शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६५३ - परमादेश

भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

आदेश मिति : २०७८।१।९

०६८-WO-०३०८

 

मुद्दा : परमादेश

 

निवेदक : श्री चित्तरञ्‍जन चौधरीको छोरा जिल्ला महोत्तरी जलेश्‍वर न.पा. वडा नं. ११ खैरा बस्ने वर्ष ५३ को इन्जिनियर, अधिवक्ता तथा छात्र दिनेश चौधरी

विरूद्ध

विपक्षी : श्री क्याम्पस प्रमुख तथा परीक्षा समितिका अध्यक्ष विश्‍व भाषा क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंसमेत

 

परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूको उत्तरपुस्तिका हेर्न दिनु भनी परमादेशको माग गरेको अवस्थामा संविधानप्रदत्त सूचनाको हक आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको  सूचना माग्ने र पाउने हक हो । सार्वजनिक महत्त्वको नदेखिएको परीक्षाको उत्तरपुस्तिका जस्तो व्यक्ति सरोकारको विषयमा अन्य परीक्षार्थीको समेत उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्ने माग सूचनाको हकको अवधारणा अनुकूल नदेखिने ।

(प्रकरण नं.७)

 

निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री दिनेश चौधरी

विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री लोकराज पराजुली

अवलम्बित नजिर :

सम्बद्ध कानून :

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९

अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५

 

आदेश

न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अनुसार दर्ता भई नियम बमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य एवं आदेश यसप्रकार छ:-

 

रिट निवेदनको बेहोरा

म रिट निवेदक Civil Engineering (B.E), L.L.B र Diploma in Computer Engineering शिक्षा हासिल गरी हाल विश्‍वभाषा क्याम्पसमा English Writing को Advanced Level को प्रथम सेमेष्टर उत्तीर्ण भई द्वितीय सेमेष्टरको नियमित विद्यार्थी हुँ । शिक्षाको क्रममा भगवान् बुद्धद्वारा उपदेशित शीलहरूको आधारमा अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित परियति शिक्षासमेत ग्रहण गरी यसको कोविद स्तरको विद्यार्थी पनि हुँ । 

अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो । यही भाषा सिक्ने क्रममा मैले थोरै भए पनि अङ्ग्रेजी शिक्षा 

सिकेँ । सत्यार्जन गर्नको लागि गुणस्तर शिक्षा अनिवार्य मानिन्छ । शिक्षाले व्यक्तिको नैतिकता, सदाचारको उत्थान गरिनुपर्छ र क्याम्पसले विषयवस्तुको ठिक ढङ्गले अध्ययन गराउनु, परीक्षा दिलाउनु र सही तरिकाले विधिसम्मत रूपमा परीक्षाफल प्रकाशित गर्नुपर्छ । आफूले सही उत्तर नदिई उत्कृष्ट अङ्कको आश गर्नु पाप हो भने सही उत्तर लेखेर कम अङ्क प्राप्त गर्नु र चुपचाप बस्नु महापाप हो । यस्ता क्रियाकलापले परीक्षकको मनोबल बढी उत्कृष्ट र असल विद्यार्थीको लोप हुने सम्भावना हुन्छ ।

 मैले अङ्ग्रेजी सिक्न, जान्न अथक प्रयास गरेँ । विभिन्न पुस्तक र गुरूवर्गको direction लाई अनुशरण गरी प्रथम Semester राम्रो अङ्क प्राप्त गरी उत्तीर्ण गरेँ । 

जब दोस्रो (अन्तिम) Semester को कक्षा लिन पहिलो दिन क्याम्पस जाँदा अरू सबै भाषाका कक्षाहरू भइरहेको थियो तर हाम्रो कक्षा नभएकाले सोको पर्खाइमा बसेँ । धेरै समय पर्खंदा पनि कक्षा सञ्चालन नभएपछि हामीहरू Department Head (Mr. Bamdev Sharma) सँग भेट गर्‍यौं । आफ्नो समस्या भनेपछि वहाँले Class Teacher (Mr. Ganesh Baral) सँग भेट गराइदिनु भयो । Class Teacher ले Next Monday देखि कक्षा हुने जवाफ दिए पनि तोकिएको समयमा भएन । भोलिपल्ट बिहानै Campus Chief (Mr. Yadav Pant) सरसँग गुनासो गरेपछि Class Teacher लाई बोलाएर तनाब र सङ्घर्षका बिच कक्षा सुचारू भयो ।

 February 22, Tuesday, 2011 मा Class Teacher Mr. Ganesh Baral सरले class लिनुभयो वहाँले conjunction बारेमा पढाउनु भयो । Conjunction दुई प्रकार छन् - Co-ordinating and sub-ordinating. Co-ordinating Conjunction मा जम्मा पाँचवटा words- And, but, or, nor, yet यी पाँच वटा word बाहेक अरू शब्दहरू Sub-ordinating conjunction हुन् । म घर आएँ । मैले J.C. Nesfield English Grammar पढे त्यसमा conjunction दुई प्रकारका हुन्छ । Co-ordinating and sub-ordinating, coordinating conjunction चार किसिमका हुन्छन् ।

Cumulative: and, both... and, also, too, as well as, no less than, not te only...but also, now, well. 

Alternative: Either.... or, neither.... nor, otherwise, else, or 

 Adversative: But, still, yet, nevertheless, however, whereas, while, only. 

Illative: Therefore, then, so, so then, for 

सरद्वारा पढाएको coordinating conjunction पाँच वटा words मात्रै थियो । तर J.C. Nesfield तथा अन्य Grammar समेतमा पाँच वटाभन्दा बढी words हरू coordinating conjunction को रूपमा रहेको थियो । अर्को दिन मैले class teacher Mr. Ganesh Baral सरसँग अनुरोध गरेँ, Coordinating conjunction हरू धेरै हुँदो रहेछ तर सरले पाँचवटा मात्र भन्नुभो के हो भन्दा रिसाएर भन्नुभो J.C. Nesfield पुरानो किताब हो । म पनि किताब देखाउन सक्छु । मलाई यस्तो बेइज्जत आजसम्म कसैले गरेन भन्दै कक्षा छाडेर जान थाल्नुभयो । केही साथीहरूले बोलाएर 

बसाल्नुभयो । म अचम्मित थिएँ । मैले सोधेको प्रश्‍नले कक्षालाई disturb भएको हो भने अबदेखि म कहिले पनि प्रश्‍न गर्दिन । म चुपचाप भएर नै बस्ने छु भनेपछि बल्ल बल्ल कक्षा सुरू भयो । मलाई धेरै असजिलो 

भयो । मेरो मनमा विभिन्न किसिमका प्रश्‍नहरू हुन्थे म एउटा विद्यार्थी त थिएँ तर प्रश्‍न सोध्न पाउँदैन 

थिएँ । मौन भएर बस्नु पर्दथ्यो । मैले आफ्नो पीडालाई Departmental Head Mr. Bamdev Sharma सरमार्फत आफ्नो सबै घटना उल्लेख गरी Campus Chief कहाँ निवेदन मिति February 28, 2011 मा दिए । त्यस निवेदनको प्रतिलिपि यसैसाथ संलग्न 

छ । वहाँले आफूले खुद कक्षामा आएका समस्याहरूलाई केही समय दिएर Deal, गर्न खोज्नुभयो । मैले पनि विभिन्न लेखकका किताबलाई नै गुरू मान्दै, कक्षामा पनि गुरूले भने जति सुन्ने मात्र गरेँ । त्यसैक्रममा केही विद्यार्थी त्यसमा खास गरी महिला जसलाई बेलुकी ५:३० देखि कक्षा गर्न गाह्रो भएर बिहानको कक्षा सञ्चालन गर्न माग गरेका थिए । तर class teacher को बिहानीमा कतै Busy भएकोले नभ्याउने भएर धेरै विद्यार्थीहरूले कक्षा छोड्न बाध्य भए । कक्षामा भएको वादविवादले कक्षा दुई समूहमा विभक्त थियो । मैले बिहान कक्षाको समर्थन गरे पनि आफू मौन भएर नै समय बिताए । कक्षा गुरूबाट आफ्नो पक्षमा विद्यार्थीहरू ल्याउने निकै प्रयास थियो । पछि बिहानको कक्षा नै हुन सकेन । 

दोस्रो semester को परीक्षा आयो । सरबाट पुराना प्रश्‍नहरू उपलब्ध हुन सकेन र पछि म आफैँ पुराना Model आएका प्रश्‍नहरू खोजे । प्रश्‍नहरू syllabus भित्रबाटै किताबमा आधारित थिए । म त्यहीअनुरूप तयारी गरी जाँचमा उपस्थित भए । परीक्षा हलमा seat plan नगरिएकाले सबैभन्दा अगाडि बेन्चमा बसी शान्त र स्वच्छ भावनाले परीक्षाको नियमलाई ख्याल राखी कसैको कुरासमेत नसुनी चार दिनको परीक्षा दिएँ । परीक्षार्थी संख्या ११ जना थिए । परीक्षामा सोधिएका प्रश्‍नहरूको Model बाट म अचम्मित भए जुन निम्न प्रकार थिएः-

१. पहिलो दिनको Paper grammar को थियो । पहिलो प्रश्‍न Voice, Narration र sentence बाट थियो । यी प्रश्‍नहरू 1st semester level का थिए । पहिलेका परीक्षामा त्यस्ता प्रश्‍नहरू सोधिएका थिएनन् । प्रश्‍न सरल भए पनि Voice, Narration जस्ता  out of syllabus का प्रश्‍नहरू भएकोले, त्यसतर्फ तयारी नभए पनि जवाफ दिएँ । प्रश्‍न नं. ५ मा Synonyms and antonyms थियो जो 1st semester level का थिए, प्रश्‍न नं. 6 General word meaning थियो, त्यो पनि 1st semester level का नै थिए । 2nd semester मा sense Generative type context based word meaning तथा synonyms हरू सोधिन्छ । whole dictionary रट्नै सक्दैनौं र त्यसको कुनै तात्पर्य पनि हुँदैन । First semester को जाँचमा syllabus भित्रबाटै प्रश्‍नहरू सोधिएको थियो । तर अहिले out of syllabus बाट सोधिएको प्रश्‍नको जवाफ स्वयम् प्रश्‍न निर्माणकर्ताले जाँच दिएमा दिन सक्ने अवस्थाका थिएनन् । यसरी प्रश्‍न नं. १-१०, ५-१० नं. र ६-१० गरी ३० नं. को प्रश्‍न out of level र out of syllabus का थिए । अर्को कुरो प्र.नं.१-१०, २-२०, ३-१०, ४-२०, ५-१०, ६-१०, ७-१० गरी ९० अङ्कको जो वास्तवमा ८० नं. को हुनुपर्ने । कुन प्रश्‍नको १० नं. अङ्क घटाइयो मलाई केही थाहा 

छैन । ३० र १० गरी ४० नं. को अङ्कले घोटाला भएको छ । यति हुँदा पनि मैले ६० नं. माथिको प्रश्‍नहरू मिलाएको थिएँ । तर धेरै न्यून ३२ नं. दिई मलाई फेल गराइयो ।

२. दोस्रो दिनको Paper General writing को थियो जसमा प्रश्‍न नं. १ मा Passage सोधियो, २० अङ्कको र प्रश्‍न नं. २ summary 10 अङ्क, यी ३० अङ्कको प्रश्‍न out of related subject को थियो यो bad parallelism को सूचकका रूप थियो । प्रश्‍न दिनेले कसरी यस्ता प्रश्‍नहरू दिए म अचम्मित छु । ३० नं. को प्रश्‍नहरू गलत subject को भए तापनि मैले ठिक जवाफ दिएको थिएँ । मलाई ६५ भन्दा माथि आउनुपर्नेमा ५० मात्र दिई हत्तोत्साही गर्ने प्रयास गरेको पाइन्छ ।

३. तेस्रो दिन specific writing का प्रश्‍नहरू syllabus बाटै भएकाले मैले सतप्रतिशत ठिक उत्तर लेखे पनि नम्बर थोरै दिएका 

थिए । मलाई ७० भन्दा बढी नं. आउनुपर्नेमा ५२ अङ्क दिई हत्तोत्साही गर्ने प्रयास गरिएको छ । 

४. चौथो दिनको Paper writing through reading को थियो । जसमा एउटा Good parallelism को passage थियो र त्यसको आधारमा parallelism का बारेमा प्रश्‍नहरू थिए । Passage good parallelism आधारमा भएकोले, bad र good parallelism सिकाउन जमर्को गर्न सकेन खाली एउटा parallelism को नामको बोध गर्न लगाएको छ । यी सबै प्रश्‍नहरू out of book र syllabus बाट २५ अङ्कका सोधिएका 

थिए । मैले प्रश्‍नको उत्तर सतप्रतिशत ठिक दिएको थिएँ । मेरो ६५ भन्दा माथि अङ्क आउनैपर्नेमा ३९ नं. दिई फेल र हतोत्साही तुल्याएको छ । यसपालि र गत सालको प्रश्‍नहरूको फोटोकपी यसैसाथ राखेको छु र तुलनार्थ १st semester को प्रश्‍नहरूको फोटोकपीसमेत यसैसाथ छ । 

मिति २०६८/३/२७ को दिन मेरो 2nd semester को परीक्षाफल प्रकाशित 

भयो । म अनुत्तीर्ण थिएँ, मार्कसिटको लागि पर्खें । केही दिनपछि प्राप्ताङ्क हेर्दा दुईवटा विषयमा अनुत्तीर्ण र दुईवटा विषयमा पास भए तापनि न्यून नं. थियो । म धेरै दुःखी र अचम्मित थिएँ ।

मलाई पछाडिका घटनाहरूको याद 

आयो । मैले campus प्रमुखसँग समयमा class को लागि अनुरोधरूपी झगडा गरेको थिएँ, मैले class teacher का इच्छाविरूद्ध समयमै class को सुरूवात गराएको थिएँ । मैले class teacher सँग conjunction को प्रश्‍न गर्दा class teacher ले मलाई बेइज्जती गरेको हो ठानी class छाडेर भाग्नै खोज्नु भएको थियो । Grammar पहिलो दिनको paper मा पहिलो प्रश्‍नको बारे र प्रश्‍न नं. ५ र ६ का बारेमा खुब चर्चा चलेको थियो र पछि हामी सबैले सरलाई भेटी भन्नै पर्ने हो, हैन भने फेल हुने डरले मबाहेक धेरै विद्यार्थीहरू class teacher सँग भेट्न गएका थिए । शिक्षकलाई भेट्न नगएकै कारण यो आफूलाई ठुलो ठान्यो, यही मौका हो यस्तो विद्यार्थीलाई फेल गरिदिनुपर्छ भनी ठानी मलाई पक्कै सरले फेल गरी दिनुभएको छ । मसँग सबै प्रश्‍नका प्रश्‍न अङ्क र आफूले अनुमान गरिसकेको अङ्क नं. केही प्रश्‍नमा नै आफूले दिएको उत्तरका सङ्केतहरू छन् । जसले मलाई यति पिरलियो म शान्त भएर बस्नै सकिन ।

उत्तरपुस्तिका हेर्न दिनु मूल शिर्षकअन्तर्गत परीक्षकले दिएको अङ्कमा विद्यार्थीले चित्त नबुझाएमा उसलाई उत्तरपुस्तिका हेर्न दिनु भनी सर्वोच्च अदालतले त्रिभुवन विश्‍वविद्यालयलाई आदेश दिएको छ । न्यायाधीश बलराम के.सी. र अवधेशकुमार यादवको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । त्रि.वि.ले अहिलेसम्म रिटोटलिङका सुविधा मात्रै दिएकोमा अब परीक्षार्थीले चाहेमा आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपि पनि राख्‍न पाउने भएका छन् । अब विद्यार्थीले परीक्षाफल निस्केको ६ महिनाभित्र उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउने छन् । तर त्यसमा परीक्षकको नाम राख्‍न पाउने छैनन् । विद्यार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि बाहिर शिक्षकबाट जँचाएर मेरो त यति अङ्क आउने रहेछ भनी गल्ती फेला परेमा सच्चाउन त्रि.वि. मै निवेदन दिन सक्ने भन्ने कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाको मिति २०६८ साल जेष्ठ ५ गते प्रकाशित समाचारले अब हाम्रो देशमा थोरै मात्रामा भए पनि मर्मरूपी प्राकृतिक कानूनको विकासको सङ्केत 

दियो । मैले कानून पढ्दा भारतमा भएका Chief Justice P.N. Bhagwati को आदेशको बारे बताइएको थियो, जसमा एउटा medical engineering का छात्रले ragging बाट तङ भएर आफ्नो बुबालाई पढ्न असजिलो भयो भन्ने पत्र 

लेखे । विद्यार्थीका बुबाले आफ्नो मित्र Chief Justice P.N. Bhagwati लाई आफ्नो छोराको घटनाबारे पत्र लेखे । Chief Justice P.N. Bhagwati बाट सोही personal letter लाई रिट निवेदनको रूपमा मानी ragging विरूद्ध कार्यबाही गर्न आदेश दिएका थिए । यस प्रमाणको फोटोकपी यसैसाथ छ ।

मिति २०६८/०४/१० मा मैले क्याम्पस प्रमुख तथा परीक्षा कमिटीका अध्यक्षज्यूलाई समयमै परीक्षाका त्रुटि र मैले कम अङ्क र अनुत्तीर्णबारे जानकारी दिँदै, मिति २०६८/०२/०५ गते सर्वोच्च अदालतको आदेशको फोटोकपी संलग्न राखी निवेदन दिई उत्तरपुस्तिकाको फोटोकपी माग गरेको थिएँ । १५ दिनको प्रयासपछि तोक नलगाए म खाली निवेदनलाई आधार मानी अदालतमा पेस गर्ने छु भनेपछि कार्यान्वयन गरी सकिएको तोकको आदेश पाएँ । यो निवेदनको प्रमाणको फोटोकपी यसैसाथ 

छ । 

कक्षाको वातावरणलाई हेर्दा १ घण्टा ३० मिनेटको class मा १५ मिनेट ढिलो आउनु, १५ मिनेट चाँडै जानु, ३० मिनेट शिक्षकले आफ्नैबारे कुरा गर्ने बाँकी ३० मिनेट केही विषयका अधुरो कुरा गरी कक्षा सकिने अवस्था रहेको छ । शिक्षक विनासूचना कक्षामा नआउने यो गाई खाने भाषा हो, मजबुरीले पढ्नुपर्छ भन्ने जस्ता मनोबलहीन कुराहरू प्रायः Teacher बाट गरेको पाइन्छ । आजसम्म कहिले पनि न क्याम्पस प्रमुख, न त्रिभुवन विश्‍वविद्यालय, न शिक्षा मन्त्रालय, न अन्य कुनै निकायबाट, शिक्षकले कक्षामा कस्तो पढायो के गरिरहेका छन् भनी खोजीनीति गरिएको देखिएन । म सधैँ नियमित कक्षा लिने छात्र हुँ । 

मभन्दा पहिलेका समूहमा जम्मा २ जना विद्यार्थी थिए । class नै भएन । दुई जनाले जाँच दिए । पास भए र मेरो समूहमा मात्र सबैभन्दा बढी ११ जनाले जाँच दिएका थिए । जसमा तोडफोडको नीति अपनाएर मन परेका ७ जनालाई उत्तीर्ण गराई ४ जनालाई अनुत्तीर्ण गराइएको छ । यसपाली जम्मा ६ जनाले Admission लिएका छन् । ठिक ढङ्गले कुनै दिन पनि कक्षा भएको छैन । यसपाली Class teacher द्वारा नै प्रश्‍नको चयन गरिएको थियो र Class teacher द्वारा नै copy को चेक गर्ने काम भएको थियो । 

शिक्षा ऐन, २०२८ को प्रस्तावनामा, सर्वसाधारण जनताको सदाचार, शिष्टाचार, नैतिकता कायम राख्‍न गुणस्तरयुक्त शिक्षाको विकास गर्न र त्यसैगरी त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ को प्रस्तावनामा, नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विभिन्न प्रकारका अनुसन्धान गर्न राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्ने मूल उद्देश्य रहेको छ भनी उल्लेख गरिएको छ ।

class हुनको लागि विद्यार्थीले क्याम्पस प्रमुख र class teacher सँग सङ्घर्ष गर्नु, शंका लागेको प्रश्‍न सोध्दा सर रिसाउनु, कक्षामा तोकिएको समयभन्दा थोरै दिनु र समय पास गर्ने खालले पढाई गर्नु, Out of level र out of syllabus प्रश्‍नहरू सोध्नु, class teacher ले नै प्रश्‍न चयन गर्नु, नम्बर दिनु, Class मा कस्तो वातावरण छ, जिम्मेवार निकायले निरीक्षणमा ध्यान नदिनु, परीक्षार्थीको कापी नदेखाउनु र प्रतिलिपि नदिनु जस्ता कार्यले के शिक्षा ऐन, २०२८ र त्रि.वि. ऐन, २०४९ ले प्रस्तावनामा राखेको गुणस्तरयुक्त शिक्षाको मापदण्डभित्र पर्दछ ? सोचनीय अवस्था छ । 

यो विश्‍वभाषाको मात्र case हैन नेपालमा प्रायः सबै सरकारी क्याम्पसहरू यस्तै छन् । यसै गुणस्तरहीन वातावरण र सरद्वारा विद्यार्थीको गलत प्रयोगको कारणले नेपालको उच्चस्तरले सुसज्जित सिंहदरबारको प्राङ्गणमा आधुनिक जगतका लागि आवश्यक शिक्षा राष्ट्रिय कम्प्युटर केन्द्र बन्द 

भयो । म राष्ट्रिय कम्प्युटर केन्द्रको अन्तिम समूहको विद्यार्थी थिएँ । विश्‍वभाषाको Advance English को पनि हालत उस्तै, २nd semester मा त प्रायः विद्यार्थी न्यून छन् र प्रायः बन्द हुने अवस्थामा छन् ।

म सम्पूर्ण शिक्षा तन्त्रलाई अनुरोध गर्न चाहन्छु कि महङ्गो Private school दिन प्रतिदिन विकास भइरहेको जसले एकातर्फ सम्पूर्ण जेहन्दार जो पैसाविना अध्ययन गर्न पाएका छैनन् र अर्कोतर्फ धनी बुबाका छोराछोरीलाई धनी विद्यार्थीको रूपमा प्रवेश गर्न सफल भएको छ तर गुणस्तरयुक्त दिमागको विकास गर्न असफल रहेको छ । जसले गर्दा ९४ प्रतिशत प्रायः Distinction ल्याउने विद्यार्थीले पनि देशलाई कुनै पनि योग्य वैज्ञानिक, विद्वान्‌ जन्माउन असफल रहेको छ । कम रकमले पढ्न पाउने सरकारी स्कुल, क्याम्पसहरू गुणस्तरयुक्त वातावरणको अभावले र निजी स्वार्थ teacher र controlling गर्ने निकायहरूको गलत सोच र क्रियाकलापहरूले गर्दा गरिब र जेहन्दार विद्यार्थीहरूलाई रोक लगाई देशमा वैज्ञानिक र विद्वान्‌हरूलाई जन्माउन असफल भएका छन् । शिक्षालाई धनद्वारा किनमेल भइरहेको अवस्था छ । 

गुणस्तरयुक्त शिक्षाको अभावले शिक्षा ऐन, २०२८ र त्रि.वि. ऐन, २०४९ विरूद्ध कार्य गरेको र जसले गर्दा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १७, २७ र २९ द्वारा प्रदत्त मेरा मौलिक हकहरू हनन भएकाले उक्त हकहरूको स्थापनार्थ उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ -

१. मेरो सम्पूर्ण कापीको प्रमाणित फोटोकपी उपलब्ध गराइपाउँ र गल्ती रहेको खण्डमा सच्चाउन 

पाउँ । Out of syllabus, out of level प्रश्‍नहरूको पूरा नम्बर पाऊँ । 

२. सम्पूर्ण अन्य परीक्षार्थी साथीहरूको पनि कापी हेर्न र फोटोकपी लिने आदेश गरिपाउँ जसले गर्दा वहाँहरूले कस्तो ढङ्गले र कसरी नम्बर पाउनु हुँदो रहेछ सो बोध हुन सजिलो होस् । 

३. आउँदो कक्षाको पढाइमा कक्षाको वातावरण, शिक्षकद्वारा कस्तो किसिम कसरी पढाइ रहेको छ विद्यार्थीहरूले नचाँहिदो वातावरणको सिर्जना गरिरहेका छन् वा छैनन् निरीक्षण र अनुसन्धान समिति बनाई त्यसको प्रतिवेदन मासिक रूपमा दिने व्यवस्था होस् । जसले गर्दा गुणस्तर शिक्षाको विकास गर्न मद्दत होस् । 

४. परीक्षामा syllabus भन्दा बाहिर सोध्न पाउने व्यवस्थाको अन्त होस् र सोधेमा विद्यार्थीलाई पूरै अङ्क दिनैपर्ने र त्यस्तो सोध्नेलाई कार्यबाही गर्ने व्यवस्था होस् ।

५. परीक्षा शान्त र स्वच्छ वातावरणमा होस् । कसैले पनि चिट चोर्ने काम नगरोस् ।

६. class teacher बाट प्रश्‍न सोधिने र उत्तर पुस्तिका जाँच्ने कार्य नहोस् ।

७. मेरो सम्पूर्ण साथीहरूको सम्पूर्ण कापीहरू, एउटा विज्ञ अनुसन्धान टोलीबाट जाँची गल्तीलाई सच्चाई पाऊँ । 

८. कक्षा बन्द हुनेमा कानूनत: सूचना दिई मात्र बन्दको व्यवस्था होस् ।

९. सम्पूर्ण आधुनिक साधनले युक्त कक्षाको वातावरणको सिर्जना होस् ।

 

सरकारी क्याम्पसहरूको हालत दिन प्रतिदिन खराब हुँदै गरेको र राष्ट्रिय कम्प्युटर केन्द्र जस्ता संस्थाहरू गलत नीतिले टुटिरहेकोले र विश्व भाषामा International language को रूपमा रहेको English भाषा पढ्ने २ जना, ६ जना विद्यार्थी हुने गरेकोले यो पनि टुट्ने सम्भावना देखिएकाले विश्व भाषा क्याम्पसलाई एउटा Model Campus को रूपमा विकास होस् जसले सम्पूर्ण सरकारी तथा गैरसरकारी college, school लाई गुणस्तर शिक्षाको ज्ञान दिन सफल होस् भन्‍ने बेहोराको निवेदक दिनेश चौधरीको यस अदालतमा पेस भएको निवेदन पत्र ।

 

कारण देखाउ आदेश

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र सम्बन्धित मिसिलसाथ राखी महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउन भनी रिट निवेदनको १ प्रति नक्कल साथै राखी विपक्षी शिक्षा मन्त्रालयलाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनू । निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेशप्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत उपस्थित हुनु भनी रिट निवेदनको १ प्रति नक्कल साथै राखी विपक्षी नं. १ र २ लाई सम्बन्धित जिल्ला अदालतमार्फत म्याद सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्‍ने बेहोराको यस अदालतबाट मिति २०६८।६।३० मा भएको आदेश ।

 

त्रिभुवन विश्‍वविद्यालय विश्‍वभाषा क्याम्पसका क्याम्पस प्रमुखको लिखित जवाफ

क्याम्पसमा विद्यार्थीहरूको पठन-पाठन भइसकेपछि सेमेष्टर प्रणालीमा परीक्षा लिने हुँदा विद्यार्थीहरूले पहिलो सेमेष्टर पास नभई दोस्रो सेमेष्टरमा जान नपाइने भनी विद्यार्थी भर्ना गर्दाको सूचनामा स्पष्टरूपमा उल्लेख गरिएको हुन्छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको दोस्रो सेमेष्टर परीक्षाफल मिति ०६८।३।२७ मा प्रकाशित भइसकेपछि यदि सो नतिजामा चित्त नबुझेमा त्रि.वि. नियमानुसार ३५ दिनभित्रमा पुनर्योगको लागि निवेदन दिनुपर्नेमा यी निवेदकले वैकल्पिक उपचारको मार्गसमेत अवलम्बन गरेको पाइँदैन ।

त्रिभुवन विश्‍वविद्यालयका कुनै पनि निकायबाट लिने परीक्षाको उत्तरपुस्तिकाहरूको सम्बन्धित विषयका विशेषज्ञहरूबाट मूल्याङ्कन गराई सम्बन्धित विषयका विशेषज्ञहरूले नियमले तोकेको प्रक्रिया पूरा गरी उत्तरपुस्तिका बुझाएपछि परीक्षा सञ्चालक समितिबाट परीक्षाफल प्रकाशन गर्ने गरिन्छ । उत्तरपुस्तिका सम्बन्धित विषयका विशेषज्ञले मूल्याङ्कन गरेपछि परीक्षार्थीले यो वा त्यो भएन भनी परीक्षार्थी स्वयं विशेषज्ञ बन्न मिल्दैन ।

निवेदक पहिलो सेमेष्टर पास भइसकेपछि दोस्रो सेमेष्टर भर्ना भई उक्त परीक्षामा फेल भएपछि क्याम्पसको नियमानुसार निवेदक दोस्रो सेमेष्टरमा मिति ०६८।४।१० मा पुनः भर्ना भएपछि निवेदकले रिट निवेदन दायर गरेको देखिएकोले रिट निवेदन स्वतः औचित्यहीन हुन पुगेको छ । साथै उत्तरपुस्तिकाको प्रतिलिपिको सम्बन्धमा त्रि.वि.ले कार्यविधि निर्धारण गर्ने प्रक्रियामा रहेकोले रिट निवेदनको औचित्य नभएको हुनाले खारेज गरिपाउँ भन्‍ने बेहोराको विपक्षी त्रिभुवन विश्‍वविद्यालय विश्‍वभाषा क्याम्पसका क्याम्पस प्रमुख यादवराज पन्तको लिखित जवाफ ।

 

शिक्षा मन्त्रालय, केशर महल, काठमाडौंको लिखित जवाफ

विपक्षी रिट-निवेदकलाई मर्का पर्ने गरी यस मन्त्रालयबाट कुनै काम कारबाही र निर्णय नभएको र सो देखाउन पनि निजले आफ्नो निवेदन-पत्रमा नसकेको अवस्थामा शिक्षा मन्त्रालयलाई विपक्षी बनाइरहन आवश्यक नरहेको हुँदा विपक्षी दाबीबाट फुर्सद पाउन सादर अनुरोध छ भन्‍ने बेहोराको विपक्षी शिक्षा मन्त्रालय केशरमहल काठमाडौंका तर्फबाट सचिव किशोर थापाको लिखित जवाफ ।

 

यस अदालतको आदेश

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।

निवेदक विद्वान्‌ अधिवक्ता श्री दिनेश चौधरीले म निवेदक त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत विश्‍वभाषा क्याम्पसमा  Advanced Level को English Language को प्रथम semester उत्तीर्ण गरी 2nd semester को नियमित विद्यार्थी हुँ । उक्त क्याम्पसले लिएको Advanced Level को English Language को 2nd semester को परीक्षामा मैले सबै प्रश्‍नको उत्तर राम्रोसँग लेखेको भए तापनि मलाई नियतवश, पक्षपातपूर्ण र पूर्वाग्रह तवरले कुनै विषयमा अत्यन्त कम अङ्क दिई उत्तीर्ण गराएकोमा र कुनैमा अनुत्तीर्ण गराइएको छ । कक्षाको सुरूवाती दिनदेखि नै मलाई क्याम्पसले पक्षपातपूर्ण व्यवहार गरेको 

थियो । परीक्षामा out of syllabus र out of Level का प्रश्‍नहरू सोधिएको छ । क्याम्पसले सञ्चालन गरेको सो परीक्षाको वातावरण निष्पक्ष र मर्यादितसमेत 

छैन । मैले राम्रो जवाफ लेखे तापनि कम अङ्क दिएकाले सम्पूर्ण परीक्षाको मेरो र परीक्षामा सामेल भएका अन्य सम्पूर्ण साथीहरूको उत्तरपुस्तिकाको प्रतिलिपि प्राप्त गर्न र परीक्षालाई मर्यादित र निष्पक्ष बनाई विश्‍वभाषा क्याम्पसलाई शैक्षिक क्षेत्रमा Role Model को  रूपमा स्थापना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नसमेत मागबमोजिम आदेश जारी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

विपक्षीमध्ये शिक्षा मन्त्रालयका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ बमोजिम त्रिभुवन विश्‍वविद्यालय एक स्वशासित र सङ्गठित संस्था हो । यसले विभिन्न नियमहरू बनाई विभिन्न निकायहरू र सङ्गठनको स्थापना गरेको 

छ । जसमध्ये विश्‍वभाषा क्याम्पस पनि यसैको सम्बन्धन प्राप्त क्याम्पस हो । निवेदकले जिकिर लिएजस्तो तरिकाबाट पूर्वाग्रही तवरले नियतवश उत्तरपुस्तिका परीक्षणको कल्पनासमेत गर्न सकिँदैन । परीक्षार्थीले आफूले लेखेकै आधारमा अङ्क प्राप्त गर्ने 

हो । त्रिभुवन विश्‍वविद्यालय, सङ्गठन तथा शैक्षिक प्रशासन नियम, २०५० को नियम २३५ बमोजिम परीक्षा सञ्चालन भएका उत्तरपुस्तिकाहरू ६ महिना (हाल ४ महिना) भित्र धुल्याउन सकिने भन्ने व्यवस्थाबमोजिम उत्तरपुस्तिकासमेत धुल्याइसकेको देखिन्छ । परीक्षा सञ्चालन भएको १० वर्षभन्दा बढी समयसमेत भएको देखिएकोले प्रस्तुत रिट निवेदनको औचित्य नभएकोले खारेज गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा, रिट निवेदन बेहोरा हेर्दा निवेदकले म निवेदक त्रिभुवन विश्‍वविद्यालय विश्‍वभाषा क्याम्पसको English writing को Advanced Level को प्रथम सेमेष्टर परीक्षा उत्तीर्ण गरी 2nd semester को नियमित विद्यार्थी हुँ । क्याम्पसमा कक्षाका सुरूवाती दिनदेखि राम्रोसँग पढ्ने पढाउने वातावरण नभएकोले मैले सो विषयमा पटकपटक विषय शिक्षक तथा क्याम्पस प्रमुखसँग प्रश्‍न उठाउने गरेकाले क्याम्पसले मलाई सुरूवातदेखि नै नराम्रो व्यवहार गरेको थियो । जसले गर्दा मैले कक्षामा आफूलाई सोध्न मन लागेका प्रश्‍नहरूसमेत सोध्न नपाउने, सोधेमा कक्षा शिक्षक कक्षा छोडेर जाने अवस्थाको सम्म सिर्जना भएको थियो । दोस्रो सेमेष्टरको अन्तिम परीक्षामा out of syllabus र out of Level बाट प्रश्‍नहरू सोधिएको भए तापनि मैले सबै प्रश्‍नहरूको उत्तर राम्रो लेखेको थिएँ । परीक्षाको वातावरण स्वच्छ र मर्यादित थिएन । विद्यार्थीहरूमा उत्तीर्ण हुन आफ्नो क्षमता, दक्षताभन्दा पनि चिट चोर्ने प्रवृत्तिको हावी भयो । अन्तिम परीक्षामा क्याम्पसले मलाई पक्षपातपूर्ण व्यवहार गरी नियतवश कम अङ्क दिई अनुत्तीर्ण गराएको हो । तसर्थ, नियतवश कम अङ्क दिने कार्यलाई हतोत्साही गर्दैं परीक्षा प्रणाली मर्यादित, स्वच्छ र शान्त वातावरणमा सञ्चालन 

होस् । out of syllabus र out of Level बाट सोधिएका प्रश्‍नहरूको पूरै अङ्क दिने व्यवस्थाका साथै अन्य परीक्षार्थी साथीहरूले के कसरी प्रश्‍नहरूको उत्तर लेख्दा उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुँदा रहेछन्, सो कुराको जानकारीका लागि परीक्षामा सामेल भएका सोही तहका सम्पूर्ण परीक्षार्थी साथीहरूको उत्तरपुस्तिका हेर्न, प्रतिलिपि उपलब्ध गराउन र विश्‍वभाषा क्याम्पसलाई स्तरीय पठनपाठनको नमुना महाविद्यालय (model campus) बनाउने र शैक्षिक क्षेत्रमा Role Model को रूपमा विकास गर्नसमेत सम्बन्धित निकायमा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको मुख्य मागदाबी लिएको देखिन्छ भने क्याम्पसले मिति २०६८।०३।२७ मा 2nd semester को परीक्षाफल प्रकाशित गरेकोमा यदि निवेदकलाई सो नतिजामा चित्त नबुझेको भएमा त्रिभुवन विश्‍वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम २९६ अनुसार ३५ दिनभित्रमा पुनर्योगको लागि निवेदन दिनुपर्नेमा यी निवेदकले सो नदिई वैकल्पिक उपचारको मार्ग अवलम्बन गरेका छैनन् । त्रिभुवन विश्‍वविद्यालयले सम्बन्धित विषयका दक्षविज्ञबाट परीक्षाको उत्तरपुस्तिका परीक्षण गराई नियमले तोकेको प्रक्रिया पूरा गरी परीक्षाफल प्रकाशित गर्ने हुँदा यस प्रश्‍नको उत्तर यो वा त्यो हो भनी नियतवश अनुत्तीर्ण गराइयो भनेर परीक्षार्थी आफैँले विशेषज्ञ बन्न र कपोलकल्पित आरोप लगाउन 

मिल्दैन । निवेदकले उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराई पाउँ भन्नेसमेत दाबी लिएकोमा हाल त्रिभुवन विश्‍वविद्यालयले सोसम्बन्धी कार्यविधि निर्धारण गर्ने प्रक्रियामा रहेकोले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्‍ने लिखित जवाफ बेहोरा 

देखिन्छ ।

उपर्युक्तबमोजिमको निवेदन दाबी तथा लिखित जवाफ बेहोरा भएको प्रस्तुत रिट निवेदनमा निवेदक विद्वान्‌ अधिवक्ता तथा विद्वान्‌ सहन्यायाधिवक्ताले गर्नुभएको तर्कपूर्ण बहस जिकिरसमेत सुनी निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. अब निर्णयतर्फ विचार गर्दा, रिट निवेदक दिनेश चौधरी त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत विश्‍वभाषा क्याम्पसमा अङ्ग्रेजी भाषा अध्ययनको Advanced Level मा अध्ययन गरी पहिलो सेमेष्टर उत्तीर्ण गरेको र दोस्रो सेमेष्टरका केही विषयमा उत्तीर्ण हुन आवश्यक अङ्क प्राप्त नगरी अनुत्तीर्ण भएको तथ्यमा विवाद 

भएन । निजले आफू क्याम्पसमा भर्ना भएपछि सुरूवातदेखि नै राम्रो पठनपाठनको वातावरण नभएकाले पढाइलाई स्तरीय बनाउन पटकपटक विषय शिक्षक र क्याम्पस प्रमुखसँग अनुरोध गर्दैं आएको, सोही कारण निजहरूले मउपर पूर्वाग्रही भई परीक्षामा राम्रो उत्तर लेखेको भए तापनि न्यून अङ्क दिई अनुत्तीर्ण गराएको भनी आफ्नो र अन्य सबै परीक्षार्थीको उत्तरपुस्तिका हेर्न दिनु र विश्‍वभाषा क्याम्पसलाई स्तरीय पठनपाठनको नमुना महाविद्यालय (model campus) बनाउनु भनी परमादेश जारी गरी पाउन माग गरेको देखिन्छ ।

३. विपक्षीमध्येको विश्‍वभाषा क्याम्पस त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ को दफा २(ड) बमोजिम सो विश्‍वविद्यालयको आङ्गिक क्याम्पस भन्ने देखिन आउँछ । देशको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न स्तरयुक्त उच्च शिक्षा प्रदान गर्नेलगायतका विषयमा त्रिभुवन विश्‍वविद्यालयलाई बढी सक्षम बनाउन त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ जारी भएको देखिन्छ भने सो ऐनअन्तर्गत बनाई जारी गरिएको त्रिभुवन विश्‍वविद्यालय, सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० ले त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूको परीक्षालाई स्तरीय व्यवस्थित र मर्यादित बनाउन विविध व्यवस्थाहरू गरेको देखिन आउँछ । उक्त नियमको परिच्छेद-६१ ले परीक्षाका उत्तरपुस्तिकाको मूल्याङ्कनसम्बन्धी व्यवस्था गरी नियम २२८ ले सो विश्‍वविद्यालयअन्तर्गतका तहगत शैक्षिक कार्यक्रमका विषयगत उत्तरपुस्तिकाहरू विश्‍वविद्यालयका आङ्गिक क्याम्पस वा सम्बन्धन प्राप्त क्याम्पसका विशेषज्ञ वा अन्य स्वदेशी वा विदेशी विशेषज्ञहरूबाट परीक्षण, सम्परीक्षण र मूल्याङ्कन गराउने व्यवस्था गरेको, नियम २३४(क) मा विश्‍वविद्यालय सेवामा स्थायी वा करारको रूपमा कम्तीमा ५ वर्षसम्म सम्बन्धित विषय पढाएको शिक्षकलाई उत्तरपुस्तिका मूल्याङ्कनका लागि परीक्षक नियुक्ति गरिने र ऐ. नियम २३४ ग मा उत्तरपुस्तिकाको मूल्याङ्कन वा परीक्षण गर्ने शिक्षकले जानी जानी वा गलत रूपमा वा लापरवाही ढङ्गले मूल्याङ्कन गरेको देखिएमा त्यस्तो शिक्षकलाई विभागीय कारबाही गरिने भन्नेसमेतका व्यवस्था गरेको देखिन्छ । यस अतिरिक्त, उत्तरपुस्तिका परीक्षण कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उत्तरपुस्तिकाहरूमा सङ्केताङ्क (coding/decoding) राखी परीक्षण गर्ने गराउने प्रणाली सामान्य समझको विषय हो । Coding प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गर्दा कुनै पनि परीक्षार्थीको उत्तरपुस्तिका पहिचान हुन सक्ने स्थिति देखिँदैन । 

४. नेपालको संविधानको धारा ३१ ले शिक्षाको हकलाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधान प्रद्वत्त यो हकलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सबैको सहज एवम् समतामूलक पहुँच र निरन्तरता सुनिश्चित गर्न तथा शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिष्पर्धी एवम् गुणस्तरयुक्त बनाउनका लागि अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५ समेत जारी भएको 

देखिन्छ । उक्त ऐनले प्रत्येक नागरिकलाई विना भेदभाव विद्यालय वा शिक्षण संस्थामा प्रवेश पाउने, अध्ययन अनुसन्धान गर्ने, परीक्षामा सहभागी हुने र शैक्षिक प्रमाणपत्र प्राप्त गर्नेलगायत कानूनबमोजिमको सर्त तथा मापदण्ड पूरा गरी आफ्नो योग्यता क्षमता तथा रूचिअनुसार उच्च शिक्षा प्राप्त गर्ने अधिकारहरूको सुनिश्चितता दिलाएको देखिन्छ । यसैगरी मानव अधिकारको विश्वव्यापी घोषणापत्र (universal Declaration of Human Rights, 1948) को धारा २६, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (International Covenant on Economic, Social and Cultural Rights, 1966, ICESCR) को धारा १३ तथा शिक्षामा हुने भेदभावविरूद्धको युनेस्को अनुबन्ध (UNESCO Convention Against Discrimination in Education, 1960) लगायतका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अभिसन्धिहरूले पनि शिक्षालाई व्यक्तिको आधारभूत मानव अधिकारको रूपमा परिभाषित गरी मानिसको पूर्ण व्यक्तित्व विकास र गुणस्तरीय जीवनयापनका लागि गुणस्तरयुक्त शिक्षामा समान र विनाभेदभाव पहुँच हुनुपर्ने प्रावधानहरू राखेको देखिन्छ । यसप्रकार अन्तर्राष्ट्रिय कानून एवम् नेपालको संवैधानिक एवम् कानूनी व्यवस्थासमेतले नागरिकको शिक्षाको हकलाई सुनिश्चित गरेको हुनाले सो हकको व्यवहारमा कार्यान्वयन गर्नु गराउनु विश्‍वविद्यालय, महाविद्यालयलगायत राज्यका सबै संयन्त्र (state instrumentalities) हरूको जिम्मेवारी हुन आउँछ । 

५. समाजमा सदाचार र उच्च नैतिकता कायम गर्दै देशको सर्वाङ्गीण विकासका लागि शिक्षाको ठुलो महत्त्व रहेको हुन्छ । विकसित मुलुकहरूले समाजमा आइपर्ने जुनसुकै चुनौतीको सामना गर्नका लागि शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको पाइन्छ । शैक्षिक संस्थाहरूले पनि शैक्षिक गुणस्तर सुधारका क्रममा परम्परागत प्रवचन विधिमा गरिने अध्ययन अध्यापन शैलीमा परिमार्जन गरी विद्यार्थी, प्रशिक्षकहरूमा जिज्ञासा र रूचि पैदा गर्ने सहभागितामूलक तथा अन्तरक्रियात्मक शिक्षण शैली अवलम्बन गरेको पाइन्छ । यसैगरी परम्परागत रूपमा प्रयोग भएका पाठ्य सामग्रीको सट्टा सूचना प्रविधिमा आधारित श्रव्यदृश्य माध्यमबाट पठनपाठन गराउने अभ्यास आमरूपमा प्रचलनमा आएको अवस्था छ । निवेदकले अध्ययन अध्यापनको उपयुक्त वातावरण नरहेको भन्ने जिकिर लिएको सन्दर्भमा शैक्षिक संस्थाहरूको व्यवस्थापकीय सक्षमता अभिवृद्धि गरी शैक्षिक वातावरणको प्रभावकारी अनुगमन मूल्याङ्कन गर्न सकिने र यसका लागि कक्षाकोठामा CCTV लगायतका उपकरण जडान गर्न सकिने विषयसमेत अब सामान्य बनिसकेको छ । यस अतिरिक्त शिक्षक, विद्यार्थीबिच नियमित अन्तरक्रिया र आवधिक सिकाई मूल्याङ्कन एवम् पठनपाठन एवम् शैक्षिक व्यवस्थापनका विषयमा विद्यार्थी/प्रशिक्षार्थीहरूसमेतबाट समय समयमा पृष्ठपोषण लिई त्यसमा देखिएका सुझावहरूलाई कार्यान्वयन गर्दै जाँदा सोबाट शैक्षिक संस्थाको अध्ययन अध्यापन वातावरण सुधार भई शैक्षिक गुणस्तरमा अभिवृद्धि हुने देखिन्छ । यस सम्बन्धमा निवेदकले निर्धारित शैक्षिक समयतालिकाअनुसार क्याम्पसका पठनपाठन हुनुपर्ने भनी उठाएको विषयलाई अन्यथा लिनुपर्ने 

देखिँदैन । जहाँसम्म सोही कारण निवेदकप्रति पूर्वाग्रह राखी निवेदकको परीक्षाको उत्तरपुस्तिकामा भेदभावपूर्ण तरिकाले कम अङ्क दिई अनुत्तीर्ण गराएको भन्ने निवेदन जिकिर छ सोतर्फ हेर्दा नेपाली समाजमा शिक्षक वा गुरूलाई चेतनाको पर्याय र समाजको नैतिक आदर्शको मानक (Role model) का रूपमा समेत लिने गरिन्छ । प्राचीन गुरूकुल प्रणालीबाट विकसित हुँदै आएको पूर्वीय शिक्षा (ज्ञान आर्जन) प्रथामा शिक्षक र विद्यार्थीको वा गुरूचेलाको सम्बन्धलाई पितापुत्रको जस्तै आत्मीय सम्बन्धका रूपमा लिने गरिन्छ । शिक्षक विद्यार्थीबिचको सौहार्द्रपूर्ण सम्बन्धबाट मात्र अध्ययन अध्यापन कार्यमा अपेक्षित नतिजा हासिल गर्न सकिने 

हो । अपितु शिक्षा वा ज्ञान आर्जनको कुनै सीमा 

हुँदैन । समाज विज्ञान एवम् कलाशास्त्र (Arts) का कतिपय जिज्ञासाहरू यान्त्रिक (Mechanical) वा सूत्रबद्ध (Formula) रूपमा सम्बोधन गर्न सकिने 

हुँदैनन् । सम्बन्धित विषयको ज्ञान वा बुझाइलाई परिष्कृत गराउन यस्ता विषयमा निरन्तर शोध, अनुसन्धान र बहस आवश्यक हुन्छ । यस्ता विषयमा विद्यालय वा कक्षाकोठामा हुने शैक्षिक / बौद्धिक वा प्राज्ञिक छलफल र सवाल जवाफलाई अध्ययन अध्यापनकै आयामका रूपमा हेर्नुपर्ने हुन्छ । यसैका आधारमा कुनै पनि शिक्षक वा उत्तरपुस्तिका परीक्षकका लागि विद्यार्थीप्रति पूर्वाग्रह वा द्वेषभाव राख्नुपर्नेसम्मको अवस्था रहन्छ भनी सामान्य समझको व्यक्तिले स्वीकार गर्न सकिने विषय 

देखिएन । वस्तुनिष्ठ आधार प्रमाणबाट पुष्टि नभएसम्म कुनै पनि परीक्षकबाट कुनै परीक्षार्थीप्रति पूर्वाग्रही भई निजको भविष्यमाथि खेलबाड हुने गरी लापरवाही वा बदनियतसाथ उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने कुनै कारण देखिँदैन । त्रिभुवन विश्‍वविद्यालय नियमानुसार विषयविज्ञबाट रीतपूर्वक परीक्षण भई आएको यी निवेदकको उत्तरपुस्तिकामा निवेदकले दाबी लिएजस्तो जानी जानी लापरवाही साथै निवेदकप्रति पूर्वाग्रह राखी निवेदकलाई कम अङ्क दिएको भन्ने निवेदन दाबी यथार्थमा आधारित देखिन आएन । निवेदकले आशङ्काको भरमा मात्र प्रस्तुत जिकिर लिएको देखिन आयो ।

६. त्रिभुवन विश्‍वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद-७२, नियम २९६ मा परीक्षाको नतिजामा चित्त नबुझाउने परीक्षार्थीले त्यस्तो परीक्षाफल प्रकाशित भएको ३५ दिनभित्र तोकिएको प्रक्रिया अवलम्बन गरी पुनर्योगको लागि निवेदन गर्न सक्ने र पुनर्योगपछिको प्राप्ताङ्कमा चित्त नबुझेमा नियम २५२ बमोजिम आफ्नो उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन सकिने व्यवस्थासमेत देखियो । यद्यपि उक्त नियमको परिच्छेद ६५, नियम २५२ को उत्तरपुस्तिका  देखाउने र प्रतिलिपि दिनेसम्बन्धी व्यवस्था मिति २०७०।०५।२४ को संशोधनबाट थप भएको र प्रस्तुत निवेदन सो अगाडि नै मिति २०६८।०६।२९ मा दायर भएको देखिए तापनि परीक्षार्थीलाई उत्तरपुस्तिका हेर्न र प्रतिलिपि दिनेसम्बन्धी यस अदालतबाट प्रा.डा. भीमराज अधिकारी विरूद्ध विजय अर्यालसमेत भएको ०६६-WO-०३६९ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०६८।०२।०४ मा आदेश भइसकेको देखिँदा यी निवेदकले सोही आदेशमा उल्लिखित प्रक्रियाबाट उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन सम्बन्धित निकायमा निवेदन गर्न सक्ने अवस्था रहेकोमा निवेदकले नियमबमोजिम पुनर्योगको लागि सम्बन्धित निकायमा निवेदन दिएको वा फैसलामा तोकिएको कार्यविधि अवलम्बन गरी उत्तरपुस्तिका हेर्न र प्रतिलिपि माग गरेकोसमेत देखिन नआई उक्त उत्तरपुस्तिका हेर्न र प्रतिलिपि माग गर्न यस अदालतमा रिट दायर गरेको 

देखियो । यस अदालतले व्यक्तिको संविधान प्रदत्त मौलिक हकको उल्लङ्घन भएको वा अन्य कुनै कानूनी हकको उल्लङ्घन भएकोमा उपचारको व्यवस्था नभएको वा त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन भएको अवस्थामा मात्र त्यस्तो मौलिक वा कानूनी हकको प्रचलनको लागि असाधारण अधिकारक्षेत्रको प्रयोग गरी उपयुक्त आदेश जारी गरी उपचार प्रदान गर्ने हो । त्यस्तो आदेश जारी हुनका लागि  निवेदकले विपक्षीहरूद्वारा कानून प्रतिकूल कामकारबाही वा निर्णय गरेको वा कानूनबमोजिम सम्पादन गर्नुपर्ने जिम्मेवारी वा कर्तव्य पूरा नगरेबाट आफ्नो यस्तो अधिकारको हनन भयो भनी स्थापित गराउन सक्नुपर्छ तर प्रस्तुत रिट निवेदनमा निवेदकले विपक्षीहरूले यो यसरी कानून प्रतिकूल निर्णय वा कामकारबाही गरेका वा कानूनबमोजिम सम्पादन गर्नुपर्ने यो यस्तो कार्य नगरेको र यसबाट आफ्नो यो यस्तो मौलिक वा कानूनी हकको उल्लङ्घन भएको भनी ठोसरूपमा देखाउन नसकी अमूर्त र अस्पष्ट दाबी लिएको देखियो । निवेदकले परीक्षाको नतिजामा चित्त नबुझेको भए पुनर्योग गर्न वा उत्तरपुस्तिकाको प्रतिलिपि लिनका लागि निर्धारित उपचारको मार्ग अवलम्बन गर्न सक्नेमा त्यस्तो नगरी सिधै रिट क्षेत्रमार्फत यस अदालतमा प्रवेश गरेको देखिन्छ । निवेदकले परीक्षाको प्राप्ताङ्क पुनर्योग गर्ने वा प्रतिलिपि प्राप्त गर्ने सम्बन्धमा त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धित नियम वा यस अदालतबाट निर्धारित कार्यविधि अवलम्बन नगरी सिधै यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोग गरेको देखिँदा सो हदसम्म यस अदालतले निवेदकलाई सहयोग गर्न सक्ने अवस्था रहेन । 

७. निवेदकले रिट निवेदनमा उक्त परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूको उत्तरपुस्तिका हेर्न दिनु भनी परमादेशको माग गरेको भए तापनि  संविधानप्रदत्त सूचनाको हक आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक हो । सार्वजनिक महत्त्वको नदेखिएको परीक्षाको उत्तरपुस्तिका जस्तो व्यक्ति सरोकारको विषयमा अन्य परीक्षार्थीको समेत उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्ने निवेदकको माग सूचनाको हकको अवधारणा अनुकूल देखिएन । निवेदकले यस अदालतको मिति २०६८।०२।०४ को आदेश, त्रिभुवन विश्‍वविद्यालय, सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम २५२ तथा सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थासमेतका आधारमा आफ्नो परीक्षाको उत्तरपुस्तिका हेर्न र प्रतिलिपि माग गर्नसम्म सक्ने भए तापनि सबै परीक्षार्थीको उत्तरपुस्तिका हेर्न पाउँ भनी गरेको माग कानूनसम्मत देखिन 

आएन । निजको आफ्नो उत्तरपुस्तिका हेर्ने सम्बन्धमा पनि निजले माग गरेको English Writing Advanced Level को दोस्रो सेमेष्टरको परीक्षाफल मिति २०६८।०३।२७ मा प्रकाशन भएको भन्ने 

देखिन्छ । त्रिभुवन विश्‍वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम २३५ ले कुनै परीक्षाको परीक्षाफल प्रकाशित भएको मितिले ४(चार) महिनासम्म (तत्काल कायम रहेको नियमको व्यवस्थानुसार ६ महिना) मात्र त्यस्तो उत्तरपुस्तिका सुरक्षित राख्नुपर्ने र सो अवधिपश्चात् उत्तरपुस्तिका धुल्याउन सकिने भन्ने व्यवस्था देखिएको एवम् यस अदालतबाट मिति २०७४।०१।१२ मा भएको आदेशबमोजिम मिति २०७४।१२।२९ मा विपक्षी विश्‍वभाषा क्याम्पसबाट प्राप्त च.नं. २४९/०७४।०७५ को पत्रमा उक्त उत्तरपुस्तिका सोही नियमबमोजिम धुल्याई सकिएको भन्ने देखिन आएकोले परीक्षाफल प्रकाशित भएको दश वर्षपछि हाल यी निवेदकलाई उत्तरपुस्तिका देखाउन कानूनी तथा व्यावहारिक दृष्टिमा सम्भव देखिँदैन । निवेदकले सोसम्बन्धी अन्तरिम आदेश माग गरेको एवम् यस अदालतबाट अन्तरिम आदेश जारी भएकोसमेत नदेखिएको अवस्थामा नियमबमोजिम उत्तरपुस्तिका धुल्याएको कार्यबाट यी निवेदकको कुनै हक अधिकारमा आघात पुगेको भनी मान्न मिल्ने अवस्था नभएको र हाल उत्तरपुस्तिका नै धुल्याइसकेको अवस्था हुँदा उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन पाउँ भनी निवेदकले गरेको मागदाबीको कुनै औचित्यतासमेत नहुँदा निवेदन मागदाबीबमोजिम परमादेशको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।

८. तथापि निवेदकले रिट निवेदनमा उठाएको विश्‍वभाषा क्याम्पसको पठनपाठन र परीक्षा प्रणालीसमेत अव्यवस्थित रहेको भनी उठाएको विषयमा यस इजलासको गम्भीर ध्यानाकर्षण भएको हुँदा क्याम्पसको शैक्षिक प्रशासनिक एवम् व्यवस्थापकीय सुधारसमेतका लागि देहायबमोजिमको निर्देशनात्मक आदेश जारी गरिएको छ:-

१. विश्‍वभाषा क्याम्पसमा केवल देशभित्रका विद्यार्थीहरूले मात्र नभई अन्य विभिन्न मुलुकका विद्यार्थीहरूले समेत विभिन्न भाषाभाषीको अध्ययन गर्ने र उक्त क्याम्पसको शैक्षिक प्रशासनिक, व्यवस्थापकीय एवम् अध्ययन अध्यापनको शैली, प्रक्रिया एवम् गुणस्तरीयताले विश्व समुदायमा नै नेपालको शैक्षिक गुणस्तरका बारेमा प्रभाव एवम् सन्देश दिने भएकाले माथिका विभिन्न प्रकरणमा विवेचना भएअनुरूप क्याम्पसको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय क्रियाकलापमा भएका कमीकमजोरी सुधार र शैक्षिक गुणस्तरमा स्तरोन्नति गरी उक्त क्याम्पसलाई नमुना क्याम्पसको रूपमा विकास गर्न एक अध्ययन कार्यदल बनाई उक्त कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गरी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु भनी विश्‍वभाषा क्याम्पसका नाउँमा निर्देशनात्मक आदेश जारी हुने,

२. परीक्षार्थीले उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन पाउने व्यवस्थाले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई पारदर्शी र जिम्मेवार बनाएको हुन्छ । कुनै पनि प्रश्‍नमा उत्तरपुस्तिकामा आफूले लेखेको जवाफ ठिक बेठिक के रहेको छ भन्ने विषय केवल प्राप्ताङ्कसँग मात्र सम्बन्धित नभई उत्तरपुस्तिकामा भएको परीक्षकको मूल्याङ्कन (Evaluation) पृष्ठपोषणले परीक्षार्थीले आफ्नो बुझाई वा लेखन शैलीमा परिमार्जन र सुधार गर्ने अवसर प्राप्त गर्ने र यसबाट शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने भएकाले यस अदालतबाट संवत् २०६६ सालको रिट नं. ०६६-WO-०३६९ उत्प्रेषणयुक्त प्रतिषेधसमेत मुद्दामा भएको उत्तरपुस्तिका हेर्न तथा प्रतिलिपि लिने कार्यविधिसम्बन्धी आदेश तथा त्रिभुवन विश्‍वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० परिच्छेद ६५ मा भएको व्यवस्थालाई सहज र प्रभावकारी बनाई कार्यान्वयन गर्नु भनी विपक्षीमध्येको त्रिभुवन विश्‍वविद्यालयको नाउँमा समेत निर्देशनात्मक आदेश जारी हुने ।

 

९. यो आदेशको जानकारी विपक्षीहरूलाई दिई रिट निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.नहकुल सुवेदी

 

इजलास अधिकृत:-प्रकाश सुवेदी

इति संवत् २०७८ साल वैशाख ९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु