेको बकपत्र ।  

गीता मिश्र मिति २०६८ साल जाडो महिनामा बुटवलबाट औषधी गराई आउने क्रममा म पनि एउटै गाडीमा साथै थिएँ । प्युठान जानु पर्ने भएकोले दाङको भालुवाङमा झरी अर्को गाडीमा गएका हौं । निजको मानव बेचबिखन मुद्दामा कुनै संलग्ना छैन । निजको चालचलन राम्रो छ । सफाइ पाउनु पर्छ भन्ने बेहोराको प्रतिवादी गीता मिश्रको साक्षी दधिराम भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

माया परियार आफ्नो गाउँ घरमा लेवर काम गरी बालबच्चा हेरि बसेकिछिन् । निजले कुनै गलत काम नगरेकीले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्ने बेहोराको प्रतिवादी माया परियारको साक्षी सरस्वती दर्जीले सुरू अदालतमा गरेको बकपत्र ।

लिला गुरूङ घरमा काम गर्ने र मलाई मिलमा सहयोग गर्थिन् । मुद्दाका बारेमा मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी लिला गुरूङको साक्षी प्रेमबहादुर गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी लिला गुरूङलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५(१) खण्ड (क)(१) बमोजिम १२ (बाह्र) वर्ष कैद र रू.६०,०००।- साठी हजार जरिवाना प्रतिवादीमध्येका माया परियार जसले जाहेरवालीलाई ब्युटीपार्लरमा काम लगाई दिने बहानामा भारत पुर्‍याउने कार्यमा एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्य गरेकाले यी प्रतिवादी माया परियारलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ को (१)ङ(२) बमोजिम १० वर्ष कैद सजाय हुने रू.५०,०००।- (पचास हजार) जरिवाना हुने र प्रतिवादीहरूलाई भएको जरिवानाको ५० प्रतिशत बराबरको रकम प्रतिवादीद्वयबाट जाहेरवालीलाई भराई दिनेसमेत ठहर्छ भन्ने सुरू कपिलवस्तुमा जिल्ला अदालतबाट मिति २०७१।८।२९ मा भएको फैसला । 

सुरू अदालतबाट भएको फैसलामा चित्त बुझेन । प्रतिवादीहरू दुवैजना अदालतसमक्ष बयान गर्दा इन्कारी भए तापनि मौकाको बयानमा पीडितलाई भारत पुर्‍याउन आफूहरूको भूमिका स्पष्ट झल्किने गरी बयान गरेको र सो बयानलाई अन्यथा प्रमाणित गर्ने प्रमाण यी प्रतिवादीहरूले गुजार्न सकेको नदेखिँदा मौकाको बयानलाई आधार नलिई गरेको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी गिता मिश्रलाई बाँकी प्रतिवादीहरूले मौकाको बयानमा वनगाई भन्ने स्थानमा पीडितसँग भेट भई सँगै लिई गएकी र पीडितलाई अन्य प्रतिवादीहरूको जिम्मा लगाई आफू दाङ झरेको भनी लेखाई दिएको र प्रतिवादी विन्दु कार्कीले मौकाको बयानमा ज्ञानी वादीसहित निजको डेरामा बास बसी भोलिपल्ट रूपैडिया हुँदै पीडितलाई दिल्ली पुर्‍याई ज्ञानी वादीको घरमा २ दिन बसेर लिला गुरूङ र ज्ञानी वादीको सासुसहित नेपाल फर्किएको पीडितलाई त्यही छाडी आएको भनी बयान गरेकोले निजको भूमिका प्रस्ट भइरहेको अवस्थालाई बेवास्ता गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

 मेरो बिक्री गर्ने गलत मनसाय र आशय नभएको, विनाले मेरो घरमा मान्छे चाहिएको छ ल्याउनुस् भनी मैले नै मगाएकी हुँ भनी बयानमा भनेकी छु । गिता मिश्रको बयान हेरिएमा पनि उमा परियारले काम गर्ने इच्छा गरेकी, माया परियारले समेत यिनलाई जागिर लगाइदिन पर्‍यो भनेको हुँदा मैले भाउजु ज्ञानी वादीले भारतमा ब्युटीपार्लर खोलेकी छन् त्यही काम गर भनेकोमा लिला र उमाले त्यति टाढा हुँदैन भनेका 

थिए । मायाले टाढा भए तापनि काम सिकी नेपालमै गर्नुपर्छ भनेपछि निजहरूसमेत राजी भएको हुँदा यसमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्ध नभएको तथ्य स्थापित भएको छ । हामीहरू सबैको बयान हेरिएमा समेत कुनै योजना सम्बन्धमा कुरा नभएको पुष्टि हुन्छ । ज्ञानी वादीबाट भएको अकल्पनीय दुर्घटना हामीले गराएको नभई विना भन्ने ज्ञानी वादी फरार भएकै कारणले उनी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पूर्ण दोषी छन् । यसरी घटेको घटनालाई आधार मानेर सुरू अदालतबाट मलाई १२ वर्ष कैद र रू. ६०,०००।- जरिवाना तथा ५० प्रतिशत क्षतिपूर्ति पीडितलाई भराउने भनी गरेको फैसला कानूनअनुरूप नहुँदा उल्टी हुनुपर्छ भन्ने पुनरावेदक लिला गुरूङको पुनरावेदन जिकिर । 

मैले पीडितलाई ब्युटी पार्लरमा काममा लगाउने उद्देश्य मात्र लिएको हो । यी पीडितलाई वेश्यावृत्तिका लागि बेच्न अन्य प्रतिवादीहरूसँगै पूर्वजानकारी लिने सल्लाह योजना गरेको कहीँकतैबाट देखिँदैन । अन्य सहप्रतिवादीको बयानसमेतबाट बिक्री गर्ने उद्देश्य कहीँकतैबाट देखिँदैन । व्यक्तिलाई छुटाई लगेको, व्यक्तिबाट छुटाई आफूसँग राखेको आफ्नो नियन्त्रणमा राखेको व्यक्तिबाट छुटाई कुनै स्थानमा राखेमा एक ठाउँबाट अर्को ठाउँमा राखेमा व्यक्तिबाट छुट्टाई कुनै स्थानमा राखेमा व्यक्तिबाट छुट्टाई विदेश लगेमा स्थान वा व्यक्तिबाट छुट्टाई कसैलाई दिएमा भन्ने जस्ता परिभाषाहरू यथावत् छत् भने पनि विषय वस्तुसँग मिलान भएको स्थिति छैन तथ्यसङ्गत छैन । यसरी अभियोग माग दाबीअनुसारको सजाय तथ्यगत तहबाट हेर्दा मलाई सुरू अदालतले गरेको फैसला कानूनअनुरूप नहुँदा सुरू फैसला उल्टी हुनुपर्दछ भन्ने पुनरावेदक प्रतिवादी माया परियारको पुनरावेदक जिकिर ।

प्रतिवादी लिला गुरूङलाई मानव बेचबिखन ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) खण्ड (क)(१) बमोजिम १२ (बाह्र) वर्ष कैद र रू. ६०,०००।- (साठी हजार) जरिवाना हुने र अर्को पुनरावेदक प्रतिवादी माया परियारलाई उक्त ऐनको दफा १५ को (१)(ङ)(२) बमोजिम १० वर्ष कैद तथा प्रतिवादीद्वयलाई भएको जरिवानाको रू.५०।- प्रतिशत बराबरको रकम प्रतिवादीहरूबाट जाहेरवालीलाई भराई दिने साथै प्रतिवादीहरू माष्टर्नी भन्ने गीता मिश्र र विन्दु वादी (कार्की) लाई अभियोग दाबीबाट सफाइ दिने ठहराई सुरू कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलालाई अन्यथा मान्न मिलेन । तसर्थ, सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७१।८।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत बुटवलको मिति २०७२।२।१९ मा भएको फैसला ।

हामी पुनरावेदक प्रतिवादी माया परियार र लिला गुरूङले अनुसन्धान अधिकारी र अदालतसमक्ष कसुरमा इन्कारी रही बयान गरेका छौं र अन्य सहप्रतिवादी विन्दु वादी कार्की र गिता मिश्राले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा ज्ञानी वादीले माया परियारलाई अ. पाँच हजार भा.रू. दिएको र हामी नेपाल फर्केपछि ज्ञानी वादीले जाहेरवालीलाई वेश्यावृत्तिमा लगाएको हो भनेर बयान गरे तापनि अदालतमा आई बयान गर्दा उक्त अनुसन्धान अधिकारीसमक्ष भएको बयान हामीलाई पढी बाची नसुनाई जबरजस्ती सहीछाप गराएको हो भनेर बयान गरेकाबाट सो बयान प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रमाण लाग्ने होइन । वादीको साक्षी विष्णु परियारबाहेक अन्य साक्षीहरू अदालतमा आई बकपत्र नगरेको । 

हामीले जाहेरवालीलाई जागिरसम्म लगाई दिने उद्देश्यले भारत पठाएको हो । भारतमा निजलाई अन्य व्यक्तिले वेश्यावृत्तिमा लगाउँछ भने त्यसमा हाम्रो के कसुर, हामीले निजलाई कति रूपैयाँमा कसलाई बेचेको वा निजलाई वेश्यावृत्तिमा लगाएबापत हामीले के कुन बेहोराको फाइदा नाफा पायौं वा निजलाई वेश्यागमन गराएबापत हामीले के प्राप्त गर्यौं सो कुरा कहीँकतैबाट खुल्न सकेको छैन । हाम्रा साक्षी सरस्वती दर्जी र प्रेमबहादुर गुरूङले निजहरू लेवर मजदुरी गर्ने व्यक्ति भएको र कुनै गलत काम नगरेको हुँदा अभियोगबाट सफाइ पाउनु पर्छ भनी बकपत्र गरिदिएकोसमेतका आधार प्रमाणबाट हामी निर्दोष हुँदा हुँदै म माया परियारलाई १० वर्ष कैद र पचास हजार जरिवाना तथा म लिला गुरूङलाई १२ वर्ष कैद र रू. पचास हजार जरिवाना तथा जरिवानाको ५०% क्षतिपूर्ति दिलाउने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिलाई इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीद्वय माया परियार र लिला गुरूङको यस अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

प्रतिवादी माष्टर्नी भन्ने गीता मिश्रसमेतले भारतको कोटला शहरमा ब्युटीपार्लरमा काम लगाई दिन्छु भनी नेपालगन्जको रूपैडिया हुँदै दिल्ली लगी वेश्यालयमा लगी बेचिदिएको भनी पीडितले यी प्रतिवादीसमेतलाई पोल गरी जाहेरी दिएको र प्रमाणित बयानसमेत भएको । प्रतिवादी माया परियारले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूले पीडितलाई माष्टर्नीसमेतका व्यक्तिहरूको जिम्मा लगाइदिएको भनेकी तथा प्रतिवादी लिला गुरूङको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट समेत यी प्रतिवादी गीता मिश्रको संलग्नता रहेको भन्ने देखिएको, यी प्रतिवादीहरूसमेतको मिलोमतोमा ललाई फकाई गरी इन्डिया लगी कोटलाको कोठीमा लगी छाडेको भनी पीडितले गरेको बकपत्रसमेतका मिसिल संलग्न कागज प्रमाणबाट यी प्रतिवादीहरूसमेतको मिलोमतोमा पीडितलाई बिक्री गरेको पुष्टि हुँदाहुँदै सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । प्रतिवादीमध्यका ज्ञानी वादीले पीडितलाई फकाई ब्युटिपार्लरमा काम लगाई दिने बहाना बनाई लिला गुरूङ, गीता मिश्रसमेतसँग भेट गराई कुराकानी मिलाई दिई आफूलाई सुम्पिएको कार्य सम्पन्न गरी पाउने आर्थिक लाभ प्राप्त गरी फर्केकी र त्यसपछि लिला गुरूङ र गीता श्रेष्ठ ज्ञानी वादी भई पीडितलाई नेपालगन्ज लान गाडीमा हाली लगेका र बाटोमा गीता मिश्रले अन्य प्रतिवादीहरूको साथ यी पीडितलाई लगाई आफ्नो कार्य सम्पन्न गरी घर गएको अन्य प्रतिवादीहरूले पीडितलाई संगठित अपराधको चरणबद्ध कार्य पूरा भएको मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि हुँदाहुँदै यी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी सुरू अभियोग मागदाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी माया परियार र लिला गुरूङले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिएको, अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको अदालतसमक्ष बकपत्र नभई निजहरूको भनाइ प्रमाणयोग्य नहुनेमा निजहरूको भनाइसमेतलाई प्रमाणमा लिई प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७२।२।१९ मा भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७३।११।१० मा भएको आदेश ।

यसमा नेपाल सरकारको तर्फबाट मिति २०७२/०९/२३ मा प्रतिवादी मास्टर्नी भन्ने गीता मिश्र र विन्दु कार्कीको विरूद्धमा पुनरावेदन परेको भनी नेपाल सरकारको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री विश्वराम कोइरालाले जानकारी गराउनुभएको हुँदा सो सम्बन्धमा के भएको छ । यकिन गरी नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७५।१।१० मा भएको आदेश ।

यसमा यसै लगाउको ०७२-CR-०४२९ पुनरावेदक प्रतिवादी माया परियारसमेत विरूद्ध विपक्षी वादी नेपाल सरकार भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मिति २०७३।११।१०।३ मा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दासमेत उक्त मुद्दासँग अन्तरप्रभावी रहेको हुँदा प्रस्तुत मुद्दामा पनि मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई उक्त लगाउको मुद्दा साथै राखी नियमानुसार गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७५।७।१२ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्यायले प्रतिवादीद्वय गीता मिश्र र विन्दु वादी (कार्की) लाई सुरू जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलबाट सफाइ दिने ठहर गरी गरेको फैसला सो हदसम्म नमिलेकाले सो हदसम्म उल्टी गरी प्रतिवादी गिता मिश्र विन्दु वादी कार्कीलाई पनि सुरू अभियोग माग दाबीबमोजिम कसुर कायम गरी सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । पुनरावेदक प्रतिवादीहरू माया परियार र लीला गुरूङको तर्फबाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद सापकोटा र विद्वान् अधिवक्ता श्री मुकुन्द न्यौपानेले सुरू कपिलवस्तु जिल्ला अदालतले प्रतिवादी माया परियार र लिला गुरूङको हकमा अभियोग माग दाबीबमोजिको कसुर कायम गरी सजाय गर्ने ठहर गरेको फैसलालाई पुनरावेदन अदालत बुटवलले सदर गर्दा यी प्रतिवादीहरूको अदालतमा गरेको स्वतन्त्र बयानलाई बेवास्ता गरी अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा लिएको 

छ । जुन कुरा प्रमाण ऐन, २०३१ को दफा ९ ले गम्भिीर त्रुटिपूर्ण छ । वस्तुस्थिति मुचुल्काका मानिसहरू पदम भुसालसमेतले किटान गरी लेखाउन नसकी अनुमान र शंकासम्म व्यक्त गरी लेखाएका छन् । वादीका साक्षी विष्‍णु परियारदेखि बाहेक अन्य साक्षीहरूले अदालतमा बकपत्र गरी मौकाको कागज बेहोरालाई पुष्‍टाईं गर्न सकेको अवस्था छैन । कहाँ कोसँग वेश्‍यावृत्ति 

गराइयो । के कति रूपैयाँ लेनदेन भयो सोसमेत कहीँकतै नखुलेको अवस्थामा यी प्रतिवादीहरू निर्दोष हुँदाहुँदै अभियोग माग दाबीबमोजिम कसुरदार कायम ठहर गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला पुनरावेदन अदालत बुटवलबाट सदर गरेको नमिलेको हुँदा उल्टी भई सुरू अभियोग माग दाबीबाट प्रतिवादी माया परियार र लिला गुरूङले सफाइ पाउनुपर्छ भनी र अर्का प्रतिवादी गिता मिश्रका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री कमलेश दिवेदी र श्री श्यामकुमार श्रेष्‍ठले प्रतिवादी गिता मिश्रका हकमा सुरू कपिलवस्तु जिल्ला अदालतले अभियोग मागबमोजिमको कसुरमा सफाइ दिने ठहर गरी गरेको फैसलालाई सदर गर्ने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिम दुवै पक्षको कानून व्यवसायीहरूको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।८।२९ को फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७२।२।१९ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, 

सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को विपरीत कसुर कार्य गरेकाले उक्त ऐनअनुसार सजाय गरी मनासिब क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्‍नेसमेतको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू कपिलवस्तु जिल्ला अदालतबाट लिला गुरूङ्गलाई १२ (बाह्र) वर्ष कैद र रू. ६०,०००।- जरिवाना प्रतिवादी माया परियारलाई १० (दश) वर्ष कैद र रू. ५०,०००।- जरिवाना हुने तथा प्रतिवादी दुवै जनालाई भएको जरिवानाको ५०% बराबरको रकम जाहेरवालीलाई भराइदिने ठहर्नुका साथै प्रतिवादी गीता मिश्र विन्दु वादी (कार्की) ले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍ने मिति २०७१।८।२९ को फैसला मिलेकै हुँदा सदर हुने ठहर गरी मिति २०७२।२।१९ गते पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू माया परियार र लिला गुरूङको र प्रतिवादीहरू गीता मिश्र र विन्दु वादी (कार्की) ले अभियोग माग दाबीको कसुरमा सफाइ पाउने ठहरेको हदसम्मको उक्त फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको 

देखियो ।

२. सर्वप्रथम पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादीहरूमध्ये विन्दु वादी र माष्टर्नी भन्‍ने गीता मिश्रलाई अभियोग माग दाबीबमोजिमको कसुरमा सजाय हुनुपर्छ भन्ने जिकिर रहेको देखियो । निजहरूमध्ये विन्दु वादीका हकमा पीडित उमा परियारलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले नेपालगन्जबाट प्रहरीलाई झुक्याई सीमापार गराई रूपैडियाबाट दिल्लीसम्म पुर्‍याएको भनी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा १५(१)(ङ)(१) बमोजिम सजाय मागदाबी गरिएको छ भन्ने प्रतिवादीमध्येका गीता मिश्रलाई निजको भाउजु नाताको ज्ञानी वादीको भारतमा कोठी छ भन्ने थाहा हुँदाहुँदै वेश्यावृत्ति गराउने उद्देश्यले उमा परियारलाई ब्युटीपार्लरमा काम मिलाई दिने भनी फकाई माया परियारले वनगाईसम्म ल्याइदिएपछि वनगाईबाट भालुवाङसम्म पुर्‍याई ज्ञानी वादीसमेतको जिम्मा लगाई दिएको भनी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा १५(१)(ङ)(१) बमोजिम सजाय मागदाबी गरी अभियोग परेकोबाट यी २ प्रतिवादीहरूलाई एउटै कसुरमा फरक सजायको मागदाबी परेको देखियो । मानव बेचबिखन ऐन, २०६४ को दफा १५ को उपदफा १ (ङ) को १ मा विदेश लैजानेलाई  “दश वर्षदेखि १५ वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बिस वर्षसम्म कैद र एक लाख रूपैँयादेखि दुई लाख रूपैयाँसम्म जरिवाना” हुने भन्नेका साथै ऐ. ऐनको ऐ. दफाको उपदफा २ मा “नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना” हुने भन्ने व्यवस्था भएको देखिन्छ ।

३. यी प्रत्यर्थी प्रतिवादीहरू विरूद्ध उजुर गर्ने क्रममा पीडित जाहेरवाला उमा परियारले आफूलाई माया परियारले ब्युटीपार्लरमा काम गर्ने भनी फकाई वनगाईसम्म ल्याई लिला गुरूङ र विना भन्ने महिलाको जिम्मा लगाएको, त्यसपछि ३ जना महिलाहरूले वनगाईबाट नेपालगन्ज हुँदै दिल्ली पुर्‍याई विनाको घरमा ४ दिन राखी जि.बि. रोडस्थित वेश्यालयमा बेचेको भनी जाहेरी दिएकी छिन् भने प्रमाणित बयानमा ३ जना दिदीहरूसँग नेपालगन्जको माइक्रोबसबाट गएकोमा दाङ पुगेपछि माष्टर्नी झरेको र आफूहरू ३ जना विना भाउजूको घर नेपालगन्जमा बसी अर्को दिन बिहान विना, लिला र आफू दिल्ली पुगी विनाको घरमा बसेको र विनाले आफूलाई वेश्यावृत्तिमा लगाएको भनी लेखाएको पाइयो । निजले अदालतमा बकपत्र गर्दा आफ्नो जाहेरी र प्रमाणित बयानलाई समर्थन गर्दै आफूलाई लिला परियार र माया परियारले मासिक २० हजार पाइन्छ भनी फकाएको, विना भन्ने ज्ञानी वादी र गीता बनगाई होटेलमा रक्सी मासु खाई खुवाई माष्टर्नी भन्ने गीता मिश्रले दाङसम्म लगी लिला र विनाले नेपालगन्ज लगेको भनेकी छिन् । निजको भनाइबाट समेत प्रत्यर्थी गीता मिश्रसँग निजको पूर्वचिनजान नभएको, वनगाईको होटलमा मात्र भेट भई त्यहाँबाट नेपालगन्जको गाडीमा सँगै बसी गएकोमा निज गीता मिश्र भालुवाङ झरेको भन्ने देखिन्छ भने विन्दु कार्कीको घर नेपालगन्जमा १ रात बसेको भन्नेसम्म उल्लेख गरी सँगै भारत गएको भन्न सकेको पाइएन ।

४. प्रत्यर्थी प्रतिवादी गीता मिश्रले मौकामा बयान गर्दा उमा परियारले काम गर्न इच्छा गरेकोले भाउजूको भारतमा भएको ब्युटीपार्लरमा काम गरे हुन्छ भनी सल्लाह गरी भारत जान हिँड्दा भाउजूले एक्लै जान सक्छु भनेको हुँदा आफू भालुवाङ झरेको भनी आरोपित कसुरमा इन्कार रहेकी छिन् भने अदालतमा बयान गर्दा सह-प्रतिवादीहरूलाई समेत नचिनेको भनी कसुरमा इन्कार रहेको पाइयो । यसरी निज प्रतिवादी माष्टर्नी भन्ने गीता मिश्र र पीडित जाहेरवाली एउटै गाडीमा चढी कपिलवस्तुको वनगाईदेखि दाङको भालुवाङसम्म गएकोसम्ममा विवाद नदेखिए पनि निजहरूको बिच के कस्तो सल्लाह भएको के उद्देश्यले लगेको भन्ने स्पष्ट खुलेको पाइँदैन । जाहेरवालीसमेत यी प्रतिवादीले के कस्तो मत सल्लाहमा परी कस्तो लाभ हानि प्राप्‍त गरी निज जाहेरवालीलाई बेचबिखन गर्ने कार्य गरेकी हुन् स्पष्ट खुलाउन सकेकी छैनन् । त्यस्तै अन्य सहप्रतिवादीहरूले पनि यी प्रतिवादीको कसुरमा संलग्नता सम्बन्धमा स्पष्ट पोल गर्न सकेको अवस्था देखिँदैन । 

५. प्रतिवादीमध्येकै विन्दु वादी (कार्की) का हकमा विचार गर्दा यी उपर जाहेरवालीको स्पष्ट पोल उजुरी रहेको पाइँदैन । यी प्रतिवादीले मौकाको बयानमा ज्ञनी वादी र नचिनेका २ जना आफ्नो डेरामा आई बसी आफूसमेत दिल्ली जान रूपैडिया पुग्दा प्रहरीले सोधपुछ गरेको, पारी बजार जाने भनेपछि जान दिएको, दिल्लीमा ज्ञानी वादीको घरमा २ दिन बसी आफू फर्केको भनी आरोपित कसुरमा इन्कार रहेकी छिन् भने अदालतसमक्ष पनि कसुरमा इन्कार रही कसैलाई नचिनेको भनी बयान गरेकी छन् मिसिल संलग्‍न अन्य प्रमाण कागजातबाट समेत यी पीडितलाई बेचबिखन गर्ने गराउने कार्यमा मतसल्लाहमा परेको वा स्पष्ट भूमिमा रहेको आधिकारिक रूपमा पुष्टि हुन सकेको अवस्था देखिँदैन । यस्तो अवस्थामा स्पष्ट,ठोस र खम्बिर प्रमाणबेगर मानव बेचबिखन जस्तो गम्भीर अपराध यी प्रतिवादी माष्टर्नी भन्‍ने गीता मिश्र विन्दु वादी (कार्की) ले आरोपित कसुर गरेको भन्‍ने ठहर गर्न न्यायोचित नहुने हुँदा निजहरूले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्‍याएको हदसम्म सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।८।२९ को फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको मिति २०७२।२।१९ को फैसला मिलेकै देखियो ।

६. अब पुनरावेदक प्रतिवादीहरू माया परियार र लिला गुरूङ्गको पुनरावेदन जिकिरका हकमा विचार गर्दा यी पुनरावेदक प्रतिवादी माया परियारका उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा १५(१)(ङ)(२) बमोजिम र पुनरावेदक प्रतिवादी लिला गुरूङउपर सोही दफाबमोजिम कसुरमा दफा १५(१)(ङ)(१) बमोजिम सजाय मागदाबी गरी अभियोगपत्र परेको देखिन्छ । पीडित जाहेरवालीले जाहेरी दिँदा निज माया परियारले ललाई फकाई ब्युटीपार्लरमा काम लगाई दिन्छु भनी कपिलवस्तु जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ३ वनगाईसम्म पुर्‍याई दिएको भन्ने बेहोरा लेखाएको देखिन्छ । सोही बेहोरा निजको प्रमाणित बयानमा र अदालतसमक्षको बकपत्रमा समेत लेखाइदिएको पाइन्छ । निज प्रतिवादी माया परियारले निज जाहेरवालीलाई के-कस्तो बेहोराले ललाई फकाई गरेको, सोबापत निजले के कस्तो लाभ प्राप्त गर्‍यो भन्ने निजको जाहेरीलगायत बकपत्रबाट समेत 

खुल्दैन । माया परियारले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दासमेत आरोपित कसुरमा इन्कार रही उमा परियारले काम खोजीदेउ भनेको र लिला गुरूङले ब्युटीपार्लरमा काम गर्ने मानिस चाहिएको भनेकोले कुरा गरी सहमत भएकोले लिलाले भनेबमोजिम बनगाईसम्म पुर्‍याइदिएको भनी बयान गरेकी छिन् भने अदालतमा पनि उमा परियार लिला गुरूङसँग काम गर्न जाने भनेर गएकी हुन् र आफूले बेच्न लगेको होइन भनी इन्कारी बयान गरेकी छिन् । उनका साक्षी सरस्वती दर्जीले बकपत्र गर्दा यिनले आरोपित कसुरको कार्य गरेकी होइनन् भनी लेखाएको पाइन्छ । यी प्रतिवादीले निज जाहेरवालीलाई भारतको दिल्लीसमेत लिई गएको पनि कहीँकतैबाट देखिँदैन । अन्य सहप्रतिवादीहरूको बयानबाट समेत आरोपित कसुरमा यिनको प्रस्ट भूमिका खुल्न सकेको पाइँदैन ।

७. त्यसैगरी अर्को प्रतिवादी लीला गुरूङका हकमा पनि उपर्युक्तानुसारकै बेहोरा भई माया परियारले निज जाहेरवालीलाई ब्युटीपार्लरको काममा लगाई दिने भनी लिला गुरूङलाई भेटाई दिएपछि निज लिला गुरूङसमेत भई दिल्ली लगेको भन्ने जाहेरी प्रमाणित बयान र पीडितको बकपत्र रहेको छ । पुनरावेदक प्रतिवादी लिला गुरूङले निजलाई नेपालगन्ज-रूपैडिया हुँदै भारतको दिल्लीसम्म विना भन्‍ने ज्ञानी वादी जाहेरवाली र आफू भई गएको र ज्ञानी वादीको घरमा बसी आफू फर्की आएकोमा पछि ज्ञानी वादीले उनलाई वेश्‍यावृत्तिमा लगाएको भन्‍ने थाहा पाएको हुँ भनी आफ्नो बयानमा लेखाएकी छिन् । जाहेरवालीले पनि अपराध कसुरमा यिनको कहाँकहाँ के-कस्तो भूमिका रह्यो, सो कसुर गरेबापत के कस्तो लाभ यिनले प्राप्त गरिन् सोसमेत खुलाएको देखिँदैन । यी जाहेरवालीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा कोठीवाली विना उसको पंजावी लोग्‍ने र अरू ३ जना केटी भई इन्डिया गेट घुम्न जाने क्रममा पिसाब लागेको बाहना गरी भागी नेपाली केटोको सम्पर्कमा गई नेपाल आएकी हुँ भनेकी छन् भने अदालतसमक्ष भएको निजको बकपत्रमा नेपाली केटोको सहयोगमा छतबाट उद्धार भएको हो भनी लेखाएबाट निजको बेहोरा नै विरोधाभाषपूर्ण देखिएको छ । साथै आफूलाई उद्धार गर्ने भनेका नेपाली केटाको परिचयसमेत खुलाउन सकेको पाइएन । वादी पक्षका अन्य साक्षीहरूले पनि निजै जाहेरवालाको कुरा सुनेकै भरमा बकपत्र गरेको देखिएबाट त्यस्तो विवादास्पद जाहेरी बेहोरा जाहेरवालाको बकपत्र र निजले भनेकाले सुनी थाहा पाएको हो भन्‍ने साक्षी भनाइका आधारबाट मात्र मानव बेचबिखन जस्तो गम्भीर अपराधमा दोषी ठहर गर्नु न्याय र कानूनसङ्गत हुँदैन ।

८. तसर्थ, माथि उल्लिखित विवेचित आधार कारणबाट प्रतिवादी माया परियार र लिला गुरूङले जाहेरवालीलाई बेचबिखनसमेतको उद्देश्यले लगेको भन्ने पुष्टि हुने ठोस स्पष्ट प्रमाण वादी पक्षबाट पुर्‍याउन नसकेको अवस्थामा अभियोग मागदाबीबमोजिम कसुर कायम गरी सजाय गर्ने ठहर गरेको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।८।२९ को फैसला सदर गर्ने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट भएको मिति २०७२।२।१९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी माया परियार र लिला गुरूङले अभियोग माग दाबीबमोजिमको आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । प्रत्यर्थी प्रतिवादीहरू गीता मिश्र र विन्दु कार्कीलाई पनि अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू माया परियार र लिला गुरूङले अभियोग मागदाबीबाट सफाइ पाउने ठहरी फैसला भएको र यस अदालतको मिति २०७७/३/३० मा भएको संक्षिप्त आदेशानुसार थुनामुक्त गर्न लेखी पठाई सकेकोले थप केही गरिरहन परेन । सुरू कपिलवस्तु जिल्ला अदालतका फैसलाले कायम गरिएको निज प्रतिवादी माया परियारका नाममा रहेको १० (दश) वर्ष कैद र ५०,०००।- जरिवानाको लगत साथै प्रतिवादी लिला गुरूङका नाममा रहेको १२ (बाह्र) वर्ष कैद र ६०,०००।– जरिवानाको लगत कट्टा गरिदिनु भनी सुरू कपिलवस्तु जिल्ला अदालतलाई लेखी पठाइदिनू ..............................................१

फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू .....................................................१

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- विरेन्द्र मल्ल

इति संवत् २०७७ साल असार २९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु