निर्णय नं. १०६५८ - खुन डाँका

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७७।६।१२
मुद्दाः- खुन डाँका
०७४-CR-०२३१
पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवा घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेको शिवदास कान्दुको छोरा वर्ष २३ को कृष्ण कान्दु
विरूद्ध
प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार
०७४-CR-०५२२
पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.४ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेको वर्ष २७ को मालिंगा तथा दिनेश भन्ने सुर्यनाथ मिश्र
विरूद्ध
प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार
०७४-CR-०९६७
पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.२ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा बस्ने सतिशकुमार कौशल (गुप्ता)
विरूद्ध
प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार
०७४-CR-१२०२
पुनरावेदक / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु न.पा. वडा नं.४ अदालत टोल वतन भई हाल जिल्ला कारागार कार्यालय, कपिलवस्तुमा थुनामा रहेका विष्णुप्रसाद मौर्य (मुराउ) को छोरा बब्लु मौर्य (मुराउ) भन्ने देवव्रत मौर्यसमेत
०७४-RC-०१४८
वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : बब्लु मौर्य मुराउ भन्ने देवव्रर्त मौर्य
कुनै पनि प्रतिवादीले अनुसन्धान तहकिकातको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट स्वेच्छाविरूद्ध बयान गराइएको अवस्थामा त्यसको विरूद्ध अदालतमा निवेदन दिई स्वेच्छाविरूद्धको बयान हो भनी प्रमाणित गराउन सक्नुपर्ने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय
प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल, श्री रजिता थापा तथा विद्वान् अधिवक्ता श्री गोपाल पाण्डे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
बालबालिकासम्बन्धी ऐन, २०४८
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री हरिश्चन्द्र ढुंगाना
कपिलवस्तु जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हेमराज पन्त
माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
फैसला
न्या.दीपककुमार कार्की : उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम वादी नेपाल सरकार तथा प्रतिवादीहरू कृष्ण कान्दु, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र सतिशकुमार कौशल गुप्ताको तर्फबाट पुनरावेदन परी र प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यको हकमा न्याय प्रशासन ऐन, २०७३ को दफा १०(३) बमोजिम साधक दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मेरो बुबा श्यामसुन्दर मित्तल मिति २०७१।४।२८ गतेदेखि हराउनु भएको हुँदा खोजतलास गरिपाउँ भनी निजको छोरा नितिनकुमार मित्तलको तर्फबाट हुलिया निवेदन पर्न आएको हुँदा निजको खोजतलासको लागि परिपत्र गरिदिनु हुन अनुरोध भन्ने बेहोराको इलाका प्रहरी कार्यालय चन्द्रौटाको सञ्चार पत्र ।
मिति २०७१।४।२८ गते मेरो साथी विजय चौधरी र मसमेत भई एउटा मेरो र अर्को शिवम् गुप्ताको मोटरसाइकल मागेर चन्द्रौटा बजारमा गई श्यामसुन्दर मित्तललाई तौलिहवा बजारमा ल्याई न्यू पौडेल होटलमा गई मादक पदार्थ रक्सीसमेत खाई खुवाई कपिलवस्तु जिल्ला जमुवारटोल स्थित विजय चौधरीले भाडामा लिएको कोठामा लगी म, विजय चौधरी, सतिशकुमार कौशल, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रसमेत भई निज मित्तललाई हेलमेट हात मुक्काले कुटपिट गरी बेहोस बनाई विजय चौधरीले मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले घाँटी कसी हामीहरूले हात खुट्टा समाती चल्न नदिई निजलाई मारी निजले लगाएका कपडा खोली झाडीमा फाली हामी सबैको सल्लाहबमोजिम निजको लासलाई घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हाली दिएका हौं । हामी सबैले निजलाई कुटपिट गरेको कोठा र लास रहेको सेफ्टीट्याङ्कीसमेत मैले देखाउन सक्छु भन्नेसमेत बेहोराको बब्लु मौर्यले अनुसन्धानको क्रममा गरेको कागज ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ३ जमुवारटोल स्थित पूर्वमा सुकदेव तिवारीको घर जग्गा, पश्चिममा रामदेव बर्माको घर जग्गा, उत्तरमा पारस पाठकको जग्गा, दक्षिणमा पिच सडक, यति चार किल्लाभित्र ज्ञानचन्द्र कसौधनको एक तले दक्षिण मोहडाको ३ कोठे पक्की घर रहेको र सो घरको बिच कोठामा श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारेको भनी प्रतिवादी बब्लु मौर्यले देखाएको घटनास्थल कोठा, सो कोठादेखि उत्तर कम्पाउन्डको आखिरी भागमा ट्वाइलेटसहित सेफ्टीट्याङ्की रहेको र सोही ट्याङ्कीमा श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारी लास गाडेको भनिएको स्थानको चार किल्लासहितको घटनास्थल मुचुल्का ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं.३ जमुवार टोल स्थित पूर्वमा सुकदेव तिवारीको घरजग्गा, पश्चिममा रामदेव वर्माको घर, उत्तरमा पारस पाठकको जग्गा र दक्षिणमा पिच सडक यति ४ किल्ला रहेको ज्ञानचन्द्र कसौधनको एकतले दक्षिण मोहडा भएको तीन कोठे घर र सो घरको उत्तर कम्पाउन्डको आखिरी भागमा ट्वाइलेटसहित सेफ्टीट्याङ्की रहेको र सोही ट्याङ्कीको माथिपट्टि लगाएको ढकनी खोली हेर्दा सेफ्टीट्याङ्कीमा करङ तथा खुट्टाको हड्डी देखिएकोले सो लासलाई बाहिर निकाली हेर्दा अनुहारको भाग चिन्न नसकिने अवस्थामा रहेको, टाउकोबाट कपाल झरेको, घाँटीको भागमा बाघको नङ्ग्रा जस्तो देखिने जन्तर लगाएको, सोदेखि पश्चिमतर्फ झाडीमा झोलाभित्र टिसर्ट, पाइन्ट, चप्पल र सेफ्टीट्याङ्कीबाट क्लज तथा ब्रेकमा प्रयोग हुने तार फेला परेको भन्नेसमेत बेहोराको लास जाँच तथा बरामदी मुचुल्का ।
मिति २०७१।६।१२ गते जमुवारटोल स्थित ज्ञानचन्द्र कसौधनको सेफ्टीट्याङ्कीमा फेला परेको लासको घाँटीमा भएको बाघको २ वटा नङ्ग्राको जन्तर र लासनजिकै झाडीमा फेला परेका कपडाहरू देखाउँदा देखी चिनेँ । ती कपडा मेरो बुबा श्यामसुन्दर मित्तलले लगाउने गर्नुहुन्थ्यो, बाघको नङ्ग्राको जन्तर पनि बुबाले नै लगाउनु हुन्थ्यो । फेला परेको लास मेरो बुबा श्यामसुन्दर मित्तलको हो भनी लास चिनी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको नितिनकुमार मित्तलले गरेको सनाखत कागज ।
मेरो बुबा श्यामसुन्दर मित्तल मिति २०७१।४।२८ गते घर कृष्णनगरबाट व्यापारको लागि चन्द्रौटा बजारमा आउनु भएकोमा बुबा घर फर्की नआएपछि मिति २०७१।४।२९ गते खोजतलास गरिपाउँ भनी हुलिया निवेदन दिई मैले पनि खोजतलास गर्दै रहेकोमा मिति २०७१।६।१२ गते तौलिहवा आई बुझ्दा कपिलवस्तु न.पा. वडा नं. ३ जमुवारटोल स्थित ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा बुबा श्यामसुन्दर मित्तलको लास फेला परेको भनी जानकारी गराई लास जाँच हुँदा बरामद भएको टि सर्ट, पाइन्ट र छालाको चप्पल तथा लासको घाँटीमा रहेको धागोमा बाँधेको बाघको नङ्ग्राको जन्तरसमेतका चिजहरू मेरो बुबा श्यामसुन्दर मित्तलका हुन् । मेरो बुबाले सधैँ हातमा २ वटा औंठी लगाउने र व्यापारी भएको हुँदा साथमा पैसासमेत लिई हिँड्ने हुँदा बुबालाई कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ बस्ने विजय चौधरी, मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्र, ऐ. वडा नं. १ बस्ने कृष्ण कान्दु, ऐ वडा नं.२ बस्ने सतिशकुमार कौशल र ऐ. वडा नं. ४ बस्ने बब्लु मौर्यसमेतका मानिसहरूले साथमा भएको सुनका गरगहना तथा पैसा लिने खाने नियतले मेरो बुबालाई मिति २०७१।४।२८ गते चन्द्रौटा बजारबाट तौलिहवा ल्याई कर्तव्य गरी मारी कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेप्टीट्याङ्कीमा हालेकोमा पूर्ण विश्वास लाग्छ, निजहरूले मेरो बुबालाई कर्तव्य गरी मारी साथमा भएको नगद, दुईवटा सुनको औंठीसमेत लिई गएको हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत कारबाही गरी रू.५२,०००।- बराबरको सुनको औंठीसमेतको धनमाल दिलाई भराइपाउँ भन्नेसमेत नितिनकुमार मित्तलको जाहेरी दरखास्त ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका, वडा नं. ३ स्थित शिवम् गुप्ताको घरको गल्लीमा राखेको लु.११ प ३२८१ नं. मोटरसाइकल बरामद भन्ने बेहोराको बरामदी मुचुल्का ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ घर भएका विजय चौधरी आफ्नो श्रीमतीसहित मिति २०७१।४।२ गतेदेखि नगरपालिकाको गेष्टहाउसमा कोठा बुक गरी बसेका हुन् । निजलाई भेट्न कपिलवस्तु नगरपालिकाअन्तर्गत घर भएका बब्लु मौर्य, कृष्ण कान्दु, सतिशकुमार कौशल र सूर्यनाथ मिश्रसमेतका मानिसहरू पटकपटक गेष्ट हाउसमा आउने जाने गर्देथे । त्यस्तैमा मिति २०७१।४।२८ गते निज विजय चौधरी गेस्ट हाउसबाट निस्की गएको र अं.१६ बजेको समयमा आई आफ्नो श्रीमतीलाई साथमा लिई पछि आउँछु भनी गएका हुन् । मृतक श्यामसुन्दर मित्तललाई निज विजय चौधरीसमेतले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत नगरपालिका गेष्ट हाउसका म्यानेजर बसन्तबहादुर थापाले मौकामा गरेको कागज ।
श्रावण महिनाको अन्तिम हप्तातिर आमाको उपचार गर्न लैजानको लागि २/३ घण्टाको लागि मोटरसाइकल दिनुहोस् भनी मेरो चिनजानका बब्लु मौर्य आई मागेकोले मैले निजलाई मोटरसाइकल दिएको
थिएँ । निजले दिनको १६:३० बजेको समयमा आई मेरो मोटरसाइकल छाडी गएका हुन् । मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ३ जमुवारटोलस्थित ज्ञानचन्द्र कसौधनको घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा कृष्णनगर बस्ने श्यामसुन्दर मित्तलको लास फेला परेको कुरा सुनेको हुँ । घटनाबारे बुझ्दा जाहेरीमा उल्लिखित विजय चौधरीसमेतका मानिसहरूले श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारी लास सेफ्टीट्याङ्कीमा फालेको कुरा थाहा पाऐको हुँ । निजहरूले श्यामसुन्दर मित्तललाई के कुन उद्देश्यले मारे थाहा भएन भन्नेसमेत शिवम् गुप्ताले गरेको घटना विवरण कागज ।
Cause of death could not be determined due to fully decomposition of body भन्नेसमेत बेहोराको श्यामसुन्दर मित्तलको शव परीक्षण प्रतिवेदन ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ घर भएका विजय चौधरीसँग भेट हुँदा म परिवारसहित नगरपालिका गेष्टहाउसमा बसेको छु भनी बताएकोले मलगायत साथीहरू निजलाई भेट्न गेष्टहाउसमा जाने गर्दथ्यौं । वारदात मितिभन्दा १ हप्ताअगाडि मलगायतका साथीहरूलाई विजय चौधरीले फोन गरी बोलाएको हुँदा नगरपालिका गेष्टहाउसमा जाँदा विजय चौधरी, निजको श्रीमती, सतिशकुमार कौशल, मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुसमेत बसी कुराकानी हुँदा विजय चौधरीले मेरो कृष्णनगरको धनी मित्तल भन्ने व्यक्तिसँग लेनदेनको कारोबार छ । निजलाई खत्तम गर्नसके ठुलो पैसा हात पर्छ, तिमीहरूले ५/५ लाख रूपैयाँ पाउँछौ भनेकाले निजको कुरामा सहमत भई निस्केपछि निज विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तल चन्द्रौटा बजारमा आउँछ, एकछिन लिन जाउँ भनेकाले मैले एउटा र निजले एउटा मोटरसाइकल चलाई चन्द्रौटा बजारमा गई श्यामसुन्दर मित्तललाई बोलाई तौलिहवा बजारमा ल्याई न्यू पौडेल होटलमा लगी रक्सी खाई खुवाई जमुवारटोल स्थित विजय चौधरीले भाडामा लिएको ज्ञानचन्द्र कसौधनको घरमा रहेको कोठामा पुर्याई विजय चौधरीले श्यामसुन्दर मित्तललाई कोठाभित्र धकेलेपछि मसमेतले कोठाको चुक्कुल भित्रबाट लगाई पहिले मैले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हानेँ । त्यसपछि सतिशकुमार कौशलले हात मुक्काले छातीमा
हाने । निज श्यामसुन्दर मित्तल भुइँमा लडेपश्चात् अन्य साथीहरूसमेत निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भए । अनि विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो । श्यामसुन्दर मित्तल मरिसकेपछि निजले लगाएको औंठीसमेत विजय चौधरीले झिकी लिएका हुन् । त्यसपछि सबैजना मिली कोठामा लागेको रगत धोइपखाली गरी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा हालेकोमा मिति २०७१।६।१२ गते मैले बताएअनुसार लास फेला परेको हो । बरामद भएको हेल्मेट, तार र मृतकको कपडासमेत सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी बब्लु मुराउले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ घर भएको विजय चौधरीले वारदातभन्दा १ हप्ताअगाडि मलगायतका साथीहरूलाई फोन गरी बोलाएको हुँदा नगरपालिका गेष्टहाउसमा जाँदा विजय चौधरी, निजको श्रीमती, बब्लु मुराउ, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुसमेत बसी कुराकानी हुँदा मेरो कृष्णनगरको धनी मानिस श्यामसुन्दर मित्तल भन्ने व्यक्तिसँग लेनदेनको कारोबार छ, निजलाई खत्तम गर्नसके ठुलो पैसा हात पर्छ, तिमीहरूले पाँच / पाँच लाख रूपैयाँ पाउँछौं भनेकाले निजको कुरामा सहमत भई निस्केपछि निज विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तल चन्द्रौटा बजारमा आउँछ, म र बब्लु मौर्य गई ल्याउँछौं, तिमी मैले भाडामा लिएको कोठामा जानु भनेकाले म जमुवारटोलको विजय चौधरीले भाडामा लिएको ज्ञानचन्द्र कसौधनको घरमा गएँ । त्यसपछि निज विजय चौधरीले श्यामसुन्दर मित्तललाई लिएर आई विजय चौधरीले श्यामसुन्दर मित्तललाई कोठाभित्र धकेले । मसमेतले कोठाको चुक्कुल भित्रबाट लगाई पहिले बब्लु मौर्याले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हानेँ, त्यसपछि मैले हात मुक्काले छातीमा हानेँ, मित्तल भुइँमा लडे । त्यसपछि अन्य साथीहरूसमेत निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि श्यामसुन्दर मित्तल अचेत भए । विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो । त्यसपछि हामी सबै जना मिली कोठामा लागेको रगत धोई पखाली गरी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा हालेको हो, मित्तल मरिसकेपछि निजले लगाएको औंठीसमेत विजय चौधरीले झिकी लिएका हुन् । म, विजय, बब्लु मौर्य, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र, कृष्ण कान्दुसमेत मिली कुटपिट गरी बेहोस बनाई घाँटीमा तारले कसी मारी सोही घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा लास हालेकोमा मिति २०७१।६।१२ गते लास फेला परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी सतिशकुमार कौशलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ घर भएका विजय चौधरीले वारदातभन्दा १ हप्ताअगाडि मलगायतका साथीहरूलाई फोन गरी बोलाएको हुँदा नगरपालिका गेष्ठहाउसमा जाँदा विजय चौधरी, निजको श्रीमती, बब्लु मौर्य, मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्र, सतिशकुमार कौशल मसमेत बसी कुराकानी हुँदा विजय चौधरीले मेरो कृष्णनगरको धनी मानिस मित्तल भन्ने व्यक्तिसँग लेनदेनको कारोबार छ, निजलाई खत्तम गर्नसके ठुलो पैसा हात पर्छ, तिमीहरूले पाँच / पाँच लाख रूपैयाँ पाउँछौ भनेकाले निजको कुरामा सहमत भई निस्केपछि निज विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तल चन्द्रौटा बजारमा आउँछ, म र बब्लु मौर्य गई ल्याउँछौ, तिमी मैले भाडामा लिएको कोठामा जानु भनेकाले म जमुवारटोलको विजय चौधरीले भाडामा लिएको कोठा ज्ञानचन्द्र कसौधनको घरमा गएपछि निज विजय चौधरीले श्यामसुन्दर मित्तललाई लिई आए । निज विजय चौधरीले श्यामसुन्दर मित्तललाई कोठाभित्र धकेलेपछि मसमेतले कोठाको भित्रबाट चुक्कुल लगाई पहिले बब्लु मौर्यले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हाने, त्यसपछि सतिशकुमार कौशलले हात मुक्काले छातीमा हाने, निज मित्तल भुइँमा लडेपछि अन्य मसमेतका साथीहरू निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भए । विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो । त्यसपछि सबैजना मिली कोठामा लागेको रगत धोई पखाली गरी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हालेको हो । मित्तल मरिसकेपछि निजले लगाएको औंठीसमेत विजय चौधरीले झिकी लिएका हुन् । म, विजय चौधरी, बब्लु मौर्य, मालिंगा दिनेश भन्ने सूर्यनाथ मिश्र, सतिशकुमार कौशलसमेत भई कुटपिट गरी बेहोस बनाई घाँटीमा तारले कसी मारी सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा लास हालेकोमा मिति २०७१।६।१२ गते लास फेला परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी कृष्ण कान्दुले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ४ घर भएका विजय चौधरीले वारदातभन्दा एक हप्ताअगाडि मलगायतका साथीहरूलाई फोन गरी बोलाएको हुँदा नगरपालिका गेष्टहाउसमा जाँदा विजय चौधरी, निजको श्रीमती, बब्लु मौर्य, कृष्ण कान्दु, सतिशकुमार कौशलसमेत बसी कुराकानी हुँदा विजय चौधरीले मेरो कृष्णनगरको धनी मानिस मित्तल भन्ने व्यक्तिसँग लेनदेनको कारोबार छ, निजलाई खतम गर्नसके ठुलो पैसा हात पर्छ तिमीहरूले पाँच / पाँच लाख रूपैयाँ पाउँछौ भनेकाले निजको कुरामा सहमत भई निस्केपछि निज विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तल चन्द्रौटा बजारमा आउँछन् म र बब्लु मौर्य गई ल्याउँछौं तिमी मैले भाडामा लिएको कोठामा जानु भनेकाले म जमुवारटोलको विजय चौधरीले भाडामा लिएको कोठा ज्ञानचन्द्र कसौधनको घरमा गएपछि निज विजय चौधरीले श्यामसुन्दर मित्तललाई लिई आई श्यामसुन्दर मित्तललाई कोठाभित्र धकेलेपछि मसमेतले कोठाको भित्रबाट चुक्कुल लगाई पहिले बब्लु मौर्यले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हाने, त्यसपछि सतिशकुमार कौशलले हात मुक्काले छातीमा हाने, श्यामसुन्दर मित्तल भुइँमा लडेपछि मसमेत अन्य साथीहरू निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भए । अनि विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो । निजले घाँटी कस्दा मैले तन्ना च्याती हातखुट्टा बाँधिदिएको तथा कृष्ण कान्दुसमेतले मृतकको हात खुट्टा समातेको हो । त्यसपछि सबैजना मिली कोठामा लागेको रगत धोई पखाली गरी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा हालेको हो । मित्तल मरिसकेपछि निजले लगाएको औंठीसमेत विजय चौधरीले झिकी लिएका हुन् । निजको लास मिति २०७१।६।१२ गते फेला परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मैले कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. १ मा होटेल सञ्चालन गरी आएको छु, गते बार यकिन भएन, मलाई फोटो देखाइएका विजय चौधरी र बब्लु मौर्य आजभन्दा करिब डेढ दुई महिनाअगाडि मेरो होटल पसलमा आई खाजा नास्ता गरी गएका हुन्, मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं.३ स्थित ज्ञानचन्द्र कसौधनको घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा कृष्णनगर बस्ने श्यामसुन्दर मित्तलको लास सडी गली अस्थिपञ्जर अवस्थामा फेला परेको थाहा पाएको हुँ । घटनाबारे बुझ्दा मिति २०७१।४।२८ गते जाहेरीमा उल्लिखित प्रतिवादीहरूले श्यामसुन्दर मित्तललाई मेरो होटल पसलमा ल्याई खाजा नास्ता रक्सी खुवाई विजय चौधरीले भाडामा लिएको कोठामा लगी कर्तव्य गरी मारी सेफ्टीट्याङ्कीमा लास गाडी दिएका
रहेछन् । निजहरूले के कुन उद्देश्यले मारे, थाहा भएन भन्ने मोहनबहादुर पौडेलले गरेको घटना विवरण कागज ।
मिति २०७१।४।२८ गते जाहेरवालाको बुबा श्यामसुन्दर मित्तल चन्द्रौटा बजारमा जान भनी घरबाट गएकोमा घर फर्की नआएपछि खोजतलास गर्ने क्रममा मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला, कपिलस्तु नगरपालिका वडा नं. ३ स्थित ज्ञानचन्द्र कसौधनको घरको सेफ्टीट्याङ्कीमा लास फेला परेको सुनेको हुँ । मिति २०७१।४।२८ गते विजय चौधरीसमेतका मानिसहरूले चन्द्रौटा बजारबाट तौलिहवा ल्याई कर्तव्य गरी मारी ट्वाइलेटको सेफ्टीट्याङ्कीमा लास गाडी दिएकोमा विश्वास
लाग्छ । जाहेरीमा उल्लिखित मानिसहरूले निज श्यामसुन्दर मित्तलको धनमाल लिने खाने नियतले कर्तव्य गरी मारेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही होस् भन्ने केशर वलीले गरेको घटना विवरण कागज ।
मिति २०७१।४।२८ गते घरबाट चन्द्रौटा जान भनी गएका श्यामसुन्दर मित्तल घर फर्की नआएपछि खोजतलास भइरहेको अवस्थामा मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित जमुवारटोलमा रहेको ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा सडी गलिसकेको अवस्थामा लास फेला परेको थाहा पाएको हुँ । जाहेरीमा उल्लिखित मानिसहरूले कर्तव्य गरी मारी लास सेफ्टीट्याङ्कीमा हालिदिएको हुँदा निजहरूलाई कानूनबमोजम कारबाही होस् भन्ने कृष्णकुमार गुप्ताले गरेको घटना विवरण कागज ।
मिति २०७१।४।२८ गते घरबाट चन्द्रौटा जान भनी गएका श्यामसुन्दर मित्तल घर फर्की नआएपछि खोजतलासकै क्रममा रहेको अवस्थामा मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा सडी गलिसकेको अवस्थामा मृतक लास फेला परेको
हो । निजलाई जाहेरीमा उल्लिखित प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने थाहा भएको हो । निजहरूले श्यामसुन्दर मित्तलको साथमा भएको नगद र गरगहना लिने खाने नियतले पूर्वयोजना बनाई सुनियोजित तरिकाले कर्तव्य गरी मारी मृतकको लास ट्वाइलेटको सेफ्टीट्याङ्कीमा गाडेको विश्वास लाग्छ भन्ने घनश्यामदाश अग्रवालले गरेको घटना विवरण कागज ।
कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं.३ स्थित जमुवारटोलमा रहेको घर आजभन्दा साढे चार महिना पहिले खरिद गरेको हुँ । सो घर खरिद गर्दा खाली अवस्थामा थियो र उक्त घरको नजिकै घर भएका मेरो दाइका साथी दिनानाथ अग्रहरीलाई घर हेर्न जिम्मा लगाएको थिएँ । सो घरको व्यक्तिलाई कहिलेदेखि कोठा भाडामा दिए नदिएकोबारे दिनानाथ अग्रहरीलाई नै थाहा छ । मिति २०७१।६।१२ गते मैले किनेको घरको सेफ्टीट्याङ्कीमा कपिलवस्तु जिल्ला कृष्णनगर घर हुने श्यामसुन्दर मित्तलको सडीगली अस्थिपञ्जर अवस्थामा लास फेला परेको थाहा पाएको हुँ । पछि बुझ्दा मिति २०७१।४।२८ गते निज श्यामसुन्दर मित्तललाई विजय चौधरीले चन्द्रौटा बजारबाट मोटरसाइकलमा तौलिहवा ल्याई खाजा नास्ता गराई मेरो घरको कोठामा लगी मारी ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा गाडी दिएको थाहा भयो । जाहेरीमा उल्लिखित प्रतिवादीहरूले श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने जितेन्द्रकुमार कसौधनले गरेको घटना विवरण कागज ।
मिति २०७१।६।१२ गते कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित जमुवारटोलमा रहेको ज्ञानचन्द्र कसौधनको घरको सेफ्टीट्याङ्कीबाट कपिलवस्तु कृष्णनगर बस्ने श्यामसुन्दर मित्तलको सडी गलिसकेको अवस्थाको अस्थिपञ्जर लास फेला परेकोले बुझ्दा निज श्यामसुन्दर मित्तललाई जाहेरीमा उल्लिखित प्रतिवादीहरू विजय चौधरी र बब्लु मौर्यसमेतले चन्द्रौटा बजारबाट तौलिहवा ल्याई खाजा नास्ता खुवाई ज्ञानचन्द्र कसौधनको घरको कोठामा लगी कर्तव्य गरी मारी ट्वाइलेटको सेफ्टीट्याङ्कीमा लास गाडी दिएको थाहा भएको हो । श्यामसुन्दर मित्तल व्यापारी भएकोले धनमाल लिने खाने नियतले जाहेरीमा उल्लिखित प्रतिवादीहरूले पूर्वयोजना बनाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने शिवगुलाम गुप्ताले गरेको घटना विवरण कागज ।
मैले कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित जमुवार टोलमा रहेको ज्ञानचन्द्र कसौधनको घरको कोठा भाडामा २०/२२ दिन भाडामा बसेपछि मिति २०७१।६।१२ गते म बसेको कोठामा मानिस मारी सेफ्टीट्याङ्कीमा गाडेको भनी बताएकोले सेफ्टीट्याङ्कीभित्र लास सडी गली अस्थिपञ्जर अवस्थामा फेला परी लास बाहिर निकाली हेर्दा लास सडीगली चिन्न नसकिने अवस्थामा रहेको थियो । उक्त सेफ्टीट्याङ्कीनजिक झाडीमा झोलाभित्र टिसर्ट, पाइन्ट र चप्पल फेला परेको हो भन्ने पंकज अग्रहरीले गरेको घटना विवरण कागज ।
वारदात घटेको घर ज्ञानचन्द्र कसौधनको
हो । निजको छोरा मेरो साथी भएकोले २०७१ सालको जेठ महिनामा घनश्याम यादव भन्ने व्यक्तिबाट उक्त घर मैले किनाई दिएको हुँ । घर साहुले उक्त घर मलाई जिम्मा दिएका थिए । घर खाली भएकोले उक्त घरको मूल ढोकामा मैले ताला लगाई चाबी आफैँ राख्ने गरेको हुँ । गते मिति यकिन भएन, २०७१ सालको श्रावण महिनाको दोस्रो हप्तातिर विजय चौधरीले मलाई घरको कोठा चाहिएको छ दिनुहोस् भन्न आएकोले उक्त घरमा रहेको ३ कोठामध्ये बिचको कोठा निजलाई भाडामा दिई मसँग रहेको दुईवटा कोठाको चाबीमध्ये एउटा चाबी निजलाई दिएको हुँ । निज उक्त कोठामा आई बसे बसेनन् मलाई ख्याल भएन । हाल मैले विजयलाई बस्न भनी भाडामा दिएको उक्त कोठामा श्यामसुन्दर मित्तललाई ल्याई कर्तव्य गरी मारी सेफ्टीट्याङ्कीमा लास फालेका रहेछन् भन्ने हाल आएर थाहा भयो । निज विजय चौधरीले वारदात घटाई कोठाको चाबीसमेत लिई फरार भएका हुन् । निज हाल कहाँ छन्, थाहा छैन भन्ने दिनानाथ अग्रहरीले गरेको घटना विवरण कागज ।
प्रतिवादीहरू विजय चौधरी, बब्लु मौर्य मुराउ, सतिशकुमार कौशल, मालिङ्गा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुले पूर्वयोजना बनाई जाहेरवालाका बाबु श्याम सुन्दर मित्तललाई मिति २०७१।४।२८ गते चन्द्रौटा बजारबाट तौलिहवा ल्याई ज्ञानचन्द्र कसौधनको घर कोठाभित्र लगेर कुटपिट गरी घाँटी च्यापी कर्तव्य गरी मारी निजको साथमा रहेको रू.६२,०००।- बराबरको नगद तथा सुन चाँदीका गरगहना डाँका गरी लगेको देखिएकाले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको १ र ६ नं. तथा ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको कसुरमा सोही चोरीको १४(४) नं. र ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरी चोरीको बिगोसमेत प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाऊँ । साथै उक्त घटना वारदातमा प्रतिवादी विन्दु भन्ने विन्धवासिनी चौधरीले पनि श्यामसुन्दर मित्तललाई मार्ने मराउने कार्यमा षडयन्त्र गरेको देखिन आएकोले निज विन्धवासिनी चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. अनुसारको कसुर अपराधमा सजाय गरिपाउँ भन्ने अभियोग पत्र ।
म मिति २०७१।४।२८ गतेका दिन बिहान ९ बजेदेखि ५ बजेसम्म मालपोत कार्यालयमा काम गर्दै थिएँ । उक्त घटनाको बारेमा मलाई केही थाहा छैन । म मिति २०७१।६।११ गते खुनुवा बजारबाट पक्राउ परेको हुँ । मिति २०७१।६।१२ गते भएको घटनास्थल मुचुल्कामा मलाई जबरजस्ती सहीछाप गराइएको
हो । बरामदी मुचुल्काको बारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यले सुरू अदालतमा गरेको बयान ।
मैले जाहेरवालालाई चिन्दिन । निजसँग कुनै रिसइवी छैन । मिति २०७१।४।२८ गते म आफ्नै किराना पसलमा अङ्कल सुरेश गुप्ताको साथमा
थिएँ । मैले केही कसुर गरेको छैन । मलाई जबरजस्ती सहीछाप गराएका हुन् । मैले कुनै घटना नघटाएको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी सतिशकुमार गुप्ताले सुरू अदालतमा गरेको बयान ।
मैले जाहेरवाला र सहप्रतिवादीहरूलाई चिन्दिन । म मिति २०७१।४।२८ गते दिनभर शिवमन्दिर टोलमा रहेको आफ्नै चिया पसलमा थिएँ । मैले श्यामसुन्दर मित्तललाई चिन्दिन । मलाई असोज १२ गते पक्राउ गरेका हुन् । किन पक्राउ गरे थाहा
छैन । मैले कुनै कसुर गरेको छैन । मउपरको अभियोग दाबी गलत भएकोले सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी कृष्ण कान्दुले सुरू अदालतमा गरेको बयान ।
म मिति २०७१।४।२८ गते दिउँसो मैले काम गर्ने मालिका फेन्सी स्टोर्समा काम गरिरहेको थिएँ । मैले श्यामसुन्दर मित्तल तथा जाहेरवालालाई चिन्दिन । मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । मैले कुनै गल्ती गरेको छैन भन्ने प्रतिवादी मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीहरू सतिशकुमार कौशल, कृष्ण कान्दु, मालिङ दिनेश भन्ने सूर्यनाथ मिश्रलाई पुर्पक्षका लागि थुनामा राख्न मुलुकी ऐन, अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु र प्रतिवादीमध्येका बब्लु मौर्य भन्ने देवव्रत मौर्यको जन्ममिति २०५५।९।१४ देखिई वारदातको दिन मिति २०७१।४।२८ मा निजको उमेर १५ वर्ष ७ महिना १४ दिन भएको देखिँदा निजलाई बालसुधार गृह, सानोठिमी, भक्तपुरमा थुनामा राख्न पठाइदिनु भन्ने सुरू अदालतबाट मिति २०७१।७।१० मा भएको थुनछेक आदेश ।
मैले जानकारी पाएअनुसार विजय चौधरीलगायत उसका साथीहरूले जाहेरवालाका बाबु श्यामसुन्दर मित्तललाई साइकलको ब्रेकको तारले घाँटी कसी मारेका हुन् । प्रतिवादीहरूले मृतकको औंठी, नगद पैसा र सिक्रीसमेत लुटेर लगेका हुन् । मौकामा भएको कागजमा गरेको सहीछाप मेरो हो भन्ने मौकामा कागज गर्ने कृष्णकुमार गुप्ताले गरेको बकपत्र ।
म बिहानदेखि बेलुकासम्म फेन्सी स्टोरमा काम गर्दै थिएँ । साँझ चुरोट र पान खाई घरमा सुत्न गएको हुँ । प्रतिवादी सूर्यनाथ मिश्रलाई लागेको आरोप झुठ्ठा हो । निज निर्दोष भएकोले सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी सूर्यनाथ मिश्रका साक्षी विन्देश्वरी चौहानले गरेको बकपत्र ।
विजय चौधरीले मिति २०७१।४।२ गते कोठा लिई बसेका थिए । उक्त कोठामा घर थाहा नभएको कृष्ण, सतिश, विजयको ससुरा र बब्लु भन्ने व्यक्तिहरू आउने जाने गर्दथे । उक्त साउन २८ गतेदेखि कोठा छोडेका हुन् । गेष्ट हाउसको बुझाउनुपर्ने रूपैयाँ बाँकी नै छ, नदिई भागेका हुन् भन्ने मौकामा कागज गर्ने वसन्तबहादुर थापाले गरेको बकपत्र ।
बब्लु मौर्य, विजय चौधरीसमेतका ६ जनाले आ-आफ्नो हातमा रहेको हेल्मेट र मोटरसाइकलको चेन आदिले पिटेर मेरो बुबालाई मारेका हुन् । निजहरूले बुबाको सुनको औंठी र खल्तीमा रहेको नगदसमेत लुटेका हुन् । जाहेरी दर्खास्तमा भएको सहीछाप र बेहोरा मेरो हो भन्ने वादीका साक्षी जाहेरवाला नितिनकुमार मित्तलले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।४।२८ गते दिनभर प्रतिवादी कृष्ण कान्दु शिवमन्दिर टोलमा आफ्नै पसलमा थिए । प्रतिवादी कृष्ण कान्दुले श्यामसुन्दर मित्तललाई मारेका होइनन्, निजले सफाइ पाउनुपर्छ भन्ने कृष्ण कान्दुको साक्षी अब्दुल समद मुसलमानले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त दिन प्रतिवादी सतिशकुमार गुप्ता आफ्नो किराना पसलमा थिए । निजले श्यामसुन्दर मित्तललाई मारेका नहुँदा सफाइ पाउनुपर्छ भन्ने सतिशकुमार गुप्ताको साक्षी समसुल रंगरेजले गरेको बकपत्र ।
उक्त घटना वारदातमा प्रतिवादी विजय चौधरीसमेतका ६ जनाको संलग्नता रहेको छ । प्रतिवादीहरूले प्रहरीसमक्ष बयान गर्दा हामीहरूले श्यामसुन्दर मित्तललाई हेल्मेट र चेनसमेतले हानेर कर्तव्य गरी मारेका हौं भनी स्वीकार गरेका थिए । मृतकको साथमा सुनको औंठी र नगद पनि थियो, अरू थाहा भएन भन्ने वादीका साक्षी केशर वलीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।४।२८ गते बब्लु मौर्य र मसमेत बिहान ९ बजेदेखि ५ बजेसम्म मालपोत कार्यालयको चौतारामा थियौं । बब्लु मौर्यले मृतकको लास देखाएको भनी प्रहरीले गराएको कागज झुठ्ठा हो । लास गन्हाएपछि गाउँसमाजले खबर गरी प्रहरीले थाहा पाएको हो । प्रतिवादी बब्लु मौर्य निर्दोष हुँदा सफाइ पाउनुपर्छ भन्ने निजका साक्षी विष्णुप्रसाद बरालले गरेको बकपत्र ।
श्यामसुन्दर मित्तल मिति २०७१।४।२८ गतेदेखि हराएको हुँदा निजको खोजतलासको लागि मिति २०७१।६।११ गते घटनामा शंका गरिएका व्यक्ति बब्लु मौर्य र सतिशकुमार कौशललाई सोधपुछ गर्दा निजहरूमध्येका बब्लु मौर्यले मिति २०७१।४।२८ गते चन्द्रौटा बजारमा गई श्यामसुन्दर मित्तललाई आफ्नो मोटरसाइकलमा राखी तौलिहवा स्थित न्यू पौडेल होटलमा ल्याई खाजा नास्ता खुवाई सो ठाउँबाट विजय चौधरी बस्ने गरेको जमुवार टोलस्थित कोठामा लगी सो कोठामा रहेका सतिशकुमार कौशल, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र, विजय चौधरी, कृष्ण कान्दु र म बब्लु मौर्यसमेत भई हेलमेटले टाउकोमा हानी भुइँमा ढालेपछि मोटरसाइकलको क्लज तारले घाँटी कसी मारी सोही घरको सेफ्टीट्याङ्कीमा गाडेका हौं भनी बताएकोले मिति २०७१।६।१२ गते निज बब्लु मौर्यले देखाएको ठाउँमा रहेको सेफ्टीट्याङ्कीबाट स्थानीय मानिसहरूको रोहवरमा मृतकको लास बरामद भएको हो । निज श्यमसुन्दरलाई बब्लु मौर्य, सतिशकुमार कौशल, कृष्ण कान्दु, विजय चौधरी र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रले कर्तव्य गरी मारेका हुन् भन्ने वादीका साक्षी प्र.ना.नि. गोपालनारायण श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।४।२८ गते २:०० बजेको समयमा श्यामसुन्दर मित्तल हराएकोले डि.एस.पी. साहवको कमान्डमा खोजतलास एवं अनुसन्धान टोली गठन भएको हो । शंका लागेका व्यक्तिलाई सोधपुछ गर्दा बब्लु र सतिशकुमारले विजय चौधरीको डेरामा ५ जना मिलेर श्यामसुन्दर मित्तललाई मारी सेफ्टीट्याङ्कीमा हालिदिएका हौं भनेपछि लास फेला परेको हो । श्यामसुन्दर मित्तललाई बब्लु मौर्य, सतिशकुमार कौशल, विजय चौधरी, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुसमेत मिली मारेका हुन् भन्ने वादीका साक्षी तथा प्रतिवेदक प्र.ह. नैतुल्वाह धोवीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीमध्येका विजय चौधरी र विन्दावासिनी चौधरी फरार रहेकाले निजहरूको हकमा मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबीमा राखिदिने । प्रतिवादीहरू बब्लु भन्ने देवव्रत मौर्य, सतिशकुमार कौशल गुप्ता, कृष्ण कान्दु र मालिङ्गा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. अनुसारको कसुरमा जन्मकैदको सजाय हुने र प्रतिवादीहरू बब्लु मौर्य भन्ने देवव्रत मौर्य, सतिसकुमार कौशल, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रलाई मुलुकी ऐन, चोरीको १ र ६ नं. अनुसारको कसुरमा सोही १४(४) नं. बमोजिम जनही ६ वर्ष कैद र बिगोको डेढीका हिसाबले जनही रू.९३,०००।- जरिवानासमेतको सजाय हुने, प्रस्तुत घटनामा ५ जना प्रतिवादीहरू संलग्न रहेको देखिँदा बिगो पनि बराबर बाँडी खाएको स्वाभाविक अनुमान लाग्ने भएकोले उल्लिखित ४ जना प्रतिवादीहरूबाट मुलुकी ऐन, चोरीको २१ नं. बमोजिम जाहेरवालालाई जनही रू.१२,४००।- का दरले बिगो भराइदिने र बब्लु मौर्य भन्ने देवव्रत मौर्यलाई उल्लिखित दुवै कसुरको आधी सजाय हुने भएकोले निजलाई ज्यानसम्बन्धी कसुरमा १० वर्ष र डाँका चोरीतर्फ ३ वर्ष गरी कुल १३ वर्ष कैद र रू.४६,५००।– जरिवाना हुने भन्ने सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७२।८।२ को फैसला ।
वादीको तर्फबाट कृष्णकुमार गुप्तासमेतले अदालतमा आई बकपत्र गरेपनि निजहरू पनि चश्मदिद साक्षी नभएकोले निजहरूले सुनेको आधारमा बकपत्र गरेको पाइन्छ । मलाई प्रहरीले मेरो इच्छा विरूद्ध लेखेको कागजमा जबरजस्ती सही गराएको हो, मैले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही गरेको सही सत्य बयानलाई मूल्याङ्कन नगरी प्रहरीमा गरेको साबिती बयानलाई आधार बनाई कसुरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी बब्लु भन्ने देवव्रत मौर्यको पुनरावेदन पत्र ।
घटनास्थलमा म गएको वा फर्केको भन्ने देखेको मौका कागजमा कुनै व्यक्तिले भन्न सकेका
छैनन् । बब्लु मौर्यले अनुसन्धानको बयानमा घटनास्थलमा मेरो उपस्थिति भने तापनि वारदात घटाउनुमा निजले मेरो भूमिका, सल्लाह, योजना, कुटपिट केही पनि किटानसाथ भनेका छैनन् र अदालतमा बयान गर्दा निजले मेरो उपस्थितिको कुरामा इन्कार रही बयान गरेका छन् । प्रतिवादीले बरामद, हेलमेट तार मृतकको लुगाफाटा सनाखत गरेको भन्ने आधार लिइएको छ तर त्यसमा मृतकलाई हातखुट्टा बाँधेको तन्नाको टुक्रा तथा च्यातेको तन्ना बरामद भएको छैन । यस्तोमा मेरो विरूद्ध प्रमाण लगाउन मिल्ने होइन, यो आधार लिई गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रको पुनरावेदन पत्र ।
हुलिया निवेदन र मिति २०७१।६।१२ गतेको जाहेरी दरखास्तलाई आधार प्रमाण लिइएकोमा जाहेरी दरखास्त तथ्यका साथ किटानी छैन । जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयबाट आएको फोन र भनाइको आधारमा भएको एवं जाहेरी दरखास्तमा शंका र विश्वासको कुरा उल्लेख भएको हुँदा प्रमाण ग्राह्य
छैन । बब्लु मौर्य नाबालक भएकोले संरक्षकको रोहवरबिना निजले गरेको कागज प्रमाण ग्राह्य हुन सक्दैन । त्यस्तो कागजलाई आधार लिई म निर्दोष व्यक्तिलाई कैद र जरिवाना गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी कृष्ण कान्दुको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दाका अन्य प्रतिवादीहरूसँग मेरो कुनै चिनजान सम्पर्क नरहेको कुरा अदालतसमक्ष बयान गर्दा खुलाएको छु । मेरो निजहरूसँगको चिनजान सम्पर्कको कुरा कुनै तथ्यबाट पुष्ट्याईं भएको छैन । मैले प्रहरीमा गरेको बयान मेरो इच्छाविपरीत गराइएको हो । वारदातमा मेरो संलग्नता कहीँकतैबाट पुष्टि नभएको एवं अभियोग शंकारहित प्रमाणबाट पुष्टि हुन नआएकोले त्यस्तो शंकास्पद प्रमाणको आधारमा सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी सतिशकुमार कौशल (गुप्ता) को पुनरावेदन पत्र ।
यसमा प्रतिवादीहरू अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रहेका, निजहरूको सँगसाथबाट डाँका गरेको भनिएका कुनै दशी बरामद पनि नभएको एवं १६ वर्षभन्दा कम उमेर देखिएका बब्लु मौर्य (मुराउ) ले गरिदिएको घटना विवरण कागजबाट मुद्दा उठान भई प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको सुरू फैसला प्रमाण मूल्याङ्कन एवं अ.बं. २४ नं. को सन्दर्भमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, बुटवललाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०७३।३।२८ मा भएको आदेश ।
प्रतिवादीहरूउपर ज्यानसम्बन्धीको १३(३) नं. र चोरीको १४(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरूउपर लिइएको ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबीअनुरूप प्रतिवादीहरूलाई सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको मिति ०७२।८।२ को फैसला सो हदसम्म मिलेकै देखिए पनि यी प्रतिवादीहरूले डाँका गरेको भन्ने अभियोग दाबी उल्लिखित आधार र कारणबाट पुष्टि हुन नसकेको अवस्थामा डाँका चोरीको कसुरमा प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको १४(४) नं. बमोजिमसमेत सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको देखिन नआएकोले उक्त फैसला सोही हदसम्म केही बदर भई प्रतिवादीहरूउपरको डाँका चोरीतर्फको अभियोग दाबी सो हदसम्म पुग्न सक्दैन । डाँका चोरीको अभियोगबाट प्रतिवादीले सफाइ पाउने र ज्यान मुद्दामा गरिएको सजायसमेतबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर सो हदसम्म पुग्न सक्दैन भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।१ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा अभियोग दाबीअनुसार दिनको समयमा घटना वारदात भएकोमा एउटा व्यक्तिलाई पाँच जना व्यक्ति मिलेर कुटपिट गरी मारेर लास घरनजिकै सेफ्टीट्याङ्कीमा राख्दा वरपरका मान्छेले नदेख्ने कुराको कल्पना गर्न सकिँदैन । मैले कसुर अपराध नगरेको कुरा आफ्नो अदालतसमक्षको बयानमा खुलाएको छु । मेरो साक्षी अब्दल समद मुसलमानले बकपत्र गर्दा मलाई निर्दोष भनी बकपत्र गरेको छ । प्रस्तुत मुद्दामा चश्मदिद गवाह नरहेको र अनुमान एवं शंकालाई आधार लिई फैसला गरिएको छ । वारदात घटाउनमा मेरो संलग्नता कहफँकतैबाट पुष्टि भएको छैन । अभियोग दाबी शंकारहित प्रमाणबाट पुष्टि हुन नआएकोले त्यस्तो शंकास्पद प्रमाणको आधारमा मलाई सजाय गर्न न्यायको मान्य सिद्धान्तसमेतको प्रतिकूल हुन जाने हुन्छ । उच्च अदालतको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको हुँदा सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला उल्टी गरी सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी कृष्ण कान्दुको यस अदालतमा परेको पुनरावेदन ।
जाहेरवालाको अदालतको बकपत्रमा बब्लु भन्ने देवव्रत मौर्य र विजय चौधरीको नाम उल्लेख छ तर म मालिंगा तथा दिनेश भन्ने सुर्यनाथ मिश्रको नाम उल्लेख गरेको छैन । वादीका साक्षी गेष्ट हाउसका मेनेजर वसन्तबहादुर थापाले बकपत्र गर्दा मेरो नाम उल्लेख गर्न सकेका छैनन् । अनुसन्धानमा संलग्न प्र.ना.नि. गोपाल नारायण श्रेष्ठ र प्र. ह. नैतुल्ला धोवीले गरेको बकसपत्र हेर्दा ती चश्मदिद नभई बब्लु मौर्य भन्ने देवव्रत मौर्य र सतिशकुमार कौशलले अनुसन्धानमा गरेको बयानलाई आधार लिई बकपत्र गरेका छन् । निजहरूले मेरो नामसम्म उल्लेख गरे तापनि वारदात घटाउनमा मेरो के कस्तो भूमिका र संलग्नता थियो भन्ने कुरा खुलाएर बकपत्र गर्न सकेका छैनन् । मलाई सहप्रतिवादीहरूले फोनद्वारा बोलाएको भन्ने भनाइलाई कल डिटेलबाट पुष्टिसमेत भएको छैन । शंकाको भरमा मात्र मलाई कसुरदार ठहर गरी ज्यानतर्फको अभियोग दाबी पुग्ने भन्ने सुरू फैसला सदर गरेको उच्च अदालतको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी सुर्यनाथ मिश्रको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीको श्यामसुन्दर मित्तलको हत्या गर्नमा मेरो कुनै संलग्नता छैन । निज मृतकसँग मेरो कुनै प्रकारको चिनजान, झै-झगडा, रिसइबी, लेनदेन इत्यादि केही छैन । परिस्थितिजन्य प्रमाण र मृतक श्यामसुन्दर मित्तलको मृत्यु अस्वाभाविक भएको हुँदा कर्तव्यबाट मृत्यु भएको भन्ने तर्क गलत छ । मैले अदालतमा कसुरमा इन्कार रही बयान गरेकोमा अनुसन्धान अधिकारीसमक्षको बयानमा साबित रहेको कुरालाई मात्र प्रमाणमा लिइएको छ । म प्रतिवादी साह्रै अन्यायमा परेकोमा सुरू जिल्ला अदालतको फैसलालाई नै सदर गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी सतिशकुमार कौशल (गुप्ता) को यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रस्तुत अपराधको जरिया नै जाहेरवालाका बाबु मृतक श्यामसुन्दर मित्तलसँग भएका नगद धनमाल गहना लुट्नु नै रहेको भन्ने तथ्य समग्र मिसिल प्रमाणहरूबाट पुष्टि भइरहेको छ । जाहेरी दरखास्त, जाहेरवालाले अदालतमा आई गरेको बकपत्र, प्रतिवादीहरूको मौकाको बयानलगायतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूले मृतक श्यामसुन्दर मित्तललाई मार्नुको मुख्य कारण नै निजबाट धनमाल बलपूर्वक लिने खाने उद्देश्य रहेको र वारदातपछि मृतकले लगाइरहेको औंठीसहितका धनमाल लिएको भन्ने देखिँदा सो तथ्यलाई अनदेखा गरी निज प्रतिवादीहरूलाई डाँकाचोरीतर्फ अभियोग दाबीबाट सफाइ दिने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण छ । यी प्रतिवादीहरूले मृतकलाई कोठामा लगी विभत्स ढङ्गले मारिसकेपछि मृतकले लगाएको औंठीसमेत लुटी लगेको भन्ने प्रतिवादीहरूकै मौकाको बयानबाट खुलिरहेको अवस्थामा डाँका चोरीतर्फको अभियोग दाबी नपुग्ने ठहर्याएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी बब्लु भन्ने देवव्रत मौर्यको तर्फबाट उच्च अदालतको फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न नआएकोले निजको हकमा साधक जाँचको लागि मुद्दा साधक दायरीमा दर्ता भई पेस भएको ।
यसमा वारदातको रूप र प्रकृतिबाट डाँकाको वारदात भएको देखिएको अवस्थामा मुद्दाको आधारभूत विषय र परिस्थितिको समुचित मूल्याङ्कन नगरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३।१२।१ को फैसला प्रमाण मूल्याङ्कनका दृष्टिले फरक पर्न सक्ने देखिँदा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(२) को प्रयोजनार्थ छलफलका लागि उपस्थित पक्षहरूको हकमा एक अर्काको पुनरावेदन परस्पर सुनाउनु र अनुपस्थित पक्षलाई म्याद जारी गरी झिकाई आए वा म्याद नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७६।४।१९ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्यायले प्रस्तुत मुद्दाको वारदात घटाउनुको जरिया भनेको मृतकको धनमाल लुट्ने नै देखिएको छ । सो कुरा जाहेरी दरखास्त, जाहेरवालाले अदालतमा आई गरेको बकपत्र, प्रतिवादीहरूको मौकाको बयानलगायतका प्रमाणबाट प्रस्ट हुन आएको देखिन्छ । उक्त घटनापछि मृतकले लगाई राखेको औंठीसहितका धनमाल प्रतिवादीले लिएको भन्ने देखिएकोमा निज प्रतिवादीहरूलाई डाँका चोरीतर्फ अभियोगदाबीबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । यी प्रतिवादीहरूले मृतकलाई कोठामा लगी विभत्स ढङ्गले मारिसकेपछि मृतकले लगाएको औंठीसमेत लुटी लगेको भन्ने प्रतिवादीहरूकै मौकाको बयानबाट खुल्न आएको छ । यसबाट डाँका चोरीतर्फको वारदातसमेत स्थापित भएको अवस्था हुँदा डाँका चोरीतर्फको अभियोग दाबी नपुग्ने ठहर्याएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादी कृष्ण कान्दुको तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ता श्री गोपाल पाण्डेले दिनको समयमा वारदात भएकोमा एउटा व्यक्तिलाई पाँचजना व्यक्ति मिलेर कुटपिट गरी मारेर लास घरनजिकै सेफ्टीट्याङ्कीमा राख्दा वरपरका मान्छेले नदेख्ने भन्ने हुँदैन । प्रस्तुत मुद्दामा चश्मदिद गवाह नरहेको, अनुमान एवं शंकाको आधारमा मेरो पक्षउपर अभियोग लगाइएको छ । मेरो पक्षको संलग्नता कहीँकतैबाट पुष्टि भएको छैन । जाहेरी नै नाबालक प्रतिवादी बब्लु भन्ने देवव्रत मौर्यको कथनका आधारमा सुरू भएको छ । बरामद भएको अस्थिपञ्जर श्यामसुन्दरकै हो भन्ने यकिन भएको
छैन । लास सडी गलिसकेको अवस्थामा मृत्युको कारण खुल्दैन । अभियोग दाबी शंकारहित प्रमाणबाट पुष्टि हुन नआएकोले त्यस्तो शंकास्पद प्रमाणको आधारमा कर्तव्य ज्यानजस्तो गम्भीर अपराधमा सजाय गर्न मिल्दैन । तसर्थ, सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला उल्टी गरी मेरा पक्षलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी बहस प्रस्तुत
गर्नुभयो ।
पुनरावेदक प्रतिवादी सतिशकुमार कौशलको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापाले प्रतिवादी सतिशकुमारको उक्त घटना वारदातमा कुनै संलग्नता छैन । निजको मृतकसँग कुनै प्रकारको चिनजान, झै-झगडा, रिसइवी लेनदेन इत्यादि केही नभएको स्थितिमा प्रतिवादी सतिशकुमार पनि हत्यामा संलग्न रहेको भनी जन्मकैद हुने ठहराएको जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण छ । जाहेरी नै अनुमानको भरमा परेको छ । अदालतसमक्षको बयानमा सबै प्रतिवादी कसुरमा इन्कार रहेका छन् । मृतकलाई मार्नुपर्ने कुनै कारण छैन । मृत्युको कारण नै नखुलेको अवस्थामा कसुरदार ठहर्याउन मिल्दैन । तसर्थ, मेरो पक्षलाई सफाइ दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।१ मा भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू विजय चौधरी, बब्लु मौर्य मुराउ, सतिशकुमार कौशल, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुले पूर्वयोजना बनाई जाहेरवालाका बाबु श्यामसुन्दर मित्तललाई मिति २०७१।४।२८ गते चन्द्रौटा बजारबाट तौलिहवा ल्याई ज्ञानचन्द्र कसौधनको घर कोठाभित्र लगेर कुटपिट गरी घाँटी च्यापी कर्तव्य गरी मारी निजको साथमा रहेको रू.६२,०००।- बराबरको नगद तथा सुन चाँदीका गरगहना डाँका गरी लगेको देखिएकाले निज प्रतिवादीरूलाई मुलुकी ऐन, चोरीको १ र ६ नं. तथा ज्यानसम्बन्धीको १३(३) नं. अनुसारको कसुरमा चोरीको १४(४) नं. र ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी चोरीको बिगोसमेत प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई भराई पाउँ साथै उक्त घटना वारदातमा प्रतिवादी विन्दु भन्ने विन्धवासिनी चौधरीले पनि श्यामसुन्दर मित्तललाई मार्ने मराउने कार्यमा षड्यन्त्र गरेको देखिन आएकोले निज विन्धवासिनी चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. अनुसारको कसुर अपराधमा सोही १६ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका विजय चौधरी र विन्धवासिनी चौधरी फरार रहेकाले निजहरूको हकमा मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबीमा राखिदिने । प्रतिवादीहरू बब्लु भन्ने देवव्रत मौर्य, सतिशकुमार कौशल गुप्ता, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. अनुसारको कसुरमा जन्मकैदको सजाय हुने र प्रतिवादीहरू बब्लु मौर्य भन्ने देवव्रत मौर्य, सतिशकुमार कौशल, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रलाई मुलुकी ऐन, चोरीको १ र ६ नं. अनुसारको कसुरमा सोही महलको १४(४) नं. बमोजिम जनही ६ वर्ष कैद र बिगोको डेढीका हिसाबले जनही रू.९३,०००।- जरिवाना हुने एवम् उल्लिखित ४ जना प्रतिवादीहरूबाट चोरीको २१ नं. बमोजिम जाहेरवालालाई जनही रू.१२,४००।- का दरले बिगो भराइदिने, प्रतिवादी बब्लु मौर्य भन्ने देवव्रत मौर्यलाई उल्लिखित दुवै कसुरको आधी सजाय हुने भएकोले निजलाई ज्यानसम्बन्धी कसुरमा १० वर्ष र डाँका चोरीतर्फ ३ वर्ष गरी कुल १३ वर्ष कैद र रू. ४६,५००।– जरिवाना हुने भन्नेसमेत सुरू कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादीहरूको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुनरावेदन परेकोमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म सदर हुने र डाँका चोरीको कसुरमा प्रतिवादीहरूलाई सजाय गर्ने गरेको सुरूको फैसला सो हदसम्म बदर भई प्रतिवादीहरूले डाँका चोरीतर्फको अभियोग दाबीबाट सफाइ पाउने भनी भएको फैसलामा चित्त नबुझी वादी नेपाल सरकार तथा प्रतिवादीहरू सतिशकुमार कौशल, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परेको र प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यको हकमा साधकको रोहबाट मुद्दा दर्ता भई पेस हुन आएको देखियो ।
३. पुनरावेदक प्रतिवादीहरू सतिशकुमार कौशल, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुले आफ्नो पुनरावेदन पत्रमा हामीहरूलाई मौकामा हिरासतमा डर त्रासमा पारी इच्छाविपरीत गराइएको बयानलाई प्रमाण लिई कसुरदार ठहर्याई फैसला गरिएको छ । लासको पहिचान एवम् मृत्युको कारण नै नखुलेको अवस्थामा शंका र अनुमानको भरमा जाहेरी परेको, नाबालकको कागज गराउँदा संरक्षक नराखिएको अवस्थामा सो कागजले कानूनी मान्यता नपाउनेमा सोही कागजलाई प्रमाणमा लिएको उच्च अदालतको फैसला नमिलेकोले बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदन जिकिर लिएको देखियो ।
४. यसमा, मेरो बुबा श्यामसुन्दर मित्तल मिति २०७१।४।२८ गते घर कृष्णनगरबाट व्यापारको लागि चन्द्रौटा बजारमा आउनुभएकोमा बुबा घर फर्की नआएपछि खोजतलास गरिपाउँ भनी प्रहरी कार्यालयमा हुलिया निवेदन दिई मैले पनि खोजतलास गर्दै रहेकोमा मिति २०७१।६।१२ गते कपिलवस्तु न.पा. वडा नं. ३ जमुवारटोलस्थित ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा बुबा श्यामसुन्दर मित्तलको लास फेला परेको, व्यापारी भएकोले साथमा पैसासमेत लिई हिँड्ने हुँदा बुबालाई विजय चौधरी, मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्र, कृष्ण कान्दु, सतिशकुमार कौशल र बब्लु मौर्यसमेतका मानिसहरूले साथमा भएको सुनका गरगहना तथा पैसा लिने खाने नियतले मेरो बुबालाई चन्द्रौटा बजारबाट तौलिहवा ल्याई कर्तव्य गरी मारी ज्ञानचन्द्र कसौधनको ट्वाइलेटको सेप्टीट्याङ्कीमा हालेको हुँदा निजहरूलाई ज्यानसम्बन्धीको महलअन्तर्गत कारबाही गरिपाउँ भन्ने नितिनकुमार मित्तलको किटानी जाहेरी परेको देखिन्छ । घटनाको अनुसन्धानको क्रममा प्रतिवादीमध्येका बब्लु मौर्य मुराउले मिति २०७१।४।२८ गते मेरो साथी विजय चौधरी र मसमेत भई चन्द्रौटा बजारमा गई श्यामसुन्दर मित्तललाई तौलिहवा बजारमा ल्याई होटलमा गई मादक पदार्थ रक्सीसमेत खाई खुवाई कपिलवस्तु जिल्ला जमुवारटोलस्थित विजय चौधरीले भाडामा लिएको कोठामा लगी म, विजय चौधरी, सतिशकुमार कौशल, कृष्ण कान्दु र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रसमेत भई निज मित्तललाई हेलमेट, हात मुक्काले कुटपिट गरी बेहोस बनाई विजय चौधरीले मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले घाँटी कसी हामीहरूले हात खुट्टा समाती चल्न नदिई निजलाई मारी निजले लगाएका कपडा खोली झाडीमा फाली हामी सबैको सल्लाहबमोजिम निजको लासलाई घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हाली दिएका हौं भनी कागज गरेको पाइन्छ । सोही आधारमा खोजतलास गर्दा कपिलवस्तु नगरपालिका वडा नं. ३ जमुवारटोलस्थित ज्ञानचन्द्र कसौधनको एक तले दक्षिण मोहडाको ३ कोठे पक्की घरको उत्तरतिर कम्पाउन्डको आखिरी भागमा रहेको ट्वाइलेटसहित सेफ्टीट्याङ्कीमा करङ तथा खुट्टाको हड्डी देखिएको र लासलाई बाहिर निकाली हेर्दा अनुहारको भाग चिन्न नसकिने अवस्थामा रहेको, टाउकोबाट कपाल झरेको, घाँटीको भागमा बाघको नङ्ग्रा जस्तो देखिने जन्तर लगाएको, सोदेखि पश्चिमतर्फ झाडीमा झोलाभित्र टिसर्ट, पाइन्ट, चप्पल र सेप्टीट्याङ्कीबाट मोटरसाइकलको क्लज तथा ब्रेकमा प्रयोग हुने तार फेला परेको भन्ने लास जाँच तथा बरामदी मुचुल्का खडा गरिएको
देखिन्छ । घटनास्थलमा फेला परेको उक्त लास मेरो बुबा श्यामसुन्दर मित्तलको हो, बाघको दुईवटा नङ्ग्राको जन्तर र फेला परेका कपडाहरू देखाउँदा देखेँ चिनेँ । बाघको नङ्ग्राको जन्तर बुबाले लगाउनु हुन्थ्यो भनी लास चिनी सनाखत गरिदिएँ भनी नितिनकुमार मित्तलले सनाखत कागजसमेत गरिदिएको पाइन्छ । यसरी घटनास्थलनजिक बरामद भएका झोला, चप्पल र कपडा एवम् लाससँगै भेटिएको जन्तरमालासमेतका आधारमा सो लास आफ्नै बाबु श्यामसुन्दरको हो भनी नितिनकुमारले सनाखत गरेको र मौकामा बब्लु मौर्यले कागज गर्दा आफूहरूले श्यामसुन्दरलाई मारी सेफ्टीट्याङ्कीमा फालेको भनी लेखाएबाट सो बरामद लास श्यामसुन्दरको नै रहेको भन्ने कुरा लास सेफ्टीट्याङ्कीबाट बरामद हुनु, सेफ्टीट्याङ्कीको ढक्कन लागेको अवस्थामा फेला पर्नु, मृतकले प्रयोग गरेका लुगाफाटा र चप्पल वारदातस्थलनजिक फेला पर्नुसमेतका परिस्थितिजन्य प्रमाणका आधारमा श्यामसुन्दर मित्तलको मृत्यु कर्तव्यबाट नै भएको भन्ने पुष्टि हुन आउँछ ।
५. पुनरावेदक प्रतिवादी कृष्ण कान्दुले अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कार रही बयान गरे तापनि अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा विजय चौधरीले एक हप्ताअगाडि मलगायतका साथीहरूलाई फोन गरी बोलाएको हुँदा नगरपालिकाको गेष्टहाउसमा जाँदा विजय चौधरी, निजको श्रीमती, बब्लु मौर्य, मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्र, सतिशकुमार कौशल र मसमेत बसी कुराकानी हुँदा विजय चौधरीले मेरो कृष्णनगरको धनी मानिस मित्तल भन्ने व्यक्तिसँग लेनदेनको कारोबार छ, निजलाई खतम गर्नसके ठुलो पैसा हात पर्छ, तिमीहरूले पाँच / पाँच लाख रूपैयाँ पाउँछौ भनेकाले निजको कुरामा सहमत भई निस्केपछि निज विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तललाई ज्ञानचन्द्र कसौधनको घरमा लिएर आए । पहिले बब्लु मौर्यले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हानेँ, त्यसपछि सतिशकुमार कौशलले हात मुक्काले छातीमा हाने, निज मित्तल भुईंमा लडेपछि मसमेतका साथीहरू निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भए । विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो । त्यसपछि सबैजना मिली कोठामा लागेको रगत धोई पखाली गरी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हालेको हो भनी कसुरमा साबित रही बयान गरेको देखिन्छ । त्यसैगरी पुनरावेदक प्रतिवादीहरू सतिशकुमार कौशल एवं मालिंगा वा दिनेश भन्ने सूर्यनाथ मिश्रसमेतले अदालतमा बयान गर्दा कसुर गरेकोमा इन्कार रहे पनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा म, विजय, बब्लु मौर्य, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रसमेत मिली कुटपिट गरी बेहोस बनाई घाँटीमा तारले कसी मारी सोही घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा लास हालेकोमा मिति २०७१।६।१२ गते लास फेला परेको हो भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । मृतकको लास सेफ्टीट्याङ्कीबाट बरामद भई सो लास र वारदातस्थलको नजिक फेला परेको कपडासमेत निज मृतक श्यामसुन्दरले लगाएको भन्ने मृतकका छोरा जाहेरवाला नितिनकुमारले सनाखत गरिदिएको अवस्था देखिन्छ । प्रतिवादी बब्लु मौर्य मुराउले अदालतमा कसुरमा इन्कार रही बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा विजय चौधरीले श्यामसुन्दर मित्तललाई ज्ञानचन्द्र कसौधनको घरमा पुर्याई कोठाभित्र धकेलेपछि कोठाको चुक्कुल भित्रबाट लगाई मैले हेल्मेटले मित्तलको टाउकोमा हानेँ । त्यसपछि सतिशकुमार कौशलले हात मुक्काले छातीमा हाने । निज भुईंमा लडेपश्चात् अन्य साथीहरूसमेत निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भएपछि विजय चौधरीले मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारेको हो, लासलाई सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हालेकोमा मिति २०७१।६।१२ गते मैले बताएअनुसार लास फेला परेको हो भनी आफू कसुरमा साबित रही अन्य प्रतिवादीहरूलाई पोल गरेको देखिन्छ । यी प्रतिवादीहरूले मेरो बाबुलाई मारेकोमा विश्वास लाग्छ भनी नितिनकुमारले किटानी जाहेरी दिई सोहीअनुरूप अदालतमा बकपत्रसमेत गरेको पाइन्छ । त्यसैगरी मृतक श्यामसुन्दर मित्तललाई विजय चौधरी, सतिशकुमार कौशलसमेतका ६ जनाले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी नगरपालिका गेष्टहाउसका म्यानेजर बसन्तबहादुर थापाले मौकामा गरेको कागजलाई समर्थन हुने गरी विजय चौधरीले मिति २०७१।४।२ गते कोठा लिई बसेका थिए । उक्त कोठामा घर थाहा नभएको कृष्ण, सतिश, विजयको ससुरा र बब्लु भन्ने व्यक्तिहरू आउने जाने गर्दथे । साउन २८ गतेदेखि कोठा छोडेका हुन् । गेष्ट हाउसको बुझाउनुपर्ने रूपैया बाँकी नै छ, नदिई भागेका हुन् भनी अदालतमा आई बकपत्र गरेको देखिन्छ । बब्लु मौर्यले देखाएको सेफ्टीट्याङ्कीबाट स्थानीय मानिसहरूको रोहवरमा मृतकको लास बरामद भएको हो । निज श्यामसुन्दरलाई बब्लु मौर्य, सतिशकुमार कौशल, कृष्णकान्दु, विजय चौधरी र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रले कर्तव्य गरी मारेका हुन् भनी वादी पक्षका साक्षी प्र.ना.नि. गोपाल नारायण श्रेष्ठले अदालतमा बकपत्र गरेका छन् । माथि उल्लिखित आधार प्रमाणबाट मृतक श्यामसुन्दर मित्तललाई यी पुनरावेदक प्रतिवादीहरूकै संलग्नतामा कर्तव्य गरी मारेको पुष्टि भइरहेको अवस्था देखिन्छ ।
६. पुनरावेदक प्रतिवादीहरूले अनुसन्धान अधिकारीले आफूहरूको इच्छाविरूद्ध गराएको साबिती बयानलाई प्रमाणमा लिन नमिल्ने भनी लिएको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा २ मा फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ : (१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो । (२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने, धम्की दिई वा निजलाई आफ्नो इच्छाविरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन । (३) सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारबाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्नसक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गत रूपमा विश्वास गरेको थियो । प्रमाण ऐन, २०३१ को दफा ९(२) ले व्यवस्था गरेका उपर्युक्त भय, त्रास, प्रलोभनसमेतका अवस्था देखिएमा अभियुक्तको अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाणमा लिन मिल्ने देखिँदैन तर अभियुक्तले अधिकारप्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्था यातना, धम्की र प्रलोभन दिएको थिएन भन्ने कुरामा अदालत विश्वस्त
हुनुपर्दछ । तर, अभियुक्तले अधिकारप्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्थाको सचेतता, यातना, धम्की र प्रलोभन दिएको थियो भन्ने कुराको जिकिर र आधार भने प्रतिवादीहरूले देखाएको मिसिलबाट देखिनुपर्दछ । प्रमाण ऐन, २०३१ को दफा ९(२) को सन्दर्भमा म्याद थपका लागि अदालतमा पेस गरिँदा अभियुक्तलाई सशरीर अदालतसमक्ष उपस्थित गराई सोधपुछ गरिने र आवश्यकता महसुस गरिएमा तत्कालै स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने हुँदा अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा लिँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि प्रतिवादीले अनुसन्धान तहकिकातको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट स्वेच्छाविरूद्ध बयान गराइएको अवस्थामा त्यसको विरूद्ध अदालतमा निवेदन दिई स्वेच्छाविरूद्धको बयान हो भनी प्रमाणित गराउन सक्नु पर्दछ । त्यसो नगरी अदालतमा मुद्दा दायर भएपछि मात्र सो बयान आफ्नो स्वेच्छाविरूद्धको हो भनी जिकिर लिएको आधारमा मात्र सो बयानलाई निजको स्वेच्छाविरूद्ध लिइएको भनी मान्न मिल्ने देखिँदैन । अन्य परिस्थितिजन्य एवम् स्वतन्त्र प्रमाणले वारदात पुष्टि गरेको अवस्थामा प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२) बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।
७. त्यस्तै नाबालकको कागज गराउँदा संरक्षक राख्नुपर्ने र संरक्षक नराखी गराएको कागजले कानूनी मान्यता पाउने नपाउने भनी लिएको पुनरावेदक प्रतिवादीहरूको जिकिर सम्बन्धमा विचार गर्दा, प्रतिवादीमध्येका बब्लु मुराउ मौर्य भन्ने देवव्रत मौर्यले अनुसन्धानको क्रममा वारदात घटाउने कार्यमा आफूसहितका अन्य प्रतिवादीहरू संलग्न रहेको भनी विवरण खुलाई कागज गरेको र सोही कागजको आधारमा मृतकको लास फेला परेको देखिन्छ । निजले मौकामा आफ्नो उमेर १९ वर्ष भने पनि अदालतमा बयान गर्दा उमेर १५ वर्ष भनी उल्लेख गरेकोमा निजले नै पेस गरेको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिबाट समेत निज १५ वर्षको नाबालक नै रहेको
देखिन्छ । साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको २४ नं. मा जुनसुकै कुरामा भए पनि सोह्र वर्ष नपुगेका नाबालकको कागज लिनु वा गराउनु पर्दा संरक्षक वा हकवालालाई नराखी लिनु गराउनु हुँदैन तर सोह्र वर्ष नपुगेको भए पनि ज्यानमारा, चोरी वा करणी गर्ने, गर्न लगाउने मानिसको अदालतबाट कागज गराउनुपर्दा भने संरक्षक वा हकवाला नभए उसैको मात्र कागज गराउन पनि हुन्छ भन्ने उल्लेख भएको हुँदा उक्त कानूनी व्यवस्थाअनुसार सोह्र वर्ष नपुगेका नाबालकको कागज लिनु वा गराउनुपर्दा संरक्षक वा हकवालालाई नराखी गराउन नहुने भनेकोमा ज्यान मारेकोमा र चोरीमा नाबालक भए पनि संरक्षक नराखी कागज गराएको कारणले मात्र प्रमाणग्राह्य हुन नसक्ने भन्न मिल्ने देखिएन । त्यसैले प्रस्तुत मुद्दामा प्रतिवादी बब्लु भन्ने देवव्रतले संरक्षक नै नराखी गरिदिएको बयान कागजले कानूनी मान्यता नपाउने भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर कानूनसम्मत देखिएन । त्यसैगरी प्रतिवादीहरूले वारदात मिति र समयमा आफूहरू घटनास्थलमा नरही अन्यत्र रहेको र आफ्नो सलंग्नता नरहेको भनेपनि निजहरूउपर किटानी जाहेरी परी सो जाहेरीलाई समर्थन हुने गरी जाहेरवाला नितिनकुमार मित्तलले बब्लु मौर्य, विजय चौधरी, सतिशकुमार कौशलसमेतका ६ जनाले आ-आफ्नो हातमा रहेको हेल्मेट र मोटरसाइकलको चेन आदिले पिटेर मेरो बुबालाई मारेका हुन् भनी अदालतमा बकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने कृष्णकुमार गुप्ताले मौकाको कागजलाई समर्थन हुने गरी अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरूले उक्त वारदातको समयमा सो घटनामा सलंग्न नरहेको भन्ने पुष्टि हुने वस्तुनिष्ठ ठोस प्रमाण पेस गर्न सकेको देखिँदैन । कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी जिकिर लिन्छ भने त्यस्तो जिकिरलाई तथ्ययुक्त प्रमाणद्वारा प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार निजमाथि नै रहने हुन्छ । यी प्रतिवादीहरूले आफूहरू वारदात मितिमा घटनास्थलमा नभई अन्यत्र रहेको भनी लिएको जिकिरलाई अदालतमा गरेको इन्कारी बयानबाहेक अन्य तथ्ययुक्त प्रमाणबाट प्रमाणित गराउन सकेको देखिँदैन ।
८. शंका र अनुमानको आधारमा आफूहरूलाई कसुरदार ठहराइएको छ भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, Cause of death could not be determined due to fully decomposition of body भन्ने मृतक श्यामसुन्दर मित्तलको शव परीक्षण प्रतिवेदन रहेको देखिछ । जाहेरवाला नितिनकुमार मित्तलले मेरो बाबु श्यामसुन्दर मित्तललाई प्रतिवादीहरूले कर्तव्य गरी मारी लास दबाएको भनी किटानी जाहेरी दिई सो जाहेरी बेहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र गरेका छन् । घटनास्थलनजिक बरामद भएका झोला, चप्पल, कपडा एवं लासको मुखाकृति र बाघको नाङ्ग्राको जन्तरमालासमेतका आधारमा सो लास बाबु श्यामसुन्दरको हो भनी निज जाहेरवालाले सनाखत गरेको देखिन्छ । प्रतिवादी बब्लु मौर्यले मौकामा कागज गर्दा आफूहरूले श्यामसुन्दरलाई मारी सेफ्टीट्याङ्कीमा फालेको भनी उल्लेख गरेबमोजिम लास बरामद भएको देखिँदा सो बरामद लास मृतक श्यामसुन्दर मित्तलको नै रहेको भन्ने तथ्यमा कुनै शंका गर्नुपर्ने अवस्था
देखिँदैन । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष श्यामसुन्दर मित्तललाई वारदातस्थलमा लगी सबैले लात्ती मुक्काले हानी अचेत बनाई तारले घाँटी कसी मारिसकेपछि निजको लासलाई सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हालेको हो भनी कसुरमा साबित भई बयान गरेकोमा सो मौकाको साबिती बयानलाई अदालतमा इच्छाविरूद्धको बयान भनी कसुरमा इन्कार रहेको देखिए तापनि मौकामा गरेको उक्त साबिती बयानलाई अन्यथा प्रमाणित गर्न सकेको देखिँदैन । मृतकको घाँटी कसी मार्ने कार्यमा प्रयोग भएको मोटरसाइकलको क्लज तथा ब्रेकमा प्रयोग हुने तार, मृतकको घाँटीमा लगाएको बाघको नङ्ग्राको जन्तर र मृतकको लाससमेत वारदातस्थलमा रहेको सेफ्टीट्याङ्कीबाट बरामद भई सो वारदातसँग तादम्यता देखिएको अवस्था छ । घटना घटेको लामो समयपछि मृतकको लास फेला परेको र लास सडीगली गएकोले मृत्युको कारण यकिन नभए पनि सो लास मृतक श्यामसुन्दर मित्तलको हो भनी निजका छोरा जाहेरवालाले यकिनका साथ पहिचान गरेको अवस्था देखिन्छ । यसरी यी प्रतिवादीहरूले नै मृतक श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारेको भन्ने कुरा शंकारहित तबरबाट पुष्टि भइरहेको देखिएबाट शंका र अनुमानको आधारमा आफूहरूलाई कसुरदार ठहराइएको भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिरलाई तथ्यसङ्गत भन्न मिल्ने देखिएन ।
९. यसप्रकार यी पुनरावेदक प्रतिवादीहरूसमेतले मृतक श्यामसुन्दर मित्तलको साथबाट धनमाल प्राप्त गरी निजलाई मार्ने मनसायले पूर्वयोजना बनाई चन्द्रौटा बजारबाट मोटरसाइकलमा चढाई वारदातस्थलमा ल्याई घरको कोठाभित्र लगी हेलमेटले टाउकोमा हानेर लडाई सबैले लात मुक्काले प्रहार गरी अचेत भएपछि मोटरसाइकलको क्लजको तारले घाँटीमा कसी मारेर मृतकको लासलाई सेफ्टीट्याङ्कीमा फाली लास दबाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ र १३(३) नं. को कसुर अपराध गरेको मिसिल संलग्न आधार प्रमाणबाट पुष्टि भइरहेको देखिन्छ । तसर्थ, अभियोग मागदाबीबमोजिम यी पुनरावेदक प्रतिवादीहरू सतिशकुमार कौशल, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र कृष्ण कान्दुलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको सुरू कपिलवस्तु जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मनासिब नै देखिएकोले सो फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । उच्च अदालतको फैसला बदर गरी अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर एवं विद्वान् अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।
१०. पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट प्रतिवादीहरूले मृतक श्यामसुन्दर मित्तललाई मार्नुको मुख्य कारण नै निजबाट धनमाल बलपूर्वक लिनेखाने रहेको देखिँदा निज प्रतिवादीहरूलाई डाँकाचोरीतर्फको अभियोग मागदाबीबाट सफाइ दिनेगरी भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला सो हदसम्म नमिलेकोले बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर रहेको देखिन्छ । सो सम्बन्धमा विचार गर्दा, जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, प्रतिवादीहरूको मौकाको बयानसमेतबाट प्रतिवादीहरूले मृतक श्यामसुन्दर मित्तललाई मार्नुको उद्देश्य निजबाट धनमाल लिनेखाने भन्ने रहेको देखिए तापनि निज प्रतिवादीहरूबाट मृतकको औंठीसहितका कुनै पनि धनमालहरू बरामद हुन सकेको मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिँदैन । त्यसैगरी जाहेरवाला नितिनकुमार मित्तलले प्रहरी कार्यालय चन्द्रौटामा हुलिया जाहेरी दिँदा आफ्नो बाबुले यो यस्तो गहना लगाएको थियो भनी कुनै बेहोरा लेखाएकोसमेत देखिँदैन । मृतकका औंठीसहितका धनमालहरू आफूहरूले लिए खाएकोमा प्रतिवादीहरूले अदालतमा बयान गर्दा इन्कार रहेको देखिन्छ । डाँका चोरीको वारदात स्थापित हुन मुख्य रूपमा प्रतिवादीहरूको साथबाट डाँका चोरीको सामानहरू बरामद भई पेस भएको हुनुपर्दछ । यी प्रतिवादीहरूले मृतक श्यामसुन्दर मित्तललाई मारेर निजको साथबाट डाँका चोरी गरी लगेका भनिएका कुनै पनि दशीका सामानहरू बरामद हुन नसकेको अवस्थामा डाँका चोरीतर्फसमेत आरोप लगाउनु मात्र पर्याप्त हुँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार फौजदारी मुद्दामा अभियुक्तउपर लगाइएको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ । प्रस्तुत मुद्दामा वारदातपछि मृतकले लगाई राखेको औंठीसहितका सुन चाँदीका गरगहना र निजको साथमा रहेको रू.६२,०००।- बराबरको नगदसमेत प्रतिवादीहरूले डाँका गरी लगेको भन्ने अभियोग दाबीलाई वादी नेपाल सरकारको तर्फबाट तथ्ययुक्त सबुत प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । तसर्थ, वस्तुनिष्ठ प्रमाणको अभावमा डाँका चोरी जस्तो गम्भीर कसुर अपराधमा सजाय गर्नु न्यायोचित नहुने भएबाट प्रतिवादीहरूले मुलुकी ऐन, चोरीको महलको १४(४) नं. बमोजिमको कसुरसमेत गरेको भन्ने अभियोग मागदाबी पुग्न नसक्ने भनी सुरूको फैसला केही उल्टी गरी निज प्रतिवादीहरूले डाँका चोरीतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहराएको उच्च अदालतको फैसला मिलेकै देखियो । अभियोग मागदाबीबमोजिम डाँका चोरीतर्फसमेत प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवं विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।
११. प्रतिवादीमध्येका बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यको उच्च अदालतको फैसलाउपर यस अदालतमा पुनरावेदन नपरेकोले निजको हकमा उक्त फैसला साधक जाँचको लागि साधकको रोहबाट पेस हुन आएको देखियो । यस सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यसमेतउपर मृतक श्यामसुन्दर मित्तललाई कर्तव्य गरी मारेको भनी किटानी जाहेरी परेको देखिन्छ । यिनै प्रतिवादीले आफूहरूले श्यामसुन्दरलाई मारी सेफ्टीट्याङ्कीमा फालेको भनी उल्लेख गरी मौकामा कागज गरिदिएबमोजिम मृतकको लास फेला परेको देखिन्छ । वारदातस्थलबाट बरामद भएको लास मेरो बाबुको हो र बरामद भएको टिसर्ट, पाइन्ट, छालाको चप्पल तथा लासको घाँटीमा रहेको धागोमा बाँधेको बाघको नङ्ग्राको जन्तरसमेतका चिजहरू मेरो बुबा श्यामसुन्दर मित्तलका हुन् भनी जाहेरवालाले सनाखत गरेको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा विजय चौधरीसँग भेट हुँदा म परिवारसहित कपिलवस्तु नगरपालिकाको गेष्टहाउसमा बसेको छु भनी बताएकोले मलगायतका साथीहरू निजलाई भेट्न गेष्टहाउसमा जाने गरेका थियौं । विजय चौधरीले मिति २०७१।४।२८ गते श्यामसुन्दर मित्तललाई बोलाई तौलिहवा बजारमा ल्याई न्यू पौडेल होटलमा लगी रक्सी खाई खुवाई जमुवारटोलस्थित ज्ञानचन्द्र कसौधनको घरमा रहेको कोठामा पुर्याई मैले साथमा रहेको हेल्मेटले मित्तलको टाउकोमा हानेँ । त्यसपछि सतिसकुमार कौशलले हात मुक्काले छातीमा
हाने । निज श्यामसुन्दर मित्तल भुईंमा लडेपश्चात् अन्य साथीहरूसमेत निजमाथि चढी लात मुक्कासमेतले प्रहार गरेपछि मित्तल अचेत भए । अनि विजय चौधरीले यो अझै मरेको छैन भनी मोटरसाइकलको ब्रेक र क्लजमा लाग्ने तारले मित्तलको घाँटी कसी मारी लासलाई सोही घरको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा हालेकोमा मिति २०७१।६।१२ गते मैले बताएअनुसार लास फेला परेको हो । बरामद भएको हेल्मेट, तार र मृतकको कपडासमेत सनाखत गरिदिएँ भनी कसुर गरेकोमा साबित भई बयान गरेको देखिन्छ । बब्लु मौर्यले देखाएको सेफ्टीट्याङ्कीबाट स्थानीय मानिसहरूको रोहवरमा मृतकको लास बरामद भएको हो । निज श्यामसुन्दरलाई बब्लु मौर्य, सतिशकुमार कौशल, कृष्ण कान्दु, विजय चौधरी र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रले कर्तव्य गरी मारेका हुन् भनी वादी पक्षका साक्षी प्र.ना.नि. गोपाल नारायण श्रेष्ठले अदालतमा बकपत्र गरेका छन् । बब्लु मौर्य, कृष्ण कान्दु, सतिशकुमार कौशल र सूर्यनाथ मिश्रसमेतका मानिसहरू पटकपटक गेष्टहाउसमा आउने जाने गरेका र मृतक श्यामसुन्दर मित्तललाई निज विजय चौधरीसमेतले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी नगरपालिकाको गेष्टहाउसका म्यानेजर बसन्तबहादुर थापाले मौकामा गरेको कागजलाई समर्थन हुने गरी अदालतमा आई बकपत्र गरिदिएको पाइन्छ । यसबाट यी प्रतिवादीको उक्त साबिती बयान एवं मृतकलाई मार्ने र लास दबाउने कार्यमा यी प्रतिवादीको समेत संलग्नता रहेको कुरा पुष्टि भइरहेको देखिन्छ ।
१२. यसरी जाहेरवाला नितिनकुमारले यी प्रतिवादीसमेतका उपर किटानी जाहेरी दिई सोहीअनुरूप अदालतमा बकपत्र गरेको, घटनास्थलनजिक बरामद भएका झोला, चप्पल, कपडा एवं लासको मुखाकृति र जन्तरमालासमेतका आधारमा सो लास मेरो बाबु श्यामसुन्दरको हो भनी सनाखत गरेको, यी प्रतिवादीले आरोपित कसुरमा साबित रही मौकामा गरेको बयान अन्यथा प्रमाणित गराउन नसकेको, अन्य प्रतिवादीहरू कृष्ण कान्दु, सतिशकुमार कौशल र सूर्यनाथ मिश्रसमेतले यी प्रतिवादी बब्लु मौर्यको समेत वारदातमा संलग्नता रहेको भनी पोल बयान गरेकोसमेतका परिस्थितिजन्य प्रमाणका आधारमा श्यामसुन्दर मित्तललाई मार्नमा यी प्रतिवादीसमेतको संलग्नता रहेको भन्ने देखिन आएकोले यी प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यले ज्यानसम्बन्धीको १ र १३(३) नं. बमोजिमको कसुर गरेको पुष्टि भएबाट यी प्रतिवादीलाई ऐ. १३(३) नं. बमोजिम जन्मकैदको सजाय गरी साबिक बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ को उपदफा ३ बमोजिम आधा सजाय अर्थात् १० वर्ष कैद गर्ने गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ ।
१३. अतः माथि विवेचित तथ्य, आधार कारण र प्रमाणसमेतको मूल्याङ्कन गरी प्रतिवादीहरू कृष्ण कान्दु, सतिशकुमार कौशल र मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्रसमेतलाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने र प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुनेमा साबिक बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ को उपदफा ३ बमोजिम आधा सजाय अर्थात् १० वर्ष कैद गर्ने गरेको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७२।८।२ को फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३।१२।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । साथै प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यको हकमा उक्त फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । निज प्रतिवादीहरूलाई डाँका चोरीको कसुरमा चोरीको १४(४) नं. बमोजिम समेत सजाय गरेको सुरू जिल्ला अदालतको फैसला नमिलेको देखिई उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूले डाँका चोरीतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहराएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको उक्त फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई डाँका चोरीतर्फ सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तथा अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय र प्रतिवादीहरूलाई दिई फैसला अपलोड गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत :- तारादत्त बडु
इति संवत् २०७७ साल असोज १२ गते रोज २ शुभम् ।